शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १११४३ - लागु औषध (इन्जेक्सन)

भाग: ६५ साल: २०८० महिना: मंसिर अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ

फैसला मिति : २०७९।५।३०

०७२-CR -२०७३

 

मुद्दाः लागु औषध (इन्जेक्सन)

 

पुनरावेदक/वादी : प्र.नि.केदारराज पन्तको प्रतिवेदनले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : जिल्ला काठमाडौं गोलढुङ्गा गा.वि.स. वडा नं.२ बस्ने राजु महर्जन

 

एउटा व्यक्तिको नामको फोन सिम अर्को व्यक्तिले प्रयोग गर्नै नसक्ने भन्ने कुनै अकाट्य व्यवस्था रहेको नदेखिने । सहप्रतिवादीले उल्लेख गरेको फोन नम्बर प्रतिवादीको नाममा जारी भएको देखिएको एउटा मात्र आधारले प्रतिवादीउपरको कसुर प्रमाणित भएको मान्न नसकिने । 

(प्रकरण नं. ४)

 

पुनरावेदक/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री टेकबहादुर कार्की

प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री बुद्धिप्रसाद खरेल र श्री दानबहादुर बुढा

अवलम्बित नजिर :

सम्बद्ध कानून :

लागु औषध (नियन्त्रण) ऐन, २०३३

 

सुरू तहको फैसला गर्ने :

मा. जि.न्या. श्री कमलराज विष्ट

रूपन्देही जिल्ला अदालत

पुनरावेदन तहको फैसला गर्ने :

मा. न्या. श्री टीकाबहादुर हमाल

मा. न्या. श्री रामचन्द्र यादव

पुनरावेदन अदालत बुटवल

 

फैसला

न्या. तिलप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) बमोजिम दर्ता भई हाल प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) (क) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र परी आज यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ । 

मुद्दाको सङ्क्षिप्त तथ्य

जिल्ला रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१३ बसपार्क भन्ने स्थानको पूर्वमा भैरहवा बसपार्क जाने पक्की सडक, पश्चिम पर्वत गेष्ट हाउस, उत्तर बुटवलतर्फ जाने पक्की सडक, दक्षिण बेलहियातर्फ जाने पक्की सडक यति चार किल्लाभित्र पर्ने बसपार्क भन्ने स्थानमा जिल्ला पाल्पा दोभान गा.वि.स वडा नं. ५ बस्ने वर्ष २० को शंकर गुरूङ दक्षिणबाट उत्तरतर्फ पैदल आइरहेको अवस्थामा निजको शरीर खानतलासी गर्दा निजको छातीमुनि पेटको भागमा र दुवै तिघ्रासमेतमा सेतो टेपले बाँधेर लुकाइ छिपाइ राखेको अवस्थामा लागु औषध २।२ एमएलको झोलसहितको डाइजेपाम १०० सिसी, फेनरागन १०० सिसी र लुपिजेसिक १०० सिसी फेला परेको भन्नेसमेत बेहोराको खानतलासी एंव बरामदी मुचुल्का । 

मिति २०६९।४।२ गतेका दिन अं.१७:३० बजेको समयमा जिल्ला रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१३ स्थित बसपार्क भन्ने स्थानमा शङ्कित अवस्थामा हिँडिरहेका शंकर गुरूङको शरीर खानतलासी गर्दाका अवस्थामा निजको शरीरबाट लागु औषध डाइजेपाम १०० सिसी, फेनारगन १०० सिसी र लुपिजेसिक १०० सिसी फेला परेको हुँदा निजलाई पक्राउ गरी यसै प्रतिवेदनसाथ दाखिल गरेका छौं भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन । 

मिति २०६९।४।२ गतेका दिन अं.१७:३० बजेको समयमा प्रतिवादी शंकर गुरूङको साथबाट बरामद हुन आएको लागु औषध डाइजेपाम, फेनरागन र लुपिजेसिक राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, रूपन्देही जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय रूपन्देहीलाई ५/५ सिसीका दरले नमुना छुट्ट्याइएको नमुना मुचुल्का । 

मिति २०६९।४।२ गतेका दिन म भैरहवाबाट भारतको सुनौली बजारमा रहेको किशान मेडिकलअगाडि आइपुग्दा मलाई सो मेडिकलका सञ्चालक रेहान मुसलमानले काठमाडौंमा लागु औषध पुर्‍याउनु छ भनी नगद रू. १५००।– दिई सामान पुर्‍याई आएपछि तिमीलाई १ ग्राम लागु औषध ब्राउनसुगरसमेत दिउँला भनी मलाई शरीरमा टेपले लागु औषध बाँधिदिए । सो लागु औषध काठमाडौंको कलंकी पुगेपछि ९८१३७९८२८४ को फोन सम्पर्क गरी विराज भाइलाई दिनु भनेकोले सो लागु औषध बोकी लिई आउने क्रममा प्रहरीले मलाई शरीर खानतलासी गर्दा लागु औषध फेनारगन १०० सिसी, लुपिजेसिक १०० सिसी, डाइजेपाम १०० सिसीसहित फेला पारी प्रहरीले पक्राउ गरी लिई आएको हो । यसभन्दा अघि पनि लागु औषध मुद्दामा पक्राउ परी रू.५०००।– धरौटी राखी तारेखमा छुटी गएको हो भन्नेसमेत बेहोराको प्रतिवादी शंकर गुरूङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

मिति २०६९।४।२ गतेका दिन प्रतिवादी शंकर गुरूङको साथबाट बरामद भई नमुना निकाली बाँकी रहेका लागु औषध नष्ट गरेको नष्ट मुचुल्का । 

टेलिफोन नम्बर ९८१३७९८२८४, ९८०७४३३९८१ र ९८०३२९६७८६ को कल डिटेल मिसिल सामेल रहेको । 

शंकर गुरूङको साथबाट बरामद हुन आएको लागु औषध परीक्षण गर्दा साइकोट्रापिक ड्रग डाइजेपाम, एन्टिहिस्टामिन ड्रग प्रोमिथाजिन र बुप्रेनोर्फिन पाइएको भन्नेसमेत बेहोराको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन । 

मिति २०६९।४।२ गतेका दिन प्रतिवादी शंकर गुरूङको साथबाट लागु औषध डाइजेपामसमेत फेला परेको हो । निजले लागु औषधको कारोबारसमेत गर्ने गरेका छन् भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्का । 

प्रतिवादी शंकर गुरूङले लागु औषध (नियन्त्रण) ऐन,२०३३ को दफा ४ को देहाय (ङ)(च) र दफा १४(१)(झ) को कसुर गरेको हुँदा उक्त कसुरमा निज प्रतिवादी शंकर गुरूङलाई सोही ऐनको १४(१)(झ) अनुसार सजाय गरी ऐ. दफा १६ अनुसार थप सजाय हुन र प्रतिवादी शंकर गुरूङले बयानमा उल्लेख गरेअनुसार अन्य प्रतिवादीहरू राजु महर्जन र धनबहादुर ढेगाले उक्त लागु औषध शंकर गुरूङमार्फत अन्य व्यक्तिहरूलाई बिक्री वितरण गर्ने गरेको भन्ने देखिन आएकोले निज प्रतिवादीहरूलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाय (घ) र (च) को कसुर अपराधमा सोही ऐनको दफा १४(१) को देहाय (झ) अनुसार सजाय हुन मागदाबी लिई वादी नेपाल सरकारले दायर गरेको अभियोगपत्र । 

यसभन्दा अघि पनि म लागु औषध मुद्दामा रू. ५,०००।– धरौटी माग भई फैसला हुँदा लागेको कैदबापत जेल बसेर कैद कटाइसकेको थिएँ । मिति २०६९ । ४ । २ गते सुनौलीको किसन मेडिकलका साहुले यो भैरहवा बुटवलसम्म पुर्‍याइदेउ भनेकामा मैले रू.१५००।– लिई फोन नम्बर लिई मैले बरामद लागु औषध शरीरको विभिन्न भागमा टेपले टाँसेर लिइ आउँदै गर्दा सिद्धार्थनगर नगरपालिका १३ मा मेरो शरीर चेकजाँच गर्दा प्रहरीले २।२ एम.एल.को डाइजेपाम १०० सिसी, लुपिजेसिक १०० सिसी, फेनरागन १०० सिसी बरामद गरी मलाई पक्राउ गरेका हुन् । मैले लागु औषध सेवन पनि गर्छु र पैसाको लागि ओसारपसार गरी पसलसम्म पुर्‍याउने काम पनि गर्छु तर बिक्री वितरण गर्दिनँ । यस्तो कार्य गर्दा सजाय हुने नहुने थाहा थिएन भन्ने बेहोराको प्रतिवादी शंकर गुरूङले सुरू अदालतमा गरेको बयान । 

बरामदी मुचुल्कामा उल्लिखित लागु औषध मेरो होइन । मेरो नागरिकता पटक पटक हराएर तेस्रो पटकसम्म नागरिकताको प्रतिलिपि निकालेकोले मेरो नागरिकताबाट मेरो नामको सिमकार्ड कसैले निकालेको हुनुपर्छ । सिम निकालेको फाराममा लागेको सहीछाप फोटो पनि मेरो हो । सो सिम पनि सेटबाट हटाइसकेको छ । मैले लागु औषधको कारोबार गरेको छैन र मैले प्रतिवादी शंकर गुरूङलाई चिनेको पनि 

छैन । मेरो नागरिकताको फाइदा लिई को कसले यस्तो काम गरे मलाई कुनै जानकारी छैन भन्ने बेहोराको प्रतिवादी राजु महर्जनले सुरू अदालतमा गरेको बयान । 

प्रतिवादी धनबहादुरको नाममा म्याद जारी गरी पठाइएकोमा बेपत्ते म्याद तामेल भई आएको देखिएको । 

मैले शंकर गुरूङलाई चेक जाँच गर्दा निजको छाती र खुट्टाको तिघ्रामा लुकाइराखेको लागु औषध डाइजेपाम १०० थान, लुपिजेसिक १०० थान र फेनारगन १०० थान बरामद गरेको हो भन्ने बेहोराको प्रतिवेदक केदारराज पन्तको सुरू अदालतमा भएको बकपत्र ।             

प्रतिवादी शंकर गुरूङले भारतको सुनौलीबाट नेपालमा लागु औषध ओसारपसार गर्दाको अवस्थामा लागु औषधसहित पक्राउमा परेकोमा उक्त लागु औषध कसलाई दिन ल्याएको हो भनी यकिनसाथ भन्नसकेको अवस्था देखिँदैन । रेहान मुसलमानले प्रतिवादी शंकर गुरूङमार्फत पठाएको बरामदी लागु औषधहरू काठमाडौं कलंकी पुर्‍याई मोबाइल नं. ९८१३७९८२८४ मा फोन गर्नु र विराज भाइलाई दिनु भनी बताएको भनी प्रतिवादी शंकर गुरूङले गरेको बयानको आधारमा उक्त फोन नं प्रतिवादी राजु महर्जनको नाममा जारी भएकोले यी प्रतिवादीउपर अभियोग दाबी लिएको पाइन्छ । प्रतिवादीबाट लागु औषध बरामद नभएको, बरामदी लागु औषध निजले ओसारपसार गराएको भन्ने तथ्य प्रमाणित नभएको र मौकामा पक्राउमा परेका प्रतिवादी शंकर गुरूङले यी प्रतिवादीउपर आरोपित कसुरमा पोल नगरेको अवस्थामा भारतीय पसलेले दिएको फोनको सिम नम्बर मिलेकै आधारमा यी प्रतिवादीको उक्त कसुरमा संलग्नता रहेको भन्न सकिने अवस्था देखिएन । अतः प्रतिवादी शंकर गुरूङले अभियोग दाबीबमोजिमको कसुर अपराध गरेकाले निजलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१) (झ) अनुसार २ वर्ष कैद र रू. १,००,०००।– जरिवाना हुने तथा यसपूर्व पनि निज प्रतिवादी दफा १७ अनुसारको कसुर गरेको ठहर भइसकेको भन्ने देखिँदा निज प्रतिवादीलाई अभियोग दाबीबमोजिम ऐ. ऐनको दफा १६ अनुसार थप ३ महिना कैद र रू. ५,०००।– जरिवाना हुने तथा प्रतिवादी राजु महर्जनले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ र प्रतिवादी धनबहादुर ढगाको नामको म्याद बेपत्ते तामेल भएकोले निजको हकमा मुद्दा तामेलीमा राखिदिएको छ भन्नेसमेत बेहोराको सुरू रूपन्देही जिल्ला अदालतको मिति २०७०।१२।२६ को फैसला । 

प्रतिवादी राजु महर्जनको साथबाट लागु औषध बरामद नभएको भए तापनि अन्य कागज प्रमाणले लागु औषधको कारोबार गरेको भन्ने पुष्टि भएको अवस्थामा प्रतिवादीको साथबाट लागु औषध बरामद नभएको कारणले मात्र कसुरबाट छुट दिन मिल्दैन । सह-प्रतिवादी शंकर गुरूङले मौकामा र अदालतमा गरेको बयानमा समेत आफू लागु औषधको ओसारपसारमा संलग्न रहेको तथ्य स्वीकार गरी बयान गरेको र निजबाट बरामद लागु औषध यी प्रतिवादी राजु महर्जनलाई दिन भनी सुनौली स्थित किशन मेडिकलका मालिकले निजको फोन नं.समेत दिई पठाएको भनी स्पष्ट लेखाएको अवस्थामा यी प्रतिवादीलाई सफाइ दिने गरी भएको सुरू फैसला त्रुटिपूर्ण छ । वारदातमा प्रयोग भएको मोबाइल नम्बर प्रतिवादीले भरेको फारामसमेतका कागजातबाट यी प्रतिवादीको हो भनी पुष्टि भएकोमा निज प्रतिवादी राजु महर्जन लागु औषधको कारोबार गर्ने प्रमुख व्यक्ति भएको देखिन्छ । अतः प्रतिवादी राजु महर्जनलाई सफाई दिने गरी भएको फैसला बदर गरी निज प्रतिवादीलाई समेत अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको वादी नेपाल सरकारको पुनरावेदनपत्र । 

प्रतिवादी राजु महर्जनले अदालतमा बयान गर्दा इन्कार रही बयान गरेको पाइन्छ । सहप्रतिवादी शंकर गुरूङको बयानमा उल्लिखित वारदातमा प्रयोग भएको मोवाइल नं. ९८१३७९८२८४ को दर्ता फाराममा प्रतिवादीमध्येका राजु महर्जनको सहीछाप र निजको नागरिकताको प्रतिलिपि संलग्न रहेको मिसिल संलग्न कागजातबाट देखिन आएकोले सोही आधारमा निजलाई प्रतिवादी कायम गरेको 

पाइयो । प्रतिवादी शंकर गुरूङ लागु औषधका सेवन तथा खरिद बिक्रीकर्ता भन्ने पुष्टि भएको र सुरूबाट निजलाई अभियोग दाबीबमोजिम सजायसमेत भएको अवस्था छ । वादी पक्षबाट यी प्रतिवादी राजु महर्जनउपर लागु औषध बिक्री वितरणसमेतको कसुरको दाबी लिएको भए पनि प्रतिवादीबाट बरामदी मुचुल्कामा उल्लिखित लागु औषध बरामद नभएकोमा यी प्रतिवादीले लागु औषध बिक्री वितरण गरेका थिए भनी वादी पक्षले खुलाउन सकेको देखिँदैन । यसरी वादी पक्षबाट यी प्रतिवादीउपरको दाबी कुनै पनि आधार र प्रमाणबाट पुष्टि गराउन नसकेको अवस्थामा केवल सहप्रतिवादीले उल्लेख गरेको मोबाइल नं. को दर्ता फाराम यी प्रतिवादीको भएको आधारमा मात्र यी प्रतिवादीलाई कसुरदार ठहर गर्नु न्यायोचित नहुने भएकोले यी प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिने गरी सुरू रूपन्देही जिल्ला अदालतबाट मिति २०७०।१२।२६ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने बेहोराको मिति २०७२/०५/३० को पुनरावेदन अदालत बुटवलको फैसला । 

सहप्रतिवादी शंकर गुरूङले मौकामा र अदालतसमक्ष गरेको बयानमा समेत आफू लागु औषध ओसारपसारमा संलग्न रहेको तथ्य स्वीकार गरी बयान गरेका छन् । सहप्रतिवादी शंकर गुरूङले लागु औषधको व्यापारीले प्रतिवादी राजु महर्जनलाई लागु औषध दिनको लागि फोन नं. उपलब्ध गराएको र लागु औषध लिई हिँडेको भनी बयानमा लेखाएको अवस्था छ । उक्त फोन नं. प्रतिवादी राजु महर्जनको भएको भनी कागजातबाट पुष्टि भएकोले लागु औषध ओसारपसार गर्ने प्रतिवादी शंकर गुरूङलाई मात्र कसुरदार ठहर गरी मुख्य अभियुक्त राजु महर्जनलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालत बुटवलको फैसला त्रूटिपूर्ण हुँदा बदर गरी प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको वादी नेपाल सरकारको यस अदालतमा परेको मुद्दा दोहोर्‍याइपाउँको निवेदन । 

यसमा प्रतिवादी शंकर गुरूङसँग प्रतिवादी राजु महर्जनको नागरिकताको प्रतिलिपि र मोबाइल नम्बरसमेत रहेको र त्यसमा वारदातको दिन समयताका फोन सम्पर्क भएको भनी प्रतिवादी शंकर गुरूङले प्रतिवादी राजु महर्जन विरूद्ध अदालतमा पोल गरेकोसमेतको प्रमाणको उचित मूल्याङ्कन नगरी प्रतिवादी विरूद्धको अभियोग दाबी पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालत बुटवलको मिति २०७२/५/३० को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ९ र ५४ को त्रुटि देखिन आएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । नियमबमोजिम गर्नु भन्ने बेहोराको मिति २०७३/०२/३१ गतेको यस अदालतको आदेश । 

अदालतको ठहर

नियमानुसार पेसी सूचीमा चढी सुनुवाइका लागि आज यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा प्रतिवादी शंकर गुरूङले लागु औषध (नियन्त्रण) ऐन,२०३३ को दफा ४ को देहाय (ङ) र (च) को कसुरमा दफा १४(१)(झ) बमोजिम सजाय गरी सोही ऐनको दफा १६ अनुसार थप सजाय हुन तथा अन्य प्रतिवादीहरू राजु महर्जन र धनबहादुर ढेगाका हकमा उक्त लागु औषध शंकर गुरूङमार्फत अन्य व्यक्तिहरूलाई बिक्री वितरण गर्ने गरेको भनी लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाय (घ) र (च) को कसुरमा सोही ऐनको दफा १४(१) को देहाय (झ) अनुसार सजाय हुन मागदाबी लिई वादी नेपाल सरकारको तर्फबाट अभियोगपत्र दायर भएको रहेछ । सुरू जिल्ला अदालतबाट फैसला हुँदा प्रतिवादीमध्येका शंकर गुरूङका हकमा अभियोग माग दाबीबमोजिम सजाय हुने, प्रतिवादी राजु महर्जनका हकमा सफाइ पाउने र प्रतिवादी धनबहादुर ढेगाका हकमा तामेलीमा रहने ठहर्‍याई फैसला भएकोमा सफाइ पाएका प्रतिवादीका हकमा वादी नेपाल सरकारको पुनरावेदन परेकोमा पुनरावेदन अदालतबाट पनि राजु महर्जनका हकमा सुरू फैसला सदर हुने ठहराई फैसला भएको रहेछ । प्रतिवादीमध्येका राजु महर्जनलाई सफाइ दिई भएको उक्त फैसलाउपर चित्त नबुझाई दोहोर्‍याई हेरिपाउन निवेदन परेकोमा यस अदालतबाट दोहोर्‍याई हेर्ने अनुमति प्राप्त भएबमोजिम प्रस्तुत मुद्दा आज यस इजलासमा पेस हुन आएको देखियो । 

प्रस्तुत पुनरावेदन हेर्दा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट पुनरावेदन अदालतको फैसलामा चित्त नबुझेको आधारको रूपमा देहायका बुँदाहरू उल्लेख गरेको पाइन्छ :

(क) कसुरदार ठहर भएका प्रतिवादी शंकर गुरूङले अदालतमा बयान गर्दासमेत आफूबाट बरामद भएको लागु औषध सुनौलीका व्यापारीले काठमाडौं कलंकीका विराज भाइलाई दिन पठाएको भनी बयान गरेको देखिएको, 

(ख) सुनौलीका व्यापारीले विराज भाइको भनी उपलब्ध गराएको मोबाइल नम्बर यी प्रतिवादी राजु महर्जनको नाममा रहेको देखिएको,

(ग) मोबाइल नम्बर यी प्रतिवादीको रहेको देखिएकोबाट शंकर गुरूङबाट बरामद भएको लागु औषध यी प्रतिवादीलाई नै दिन भनी पठाइएको देखिएको,

(घ) तसर्थ प्रतिवादी राजु महर्जनलाई अभियोग माग दाबीबाट सफाइ दिएको फैसला नमिलेको हुँदा अभियोग दाबीबमोजिम गरिपाऊँ । 

 

प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री टेकबहादुर कार्कीले लागु औषध ओसारपसार गर्ने कार्यमा प्रयोग भएको फोन नम्बर प्रतिवादी राजु महर्जनको नाममा रहेको कुरामा कुनै विवाद नभएको अवस्थामा निज प्रतिवादीको लागु औषधको कसुरमा संलग्नता नभएको भन्न मिल्दैन । तसर्थः राजु महर्जनलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालत बुटवलको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो । त्यसैगरी प्रत्यर्थी प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय श्री बुद्धिप्रसाद खरेल र श्री दानबहादुर बुढाले रेहान मुसलमानले प्रतिवादी शंकर गुरूङमार्फत पठाएको लागु औषधहरू काठमाडौं कलंकी पुर्‍याई मोबाइल न. ९८१३७९८२८४ मा फोन गर्नु र विराज भाइलाई दिनु भनी बताएको भनी प्रतिवादी शंकर गुरूङले गरेको बयानको आधारमा प्रतिवादीले लागु औषध ओसारपसार गराएको भन्ने तथ्य पुष्टिसमेत नभएकोमा भारतीय पसलेले दिएको फोनको सिम नम्बर मिलेकै आधारमा मात्र यी प्रतिवादीको उक्त कसुरमा संलग्नता रहेको भन्न मिल्दैन । तसर्थ पुनरावेदन अदालत बुटवलको फैसला सदर गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो । 

माथि उल्लेख भएबमोजिम पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट प्रस्तुत पुनरावेदनमा लिइएका जिकिरहरू, वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता र प्रत्यर्थी प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरूबाट प्रस्तुत हुन आएका बहस बुँदाहरू एवं मिसिल संलग्न कागजातहरू अध्ययन गरी इन्साफतर्फ विचार गर्दा प्रस्तुत पुनरावेदनको सन्दर्भमा मुख्यत: देहायका प्रश्नहरूमा निरूपण हुनुपर्ने देखिन आयो:

(क) प्रतिवादी राजु महर्जनले शंकर गुरूङमार्फत अन्य व्यक्तिहरूलाई लागु औषध बिक्री वितरण गर्ने कसुर गरेको देखिन्छ वा    देखिँदैन ? र

(ख) राजु महर्जनलाई अभियोग माग दाबीबमोजिमको कसुरबाट सफाइ दिने ठहराएको पुनरावेदन अदालत बुटवलको फैसला मिलेको देखिन्छ वा देखिँदैन ? 

 

२. निरूपण हुनुपर्ने उपर्युक्त प्रश्नहरूका सन्दर्भमा विचार गर्दा, सर्वप्रथम प्रतिवादी राजु महर्जनले शंकर गुरूङमार्फत लागु औषध अन्य व्यक्तिहरूलाई बिक्री वितरण गर्ने कसुर गरेको देखिन्छ वा देखिँदैन भन्नेतर्फ विचार गरौँ । यी प्रतिवादीउपर अभियोग लगाउँदा सहप्रतिवादी शंकर गुरूङको साथबाट लागु औषध बरामद भएको र निजले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा ती लागु औषधहरू भारतीय बजार सुनौलीको व्यापारी रेहान मुसलमानले काठमाडौं कलंकीमा पुर्‍याई विराज भाइलाई दिनु भनी फोन नं ९८१३७९८२८४ पनि दिएकोमा अनुसन्धानबाट उक्त फोन नम्बर यी राजु महर्जनको रहेको पत्ता लागेको तथ्यलाई आधार बनाइएको पाइन्छ । अभियोग दाबीमा उल्लेख भएबमोजिम उक्त फोन नम्बर यी प्रतिवादी राजु महर्जनको नाममा जारी भएकोमा विवाद रहेको 

देखिँदैन । तर यसरी उक्त फोन नम्बर यी प्रतिवादीको नाममा जारी भएको देखिएको कारणले मात्र यी प्रतिवादीलाई अभियोग दाबीबमोजिमको कसुरको कसुरदार ठहर गर्न मिल्ने वा नमिल्ने भन्ने प्रश्न प्रस्तुत मुद्दामा निरूपणको विषय रहन आएको देखिन्छ । 

३. प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजातहरू अध्ययन गर्दा लागु औषध साथमा बोकी हिँडेको बखत लागु औषध बरामद भएका सहप्रतिवादी शंकर गुरूङले अनुसन्धान अधिकारीसमक्ष र अदालतमा बयान गर्दासमेत यी प्रतिवादी राजु महर्जनको नाम पोल गरेको देखिँदैन । निज सहप्रतिवादीले बयान गर्दा आफू लागु औषधको सेवनकर्ता रहेको र विभिन्न व्यक्तिहरूलाई लागु औषध पुर्‍याइदिने काम गर्ने गरेकोमा साबित रहेको भए पनि यी राजु महर्जनलाई पनि पुर्‍याइदिने गरेको भनी भनेको देखिँदैन । लागु औषध पुर्‍याइदिन लगाउने सुनौलीको व्यापारीले पनि यी राजु महर्जनलाई पुर्‍याइदिन भनी दिएको भन्ने तथ्य निजले बताएको देखिँदैन । प्रतिवादी राजु महर्जन आफ्नो बयानमा कसुरमा इन्कार रही बयान गरेको र सहप्रतिवादी शंकर गुरूङलाई चिन्दिन भनी लेखाएको देखिन्छ । लागु औषध यी प्रतिवादीको साथबाट बरामद भएको अवस्था देखिँदैन । अभियोग दाबीबमोजिमको कसुरमा यी प्रतिवादीको संलग्नता प्रमाणित हुने अन्य कुनै दशी वा साक्षी प्रमाण वादी पक्षबाट पेस हुन आएको 

देखिँदैन । 

४. जहाँसम्म सुनौलीको व्यापारीले लागु औषध काठमाडौं पुर्‍याइदिनु भनी सहप्रतिवादी शंकर गुरूङलाई दिएको सम्पर्क फोन नम्बर यी प्रतिवादी राजु महर्जनको नाममा जारी भएको भन्ने विषय छ सो सम्बन्धमा विचार गर्दा यी प्रतिवादी राजु महर्जनले बयान गर्दा आफ्नो नागरिकता पटकपटक हराएर तेस्रो पटकसम्म नागरिकताको प्रतिलिपि निकालेकोले मेरो नागरिकताबाट मेरो नामको सिमकार्ड कसैले निकालेको हुनुपर्छ भनी लेखाएको देखिन्छ । सिम निकालेको फाराममा लागेको सहीछाप फोटो आफ्नो भए पनि सो सिम पनि सेटबाट हटाइसकेको भन्ने बेहोरा पनि लेखाएको देखिन्छ । निज प्रतिवादीको यो बयान बेहोरा खण्डन हुने कुनै तथ्ययुक्त प्रमाण वादी पक्षबाट पेस हुन आएको देखिँदैन । एउटा व्यक्तिको नामको फोन सिम अर्को व्यक्तिले प्रयोग गर्नै नसक्ने त्यस्तो कुनै अकाट्य प्रबन्ध रहेको भन्ने पनि देखिँदैन । लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ ले लागु औषधको कसुरमा प्रमाणको भार प्रतिवादीमा राखेको देखिएको भए पनि उक्त व्यवस्था लागु औषध बरामद भएको व्यक्तिको हकमा सम्म आकर्षित हुने देखिन्छ । यी प्रतिवादीबाट लागु औषध बरामद भएको नदेखिँदा उक्त दफा १२ को व्यवस्था यी प्रतिवादीको हकमा आकर्षित हुने 

देखिँदैन । लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ को अवस्थाबाहेकको अन्य अवस्थामा प्रतिवादीको कसुर प्रमाणित गर्ने भार वादी पक्षमै रहन आउने देखिन्छ । प्रस्तुत मुद्दामा सहप्रतिवादीले उल्लेख गरेको फोन नम्बर यी प्रतिवादीको नाममा जारी भएको देखिएको एउटा मात्र आधारले प्रतिवादीउपरको कसुर प्रमाणित भएको मान्न सकिएन । 

५. यसप्रकार प्रतिवादी राजु महर्जनले आफूउपरको कसुरको अभियोगमा इन्कार रही बयान गरेको देखिएको, कसुरदार ठहर भएका सहप्रतिवादी शंकर गुरूङले पनि यी प्रतिवादीको संलग्नता रहेको विषयमा पोल गरेको नदेखिएको, यी प्रतिवादीबाट लागु औषध बरामद भएको नदेखिएको, सम्पर्क व्यक्तिको भनी सहप्रतिवादीलाई उपलब्ध गराइएको फोन नम्बर यी प्रतिवादीको नाममा जारी भएको देखिएको बाहेकको अन्य कुनै पनि दशी प्रमाणबाट यी प्रतिवादीको कसुरमा संलग्नता रहेको नदेखिएको स्थितिमा केवल सहप्रतिवादीलाई उपलब्ध गराइएको फोन नम्बर यी प्रतिवादीको नाममा जारी भएको देखिएको भन्ने मात्र आधारमा अभियोग दाबीबमोजिमको कसुर गरेको रहेछ भनी मान्न सकिने अवस्था नहुँदा निज प्रतिवादीका हकमा अभियोग दाबीबमोजिमको कसुरबाट सफाइ पाउने ठहर्‍याई तत्कालीन पुनरावेदन अदालत बुटवलबाट मिति २०७२।०५।३० मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । सरोकारवालाले नक्कल माग्न आए कानूनबमोजिमको दस्तुर लिई नक्कल दिनू । फैसलाको प्रति विद्युतीय अपलोड गरी मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू । 

     

उक्त रायमा सहमत छु । 

न्या. विश्वम्भरप्रसाद श्रेष्ठ

 

इजलास अधिकृतः श्रेया पौडेल

इति संवत् २०७९ साल असार २८ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु