निर्णय नं. १११६१ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की
माननीय न्यायाधीश डा. श्री कुमार चुडाल
फैसला मिति : २०७९।०५।०२
मुद्दाः- कर्तव्य ज्यान
०७३-CR-०४१७
पुनरावेदक / प्रतिवादी : कास्की जिल्ला, भरतपोखरी गा.वि.स., वडा नं.१ घर भई हाल जिल्ला कारागार कार्यालय पोखरा, कास्कीमा थुनामा रहेको पदमबहादुर आलेको छोरा वर्ष ४४ को रूद्रबहादुर आले
विरूद्ध
प्रत्यर्थी / वादी : कास्की जिल्ला, भरतपोखरी गा.वि.स. वडा नं.१ बस्ने जीत वीरबहादुर पुर्जा पुनको जाहेरीले नेपाल सरकार
०७३-CR-०७८१
पुनरावेदक / वादी : कास्की जिल्ला, भरतपोखरी गा.वि.स. वडा नं.१ बस्ने जीत वीरबहादुर पुर्जा पुनको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : कास्की जिल्ला, भरतपोखरी गा.वि.स. वडा नं. १ बस्ने किरण भन्ने कर्णबहादुर कुँवरसमेत
प्रतिवादीको अनुसन्धान अधिकारीसमक्षको साबिती बयान घटनाका अन्य प्रमाणबाट समर्थित रहेको अवस्था छ भने अदालतसमक्षको निजको इन्कारी बयान अन्य वस्तुनिष्ठ आधार प्रमाणबाट स्थापित हुन नसकेको स्थितिमा त्यस्तो इन्कारी बयान मात्र निजको निर्दोषिता पुष्टि हुने आधार बन्न नसक्ने ।
(प्रकरण नं.७)
घटनाका अन्य आधार, कारण र प्रमाणको शृङ्खलाबद्ध कडीहरूबाट घटना समर्थित भइरहेको, प्रतिवादी कसुरदार देखिएको अन्य तथ्यगत अवस्थाबाट सम्पुष्टि भइरहेको अवस्थामा जाहेरवाला र मौकाका व्यक्तिले गरेको प्रतिकूल बकपत्र (hostile) लाई प्रमाण ग्राह्य गर्न मनासिब नहुने । प्रतिकूल बकपत्र (hostile statement) मुद्दाको समग्र अवस्था, प्रतिकूल बकपत्रको ग्राह्यता वा अग्राह्यताको विश्वसनीयता, अन्य वस्तुगत प्रमाणहरूको तार्किक सादृश्यतासमेतका समग्रताका आधारमा निर्धारण हुनुपर्ने ।
(प्रकरण नं.८)
वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मी
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्रीकान्त बराल र विद्वान् अधिवक्ताहरू श्री शिवराम श्रेष्ठ, श्री विशेश्वर प्रसाद गौतम
अवलम्बित नजिर :
ने.का.प.२०५०(क), अङ्क १, नि.नं.४६८६
ने.का.प.२०७१, अङ्क ४, नि.नं.९१४४
ने.का.प.२०७२, अङ्क ५, नि.नं.९३९३
सम्बद्ध कानून :
मुलुकी अपराध संहिता, २०७४
केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्नेः
मा.जिल्ला न्या. श्री पुरूषोत्तमप्रसाद ढकाल
कास्की जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री सत्यराज गुरूङ
माननीय न्यायाधीश श्री द्वारिकामान जोशी
पुनरावेदन अदालत पोखरा
फैसला
न्या.डा.कुमार चुडाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी रूद्रबहादुर आलेको र प्रतिवादीहरू किरण भन्ने कर्णबहादुर कुँवर, निर्मल थापा, केशबहादुर कुँवर र बुद्धिबहादुर लामिछानेउपर वादी नेपाल सरकारकोसमेत गरी दोहोरो पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
तथ्य खण्ड
कास्की जिल्ला, भरतपोखरी गा.वि.स., वडा नं.१ उपल्लो पुर्णिटारमा रहेको खाली चउरमा रगत जस्तो रातो पदार्थ लागेको, सो स्थानबाट ४ इन्च पूर्वमा अन्दाजी २०० ग्रामका २ (दुई) वटा रगत जस्तो रातो पदार्थ लागेको ढुङ्गा रहेको, सोही स्थानमा मिति २०६९।१२।१२ गते साँझ रूद्रबहादुर आलेसमेतले कमल पुनलाई धारिलो हतियार, लाठी र मुक्कासमेतले प्रहार गरी गम्भीर घाइते बनाएको, घाइतेलाई उपचारको लागि पोखरातर्फ लगिएको, घटनास्थलबाट उक्त रगत जस्तो रातो पदार्थ लागेको २ (दुई) वटा ढुङ्गा उठाई ल्याएको भनी देखाइएको घटनास्थल मुचुल्का ।
मिति २०६९।१२।१२ गते साँझ १९:०० बजेको समयमा कास्की जिल्ला, भरतपोखरी गा.वि.स. वडा नं.१, पुर्णिटारमा रूद्रबहादुर आले, अमित आले, किरण कुँवर, निर्मल थापा, सुमन थापा, अर्जुन कुँवर, विमल थापा, बुद्धि लामिछाने, अर्जुन खाती, कुशल परियार, नारायण नेपाली, केशबहादुर कुँवर, ईन्द्र कुँवरसमेतले कमल पुर्जा पुनलाई घेरा हाली भाग्न उम्कन नदिई धारिलो हतियारसमेतले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएकोमा निजको उपचारको क्रममा सोही राति १० बजेको समयमा मृत्यु भएको हुँदा निजहरूलाई पक्राउ गरी आवश्यक कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जितबहादुर पुनको जाहेरी ।
मृतक कमल पुर्जा पुनको दुवै नाकको प्वालबाट रगत बगी सुकेको, पिठ्युको भागमा दायाँ, बायाँ लामो आकारमा ५ इन्च लामो निलडाम रहेको, कम्मरको दायाँतर्फ २ इन्च लामो खोस्रिएको दाग रहेको, टाउकाको टुप्पीको भागमा त्रिकोण आकारको ३×३ इन्चको घाउ, सो घाउदेखि ४ इन्च बायाँ ३×०.५ इन्चको दायाँ, बायाँ फैलिएको घाउ रहेको दुवै घाउबाट रगत बगी सुकेको भन्ने बेहोराको लास जाँच मुचुल्का ।
मृतक कमल पुनको मृत्युको कारण Severe head injury भएको भन्ने बेहोराको मृतकको नामको पोष्टमार्टम रिपोर्ट मिसिल संलग्न रहेको ।
मैले वारदातको क्रममा लगाएको Woodland ब्रान्डको पुरानो खैरो रङ्गको जुत्तामा रगत जस्तो रातो पदार्थ लागेकोले उक्त जुत्ता परीक्षणको लागि पठाउनुपर्ने भनी अनुसन्धान अधिकृतद्वारा माग भएबमोजिम मैले लगाइराखेकै अवस्थामा फुकाली पेस गरेको छु । हाल देखाउँदा देखेँ, चिनेँ, उक्त जुत्ता मेरै हो भनी सनाखत गरिदिएँ भन्ने बेहोराको प्रतिवादी रूद्रबहादुर आलेको सनाखत कागज ।
घटनास्थलबाट उठाइएको रगत जस्तो रातो पदार्थ लागेको ढुङ्गा थान–२, वारदातको क्रममा प्रतिवादी रूद्रबहादुर आले मगरले लगाएको रगत जस्तो रातो पदार्थ लागेको जुत्ता–१ (एक) जोर र पोष्टमार्टमको क्रममा मृतकको शरीरबाट निकालिएको नमुना रगत परीक्षणको लागि पठाइएको पत्र मिसिल संलग्न रहेको ।
मिति २०६९।१२।१२ गते भीम पुनले बिमल थापालाई कुटपिट गरेको भन्ने सुनी थाहा पाएँ । सो दिन काम विशेषले म डुम्रे जाँदै थिएँ । बाटोमा रूद्र आलेलाई भेटी सँगै गयौँ । रूद्र आलेले फोनमा कोसँग हो कुरा गर्दै थिए । फर्की आएपछि निजले मसँग पैसा मागी एक कार्टुन वियर किने र मेरो घरमा साँझ पार्टी खाने हो भनेकोले म पनि साँझ निजको घरमा पुग्दा निज रूद्र आले, अमित आले, विमल थापा, कुशल परियार, नारायण नेपाली, सुमन थापा, अर्जुन कुँवर, अर्जुन खाती, बुद्धि लामिछानेसमेत वियर, रक्सी, मासु खाँदै रहेछन् । म तथा निर्मल थापा पनि त्यही
पुग्यौ । लगतै ईन्द्र कुँवर र केशबहादुर कुँवर पनि आइपुगे । सबै बसी रक्सी, मासु, वियर खाँदै गर्दा निज भीम पुनहरूलाई ठिक गर्नुपर्छ भनी सबैले छलफल गरी रूद्रबहादुर आले, अमित आले, विमल थापा, कुशल परियार, नारायण नेपाली, सुमन थापा, अर्जुन कुँवर, अर्जुन खाती, बुद्धि लामिछानेसमेत निजहरू फुटबल खेली फर्कने बाटो हेर्न गए । निजहरू गएको अन्दाजी ५ मिनेटपछि हो–हल्ला भएकोले म, निर्मल थापा, केशबहादुर कुँवर र ईन्द्रबहादुर कुँवरसमेत गयौ । त्यहाँ अगाडि जाने सबै जनाले हात हातमा लठ्ठी लिई घेरा हाली रूद्र आलेले भुइँमा ढली रगताम्मे भएका कमल पुनलाई टाउकोसमेतमा हान्दै पिट्दै गरेको देखेँ, मैले पनि निज कमल पुनलाई २।३ लात्ती हानेँ । सोही क्रममा गाउँलेहरू हो–हल्ला गर्दै आएकोले निजलाई सो स्थानमा छाडी भागी गएका हौं । हाम्रै कुटपिटबाट घाइते बनेका कमल पुनको उपचारको क्रममा सोही राति मृत्यु भएको भन्ने सुनी थाहा पाएको हुँ भन्ने बेहोराको प्रतिवादी किरण भन्ने कर्णबहादुर कुँवरको मौकाको बयान ।
मिति २०६९।१२।१२ गते मेरो भाइलाई भीम पुनले कुटेको थाहा पाई सोधपुछ गर्न थाल्दा निजले मलाई के गर्न सक्छस् गर् भनी धम्काए । भीम पुनसमेतका व्यक्तिहरूले गाउँमा गुटबन्दी गरी धम्काउँदै हिँड्ने हुँदा हामी अधिकांश व्यक्ति निजहरूसँग रूष्ट थियौं । मेरो भाइले निजहरूबाट कुटाई खाएको कुरा मैले रूद्र आलेलाई भनेपछि निजले त्यसो भए आज साँझ फुटबल खेलेर फर्कंदा निजहरूसँग बदला लिनुपर्छ म व्यवस्था मिलाउँछु भनी बताए । निजकै योजनाबमोजिम म, किरण कुँवर, ईन्द्रबहादुर कुँवर, केशबहादुर कुँवर निज रूद्र आलेको घरमा गयौं त्यहाँ अमित आले, विमल थापा, कुशल परियार, नारायण नेपाली, सुमन थापा, अर्जुन कुँवर, अर्जुन खाती, बुद्धि लामिछानेसमेत वियर, रक्सी, मासु खाँदै रहेछन् । हामी पनि सँगै खान थाल्यौं । सो अवस्थामा रूद्र आले अमित आले, विमल थापा, कुशल परियार, नारायण नेपाली, सुमन थापा, अर्जुन कुँवर, अर्जुन खाती, बुद्धि लामिछानेसमेत निज भीम पुनहरू आउने बाटो हेर्न भनी गए । निजहरू गएको अन्दाजी ५ मिनेटपछि हो–हल्ला भएकोले उक्त स्थानमा मलगायत किरण भन्ने कर्णबहादुर कुँवर, केशबहादुर कुँवर र ईन्द्रबहादुर कुँवरसमेत गयौं । त्यहाँ अगाडि जाने सबैजनाले घेरा हालेका र रूद्र आलेले भुइँमा लडेका कमल पुनलाई कुटपिट गर्दै गरेको देखेँ, त्यसपछि मलगायत किरण कुँवर, इन्द्र कुँवर र केशबहादुर कुँवरले भुइँमा लडिरहेका कमल पुनलाई एक दुई पटक लात्तीले मैले पनि हानेको हुँ । सोही क्रममा गाउँलेहरू हो–हल्ला गर्दै आएकोले निजलाई सो स्थानमा छाडी भागी गएका हौं । हाम्रै कुटपिटबाट घाइते बनेका कमल पुनको उपचारको क्रममा सोही राति मृत्यु भएको भन्ने सुनी थाहा पाएको हुँ भन्ने बेहोराको प्रतिवादी निर्मल थापाको मौकाको बयान ।
मिति २०६९।१२।१२ गते बिहान विमल थापालाई भीमबहादुर पुनले कुटपिट गरेको भन्ने निज विमलकै दाजु निर्मल थापाले भनेपश्चात् थाहा पाएँ । भीम पुनलगायतका केही व्यक्तिहरू गाउँघरमा पटक–पटक उच्छृङ्खल गतिविधिमा समेत संलग्न रहने गरेकोले निजहरूलाई ठिक गर्नुपर्छ, आज साँझ निजहरू फुटबल खेली फर्कने बेलामा आक्रमण गरौं भनी मैले निर्मल थापालाई दिउँसो फोनबाटै भनी साँझ मेरो घरमा जम्मा भई पार्टी गर्ने भनी अह्राएँ । उक्त दिन म र किरण कुँवर काम विशेषले डुम्रे गएका थियौं । फर्किंदा वियर लिई घरमा आयौं । त्यहाँ कुखुरा काटी म, मेरो छोरा अमित आले, विमल थापा, कुशल परियार, नारायण नेपाली, सुमन थापा, अर्जुन कुँवर, अर्जुन खाती, बुद्धि लामिछाने सँगै बसी रक्सी, मासु, वियर खाँदै थियौं । केही छिनपछि निर्मल थापा, किरण कुँवर, ईन्द्र कुँवर र केशबहादुर कुँवर पनि आई सँगै बसी खान लाग्यौं । यसै क्रममा भीम पुनसमेत फुटबल खेली फर्किने समय भएकोले मलगायत अमित आले, विमल थापा, कुशल परियार, नारायण नेपाली, सुमन थापा, अर्जुन कुँवर, अर्जुन खाती, बुद्धि लामिछानेसमेत निजहरू आउने बाटो हेर्न गएकोमा भीम पुन, जुक्तबहादुर पुन, कमल पुनसमेत सँगै आउँदै गरेको देखेपछि हामीहरूले घेरा हाली निजहरूलाई कुटपिट गर्न लाग्दा जुक्त पुनको हातमा तरबार देखी मैले खोसी सोही तरबारको उल्टो तर्फबाट कमल पुनलाई हानेको हुँ । अन्य साथीहरूले लाठी, लात्ती तथा रडसमेतले हानी घेरा हालेका हुन् । भीम पुन र जुक्त पुन त्यहाँबाट भागी हार गुहार गरेकोले गाउँलेहरू हो–हल्ला गर्दै वारदात स्थलतर्फ आएपछि हामी भागी गएका हौं । हाम्रै कुटपिटबाट घाइते बनेका कमल पुनको उपचारको क्रममा सोही राति मृत्यु भएको भन्ने सुनी थाहा पाएको हुँ भन्ने बेहोराको प्रतिवादी रूद्रबहादुर आले मगरको मौकाको बयान ।
मिति २०६९।१२।२२ गते दिनको १४:१५ बजेको समयमा कास्की जिल्ला भरतपोखरी गा.वि.स. वडा नं.१ स्थितमा बिँडसहितको पूरा लम्बाइ २ फिट १० इन्च भएको, हात छिराई समाउन मिल्ने बिँड रहेको, टुप्पाको भागमा दुवैतर्फ धार भएको, पुरानो खिया लागेको तरबार थान–१ फेला पारी बरामद गरी ल्याएको भन्ने बेहोराको खानतलासी तथा बरामदी मुचुल्का ।
प्रतिवादी रूद्रबहादुर आले मगरको र प्रतिवादी निर्मल थापाबिच वारदातको दिन पटकपटक फोन सम्पर्क भएको कल डिटेल विवरण र मृतकको फोटो मिसिल संलग्न रहेको ।
बरामद भई दाखिला हुन आएको तरबार देखाउँदा देखी पाएँ । मैले आफ्नो बयानमा लेखाएबमोजिमको तरबार यही नै हो हेरी, चिनी सनाखत गरिदिएँ । वारदातपश्चात् भाग्ने क्रममा उक्त तरबार मैले घटनास्थलबाट केही पर छाडेको थिएँ । सो तरबारले मैले कमल पुनलाई उल्टोतर्फबाट टाउकोमा प्रहार गरेको हुँ भन्ने बेहोराको प्रतिवादी रूद्रबहादुर आलेको सनाखत कागज ।
मिति २०६९।१२।१२ गते दिउँसो हाम्रो साथी भीमबहादुर पुनले बिमल थापालाई थप्पड हानेको भनेको थाहा पाएको थिएँ । उक्त साँझ मसमेत भीम पुन र कमल पुन फुटबल खेली घरतर्फ आउँदै थियौं । यसै क्रममा साँझको अन्दाजी ०७:१० बजे अचानक रूद्रबहादुर आले, अमित आले, बिमल थापा, अर्जुन खाती, कुशल परियार, बुद्धि लामिछाने, अर्जुन कुँवर, नारायण नेपालीसमेतले हातमा लाठी ढुङ्गा, तरबार लिई हामीहरूलाई घेरा हाली आक्रमण गर्न थाले । निजहरूमध्येका रूद्रबहादुर आलेको हातमा तरबार लिएको र अन्य व्यक्तिको हातमा लाठी थियो । यसै क्रममा म र भीम पुन भाग्न सफल भयौं भने निजहरूले कमल पुनलाई कुटपिट गर्दै थिए । हामीहरूले गाउँघरमा गई हार गुहार गरेपछि गाउँका मानिसहरू हो–हल्ला गर्दै आएपछि निजहरू भागी गएका हुन् । घाइते भएका कमल पुनलाई उपचारको लागि अस्पताल ल्याइएकोमा निजको उपचारको क्रममा सोही राति नै निजै रूद्रबहादुर आलेसमेतले कुटपिट गरी घाइते बनाएको चोट पीडाको असरबाट मृत्यु भएको हो । प्रतिवादीमध्येका रूद्रबहादुर आलेले आफ्नो बयानको क्रममा तरबार मेरो भएको र मेरो साथबाट खोसी लिएको भनी किन लेखाए मलाई थाहा भएन भन्ने बेहोराको बुझिएका जुक्तबहादुर पुनको कागज ।
मिति २०६९।१२।१२ गते साँझ अन्दाजी ७:१० बजेको समयमा कास्की जिल्ला भरतपोखरी गा.वि.स. वडा नं.–१ स्थितमा रूद्रबहादुर आले, अमित आले, बिमल थापा, अर्जुन खाती, कुशल परियार, बुद्धि लामिछाने, अर्जुन कुँवर, नारायण नेपालीसमेतले योजनावद्ध तरिकाले कमल पुनलाई धारिलो हतियार तरबार, लाठी, मुक्कासमेतले प्रहार गरी गम्भीर घाइते बनाएकोमा निजको उपचारको क्रममा सोही राति मृत्यु भएको हुँदा निजहरूलाई कानूनबमोजिम सजाय होस् भन्ने बेहोराको वस्तुस्थिति मुचुल्कामा बुझिएका मानिसहरू अन्जु कार्की, मनबहादुर पुन, हुमकुमार पुनले गरिदिएको कागज ।
प्रतिवादीहरू किरण कुँवर भन्ने कर्णबहादुर कुँवर, निर्मल थापा, रूद्रबहादुर आले, केशबहादुर कुँवर, अर्जुन कुँवर, विमल थापा, सुमन थापा, नारायण नेपाली, कुसल परियार, अमित आले, बुद्धिबहादुर लामिछाने, अर्जुन खाती र ईन्द्रबहादुर कुँवरले प्रहार गरेको चोट पीडाको असरबाट सोही रात १० बजे कमल पुर्जा पुनको मृत्यु भएको भन्ने कुरा निर्विवाद रूपमा पुष्टि हुन आएकोले निज प्रतिवादीहरू किरण कुँवर भन्ने कर्णबहादुर कुँवर, निर्मल थापा, रूद्रबहादुर आले, केशबहादुर कुँवर, अर्जुन कुँवर, विमल थापा, सुमन थापा, नारायण नेपाली, कुसल परियार, अमित आले, बुद्धिबहादुर लामिछाने, अर्जुन खाती र ईन्द्रबहादुर कुँवरले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(१) ले निषेध गरेको कसुर गरेको देखिँदा निज प्रतिवादीहरू किरण कुँवर भन्ने कर्णबहादुर कुँवर, निर्मल थापा, रूद्रबहादुर आले, केशबहादुर कुँवर, अर्जुन कुँवर, विमल थापा, सुमन थापा, नारायण नेपाली, कुसल परियार, अमित आले, बुद्धिबहादुर लामिछाने, अर्जुन खाती र ईन्द्रबहादुर कुँवरलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट दायर भएको अभियोगपत्र ।
म वारदात स्थलमा संलग्न छैन । वारदात भएको भनिएको समयमा म मेरै घर तनहुँमा छु । मृतकलाई मैले चिन्दिनँ । मेरो कोही कसैसँग रिसइवी झगडा
छैन । मबाट न हतियार बरामद भएको छ, न घटनामा मेरो उपस्थिति छ, तसर्थ के कुन कारणले मेरोसमेत नाम राखेर जाहेरी दिए, मैले कुनै गल्ती नगरेको हुँदा सजाय पाउनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी केशबहादुर कुँवरले सुरू अदालतमा गरेको बयान ।
मिति २०६९।१२।१२ गते म र रूद्र आले मिली मेरो दाइको मोटरसाइकलमा तनहुँ डुम्रे गई रूपैयाँ लिई २ बजेतिर घर फर्की आएका र छुट्टिई घरतिर गएका हौं । साँझ ८ बजेतिर जुक्तबहादुर पुनले हतियार लिई हिँडेका भनी रूद्रबहादुर आलेले समातेका छन् भन्ने हल्ला सुनेर त्यसतर्फ जाँदा तनहुँको भुलभुले भन्ने ठाउँमा रूद्रले उसलाई समातेका रहेछन् । उक्त हतियार जुक्तले रूद्रलाई हान्न ल्याएको भनी रूद्रले भनेका थिए । कमल पुनलाई को कसले हानेका हुन् थाहा भएन । उक्त घटनाको बारेमा मैले पछि पत्रिकामा पढेर थाहा पाएको हुँ । मैले कमल पुनलाई हानेको पनि होइन, हानेको पनि देखिनँ । मेरो मौकामा भएको बयान बेहोरा झुठ्ठा हो । मलाई डर त्रासमा पारी सहीछाप गर्न लगाएका हुन् । म उक्त वारदातमा कुनै पनि प्रकारले संलग्न छैन । मउपरको अभियोग मागदाबी झुठ्ठा हो सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी किरण कुँवर भन्ने कर्णबहादुर कुँवरले सुरू अदालतमा गरेको बयान ।
जाहेरी बेहोरा झुठ्ठा हो । मैले कमल घाइते भई अस्पतालमा मरेको भन्ने कुरा पत्रिकामा पढेर पर्सिपल्ट थाहा पाएको हुँ । मैले मृतक कमल भाइलाई राम्रोसँग चिन्दछु । ऊ निकै इमान्दार र सज्जन व्यक्ति हो । निजलाई को कसले आक्रमण गरे थाहा भएन । म उक्त मितिमा दिउसो तनहुँ डुम्रे गई बेलुकी फर्की आएको र घटनाको समयमा म घरैमा थिएँ । घरबाट हल्ला खल्ला सुनेर म भुलभुले स्थित घटनास्थलतर्फ झरेँ । त्यहाँ १ जना जुक्तबहादुर हतियार लिई आएका थिए । हामीले निजलाई समाती प्रशासनमा बुझाएका हौं । कमललाई कसले हान्यो थाहा भएन । मैले हानेको होइन, मृतक तथा जाहेरवालासँग मेरो रिसइवी पनि थिएन । मेरो मौकामा गरेको बयानमा कमललाई मैले हानेको भनी लेखिएको रहेछ सो बेहोरा झुठ्ठा हो । सहीछाप मेरो हो मलाई नसुनाई सहीछाप गराएका हुन् । मउपरको अभियोग झुठ्ठा हो । ममाथिको अभियोग खारेज गरी वास्तविक अपराधी पत्ता लगाई मलाई सफाइ होस् भन्नेसमेत बेहोराको प्रतिवादी रूद्रबहादुर आलेले सुरू अदालतमा गरेको बयान ।
मृतकको मृत्युबारेमा जिल्ला प्रहरी कार्यालयमा आएपछि पत्रिकामा हेरेर थाहा पाएको हुँ । मैले हानेको होइन कसले हान्यो थाहा भएन । म मिति २०६९।१२।१२ गते काठमाडौंबाट हेम्जामा आई हेम्जामा नै बसेको थिएँ । घरमा थिइनँ । मउपर किन किटानी जाहेरी दिनुभयो थाहा भएन । मेरो मौकामा भएको बयानको बेहोरा झुठ्ठा हो । मलाई पढेर नसुनाई सही गर्न भनी भनेकाले डर, त्रासमा परी सही गरेको हुँ । मैले अभियोग मागदाबीबमोजिमको कसुर गरेको होइन । म निर्दोष छु, झुठ्ठा अभियोगबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी निर्मल थापाले सुरू अदालतमा गरेको बयान ।
म घटनास्थलमा संलग्न छैन, मृतकलाई चिन्दिनँ, मैले मृतकलाई कुनै हतियार वा लाठा ढुङ्गाले प्रहार गरेको छैन, म निर्दोष छु अभियोग दाबीबमोजिम मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी बुद्धिबहादुर लामिछानेले सुरू अदालतमा गरेको बयान ।
यसमा आदेशानुसार वादी तथा प्रतिवादीहरूका साक्षीको बकपत्र भई मिसिल सामेल रहेको ।
यसमा आदेशानुसार वादी तथा प्रतिवादी पक्षका कानून व्यवसायीहरूबाट लिखित बहसनोट पेस भई मिसिल संलग्न रहेको ।
यसमा आदेशानुसार प्रतिवादीहरूका नाउँको अंश रोक्का भई सो अंश रोक्का मुचुल्कासमेत मिसिल संलग्न रहेको ।
यसमा प्रतिवादीहरूमध्येका अर्जुन कुँवर, विमल थापा, सुमन थापा, नारायण नेपाली, कुशल परियार, अमित आले, अर्जुन खाती र इन्द्रबहादुर कुँवर अभियोग दायर हुँदाका अवस्थामा फरार रहेका, अदालतबाट जारी भएको वारेन्टमा पक्राउ पर्न नसकी साथै जारी भएको म्यादी पुर्जी निजहरूको वतनमा रीतपूर्वक तामेल भएकोमा उपस्थित हुन नआएकोले पछि पक्राउ परेका बखत वा आफैँ उपस्थित हुन आएका बखत जगाई कारबाही गर्ने गरी हाल निजहरूको हकमा अदालती बन्दोबस्तको १९० नं.बमोजिम मुल्तबीमा राखिदिने ठहर्छ । अन्य रूजु रहेका प्रतिवादीहरूमध्ये रूद्रबहादुर आलेको हकमा हेर्दा, प्रतिवादीउपर किटानी जाहेरी परी निजलाई घटनाको योजनाकारको रूपमा जाहेरवालाले प्रस्तुत गरेको, प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा घटनाको सविस्तार आरोपित कसुरमा साबित भई बयान गरेको, वारदात स्थलबाट बरामद तरबार र रगत लागेको जुत्ता बरामद भई प्रतिवादीले सनाखत गरेको, मौकामा बुझिएका प्रत्यक्षदर्शी मृतक कमल पुर्जा पुनसँग फुटबल खेली फर्केका जुक्तबहादुर पुनले मृतकको भाइ भीमबहादुर पुन र आफू फुटबल खेली फर्कने क्रममा हामीलाई कुट्न यी प्रतिवादीसमेतले घेरा हालेका र आफूहरू भाग्न सफल भएकाले कमल पुर्जा पुनलाई हानेको भनी खुलाई कागज गरेका साथै अन्जु कार्कीले पनि यी प्रतिवादीसमेतले घटना घटाएको कुरा उल्लेख गर्दै कागज गरेकी, प्रतिवादीले अदालतमा बयान गर्दा आरोपित कसुरमा इन्कार रही बयान गरे तापनि उक्त बयान बेहोरालाई अन्य प्रमाणले पुष्टि गर्न नसकेको, अन्य मौकामा पक्राउ परेका सहअभियुक्तहरूको मौकामा भएको बयान, मृतकको लास प्रकृति मुचुल्का एवं शव परीक्षण प्रतिवेदन, घटनाको चश्मदिद भनिएकी अन्जु कार्कीको मौकाको कागज बेहोरासमेत मालाकार कडीको रूपमा रही एउटा तथ्यले अर्को तथ्यलाई समर्थन गरी जाहेरी पुष्टि भएकोसमेतका मिसिल संलग्न प्रमाणबाट प्रतिवादी रूद्रबहादुर पुनले अभियोग दाबीबमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने
ठहर्छ । अर्का प्रतिवादी बुद्धिबहादुर लामिछानेको हकमा हेर्दा मृतकको शरीरमा धारिलो चोट मात्र देखिएको, उक्त चोट रूद्रबहादुर आलेले प्रहार गरेको ठहरेको र अन्य चोट नदेखिँदा प्रतिवादी बुद्धिबहादुर लामिछानेले मृतक कमल पुर्जा पुनलाई चोट छाडेको अन्य मिसिल संलग्न प्रमाण कागजले पुष्टि नभएको, निज वारदात स्थलमा गई घेरा हाली मृतकलाई रूद्रबहादुर आलेबाट धारिलो हतियार प्रहार गर्न संयोग पारिदिएको पुष्टि भएकोले ज्यानसम्बन्धी महलको १७(२) नं.बमोजिमको कसुर गरेको देखिँदा ५ वर्ष कैद हुने ठहर्छ । प्रतिवादीहरू किरण कुँवर भन्ने कर्णबहादुर कुँवर, निर्मल थापा र केशबहादुर कुँवरले मृतकलाई चोट छाडेको पुष्टि नभएको, निजहरू पछि पुगेको भन्ने निजहरूको मौकाको बयान सहअभियुक्तहरूको मौकाको बयान र बुझिएका व्यक्तिहरूको मौकाको कागजसमेतबाट पुष्टि भई ज्यानसम्बन्धी महलको १७(३) नं.बमोजिमको कसुर गरेको देखिँदा ३ वर्ष कैद सजाय हुने ठहर्छ भन्नेसमेत बेहोराको मिति २०७१।१०।२४ को सुरू कास्की जिल्ला अदालतको फैसला ।
यसमा प्रतिवादी रूद्रबहादुर आले र किरण कुँवरसमेतको योजनामा प्रतिवादी बुद्धिबहादुर लामिछानेसमेतका व्यक्तिहरूले कमल पुर्जा पुनलाई धारिलो हतियार तरबारले टाउकोमा हानी कर्तव्य गरी मारेको भन्ने जीतबहादुर पुर्जा पुनको किटानी जाहेरी, प्रतिवादी रूद्रबहादुर पुनको मौकाको अनुसन्धान अधिकारीसमक्षको घटनाको सविस्तार गरी कसुरमा साबित रही गरेको बयान, प्रतिवादी किरण भन्ने कर्णबहादुर कुँवर, निर्मल थापासमेतको मौकाको बयान, बुझिएका र वस्तुस्थिति मुचुल्काका मानिसहरूले मौकामा लेखाइदिएको कागजसमेतका मिसिल संलग्न प्रमाणबाट प्रतिवादीहरू र बुद्धिबहादुर लामिछाने, किरण कुँवर भन्ने कर्णबहादुर कुँवर र निर्मल थापा र केशबहादुर कुँवर र रूद्रबहादुर आलेले समेत घटनास्थलमा उपस्थित भई मृतक कमल पुनलाई ज्यान मार्ने नै उद्देश्यले सामूहिक रूपमा तरबारबाट, लाठी, लात्ता, मुक्काले प्रहार गरी घाइते बनाएका र सोही चोटबाट मृतकको मृत्यु भएको अवस्थामा निज प्रतिवादीहरूलाई १३(१) नं.बमोजिम सजाय गर्नुपर्नेमा प्रतिवादी बुद्धिबहादुर लामिछानेलाई ज्यानसम्बन्धी महलको १७(२) नं.बमोजिम र प्रतिवादीहरू किरण कुँवर भन्ने कर्णबहादुर कुँवर, निर्मल थापा र केशबहादुर कुँवरलाई ज्यानसम्बन्धीको १७(३) नं.बमोजिम सजाय गरेको हदसम्म कास्की जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी निजहरूलाई सुरू अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत पोखरामा दायर हुन आएको पुनरावेदन
पत्र ।
सुरू अदालतको इन्साफमा चित्त बुझेन । जाहेरवाला प्रत्यक्षदर्शी होइनन् । अदालतमा बकपत्र गर्दा मलाई किटानीसाथ पोल गर्न सकेका छैनन् । अनुसन्धानको क्रममा भएको कागज मलाई नसुनाई सही गराएका हुन् । उक्त कागजलाई मैले अदालतमा खण्डन गरिसकेको छु । घटनास्थलमा पुगेको कुरासम्म सत्य हो, त्योबाहेक उक्त बेहोरा मेरो होइन । घटनास्थल प्रकृति मुचुल्का र लास जाँच प्रतिवेदन एकआपसमा मिल्दैन, उक्त हतियार वा वस्तुको चोट हो ? खुलेको छैन । घटनाका प्रत्यक्षदर्शी भनिएको जुक्तबहादुर पुन र भीमबहादुर पुन अदालतमा उपस्थित भई बकपत्र गर्न सकेका छैनन् । घाउ जाँच गर्ने डाक्टरलाई पनि अदालतमा उपस्थित गराउन सकेको छैन । कमल पुर्जा पुनको दाइ भीम पुनले निर्मल थापाका भाइ विमल थापालाई पिटेको विषयमा झगडा भएको मान्ने हो भने झगडाको सूत्रधार र योजनाकार निर्मल थापालाई मान्नुपर्ने हो, मेरो कुनै सरोकार नभएको, कुनै रिसइवी नै नभएका कमल पुर्जा पुनलाई मैले हान्नुपर्ने कारण के हो ? फैसलामा स्पष्ट छैन । यदि म कसुरमा भएको भए मेरो घरमा किन गाउँलेहरू ढुङ्गा मुडा गर्न आएनन् ? अन्यत्र किन गए ? यसरी प्रतिवादीहरू कसुरदार हुन भन्ने तथ्ययुक्त सबुद प्रमाण वादी पक्षले गुजार्न सकेको अवस्था छैन, शंकाको भरमा मात्र प्रतिवादीलाई कसुरदार ठहर्याउन मिल्दैन, जाहेरी दरखास्त बेहोरालाई घटनाको मालाकार कडीले पुष्टि हुन सक्ने आधार छैन, बरामदी जुत्तामा लागेको रगत मृतक कमल पुर्जा पुनको हो भनी पुष्टि भएको छैन, यी तथ्यगत आधारहरूबाट प्रस्तुत वारदात कर्तव्य नभई परिस्थितिवश घटेको हो । यसमा मैले कमल पुर्जालाई मार्नुपर्ने कुनै रिसइवी, मनसाय तयारी केही पनि
छैन । कमल पुर्जालाई विदेश पठाउन मैले नै सहयोग गरेको कुरा मेरो बयानमा उल्लेख भएको छ । यसरी मैले कमल पुर्जालाई कर्तव्य गरी मारेको कुनै आधार प्रमाण नभएको अवस्थामा मलाई कसुरदार ठहर्याई भएको सुरू जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी रूद्रबहादुर आलेको तर्फबाट पुनरावेदन अदालत पोखरामा दायर हुन आएको पुनरावेदन पत्र ।
सुरू अदालतको इन्साफमा चित्त
बुझेन । यसमा मौकामा भएको मेरो बयान मलाई पढी बाची नसुनाई त्रासमा पारी सहीछाप गराएका हुन् । वारदातको दिन म गाउँघरमा नभई अन्यत्र भएको कुरा मेरो साक्षी सुवास घिमिरेको बकपत्रबाट स्पष्ट भएको
छ । मौकामा बुझिएका हुमबहादुर पुन, अन्जु कार्कीसमेतले मौकाको कागज बेहोरा हामीले भनेबमोजिम लेखिएको होइन भनी अदालतमा बकपत्र गरेको अवस्था छ । जाहेरवालाले अपराधमा मेरो संलग्नता देखाउन सकेको छैनन्, मृतकलाई कसले कुटपिट गरी घाइते बनाए थाहा छैन भनी अदालतमा बकपत्र गरेका छन् । चश्मदिद गवाह भनिएका जुक्तबहादुर पुन अदालतमा उपस्थित भई बकपत्र गर्न सकेका
छैनन । अन्जु कार्कीसमेतका मानिसहरूले अपराधमा मेरो संलग्नता छैन भनी अदालतमा बकपत्र गरेको अवस्था छ । मलाई पढी बाची नसुनाई त्रासमा पारी सहीछाप गराएको बयानको आधारमा मात्र कसुरदार ठहर गर्न न्याय कानूनसमेतबाट मिल्दैन । यसरी मिसिल संलग्न प्रमाणबाट मउपरको कसुर प्रमाणित नभई अभियोग नै झुट्टा देखिएको स्थितिमा मलाई आरोपित कसुरबाट सफाइ दिनुपर्नेमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं.बमोजिम ३ वर्ष कैद गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी निर्मल थापाको तर्फबाट पुनरावेदन अदालत पोखरामा दायर हुन आएको पुनरावेदन पत्र ।
सुरू अदालतको इन्साफमा चित्त बुझेन । म घटनास्थलमा हुँदै नभएको कुरा स्पष्ट रूपमा अदालतमा बयान गरेको, मेरो साक्षीले सो भनाइलाई समर्थन गरी बकपत्र गरिदिनुभएको, मौकामा कागज गर्ने व्यक्तिहरू जाहेरवालासमेतले अदालतमा म घटनास्थलमा रहेको भनी बकपत्र गर्न नसकेको, मौकाको बयान हेर्दा पनि म घटनास्थलमा मौजुद रही अपराध गरेको भन्ने नदेखिएको, आफ्नो अगाडि टुलुटुलु हेरी बसी कसुर अपराध गराएको भन्ने प्रमाणबाट नदेखिएकोले मेरो एलिवीको जिकिर पुष्टि भएको अवस्थामा मलाई कसुरदार ठहर गरी ज्यानसम्बन्धीको १७(३) बमोजिम कैद वर्ष ३(तीन) हुने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी केशबहादुर कुँवरको तर्फबाट पुनरावेदन अदालत पोखरामा दायर हुन आएको पुनरावेदन पत्र ।
सुरू अदालतको इन्साफमा चित्त
बुझेन । प्रहरीमा भएको मेरो बयान राजीखुसीले नभएको, मौकामा बुझिएका भनिएका मानिसहरूको भनाइलाई आधार लिँदा पनि म दोषी हुँ भन्ने देखिँदैन, उक्त घटनास्थलमा मेरो उपस्थिति छैन । कुनै पनि अपराध हुन आपराधिक मनसाय र आपराधिक कार्य हुनुपर्दछ, मृतकसँगको रिसइवी, मनसाय, उद्योग, कार्य प्रस्तुत मुद्दामा मेरो हकमा कुनै कुराको पुष्टि भएको
छैन । म आफ्नो कामले तनहुँ डुम्रेतर्फ गएकोमा यात्रामा मैले मोटरसाइकल चलाई पछाडि रूद्रबहादुर आले बसी को कसलाई के बारेमा फोन गरे मलाई थाहा भएन, कल डिटेलमा मेरो नाम उल्लेख छैन । जाहेरवाला चश्मदिद् होइनन् र रूद्रबहादुर आलेको घरमा भएको खानपानमा म पछि पुगेको भन्ने देखिन्छ । घटनाको बारेमा म आफू अग्रसर भएको छैन । घटनास्थलमा पुगी घाइतेलाई हानेको चोट पीडा प्रमाणित भएको छैन । यसरी मिसिल संलग्न प्रमाण कागजबाट म आफू घटनामा संलग्न भई घटना घटाएको भन्ने नदेखिएको अवस्थामा मलाई दोषी करार गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) को आधारमा ३ वर्ष कैद हुने ठहर गरी भएको सुरू कास्की जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी किरण भन्ने कर्णबहादुर कुँवरको तर्फबाट पुनरावेदन अदालत पोखरामा दायर हुन आएको पुनरावेदन पत्र ।
सुरू अदालतको इन्साफमा चित्त
बुझेन । यसमा घटना घटेको समयमा आफ्नै घरमा भएको बेहोरा मैले आफ्नो बयानमा उल्लेख गरेको छु । मेरा साक्षी कमला आलेले मेरो बयान बेहोरालाई समर्थन हुने गरी बकपत्र गरिदिएको अवस्था छ । Alibi को पुष्टि नभए विरूद्ध प्रमाण लाग्छ भन्ने निर्णय त्रुटिपूर्ण छ । उक्त वारदातमा मेरो संलग्नता भएको पुष्टि नभएपछि सहअभियुक्त र जाहेरवालासमेतको कागज एवं बयान मेरो विरूद्ध प्रमाण हुन सक्दैन । मेरो उमेर १५ वर्ष भनी बयानमा उल्लेख गरेको तर तत्काल प्रमाण पेस गर्न नसकेको अवस्थामा मेरो उमेर सम्बन्धमा विद्यालय, जन्मदर्ता बुझ्नेसमेतको कुनै पनि कार्य गरिएको छैन, घटनाका सूत्रधार भन्ने निर्मल थापालाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(३) नं.बमोजिम ३ वर्ष कैद सजाय गर्ने र म वारदातमा उपस्थित नै नभएको व्यक्तिलाई ऐ. १७(२) नं.बमोजिम ५ वर्ष कैद गर्ने गरेको सुरू कास्की जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी सुरू अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी बुद्धिबहादुर लामिछानेको तर्फबाट पुनरावेदन अदालत पोखरामा दायर हुन आएको पुनरावेदन
पत्र ।
यसमा वादी नेपाल सरकार र प्रतिवादीहरू बुद्धिबहादुर लामिछाने, रूद्रबहादुर आले, निर्मल थापा, केशबहादुर कुँवर र किरण भन्ने कर्णबहादुर कुँवरको समेत दोहोरो पुनरावेदन परेको देखिएकोले अ.बं. २०२ नं. प्रयोजनार्थ एक अर्काको पुनरावेदन परस्पर सुनाई पुनरावेदन सरकारी वकिल कार्यालय, पोखरालाई पेसीको जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत पोखराको मिति २०७२।३।८ को आदेश ।
प्रतिवादी बुद्धिबहादुर लामिछानेलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं.बमोजिम तीन वर्ष कैद गर्नुपर्नेमा ऐ. महलको १७(२) नं.बमोजिम पाँच वर्ष कैद हुने ठहर्याएको सुरू कास्की जिल्ला अदालतको मिति २०७१।१०।१४ को फैसला सो हदसम्म मिलेको नदेखिँदा उक्त फैसला सो हदसम्म केही उल्टी भई प्रतिवादी बुद्धिबहादुर लामिछानेलाई ज्यानसम्बन्धी महलको १७(३) नं.बमोजिम तीन वर्ष कैद हुने ठहर्छ । प्रतिवादी रूद्रबहादुर आलेलाई ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिम सर्वस्वसहित जन्मकैद र अन्य प्रतिवादीहरू किरण भन्ने कर्णबहादुर कुँवर, निर्मल थापा, केशबहादुर कुँवरको हकमा ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम तीन वर्ष कैद हुने ठहर्याएको सुरू कास्की जिल्ला अदालतको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादी रूद्रबहादुर आलेबाहेकका अन्य प्रतिवादीहरूलाई समेत ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिम सजाय हुनुपर्छ भन्ने बेहोराको पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर र पुनरावेदक प्रतिवादीहरू रूद्रबहादुर आले, कर्णबहादुर कुँवर, निर्मल थापा, केशबहादुर कुँवर र बुद्धिबहादुर लामिछानेले आरोपित कसुरबाट सफाइ पाउनुपर्छ भनी लिएको पुनरावेदन जिकिर सो हदसम्म पुग्न सक्दैन भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पोखराबाट मिति २०७३।३।२१ मा भएको फैसला ।
पुनरावेदक प्रतिवादी रूद्रबहादुर आलेको तर्फबाट यस अदालतमा दायर हुन आएको ०७३-CR-०४१७ नं. को पुनरावेदन पत्र ।
घटनाको दिन मिति २०६९।१२।१२ गते म काम विशेषले तनहुँको डुम्रे बजार गई बेलुकी मात्र घरमा फर्केको हुँ । घरमा बसेको अवस्थामा छिमेकमा जुक्तबहादुर पुनसमेतका व्यक्तिहरूले घर तोडफोड गर्दै आएको कारण निजले लिएको हतियार खोसी निजलाई प्रहरीमा बुझाउने कामसम्म गरेको हुँ । जुक्तबहादुरले गाउँमा विकास निर्माणका काममा आएको रकमको बाहुबलका आधारमा कमिसन लिने खाने कार्य गर्ने र मैले रोक्न खोजेको विषयमा केही पहिलादेखि मनमुटाव बढिरहेको हुँदा उक्त घटनाका अन्य व्यक्तिलाई पोल उजुर नगरी मलाई पोल उजुर गरेको कारण जाहेरवालाले किटानी जाहेरी दिनुभएको हो ।
प्रस्तुत मुद्दाको तथ्य हेर्दा घटनास्थलमा ठुलै भिडभाड भएको भन्ने देखिन्छ । मृतकको पिठ्युको भागमा दायाँ बायाँ ५” लामो निलडाम कम्मरको दायाँतर्फ २’ लामो खस्रिएको दाग टाउकोमा ३×३ र ३×०.५” को घाउ लागेको भन्ने Autopsy Report र मृतकको शरीरमा धेरै घाउ चोट देखिनुले उल्लिखित घाउचोट एउटै व्यक्तिको कारणबाट लागेको हुन् भनी अनुमान गरी घटनाका सूत्रधार पटकपटक फोन सम्पर्क गरेका भनिएका निर्मल थापालाई योजनाकार एवं घटना घटाउने मुख्य व्यक्तिको श्रेणीमा नराखी फोन Contact मा रहने मलाई मुख्य अपराधी कायम गर्ने र फोनको कल डिटेल निर्मलका विरूद्ध प्रमाण नलाग्ने गरी भएको फैसला प्रमाणको समान परीक्षण गर्ने सिद्धान्तविपरीत छ ।
मिति २०६९।१२।२२ मा बरामद गरिएको हतियार मैले लगेको होइन । अमुक हतियार प्रमाणमा लिँदा सो हतियार कहाँ कसरी बरामद भएको हो, उक्त हतियार घटनामा प्रयोग भएको थियो थिएन, त्यसमा मानव रगत लागेको थियो थिएन र मेरो घरमा मैले कहाँबाट खरिद गरी कसरी उक्त हतियार ल्याएको थिएँ भन्ने जस्ता महत्त्वपूर्ण पक्षमा प्रमाण बुझ्नेसम्मका कार्य गर्नुपर्नेमा सो नगरी प्रहरीले मुद्दामा हतियार पेस गरेकै आधारमा हतियार जुक्तबहादुरको हो भनी मैले गरेको बयानको प्रतिकूल हुने गरी मेरो विरूद्धमा प्रमाण लिने एवं बरामद जुत्तासमेत मेरो होइन भनी बयान गरेकोमा विनाप्रमाण उक्त जुत्ता मेरो ठहर गर्ने र मेरो जुत्तामा लागेको रगत मृतककै हो भनी विनातथ्य फैसला गरिएको छ ।
सार्वजनिक अपराध मुद्दामा प्रत्यक्षदर्शी भनिएका भीम पुनले बयान गर्दा निर्मल थापा र किरण कुँवरलगायतले कमल पुर्जा पुनलाई कुटपिट गरी घाइते बनाएकोमा अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएकोले अपराधी खोज्न घरमा तोडफोड गरेका हौं भनी उल्लेख गर्दा मेरो नाम लिएका छैनन् । जुक्तबहादुरले समेत बयान गर्दा रूद्रबहादुर आलेले मलाई समाई लगेका हुन् भनी बयान गरेकोबाट मैले जुक्तबहादुरलाई समाई प्रहरीमा बुझाएको पुष्टि भएको छ । यसरी प्रत्यक्षदर्शी भनिएका भीम पुन एवं जुक्तबहादुरको बयान बेहोराको उचित मूल्याङ्कन नगरी भएको फैसला त्रुटिपूर्ण छ ।
घटनाका प्रत्यक्षदर्शी एवं तत्काल घटनास्थल पुगेकी भनेकी अन्जु कार्कीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागज मैले मेरो स्वेच्छाले गरेकी होइन, म घटनास्थल पुग्दा प्रतिवादीहरू त्यहाँ थिएनन् कसले हाने मलाई थाहा भएन अनुसन्धानको कागज मैले भनी लेखाएको होइन भनी स्पष्टसँग लेखाएकीमा प्रहरीमा भएको झुठ्ठा कागजलाई प्रमाणमा लिने गरी अन्जु कार्की महिला भएकी, हाम्रो देशमा साक्षीको सुरक्षा नभएको भनी गलत एवं मनगढन्ते कुरालाई फैसलाले आधार ग्रहण गरेको कुरा कानूनसङ्गत छैन । यसैगरी स्वयं मृतकका हजुरबुबा जाहेरवाला जितबहादुर पुर्जा पुनले समेत अदालतमा आई बकपत्र गर्दा को कसले हाने मलाई थाहा छैन, जाहेरी बेहोरा मेरो होइन, म बेहोस अवस्थामा थिएँ । मैले आँखाले नदेखेकाले प्रतिवादीहरूले मारे जस्तो लाग्दैन भनी उल्लेख गरी बकपत्र गर्नुभएको तथा अनुसन्धान कागज गर्ने हुमकुमार पुनले अदालतमा बकपत्र गर्दा मैले घाइतेलाई बोकी अस्पताल पुर्याएको हुँ, प्रतिवादीको रिसइवी केही थिएन, को कसले हाने थाहा भएन । प्रहरीकहाँ साक्षी बस्न भनेकाले सही गरेको हुँ । कागज पढी बाची सुनाएको होइन भनी बकपत्र गर्नुभएको तथा कागज गर्ने अर्को व्यक्ति मनबहादुर पुनले समेत अदालतमा बकपत्र गर्दा कसले पिटे थाहा भएन, रिसइवी थिएन अनुसन्धान अधिकारीकहाँको बेहोरा मेरो होइन भनी लेखाएको बेहोराविपरीत गरिएको फैसला त्रुटिपूर्ण छ ।
अधिकारप्राप्त अधिकारीसमक्ष कागज गर्ने घटनाका प्रत्यक्षदर्शी भनिएका जुक्तबहादुर पुन र भीमबहादुर पुन अदालतमा बकपत्र गर्न उपस्थित हुन सकेका छैनन् । वादी पक्षले प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम मेरा विरूद्धमा कसुर प्रमाणित गर्न सकेको अवस्था छैन । प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम अधिकारप्राप्त अधिकारीसमक्ष कागज गर्ने जुक्तबहादुर पुन, भीमबहादुर पुन एवं विवादास्पद विवरणसहित Postmortem गर्ने डाक्टरले बकपत्र गरी आफ्ना बेहोरा पुष्टि गर्न नसकेको अवस्थामा अदालतभन्दा बाहिर व्यक्त गरेका कुरालाई प्रमाणमा लिई मलाई दोषी साबित गर्न मिल्ने होइन । मृतक कमल पुन भिडन्तमा लडेर ढुङ्गाले काटेको जस्तो देखिन्छ किन भने बरामदी हतियारले टाउकोमा हानेको भए Autopsy Report मा जस्तो ३×३ र ३×०.५” को घाउ बन्न सक्दैन । हतियारको चुच्चोले हानेको भए लम्बाइ सानो हुने त्यसैगरी हानेको भए त्यति धेरै इन्च गहिरो हुँदा लम्बाई धेरै हुनुपर्नेमा Report मा दिइएको बेहोरा मिल्दैन । तर डाक्टरले Report पुष्टि गर्न पनि डाक्टरको बकपत्र अनिवार्य थियो तर डाक्टरले तथ्य पुष्टि गर्न नसक्ने देखी पटकपटक अदालतबाट बोलाउँदासमेत वादी पक्षले उपस्थित गराउन नसकेको कारण वादी दाबी प्रमाणित नभएको हुँदा मेरो विरूद्धमा प्रमाणमा ग्रहण गर्ने गरी भएको Autopsy Report को विश्लेषण त्रुटिपूर्ण छ ।
मृतकसँग मेरो कुनै रिसइवी छैन । मेरो छोरा जस्तो व्यक्तिलाई मार्नुपर्नेसमेतको कुनै कारण पनि छैन । मेरो स्वास्थ्य परीक्षणबाट समेत रक्सी सेवन गरेको भनी देखिएको छैन मैले हतियार मेरो होइन भनी बयान गरेकोमा वादी पक्षले मेरो नै हो भनी स्थापित गराउन नसकेको अवस्था र हतियारको चोट र घाउको प्रकृति नमिल्दो छ । बरामदी चिजवस्तु एवं हतियार मेरो नभएको, जुक्तबहादुर मेरो रिसइवीका व्यक्ति भएको कारण मलाई फसाउने उद्देश्यले केही विवादास्पद बेहोरा उल्लेख गरेको भए तापनि अदालतमा आई बकपत्र गरी पुष्टि गराउन नसकेको, डाक्टरको Report विवादास्पद देखिएको, अदालतमा आई डाक्टरले बकपत्र गरी पुष्टि गराउन नसकेको भीम पुन अदालतमा आई बकपत्र गर्न नसकेको, जाहेरवाला भीमबहादुर पुर्जा पुन कागज गर्ने अन्जु कार्की, हुमकुमार पुन, मनबहादुर पुनसमेतका व्यक्तिले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागजको बेहोरा झुठ्ठा हो भनी अदालतमा आई स्वतन्त्रपूर्वक बकपत्र गरी दिएको, मेरा साक्षीले दिउँसो म घरमा नभएको र मैले घटना नघटाएको भनी स्पष्ट बकपत्र गरी दिएको, घटनासँग सम्बन्धित देखिने निर्मल पुन सँगको फोन सम्पर्कमा निजलाई सूत्रधार नठानी एकतर्फी रूपमा मेरा विरूद्धमा प्रमाणमा ग्रहण गरी भएको फैसला यस अदालतबाट कर्तव्य ज्यान मुद्दामा ने.का.प. २०४९ अङ्क ५ नि.नं. ४५४०, ने.का.प. २०७१ अङ्क ५ नि.न. ९१७०, ने.का.प. २०७० अङ्क १२ नि.नं. ९०९२, ने.का.प. २०७१ अङ्क ९ नि.नं. ९२४३ का नजिर सिद्धान्तसमेतका विपरीत मेरो इमान्दारीको कुनै मूल्याङ्कन नगरी समूहमा भएको भनिएको घटनाको प्रमुख दोषी र योजनाकार मलाई कायम गरी घटनाको समग्र विश्लेषण नगरी हचुवाका आधारमा सर्वस्वसहित जन्मकैद गर्ने गरी कास्की जिल्ला अदालतबाट मिति २०७१।१०।१४ मा भएको त्रुटिपूर्ण फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत पोखराबाट मिति २०७३।०३।२१ मा भएको फैसला बदर गरी मेरो पुनरावेदन जिकिरबमोजिम सफाइ पाउँ भन्ने बेहोराको पुनरावेदन पत्र ।
प्रतिवादी रूद्रबहादुर आलेलाई अनुसन्धान पोल गर्ने जुक्तबहादुर पुनले अदालतमा उपस्थित भई बकपत्र नगरेको, अन्जु कार्की पुनले मौकामा कागज गर्दा रूद्रबहादुर आलेलगायतले घेरा हाली कुटे, म मर्ने भएँ भन्दै कमल पुन सासले बोल्दै थिए । सोही घाउ चोटबाट मृतकको मृत्यु भएको भन्ने बेहोरा लेखाए पनि बकपत्र गर्दा सो कुरा उल्लेख गर्न नसकेको, जाहेरवालाले समेत जाहेरी बेहोराविपरीत बकपत्र गरेको परिप्रेक्ष्यमा प्रतिवादी रूद्रबहादुर आलेलाई सर्वस्वसहित जन्मकैद गर्ने गरेको पुनरावेदन अदालत पोखराको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिएकोले फौजदारी कार्यविधि संहिता, २०७४ दफा १४०(३) को प्रयोजनार्थ प्रत्यर्थी वादी नेपाल सरकारको हकमा महान्यायाधिवक्ताको कार्यालय, काठमाडौंलाई आदेश र पुनरावेदन पत्रको प्रतिलिपि साथै राखी पेसीको सूचना दिई नियमानुसार पेस गर्नुहोला भन्ने यस अदालतको मिति २०७६।०३।१० को आदेश ।
पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा दायर हुन आएको ०७३-CR-०७८१ नं. को पुनरावेदन
प्रस्तुत मुद्दामा प्रतिवादी रूद्रबहादुर आले मगर र किरण कुँवरसमेतको योजनामा प्रतिवादी बुद्धिबहादुर लामिछानेसमेतका व्यक्तिहरूले कमल पुन पुर्जालाई धारिलो हतियार तरबारले टाउकोमा हानी कर्तव्य गरी मारेको भन्ने जितबहादुर पुर्जा पुनको किटानी जाहेरी परेको छ । मृतकको लास जाँच मुचुल्का हुँदा पिठ्युँको भागमा दायाँ बायाँ लामो आकारमा ५ इन्च लामो निलडाम रहेको, कम्मरको दायाँतर्फ २ इन्च लामो खोस्रिएको दाग रहेको र टाउको पछाडि टुप्पीको तल्लो भागमा त्रिकोण आकारको ३×३ इन्चको घाउ र सो घाउदेखि ४ इन्च बायाँतर्फ ३×०.५ इन्चको घाउ रहेको भन्ने देखिएको छ । प्रतिवादी बुद्धिबहादुर लामिछाने मौकामा फरार रहेका र अदालतमा बयान गर्दा कसुरमा इन्कार रहे पनि प्रतिवादीमध्येका रूद्रबहादुर आलेले मौकामा बयान गर्दा भीम पुनले बिमल थापालाई कुटपिट गरेकोले उच्छृङ्खल गतिविधिमा संलग्नलाई ठिक पार्नुपर्छ भनी बुद्धिबहादुर लामिछानेसमेतका साथीहरू फुटबल खेली फर्किने बाटो कुरी बसेको अवस्थामा भीम पुन, जुक्तबहादुर पुन र कमल पुन आउँदै गरेका, जुक्त पुनको हातमा भएको तरबार मैले खोसी तरबारको उल्टोतर्फबाट कमल पुनलाई हानेको, अन्य साथीहरूले लाठी, लात्ती तथा रडसमेतले हानेका हुन् भनी पोल गरेका छन् । अर्का प्रतिवादी किरण भन्ने कर्णबहादुर कुँवर, निर्मल थापाको मौकाको बयान र बुझिएका जुक्तबहादुर पुन, वस्तुस्थिति मुचुल्काका अन्जु कार्की, मनबहादुर पुन र हुमकुमार पुनले समेत प्रतिवादी बुद्धिबहादुर लामिछानेसमेतको चोटबाट मृतकको मृत्यु भएको भन्ने लेखाइदिएका छन् । पुनरावेदन अदालत, पोखराको फैसलामा निज प्रतिवादीसमेत घटनास्थलमा उपस्थित रहेको कुरा ठहर भएको छ । मृतकको शरीरमा धारिलो हतियारको चोट एउटा मात्र नभई दुईवटा देखिएका छन् भने निलडाम र खोस्रिएको घाउसमेत देखिएका छन् । प्रतिवादीहरूले सामूहिक रूपमा चोट प्रहार गरी मृतकको मृत्यु हुन गएको तथ्य पुष्टि भएको अवस्थामा प्रतिवादी बुद्धिबहादुर लामिछानेसमेतलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिम सजाय गर्नुपर्नेमा धारिलो हतियारको चोट प्रतिवादी रूद्रबहादुर आलेले छाडेको देखिएको, अन्य घाउ चोट नदेखिएको र बुद्धिबहादुर लामिछानेले चोट छाडेको नदेखिई वारदात स्थलमा उपस्थित भई ग्याङ मेम्बरको नाताले ग्याङमा समावेश भएकोसम्म देखिएको भन्ने आधारमा प्रतिवादीउपर मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(३) नं.बमोजिम सजाय गरेको उक्त फैसला प्रमाण मूल्याङ्कनका रोहमा त्रुटिपूर्ण हुनुका साथै प्रस्तुत फैसला सम्मानित सर्वोच्च अदालत बाट ने.का.प. २०७१, अङ्क ९, नि.नं. ९२४९ भएको कर्तव्य ज्यान मुद्दामा, “प्रतिवादीहरूले गुट बनाई संयुक्तरूपमा गरेको वारदातलाई संयुक्त वारदात भनिन्छ । यसमा कसले बढी कुट्यो, कसले कम कुट्यो, कसको प्रहार प्राणघातक भयो अथवा कुनै कसैले कुट्दै कुटेन कि जस्ता कुरा कमन ल मा प्रासङ्गिक हुँदैनन् । ज्यान लिने अथवा साङ्घातिक कुटपिट गर्ने मनसाय भई सो सन्दर्भमा समूहमा बसी एक अर्कालाई उकासी हौसाई अथवा हातै हाली कुटपिट गरेमा सबै प्रतिवादी समान रूपमा सहभागी भएको मानिने र समान सजायका भागीदार हुने अवस्था रहने” भनी तथा ने.का.प. २०५०, अङ्क १, नि.नं. ४६८६ भएको अर्को कर्तव्य ज्यान मुद्दामा, “... वारदातसम्बन्धी सम्पूर्ण तथ्यबाट अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयान समर्थित भएको देखिएको स्थितिमा अदालतमा इन्कार रहेकोले मात्र अधिकारप्राप्त अधिकारीसमक्ष स्वेच्छाले साबित भएको रहेनछ भन्न मिल्ने देखिन नआउने” भनी प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल छ ।
प्रतिवादी किरण कुँवर भन्ने कर्णबहादुर कुँवर, निर्मल थापा र केशबहादुर कुँवरसमेतउपर किटानी जाहेरी परेको र निजहरू अदालतमा इन्कार रहे पनि भीम पुनले निर्मल थापाका भाइ कमल थापालाई कुटपिट गरेको कारण निजको समूहलाई ठिक पार्नुपर्छ भनी सल्लाह भई निजहरू घटनास्थलमा उपस्थित रहेका भन्ने सहप्रतिवादी रूद्रबहादुर आलेको मौकाको बयानबाट देखिएको र स्वयं प्रतिवादी किरण भन्ने कर्णबहादुर कुँवरले २/३ लात्ती हानेका र केशबहादुर कुँवरसमेत घटनास्थलमा उपस्थित रहेका भनी मौकामा साबित रहेको, र पुनरावेदन अदालतले निजहरूसमेत घटनास्थलमा उपस्थित रहेको कुरालाई स्वीकार गरेको अवस्था छ । मृतकका भाइ भीम पुनसमेतलाई ठिक पार्ने भनी प्रतिवादी रूद्रबहादुर आलेको घरमा जम्मा भई रक्सी मासु खाई मृतकसमेत फुटबल खेली फर्कने क्रममा प्रहार गर्ने योजना बनाई बाटो ढुकी कुरी तरबारलगायत लाठी, लात्ता, मुक्काले प्रहार गरेको देखिएको, प्रस्तुत वारदातलाई अदालतले ग्याङ फाइटको संज्ञा दिएको अवस्था छ । ग्याङ फाइटमा दुवै पक्ष एकआपसमा भिड्ने अवस्था हुन्छ तर प्रतिवादीतर्फका कोही कसैलाई घाउ चोट लागेको पनि देखिँदैन । अर्कोतर्फ मृतकतर्फ पनि ३ जनाको समूह भएको देखिएको, निज प्रतिवादीहरूसँग प्रतिकार गर्न नसकी अन्य दुईजना घटनास्थलबाट भागेको अवस्था छ । केवल रूद्रबहादुर आलेको प्रहारले मात्र तीन जनाको समूहलाई निर्घात रूपमा कुटपिट गरी ज्यान मार्ने कार्य गर्न सक्ने अवस्था नहुने हुँदा यी प्रतिवादीहरूसमेतको सामूहिक चोट प्रहारको कारण मृतकसँगै रहेका अन्य दुईजना भीम पुन र जुद्धबहादुर पुन ज्यानसम्म जोगाई भाग्न सफल भएको, मृतक कमल पुन भीम पुनका आफ्नै भाइसमेतलाई बचावट गर्न नसक्ने देखी आफ्नो ज्यान जोगाई भागेको देखिएको अवस्था छ भने रक्सी मासु खाई रक्सीले मात लागेको अवस्थामा पूर्वयोजना बनाई घटाइएको उक्त वारदातमा घटनास्थलमा उपस्थित भइसकेपछि मुकदर्शक भई हेरी मात्र रहने अवस्था हुँदैन, निजहरूसमेतले मृतकउपर सामूहिक रूपमा लाठी, लात्ता, मुक्का प्रहार गरी कर्तव्य गरी मारेको अवस्थामा निजहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गर्नुपर्नेमा सो नगरी केवल घटनास्थलमा उपस्थितसम्म भएको, मार्ने योजनामा मतसल्लाहमा फसेकोसम्म देखिएको भनी ज्यानसम्बन्धी महलको १७(२) नं.बमोजिम निजहरूलाई कम सजाय गर्ने गरी भएको उक्त फैसला सो हदसम्म त्रुटिपूर्ण भएकोले बदर गरी निज प्रतिवादीहरूलाई समेत अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट दायर हुन आएको पुनरावेदन पत्र ।
यसमा यसै लगाउको पुनरावेदक प्रतिवादी रूद्रबहादुर आले प्रत्यर्थी वादी नेपाल सरकार भएको ०७३-CR-०४१७ को कर्तव्य ज्यान मुद्दामा आज यसै इजलासबाट प्रत्यर्थी झिकाउने आदेश भएको र प्रस्तुत मुद्दा उक्त मुद्दासँग अन्तरप्रभावी देखिएको यस मुद्दामा समेत फौजदारी कार्यविधि संहिता, २०७४ दफा १४०(३) को प्रयोजनार्थ प्रत्यर्थी प्रतिवादीलाई झिकाई आएपछि वा अवधि व्यतीत भएपछि लगाउको मुद्दासमेत साथै राखी नियमानुसार पेस गर्नुहोला भन्ने यस अदालतको मिति २०७६।०३।१० को आदेश ।
यस अदालतको ठहर
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित महान्यायाधिवक्ताको कार्यालयका विद्वान् सहन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मीले प्रतिवादीहरू किरण भन्ने कर्णबहादुर कुँवर, निर्मल थापा, केशबहादुर कुँवर र बुद्धिबहादुर लामिछानेसमेतको कर्तव्यबाट मृतक कमल पुर्जा पुनको ज्यान गएको अवस्था हो । निज प्रतिवादीहरूले योजनाबद्ध रूपमा तरबार, लाठा, ढुङ्गा प्रहार गरी मृतक कमल पुर्जा पुनको टाउको र शरीरमा छोडेको निर्मम चोटका कारण निजको मृत्यु भएको हो । मृतकको खोपडी टुक्राटुक्रा भएको स्थिति छ, घटनास्थलबाट तरबार, रगत लतपतिएको जुत्ता बरामद भएका छन् । मृतकको Autopsy Report र घटना प्रकृति मुचुल्काबाट समेत प्रतिवादीहरूसमेतको कर्तव्यबाट मृतकको ज्यान गएको भन्ने पुष्टि भइरहेको छ । निज प्रतिवादीहरूउपरसमेत जाहेरवालाको किटानी जाहेरी छ । कर्तव्य ज्यानको वारदातमा धेरैजना प्रतिवादीहरूको भूमिका देखिएको तर यसैको कर्तव्यबाट मृतकको मृत्यु भएको भनी यकिन नभए वारदातमा संलग्न सबै प्रतिवादीहरूलाई गोश्वारारूपमा जन्मकैदको सजाय गर्नुपर्ने हुन्छ । साथै कुनै गैरकानूनी कार्य गर्न सामान्य उद्देश्य लिई षड्यन्त्रको भूमिका तयार गर्ने बेलादेखि षड्यन्त्र पूरा हुने बेलासम्म जति जना संलग्न रहेको हुन्छ ती सबैलाई मुख्य षड्यन्त्रकारी नै मान्नुपर्ने (ने.का.प २०६८, अङ्क १०, नि.नं ८७०५) हुन्छ । साथै ज्यान लिने अथवा साङ्घातिक कुटपिट गर्ने मनसाय भई सो सन्दर्भमा समूहमा बसी एक अर्कालाई उकासी हौसाई अथवा हातै हाली कुटपिट गरेमा सबै प्रतिवादी समानरूपमा सहभागी भएको मानी समान सजायका भागीदारसमेत हुने (ने.का.प २०७१, अङ्क ९, नि.नं ९२४९) हुन्छन् । यस स्थितिमा प्रतिवादी रूद्रबहादुर आलेलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय भएको तर समान भूमिकाका प्रतिवादीहरू किरण भन्ने कर्णबहादुर कुँवर, निर्मल थापा, केशबहादुर कुँवर र बुद्धिबहादुर लामिछानेलाई अभियोग दाबीभन्दा घटी सजाय गर्ने गरी भएको साबिक पुनरावेदन अदालत पोखराको फैसला निजहरूका हकमा मिलेको छैन । अतः निज प्रतिवादीहरू किरण भन्ने कर्णबहादुर कुँवर, निर्मल थापा, केशबहादुर कुँवर र बुद्धिबहादुर लामिछानेसमेतलाई साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिम नै सजाय गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।
पुनरावेदक प्रतिवादीहरू किरण भन्ने कर्णबहादुर कुँवर, निर्मल थापा, केशबहादुर कुँवर र बुद्धिबहादुर लामिछानेसमेतका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता विशेश्वरप्रसाद गौतमले मृतक कमल पुर्जा पुनको मृत्यु धारिलो हतियारको चोटबाट भएको भनिएकोमा धारिलो हतियार छोड्नेमा मेरा पक्षहरू संलग्न छैनन्, निजहरूबाट कुनै दशी प्रमाण बरामद हुन सकेको छैन । साथै वारदातमा निज प्रतिवादीहरूको संलग्नता देखिने वस्तुनिष्ठ प्रमाण वादी पक्षबाट पेस हुन सकेको छैन । जाहेरवाला मृतकका बाजे जितबहादुर पुनले अदालतमा बकपत्र गर्दा निज प्रतिवादीहरूलाई निर्दोष भनी बकपत्र गरेको अवस्था छ । मौकामा कागज गर्ने अन्जु कार्कीसमेतले अदालतमा बकपत्र गर्दा निज प्रतिवादीहरूलाई पोल गरेको अवस्था छैन । मौकामा पोल गर्ने जुक्तबहादुर पुनले अदालतमा उपस्थित भई बकपत्र गरेका छैनन् । मृतकको शरीरमा देखिएको निलडाम Post mortem lividity को अवस्था हो जहाँ मान्छेको मृत्युको केही समयपछि मृतकको शरीरमा स्वाभाविक रूपमा निलडामहरू देखिने हुन्छ, जुन कसैको कर्तव्यबाट हुने होइन । यस स्थितिमा साबिक पुनरावेदन अदालत पोखराबाट भएको फैसला मेरा पक्षहरूको हकमा मिलेकै देखिँदा सदर हुनुपर्छ भनी बहस गर्नुभयो ।
साथै पुनरावेदक प्रतिवादी रूद्रबहादुर आलेको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्रीकान्त बराल र विद्वान् अधिवक्ता शिवराम श्रेष्ठले प्रस्तुत मुद्दामा मेरा पक्ष र मृतक कमल पुनबिच पूर्वरिसइवी रहे भएको अवस्था छैन । मार्नुपर्नेसम्मको कारण छैन । मृतकलाई मार्ने मनसाय, योजना, तयारीलगायतका कुनै पनि कार्य मेरा पक्षले गरेका
छैनन् । जाहेरवाला स्वयं र अनुसन्धानमा कागज गर्ने अन्जु कार्कीले समेत अदालतमा बकपत्र गर्दा मेरो पक्षलाई निर्दोष भनी प्रतिकूल बकपत्र गरेका छन् । वारदातका दिन मेरो पक्षले घटनास्थलमा जुक्तबहादुरलाई पक्री प्रहरीमा बुझाएको र निजसँगको पूर्वरिसइवीको कारणले जुक्तबहादुरले मेरा पक्षलाई पोल गरी बयान गरेको हो । निजको पोल कहीँकतैबाट पुष्टि हुन सकेको छैन । वारदातस्थलमा भन्दा केही पर भेटिएको भनिएको तरबार जुक्तबहादुरले ल्याएको हो । मेरो पक्षको जुत्तामा लागेको रगत मृतककै हो भन्ने पुष्टि हुन सकेको छैन, त्यसमाथि पनि जुत्ता नै प्रतिवादीले आफ्नो होइन भनी इन्कारी बयान गरेको अवस्थामा कर्तव्य ज्यान जस्तो सङ्गीन अपराधमा अनुसन्धानको बयान र अपुष्ट पोललाई मात्र आधार मानी मेरा पक्षलाई कसुरदार ठहर गरी भएको पुनरावेदन अदालत पोखराको फैसला नमिलेकोले उक्त फैसला सो हदसम्म बदर गरी निज प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिनुपर्छ भनी गरेको बहस सुनियो ।
यसमा प्रतिवादीहरू किरण भन्ने कर्णबहादुर कुँवर, निर्मल थापा, रूद्रबहादुर आले, केशबहादुर कुँवर, अर्जुन कुँवर, विमल थापा, सुमन थापा, नारायण नेपाली, कुशल परियार, अमित आले, बुद्धिबहादुर लामिछाने, अर्जुन खाती र इन्द्रबहादुर कुँवरले छाडेको चोटको कारणबाट मिति २०६९।१२।१२ गते कमल पुर्जा पुनको मृत्यु भएको पुष्टि भएकाले निजहरूको उक्त कार्य साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. ले निषेध गरेको कसुर हुँदा निज प्रतिवादीहरूलाई ऐ. महलको १३(१) नं.बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको अभियोग दाबी रहेको देखिन्छ । उक्त अभियोग दाबीमा सुरू कास्की जिल्ला अदालतबाट वारदातपश्चात् फरार रहेका प्रतिवादीहरू अर्जुन कुँवर, विमल थापा, सुमन थापा, नारायण नेपाली, कुशल परियार, अमित आले, अर्जुन खाती र इन्द्रबहादुर कुँवरको हकमा मुलुकी ऐन, अ.बं. १९० नं.बमोजिम मुद्दा मुल्तबीमा रहने तथा प्रतिवादीमध्येका रूद्रबहादुर आलेलाई ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने, प्रतिवादी बुद्धिबहादुर लामिछानेलाई ऐ. ऐनको १७(२) नं.बमोजिम ५ वर्ष कैद सजाय हुने र प्रतिवादीहरू किरण भन्ने कर्णबहादुर कुँवर, निर्मल थापा र केशबहादुर कुँवरलाई ऐ. ऐनको १७(३) नं.बमोजिम जनही तीन वर्ष कैद सजाय हुने गरी फैसला भएको देखियो । सुरू अदालतको उक्त फैसलाउपर प्रतिवादीहरू किरण भन्ने कर्णबहादुर कुँवर, निर्मल थापा, केशबहादुर कुँवर र बुद्धिबहादुर लामिछानेलाई अभियोग दाबीभन्दा कम सजाय हुने गरी भएको फैसलाउपर चित्त नबुझाई वादी नेपाल सरकारको तथा आफूलाई कसुरदार ठहर गरेको हदसम्म चित्त नबुझाई प्रतिवादीहरू रूद्रबहादुर आले, बुद्धिबहादुर लामिछाने, किरण भन्ने कर्णबहादुर कुँवर, निर्मल थापा र केशबहादुर कुँवरसमेतको दोहोरो पुनरावेदन परेको देखियो । उक्त पुनरावेदनमा साबिक पुनरावेदन अदालत पोखराबाट सुरू अदालतको फैसला प्रतिवादी बुद्धिबहादुर लामिछानेको हकमा केही उल्टी भई निजलाई साबिक मुलकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम ३ वर्ष कैद सजाय हुने र अन्य प्रतिवादीहरू रूद्रबहादुर आले, किरण भन्ने कर्णबहादुर कुँवर, निर्मल थापा र केशबहादुर कुँवरको हकमा सुरू अदालतको फैसला सदर हुने गरी मिति २०७३।३।२१ मा फैसला भएको देखियो । पुनरावेदन अदालत पोखराको उक्त फैसलामा प्रतिवादीहरू किरण भन्ने कर्णबहादुर कुँवर, निर्मल थापा, केशबहादुर कुँवर र बुद्धिबहादुर लामिछानेको हकमा भएको सजायमा चित्त नबुझी वादी नेपाल सरकारको र आफूलाई सर्वस्वसहित जन्मकैद हुने ठहरी भएको सुरू अदालतको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत पोखराबाट भएको फैसलामा चित्त नबुझी प्रतिवादी रूद्रबहादुर आलेकोसमेत गरी दोहोरो पुनरावेदनका साथ प्रस्तुत मुद्दा यस अदालतमा दायर हुन आएको देखियो ।
सक्कल मिसिलसहितका कागजात अध्ययन गरी आ-आफ्ना पक्षका तर्फबाट उपस्थित विद्वान् अधिवक्ताको विद्वतापूर्ण बहससमेत सुनी प्रस्तुत मुद्दामा मृतक कमल पुर्जा पुनको मृत्यु कर्तव्यबाट भएको हो, होइन ? हो भने के कसको कति कर्तव्यबाट भएको
हो ? भन्ने सम्बन्धमा कास्की जिल्ला अदालतको मिति २०७१।१०।१४ को फैसला केही उल्टी हुने गरी पुनरावेदन अदालत पोखराबाट मिति २०७३।०३।२१ मा भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादी नेपाल सरकार र पुनरावेदक प्रतिवादी रूद्रबहादुर आलेको पुनरावेदन जिकिरबमोजिम हुनपर्ने हो,
होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
अब निर्णयतर्फ विचार गर्दा, प्रस्तुत मुद्दाको अभियोग दायर हुँदाका अवस्थामा फरार रहेका प्रतिवादीहरू अर्जुन कुँवर, विमल थापा, सुमन थापा, नारायण नेपाली, कुशल परियार, अमित आले, अर्जुन खाती र इन्द्रबहादुर कुँवरसमेत गरी जना ८ को हकमा अ.बं. १९० नं.बमोजिम मुद्दा मुलतबीमा राखिदिने भनी सुरू कास्की जिल्ला अदालतको मिति २०७१।१०।१४ को फैसलामा उल्लेख भएको देखिन्छ । पछि फरार रहेका प्रतिवादीमध्येका विमल थापा भन्ने पदमबहादुर थापाको हकमा मुलतबी जागी कारबाही हुँदा निज प्रतिवादी विमल थापा भन्ने पदमबहादुर थापाले अभियोग दाबीबाट सफाइ पाउने गरी मिति २०७३।१२।०६ मा कास्की जिल्ला अदालतबाट फैसला भएको देखियो । सोपश्चात् निज प्रतिवादी विमल थापा भन्ने पदमबहादुर थापाले सफाइ पाएउपर परेको वादी नेपाल सरकारको पुनरावेदनमा उच्च अदालत पोखराबाट सुरू कास्की जिल्ला अदालतको मिति २०७१।१०।१४ को फैसलाले मुलतबीमा रहेका निज प्रतिवादी विमल थापा भन्ने पदमबहादुर थापाबाहेकका अन्य प्रतिवादीहरू अर्जुन कुँवर, सुमन थापा, नारायण नेपाली, कुशल परियार, अमित आले, अर्जुन खाती र ईन्द्रबहादुर कुँवरसमेत जना ७ को हकमा समेत अंश रोक्का भएको मितिले २ वर्ष पुगिसकेकोले निजहरूको हकमा समेत मुलतबी जगाई सुरू अदालतबाट फैसला भएपश्चात् मात्र निज प्रतिवादी विमल थापा भन्ने पदमबहादुर थापासमेतको हकमा पुनरावेदनको तहबाट निर्णय गर्नु मनासिब र कार्यविधिगत दृष्टिले समेत उपयुक्त हुने भनी र सुरू अदालतको उक्त कारबाही/फैसलापश्चात् सक्कल मिसिलसमेत माग गरी उक्त अवधिसम्म प्रतिवादी विमल थापा भन्ने पदमबहादुर थापाको हकमा समेत मुद्दा मुलतबीमा राख्ने गरी मिति २०७५।५।२४ मा उच्च अदालत पोखराबाट आदेश भएको देखिन्छ । सो आदेशबमोजिमको कार्य प्रक्रिया अगाडि बढ्ने नै हुँदा सोतर्फ हाललाई केही बोलिरहनुपरेन ।
अब अन्य प्रतिवादीहरूका सम्बन्धमा हेर्दा, मृतक कमल पुर्जा पुनको मृत्यु कर्तव्यबाट भएको हो, होइन भन्ने सम्बन्धमा मृतक कमल पुर्जा पुनको मृत्यु प्रतिवादीहरूको चोट प्रहारबाट भएको भनी किटानी जाहेरी दरखास्त परेको देखिन्छ । मृतक कमल पुर्जा पुनको टाउकोमा चोटपटक लागी क्षतविक्षत भएको देखिने फोटोहरू मिसिल सामेल रहेको देखिन्छ । कास्की जिल्ला, भरतपोखरी गा.वि.स., वडा नं.१ उपल्लो पुर्णिटारमा रहेको खाली चउरमा मिति २०६९।१२।१२ गते साँझ रूद्रबहादुर आलेसमेतले कमल पुर्जा पुनलाई धारिलो हतियार, लाठी र मुक्कासमेतले प्रहार गरी गम्भीर घाइते बनाएको, घाइतेलाई उपचारको लागि पोखरातर्फ लगिएको, घटनास्थलबाट उक्त रगत जस्तो रातो पदार्थ लागेको २ (दुई) वटा ढुङ्गा उठाई ल्याएको भन्ने बेहोराको घटनास्थल मुचुल्का देखिन्छ । मिसिल संलग्न मिति २०६९।१२।१३ गते भएको मृतकको घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्कामा मृतक कमल पुर्जा पुनको टाउकोपछाडि टुप्पीको तल्लो भागमा त्रिकोण आकारको ३x३” को घाउ र सो घाउदेखि बायाँतर्फ ३x०.५” को दायाँ बायाँ फैलिएको घाउ रहेको र दुवै घाउबाट रगत बगी सुकेको भनी उल्लेख भएको देखिन्छ । साथै मिति २०६९।१२।१३ मा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल विकास समिति, पोखराबाट भएको मृतकको शव परीक्षण प्रतिवेदन हेर्दा, Abrasion on right flack, bruise on back. Cut injury on the parietal region of right side of head measuring 7cm x 3cm, in the occipital region measuring 7cm x 2cm. bleeding from nose. On opening of head, bleeding present with clots on right parieto occipital region of head. Fracture Right parieto occipital bone, fracture occipital bone भनी र Cause of Death मा Severe head Injury भन्ने उल्लेख भएको देखिन्छ । उपर्युक्त आधार कारणबाट निज मृतकको मृत्यु कर्तव्यबाट भएको हो भन्ने तथ्य यकिन तवरबाट स्थापित हुन आएको पाइन्छ ।
यसरी मृतकको मृत्यु कर्तव्यबाट भएको भन्ने देखिएको प्रस्तुत मुद्दामा निज आरोपित प्रतिवादीहरूको कसुर कार्यमा संलग्नता छ वा छैन ? संलग्नता रहे भए के, कुन प्रतिवादीको के कति मात्रामा संलग्नता छ ? भन्ने कुराको प्रतिव्यक्ति आधार प्रमाणको विश्लेषण गरी कसुरजन्य कार्यमा निजहरूको भूमिका (Degree of Criminality) समेतलाई विश्लेषण गरी हेर्नुपर्ने देखिन आयो ।
२. तत् सम्बन्धमा हेर्दा, मिति २०६९।१२।१२ गते राति करिब ७ बजेतिर प्रतिवादी रूद्रबहादुर आलेसमेतले मृतक कमल पुर्जा पुनलाई धारिलो हतियार, लाठी र मुक्कासमेतले प्रहार गरी गम्भीर घाइते बनाएको, घाइतेलाई उपचारको लागि पोखरातर्फ लगिएको भन्ने घटनास्थल मुचुल्काबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । प्रतिवादी रूद्रबहादुर आलेसमेतका व्यक्तिहरूले जाहेरवाला जितबहादुर पुनको नाति कमल पुर्जा पुनलाई मिति २०६९।१२।१२ गते बेलुकी ७ बजे फुटबल खेलेर फर्कने क्रममा पूर्वयोजनाअनुरूप धारिलो हतियार तरबार, रडसमेतले टाउकोमा हानी सख्त घाइते बनाई भागेका र उपचारका क्रममा मणीपाल अस्पताल पोखरामा मृतकको मृत्यु भएकोले घटनामा संलग्न प्रतिवादीहरूलाई हदैसम्मको कैद सजाय गरिपाउँ भन्ने बेहोराको मृतकका बाजे जीतबहादुर पुनको किटानी जाहेरी परेको देखिन्छ ।
३. प्रतिवादी रूद्रबहादुर आलेले अनुसन्धान अधिकारीसमक्षको बयानमा वारदातको दिन मिति २०६९।१२।१२ गते आफू सहअभियुक्त किरण भन्ने कर्णबहादुर कुँवरसँग तनहुँ गई फर्कने क्रममा दिउँसो अन्दाजी ३ बजेको समयमा सहअभियुक्त निर्मल थापाले आफूलाई फोन गरी आफ्नो भाइ विमल थापालाई भीम पुनले स्कुलमा पिटेछ के गरौँ भनी सोधेको र भीम पुन, निजको दाजु मृतक कमल पुर्जा पुनलगायतका केही युवाहरू गाउँमा उच्छृङ्खल काम गर्ने, आफूले गर्ने सामाजिक कामको विरोध गर्ने हुँदा निजहरूलाई ठिक पार्नुपर्छ, त्यसको लागि आफ्नो घरमा केही केटाहरूलाई बोलाई मासु रक्सी खुवाउने र साँझ कमल पुर्जा पुनलगायतका व्यक्तिहरू फुटबल खेलेर फर्किंदा बदला लिने, त्यसको व्यवस्था आफूले मिलाउने, बेलुका घरमा पार्टी (भोज) गर्ने भनी आफूले दिउँसो एक कार्टुन बियर किनी लगी अन्य व्यक्तिहरूलाई घरमा बोलाई बियर मासुसमेत खुवाएको र बेलुका मृतक कमल पुर्जासमेतका व्यक्तिहरू फुटबल खेली फर्कने समयमा आफूलगायतका साथीहरूले आफ्नो घरबाट लाठी लिई फुटबल खेलेर फर्कंदै गरेका कमल पुर्जा पुन, भिम पुन र जुक्तबहादुर पुनलाई घेरा हाली कुटपिट गरेको र सो क्रममा मृतकलाई आफूले तरबार जस्तो हतियारले उल्टो तर्फबाट मृतकको टाउकोको पछाडितर्फ हानेको, प्रतिवादीहरू निर्मल थापा र किरण कुँवरले समेत मृतकलाई २-३ लात्ती, लाठी, रडले हानेको, भीम पुन र जुक्तबहादुर पुन घटनास्थलबाट भागेको र निजहरूले गरेको हार गुहार सुनी गाउँलेहरू घटनास्थलमा आएकाले आफूहरू भागेको, मृतक कमल पुर्जा पुनको सोही राति उपचारको क्रममा मृत्यु भएको भनी आरोपित कसुरमा साबित भई बयान गरेको देखिन्छ ।
४. निज प्रतिवादीले आफूलाई २०६९।१२।१२ गते दिउँसो अन्दाजी ३ बजे निर्मल थापाले आफ्नो भाइ विमल थापालाई मृतक कमल पुनको भाइ भीमबहादुर पुनले कुटेको सूचना मोबाइलबाट दिएको भन्ने बेहोरा लेखाएकोमा प्रमाणको रूपमा मिसिल सामेल रहेको कल डिटेल हेर्दा सहप्रतिवादी निर्मल थापा र निज प्रतिवादी रूद्रबहादुर आलेबिच वारदातका दिन दिउँसोको समयमा पटकपटक फोन सम्पर्क भएको देखिएको छ । साथै सो दिन आफू सहप्रतिवादीका रूपमा रहेका किरण कुँवरले चलाएको मोटरसाइकलमा तनहुँ, डुम्रे गई फर्केको भनी लेखाएको निज प्रतिवादीको अनुसन्धानको बयान सुरू, पुनरावेदन र यस अदालतबाट समेत आज सजाय कायम भएका सहप्रतिवादी किरण भन्ने कर्णबहादुर कुँवरको अनुसन्धानमा आफू र प्रतिवादी रूद्रबहादुर आले मोटरसाइकलमा डुम्रे गई फर्केको, डुम्रे जाँदै गर्दा बाटोमा निर्मल थापाले रूद्रबहादुर आलेलाई फोन गरेपश्चात् नै प्रस्तुत घटनाको योजना बनेको भन्ने बेहोराको बयानसँग मेल खान गएको छ । साथै निजहरूको उल्लिखित बेहोराको बयान, अन्य सहप्रतिवादीहरू निर्मल थापा, कर्णबहादुर थापा, बुद्धिबहादुर लामिछानेसमेतले वारदातको दिन साँझ आफूहरूसमेत प्रतिवादी रूद्रबहादुर आलेको योजनाबमोजिम नै निजको घरमा गई रक्सी मासु खाएको, घटना हुँदा आफूहरूले समेत घाइते भई लडिरहेका मृतकलाई १/२ लात्ती हानेको भनी घटनामा आफ्नो संलग्नता देखाई अनुसन्धान अधिकारीसमक्ष बयान गरेको देखिन्छ ।
५. साथै प्रतिवादी रूद्रबहादुर आलेलगायतका अन्य सहप्रतिवादीहरूसमेतको बयानसँग मेल खाने गरी प्रस्तुत घटनाका प्रत्यक्षदर्शी एवं मृतक कमल पुर्जा पुनसँग फुटबल खेली सँगै फर्कंदै गरेका भनिएका जुक्तबहादुर पुनले आफू, मृतक र मृतकको भाइ भीमबहादुर पुनसमेत फुटबल खेली सँगै फर्कंने क्रममा आफूहरूलाई कुट्न यी प्रतिवादीसमेतले घेरा हालेको, आफूहरू वारदातस्थलबाट भाग्न उम्कन सफल भएकाले आफूहरूको साथबाट छुट्न पुगेका कमल पुर्जा पुनलाई हानेको र सोही चोटबाट कमलको मृत्यु भएको भनी गरेको मौकाको कागज मिसिल सामेल देखिन्छ । निजको मौकाको कागज वारदातलगत्तै घटनास्थल पुगेकी भनिएकी वस्तुस्थिति मुचुल्काकी अन्जु कार्कीले वारदातका दिन साँझको समयमा खान खाई घरको बाहिर बसिरहेको बखत हान् हान् भनेको आवाज सुनी घटनास्थलमा जाँदा मृतक कमल पुनले पानी खान्छु भनेको, आफूले पानी खान दिई कसले कुटेको भनी सोध्दा रूद्र आलेसमेतले हानेको भनेको र रूद्र आलेसमेतका व्यक्तिहरू नर्सरीतर्फ भाग्दै गरेको देखेको हुँ भनी लेखाइदिएको बेहोरा र वस्तुस्थिति मुचुल्काका अन्य व्यक्तिहरू मनबहादुर पुन, हुमबहादुर पुनसमेतले निज प्रतिवादी रूद्रबहादुरसमेत भई योजनाबद्ध रूपमा मृतकलाई धारिलो हतियार तरबार, लाठी, मुक्कासमेतले टाउकोमा प्रहार गरेको र सोही कारण मृतकको मृत्यु भएको भनी गरेको मौकाको कागजबाट समेत समर्थित भइरहेको देखिन्छ ।
६. साथै प्रस्तुत मुद्दामा तरबार बरामद भएको र उक्त तरबार बरामद हुँदाको खानतलासी मुचुल्कामा निज प्रतिवादी रूद्रबहादुर आलेले देखाएको घटनास्थलमा रहेको ढुंगाको मुनितर्फ घुसारी लुकाइराखेको तरबार थान-१ फेला परेको भन्ने देखिन्छ । सो तरबार आफू वारदातपश्चात् भाग्ने क्रममा घटनास्थलभन्दा केही पर रहेको नर्सरी भन्ने स्थान नजिक छाडेको र वारदातका क्रममा उक्त तरबारको उल्टो पट्टिबाट आफूले कमल पुर्जा पुनको टाउकोको पछाडि भागमा प्रहार गरेको हुँ, उक्त तरबार देखाउँदा देखी चिनेँ भनी निज प्रतिवादीले तरबारको सनाखतसमेत गरिदिएको देखिन्छ । अनुसन्धानका क्रममा प्रतिवादी रूद्रबहादुर आलेले घटनामा प्रयोग गरेको भनिएको उक्त तरबार जुद्धबहादुरले नै ल्याएको, वारदातस्थलमा छोडी भागेकोले पछि आफूले मृतकलाई हान्न प्रयोग गरेको भनी अनुसन्धान अधिकारीसमक्ष लेखाइदिएको पाइन्छ ।
७. घटना लगत्तै निज प्रतिवादीको साथबाट खैरो रङको Woodland Brand को रगत जस्तो रातो पदार्थ लागेको जुत्ता निजले लगाइराखेको अवस्थामा बरामद भएको देखिन्छ । प्रतिवादीले घटनामा प्रयोग गरेको भनिएको उक्त जुत्तामा मानव रगत भेटिएको भन्ने केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको रिपोर्टबाट देखिन्छ भने सो जुत्ता आफ्नै रहेको भनी निज प्रतिवादी रूद्रबहादुर आलेले मौकाको कागज गरी जुत्ताको सनाखतसमेत गरिदिएको अवस्था छ । जहाँसम्म निज प्रतिवादीको अदालतसमक्ष आरोपित कसुर अपराध आफूले नगरेको भनी इन्कारी बयान गरेको अवस्था छ, सो सम्बन्धमा हेर्दा, घटनाका दिन आफू घटना भएको हल्लाखल्ला सुनेर वारदात स्थलमा मौजुद रहेको स्वीकारेका निज प्रतिवादीले अन्य सहप्रतिवादीहरूसमेतलाई आफ्नो घरमा डाकी मासु, रक्सी खाई, खुवाई घटनाबारेको योजना बनाई घटना घटाएको भन्ने जाहेरी दरखास्त, मौकामा बेहोरा लेखाइदिने व्यक्तिहरूको अदालतसमक्षको बकपत्रबाट देखिएको छ । यस अदालतबाट जगन सिं राना मगर विरूद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा (ने.का.प. २०५०(क), अङ्क १, नि.नं ४६८६) “वारदातसम्बन्धी सम्पूर्ण तथ्यबाट अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयान समर्थित भएको देखिएको स्थितिमा अदालतमा इन्कार रहेकोले मात्र अधिकारप्राप्त अधिकारीसमक्ष स्वेच्छाले साबित भएको रहेनछ भन्न मिल्ने देखिन नआउने” भनी र “मौकामा गरेको साबिती बयानलाई अन्य प्रमाणबाट समर्थित भएको तथ्यगत अवस्था मिसिल संलग्न प्रमाणहरूबाट स्पष्टरूपमा पुष्टि भएको अवस्थामा अदालतको इन्कारी बयानबाट मात्र प्रतिवादी बेकसुर रहेको मान्न नहुने” भनी धनराज खड्का विरूद्ध नेपाल सरकार भएको जबरजस्ती करणी (ने.का.प. २०७२, अङ्क ५, नि.नं ९३९३) को मुद्दामा नजिर सिद्धान्त प्रतिपादन भएको देखिन्छ । प्रस्तुत मुद्दामा निज प्रतिवादीको अनुसन्धानको साबिती बयान घटनाका अन्य प्रमाणबाट समर्थित रहेको अवस्था छ भने अदालतसमक्षको निजको इन्कारी बयान अन्य वस्तुनिष्ठ आधार प्रमाणबाट स्थापित हुन नसकेको स्थिति हुँदा प्रतिवादीको अदालतसमक्षको इन्कारी बयान मात्र निजको निर्दोषिता पुष्टि हुने आधार बन्न सक्ने देखिएन ।
८. जाहेरवाला जितबहादुर पुनले आफ्नो नाति कमल पुर्जा पुनको मिति २०६९।१२।१२ गते राति १० बजेतिर भएको मृत्युपश्चात् घटनाको पछिल्लो दिन नै किटानी जाहेरी दिएको देखिन्छ । जाहेरवाला र निज प्रतिवादीबिच पूर्वरिसइवी रहे भएको अवस्था पुष्टि भएको छैन । अनुसन्धान क्रममा आरोपित कसुरमा साबित रहेका निज प्रतिवादीले वारदातका बखत आफू घटनास्थलमा मौजुद रहेको कुरा अदालतमा समेत स्वीकारेका छन् । साथै वारदातपश्चात् घटनास्थल पुगी मृतकलाई पानीसमेत खुवाएको भनिएकी वस्तुस्थिति मुचुल्काकी अन्जु कार्कीले पनि घटनापश्चात् मौकाको कागज गरी आफूले रूद्रबहादुर आलेको आवाज चिनी घटनास्थलमा जाँदा घाइते अवस्थाका मृतकले जुद्धबहादुरले हान्यो, म मर्ने भएँ भनी श्वासले भनेको भनी लेखाइदिएको स्थिति छ । घटनाक्रमको अवस्था हेर्दा, प्रतिवादी स्वयंको बयान र सहप्रतिवादीहरूको बयानसमेत एकआपसमा मिल्न गएको अवस्था छ र निजहरूको उक्त बयान अन्य प्रमाणबाट समेत समर्थित देखिन्छ । यसरी जाहेरवालालगायतका अन्य व्यक्तिहरूले निज प्रतिवादीलाई अनाहकमा पोल्नुपर्नेसम्मको कारण केही नखुलेको स्थितिमा घटना विवरण वा वस्तुस्थितिका सम्बन्धमा कागज गरिदिने व्यक्तिको अदालतसमक्ष भएको प्रतिकूल बकपत्र मात्रै उन्मुक्तिको आधार नहुने भनी यस अदालतबाट “प्रमाणको शृङ्खलाबद्ध कडीहरूबाट प्रतिवादी कसुरदार देखिएको अवस्थामा मौकामा कागज गर्ने व्यक्तिहरूले आफ्नो पूर्वभनाइ प्रतिकूल हुने गरी अदालतमा गरेको बकपत्र प्रतिवादीलाई उन्मुक्ति दिने आधार हुन नसक्ने” (ने.का.प. २०७२, अङ्क ५, नि.नं.९३९३) भन्ने नजिर सिद्धान्तसमेत प्रतिपादन भएको पाइन्छ । घटनाका अन्य आधार, कारण र प्रमाणको शृङ्खलाबद्ध कडीहरूबाट घटना समर्थित भइरहेको, प्रतिवादी कसुरदार देखिएको अन्य तथ्यगत अवस्थाबाट सम्पुष्टि भइरहेको अवस्थामा जाहेरवाला र मौकाका व्यक्तिले गरेको प्रतिकूल बकपत्र (Hostile) लाई प्रमाण ग्राह्य गर्न मनासिब हुने
देखिँदैन । साथसाथै प्रतिकूल बकपत्र (Hostile Statement) मुद्दाको समग्र अवस्था, प्रतिकूल बकपत्रको ग्राह्ययता वा अग्राह्यताको विश्वसनीयता, अन्य वस्तुगत प्रमाणहरूको तार्किक सादृश्यतासमेतका समग्रताका आधारमा निर्धारण हुनुपर्ने हुन्छ ।
९. यसरी मृतकको शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण (Cause of Death): Severe Head Injury अर्थात् टाउकोमा लागेको गम्भीर चोट भन्ने उल्लेख भएको देखिएको स्थिति, घटनामा तरबारले मृतकको टाउकोको पछाडिपट्टि हानेको भन्ने प्रतिवादी रूद्रबहादुर आलेको अनुसन्धानका क्रममा भएको साबिती बयान विवेचित विभिन्न घटनाक्रम एकपछि अर्को गर्दै मालाकार कडीका रूपमा समर्थित भई घटनाको योजना नै प्रतिवादी रूद्रबहादुर आलेको घरमा बनेको र मृतकलाई चोट छोड्नमा निज प्रतिवादी रूद्रबहादुर आलेले नै निज मृतकको आपराधिक मनसाय (Mens Reas) राखी घातक हतियार प्रयोग गरी ज्यान लिएको (Actus Reas) देखिन
आउँछ । अतः निज प्रतिवादी रूद्रबहादुर आलेको हकमा निजले नै मृतकको कर्तव्य गरी ज्यान मारेको भन्ने अवस्था शंकारहित तवरबाट पुष्टि हुन गएकोले साबिक पुनरावेदन अदालत पोखराको फैसला मिलेकै देखिए तापनि हाल प्रचलनमा रहेको मुलुकी अपराध संहिता, २०७४ को दफा ४०(२) मा कानूनमा कुनै कसुरबापत सर्वस्वको सजाय हुने रहेछ भने यो ऐन प्रारम्भ भएपछि त्यस्तो कसुरमा सजाय गर्दा सर्वस्व हुने गरी सजाय गरिने छैन भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । त्यसैगरी केही नेपाल कानूनलाई संशोधन एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९ को उफदफा २ को प्रतिबन्धात्मक वाक्यांशमा कुनै फौजदारी कसुरको सजाय मुलुकी अपराध संहितामा लेखिएभन्दा बढी रहेछ भने मुलुकी अपराध संहितामा लेखिएको हदसम्म मात्र सजाय हुने छ भन्ने कानूनी व्यवस्था रहेको देखिँदा सुरू अदालतले सजाय स्वरूप गरेको सर्वस्वको लगत निज प्रतिवादी रूद्रबहादुर आलेको हकमा कायम रहिरहने देखिएन ।
१०. अब पुनरावेदक वादी नेपाल सरकारको प्रस्तुत वारदातमा संलग्न रहेका प्रतिवादीहरू किरण भन्ने कर्णबहादुर कुँवर, निर्मल थापा, केशबहादुर कुँवर र बुद्धिबहादुर लामिछानेलाई समेत सहप्रतिवादी रूद्रबहादुर आलेसरह अभियोग दाबीबमोजिम नै सजाय हुनुपर्नेमा निज प्रतिवादीहरूलाई अभियोग दाबीभन्दा कम सजाय गर्ने गरी भएको पुनरावेदन अदालत पोखराको फैसला नमिलेकोले उक्त फैसला बदर गरी निज प्रतिवादीहरूलाई समेत अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भनी परेको पुनरावेदन सम्बन्धमा विचार गर्नुपर्ने देखिन आयो । सोतर्फ हेर्दा, सिद्धान्ततः एकै मुद्दामा एकभन्दा बढी अभियुक्त भएमा प्रतिव्यक्ति आधार प्रमाण हेरी, सबुद प्रमाणको वस्तुनिष्ठ मूल्याङ्कन गरी प्रतिव्यक्ति कसुर कायम गरी प्रतिव्यक्ति नै सजायसमेत निर्धारण गर्नुपर्ने भन्ने फौजदारी न्याय प्रणालीको स्थापित मान्यता हो । अर्थात् सामूहिक रूपमा घटेको अपराधमा संलग्न सम्पूर्ण प्रतिवादीहरूलाई गोश्वारा रूपमा सजाय गर्नु आधुनिक न्याय प्रणालीको दृष्टिकोणबाट उचित
हुँदैन । फौजदारी न्याय प्रणालीको मान्य सिद्धान्तअनुसार कसुरमा सजाय निर्धारण हुँदा हरेक व्यक्तिको कसुरको मात्रा (Degree of Criminality) अर्थात् कसुरजन्य कार्यमा निज अमुक प्रतिवादीको भूमिकालाई यकिन गरी सोबमोजिम कसुर कायम गरी सजाय गर्नुपर्ने हुन्छ ।
११. यस स्थितिमा, सर्वप्रथम प्रतिवादी किरण कुँवर भन्ने कर्णबहादुर कुँवरका सम्बन्धमा हेर्दा, निजउपर ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिमको अभियोग दाबीअनुसार नै सजाय हुनुपर्नेमा घटी सजाय गरेको फैसला मिलेन भन्ने बेहोराको वादी नेपाल सरकारको पुनरावेदन परेको देखियो । निज प्रतिवादीले मिति २०६९।१२।१२ गते अर्थात् वारदातका दिन आफू रूद्रबहादुर सँगसँगै डुम्रे गई फर्केको, फर्की आएपछि रूद्रबहादुरले सोही साँझ आफ्नो घरमा पार्टीमा बोलाएकोले आफू पनि रूद्रबहादुरको घर गएको, त्यहाँ अन्य प्रतिवादीहरूसमेत रहेको र उनीहरूसँगै आफूले पनि बियर, मासु खाएको, सोही बखत भीम पुनले निर्मलको भाइ विमल थापालाई पिटेको कुराले भीम पुनलाई ठिक पार्ने सल्लाहबमोजिम निज मृतक, भीम पुनसमेत सोही साँझ ७:३० बजेतिर फुटबल खेली फर्कंदा, आफूले हो हल्ला सुनेको र सोपश्चात् आफूसमेत घटनास्थलमा गएको, आफू घटनास्थल पुग्दा मृतक रगताम्य भई ढलिसकेको र आफूले पनि नसाको सुरमा २/३ लात्ती मृतकलाई हानेको भनी कसुरमा आफ्नोसमेत संलग्नता रहेकोबारे साबित भई बयान गरेको देखिए तापनि अनुसन्धान अधिकारीसमक्षको उक्त बयानमा इन्कार रहँदै निज प्रतिवादीले अदालतमा आरोपित कसुरमा आफ्नो संलग्नता नरहेको बेहोरा उल्लेख भएको देखिन्छ । निज प्रतिवादीसमेतउपर जाहेरी परेको देखिन्छ । सो वारदात हुँदाका बखत सँगै रहेका भनिएका व्यक्ति अर्थात् घटना देख्ने जुक्तबहादुर पुनले पनि मृतक कमल पुनको हत्याको वारदातमा निज प्रतिवादीको समेत संलग्नता रहेको भनी लेखाइदिएको पाइन्छ । साथै निजको संलग्नता घटनालगत्तै घटनास्थलमा गई छटपटाइरहेका मृतकलाई भेटी, पानी खुवाएको बताउने वस्तुस्थिति मचुल्काकी अन्जु कार्कीले वारदातमा निज प्रतिवादीसमेतको संलग्नता रहेको भनी मृतकले बताएको भनी लेखाइदिएको कागजबाट समेत रहेको देखिन्छ । मृतकको शव परीक्षणबाट देखिएको चोटपटकका अवस्था हेर्दा, निज प्रतिवादीको मृतकलाई २/३ पटक लात्तीले हानेको भनी अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा इन्कारी रही अदालतमा गरेको बयान र निजले मृतकलाई हात चोट नछोडेको अवस्था मिसिल संलग्न कागज प्रमाणबाट समर्थित रहेको देखिन्छ । जाहेरवालाको जाहेरी, जुक्तबहादुर पुनको पोल तथा वस्तुस्थिति मचुल्काका मानिससमेतका कागजबाट निज प्रतिवादी वारदातमा उपस्थित भई ज्यान मार्नमा मतलबी भएको देखिन्छ ।
१२. प्रतिवादी बुद्धिबहादुर लामिछानेको हकमा विचार गर्दा, निज प्रतिवादी मौकामा पक्राउ नपरी अभियोग दायर भएपछि पक्राउ भई आएका निज प्रतिवादीले आफ्नो अदालतसमक्षको बयानमा वारदातका दिन आफू घरमै रहेको, परीक्षाको तयारी गरिरहेको, आफूले मृतक र प्रतिवादीहरूलाई नचिनेको, घटनामा आफ्नो संलग्नता नरहेको, आफू निर्दोष रहेको भनी Alibi को समेत जिकिर लिई आरोपित कसुरमा इन्कार रही बयान गरेको भए तापनि मौकामा सङ्कलित प्रमाणहरू हेर्दा निजउपरसमेत किटानी जाहेरी परेको अवस्था छ । यस अदालतबाट समेत सजाय कायम भइसकेका सहप्रतिवादी रूद्रबहादुर आलेको अनुसन्धानको साबिती बयानमा वारदातको मिति २०६९।१२।१२ गते निज प्रतिवादीसमेत रूद्रबहादुरको घरमा गई मासु रक्सी खाएको, मृतक कमल पुन, निजको भाइ भीमबहादुर पुन र जुक्तबहादुर पुन फुटबल खेली फर्कंदा ठिक पार्ने रूद्रबहादुरको योजनाको मत सल्लाहमा परी मृतकसमेतका व्यक्तिहरू फुटबल खेली फर्केपछि रूद्रबहादुरको साथमा रहेका यी प्रतिवादीसमेत घटनास्थलमा गएको भनी लेखाइदिएको देखिन्छ । साथै सहअभियुक्तहरू निर्मल थापा, कर्णबहादुर कुँवरको बयानसमेतबाट पनि वारदातको दिन यी प्रतिवादीसमेत रूद्रबहादुर आलेको घरमा रहेको भन्ने देखिन आउँछ । घटना हुँदा पनि आफूहरू सँगै वारदात स्थलमा रहे भएको देखिन्छ । निजउपरको जाहेरी पर्नुपर्ने कारण र सहप्रतिवादीहरूले निजलाई समेत पोल गरी बयान गर्नुपर्नेसम्मको अन्य कारण पनि निजले खुलाउन सकेका छैनन् । उक्त घटना प्रत्यक्षरूपमा देख्ने जुक्तबहादुर पुनले र घटना घटेको तत्काल पछि घटनास्थलमा पुगी मृतकसँग कुरा गर्ने अन्जु कार्कीले प्रहरीमा कागज गर्दासमेत यी प्रतिवादीसमेत घटनास्थलमा उपस्थित रहेको भनी पोल गरी मौकामा कागज गरिदिएको अवस्थाबाट निजको वारदातमा संलग्नता देखिएको छ । साथै वारदातका दिन आफू घटनास्थलमा नरहेको भनी Alibi को जिकिर लिएका निज प्रतिवादीले आफ्नो Alibi को जिकिर पुष्टि हुने स्वतन्त्र र तथ्ययुक्त प्रमाण पेस गर्नुपर्ने प्रमाण ऐन, २०३१ को दफा २७(१) बमोजिमको दायित्व पूरा गर्न सकेको देखिँदैन । यस स्थितिमा यस अदालतबाट “अन्यत्र स्थलमा रहेको (Alibi) को जिकिर स्वतन्त्र र तथ्यपूर्ण प्रमाणबाट समर्थित भएमा मात्र प्रमाणको लागि ग्राह्य हुनसक्ने, अन्यत्र स्थल (Alibi) को जिकिर अकाट्य र निर्विवाद प्रमाणबाट स्थापित र प्रमाणित हुन नसकेमा सो जिकिर निजैका विरूद्ध प्रमाण लाग्ने” भन्ने (ने.का.प. २०७१, अङ्क ४, नि. नं.९१४४) मा प्रतिपादित कानूनी सिद्धान्त रहेको पाइन्छ । वारदातको समयमा आफू घटनास्थलमा उपस्थित नरही अन्यत्र रहेको भनी Alibi को जिकिर लिने व्यक्तिले शंकारहित तवरबाट पुष्टियोग्य प्रमाण निज प्रतिवादीले पेस गर्न सकेको देखिँदैन । यसरी अन्य सहप्रतिवादीको बयान बेहोरा, किटानी जाहेरी बेहोरा, मौकामा बेहोरा लेखाइदिने वस्तुस्थिति एवं घटनास्थलको मुचुल्कामा बेहोरा लेखाइदिने व्यक्तिले गरेको कागज एवं बकपत्रसमेतका आधार, कारणबाट निज प्रतिवादी पनि उक्त वारदात घटित गर्नमा मुख्य अभियुक्तसँगै मतसल्लाहमा पसेको स्थिति देखिन आउँछ ।
१३. प्रतिवादी निर्मल थापाको सम्बन्धमा हेर्दा, निज प्रतिवादी अधिकारप्राप्त अधिकारीसमक्ष आफ्नो भाइ विमल थापालाई कमल पुर्जा पुनको भाइ भीम पुनले स्कुलमा कुटेको र भीम पुन पक्षका व्यक्तिहरू गाउँमा आफ्नो समूहको विरोधीसमेत भएकाले सोको बदला लिन सहअभियुक्त रूद्रबहादुर आलेसँगको योजना र अन्य सहअभियुक्तहरूसमेतको सहभागितामा रूद्रबहादुर आलेको घरमा मासु रक्सीसमेत खाई पहिला रूद्रबहादुर आलेको समूह भिम पुनसमेतलाई कुट्न गएको ५ मिनेटपछि आफूसमेतका अन्य व्यक्ति घटनास्थल गई रूद्रबहादुर आलेसमेतको कुटपिटबाट घाइते भई लडेका कमल पुनलाई मार्नमा मतसल्लाहमा पसेको भनी उक्त अदालतबाट ठहर भएको अवस्था देखिन्छ । निज प्रतिवादीलाई भागी लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको देखिन्छ । साथै अदालतमा निजले वारदातको दिन आफू घरमा नभई हेम्जामा बसेको भनी Alibi को जिकिरसमेत लिएको देखिन्छ । निज प्रतिवादीको साक्षीले बकपत्र गर्दा वारदात भएको भनिएको दिन काठमाडौंबाट गाडीमा हेम्जा आई बसेको भने पनि एकातिर प्रतिवादीको बयान अन्य स्वतन्त्र प्रमाणबाट शंकारहित तवरले पुष्टि हुन सकेको अवस्था छैन । निज प्रतिवादी लाठा लिई वारदातमा संलग्न भएको भन्ने सहअभियुक्त रूद्रबहादुर आलेसमेतको मौकाको बयानबाट देखिए पनि मृतकको शरीरमा लाठीको चोटसमेत रहेको भन्ने मिसिल संलग्न शव परीक्षण प्रतिवेदनबाट नदेखिई धारिलो हतियारको चोट मात्र देखिएको र सो चोट रूद्रबहादुर आलेले प्रहार गरेको चोट भएको भनी माथि नै व्याख्या भइसकेको छ । साथै निज प्रतिवादीको हातमा समेत धारिलो हतियार रहेको भनी कसैको पोल छैन । यिनको साथबाट कुनै जोखिमी हतियार बरामद भएको भन्ने अवस्था देखिएको छैन । यस स्थितिमा निज प्रतिवादीले मृतकलाई धारिलो हतियारले चोट प्रहार गरेको भन्न मिलेन । उपर्युक्त आधार, कारणबाट यी प्रतिवादी प्रतिवादी रूद्रबहादुरको घरमा उपस्थित भई कर्तव्य ज्यानको कसुर घटाउन सहप्रतिवादीसँग मतसल्लाहमा पसी घटनास्थलसम्म गएको, वारदात रोक्न केही प्रयास नगरी बसेको भन्ने देखिएकोले निजको उक्त कार्य ज्यानसम्बन्धी महलको १७(३) नं. को कसुर हुने देखियो । यस स्थितिमा निजलाई ऐ. नं.बमोजिम ३(तिन) वर्ष कैद हुने ठहरी भएको पुनरावेदन अदालत पोखराको फैसला निजको हकमा समेत मिलेकै देखिन आउँछ ।
१४. प्रतिवादी केशबहादुर कुँवरको हकमा विचार गर्दा, निज प्रतिवादीलाई समेत अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको पुनरावेदन पर्न आएको देखियो । सो सम्बन्धमा विचार गर्दा, निज प्रतिवादी अनुसन्धानको क्रममा पक्राउमा परेको अवस्था
छैन । निजले अदालतमा उपस्थित भई बयान गर्दा आफू विगत १० वर्षदेखि भरतपोखरी नगएको, घटनाको दिनमा ७ बजे निस्की साथीहरूसँग ८ बजेसम्म ममता होटलमा खाजा खाई ८:१५ बजे तनहुँ घरमा गएको, घटनामा आफ्नो संलग्नता नरहेको भनी आरोपित कसुरमा इन्कार रही बयान गरेको देखिन्छ । निजको Alibi को जिकिर शंकारहित तवरले पुष्टि गर्ने प्रमाण ऐन, २०३१ को दफा २७ बमोजिमको दायित्व निजले पूरा गर्न सकेका छैनन् । मौकामा पक्राउ परी बयान गर्ने र यस अदालतबाट समेत सजाय कायम भइसकेका प्रतिवादीहरू रूद्रबहादुर आले, कर्णबहादुर कुँवर र निर्मल थापाले प्रहरीमा बयान गर्दा यी प्रतिवादीसमेत घटनास्थलमा पुगी मृतकलाई मार्नमा संलग्न रहेको अवस्था उल्लेख गर्दै पोल गरेको देखिन्छ । त्यसैगरी यो घटनालाई प्रत्यक्ष देख्ने जुक्तबहादुर पुनले प्रहरीमा गरेको कागज, अन्जु कार्कीले प्रहरीमा गरेको कागज र जाहेरी दरखास्तमा यी प्रतिवादीसमेत वारदात हुँदा घटनास्थलमा उपस्थित रहेको भनी पोल गरेको देखिन्छ । प्रस्तुत मुद्दाका अन्य सहअभियुक्तहरूले यी प्रतिवादीको पनि वारदातमा उपस्थिति थियो भन्ने बेहोरा उल्लेख गरेको पाइन्छ । कसुरमा निजको संलग्नता नरहेको, नभएको भए निजउपर पोल गर्नुपर्ने स्थिति देखिएको छैन । निजउपरको पोल अन्य सम्बद्ध प्रमाणबाट समर्थित भएको देखिन्छ । माथि विवेचित आधार, कारणबाट वारदातका समयमा घटनास्थलमा मौजुद रहेको देखिएका निज प्रतिवादीसमेत प्रतिवादी रूद्रबहादुरको योजनाअनुरूप निजको घरमा गई रक्सी, मासु खाई, रूद्रबहादुरको मतसल्लाहमा पसी घटनास्थलमा उपस्थित भएको, मृतकलाई बचाउन केही नगरी घटना घट्दा मतसल्लाहमा परेको भन्ने देखिएको छ । निज प्रतिवादीले नै मृतकलाई धारिलो हतियार प्रयोग गरी मारेको भन्ने तथ्य स्थापित हुन नसकेको र निजबाट कुनै त्यस्तो दशीसमेत बरामद हुन नसकेको स्थितिमा निज प्रतिवादीले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं.बमोजिमको कसुर गरेको देखिन्छ ।
१५. अत: माथि विवेचित आधार, कारणबाट मृतक कमल पुर्जा पुनलाई प्रतिवादी रूद्रबहादुर आलेले जोखिमी हतियार (तरबार) को प्रहार गरेको र अन्य प्रतिवादीहरू किरण कुँवर भन्ने कर्णबहादुर कुँवर, निर्मल थापा, केशबहादुर कुँवर, बुद्धिबहादुर लामिछानेले प्रतिवादी रूद्रबहादुर आलेको मतसल्लाहमा पसी, घटनास्थलसम्म मौजुद रहे भएको अवस्था देखिएको स्थितिमा प्रतिवादी रूद्रबहादुर आलेलाई तत्कालीन मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं.बमोजिमको कसुर गरेको ठहर गरी सोही महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद सजाय हुने र अन्य प्रतिवादीहरू किरण कुँवर भन्ने कर्णबहादुर कुँवर, निर्मल थापा, केशबहादुर कुँवर, बुद्धिबहादुर लामिछानेलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं.बमोजिम जनही ३ (तीन) वर्ष कैद सजाय हुने ठहर गरी पुनरावेदन अदालत पोखराबाट भएको मिति २०७३।०३।२१ को फैसला सर्वस्व गरेको हकमा बाहेक मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रत्यर्थी प्रतिवादीहरूसमेतलाई अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर र आफूले आरोपित कसुरमा सफाइ पाउनुपर्छ भनी प्रतिवादी रूद्रबहादुर आलेले लिएको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
१. यसमा आज यस अदालतबाट प्रतिवादी रूद्रबहादुर आलेको हकमा पुनरावेदन अदालत पोखराको फैसला सदर हुने गरी फैसला भएको भए तापनि हाल प्रचलनमा रहेको मुलुकी अपराध संहिता, २०७४ को दफा ४०(२) मा कानूनमा कुनै कसुरबापत सर्वस्वको सजाय हुने रहेछ भने यो ऐन प्रारम्भ भएपछि त्यस्तो कसुरमा सजाय गर्दा सर्वस्व हुने गरी सजाय गरिने छैन भन्ने कानूनी व्यवस्था र केही नेपाल कानूनलाई संशोधन एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९ को उफदफा २ को प्रतिबन्धात्मक वाक्यांशमा कुनै फौजदारी कसुरको सजाय मुलुकी अपराध संहितामा लेखिएभन्दा बढी रहेछ भने मुलुकी अपराध संहितामा लेखिएको हदसम्म मात्र सजाय हुने छ भन्ने कानूनी व्यवस्थासमेतको आधारमा सुरू अदालतले सजाय स्वरूप गरेको सर्वस्वको लगत निज प्रतिवादी रूद्रबहादुर आलेको हकमा कायम रहिरहन नसक्ने हुँदा लगत संशोधन गरी प्रस्तुत कानूनबमोजिमको लगत कस्नु भनी सुरू अदालतमा लेखी पठाउनू ।
२. प्रस्तुत फैसलाको जानकारी थुनामा रहेका प्रतिवादीलाई दिनू ।
३. प्रस्तुत फैसला सूचना प्रविधिमा प्रविष्ट गर्नू ।
४. मुद्दाको दायरीको लगत कट्टा गरी अरूमा नियमानुसार गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.हरिकृष्ण कार्की
इजलास अधिकृतः कमलकान्त जोशी
इति संवत् २०७९ साल भदौ २ गते रोज ५ शुभम् ।