निर्णय नं. १११०७ - निर्णय बदर, हक कायम

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
माननीय न्यायाधीश श्री कुमार रेग्मी
फैसला मिति: २०७९।५।१४
०७५-CI-०५४९
मुद्दाः निर्णय बदर, हक कायम
पुनरावेदक/प्रतिवादी : ललितपुर जिल्ला, साबिक लुभु गा.वि.स. वडा नं. ९ हाल महालक्ष्मी नगरपालिका वडा नं. ८ बस्ने हर्षलाल भन्ने हरिलाल महर्जनको नाति कुमाचा भन्ने कुमारलाल महर्जनको छोरा हरिशरण महर्जन
विरूद्ध
प्रत्यर्थी/वादी : काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ३२ डिल्लीबजार बस्ने तेजमोहनको छोरा यादव मोहन पौडेल
मोहीले आफूले कमाएको जग्गामा घर निर्माण गरी भोगचलन गरेको कुराबाट नै जग्गाउपरको हक स्वामित्व स्थापित
नहुने ।
आपसमा अंश मुद्दा गरी सो मुद्दाबाट अंशबन्डा लगाउने ठहर भएको कारणबाट नै वास्तविक जग्गाधनीको हक स्वामित्व समाप्त नहुने ।
(प्रकरण नं. २)
पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री हरिहर दाहाल, श्री रक्षबहादुर क्षेत्री तथा विद्वान् अधिवक्ताहरू श्री हरिशरण महर्जन, श्री फणिराज सिलवाल र डा. श्री नरेशकुमार महर्जन
प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने:
मा. जि. न्या. श्री खिलनाथ रेग्मी
ललितपुर जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:
मा. न्या. श्री मोहनबहादुर कार्की
मा. न्या. श्री मनोजकुमार शर्मा
पुनरावेदन अदालत पाटन
फैसला
न्या. ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) बमोजिम यस अदालतमा पुनरावेदन गर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
तथ्यगत बेहोरा
ल.पु.जि. लुभु गा.वि.स. वडा नं. ९ख कि.नं. ३ को ३-७-०-० जग्गा फिरादीका पिता बुकुन उपाध्याय भन्ने मोहन उपाध्यायको नामको जग्गा हो । उक्त कि.नं. ३ को जग्गाको फिल्डबुकमा किसानको बेहोरामा विपक्षीले का.ई. डिल्लीबजार बस्ने बुकुन उपाध्यायको हो सालको मकै दुई मुरी १० पाथी कुत बुझाई खाई आएको छु भनेका छन् । ७ नं. फाँटवारीमा ललितपुर लुभु सहरभित्रको घरहरू भत्की पातालबारीमा कच्ची घर भयाको लुभु गाहेब भन्ने वारी अन्जाजी २ रोपनी भएको हुँदा कतै दर्ता नभएको भन्ने कुरा स्पष्ट उल्लेख भएबाट यो कि.नं. ३ को जग्गा हाम्रो हकभोग अधिकारको स्ववासी रैकर जग्गा हो । उक्त जग्गा बिर्ता जग्गा होइन । विपक्षीले बिर्ता भनी कुनै प्रमाण पनि पेस गर्न सकेका छैनन् । उक्त जग्गा १८८१ साल पौष सुदी २ रोज ४ को लालमोहरबाट सहर बस्ती बसाइएको इँटा झोला टोलको हाम्रो हक स्वामित्वको घरबारी जग्गा हो । हामीले अन्य २२ कित्ता जग्गासँगै दा.खा.नामसारी गर्न निवेदन दिएको, यो कि.नं. ३ को जग्गामा गोरखापत्रमा सूचना प्रकाशित हुँदा विपक्षी वादीको झुठ्ठा दाबीको आधारमा मात्र हामीहरूको नाउँमा दर्ता नभएको हो । उक्त जग्गा वि.सं. १९८८।५।१७ मा लिलाम सकारी हक पुर्जी प्राप्त गरी म यादव मोहनका पिताको नाउँमा हक हुन आएको र त्यसको अहिलेको हकदार वादी भएकोले उक्त रैकर स्ववासी जग्गामा फिरादीको हक कायम गरी दर्ता गरिपाउँ भन्नेसमेत बेहोराको वादी यादव मोहन पौडेलको मिति २०६८।२।१ को फिरादपत्र ।
हामी प्रतिवादीका पिता तथा बाजे हर्षलाल महर्जनको नामको ल.पु.जि. लुभु गा.वि.स. वडा नं. ९ख कि.नं. ३ को ३-७-०-० जग्गामा साबिकदेखि घर, गोठ, तवेला, इनार, पर्खाल बनाई घर कम्पाउन्ड लगाई हकभोग गरी बसिआएको कुरा २०२१ सालमै नाप नक्सा हुँदा नक्सामा घर भएकोबाट पुष्टि भएको छ । उक्त घर जग्गाको फिल्डबुक तयार हुँदा भुलले बुकुन उपाध्याय भनी लेखाएको कारण सो घर जग्गामा बिर्ता उन्मूलन ऐन, २०१६ को दफा ७ बमोजिम बिर्ता जग्गा दर्ता गरिपाउँ भनी निवेदन दिई कारबाही गर्दा फिल्डबुकको कैफियत महलमा उल्लेख भएको व्यक्तिको नाममा म्यादसमेत जारी गरी गोरखापत्रमा सार्वजनिक सूचनासमेत प्रकाशित गर्दा पनि यी वादी दाबी गर्न नआएका हुन् । विपक्षीले आफ्ना बाबु तेजमोहन हुन भनी फिरादमा नै उल्लेख गरेबाट पनि वादीका पिता बुकुन उपाध्याय होइनन् भन्ने कुरा प्रमाणित छ । सो कुरा विपक्षीले आफ्नो फिरादमा उल्लेख गरेका विभिन्न विवादित कुराहरू जस्तै कतै साहिला बा रूद्रमोहनको लिलाम सकारेको भनेका, कतै उक्त जग्गा रूद्रमोहनको नै भएको उल्लेख गरेका त कतै बुकुन उपाध्याय भन्ने तेजमोहन उपाध्यायको हो भनी दाबी गरेको
छ । बुकुन उपाध्याय वादीका कोही नाताका मान्छे नै
होइनन् । आफ्ना नाताका मान्छे भए म्याद सूचनामा हाजिर हुन आउने नै थिए । उनाउ बेसरोकारवाला वादीले वि.सं. १९८८।५।१७ मा जिजुबाजेको लिलाम हुँदा सकार गरेको भनी भनिएको खेस्रा कागजको फोटोकपी लिई, पेस गरी मालपोत कार्यालय ललितपुरसमेतलाई झुक्याई गुमराहमा राखी हामी प्रतिवादीलाई समेत झुक्याउने र दु:ख दिने गरी प्रमाण नै नभएको, नलाग्ने खेस्रा कागजको फोटोकपी राखी उक्त जग्गाको क्षेत्रफल, चार किल्ला, खल, जग्गासमेत नभिडेको नमिलेको कुरा बिर्ताको लगत राखी हाजिर भई दाबी लिएका
हुन् । विपक्षीलाई मालपोत कार्यालय ललितपुरबाट मिति २०४८।५।३ गते हामी प्रतिवादीका पिता हर्षलाल महर्जनका नाममा बिर्ता उन्मूलन ऐन, २०१६ को दफा ७ बमोजिम अस्थायी दर्ता हुने ठहर्छ भनी निर्णय भई सो निर्णयअनुसार जग्गा दर्ता स्रेस्तासमेत बनिसकेको र फिल्डबुकमा समेत जनाइसकेको अवस्थामा वादीको एकतर्फी रूपमा पुनरावेदन परी हामीलाई कुनै जानकारी नदिएको मुद्दामा अदालतबाट मिति २०५१।२।९ गते उक्त जग्गा रैकर वा बिर्ता के हो त्यसतर्फ कानूनले अधिकार दिएको भए आफैँले र अधिकार दिएको नभए कानूनबमोजिम गर्नु भन्ने निर्णय भएको छ । बिर्ता उन्मूलन ऐन, २०१६ बमोजिम जग्गा बिर्ता हो भनी बिर्ता जग्गा दर्ता गर्ने अधिकार निश्चित रूपमा मालपोत कार्यालयमा रहेको छ । मालपोत कार्यालय ललितपुरले पुनरावेदन अदालतको फैसलालाई आधार मानी मिति २०६७।१२।२८ गते रैकर वा बिर्ताबारे निर्णय गर्ने अधिकार यस कार्यालयको कार्यक्षेत्रभित्र नपरेकोले हक कायम गराई ल्याउनु भनी निर्णय भएबाट हामी प्रतिवादीलाई अन्याय परेकोले उक्त कि.नं. ३ को जग्गा हामीहरूको नाउँमा हक कायम गरी दर्ता गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी हरिशरण महर्जनको प्रतिउत्तरपत्र ।
वादी यादव मोहन पौडेलले दाबी गरेको जिल्ला ललितपुर लुभु गा.वि.स. वडा नं. ९ख कि.नं. ३ को क्षेत्रफल ३-७-०-० जग्गा फिरादीका पिता बुकुन उपाध्यायको हो भन्ने फिल्डबुक उतारबाट देखिन्छ । तेजमोहन र बुकुन उपाध्याय एउटै व्यक्ति भन्ने कुरा प्रमाण मिसिल सामेल सिफारिस पत्रबाट देखिन्छ । जोताहामा हरिलाल महर्जनको नाम उल्लेख भएको पाइन्छ । वादी यादव मोहन पौडेललाई हरिलाल महर्जनसमेतले दिएको २०२९।०३० सालको दे.मि.नं. ७६४/१२० को जग्गा खिचोला मुद्दामा वादी यादव मोहन पौडेललाई जग्गाधनी स्वीकारेको देखिएको छ । यादव मोहन पौडेलले दाबी गरेको जग्गा १८८१ साल पुस सुदि २ रोज ४ को लालमोहरबाट वादीको हक हुन आएको कुरालाई वादी प्रतिवादीबिच यस जग्गाका सम्बन्धमा २०२७ सालदेखि विवाद उत्पन्न भएको विषयसमेतबाट स्पष्ट हुन आएको र जग्गा बिर्ता हो भनी प्रतिवादी हरिशरण महर्जनले सोको साबिक पोता रसिद बिर्ता जग्गा हो भन्ने जग्गाको चार किल्ला प्रमाणहरू पेस गर्न नसकेको जस्ता कारणले उपर्युक्त जग्गा बिर्ता नभई रैकर नै हो भन्ने प्रमाणहरूबाट देखिँदा र जग्गामा प्रतिवादीका बाबु बाजे हरिलाल महर्जन मोही रहेकै हुँदा निजको मोहीबापत प्राप्त हुने हकाधिकारमा कुनै आघात पर्ने देखिँदैन । वादी यादव मोहन पौडेलले दाबी गरेको उपर्युक्त जग्गामा निजको हक कायम भई दर्ता हुने ठहर्छ भन्ने बेहोराको सुरू ललितपुर जिल्ला अदालतको मिति २०६९।६।२ को फैसला ।
ललितपुर जिल्ला, लुभु गा.वि.स. वडा नं. ९ख. कि.नं. ३ को क्षे.फ.रो. ३-७-०-० घर जग्गा साबिकमा पुनरावेदकसमेतको बाजे हर्षलाल भन्ने हरिलाल महर्जनको हक, भोगचलनमा रहेको स्ववासी बिर्ता घर जग्गा हो । बाजे हरिलाल तथा बज्यै ज्ञानी महर्जनको परलोकपछि बराबर हक खाने हकदार २ छोरामा जेठा पुनरावेदकको बाबु स्व.कुमाचा भन्ने कुमारलाल र कान्छा मेरा काका तथा लगाउको हक कायम मुद्दाका वादीमध्येका कृष्ण महर्जन हुन् । विवादित कि.नं. ३ को घरजग्गा हाम्रा बाजे तथा जिजुबाजेको पालादेखि स्ववासी जानी, घर कम्पाउन्ड बनाई, एकलौटी रूपमा भोगचलन गरिआएको रूद्रमोहनको बिर्ता लगतबाट भिड्ने हो । सो घरजग्गामा साबिकदेखि हालसम्म हामीले आफ्नो आवश्यकता र सुविधाअनुसारको पक्की घरहरू बनाई हामी अंशियारहरूबिच चलेको अंश मुद्दाहरूमा अदालतबाट गरेको फैसलासमेतको आधारमा सबै अंशियारमा भागबन्डा गरी निर्विवाद रूपमा भोगचलन गरी आएका छौं । विपक्षीको हक लाग्ने निजको रैकर घरजग्गा यो होइन । विपक्षीसँग लिखत, रैकर लगतसमेतका कुनै प्रमाण छैन । बाजे हर्षलाल भन्ने हरिलाल महर्जनले विवादित कि.नं. ३ को घरजग्गाको चार किल्ला खोली आफ्नो नाउँमा रैकर परिणत गरिपाउँ भनी तत्कालीन भूमि प्रशासन कार्यालय, ललितपुरमा मिति २०२७।१२।२३ मा नै निवेदन गर्दा प्रस्ट रूपमा चार किल्ला खुलाउनु भएको छ । हामीहरूबिच ललितपुर जिल्ला अदालतमा चलेको अंश चलन मुद्दामा फैसला हुँदा विवादित कि.नं. ३ को क्षे.फ.रो. ३-७-०-० घरजग्गासमेत सबै अंशियारमा आफ्नो हक हिस्साअनुसार अंशबन्डा लाग्ने ठहर फैसला भई उक्त फैसलाहरू सो अदालतको तहसिल फाँटबाट मिति २०५८।६।२ र मिति २०५८।६।४ मा बन्डा मुचुल्का खडा गरी कानूनबमोजिम अढाई दस्तुरसमेत बुझाई जनाउ पत्र लिई दा.खा.को लागि मालपोत कार्यालयमा गई हालसम्म सो कार्यालयमा कारबाहीयुक्त अवस्थामा रहेको छ । हामी अंशियारले अंश मुद्दाको फैसलासमेतबाट आफूले प्राप्त गरेको अंश हकलाई विपक्षीले सो फैसलालाई बदर नगराएको अवस्थामा हामी अंशियारहरूलाई जानकारी नै नगराई, सुनुवाइको मौका नै नदिई, अंश मुद्दाको फैसलाबाट पाएको हकलाई प्रस्तुत मुद्दाबाट अंशियारको अंश हक भाग खोस्ने, मार्ने काम भएको छ । अन्तिम भई बसेको अंश मुद्दाको फैसलाविपरीत हुने गरी प्रस्तुत मुद्दामा सुरू जिल्ला अदालतबाट फैसला भएकोले सुरू जिल्ला अदालतको फैसला बदर गरी फिराद र पुनरावेदन जिकिरका आधारमा विवादित कि.नं. ३ को जग्गामा म तथा हाम्रा अन्य अंशियारसमेतको हक कायम दर्ता नामसारी हुने ठहर फैसला गरी न्याय पाउँ भन्ने बेहोराको प्रतिवादीको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।
फिल्डबुक उतार हेर्दा जिल्ला ललितपुर लुभु गा.वि.स. वडा नं.९ख. कि.नं. ३ को ३-७-०-० जग्गा वादीका पिता बुकुन उपाध्यायको हो भनी उल्लेख भएको देखिन्छ । प्रतिवादीले प्रतिउत्तर फिराउँदा फिल्डबुक तयार हुँदा भुलले बुकुन उपाध्याय लेखिन गएको हो भन्ने उल्लेख गरेको भए तापनि सो कुरालाई समयमै सच्याउन सकेको पाइँदैन । तेज मोहन र बुकुन उपाध्याय एउटै व्यक्ति रहेको कुरा सिफारिस पत्रसमेतबाट देखिन्छ । जोताहाको अस्थायी निस्सामा विवादित जग्गामा बुकुन उपाध्याय भनी उल्लेख भएको पाइन्छ । वादी यादव मोहन पौडेललाई प्रतिवादीको हजुरबुबासमेतले दिएको २०२९/०३० सालको दे.मि.नं. ७६४/१२० को जग्गा खिचोला मुद्दामा वादी यादव मोहन पौडेललाई जग्गाधनी स्वीकार गरेको
देखिन्छ । दाबीको जग्गा १८८१ साल पुस सुदि २ रोज ४ को लालमोहरबाट वादीको हक हुन आएको अवस्था पाइन्छ । दाबीको कि.नं. ३ को उक्त जग्गामा वादीको हक कायम भई जग्गा निजको नाउँमा दर्तासमेत हुने ठहर्याई सुरू जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर्छ भन्ने बेहोराको पुनरावेदन अदालत पाटनको मिति २०७१।१२।२३ को फैसला ।
बाजे हर्षलाल महर्जनको नामको ल.पु.जि. लुभु गा.वि.स. वडा नं. ९(ख) कि.नं. ३ को क्षेत्रफल ३-७-०-० जग्गामा साबिकदेखि पक्की घर, गोठ, तबेला, इनार बनाई, कम्पाउन्ड लगाई भोगचलन गरी आएको, २०२१ सालमा नापनक्सा हुँदा तयार भएको नापी नक्सामा स्पष्ट उल्लेख भइरहेको छ । जग्गा नापनक्सा हुँदा बाजे हर्षलाल महर्जनले फिल्डबुकमा मोही जनाई जग्गाधनी खाली गरी कैफियतमा किसानको बेहोरामा “यो जग्गा का.ई. डिल्लीबजार बस्ने बुकुन उपाध्यायको हो” भनी उल्लेख भएकोमा फिल्डबुकको कैफियत बेहोरामा भुलले उल्लेख भएको व्यक्तिले जग्गा दर्ता गर्न कुनै कानूनी कारबाही गरेको छैन । मेरो हकको जग्गा बिर्ता उन्मूलन ऐन, २०१६ को दफा ७ बमोजिम दर्ता गरिपाउँ भनी बाजे हर्षलाल भन्ने हरिलाल महर्जनले २०२७ सालमा निवेदन दिई दाबी लिएकोमा कारबाहीको क्रममा मा.पो.का. ल.पु.बाट मिति २०४८/५/३ गते बिर्ता जग्गा हुँदा मोही हर्षलाल महर्जनको नाममा मोही बिर्ता दर्ता हुने निर्णय भएको र सो निर्णयउपर वादीको तत्कालीन बागमती अञ्चल अदालतमा पुनरावेदन परेको र पछि पुनरावेदन अदालत पाटनले मिति २०५१/२/९ गते फैसला गर्दा मा.पो.का. ल.पु.ले तत्काल निर्णय गर्दा जग्गा नापजाँच ऐन, २०१९ को दफा ६ (७) र बिर्ता उन्मूलन ऐन, २०१६ को दफा ७ (४) को प्रयोग एकैसाथ गरेको कारण सो निर्णयलाई बदर गरी विवादित जग्गा रैकर वा बिर्ता के हो ? त्यसतर्फ कानूनले अधिकार दिएको भए आफैँले र अधिकार दिएको नभए कानूनबमोजिम छुट्याई ल्याउनु भनी सुनाई दर्तातर्फ कारबाही गर्नु भनी पुनः मा.पो.का. ल.पु.मा पठाएको हो । निवेदक/प्रतिवादीका बुबा कुमारलाल महर्जन र कृष्ण महर्जनबिच ललितपुर जिल्ला अदालतमा अंश मुद्दा चली अन्तिम भई फैसला कार्यान्वयन गरी मा.पो.का., ल.पु. समक्ष दा.खा. गर्न जाँदा मिति २०६७/१२/२८ को निर्णय आदेशबमोजिम विवादित घरजग्गा रैकर वा बिर्ता के हो ? सम्बन्धित अदालतमा गई आफ्नो हक कायम गराई ल्याउनु भनी भएको निर्णयबमोजिम सुरू जिल्ला अदालतमा निवेदकसमेत र विपक्षी वादीको समेत अलग अलग मुद्दा परेको हो । बाजे हरिलाल तथा बज्यै ज्ञानी महर्जनको दुई छोरामा जेठा म निवेदकको बुबा कुमाचा भन्ने कुमारलाल महर्जन र कान्छा कृष्ण महर्जन भएकोमा काका कृष्ण महर्जनको छोरा बुहारी भरत महर्जनकी श्रीमती सन्तुमाया र दुई नाबालक छोराहरू महेन्द्र र राजेन्द्र महर्जन वादी तथा कृष्ण महर्जनसमेत प्रतिवादी भई ललितपुर जिल्ला अदालतमा चलेको २०५०/०५१ सालको दे.मि.नं. २४९ को अंश चलन मुद्दामा मिति २०५०/८/३० मा भएको सुरू फैसलाउपर पुनरावेदन अदालत पाटनबाट मिति २०५२/२/२९ मा फैसला भएको र बाबु कुमारलाल वादी र कृष्ण महर्जनसमेत प्रतिवादी भई ललितपुर जिल्ला अदालतमा चलेको २०५३/०५४ सालको दे.मि.नं. ७६६ को अंश चलन मुद्दामा मिति २०५४/२/२८ मा सुरू फैसला भएकोमा उक्त दुवै मुद्दामा विवादित कि.नं. ३ को क्षेत्रफल ३-७-०-० को घरजग्गासमेत सबै अंशियारहरूमा आफ्नो हकहिस्साअनुसार अंशबन्डा लाग्ने ठहर फैसला भई उक्त फैसलाहरू सो अदालतको तहसिल फाँटबाट मिति २०५८/६/२ र मिति २०५८/६/४ मा बन्डा मुचुल्का खडा गरी कानूनबमोजिम अढाई दस्तुरसमेत बुझाई दा.खा.को लागि मा.पो.का.मा गई हालसम्म सो कार्यालयमा कारबाहीका क्रममा रहेको छ । सो फैसला बदरतर्फ मुलुकी ऐन, अ.बं. ८६ नं. को म्यादभित्र विपक्षीहरूको फिराद परेको छैन । फैसला अन्तिम रूपमा यथावत् कायम रहेको अवस्थामा सो अंश मुद्दाहरूमा भएको फैसला तथा सो फैसलाको आधारमा खडा भएका बन्डा मुचुल्कालाई र अंशियारको घर जग्गालाई प्रस्तुत मुद्दाको फैसलाद्वारा असर पुर्याउने गरी प्रमाण ऐन, २०३१ को दफा ३ र ५४, मुलुकी ऐन, अ.बं. ७८ नं., ८६ नं., १८४ (क) नं. १८५ नं. न्याय प्रशासन ऐन, २०७३ को दफा १८ (१) (२), बिर्ता उन्मूलन ऐन, २०१६ को दफा २, दफा ७ (४), दफा ७(क), दफा १२(क) र दफा १२(ख), प्रतिपादित नजिर सिद्धान्तहरूसमेतको विपरीत हुने गरी प्रमाणको मूल्याङ्कन र विवेचनासमेत केही नगरी निवेदकलाई हराई सुरू ललितपुर जिल्ला अदालतबाट मिति २०६९/६/२ मा र पु.वे.अ. पाटनबाट मिति २०७१/१२/२३ मा फैसला भएको छ । तसर्थ, न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरी उल्लिखित फैसला बदर गरी न्याय पाउँ भन्नेसमेत बेहोराको प्रतिवादीको यस अदालतमा परेको निवेदनपत्र ।
लगाउको ०७४-RI-०४३२ को हक कायम मुद्दामा आज यसै इजलासबाट मुद्दा दोहोर्याई हेर्न अनुमति प्रदान भएको र प्रस्तुत मुद्दा पनि उक्त मुद्दासँग अन्तरप्रभावी रहेको देखिँदा प्रस्तुत मुद्दामा समेत न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान गरिएको छ भन्ने बेहोराको यस अदालतको मिति २०७५।७।२७ मा भएको आदेश ।
यस अदालतको ठहर
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी हरिशरण महर्जनको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री हरिहर दाहाल, श्री रक्षबहादुर क्षेत्री तथा विद्वान् अधिवक्ताहरू श्री हरिशरण महर्जन, श्री फणिराज सिलवाल र डा. श्री नरेशकुमार महर्जनले वादी सन्तुमाया महर्जनसमेत र प्रतिवादी कृष्ण महर्जनसमेत भई चलेको अंश चलन मुद्दामा विवादित कि.नं. ३ को क्षेत्रफल ३-७-०-० को बिर्ता घरजग्गासमेत अंशबन्डा लाग्ने ठहर भई बन्डा मुचुल्का खडा गरी दा.खा.को लागि कारबाहीको क्रममा रहेको छ; उक्त फैसला बदरतर्फ वादीले दाबी नगरी फैसला यथावत् कायम रहिरहेको अवस्थामा सो अंश मुद्दामा भएको फैसला तथा सो फैसलाको आधारमा खडा भएका बन्डा मुचुल्कालाई प्रस्तुत मुद्दाको फैसलाद्वारा असर पुर्याउन मिल्दैन; सुरू तथा पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण भएकोले बदर हुनुपर्दछ भनी गर्नुभएको बहस जिकिर सुनियो । प्रत्यर्थी वादी यादव मोहन पौडेलको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेलले विवादित कि.नं. ३ को ३-७-०-० जग्गा वादीका पिता बुकुन उपाध्याय भन्ने मोहन उपाध्यायको नाममा भएको जग्गा हो; उक्त जग्गाको फिल्डबुकको किसानको बेहोरामा पुनरावेदक प्रतिवादी पक्षले का.ई. डिल्लीबजार बस्ने बुकुन उपाध्यायको हो भनी लेखाएका छन्; सो जग्गा बिर्ता भनी प्रतिवादीले कुनै प्रमाण पेस गर्न सकेका छैनन्; उक्त जग्गा वि.सं. १९८८/५/१७ मा लिलाम सकारी हक पुर्जी प्राप्त गरी वादी यादव मोहनका पिताको नाउँमा हक हुन आएको र अहिलेको हकदार वादी भएकोले सुरू तथा पुनरावेदन अदालत पाटनको फैसला सदर हुनुपर्छ भनी गर्नुभएको बहस जिकिरसमेत सुनियो ।
अब यसमा विवादित जग्गामा वादी यादव मोहन पौडेलको हक कायम हुने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला कानूनअनुकूल छ वा छैन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तछ वा सक्तैन ? भन्ने प्रश्नमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, जिल्ला ललितपुर लुभु गा.वि.स. वडा नं. ९ख. कि.नं. ३ को क्षेत्रफल ३-७-०-० को विवादित जग्गा बुकुन उपाध्यायको हो भनी जग्गा कमाउने व्यक्ति (मोही) ले लेखाएको कुरा फिल्डबुक उतारबाट देखियो । तेजमोहन र बुकुन उपाध्याय एउटै व्यक्ति हुन् र निज वादीका बाबु हुन् भन्ने कुरा मिसिल सामेल सिफारिस पत्रसमेतका प्रमाणबाट देखिन्छ । जग्गाको जोताहामा हरिलाल महर्जनको नाम उल्लेख भएको कुरामा विवाद
देखिँदैन । वादी यादव मोहन पौडेलउपर हर्षलाल (हरिलाल) महर्जनसमेतले दिएको २०२९/०३० सालको दे.मि.नं. ७६४/१२० को जग्गा खिचोला मुद्दामा वादी यादव मोहन पौडेललाई जग्गाधनी स्वीकार गरेको भन्ने पनि देखिएको छ । सो मुद्दामा सुरू ललितपुर जिल्ला अदालतबाट मिति २०३१/१/२५ मा जग्गाधनी यादव मोहन र मोही हर्षलाल (हरिलाल) कायम हुने गरी फैसला भएको पाइयो । उक्त फैसला तत्कालीन बागमती अञ्चल अदालत र मध्यमाञ्चल क्षेत्रीय अदालतबाट समेत सदर भएको देखिन्छ । जग्गाको स्रोतको रूपमा यादव मोहन पौडेलले दाबी गरेको जग्गा १८८१ साल पुस सुदि २ रोज ४ को लालमोहरबाट वादी पक्षको हक हुन आएको भन्ने जिकिर गरेको देखिन्छ । विवादित जग्गा बिर्ता जग्गा हो भनी प्रतिवादी हरिशरण महर्जनले साबिक पोता रसिद, जग्गाको चार किल्ला खुलेका कागजातलगायतका भरपर्दो प्रमाणहरू पेस गर्न सकेको देखिँदैन । जग्गा बिर्ता नभई रैकर नै हो भन्ने प्रमाणहरूबाट देखिएको छ । मोहीले आफूले कमाएको जग्गामा घर निर्माण गरी भोगचलन गरेको कुराबाट नै जग्गाउपरको हक स्वामित्व स्थापित हुने पनि होइन । जग्गामा प्रतिवादीका बाबु बाजे हरिलाल महर्जन मोही जनिएको हुँदा निजलाई मोही भएबापत प्राप्त हुने हकाधिकार सुरक्षित रहेकोसमेत देखिन्छ । यस प्रकारको जग्गाको विषयमा प्रतिवादीहरूले आपसमा अंश मुद्दा गरी सो मुद्दाबाट अंशबन्डा लगाउने ठहर भएको कारणबाट नै वास्तविक जग्गाधनीको हक स्वामित्व समाप्त हुने पनि देखिँदैन । मिसिल प्रमाणबाट विवादित जग्गामा वादी यादव मोहन पौडेलको हक कायम हुने अवस्था देखियो ।
३. अत: जिल्ला ललितपुर, लुभु गा.वि.स. वडा नं. ९ख. कि.नं. ३ को क्षेत्रफल ३-७-०-० जग्गामा वादीको हक कायम भई निजको नाममा दर्ता हुने र प्रतिवादी पक्ष मोही रहेको भनी सुरू जिल्ला अदालतबाट मिति २०६९/६/२ मा भएको फैसला सदर हुने ठहर गरेको पुनरावेदन अदालत पाटनको मिति २०७१/१२/२३ को फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । प्रतिवादी हरिशरण महर्जनको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
४. प्रस्तुत फैसला यस अदालतको विद्युतीय प्रणालीमा प्रविष्ट गरी, दायरीको लगत कट्टा गरी, नियमानुसार मिसिल अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. कुमार रेग्मी
इजलास अधिकृत : भेषराज कोइराला
इति संवत् २०७९ साल भदौ १४ गते रोज ३ शुभम् ।