शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४२६४ - अंश

भाग: ३३ साल: २०४८ महिना: जेष्ठ अंक:

निर्णय नं. ४२६४    ने.का.प. २०४८            अङ्क २,

 

संयुक्तइजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४६ सालको दे.पु.नं. ४४३

फैसला भएको मिति: २०४८।३।१९।४ मा

पुनरावेदक/प्रतिवादी : का.न.पा. वार्ड नं. २५ बस्ने बाबुलाल श्रेष्ठ

विरुद्ध

वादी: ललितपुर न.पा. वार्ड नं. ९ बस्ने हरिबहादुर श्रेष्ठ

मुद्दा : अंश

(१)    अचल सम्पत्ति माथि स्वामित्व रहे भएको सबूद प्रमाणको अभावमा केवल जिकिरलाई कानुनी मान्यता दिन न्यायसंगत नहुने ।

(प्रकरण नं. १३)

(२)   वादी प्रतिवादी एकासगोलका अंशियार हुन् भन्ने कुरामा विवाद नरही निजहरु बीच अंशबण्डा भइसकेको भन्ने करा प्रमाणिक रुपबाट पुष्टी हुन नसकेको अवस्थामा वादीले अंश पाइसकेको भन्ने प्रतिवादीको पुनरावेदन जिकिर कानुनसंगत मान्न नमिल्ने ।

(प्रकरण नं. १४)

पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

वादीतर्फबाट: विद्वान अधिवक्ता श्री भ्रमण श्रेष्ठ

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको अनुमति प्रदान नगर्ने आदेश उपर न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख)(ग) र ऐ.को उपदफा (७) बमोजिम पुनरावेदनको अनुमति प्राप्त भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य, जिकिर एवं फैसला यस प्रकार छ ।

२.    बाबु जगतलाल र आमा पूर्णमायाबाट हामी बाबुलाल र म फिरादी हरिबहादुरको जन्म भएको पिताको कालगतिले परलोक भएपछि हामी दुई दाजुभाइ एकापसमा मिली बस्न नसकेकाले पैत्रिक श्रीसम्पत्तिको बण्डा गर्नु पर्‍यो भन्दा आलटाल गरी एकलौटी खाने मनसाय लिएकाले २०४८।१२।२१ लाई मानो छुट्टिएको मिति कायम गरी, त्यसको अघिल्लो दिनसम्मको सम्पत्तिको तायदाती लिई (२) खण्डको (१) खण्ड अंश दिलाई पाउँ (साविक पेज नं. ८६) भन्ने समेत व्यहोराको ०४३।१।१५ को फिरादपत्र ।

३.    बाजे लोकमानको तीन छोरामा जेठा जगतमान, माहिला हाम्रा पिता जगतलाल, कान्छा विष्णुलाल, बाजे लोकमान, हाम्रा काका पिता समेतले (४) बण्डा लगाई २००७।३।२४ मा अंशबण्डाको कागज खडा गरी ऐ.२६ गते पारित गराई अलग बसी आएका थिए । बण्डापत्र अनुसार का.जि. मखनटोलको घर (२) नाले ४ तले उत्तरतर्फ ७१२ फिट घर विष्णुलालको भागमा र सो देखि दक्षिण ७१२ फिट लम्बा घर पिता जगतलालको भाग र सो देखि दक्षिण ८१२ फिट बाजे लोकमानको भागमा पारी बण्डा भएको थियो । पिताले पनि २००९।८।१ मा हामी बीच बण्डा गरी दिनु भएकाले, विपक्षी र म सो घर छाडी डेरा गरी बसेका थियौं । मैले २०११।११।१७ मा स्ववासी घर भनी नक्शा पासको लागि दर्खास्त दिएपछि, पिताजीले मेरा उपर दिनुभएको फिरादबाट सो बदर भएछ । पिता माताको वृद्ध अवस्था भएकाले मलाई बोलाई मखनकै घरमा राखी हेरचाह गर्न भनेकाले त्यही बसी २०२१ सालदेखि हेरचाह गर्दै थिएँ । रिझ बापत भनी २०२४ सालमा बकसपत्र समेत दिनु भएको थियो । कान्छा काका विष्णुलालले घर बिक्री गर्नु भनेकाले रु. २९९३।मा घरसारमा नै फार्छे पत्र लेखी दिइराख्नु भएको थियो । बकसपत्र बमोजिम मेरो हक भइरहेको अवस्था २०२४।५।२३ मा समुच्चै घर भत्किई बकसपत्र समेत हरायो । मेरो हकको घर र विष्णुलालको भागको घर जग्गामा समेत २०२५।११।११ मा छोरा रामलालका नाउँमा फार्छेपत्र पारित गरी ०२६ सालमा नक्शा पास गरी नयाँ घर बनाई बसी आएकोमा नक्शा हुँदा कि.नं. ५७२ बाट ०२ कायम भई मेरा नाउँमा दर्ता भई पूर्जा समेत पाएको मेरो एकलौटी आर्जनको हक भोगको घर जग्गाबाट अंश पाउन सकिन्छ कि भन्ने नियतले, झुठ्ठा फिराद गरेका हुन् भन्ने समेत व्यहोराको ०४३।३।१६ को प्रतिउत्तरपत्र ।

४.    यसमा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी अंश बण्डाको २०, २१, २२ र २३ को कार्यविधि पूरा गरी मुद्दाका दुवै पक्षबाट सम्पत्तिको फाँटवारी लिई पेश गर्नु भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको आदेश ।

५.    २०४४।१२।३ को तायदातीबाट (२) खण्डको (१) खण्ड अंश वादीले पाउने ठहर्छ भन्ने समेत व्यहोराको ०४५।२।२ को जिल्ला अदालतको फैसला ।

६.    म अंश छुट्टीभिन्न भई बसिसकेको व्यक्तिबाट प्र.लाई अंश दिलाई दिने ठहर्‍याएको जि.अ.को इन्साफ कानुनसंगत नहुँदा बदर गरीपाउँ भन्नेसमेत व्यहोराको प्र.पक्षबाट वा.अं.अ.समक्ष परेको पुनरावेदन ।

७.    वादी प्र.अंशियार देखिएको अंशबण्डा भइसकेको भन्ने कुरा प्र.बाट पेश दाखेला हुन नसकेको, पुख्र्यौली सम्पत्तिको घरमा वादीले प्र.बाट अंश पाउने भनी ठहर्‍याउनु न्यायोचित देखिन नआएकोले घरमासम्म अंशपाउने ठहर्‍याएको शुरु अदालतको इन्साफ मनासिब ठहर्छ भन्नेसमेत व्यहोराको अं.अ.को फैसला ।

८.    कानुनी त्रुटिपूर्ण जिल्ला अदालतको फैसलालाई सदर गरेको वागमती अञ्चल अदालतको इन्साफ न्यायसंगत नहुँदा सो फैसला बदर गरी प्रतिवादी जिकिर बमोजिम हुन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी पक्षबाट परेको निवेदनमा अंश भाग बापतको सम्पत्ति, वादीले भोग गरेको कुरा प्रतिवादीले लेखाउन देखाउन नसकेकोले, वादीले प्रतिवादीबाट अंश पाउने ठहर्‍याएको फैसला उपर पुनरावेदन गर्ने अनुमति दिन मिलेन, नियमानुसार गर्नु भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश ।

९.    पुनरावेदनको लागि अनुमति दिन नमिल्ने भनी गरेको क्षेत्रीय अदालतको आदेश समेत कानुनी (साविक पेज नं. ८७) त्रुटिपूर्ण भयो बदर गरी इन्साफ पाउन पुनरावेदनको लागि अनुमति पाउँ भनी प्रतिवादी पक्षबाट पर्न आएको निवेदनमा छोराले खरिद गरेको आधा घर समेतमा अंशबण्डा गर्ने गरी गरेको फैसलामा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको यस अदालतको आदेश ।

१०.    नियम बमोजिम पेशीमा चढी इजलास समक्ष पेश हुन आएकोमा पुनरावेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल र वादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री भ्रमण श्रेष्ठले गर्नुभएको बहस जिकिर समेत सुनियो ।

११.    प्रस्तुत मुद्दामा वादीले प्रतिवादीबाट अंश पाउने ठहराएको जिल्ला अदालतको फैसलालाई सदर गरेको अञ्चल अदालतको इन्साफ उपर पुनरावेदनको अनुमति दिन इन्कार गरेको क्षेत्रीय अदालतको आदेश कानुनसंगत छ, छैन हेरी निर्णय दिन पर्ने हुन आयो ।

१२.   निर्णयतर्फ हेर्दा यसमा वादी प्रतिवादी एकासगोलका अंशियार हुन् भन्ने कुराका हकमा पुनरावेदक प्रतिवादीले आफ्नो लेखमा नातेदार भन्नेमा सम्म विवाद छैन भनी लेखे तापनि सो कुरा प्रमाणित हुन पनि नसकेको प्रतिवादीको प्रतिउत्तर लेखबाट समेत वादी प्रतिवादी जगतलालको छोरा देखिन आएकोले यस विषयमा अन्यथा विचार गरी रहनु पर्ने अवस्था देखिन आएन ।

१३.   अब तायदातीमा उल्लेखित घर सहितको जग्गा प्रतिवादीले बकसपत्रबाट पाएको भन्ने र वादीले प्रतिवादीबाट अंश पाउने हुन्की होइनन् यसतर्फ हेर्दा हाल विवादमा आएको, तायदातीमा लेखिएको जग्गामा बनेको घर, बाबु जगतलालबाट प्रतिवादी बाबुलालले बकसपत्र पाएको लेखिएको, बकसपत्रको लिखत समेत, पुरिएको भन्ने प्रतिवादीको लेख रहेको देखिन्छ । प्रतिवादीको यस जिकिरलाई पुष्ट्याई गर्ने आधिकारिक सबूद प्रमाण प्रतिवादीबाट पेश दाखेला हुनसकेको पाइँदैन । अचल सम्पत्ति माथि स्वामित्व रहे भएको सबूद प्रमाणको अभावमा, केवल जिकिरलाई कानुनी मान्यता दिन न्यायसंगत हुने नहुँदा प्रतिवादीको उक्त जिकिर कानुन अनुरुप देखिन आएन । यसको साथै हाल विवादित जग्गामा नक्शा पासलाई यी पुनरावेदक प्रतिवादीले दर्खास्त दिंदा, पिता जगतलालबाट प्रतिकार गरेको कुरामा प्रतिवादी सावित देखिन्छन् यसबाट पनि पिताबाट बकसपत्र पाएको भन्ने जिकिर पत्यारलायक देखिँदैन ।

१४.   मातापिताको मृत्यु पछि वादीले, फ्नो अंश भागको सम्पत्ति लिइसकेको भन्ने प्रतिवादी जिकिर छ, सो को पुष्टिको हकमा न त अंशबण्डा पत्रको लिखत पेश हुन सकेको छ, न वादीले यो ठाउँको यो यति सम्पत्ति बण्डा बापत पाएको छ भनी प्रतिवादीले देखाउन नै सकेका छन् । यस स्थिति अवस्थामा वादीले पैत्रिक सम्पत्तिबाट अंश पाइसकेको भन्न मान्न कानुनसंगत हुँदैन । हाल तायदातीमा उल्लेखित घर सहितको जग्गा आमा बाबुको हकको सम्पत्ति होइन भनी, प्रतिवादीले भन्न लेख्न नसकेको, सो घर सहितको जग्गा प्रतिवादीको जिम्मामा रहेको कुरा मिसिल संलग्न कागज प्रमाणबाट देखिन आएको, वादी प्रतिवादी एकासगोलका अंशियार हुन भन्ने कुरामा विवाद नरही निजहरु बीच अंशबण्डा भइसकेको भन्ने कुरा प्रमाणिक रुपबाट पुष्टी हुन नसकेको अवस्थामा वादीले अंश पाइसकेको भन्ने प्रतिवादीको पुनरावेदन जिकिर कानुनसंगत मान्न मिलेन ।

१५.   अतः वादीले प्रतिवादीबाट (२) खण्डको (१) खण्ड अंश पाउने ठहराएको काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरेको वागमती अञ्चल अदालतको फैसला उपर पुनरावेदनको अनुमति दिन इन्कार गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश समेतमा कुनै कानुनी त्रुटि विद्यमान रहे भएको नहुँदा इन्साफ मनासिब ठहर्छ । कोर्टफी रहेको देखिँदा केही गर्न परेन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

उक्त रायमा म सहमत छु । न्या.गजेन्द्रकेशरी बास्तोला

इतिसम्वत् २०४८ साल आषाढ १९ गते रोज ४ शुभम् ।

 

(साविक पेज नं. ८८)

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु