शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १११२६ - निर्णय बदर हक कायम

भाग: ६५ साल: २०८० महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना

फैसला मिति: २०७९।५।२८

०७०-CI-०६३८

 

मुद्दाः- निर्णय बदर हक कायम

 

पुनरावेदक/प्रतिवादी : भक्तपुर जिल्ला मध्यपुर ठिमी न.पा. वडा नं. ११ बस्ने विष्णु श्रेष्ठ

विरूद्ध

प्रत्यर्थी/वादी : भक्तपुर जिल्ला मध्यपुर ठिमी न.पा. वडा नं. ११ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ४ चण्डोल बस्ने पंचकृष्ण श्रेष्ठ

 

जुन सम्पत्तिको पूर्ण स्वामित्व प्राप्त भइसकेको हुँदैन त्यस्तो सम्पत्ति स्वाभाविक रूपमा तत्काल बन्डायोग्य हुँदैन । दर्ता छुटभित्र परेको र दर्ता भई नसकेको जग्गामा जसका नाउँमा दर्ताको प्रक्रिया चलेको छ उसकै स्वामित्व प्राप्त भइसकेको नदेखिएको र निजकै सम्पत्ति कायम भई नसकेको सम्पत्तिको साम्पत्तिक हक हस्तान्तरण हुने गरी स्पष्ट नजनिएको शेषपछिको बकसपत्रकै आधारमा मात्र एकलौटी हक प्राप्त हुन नसक्ने ।

(प्रकरण नं. ७)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री नारायण दुवाडी, श्री चिरञ्जीवी नेपाल, श्री रामबहादुर कार्की र श्री बद्रीप्रसाद पौडैल

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री प्रमोद रेग्मी र श्री भोजराज भट्ट

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने

मा. जि. न्या. श्री चण्डीराज ढकाल

भक्तपुर जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

मा. न्या. श्री हरिकुमार पोखरेल

मा. न्या. श्री विमलप्रसाद ढुंगेल

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या. विश्वम्भरप्रसाद श्रेष्ठ: न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

तथ्य खण्ड

स्व. पञ्चबहादुर श्रेष्ठ म फिरादीको पिता हुनुहुन्छ । स्व. पिता पञ्चबहादुर र आमा रत्नमायाको तर्फबाट जेठा विपक्षी विष्णु श्रेष्ठ र कान्छो म फिरादी गरी दुई छोराहरूको जन्म भएको छ । पिता पञ्चबहादुरको २०५३ सालमा र आमा रत्नमायाको २०६४ सालमा परलोक भयो । आमाको भागमा परेको सम्पूर्ण सम्पत्ति विपक्षीले आफ्ना नाउँमा दर्ता नामसारी गरी लगी र आमाको अन्तिम अवस्थामा सहभागीसमेत नभएका विपक्षीले दर्ता बाँकी भक्तपुर जिल्ला, भीमसेन गा.वि.स. वडा नं.५. कि.नं.४५० क्षे फ.०-६-० जग्गा आमा रत्नमायाको नाउँबाट मेरा नाउँमा नामसारी दर्ता गर्नुपर्ने सो नगरी हक कायम गरी ल्याउनु भनी गरिएको मालपोत कार्यालय भक्तपुरको मिति २०६६।१२।१५ को निर्णय बदर गरी मेरा नाउँमा नामसारी गरी दर्ता गरिपाउँ भन्नेसमेत बेहोराको वादीको फिराद दाबी । 

मेरो नाउँमा नामसारी हक कायम हुनुपर्ने उक्त कि.नं.४५० को जग्गामा विपक्षी वादीले झुट्टा दाबी गरी अन्याय गरिआएको छ । यसै जग्गासमेतको विषयमा विपक्षीले विभिन्न अड्डामा अदालतमा मुद्दा हारिसकेका छन् । विपक्षीले यसरी अनावश्यक मुद्दा मामिला गरी दुःख हैरानी दिई अन्याय गरी आएको हुँदा विपक्षीको फिराद दाबी खारेज गरी न्याय दिलाइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी विष्णु श्रेष्ठको प्रतिउत्तर जिकिर । 

रत्नमाया श्रेष्ठले आफ्नो शेषपछि आफ्नो बाँकी रहेको सम्पत्ति यी प्रतिवादी विष्णु श्रेष्ठले खान पाउने गरी शेषपछिको बकसपत्र प्राप्त गरेको 

देखियो । आफूले मृत्यु हुने अवस्थामा आमालाई हेरचाह पिण्डपानी गरेको भन्ने उल्लेख गरे पनि रत्नमाया श्रेष्ठ र यी वादीसमेत छुट्टी भिन्न भई बसेको भन्ने प्रमाणको रूपमा संलग्न पुनरावेदन अदालतको फैसलासमेतबाट देखिएको र आफ्नो भागको सम्पत्ति आफूखुसी गर्न पाउने कानूनी व्यवस्थासमेत भएकोले विवादित जग्गा आफ्नो नाममा दर्ता गरी हक कायम गरिपाउँ भन्ने वादीको दाबी पुग्न नसक्ने ठहर्छ भन्ने भक्तपुर जिल्ला अदालतको फैसला । 

आमा रत्नमाया श्रेष्ठले आफ्नो शेषपछि बाँकी रहेको सम्पत्ति खान पाउने गरी मिति २०५७।२।१२ मा दिइएको भनिएको सम्पत्ति मिति २०५७।१।२० मा भक्तपुर जिल्ला अदालतबाट भएको अंश मुद्दाको फैसलाको तपसिल-खण्डमा उल्लिखित आमा रत्नमायाको भागमा परेको सम्पत्ति मात्रै हो । उक्त फैसला हुँदाको बखतसम्म दर्ता भएको अवस्था नभएको र दर्ता हुँदाका बखत कानूनबमोजिम हुने गरी दर्ता हुन बाँकी रहेको कारण बन्डा जान नसकेको स्पष्टै छ । दर्ता बाँकी रहेको विवादित कि.नं.४५० को जग्गाको ३ भागमध्ये आमा रत्नमायाको भागमा पर्ने सम्पत्ति मलुकी ऐन, अपुतालीको ७ नं. बमोजिम म पुनरावेदकको हकमा रहनुपर्दछ । सर्भे नापीमा दर्ता भएकै कारणले आफूखुस गर्न पाउने अवस्थासमेत 

छैन । दाइजो पेवा वा अन्य उपायबाट निजी आर्जन गरी जोडिएको बाहेक अन्य सम्पत्ति प्रमाण ऐन, २०३१ को दफा ६(क) बमोजिम अंशियार सबैको हक लाग्ने निर्विवाद छ । त्यसतर्फ विचार नगरी आमा रत्नमायाको नाममा भएकै कारण बकसपत्रभित्र परेको कायम गरी मेरो दाबी नपुग्ने गरी भए गरिएको फैसला उल्लिखित ऐनको विपरीत हुनुको साथै मुलुकी ऐन, अं.१८४(क) १८५ प्रमाण ऐन, २०३१ को दफा ३, ५४ को विपरीत रहेकोले सो भक्तपुर जिल्ला अदालतबाट गरिएको फैसला बदर गरी मेरो वादी दाबीबमोजिम हुने गरी न्याय पाउँ भन्नेसमेत पुनरावेदन अदालत पाटनमा परेका वादीको पुनरावेदन पत्र । 

सो जग्गामा वादीको आधा हक हिस्सा लाग्नेमा वादी दाबी पुग्न नसक्ने ठहर गरेको भक्तपुर जिल्ला अदालतको मिति २०६७।११।१२ को फैसला मिलेको नदेखिँदा केही उल्टी भई दाबीको कि.नं. ४५० को ०-६-०-० को जग्गामध्ये आधा जग्गामा पुनरावेदक वादीको हक कायम भई निजको नाममा दर्ता हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०७०।५।१७ को फैसला । 

विपक्षीले आमा रत्नमायालाई पालन पोषण गरेको होइन आमाको सम्पत्तिमा विपक्षीलाई अपुताली पर्ने नै होइन । यस्तो अपुताली नै नपर्ने विपक्षीले अपुताली परेको भनी गरेको झुठ्ठा गैरकानूनी दाबीमा सुरूबाट हारेपछि अंश हकको सम्पत्ति हरण भयो भनेर सुरू दाबीमा परिवर्तन गरी लेखिएको पुनरावेदन पत्र सुनुवाइलायक थिएन । यसरी पुनरावेदन तहमा थप दाबी लिन मिल्दैन, (स.अ. बुलेटिन २०७० जेठ १६-३१ पूर्णाङ्क ५०२ पृष्ठ ८) पुनरावेदन अदालतले आफूखुसी गरी लिन, हेर्न र ठहर गर्न नमिल्ने कुरामा गरेको प्रस्तुत फैसला बदरभागी छ भन्ने बेहोराको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र । 

यसमा शेषपछिको बकसपत्र जसले पाएको छ उसको हक सिर्जना गर्न शेषपछि दिनेको मृत्यु भएको देखिनुपर्छ । त्यसरी शेषपछिको हक भएको पक्षलाई शेषपछिको बकसपत्रलाई मान्यता नदिई गरेको फैसला प्रमाणको विवेचनाको रोहमा फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि नियमानुसार पेस गर्नु भन्ने मिति २०७४।७।२१ को यस अदालतको आदेश । 

यस अदालतको ठहर

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरू श्री नारायण दुवाडी, श्री चिरञ्जीवी नेपाल, श्री रामबहादुर कार्की र श्री बद्रीप्रसाद पौडेलले आमाबाट शेषपछिको बकसपत्र पाएको सम्पत्तिमा वादीको समेत आधा हिस्सा हक लाग्ने ठहर गरेको तत्कालीन पुनरावेदन अदालतको फैसला उल्टी हुनुपर्छ भन्ने बेहोराको बहस प्रस्तुत गर्नुभयो ।

प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरू श्री प्रमोद रेग्मी र भोजराज भट्टले अंशबन्डा हुँदा दर्ता नै नभएको उल्लिखित कित्ता जग्गा दर्ता भएपश्चात् स्वाभाविक रूपमा वादीको समेत आधा हक लाग्ने भएकाले तत्कालीन पुनरावेदन अदालतको फैसला सदर हुनुपर्छ भन्ने बेहोराको बहस प्रस्तुत गर्नुभयो । 

उपर्युक्तानुसारको बहस जिकिर सुनी मिसिल संलग्न पुनरावेदन पत्रलगायतका कागज प्रमाण अध्ययन गरी हेर्दा सुरूको फैसला केही उल्टी गरेको तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ, छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? सोही विषयमा निर्णय दिनुपर्ने हुन आयो । 

२. निर्णयतर्फ विचार गर्दा कि.नं.४५० क्षे. फ.०-६-० जग्गा आमा रत्नमायाको नाउँबाट मेरा नाउँमा नामसारी दर्ता गर्नुपर्ने सो नगरी हक कायम गरी ल्याउनु भनी गरिएको मालपोत कार्यालय भक्तपुरको मिति २०६६।१२।१५ को निर्णय बदर गरी मेरा नाउँमा नामसारी गरी दर्ता गरिपाउँ भन्नेसमेत बेहोराको वादीको फिराद दाबी । मेरो नाउँमा नामसारी हक कायम हुनुपर्ने उक्त कि.नं.४५० को जग्गामा विपक्षी वादीले झुट्टा दाबी गरी अन्याय गरी आएको छ । फिराद दाबी खारेज गरी न्याय दिलाइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी विष्णु श्रेष्ठको प्रतिउत्तर जिकिर रहेको पाइन्छ । रत्नमाया श्रेष्ठ र यी वादीसमेत छुट्टी भिन्न भई बसेको भन्ने प्रमाणको रूपमा संलग्न पुनरावेदन अदालतको फैसलासमेतबाट देखिएको र आफ्नो भागको सम्पत्ति आफूखुसी गर्न पाउने कानूनी व्यवस्थासमेत भएकोले विवादित जग्गा आफ्नो नाममा दर्ता गरी हक कायम गरिपाउँ भन्ने वादीको दाबी पुग्न नसक्ने ठहर्छ भन्ने भक्तपुर जिल्ला अदालतको फैसला भएकोमा सो फैसला मिलेको नदेखिँदा केही उल्टी भई दाबीको कि.नं. ४५० को ०-६-०-० को जग्गामध्ये आधा जग्गामा पुनरावेदक वादीको हक कायम भई निजको नाममा दर्ता हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०७०।५।१७ को फैसलाउपर प्रतिवादीको चित्त नबुझी यस अदालतमा पुनरावेदन पर्न आएको देखियो । 

३. पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर हेर्दा वादीले आमाको हेरचाह नगरेको र आमाले सो जग्गामा रहेको आफ्नो हक मलाई अष्टलोह गरी हस्तान्तरण गरेकाले मेरो एकलौटी हक कायम हुनुपर्ने भन्ने मुख्य जिकिर लिएको पाइयो । 

४. बुबा पञ्चबहादुर श्रेष्ठको २०५३ सालमा र आमा रत्नमायाको २०६४ सालमा परलोक भएको र आमाको पालनपोषण मैले नै गरेको तथा दाजु विष्णु श्रेष्ठले २०५७ सालमा अंश बुझिसकेको हुँदा आमाको नाममा दर्ता बाँकी रहेको भिमसेन गा.वि.स. वडा नं. ५ को कि.नं. ४५० क्षेत्रफल ०-६-०-० जग्गा मुलुकी ऐन अपुतालीको ६ नं. बमोजिम मेरा नाउँमा दर्ता गरिपाउँ भनी पञ्चकृष्ण श्रेष्ठले मिति २०६५।१०।२८ मा मालपोत कार्यालय भक्तपुरमा निवेदन दिएपश्चात् प्रस्तुत मुद्दाको उठान भएको पाइन्छ । आमालाई आफूले पालपोषण गरेको र आमाले मिति २०५७।२।१२ मा शेषपछिको बकसपत्र गरिदिनुभएकाले उक्त सम्पत्तिमा आफ्नो मात्र हक लाग्ने बेहोराको विष्णु श्रेष्ठको जिकिर रहेकोले जिल्ला अदालतबाट हक कायम गराई ल्याउनु भन्ने बेहोराको मालपोत कार्यालय भक्तपुरको मिति २०६६।१२।१५ को निर्णय भएको देखियो । तत्पश्चात् यी दुवै पक्ष उक्त कि.नं. ४५० को जग्गा आ-आफ्नो नाममा हक कायम गराइपाउँ भनी छुट्टाछुट्टै फिराद लिई भक्तपुर जिल्ला अदालतमा गएको देखिन्छ । 

५. यसरी प्रस्तुत मुद्दाको उठान हुनुपूर्व आमाले गरिदिएको अष्टलोहको कागज बेहोरा हेर्दा मेरा दुवै छोरा अलग बसी आएकोमा जेठा छोरा विष्णु श्रेष्ठले हेरविचार टहल चाकरी पालनपोषण गर्दै आइरहेको हुनाले म बाचुन्जेल मेरो पालनपोषण एवं स्याहार सुसार गर्ने र देहान्तपछि काजक्रिया पिण्डपानीसमेत गरी गराई मेरो शेषपछि बाँकी भएको मेरो हकको चलअचल श्रीसम्पत्ति अष्टलोह गरी शेषपछिको बकसपत्र गरेको भन्ने बेहोराको मिति २०५७।२।१९ को पारित शेषपछिको बकसपत्रको बेहोरा रहेको पाइन्छ । सो बकसपत्र बदरतर्फ पञ्चकृष्ण श्रेष्ठले फिराद गरेकोमा सो बदर नहुने ठहरी सुरू भक्तपुर जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहरी पुनरावेदन अदालत पाटनबाट मिति २०६५।७।१८ मा फैसला भएको देखिन्छ । 

६. यसरी आमाले दिएको बकसपत्र बदरभन्दा अगाडिको अवस्था हेर्दा यी वादी प्रतिवादीको आमा रत्नमाया श्रेष्ठले यी वादी प्रतिवादी दुवै छोराहरूउपर दिएको २०५६।०५७ को दे.मी.नं. ७६७ को अंशचलन मुद्दामा उक्त कि.नं. ४५० बाहेकका अरू सम्पत्ति बन्डा छुट्टयाइलिनपाउने ठहरी मिति २०५७।१।२० मा भक्तपुर जिल्ला अदालतबाट भएको फैसला अन्तिम भई सो फैसलानुसार बन्डा मुचुल्कासमेत भइसकेको पाइन्छ । 

७. अब यसरी दुई पटकको कानूनी विवादमा परी निर्णय निरूपण भएको प्रस्तुत विवादित कि.नं. ४५० को सन्दर्भमा उल्लिखित शेषपछिको बकसपत्रको लिखत र सोउपरको लिखत बदर मुद्दा एवं अंशचलन मुद्दा अध्ययन गरी हेर्दा आमा रत्नमायाले जेठा छोरा विष्णु श्रेष्ठलाई शेषपछिको बकसपत्र दिएको र सो लिखत सदर ठहरेको सम्बन्धमा कुनै विवाद छैन तर सो लिखत हुनुपूर्व नै २०५७ सालमा आमा रत्नमाया स्वयं वादी भएको अंशचलन मुद्दामा कि.नं. ४५० को जग्गा रत्नमाया श्रेष्ठको नाममा दर्ता बाँकी भएको स्रेस्ताबाट देखिँदा दर्ता भएका बखत कानूनबमोजिम हुने हुँदा सोबाहेक अरू सम्पत्ति बन्डा छुट्ट्याउने ठहरेको देखिन्छ भने उक्त अष्टलोह गरेको शेषपछिको बकसपत्रको लिखतमा पनि उक्त विवादित कि.नं. को पूरै हक हस्तान्तरण हुने कुरा उल्लेख भएको पाइँदैन । अंश मुद्दा चल्दाका बखत सगोलको ३ जना अंशियारको समान हक लाग्ने देखिए पनि सो सम्पत्तिको दर्ता प्रक्रिया पूरा भई नसकेको र छुट दर्ताको देखिन आएको छ । जग्गा दर्ता हुने नहुने कुराको निश्चित भई नसकेको र जुन सम्पत्तिको पूर्ण स्वामित्व प्राप्त भइसकेको हुँदैन त्यस्तो सम्पत्ति स्वाभाविक रूपमा तत्काल बन्डायोग्य पनि हुँदैन । दर्ता छुटभित्र परेको र दर्ता भई नसकेको जग्गामा जसका नाउँमा दर्ताको प्रक्रिया चलेको छ उसकै स्वामित्व प्राप्त भइसकेको नदेखिएको र निजकै सम्पत्ति कायम भई नसकेको सम्पत्तिको साम्पत्तिक हक हस्तान्तरण हुने गरी स्पष्ट नजनिएको शेषपछिको बकसपत्रकै आधारमा मात्र एकलौटी हक प्राप्त हुन सक्ने पनि होइन । अंश मुद्दामा दर्ता भएका बखत कानूनबमोजिम हुने बेहोरा जनिएको र शेषपछिको बकसपत्रमा विवादित जग्गा दर्ता भएपछि एकलौटी खानु भन्ने बेहोरा नजनिएको अवस्थामा स्वाभाविक रूपमा ३ जना अंशियार रहेको अवस्थामा दर्ता प्रक्रिया पूरा नभएका कारण अबन्डा रहेको सम्पत्तिमा आमाको मृत्युपछि दुई भाइ छोराहरू समान हकदार भएकाले बराबर हक लाग्ने नै देखिन आउँछ । 

८. अतः विवादित कि.नं. ४५० को ०-६-०-० को जग्गामध्ये आधा जग्गामा वादी प्रतिवादी दुवैको बराबर हक कायम हुनेमा वादी दाबी पुग्न नसक्ने ठहरेको सुरूको फैसला केही उल्टी गरी आधा जग्गामा वादीको हक कायम भई निजका नाउँमा दर्ता हुने ठहराएको तत्कालीन पुनरावेदन अदालत पाटनको मिति २०७०।५।१७ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी प्रस्तुत फैसला अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या. प्रकाशकुमार ढुङ्गाना

इजलास अधिकृत :- इन्द्रबहादुर कठायत 

इति संवत् २०७९ साल भदौ २८ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु