शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११०९३ - ज्यान मार्ने उद्योग

भाग: ६५ साल: २०८० महिना: भाद्र अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत

माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना

फैसला मिति: २०७९।९।७

०७२-CR-११९४

 

मुद्दाः ज्यान मार्ने उद्योग

 

पुनरावेदक/प्रतिवादी: जिल्ला कास्की, पोखरा उपमहानगरपालिका, वडा नं. ८ शिवालयचोक बस्ने थमबहादुर गुरूङको छोरा प्रविण गुरूङ

विरूद्ध

प्रत्यर्थी/वादी: सुरेन्द्र श्रेष्ठको जाहेरीले नेपाल  सरकार

 

कुनै व्यक्तिलाई मगज बिग्रेको वा बौलाएको व्यक्ति भन्नका लागि सम्बन्धित विशेषज्ञले निज व्यक्तिको मानसिक स्वास्थ्य परीक्षण गरी मगज बिग्रेको वा बौलाएको व्यक्ति भन्ने स्वास्थ्य परीक्षण रिपोर्ट दिएको हुनुपर्ने । मानसिक रोगको बिरामी भई सोको औषधी सेवन गर्ने व्यक्तिलाई सो आधारमा मात्र आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा बौलाएको व्यक्ति हो भनी भन्न नमिल्ने ।

(प्रकरण नं.३)

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट:

प्रत्यर्थी/वादीका तर्फबाट: विद्वान् उपन्यायाधिवक्ता श्री डम्मरप्रसाद काफ्ले

अवलम्बित नजिर:

सम्बद्ध कानून:

सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ 

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ 

नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ 

 

सुरू तहमा फैसला गर्नेः

मा. जि. न्या. श्री रामप्रसाद ओली

कास्की जिल्ला अदालत 

पुनरावेदन तहमा फैसला गर्नेः

मा. न्या. श्री सुष्मालता माथेमा

मा. न्या. श्री जग्गनाथ महतो “सिंह”

पुनरावेदन अदालत पोखरा

 

फैसला

न्या. प्रकाशमान सिंह राउत: न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्रपर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-

तथ्य खण्ड

मिति २०६९।१२।०६ गते दिन १५:३० बजेको समयमा जिल्ला कास्की, पोखरा-८ शिवालयचोक स्थित थमबहादुर गुरूङको २ तलाको पक्की घर रहेको उक्त घरको भुइँ तलाको च्यानल गेटदेखि बरन्डासम्म रगत लतपतिएको उक्त स्थानमा गिता श्रेष्ठलाई प्रविण गुरूङले खुकुरी प्रहार गरी घाइते बनाएको र घरको छतमा १९ इन्च लम्बाइ भएको कम्ब्याट कपडाको खोल भएको दाबसहितको रगत लागेको खुकुरी थान-१ बरामद भएको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।

पीडित गिता श्रेष्ठको शरीरमा देखिएको घाउको प्रकारमा polytrauma cut injury, अङ्गभङ्गमा Sharp not injury, प्रयोग गरिएको हात हतियार प्रकारमा Khukuri, बिरामीको अवस्थामा Comfortable on bed, मर्ने नमर्नेमा Not fatal भन्नेसमेत उल्लेख भएको निज पीडितको घा-जाँच केस फाराम र निज पीडितको शरीरका विभिन्न भागमा घाउचोटहरू देखिने फोटोहरू मिसिल संलग्न रहेको । 

मिति २०६९।१२।०६ गते दिन १५:२० बजेको समयमा जिल्ला कास्की, पोखरा-८ शिवालयचोक स्थित आफ्नै डेरा कोठाबाहिर रहेको धारामा मेरो श्रीमती गिता श्रेष्ठले कपडा धोइरहेको अवस्थामा अचानक प्रविण गुरूङले हातमा खुकुरी लिई श्रीमतीको टाउको तथा हातमा प्रहार गरेकोले श्रीमतीले हारगुहार गरी छिमेकी आउने क्रममा निज प्रविण गुरूङ भागेका हुन् । श्रीमती गम्भीर घाइते भई उपचारको लागि फेवासिटी अस्पताल हुँदै चरक अस्पतालमा ल्याई उपचार गराइएको हो । मेरो श्रीमती गिता श्रेष्ठलाई ज्यानै मार्ने मनसायले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते तुल्याउने प्रविण गुरूङलाई पक्राउ गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं.बमोजिम हदैसम्म कारबाही गरिपाउँ भन्ने बेहोराको सुरेन्द्र श्रेष्ठको किटानी जाहेरी दरखास्त ।

जाहेरवाला सुरेन्द्र श्रेष्ठ र निजको श्रीमती घाइते गीता श्रेष्ठ मेरो घरमा डेरा लिई बस्दै आएका थिए । घाइते गिता श्रेष्ठले घर भाडा रकम दिने क्रममा प्रायजसो कचकच गर्ने गर्थिन् । निज गीता श्रेष्ठको व्यवहार मलाई मन नपरी रिस उठेको थियो । मौका परे निजलाई हतियार प्रहार गरी मारिदिन्छु भनी सोचेको थिएँ । यसै अवस्थामा मिति २०६९।१२।०६ गते दिन १५:२० बजेको समयमा म घरमा नै बसिरहेको 

थिएँ । बुबा र आमा फोटो स्टुडियोमा जानुभएको थियो । घरको आँगनमा गीता श्रेष्ठ कपडा धुँदै थिइन् । निजसँग पहिलादेखि नै रिस उठेकोले आज घरमा कोही नभएको अवस्थामा निजलाई मारिदिन्छु भन्ठानी घर कोठामा रहेको खुकुरी निकाली गिता श्रेष्ठको टाउको तथा शरीरको विभिन्न भागमा प्रहार गरी सख्त घाइते बनाएको हुँ । निजले हारगुहार गरी कराउन थालेपछि मेरो आमा बाबु आई मेरो खुकुरी खोसी फ्याँकिदिएपछि म त्यहाँबाट फुत्की भागी लुकीछिपी बसिरहेको अवस्थामा मिति २०६९।१२।०७ गते मलाई प्रहरीले घरनजिकैबाट पक्राउ गरेको हो भन्ने बेहोराको प्रतिवादी प्रविण गुरूङको मौकाको बयान कागज । 

मिति २०६९।१२।०६ गतेका दिन म र श्रीमती घरदेखि अगाडि जेठो छोराले सञ्चालन गरेको फोटो स्टुडियोमा गई बसेका थियौं । घरमा कान्छो छोरा प्रविण गुरूङ थिए । अचानक घरमा हल्लाखल्ला गरेको आवाज आयो, गिता श्रेष्ठ र कमला गुरूङ चिच्याई कराएको सुनी के भएको रहेछ भनी हेर्न जाँदा छोरा प्रविण गुरूङले गिता श्रेष्ठलाई खुकुरी प्रहार गरी घाइते बनाएको रहेछ । प्रविणलाई घर कोठामा लगेँ, घाइतेलाई उपचारको लागि ट्याक्सीमा पठाइएको 

हो । यसरी ज्यानै मार्ने नियतले के कुन कारणले खुकुरी प्रहार गरे थाहा भएन । प्रविण गुरूङ कोठाबाट तत्कालै फरार रही लुकीछिपी बसिरहेको अवस्थामा मिति २०६९।१२।०७ गते घरनजिकैबाट प्रहरीको पक्राउमा परेका हुन् भन्ने बेहोराको थमबहादुर गुरूङको मौकाको कागज । 

मिति २०६९।१२।०६ गते दिनको म र श्रीमान् घरदेखि अगाडि जेठो छोराले सञ्चालन गरेको फोटो स्टुडियोमा गई बसेका थियौं । घरमा कान्छो छोरा प्रविण गुरूङ थिएँ । अचानक घरमा हल्ला हल्ला गरेको आवाज आयो । गिता श्रेष्ठ र कमला गुरूङ चिच्याई कराएको सुनी के भएको रहेछ भनी हेर्न जाँदा छोरा प्रविण गुरूङले गिता श्रेष्ठलाई खुकुरी प्रहार गरी घाइते बनाएको रहेछ । घाइतेलाई उपचारको लागि ट्याक्सीमा पठाइएको हो । यसरी ज्यानै मार्ने नियतले के कुन कारणले खुकुरी प्रहार गरे थाहा भएन । प्रविण गुरूङ कोठाबाट तत्कालै फरार रही लुकीछिपी बसिरहेको अवस्थामा मिति २०६९।१२।०७ गते घर नजिकैबाट प्रहरीको पक्राउमा परेका हुन् भन्ने बेहोराको धनश्री गुरूङको मौकाको कागज । 

विगत ९ महिनादेखि कास्की, पोखरा-८ शिवालयचोक स्थित थमबहादुर गुरूङको घरमा डेरा लिई बस्दै आएको छु । गिता श्रेष्ठ पनि सोही घरमा डेरा लिई बस्दै आएकी थिइन् । मिति २०६९।१२।०६ गते गिता श्रेष्ठ आँगनमा कपडा धुँदै थिइन् । म कोठामा मेवा काट्न लागेको थिएँ । अचानक गिता कराएको सुनी के भएको रहेछ भनी हेर्दा घर धनीका छोरा प्रविण गुरूङले गिता श्रेष्ठलाई खुकुरी प्रहार गरेको देखी हार गुहार गरी कराएँ र घर धनी थमबहादुर गुरूङसमेतले थाहा पाई घटनास्थल आई खुकुरी खोसी घाइतेलाई उपचारको लागि पठाएको हो । प्रविण गुरूङ कोठाबाट तत्कालै फरार रही लुकीछिपी बसिरहेको अवस्थामा मिति २०६९।१२।०७ गते घर नजिकैबाट प्रहरीको पक्राउमा परेका हुन् भन्ने बेहोराको कमला गुरूङको मौकाको कागज । 

विगत ४ वर्षपहिलादेखि पोखरा-८ शिवालयचोक स्थित थमबहादुर गुरूङको घरमा डेरा लिई बस्दै आएकी थिएँ यसै क्रममा मिति २०६९।१२।०६ गतेका दिन म कपडा धुन लागेकी 

थिएँ । साथी कमला गुरूङले मेवा काट्न लागेकी थिइन् म आफ्नै सुरमा कपडा धुन लागेको अवस्थामा घरधनीको छोरा प्रविण गुरूङले मलाई एक्कासि खुकुरीले मेरो टाउको तथा कुममा प्रहार गरे मैले छेक्ने क्रममा हातमा समेत काट्यो कमला गुरूङले समेत थाहा पाई हारगुहार गरेपछि घर धनी थमबहादुर गुरूङसमेत आई खुकुरी खोसी फाली मलाई उपचारको लागि फेवासिटी हुँदै चरक अस्पतालमा ल्याइएको रहेछ पछि थाहा पाएँ । हाल स्वास्थ्यमा केही सुधार आएको छ । टाउको, कुम र हातको नाडीमा चोट छ, बायाँ हातको साहिँली, काइँली र कान्छी औंलाले राम्रोसँग काम गर्दैन । डाक्टरको सल्लाहबमोजिम औषधी लिई अस्पतालको बेडमा रही उपचार भइरहेको छ भन्ने बेहोराको घाइते गिता श्रेष्ठको मौकाको कागज । 

मिति २०६९।१२।०६ गते दिन कास्की, पोखरा-८ शिवालयचोक स्थित आफ्नै घरमा कोही नभएको मौका पारी भाडामा बस्ने गिता श्रेष्ठको टाउको तथा शरीरको भागमा प्रविण गुरूङले एक्कासि ज्यानै मार्ने मनसायले धारिलो हतियारले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको र हाल चरक अस्पतालमा उपचार भइरहेको हुँदा निजलाई कानूनबमोजिम कारबाही हुनुपर्छ भन्नेसमेत एकै मिलान बेहोराको बुझिएका बाबुराम घिमिरेसमेतको कागज ।  

प्रतिवादी प्रविण गुरूङले आफ्नै घरमा भाडामा बस्ने गिता श्रेष्ठलाई घर भाडा लिने क्रममा कचकच गर्ने भनी सोही विषयलाई रिसइवी राखी मिति २०६९।१२।०६ गते दिन १५:२० बजेको समयमा घरमा कोही नभएको मौका पारी धारिलो हतियार खुकुरीले ज्यान मार्ने मनसायले नै आफ्नो घरमा रहेको हतियार खुकुरी झिकी ल्याई सो धारिलो हतियारले गिता श्रेष्ठको शरीरको संवेदनशील अङ्ग टाउकोलगायत अन्य अङ्गमा प्रहार गरिरहेकोमा घटनाका प्रत्यक्षदर्शी तथा घाइतेको हार गुहारका कारण वारदातस्थलमा पुगेका थमबहादुर गुरूङले प्रतिवादी प्रविण गुरूङको हातमा रहेको खुकुरी खोसी दिएका कारण पीडितलाई प्रतिवादी प्रविण गुरूङले थप प्रहार गर्न नपाएको साथै पीडित गिता श्रेष्ठलाई तत्काल उद्धार गरी सुविधा सम्पन्न अस्पतालमा लगी उपचार गराउन सम्भव भएको कारण पीडितको ज्यान बच्न सकेको भन्ने कुरा पुष्टि हुन आएको र निज प्रतिवादीको सो कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १५ नं. को कसुर देखिँदा निज प्रतिवादी प्रविण गुरूङलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं.बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र । 

मेरो शारीरिक अवस्था ठिकै छ । मानसिक रूपमा डिप्रेसन भएको हुँदा मानसिक तनावको औषधी सेवन गरिरहेको छु । सोधेको प्रश्न बुझ्न सक्छु । मैले गिता श्रेष्ठलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरी घातक हतियारले प्रहार गरेको होइन । प्रहार गरेको भन्ने कुरा झुट्टा हो । प्रहरीले जोर जबरजस्ती गरी झुट्टो बेहोरा लेखी मेरो सहीछाप गराएका हुन् । म निर्दोष छु सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी प्रविण गुरूङले सुरू अदालतमा गरेको बयान । 

प्रतिवादी प्रविण गुरूङसँग कुनै किसिमको पूर्वरिसइवी तथा झै-झगडा छैन । निजले आफूलाई ज्यान लिने उद्देश्यले आफ्नो टाउको, हातलगायतका विभिन्न भागमा खुकुरीले प्रहार गरेको हो । प्रतिवादीले आफूलाई खुकुरी प्रहार गरेपश्चात् आफूले चिच्याएपछि प्रतिवादीका बाबु आमा आई छोड्दे भन्ने बित्तिकै उसले खुकुरी प्रहार गर्न छाडेको हो भन्नेसमेत बेहोराको पीडित गिता श्रेष्ठले अदालतमा आई गरेको बकपत्र ।

प्रतिवादी प्रविण गुरूङले पीडित गिता श्रेष्ठको ज्यान मार्ने उद्देश्यले निजको टाउको र हातलगायतका ठाउँमा धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएका हुन् भन्नेसमेत एकै मिलान बेहोराको जाहेरवाला सुरेन्द्र श्रेष्ठ तथा प्रहरीमा कागज गर्ने थमबहादुर गुरूङ, बाबुराम घिमिरे र ध्रूवबन्धु पोखरेलले सुरू अदालतमा आई गरेको बकपत्र ।

प्रतिवादी प्रविण गुरूङ लामो समयदेखि डिप्रेसनको औषधी सेवन गरिरहेका डिप्रेसनका बिरामी भएकोले सोही रोगकै कारणले प्रस्तुत वारदात घट्न गएको हुनसक्दछ भन्नेसमेत एकै मिलान बेहोराको प्रतिवादीका साक्षीहरू माधव गुरूङ, खेमलाल ढुङ्गाना, हर्कबहादुर गुरूङ र हरि सिग्देलले अदालतमा आई गरेको बकपत्र मिसिल सामेल रहेछ । 

प्रतिवादी प्रविण गुरूङले पीडित गिता श्रेष्ठमाथि खुकुरी जस्तो जोखिमी हतियारबाट प्रहार गरेको भए पनि प्रहार गरेको समय, स्थान, अवस्थासमेतबाट दिउँसोको समयमा वरिपरि प्रशस्त मानिस रहे भएको पूर्वरिसइवी, लेनदेना झै-झगडा केही रहे भएको नदेखिएको र यी प्रतिवादीले वि.सं. २०६२ सालदेखि मानसिक रोगको उपचारको क्रममा रही नियमित रूपमा औषधी सेवन गर्दै रहेको र वारदातको समयपश्चात् पनि निजको मानसिक स्थिति अवस्था ठिक नरहे नभएको भन्ने डाक्टरको परीक्षण प्रतिवेदन भई सो कुरालाई अदालतसमक्ष उपस्थित भई बकपत्रसमेत गरिदिएबाट यी प्रतिवादीले ज्यान मार्ने मनसाय राखी पूर्वतयारी वा योजनाबद्ध किसिमले आक्रमण गरेको भन्ने नदेखिई मानसिक अवस्था विक्षिप्त भई तत्काल हमला गरी चोट पुर्‍याएको भन्ने देखिन आएको र मुलुकी ऐन दण्ड सजायको १ नं. मा कानूनबमोजिम अपराध ठहरिने कुनै काम गर्दा सो व्यक्ति आफूले गरेको कामको परिणाम थाहा नपाउने गरी मगज बिग्रिएको वा बौलाएको रहेछ भने निजलाई कुनै प्रकारको सजाय हुन सक्दैन भन्ने व्यवस्थासमेत भएकाले यी प्रतिवादीलाई कुनै सजाय गर्न मिलेन भन्नेसमेत बेहोराको सुरू कास्की जिल्ला अदालतबाट मिति २०७०।१२।१९ मा भएको फैसला ।

प्रस्तुत मुद्दामा परेको जाहेरी दरखास्त, पीडितको कागज, मौकामा बुझिएका मानिसहरूले गरेको कागज तथा निजहरूले अदालतमा गरेको बकपत्र, पीडितको घा जाँच केस फारामसमेतका कागजातहरूको बेहोराबाट प्रतिवादी प्रविण गुरूङले आफ्नै घरमा भाडामा बस्ने पीडित गिता श्रेष्ठलाई घर भाडासम्बन्धी विवादलाई लिई आफ्नो घरमा रहेको खुकुरीले टाउकोलगायतका शरीरका विभिन्न अङ्गमा चोट प्रहार गरी गम्भीर घाइते बनाएकोमा तत्काल पीडितले गुहार मागी अन्य व्यक्तिहरूसमेत आई निज प्रतिवादीलाई थप प्रहार गर्न रोकेको कारणबाट र पीडितको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार हुनसकेको कारणबाट मात्र पीडितको ज्यानसम्म बचेको अवस्था रहेको अवस्था छ । प्रतिवादीले अदालतमा तथा मौकामा बयान गर्दा निजले आफूले सोधिएका प्रश्नको जवाफ दिन सक्दछु भनी उल्लेख गरेको, निजले बयानमा सन्तुलित रूपबाट जवाफसमेत दिनसकेकासमेतका विषयलाई अन्देखा गरी डाक्टरको विशेषज्ञतासमेत खुल्न नसकेको डाक्टरको रिपोर्ट र निजको बकपत्रमा यी प्रतिवादी स्वास्थ्य परीक्षण गरेको समयमा मतिभ्रम र दृष्टिभ्रमको अवस्थामा रहेको भनी लेखाइदिएको आधारमा मुलुकी ऐन दण्ड सजायको १ नं.बमोजिम यी प्रतिवादीलाई कुनै सजाय गर्न मिलेन भनी सुरू अदालतबाट भएको फैसला मिलेको 

छैन । दण्ड सजायको १ नं. मा भएको कानूनी व्यवस्था कानूनबमोजिम अपराध ठहरिने कुनै काम गर्दा सो व्यक्ति आफूले गरेको कामको परिणाम थाहा नपाउने गरी मगज बिग्रिएको वा बौलाएको अवस्थामा मात्र आकर्षित हुनसक्नेमा प्रस्तुत मुद्दामा समेत उक्त दफाको प्रयोग गरी प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिने गरी भएको सुरू फैसला कानूनतः त्रूटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत पोखरामा परेको पुनरावेदनपत्र । 

यसमा मिसिल संलग्न रहेको पीडितको घाउ जाँच केस फाराम, पीडित र जाहेरवालाले अदालतमा गरेको बकपत्रसमेतका प्रमाण मूल्याङ्कनको रोहमा सुरू कास्की जिल्ला अदालतको मिति २०७०।१२।१९ को फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालत पोखराको मिति २०७१।८।१९ को आदेश । 

पुनरावेदन अदालत पोखराको आदेशअनुसार प्रतिवादी प्रविण गुरूङको मानसिक स्वास्थ्य परीक्षण गर्ने डा.राजन शर्माको विशेषज्ञता आवश्यक प्रमाण कागजको प्रतिलिपिहरू पठाइएको भन्ने जिल्ला सरकारी वकिल कार्यालय कास्कीको च.नं.१८०८ मिति २०७२।२।२७ गतेको पत्र प्राप्त हुन आएको हुँदा प्राप्त कागजहरू पत्रसाथ संलग्न राखी पठाइएको श्री पुनरावेदन सरकारी वकिल कार्यालय पोखराको मिति २०७२।२।२८ को च.नं. १६५१-०७१।०७२ को 

पत्र ।

प्रतिवादी प्रविन गुरूङ मानसिक रोग Depression को बिरामी भए तापनि आफूले गरेको कामको प्रकृति र परिणाम थाहा पाउन नसक्ने गरी मानसिक सन्तुलन गुमाएको नदेखिएको अवस्थामा यी प्रतिवादीले खुकुरी जस्तो हतियार प्रयोग गरेको देखिए पनि मानसिक सन्तुलन गुमेको भनी मुलुकी ऐन दण्ड सजायको १ नं. अनुसार यी प्रतिवादीलाई कुनै सजाय गर्न मिलेन भनी सुरू कास्की जिल्ला अदालतबाट मिति २०७०।१२।१९ मा भएको फैसला मिलेको नदेखिँदा बदर गरिदिएको छ । प्रस्तुत वारदात कुटपिटअन्तर्गतको देखिई ज्यान मार्ने उद्योगअन्तर्गतको नदेखिँदा पीडितले मुद्दा सकार गर्न आए सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम सकार गराई कारबाही गर्न मिसिल सुरू जिल्ला अदालतमा पठाइदिने ठहर्छ भनी पुनरावेदन अदालत पोखराबाट मिति २०७२।०३।१० मा भएको फैसला ।

म प्रविण गुरूङ वि.सं. २०६२ सालदेखि मानसिक रोगको औषधी सेवन गरिरहेको र निरन्तर रूपमा मानसिक रोग विशेषज्ञ डाक्टरसँग स्वास्थ्य परीक्षण गरी औषधी सेवन गरेको तथ्यलाई कास्की जिल्ला अदालतको मिति २०७०।०१।०३ गतेको आदेशबमोजिम मानसिक रोग  विशेषज्ञ डा.राजन शर्माले मेरो स्वास्थ्य परीक्षण गरी सो प्रतिवेदन दिई निजले अदालतमा बकपत्र गर्दा म दृष्टिभ्रम र मतिभ्रमको अवस्थामा रहेको भनेबाट प्रस्तुत घटना मेरो दृष्टिभ्रम र मतिभ्रमको कारणबाट घटेको कुरा पुष्टि भएको छ । उक्त कुरालाई मेरा साक्षीहरूले बकपत्र गर्दासमेत पुष्टि हुने गरी मानसिक रोगको औषधी सेवन गरिरहेको र मानसिक असन्तुलतका कारण कहिलेकाहीँ, गमला, भाँडाहरू फाल्ने, फुटाउने गरेको, माथिल्लो तलाबाट हाम फालेको तथ्यलाई बकी लेखाइदिएका छन् । वारदात मिति २०६९।१२।०६ गते म मानसिक विक्षिप्त भई मैले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने अवस्थामा गरेको भन्ने तथ्य स्थापित भएकोले मुलुकी ऐन दण्ड सजायको १ नं.बमोजिम सजाय गरिरहन परेन भनी कास्की जिल्ला अदालतबाट मिति २०७०।१२।१९ मा गरेको न्यायोचित र मनासिब फैसलालाई बदर गरी कुटपिटमा परिणत गर्ने गरेको पुनरावेदन अदालत पोखराको मिति २०७२।०३।१० को फैसला विशेषज्ञको प्रतिवेदन र बकपत्र, साक्षीहरूको बकपत्रसमेतलाई प्रमाण नलिई, गलत नजिर प्रयोग गरी तथ्य र प्रमाणलाई गलत व्याख्या गरी गरेको हुँदा उक्त फैसला बदर गरी कास्की जिल्ला अदालतको मिति २०७०।१२।१९ गतेको फैसला सदर कायमै राखी झुट्टा अभियोग माग दाबीबाट फुर्सद दिलाई हक इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी प्रविण गुरूङको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।

यसमा पुनरावेदक प्रतिवादी प्रविण गुरूङ र घाइते गिता श्रेष्ठका बिच पूर्वरिसइवी रहेको भन्ने नदेखिएको, प्रतिवादीले वि.सं. २०६२ सालदेखि नै मानसिक रोगको औषधी सेवन गरेको भन्ने पेस भएको उपचारका लिखतहरूबाट देखिएको, प्रतिवादीको उपचारमा संलग्न चिकित्सक डा. राजन शर्माले यस्ता बिरामी भएका मानिसले अचेत अवस्थामा घटना घटाउने गर्दछन्‌ भन्ने उल्लेख गरेको परिप्रेक्ष्यमा पुनरावेदन अदालत पोखराले प्रस्तुत मुद्दा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम कुटपिटमा परिणत गर्ने गरी गरेको फैसला प्रमाण मूल्याङ्कन रोहमा फरक पर्न सक्ने देखिएकोले फौजदारी कार्यविधि संहिता, २०७४ दफा १४०(३) नं. तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ६७ नं.बमोजिम छलफलको लागि प्रत्यर्थी वादी नेपाल सरकारको हकमा महान्यायाधिवक्ताको कार्यालयलाई प्रस्तुत आदेश र पुनरावेदनपत्रको प्रतिलिपिसमेत साथै राखी पेसीको सूचना दिई नियमानुसार पेस गर्नुहोला भन्ने बेहोराको यस अदालतको आदेश ।

ठहर खण्ड

नियमबमोजिम साप्ताहिक तथा दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको सुरू तथा पुनरावेदन मिसिल अध्ययन गरी प्रत्यर्थी/वादी नेपाल सरकारका तर्फबाट उपस्थित उपन्यायाधिवक्ता श्री डम्मरप्रसाद काफ्लेले यी पुनरावेदक/प्रतिवादीउपर परेको जाहेरी दरखास्त, पीडितको कागज, मौकामा बुझिएका मानिसहरूले गरेको कागज तथा निजहरूले अदालतमा गरेको बकपत्र, पीडितका घाँ-जाच केस फारामसमेतका कागजातहरूको बेहोराबाट यी पुनरावेदक/प्रतिवादी प्रविण गुरूङले गिता श्रेष्ठलाई घर भाडासम्बन्धी विवादलाई लिएर खुकुरीले शरीरका विभिन्न भागमा चोट प्रहार गरी घाइते बनाएका थिए । सो पश्चात् तत्काल पीडितले गुहार मागी अन्य व्यक्तिहरूसमेत आई निज प्रतिवादीलाई थप प्रहार गर्न रोकी पीडितलाई तत्कालै अस्पतालमा उपचार गर्न लगेबाट पीडितको ज्यानसम्म बच्न गएको हो । यी पुनरावेदक/प्रतिवादी प्रविण गुरूङको स्वास्थ्य उपचार गर्ने डाक्टरको रिपोर्ट तथा निजले अदालतमा गरेको बकपत्रमा यी प्रतिवादी मतिभ्रम र दृष्टिभ्रम भनी लेखाइदिएको भए पनि यी पुनरावेदक/प्रतिवादीले अदालतमा तथा मौकामा बयान गर्दा निजले आफूले सोधिएको प्रश्नको जवाफ दिन सक्दछु भनी उल्लेख गरेको तथा निजले बयानमा सन्तुलित रूपबाट जवाफसमेत दिनसकेको अवस्थामा निजले प्रस्तुत वारदातको कसुर गर्दाको समयमा निज व्यक्ति आफूले गरेको कामको परिणाम थाहा नपाउने गरी मगज बिग्रिएको वा बौलाएको अवस्थामा रहेको 

देखिँदैन । यी पुनरावेदक/प्रतिवादीलाई अभियोग दाबीबमोजिम ज्यान मार्ने उद्योगमा सजाय गर्नुपर्नेमा सो नगरी प्रस्तुत वारदात कुटपिटअन्तर्गतको देखिएकाले पीडितले मुद्दा सकार गर्न आए सकार गराई कारबाही गर्ने गरी पुनरावेदन अदालत पोखराबाट भएको फैसला त्रूटिपूर्ण हुँदा उक्त फैसला बदर गरी अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो । 

अब पुनरावेदन अदालत पोखराको मिति २०७२।०३।१० को फैसला मिले नमिलेको के हो ? तथा प्रतिवादी प्रविण गुरूङको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो । 

२. निर्णयतर्फ विचार गर्दा, मिति २०६९।१२।०६ गते दिन १५:२० बजेको समयमा आफ्नै डेरा कोठाबाहिर रहेको धारामा कपडा धोइरहेको अवस्थामा मेरो श्रीमती गिता श्रेष्ठको ज्यानै मार्ने मनसायले अचानक प्रविण गुरूङले टाउको तथा हातमा खुकुरी प्रहार गरी गम्भीर घाइते तुल्याएकोले निज प्रविण गुरूङलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा हदैसम्म कारबाही गरिपाउँ भनी सुरेन्द्र श्रेष्ठको किटानी जाहेरी परेको पाइन्छ । प्रतिवादी प्रविण गुरूङले पीडित गिता श्रेष्ठको टाउको तथा हातमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १५ नं. को कसुर अपराध गरेको हुँदा निजलाई ऐ.ऐ. महलको १५ नं.बमोजिम सजाय गरी पाउन माग दाबी लिई अभियोगपत्र दायर भएकोमा जिल्ला अदालत कास्कीले वारदातको समयमा निज प्रविण गुरूङको मानसिक स्थिति/अवस्था ठिक नरहेको अवस्थामा प्रस्तुत वारदात घटाएको कसुरमा मुलुकी ऐन दण्ड सजायको १ नं. मा भएको कानूनी व्यवस्थाबमोजिम कुनै सजाय गर्न मिलेन भनी गरेको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट परेको पुनरावेदनमा पुनरावेदन अदालत पोखराले जिल्ला अदालत कास्कीबाट भएको फैसला बदर गरी प्रतिवादी प्रविण गुरूङलाई ज्यान मार्ने उद्योगको अभियोग दाबीबाट सफाइ दिई पीडितले मुद्दा सकार गर्न आए प्रस्तुत वारदात सरकारी मुद्दासम्बन्धी ऐन,२०४९ को दफा २७ बमोजिम दुनियाँवादी कुटपिटमा परिणत हुने ठहर गरेकोमा निज प्रतिवादी प्रविण गुरूङले उक्त फैसलामा चित्त नबुझाई प्रस्तुत पुनरावेदन दर्ता गरेको देखियो । 

३. प्रतिवादी प्रविण गुरूङले आफू मानसिक रोगी भएको अवस्थामा प्रस्तुत वारदात घट्न गएकोले आफूलाई  मुलुकी ऐन दण्ड सजायको १ नं. को कानूनी व्यवस्थाअनुसार सजायबाट उन्मुक्ति पाउनुपर्छ भनी लिएको पुनरावेदन जिकिरतर्फ विचार गर्दा, प्रस्तुत मुद्दाको वारदात मिति २०६९।१२।६ मा भएको र उक्त वारदातमा यी पुनरावेदक/प्रतिवादी प्रविण गुरूङले आफ्नै घरमा डेरा गरी बस्ने गिता श्रेष्ठलाई धारिलो हतियार खुकुरीले टाउको र हातमा प्रहार गरी घाइते बनाएको तथ्यमा कुनै विवाद देखिँदैन । त्यस्तै गरी उक्त वारदात हुनुपूर्व नै यी पुनरावेदक/प्रतिवादी प्रविण गुरूङले वि.सं. २०६२ सालदेखि मानसिक रोगको उपचार गराई Depression समेतको औषधी सेवन गर्दै आएको तथ्य निजको स्वास्थ्य जाँच गर्ने चिकित्सकले दिएको स्वास्थ्य जाँचसम्बन्धी रिपोर्ट तथा सो कुरालाई अदालतमा उपस्थित भई गरिएको बकपत्रसमेतबाट पुष्टि हुन्छ । प्रस्तुत वारदातको समयमा यी पुनरावेदक/प्रतिवादीले मानसिक रोग Depression को औषधी सेवन गर्ने गरेको भए तापनि सो घटनाको लगत्तै प्रहरीको पक्राउमा परी मौकामा बयान गर्दा आफूले केही समयदेखि मानसिक रोगको औषधी सेवन गर्ने गरेको भए तापनि हाल मेरो मानसिक अवस्था ठिक छ, सोधिएको सवालको जवाफ दिनसक्छु भनी प्रस्तुत वारदातको तथ्य उजागर गरी सोधिएको प्रश्नको युक्तियुक्त जवाफ दिँदै आरोपित कसुरमा साबित रही बयान गरेको पाइन्छ । निजले अदालतमा बयान गर्दा आफूले पीडितलाई चिन्दिनँ र निजलाई कुटपिट गरेको होइन भनी आरोपित कसुरमा इन्कार रही आफूलाई हुन सक्ने सम्भावित सजायको आँकलन गरी सजायबाट मुक्ति पाउने उद्देश्यका साथ आफ्नो बाबु र दाजुको रोहबरमा सिलसिलेवार रूपमा तथ्ययुक्त सवालको जवाफ दिएको पाइन्छ । त्यस्तैगरी यी पुनरावेदक/प्रतिवादीले मौका र अदालतमा बयान गर्दासमेत वारदातको समयमा मानसिक विक्षिप्त अवस्थामा रहेको र हाल निको भएको भनी जिकिर लिएकोसमेत 

पाइँदैन । जसबाट यी पुनरावेदक/प्रतिवादी वारदातको समयमा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा पाउन सक्ने अवस्थामा रहेको देखिँदा वारदातको अवस्थामा मानसिक सन्तुलन गुमेको थियो भन्न मिल्ने देखिन आएन । तत्कालीन मुलुकी ऐन, दण्ड सजायको १ नं. मा "कानूनबमोजिम अपराध ठहरिने कुनै काम गर्ने व्यक्ति सो काम गर्दा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा बौलाएको रहेछ भने निजलाई खत बात लाग्न वा कुनै प्रकारको सजाय हुन सक्तैन ..." भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । ऐनमा रहेको उल्लिखित अभिव्यक्तिबाट कानूनबमोजिम अपराध ठहरिने कुनै काम गर्ने व्यक्तिले सो कसुरमा हुने सजायबाट उन्मुक्ति पाउनको लागि उक्त अपराध गर्दाको अवस्थामा निज कसुरदार आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा बौलाएको हुनुपर्छ, मानसिक रोगी हुनु मात्र पर्याप्त हुँदैन भन्ने देखिन्छ । प्रस्तुत मुद्दाका सन्दर्भमा हेर्दा यी पुनरावेदक/प्रतिवादी प्रविण गुरूङले आफूले पीडितउपर खुकुरी प्रहार गरी भएको घटनाबारे सविस्तार उल्लेख गरी मौकामा गरेको बयान तथा आरोपित कसुरमा इन्कारी रही अदालतमा गरेको बयानको अभिव्यक्ति हेर्दा निज वारदात हुँदाका अवस्थामा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा मानसिक सन्तुलन गुमाएको अवस्था नरही सो अवस्थामा निजको मानसिक अवस्था सामान्य रहेको देखिन आउँछ । कुनै व्यक्तिलाई मगज बिग्रेको वा बौलाएको व्यक्ति भन्नका लागि सम्बन्धित विशेषज्ञले निज व्यक्तिको मानसिक स्वास्थ्य परीक्षण गरी मगज बिग्रेको वा बौलाएको व्यक्ति भन्ने स्वास्थ्य परीक्षण रिपोर्ट दिएको 

हुनुपर्दछ । मानसिक रोग Depression को बिरामी भई सोको औषधी सेवन गर्ने व्यक्तिलाई सो आधारमा मात्र आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा बौलाएको व्यक्ति हो भनी भन्न मिल्ने पनि देखिँदैन । यस्तो अवस्थामा यी पुनरावेदक/प्रतिवादी प्रविण गुरूङ मानसिक रोग Depression को बिरामी भई सोको औषधी सेवन गर्ने व्यक्ति भए तापनि वारदातपूर्व वा वारदात समयमा वा वारदातपश्चात्‌ समेतको अवस्थामा निजले आफूले गरेको कामको प्रकृति र परिणाम थाहा पाउन नसक्ने गरी मानसिक सन्तुलन गुमाएको अवस्था देखिन नआएबाट मुलुकी ऐन दण्ड सजायको १ नं.बमोजिम आफूलाई सजायबाट उन्मुक्ति दिनुपर्छ भन्ने यी पुनरावेदक/प्रतिवादी प्रविण गुरूङको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

४. अब, यी पुनरावेदक/प्रतिवादी प्रविण गुरूङले पीडित गिता श्रेष्ठलाई खुकुरी प्रहार गरी घाइते बनाएको कार्य ज्यान मार्ने उद्योगको कसुरअन्तर्गत पर्ने वा नपर्ने सन्दर्भमा विचार गर्दा, तत्कालीन मुलुकी ऐन, ज्यानसम्बन्धीको १५ नं. मा "ज्यान मार्ने मनसायले गोली चलाउने वा बम हान्ने वा घातक हतियारले काट्ने वा मार्नका लागि अरू जुनसुकै कुराको उद्योग गरी मर्नेसम्मको काम गरेकोमा कुनै कारणले ज्यान मर्न पाएको रहेनछ भने त्यस्तो काम गर्ने र गर्न लगाउने तथा सो ठाउँमा गई वचन दिने वा मद्दत गर्नेलाई पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद गर्नुपर्छ" भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । ऐनमा रहेको उल्लिखित अभिव्यक्तिबाट ज्यान मार्ने कसुर हुनका लागि ज्यान मार्ने मनसाय लिई गोली चलाउने वा बम हान्ने वा घातक हतियारले काट्ने वा मार्नका लागि अरू जुनसुकै कुराको उद्योग गरी मर्नेसम्मको काम गरेको हुनुपर्ने र त्यस्तो कार्य गर्दा कुनै कारणले ज्यान मर्न नपाएको अवस्था विद्यमान हुनुपर्ने देखिन्छ । प्रस्तुत मुद्दाको वारदातमा पीडित गिता श्रेष्ठले दिउँसोको समयमा आफ्नै घरडेराअगाडि धारोमा कपडा धोइरहेको अवस्थामा यी पुनरावेदक/प्रतिवादीले निजउपर खुकुरी प्रहार गरी घाइते बनाएको देखिन्छ । पीडित गिता श्रेष्ठले अदालतमा बकपत्र गर्दा यी प्रतिवादीले ज्यान लिने उद्देश्यले खुकुरी प्रहार गरेको भनी उल्लेख गरे तापनि सो बकपत्रमा यी प्रतिवादी प्रविण गुरूङसँग कुनै किसिमको पूर्वरिसइवी तथा झै-झगडा नभएको, प्रतिवादीले आफूलाई खुकुरी प्रहार गरेपश्चात् आफूले चिच्याएपछि प्रतिवादीका बाबु आमा आई छोड्दे भन्ने बित्तिकै उसले खुकुरी प्रहार गर्न छाडेको भनी लेखाइदिएको समेत पाइन्छ । यदि यी पुनरावेदक/प्रतिवादीले पीडितको ज्यान मार्ने मनसायले खुकुरी प्रहार गरेको भए कोही आई छोड्दे भन्ने बित्तिकै खुकुरी प्रहार गर्न छाड्ने अवस्था आउने थिएन । पीडितको घा-जाँच केस फाराममा घाउको प्रकारमा polytrauma cut injury, अङ्गभङ्गमा Sharp not injury,  प्रयोग गरिएको हात हतियार प्रकारमा Khukuri,  बिरामीको अवस्थामा Comfortable on bed, मर्ने नमर्नेमा Not fatal भन्ने उल्लेख गरी चिकित्सकले राय दिएको पाइन्छ । सोबाट पीडितको शरीरको विभिन्न भागमा रहेको घाउ, खत  र चोटको नापसमेतको गाम्भीर्यलाई हेर्दा मर्ने अवस्थाका घाउ चोटहरू रहेकोसमेत देखिन आउँदैन । त्यस्तैगरी यी पुनरावेदक/प्रतिवादीले पीडित गिता श्रेष्ठलाई ज्यान मार्ने मनसायले खुकुरी प्रहार गरी घाइते बनाएको भनी वादी नेपाल सरकारको तर्फबाट अन्य कुनै वस्तुनिष्ठ ठोस प्रमाण पेस गर्नसकेको अवस्थासमेत मिसिलबाट देखिँदैन । यसबाट यी पुनरावेदक/प्रतिवादीले बिना कुनै कारण एवं रिसइवीसमेत केही नलिई बिना पूर्वतयारी र योजनामा पीडित गिता श्रेष्ठउपर खुकुरी प्रहार गरी घाइते बनाएको देखिन आयो । यसरी पीडितको बकपत्रको अभिव्यक्ति, निजको घा-जाँच केस फारामसमेतका मिसिल संलग्न प्रमाणहरूबाट यी पुनरावेदक/प्रतिवादी प्रविण गुरूङले पीडित गिता श्रेष्ठउपर खुकुरी प्रहार गरेको भए पनि निजको ज्यानै मार्ने मनसायले उक्त कार्य गरेको देखिन आएन । यस्तो अवस्थामा यी पुनरावेदक/प्रतिवादी प्रविण गुरूङउपरको ज्यान मार्ने उद्योगतर्फको नेपाल सरकारको अभियोग दाबी पुष्टि हुन आएन । तथापि मिसिल संलग्न किटानी जाहेरी, प्रतिवादीले मौकामा गरेको बयान, पीडितको बकपत्र तथा घा-जाँच केस फारामसमेतका समष्टिगत प्रमाणहरूबाट वारदातको प्रकृति तत्काल कायम रहेको मुलुकी ऐन, कुटपिटको महलअन्तर्गत पर्ने देखिँदा सरोकारवाला व्यक्ति पीडितले मुद्दा सकार गरे यसै मुद्दाबाट कुटपिटतर्फ कारबाही चलाउने भनी तत्काल कायम रहेको सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ अनुसार कुटपिटतर्फ परिणत हुने ठहर गरी पुनरावेदन अदालत पोखराबाट भएको फैसलालाई अन्यथा भन्न मिलेन ।

५. अत: माथि विवेचित आधार र कारणहरूबाट यी पुनरावेदक/प्रतिवादी प्रविण गुरूङ मानसिक रोग Depression को बिरामी भए तापनि आफूले गरेको कामको प्रकृति र परिणाम थाहा पाउन नसक्ने गरी मानसिक सन्तुलन गुमाएको नदेखिएको अवस्थामा यी प्रतिवादीले खुकुरी प्रहार गरी पीडितलाई घाइते बनाएको वारदातमा निज प्रतिवादीलाई मुलुकी ऐन दण्ड सजायको १ नं. अनुसार कुनै सजाय गर्न मिलेन भनी सुरू कास्की जिल्ला अदालतबाट भएको फैसला बदर गरी प्रस्तुत वारदात ज्यान मार्ने उद्योगअन्तर्गतको नदेखिई कुटपिटको महलअन्तर्गतको कसुर देखिँदा वारदातमा घाइते भएका सरोकारवाला व्यक्ति पीडित गीता श्रेष्ठले कुटपिटतर्फ कारबाही गराइपाउँ भनी मुद्दा सकार गर्न आएका बखत कुटपिटतर्फ मुद्दाको कारबाही गर्ने गरी सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ अनुसार कुटपिटतर्फ परिणत हुने ठहर गरी पुनरावेदन अदालत पोखराबाट मिति २०७२।०३।१० मा भएको फैसला तत्कालीन कानूनी व्यवस्थाको रोहमा मिलेको देखिए तापनि सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ खारेज भई हाल अस्तित्वमा नभएको उक्त कानूनी व्यवस्थालाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४२ ले निरन्तरता दिएको परिप्रेक्ष्यमा सो दफामा रहेको प्रावधानलाई केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९ को उपदफा २(क) बमोजिम सोही रूपमा अवलम्बन गर्नुपर्ने देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४२ को उपदफा (१) र (२) बमोजिम सरोकारवाला रहेका प्रस्तुत मुद्दाका पीडितलाई सूचना दिई निज सरोकारवाला व्यक्ति पीडित गीता श्रेष्ठले मुद्दा सकार गर्न आए निजलाई वादी कायम गरी यसै मुद्दाबाट कुटपिट मुद्दाको कारबाही र किनारा गर्नु भनी पुनरावेदन अदालत पोखराबाट मिति २०७२।०३।१० मा भएको फैसला न्यायोचित देखिँदा सदर ठहर गरिदिएको छ । पुनरावेदन/प्रतिवादी प्रविण गुरूङको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरू तपसिलबमोजिम गर्नू । 

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रस्तुत मुद्दाको  वारदात कुटपिटतर्फ परिणत हुने ठहर भएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४२ बमोजिम सरोकारवाला रहेका प्रस्तुत मुद्दाका पीडित गीता श्रेष्ठलाई सोको सूचना दिई निजले प्रस्तुत मुद्दाको वारदातमा कुटपिटतर्फ कारबाही गराइपाउँ भनी मुद्दा सकार गर्न आएका बखत मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४२ बमोजिम निजलाई वादी कायम गरी यसै मुद्दाको मिसिलबाट कुटपिट मुद्दातर्फको कारबाही गर्नु भनी मिसिल सुरू कास्की जिल्ला अदालतमा पठाइदिनू ............................१

प्रस्तुत फैसलाको जनाउ महान्यायाधिवक्ताको कार्यालयलाई दिई फैसलाको प्रति विद्युतीय अपलोड गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू .....................................................२

 

उक्त रायमा सहमत छु ।

न्या. प्रकाशकुमार ढुङ्गाना

 

इजलास अधिकृतः- शिवप्रसाद पराजुली (उपसचिव)

इति संवत् २०७९ साल पौष ७ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु