शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १११०४ - अंश दर्ता

भाग: ६५ साल: २०८० महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल

फैसला मिति : २०७९।६।३१

०७२-CI-०८९०

 

मुद्दाः- अंश दर्ता

 

पुनरावेदक/प्रतिवादी : दिनानाथ दाहालको पत्नी जिल्ला सुनसरी इटहरी उपम.न.पा. वडा नं. ४ बस्ने अप्सरा भन्ने धनमाया दाहालसमेत

विरूद्ध

प्रत्यर्थी/वादी : जिल्ला सुनसरी इटहरी उपम.न.पा. वडा नं. ४ बस्ने रेखा नेपाल (दाहाल)

 

एक विवाहिता नारीलाई निजको सहमति मन्जुरी नलिई निजले दिएको अंश मुद्दालाई प्रभावित पार्ने गरी पतिले सगोलको सम्पत्तिबाट कानूनबमोजिम नरम करमको अंश नलिई अन्य आंशियारलाई छोडी नाम मात्रको अंश लिएर बन्डापत्रको कागज गर्नु न्यायसङ्गत मान्न नसकिने । कसैले आफ्नो हक परित्याग गर्दैमा अन्य अंशियारको अंश हक पनि गुमेको अर्थ गर्न नमिल्ने ।

व्यक्तिको कानूनी हकलाई निष्क्रिय वा सङ्कुचित गरी हक अधिकारबाट वञ्चित गराउनका लागि भएको बन्डापत्रलाई कानूनी मान्यता दिनु उपयुक्त नदेखिने ।

(प्रकरण नं. ६)

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री राजु कटुवाल

प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री मातृका निरौला र अधिवक्ता श्री टंकहरी दाहाल

अवलम्बित नजिर : 

सम्बद्ध कानून : 

 

सुरू तहमा फैसला गर्नेः

मा.जि.न्या.श्री मेदिनीप्रसाद पौडेल

सुनसरी जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

मा.न्या.श्री उदय प्रकाश चापागाई

मा.न्या.श्री शान्तिसिंह थापा

पुनरावेदन अदालत विराटनगर

 

फैसला

न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छः-

तथ्य खण्ड

विपक्षी दिनानाथ ससुरा, धनमाया दाहाल सासू, गोपाल दाहाल पति, अर्जुन दाहाल देवर र सुनिता दाहाल नन्द हुन् । विपक्षी गोपाल दाहालसँग २०६८ सालमा विवाह भई दाम्पत्य जीवन व्यतीत गर्दै आएकीमा दाइजो पेवा नल्याएको निहुँ गरी पति, सासू तथा ससुरासमेतले गालीगलौज गर्ने तथा पतिले कुटपिट गरी मिति २०६९।१।१० गते घरबाट निकाला गरेका र अंश माग गर्दा सो दिनसमेत इन्कार गर्नुभएको हुँदा हामी मूल ५ अंशियार भएकाले सम्पूर्ण सम्पत्तिलाई ५ भाग लगाई सोको हुने १ भाग पति गोपाल दाहालको अंश भागलाई २ भाग लगाई सो २ भागको १ भाग अंश विपक्षीहरूबाट दिलाई चलनसमेत पाउँ भन्नेसमेत बेहोराको फिराद माग दाबी रहेको ।

प्रतिवादीमध्येकी सुनिता दाहालले २०६९।८।५ मा विवाह भएकोले मूल अंशियार ४ कायम गरी फिराद दाबीबमोजिम अंश पाउँ भन्ने वादीको निवेदन पत्र मिसिल सामेल रहेको । 

विपक्षी वादीलाई हाम्रो आफ्नो इज्जत आमदअनुसार खान लाउन दिइरहेको र कुटपिट गरी घरबाट निकाला गरेको नहुँदा हाल वादीलाई अंश दिइरहनुपर्ने होइन । विपक्षीले हाम्रो घरमा भएको धनमाल, गरगहना, सुनचाँदी सबै चल सम्पत्ति लिई गइसकेकी छिन् । वादी दाबी झुठ्ठा हो भन्नेसमेत बेहोराको प्रतिवादीहरूको संयुक्त प्रतिउत्तर जिकिर रहेको ।

सुरू अदालतबाट भएको आदेशानुसार वादी प्रतिवादीका साक्षीले गरेको बकपत्र र वादी प्रतिवादीले दाखिला गरेको तायदाती फाँटवारी मिसिल संलग्न रहेको ।

सम्पूर्ण सम्पत्तिको ५ भागको १ भागलाई २ भाग गरी सोको १ भाग अंश पाउँ, अशियारमध्येकी सुनिता दाहालको विवाह भएकोले ४ अंशियार बनाई सोबमोजिम अंश पाउँ भन्ने फिराद दाबी भएकोमा तायदाती फाँटवारी दाखेल गर्ने क्रममा प्रतिवादीहरूबिच २०६८।१०।१२ मा बन्डापत्र पारित भएको भन्ने खुल्न आएको हुँदा यी वादीले वादीका पति गोपाल दाहालका भागमा पर्ने सम्पत्तिबाट अंश पाउने देखिँदा र प्रतिवादीहरूका भागमा सरदर बराबर अंशबन्डा भएको देखिँदा प्रतिवादी गोपाल दाहालका भागमा पर्न गएको सम्पत्तिबाट वादीले २ भागको १ भाग अंश पाउने तथा चलनसमेत पाउने ठहर्छ भन्ने सुनसरी जिल्ला अदालतको फैसला ।

प्रत्यर्थीहरूबिच मिति २०६८।१०।१२ मा भएको अंशबन्डा असमान देखिन्छ । मिति २०६८।१०।१२ अघि सासू धनमाया दाहालको नामदर्ताको जिल्ला सुनसरी खनार गा.वि.स. वडा नं. ३ ख कि.नं. २१९, २२१ का जग्गा निज सासू धनमाया दाहालले छोरी सितादेवी भट्टराईलाई बकसपत्र गरिदिनुभएको र निज सीता भट्टराईले उक्त जग्गामध्ये कि.नं. २१९ को जग्गा रणबहादुर लिम्बुलाई राजीनामा बेहोराले हक हस्तान्तरण गरी अंश सार्ने लुकाउने कार्य गरेको प्रस्ट भइरहेकोमा सोतर्फ विवेचना भएको छैन । प्रत्यर्थीहरूले जग्गाहरू लुकाई छिपाई मेरो अंशहकमा आघात पारेको हुँदा सम्पूर्ण सम्पत्तिलाई ४ भाग लगाई पति गोपाल दाहालको भागमा पर्न आउने १ भागबाट २ भागको अंश दिलाइपाउँ भन्ने वादी रेखा नेपाल दाहालले पुनरावेदन अदालत विराटनगरमा पेस गरेको पुनरावेदन पत्र ।

यसमा मिति २०६८।१०।१२ को बन्डापत्रमा वादीका पति गोपालप्रसाद दाहालको अंश भागमा परेको नगद रू. ३,५०,०००।- को सम्बन्धमा वादीको दाबी पुग्ने नपुग्ने सम्बन्धमा केही नबोली गरिएको सुनसरी जिल्ला अदालतको मिति २०७०।१०।६ को फैसला इन्साफको रोहमा फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु भन्ने बेहोराको पुनरावेदन अदालत विराटनगरबाट मिति २०७१।५।१८ मा भएको आदेश ।

वादीले मिति २०६८।१०।१२ को बन्डापत्रबमोजिम निजका पति प्रतिवादी गोपाल दाहालका भागमा पर्न गएको सम्पत्तिबाट मात्र २ भागको १ भाग, अंश पाउने ठहर्‍याई भएको सुरू फैसला मिलेको नदेखिँदा केही उल्टी भई आजैको मितिमा यसै लगाउको जालसाज मुद्दामा वादी दाबीबमोजिम उक्त मिति २०६८।१०।१२ को बन्डापत्र लिखतसमेतका लिखत जालसाजी ठहरी फैसला भएको हुँदा तायदाती फाँटवारीसाथ पेस उक्त बन्डापत्र लिखतको जग्गासमेत सम्पूर्ण जायजेथा चल अचल सम्पत्तिसमेतबाट नरम गरम मिलाई वादीले ४ भागको १ भागबाट २ भागको १ भाग अंश छुट्याई चलनसमेत पाउने ठहर्छ भन्ने बेहोराको पुनरावेदन अदालत विराटनगरबाट मिति २०७२।१।८ मा भएको फैसला ।

विपक्षीको विवाह २०६८।३।११ गते भएको हो । विवाहपश्चात् आफ्नो पतिका घरमा बस्नुपर्ने हाम्रो हिन्दू परम्परा छ । हाम्रो परम्पराअनुसार पतिको घरमा तथा माइतीघरमा समेत नबसी अन्यत्र रहे बसेकी र विवाह भएको ८ महिनापछि अर्थात् हामीले मिति २०६८।१०।१२ गते समानुपातिक तरिकाले हामी अंशियारका नाममा रहेका जग्गालाई नरम गरम मिलाई अंशबन्डा गरी पारित गराई लिएका हौं । हामीले बन्डा गर्दा विपक्षी घर तथा माइतीमा नभएको कारण साक्षीमा राख्न नसकिएको हो । त्यसैले जालसाज मुद्दाको आधार लिई सुरू फैसला उल्टी गरी मिति २०७२।१।८ गते पुनरावेदन अदालत विराटनगरबाट भएको फैसला बदर पाउँ न्याय पाउँ भन्ने बेहोराको पुनरावेदक प्रतिवादी दिनानाथ दाहालसमेतको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।

यसमा यसै लगाउको ०७४-CR-०४५६ को जालसाज मुद्दामा हालैको बकसपत्रको लिखत, राजीनामा लिखत र बन्डापत्र लिखतबाट जग्गाको हक हस्तान्तरण तथा लिनुदिनु गरेको विषयमा विभिन्न व्यक्तिहरूउपर एउटै फिरादपत्रमा लेखी ल्याएको विषयतर्फ ध्यान नदिई गरिएको साबिक पुनरावेदन अदालत विराटनगरको ०७०-CP-०१२९ को जालसाज मुद्दाको मिति २०७२।१।८ गतेको फैसला मुलुकी ऐन, अ.बं.७२ नं. को व्याख्यामा त्रुटि देखिई फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १४० को उपदफा (३), (४) को प्रयोजनार्थ प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने आजै आदेश भएको र प्रस्तुत मुद्दा उक्त मुद्दासँग अन्तरप्रभावी देखिँदा यस मुद्दामा पनि मुलुकी ऐन, अ.बं. २०२ नं. तथा मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा २१३ को उपदफा (३) बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने बेहोराको यस अदालतबाट मिति २०७६।२।३ मा भएको 

आदेश ।

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन पत्रसहितको मिसिल संलग्न सम्पूर्ण कागजातहरूको अध्ययन गरियो ।

पुनरावेदक प्रतिवादी दिनानाथ दाहालको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री राजु कटुवालले हाम्रो पक्षले बन्डा गर्दा विपक्षी घर तथा माइतीमा नभएको कारण साक्षीमा राख्न नसकिएको हो । जालसाज मुद्दाको आधार लिई गरिएको फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदन अदालत विराटनगरबाट भएको फैसला उल्टी गरी सुरू जिल्ला अदालतको फैसला सदर होस्  भनी बहस गर्नुभयो ।

प्रत्यर्थी वादी रेखा नेपाल दाहालको तर्फबाट विद्वान् वरिष्ठ अधिवक्ता श्री मातृका निरौला र अधिवक्ता श्री टंकहरी दाहालले मिति २०६८।१०।१२ को बन्डापत्र लिखत जालसाजी भएकोले उक्त बन्डापत्र लिखतको जग्गासमेतमा उल्लेख भएका सम्पूर्ण जायजेथा चल अचल सम्पत्तिसमेतबाट नरम गरम मिलाई मेरो पक्षलाई ४ भागको १ भागबाट २ भागको १ भाग अंश लिन पाउने ठहर गरेको पुनरावेदन अदालत विराटनगरबाट भएको फैसला सदर होस् भनी बहस गर्नुभयो ।

उपर्युक्त तथ्य र बहस जिकिर भएको प्रस्तुत मुद्दामा प्रतिवादी दिनानाथ दाहालसमेतको तर्फबाट पुनरावेदन परेको अवस्थामा तत्कालीन पुनरावेदन अदालत विराटनगरबाट मिति २०७२।१।८ मा भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, विपक्षी दिनानाथ ससुरा, अप्सरा सासू, गोपाल दाहाल पति, अर्जुन दाहाल देवर र सुनिता दाहाल नन्द हुन् । विपक्षी गोपाल दाहालसँग २०६८ सालमा विवाह भई दाम्पत्य जीवन व्यतीत गर्दै आएकीमा दाइजो पेवा नल्याएको निहुँ गरी पति, सासू तथा ससुरासमेतले गालीगलौज गर्ने तथा पतिले कुटपिट गरी मिति २०६९।१।१० गते घरबाट निकाला गरेका र अंश माग गर्दा सो दिनसमेत इन्कार गर्नुभएको हुँदा हामी मूल ५ अंशियार भएकोमा अंशियारमध्येकी सुनिता दाहालको विवाह भएकोले ४ अंशियार बनाई सोबमोजिम अंश पाउँ भन्ने फिराद दाबी रहेको पाइछ । तायदाती फाँटवारी दाखिल गर्ने क्रममा प्रतिवादीहरूबिच मिति २०६८।१०।१२ मा बन्डापत्र पारित भएको भन्ने खुल्न आएको हुँदा यी वादीले पति गोपाल दाहालका भागमा पर्ने सम्पत्तिबाट अंश पाउने देखिँदा र प्रतिवादीहरूका भागमा सरदर बराबर अंशबन्डा भएको देखिँदा प्रतिवादी गोपाल दाहालका भागमा पर्न गएको सम्पत्तिबाट वादीले २ भागको एक खण्ड अंश पाउने तथा चलनसमेत पाउने ठहर्छ भनी फैसला भएको देखिन्छ । उक्त फैसलाउपर प्रत्यर्थीहरूले जग्गाहरू लुकाइ छिपाइ मेरो अंश हकमा आघात पारेको हुँदा सम्पूर्ण सम्पत्तिलाई ४ भाग लगाई पति गोपाल दाहालको भागमा पर्न आउने १ भागबाट २ भागको अंश दिलाइपाउँ भनी वादी रेखा नेपाल दाहालको तर्फबाट पुनरावेदन अदालत विराटनगरमा पुनरावेदन परेकोमा  मिति २०६८।१०।१२ को बन्डापत्र लिखत जालसाजी ठहरेको हुँदा तायदाती फाँटवारीसाथ पेस बन्डापत्र लिखतको जग्गासमेत सम्पूर्ण जायजेथा चल अचल सम्पत्तिसमेतबाट नरम गरम मिलाई वादीले ४ भागको १ भागबाट २ भागको १ भाग अंश छुट्याई चलनसमेत पाउने ठहर्छ भनी तत्कालीन पुनरावेदन अदालत विराटनगरबाट मिति २०७२।१।८ फैसला भएको देखिन्छ । उक्त फैसलाउपर प्रतिवादी र दिनानाथ दाहालसमेतको तर्फबाट यस अदालतसमक्ष पुनरावेदन परी यस इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको पाइयो ।

३. पुनरावेदक प्रतिवादी दिनानाथ दाहालसमेतको पुनरावेदन हेर्दा निज विपक्षी रेखा दाहाल नेपाल पतिको घर तथा माइतीमा समेत नबसी अन्यत्र रहे बसेकी हुँदा हामीले मिति २०६८।१०।१२ गते समानुपातिक तरिकाले हामी अंशियारका नाममा रहेका जग्गालाई नरम गरम मिलाई अंशबन्डा गरी पारित गराई लिएका हौं । हामीले बन्डा गर्दा विपक्षी घर तथा माइतीमा नभएको कारण साक्षीमा राख्न नसकिएको हुँदा पुनरावेदन अदालत विराटनगरबाट भएको फैसला बदर गरी न्याय पाउँ भन्ने मुख्य पुनरावेदन जिकिर रहेको देखिन्छ ।    

४. सर्वप्रथम वादी प्रतिवादीबिचको नाता सम्बन्ध र पुस्तावारी हेर्दा मूल पुरूष दिनानाथ दाहाल र निजको श्रीमती धनमाया दाहाल देखिन्छ । निजहरूका तर्फबाट दुई छोराहरू गोपाल दाहाल र अर्जुन दाहाल तथा दुई छोरीहरू सितादेवी भट्टराई र सुनिता दाहाल  रहेको देखिन्छ । प्रत्यर्थी वादी रेखा नेपाल दाहाल र प्रतिवादी गोपाल दाहालबिच मिति २०६८ आषाढ ११ गते विवाह भएको देखिन्छ । प्रतिवादीमध्येकी सुनिता दाहालको २०६९।८।५ मा अर्थात् प्रस्तुत अंशदर्ता मुद्दा कारबाहीयुक्त रहेकै अवस्थामा विवाह भएको भन्ने मिसिल अध्ययनबाट देखिन्छ । पुनरावेदकमध्येका प्रतिवादी गोपाल दाहाल र प्रत्यर्थी वादी रेखा दाहाल नेपाल पति पत्नी भएकोमा विवाद देखिएन । 

५. अंशबन्डासम्बन्धी कानूनी व्यवस्था हेर्दा मुलुकी ऐन, अंशबन्डाको १ नं. मा “अंशबन्डा गर्दा बाबु, आमा, लोग्ने, स्वास्नी, छोरा, छोरीहरूको जियजियैको अंश गर्नुपर्छ र सोहीको २ नं. ले अंशबन्डा गर्दा अंश पाउने सबैको बराबर अंश गर्नुपर्छ ।” भन्ने कानूनी व्यवस्था देखिन्छ । अंशको हक सगोलका अंशियार भएका नाताले स्वत: प्राप्त गर्ने हक हुँदा अंश जस्तो नैसर्गिक कानूनी हकलाई कुनै प्रक्रियाबाट निष्क्रिय वा सङ्कुचित पार्ने गरी भएका कुनै लिखतले कानूनी मान्यता प्राप्त गर्न सक्दैन । यस सम्बन्धमा ने.का.प. २०६८, अङ्क ९, नि.नं.८६९० मा “अंशियारको बराबर अंश हक लाग्ने कुरामा कुनै द्विविधा छैन । महिलाले प्राप्त गर्ने अंश हकको स्रोत भनेको वैवाहिक नाताले पतितर्फको पैतृक सम्पत्ति र अविवाहित अवस्थामा जन्मको नाताबाट बाबुतर्फको पैतृक सम्पत्तिबाट अंश प्राप्त गर्ने कानूनबमोजिमका अंशका हकदार हुन् । यिनीहरूले कसैको कृपा वा दया मायाबाट अंश पाउने नभई कानूनी प्रावधानबाट नै अंश पाउने हकदार भएकाले महिला तथा बालबालिकालाई नाम मात्रको अंश दिने कलुषित भावना तथा उद्देश्यले अभिप्रेरित भई गरिएका त्यस्ता लिखतलाई आधार मानी नाम मात्रको अंश दिने किसिमले निचोडमा पुग्नु भनेको न्यायको मार्ग अवरोध गर्नु समान हुने” भन्ने सिद्धान्तसमेत प्रतिपादित भएको देखिन्छ ।

६. एक विवाहिता नारीलाई निजको सहमति मन्जुरी नलिई निजले दिएको अंश मुद्दालाई प्रभावित पार्ने गरी पतिले सगोलको सम्पत्तिबाट कानूनबमोजिम नरम करमको अंश नलिई अन्य आंशियारलाई छोडी नाम मात्रको अंश लिएर बन्डा पत्रको कागज गर्नु न्यायसङ्गत मान्न सकिँदैन । कसैले आफ्नो हक परित्याग गर्दैमा अन्य अंशियारको अंश हक पनि गुमेको अर्थ गर्न मिल्दैन । वादीले आफ्नो पतिबाट पाउने सम्पत्तिलाई अस्वाभाविक रूपमा कम गरी भएको बन्डापत्र कानूनसङ्गत एवम् न्यायोचित भएको देखिँदैन । व्यक्तिको नैसर्गिक हकलाई निष्क्रिय वा सङ्कुचित गरी हक अधिकारबाट वञ्चित गराउनका लागि भएको बन्डापत्रलाई कानूनी मान्यता दिनु उपयुक्तसमेत देखिँदैन । 

७. साथै यिनै वादी प्रतिवादी भई चलेको यसै लगाउको ०७२-CR-०८९५ को जालसाजी मुद्दामा मिति २०६८।६।६ को र.नं. २९४८ (क) को बकसपत्रको लिखत, मिति २०६८।९।२९ को र.नं. ७५८८ (ख) को राजीनामा लिखत र मिति २०६८।१०।१२ को र.नं. ८३७७ (ख) को बन्डापत्रसमेतका लिखत जालसाजी ठहरी आज यसै इजलासबाट फैसला भएको छ । सो मुद्दामा लिइएका आधार कारणहरूसमेतबाट प्रस्तुत मुद्दामा समेत सम्पूर्ण जायजेथा चल अचल सम्पत्तिसमेतबाट नरम गरम मिलाई प्रत्यर्थी वादी रेखा नेपाल दाहालले ४ भागको १ भागबाट २ भागको १ भाग अंश छुट्याई चलनसमेत पाउने ठहर्छ भनी पुनरावेदन अदालत विराटनगरबाट मिति २०७२।१।८ मा भएको फैसला मिलेकै देखिँदा अन्यथा परिवर्तन गरिरहनु परेन ।

८. अतः माथि विवेचित आधार र कारणबाट सुरू सुनसरी जिल्ला अदालतबाट मिति २०७०।१०।०६ मा भएको फैसला उल्टी गर्ने गरी तत्कालीन पुनरावेदन अदालत विराटनगरबाट मिति २०७२।१।८ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. हरिप्रसाद फुयाल

 

इजलास अधिकृत:- लिलाधर सुवेदी

इति संवत् २०७९ साल असोज ३१ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु