शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १११३० - अंश चलन

भाग: ६५ साल: २०८० महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई

माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ

फैसला मिति: २०७९।८।२५

 

मुद्दाः- अंश चलन

 

०७३-CI-०७५७

पुनरावेदक/प्रतिवादी: सुदर्शन पन्तको छोरा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१६ बस्ने जीवनकुमार पन्त

विरूद्ध

प्रत्यर्थी/वादी: ऐ. ऐ. बस्ने सुदर्शन पन्तसमेत

 

०७३-CI-०८४५

पुनरावेदक/प्रतिवादी: सुदर्शन पन्तको छोरा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१६ पकनाजोल बस्ने कुन्दनकुमार पन्त

विरूद्ध

प्रत्यर्थी/वादी: सुदर्शन पन्तको श्रीमती ऐ. ऐ. घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.२९ बस्ने भवानी पन्त

 

विधिवत् रूपमा सम्पत्ति परित्याग नगरेसम्म त्यसबाट व्यक्तिको हक मेटिन सक्दैन । बाबु आमाले घर बनाउनको लागि दिएको मन्जुरनामाको लिखतले दाबीको जग्गामा पुनरावेदक प्रतिवादीहरूको हक कायम भएको र अन्य अंशियारको हक समाप्त भएको भनी अर्थ गर्न नमिल्ने । मन्जुरनामाको लिखत हक हस्तान्तरणको लिखत नहुने ।

(प्रकरण नं.६)

घर बनाउनको लागि घरसारमा भएको मन्जुरनामाको लिखतलाई हक छाडिदिएको लिखत हो भनी मान्न नमिल्ने र त्यस्तो लिखतको आधारमा कसैको अंशहक सीमित गर्न नमिल्ने ।

(प्रकरण नं.७)

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट: विद्वान् वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल र श्री बसन्तराम भण्डारी, विद्वान् अधिवक्ता श्री सरोजनाथ प्याकुरेल

प्रत्यर्थी/वादीका तर्फबाट: विद्वान् अधिवक्ता श्री नारायणप्रसाद रेग्मी

अवलम्बित नजिर:

सम्बद्ध कानून:

सुरू तहमा फैसला गर्ने

मा. जि. न्या. श्री सिताप्रसाद पोखरेल

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने 

मा. न्या. श्री पदमराज भट्ट 

मा. न्या. श्री युवराज सुवेदी

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः-

 

तथ्य खण्ड

विपक्षीमध्येका सुदर्शन पन्तसँग मेरो २०१६ सालमा वैदिक विधिपूर्वक विवाह भई हामीबाट जेठो छोरा विपक्षी कुन्दन र कान्छो छोरा जीवनकुमार पन्तको र छोरी भावना पन्तको जायजन्म भई निजहरूको विवाहदानसमेत भइसकेको छ भने हामी परिवार एकासगोलमा छौं । मेरो आमाको नाउँमा दर्ता रहेको गोङ्गबुको घडेरी रोपनी २-४-० जग्गा आमाले मलाई दाईजो दिनुभएको र सो जग्गा विपक्षीहरू नै आपसमा मिली बिक्री गरी खाइसकेका र बाँकी जग्गा ०-६-२-३ मा मैले पक्की घर बनाएको र सो घरसमेत मलाई झुक्यानमा पारी बेहक गराइदिएका र मेरै माइतीबाट पाएको दाइजो सम्पत्तिबाट पकनाजोल १६ मूल सडकमा सटरसहितको पाँच तले पक्की घर निर्माण गरी सबै परिवार सो घरमा बसोबास गरी आएकोमा विपक्षीहरू एकातर्फ लागी मलाई २०६८ साल माघ २ गते घरबाट निकाला गरेकोले गोङ्गबुमा डेरा कोठा लिई बसी आएकी छु । विपक्षीहरूले मेरो हेरचाह पनि नगरेको र दिनप्रतिदिन बृद्धावस्था हुँदै गएकोले मिति २०६९।११।१० गतेका दिन विपक्षीहरूसँग गई मलाई खान लाउन दिनुहोस् नत्र मेरो अंश भाग दिनुहोस् भनी भन्दा विपक्षीहरू एक मुख भई तँलाई खान लाउन पनि दिन्नौं, हेरचाह पनि गर्दैनौं जानेको गर् भनी जवाफ दिएकोले बाध्य भई यो फिराद गरेकी छु । तसर्थ, हामी वादी प्रतिवादीसमेत ४ जना अंशियार हुँदा अंशबन्डाको २०, २१, २२ र २३ नं.बमोजिम विपक्षीहरूबाट तायदाती फाँटवारी लिई ४ भागको १ भाग म फिरादीले अंश भाग छुट्याई लिनपाउने हुँदा अंशबन्डा छुट्याई सो सम्पत्तिको अंश चलनसमेत चलाइपाउँ भन्नेसमेत बेहोराको भवानी पन्तले सुरू जिल्ला अदालतसमक्ष मिति २०६९।११।१५ मा गरेको फिराद दाबी ।

फिरादमा उल्लिखित पारिवारिक संरचनाबाहेक अन्य कुराहरू तथ्यमा आधारित 

छैन । फिराद पत्रमा उल्लेख गरेबमोजिमको कुनै पनि अमानवीय कार्य हामीबाट भएको छैन । आमा भएको नाताले छोराहरूले गर्नुपर्ने दायित्वबाट कहिल्यै पनि पन्छिएका छैनौं । विपक्षी आमा नै हामीबाट टाढा रहन चाहनु भएको हो, जसको ज्वलन्त उदाहरण २०५२ सालदेखि नै विपक्षी वडा नं. २९ स्थित घरमा बसेबाट स्पष्ट हुन्छ । हामी जान्ने सुन्ने भएदेखिबाट नै आमाको व्यवहारबाट प्रताडित हुँदै आइरहेका छौं । आमाले गर्दा प्रतिवादी पिताले नचाँहदा नचाँहदै पनि हामीबाट टाढा रहन बाध्य भएको कुरा स्पष्ट पार्न चाहन्छौं । विपक्षीलाई हामीबाट कुनै पनि अंश दिनुपर्ने अवस्था छैन । पिता सुदर्शन पन्तको नाउँमा रहेको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका १६ स्थित कि.नं. ५७८ को क्षेत्रफल ०-१-३-० जग्गामा हामी दाजुभाइले आमा बुबाको स्वीकृति लिई घर निर्माण गरी उक्त घरमा बस्दै आइरहेका छौं । उक्त घर जग्गामा विपक्षीको हक नलाग्ने कुरा निर्विवाद छ भन्नेसमेत बेहोराको मिति २०७०।१।१० मा प्रतिवादी कुन्दनकुमार पन्त र जीवनकुमार पन्तले सुरू जिल्ला अदालतसमक्ष पेस गरेको संयुक्त प्रतिउत्तर ।

फिरादमा उल्लिखित पारिवारिक संरचनाबाहेक अन्य कुराहरू तथ्यमा आधारित 

छैन । फिराद पत्रमा उल्लेख गरेबमोजिमको कुनै पनि अमानवीय कार्य मबाट भएको छैन । पति भएको नाताले आफ्नो श्रीमतीप्रति गर्नुपर्ने दायित्वबाट कहिल्यै पनि पन्छिएको छैन । काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २९ को कि.नं. ५६३ को क्षेत्रफल ०-६-२-३- जग्गामा मैले आफ्नो सञ्चयकोष, बिरामी बिदालगायतको प्राप्त रकमबाट २०५२ सालमा उल्लिखित कित्तामा घर निर्माण गरी म विपक्षीसँग रहँदै बस्दै आएका थियौं । यसै क्रममा विपक्षीको व्यवहारबाट आजित भई सँगै रहन बस्न सक्ने अवस्था नभएपछि २०६८ सालदेखि उक्त घर छाडी काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका १६ मा बहालमा रहँदै आइरहेको छु । मेरो नाउँमा रहेको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ स्थित कि.नं. ६७८ क्षेत्रफल ०-१-३-० जग्गामा हामी वादी प्रतिवादीबाट छोरा कुन्दनकुमार पन्तलाई आफ्नै कमाईबाट घर निर्माणको लागि स्वीकृति दिई निजले नै घर बनाई सोही घरमा बस्दै आएका छन् भने मेरै नाउँमा रहेको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ स्थित कि.नं. ५७८ क्षेत्रफल ०-१-३-० जग्गामा जीवनकुमार पन्तलाई घर बनाउन मैले मन्जुरनामा दिएको र उक्त मन्जुरनामामा विपक्षी भबानी पन्तसमेत साक्षी बसेकी छन् । सोही मन्जुरनामाको आधारबाट जीवनकुमार आफ्नै आर्जनबाट घर बनाई सोही घरमा बस्दै आएका छन् । सो घर जग्गामा हाम्रो हक स्वतः समाप्त भइसकेको हुँदा विपक्षीलाई दिनुपर्ने कुनै पनि अंश सम्पत्ति नभएको कुरा अनुरोध गर्न चाहन्छु भन्नेसमेत बेहोराको प्रतिवादी सुदर्शन पन्तले सुरू जिल्ला अदालतसमक्ष पेस गरेको प्रतिउत्तर ।

वादी प्रतिवादीको नातामा विवाद नभई ४ अंशियार रहेको र यी वादी प्रतिवादीबिच अंशबन्डा हुन बाँकी रहेको देखिँदा मिति २०६९।११।१४ लाई मानो छुट्टिएको मिति कायम गरी सो मितिसम्मको वादी प्रतिवादीबिच रहेको सम्पत्तिमध्ये कि.नं. ५७८ मा बनेको घर प्रतिवादीमध्येका कुन्दनकुमार पन्त र जीवनकुमार पन्तको निजी आर्जनको रहेको देखिँदा सोलाई बाहेक गरी कि.नं. ५७८ को जग्गालाई ४ भाग लगाई १ भाग वादीले अंश पाउने ठहर्छ भन्नेसमेत बेहोराको काठमाडौं जिल्ला अदालतबाट मिति २०७१।१।१४ मा भएको फैसला ।

म पुनरावेदकलाई आंशिक हराई विपक्षी पतिको नाममा रहेको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ कि.नं. ५७८ को घर जग्गाबाट मैले के कुन आधार कारणले अंश पाउन सकिन र ऐ.कि.नं. ५७८ को घर जग्गामध्ये घरतर्फबाट मैले के कुन मितिको र.नं. कतिको लिखतका आधारमा मैले मेरो हक छोडेको हो यस विषयमा फैसलामा कहीँकतै पनि उल्लेख गरिएको छैन । कानूनबमोजिम मैले हक पनि नछोडेको, यसअघि अंश पनि बुझी नलिएको, अदालत आफैँले यस कुराको पुष्टि गरी तायदाती माग गरी फैसला गरेको स्थितिमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१६ कि.नं. ५७८ को क्षेत्रफल ०-१-३-० जग्गा र सोमा बनेको साढे पाँच तले घर बन्डा लाग्ने वा नलाग्ने भन्ने सम्बन्धमा फैसलाको ठहर खण्डमा कुनै कुरा नबोली उल्लेखसम्म नगरी ऐ. कि.नं. ५७८ को क्षेत्रफल ०-१-३-० जग्गा र सोमा बनेको साढे पाँच तले घरमध्ये घर विपक्षीहरूमध्येका कुन्दनकुमार पन्तको निजी आर्जनको रहेको देखिँदा भन्नेसम्म उल्लेख गरी कि.नं. ५७८ को घर जग्गामध्ये घरतर्फको अंशबाट म पुनरावेदकलाई वञ्चित गराई घरबासविहीन बनाई सुरू काठमाडौं जिल्ला अदालतले मिति २०७१।१।१४ मा गरेको फैसला उल्लिखित तथ्य, मुलुकी ऐन, अंशबन्डाको १, २, १०, १८, ३२, प्रमाण ऐन, २०३१ दफा ६ (क), २६ तथा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तको प्रतिकूल भएकाले बदर गरी मेरो सुरू फिराद दाबी तथा प्रस्तुत पुनरावेदन जिकिरबमोजिम अंश भाग पाउने गरी न्याय दिलाइपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक भवानी पन्तले पुनरावेदन अदालत पाटनसमक्ष गरेको पुनरावेदन ।

यसमा वादी प्रतिवादी एकासगोलमा रहे बसेका देखिएको अवस्थामा सगोल वा निजी आर्जनका आधार प्रमाण विवेचना नगरी तायदाती फाँटवारीमा पेस भएको कि.नं. ५७८ को जग्गा र सोमा निर्मित घरमध्ये घरमा जीवनकुमार पन्त र कुन्दनकुमार पन्तको निजी आर्जन र उक्त जग्गामा चार भाग ठहर्‍याई भएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७१।०१।१४ को फैसला प्रमाण मूल्याङ्कनको सन्दर्भमा फरक पर्न सक्ने देखिँदा छलफलको लागि मुलुकी ऐन, अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको पुनरावदेन अदालत पाटनको मिति २०७१।०५।०७ को आदेश ।

कि.नं. ५७८ को जग्गा प्रतिवादी सुदर्शन पन्तका नाममा कायम रही सो जग्गामा घर बनाउनसम्म प्रतिवादी सुदर्शन पन्तले आफ्ना छोराहरू कुन्दनकुमार पन्तलाई मिति २०५८।३।१८ मा र जीवनकुमार पन्तलाई मिति २०६१।६।५ मा मन्जुरनामा दिई निजहरूले घर बनाएको देखिन आई सो जग्गा निजहरूलाई रजिस्ट्रेसन पास गरिदिएको देखिन नआएबाट सो सम्पत्ति सगोलको सम्पत्ति देखिई सबै अंशियारहरूको बराबर अंश भाग लाग्ने देखिँदा सुरू जिल्ला अदालतबाट जग्गा मात्र बन्डा हुने तर सो जग्गामा बनेको घर बन्डा नहुने भनी भएको मिति २०७१।१।१४ को फैसला सो हदसम्म नमिलेकोले केही उल्टी भई जग्गा र घरसमेतबाट ४ भागको १ भाग वादीले अंश पाउने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनबाट मिति २०७३।०१।१२ मा भएको फैसला ।

घरसारमा भएको भनिएको मन्जुरनामाको लिखत काठमाडौं महानगरपालिकामा पेस भई महानगरपालिकाले उक्त लिखतलाई आधार मानी म जीवनकुमार पन्तको नाममा घर निर्माणको लागि नक्सा पास गरेको छ । उक्त मिति २०६१।०५।०६ मा दिएको लिखतलाई घरसारको मानी उन्मुक्ति दिन मिल्दैन । मलाई घर बनाउनको लागि दिइएको मन्जुरनामाको लिखतबाट कित्ता नं. ५७८ को जग्गा र सो जग्गामा भएको घरमा दाबी नगर्ने भन्ने मनसाय भएको 

हुन्छ । यदि अंशमा दाबी गर्ने हो भने आफ्नो रकम लगाई घर निर्माण गर्नु भन्ने कुरा लिखतमा उल्लेख हुँदैनथ्यो । भूस्वामित्व हस्तान्तरण गर्ने कुरा उल्लेख हुने थिएन । मन्जुरनामा लिखतको कुरामा दुवै पक्षको मुख मिलेको परिस्थितिमा लिखतलाई मान्यता प्रदान गरी फैसला गर्नुपर्नेमा मान्यता नदिई सबैको अंश लाग्ने ठहर गरेको फैसला त्रुटिपूर्ण छ । घरका सम्बन्धमा लिखतले स्पष्टरूपमा बोलेकै आधारमा काठमाडौं जिल्ला अदालतबाट घर माथि वादी भवानी पन्त र सुदर्शन पन्तको भाग नलाग्ने भनी फैसला गरेको 

हो । मिति २०६१।५।६ मा गरिएको लिखतबाट आफ्नै लगानीमा घर बनाउन स्वीकृत प्रदान गरिएको र विपक्षी वादी पनि उक्त लिखतमा साक्षी बसेको अवस्था 

छ । बाबु आमालाई बाध्य बनाई लिखत गराएको पनि 

होइन । जग्गाको हकमा हक हस्तान्तरण हुन रजिस्ट्रेसन पास हुनुपर्ने कानूनी व्यवस्था भए पनि घरको सम्बन्धमा रजिस्ट्रेसनको कुरालाई उल्लेख गरी घर पनि अंश भाग लाग्छ भनी फैसला गरिनु न्यायको रोहमा कानूनसम्मत मान्न सकिँदैन । घर निर्माण गर्न घरायसी लिखतले प्रदान गरेको स्वीकृतिको आधारमा आफ्नै निजी आर्जनको खर्चमा घर निर्माण भएकोमा त्यस्तो निजी आर्जनबाट बनेको घरमाथि अंश लाग्ने अवस्था 

हुँदैन । पिता सुदर्शन पन्त र आमा भवानी पन्तले मिति २०६१।५।६ मा आफ्नो निजी रकम लगाई घर निर्माण गर्न मन्जुरनामा दिएको र सोही मन्जुरनामाको आधारमा नक्सा पास गराई निजी तवरले घर निर्माण गरेको अवस्थामा त्यसतर्फ कुनै विचार नगरी घर र जग्गा दुवैमा ४ भाग लाग्ने ठहर गरी भएको पुनरावेदन अदालत पाटनको फैसला बदर गरी जग्गा र घर दुवैमा हामी दाजुभाइको मात्र अंशहक कायम हुने गरी फैसला गरिपाउँ भन्नेसमेत बेहोराको जीवनकुमार पन्तले यस अदालतसमक्ष दिएको पुनरावेदन ।

पिता सुदर्शन पन्तले म पुनरावेदन प्रतिवादी कुन्दनकुमार पन्तलाई आफ्नो निजी आर्जनबाट घर बनाउन सक्षम देखी विपक्षी आमा भवानी पन्तलाई साक्षीमा राखी मिति २०५८।३।१८ गते आफ्नो हक भोग दर्ता तिरोको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१६ कि.नं. ५७८ को जग्गामा बनेको घरमध्ये पूर्वपट्टिबाट उत्तर मोहडा गरी नक्सा पास गरी घर बनाउन मन्जुरनामा दिनुभएअनुसार मैले नक्सा पास गराई शिक्षण पेसाबाट कमाएको रकम विभिन्न पत्रपत्रिकामा लेख रचना प्रकाशित गराएकोबाट प्राप्त रकम लगाएर बाबु आमाले मन्जुरनामा दिएको जग्गामा निजी तवरले घर निर्माण गरेको हो । त्यस्तो घरमा संशोधित अंशबन्डाको १८ नं.बमोजिमको कानूनी व्यवस्थाले बन्डा गर्नुपर्ने 

होइन । निजी आर्जनको रकमबाट बनाएको घरबाट समेत वादीले अंश पाउने ठहर गरेको फैसला त्रुटिपूर्ण रहेको छ । घर बनाउन मन्जुरनामा दिएको कागज कानूनले रजिस्ट्रेसन पास गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छैन । मैले आफ्नो निजी आर्जनबाट बनाएको घर वादीलाई बन्डा नलाग्ने गरी फैसला गर्नुपर्नेमा ४ भागको १ भाग अंश पाउने ठहर गरी भएको फैसला सो हदसम्म बदर गरिपाउँ भन्नेसमेत बेहोराको कुन्दनकुमार पन्तले यस अदालतसमक्ष दिएको पुनरावेदन ।

यसमा यसै लगाउको ०७३-CI-०७५९ र ०७३-CI-०९६३ को लिखत दर्ता बदर मुद्दामा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २१३(३) को प्रयोजनार्थ प्रत्यर्थी झिकाउने आदेश भएको र प्रस्तुत मुद्दा उक्त मुद्दाको अन्तरप्रभावी भएकोले यस मुद्दामा समेत मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २१३(३) बमोजिम छलफलको निमित्त प्रत्यर्थीहरूका नाममा सूचना म्याद जारी गरी म्यादमा उपस्थित भए वा सूचना म्यादको अवधि भुक्तान भएपश्चात् लगाउको लिखत बदर मुद्दा साथै राखी नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतको मिति २०७६।०५।११ को आदेश ।

ठहर खण्ड

नियमबमोजिम दैनिक मुद्दा सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन पत्रसहितको मिसिल संलग्न कागज प्रमाणको अध्ययन गरी पुनरावेदक प्रतिवादी कुन्दनकुमार पन्तको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल तथा पुनरावेदक जीवनकुमार पन्तको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री बसन्तराम भण्डारी, अधिवक्ता श्री सरोजनाथ प्याकुरेलले पुनरावेदकहरूका पिता सुदर्शन पन्तको नाम दर्ताको कि.नं.५७८ को जग्गामा घर बनाउन सुदर्शन पन्तले दुवै जना छोराहरूलाई मन्जुरनामा दिएको र उक्त मन्जुरनामाको लिखतमा वादी भवानी पन्तसमेत साक्षीमा बसेको अवस्था छ । सोही मन्जुरनामाको आधारमा महानगरपालिकाबाट पुनरावेदक प्रतिवादीहरूले नक्सा पास गराई आफूहरूले निजी श्रम सिपबाट आर्जन गरेको रूपैयाँबाट उक्त कि.नं. ५७८ को जग्गामा घर बनाई हालसम्म सोही घरमा बसोबास गरी आएका छन् । बाबु आमा दुवैको मन्जुरीले छोराहरूले निजी तवरले बनाएको घरमा बाबु आमाको अंश लाग्ने अवस्था हुँदैन । घर बनाउन दिएको मन्जुरीबाट त्यस जग्गामा दाबी नगर्ने मनसाय रहेको भनी बुझ्नुपर्ने 

हुन्छ । मन्जुरनामाको कागज पास पारित गराइरहनुपर्ने हुँदैन । अर्कातर्फ पुनरावेदक प्रतिवादीहरूले आफ्नो निजी ज्ञान सिपबाट आर्जित रकमबाट उक्त जग्गामा घर बनाएको अवस्थामा साबिक मुलुकी ऐन अंशबन्डाको १८ नं. आकर्षित हुने हुँदा दाबीको जग्गामा बनेको घरसमेत बन्डा लाग्ने ठहर गरी भएको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिउत्तर जिकिरबमोजिम हुने गरी फैसला गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।

प्रत्यर्थी वादी भवानी पन्तको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री नारायणप्रसाद रेग्मीले दाबीको जग्गामा घर बनाउन दिएको मन्जुरनामाको लिखतमा यी वादी भवानी पन्त साक्षीमा बसेको कुरामा कुनै विवाद छैन । घर बनाउन दिएको मन्जुरनामाको लिखतको आधारमा जग्गाको स्वामित्व नै हस्तान्तरण भएको भनी अर्थ गर्न मिल्दैन । कानूनी रूपमा अंशहक परित्याग नगरेसम्म त्यस्तो सम्पत्तिमा व्यक्तिको हक स्थापित भइरहने हुन्छ । घरसारमा भएको मन्जुरनामाको लिखतको आधारमा अंशहकबाट वञ्चित गर्न 

मिल्दैन । एकासगोलमा रहेको अवस्थामा बनाएको घर कसैको निजी आर्जन पनि हुन नसक्ने भएकोले दाबीको घर जग्गाबाट वादीले अंश पाउने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला परिवर्तन हुने अवस्था छैन भनी बहस प्रस्तुत गर्नुभयो ।

उपर्युक्तबमोजिमको तथ्य र बहस जिकिर भएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ वा छैन, पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्ने नपुग्ने के रहेछ, सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, हामी वादी प्रतिवादीहरू हालसम्म सगोलमा छौं । बन्डा भएको छैन । मेरो आमाले दाइजोमा दिएको २-४-० जग्गासमेत प्रतिवादीहरूले नासी मासी खाइदिएका छन् । मैले माइतीबाट दाइजो पाएको जग्गा बिक्रीबाट प्राप्त रकमबाटै पकनाजोलमा घर बनाई प्रतिवादीहरू बसेको अवस्था छ । प्रतिवादीहरूले मलाई इज्जत आमदअनुसार खान लाउन नदिएको र अंश माग गर्दा अंश दिनसमेत इन्कार गरी २०६८ साल माघ २ गतेदेखि घरबाट निकाला गरेकोले अन्यत्र डेरा कोठा गरी बसेको छु । हामी वादी प्रतिवादीहरू चार जना अंशियार हुँदा र बन्डा गर्नुपर्ने सम्पत्ति प्रतिवादीहरूकै जिम्मामा रहेको हुँदा तायदाती फाँटवारी माग गरी ४ भागको १ भाग अंश भाग छुट्याइपाउँ भनी भन्ने वादीको फिराद दाबी रहेको देखियो । 

३. छोराहरू भएको नाताले आमाप्रति गर्नुपर्ने कर्तव्य र दायित्वबाट पन्छिएका छैनौं । विपक्षी आमा २०५२ सालदेखि हामीबाट अलग भिन्न बसी आउनुभएको छ । आमाको व्यवहारबाट हामीहरू प्रताडित हुँदै आएका छौं । हामीले आमालाई अंश दिनुपर्ने अवस्था छैन । पिता सुदर्शन पन्तको नाउँमा रहेको काठमाडौं महानगरपालिका १६ स्थित कि.नं. ५७८ को क्षेत्रफल ०-१-३-० जग्गामा हामी दाजुभाइले आमा बुबाको मन्जुरी लिई घर निर्माण गरी बसेका 

छौं । उक्त घर जग्गामा विपक्षी वादीको हक लाग्ने अवस्था छैन भन्ने प्रतिवादीहरू कुन्दनकुमार र जीवनकुमारको प्रतिउत्तर जिकिर रहेको देखिन्छ भने प्रतिवादी सुदर्शन पन्तले मेरो नाउँमा रहेको कि.नं. ५७८ क्षेत्रफल ०-१-३-० जग्गामा जीवनकुमार पन्त र कुन्दनकुमार पन्तलाई घर बनाउन मन्जुरनामा दिएको र उक्त मन्जुरनामा लिखतमा विपक्षी वादी भवानी पन्त साक्षी बसेकी छन् । छोराहरूले सो जग्गामा आफूले आर्जन गरेको रूपैयाँबाट घर बनाई बसेको हुँदा उक्त जग्गामा वादीको अंश हक लाग्ने होइन भनी जिकिर लिएको देखिन्छ । उल्लिखित दाबी र जिकिर भएको प्रस्तुत मुद्दामा वादीले दाबीको जग्गाबाट ४ भागको १ भाग अंश पाउने र उक्त जग्गामा बनेको घर प्रतिवादीहरू कुन्दनकुमार र जीवनकुमारको निजी आर्जन ठहर गरेको सुरू जिल्ला अदालतको फैसला उल्टी गरी दाबीको घरसमेतबाट वादीले अंश पाउने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसलाउपर चित्त नबुझाई प्रतिवादीहरू कुन्दनकुमार पन्त र जीवनकुमार पन्तको यस अदालतमा छुट्टाछुट्टै पुनरावेदन पर्न आएको देखियो । 

४. प्रतिवादीमध्येका कुन्दनकुमार पन्तको पुनरावेदनपत्र हेर्दा, पिता सुदर्शन पन्तको नाम दर्ताको कि.नं ५७८ को क्षेत्रफल ०-१-३-० जग्गामा घर बनाउनको लागि आमा बुबासमेतको मन्जुरनामा लिई सोही मन्जुरनामाको लिखतको आधारमा महानगरपालिकाबाट नक्सा पास गराई घर बनाई बसोबास गरी आएको छु । उक्त जग्गामा घर बनाउँदा आफूले शिक्षण पेसाबाट आर्जन गरेको रूपैयाँ र पत्रपत्रिकामा लेख रचना प्रकाशित गर्दा प्राप्त हुन आएको रूपैयाँ पैसा लगाएर घर बनाएको हो । सगोलको सम्पत्तिबाट घर बनाएको अवस्था छैन । निजी आर्जनबाट बनाएको घरमा अंशबन्डाको १८ नं. बमोजिम वादीको अंशहक लाग्ने अवस्था नभएको भनी जिकिर लिएको देखिन्छ भने प्रतिवादी जीवनकुमार पन्तको पुनरावेदन पत्र हेर्दा बाबुको नाम दर्ताको जग्गामा घर बनाउन बाबुआमाकै मन्जुरीनामा लिएको अवस्था छ । घर बनाउँदा सगोलको सम्पत्ति प्रयोग भएको छैन । मन्जुरनामाको कागजमा जग्गाको स्वामित्वसमेत हस्तान्तरण गर्ने बेहोरा उल्लेख भएको छ । मन्जुरनामाको लिखत रजिस्ट्रेसन गराउनुपर्ने कानूनी व्यवस्था छैन । मन्जुरनामाको लिखतको आधारमा नक्सा पास भएको छ । यस अवस्थामा उक्त जग्गामा बनाएको घर निजी आर्जन ठहर गर्नुपर्नेमा सो घरसमेतबाट वादीले दाबीबमोजिम अंश पाउने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा दाबीको जग्गामा बनेको घरबाट समेत अंश पाउने ठहर गरेको हदसम्मको फैसला बदर गरिपाउँ भनी जिकिर लिएको देखियो ।

५. सो सन्दर्भमा विचार गर्दा, यी वादी भवानी पन्त र प्रतिवादी सुदर्शन पन्तको दाम्पत्य जीवनबाट दुई छोरा तथा एक छोरीको जायजन्म भएकोमा छोराहरूमा जेठा कुन्दनकुमार पन्त र कान्छा जीवनकुमार पन्त रहेका र छोरी भावना पन्तको विवाह भइसकेको भन्ने देखिन्छ । यसबाट मूलरूपमा वादी भवानी पन्त, सुदर्शन पन्त, कुन्दनकुमार पन्त र जीवनकुमार पन्त चार अंशियार रहेको भन्ने देखियो । आफूलाई पति तथा छोराहरूले खान लाउनसमेत नदिइ घरबाट निकाला गरेकोले ४ भागको १ भाग अंश दिलाइपाउँ भनी भवानी पन्तले आफ्नो पति तथा छोराहरूसमेत उपर प्रस्तुत अंश मुद्दाको फिराद दायर गरेको 

देखिन्छ । वादी प्रतिवादीहरूबिच नाता पुस्तामा विवाद रहेको भन्ने देखिँदैन । कानूनबमोजिम वा व्यवहार प्रमाणबाट अघि भिन्न भएको भन्ने नदेखिँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी तायदाती माग गर्ने गरी सुरू जिल्ला अदालतबाट भएको आदेशबमोजिम प्रतिवादी सुदर्शन पन्तको नाम दर्ताको काठमाडौं महानगरपालिका वडा नं. १६ कि.नं. ५७८ को क्षेत्रफल ०-१-३-० जग्गा र सो जग्गामा बनेको घर तायदाती फाँटवारीमा पेस भएको देखियो ।

६. सुदर्शन पन्तले आफ्नो नाम दर्ताको कि.नं ५७८ को क्षेत्रफल ०-१-३-० जग्गामध्ये उत्तर मोहडा गरी लम्बाई १९ फिट, चौडाई १६ फिट १० इन्च जग्गामा जगैदेखि घर बनाउन पुनरावेदक कुन्दनकुमार पन्तलाई मिति २०५८।०३।१८ मा मन्जुरनामाको लिखत गरिदिएको र बाँकी रहेको जग्गामा घर बनाउन कान्छा छोरा पुनरावेदक प्रतिवादी जीवनकुमार पन्तलाई मिति २०६१।०६।०५ मा मन्जुरनामाको लिखत गरिदिएको देखियो । उक्त मन्जुरनामाको लिखतमा वादी भवानी पन्त साक्षीमा बसेको अवस्था देखिन्छ । पुनरावेदक प्रतिवादीहरूले बाबु आमाको मन्जुरीले दाबीको जग्गामा नक्सापास गराई आफ्नै ज्ञान सिपबाट कमाएको रूपैयाँ पैसा लगाई घर बनाएको हुँदा उक्त जग्गामा बनेको घर आफूहरूको निजी आर्जनको घर हो । त्यसमा अरूले बन्डा गराई लिनपाउने होइन भनी जिकिर लिएको देखिन्छ । अंशसम्बन्धी हक व्यक्तिको नैसर्गिक हक हो । विधिवत् रूपमा सम्पत्ति परित्याग नगरेसम्म त्यसबाट व्यक्तिको हक मेटिन सक्दैन । बाबु आमाले घर बनाउनको लागि दिएको मन्जुरनामाको लिखतले दाबीको जग्गामा यी पुनरावेदक प्रतिवादीहरूको हककायम भएको र अन्य अंशियारको हक समाप्त भएको भनी अर्थ गर्न मिल्दैन । मन्जुरनामाको लिखत हक हस्तान्तरणको लिखत पनि होइन । घर बनाउनको लागि मन्जुरनामाको लिखत गराई लिँदाको अवस्थामा यी वादी प्रतिवादीहरू एकासगोलमा रहेको भन्ने देखिन्छ । सगोलमा रहँदा बस्दाको अवस्थामा बनाएको घर पुनरावेदकहरूको निजी आर्जनको भनी भन्न नमिल्ने भई सगोलको खतीउपती र आय आर्जनबाट बढे बढाएको सबै अंशियारको अंश लाग्ने सम्पत्ति मान्नुपर्ने देखिन 

आयो ।

७. तायदाती फाँटवारीमा उल्लेख भएको कि.नं ५७८ को जग्गा सबै अंशियारको अंशहक रहेको जग्गा हो भन्ने कुरामा कुनै विवाद छैन । उक्त जग्गामा घर बनाउन यी पुनरावेदक प्रतिवादीहरूले बाबुबाट मन्जुरनामाको लिखत गराई घर बनाउँदैमा उक्त घरमा वादीको अंश हक नरहेको भनी भन्न मिल्दैन । अचल सम्पत्ति हक छोडी दिएको लिखत अनिवार्यरूपमा साधिकार निकायबाट पास पारित गराउनुपर्ने भन्ने कानूनी व्यवस्था हो । घर बनाउनको लागि घरसारमा भएको मन्जुरनामाको लिखतलाई हक छाडिदिएको लिखत हो भनी मान्न मिल्दैन र त्यस्तो लिखतको आधारमा कसैको अंशहक सीमित गर्न पनि मिल्दैन । कि.नं ५७८ को जग्गामा घर बनाउँदाको अवस्थामा यी वादी प्रतिवादीहरू सगोलमा रहेको देखिन्छ । सगोलमा रहँदा बनाएको घरमा सबै अंशियारको बराबरी हक लाग्ने कानूनी व्यवस्था हुँदा उक्त घर निजी आर्जन ठहर हुनुपर्ने भन्ने पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर कानूनसम्मत देखिन आएन ।

८. यसर्थ, बाबु सुदर्शन पन्तले आफ्नो नाम दर्ताको जग्गामा घर बनाउन कुन्दनकुमार पन्तलाई मिति २०५८।०३।१८ र जीवनकुमार पन्तलाई मिति २०६१।०६।०५ मा मन्जुरनामाको लिखतसम्म गरिदिएको देखिन्छ । मन्जुरनामाको आधारमा यी पुनरावेदक प्रतिवादीहरूले घर बनाएको अवस्था 

छ । उक्त जग्गा बाबुले छोराहरूलाई कुनै बेहोराले हक छाडिदिएको भन्ने देखिँदैन । मन्जुरनामा लिखतको आधारमा घर बनाउँदैमा उक्त घर प्रतिवादीहरूको निजी आर्जनको घर भन्न नमिल्ने भई सबै अंशियारको अंशहक लाग्ने देखिँदा कि.नं.५७८ को ०-१-३-० जग्गामा सम्म वादीले ४ भागको १ भाग अंश पाउने र घरमा दाबी नपुग्ने ठहर गरेको सुरू जिल्ला अदालतको फैसला केही उल्टी गरी उक्त जग्गामा बनेको घरमा समेत वादीले दाबीबमोजिम अंश पाउने ठहर गरेको पुनरावेदन अदालत पाटनको मिति २०७३।०१।१२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको विद्युतीय प्रति अपलोड गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. तिलप्रसाद श्रेष्ठ

 

इजलास अधिकृत: लालबहादुर कार्की / विनिता भारती

इति संवत् २०७९ साल मंसिर २५ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु