निर्णय नं. १११०३ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
फैसला मिति : २०७९।१०।९
मुद्दा: कर्तव्य ज्यान
०७३-CR-०२२६
पुनरावेदक/प्रतिवादी : ओखलढुङ्गा जिल्ला, पोकली गा.वि.स., वडा नं. २ बस्ने पुष्कर गौतम
विरूद्ध
प्रत्यर्थी/वादी : गणेशकुमार श्रेष्ठको जाहेरीले नेपाल सरकार
०७२-CR-१६९५
पुनरावेदक/वादी : गणेशकुमार श्रेष्ठको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : लोकहरी ढुंगेलको छोरा, ओखलढुङ्गा जिल्ला, पोकली गा.वि.स., वडा नं. २ बस्ने केशवहरी ढुंगेल
०७२-RC-०१०६ (साधक)
वादी : गणेशकुमार श्रेष्ठको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रतिवादी : ओखलढुङ्गा जिल्ला, पोकली गा.वि.स., वडा नं. २ बस्ने पुष्कर गौतम
सहप्रतिवादी कसुरदार ठहर भएकै कारण अन्य प्रतिवादी पनि कसुरदार रहेको भनी अनुमान गर्न नमिल्ने । एक जनाभन्दा बढी अभियुक्तको संलग्नता रहेको आपराधिक कार्यमा गोश्वारा रूपमा सबै अभियुक्तलाई कसुरदार ठहर हुने वा सफाइ प्रदान हुने भन्ने नहुने । कुन अभियुक्तले के कस्तो भूमिका खेलेको छ, प्रत्येक अभियुक्तले खेलेको भूमिकाको गाम्भीर्यसमेतलाई विचार गरी निजको कसुर यकिन गरी सजाय निर्धारण गर्ने वा बेकसुर देखिए सफाइ प्रदान गरिनुपर्ने । सबै अभियुक्तहरू समान रूपले कसुरदार हुने वा सबै अभियुक्तले सफाइ पाउने भन्न तर्कसङ्गत नहुने ।
(प्रकरण नं. १८)
प्रमाण पुर्याउने भार अभियोक्तामा रहने, निर्दोषिताको अनुमान अभियुक्तको पक्षमा जाने तथा शंकाको सुविधा अभियुक्तले पाउने जस्ता फौजदारी न्यायका सर्वमान्य सिद्धान्तबमोजिम शंका जतिसुकै बलियो भए पनि त्यसले निर्णायक प्रमाणको स्थान लिन नसक्ने हुँदा प्रतिवादीले कसुर गरे होलान् भन्ने शंकात्मक अवस्थाको आधारमा प्रतिवादीलाई कसुरदार ठहर गर्न नमिल्ने ।
(प्रकरण नं. १९)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री डम्बरबहादुर काफ्ले तथा विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल एवं विद्वान् अधिवक्ताहरू श्री विनोद श्रेष्ठ, श्री पुष्पराज पौडेल, श्री सीताशरण मण्डल, श्री सुरेन्द्रविक्रम के.सी., श्री ज्ञानेन्द्र राज आरण र डा. श्री शिवकुमार यादव
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिकृष्ण उप्रेती र श्री एकराज भण्डारी एवं विद्वान् अधिवक्ताहरू श्री जीवनाथ धिताल, श्री सतीषकृष्ण मैनाली, श्री सुलोचना धिताल, श्री नवीन धिताल
अवलम्बित नजिर :
ने.का.प. २०६९, अङ्क १, नि.नं. ८७५८
ने.का.प. २०७६, अङ्क २, नि.नं. १०१९७
ने.का.प. २०७६, अङ्क ९, नि.नं. १०३५४
ने.का.प. २०७७, अङ्क ५, नि.नं. १०४९३
ने.का.प. २०७७, अङ्क १२, नि.नं. १०६०७
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्ने :
मा. जि. न्या. श्री माधवप्रसाद पोखरेल
ओखलढुङ्गा जिल्ला अदालत
सुरू तहमा फैसला गर्ने :
मा. जि. न्या. श्री कोषकुमार नेम्वाङ्ग
ओखलढुङ्गा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
मा. न्या. श्री महेन्द्रराज गौतम
मा. न्या. श्री तेजबहादुर राई
पुनरावेदन अदालत राजविराज
पुनरावेदन तहमा फैसला गर्ने :
मा. न्या. श्री टेकराज नेपाल
मा. न्या. श्री राजेश्वर तिवारी
पुनरावेदन अदालत राजविराज
फैसला
न्या. सुष्मालता माथेमा : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९ र १० तथा प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा ९ र १० बमोजिम यस अदालतको अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः-
तथ्य खण्ड
जाहेरी दरखास्तको बेहोराः मेरो भाइ भुवनकुमार भन्ने उज्जनकुमार श्रेष्ठलाई प्रतिवादीमध्येको पुष्कर गौतम, बालकृष्ण ढुंगेलसमेतले मौका परेपछि बोकाको पूजा गरे जस्तो गर्नुपर्छ भनी गाउँघरमा धम्की दिएको मिति २०५५।०३।१० गते बिहान ४:०० बजेको समयमा मिल घर तथा पसलको सामान किन्न रामेछाप जिल्लाको धोबीडाँडाको हाटतर्फ जान उक्त टारकेराबारी, वडा नं. ७ स्थित खहरे दोभाननजिक बडहरे खेतको कुलोमा पुगेपछि साथमा भरियाको रूपमा गएका थिरबहादुर खत्री तोक्मा लिन जान्छु भनी १०, १२ कदम अगाडि पुगेपछि अचानक कुलो माथिबाट लाइट बाली मेरो भाइलाई टाउकोमा गोली हानेपछि खेतमा झरेछ । भरियामध्येका रामबहादुर श्रेष्ठ पनि खेतमा झरेछन् । बालकृष्ण ढुंगेल, प्रह्लाद गौतम, थलबहादुर पौडेल, डोरबहादुर पौडेल, केशवहरि ढुंगेलसमेत कोही मास्तिर कोही तल्तिरबाट आई निज भाइलाई घेरामा पारी समाई धान खेतै खेत लगी लिखु खोला (कोशी) मा लगी फाली दिएछन् । सो कुरा वेदबहादुर पौडेलबाट थाहा हुन आयो बारम्बार आपसमा मिटिङ गरी सुनियोजित षड्यन्त्रपूर्वक मेरो भाइलाई गोली हानी कर्तव्य गरी मार्ने प्रतिवादी पुष्कर गौतम, प्रह्लाद गौतम, केशवहरि ढुंगेल, शेषराज गौतम, कल्याण गौतम, थलबहादुर पौडेल, डोरबहादुर पौडेल, रामबहादुर पौडेल, मित्रचन्द्र पौडेल, थिरबहादुर खत्री, केशवबहादुर पौडेल, ज्ञानप्रसाद पौडेल, पर्वतराज भट्टराई, मनोजकुमार भट्टराई, बालकृष्ण ढुंगेलसमेत उपर कारबाही गरिपाउँ भन्ने गणेशकुमार श्रेष्ठको जाहेरी ।
घटनास्थल प्रकृति मुचुल्काः जिल्ला ओखलढुङ्गा, गा.वि.स. टारकेराबारी, वडा नं. ६ अन्तर्गत पर्ने घटनास्थलमा १॥ लम्बाइ र १॥ गोलाइ भएको अन्दाजी १० किलो वजन भएको लाम्चो सेतो ढुङ्गाको दक्षिण छेउपट्टि १॥ इन्च गोलाइमा खुनको थोपा सोही स्थानदेखि १० गज टाढा दक्षिण पूर्वपट्टि मकैवारी खेत डिलमा १॥ गज चौडाइ २ गज लम्बाइमा मकैबारीमा भार माडिएको देखिएको, सोही घटनास्थलदेखि पश्चिमपट्टि कुलो कान्लामुनि धानबारीमा १ मिटर फरकमा पश्चिम लिखु खोलातर्फ गएको दुई गोहो देखियो, सोही गोहोको दक्षिणपट्टि ५ गज टाढामा पश्चिम लिखु खोलातर्फ गएको पानीमा पाइला नचिनिने धान माडिएको गोहो देखियो, सोहीबिच दुई गोहोको उत्तरपट्टि २ गज टाढामा पश्चिम लिखु खोलातर्फ गएको ९ इन्च लम्बाइ भएको दाहिने खुट्टाको जुत्ताको पाइला सोही घटनास्थलदेखि ५० गज टाढा पश्चिम लिखु खोलातर्फ बिच गोहोपट्टि लाग्दै जाँदा लिखु खोलाको किनार पानीको छेउमा ३ वटा ढुङ्गामाथि लालगेडीजत्रो रगतको छिटाहरू १ फिट चौडाइ तथा ३ फिट लम्बाइको एरियामा लागेको देखियो । सोही स्थानदेखि २० गज टाढा लिखु खोला बग्नेतर्फ अथवा दक्षिणतर्फ लिखु खोला किनारामा ६ इन्च पानीमुनि ३ ब्याट्री जाने टर्च फेला परेको, उक्त टर्च उठाई हेर्दा टर्चको ब्याट्री हाल्ने मुखतर्फको केही बाङ्गिएको कुच्चिएको, उक्त टर्च खोली हेर्दा पानीले भिजी ब्याट्री- गली सकेको, उक्त जिप लाइटभित्र बालुवा पसेको सोही फेला परेको, सोदेखि ५० गज दक्षिण लिखु खोला बग्नेतर्फ लिखु खोलाको किनारामा पानीछेउ पूर्वपट्टि ३ फिट अग्लो भित्ता ठुलो ढुङ्गामा बायाँ हातको पाखुरादेखि हत्केलासम्मको खुनको छाप लागेको सोही ठाउँदेखि ८ गज टाढा दक्षिणपट्टि लिखु खोलाको किनारा पानीछेउमा पूर्वपट्टि ३ फिट उचाइ भित्ता ढुङ्गामा ६,६ इन्चको गोलाइमा खुन लागेको र सोही स्थानदेखि ८ गज टाढा दक्षिणपट्टि लिखु खोला पानीछेउ पूर्व भित्तापट्टि ३ फिट अग्लो ढुङ्गामा १ फिट लम्बाइमा खुन माडिएको बगेको देखिएको भन्ने घटनास्थल प्रकृति मुचुल्का ।
वेदबहादुर पौडेलले प्रहरीमा गरेको कागजः मिति २०५५।०३।१० गते बिहान ३:३० बजे आफ्नो घरबाट रामेछाप धोवीहाट भर्न भनी जाँदा ओखलढुङ्गा जिल्ला, टारकेराबारी गा.वि.स., वडा नं. ७ स्थित खहरे दोभानको कुलोको डिलको केही नजिक पुग्दा अन्दाजी ४ बजेको हुँदा एक्कासि टाउकोमा लाइट बलेको अवस्थामा एक्कासि गोली पड्केको सुनी मनमा डर मानी लुक्दै छिप्दै गई हेर्दा उज्यालो हुन लागेको समय भएकोले पुष्कर गौतम, बालकृष्ण ढुंगेल, प्रह्लाद गौतम, थलबहादुर पौडेल र डोरबहादुर पौडेलसमेतले भुवन भन्ने उज्जनकुमार श्रेष्ठलाई गोली हानी मारी तान्दै खेतै खेत भारी लिखु खोलामा लगी फालिदिएको देखेको हुँ । बन्दुक पुष्कर गौतम र बालकृष्ण गौतमले बोकेका थिए भन्नेसमेत बेहोराको वेदबहादुर पौडेलले प्रहरीमा गरेको कागज ।
मृतकको श्रीमती रेणुका श्रेष्ठले प्रहरीमा गरेको कागजः मेरो पति भुवन भन्ने उज्जनकुमार श्रेष्ठलाई प्रतिवादी पुष्कर गौतम, प्रह्लाद गौतम, केशवहरि ढुंगेल, शेषराज गौतम, कल्याण गौतम, थलबहादुर पौडेल, मेरो दाजु डोरबहादुर पौडेल, रामबहादुर श्रेष्ठ, मित्रचन्द्र पौडेल, थिरबहादुर खत्री, केदारबहादुर पौडेल, ज्ञानप्रसाद पौडेल, पर्वतराज भट्टराई, मनोजकुमार भट्टराई, बालकृष्ण ढुंगेल, कमलबहादुर पौडेल, नरेशकुमार खड्का, भोजबहादुर खड्का, यादवबहादुर विष्ट, कमलप्रसाद तिमल्सिना, मेघबहादुर खड्का, पूर्णबहादुर श्रेष्ठ, हेमबहादुर विष्ट, भक्तबहादुर विष्टसमेतले एक आपसमा बैठक बसी मिलोमतो गरी मिति २०५५।०३।१० गते बिहान ४ बजेको समयमा रामेछाप जिल्लाको धोवीहाट भर्न गएको अवस्था मास्तिरबाट लुकी छिपी बसेका उल्लिखित प्रतिवादीहरूले मेरो श्रीमान्लाई लाइट देखाई बन्दुकले गोली हानी मारी सबै प्रतिवादीहरूले खेतै खेत घिसार्दै लगी लिखु खोलामा लगी फालिदिएको पूर्ण विश्वास लाग्छ । सो कुरा वेदबहादुरबाट थाहा पाएको हुँ भन्ने मृतकको श्रीमती रेणुका श्रेष्ठले प्रहरीमा गरेको कागज ।
प्रतिवादी थिरबहादुर खत्रीले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान कागजः मिति २०५५।०३।१० गते बिहान अन्दाजी ४ बजेतिर ओखलढुङ्गा जिल्ला, टारकेराबारी गा.वि.स., वडा नं. ६ स्थित भुवन भन्ने उज्जनकुमारको मिल घरबाट जिल्ला रामेछापको धोवीहाट लाग्ने बुधबारे हटिया भर्न भनी म अघि, बिचमा भुवन भन्ने उज्जनकुमार श्रेष्ठ र पछि रामबहादुर श्रेष्ठ निज भुवनले बोकेको टर्चलाइटको भरमा हिँडेका थियौँ । खहरे खोला दोभाननजिक बड़हरे खेतको कुलो बाटोको डिलमा पुगेपछि म टेकुवा लिन जान्छु भनी ४,५ कदम अगाडि बढेको अवस्थामा कुलोको मास्तिर डिलबाट पुष्कर गौतमले लाइट भुवनलाई देखाउनासाथ बालकृष्ण ढुंगेलले भुवनलाई गोली हानेपछि भुवनले मरे बाबा मलाई मार्यो भनी तल्तिर खेतमा झरे । म पनि भुवन झरेको खेतको गराभन्दा तल्लो गरामा झरी खेतैखेत सिरीसे पुलतिर कुदेँ पुष्कर गौतम, बालकृष्ण ढुंगेल, प्रह्लाद गौतम, थलबहादुर पौडेल, डोरबहादुर पौडेल, पर्वतराज भट्टराईसमेतले भुवनलाई तान्दै लगी लिखु खोलामा फालिदिएको कुरा मैले देखेको हुँ । उक्त वारदातमा म संलग्न छैन भनी प्रतिवादी थिरबहादुर खत्रीले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान कागज ।
प्रतिवादी रामबहादुर श्रेष्ठले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान कागजः मिति २०५५।०३।१० गते बिहान ४ बज्न लाग्दा भुवन भन्ने उज्जनकुमार श्रेष्ठको मिलघरबाट निस्की थिरबहादुर खत्री अगाडि बिचमा भुवन र पछाडि म भई भुवनले बोकेको टर्चलाइटको सहारामा सँगसँगै धोबीडाँडाको हटियातर्फ जान भनी जाँदै गर्दा ओखलढुङ्गा जिल्ला, टारकेराबारी गा.वि.स., वडा नं. ७ स्थित खहरे खोला दोभान नजिक बडहरे खेतको कुलो डिल बाटोमा पुगेपछि थिरबहादुर खत्रीले म टेकुवा लिन जान्छु भनी ४, ५ कदम अगाडि बढेको थियो, यस्तैमा कुलोमाथि डिलबाट पुष्कर गौतमले लाइट देखायो । बालकृष्ण ढुंगेलले सोही अवस्थामा एक्कासि भुवनलाई गोली हानेपछि भुवनले मरे बाबा मलाई मार्यो भनी तल्तिर खेतमा झरेपछि म पनि सोही खेतमा झरी कुद्न लाग्दा बालकृष्ण ढुंगेलले मलाई भगायो, म अघिअघि भागेपछि पुष्कर गौतम, बालकृष्ण ढुंगेल, प्रह्लाद गौतम, थलबहादुर पौडेल, डोरबहादुर पौडेल र पर्वतराज भट्टराईहरूसमेतले भुवनलाई घेरामा पारी धान खेत र लिखु खोलाको बगरतर्फ तान्दै लगी खोलामा फालिदिएको देखेको हुँ । उक्त वारदातमा म संलग्न छैन भनी प्रतिवादी रामबहादुर श्रेष्ठले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान कागज ।
प्रतिवादी डोरबहादुर पौडेलले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानः मिति २०५५।०३।१० गते पुष्कर गौतम, प्रह्लाद गौतम, केशवहरि ढुंगेल, कल्याण गौतम, थलबहादुर पौडेल, मित्रचन्द्र पौडेल, ज्ञानप्रसाद पौडेल, पर्वतराज भट्टराई, मनोजकुमार भट्टराई, बालकृष्ण ढुंगेल, नरेशकुमार खड्का, दुर्गाहरि पौडेल, धर्मबहादुर विष्ट, रंगे भन्ने जगतबहादुर खड्का, भोजबहादुर खड्का, यादव विष्ट, कमल भन्ने कोमल तिमल्सिना, टारकेराबारी गा.वि.स., उपाध्यक्ष मेघबहादुर खड्का, पूर्णबहादुर श्रेष्ठ, हेमबहादुर विष्ट, भक्तबहादुर विष्टहरूको मेरो घरमा मिटिङ भएको थियो । मिटिङमा घटना घटेको दिन दिउँसो जिल्ला रामेछापको लाकुरीडाँडामा पर्वतराज भट्टराई, थलबहादुर पौडेल, बालकृष्ण ढुंगेल र मैले उज्जन श्रेष्ठलाई मारेको उपलक्ष्यमा दही बाँडेको हो र मृतक भुवन भन्ने उज्जनकुमार श्रेष्ठलाई मार्नुपर्ने कारण म र मेरो भाइ थलबहादुर पौडेलको सहोदर बहिनी रेणुकालाई जात नमिल्ने निज भुवन श्रेष्ठले श्रीमती तुल्याई लगेको र बालकृष्ण ढुंगेल, पुष्कर गौतमसमेतलाई पहिलाको आगलागीबाट गौवध मुद्दामा पक्राउ गर्न प्रहरीलाई सहयोग गरेको कारण निज मृतक भुवन भन्ने उज्जन श्रेष्ठलाई प्रतिवादी पुष्कर गौतमको समेत सहमतिमा मारेको हो भन्नेसमेत प्रतिवादी डोरबहादुर पौडेलले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
प्रतिवादी मनोजकुमार भट्टराईले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानः मिति २०५५।०३।१० गते बिहान भुवनको घरबाट अगाडि थिरबहादुर खत्री बिचमा भुवन पछाडि रामबहादुर एउटै टर्चलाइटको सहारामा जिल्ला रामेछाप, धोबीडाँडामा लाग्ने बुधवारे हटियामा भुवनको मिल तथा पसलको सामान किन्न र बोकी ल्याउन भनी भुवनको मिलघरबाट हिँडी खहरे खोला दोभाननजिक ओखलढुङ्गा जिल्ला, टारकेराबारी गा.वि.स., वार्ड नं. ७ स्थित बडहरे खेतको कुलोको डिल बाटोमा पुग्दा ४ बजेको समयमा कुलोमाथिको डिलबाट पुष्कर गौतमले टर्चलाइट देखाउनासाथ बालकृष्ण ढुंगेलले भुवन भन्ने उज्जनकुमार श्रेष्ठको टाउकोमा ताकी गोली हानेपछि भुवन खेतको तल्लो गरामा झर्दा सोभन्दा तल रामबहादुर श्रेष्ठ झरेछन् र पुष्कर गौतम, बालकृष्ण ढुंगेल, प्रह्लाद गौतम, थलबहादुर पौडेल र डोरबहादुर पौडेलसमेत झरी भुवनलाई घेरामा पारी धान खेत तथा लिखु खोला बगरसमेतमा रगत चुहाउँदै तान्दै लिखु खोलामा फाली दिएकोमा मलाई पूर्ण विश्वास लाग्छ, अ.ने.रा.स्व.वि.यू. क्रान्तिकारी छैठौं काँग्रेस जिल्लाको सदस्य भए तापनि उक्त वारदात स्थानमा म छैन भन्नेसमेत बेहोराको प्रतिवादी मनोजकुमार भट्टराईले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
प्रतिवादी पर्वतराज भट्टराईले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानः मिति २०५५।०३।१० गते बिहान ४ बजेतिर बालकृष्ण ढुंगेल, पुष्कर गौतम, थलबहादुर पौडेल, डोरबहादुर पौडेल र म खहरे खोलानजिक बडहरे खेतको कुलो डिलभन्दा मास्तिर लुकेर बसिरहेका थियौं । यस्तैमा थिरबहादुर खत्री, भुवन भन्ने उज्जनकुमार श्रेष्ठ, रामबहादुर श्रेष्ठ आइरहेको देखी पुष्कर गौतमले लाइट देखाई सोही अवस्थामा बालकृष्ण ढुंगेलले भुवनलाई गोली हानी निज भुवन खेतको तल्लो गरामा मरेँ बाबा भन्दै झर्यो । त्यसपछि हामी सबै गई निजलाई घेरा हाली हेर्दा छटपटाइरहेको थियो । एकछिनपछि मरे जस्तो लागि अब खोलामा लगी फाल्नुपर्छ भन्ने कुरा भयो र बालकृष्ण ढुंगेल, पुष्कर गौतम, थलबहादुर पौडेल, डोरबहादुर पौडेल र मसमेत भई निज भुवनको हात खुट्टामा समाई लगी लिखु खोलामा फालिदिएको हो भन्ने प्रतिवादी पर्वतराज भट्टराईले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
प्रतिवादी शेषराज गौतमले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानः मिति २०५५।०३।१० गते बिहान ४:०० बजे यी माओवादीहरू पुष्कर गौतम, बालकृष्ण ढुंगेल, प्रह्लाद गौतम, थलबहादुर पौडेल, डोरबहादुर पौडेल, पर्वतराज भट्टराईले भुवन श्रेष्ठलाई मारी लिखु खोलामा फालिदिए भन्ने सुनेको हुँ । यिनैमाथि शंका लाग्छ भन्ने प्रतिवादी शेषराज गौतमले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
प्रतिवादी शेरबहादुर पौडेलले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानः मिति २०५५।०३।१० गते बिहान ४ बज्न लाग्दा ओखलढुङ्गा जिल्ला, टारकेराबारी गा.वि.स., वडा नं.६ निज भुवनको मिलघरबाट जिल्ला रामेछापको धोबीडाँडामा लाग्ने हटियामा भुवनको मिल तथा पसलको सामान किन्न भनी सो सामान बोकेर ल्याउन भनी अघिल्लो दिनदेखि भुवनकै घरमा बसेका रामबहादुर श्रेष्ठ र थिरबहादुर खत्रीसमेत भई अगाडि थिरबहादुर खत्री, बिचमा भुवन भन्ने उज्जनकुमार श्रेष्ठ, पछाडि रामबहादुर श्रेष्ठ भुवनले बोकेको टर्चलाइटको भरमा सँगसँगै मिलघरबाट हिँडी ओखलढुङ्गा जिल्ला, टारकेराबारी गा.वि.स., वडा नं. ७ स्थित खहरे खोलाको बडहरे खेतको कुलोको बाटो डिलमा पुग्दा मास्तिर डिलबाट पुष्कर गौतमले लाइट देखाउनासाथ बालकृष्ण ढुंगेलले बन्दुकले गोली भुवनलाई हान्दा निज तल्लो गरामा झरेछ र पुष्कर गौतम, बालकृष्ण ढुंगेल, पर्वतराज भट्टराई, थलबहादुर पौडेल र डोरबहादुर पौडेलले भुवनलाई घेरामा पारी खेतै खेत तथा लिखु खोलाको बगरैबगर तान्दै लगी लिखु खोलामा फालिदिए भनी निज थिरबहादुर श्रेष्ठले भन्दा सो कुरा के रहेछ भनी हेर्न जाँदा कुलो खेत कोशी बगरमा समेत रगत लागेको देखेको हुँ म झर्दा सबैजना गाउँले भेला भइसकेको रहेछ अरू के के भयो मलाई थाहा छैन भनी प्रतिवादी शेरबहादुर पौडेलले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
प्रतिवादी कल्याणराज गौतमले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानः मिति २०५५।०३।१० गते बिहान ४ बज्न लाग्दा ओ. जि. टारकेराबारी गा.वि.स. वार्ड नं. ६ निज भुवनको मिलघरबाट जिल्ला रामेछापको धोबीडाँडामा लाग्ने हटियामा भुवनको मिल तथा पसलको सामान किन्न भनी सो सामान बोकेर ल्याउन भनी अघिल्लो दिनदेखि भुवनकै घरमा बसेका रामबहादुर श्रेष्ठ र थिरबहादुर खत्रीसमेत भई अगाडि थिरबहादुर खत्री बिचमा भुवन भन्ने उज्जनकुमार श्रेष्ठ पछाडि रामबहादुर श्रेष्ठ भुवनले बोकेको टर्चलाइटको भरमा सँगसँगै मिलघरबाट हिँडी ओ. जि. टारकेराबारी गा.वि.स. वार्ड नं. ७ स्थित खहरेखोलाको बडहरे खेतको कुलोको बाटो डिलमा पुग्दा मास्तिर डिलबाट पुष्कर गौतमले लाइट देखाउनुसाथ बालकृष्ण ढुंगेलले बन्दुकले गोली भुवनलाई हान्दा निज तल्लो गरामा झरेछ र पुष्कर गौतम, बालकृष्ण ढुंगेल, पर्वतराज भट्टराई, थलबहादुर पौडेल र डोरबहादुर पौडेलले भुवनलाई घेरामा पारी खेतैखेत तथा लिखुखोलाको बगरैबगर तान्दै लगी लिखुखोलामा फालिदिए भनी निज थिरबहादुर खत्रीले भन्दा सो कुरा के रहेछ भनी हेर्न जाँदा कुलो खेत कोशी बगरमा समेत रगत लागेको देखेको हुँ । म झर्दा सबैजना गाउँले भेला भइसकेको रहेछ । अरू के के भयो मलाई थाहा छैन भनी प्रतिवादी शेरबहादुर पौडेलले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान मिति २०५५।०३।१० गते बिहान ४ बजेको समयमा मृतक भुवनको मिलघरबाट थिरबहादुर खत्री, भुवनकुमार श्रेष्ठ र रामबहादुर श्रेष्ठ जिल्ला रामेछापको धोबीडाँडा हाट भर्न भनी जाँदा ओ. जि. टारकेराबारी गा.वि.स. वार्ड नं. ७ स्थित बडहरे खेतको कुलो बाटो डिलमा पुगेपछि पुष्कर गौतमले लाइट देखाई बालकृष्ण ढुंगेलले भुवनलाई गोली हानी मारी बालकृष्ण ढुंगेल, पुष्कर गौतम, थलबहादुर पौडेल, डोरबहादुर पौडेल र पर्वतराज भट्टराईसमेत भई भुवनलाई तान्दै रगत चुहाउँदै लिखु खोलामा फालिदिएको भन्ने कुरा गाउँघरबाट थाहा पाएको हुँ । उक्त वारदातस्थलमा म छैन भनी प्रतिवादी कल्याणराज गौतमले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
प्रतिवादी ज्ञानप्रसाद पौडेलले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानः मिति २०५५।०३।१० गते पुष्कर गौतमले टर्चलाइट ‘देखाई’ बालकृष्ण ढुंगेलले उज्जन श्रेष्ठलाई गोली हानी मारी बालकृष्ण ढुंगेल, पुष्कर गौतम, थलबहादुर पौडेल, डोरबहादुर पौडेल, पर्वतराज भट्टराईले भुवनलाई समाई तान्दै लगी लिखु खोला कोशीमा फालिदिए भन्ने कुरा गाउँघरबाट थाहा पाएको हुँ । अरू केही थाहा छैन भन्ने प्रतिवादी ज्ञानप्रसाद पौडेलले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
प्रतिवादी मित्रचन्द्र पौडेलले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानः मृतक भुवन भन्ने उज्जनकुमार श्रेष्ठलाई पुष्कर गौतमले लाइट देखाई बालकृष्ण ढुंगेलले गोली हानी मारी लिखु खोला कोशीमा फालिदिएका हुन् भन्ने कुरा गाउँघरमा सुनेको हुँ । उक्त वारदातस्थलमा म छैन । मेरा घरमा बेलाबेलामा राति बन्दुकसहित बालकृष्ण ढुंगेल, पुष्कर गौतम, गीता ढुंगेललगायतका ५, ७ जना आउने गर्थे र हामीलाई खाना खान देऊ भन्थे । डरले खाना खान दिने गरेको हुँ । उक्त कार्यमा म संलग्न छैन भन्ने प्रतिवादी मित्रचन्द्र पौडेलले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
प्रतिवादी थलबहादुर पौडेलले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानः मिति २०५५।०३।१० गते हामी ५ जना बालकृष्ण ढुंगेल, पुष्कर गौतम, पर्वतराज भट्टराई, डोरबहादुर पौडेल र मसमेत भई म थलबहादुर पौडेलको घरमा पसी मिटिङ हुँदा भोलि १० बजे बिहान भरिया थिरबहादुर खत्री र रामबहादुर श्रेष्ठ र भुवन भन्ने उज्जनकुमार श्रेष्ठ जिल्ला रामेछापको धोबीडाँडा हाट भर्न जाँदैछन्, हामीहरू ओखलढुङ्गा जिल्ला, टारकेराबारी गा.वि.स., वडा नं.७ स्थित खहरे खोला दोभाननजिक बडहरे खेत कुलो मास्तिर रातिदेखि गई बसी सो ठाउँमा निजहरू आएपछि भुवन भन्ने उज्जनकुमार श्रेष्ठलाई मार्नुपर्छ भन्ने विषयमा कुराकानी भएको थियो र मिति २०५५।०३।१० गते बिहान ४ बजेको समयतिर डोरबहादुर पौडेल, बालकृष्ण ढुंगेल, पुष्कर गौतम, पर्वतराज भट्टराई र मसमेत खहरे खोलानजिक बडहरे खेतको कुलो मास्तिर गई लुकेर बसेका थियौं । यस्तैमा अगाडि थिरबहादुर खत्री बिचमा भुवन भन्ने उज्जनकुमार श्रेष्ठ पछाडि रामबहादुर श्रेष्ठ सँगसँगै आइरहेको देखी पुष्कर गौतमले भुवनलाई लाइट देखाइदियो । त्यही मौकामा बालकृष्ण ढुंगेलले भुवन भन्ने उज्जनकुमार श्रेष्ठलाई गोली हानी निज भुवन मरेँ बाबा भन्दै खेतका तल्लो गरामा झर्यो । त्यसपछि हामी सबै झरी भुवनलाई घेरामा हाली हेर्दा छटपटाइरहेको थियो, एकछिनपछि निज भुवन भन्ने उज्जन मर्यो जस्तो लागी अब यसलाई खोलामा लगी फाल्नुपर्छ भन्ने कुरा गरी बालकृष्ण ढुंगेल, पुष्कर गौतम, डोरबहादुर पौडेल, पर्वतराज भट्टराई र मसमेतले निज भुवनको हातखुट्टामा समाई लिखु खोलामा फालिदिएको हो भन्ने प्रतिवादी थलबहादुर पौडेलले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
मोहनसिंह रोका र टेकप्रसाद तिमिल्सिनाले प्रहरीमा गरेको संयुक्त कागजः मिति २०५५।०३।१० गते म जिल्ला रामेछाप धोबीडाँडा हटिया भर्न गएको थिएँ । बुढो हुनाले जोडले हिँड्न सक्तिन, विस्तारै जाँदा धोबीडाँडाको पुछारमा पुग्दा बालकृष्ण ढुंगेल र अरू नचिनेको २,३ जना मानिसहरूलाई बाटोमा बसिरहेको देखेको हुँ । गाउँमा केही दिनअगाडि देखि बालकृष्ण ढुंगेल, पुष्कर गौतमसमेतलाई देखेको थिइन । पछि हटिया भरी म घर फर्की आएपछि भुवन भन्ने उज्जनकुमार श्रेष्ठलाई बालकृष्ण ढुंगेल, पुष्कर गौतमसमेतले गोली हानी मारी लिखु खोलामा फालिदिएको भन्ने कुरा गाउँमा हल्ला हुँदा थाहा पाएको हुँ । को को भई मारे निजहरू नै जान्दछन् मलाई थाहा छैन भन्ने मोहनसिंह रोका र टेकप्रसाद तिमिल्सिनाले प्रहरीमा गरेको संयुक्त कागज ।
विष्णुमाया बस्नेतले प्रहरीमा गरेको कागजः यस सम्बन्धमा मलाई केही थाहा छैन । मृतक भुवन भन्ने उज्जन श्रेष्ठसँग साथमा भएको थिरबहादुर खत्रीले पनि घटना भएको २ घण्टापछि पनि भुवन आयो आएन भनी सोध्नुको कारण के हो म भन्न सक्तिन भनी विष्णुमाया बस्नेतले प्रहरीमा गरेको कागज ।
रत्नकुमारी अधिकारीले प्रहरीमा गरेको कागजः मिति २०५५।०३।१० गते, काठमाडौंबाट घर आउने क्रममा जिल्ला रामेछापको ज्यामिरे लाकुरी डाँडा भन्ने स्थानमा आइरहेको अवस्थामा नाम थाहा नभएको के कहाँको मान्छेको होटल पसलमा गाम्नाङ्गटार बस्ने पर्वत भट्टराई र पोकली बस्ने पुष्कर गौतमसमेत एक जना मैले चिन्न सकिन । ३ जनाले सोही पसलमा दही किनी बाटोमा आवतजावत गर्ने मानिसहरूलाई खुवाई आफूले पैसा तिर्ने गरेको सोही बेला तपाइँ पनि लानुस् भनी भन्दा मैले दही बाटामा खाइसके अब खाँदिन भन्दा हामीहरू तपाइँहरूको घर आउँदा खुवाउनुहोस् आज खुशियालीको विशेष दही खानुस् भनेका थिए । त्यसकारण मलाई केही शंका लागी दही खाइनँ, पछि घर आइपुग्दा टारकेराबारी ६ बस्ने उज्जनकुमार श्रेष्ठलाई बन्दुकले हानी बेपत्ता पारेको खबर सुनेँ । अरू केही थाहा छैन भनी रत्नकुमारी अधिकारीले प्रहरीमा गरेको कागज ।
मृतक उज्जनकुमार श्रेष्ठको श्रीमती महालक्ष्मी श्रेष्ठले प्रहरीमा गरिदिएको कागजः मिति २०५५।०३।१० गते लगेको रातो रंग टाउको ठुलो भएको लाइट मेरो पति भुवन भन्ने उज्जनकुमार श्रेष्ठको हो । मिति २०५५।०३।१० गते बिहान ४ बजेको समयमा रामेछाप जिल्लामा पर्ने धोवीहाट बजार भर्न जानुभएको हो । अरू केही थाहा छैन भन्ने मृतक उज्जनकुमार श्रेष्ठको श्रीमती महालक्ष्मी श्रेष्ठले प्रहरीमा गरिदिएको कागज ।
घटना वस्तुस्थिति मुचुल्काः भुवन भन्ने उज्जनकुमार श्रेष्ठलाई कुलोको डिलमा गोली प्रहार गरी लखेट्दै तान्दै लगेको र खोलामा फालेको स्थान खोलाको किनारामा बारा हालेर हेर्दा करिब १० फिट गहिराइ रहेको र खोलाको बिच भागमा करिब १६ फिट गहिराइ रहेको उक्त खोलामा जान नसकिने तिव्र गतिमा बगेको हुँदा जाहेरीमा उल्लिखित प्रतिवादीहरूले भुवन भन्ने उज्जनकुमार श्रेष्ठलाई गोली प्रहार गरी मारी खोलामा फालेकोमा विश्वास लाग्छ भन्ने घटना वस्तुस्थिति मुचुल्का ।
वस्तुस्थिति मुचुल्काः घटनाको प्रकृति हेर्दा निज भुवन भन्ने उज्जनकुमार श्रेष्ठलाई पूर्वयोजना बनाई षड्यन्त्रपूर्ण ढंगबाट मारी लिखु खोलामा हालिदिएकोमा विश्वास लाग्छ । निज भुवन भन्ने उज्जनकुमार श्रेष्ठलाई जाहेरीमा उल्लिखितमध्येका मानिसहरूले मारेकोमा विश्वास लाग्छ तर यसै व्यक्तिले मारेको हो भन्ने मैले नदेखेको हुँदा यकिन गर्न सक्दिन भन्ने दिर्घराज शर्मासमेतले गरिदिएको वस्तुस्थिति मुचुल्का ।
डिल्लीबहादुर खड्काले अनुसन्धान अधिकारीसमक्ष गरेको कागजः मिति २०५५।०३।१० गते जिल्ला रामेछाप, धोबीडाँडामा लाग्ने हटिया भर्न भनी जाँदा ओखलढुङ्गा जिल्ला, टारकेराबारी गा.वि.स., वार्ड नं. ७ स्थित बडहरे कुलोभन्दा मास्तिर पुग्दा मकैबारीको ठुलो ढुङ्गामा आड लागेर बसेको जस्तो लागी विस्तारै डराई डराई को रहेछ भनी अगाडि गई हेर्दा सिमसिम उज्यालो हुन लागेकोले ती मानिसहरूलाई राम्ररी देखेँ, ती बालकृष्ण ढुंगेल, पुष्कर गौतम, प्रह्लाद गौतम, थलबहादुर पौडेल, डोरबहादुर पौडेल, पर्वतराज भट्टराई रहेछन् । यस्तैमा खहरे खोलाअगाडि दोभानतिरबाट अगाडि थिरबहादुर खत्री, बिचमा भुवन भन्ने उज्जनकुमार श्रेष्ठ, पछाडि रामबहादुर श्रेष्ठ सँगसँगै आइरहेको बडहरे खेतको कुलोको बाटो डिलमा आइपुगेपछि बालकृष्ण ढुंगेलले गोली हानी मरे बाबा भन्दै भुवन भन्ने उज्जनकुमार श्रेष्ठ तल्तिर झरेपछि पुष्कर गौतम, थलबहादुर पौडेल, डोरबहादुर पौडेल, पर्वतराज भट्टराई, प्रह्लाद गौतम तथा के कता लुकी बसेका केशवहरि ढुंगेलसमेत भई मृतक भुवन भन्ने उज्जनकुमार श्रेष्ठलाई घेरामा पारी समाई तान्दै सबै जनाले लिखु खोला कोशीमा फालिदिए । म सो घटना देखेपछि डरले धोबीडाँडा हटिया नगई घरमा फर्की निजको दाजु गणेशबहादुर श्रेष्ठलाई सो घटनाबारे सुनाइदिएको हुँ । निज मृतक भुवन भन्ने उज्जनकुमार श्रेष्ठलाई मार्ने मराउने अरू कोही भए निजहरू नै जानुन् भनी डिल्लीबहादुर खड्काले अनुसन्धान अधिकारीसमक्ष गरेको कागज ।
अभियोग दाबी: प्रतिवादी पुष्कर गौतमलाई ज्यानसम्बन्धीको १३(४) नं.बमोजिमको सजाय हुन, प्रतिवादी बालकृष्ण ढुंगेललाई ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम सजाय हुन, प्रतिवादीमध्ये पर्वतराज भट्टराई, थलबहादुर पौडेल, डोरबहादुर पौडेल, रामबहादुर श्रेष्ठ, प्रह्लाद गौतम, केशवहरि ढुंगेललाई ज्यानसम्बन्धीको १७(३) नं. तथा ऐ. को ४ नं.बमोजिम सजाय हुन प्रतिवादी रामबहादुर श्रेष्ठ र थिरबहादुर खत्रीलाई ज्यानसम्बन्धीको १७(३) नं. ऐ. को १९ नं. र ऐ. को २५ नं. बमोजिम सजाय हुन माग दाबी गरिएको छ । प्रतिवादीमध्ये शेषराज गौतम, केशरबहादुर पौडेल, मनोजकुमार भट्टराई, कल्याणराज गौतम, कमलबहादुर पौडेल, नरेशकुमार खड्का, दुर्गाहरि पौडेल, धर्मबहादुर विष्ट, जगतबहादुर खड्का, भोजबहादुर खड्का, यादवबहादुर विष्ट, कोमलप्रसाद तिमल्सिना, मेघबहादुर खड्का, पूर्णबहादुर श्रेष्ठ, हेमबहादुर विष्ट, भक्तबहादुर विष्टसमेतको हकमा सबुत प्रमाणको अभावमा मुद्दा चल्नुपर्ने अवस्था नहुँदा सजायको माग दाबी नगरिएको भन्नेसमेत बेहोराको अभियोग-पत्र ।
प्रतिवादी रामबहादुर श्रेष्ठको अदालतको बयानः अभियोग दाबीबमोजिमको कसुर मैले गरेको होइन । मृतक र मसमेत वारदात स्थानमा पुगेपछि प्रहरीको पोसाक लगाएको व्यक्तिले गोली हानेको हो । म बेहोस भएँ, मसँगै गएको थिरबहादुर कता गए थाहा छैन । गोली हान्ने व्यक्ति मैले नचिनेको हुँदा भन्न सक्तिनँ । प्रहरीसमक्ष भएको बयान मेरो होइन । कुटपिट गरी सहीछाप गराएको हो । म निर्दोष हुँ भन्ने प्रतिवादी रामबहादुर श्रेष्ठले अदालतमा गरेको बयान ।
प्रतिवादी थिरबहादुर खत्रीको अदालतको बयानः मसमेत भई अभियोग दाबीबमोजिमको कसुर गरेको होइन । घटनास्थलमा पुगेपछि एक्कासि बन्दुक पड्केको आवाज आएको हुँदा मेरो ज्यान बचाउन म भागेको हो । को को भई कर्तव्य गरी मारे वा मारेनन् थाहा छैन । प्रहरीमा भएको बयान मेरो होइन, मलाई कुटपिट गरी सहीछाप गराएको हो भन्ने प्रतिवादी थिरबहादुर खत्रीले अदालतमा गरेको बयान ।
प्रतिवादी थलबहादुर पौडेलको अदालतको बयानः वारदात मिति समयमा म घर गाउँमा नभई काठमाडौंमा छु । मैले अभियोग दाबीबमोजिम कसुर गरेको होइन । म निर्दोष हुँ । प्रहरीमा भएको बयान कागज मेरो होइन, कुटपिट गरी सहीछाप गराएको हो भन्ने प्रतिवादी थलबहादुर पौडेलले अदालतमा गरेको बयान ।
प्रतिवादी डोरबहादुर पौडेलको अदालतको बयानः वारदात मिति समयमा म आफ्नै घरमा छु । मसमेत भई अभियोग दाबीबमोजिमको कसुर गरेको होइन । प्रहरीमा भएको बयान कागज मेरो
होइन । कुटपिट गरी सहीछाप गराएको हो, म निर्दोष छु भन्नेसमेत बेहोराको प्रतिवादी डोरबहादुर पौडेलले अदालतमा गरेको बयान ।
प्रतिवादी पर्वतराज भट्टराईको अदालतको बयानः वारदात मिति समयमा म आफ्नै घरमा छु । मसमेत भई अभियोग दाबीबमोजिमको कसुर गरेको होइन, प्रहरीमा भएको बयान कागज मेरो होइन । कुटपिट गरी सहीछाप गराएको हो, म निर्दोष छु भन्नेसमेत बेहोराको प्रतिवादी पर्वतराज भट्टराईले अदालतमा गरेको बयान ।
सुरू अदालतको आदेशः यसमा प्रतिवादीहरू थलबहादुर पौडेल, डोरबहादुर पौडेल, थिरबहादुर खत्री, रामबहादुर श्रेष्ठ र पर्वतराज भट्टराई कसुरमा इन्कार रही बयान गरेको भए पनि एकआपसमा पोल गरी सहअभियुक्तहरूले बयान गरेकोले पछि बुझ्दै जाँदा ठहरेबमोजिम गर्ने गरी हाल निजहरूलाई अ.बं. ११८(२) नं.बमोजिम थुनामा राखी पुर्पक्ष गर्नु भन्ने सुरू अदालतको मिति २०५५।०४।२६ को थुनछेक आदेश ।
सुरू अदालतबाट जारी भएको म्यादी पुर्जीमा पक्राउमा परी हाजिर भएका प्रतिवादी बालकृष्ण ढुंगेलको अदालतको बयानः म मिति २०५५।३।९ गते मेरो घर व्यवहारको कामले लिएको ऋण तिर्नको लागि जिल्ला ओखलढुङ्गा, गा.वि.स. हर्कपुर, वडा नं. ..... हर्कपुर बस्ने पेसलकुमार खतिवडाको घरमा आएको छ, सो २०५५।३।९ गतेदेखि भोलिपल्ट १० गतेसम्म निजकै घरमा बसी निजलाई रूपैयाँ तिरी ऐ. ११ गते मात्र मेरो घरमा गएको छु, मिति २०५५।३।१० गते म टारकेराबारी वडा नं. ७ मा छैन । सोभन्दा १२ कोष फरक हर्कपुरमा हुँदा मैले मृतकलाई गोली हानी कर्तव्य गरी मारेको छैन । सो घटनामा म संलग्न छैन, जाहेरवालासमेतका मानिससँग झै-झगडा भएको र राजनीतिक प्रतिशोधको भावनाले मसमेत उपर झुट्टा जाहेरी दिएको हो । अभियोग लगाएको अपराधबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको पक्राउ परी आएका बालकृष्ण ढुंगेलले २०५५।९।२ गते सुरू अदालतमा हाजिर भई गरेको बयान ।
सुरू अदालतको आदेशः बालकृष्ण ढुंगेलले गोली हानी मृतक भुवन भन्ने उज्जनकुमारलाई कर्तव्य गरी मारी अन्य अभियुक्तहरूको समेत सहयोगबाट लास फालेको हो भनी सहअभियुक्तहरू थिरबहादुर खत्री, रामबहादुर श्रेष्ठसमेतले किटानी बयान गरेको साथै ज्ञानप्रसाद पौडेल, मित्रचन्द्र पौडेल, थलबहादुर पौडेलको प्रहरीमा भएको कागजसमेतबाट अभियोगपत्रको माग दाबी समर्थित हुन आएको, अन्य प्रतिवादीहरूको सहयोग लिई लासलाई लिखु खोलामा फालेको कुरा देखिन आई माथि उल्लिखित तत्काल प्राप्त प्रमाणहरूबाट निज बालकृष्ण ढुंगेल कसुरदार देखिन आएकोले अ.बं.११८(२) नं.को अवस्था विद्यमान हुन आई पुर्पक्षको लागि थुनामा राख्नु भन्ने सुरू अदालतको मिति २०५५।९।३।६ को आदेश ।
जाहेरवाला गणेशकुमार श्रेष्ठको अदालतको बकपत्रः डोरबहादुर, थलबहादुरमध्ये थलबहादुरले विमलालाई गर्भ बोकाएको र सो गर्भको विषयमा केटीले समेत थलबहादुरको गर्भ हो भनेपछि भुवनले पनि सो गर्भ थलबहादुरकै हो भनेपछि थलबहादुरले सो कुरालाई इन्कार गर्दै आइरहेको र सो इस्यु बढ्दै जाँदा थलबहादुर र डोरबहादुर तथा भुवनबिच मनमुटाव बढेको, अन्य प्रतिवादीहरू थिरबहादुर, रामबहादुर, डोरबहादुर तथा थलबहादुर बाहेकका माओवादीसँग सम्बन्धित रहेका हुँदा उनीहरूले भुवन श्रेष्ठले बालकृष्ण र पुष्करलाई माओवादीको सुराकी प्रहरीमा पुऱ्याएकोले भुवनलाई मारेका हुन् । खहरे खोला दोभानमा बालकृष्णले गोली हानेको र पुष्करले टर्च देखाइदिएको हो भन्नेसमेत बेहोराको २०५६।८।१२ गते जाहेरवाला गणेशकुमार श्रेष्ठले सुरू अदालतमा गरेको बकपत्र ।
लोककृष्ण भट्टराईको बकपत्रः प्रतिवादी थलबहादुर उल्लिखित मिति र समयमा काठमाडौंमा छन्, सो वारदातमा थलबहादुरले घटना घटाएको होइन भन्ने लोककृष्ण भट्टराईको बकपत्र ।
चेतबहादुर रोक्काको बकपत्रः प्रतिवादी थिरबहादुर पनि बुर्ता गरी खाने मानिस हुन् निजले वारदात घटना घटाएको नहुँदा सफाइ पाउनुपर्छ भन्ने चेतबहादुर रोक्काको बकपत्र ।
नरेशकुमार खड्काको बकपत्रः प्रतिवादी रामबहादुर भन्ने व्यक्ति आपराधिक योजनामा संलग्न हुने व्यक्ति होइन । निजले सफाइ पाउनुपर्छ भन्ने नरेशकुमार खड्काको बकपत्र ।
दुर्गाहरि पौडेलको बकपत्रः प्रतिवादी डोरबहादुरले अभियोग दाबीबमोजिम सजाय पाउनुपर्ने होइन भन्ने दुर्गाहरि पौडेलको बकपत्र ।
केशवहरि भट्टराईको बकपत्रः प्रतिवादी पर्वतराज भट्टराई अघिल्लो दिन ९ गते खेतमा काम गरी आएका, भोलिपल्ट १० गते मेरो घरमा चिया खाई छोरीलाई रामेछाप पुऱ्याउन भनी हिँडेका हुन् । घटनामा संलग्नता छैन भन्ने केशवहरि भट्टराईको बकपत्र ।
वेदबहादुर पौडेलको बकपत्रः म हाट जान भनेर हिँडेको खहरे खोलाको शिरमा मेरो घर पर्छ, घरबाट सो खोलाको छेवैछेउको बाटो हुँदा तल झरेँ, म खोलाको पूर्वपट्टि छु आवाज पश्चिमबाट गुनगुन गर्दै
आयो । आवाज नबुझिने थियो, त्यसपछि बन्दुक पड्केको आवाज सुनेँ, आवाज सुनेपछि मलाई डर लाग्यो र मकैबारीको कान्लातिर गोलीको आवाज आएपछि भुवन श्रेष्ठले ऐया आमै भनेको सुनेँ, टर्च बालिरहेको हुँदा भुवन श्रेष्ठलाई चिनेँ, कुलोको डिलबाट भुवन खेतको गरामा झरे, सो घटनास्थलमा १२।१५ जना मानिसहरू थिए । डोरबहादुर र थलबहादुरले समाऊ समाऊ भनेको आवाज़ सुनेँ, पुष्कर र बालकृष्णलाई प्रस्ट चिनेँ भुवनलाई कोशीतर्फ लाँदै गरेको देखेँ अनि घरतर्फ म फर्केर मृतकका दाजुलाई खबर गर्न गएँ भन्नेसमेत बेहोराको वेदबहादुर पौडेलको बकपत्र ।
डिल्लीबहादुर खड्काको बकपत्रः पुष्कर गौतमले भुवनको मुखतिर टर्च बाले बालकृष्णले गोली ठोकेको देखेको हुँ भनी डिल्लीबहादुर खड्काले बकेको बकपत्र ।
सुरू अदालतको आदेशः प्रस्तुत मुद्दामा हाल थुनामा रहेका प्रतिवादीहरू थिरबहादुर खत्री र रामबहादुरसमेत उपर मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३), १९ र २५ को अभियोग दाबी लिई अभियोगपत्र पेस भएको देखिन्छ । उक्त १७(३), १९ र २५ नं. को व्यवस्था हेर्दा यी प्रतिवादीहरूलाई अधिकतम कैद हुँदासमेत ३ वर्षभन्दा बढी कैद हुन नसक्ने कानूनी व्यवस्था देखिन्छ । यी प्रतिवादीहरू २०५५।३।३१ मा थुनामा परी हालसम्म थुनामा रहेको देखिन्छ । यसरी हालसम्म यी प्रतिवादीहरू थुनामा बस्दा ३ वर्षभन्दा बढी थुनामा बसिसकेको अवस्था रहेको र मुलुकी ऐन, अ.बं. ११९ नं. को कानूनी व्यवस्था हेर्दा प्रस्तुत मुद्दामा यी प्रतिवादीहरूलाई ३ वर्षभन्दा बढी थुनामा राख्न नमिल्ने भएको र प्रस्तुत मुद्दा हाल अङ्ग नपुगी कारबाहीका अवस्था रहेको हुँदा यी प्रतिवादीहरू थिरबहादुर खत्री र रामबहादुर श्रेष्ठलाई अन्य मुद्दाबाट थुनामा राख्न नपर्ने भए प्रस्तुत मुद्दामा थुनाबाट छाडी साधारण तारेखमा राखी पुर्पक्ष गर्नु भनी मिति २०५८।४।३० मा सुरू अदालतबाट भएको आदेश ।
प्रतिवादी बालकृष्ण ढुंगेलसमेतको हकमा सुरू जिल्ला अदालतको फैसलाः फरार रहेका प्रतिवादीहरू पुष्कर गौतम, प्रह्लाद गौतम र केशवहरि ढुंगेलसमेतको हकमा अ.बं. १९० नं. बमोजिम मुलतबी राखिदिने, प्रत्यक्षदर्शी साक्षीको बकपत्रबाट समेत प्रतिवादी बालकृष्णले मृतकलाई गोली प्रहार गरेको पुष्टि भएकोले निजले ज्यानसम्बन्धीको १३(१) नं. को कसुर गरेकोले सर्वस्वसहित जन्मकैद हुने
ठहर्छ । घटनास्थलमा मौजुदा देखिएका र मृतकलाई साथै लगेकोमा समेत स्वीकार गर्ने प्रतिवादी थिरबहादुर र रामबहादुरले ज्यानसम्बन्धीको १७ (३) को कसुर गरेको देखिँदा ३ वर्ष कैद हुने ठहर्छ र अन्य प्रतिवादी पर्वतराज भट्टराई, थलबहादुर पौडेल, डोरबहादुर पौडेल कसुरमा संलग्न रहेको भन्नेसमेत ठोस सबुतको अभावमा सफाइ पाउने ठहर्छ भन्ने सुरू अदालतबाट मिति २०६१।०१।२८ मा भएको फैसला ।
वादी नेपाल सरकारको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन पत्रः प्रतिवादी थलबहादुर पौडेल, डोरबहादुर पौडेल, पर्वतराज भट्टराईको समेत संलग्नतामा उज्जन श्रेष्ठको मृत्यु भएको भन्ने जाहेरीबाट देखिएको जुन कुरा घटनास्थलको प्रत्यक्षदर्शीको बयान कागजबाट पुष्टि भएको र प्रतिवादी डोरबहादुरले मृतकलाई मारेकोमा खुशियाली मनाएको, थलबहादुर, पर्वतराज भट्टराईले घेरा हाली लास फाल्ने कार्यमा सघाउ पुऱ्याएको भन्ने निजहरूको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानबाट प्रस्ट भएको र आंशिक सजाय पाउने सहअभियुक्त थिरबहादुर खत्रीसमेतको बकपत्रबाट निजहरूको वारदातमा संलग्नता देखिएकोमा सफाइ पाउने गरी भएको फैसला त्रुटिपूर्ण देखिएको र प्रतिवादी थिरबहादुर खत्री तथा रामबहादुर श्रेष्ठ मृतकसँगै रहेको निजहरूको उपस्थितिमा वारदात भएको थिरबहादुरले मृतक वजार जाने सुराक दिएको मृत लासलाई फाल्दा निजहरू सँगै रहेको देखिएको अवस्थामा गुहार नदिएको जाहेर नगरेको लास फालेतर्फ थिरबहादुर र रामबहादुरलाई सजाय नगरी भएको सुरूको फैसलासमेत त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भनी नेपाल सरकारको तर्फबाट परेको पुनरावेदन पत्र ।
प्रतिवादी बालकृष्ण ढुंगेलको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन पत्र: म पुनरावेदकको कथित घटनामा संलग्नता नभएको । घटना भएको भनिएको स्थानभन्दा १२ कोस पूर्व हर्कपुर गा.वि.स. मा पेसल खतिवडाकोमा गएको थिएँ भन्ने मेरो बयान बेहोरालाई विचार गरिएको छैन । मुख्य प्रमाणको रूपमा लिएको थिरबहादुर खत्री र रामबहादुर श्रेष्ठको बयानमा गोली चलाउने मानिस चिन्दिन भनिएको छ । बन्दुक गोली केही बरामद नभएको र मृतक भनिएको व्यक्तिको लास नै फेला नपरी घटना भएको हो होइन भन्ने शंकायुक्त अवस्थामा मिसिल संलग्न प्रमाणको वस्तुनिष्ठ ठोस विश्लेषण नगरी न्यायिक सिद्धान्तविपरीत आत्मनिष्ठ भई विना कुनै आधार प्रमाण पूर्वरिसइवी भएको व्यक्तिहरूको भनाइलाई ठोस प्रमाणको रूपमा ग्रहण गरी सर्वस्वसहित जन्मकैद हुने ठहऱ्याई सुरूबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाइ पाउँ भन्ने प्रतिवादी बालकृष्ण ढुंगेलको तर्फबाट परेको पुनरावेदन पत्र ।
पुनरावेदन अदालत राजविराजको आदेशः वादी श्री ५ को सरकारको पुनरावेदन परेको कुरा प्रतिवादी बालकृष्ण ढुंगेललाई र प्रतिवादी बालकृष्ण ढुंगेलको पुनरावेदन परेको कुरा पुनरावेदन सरकारी वकिल कार्यालय राजविराजलाई परस्पर जानकारी गराई लगाउको मुद्दासमेत साथै राखी पेस गर्नु भन्ने पुनरावेदन अदालत राजविराजबाट मिति २०६१।११।१३ मा भएको आदेश ।
पुनरावेदन अदालत राजविराजको फैसला: प्रतिवादी थलबहादुर, डोरबहादुर र पर्वतराज भट्टराईहरू वारदातस्थलमा थिए भन्ने प्रमाणसम्म पनि नभएको स्थितिमा निजहरूलाई सफाइ दिने गरी सुरू जिल्ला अदालतबाट भएको फैसला पनि मिलेकै देखिन आयो । अतएव: पुनरावेदक प्रतिवादी बालकृष्ण ढुंगेललाई ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको सुरू ओखलढुङ्गा जिल्ला अदालतको फैसला नमिलेको हुँदा सो हदसम्म उल्टी भई पुनरावेदक प्रतिवादी बालकृष्ण ढुंगेलले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भन्ने बेहोराको पुनरावेदन अदालत राजविराजको मिति २०६३।३।११ को फैसला ।
प्रतिवादी बालकृष्ण ढुंगेलसमेत उपर वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्रः मृतकको मृत्यु कर्तव्यबाट भएको कुरामा विवाद छैन । प्रतिवादी बालकृष्ण ढुंगेलसमेत उपर किटानी जाहेरी परेको छ । जाहेरवालाको बकपत्रबाट समेत जाहेरीको बेहोरा पुष्टि भएको छ । प्रत्यक्षदर्शी वेदबहादुर पौडेलले कागज गर्दा बालकृष्ण ढुंगेललाई बन्दुक बोकेको अवस्थामा देखेको र निजसमेत भई मृतकलाई घिसार्दै लिखु खोलामा फालिदिएका हुन् भनी कागज गरेको र सोहीअनुसार अदालतमा बकपत्रसमेत गरेका छन् । अर्का प्रत्यक्षदर्शी डिल्लीबहादुर खड्काले पनि पुष्कर गौतमले मृतकलाई टर्च देखाएको र बालकृष्ण ढुंगेलले गोली हानेको प्रत्यक्ष देखेको हुँ भनी अदालतमा समेत बकपत्र गरेका
छन् । सहअभियुक्तहरू रामबहादुर श्रेष्ठ र थिरबहादुर खत्रीले अनुसन्धानका क्रममा बयान गर्दा प्रतिवादी बालकृष्ण ढुंगेलले नै मृतकलाई गोली प्रहार गरेको हो भनी बयान गरेका छन् । यसरी प्रत्यक्षदर्शीहरूको भनाइको प्रामाणिक मूल्यलाई मूल्याङ्कन नगरी प्रत्यक्षदर्शीहरूको प्रतिवादी बालकृष्ण ढुंगेललाई आरोपित कसुरबाट सफाइ दिएको पुनरावेदन अदालत राजविराजको फैसला त्रुटिपूर्ण छ । प्रतिवादीहरू थलबहादुर पौडेल, डोरबहादुर पौडेल र पर्वतराज भट्टराईको संलग्नताका बारेमा जाहेरीमै उल्लेख भएको छ । प्रत्यक्षदर्शी वेदबहादुर पौडेलसमेतको कागज तथा बकपत्रसमेतबाट निज प्रतिवादीहरूको वारदातमा संलग्नता पुष्टि भइरहेको र मृतकलाई घेरा हाली लास फ्याँक्ने कार्यमा सहयोग गरेको हो भनी निजहरूले अनुसन्धानका क्रममा बयानसमेत गरेको अवस्थामा निजहरूलाई आरोपित कसुरबाट सफाइ दिने गरी भएको पुनरावेदन अदालत राजविराजको फैसला त्रुटिपूर्ण छ । प्रतिवादीहरू थिरबहादुर खत्री र रामबहादुर श्रेष्ठ मृतकसँगै रहेका र निजहरूको उपस्थितिमै वारदात भएको देखिन्छ । लास फाल्दासमेत सँगै रहेको र जाहेर गर्नुपर्ने निकायमा जाहेर नगरेको कुरा निजहरूको प्रहरीसमक्षको बयानबाट पुष्टि भइरहेको छ । निजहरूले लास फालेको कुरालाई कसुर कायम गरी फैसला भएको तर गुहार नगरेको जाहेर नगरेतर्फ निजहरूलाई सजाय नगर्ने गरी भएको पुनरावेदन अदालत राजविराजको फैसला त्रुटिपूर्ण रहेको छ । अतः सुरू फैसला केही उल्टी गरी पुनरावेदन अदालत राजविराजबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला सो हदसम्म बदर गरी प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदनपत्र ।
०६३-CR-०३९२ को मुद्दामा यस अदालतको आदेशः प्रतिवादीहरूमध्ये बालकृष्ण ढुंगेललाई ज्यानसम्बन्धीको १३(१), डोरबहादुर, थलबहादुर, पर्वतराजसमेतलाई ज्यानसम्बन्धीको १७(३), १९ र २५ नं. को सजाय माग भएको देखियो । पोष्टमार्टम रिपोर्टबाट मृतक भुवनकुमार भन्ने उज्जनकुमारको मृत्यु कर्तव्यबाट भएको भन्नेमा विवाद भएन । प्रहरीमा कागज गर्ने डिल्लीबहादुर खड्का, वेदबहादुर पौडेलले अदालतमा बकपत्र गर्दा स.ज. ६, ७, ८, ९ मा प्रतिवादीमध्येको बालकृष्ण ढुंगेलले गोली हानेको आफैँले देखेको र वारदातस्थलमा अन्य प्रतिवादीहरू पनि उपस्थित रही वारदातमा सम्मिलित भएको भनी बकेको अवस्थामा प्रतिवादी बालकृष्ण ढुंगेलसमेतलाई सफाइ दिने गरी गरेको पुनरावेदन अदालत राजविराजको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं.बमोजिम विपक्षीहरूलाई झिकाई २०६४ सालको साधक नं. २६ समेत साथै राखी पेस गर्नु भन्ने यस अदालतको मिति २०६५।१०।२६ को आदेश ।
०६३-CR-०३९२ को मुद्दामा यस अदालतबाट भएको फैसला: प्रतिवादीहरू डोरबहादुर पौडेल, थलबहादुर पौडेल र पर्वतराज भट्टराईको वारदातस्थलमा उपस्थिति रहेको भन्ने तथ्यसमेत ठोस एवं शंकारहित तवरबाट पुष्टि हुनसकेको देखिन नआएको हुँदा निज प्रतिवादीहरूलाई अभियोग मागदाबीबाट सफाइ दिने गरेको सुरू फैसला सदर हुने ठहऱ्याएको पुनरावेदन अदालत राजविराजको इन्साफ अन्यथा देखिएन । प्रतिवादीमध्येका बालकृष्ण ढुंगेलका हकमा सुरू फैसला उल्टी गरी निजलाई अभियोग मागदाबीबाट सफाइ दिने गरेको हदसम्म पुनरावेदन अदालत राजविराजको फैसला मिलेको नदेखिँदा सो हदसम्म उक्त फैसला केही उल्टी भई निज प्रतिवादी बालकृष्ण ढुंगेललाई अभियोग मागदाबीबमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ भन्ने यस अदालतको मिति २०६६।०९।१९ को फैसला ।
सुरू अदालतको मुलतबी जगाउने आदेश: यसमा फरार प्रतिवादीहरू पुष्कर गौतम, केशवहरी ढुंगेल, प्रह्लाद गौतमसमेतका हकमा अ.बं.१९० नं.बमोजिम मुलतबी राखी निजहरूको अंश सर्वस्व मुचुल्का गरी २ वर्ष पुगेपछि जगाई कारबाही गर्ने गरी मिति २०६१।१।२८ गते यस अदालतबाट फैसला भएको र सो फैसलाअनुसार प्रतिवादी पुष्कर गौतम र केशवहरी ढुंगेलको मिति २०५८।०२।१९ गते अंश मुचुल्का भई मिसिल सामेल रहेको र अर्का प्रतिवादी प्रह्लाद गौतमका हकमा अंश सर्वस्व मुचुल्का हुँदा निजको द्वन्द्व्वकालमा मिति २०५८।०८।०१ गते मृत्यु भएको भन्नेसमेत मुचुल्का प्राप्त भएको देखिँदा प्रस्तुत मुद्दा मुल्तबी दायरीबाट जगाइदिएको छ । यस अदालतको सरकारवादी फौजदारी दायरीमा दर्ता गरी प्रतिवादी पुष्कर गौतम र केशवहरी ढुंगेलका हकमा ७(सात) दिने म्याद जारी गरी पठाउने र म्यादमा उपस्थित भए वा गुजारेमा नियमानुसार पेस गर्नू । प्रह्लाद गौतमको मृत्यु भएको भन्ने मुचुल्काबाट देखिँदा केही गर्नुपरेन भन्ने ओखलढुङ्गा जिल्ला अदालतको मिति २०६९।०५।२५ को आदेश ।
प्रतिवादी पुष्कर गौतम र केशवहरी ढुंगेलको हकमा सुरू अदालतको फैसला: प्रतिवादी पुष्कर गौतमले भुवनको मुखमा टर्च बालिदिई प्रतिवादी बालकृष्ण ढुंगेलले मृतक भुवन भन्ने उज्जनकुमार श्रेष्ठलाई गोली प्रहार गरेको निजहरूसमेत भई मृतकलाई घिसार्दै लिखु खोलामा लगी फालिदिएको भन्ने तथ्य स्थापित हुन आएकोले निज प्रतिवादी पुष्कर गौतमलाई ज्यानसम्बन्धी महलको १३(४) बमोजिम जन्मकैद हुने र अर्का प्रतिवादी केशवहरी ढुंगेलको वारदातस्थलमा उपस्थिति रहेको भन्ने तथ्य ठोस एवं शंकारहित तवरबाट पुष्टि हुन सकेको नदेखिँदा निजले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भन्ने मिति २०६९।१२।०२ को ओखलढुङ्गा जिल्ला अदालतको फैसला ।
प्रतिवादी केशवहरी ढुंगेलको हकमा पुनरावेदन अदालत राजविराजमा वादी नेपाल सरकारको तर्फबाट परेको पुनरावेदन पत्र: जाहेरवाला गणेशकुमार श्रेष्ठले जाहेरीलाई पूर्ण समर्थन गरी अदालतमा बकपत्र गरेको देखिन्छ । वादीका साक्षी डिल्लीबहादुर खड्काले मौकाको कागजलाई समर्थन गर्ने गरी गरेको बकपत्र, वेदबहादुर पौडेलले प्रहरीमा भएको कागजको बेहोरा ठिक साँचो हो भनी अदालतमा गरेको बकपत्र एवं केशवरहरि ढुंगेल आरोपित कसुरबाट बच्नको लागि हालसम्म फरार भएको अवस्थासमेतको आधार प्रमाण एवं तथ्यहरूबाट प्रतिवादी केशवहरि ढुंगेलले आरोपित कसुर गरेको देखिँदादेखिँदै प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिने गरी भएको फैसला न्यायसङ्गत नदेखिँदा बदर भागी छ । अतः उल्लिखित आधार प्रमाणहरूले अभियोग माग दाबीलाई पुष्टि गरिरहेको अवस्थामा प्रतिवादीलाई सफाइ दिने ठहर गरी भएको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी प्रतिवादीलाई अभियोग माग दाबीअनुसार सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
प्रतिवादी केशवहरी ढुंगेलको हकमा पुनरावेदन अदालत राजविराजको फैसलाः घटनाका प्रत्यक्षदर्शी भनिएका वेदबहादुर पौडेल तथा डिल्लीबहादुर खड्काले अदालतमा आई बकपत्र गर्दा यी प्रतिवादीको वारदातस्थलमा उपस्थित रहेको भनी भन्न लेखाउन सकेकोसमेत देखिँदैन । साथै सहअभियुक्तहरूले समेत यी प्रतिवादीलाई पोल गर्नसकेको पाइँदैन । घटना विवरण कागज गर्ने अन्य व्यक्ति तथा वस्तुस्थिति मुचुल्काका व्यक्तिले समेत मौकाको कागज तथा अदालतमा बकपत्र गर्दासमेत पोल गर्न सकेको देखिँदैन । यी प्रतिवादी हालसम्म फरार रहेको देखिए पनि निजले अभियोग दाबीबमोजिमको कसुर गरेका हुन् भनी वादी पक्षबाट वस्तुनिष्ठ प्रमाणबाट पुष्टि गर्न सकेको नदेखिँदा प्रतिवादी केशवहरी ढुंगेलले अभियोग दाबीबाट सफाइ पाउने ठहर्याई भएको सुरू फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत राजविराजको मिति २०७१।५।१८ को फैसला ।
प्रतिवादी पुष्कर गौतमको हकमा साधकको रोहमा दर्ता गर्ने पुनरावेदन अदालत राजविराजको आदेश: प्रतिवादी पुष्कर गौतम सर्वस्वसहित जन्मकैद भएकोमा च.नं.१२४९ मिति २०७१।१२।०५ गतेको पत्रबाट साधकको निकासाका लागि प्राप्त हुन आएको देखिँदा प्रस्तुत मुद्दा सम्बन्धित साधक दायरी दर्ता किताबमा दर्ता गरी नियमानुसार गर्नु भन्ने मिति २०७२।०२।२७ मा भएको आदेश ।
प्रतिवादी पुष्कर गौतमको हकमा पुनरावेदन अदालत राजविराजबाट भएको फैसला: घटनास्थलको प्रकृति र समग्र परिस्थितिजन्य प्रमाणहरूबाट मृतकको मृत्यु बन्दुक प्रहारबाटै भएको र मृतकलाई कर्तव्य गरी मार्नमा उल्लिखित तवरले यी प्रतिवादी पुष्कर गौतमको समेत संलग्नता पुष्टि भइरहेकै देखिन आउँछ । प्रतिवादी पुष्कर गौतमलाई अभियोगदाबीबमोजिम ज्यानसम्बन्धी महलको १३(४) नं.बमोजिम जन्मकैदको सजाय गर्ने गरेको सुरू ओखलढुङ्गा जिल्ला अदालतको मिति २०६९।१२।०२ गतेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत राजविराजबाट मिति २०७२।०३।१८ मा भएको फैसला ।
यस अदालतमा परेको प्रतिवादी पुष्कर गौतमको पुनरावेदनः प्रस्तुत वारदातको सम्बन्धमा दुईवटा जाहेरी परेकोमा पहिलो जाहेरीमा मलाई किटानी गरेको छैन । प्रत्यक्षदर्शीहरू भनिएका व्यक्तिहरूलाई यातना दिई बयान गराइएको तथा बयानको गलत व्याख्या गरिएको अवस्था छ । मृतक भनिएको व्यक्तिको शव नै फेला परेको छैन । मारिएको भनिएको व्यक्तिको शव नै फेला नपरेको अवस्थामा प्रत्यक्षदर्शीहरू भनी संदिग्ध व्यक्तिहरू खडा गरी उनीहरूको विरोधाभाषपूर्ण बयानलाई आधार मानी मलाई कर्तव्य ज्यान जस्तो अपराधमा जन्म कैद हुने गरी गरेको फैसला त्रुटिपूर्ण
छ । घटनास्थल प्रकृति मुचुल्काले घटनाको प्रकृतिलाई समर्थन गर्दैन । घटना अनुसन्धानले वैज्ञानिक परीक्षणको उपेक्षा गरेको छ । विज्ञानले के भन्दछ भने अध्यारोमा स्वतः आँखाको नानी ठुलो हुन्छ ता कि धेरै प्रकाश आँखाको पर्दा (जसलाई रेटिना भनिन्छ) मा पुगोस र आकृति देखियोस । यस्तो अवस्थामा एक्कासि कसैले धेरै प्रकाश दियो भने ठुलो भइरहेको आँखाको नानीबाट अत्यधिक प्रकाश रेटिनामा पुग्छ फलस्वरूप आकृति अस्पष्ट हुन्छ । त्यसैगरी दशीको रूपमा पेस गरिएको लाइट मृतक भनिएका भुवनकै हो भन्नेसमेत अनुसन्धानले पुष्टि गरेको छैन । मलाई जन्मकैद गर्ने पुनरावेदन अदालत राजविराजको फैसलाले आधार लिएको प्रतिवादी बालकृष्ण ढुङ्गेललाई अभियोग दाबीबमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ भनी मुद्दा नं. २०६३-CR-०३९२ मा सम्मानित सर्वोच्च अदालतबाट मिति २०६६।०९।१९ मा भएको फैसला नै त्रुटिपूर्ण रहेको छ । अतः बिना कुनै आधार प्रमाण पूर्वरिसइवी भएको व्यक्तिहरूको भनाइलाई मात्र ठोस प्रमाणको रूपमा ग्रहण गरी भएको पुनरावेदन अदालत राजविराजको फैसला त्रुटिपूर्ण भएको हुँदा सो त्रुटिपूर्ण फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको पुष्कर गौतमको यस अदालतमा पर्न आएको पुनरावेदन ।
प्रतिवादी केशवहरी ढुंगेलउपर पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्रः जाहेरवाला गणेशकुमार श्रेष्ठले जाहेरीलाई पूर्ण समर्थन गरी अदालतमा बकपत्र गरेको देखिन्छ । वादीका साक्षी डिल्लीबहादुर खड्काले मौकाको कागजलाई समर्थन गर्ने गरी गरेको बकपत्र, वेदबहादुर पौडेलले प्रहरीमा भएको कागजको बेहोरा ठिक साँचो हो भनी अदालतमा गरेको बकपत्र एवं केशवहरी ढुंगेल आरोपित कसुरबाट बच्नको लागि हालसम्म फरार भएको अवस्थासमेतका आधार, प्रमाण एवं तथ्यहरूबाट प्रतिवादी केशवहरी ढुंगेलले आरोपित कसुर गरेको देखिँदा देखिँदै प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिने गरी भएको फैसला न्यायसङ्गत नदेखिँदा बदर भागी छ भन्ने बेहोराको वादी नेपाल सरकारको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
प्रतिवादी पुष्कर गौतमको हकमा साधकको रोहमा दर्ता गर्नेसम्बन्धी यस अदालतको आदेश: यसमा पुनरावेदन अदालत राजविराजबाट मिति २०७२।०३।१८ को फैसलाबमोजिम साधक जाँचका लागि प्राप्त हुन आएको मिसिल साधक दायरीमा दर्ता गर्नु भन्ने यस अदालतको आदेश ।
यस अदालतको आदेशः यसमा वेदबहादुर पौडेल, डिल्लीबहादुर खड्का, थीरबहादुर खत्री, रामबहादुर श्रेष्ठसमेतले मौकामा भनी लेखाएको कुरा र बयानसमेत गर्दा लेखाएको बेहोरा फरक देखिएको अवस्था भएकोले प्रमाण मूल्याङ्कनको रोहमा पुनरावेदन अदालत राजविराजबाट मिति २०७२।०३।१८ मा भएको फैसला पुनरावेदकको हकमा विचारणीय देखिँदा अ.बं.२०२ नं. को प्रयोजनार्थ छलफलको निमित्त महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार गर्नु भन्ने यस अदालतको मिति २०७५।०२।०३ को आदेश ।
यस अदालतको आदेशः यसमा पुनरावेदन अदालत राजविराजको मिति २०७२।०३।१८ को फैसलाउपर यसै लगाउमा रहेको पुष्कर गौतम विरूद्ध नेपाल सरकार (०७२-CR-०२२६) भएको मुद्दामा प्रत्यर्थी झिकाउने गरी मिति २०७५।०२।०३ मा आदेश भएको देखिएको र प्रस्तुत मुद्दासमेत सो मुद्दाको अन्तरप्रभावी देखिँदा साबिक मुलुकी ऐन, अ.बं. २०२ नं. र हाल प्रचलित मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) को प्रयोजनार्थ निज प्रत्यर्थी प्रतिवादी केशवहरी ढुंगेललाई म्याद सूचना तामेल गरी म्यादमा उपस्थित भए वा अवधि व्यतीत भएपछि लगाउका मुद्दा साथै राखी नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७८।११।०९ को आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत साधक जाँच मुद्दाको पुनरावेदन पत्रसहितको मिसिलसमेत अध्ययन गरी हेरियो ।
पुनरावेदन वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान् उपन्यायाधिवक्ता श्री डम्बरबहादुर काफ्ले तथा जाहेरवालाको तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल एवं विद्वान् अधिवक्ताहरू श्री विनोद श्रेष्ठ, श्री पुष्पराज पौडेल, श्री सीताशरण मण्डल, श्री सुरेन्द्रविक्रम के.सी., श्री ज्ञानेन्द्र राज आरण र डा. श्री शिवकुमार यादवसमेतले मृतक उज्जनकुमार श्रेष्ठलाई प्रतिवादी पुष्कर गौतम, केशवहरी ढुंगेलसमेत भई मारी फालेको भनी निज प्रतिवादीउपर किटानी जाहेरी परेको छ । घटनास्थलमा मृतकसँग अघि पछि हिँडिरहेका थिरबहादुर खत्री र रामबहादुर श्रेष्ठले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागजमा डिलमाथिबाट यी प्रतिवादीले मृतकलाई लाइट देखाएका र सोही बखत अर्का प्रतिवादी बालकृष्ण ढुंगेलले गोली प्रहार गरेको भनी स्पष्ट रूपमा लेखाइदिएका छन् । त्यसपछि पुष्कर गौतमसमेतले मृतकलाई घिसार्दै लगी लिखु खोलामा फ्याँकिदिएको निजहरू स्वयंले देखेको बेहोरा लेखाइदिएका छन् । अर्का प्रत्यक्षदर्शी वेदबहादुर पौडेलले समेत सोही बेहोरा लेखाइदिएको अवस्था छ । मृतकको मृत्यु बन्दुक प्रहारबाटै भएको र मृतकलाई कर्तव्य गरी मार्नमा उल्लिखित तवरले यी प्रतिवादी पुष्कर गौतमको समेत संलग्नता रहेको तथ्य यसै अदालतबाट मिति २०६६।९।१९ मा भएको फैसलाबाट स्थापित भइसकेको छ । उक्त फैसला अन्तिम भएर बसेको छ । यसरी, यी प्रतिवादी पुष्कर गौतमले मृतकको मुखमा टर्च लाइट देखाई मार्न संयोग पारिदिएको तथा प्रतिवादी केशवहरी ढुंगेलसमेतले लास फाल्न सहयोग गरेको तथ्य स्थापित हुन आएको छ । अतः यी पुनरावेदक प्रतिवादी पुष्कर गौतमलाई अभियोग दाबीबमोजिम जन्म कैदको सजाय गर्ने गरेको सुरू फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत राजविराजको फैसला न्यायसम्मत रहेकोले साधक सदर हुनुपर्दछ र प्रतिवादी केशवहरी ढुंगेललाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा निजको हकमा उल्टी भई अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भनी बहस गर्नुभयो ।
प्रतिवादी पुष्कर गौतमको तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिकृष्ण उप्रेती र श्री एकराज भण्डारी एवं विद्वान् अधिवक्ताहरू श्री जीवनाथ धिताल, श्री सतिषकृष्ण मैनाली र श्री सुलोचना धितालले, प्रस्तुत वारदातको सम्बन्धमा परेको जाहेरी नै शंकास्पद छ । यसमा दुईवटा जाहेरी परेकोमा पहिलो जाहेरीमा मेरो पक्षलाई किटानी गरिएकै छैन । प्रत्यक्षदर्शीहरू भनिएका व्यक्तिहरूको भनाइ विश्वासलायक छैन । मृतक भनिएको व्यक्तिको शव नै फेला परेको छैन । घटनास्थल प्रकृति मुचुल्काले घटनाको प्रकृतिलाई समर्थन गर्दैन । मेरो पक्षले टर्च बाली मृतकलाई देखाएको भन्ने छ, यस अवस्थामा मृतकसँगै रहेका व्यक्तिले टर्च बाल्ने मानिसलाई चिन्न सकिने हुँदैन, तथापि निज प्रत्यक्षदर्शीले चिनेको भनी गलत व्याख्या गरिएको छ । सह-प्रतिवादी बालकृष्ण ढुंगेल कसुरदार ठहर हुँदैमा मेरो पक्ष स्वतः कसुरदार हुने पनि होइन । त्यसकारण, मेरो पक्ष शंकारहित तवरले कसुरदार प्रमाणित नभएको अवस्थामा समेत मेरो पक्षलाई कर्तव्य ज्यानजस्तो गम्भीर कसुरमा अनुमान र सम्भावनाको आधारमा कसुरदार ठहर गरेको तत्कालीन पुनरावेदन अदालत राजविराजको फैसला त्रुटिपूर्ण भएको हुँदा बदर गरी मेरो पक्षलाई अभियोग दाबीबाट सफाइ प्रदान गरिनुपर्दछ भनी बहस गर्नुभयो ।
प्रत्यर्थी प्रतिवादी केशवहरी ढुंगेलको तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री नवीन धितालले, प्रत्यक्षदर्शी मानिसले मेरो पक्षको वारदातस्थलमा उपस्थिति रहेको भनी भन्न सकेको छैन । सह-अभियुक्तहरूले समेत मेरो पक्षलाई पोल गर्नसकेको छैन । घटना विवरण कागज गर्ने, वस्तुस्थिति मुचुल्काका व्यक्तिसमेतले मेरो पक्षलाई पोल गर्न सकेको छैन । मेरो पक्ष प्रतिवादी केशवहरी ढुंगेलले अभियोग दाबीबमोजिमको कसुर गरेको भनी वादी पक्षबाट वस्तुनिष्ठ प्रमाणबाट पुष्टि गर्न सकेको अवस्था छैन । यस अवस्थामा मेरो पक्ष प्रतिवादी केशवहरी ढुंगेलले अभियोग दाबीबाट सफाइ पाउने ठहर गरेको सुरू फैसला सदर गर्ने गरी तत्कालीन पुनरावेदन अदालत राजविराजबाट भएको फैसला न्यायसम्मत रहेको हुँदा सदर हुनुपर्दछ भनी बहस गर्नुभयो ।
अब, उपर्युक्तानुसारको बहस सुनी मिसिल संलग्न कागजातसमेत अध्ययन गरी हेर्दा, प्रस्तुत मुद्दामा तत्कालीन पुनरावेदन अदालत राजविराजबाट प्रतिवादी केशवहरी ढुंगेलको हकमा मिति २०७१।०५।१८ गते र पुनरावेदक प्रतिवादी पुष्कर गौतमको हकमा मिति २०७२।०३।१८ मा भएको फैसला मिलेको छ वा छैन तथा पुनरावेदक प्रतिवादी पुष्कर गौतमको र पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, मेरो भाइ भुवन भन्ने उज्जनकुमार श्रेष्ठलाई प्रतिवादीमध्येको पुष्कर गौतम, बालकृष्ण ढुंगेलसमेतले मौका परेपछि बोकाको पूजा गरे जस्तो गर्नुपर्छ भनी गाउँघरमा धम्की दिएकोमा मिति २०५५।०३।१० को बिहान ४:०० बजेको समयमा सामान किन्न धोबीडाँडाको हाटतर्फ जाँदै गर्दा खहरे दोभाननजिक बडहरे खेतको कुलोमा पुगेपछि अचानक कुलोमाथिबाट लाइट बाली मेरो भाइलाई टाउकोमा गोली हानी मारी लिखु खोलामा फालेकोले प्रतिवादीहरूलाई कारबाही गरिपाउँ भन्ने गणेशकुमार श्रेष्ठको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको अनुसन्धान सुरू भएको देखिन्छ । प्रतिवादीहरू पुष्कर गौतम, बलकृष्ण ढुंगेलसमेतले मृतकलाई कर्तव्य गरी मारेको देखिँदा प्रतिवादी पुष्कर गौतमलाई साबिक मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(४) नं.बमोजिम, प्रतिवादी बालकृष्ण ढुंगेललाई ऐ. महलको १३(१) नं.बमोजिम, प्रतिवादीहरू पर्वतराज भट्टराई, थलबहादुर पौडेल, डोरबहादुर पौडेल, रामबहादुर श्रेष्ठ, प्रह्लाद गौतम, केशवहरी ढुंगेललाई ऐ. महलको ४ तथा १७(३) नं.बमोजिम प्रतिवादीहरू सोमबहादुर श्रेष्ठ र थिरबहादुर खत्रीलाई ऐ. महलको १७(३), १९ र २५ नं.बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग दाबी रहेको देखिन्छ । प्रतिवादी पुष्कर गौतमले उज्जनकुमार श्रेष्ठलाई मुखमा टर्च बालिदिई प्रतिवादी बालकृष्ण ढुंगेलले मृतकलाई गोली प्रहार गरेको र निज प्रतिवादीहरूसमेत भई मृतकलाई घिसार्दै लिखु खोलामा लगी फालिदिएको तथ्य स्थापित हुन आएकाले प्रतिवादी पुष्कर गौतमलाई अभियोग दाबीबमोजिम जन्मकैद हुने तथा प्रतिवादी केशवहरी ढुंगेलको वारदातस्थलमा उपस्थित रहेको भन्ने ठोस एवं शंकारहित तवरबाट पुष्टि हुनसकेको नदेखिँदा आरोपित कसुरबाट सफाइ पाउनेसमेत ठहर गरी सुरू ओखलढुङ्गा जिल्ला अदालतबाट फैसला भएको पाइन्छ ।
३. उक्त सुरू फैसला प्रतिवादी पुष्कर गौतमका हकमा साधक जाँचको लागि तत्कालीन पुनरावेदन अदालत राजविराजसमक्ष पेस भएकोमा सोउपर सुनुवाइ हुँदा, प्रतिवादी पुष्कर गौतमउपर परेको किटानी जाहेरी, निज प्रतिवादी अनुसन्धानदेखि नै फरार रही निजले मौन रूपमा कसुर स्वीकार गरेको अवस्था, प्रत्यक्षदर्शीका भनाइ, सर्वोच्च अदालतबाट मिति २०६६।९।१९ मा भएको फैसलासमेतबाट प्रतिवादी पुष्कर गौतमले मृतकको मुखमा टर्च लाइट देखाई मार्न संयोग पारिदिएको तथ्य स्थापित हुन आएकोले प्रतिवादी पुष्कर गौतमलाई अभियोग दाबीबमोजिम जन्मकैदको सजाय गर्ने गरेको सुरू फैसला सदर हुने ठहर्याई तत्कालीन पुनरावेदन अदालत राजविराजबाट फैसला भएको पाइन्छ । तत्कालीन पुनरावेदन अदालतको उक्त फैसला साधक जाँचको लागि यस अदालतसमक्ष दर्ता भएकोमा प्रतिवादी पुष्कर गौतमलाई पुनरावेदन अदालतको फैसलामा पुनरावेदनको म्याद दिनु भन्ने उल्लेख नगरेकोले यसै अदालतबाट मिति २०७२।१२।३० मा पुनरावेदनको म्याद जारी भई मिति २०७३।०२।१५ मा तामेल भई आएपश्चात् उक्त फैसलाउपर असहमति जनाउँदै, प्रस्तुत वारदातको जाहेरी नै शंकास्पद रहेको, प्रत्यक्षदर्शीको भनाइ विश्वासलायक नरहेको, मृतक भनिएको व्यक्तिको शव नै फेला नपरेको अवस्थामा समेत प्रमाणको गलत व्यख्या गरी सर्वोच्च अदालतबाट मिति २०६६।०९।१९ मा भएको त्रुटिपूर्ण फैसलाको आधार लिई मलाई कसुरदार ठहर गरेको सुरू तथा पुनरावेदन अदालतको फैसला मिलेको नहुँदा बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादी पुष्कर गौतमको तर्फबाट यस अदालतसमक्ष प्रस्तुत पुनरावेदनसमेत पेस हुन आएको अवस्था छ । यसरी प्रतिवादी पुष्कर गौतमको नै पुनरावेदन परिसकेको अवस्थामा सोही पुनरावेदनबाट न्याय निरूपण हुने हुँदा निजको हकमा जाहेर हुन आएको साधकको प्रयोजन नभएकोले साधकको लगत कट्टा गरिदिने ठहर्छ । प्रत्यर्थी प्रतिवादी केशवहरी ढुंगेललाई अभियोग दाबीबाट सफाइ दिने ठहर गरेको सुरू फैसला पुनरावेदन अदालतबाट सदर ठहर्याएउपर निजलाई समेत अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भनी वादी नेपाल सरकारको तर्फबाट पनि पुनरावेदन पर्न आएको छ ।
४. सर्वप्रथम पुनरावेदक प्रतिवादी पुष्कर गौतमको पुनरावेदन जिकिरको सम्बन्धमा विचार गर्दा निजलाई सुरू तथा तत्कालीन पुनरावेदन अदालत राजविराजबाट अभियोगदाबीबमोजिम साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १, १३(४) नं.बमोजिमको कसुरमा जन्म कैदको सजाय ठहर भएको पाइन्छ । ऐ. महलको १ नं. मा, “कानूनबमोजिम बाहेक कसैले कुनै मानिसको ज्यान मार्न, मार्न लगाउन वा मार्नाको उद्योग गर्न हुँदैन” भन्ने कानूनी प्रावधान रहेको पाइन्छ । सो महलको १३(४) नं. मा, “जुनसुकै कुरा गरिकन पनि ज्यान मार्नामा वचन दिनेलाई वा वारदात भइरहेको ठाउँमा गई मार्नालाई संयोग पारिदिना निमित्त मर्ने मानिसको जिउमा हात हाली पक्री समातिदिनेलाई जन्म कैद गर्नुपर्छ” भन्ने कानूनी प्रावधान रहेको छ । पुनरावेदक प्रतिवादी पुष्कर गौतमको पुनरावेदनको मुख्य जिकिर हेर्दा, प्रस्तुत वारदातको सम्बन्धमा दुईवटा जाहेरी परेको, पहिलो जाहेरीमा निजलाई किटानी नगरिएको, प्रत्यक्षदर्शीहरू भनिएका व्यक्तिहरूको बयानको गलत व्याख्या गरिएको, मृतक भनिएको व्यक्तिको शव नै फेला नपरेको, घटनास्थल प्रकृति मुचुल्काले घटनाको प्रकृतिलाई समर्थन नगरेको, घटना अनुसन्धानले वैज्ञानिक परीक्षणको उपेक्षा गरिएको तथा सर्वोच्च अदालतबाट मिति २०६६।०९।१९ मा भएको फैसला नै त्रुटिपूर्ण रहेको हुँदा उक्त फैसलाको आधारसमेत लिई निजलाई उल्लिखित १३(४) नं.बमोजिम कसुरदार ठहर गर्न नमिल्ने भनी दाबी जिकिर गरेको देखिन्छ ।
५. प्रस्तुत मुद्दाको जाहेरी नै शंकास्पद रहेको, दुईपटक जाहेरी दिएको भन्ने पुनरावेदन जिकिर सम्बन्धमा हेर्दा, आफ्नो भाइ भुवन भन्ने उज्जनकुमार श्रेष्ठलाई टाउकोमा गोली हानी मारेको भनी यी प्रतिवादीको नामसमेत किटान गरी मृतकका दाजु गणेशकुमार श्रेष्ठले किटानी जाहेरी दिएको देखिन्छ । मूलतः जाहेरी दरखास्त अपराधको सुरू सूचनासम्म हो । यस्तो सूचना एकपटकभन्दा बढी दिएको, अभियुक्तलाई किटान गर्न नसकेको भन्ने आधारले मात्र ठुलो अन्तर पर्दैन । खासगरी, अपराधको सूचना प्राप्त भएपछि अनुसन्धानको क्रममा अपराधको बारेमा विस्तृत खोजबिन हुने, प्रमाणको सङ्कलन र विश्लेषण हुने हुन्छ । अन्य प्रमाणले जाहेरी दरखास्तको बेहोरालाई पुष्टि गरेमा मात्र जाहेरी दरखास्तले प्रामाणिक मूल्य प्राप्त गर्ने हुन्छ । जाहेरी दरखास्त आफैँले प्रमाणको रूप ग्रहण गर्दैन । यसर्थ, दोस्रो वा पूरक जाहेरी दरखास्त दिनै नहुने, यसको कुनै मूल्य नै नहुने भन्न मिल्दैन । यसलाई अन्य स्वतन्त्र प्रमाणको रोहबाट थप मूल्याङ्कन गर्नुपर्ने हुन्छ । जाहेरी दरखास्तबाट नै अभियुक्तको पहिचान र कसुर पुष्टि हुने पनि होइन ।
६. प्रस्तुत वारदातका प्रत्यक्षदर्शी भनिएका मानिसको भनाइ नै प्रमाणयोग्य नरहेको भन्ने पुनरावेदन जिकिरतर्फ दृष्टिगत गर्दा, साबिक प्रमाण ऐन, २०३१ को दफा ३८ ले आफूलाई सोधिएको प्रश्न बुझ्न नसक्ने वा त्यसको युक्तियुक्त जवाफ दिन नसक्ने भनी अदालतले ठहराएको व्यक्तिबाहेक मतियारलगायत अरू जुनसुकै व्यक्ति साक्षी हुन सक्ने व्यवस्था गरेको पाइन्छ । उल्लिखित मतियारलगायत अरू जुनसुकै व्यक्ति भन्ने कानूनी प्रावधानले सहअभियुक्तसमेत जनाउने नै अवस्था हुन्छ । अझ, उक्त ऐनमा मिति २०७७।०२।२० मा भएको दोस्रो संशोधनद्वारा उक्त दफा ३८ मा “... मतियार वा सहअभियुक्तलगायत जुनसुकै व्यक्ति साक्षी हुन सक्ने छ” भन्ने प्रावधान उल्लेख भई सहअभियुक्तसमेत साक्षी हुन सक्ने भनी स्पष्ट गरेको पाइन्छ । दोस्रो संशोधनद्वारा उक्त ऐनमा थपिएको दफा ९क ले दुई वा दुईभन्दा बढी व्यक्तिले कसुर गरेकोमा त्यस्ता व्यक्तिहरूमध्ये कुनै व्यक्तिले अदालतमा आफू साबित भई अन्य अभियुक्तलाई पोल गरेकोमा त्यस्तो पोल अन्य प्रमाणबाट पुष्टि भएमा प्रमाणमा लिन हुन्छ भनी कानूनी व्यवस्था गरेको पाइन्छ । यसरी, अन्य स्वतन्त्र प्रमाणहरूबाट सह-अभियुक्तको पोल समर्थित भएमा सह-अभियुक्तको पोलको आधारमा समेत वारदात वा कसुरको सम्बन्धमा निर्क्यौल गर्न सकिने हुन्छ ।
७. प्रमाण ऐन, २०३१ को दफा १०(१) मा घटनाबाट पीडित व्यक्ति तथा मौकाका व्यक्तिले व्यक्त गरेका कुरालाई अदालतले प्रत्यक्ष प्रमाणको रूपमा लिनुपर्ने कानूनी प्रावधान रहेको छ । प्रस्तुत मुद्दामा पीडित मृतकको उपलब्धताको स्थिति नहुँदा प्रत्यक्षदर्शीको भनाइलाई नै प्रस्तुत वारदातको सम्बन्धमा निर्णायक प्रमाणको रूपमा ग्रहण गर्नुपर्ने देखिन आउँछ । घटनाका सम्बन्धमा घटना भएको थाहा पाउने व्यक्तिले व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा १०(१)(क) र (ख) बमोजिम अदालतले प्रत्यक्ष प्रमाणको रूपमा ग्रहण गर्नुपर्ने हुन्छ । यसै सन्दर्भमा, “वारदात हुँदाका बखत चश्मदिद गवाहको रूपमा व्यक्तिले मौकामा र अदालतमा उपस्थित भई बकपत्र गर्दा आफूले प्रत्यक्ष रूपमा घटना देखी घटनाको यथार्थ बेहोरा खुलाइरहेको स्थितिमा अदालतले त्यस्ता चश्मदिद व्यक्तिको मौकाको कागज र अदालतसमक्ष गरेको बकपत्रको बेहोराको सत्यताउपर शंका गर्न नपर्ने”; “फौजदारी मुद्दामा चश्मदिद व्यक्तिहरूको भनाइ कसुर कायम गर्ने एउटा निर्णायक प्रमाण भएकाले यस्तो व्यक्तिको भनाइ वारदातको प्रकृति र अन्य प्रमाणबाट समर्थित भएको छ भने अदालतले त्यस्तो प्रत्यक्ष साक्षीको कथनलाई अनदेखा गरी न्यायिक निष्कर्ष निकाल्नु न्यायसङ्गत नहुने” (ने.का.प. २०६७, अङ्क ३, नि.नं. ८३३०) भनी न्यायिक सिद्धान्तसमेत प्रतिपादन भएको
पाइन्छ ।
८. वारदातमा यी पुनरावेदकलाई चिन्न सकिने अवस्था थियो, थिएन भनी हेर्दा, सामान्यतः मानिसले अँध्यारोबाट उज्यालोमा देख्ने हुन्छ । अँध्यारोबाट कुनै अर्को व्यक्तिले आफ्नो अनुहारमा लाइट बालिदिँदा त्यसको प्रकाशबाट सो लाइट बाल्ने व्यक्तिलाई चिन्न अवश्य पनि गाह्रो हुने हुन्छ, तथापि चिन्नै नसकिने अवस्था थियो भनी निर्क्यौल गर्न उक्त समयमा रहेको अँध्यारोको सघनता, लाइटको प्रकृति र परिणाम, लाइट बाल्ने व्यक्तिसँगको सामिप्यता, पूर्वचिनजान जस्ता कुराहरूलाई विचार गर्नुपर्ने
हुन्छ । उल्लिखित कुराहरूलाई विचारै नगरी अँध्यारोबाट कुनै अर्को व्यक्तिले आफ्नो अनुहारमा लाइट बालेको अवस्था हुँदैमा त्यसको प्रकाशबाट सो लाइट बाल्ने व्यक्तिलाई चिन्नै सकिँदैन भनी यकिन गर्नु तर्कसङ्गत हुँदैन । प्रस्तुत मुद्दाको वारदात असार महिनाको बिहानको चार बजेतिर भएको भन्ने छ । यस समयमा विस्तारै उज्यालो हुन सुरू भइसक्ने हुन्छ । फेरि, मृतक, प्रतिवादीहरू तथा वारदातमा उपस्थित मानिसहरू पहिलेदेखिकै चिनजानका व्यक्तिहरू रहेको देखिन्छ । महत्त्वपूर्ण कुरा, प्रतिवादी पुष्कर गौतमले प्रत्यक्षदर्शीको मुहारमा लाइट देखाएको नभई मृतकलाई लाइट देखाएको भन्ने छ । यस स्थितिमा वारदातमा उपस्थित प्रत्यक्षदर्शीले यी पुनरावेदक प्रतिवादीलाई चिन्न सक्ने अवस्था नै हुँदैन भन्नु तर्कसङ्गत पनि हुँदैन ।
९. मृतकको लास बरामद नभएको अवस्थातर्फ विचार गर्दा, कर्तव्य ज्यानको सबै वारदातमा लास बरामद हुनै पर्दछ भन्ने हुँदैन । ज्यान मारिसकेपछि वारदातको बारेमा अरूलाई थाहा नहोस् र कसुर गरेबापतको सजायबाट बच्न सकियोस् भनी वारदातमा संलग्न व्यक्तिले लास छिपाउन, दबाउन, नष्ट गर्न सकेसम्मको प्रयत्न तथा सोअनुसारको कार्यसमेत गर्ने गर्दछन् । यसरी, लास छिपाए, दबाए, नष्ट गरेको अवस्थामा मृतकको लास बरामद नहुनु स्वाभाविक नै हो । लास बरामद नभएको भन्ने आधारमा मात्र कसुरदारले उन्मुक्ति पाउने पनि हुँदैन । यसै सन्दर्भमा, “लास बरामद नभए पनि वारदातको प्रकृति र संकलित सबुत प्रमाणको आधारमा ज्यान मारेको पुष्टि भए कानूनबमोजिम सजाय हुने” (ने.का.प. २०७६, अङ्क ९, नि.नं. १०३५४) भनी न्यायिक सिद्धान्तसमेत प्रतिपादित भएको पाइन्छ । मृतकको मृत्यु अभियुक्तकै कर्तव्यबाट भएको कुरा देख्ने, जान्ने प्रत्यक्षदर्शी साक्षी रहेका तथा सो तथ्य पुष्टि हुने ठोस सबुद प्रमाणको विद्यमानतासमेत रहेको स्थितिमा मृतकको लास बरामद नभएकै कारणले मात्र अभियुक्तले कसुरबाट उन्मुक्ति पाउने भन्न मिल्दैन ।
१०. अदालतले फौजदारी न्याय निरूपण गर्दा फौजदारी न्यायका सिद्धान्त र पीडित न्यायका सिद्धान्त दुवैको तादाम्यता हुने गरी निर्णयमा पुग्नुपर्ने विधिशास्त्रीय मान्यता रहेको छ । मृतकको लास पनि बरामद नभएको तथा निजको मृत्युको कारणै रहस्यमय भएको स्थितिमा अभियुक्तलाई कसुरदार ठहर गर्न फौजदारी न्यायशास्त्रको दृष्टिकोणले मिल्दैन तथापि मृतकको मृत्यु निज अभियुक्तकै कारणबाट भएको भनी उजागर भइरहेको स्थितिमा अभियुक्तलाई फौजदारी कसुरबाट उन्मुक्ति दिनु पीडित न्यायशास्त्रकै विपरीत हुन जाने हुन्छ । तथ्यगत परिस्थितिले प्रत्यक्षदर्शी साक्षीको अदालतसमक्ष बकपत्रमा समेत ज्यान मार्नमा अभियुक्तको संलग्नता देखाइरहेको अवस्थामा निज अभियुक्तलाई बेकसुर भन्न मिल्दैन ।
११. प्रस्तुत मुद्दामा मृतकको लास लिखु खोलामा फालेको भन्ने तथ्य छ । अझ वारदात वर्षायाम अर्थात् आषाढ महिनामा भएको भन्ने
देखिन्छ । यस समयमा खोला नदीमा पानीको बहाव बढ्ने, बाढी आउने सम्भावना अधिक रहन्छ । जसले गर्दा खोलामा फालेको लास खोलाले बगाई लैजाने, नष्ट हुने सम्भावना पनि त्यत्तिकै रहन्छ । यस अवस्थामा लास बरामद हुन नसक्ने सम्भावना प्रबल हुने सामान्य समझले पनि देखिन्छ । सुरूमा फरार रहेका निज प्रतिवादी पुष्कर गौतमले मौन रूपमा कसुर स्वीकार गरेको अवस्था देखिन्छ । घटनास्थलमा मृतकसँग अघि पछि हिँडिरहेका थिरबहादुर खत्री र रामबहादुर श्रेष्ठले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागजमा डिलमाथिबाट यी प्रतिवादी पुष्कर गौतमले मृतकलाई लाइट देखाएका र सोहीबखत अर्का प्रतिवादी बालकृष्ण ढुंगेलले गोली प्रहार गरेको, त्यसपछि मृतकलाई घिसार्दै लगी लिखु खोलामा फ्याँकिदिएको आफूले देखेको भनी बेहोरा लेखाएको देखिन्छ । अर्का प्रत्यक्षदर्शी वेदबहादुर पौडेलले पनि यी प्रतिवादीसमेतले मृतक उज्जनकुमार श्रेष्ठलाई खेतैखेत तान्दै लिखु खोलामा फालिदिएको देखेको भनी प्रस्ट लेखाइदिएको
देखिन्छ । त्यसैगरी, अर्का प्रत्यक्षदर्शी डिल्लीबहादुर खड्काले पनि पुष्कर गौतमले मृतकलाई लाइट देखाउनासाथ बालकृष्णले गोली हानेको, त्यसपछि सबैजना भई तान्दै लिखु खोलामा लगी फालिदिएको भनी लेखाइदिएको पाइन्छ ।
१२. घटनास्थल मुचुल्काको बेहोराबाट वारदातस्थलको पहिचान भइरहेको देखिन्छ । मृतक भुवन भन्ने उज्जनकुमार श्रेष्ठलाई यी पुनरावेदक प्रतिवादी पुष्कर गौतमसमेतले वारदातस्थलबाट लिखु खोलातर्फ घिसार्दै लगेको भन्ने प्रत्यक्षदर्शी डिल्लीबहादुर खड्का, थिरबहादुर खत्री र रामकुमार श्रेष्ठको बयान बकपत्रबाट देखिएको अवस्था छ । खोलाको किनारामा मृतकको टर्चसमेत बरामद भएको भन्ने देखिन्छ । वारदात स्थलमा रगतका टाटाहरू देखिएको भन्ने मिसिलबाट देखिएको छ । मृतकको लास लिखु खोलामा फालेको भन्ने उक्त तथ्यलाई किनारामा देखिएका उक्त विवरणहरूले समेत पुष्टि गरिरहेको देखिन्छ । यस अवस्थामा, प्रतिवादी पुष्कर गौतमले वारदात घटनामा मृतकलाई मार्नाका निमित्त टर्च देखाएको र अर्का प्रतिवादी बालकृष्ण ढुंगेलले गोली हानेपछि मृतकलाई घिसार्दै लगी लिखु खोलामा फालेको पुष्टि हुन जान्छ ।
१३. साथै, प्रस्तुत मुद्दाका अर्का प्रतिवादी बालकृष्ण ढुंगेलको हकमा निजलाई अभियोग दाबीबमोजिम सर्वस्वसहित जन्म कैदको सजाय हुने ठहरी यसै अदालतबाट (नेपाल सरकार पुनरावेदक वादी तथा बालकृष्ण ढुंगेलसमेत प्रत्यर्थी प्रतिवादी भएको ०६३-CR-०३९२ को कर्तव्य ज्यान मुद्दामा) मिति २०६६।०९।१९ मा अन्तिम फैसलासमेत भइसकेको छ । घटनास्थलको प्रकृति र समग्र परिस्थितिजन्य प्रमाणहरूबाट मृतकको मृत्यु बन्दुक प्रहारबाटै भएको र मृतकलाई कर्तव्य गरी मार्नमा यी पुनरावेदक प्रतिवादी पुष्कर गौतमले टर्च देखाई कसुरमा संलग्न रहेको पुष्टि भइरहेको देखिन
आउँछ । प्रत्यक्षदर्शीले गरेको मौका र अदालतमा गरेको बयान बकपत्रलाई उक्त फैसलाले स्वीकार गरी फैसलासमेत भएको हुँदा अब सो प्रमाणहरूलाई अन्यथा रहेको भनी मान्न मिल्ने देखिँदैन । यसर्थ पनि वारदातका सहअभियुक्त र प्रत्यक्षदर्शीहरूको भनाइसमेतका प्रमाणबाट यी पुनरावेदक प्रतिवादीले मृतकको मुखमा टर्च लाइट देखाई मृतकलाई मार्न संयोग पारिदिएको तथ्य पुष्टि हुन आएको हुँदा यी पुनरावेदक प्रतिवादी पुष्कर गौतमले अभियोग दाबीबमोजिम साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं. को कसुरका कसुरदार रहेको देखिन आएकोले अभियोग दाबीबाट सफाइ पाउनुपर्छ भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
१४. अब, पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट प्रत्यर्थी प्रतिवादी केशवहरी ढुंगेलका हकमा परेको पुनरावेदनतर्फ विचार गर्दा, यी प्रत्यर्थी प्रतिवादी केशवहरी ढुंगेलउपर साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ४ तथा १७(३) नं.बमोजिमको अभियोग दाबी रहेको पाइन्छ । साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ४ नं. मा, “... लास जाँच भई नसक्दै दबाउनाका मतलबले लास जलाउने, गाड्ने, फाल्ने वा सो कुरा गर्न लगाउनेलाई अरू कानूनले हुने सजायमा सो गरेबापत छ महिना थपी कैद गर्नुपर्छ” भन्ने कानूनी प्रावधान रहेको छ । ऐ. महलको १७(३) नं. मा, “ज्यान मार्नालाई मतलबमा भने पसेको तर मुख्य भई बचन पनि नदिने, हातहतियार पनि नछोड्ने, जीउमा पनि नछुने अरू किसिमसँग मत सल्लाहमा पसेकोमा मार्ने ठाउँमा गई अरू कुरा केही नगरी हेरी रहनेलाई र अरू किसिमका मतलबीलाई ज्यान मरेको रहेछ भने छ महिनादेखि तीन वर्षसम्म कैद गर्नुपर्ने” कानूनी प्रावधान रहेको छ । यी प्रतिवादी केशवहरी ढुंगेलउपर किटानी जाहेरी परेको, प्रत्यक्षदर्शीहरूले निजलाई पोल गरेकोसमेतबाट निजलाई अभियोग दाबीबमोजिम कसुरदार ठहर गर्नुपर्ने भन्ने नै पुनरावेदक वादीको मुख्य पुनरावेदन जिकिर रहेको छ ।
१५. मूलतः जाहेरी दरखास्त अपराधको सुरू सूचनासम्म हो । यस्तो सूचनामा अभियुक्तलाई किटान गरेको वा गर्न नसकेको भन्ने आधारले मात्र ठुलो अन्तर पर्दैन । खासगरी, अपराधको सूचना प्राप्त भएपछि अनुसन्धानको क्रममा अपराधको बारेमा विस्तृत खोजबिन हुने, प्रमाणको सङ्कलन र विश्लेषण हुने हुन्छ । अन्य प्रमाणले जाहेरी दरखास्तको बेहोरालाई पुष्टि गरेमा जाहेरी दरखास्तले पनि प्रामाणिक मूल्य प्राप्त गर्ने हुन्छ । जाहेरी दरखास्त आफैँले प्रमाणको रूप ग्रहण गर्ने हुँदैन । यसर्थ, जाहेरी दरखास्तबाट नै अभियुक्तको पहिचान र कसुर पुष्टि भइहाल्छ भन्न मिल्दैन । यसलाई अन्य स्वतन्त्र प्रमाणको रोहबाट थप मूल्याङ्कन गर्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा, प्रतिवादी केशवहरी ढुंगेलसमेत संलग्न भई मृतकलाई मारी लिखु खोलामा फालेको भन्ने जाहेरी दरखास्त तथा मृतकको श्रीमती रेणुका श्रेष्ठले मौकामा कागज गर्दा लेखाएको देखिए तापनि उक्त कुरा निजहरूले प्रत्यक्ष देखेको नभई घटनाका प्रत्यक्षदर्शी भनिएका वेदबहादुरबाट थाहा पाएको भनी उल्लेख गरेको देखिन्छ । घटनाका प्रत्यक्षदर्शी भनिएका वेदबहादुर पौडेल तथा डिल्लीबहादुर खड्काले अदालतमा आई बकपत्र गर्दा यी प्रतिवादीको वारदातस्थलमा उपस्थिति रहेको भनी भन्न लेखाउन सकेकोसमेत देखिँदैन । साथै सह-अभियुक्तहरूले समेत यी प्रतिवादीलाई पोल गर्नसकेको पाइँदैन । घटना विवरण कागज गर्ने अन्य व्यक्ति तथा वस्तुस्थिति मुचुल्काका व्यक्तिले समेत मौकाको कागज तथा अदालतमा बकपत्र गर्दासमेत निजलाई पोल गर्न सकेको देखिँदैन ।
१६. प्रमाण ऐन, २०३१ को दफा २५ ले आफ्नो अभियोग दाबी पुष्टि गर्ने भार वादी पक्षमा निहित गरिदिएको पाइन्छ । अभियुक्तउपरको प्रत्येक कसुर शंकारहित तवरले पुष्टि भएमा मात्र अभियुक्त सो कसुरमा कसुरदार ठहर हुने हो । अनुमान र अपुष्ट कथनको आधारमा कसुर स्थापित हुन सक्दैन । शंका र अनुमान जतिसुकै प्रबल भए पनि यसलाई निर्णायक प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने पनि हुँदैन । यसै सन्दर्भमा, “प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम प्रतिवादीउपरको अभियोग दाबी पुष्टि गर्ने प्रमाणको भार वादी नेपाल सरकारमा निहित रहेको र सोबमोजिम अभियोग दाबीबमोजिमको ठोस एवं निश्चयात्मक प्रमाण वादी नेपाल सरकारको तर्फबाट पेस हुन नसकेको अवस्थामा फौजदारी न्याय तथा न्यायिक सिद्धान्तको रोहमा शंकाको भरमा प्रतिवादीहरूलाई कसुरदार करार गर्न नमिल्ने”;
“शंका र अनुमानको आधारमा मात्र प्रतिवादीहरूलाई कसुरदार ठहर गर्न फौजदारी न्यायको सिद्धान्तले नमिल्ने” (ने.का.प. २०७७, अङ्क ५, नि.नं. १०४९३) भनी कानूनको व्याख्या भई न्यायिक सिद्धान्तसमेत प्रतिपादन भएको पाइन्छ ।
१७. यी प्रतिवादी सुरू अनुसन्धानबाटै फरार रहेकोले अपराधमा मौन स्वीकृति रहेको भन्ने सम्बन्धमा हेर्दा, अभियुक्त फरार रहेकै आधारमा मात्र निजलाई कसुरदार ठहर गर्न मिल्दैन । प्रतिवादी केशवहरी ढुंगेलले अभियोग दाबीबमोजिमको कसुर गरेका हुन् भनी वादी पक्षबाट वस्तुनिष्ट प्रमाणबाट पुष्टि गर्न सकेको छैन । यस अवस्थामा प्रतिवादी फरार रहेकै आधारमा निजलाई कसुरदार भन्न कानूनसङ्गत हुँदैन । यसै सन्दर्भमा, “फौजदारी कसुरमा आरोपित व्यक्तिउपरको जिकिर अन्य स्वतन्त्र प्रमाणले पुष्टि गर्नुपर्नेमा प्रतिवादी फरार रहेको भन्ने आधारमा मात्र आरोपित व्यक्तिउपरको अभियोग स्थापित हुन
सक्दैन । फरार रहेकै आधारमा मात्र अभियोग पुष्टि हुने हो भने न्यायको मर्म खण्डित हुने र अनुसन्धान प्रक्रियामा नै गम्भीर असर पर्न जाने” (ने.का.प. २०७७, अङ्क १२, नि.नं. १०६०७) भनी न्यायिक सिद्धान्तसमेत प्रतिपादन भएको पाइन्छ ।
१८. प्रस्तुत वारदातमा मृतकको मृत्यु कर्तव्यबाट भएको स्थापित भई प्रतिवादी बालकृष्ण ढुंगेल कसुरदार ठहर भई यस अदालतबाट मिति २०६६।०९।१९ मा भएको फैसला अन्तिम भई बसेको पाइन्छ । अर्का प्रतिवादी पुष्कर गौतमसमेत पनि उक्त वारदातमा कसुरदार ठहर भइसकेको छ । तथापि सह-प्रतिवादी कसुरदार ठहर भएकै कारण यी प्रतिवादी पनि कसुरदार रहेको भनी अनुमान गर्न मिल्ने हुँदैन । एक जनाभन्दा बढी अभियुक्तको संलग्नता रहेको आपराधिक कार्यमा गोश्वारा रूपमा सबै अभियुक्तलाई कसुरदार ठहर हुने वा सफाइ प्रदान हुने भन्ने हुँदैन । कुन अभियुक्तले के कस्तो भूमिका खेलेको छ, प्रत्येक अभियुक्तले खेलेको भूमिकाको गाम्भीर्यसमेतलाई विचार गरी निजको कसुर यकिन गरी सजाय निर्धारण गर्ने वा बेकसुर देखिए सफाइ प्रदान गरिनुपर्दछ । सबै अभियुक्तहरू समान रूपले कसुरदार हुने वा सबै अभियुक्तले सफाइ पाउने भन्न तर्कसङ्गत पनि हुँदैन । यी प्रत्यर्थी प्रतिवादी कसुरदार ठहर हुन निजउपरको कसुर पनि प्रमाणबाट पुष्टि हुनुपर्ने
हुन्छ । यसै सन्दर्भमा, “कुनै वारदातमा एक जनाभन्दा बढी व्यक्ति सामूहिक रूपमा संलग्न रहेको अवस्थामा हरेक व्यक्तिको आपराधिक कार्यको विश्लेषण गरी हरेकको आपराधिक दायित्व निर्क्यौल गर्नुपर्ने हुन्छ । सबै व्यक्ति समान रूपले कसुरदार हुन् भन्ने अवधारणा न्यायिक हुन नसक्ने” (ने.का.प. २०६९, अङ्क १, नि.नं. ८७५८); “फौजदरी कसुरमा अभियोग दाबी प्रमाणित गर्दा प्रतिव्यक्ति प्रतिप्रमाणबाट पुष्टि हुनुपर्ने” (ने.का.प. २०७६, अङ्क २, नि.नं. १०१९७) भन्ने न्यायिक सिद्धान्तसमेत प्रतिपादन भएको पाइन्छ ।
१९. यसरी, मिसिल संलग्न गरेका सम्पूर्ण प्रमाण कागजबाट प्रतिवादी केशवहरी ढुंगेल कसुरदार हुन् कि भन्नेसम्मको शंका र अनुमानको आधार मात्र खडा भई निज प्रतिवादी कर्तव्य ज्यानसम्बन्धी कसुरमा कसुरदार नै हुन् भनी यकिन गर्न सकिने प्रकृतिका कुनै पनि प्रमाण मिसिल संलग्न देखिँदैन । प्रमाण पुर्याउने भार अभियोक्तामा रहने, निर्दोषिताको अनुमान अभियुक्तको पक्षमा जाने तथा शंकाको सुविधा अभियुक्तले पाउने जस्ता फौजदारी न्यायका सर्वमान्य सिद्धान्तबमोजिम शंका जतिसुकै बलियो भए पनि त्यसले निर्णायक प्रमाणको स्थान लिन नसक्ने हुँदा प्रतिवादीले कसुर गरे होलान् भन्ने शंकात्मक अवस्थाको आधारमा प्रतिवादीलाई कसुरदार ठहर गर्न मिल्ने हुँदैन ।
२०. कसैलाई पनि फौजदारी अभियोगमा कसुरदार ठहर गर्न निजउपर अभियोग स्थापित हुने यथेष्ठ प्रमाणको विद्यमानता हुनुपर्ने हुन्छ । केबल अनुमानका आधारमा कसैउपर अभियोग स्थापित हुन सक्दैन । शंकारहित तवरले अभियोग पुष्टि भएमा मात्र अभियुक्तलाई कसुरदार ठहर गर्न सकिने फौजदारी न्यायको मूल मर्म नै हो । जबसम्म अभियुक्त निर्दोष त छैनन् भन्ने कुनै पनि शंका कायम रहिरहन्छ तबसम्म फौजदारी कसुरमा अभियुक्तलाई कसुरदार ठहर गर्नु न्यायसम्मत हुँदैन । अर्थात् शंका जतिसुकै प्रबल रहे तापनि यसले निर्णायक प्रमाणको स्वरूप ग्रहण गर्न सक्दैन । प्रमाणको विश्लेषण गर्दा अभियुक्त एक दृष्टिकोणबाट दोषी देखिए तापनि अर्को दृष्टिकोणबाट निर्दोष देखिन्छन् भने त्यस अवस्थामा अभियुक्तले सफाइ पाउने भनी भारतीय सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त (जसलाई The Golden Thread Rule पनि भनिन्छ) फौजदारी न्याय प्रणालीमा विख्यात छ । तसर्थ, भरपर्दो एवं तथ्ययुक्त सबुद प्रमाणको अभावमा कर्तव्य ज्यानजस्तो गम्भीर फौजदारी कसुरमा कसैलाई पनि कसुरदार ठहर गर्न नमिल्ने हुँदा प्रत्यर्थी प्रतिवादी केशवहरी ढुंगेलउपरको अभियोग शंकारहित तवरले पुष्टि हुन नसकेको यस अवस्थामा निजलाई आरोपित कसुरमा कसुरदार कायम गर्न मिल्ने देखिन आएन ।
२१. अतः उल्लिखित आधार कारणबाट, यी पुनरावेदक प्रतिवादी पुष्कर गौतमले प्रस्तुत वारदातमा मृतक भुवन भन्ने उज्जनकुमार श्रेष्ठलाई मार्नालाई संयोग पारिदिना निमित्त मृतकलाई टर्च देखाएको र अर्का प्रतिवादी बालकृष्ण ढुंगेलले मृतकलाई गोली हानेपछि यी प्रतिवादी पुष्कर गौतमसमेत भई मृतकलाई घिसार्दै लगी खोलामा फालेको प्रमाणबाट पुष्टि भएको देखिँदा, निज प्रतिवादी पुष्कर गौतमलाई अभियोग दाबीबमोजिम साबिक मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(४) नं.बमोजिम जन्म कैदको सजाय हुने ठहर गरेको र प्रत्यर्थी प्रतिवादी केशवहरी ढुंगेलले अभियोग दाबीबाट सफाइ पाउने ठहर गरेको सुरू ओखलढुङ्गा जिल्ला अदालतको मिति २०७९।१२।०२ को फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत राजविराजको मिति २०७१।०५।१८ र मिति २०७२।०३।१८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । अभियोग दाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदक प्रतिवादी पुष्कर गौतमको र प्रतिवादी केशवहरी ढुंगेललाई पनि अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी दायरीको लगत कट्टा गर्नु र मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. विश्वम्भरप्रसाद श्रेष्ठ
इजलास अधिकृत : इन्द्रबहादुर कठायत
इति संवत् २०७९ साल माघ ९ गते रोज २ शुभम् ।