निर्णय नं. ११०९६ - जबरजस्ती करणी
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
माननीय न्यायाधीश डा.श्री कुमार चुडाल
फैसला मिति: २०८०।४।२२
०७६-CR-०२९३
मुद्दाः जबरजस्ती करणी
पुनरावेदक/वादी: परिवर्तित नाम ०८ पाख्रिबास (ख) को जाहेरीले वादी नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी: लोकबहादुरको नाति भीमबहादुरको छोरा जिल्ला धनकुटा पाख्रिबास न.पा. वडा नं. १० मार्गा बस्ने नविन चर्माकार
वारदातको प्रकृति, कसुरदारको कसुरजन्य कार्यको समग्र अवस्थाको वस्तुगत स्थिति नै थप कसुरजन्य कार्य हो होइन भन्ने निर्धारक तत्त्व हुने । आफैँले गर्भवती बनाएको महिलालाई करणी गर्नु नै थप कसुर कायम गर्न सकिने अवस्था
नरहने । जबरजस्ती करणी र सो जबरजस्ती करणीमा हुने थप सजायको व्यवस्था एकअर्काका पारस्परिक र परिपूरक कानूनी व्यवस्थाको रूपमा मान्नुपर्ने । कुनै गर्भवती महिलालाई जबरजस्ती करणी गर्नु र राजीखुसीसाथ करणी लेनादेना भइरहेको बखत गर्भ रहेको स्थितिपश्चात् पनि करणी लेनादेना हुनु अन्तरयुक्त अवस्था भएको देखिने । कानूनको व्याख्या सादृश्यताका साथ सङ्गतपूर्ण तवरबाट गर्नुपर्ने । गर्भवती महिलालगायत थप कसुर कायम हुने अपराधजन्य कार्यको तमाम प्रकृति र परिवेशबाट मुलुकी ऐन जबरजस्ती करणीको ३क. बमोजिमको थप सजायको वस्तुगत निष्कर्ष निकाली न्याय निरूपण गर्नुपर्ने ।
(प्रकरण नं. ७)
पुनरावेदक/वादीका तर्फबाट: विद्वान् उपन्यायाधिवक्ता श्री कल्पना राई
प्रत्यर्थी/प्रतिवादीका तर्फबाट: विद्वान् अधिवक्ता श्री रोहितकुमार डागी
अवलम्बित नजिर:
सम्बद्ध कानून:
सुरू तहमा फैसला गर्ने:
मा. जि. न्या. श्री विनोदकुमार पोखरेल
धनकुटा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
मा. न्या. श्री विनोद शर्मा
मा. न्या. श्री बबिता उप्रेती
उच्च अदालत विराटनगर, धनकुटा इजलास
फैसला
न्या.डा.कुमार चुडाल: न्याय प्रशासन ऐन, २०७३ को दफा १२ (१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :-
तथ्य खण्ड
म जाहेरवालीको कान्छी छोरी वर्ष १३ की परिवर्तित नाम ०८ पाख्रिवास (क) कक्षा ६ मा पढ्दै आएकीमा यसपालिदेखि स्कुल छाडी घरमा नै बस्दै आएकी थिइन् । निज छोरीको डेढ वर्षदेखि रजश्वला भई नियमित रूपमा महिनावारी हुँदै आएकीमा आर्थिक अवस्था कमजोर भएकाले दैनिक खेती किसान गर्दै पालनपोषण गर्दै आएकोमा निज छोरीको गत भाद्र महिनाको अन्तिममा महिनावारी भएपछि निजको महिनावारी रोकिएको थाहा पाई महिनावारी किन भएको छैन भनी सोधीखोजी गर्दा झर्केर नबोलेपछि वास्ता गरिन । छोरी दिनहुँ मोटाउँदै आएकी र पेटसमेत बढेकोले निजलाई फकाउँदै सोधीखोजी गर्दा नविन विशंखेले पेट बोकाएको भनेकीले मेरी स्टोप्स हिलेमा लगी जाँच गराउँदा गर्भ रहेको थाहा भएको हो । प्रतिवादी नविन विशंखेले मेरी नाबालिका छोरीलाई ललाइफकाइ अन्तिम पटक मिति २०७४।०९।१२ गते पनि जबरजस्ती करणी गरी गर्भधारणसमेत गराएको हुँदा निज प्रतिवादीलाई कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७४।१०।२० गतेको जाहेरी दरखास्त ।
मिति २०७४।०४।१५ गते म बिहान घाँस काट्न तल्लो खोल्सीमा गएको समयमा प्रतिवादी खोलामा आई मसँग प्रेम प्रस्ताव तथा यौन सम्पर्क गर्न खोज्दा म नबोली खोलाको डिलमा बसेको समयमा मलाई बिहानको ०९:०० बजे खोल्सीछेउमा लडाई जबरजस्ती करणी गरी म तिमीलाई विवाह गर्छु केही हुन्न जे भए नि म छु भनी फकाएपछि म घर गएँ । घरका सदस्यले कुट्छन् पिट्छन् होला भनी कसैलाई भनिनँ । यस्तैमा म घाँस काट्न जाँदा मलाई पछ्याउँदै आउँथे, हामीबिचमा पटकपटक यौन सम्पर्क भइरहन्थ्यो । हामीबिचको सम्बन्ध कोही कसैलाई नभन्ने हामीबिच सल्लाह भएको थियो । आजभन्दा ६/७ महिनाअगाडि मेरो महिनावारी रोकिएपछि निजलाई सुनाउँदा निजले म छु, तिमी चिन्ता नगर कसैलाई नभन भनेकोले मैले कसैलाई नभनी बसेकोमा २/३ महिनापछि आमाले तेरो महिनावारी भएको छैन भनी सोध्दा मैले झर्केर बिग्रेको होला भनिदिएँ । मिति २०७४।०९।१२ गते बिहानको अं.०९:०० बजेको समयमा म बारीमा घाँस काट्न जाँदा नविन बिशंखेले बारीमा भेटी सोही बारीको खोल्सीमा यौन सम्पर्क गरी म कमाउन जाँदै छु राम्ररी बस्नु भन्दा मैले हुन्छ भनेकी थिएँ । यस्तै क्रममा मेरो शारीरिक बनावट परिवर्तन हुन थालेपछि आमाले तेरो पेट बढ्दै गएको छ, कस्को पेट हो भनी सोधीखोजी गर्दा मैले प्रतिवादी नविन विशंखेको पेट हो भनेपछि आमाले मलाई मेरिस्टोप्स हिलेमा लगी जाँच गराउँदा पेटमा गर्भ छ भने कुरा थाहा पाई जिल्ला प्रहरी कार्यालय धनकुटामा जाहेरी दरखास्त दिनुभएको हो भनी मिति २०७४।१०।२० गते पीडित पाख्रिवास (क) ले गरिदिएको घटना विवरण कागज ।
जिल्ला धनकुटा पाख्रिवास न.पा.वडा नं. १० मार्गा स्थित पूर्वमा हिले छिन्ताङ आउने-जाने कच्ची मोटर बाटो, पश्चिममा योगेन्द्र विशंखेको पाखो बारी, उत्तरमा तीलकबहादुर श्रेष्ठको खाली बारी र दक्षिणमा चक्रबहादुर श्रेष्ठको बारी यति चारकिल्लाभित्र रहेको तल्लो खोला स्थित मिति २०७४।०४।१५ गते र ऐ. वडा नं. १० स्थितपूर्वमा हिलेबाट छिन्ताङतर्फ आउने जाने कच्ची मोटर बाटो, पश्चिममा तिर्थ तोलांगिको बारी, उत्तरमा कर्ण तामाङको घरतर्फ जाने कच्ची गोरेटो बाटो र दक्षिणमा तिलकबहादुर श्रेष्ठको उत्तिसघारी, सोही उत्तिसघारीमा मिति २०७४।०९।१२ गते प्रतिवादी नविन विशंखेले पीडितलाई जबरजस्ती करणी गरेको भन्ने बेहोराको छुट्टाछुट्टै घटनास्थल मुचुल्का ।
Single intrauterine live fetus of 27 weeks of gestation भन्नेसमेत बेहोराको परिवर्तित नाम ०८ पाख्रिवास (क) को मिति २०७४।१०।२१ गतेको शारीरिक परीक्षण रिपोर्ट र Singleton pregnancy of 27 weeks gestation भन्नेसमेत बेहोराको भिडियो एक्सरे रिपोर्ट ।
पीडित ०८ पाख्रिवास (क) एक वर्षअगाडिदेखि मेरो घरमा टि.भी हेर्न आउँदा प्राय: मसँग जिस्किने गर्थिन्, जिस्किँदा जिस्किँदै मैले निजलाई प्रेम प्रस्ताव राखेँ, निजले उक्त समय केही बोलिनन् । म स्कुल जाँदा निजकै बारीको बाटो हुँदै जान्थेँ, निज आफ्नो बारीमा आई मेरो बाटो छेकी जिस्काउने गर्थिन् । भोलिपल्ट मिति २०७४।०४।१५ गते बिहानको अं.०९:०० बजेको समयमा निज घाँस काट्न तल्लो खोल्सीमा गएको देखी म पनि खोलामा पुगी दुवै जना खोलाको डिलमा बसी कुराकानी गर्दा मैले यौन सम्पर्क राख्न खोज्दा निजले केही भनिनन्, सहमतिले नै मैले यौनसम्पर्क गरेँ । त्यसपछि हामी दुवै जना एकान्तमा भेट हुँदा पटकपटक सहमतिमा यौनसम्पर्क भइरह्यो । केही समयपछि निजले मेरो पेटमा गर्भ रह्यो भनेपछि कसैलाई नभन्नु, म तिमीलाई विवाह गर्छु भनी निजलाई सम्झाइबुझाइ गरेको थिएँ । मिति २०७४।०९।१२ गते बिहानको अं.०९:०० बजेको समयमा निज घाँस काट्न जाँदा आफ्नै बारीको खोल्सीमा गइरहेको देखी म पनि पछिपछि गई निजलाई भेटी सोही खोल्सीमा सहमतिमा करणी गरी म पैसा कमाउन जान्छु आफ्नो ख्याल गर्नु भनी त्यसको तीन दिनपछि म काम गर्न गोर्खा गई मिति २०७४।१०।१६ गते म घरमा आउँदा प्रहरीले पक्राउ गरेका हुन् भनी अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादी नविन विशंखेले गरेको बयान ।
मेरो एक छोरा दुई छोरीमध्ये पीडित वर्ष १४ की पाख्रिवास (क) कान्छी छोरी हुन् । निजले कक्षा ६ सम्म पढी पढाई छाडी घरमा नै काम सघाउँदै आएकी थिइन् । निज छोरीको गत भाद्र महिनादेखि महिनावारी नभएपछि मेरो श्रीमती परिवर्तित नाम पाख्रिवास (ख) ले थाहा पाई सोधीखोजी गर्दा छोरीले झर्केर बिग्रेको छ भनिन्, त्यसपछि छोरी मोटाउँदै आएको र पेटसमेत बढ्दै आएको देखी ललाइफकाइ छोरीलाई सोध्दा मलाई प्रतिवादी नविन विशंखेले श्रावण महिनाको १५ गतेदेखि बारीको खोल्सीमा करणी गरी पछि पटकपटक म तिमीसँग बिहे गर्छु भन्दै करणी गर्दै आएको र मेरो पेटमा भएको गर्भसमेत निजको हो भनी अन्तिम पटक मिति २०७४।०९।१२ गते पनि मलाई करणी गरेका हुन् भनी सुनाएपछि मैले श्रीमतीलाई उजुरी गर्न पठाएको हुँ । प्रतिवादीले मेरो नाबालिका छोरीलाई ललाइफकाइ करणी गरी गर्भधारणसमेत गराएको हुँदा निजलाई कानूनबमोजिम कारबाही गरी क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भनी मिति २०७४।११।४ गते परिवर्तित नाम ०८ पाख्रिवास (ग) ले गरिदिएको घटना विवरण कागज ।
प्रतिवादी नविन विशंखेले पीडित ०८ पाख्रिवास (क) लाई ललाइफकाइ पहिलो पटक मिति २०७४।०४।१५ गते करणी गरेको र सोपश्चात् पनि पटकपटक करणी गरी अन्तिम पटक मिति २०७४।०९।१२ गते करणी गरी पीडितलाई गर्भधारण गराएको कुरा सुनी थाहा पाएका हौँ । निज प्रतिवादीले नाबालिकालाई ललाइफकाइ करणी गरी गर्भधारण गराएको हुँदा निज प्रतिवादीउपर कानूनबमोजिम सजाय होस् भनी तिलमाया तोलाङगी, पदमबहादुर तामाङ र उत्तम श्रेष्ठसमेतका मानिसहरूले मिति २०७४।११।०५ गते गरिदिएको वस्तुस्थिति मुचुल्का ।
विशंखे चर्मकार सार्की जातभित्र नै पर्ने भएकोले मैले मिति २०७४।१०।२४ गते गरेको बयानमा मेरो घर परिवारको थर विशंखे लेखाएको हुँ, मेरो तथा मेरो घर परिवारको नागरिकतामा चर्माकार थर लेखाइएको हुँदा वास्तविक मेरो थर चर्माकार हो । मैले काबेली विकाश बैंक धनकुटामा मेरो आफ्नै नाम नविन चर्माकारको नाममा A/C ००११६७७४SB नं. को खाता खोलेको छु भनी मिति २०७४।११।१० गते प्रतिवादी नविन चर्माकारले गरेको ततिम्बा बयान ।
प्रतिवादी नविन चर्माकारले वर्ष १४ की पीडित परिवर्तित नाम ०८ पाख्रिबास (क) लाई गर्भवती अवस्थामा जबरजस्ती करणी गरेको कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. अन्तर्गत ३(३) नं. तथा ३क. नं.बमोजिमको कसुर गरेको हुँदा सोही महलको ३(३) नं.बमोजिमको सजायमा ३क नं.बमोजिम सजाय गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको १० नं.बमोजिम क्षतिपूर्ति दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको अभियोग मागदाबी ।
म र जाहेरवालाको घर १० मिनेट तलमाथि भएकाले निजको घरमा आउजाउ हुन्थ्यो । जाहेरवालाको छोरी पीडित ०८ पाख्रिबास (क) मेरो घरमा आउने जाने गर्दथिन् । पीडितले मलाई बाटो छेक्नेसमेत गर्दथिन् । मसँग चल्ने जिस्कने गर्दागर्दै २०७४ सालको श्रावण महिनामा निज नाबालिका पीडितसँग निजकै घरबारीमा करणी भएको हो । निजले मलाई फोन गरी बोलाइन् र म घाँस काट्दैछु आउनु भनिन् र म गएँ र त्यसपश्चात् बारीमा करणी भएको
हो । सल्लाह र सहमतिबाटै करणी भएको हो । त्यसपछि २/४ दिनपछि पुन: हामीबिच करणी भयो । मैले परिवार नियोजनको अस्थायी साधन प्रयोग गरेको थिइनँ । सोही कारणबाट निज पीडित गर्भवती भएकी हुन् । २०७४ सालको चुनावमा म्यादी प्रहरीमा छनौट भई धनकुटा भेडेटारमा चुनाव अवधिभर बसी र ८/१० दिन घरमा बसी गोर्खा जिल्लामा लेबर काम गर्न भनी गएको हुँ । सो समयमा गाउँमा हल्ला भएछ । गोर्खाबाट आएको भोलिपल्ट समाज राखी छलफल भई हामीहरू पीडित, निजका बाबुआमासमेत हिले चौकीमा आई चौकीबाट जिल्ला प्रहरी कार्यालय धनकुटामा पठाइदिएको हुँदा हाल प्रहरी नियन्त्रणमा नै छु । पीडितसँग सहमतिमा नै करणी लिनुदिनु गरेको हो । जबरजस्ती करणी गरेको होइन । अभियोग दाबीबमोजिम सजाय हुने होइन सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी नविन चर्माकारले सुरू अदालतमा गरेको बयान ।
तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी कसुरदार देखिएको र निजको कसुरको अवस्थाबाट ३ वर्षभन्दा बढी नै सजाय हुन सक्ने अवस्था देखिँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको ११८ को देहाय २ बमोजिम नियमानुसारको सिधा खान पाउने गरी पुर्पक्षको लागि थुनामा राख्न कारागार कार्यालय, धनकुटामा पठाइदिनु भन्नेसमेत बेहोराको सुरू जिल्ला अदालतबाट मिति २०७४।११।१४ मा भएको
आदेश ।
प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको होइन, श्रीमान् श्रीमती नाताका हुन् । विवाह गरी घरमा राखेर गोर्खा जिल्लामा काम गर्न गएको अवस्थामा गाउँघरका छरछिमेकी जनप्रतिनिधिहरूसमेत भेला भई सम्बन्ध गरी बस्नु भनेका हुन् भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी तिर्थ तोलाङ्गीले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी नविन चर्माकारले मेरो छोरी १४ वर्षकी नाबालिकालाई ललाइफकाइ जबरजस्ती करणी गरी गर्भधारण गराएको रहेछ । सो कुरा छोरीको पेट ठुलो हुँदै गर्दा छोरीलाई को कस्को हो भन्दा नविन चर्माकारको हो भनी भनेको हुँदा थाहा पाएको हुँ भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने ०८ पाख्रिबास (ग) ले सुरू अदालतमा गरेको बकपत्र ।
छोरी पीडित ०८ पाख्रिबास (क) २/३ महिना अगाडिदेखि नै रजश्वला नभएकी र के हो भनी सोधखोज गर्दा नविन चर्माकारको हो भनी भनेको र हिले मेरिसेन्टरमा गई जाँच गर्दा गर्भ छ भनी थाहा जानकारी भएपछि जाहेरी दिएको हुँ भन्नेसमेत बेहोराको जाहेरवाला ०८ पाख्रिबास (ख) ले सुरू अदालतमा गरेको बकपत्र ।
मलाई प्रतिवादी नविन चर्माकारले, मिति समय याद भएन, खोलामा घाँस काट्न गएको बेला ऊ पनि मसँगै गई घाँस काटिरहेको अवस्थामा मलाई निजले करणी गर्न तानी लगी खोलामा करणी गरेको
हो । पछि पनि बेलाबेलामा करणी लिने दिने कार्य गरेको हो । गर्भसमेत नविन चर्माकारकै हो भन्नेसमेत बेहोराको पीडित ०८ पाख्रिबास (क) ले सुरू अदालतमा गरेको बकपत्र ।
प्रस्तुत मुद्दामा रहेको तथ्य हेर्दा १४ वर्षकी पीडितासँग प्रतिवादीको घाँस दाउरा गर्दा सहमतिमै पटकपटक करणी लिनुदिनु भएको सोही क्रममा गर्भवती भएकी निजसँग तत्पश्चात् पनि २०७४।९।१२ सम्म करणी लिनु दिनु भइरहेको अवस्था प्रमाणित रहेको देखिन्छ । उक्त तथ्यले हिंसात्मक हिसाबबाट गर्भवती महिलाउपर हुने मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३क नं.ले परिकल्पना गरेको कसुरजन्य क्रियासँग समायोजन गरी हेर्न न्यायको रोहमा मिल्ने देखिँदैन । अतः उपर्युक्त आधार, कारण र विधायिकी मनसायसमेतबाट यी प्रतिवादीको सन्दर्भमा मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३क. को अवस्था लागु हुन सक्ने देखिन नआएकोले प्रतिवादी नविन चर्माकारले वर्ष १४ की पीडित परिवर्तित नाम ०८ पाख्रिबास (क) उपर आरोपित कसुर गरेको देखिँदा निज प्रतिवादी नविन चर्माकारलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ तथा ३ को देहाय ३ को कसुरमा ऐ. ३ को देहाय ३ नं.बमोजिम ६ (छ) वर्ष कैद भई निजबाट पीडित पाख्रिबास (क) ले क्षतिपूर्तिबापत ऐ. जबरजस्ती करणीको महलको १० नं.बमोजिम रू.२५०००।- (पच्चिस हजार रूपैयाँ) क्षतिपूर्ति भराई पाउने ठहर्छ । ऐ. महलको ३क.बमोजिम थप सजाय गरिपाउँ भन्ने हदसम्मको वादी अभियोग दाबी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत बेहोराको सुरू धनकुटा जिल्ला अदालतको मिति २०७५।०१।२३ को फैसला ।
यी प्रत्यर्थी प्रतिवादी नविन चर्माकारले परिवर्तित नाम ०८ पाख्रिबास (क) लाई घाँस काट्न गएको अवस्थामा मिति २०७४।०४।१५ गते बिहान ९.०० बजेको समयमा प्रथम पटक र त्यसपछि पटक पटक जबरजस्ती करणी गर्ने क्रममा मिति २०७४।०९।१२ मा अन्तिम पटक जबरजस्ती करणी गरी निजै प्रतिवादीको जबरजस्ती करणीको कारणबाट पीडित गर्भवतीसमेत रहेकी भनी किटानीसाथ मिति २०७४।१०।२० मा पीडितको आमाले दिएको जाहेरी दिएको छ । अन्यथा जिकिर गर्न नसकेको र मिसिल संलग्न निजको शारीरिक परीक्षणबाट निज २७ हप्ताको गर्भवती रहेको देखिएको र उक्त गर्भ प्रतिवादीको रहेको भनी पीडितले अदालतसमेतको बकपत्रमा लेखाई दिएकोमा उक्त गर्भ आफ्नो होइन भनी प्रतिवादीले जिकिर लिन नसकेको समेतका आधार प्रमाणबाट प्रतिवादीले १६ वर्ष नपुगेकी वर्ष १४ की पीडिता पाख्रिबास (क) लाई जबरजस्ती करणी गरेको ठहर भएको छ । जबरजस्ती करणीको महलको ३क नं. को व्यवस्था सोही महलको १ नं.बमोजिम भएको कसुरको सन्दर्भमा थप सजायसँग सम्बन्धित रहेको छ।१ नं. ले गरेको जबरजस्ती करणीको कसुरको परिभाषाभित्र १६ भन्दा कम उमेरकी बालिकाको सहमतिमै करणी भए पनि जबरजस्ती करणीको कसुर हुने देखिन्छ । गर्भवती अवस्थामा रहेकी वर्ष १४ की पीडित पाख्रिबास क लाई प्रत्यर्थी प्रतिवादीले मिति २०७४।०९।१२ मा जबरजस्ती करणी गरेको र मिति २०७४।०४।१५ समेतको करणीबाट आफू गर्भवती भएको भनी प्रतिवादीलाई पीडितले महिनावारी रोकिएको भनी सुनाउँदा पीडित गर्भवती छन् भन्ने जानी जानी यी प्रतिवादीले पीडितालाई गर्भवती अवस्थामा मिति २०७४।०९।१२ गतेसम्म जबरजस्ती करणी गरेको पुष्टि हुँदाहुँदै हिंसात्मक हिसाबबाट गर्भवती महिलाउपर हुने मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३क. नं. ले परिकल्पना गरेको कसुरजन्य क्रियासँग प्रस्तुत वारदातको समायोजन गरी हेर्न न्यायको रोहमा मिल्ने देखिँदैन भनी प्रत्यर्थी प्रतिवादीउपरको जबरजस्ती करणीको महलको ३क.बमोजिम थप सजायको हदसम्मको वादी दाबी पुग्न नसक्ने ठहर भएको सुरू फैसला त्रूटिपूर्ण भई बदरभागी हुँदा बदर गरी प्रतिवादी नविन चर्माकारलाई अभियोग मागदाबीबमोजिमको थप सजायसमेत गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको उच्च अदालत विराटनगर, धनकुटा इजलासमा परेको पुनरावेदनपत्र ।
कथित पीडितले म पुनरावेदक प्रतिवादीसँग विवाह गर्ने उद्देश्यले पहिलादेखि नै सहमतिमा करणी लिनुदिनु गर्ने गरेको कारणले गर्भवती भएको र उनीबाट हाल जन्मिएको छोरा मेरै करणी वीर्यबाट जन्मिएको भनी स्वीकार गरेको कुरा मिसिल संलग्न तथ्य प्रमाणबाट पुष्टि हुँदा जबरजस्ती करणीको कार्य भएको छैन । सहमतिले नाबालक अवस्थामा भएको विवाहलाई मुलुकी ऐन, विहावरीको महलको आधारमा मात्रै हुने हो । मेरो मात्र प्रयासबाट करणी भएको कुराको कल्पना पनि गर्न मिल्दैन, सजाय हुँदा पनि दुवैजनालाई बाल विवाहमा मात्र सजाय हुने हो । जबरजस्ती करणीको महल आकर्षित हुने अवस्था छैन । कथित पीडितको शारीरिक परीक्षण रिपोर्टबाट पनि मिति २०७४।०४।१५ गते करणी भएको कारणबाट गर्भवती भएको मानी २७ हप्ताको गर्भ भनी परीक्षण रिपोर्टसमेतले पुष्टि गरिरहेको अवस्थामा हदम्याद जस्तो महत्त्वपूर्ण कुरालाई बेवास्ता गर्दै जाहेरी दरखास्तलगायत अनुसन्धानको क्रममा बुझिएका सङ्कलित कुनै कागज प्रमाणबाट जबरजस्ती करणीको कसुर हुनका लागि चाहिने आधारभूत आवश्यक तत्त्व केहीँकतै विद्यमान नहुँदा नहुँदै प्रमाण ऐन, २०३१ को दफा ३,२५ नं. तथा ने.का.प २०६९ अङ्क २ नि.नं.८७२४ पृ.१७१ मा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत मलाई ६ वर्ष कैद र २५ हजार क्षतिपूर्ति भराउने भनी गरेको सुरू फैसला गम्भीर त्रूटिपूर्ण भएकाले सो फैसला उल्टी गरी सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादीको उच्च अदालत विराटनगर, धनकुटा इजलासमा परेको पुनरावेदनपत्र ।
यसमा सुरू धनकुटा जिल्ला अदालतबाट प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. र ३ (३) नं.विपरीतको कसुरमा ऐ.३ (३) नं.बमोजिम सजाय भएकोमा चित्त नबुझाई पुनरावेदक प्रतिवादीको र ऐ. ऐनको ऐ.नं. को कसुरमा ऐ.३क. नं.बमोजिम थप सजाय नभएकोमा चित्त नबुझाई वादी नेपाल सरकार दुवैतर्फबाट दोहोरो पुनरावेदन परेको देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ प्रस्तुत पुनरावेदनपत्रहरू एक अर्कालाई परस्पर सुनाई जानकारी गराई आएपछि नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको उच्च अदालत विराटनगर, धनकुटा इजलासको मिति २०७५।०४।३० गतेको आदेश ।
सुरू धनकुटा जिल्ला अदालतको मिति २०७५।०१।२३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकार तथा प्रत्यर्थी प्रतिवादीको पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्छ भन्ने बेहोराको उच्च अदालत विराटनगर, धनकुटा इजलासबाट मिति २०७५।०६।०८ मा भएको फैसला ।
प्रतिवादी नविन चर्माकारले मिति २०७४।०४।१५ गते बिहान अन्दाजी ९ बजेको समयमा पीडित परिवर्तित नाम ०८ पाख्रिबास (क) जबरजस्ती करणी गरेको र त्यसपछि पटकपटक जबरजस्ती करणी गर्ने क्रममा निज पीडितलाई गर्भवती बनाई अन्तिम पटक २०७४।०९।१२ मा जबरजस्ती करणी गरेको बेहोरा खुलाई पीडितकी आमाले प्रतिवादीउपर मिति २०७४।१०।२० मा किटानी जाहेरी दिएको अवस्था छ । ततपश्चात् अनुसन्धान प्रारम्भ भएको प्रस्तुत मुद्दामा पीडितले आफू २०७४।०४।१५ को करणीबाट गर्भवती भएको कुरा सुनाउँदा निज प्रतिवादीले म छु चिन्ता नगर कसैलाई नभन्नु म पैसा कमाएर आउँछु भनी पुन: करणी गरेको भन्ने तथ्य पीडितको मौकाको कागज तथा बकपत्रबाट पुष्टि भइरहेको अवस्थामा सोतर्फ विचार नगरी भएको फैसला त्रूटिपूर्ण हुँदा बदरभागी छ ।
पीडितको जन्मदर्ता प्रमाणपत्रअनुसार निजको जन्मिति २०६०।०७।१० भनी खुलेको देखिँदा वारदातको समयमा निज पीडितको उमेर १४ वर्षको देखिन्छ । अर्कोतर्फ मिति २०७४।१०।२० को पीडितको स्वास्थ्य परीक्षण रिपोर्टअनुसार निजको २७ हप्ताको गर्भ रहेको तथ्यले प्रतिवादीले यी नाबालिका पीडितलाई जबरजस्ती करण गरी गर्भवती बनाएको तथ्य पुष्टि भई सोही तथ्यलाई सुरू धनकुटा जिल्ला अदालतको फैसलाले पनि पुष्टि गरेको छ । मुलुकी ऐन जबरजस्ती करणीको महलको ३क. को माग दाबीका सम्बन्धमा यी प्रतिवादीले २०७४।०९।१२ मा अन्तिम पटक जबरजस्ती करणी गरेको पुष्टि हुन्छ । नाबालिकासँग सहमति लिई करणी गरेको भए पनि जबरजस्ती करणी नै हुने भन्ने मुलुकी ऐनको जबरजस्ती करणीको महलको १ नं. को व्यवस्था तथा ऐ. महलको ३क. नं.बमोजिम कसैले गर्भवती अशक्त अपाङ्गता भएका वा होस ठेगानामा नरहेको वा आफ्नो संरक्षण वा हेरविचारमा रहेका महिलालाई जबरजस्ती करणी गरेमा वा जुनसुकै उमेरका महिलाउपर सामूहिक रूपमा जबरजस्ती करणी गरेमा यस महलमा लेखिएको सजायमा थप पाँच वर्ष कैद गर्नु भनी भएको व्यवस्थालाई बेवास्ता गर्दै हिंसात्मक तवरले गर्भवती महिलाउपर हुने जबरजस्ती करणीलाई मुलुकी ऐन जबरजस्ती करणीको महलको ३क. नं. ले परिकल्पना गरेको कसुरजन्य क्रियासँग प्रस्तुत वारदातको समायोजन गरी हेर्न न्यायको रोहमा मिल्ने देखिँदैन भनी प्रत्यर्थी प्रतिवादीउपरको जबरजस्ती करणीको महलको ३क. नं.बमोजिमको कानूनी व्यवस्थाको नै अपव्याख्या हुने गरी थप सजायको वादी दाबी पुग्न नसक्ने ठहर भएको प्रस्तुत फैसला त्रूटिपूर्ण हुँदा उक्त फैसला बदर गरी निज प्रतिवादीलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको वादी यस अदालतमा परेको मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन ।
यसमा पीडित १४ वर्षकी रहेको र प्रतिवादीको करणीबाट गर्भवतीसमेत रहेको भन्ने देखिन आएको छ । यसप्रकार गर्भवती पीडितलाई करणी गरेको भनी अदालतमा समेत प्रतिवादीले स्वीकार गरेको
छ । साथै प्रतिवादीलाई जबरजस्ती करणीको अभियोग दाबीबमोजिम सजाय गरिएकोमा गर्भवती अवस्थाको पीडितलाई जबरजस्ती करणी गरेकोमा जबरजस्ती करणीको ३क. नं. ले अनिवार्य रूपमा गर्नुपर्ने थप सजाय नगर्ने गरी उच्च अदालत विराटनगर, धनकुटा इजलासबाट मिति २०७५।०६।०८ गते भएको फैसलामा उक्त जबरजस्ती करणीको ३क. नं., प्रमाण ऐन, २०३१ को दफा ३ र ५४, साबिक मुलुकी ऐन अ.बं. १८४क.नं. तथा प्रचलित मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२४ को व्याख्यात्मक त्रूटि देखिँदा न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान गरिदिएको भन्ने बेहोराको यस अदालतबाट मिति २०७६।०४।०८ मा भएको आदेश ।
यस अदालतको ठहर
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री कल्पना राईले प्रतिवादीले पीडित गर्भवती भएको अवस्थामा समेत जबरजस्ती करणी गरेको हुँदा निजलाई अभियोग माग दाबीबमोजिम मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३क. नं.बमोजिम थप सजाय गरिपाउँ भनी तथा प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री रोहितकुमार डागीले प्रतिवादी र पीडितबिच वैवाहिक सम्बन्ध भई करणी लिनुदिनु गरेको हुँदा अभियोग दाबीबाट सफाइ पाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
उपर्युक्तानुसार दुवैपक्षको बहस जिकिर तथा मिसिल संलग्न प्रमाण कागजातहरूको अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा उच्च अदालत विराटनगर, धनकुटा इजलासबाट भएको फैसला मिलेको छ, छैन ? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. अब निर्णयतर्फ विचार गर्दा, प्रतिवादी नविन चर्माकारले १४ वर्षकी पीडित परिवर्तित नाम ०८ पाख्रिबास (क) लाई गर्भवती अवस्थामा जबरजस्ती करणी गरेको पुष्टि भएकोले जबरजस्ती करणीको १ नं. अन्तर्गत ऐ.३ (३) नं. तथा ३क. नं.बमोजिम सजाय गरी ऐ.को १० नं.बमोजिम क्षतिपूर्तिसमेत भराइपाउँ भन्ने अभियोग माग दाबी भएको प्रस्तुत मुद्दामा सुरू धनकुटा जिल्ला अदालतबाट प्रतिवादी नविन चर्माकारलाई जबरजस्ती करणीको ३ (३) नं.बमोजिम ६ वर्ष कैद हुने तथा ऐ.को १० नं.बमोजिम रू.२५०००।- क्षतिपूर्ति भराई पाउने ठहरी गरी भएको फैसलाउपर वादी नेपाल सरकार तथा प्रतिवादीको उच्च अदालत विराटनगर, धनकुटा इजलासमा पुनरावेदन परेकोमा सो अदालतबाट सुरू फैसला सदर हुने ठहर्याई भएको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट "प्रतिवादीलाई मुलुकी ऐन जबरजस्ती करणीको महलको ३क. नं.बमोजिम थप सजायको हदसम्म वादी दाबी नपुग्ने गरी भएको फैसला त्रूटिपूर्ण भएको हुँदा" मुद्दा दोहोर्याई हेरिपाउँ भनी निवेदन परेकोमा यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा प्रस्तुत मुद्दा निर्णयार्थ यस इजलासमा पेस हुन आएको देखियो । प्रतिवादीको तर्फबाट पुनरावेदन परेको नदेखिँदा सो सम्बन्धमा थप विवेचना गर्नुपर्ने देखिन आएन ।
३. प्रतिवादी नविन चर्माकारले नाबालिका छोरीलाई ललाइफकाइ अन्तिमपटक मिति २०७४।९।१२ गते पनि जबरजस्ती करणी गरी गर्भधारणसमेत गराएको हुँदा प्रतिवादीलाई कानूनबमोजिम कारबाही गरिपाउँ भनी जाहेरी परी प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । पीडित परिवर्तित नाम ०८ पाख्रिबास (क) को घटना विवरण कागजात तथा सुरू अदालतमा गरेको बयान बेहोरा, प्रतिवादीले पीडितलाई करणी गरेको तथ्यमा साबित रही अधिकारप्राप्त अधिकारी र सुरू जिल्ला अदालतसमक्ष गरेको बयान, जाहेरवालाले सुरू अदालतमा उपस्थित भई गरिदिएको बकपत्र तथा मिसिल संलग्न प्रमाण कागजातहरूबाट प्रतिवादी नविन चर्माकारले पीडित परिवर्तित नाम ०८ पाख्रिबास (क) लाई पटकपटक करणी लिनुदिनु गरेको तथ्य स्थापित हुन आएको देखियो ।
४. करणी कार्यमा महिलाको सहमति अनिवार्य तत्त्वको रूपमा लिइन्छ । साथै करणीको सहमति दिन सक्ने उमेरसमेतको कानूनी व्यवस्था मान्य विधिशास्त्रको रूपमा अङ्गीकार गरेको
पाइन्छ । सहमति दिनसक्ने उमेर करणी विषयको महत्त्वपूर्ण पक्षको रूपमा रहे भएको पाइन्छ । हाम्रो मुलुकको सन्दर्भमा पनि के कस्तो अवस्थामा भएको करणीलाई जबरजस्ती करणीको कसुर मान्ने वा के कस्तो अवस्थालाई सहमतिपूर्ण करणी मान्ने भन्ने सम्बन्धमा मुलुकी ऐन, जबरजस्ती करणीको महलमा व्यवस्था गरिएको पाइन्छ । उक्त महलको १ नं. मा "कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्छ" भन्ने कानूनी व्यवस्था गरेको पाइन्छ भने सोही नम्बरको स्पष्टीकरणको खण्ड (क) मा "डर, त्रास, धाक देखाई वा करकाप, अनुचित प्रभाव, झुक्यानमा पारी वा जोरजुलुम गरी वा अपहरण गरी वा शरीर बन्धक राखी लिएको मन्जुरीलाई मन्जुरी मानिने छैन" भन्ने, खण्ड (ख) मा "होस ठेगानमा नरहेको अवस्थामा लिएको मन्जुरीलाई मन्जुरी मानिने छैन" भन्ने तथा खण्ड (ग) मा "योनिमा लिङ्ग केही मात्र प्रवेश भएको रहेछ भने पनि यस नम्बरको प्रयोजनको लागि करणी गरेको मानिने छ" भन्ने कानूनी व्यवस्था गरेको पाइन्छ ।
५. उल्लिखित कानूनी व्यवस्थाबमोजिम जबरजस्ती करणी हुनका लागि पहिलो सर्तका रूपमा कुनै पुरूषले कुनै महिलालाई निजको मन्जुरीबिना करणी गर्न नपाइने, डर, त्रास, धाक देखाई वा करकाप, अनुचित प्रभाव, झुक्यानमा पारी वा जोरजुलुम गरी वा अपहरण गरी वा शरीर बन्धक राखी लिएको मन्जुरी तथा होस ठेगानमा नरहेको अवस्थामा लिएको मन्जुरीलाई मन्जुरी नमानिने र दोस्रो सर्तको रूपमा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा त्यस्तो सहमतिलाई सहमति नमानिने र जबरजस्ती करणी गरेको मानिने भन्ने रहेको देखिन्छ । उपर्युक्त कानूनी व्यवस्थाको आलोकमा प्रस्तुत मुद्दाको तथ्यलाई हेर्दा, प्रस्तुत मुद्दामा प्रतिवादी नविन चर्माकार र पीडित परिवर्तित नाम ०८ पाख्रिबास (क) बिच सहमतिमा नै करणी लिनुदिनु गरेको भनिए तापनि पीडित परिवर्तित नाम ०८ पाख्रिबास (क) को उमेर वारदातको समयमा उमेर १४ वर्षको रहेको भन्ने मिसिल संलग्न प्रमाण कागजातहरूबाट देखिएको अवस्थामा वारदातको समयमा पीडित परिवर्तित नाम ०८ पाख्रिबास (क) को उमेर सोह्र वर्षभन्दा कम उमेरको बालिका रहेको तथ्य स्थापित भएको अवस्थामा प्रतिवादीले पीडितको मन्जुरी लिई करणी गरिएको देखिए तापनि उल्लिखित कानूनी व्यवस्थाको रोहमा प्रतिवादीबाट भए गरेको कार्य कानूनविपरीतको देखिन आएको पाइन्छ । अतः प्रतिवादी नविन चर्माकारलाई मुलुकी ऐन, जबरजस्ती करणीको १ नं.विपरीत करणी गरेको कार्य पुष्टि भएकोले निजलाई मुलुकी ऐन, जबरजस्तीको महलको ३(३) नं.बमोजिम ६ वर्ष कैद सजाय हुने तथा ऐ.को १० नं.बमोजिम रू.२५०००।- क्षतिपूर्ति प्रतिवादीबाट पीडितले भराई पाउने ठहर्याई उच्च अदालत विराटनगर, धनकुटा इजलासबाट भएको फैसलालाई अन्यथा मान्न मिल्ने देखिएन ।
६. हिंसात्मक तवरले गर्भवती महिलाउपर हुने जबरजस्ती करणीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३क. नं.बमोजिम थप सजायसमेतको अभियोग रहेकोमा थप सजायको हकमा वादी दाबी पुग्न नसक्ने गरी भएको फैसला त्रूटिपूर्ण हुँदा बदर गरी अभियोग माग दाबीमोजिम हुनुपर्छ भनी वादी नेपाल सरकारले लिएको पुनरावेदन जिकिरतर्फ विचार गर्दा, प्रतिवादी नविन चर्माकारले १४ वर्षकी पीडित परिवर्तित नाम ०८ पाख्रिबास (क) लाई गाउँघरमा नै घाँसदाउरा गर्दा पटकपटक जबरजस्ती करणी गरेको र सोही करणीको कारणबाट पीडित परिवर्तित नाम ०८ पाख्रिबास (क) गर्भवती भएको देखिन्छ । प्रतिवादीले पीडितसँग पटकपटक करणी गरेको र सोही क्रममा पीडित गर्भवती भएकी र तत्पश्चात् पनि मिति २०७४।९।१२ गतेसम्म करणी दिनुदिनु गरेको भन्ने अभियोग माग दाबी रहेको देखिन्छ ।
७. मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३क. नं. मा "महिलालाई सामूहिक रूपमा जबरजस्ती करणी गर्ने वा गर्भवती, असक्त वा अपाङ्ग महिलालाई जबरजस्ती करणी गर्नेलाई यस महलमा लेखिएको सजायमा थप पाँच वर्ष कैद गर्नुपर्छ" भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । उल्लिखित कानूनी व्यवस्थाबमोजिम गर्भवती भएको अवस्थामा त्यस्तो गर्भवतीलाई जबरजस्ती रूपमा करणी गर्न नहुने र त्यसरी जबरजस्ती रूपमा गरिएको करणीलाई कसुरको रूपमा राखिएको देखिन्छ । उक्त कानूनी व्यवस्थाबमोजिम गर्भवती महिलालाई जबरजस्ती करणी गरेमा पनि मुलुकी ऐन जबरजस्ती करणीको महलको ३क.बमोजिम थप कैद हुने व्यवस्था रहेको पाइन्छ । उक्त व्यवस्था कुनै कसुरदारले गर्भवती भएकी महिलालाई जबरजस्ती करणी गरेमा क्रियाशील हुने अवस्था देखिन्छ । वारदातको प्रकृति, कसुरदारको कसुरजन्य कार्यको समग्र अवस्थाको वस्तुगत स्थिति नै थप कसुरजन्य कार्य हो होइन भन्ने निर्धारक तत्त्व बन्न पुग्ने हुन्छ । आफैँले गर्भवती बनाएको महिलालाई करणी गर्नु नै यसमा थप कसुर कायम गर्न सकिने अवस्था रहन्न । जबरजस्ती करणी र सो जबरजस्ती करणीमा हुने थप सजायको व्यवस्था एकर्का रूपमा पारस्परिक र परिपूरक कानूनी व्यवस्थाको रूपमा मान्नुपर्ने हुन्छ । कुनै गर्भवती महिलालाई जबरजस्ती करणी गर्नु र राजीखुसीसाथ करणी लेनादेना भइरहेको बखत गर्भ रहेको स्थितपश्चात् पनि करणी लेनादेना हुनु अन्तरयुक्त अवस्था भएको देखिन्छ । कानूनको व्याख्या सादृश्यताका साथ सङ्गतपूर्ण तवरबाट गर्नुपर्ने हुन्छ । गर्भवती महिलालगायत थप कसुर कायम हुने अपराधजन्य कार्यको तमाम प्रकृति र परिवेशबाट मुलुकी ऐन जबरजस्ती करणीको ३क.बमोजिमको थप सजायको वस्तुगत निष्कर्ष निकाली न्याय निरूपण गर्नुपर्ने हुन आउँछ ।
८. प्रस्तुत मुद्दामा पीडित परिवर्तित नाम ०८ पाख्रिबास (क) ले मौकामा र अदालतमा बयानमा गर्दासमेत प्रतिवादीसँग सहमतिमा नै पटकपटक करणी भएको र करणी लेनादेनाको क्रममा नै गर्भ रहन गएकोसमेतको अवस्थामा उक्त नाबालकसँगको सहमतिलाई सहमति नमानिएको अवस्था रहे भएको हुँदा गर्भवती महिलालाई जबरजस्ती करणी गरेको भनी प्रतिवादी नविन चर्माकारलाई मुलुकी ऐन, जबरजस्ती करणीको ३क. नं.बमोजिम थप सजाय गरिपाउँ भन्ने अभियोग दाबी पुग्न नसक्ने ठहर्याई उच्च अदालत विराटनगर, धनकुटा इजलासबाट भएको फैसला कानूनसम्मत नै रहेको देखिन आयो । यसर्थ यस अदालतबाट मुद्दा दोहोर्याई हर्ने अनुमति प्रदान गर्दा लिएका आधार र कारणसँग यो इजलास सहमत हुन सकेन ।
९. अतः माथि उल्लिखित तथ्य, कानूनी व्यवस्था तथा आधार, कारणहरूसमेतबाट सुरू धनकुटा जिल्ला अदालतबाट मिति २०७५।०१।२३ मा भएको फैसलालाई सदर हुने ठहर गरी उच्च अदालत विराटनगर, धनकुटा इजलासबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी प्रस्तुत फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. सपना प्रधान मल्ल
इजलास अधिकृत (उपसचिव): उदवीर नेपाली
इति संवत् २०८० श्रावण २२ गते रोज २ शुभम् ।