निर्णय नं. १११११ - धर्मपुत्र लिखत बदर

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७९।८।२०
०७३-CI-०९८९
मुद्दाः- धर्मपुत्र लिखत बदर
पुनरावेदक/प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१२ ह्यूमत रामचन्द्रस्थान डेरा गरी बस्ने पुतलीनानी श्रेष्ठको धर्मपुत्र रत्न कपाली श्रेष्ठ
विरूद्ध
प्रत्यर्थी/वादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१२ ह्यूमत रामचन्द्रस्थान बस्ने रामदाश श्रेष्ठको छोरी कृष्णदाश श्रेष्ठको श्रीमती पुतलीनानी श्रेष्ठको स्वर्गारोहण भई शेषपछिको बकसपत्र लिने भनिएका ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं.१ कुपण्डोल बस्ने नारायण तण्डुकारको छोरा अर्जुन तण्डुकार
आफूलाई पालन पोषण गर्नुपर्ने अवस्थामा धर्मपुत्र राखेको छोटो समयमा नै बदरको लागि फिराद दिनुपर्ने कारण विचारणीय देखिने । धर्मपुत्रको लिखत बदर नै हुन नसक्ने, एक पटक लिखत पारित गरिदिएपछि प्राकृतिक सन्तानले प्राप्त गर्ने अधिकार जस्तो अटल रहने कागजात पनि होइन । धर्मपुत्र भइसकेपछि धर्मपुत्र बस्नेले आफ्ना धर्मपुत्र राख्ने आमा बाबुप्रतिको दायित्व र कर्तव्य पूर्ण रूपमा पूरा गरेमा निजले प्राकृतिक छोरासरह नै अधिकार प्राप्त गर्दछ, कानूनले समेत संरक्षण प्रदान गरेको धर्मपुत्रको लिखतभित्र अन्तरनिहित विषय सम्पत्तिको मोहभन्दा पनि धर्मपुत्र दिने व्यक्तिको हेरचाह, साहारा र सम्पत्तिको संरक्षणतर्फको विषय महत्त्वपूर्ण हुने ।
(प्रकरण नं. ८)
धर्मपुत्र राख्ने धर्ममाता वा धर्मपिता नै धर्मपुत्रको लिखत नै बदरको माग दाबी लिएर अदालतमा आइसकेपछि झुक्याई धर्मपुत्रको लिखत पास गरेको रहेछ भन्ने मान्नुपर्ने ।
(प्रकरण नं. ९)
पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा, श्री शतिसकृष्ण खरेल तथा श्री एकराज भण्डारी र विद्वान् अधिवक्ता श्री कपिलचन्द्र पोखरेल
प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री रमन श्रेष्ठ, श्री मिरा ढुंगाना र श्री युवराज भण्डारी तथा विद्वान् अधिवक्ताहरू श्री पूर्णचन्द्र पौडेल, श्री सतिश झा, श्री राधेश्याम मण्डल तथा श्री शैलेन्द्रप्रसाद यादव
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
मा. जि. न्या. श्री सुदर्शनराज पाण्डे
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
मा. न्या. श्री एकराज आचार्य
मा. न्या. श्री हरिकुमार पोखरेल
पुनरावेदन अदालत पाटन
फैसला
न्या हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्राप्त भई पुनरावेदनसरह दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ:-
तथ्य खण्ड
मलाई वारेसनामाको कागज भनी झुक्याई मिति २०६५/०९/२१ गते डोरमार्फत २०६५/०९/२८ मा मालपोत कार्यालयबाट धर्मपुत्रको लिखित पारित गरेपछि विपक्षी रत्न कपालीले म फिरादीलाई लिखत पारित भएको २ महिनापछि खान लाउन नदिने, घरको सम्पत्ति हेरचाह नगरी दुरूपयोग गर्ने, म ८२ वर्षकी वृद्धलाई शारीरिक र मानसिक यातना दिने, अपहरण गर्छु, मार्छु भनी डर धाक धम्की दिनुका साथै १०, १५ जना गुण्डा लगाई म फिरादी बसोबास गरेको ठाउँमा विपक्षी धर्मपुत्रले अशान्ति गरी कुटपिट गर्ने, शारीरिक र मानसिक यातना दिने गरेकोले शान्ति सुरक्षा गरी जिउ धनको सुरक्षा गरिपाउँ भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गरेकी छु । म फिरादीलाई हेरचाह गर्ने, खाना खुवाउने र मेरो साथमा बस्ने शान्ति हुमागाईले पनि २०६६/०५/२५ मा शान्ति सुरक्षा गरिपाउँ भनी निवेदन दिएकी थिइन् । यसमा विपक्षी धर्मपुत्रले खान लाउन नदिएको, घरको सम्पत्ति हेरचाह नगरेको, दुरूपयोग गरेको, शारीरिक र मानसिक यातना दिएको कुरा मेरा साक्षीले काठमाडौं जिल्ला अदालतमा आई बकपत्र गर्ने नै छन् । यसरी म ८२ वर्षकी वृद्धलाई खान लाउन नदिई मार्ने नियतले शारीरिक मानसिक यातना दिइरहेकोले सम्मानित अदालतको शरणमा आएकी छु । मेरा साक्षी प्रमाण बुझी मालपोत कार्यालय काठमाडौं डिल्लीबजारबाट मिति २०६५/०९/२१ मा डोरबाट भएको र २०६५/०९/२८ मा कार्यालयबाट पारित भएको र.नं.४४११(क) को विपक्षी रत्न कपालीलाई दिएको धर्मपुत्रको लिखत धर्मपुत्र धर्मपुत्रीको महलको ११ नं.बमोजिम बदर गरिपाउँ भन्नेसमेत बेहोराको फिरादपत्र ।
विपक्षीका पति र मेरा जन्म दिने पिताबिच मितेरी सम्बन्ध भई बेलाबेलामा विपक्षी मेरो घरमा आई आफू बयोवृद्ध, विधवा, नि:सन्तान भई स्याहार सम्भार, औषधीउपचार गर्न र भविष्यमा काजकिरिया पिण्डपानी गर्ने मानिस कोही नभएको र भएको निजी गुठी सम्पत्तिमा समेत हुँदै नभएका गुठियार हकदार खडा भई विभिन्न मुद्दा, मामिला र हस्तक्षेप भयो, तपाइँका २ छोरामध्ये कान्छा छोरा मलाई धर्मपुत्र राख्ने मेरो इच्छा भयो, मलाई धर्मपुत्र दिनुपर्यो भनी बारम्बार बाबु आमा र दाजुसँग आई अनुरोध गर्नुभएबाट उहाँको भर विश्वासमा परी केही समय पहिलेदेखि नै उहाँको रेखदेख हेरविचार गर्दै आएको र उहाँले मलाई धर्मपुत्र राख्नको लागि तत्काल काठमाडौं महानगरपालिका वडा नं.१२ वडा कार्यालयबाट सिफारिससमेत लिई उहाँका नाति नाताका भनिएका हरिबहादुर श्रेष्ठ संरक्षक साक्षी र मेरा जन्मदिने बाबुतर्फका दाजु राम कपाली लिखत साक्षी र अन्य विपक्षीतर्फका व्यक्तिहरू लिखत साक्षी एवं सनाखत साक्षी बसी अधिकारप्राप्त अधिकारी मालपोत कार्यालय डिल्लीबजार काठमाडौंमार्फत मिति २०६५/०९/२८ मा धर्मपुत्र लिखत रजिस्ट्रेसन गरी सोअनुरूप मलाई धर्मपुत्र ग्रहण गरी व्यवहारमा समेत हामी आमा छोराको रूपमा सँगसाथ रहे बसेको हुँदा झुठ्ठा एवं बनावटी फिराद खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिउत्तरपत्र ।
धर्मपुत्रको लिखत के कुन परिबन्दबाट पास भयो मलाई थाहा छैन । धर्मपुत्र बनेको रत्न कपालीले वादी पुतली नानीको हेरविचार केही गरेका छैनन् । मैले वादी पुतली नानीलाई स्याहार सुसार गर्दै आएकी छु भन्नेसमेत बेहोराको वादीका साक्षी शान्ति हुमागाई र प्रेमबहादुर रंजितकारले सुरू अदालतमा गरेको
बकपत्र ।
धर्मपुत्रको लिखत झुक्याई गराएको
होइन । वादीलाई प्रतिवादी रत्न कपालीले स्याहार सुसार नगरेको र खान लाउन नदिएको भन्ने झुठ्ठा बेहोरा मात्र हो । प्रतिवादीले वादीलाई लालन पालन औषधोपचार रेखदेख सबै गर्दै आएका थिएँ भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी दिलिपकुमार भट्टराई र हरिबहादुर श्रेष्ठसमेतले सुरू अदालतमा गरेको बकपत्र ।
धर्मपुत्रको लिखतमा वादीले प्रतिवादीलाई धर्मपुत्रका रूपमा ग्रहण गरेको र निजले धर्ममाता वयोवृद्ध भएको हुँदा बाँचुञ्जेल पालन पोषण हेरविचार, औषधी उपचार र मृत्युपश्चात् रीतिथितिअनुसार काजक्रिया पिण्डपानीसमेत गरी शेषपछिको जो जे भएको चल अचल सम्पत्तिसमेत लिन खान पाउने गरी धर्मपुत्रको लिखत गरिदिएकोमा प्रतिवादीले सोअनुसार कार्य नगरेको, धर्मपुत्र राख्ने व्यक्ति स्वयंले नै धर्मपुत्रको लिखत बदर गरिपाउँ भनी फिराद गरेको अवस्था भएकोले विवादित धर्मपुत्रको लिखत कायम रहन सक्ने देखिन आएन । यसर्थ, विवादित धर्मपुत्रको लिखत वादी दाबीबमोजिम बदर हुने ठहर्छ भनी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६७/०९/२१ मा भएको फैसला ।
सुरू जिल्ला अदालतले धर्मपुत्र राख्ने व्यक्तिले नै धर्मपत्रको लिखित बदर गरिपाउँ भनी वादी दाबी दिएको र बकपत्रसमेत गरेको भनी वादी दाबीबमोजिम धर्मपुत्रको लिखत बदर गरिपाउँ भनी धर्मपुत्र ग्रहण गरेको व्यक्तिले एकाएक भन्दैमा लिखत बदर हुने होइन । प्रमाण ऐन, २०३१ को दफा २६, अ.बं.१८५ र धर्मपुत्र धर्मपुत्रीको ११ नं. को कानूनी व्यवस्थासमेतको प्रतिकूल सुरूबाट फैसला भएको छ । तसर्थ, सुरू जिल्ला अदालतको फैसला उल्टी गरी न्याय इन्साफ पाउँ भनी प्रतिवादी रत्न कपालीले तत्कालीन पुनरावेदन अदालत पाटनमा पेस गरेको पुनरावेदनपत्र ।
पुनरावेदक प्रतिवादी वादी भई चलेको केही सार्वजनिक अपराध मुद्दामा प्रतिवादी रहेका शान्ति हुमागाई र हरिबहादुर श्रेष्ठसमेतको बकपत्रको मात्र आधार लिई प्रतिवादीको साक्षीको बकपत्रको कुनै विवेचनासमेत नगरी भएको सुरू जिल्ला अदालतको फैसलालाई प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई हाजिर भए वा म्याद नाघेपछि नियमानुसार पेस गर्नु भनी तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०६८/०५/२० मा भएको आदेश ।
प्रस्तुत मुद्दाका धर्मपुत्रको लिखत गरी दिने पुतलीनानी श्रेष्ठसमेतलाई बेञ्चसमक्ष छलफल हुन आवश्यक हुँदा निजलाई विपक्षीका अधिकृत वारेसमार्फत उपस्थित गराउन पेसी तारेख तोक्नु साथै पुनरावेदक प्रतिवादीले प्रतिउत्तरपत्रको कागज खण्डमा उल्लिखित CD टेपसमेत पुनरावेदकबाट पेस गर्न लगाउनु भनी तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०६९/०२/२२ मा भएको आदेशानुसार मिति २०६९/०३/०६ मा पुनरावेदक प्रतिवादीले CD पेस गरेको ।
वृद्ध ८२ वर्षीया वादी आफैँले राखेको धर्मपुत्र बदर गरिपाउने आधार र कारणसहितको दाबी लिएर अदालत आउनुभएको अवस्था छ । उक्त आधार र कारण युक्तिसङ्गत होइनन् भन्न सकिने अवस्था पनि देखिँदैन । आफूले राखेको धर्मपुत्र कायम राख्ने वा बदर गराउने भन्ने कुरा मूलतः उहाँकै इच्छामा निर्भर रहन्छ । धर्मपुत्रको लिखत बदर गर्नुपर्ने मनासिब कारण र आधार विद्यमान भएको अवस्थामा उहाँको इच्छाविपरीत अदालतले निर्णय गर्न पनि
मिल्दैन । फिरादपत्रमा धर्मपुत्रको लिखत बदर हुनुपर्ने स्पष्ट कारण र आधार उल्लेख हुनुका साथै आज यस इजलाससमक्ष पनि सोही भनाइ दोहोर्याउनु भएकोले दाबीको र.नं. ४४११ क मिति २०६५/०९/२८ को धर्मपुत्रको लिखत बदर हुने ठहर गरेको काठमाडौं जिल्ला अदालतको मिति २०६७/०९/२१ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०६९/०३/०६ मा भएको फैसला ।
मलाई धर्मपुत्र राख्न इच्छुक भई काठमाडौं महानगरपालिका वडा नं. १२ मा उपस्थित हुनु भई सो कार्यालयबाट मिति २०६५/९/२० मा वडा सिफारिस लिई सोही सिफारिस र उहाँको मन्जुरीअनुसार मालपोत कार्यालय डिल्लीबजारबाट धर्मपुत्र लिखत रजिस्ट्रेसन भएको कुरामा वारेसनामा भनी झुक्याई धर्मपुत्र लिखत पास भएको भन्ने कुरा झुट्ठा र पत्यारलायक हुन नसक्नेमा उक्त विषयमा प्रवेश नै नगरी भएको फैसला त्रुटिपूर्ण छ । धर्मपुत्र भएको २ महिनापछि खान लाउन नदिने, सम्पत्तिको दुरूपयोग गर्ने डर धाक दिने जस्ता दोस्रो आरोपको सम्बन्धमा यदि मबाट कार्य भएको भए उल्लिखित धर्मपुत्र लिखत पारित भएको मितिबाट क्रमशः मेरा नाउँमा नाता प्रमाणित बनाइदिने, नागरिकता सनाखत गर्ने, भएका मुद्दा मामिलामा वारेसनामा दिने बैंक खातामा शेषपछि इच्छाएको व्यक्ति मलाई देखाई निवेदन दिने अवस्था नै विद्यमान हुने थिएन । नाता प्रमाणित लिने क्रममा मिति २०६६/१/२१ मा का.जि.का.म.न.पा. वडा नं. १२ वडा कार्यालयबाट स्थलगत सर्जमिन हुँदा सर्जमिनका अधिकांश व्यक्तिले उहाँलाई म छोराले पालन पोषण औषधी उपचार गर्दै आएको अवस्था हुँदा सो कारण हामी आमा छोराबिच नाता प्रमाणित गरिदिएमा फरक पर्ने छैन भन्ने सर्जमिन बेहोरासमेतबाट मबाट कुनै गैर-क्रियाकलाप नभएको प्रमाणित छ । आमा पुतलीनानी श्रेष्ठले मलाई नागरिकता सनाखत गरिदिएको र हामी आमा छोराबिच नाता सम्बन्धको नाता प्रमाणिततर्फ फिराद रहेको पनि छैन, सो बदर भएको अवस्था पनि छैन । आमाको विरूद्धमा मबाट कुनै कार्य भएको पनि छैन । भएको भए आमाबाट मलाई नाता, नागरिकता वारेस बैंकिङ कारोबारमा मलाई इच्छाएको व्यक्ति देखाइदिने, मसमेतलाई शान्ति सुरक्षा माग गरिदिने अवस्था हुने थिएन । शेषपछिको बकसपत्रको लिखत झै पक्षले चाहँदैमा धर्मपुत्रको लिखत बदर गर्न पाउने
होइन । मैले धर्म माताउपर उहाँको जीवनकालमा पूरा गर्नुपर्ने आफ्नो दायित्व पूरा गरेको मबाट फिरादमा उल्लिखित कुनै कार्य नभए नगरेको कुरा मद्वारा पुनरावेदन अदालत पाटनमा पेस भएको सि.डी. मा आमाले आपसी वार्ताको क्रममा बोल्नुभएका कुरा र आमा र मबिच राम्रो सम्बन्ध रहेको तथ्य हामी लाम खिला र कवचसमेत दुई आमा छोराको फोटोलगायत आमाले म छोरालाई दैनिक मन्त्रनुपर्ने दीक्षा, मन्तरसमेत दिनुभएको छ । आमा र मबिच कुनै बैमनस्यता रहेको भए उक्त दीक्षा मन्तरसमेत दिनु पर्ने अवस्था नै थिएन । मात्र मलाई धर्मपुत्रबाट बञ्चित गरी गराई आफू वा आफ्ना मानिसलाई धर्मपुत्र वा शे.ब. लिखत लेखी लेखाई फाइदा लिने उद्देश्यले मलाई गम्भीर रूपमा कुटपिट गरी सार्वजनिक अपराधसमेत गरी हाम्रै घरमा भान्से बाहुनीको रूपमा काम गर्ने शान्ति हुमागाईसमेतको उक्साहटमा प्रस्तुत मुद्दा गरे पारेको कुरा मिसिल सामेल तथ्य प्रमाण र साक्षीहरूको बकपत्रसमेतबाट प्रमाणित हुँदाहुँदै ती तथ्य प्रमाणहरूसमेतमा कुनै केही नबोली प्रमाणमा नलिई एकतर्फी रूपमा आत्मनिष्ठ रूपमा भएको सुरू र पुनरावेदन अदालत पाटनको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३, ५४ को व्याख्यामा समेत गम्भीर त्रुटि भई बदरभागी हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (क) अनुसार मुद्दा दोहोर्याई हेर्न निस्सा प्रदान गरिपाउँ भन्नेसमेत बेहोराको रत्न कपाली श्रेष्ठले यस अदालतमा दिएको निवेदन ।
यसमा प्रस्तुत निवेदनसँग सम्बन्धित मुद्दाको सुरू रेकर्ड र भए प्रमाण मिसिलसमेत सम्बन्धित अदालतबाट झिकाई आएपछि नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०७१/९/१४ मा भएको आदेश ।
यसमा रत्न कपालीले पुतलीनानी श्रेष्ठसँग नाता प्रमाणित गरिपाउँ भनी दिएको निवेदनअनुसार मिति २०६५/१२/२७ मा भएको नाता प्रमाणित र शान्ति सुरक्षा गरी गुठी पालोसमेत दिलाइपाउँ भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा परेको निवेदनसहितको मिसिल झिकाई नियमानुसार गरी पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०७२/१२/२१ मा भएको आदेश ।
यसमा यस अदालतको मिति २०७२/१२/२१ को आदेशले काठमाडौं महानगरपालिकासँग सक्कल मिसिल माग गरेकोमा सो महानगरपालिकाले मिसिल छिन्नभिन्न भई फेला पार्न नसकेको भनी मिति २०७३/०२/०२ मा जवाफ पठाएको देखियो । मिसिल छिन्नभिन्न भएको भए सोको प्रमाणसहितको जवाफ लिई नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०७३/०२/२० मा भएको
आदेश ।
यसमा निवेदकलाई धर्मपुत्र राख्ने पुतलीनानी श्रेष्ठले मुलुकी ऐन, धर्मपुत्र, धर्मपुत्रीको २२ नं.बमोजिम लिखत बदर हुनुपर्ने आधार र कारण उल्लेख गरी धर्मपुत्र लिखत बदर गरिपाउन फिराद दिएकोमा दाबीबमोजिमको आधार र कारण विद्यमान रहे नरहेको तथा प्रतिवादी रत्न कपाली श्रेष्ठलाई धर्मपुत्र राखिसकेपश्चात् वादीले गरिदिएको विभिन्न लिखत प्रमाणको सम्बन्धमा यथोचित विवेचना नै नगरी भएको पुनरावेदन अदालत पाटनको मिति २०६९/०३/०६ को फैसला मुलुकी ऐन, धर्मपुत्र, धर्मपुत्रीको महलको ११ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ३, २६ र ५४ को परिप्रेक्ष्यमा व्याख्यात्मक त्रुटि भई न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा १ को खण्ड (क) को अवस्था विद्यमान रहेको देखिँदा मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान गरिदिएको छ । आदेशको जानकारी विपक्षीलाई दिई नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०७३/०९/१३/ मा भएको आदेश ।
प्रस्तुत मुद्दाको तथ्यसमेतलाई विचार गर्दा मेलमिलापको प्रक्रियाबाट समाधान गर्न उपयुक्त देखिन आएकोले १ (एक) महिनाको समयाअवधि तोकी प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७८(५) बमोजिम यस अदालतको मेलमिलाप केन्द्रमा पठाई प्रतिवेदन प्राप्त भएपछि नियमानुसार गरी पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०७६/११/०६ मा भएको आदेश ।
यसमा निवेदक/पुनरावेदक/प्रतिवादी रत्न कपाली श्रेष्ठ विपक्षी/ वादी पुतलीनानी श्रेष्ठको शे.व. लिने अर्जुन तण्डुकार भएको धर्मपुत्र लिखत बदर मुद्दामा धर्मपुत्रको लिखत बदर गरिपाउँ भनी वादी पुतलीनानी श्रेष्ठले काठमाडौं जिल्ला अदालतमा फिराद गरेकोमा वादी दाबीबमोजिम धर्मपुत्रको लिखत बदुर हुने ठहरी मिति २०६७/९/२१ मा फैसला भई सो फैसलाउपर प्रतिवादी रत्न कपाली श्रेष्ठको तत्कालीन पुनरावेदन अदालत पाटनमा पुनरावेदन परेकोमा सुरू अदालतको फैसला सदर हुने ठहरी फैसला भएकोमा सो फैसलाउपर प्रतिवादी रत्न कपाली श्रेष्ठले यस अदालतमा दोहोर्याई पाउँ भनी निवेदन गरेकोमा प्रस्तुत मुद्दा मिति २०७३/९/१३ मा निस्सा प्रदान हुने आदेश भई पुनरावेदन नं. ०७३-CI-०९८९ मा दर्ता भई विचाराधीन अवस्थामा रहेको देखिन्छ ।
प्रस्तुत मुद्दा विचाराधीन रहेको अवस्थामा विपक्षी पुतलीनानी श्रेष्ठ र निजको शे.व. लिने अर्जुन तण्डुकारका नाउँमा रहेका जग्गा तथा बैंकखाताहरूसमेत रोक्का राखिपाउँ भनी निवेदन गरेकोमा यस अदालतको मिति २०७८/९/२१ का आदेशानुसार दर्ता स्रेस्ता तथा बैंकको विवरण माग गर्दा केही जग्गाहरू रोक्का रहेको भनी स्रेस्ता प्राप्त भएकोका ती जग्गाहरूसमेत पुनः रोक्का राखिपाउँ भनी रत्न कपाली श्रेष्ठको निवेदन गरेको देखियो ।
निवेदकले रोक्का माग गरेका जग्गाहरूमध्ये अर्जुन तण्डुकारका नाममा दर्ता स्रेस्ता रहेको काठमाडौं जिल्ला साबिक काभ्रेस्थली ९क कि.नं. ८९,९० र ११२, त्यस्तै पुतलीनानी श्रेष्ठ र अर्जुन तण्डुकारका नाउँमा दर्ता स्रेस्ता रहेको काठमाडौं जिल्ला का.म.न.पा वडा नं. २० कि.नं. ५३८ जग्गा देवानी कार्यविधि सहिता, २०७४ को दफा १५६ बमोजिम रोक्का राख्ने तथा पुतलीनानी श्रेष्ठका नाउँमा दर्ता स्रेस्ता रहेको काठमाडौं जिल्ला साबिक काभ्रेस्थली ९क कि.नं. ५८, ५९, ६०, ६१, ८६, ८७, ८८ र ११३ भूमिसुधार कार्यालयबाट फुकुवा भई जाने भएमा र पुतलीनानी श्रेष्ठका नाउँमा दर्ता स्रेस्ता रहेको काठमाडौं जिल्ला पुरानो नैकाप वडा नं. ८ (ख) कि.नं.५५, ५६, ५७, ५८, ६०, ६१, ६३, ६५, ७३, ७४, १००, १०१, १०४, ६६, ६७, ६८, ७०, ७१, ७२ र १०७ काठमाडौं जिल्ला अदालतको च.नं. ३३२६ मिति २०६२/१/१६ को पत्रबाट रोक्का रहेको भन्ने जानकारी प्राप्त भएको देखिँदा सो पत्रको प्रयोजन समाप्त भई फुकुवा भई जाने भएमा देवानी कार्यविधि सहिता, २०७४ को दफा १५६ बमोजिम प्रस्तुत मुद्दाबाट पुनः रोक्का राखिदिएको बैंक खाताहरू रोक्का माग गरेकोमा नेपाल बैंक लि. बाट खाताको विवरण प्राप्त हुँदा खाताहरू अक्षयकोष प्रकृतिको रहेको भनी विवरण प्राप्त हुन आएको देखिएको हुँदा ती बैंक खाताहरू रोक्का राख्न उपयुक्त देखिएन । साथै ललितपुर जिल्ला साबिक डुकुछाप वडा नं. ११५,८,११,१३५ १६ का जग्गाहरू प्रस्तुत मुद्दामा संलग्न नभएका व्यक्तिहरूका नाउँमा रहेको भनी स्रेस्ता प्राप्त हुन आएकोले सो जग्गाहरू रोक्का राख्न मिलेन, कानूनबमोजिम गर्नु भन्नेसमेत बेहोराको यस अदालतको मिति २०७८/१०/१४ को आदेश ।
यसमा निवेदक/पुनरावेदक/प्रतिवादी रत्न कपाली श्रेष्ठ विपक्षी/ वादी पुतलीनानी श्रेष्ठको शे.व. लिने अर्जुन तण्डुकार भएको धर्मपुत्र लिखत बदर मुद्दामा धर्मपुत्रको लिखत बदर गरिपाउँ भनी वादी पुतलीनानी श्रेष्ठले काठमाडौं जिल्ला अदालतमा फिराद गरेकोमा वादी दाबीबमोजिम धर्मपुत्रको लिखत बदर हुने ठहरी मिति २०६७/९/२१ मा फैसला भई सो फैसलाउपर प्रतिवादी रत्न कपाली श्रेष्ठले तत्कालीन पुनरावेदन अदालत पाटनमा पुनरावेदन परेकोमा सुरू अदालतको फैसला सदर हुने ठहरी फैसला भएकोमा सो फैसलाउपर प्रतिवादी रत्न कपाली श्रेष्ठले यस अदालतमा दोहोर्याई पाउँ भनी निवेदन गरेकोमा प्रस्तुत मुद्दा मिति २०७३/९/१३ मा निस्सा प्रदान हुने आदेश भई पुनरावेदन नं. ०७३-CI-०९८९ मा दर्ता भई विचाराधीन अवस्थामा रहेको देखिन्छ ।
प्रस्तुत मुद्दा विचाराधीन रहेको अवस्थामा विपक्षी पुतलीनानी श्रेष्ठ र निजको शे.व. लिने अर्जुन तण्डुकारका नाउँमा तथा भोगमा रहेका जग्गाहरूमध्ये कि.नं. ११०१ अघिल्लो आदेशमा छुट भएको र कि.नं. ११५ को थप जग्गा भेटिएकोले रोक्का राखिपाउँ भनी रत्न कपाली श्रेष्ठले निवेदन गरेको देखियो । निवेदकले रोक्का माग गरेका जग्गाहरूमध्ये पुतलीनानी श्रेष्ठका नाउँमा दर्ता स्रेस्ता रहेको काठमाडौं जिल्ला साबिक काभ्रेस्थली ९क कि.नं ११५ भूमिसुधार कार्यालयबाट फुकुवा भई जाने भएमा प्रस्तुत मुद्दाबाट पुनः रोक्का हुने गरी र रामचन्द्र गुठीका नाउँमा दर्ता स्रेस्ता रही पुतलीनानी श्रेष्ठ मोही रहे भएको काठमाडौं जिल्ला नगर १२ कि.नं. ११०१ को जग्गाहरू देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम प्रस्तुत रोक्का राखिदिएको छ । बैंक खाताहरूका सम्बन्धमा मिति २०७८/१०/१४ मा आदेश भइसकेको हुँदा त्यसतर्फ थप बोलिरहन परेन, कानूनबमोजिम गर्नु भन्नेसमेत बेहोराको यस अदालतको रजिस्ट्रारबाट मिति २०७८/१०/२३ मा भएको आदेश ।
यसमा बहसको क्रममा कानून व्यवसायीहरूबाट पक्षहरूबिच मिलापत्रको सम्भावना रहेको भन्ने व्यक्त भएको हुनाले एक महिनापछि पेसी तोकी नियमानुसार गरी पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०७८/११/१२ मा भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न सम्पूर्ण कागज प्रमाणको अध्ययन गरी पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा, श्री शतिसकृष्ण खरेल तथा श्री एकराज भण्डारी र विद्वान् अधिवक्ता श्री कपिलचन्द्र पोखरेलले पुनरावेदक प्रतिवादीले आफ्नो धर्ममाताउपर उहाँको जीवनकालमा पूरा गर्नुपर्ने आफ्नो दायित्व पूरा गरेको, फिरादमा उल्लेख गरे जस्तो कुनै कार्य नभएको, प्रत्यर्थी वादीले कसैको उक्साहटमा धर्मपुत्र बदरको माग गरेको तर धर्मपुत्रको ११ नं.बमोजिमको बदर गराउन सक्ने अवस्था नभएको हुँदा सुरू फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालतको फैसला नमिलेको हुँदा उल्टी हुनुपर्छ भनी गर्नुभएको बहस सुनियो । वादी पुतलीनानी श्रेष्ठको मु.स.गर्ने अर्जुन तण्डुकारको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल र श्री युवराज भण्डारी तथा विद्वान् अधिवक्ता श्री पूर्णचन्द्र पौडेलले धर्मपुत्र बदर हुँदा निजले आफ्नो बाबु आमाबाट अंश पाउने कानूनी व्यवस्थाबमोजिम निजले अंश पाइसकेका छन् । सुरू फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालतको फैसला मिलेको हुँदा सदर हुनुपर्छ भनी तथा प्रत्यर्थी वादीको तर्फ उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री रमन श्रेष्ठ र श्री मिरा ढुंगाना तथा विद्वान् अधिवक्ताहरू श्री सतिश झा, श्री राधेश्याम मण्डल तथा श्री शैलेन्द्रप्रसाद यादवले फिरादीले जिल्ला अदालतमा फिराद दिँदा माइती र घरतर्फका नाताका व्यक्तिहरू रोहबरमा राखी फिराद दिएकी छिन्, तत्कालीन पुनरावेदन अदालतको आदेशबमोजिम उपस्थित गराइएकी पुतलीनानीले इजलासमा समेत आफ्नो कुरा भनेको अवस्था छ, सुरू अदालतबाट एक तहको फैसला भएपछि मात्र शेषपछिको बकसपत्र दिएको अवस्था हुँदा सुरू फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालतबाट भएको फैसला मिलेकै देखिँदा सदर हुनुपर्छ भनी गर्नुभएको बहस सुनियो ।
उपर्युक्त दुवैतर्फका विद्वान् अधिवक्ताहरूको बहस जिकिर सुनी मिसिल प्रमाणसहितका सम्पूर्ण कागजातहरूको अध्ययन गरी हेर्दा पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छ वा छैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीले पुनरावेदनमा वादीले धर्मपुत्र राख्न इच्छुक भई काठमाडौं महानगरपालिका वडा नं. १२ बाट सिफारिस लिई उहाँको मन्जुरीअनुसार मालपोत कार्यालय, डिल्लीबजारबाट धर्मपुत्रको लिखत रजिस्ट्रेसन भएकोमा वारेसनामा भनी झुक्याई धर्मपुत्रको लिखत पास गरेको विषयमा प्रवेश नै नगरेको, शेषपछिको बकसपत्रको लिखतझैं पक्षले चाहँदैमा धर्मपुत्रको लिखत बदर गर्न पाउने होइन । साथै अरूको उक्साहटमा प्रस्तुत मुद्दा दायर गरेकोमा उक्त कुरा प्रमाण र साक्षीहरूको बकपत्र प्रमाणित हुँदाहुँदै एकतर्फी रूपमा आत्मनिष्ठ रूपमा भएको सुरू र पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने मुख्य जिकिर लिएको देखिन्छ ।
३. मिति २०६५/०९/२८ मा र.नं. ४४११ क बाट धर्मपुत्रको लिखत पारित गरी रत्न कपाली श्रेष्ठलाई धर्मपुत्र राखेकोमा म फिरादीलाई दुई महिनापछि खान लाउन नदिने, घरको सम्पत्ति हेरचाह नगरी दुरूपयोग गर्ने शारीरिक र मानसिक यातना दिने, अपहरण गर्छु, मार्छु भनी डर, धाक, धम्की दिनुको साथै गुण्डा लगाई कुटपिट गर्ने, शारीरिक र मानसिक यातना दिएको हुँदा उल्लिखित मितिको धर्मपुत्रको लिखत मुलुकी ऐन, धर्मपुत्र, धर्मपुत्रीको महलको११ नं.बमोजिम बदर गरिपाउँ भन्नेसमेत फिराददाबी रहेकोमा प्रतिवादीले आफ्नो प्रतिउत्तरपत्रमा आफू बयोवृद्ध, विधवा, नि:सन्तान भई स्याहार सम्भार, औषधी उपचार गर्न तथा भविष्यमा काजकिरिया पिण्डपानी गर्ने भनी धर्मपुत्रको लागि अनुरोध गरेकोले मालपोत कार्यालयबाट रजिस्ट्रेसन गरी धर्मपुत्र ग्रहण भएको र हामी आमा छोराको रूपमा सँग साथ रहे बसेको हुँदा झुठ्ठा फिराद खारेज गरिपाउँ भन्ने जिकिर देखिन्छ । सुरू काठमाडौं जिल्ला अदालतबाट फैसला हुँदा वादी दाबीबमोजिम धर्मपुत्रको लिखत बदर हुने गरी फैसला भएको देखिन्छ । उक्त फैसलाउपर चित्त नबुझाई प्रतिवादीको तर्फबाट तत्कालीन पुनरावेदन अदालत पाटनमा पुनरावेदन गरेकोमा उक्त अदालतबाट समेत सुरू अदालतको फैसला सदर हुने गरी फैसला भएको देखिन्छ । उक्त फैसलाउपर चित्त नबुझाई प्रतिवादीको तर्फबाट यस अदालतमा मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदनमा अनुमति प्राप्त भई पुनरावेदनको रोहमा प्रस्तुत मुद्दा दर्ता हुन आएको देखिन्छ ।
४. सो सन्दर्भमा हेर्दा, प्रत्यर्थी वादी पुतलीनानी श्रेष्ठले आफ्नो फिराद दाबीमा धर्मपुत्र रत्न कपाली श्रेष्ठले खान लाउन नदिएको, घरको सम्पत्तिको हेरचाह नगरेको, दुरूपयोग गरेको तथा शारीरिक र मानसिक यातना दिएको साथै गुण्डा लगाउने, आफूलाई हेरचाह गर्ने मानिसलाई समेत कुटपिट गरी आफ्नो साथमा बस्न नदिने गरी अन्याय गरेकोले धर्मपुत्रको लिखत बदर गरिपाउँ भनी मिति २०६६।५।५ मा फिराद दिएको देखिन्छ । मिसिल हेर्दा, वादी पुतलीनानी श्रेष्ठले यी पुनरावेदक प्रतिवादी रत्न कपाली श्रेष्ठलाई मिति २०६५/०९/२८ मा र.नं. ४४११ क बाट धर्मपुत्रको लिखत रजिस्ट्रेसन गरी धर्मपुत्र ग्रहण गरेको भन्ने देखिन्छ । उक्त धर्मपुत्रको लिखत गरिदिने यी वादी ८२ वर्षको वृद्ध, एकल महिला रहेछन् भन्ने फिरादपत्रको बेहोराबाट देखिन्छ । उक्त धर्मपुत्रको लिखत बदर गराउन प्रत्यर्थी वादी आफैँले जिल्ला अदालत काठमाडौंमा गई मिति २०६६।५।१५ मा फिराद दर्ता गराएको मिसिलबाट देखिन्छ । उल्लिखित मितिको धर्मपुत्र बदर गराउन प्रत्यर्थी वादी धर्मपुत्र राखेको छोटो समय व्यतीत नहुँदै धर्मपुत्र बदरको लागि अदालत प्रवेश गरेको देखिएको छ । धर्मपुत्रको लिखत ग्रहणदेखि बदर गराउन भनी अदालत प्रवेश गरेको समयावधि हेर्दा, मिति २०६५।९।२८ देखि २०६६।५।१५ सम्म करिब करिब आठ महिनाको समयावधि नपुग्दै छोटो समयमा नै उल्लिखित मितिको धर्मपुत्रको लिखत विवादमा आई यी वादी पुतलीनानी श्रेष्ठ अदालतमा प्रवेश गरेको भन्ने देखिन्छ । प्रतिवादीले आफ्नो प्रतिउत्तरपत्रमा वादीले लगाएको आरोपलाई इन्कार गर्दै विपक्षी पुतलीनानी श्रेष्ठका पति र आफ्नो जन्म दिने पिताबिच मितेरी सम्बन्ध भई पुतली नानीले नै आफ्नो घरमा आई म बयोवृद्ध विधवा नि:सन्तान भई स्याहार सम्भार तथा भविष्यमा काजकिरिया गर्न र कोही नभएकोले धर्मपुत्र राख्ने इच्छाबमोजिम धर्मपुत्र राखेको भनी उल्लेख गरे पनि उक्त धर्मपुत्रको लिखतको बेहोरा हेर्दा प्रतिवादीले प्रतिउत्तरमा उल्लेख गरेको मितेरी नाता लिखतमा खुल्न भने सकेको देखिँदैन ।
५. एक पटक रीतपूर्वक धर्मपुत्र ग्रहण गरिसकेपछि उक्त धर्मपुत्रको अधिकार आफ्नो प्राकृतिक सन्तानको जस्तो आजीवन रहने हो वा उक्त लिखत बदर गराउन सकिने हो भन्ने कुरा प्रस्तुत मुद्दामा महत्त्वपूर्ण प्रश्नको रूपमा देखिएको छ, साबिक मुलुकी ऐन, धर्मपुत्रको महलको ११ नं. मा भएको कानूनी व्यवस्था हेर्दा “ऐनको रीत पुर्याई धर्मपुत्र वा धर्मपुत्री राखिसकेपछि कुनै खास कारण नभई बदर गर्नु हुँदैन । धर्मपुत्र वा धर्मपुत्री बस्नेले धर्मपुत्र वा धर्मपुत्री राख्नेलाई खान लाउन नदिने, घरको सम्पत्तिको हेरचाह नगरी दुरूपयोग गर्ने, शारीरिक वा मानसिक यातना दिने जस्ता कार्य गरेमा धर्मपुत्र वा धर्मपुत्री राख्नेले त्यस्ता धर्मपुत्र वा धर्मपुत्री बदर गर्न पाउँछन् । बदर हुने धर्मपुत्र वा धर्मपुत्रीले जन्माउने बाबुपट्टिको अंश पाउँछन्” भन्ने व्यवस्था रहेको देखिन्छ । उल्लिखित कानूनी व्यवस्था हेर्दा धर्मपुत्र वा धर्मपुत्री बस्नेको मुख्य दायित्व भनेको धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको हक हितको संरक्षण गर्ने तथा हेरचाह तथा पालन पोषण गर्ने भन्ने देखिन्छ । तर यस्तो धर्मपुत्र/ धर्मपुत्री राख्ने र धर्मपुत्र/धर्मपुत्री बस्ने धर्मपुत्र वा धर्मपुत्रीको सम्बन्ध प्राकृतिक सन्तानको जस्तो निरपेक्ष सम्बन्ध भने होइन । अर्थात् खास आधार र कारण भएमा बदर गराउन पनि सक्ने भन्ने उल्लिखित कानूनी व्यवस्थाबाट स्पष्ट देखिन्छ ।
६. धर्मपुत्र लिखत बदर सम्बन्धमा यस अदालतको विशेष इजलासबाट नेपाल बाल सङ्गठनका तर्फबाट आफ्नो हकमा समेत अधिवक्ता सन्तोष भट्टराईसमेत विरूद्ध नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भएको उत्प्रेषण / परमादेश मुद्दामा (२०७२ अङ्क १०, नि.नं. ९४७५) “धर्मपुत्र तथा धर्मपुत्री राख्ने र धर्मपुत्र धर्मपुत्री बस्ने बिचको सम्बन्ध जैविक वा प्राकृतिक सम्बन्ध नभई कानूनबाट स्थापित सम्बन्ध हो । कुनै व्यक्ति कसैको धर्मपुत्र तथा धर्मपुत्री हुने कुरा संविधानबाट स्थापित गरिएको हकको विषय होइन । धर्मपुत्र तथा धर्मपुत्री राख्ने र बस्ने व्यक्तिको बिचमा कानूनले तोकेको सर्तको अधीनमा रही हुने आपसी सहमतिका आधारमा कानूनबमोजिमको लिखत भएपछि मात्र धर्मपुत्र तथा धर्मपुत्रीको हक र दायित्व सिर्जना हुने, कानूनी सम्बन्धबाट सिर्जना हुने कानूनी अधिकारको उपभोग गर्दा कानूनले तोकेको सर्त र दायित्वको समेत पालना गरेको हुनुपर्दछ, अन्यथा त्यस्तो अधिकार अकाट्य वा नैसर्गिक अधिकारको रूपमा रहन नसक्ने” भनी व्याख्या भएको देखिन्छ । उल्लिखित यस अदालतको फैसलासमेतबाट पनि धर्मपुत्रको लिखत कानूनबाट स्थापित सम्बन्ध हुने हुँदा प्राकृतिक वा जैविक सम्बन्ध जस्तो नैसर्गिक अधिकारको रूपमा रहने भन्ने देखिँदैन भने कानूनी अधिकारको उपभोग गर्दा कानूनले तोकेको सर्त र दायित्वसमेत पालना गर्नुपर्ने भन्ने देखिन्छ ।
७. मिसिल संलग्न कागजात हेर्दा का.म.न.पा. वडा नं. २७ बस्ने उषा श्रेष्ठको हकमा बुहारी सानुमैया श्रेष्ठले जिल्ला प्रशासन कार्यालयमा मिति २०६६।४।२५ मा शान्ति सुरक्षा कायम गरी जिउ धन र धर्मको सुरक्षा गरिपाउँ भनी निवेदन दिएको निवेदनको पेटबोलीमा हाम्रो गुठियार रहेकी पुतलीनानी श्रेष्ठ र अन्य गुठियारहरू भई पालो पालो गुठी चलाउने गरेकोमा रत्न कपाली श्रेष्ठ भन्ने व्यक्तिले म पुतलीनानी श्रेष्ठको धर्मपुत्र हुँ, मैले गुठीको पालो चलाउन पाउनुपर्छ भनी हामीहरू बसोबास गरेको भवनमा आई हामीहरूलाई धाक धम्की दिई गाली बेइज्जती गरेको र आजसम्म बुढी बज्यैको खानपान औषधी उपचारसमेत यसै गुठीको भवनमा बसोबास गर्दै आउनु भएका राम श्रेष्ठले गर्दै आउनुभएको छ भन्ने उल्लेख गरेको देखिन्छ । साथै सधैँ अर्काको घर कम्पाउन्डभित्र १०-१५ जना व्यक्ति बोलाई ल्याई हुल हुज्जत गर्ने र ज्यान मार्नेसमेत धम्की दिने रत्न कपाली विरूद्ध छानबिन तथा जिउ धनको सुरक्षा गरिपाउँ भन्ने बेहोरा उल्लेख गरेको देखिन्छ । फिरादी पुतलीनानी श्रेष्ठको हकमा का.जि.का.म.न. पा. वडा नं. १२ बस्ने नाति नाता पर्ने हरिबहादुर श्रेष्ठले फिराद दर्ता गरेकै दिन मिति २०६६।५।१५ मा शान्ति सुरक्षा गरिपाउँ भनी जिल्ला प्रशासन कार्यालय काठामाडौंमा दर्ता गरेको निवेदनको बेहोरामा ...रत्न कपालीले नचिनेका मानिसहरू घरमा ल्याउने, डर, धाक, धम्की दिने कार्य गरेकोले जिउ ज्यानको समेत सुरक्षा नभएको हुँदा घरमा आई हुलदङ्गा गर्ने, डर, धाक, धम्की दिने, अपरिचित मानिसहरूको समेत निजबाट वतन खोल्न लगाई यस कार्यालयमा उपस्थित गराई म वृद्ध पुतलीनानी श्रेष्ठको शान्ति सुरक्षा गरिपाउँ भन्ने उल्लेख गरेको देखिन्छ । उल्लिखित निवेदनको बेहोराबाट पनि प्रत्यर्थी वादीले आफूलाई पालन पोषण गर्ने, हेरचाह गर्ने तथा भविष्यमा काजकिरिया गर्नेसमेतको लागि भनी राखेको धर्मपुत्र विरूद्ध विनाकारण यी पुनरावेदक प्रतिवादीबाट भएका त्यस्ता क्रियाकलाप रोकी वृद्ध अवस्थामा शान्ति सुरक्षाको माग राखी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने अवस्था हुने थिएन । साथै वादीको घरमा बसी निज पुतलीनानी श्रेष्ठलाई खाना पकाइदिने, स्याहार सुसार गरिदिने वादीका साक्षी शान्ति हुमगाईले सुरू अदालतमा बकपत्र गर्दा स.ज. ६ मा धर्मपुत्र बनेका रत्न कपालीले यी वादी पुतलीनानीको हेरविचार केही पनि गरेका छैनन् । बज्यै सुत्ने कोठामा समेत बज्यैलाई सुत्न दिएका छैनन् भन्ने उल्लेख गरी बकपत्र गरेको देखिन्छ भने अर्को साक्षी प्रेम रंजितकारसमेतले स.ज. ६ मा धर्मपुत्रले जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने दायित्व पूरा नगरेको भन्ने उल्लेख गर्दै शारीरिक, मानसिक यातना दिई तनाव उत्पन्न गराएको भनी वादीको माग वादी वास्तविकतादेखि टाढा छैन भनी गरेको बकपत्रबाट समेतबाट वादीको फिराद दाबी अन्यथा देखिन आएन ।
८. यस्तै तत्कालीन पुनरावेदन अदालतमा वादी आफैँ उपस्थित भएको भन्ने कुरा फैसलामा उल्लेख गरेको देखिन्छ । उक्त फैसलामा “यस अदालतको मिति २०६९।०२।२२ को आदेशबमोजिम बोकाइएर यस इजलाससमक्ष उपस्थित हुनुभएकी वादीलाई इजलासबाट सोधपुछ गर्दासमेत धर्मपुत्रको लिखत बदर गरिपाउँ भन्ने फिरादपत्रको कुरा नै पुनरावृत्ति गर्नुभएकोले कसैको उक्साहटमा फिरादपत्र दायर गरेको” भन्ने बेहोराबाट वादी स्वयंको भनाइले समेत प्रामाणिक मूल्य पाउने भई अन्यथा भन्न सकिने देखिँदैन । पुनरावेदक प्रतिवादीले अरूको उक्साहटमा फिराद दिएको भनी पुनरावेदन जिकिर लिए पनि मिसिल संलग्न अन्य कागजातबाट वादीले कसैको उक्साहटमा वा झुक्कानमा फिराद दिएको भन्ने खुल्दैन । उमेरले ८२ वर्षीय वृद्धा वादी आफैँ अदालतमा उपस्थित भई फिराद दिनु तथा पुनरावेदन अदालतमा समेत उपस्थित भई आफ्नो भनाइ राख्नु वादी पुतलीनानीको फिराद बेहोरा तथा त्यसमा समेत आधारित भई भएका जिल्ला र पुनरावेदन अदालतका फैसलालाई अन्यथा भनिरहनुपर्ने देखिएन ।
प्रस्तुत मुद्दामा फिरादीले आफ्नो जीवनकालको अन्तिम समयतिर धर्मपुत्रको लिखत गरिदिएको र उक्त लिखत मन्जुरीले गरेको नभई झुक्याई गरेको भन्ने फिरादमा उल्लेख भएको र छोटो समयमा नै धर्मपुत्र ग्रहण गरेको करिब आठ महिनाको अन्तरालमा ८२ वर्षीय वृद्धा आफैँले सुरू जिल्ला अदालतमा फिराद दिएको साथै तत्कालीन पुनरावेदन अदालत पाटनमा समेत निज आफैँ उपस्थित भई उक्त लिखत बदर गरिपाउँ भनी उल्लेख भएको फैसलाको बेहोराबाट देखिन्छ । वृद्ध अवस्थामा अरूको स्याहार सुसार तथा सहारामा बाँच्नुपर्ने अवस्था तथा सुरक्षित र सुखमय जीवन होला भन्ने उद्देश्यले राखिने धर्मपुत्रले उल्लिखित उद्देश्यविपरीत शान्ति सुरक्षाको माग राखी निवेदन दिनुपर्ने अवस्थाको सिर्जना हुनु धेरै नै अस्वाभाविक देखिन्छ । अर्थात् आफूलाई पालन पोषण गर्नुपर्ने अवस्थामा धर्मपुत्र राखेको छोटो समयमा नै बदरको लागि फिराद दिनुपर्ने कारण विचारणीय
देखिन्छ । धर्मपुत्रको लिखत बदर नै हुन नसक्ने, एक पटक लिखत पारित गरिदिएपछि प्राकृतिक सन्तानले प्राप्त गर्ने अधिकार जस्तो अटल रहने कागजात पनि होइन । धर्मपुत्र भइसकेपछि धर्मपुत्र बस्नेले आफ्ना धर्मपुत्र राख्ने आमा बाबुप्रतिको दायित्व र कर्तव्य पूर्ण रूपमा पूरा गरेमा निजले प्राकृतिक छोरासरह नै अधिकार प्राप्त गर्दछ, कानूनले समेत संरक्षण प्रदान गरेको धर्मपुत्रको लिखतभित्र अन्तरनिहित विषय सम्पत्तिको मोहभन्दा पनि धर्मपुत्र दिने व्यक्तिको हेरचाह, सहारा र सम्पत्तिको संरक्षणतर्फको विषय महत्त्वपूर्ण हुने देखिन्छ ।
९. फिरादपत्रमा वादीले झुक्याई धर्मपुत्र लिखत पास भएको भन्ने कुरा झुट्ठा र पत्यारलायक हुन नसक्नेमा उक्त विषयमा प्रवेश नै नगरी भएको फैसला त्रुटिपूर्ण छ; मैले धर्म माताउपर उहाँको जीवनकालमा पूरा गर्नुपर्ने आफ्नो दायित्व पूरा गरेकोबाट फिरादमा उल्लिखित कुनै कार्य नभएको भनी पुनरावेदक प्रतिवादीले जिकिर लिएको सन्दर्भमा हेर्दा धर्मपुत्र राख्ने धर्ममाता नै धर्मपुत्रको लिखत नै बदरको माग दाबी लिएर अदालतमा आइसकेपछि झुक्याई धर्मपुत्रको लिखत पास गरेको हो भन्ने विषयमा चर्चा गर्नुपर्ने देखिएन । पुनरावेदक प्रतिवादीले शेषपछिको बकसपत्रको लिखतझैं पक्षले चाहँदैमा धर्मपुत्रको लिखत बदर गर्न पाउने होइन, धर्मपुत्रको ११ नं.बमोजिमको आधार र कारण हुनुपर्छ साथै धर्मपुत्र रहेको कारण माता, पितामाथि छोराको दायित्व टुट्न पुगी अंश माग गर्ने नैतिकता गुम्न गएको भन्ने जिकिर लिनुभएको सन्दर्भमा हेर्दा धर्ममाता फिरादी आफैँ छोटो समयमा धर्मपुत्रको लिखत बदरको माग गरी अदालत प्रवेश गरेको साथै पुनरावेदन अदालतमा समेत उपस्थित भई सोही कुरा दोहोर्याउनु भएको अवस्था हुँदा फिरादीको कुराले प्रामाणिक महत्त्व पाउने नै देखिन्छ । यस सम्बन्धमा फिरादीका साक्षीहरूको भनाइबाट समेत उल्लिखित तथ्य प्रमाणित भएको देखिन्छ । त्यस्तै साबिक मुलुकी ऐन, धर्मपुत्रको महलको ११ नं. मा धर्मपुत्र बदर भएमा जन्माउने बाबुपट्टिबाट अंश पाउँछ भन्ने व्यवस्था भएको देखिँदा निज प्रतिवादीको मिति २०६५।९।२८ मा धर्मपुत्रको लिखत गर्दा ३६ वर्षको उमेर रहेको भन्ने निजको नागरिकताबाट देखिएको र मिति २०६५।०९।२८ मा धर्मपुत्रको लिखत पारित गर्दा निजको एकाघरका दाजु राम कपाली श्रेष्ठ साक्षी बस्नुभएको अवस्था देखिन्छ । धर्मपुत्रको लिखत पारित गर्दादेखि धर्मपुत्र बदरको लागि अदालत प्रवेश गर्दाको अवधि करिब आठ महिना मात्र पुगेको, बाबु आमातिरको अंश त्याग गरेको भन्ने नदेखिएको साथै मुलुकी ऐन, धर्मपुत्रको महलको ११ नं.बमोजिमको धर्मपुत्रको लिखत बदर भएमा अंश पाउने भन्ने कानूनी व्यवस्था रहेको परिप्रेक्ष्यमा कानूनले नै अंश प्राप्त गर्ने हकलाई सुरक्षित गरेको देखिँदा धर्मपुत्र बदर हुँदैमा पुनरावेदक प्रतिवादी निरंशी हुने भन्ने देखिँदैन ।
१०. मिसिल संलग्न कागजात हेर्दा, प्रस्तुत मुद्दामा अर्जुन तण्डुकार (श्रेष्ठ) ले प्राप्त गरेको शेषपछिको बकसपत्र (अष्टलोह) मिति २०६७।११।१६ मा दिने यसै मुद्दाका वादी पुतलीनानी श्रेष्ठ र लिने अर्जन तण्डुकार भई उक्त लिखत पारित भएको
देखिन्छ । उक्त शेषपछिको बकसपत्रको (अष्टलोह) लिखत प्रस्तुत मुद्दा सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६७।९।२१ मा फैसला भइसकेपछि तयार पारेको भन्ने देखिन्छ । यस मुद्दाको मिसिल संलग्न कागजातहरू हेर्दा, उक्त शेषपछिको बकसपत्र (अष्टलोह) प्राप्त गर्ने निज अर्जुन तण्डुकारको यस मुद्दाका वादी पुतली नानी श्रेष्ठसँग नजिकको कुनै नाता सम्बन्ध वा सेवासमेत गाँसिएको खुल्दैन । यद्यपि उक्त सेवाको सम्बन्धमा प्रस्तुत मुद्दामा विषय उठेको नभए तापनि सो शेषपछिको बकसपत्र निज पुतलीनानी श्रेष्ठको उमेर, सम्पत्ति र प्रस्तुत मुद्दाको विवादको परिप्रेक्ष्यमा विचारणीय प्रकृतिको देखिन्छ ।
११. यसमा २०६६ सालको भाद्र महिनासम्म निज पुतलीनानी श्रेष्ठको धर्मपुत्रको रूपमा रत्नकपाली श्रेष्ठ नै रहेको विषयमा कुनै सवाल नउठाएको, मिति २०६७।९।२१ मा काठमाडौं जिल्ला अदालतबाट धर्मपुत्र बदर गर्ने गरी फैसला भएपश्चात् उक्त फैसलाउपर मिति २०६७।१०।१४ मा रत्नकपाली श्रेष्ठले पुनरावेदन गरेको दुई दिनभित्रै २०६७।१०।१६ मा अर्जुन तण्डुकारको नाममा शेषपछिको बकसपत्र (अष्टलोह) को लिखत गरिएको देखिन्छ । केही समयअघिसम्म कानूनी संरक्षकको रूपमा धर्मपुत्र भएकी ८२ वर्षीय अति वृद्धा पुतलीनानी श्रेष्ठले अदालतमा फिराद गरी धर्मपुत्र बदर गराएपश्चात् उक्त फैसलाउपर पुनरावेदन पर्ने बित्तिकै शेषपछिको बकसपत्र (अष्टलोह) को लिखत गरी वस्तुगत रूपमा पालनपोषण गरेको कुनै ठोस तथ्य प्रमाण नदेखिएको आफ्नो नातागोताभन्दा बाहिरको व्यक्तिले खान पाउने गरी आफ्नो सम्पूर्ण श्रीसम्पत्ति स्वतन्त्र रूपमा हस्तान्तरण गर्ने कुरा स्वाभाविक देखिँदैन ।
१२. प्रस्तुत मुद्दामा फिरादी पुतलीनानी श्रेष्ठको नजिकको नाता सम्बन्धका व्यक्तिहरू प्रत्यक्ष रूपमा संलग्न भएको देखिँदैन । निज पुतलीनानीको मिति २०७०।९।११ मा मृत्यु भइसकेको भन्ने वीर अस्पतालको मिति २०७०।९।१५ को मृत्यु प्रमाणपत्र (death certificate) बाट देखिँदा निजको यथार्थमा स्याहार सुसार तथा काजकिरिया कसले गर्यो भन्ने सम्बन्धमा यस मुद्दामा सूचना उपलब्ध भएको
देखिँदैन । यस परिप्रेक्ष्यमा नि:सन्तान पुतलीनानी श्रेष्ठको मृत्यु भइसकेबाट निजको अपुतालीको सम्बन्धमा को हुने हो वा मुलुकी देवानी संहिता, २०७४ को दफा २४८ मा भएको कानूनी व्यवस्था आकर्षित हुने हो भन्ने सम्बन्धमा प्रस्तुत मुद्दामा धर्मपुत्र लिखतबारेमा सम्म प्रश्न उठेकोबाट शेषपछिको बकसपत्रको विषयमा प्रत्यक्ष रूपमा प्रश्न नउठेकोले यो मुद्दाबाट सो सम्बन्धमा बोल्न मिल्ने देखिएन ।
१३. अब तत्कालीन पुनरावेदन अदालतबाट मिति २०६९।०३।०६ मा भएको फैसला मिलेको छ वा छैन वा पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन भन्ने सन्दर्भमा हेर्दा, माथि उल्लिखित आधार, कारणबाट ८२ वर्षीया एकल, वृद्ध महिला वादी आफैँले राखेको धर्मपुत्र बदर गराउन फिराद दाबी लिएर स्वयम् अदालतमा प्रवेश गरेको, उहाँले उल्लेख गर्नुभएको आधार र कारण युक्तिसङ्गत होइनन् भन्न सकिने अवस्था पनि नरहेको, धर्मपुत्र वा धर्मपुत्रीको सम्बन्ध प्राकृतिक सन्तानको जस्तो निरपेक्ष सम्बन्ध नभई धर्मपुत्र बस्ने व्यक्तिले कानूनबमोजिमको दायित्व पूरा नगरेमा बदर गराउन सक्ने भन्ने कानूनी व्यवस्था रहेको साथै तत्कालीन पुनरावेदन अदालतसमक्ष पनि वादी स्वयम् उपस्थित भई बदर हुनुपर्ने भनाइ दोहोर्याउनु भएको भन्ने उल्लिखित फैसलाको बेहोराबाट देखिई मिति २०६५।९।२८ मा र.नं. ४४११ क बाट पारित धर्मपुत्रको लिखत बदर हुने ठहर गरी सुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०६९।०३।०६ मा भएको फैसला मिलेकै देखिँदा सो हदसम्म सदर हुने ठहर्छ । पुतलीनानी श्रेष्ठको हक लाग्ने चल अचल सम्पत्तिसम्बन्धी आवश्यक कानूनी प्रक्रिया पूरा गर्ने कर्तव्य सम्बन्धित भूमिसुधार तथा मालपोत कार्यालयमार्फत भएको देखिएकोले प्रस्तुत मुद्दाको फैसला प्रति सम्बन्धित भूमिसुधार तथा मालपोत कार्यालय, काठमाडौंमा आवश्यक निर्णय गर्न लेखी पठाउनू । पुनरावेदन जिकिरबमोजिम गरिपाउँ भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न
सक्दैन । अरू तपसिलबमोजिम गर्नू ।
तपसिल खण्ड
माथि ठहर खण्डमा लेखिएबमोजिम प्रस्तुत मुद्दाको प्रमाणित प्रति आवश्यक कारबाहीको लागि भूमि सुधार तथा मालपोत कार्यालयमा लेखी पठाउनू..............१
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी विद्युतीय प्रणालीमा प्रविष्ट गरी नियमानुसार अभिलेख शाखामा बुझाइदिनू.....................................................१
उक्त रायमा सहमत छु ।
न्या.डा.आनन्दमोहन भट्टराई
इजलास अधिकृत: शारदादेवी पौडेल
इति संवत् २०७९ साल मंसिर २० गते रोज ३ शुभम् ।