निर्णय नं. १११३४ - जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना
फैसला मिति : २०७८।११।१३
०७५-CR-०४७५
मुद्दाः- जबरजस्ती करणी
पुनरावेदक/वादी : कविता न्यौपानेको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : नुवाकोट जिल्ला, सुनखानी गाउँ विकास समिति वडा नं.१ सुइरी चौर घर भई हाल काठमाडौं जिल्ला, टोखा बस्ने सानु माइला तामाङको छोरा रमेश लामासमेत
पर्याप्त रूपमा सुसूचित भएर निर्णय गर्न सक्ने परिपक्वता नाबालिगमा रहेको
नहुने । नाबालकमा यौनसम्पर्कको जोखिम र परिणामको पर्याप्त बुझाइ र मूल्याङ्कन गर्ने क्षमताको समेत कमी रहने । नाबालकको यौन शोषण भएको अवस्थामा सुरक्षात्मक भूमिका खेली यौन शोषकबाट बचाउन र सहमतिमा करणी भएको अवस्था भएमा पनि दण्डनीय भूमिका खेली नाबालकलाई स्वयंबाट जोगाउन कानूनले नाबालकउपर हुने करणीको कसुरलाई कठोर दायित्वको कसुरअन्तर्गत राखेको देखिन्छ । यसर्थ नाबालिगसँगको यौन सम्बन्धमा सहमति थियो भन्नुको कुनै अर्थ नरहने ।
(प्रकरण नं. ५)
पुनरावेदक/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कमलराज पन्थी
प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री सोमनाथ सापकोटा
अवलम्बित नजिर :
ने.का.प. २०७४, अङ्क ४, नि.नं. ९८०१
ने.का.प. २०६९, अङ्क ८, नि.नं. ८८७८
सम्बद्ध कानून :
सुरू फैसला गर्ने:
मा. जि. न्या. श्री पशुपति आचार्य
काठमाडौं जिल्ला अदालत
पुनरावेदन फैसला गर्ने:
मा. न्या. श्री दुर्गादत्त भट्ट
मा. न्या. श्री राम प्रसाद अधिकारी
उच्च अदालत पाटन
फैसला
न्या. सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको पुनरावेदनपत्रसहितको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ:
तथ्य खण्ड
म जाहेरवालाको छोरी वर्ष १३ की परिवर्तित नाम बालाजु १४ मेरो बहिनीको छोरी अञ्जु ढुङ्गानाको घर काठमाडौं मनमैजु गा.वि.स. वडा नं. ७ मा बसी अध्ययनरत रहेकोमा मिति २०७०।०९।१७ गते अं.९:३० बजेको समयमा स्कुल गएकोमा प्रतिवादी रमेश लामाले ललाइफकाइ विभिन्न प्रलोभनमा पारी सोही मनमैजुको बाँसको झ्याङमा लगी एकपटक जबरजस्ती करणी गरी विवाह गर्छु भनी निज प्रतिवादीको घर नुवाकोट सुनखानी १ सुईरी चौरमा लगी सोही रात एकपटक पुनः जबरजस्ती करणी गरी ऐ. को १८ गते अर्का प्रतिवादी हरि सापकोटाको घरमा लगी निज हरि सापकोटाले ऐ. राति एकपटक जबरजस्ती करणी गरी काठमाडौं जिल्ला साङ्लामा रहेको जग्गा तिम्रो नाउँमा पास गरिदिन्छु भनी पुनः १९ गते काठमाडौं जिल्ला साङ्लामा भएको घरमा ल्याई पुनः एकपटक जबरजस्ती करणी गरी खोजतलासको क्रममा ऐ. को २० गते छोरी सम्पर्कमा आएकी र निज प्रतिवादीहरूले पालैपालो सामूहिकरूपमा विभिन्न प्रलोभन देखाई विवाह गर्छु भनी मेरी नाबालिका छोरीलाई पटकपटक जबरजस्ती करणी गरेको हुँदा प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही गरी उचित क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको कविता न्यौपानेको जाहेरी दरखास्त ।
जाहेरवालाको छोरी वर्ष १३ की परिवर्तित नाम बालाजु १४ लाई मिति २०७०।०९।१७ गतेदेखि ऐ. को २० गतेसम्म पटकपटक सामूहिकरूपमा पालैपालो जबरजस्ती करणी गर्ने कार्यमा संलग्न रहेका रमेश लामा र हरि सापकोटालाई मिति २०७०।०९।२१ गते दिउँसो काठमाडौं जिल्ला, मनमैजु गा.वि.स.वडा नं.१ नेपालटारमा फेला पारी पक्राउ गरी कानूनी कारबाहीको लागि दाखिला गरेको छौं । निजहरूउपर आवश्यक अनुसन्धान गरी प्रचलित कानूनबमोजिम हदैसम्मको कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन ।
म विगत डेढ वर्षअगाडिदेखि आफ्नो घर स्याङ्जाबाट मेरी सानीआमाको छोरी अञ्जु ढुङ्गानाको घरमा आई बसी मनमैजु मा.वि. मा कक्षा ५ मा अध्ययनरत रहेकोमा विगत एक महिनाअगाडि बाटोमा हिँड्दा, स्कुल पढ्दा प्रतिवादी रमेश लामासँग चिनजान भई प्रायःजसो बाँसघारीमा भेट हुने गरेकोले निजले मलाई विवाह गर्छु भनी प्रलोभन देखाउँदै आएकोमा मिति २०७०।०९।१७ गते बिहान ९:३० बजेको समयमा स्कुल जाने क्रममा निज रमेश तामाङसँग भेट भई निजले मनमैजुको बाँसघारीमा लगी एकपटक जबरजस्ती करणी गरी निजको नुवाकोट घरसमेत लगी सुताई पुनः एकपटक जबरजस्ती करणी गरी अर्का प्रतिवादी हरि सापकोटालाई जिम्मा लगाई निजले समेत ऐ.को १८ गते आफ्नो घर नुवाकोट सुनखानीमा लगी जबरजस्ती करणी गरी जग्गा पास गर्ने लोभ देखाई ऐ.को १९ गते काठमाडौं जिल्ला साङ्लामा ल्याई पुनः अर्को पटक जबरजस्ती करणी गरी मेरो आफन्तले खोजतलास गरिरहेकोमा आफन्तको जिम्मा लगाइदिएको र निजहरूले मलाई विभिन्न प्रलोभनमा पारी विवाह गर्छु भनी पटकपटक सामूहिकरूपमा जबरजस्ती करणी गरेको हुँदा निजहरूलाई हदैसम्मको कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको पीडिता परिवर्तित नाम बालाजु १४ ले आफ्नो आमाको रोहबरमा गरेको घटना विवरण कागज ।
मिति २०७०।०९।१७ गतेदेखि ऐ.को २० गते रातिसम्म पटकपटक सामूहिकरूपमा पालैपालो काठमाडौं जिल्ला मनमैजुको बाँसघारीदेखि नुवाकोट सुनखानी घर तथा काठमाडौं जिल्ला साङ्लामा रहेको अर्को घरसमेतमा लगी विवाह गर्छु भनी विभिन्न प्रलोभन तथा डरत्रास धाकधम्की देखाई मलाई जबरजस्ती करणी गर्ने व्यक्तिहरू रमेश लामा र हरि सापकोटा नै हुन् भनी हेरी, चिनी, सनाखत गरिदिएँ भन्नेसमेत बेहोराको पीडिता बालाजु १४ ले गरिदिएको सनाखत कागज ।
काठमाडौं जिल्ला मनमैजु गा.वि.स.वडा नं.३ स्थित रहेको बाँस झ्याङको बिच भागमा बाँसका सुकेका पात तथा झारपात माडिएको देखिएको र उक्त स्थानमा प्रतिवादी रमेश लामाले मिति २०७०।०९।१७ गते अं.९:३० बजेको समयमा परिवर्तित नाम बालाजु १४ लाई जबरजस्ती करणी गरी नुवाकोटतर्फ लगेको भनी पीडिताले देखाएको घटनास्थल ठिक छ भन्नेसमेत बेहोराको घटनास्थल प्रकृति मुचुल्का ।
हाल पक्राउमा परेका रमेश लामा र मेरो घर एकै ठाउँमा पर्छ । मिति २०७०।०९।१८ गते बिहान १० बजेको समयमा रमेश लामाले परिवर्तित नाम बालाजु १४ लाई मेरो घरमा लिएर आई विवाह गर भनेकाले मैले पनि हुन्छ भनी घरमा राखी राति सँगै सुताई एकपटक जबरजस्ती करणी गरी ऐ. को १९ गते मेरो घर काठमाडौं जिल्ला साङ्लामा लगी विवाह गर्छु र मेरो जग्गासमेत दिन्छु भनी पुनः अर्को पटक जबरजस्ती करणी गरी ऐ. को २० गते निजका आफन्तसँग सल्लाह गर्न काठमाडौं जिल्ला मनमैजुमा आउँदा ऐ. को २१ गते मलाई पक्राउ गरी ल्याएको हो भन्नेसमेत बेहोराको प्रतिवादी हरि सापकोटाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
म विगत १० वर्षअगाडिदेखि नुवाकोट घरबाट काठमाडौं आइरहकोमा १५/१६ दिनअगाडि काठमाडौं जिल्ला मनमैजुमा बाटोमा हिँड्दा निज परिवर्तित नाम बालाजु १४ लाई देखी चिनजान भएको र मिति २०७०।०९।१७ गते बिहान ९:३० बजेको समयमा म आफ्नो घर नुवाकोट जान लाग्दा काठमाडौं जिल्ला मनमैजु ३ मा रहेको बाँसघारीमा पुग्दा निज परिवर्तित नाम बालाजु १४ सँग भेट भई म नुवाकोट जान लागेको तिमी घुम्न जाने हो भन्दा हुन्छ भनिन् । हामी दुवैजना मेरो घर नुवाकोटमा गई राति मैले निजलाई सँगै सुताई अङ्गालो हाली किस खाई स्तन माडी निजले लगाएको कपडा मैले खोलिदिई एकपटक जबरजस्ती करणी गरी ऐ. को १८ गते कोही बाहुन केटा पाए विवाह गर्छु भनेकाले मेरो गाउँको साथी हरि सापकोटाको घरमा पुर्याइदिई निजले विवाह गर्छु भनी आफ्नो घरमा राखेको थियो र म आफ्नो घरमा आएको थिएँ । हरि सापकोटालाई मैले सरसल्लाह गर्न बोलाएकोमा ऐ. को २१ गते प्रहरीले मलाई पक्राउ गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी रमेश लामाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
जाहेरवालाको छोरी मेरो बहिनी नाताकी
हुन् । मिति २०७०।०९।१७ गते बिहान ९:३० बजेको समयमा स्कुल हिँडेकीमा घर नफर्केपछि खोजतलास गर्दा प्रतिवादी रमेश लामाले ललाइफकाइ काठमाडौं जिल्ला मनमैजुको बाँसघारीमा एकपटक र नुवाकोटमा लगी अर्को एकपटक जबरजस्ती करणी गरी आफ्नो गाउँको साथी हरि सापकोटालाई जिम्मा लगाई निजले समेत बिहे गर्ने तथा जग्गा दिने प्रलोभन देखाई ऐ. को १८ गते र १९ गते २ पटक जबरजस्ती करणी गरेकोले निज प्रतिवादीहरूलाई हदैसम्मको कारबाही गरी क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको मौकामा बुझिएका अञ्जु ढुङ्गाना र कृष्ण ढुङ्गानाको एकै मिलानको अलग-अलग घटना विवरण कागज ।
मिसिल संलग्न सबुद प्रमाणहरूबाट प्रतिवादीहरू रमेश लामा र हरि सापकोटाले गरेको कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. विपरीत ३(२)नं. को कसुर अपराध भएको देखिँदा निज प्रतिवादीहरू रमेश लामा र हरि सापकोटालाई ऐ. महलको ३(२)नं. बमोजिम सजाय गरी सोही महलको १० नं. बमोजिम निज प्रतिवादीहरूबाट पीडितालाई उचित क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ र प्रतिवादीहरू २ जना भई पीडिता बालाजु १४ लाई सामूहिकरूपमा जबरजस्ती करणी गरी सोही महलको ३(क) नं. बमोजिमको कसुरसमेत गरेको देखिँदा निज प्रतिवादीहरू रमेश लामा र हरि सापकोटालाई ३(क) नं. बमोजिम थप सजायसमेत गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको अभियोगपत्र ।
मिति २०७०।०९।१७ गते पीडिताले म पनि तिमीसँग घुम्न जान्छु भनी भनेकी हुँदा मैले नुवाकोट लिई गएको हो । जात मिल्ने केटा पाए विवाह गर्छु भनेकाले मैले मिति २०७०।०९।१९ गते हरि सापकोटालाई भेट गराइदिएको र मन परापर भएकोले मैले हरि सापकोटासँगै छोडी आएको हो । त्यसपछि के के भयो मलाई थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादी रमेश लामाले सुरू काठमाडौं जिल्ला अदालतसमक्ष गरेको बयान ।
प्रतिवादी रमेश लामाले पीडिता बालाजु १४ लाई मिति २०७०।०९।१९ गते मेरो घरमा लिएर आएका थिए । सो दिन पीडिता मेरै घरमा बसेकी
हुन् । भोलिपल्ट निजलाई प्रहरी चौकीमा बुझाउनु पर्यो भनी रमेश, म र पीडिता सँगै प्रहरी चौकी बालाजु आएकोमा त्यहीँ प्रहरीले मसमेतलाई पक्राउ गरेको
हो । मैले करणी गरेको छैन भन्नेसमेत बेहोराको प्रतिवादी हरि सापकोटाले सुरू काठमाडौं जिल्ला अदालतसमक्ष गरेको बयान ।
तत्काल प्राप्त प्रमाणबाट अहिले नै यी प्रतिवादीहरू कसुरदार होइनन् भनी मान्न मिल्ने अवस्था नहुँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाललाई यी प्रतिवादीहरू रमेश लामा र हरि सापकोटालाई मुलुकी ऐन, अ.बं. ११८ को देहाय २ बमोजिम थुनामा राखी पुर्पक्ष गर्नु भन्नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७०।१०।२२ को थुनछेक आदेश ।
मिति २०७०।०९।२७ को मौकाको कागजमा भएको बेहोरा र सहीछाप मेरो आफ्नै हो । मनमैजुको स्कुलपछाडिको बाँसको झाडीमा रमेश लामाले बालाजु १४ लाई ललाइफकाइ लगी जबरजस्ती करणी गरी अर्को दिन रमेश लामाले हरि सापकोटासँग विवाह गराइदिन्छु भनी पुन: हरि सापकोटाको जिम्मा लगाएको हो । रमेश, हरि र बालाजु १४ लाई बालाजु चौकीमा सोधपुछ गर्दा रमेशले लगी हरि सापकोटासँग विवाह गराएको कसरी भयो भन्दा मैले हरिलाई मिलाउन लगेको भनी रमेशले भन्यो । मैले बालाजु १४ लाई हस्पिटल लगेको हो । चेक जाँच गर्दा बालाजु १४ को योनि सुन्निएको थियो भन्नेसमेत बेहोराको मौकामा बुझिएकी अन्जु अधिकारीले सुरू काठमाडौं जिल्ला अदालतसमक्ष गरेको बकपत्र ।
म स्कुल गएर फर्किंदै थिएँ । रमेश लामा भन्ने केटा दिदीको घरमा बसेको रहेछ । मलाई रमेशले जिस्क्याउँदै थियो । मेरो साथी आशाले माथि जाउँ भन्यो र म गएँ । आशा त्यही ठाउँबाट फर्की । रमेश लामा मेरो पछि लागी आएको थियो । बाँसको झाडी थियो र सो ठाउँमा मलाई भेटी मेरो इच्छाविपरीत जबरजस्ती करणी गरी अर्का प्रतिवादी हरि सापकोटालाई जिम्मा लगाई निजले समेत जबरजस्ती करणी गरी मलाई विवाह गर्छु भनी २/२ पटक जबरजस्ती करणी गरेका हुन् भन्ने बेहोराको पीडिता बालाजु १४ ले सुरू काठमाडौं जिल्ला अदालतसमक्ष गरेको बकपत्र ।
Human semen was detected on exhibit nos.1 and 2 भन्नेसमेत बेहोराको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, महाराजगन्ज काठमाडौंको च.नं. ५१४० मिति २०७१।०३।२२ गतेको परीक्षण प्रतिवेदन ।
स्वास्थ्य अवस्था सामान्य छ, निजको शरीरमा कुनै निलडाम घाउचोट तथा कोतरिएको सङ्घर्षका चिह्नहरू छैन, निजको योनिको बाहिरी तथा भित्री भागमा कुनै निलडाम घाउ चोटपटक छैन, निजको कन्याजाली च्यातिएको छैन भन्ने बेहोराको पीडिता बालाजु १४ को परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पत्रसंख्या ५४/१३/६७४ मिति २०७०।९।२९ को स्वास्थ्य परीक्षणसम्बन्धी पत्र ।
The examinee is in between 13 to 15 years of age at the time of examination. More nearly the examinee is running on 14th year of age at the time of examination भन्ने बेहोराको Kathmandu Autopsy Center/ Department of Forensic Medicine को च.नं.२ मिति २०७०।०९।२२ को पीडिताको परीक्षण प्रतिवेदन ।
जाहेरवाला कविता न्यौपानेको किटानी जाहेरी दरखास्त र सोहीबमोजिमको प्रहरी प्रतिवेदन, प्रतिवादीहरूले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको साबिती बयान, बुझिएका अञ्जु ढुङ्गाना र कृष्ण ढुङ्गानाको कागज र निजहरूको अदालतसमक्ष भएको बकपत्र बेहोरा, पीडिताले आफूलाई जबरजस्ती करणी गर्ने प्रतिवादीहरूलाई चिनी गरेको सनाखत कागजका साथै पीडिताले अदालतमा आई गरेको बकपत्रसमेतका आधार प्रमाणबाट यी प्रतिवादीहरू रमेश लामा र हरि सापकोटाले आरोपित कसुर जबरजस्ती करणी गरेको ठहर्छ । सो ठहर्नाले निज प्रतिवादीहरू रमेश लामा र हरि सापकोटालाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(२) नं. बमोजिम जनही ८ (आठ) वर्ष कैद र सोही महलको ३(क) नं. बमोजिम सामूहिक जबरजस्ती करणी गरेबापत जनही थप ५(पाँच) वर्ष गरी जम्मा जनही १३ वर्ष कैद र सोही महलको १० नं. बमोजिम जनही रू.१,००,०००।- (एक लाख) जनही क्षतिपूर्तिसमेत प्रतिवादीहरूबाट पीडिताले भरिपाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७१।४।२८ को फैसला ।
मउपर कसुर कायम गरी सजाय ठहर गरेको काठमाडौं जिल्ला अदालतको फैसलामा चित्त बुझेन । जबरजस्ती करणी भएको भए कन्याजाली च्यातिएको हुनुपर्ने सो देखिएको छैन । सामूहिक करणी हुनको लागि दुई वा सोभन्दा बढी व्यक्तिले एकै ठाउँमा एकै समयमा करणी गरेको हुनुपर्नेमा सो अवस्था पनि विद्यमान नहुँदा सामूहिकतर्फ ५ वर्ष कैद गरेको पनि मिलेन । जबरजस्ती करणीको १ नं. हेर्दा १६ वर्षभन्दा कम उमेरकी महिलामाथि मात्र यस्तो अपराध हुन्छ । तर पीडिताको खास उमेर यकिन भएको देखिने प्रमाण पेस गरेको देखिँदैन । पीडिताको स्वास्थ्य जाँचबाट निजउपर जबरजस्ती करणी नभएको तथ्य प्रमाणित भइरहेको स्थितिमा केवल तथ्यभन्दा बाहिर गई मनोगत कुराहरूको आधारमा मलाई कसुरदार ठहर गरी भएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग माग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी हरि सापकोटाको तत्कालीन पुनरावेदन अदालत पाटनमा दायर भएको पुनरावेदनपत्र ।
मउपर कसुर कायम गरी सजाय ठहर गरेको काठमाडौं जिल्ला अदालतको फैसलामा चित्त बुझेन । प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार वादी पक्षले स्वतन्त्र, निर्विवाद र ठोस प्रमाणबाट शंकारहितरूपमा अभियोग दाबी पुष्टि गर्न सकेको छैन । सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त (ने.का.प. २०५६, अङ्क १, पृष्ठ ४५, नि.नं. ६६५६) समेतको विपरीत छ । त्यसै गरी प्रमाण ऐन, २०३१ को दफा ९ देखि दफा २३ सम्म प्रमाणमा लिन हुने कुराहरूमा जाहेरी दरखास्त पर्दैन । मेडिकल रिपोर्टमा बालाजु १४ को स्वास्थ्य स्थिति सामान्य देखिएको, शरीरमा कुनै निलडाम चोटपटक कोतरिएको सङ्घर्षका चिह्नहरू छैनन् । निजको योनिभित्र र बाहिरी भागमा निलडाम घाउ चोटपटक छैन । साथै निजको कन्याजाली च्यातिएको छैन भन्ने उल्लेख भएबाट जबरजस्ती करणी गरेको भनी पुष्टि हुनसक्ने अवस्था नहुँदा नहुँदै पीडिता भनिएकीको अदालतसमक्षको बकपत्र र अधिकारप्राप्त अधिकारीसमक्षको गैरन्यायिक साबिती बयानलाई आधार बनाई म पुनरावेदकलाई आरोपित कसुर ठहर गरी क्षतिपूर्तिसमेत भराउने ठहर्याई सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग माग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रमेश लामाको तत्कालीन पुनरावेदन अदालत पाटनमा दायर भएको पुनरावेदनपत्र ।
यसमा पीडिताको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकहरू डा. मधु श्रेष्ठ र डा. पुण्या पौडेललाई प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम बुझी नियमानुसार पेस गर्नु भन्ने बेहोराको उच्च अदालत पाटनको मिति २०७४।०३।०६ को आदेश ।
मिति २०७०।०९।२२ मा मसमेत डा. पुण्या पौडेलले परिवर्तित नाम बालाजु १४ को स्वास्थ्य परीक्षण गरिदिएको प्रतिवेदन ठिक हो । पीडिताको स्वास्थ्य अवस्था सामान्य थियो । पीडिताको शरीरमा कुनै पनि किसिमको चोट र निलडाम देखिएको थिएन । पीडिताको योनिको भित्री तथा बाहिरी भागमा घाउचोट तथा निलडाम देखिएको थिएन र निज पीडिताको कन्याजाली च्यातिएको थिएन भन्ने बेहोराको पीडिताको स्वास्थ्य परीक्षण गर्ने डा. मधु श्रेष्ठ र डा. पुण्या पौडेलले उच्च अदालत पाटनसमक्ष गरेको एकै मिलानको अलग-अलग बकपत्र ।
पीडिताको स्वास्थ्य जाँच परीक्षण प्रतिवेदन तथा पीडिताको बकपत्रसमेतबाट प्रतिवादीहरूले सामूहिकरूपमा जबरजस्ती करणी गरेको भन्ने नदेखिएको अवस्थामा जबरजस्ती करणीको ३क नं. बमोजिम प्रतिवादीहरूलाई थप सजाय गर्ने गरेको सुरूको फैसला प्रमाण मूल्याङ्कनको रोहमा विचारणीय देखिँदा छलफलको लागि मुलुकी ऐन, अ.बं. २०२ नं. तथा उच्च अदालत नियमावली, २०७३ को नियम ११२ नं. को प्रयोजनार्थ नियम ६४ बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि व्यतीत भएपछि नियमानुसार गरी पेस गर्नु भन्ने उच्च अदालत पाटनको मिति २०७३।१२।०७ को आदेश ।
मिसिल संलग्न सबुद प्रमाणहरूबाट प्रतिवादी हरि सापकोटा, रमेश लामाले जबरजस्ती करणीको ३(२) नं. बमोजिमको कसुर गरेको ठहराई सोबमोजिम र ऐ.३(क) नं. बमोजिम थप सजायसमेत गरी क्षतिपूर्ति भराइदिने ठहराई भएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७१।०४।२८ को फैसला मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादीहरूलाई जबरजस्ती करणीको ३(२) र ऐ. ५ नं. बमोजिम जबरजस्ती करणी उद्योगतर्फ जनही ४(चार) वर्ष कैद हुने ठहर्छ । सफाइ पाउँ भन्ने पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको उच्च अदालत पाटनको मिति २०७४।०४।१७ को फैसला ।
उच्च अदालत पाटनले सुरू फैसला उल्टी गर्दा सोको आधार, कारण नै नखुलाई मनोगतरूपमा जबरजस्ती करणी मुद्दालाई जबरजस्ती करणीको उद्योगमा परिणत गरेको देखिन्छ । जाहेरी दरखास्त, पीडिताको बयान बकपत्रजस्ता कागज प्रमाणबाट सुरू फैसला मनासिब भन्दै जबरजस्ती करणीको उद्योगतर्फ प्रतिवादीहरूलाई सजाय गरिएको छ । प्रतिवादीहरूउपर परेको जाहेरीको बेहोरामा मेरो छोरी वर्ष १३ की परिवर्तित नाम बालाजु १४ मेरी बहिनीको छोरी अञ्जु ढुङ्गानाको घर काठमाडौं मनमैजुमा बसी अध्ययनरत रहेकोमा मिति २०७०।०९।१७ गते ९:३० बजेको समयमा स्कुल गएकोमा प्रतिवादी रमेश लामाले ललाइफकाइ विभिन्न प्रलोभनमा पारी सोही मनमैजुको बाँसको झ्याङमा एकपटक जबरजस्ती करणी गरी विवाह गर्छु भनी निज प्रतिवादीको घर नुवाकोट सुनखानीमा लगी सोही रात पुनः जबरजस्ती करणी गरी ऐ. १८ गते अर्का प्रतिवादी हरि सापकोटाको घरमा लगी निज हरि सापकोटाले ऐ. राति एकपटक जबरजस्ती करणी गरी काठमाडौं जिल्ला, साङ्लामा रहेको जग्गा तिम्रो नाममा पास गरिदिन्छु भनी पुन: १९ गते काठमाडौं जिल्ला साङ्लामा भएको घरमा ल्याई पुन: एकपटक जबरजस्ती करणी गरेको र खोजतलासको क्रममा ऐ. २० गते छोरी सम्पर्कमा आएको र निजलाई पालैपालो सामूहिकरूपमा विभिन्न प्रलोभन देखाई विवाह गर्छु भनी नाबालिका छोरीलाई पटकपटक जबरजस्ती करणी गरेको हुँदा प्रतिवादीहरूलाई कारबाही गरिपाउँ भन्ने जाहेरी पर्न आएको पाइन्छ । पीडिता परिवर्तित नाम बालाजु १४ ले सोही बेहोरा खुलाई प्रतिवादीहरूले विभिन्न प्रलोभनमा पारी सामूहिकरूपमा जबरजस्ती करणी गरेको भनी सिलसिलेवार तथ्य खुलाई मौकामा कागज गरेको पाइन्छ । प्रतिवादीहरूले मौकामा बयान गर्दा कसुरमा साबित भई पीडितालाई प्रलोभन देखाई करणी गरेको तथ्य खुलाइदिएका छन् । पीडिताले प्रतिवादीहरूलाई सनाखत गरेको, प्रतिवादीसँग पीडिताको भनाइलाई अविश्वास गर्नपर्ने अन्य कारण देखिँदैन । पीडितासमेत बुझिएका मानिस अदालतमा उपस्थित भई मौकाको कागजलाई खम्बिर हुने गरी बकपत्र गरेको देखिन्छ । यस्तो अवस्थामा प्रतिवादीहरू अदालतमा इन्कार रहे तापनि आफूउपर पीडिताले जबरजस्ती करणीको आरोप लगाउनुपर्नाको प्रतीतयुक्त कारण वा आफू वारदातमा संलग्न नरहेको, विश्वासप्रद तथ्ययुक्त कारण खुलाउन सकेको अवस्था नहुँदा प्रस्तुत मुद्दालाई पीडिताले पनि दाबी नगरेको, प्रतिवादीहरूले पनि जिकिर नलिएको जबरजस्ती करणीको उद्योगमा परिणत गरेको फैसला आत्मपरक र मनोगत देखिन्छ । बिना तथ्य एवं विश्लेषण पीडिताको कागज बकपत्र, प्रतिवादीको मौकाको बयान आदि विपरीत गरेको फैसला त्रुटिपूर्ण हुँदा बदरभागी छ । अत: सामूहिकरूपमा जबरजस्ती करणी कायम गरेको सुरू फैसला बिनाआधार उल्टी गरेको उच्च अदालत पाटनको त्रुटिपूर्ण फैसला बदर गरी सुरू काठमाडौं जिल्ला अदालतको फैसला कायम गरिपाउँ भन्ने बेहोराको वादी नेपाल सरकारको यस अदालतमा दायर भएको पुनरावेदनपत्र ।
यसमा प्रतिवादीउपर किटानी जाहेरी दरखास्त परेको, जाहेरीलाई समर्थन गर्ने गरी पीडिताले अधिकारप्राप्त अधिकारी तथा अदालतमा उपस्थित भई बकपत्रसमेत गरिसकेको र पीडिता नाबालिकासमेत भएको अवस्थामा उच्च अदालत पाटनबाट मिति २०७४।०३।१७ गते भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु भन्ने बेहोराको यस अदालतको मिति २०७६।०७।२० को आदेश ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री कमलराज पन्थीले पीडिता बालाजु १४ वर्ष १३ की नाबालिग भएको र प्रतिवादीहरू बालिग रहेको कुरामा विवाद छैन । बालिग अवस्थाका यी प्रतिवादीहरू दुवैजना मिली पीडिता नाबालिग बालाजु १४ लाई ललाइफकाइ जबरजस्ती करणी गरेको तथ्य मिसिल संलग्न किटानी जाहेरी, पीडिता बालाजु १४ एवं मौकामा बुझिएका अन्जु ढुङ्गानासमेतले अदालतसमक्ष गरिदिएको बकपत्रले पुष्टि भइरहेकोले सुरू काठमाडौं जिल्ला अदालतबाट निज प्रतिवादीहरूलाई सामूहिक जबरजस्ती करणीमा सजाय हुने र पीडितालाई क्षतिपूर्तिसमेत भराइदिने ठहर गरी भएको फैसला उल्टी गरी प्रतिवादीहरूलाई जबरजस्ती करणी उद्योगतर्फ मात्र जनही ४ वर्ष कैद हुने ठहर्याई उच्च अदालत पाटनबाट भएको फैसला मिलेको नहुँदा सो फैसला बदर गरी सुरू फैसला सदर कायम गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।
यसैगरी प्रत्यर्थी प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री सोमनाथ सापकोटाले नाबालिग रहेकी पीडिता बालाजु १४ लाई निजको स्वइच्छामा सहमतिमा विवाह गर्छु भनी प्रतिवादीहरू रमेश लामा र हरि सापकोटाले फरकफरक ठाउँ फरक समयमा करणी लिनु दिनु गरेको हुँदा उच्च अदालत पाटनको फैसला मिलेकै देखिन्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भनी गर्नुभएको बहससमेत सुनियो ।
यसमा पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता र प्रत्यर्थी प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताको बहस सुनी मिसिल संलग्न कागजात अध्ययन गरी हेर्दा उच्च अदालत पाटनबाट सामूहिक जबरजस्ती करणीको सजायलाई जबरजस्ती करणी उद्योगमा परिणत गर्ने गरी भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्ने हो, होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. अब नाबालिकाको सहमतिमा करणी लिने दिने कार्य जबरजस्ती करणीको परिभाषाभित्र पर्छ वा पर्दैन ? उच्च अदालत पाटनले जबरजस्ती करणीको कसुरलाई उद्योग ठहर गरी फैसला गरेको मिलेको छ, छैन ? भन्ने प्रश्नमा विचार गर्दा, अनुसन्धानको क्रममा पीडिताले आफू विगत डेढ वर्षअगाडिबाट आफ्नो घर स्याङ्जाबाट सानीआमाको छोरी अन्जु ढुङ्गानाको घरमा आई बसी मनमैजु मा.वि.मा कक्षा ५ मा अध्ययनरत रहेकोमा विगत एक महिनाअगाडिबाट प्रतिवादी रमेश लामासँग चिनजान भई प्रायःजसो बाँसघारीमा भेट हुने गरेको, निजले मलाई विवाह गर्छु भनी प्रलोभन देखाउँदै मिति २०७०।०९।१७ गते बिहान ९:३० बजेको समयमा स्कुल जाने क्रममा मनमैजुको बाँसघारीमा लगी एकपटक जबरजस्ती करणी गरे । त्यसपछि निजको नुवाकोट घरसमेत लगी सुताई पुनः एकपटक जबरजस्ती करणी गरी अर्का प्रतिवादी हरि सापकोटालाई जिम्मा लगाए । निज हरि सापकोटाले समेत ऐ. १८ गते आफ्नो घर नुवाकोट सुनखानीमा लगी जबरजस्ती करणी गरी जग्गा दिने लोभ देखाई ऐ. १९ गते काठमाडौं जिल्ला साङ्लामा ल्याई पुनः अर्को पटक जबरजस्ती करणी गरे । त्यसपछि मेरो आफन्तले मलाई खोजतलास गरिरहेकोमा आफन्तको जिम्मा लगाइदिएको हो । निजहरूले विभिन्न प्रलोभनमा पारी विवाह गर्छु भनी पटकपटक सामूहिकरूपमा जबरजस्ती करणी गरेको हुँदा निजहरूलाई हदैसम्मको कारबाही गरिपाउँ भनी पीडिता बालाजु १४ ले कागज गरेको देखिन्छ । अनुसन्धानको क्रममा बुझिएका अन्जु ढुङ्गाना र कृष्ण ढुङ्गानाले बहिनी नाताकी पीडिता बालाजु १४ लाई मिति २०७०।०९।१७ गते बिहान ९:३० बजेको समयमा स्कुल हिँडेकोमा घर नफर्केपछि खोजतलास गर्दा प्रतिवादी रमेश लामाले ललाइफकाइ काठमाडौं जिल्ला, मनमैजुको बाँसघारीमा एक पटक र नुवाकोटमा लगी अर्को पटक जबरजस्ती करणी गरी आफ्नो गाउँको साथी हरि सापकोटालाई जिम्मा लगाई निजले समेत बिहे गर्ने तथा जग्गा दिने प्रलोभन देखाई ऐ. १८ र १९ गते गरि २ पटक जबरजस्ती करणी गरेको देखिन्छ । मिति २०७०।०९।१७ गतेदेखि ऐ. २० गते रातिसम्म पटकपटक सामूहिकरूपमा पालैपालो काठमाडौं जिल्ला, मनमैजुको बाँसघारीदेखि नुवाकोट सुनखानी घर तथा काठमाडौं जिल्ला साङ्लामा रहेको अर्को घरसमेतमा लगी विवाह गर्छु भनी विभिन्न प्रलोभन, डर एवं धाक धम्की देखाई मलाई जबरजस्ती करणी गर्ने व्यक्तिहरू रमेश लामा र हरि सापकोटा नै हुन् भनी हेरी, चिनी, पीडिता बालाजु १४ ले सनाखतसमेत गरेको देखिन्छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको परीक्षण रिपोर्टबाट यी पीडिता १३ वर्षकी नाबालिग रहेको देखिन्छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनले Human semen was detected on exhibit no.1 भनिएको छ । प्रतिवादीहरूले अदालतसमक्ष कसुरमा इन्कार रही बयान गरेको देखिए पनि सो इन्कारी प्रमाणित हुने वस्तुनिष्ठ एवं विश्वसनीय प्रमाण प्रतिवादीहरूले पेस गर्न सकेको देखिँदैन । अनुसन्धानको क्रममा बुझिएका अन्जु अधिकारी एवं पीडिता बालाजु १४ ले घटना वारदातको सम्बन्धमा सिलसिलेवाररूपमा उल्लेख गर्दै प्रतिवादीहरूले जबरजस्ती करणी गरेको यथार्थ विवरण खुलाई अदालतसमक्ष बकपत्र गरेको देखिन्छ ।
३. मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. मा “कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको
ठहर्छ ।” यसैगरी सोही महलको ३ नं. मा जबरजस्ती करणी गर्नेलाई देहायबमोजिम कैद सजाय हुने छ :
दश वर्षभन्दा मुनिकी बालिका भए दशदेखि पन्ध्र वर्षसम्म................................................. १
दश वर्ष वा सोभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए आठदेखि बाह्र वर्षसम्म... २
चौध वर्ष वा सोभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए छ वर्षदेखि दश वर्षसम्म.....३
सोह्र वर्ष वा सोभन्दा बढी बिस वर्षभन्दा कम उमेरकी महिला भए पाँच वर्षदेखि आठ वर्षसम्म................................................. ४
बिस वर्ष वा सोभन्दा बढी उमेरकी महिला भए पाँचदेखि सात वर्षसम्म.............................. ५
४. यसैगरी सोही महलको १० नं. मा “कसैले कुनै महिलालाई जबरजस्ती करणी गरेको ठहरेमा अदालतले त्यस्ती महिलालाई भएको शारीरिक वा मानसिक क्षति विचार गरी मनासिब ठहराएबमोजिमको क्षतिपूर्ति कसुरदारबाट भराइदिनुपर्ने छ...” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ ।
५. मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. र यसै गरी सोही महलको १० नं. मा भएको कानूनी व्यवस्थाअनुसार कसैले सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहरिने अर्थात् सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिएर नै करणी गरेको अवस्था रहेछ भने पनि त्यस्तो अवस्थामा भएको करणी जबरजस्ती करणीको परिभाषाभित्र पर्ने देखियो । सापेक्ष दायित्व (Relative liability) हुने अपराधको सम्बन्धमा आपराधिक मनसाय (Mens rea) र आपराधिक कार्य (Actus reus) दुवै तत्त्वको विद्यमानतामा मात्र पूर्ण अपराध हुने अवधारणा रहेको पाइन्छ । तथापि केही कसुरहरूको सम्बन्धमा आपराधिक कार्यको विद्यमानताले मात्र पनि पूर्ण अपराध कायम भई पूर्ण दायित्व वहन गर्नुपर्ने गरी कठोर दायित्व (strict liability) हुने फौजदारी कसुरहरूको व्यवस्था गरिएको पाइन्छ । उमेर पुगेकी महिलाउपर हुने करणीको कसुर सापेक्ष दायित्वको कसुर हुने भए तापनि बालिकाउपर हुने करणीको कसुरलाई भने कठोर दायित्वको कसुरअन्तर्गत राखिने फौजदारी कानूनको अन्तर्राष्ट्रिय अभ्यास रहेको पाइन्छ । नेपालको फौजदारी कानूनले समेत यही अवधारणालाई आत्मसात् गरेको देखिन्छ । बालिकाको मानसिक विकासको स्तरलाई ध्यानमा राखी उनीहरूले करणीको लागि स्वतन्त्ररूपले सहमति प्रदान गर्न नसक्ने, करणीका लागि उनीहरूको शारीरिक विकासको अवस्था परिपक्व भई नसक्ने तथा यस्तो कसुरबाट उनीहरूमा नकारात्मक शारीरिक, मनोवैज्ञानिक र सामाजिक असर पर्न गई समग्र व्यक्तित्व विकासमा समस्या हुने भएकोले बालिकाको प्रभावकारी संरक्षण गर्नुपर्ने मान्यताका आधारमा बालिकाउपर हुने करणीको कसुरलाई कठोर दायित्वको कसुर मानिन्छ । यस्तो कसुरमा कसुरदारको कार्य नै पर्याप्त हुन्छ, उनको मनसाय भए वा नभएको विषय गौण रहन्छ । तसर्थ, करणीको लागि बालिकाको सहमति भएको भए पनि उक्त सहमतिलाई स्वतन्त्र सहमतिको रूपमा ग्रहण गर्न मिल्दैन । फेरि नाबालिका कानूनत: आर्थिक रूपमा र सामाजिक रूपमा पनि असमान रहन्छन् । उनमा यौन सम्बन्धलाई इन्कार गर्न सक्ने सक्षमता पनि रहन्न । केही गर्ला भन्ने डर पनि रहन्छ । प्रतिरक्षा (Defense) गर्ने साहस पनि रहन्न । पर्याप्त रूपमा सुसूचित भएर निर्णय गर्न सक्ने परिपक्वता नै नाबालिगमा रहेको हुँदैन । नाबालकमा यौनसम्पर्कको जोखिम र परिणामको पर्याप्त बुझाई र मूल्याङ्कन गर्ने क्षमताको समेत कमी हुने हुँदा नाबालकको यौन शोषण भएको अवस्थामा सुरक्षात्मक भूमिका खेली नाबालकलाई यौन शोषकबाट बचाउन र सहमतिमा करणी भएको अवस्थामा पनि दण्डनीय भूमिका खेली नाबालकलाई स्वयंबाट जोगाउन कानूनले नाबालकउपर हुने करणीको कसुरलाई कठोर दायित्वको कसुरअन्तर्गत राखेको देखिन्छ । यसर्थ नाबालिगसँगको यौन सम्बन्धमा सहमति थियो भन्नुको कुनै अर्थ रहँदैन । तसर्थ, प्रस्तुत मुद्दामा पीडिता बालाजु १४ को परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट भएको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट निजको उमेर १३ वर्ष देखिएबाट प्रतिवादीहरूले पीडिताउपर गरेको करणीको अपराध जबरजस्ती करणी हुने नै देखियो । यसरी जबरजस्ती करणीबाट पीडिता हुन पुग्ने पीडितालाई भएको शारीरिक वा मानसिक क्षति विचार गरी मनासिब ठहराएबमोजिमको क्षतिपूर्ति कसुरदारबाट भराइदिनुपर्ने देखिँदा यी पीडिताले प्रतिवादीहरूबाट मनासिब क्षतिपूर्ति पाउने नै अवस्था देखिन आयो ।
६. यसैगरी सुमन पहरी वि. नेपाल सरकार भएको जबरजस्ती करणी मुद्दा (ने.का.प. २०७४, श्रावण अङ्क ४, नि.नं. ९८०१) मा “...जबरजस्ती करणीको वारदातको प्रमाणको पहिलो कडी भनेको स्वयम् पीडिता हो भने अर्को कडी पीडिताको शारीरिक परीक्षण हुने” भनी यसैगरी परिवर्तित नाम B देवीको जाहेरीले नेपाल सरकार वि. चन्द्रप्रसाद तिवारी भन्ने चन्द्रबहादुर तिवारी भएको जबरजस्ती करणी मुद्दा (ने.का.प. २०६९, मङ्सिर अङ्क ८, नि.नं. ८८७८) मा “जाहेरवालीको किटानी जाहेरी र पीडिताले मौकामा गरेको कागज तथा वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूले गरेको कागज तथा चिकित्सकीय प्रतिवेदनको प्रतिकूल हुने गरी जबरजस्ती करणीको वारदात नै भएको होइन भनी निष्कर्षमा पुग्नु न्यायोचित नहुने ।” “प्रतिवादीको अदालतको इन्कारी बयानको विरूद्धमा प्रमाण यथेष्ट मौजुद रहेको अवस्थामा अदालतको इन्कारी बयान मात्र निर्दोषिता साबित हुने एक मात्र आधार हुन नसक्ने ।” “जबरजस्ती करणीको वारदातको पहिलो कडी भनेको स्वयं पीडिता हो र यी पीडितालाई प्रत्यक्ष र जीवित प्रमाण मान्नुपर्ने हुन्छ भने पीडिताको शारीरिक परीक्षण अर्को कडी मान्नुपर्ने ।” भनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ ।
७. यस अदालतबाट प्रतिपादित उल्लिखित सिद्धान्तको रोहबाट हेर्दा, जबरजस्ती करणीजस्तो गम्भीर अपराधमा अन्यथा प्रमाणित नभएसम्म पीडितालाई प्रत्यक्ष र भरपर्दो प्रमाणको रूपमा
लिनुपर्दछ । जाहेरी दरखास्तमा प्रतिवादीले जाहेरवालालाई डर, धाकधम्की दिई जबरजस्ती करणी गरेको भनी उल्लेख गरेको बेहोरालाई अन्यथा प्रमाणित नभएसम्म प्रमाणयोग्य मान्नुपर्ने नै हुन्छ । पीडिताको तर्फबाट परेको जाहेरी, सो जाहेरीलाई समर्थन हुने गरी पीडितालगायत अनुसन्धानको क्रममा बुझिएका व्यक्तिहरूले अदालतसमक्ष गरेको बकपत्रजस्ता प्रमाणहरूसमेत ग्रहणयोग्य देखिन्छन् । प्रतिवादीले अदालतसमक्ष कसुरमा इन्कार रही बयान गरेको देखिए पनि निजको इन्कारी एवं निर्दोषिता पुष्टि हुने प्रमाण पेस हुन सकेको देखिँदैन । प्रतिवादीहरूले पीडिताउपर घटाएको वारदातको सम्बन्धमा पीडिता तथा मौकामा बुझिएका व्यक्तिहरूले आफ्नो अनुसन्धानको क्रममा उल्लेख गरेको भनाइलाई समर्थित हुने गरी अदालतसमक्ष लेखाइदिएको बेहोरा अन्यथा प्रमाणित हुन सकेको देखिँदैन । यसरी प्रतिवादीहरूले अदालतसमक्ष इन्कारी बयान गरेको भए तापनि निजहरूले मौकामा अनुसन्धान अधिकारीसमक्ष कसुरमा साबित हुँदै घटनालाई सिलसिलेवार रूपमा उल्लेख गरी बेहोरा लेखाइदिएको, निज प्रतिवादीहरूउपर किटानी जाहेरी परी जाहेरी बेहोरालाई समर्थन गर्दै जाहेरवालाले अदालतसमक्ष बकपत्र गरिदिएको, मौकामा बुझिएकी अन्जु ढुङ्गाना र पीडिताले आफ्नो मौकाको भनाइ पुष्टि हुने गरी अदालतसमक्ष बकपत्र गरिदिएको साथै परोपकार प्रसूति केन्द्र, थापाथलीबाट भएको पीडिताको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट पीडिता नाबालिग देखिएकोसमेतका प्रमाणहरूबाट यी प्रतिवादीद्वय रमेश लामा र हरि सापकोटाले पीडितालाई जबरजस्ती करणी गरेको पुष्टि हुन आएको देखिँदा सुरू फैसला उल्टी गरी प्रतिवादीहरूलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(२) नं. र ऐ. ५ नं. बमोजिम जबरजस्ती करणी उद्योगतर्फ मात्र जनही ४(चार) वर्ष कैद हुने ठहर्याई उच्च अदालत पाटनबाट भएको फैसला कानून एवं न्यायसम्मत देखिन आएन । जबरजस्ती करणी महलको १ नं. कसुर नै देखिन आयो ।
८. अब, यी प्रतिवादीहरूले पीडितालाई सामूहिकरूपमा जबरजस्ती करणी गरेका हुन्, होइनन् ? भन्ने सन्दर्भमा विचार गर्दा मिसिल संलग्न तथ्यहरूको विवेचना गरी हेर्दा पीडिता स्वयंले मौकामा कागज गर्दा र अदालतसमक्ष बकपत्र गर्दासमेत सर्वप्रथम प्रतिवादी रमेश लामासँग चिनजान भई निजले विवाह गर्छु भनी प्रलोभन देखाउँदै मिति २०७०।०९।१७ गते बिहान ९:३० बजेको समयमा स्कुल जाने क्रममा मनमैजुको बाँसघारीमा लगी एकपटक जबरजस्ती करणी गरे । त्यसपछि निजको नुवाकोट घरसमेत लगी सुताई पुनः एकपटक जबरजस्ती करणी गरी अर्का प्रतिवादी हरि सापकोटालाई जिम्मा लगाए । निज हरि सापकोटाले समेत ऐ. १८ गते आफ्नो घर नुवाकोट सुनखानीमा लगी जबरजस्ती करणी गरी जग्गा दिने लोभ देखाई ऐ. १९ गते काठमाडौं जिल्ला साङ्लामा ल्याई पुनः अर्को पटक जबरजस्ती करणी गरे । निजहरूले मलाई विभिन्न प्रलोभनमा पारी विवाह गर्छु भनी पटकपटक सामूहिकरूपमा जबरजस्ती करणी गरेको हुँदा निजहरूलाई हदैसम्मको कारबाही गरिपाउँ भनी पीडिता परिवर्तित नाम बालाजु १४ ले बेहोरा लेखाइदिएको देखिन्छ । निजको भनाइबाट प्रतिवादीहरू रमेश लामा र हरि सापकोटाले पीडितालाई एकै समय एकै स्थानमा दुवैजना एकसाथ मिली जबरजस्ती करणी गरेको भन्ने देखिँदैन । प्रतिवादी रमेश लामाले मिति २०७०।०९।१७ गते बिहान ९:३० बाँसघारीमा र सोही रात आफ्नो घरमा जबरजस्ती करणी गरेको देखिन्छ भने भोलिपल्ट निज प्रतिवादी रमेश लामाले पीडितालाई अर्का प्रतिवादी हरि सापकोटाको जिम्मा लगाएपछि रमेश लामाको उपस्थिति रहे भएको
देखिँदैन । प्रतिवादी रमेश लामाबाट पीडितालाई प्रतिवादी हरि सापकोटाले जिम्मा लिएपछि निजले आफ्नो घरमा राखी पीडितालाई जबरजस्ती करणी गरेको देखिएबाट प्रतिवादीहरूले मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३क नं. मा “...जुनसुकै उमेरका महिलाउपर सामूहिकरूपमा जबरजस्ती करणी गरेमा यस महलमा लेखिएको सजायमा थप पाँच वर्ष कैद गर्नुपर्छ ।” भन्ने कानूनी व्यवस्था मुताबिक यी प्रतिवादीहरूले सामूहिकरूपमा पीडितालाई जबरजस्ती करणी गरेको पुष्टि हुन आएको नदेखिँदा प्रतिवादीहरूलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३क अनुसारको अभियोग दाबीबमोजिम सामूहिक जबरजस्ती करणीतर्फको थप सजाय गर्न मनासिब हुने देखिएन ।
९. तसर्थ, माथि विवेचित आधार, कारण र प्रमाणहरूबाट प्रतिवादीहरू रमेश लामा र हरि सापकोटालाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं.को कसुरमा ३(२) नं. बमोजिम जनही ८ (आठ) वर्ष कैद र सोही महलको ३क नं. बमोजिम सामूहिक जबरजस्ती करणी गरेबापत जनही थप ५(पाँच) वर्ष गरी जम्मा १३ वर्ष कैद र पीडिताले प्रतिवादीहरूबाट जबरजस्ती करणीको महलको १० नं. बमोजिम जनही रू.१,००,०००।- (एक लाख) क्षतिपूर्तिसमेत भरिपाउने ठहर गरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७१।४।२८ मा भएको फैसला केही उल्टी गरी प्रतिवादीहरूलाई साबिक मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(२) नं. र ऐ. ५ नं. बमोजिम जबरजस्ती करणी उद्योगतर्फ जनही ४(चार) वर्ष कैद हुने ठहर्याई उच्च अदालत पाटनबाट मिति २०७४।०४।१७ मा भएको फैसला मिलेको नदेखिँदा केही उल्टी भई पीडितालाई फरक समयमा फरक ठाउँमा जबरजस्ती करणी गरेको पुष्टि हुन आएकोले प्रतिवादीहरूलाई सामूहिकतर्फ ३क नं. बमोजिम थप सजाय गर्नुपर्ने देखिएन । प्रतिवादीहरू रमेश लामा र हरि सापकोटालाई साबिक मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(२) नं. बमोजिम जनही ८ (आठ) वर्ष कैद हुने र पीडिताले प्रतिवादीहरूबाट साबिक मुलुकी ऐन, जबरजस्ती करणीको महलको १० नं. बमोजिम जनही रू.१,००,०००।- (एक लाख) क्षतिपूर्तिसमेत भराइपाउने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादीहरू रमेश लामा र हरि सापकोटालाई साबिक मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(२) नं. बमोजिम जनही ८ (आठ) वर्ष कैद हुने ठहरेकोले सोबमोजिम लगत संशोधन गरी लगत कसी कैद असुल गर्नु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू----१
पीडिताले प्रतिवादीहरूबाट साबिक मुलुकी ऐन, जबरजस्ती करणीको महलको १० नं. बमोजिम जनही रू.१,००,०००।- (एक लाख) क्षतिपूर्तिसमेत भरिपाउने ठहरेकोले पीडितालाई फैसला र क्षतिपूर्तिको जानकारी दिई कानूनबमोजिमको दरखास्त लिई फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १६५ बमोजिमको प्रक्रिया पूरा गरी पीडितालाई प्रतिवादीहरूबाट क्षतिपूर्ति भराइदिनु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू-----------------------------------------२
यो फैसलाको प्रमाणित प्रतिलिपि पीडिता र महान्यायाधिवक्ताको कार्यालयलाई दिनू-------------३
सरोकारवालाले नक्कल मागे नियमानुसार लाग्ने दस्तुर लिई नक्कल दिनू-------------------------------------४
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी यो फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू--------------------------५
उक्त रायमा सहमत छु ।
न्या. प्रकाशकुमार ढुङ्गाना
इजलास अधिकृतः- इन्द्रकुमार श्रेष्ठ
इति संवत् २०७८ साल फागुन १३ गते रोज ६ शुभम् ।