निर्णय नं. १११६३ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश डा. श्री कुमार चुडाल
फैसला मिति : २०७९।०२।१७
मुद्दा: कर्तव्य ज्यान
०७५-CR-२३७७
पुनरावेदक / वादी : धनकला सुवेदीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला रोल्पा, हाल सुनिलस्मृति गा.पा., वडा नं. ६ बस्ने भिउसन थापाको छोरा जितबहादुर थापा
०७६-CR-००५३
पुनरावेदक / प्रतिवादी : असारे सुवेदीको छोरा, जिल्ला रोल्पा, सुनिल स्मृति गाउँपालिका वडा नं.६ काभ्रा घर भई हाल जिल्ला कारागार कार्यालय, रोल्पामा थुनामा रहेको दिपक सुवेदी
विरूद्ध
प्रत्यर्थी / वादी : धनकला सुवेदीको जाहेरीले नेपाल सरकार
आवेशप्रेरित हत्याको वारदात कायम हुनको लागि ज्यान मार्ने मनसाय हुन नहुने । मृतक र प्रतिवादीबिच ज्यान लिनुपर्नेसम्मको पूर्वरिसइवी रहेको भन्ने पनि देखिन नहुने । त्यसका अतिरिक्त वारदातमा जोखिमी हतियारको प्रयोग भएको हुन नहुने । प्रतिवादीले ज्यान मार्ने षड्यन्त्र गरेको, सोबमोजिमको योजना बनाएको, योजनाबमोजिम तयारी गरी मार्नेसम्मको कार्य भएको भन्ने कहीँकतैबाट देखिन नहुने । प्रतिवादीले तत्काल आवेशमा आई आत्मसंयम गुमाई कार्य हुन पुगेको हुनुपर्ने ।
(प्रकरण नं.१०)
वादीका तर्फबाट : विद्बान् सहन्यायाधिवक्ता श्री शंकर खत्री
प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी अपराध (संहिता) ऐन, २०७४
सुरू फैसला गर्ने :
माननीय न्यायाधीश श्री बसुदेवलाल श्रेष्ठ
रोल्पा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री शिवनारायण यादव
माननीय न्यायाधीश श्री रामबहादुर थापा
उच्च अदालत तुलसीपुर
फैसला
न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ ।
तथ्य-खण्ड
जिल्ला रोल्पा, मिझिङ गा.वि.स. वडा नं. २ कजिमस्थित सडक बाटो ढिकमा रगत जमेको, चारैतिर सुकेको रगतका थोपाहरू, सडक छेउदेखि अ. ५० मिटर तल रहेको सालको रूखमा उत्तर गोडियान, दक्षिण टाउको भई घोप्टो अवस्थाको मृतक रेगबहादुर सुवेदीको लास उक्त लासको टाउको, घाँटी, नाक, कान, छाती र दाहिने हातको मासु नभएको, पेटको भागमा निलडाम रहेको, माथिल्लो शरीर चिन्न नसकिने अवस्थामा रहेको, तल्लो भागमा कम्ब्याटको पाइन्ट लगाएको, खुट्टामा जुत्ता लगाएको, लासदेखि माथि सडकछेउमा कम्मरमा बाँध्ने कपडाको बेल्ट थान १, रगत लागेको ढुङ्गा थान २ फेला पारी प्रहरी टोलीले बरामद गरी लिएको भन्नेसमेत बेहोराको मिति २०७३।०७।२६ को घटनास्थल मुचल्का ।
जिल्ला रोल्पा मिझिङ गा.वि.स. वडा नं. २ कजिमस्थित पूर्वमा रूईनिवाङ फगाम सडक खण्ड, पश्चिम सामुदायिक वन, दक्षिण सामुदायिक वन, यति चार किल्लाभित्र कच्ची सडक खण्डबाट अ. ५० मिटर तल सालको रूखमा उत्तर खुट्टा, दक्षिण टाउको भई माथिल्लो शरीर, अनुहार, टाउको, आँखा, कान, कपडा केही नभएको घोप्टो अवस्थामा टाउको, घाँटी, नाक, कान, छाती र दाहिने हातको मासु नभएको, पेटको भागमा निलडाम रहेको, माथिल्लो शरीरको भाग चिन्न नसकिने अवस्थामा रहेको, तल्लो भागमा कम्ब्याटको पाइन्ट लगाएको, खुट्टामा जुत्ता लगाएको, मलद्वारबाट दिसा निस्केको, जिब्रो नभएको, दाँत हल्का देखिएको, दुवै खुट्टा सुन्निएको भन्नेसमेत बेहोराको मिति २०७३।०७।२६ को घटनास्थल लासजाँच मुचुल्का ।
मेरो छोरा प्रतिवादीहरूसँग मजदुरी गर्न भारतको सिमला भने स्थानमा मिति २०७३ साल असार महिनामा गएको थियो । सोही स्थानमा प्रतिवादीहरू र मृतक सँगै काम गरी मिति २०७३।०७।१८ गते घरमा आइरहेको अवस्थामा मिति २०७३।०७।२० गते राति नेपालगन्जको रात्रि बसमा ३ जना भएर घरमा रोल्पातर्फ आई सुलिचौर बजारमा पुगेपछि सोही राति मिति २०७३।०७।२१ गते बिहान ३:३० बजेको समयमा प्रतिवादीहरू र मृतकबिच बाटोमा रकम लेनदेनसम्बन्धी वादविवाद हुँदै घरतर्फ जाने क्रममा जिल्ला रोल्पा, मिझिङ गा.वि.स. वडा नं. २ कजिमस्थित एकान्त जंगलको बाटोमा रातको मौका पारी मेरो छोरा रेगबहादुर सुवेदीलाई प्रतिवादीहरू दिपक सुवेदी र जितबहादुर थापा जना-२ ले टाउकोमा ढुङ्गा प्रहार गरी मारी मृतकको साथमा रहेको नगदसमेत लुटी लगी निज प्रतिवादीहरू फरार रहेको हुँदा निजहरूलाई पक्राउ गरी कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको धनकला सुवेदीको मिति २०७३।०७।२८ गतेको किटानी जाहेरी दरखास्त ।
जिल्ला रोल्पा गजुल गा.वि.स. वडा नं. २ स्थित दीपक सुवेदीको घरभित्र कोठामा खानतलासी गर्दा भारतीय रूपैयाँ रू.१०००/- को नोट थान ११, भारतीय रूपैयाँ रू.५००/- को थान ३७ गरी जम्मा रू.२९,५००।- (उनन्तिस हजार पाँच सय) मात्र फेला पारी प्रहरी टोलीले बरामद गरेको भन्नेसमेत बेहोराको मिति २०७३।०७।२८ को बरामदी तथा खानतलासी मुचुल्का ।
Cause of Death is Blunt Force Injury Over Head भन्नेसमेत बेहोराको इलाका प्रहरी कार्यालय, रोल्पाबाट मिति २०७३।०७।२७ मा तयार भएको मृतक रेगबहादुर सुवेदीको शव परीक्षण प्रतिवेदन ।
मिति २०७३।०७।१८ गते मृतक, म र जितबहादुर थापा ३ जना भएर भारतबाट घरमा आउने क्रममा मिति २०७३।०७।२१ गते बिहान ०२:०० बजे बसबाट सुलिचौरमा पुगी रातको समयमा नै हामीहरूको घर एकै स्थानमा भएको हुँदा सँगै घरतर्फ हिँडेका थियौँ । बिच बाटोमा मृतकले जितबहादुर थापालाई मोबाइलको लाइट अगाडि पछाडि हल्लाउने गरेकोले किन गरेको भनी हिन्दी शब्द प्रयोग गरी ढुङ्गा टिपी प्रहार गरेपछि मलाई पनि निज मृतकले भारतमा बिनाकारण कुटपिट, गाली बेइज्जती गर्ने गरेको रिसइवी र निजसँग भएको रूपैयाँको कारण आर्थिक प्रलोभनमा परी जितबहादुर थापा पछाडि भएको रातको समयमा एकान्त जंगलको बाटोमा अन्य कोही मानिसहरू नभएको मौका छोपी मिझिङ गा.वि.स. कजिमस्थित मैले मृतकलाई पछाडिबाट ढुङ्गाले टाउकोमा २/३ पटक प्रहार गरी मारी निजको साथमा रहेको भा.रू.२९,५००/- रूपैयाँ झिकी लुकाई जितबहादुर थापालाई बोलाई मृतकको टाउकोमा समात्न लगाई मैले खुट्टा समाती मृतकलाई सडक बाटोदेखि अं. ५० मिटर तल जंगलमा सालको रूखमा फ्याँकी हामी घर गएका हौँ । मृतकलाई पूर्वरिसइवी र आर्थिक प्रलोभनका कारण मैले कर्तव्य गरी मारेको हो । मैले मृतकलाई टाउकोमा ढुङ्गा प्रहार गर्दा म मात्र थिएँ । कर्तव्य गरी मारेपछि हामीहरूसँग आएको जितबहादुर थापालाई बोलाई मृतकलाई टाउकोमा समात्न लगाई मैले खुट्टामा समाती फालेको हो । सो घटनामा अन्य कोही थिएनन् । मैले आफू निर्दोष साबित हुन जितबहादुर थापाको नाम खुलाई लेखाइदिएको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी दिपक सुवेदीको अधिकारप्राप्त अधिकारीसमक्षको बयान ।
भारतबाट घरमा आउने क्रममा मिति २०७३।०७।२१ गते बिहान ०२:०० बजेतिर बिच बाटोमा दिपक सुवेदी र मृतकबिच मोबाइलको लाइटको बारेमा विवाद भई निजहरू एकआपसमा झगडा गर्दै थिए । म पछाडि थिएँ । कजिमस्थित एकान्त जंगलको बाटोमा पुगेपछि एक्कासि दिपक सुवेदीले मलाई बोलाउँदा किन, के भयो भनी सोधेपछि मृतक रेगबहादुर सुवेदीलाई टाउकोमा ढुङ्गा प्रहार गरी मारी मृतकलाई सडक बाटोदेखि अं. ५० मिटर तल जंगलमा सालको रूखमा फ्याँकेको छु, यो कुरा अरू कोही कसैलाई भनिस् भनेपछि तँलाई पनि यस्तै गरी मार्छु भन्दै मलाई गाली गरिरहेको थियो । म डरले दौडिँदै घरमा पुगी घरबाट बाहिर घुमेको थिइनँ । पछि दिपकले मृतकलाई ढुङ्गाले टाउकोमा प्रहार गरी मारी जंगलमा फालेको कुराहरू मैले गाउँको दाजु नाता पर्ने बलबहादुर थापालाई भनेको थिएँ । सो घटनामा मेरो कुनै संलग्नता छैन । मलाई किटानी जाहेरीमा मृतक सँगसँगै घरमा आएको आधारबाट आरोप लगाइएको हो भन्नेसमेत बेहोराको प्रतिवादी जितबहादुर थापाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मृतक र प्रतिवादीहरू भारतबाट काम गरी मिति २०७३।०७।२१ गते बिहान घरमा आउने क्रममा रातको एकान्त स्थान बाटोमा प्रतिवादी दिपक सुवेदी र मृतकबिच वादविवाद हुन गई प्रतिवादी दिपक सुवेदीले मृतकलाई टाउकोमा ढुङ्गा प्रहार गरी कर्तव्य गरी मारी साथमा आएको प्रतिवादी जितबहादुर थापालाई करकापमा पारी प्रतिवादी दिपक सुवेदीले सो घटना गोप्य राख्न भनेको हो भनी प्रतिवादी स्वयंबाट नै सो घटनाको बारेमा थाहा भएको हो भन्नेसमेत बेहोराको बलबहादुर थापाले गरेको घटना विवरण कागज ।
प्रतिवादी दिपक सुवेदीले मृतकलाई ढुङ्गाले टाउकोमा प्रहार गरी कर्तव्य गरी मारी मृतकको साथमा रहेको नगद रूपैयाँ लुटी प्रतिवादी जितबहादुर थापालाई मृतकको लास लुकाउन बोक्न करकापमा पारी सो गर्न अस्वीकार गरे तँलाई पनि यही अवस्थामा पुर्याउँछु भनी धाक धम्की दिई मृतकलाई बाटोमुनि जंगलमा फालेको हो भनी प्रतिवादी स्वयंबाट खुलेको हो भन्नेसमेत बेहोराको जनक थापाले गरेको घटना विवरण कागज ।
प्रतिवादी दिपक सुवेदीले आर्थिक प्रलोभनको कारण मृतकलाई ढुङ्गाले टाउकोमा प्रहार गरी कर्तव्य गरी मारी अर्को प्रतिवादी जितहादुर थापालाई बोलाई विभिन्न धाकधम्की दिई करकापमा पारी मृतकलाई बाटोमुनि जंगलमा फाली प्रतिवादी दिपक सुवेदीले मृतकको साथमा रहेको नगद रूपैयाँसमेत लगेको हो भनी प्रतिवादी जितबहादुर थापाले गाउँघरमा भनेको हो भन्नेसमेत एकै मिलानको बेहोराको भिमप्रकाश थापा र राजकुमार कुँवरले गरेको अलगअलग घटना विवरण कागज ।
प्रतिवादीहरू दिपक सुवेदी र जितबहादुर थापाले मृतक रेगबहादुर सुवेदीलाई कर्तव्य गरी मारेको हुँदा निज प्रतिवादीहरूले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं.विपरीत १३(३) नं.बमोजिमको कसुर अपराध गरेकोले निज प्रतिवादीहरूलाई ऐ. महलको १३(३) नं.बमोजिम सजायसमेत गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट दायर भएको अभियोगपत्र ।
जाहेरी बेहोरा ठिक साँचो हो । मृतक रेगबहादुर सुवेदी, म र जितबहादुर थापा सँगै भारतबाट घर आइपुग्ने बेला मृतकसँग झगडा पर्यो र मैले रिस थाम्न नसकी मृतकको टाउकोमा ढुङ्गा प्रहार गरी कर्तव्य गरी मारेको हुँ । निज मृतकसँग भएको नगद पनि लिएको हुँ । जितबहादुर थापाले मृतकलाई हातपात गरेको होइन । निजले मृतकको लासलाई खोल्सामा फाल्ने बेलामा सहयोग गरेको हो । म र रेगबहादुरबिच झै-झगडा हुँदा जितबहादुर थापा केही अगाडि पुगी बाटोमा बसेका थिए, मैले रेगबहादुर सुवेदीलाई कर्तव्य गरी मारिसकेपछि मैले बोलाएपछि आएका हुन् । पैसाको लागि नै मैले रेगबहादुर सुवेदीलाई कर्तव्य गरी मारेको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी दिपक सुवेदीले सुरू अदालतसमक्ष गरेको बयान ।
भारतबाट घर फर्कने क्रममा हामीहरू ३ जना सुलिचौरमा गाडीबाट ओर्लियौँ । त्यसपछि म छुट्टै बाटो मेरो घरतर्फ लागेँ र प्रतिवादी दिपक सुवेदी र मृतक रेगबहादुर सुवेदी २ जना छुट्टै बाटोबाट आफ्नो घरतर्फ लागेका थिए । प्रतिवादी दिपक सुवेदीले मलाई दाइ भनी चिच्याएर बोलाएपछि म ती दुई भएको स्थानमा पुगेँ । म पुग्दा रेगबहादुर सुवेदीको मृत्यु भइसेको थियो, दिपकले रेगबहादुरलाई ढुङ्गाले प्रहार गरी मारिसकेको थियो । दिपकले यस लासलाई फालौँ नत्र भने तँलाई पनि मार्छु भनी मलाई भनेपछि उक्त लासलाई दुवैले भिरबाट झराएका हौं । भिरबाट झराएकोमा मात्र मेरो गल्ती छ । मृतक रेगबहादुर सुवेदीलाई प्रतिवादी दिपक सुवेदीले मारेको हो भन्नेसमेत बेहोराको प्रतिवादी जितबहादुर थापाले सुरू जिल्ला अदालतसमक्ष गरेको बयान ।
मृतकको स्वास्थ्य परीक्षण जाँच गरेको परीक्षण रिपोर्ट मैले लेखेको हुँ । रिपोर्टमा मृतकको टाउकोको हड्डी फुटेको, गिदी र टाउकोको हड्डीको बिचमा रगत जमेको र गिदी कुहिएको, उक्त लासको टाउको, घाँटी, छाती, काखी र हातको मासु जनावरले खाएको देखिन्छ भन्ने बेहोराको डा. मिलन बज्राचार्यले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
मेरो छोरा रेगबहादुर सुवेदीलाई पैसाको लागि दिपक सुवेदीले ढुङ्गाले टाउकोमा प्रहार गरी मारिसकेपछि जितबहादुर अगाडि घरतर्फ आइरहेको बेला दिपक सुवेदीले मैले रेगबहादुर सुवेदीलाई मारिसकेँ यो कुरा कसैलाई नभन्नु, भनेमा तँलाई पनि यसरी नै मार्छु भनेपछि जितबहादुरले डरले भनेन । पछि गाउँघरमा जितबहादुरले भनेपछि थाहा भएको हो भन्नेसमेत बेहोराको जाहेरवाली धनकला सुवेदीले गरेको सुरू अदालतसमक्ष गरेको बकपत्र ।
मृतक रेगबहादुर सुवेदीसँग भएको नगद रूपैयाँ लुट्नको लागि प्रतिवादी दिपक सुवेदीले निज मृतकलाई कर्तव्य गरी मारेको हो । मृतकको लास भेटिएपछि मृतकलाई प्रतिवादी दिपक सुवेदीले कर्तव्य गरी मारेको कुरा मैले जितबहादुर थापाबाट सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको वादी पक्षका साक्षी जनक थापाले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
प्रतिवादी दिपक सुवेदीले रेगबहादुर सुवेदीलाई एक्लै ढुङ्गाले हानी कर्तव्य गरी मारेको हो । मारिसकेपछि फाल्नमा सहयोग गर र यो कुरा कसैलाई नभनेस् भनी प्रतिवादी दिपक सुवेदीले प्रतिवादी जितबहादुर थापालाई भनेका हुन् भन्ने कुरा बुझिन आएको हो भन्नेसमेत बेहोराको वादी पक्षका साक्षी राजकुमार कुँवरले सुरू जिल्ला अदालतसमक्ष गरेको बकपत्र ।
प्रतिवादीहरूमध्ये प्रतिवादी दिपक सुवेदीले पैसा लुट्नको लागि एक्लै मृतक रेगबहादुर सुवेदीलाई ढुङ्गा प्रहार गरी मारेको हो । प्रतिवादी जितबहादुर थापाको कुनै भूमिका छैन । दिपक सुवेदीले आफैँले मृतकलाई कर्तव्य गरी मारेको हुँ भनी स्वीकार गरिसकेपछि मैले थाहा पाएको हुँ भन्नेसमेत बेहोराको वादी पक्षका साक्षी भिमप्रकाश थापाले सुरू जिल्ला अदालतसमक्ष गरेको बकपत्र ।
प्रतिवादी दिपक सुवेदीले मृतक रेगबहादुर सुवेदीलाई ढुङ्गा प्रहार गरी मारी अर्का प्रतिवादी जितबहादुर थापालाई दिपक सुवेदीले जबरजस्ती उक्त मरेको लासलाई खोल्सामा फाल्न लगाएका हुन् भन्ने कुरा बुझ्दा थाहा पाएको हो भन्नेसमेत बेहोराको वादी पक्षका साक्षी बलबहादुर थापाले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
प्रतिवादी दीपक सुवेदीले पुरानो रिसले षड्यन्त्रपूर्वक रूपमा ज्यान मारेको पुष्टि भएकोले निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको नं. १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद हुन्छ । मृतक रेगबहादुर सुवेदीलाई मार्नमा यी प्रतिवादी जितबहादुर थापाको पनि भूमिका रहेको पुष्टि प्रमाणित भएको हुँदा र वारदातमै रहेको ठाउँमा रही मार्नमा सहयोग पारिदिएको प्रमाणित हुन आएकोले निज प्रतिवादी जितबहादुर थापालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) बमोजिम जन्मकैद हुने ठहर्छ भन्नेसमेत बेहोराको सुरू रोल्पा जिल्ला अदालतको मिति २०७५/०२/१० को फैसला ।
म दिपक सुवेदीको हकमा मैले मौकामा उठेको रिस थाम्न नसकेको सन्दर्भमा मृतकको मृत्यु हुन पुगेको हो । मृतकलाई मार्छु भनी पूर्ववत् भनाइ रहेको नदेखिँदा मनसायरहितको कार्य र परिणाम भएकोमा सोतर्फ कुनै ध्यान नदिई सर्वस्वसहित जन्मकैद हुने गरी र प्रतिवादीमध्येकै म जितबहादुरको हकमा मैले अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष वारदातमा इन्कार रही बयान गरेको र उक्त बयानलाई समर्थित हुने गरी प्रतिवादी दिपक सुवेदीले समेत उक्त घटना आफूले मात्र घटाएको भनी बयान गरेकोबाट मेरो हकमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको २२ नं. को स्थिति हुनुपर्नेमा सो नभई मलाई जन्मकैद हुने ठहरी सुरू रोल्पा जिल्ला अदालतबाट भएको फैसला नमिलेको हुँदा उक्त फैसला उल्टी गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी दिपक सुवेदी र जितबहादुर थापाले उच्च अदालत तुलसीपुरमा दर्ता गराएको संयुक्त पुनरावेदन पत्र ।
प्रतिवादीमध्येका जितबहादुर थापाले आफू वारदातस्थलमा पुग्दा रेगबहादुर सुवेदीको मृत्यु भइसकेको थियो भनी अदालतमा गरेको बयानसमेतका प्रमाण मूल्याङ्कनको रोहमा सुरू रोल्पा जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिँदा तत्कालीन मुलुकी ऐन, अ.बं. २०२ नं. र मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १४०(३) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ६४ को प्रयोजनार्थ उच्च सरकारी वकिल कार्यालय, तुलसीपुरलाई पेसीको सूचना दिनू । पुनरावेदक प्रतिवादीहरूको तर्फबाट कानून व्यवसायी मुकरर गरेको नदेखिँदा निजहरूको तर्फबाट प्रतिरक्षाको लागि यस अदालतका वैतनिक अधिवक्तालाई पेसीको सूचना दिनु भन्नेसमेत बेहोराको उच्च अदालत तुलसीपुरको मिति २०७५/१०/०७ को आदेश ।
प्रतिवादी दिपक सुवेदीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याई सुरू अदालतबाट फैसला भएकोमा मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ४० उपदफा (२) बमोजिम सर्वस्व नहुने भई जन्मकैद हुने नै हुँदा निजको हकमा सुरू रोल्पा जिल्ला अदालतबाट मिति २०७५।०२।१० मा भएको फैसला मिलेकै देखिन आएकोले सदर हुने
ठहर्छ । अर्का प्रतिवादी जितबहादुर थापा मृतकको लासलाई फाल्ने काममा संलग्न रहेकोसम्म देखिन आएकोले निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं.बमोजिम जन्मकैद ठहर्याउने गरी सुरू रोल्पा जिल्ला अदालतबाट मिति २०७५।०२।१० मा भएको फैसला मिलेको देखिन नआएकोले सो हदसम्म बदर भई निज प्रतिवादी जितबहादुर थापालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं. को कसुरमा सोही नं.बमोजिम २(दुई) वर्ष कैद सजाय हुने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत तुलसीपुरबाट मिति २०७५।११।२१ मा भएको फैसला ।
यसमा प्रतिवादी जितबहादुर थापा र दिपक सुवेदीले रेगबहादुर सुवेदीलाई हत्या गरेकोले कानूनबमोजिम गरिपाउँ भन्ने किटानी जाहेरी दरखास्त परेको छ । घटनास्थल लास जाँच मुचुल्का र शव परीक्षण प्रतिवेदनसमेतले मृतकको मृत्यु कर्तव्यबाट भएको कुरामा विवाद देखिँदैन । वारदातपूर्व प्रतिवादी जितबहादुर थापा, दिपक सुवेदी र मृतक रेगबहादुर सुवेदी ३ जना भारतमा रोजगारी गरी साथै घर फर्केका छन् । नेपालगन्जबाट बसमा चढी, रोल्पाको सुलिचौर भन्ने स्थानमा रातको २:०० बजे आई त्यहाँबाट ३ जना हिँड्दै घर जाने क्रममा जंगलमा मृतकसँग विवाद भई दिपकले मृतकलाई ढुङ्गाले प्रहार गरी कर्तव्य गरी मारेपछि सोही स्थानमा रहेका प्रतिवादी जितबहादुर थापासमेतले उक्त लासलाई खोल्सामा फ्याँकिदिएको तथ्य प्रतिवादीहरूको मौकामा तथा अदालतसमक्ष गरेको बयानबाट पुष्टि भएको छ । यी प्रतिवादीसमेतले मृतकलाई मारी लास खोल्सामा फ्याँकी घटनाका बारेमा कोही, कसैलाई थाहा नदिई बसेको अवस्थामा घटनास्थलमा साथै रहेका जितबहादुर थापा र दिपक सुवेदी दुवै जनाले मृतकलाई कर्तव्य गरी मारेको पुष्टि भएकोले निज प्रतिवादी जितबहादुर थापालाई अभियोग दाबीभन्दा कम सजाय गरी भएको उच्च अदालत तुलसीपुरबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी निज प्रतिवादी जितबहादुर थापालाई सुरू अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्नेसमेत बेहोराको नेपाल सरकारको तर्फबाट यस अदालतमा दर्ता हुन आएको पुनरावेदन पत्र ।
म पुनरावेदक प्रतिवादीले मौकामा उठेको रिस थाम्न नसकी मृतकको मृत्यु भएको भन्ने कुरा मिसिल संलग्न सम्पूर्ण कागजबाट स्पष्ट देखिरहेको
छ । पूर्ण रूपमा अपराध हुनको लागि अपराधका चरणहरू पार गरेको हुनुपर्छ । मैले मृतकलाई मार्नुपर्ने कुनै कारण नरहेको र पूर्वयोजना बनाई मारेकोसमेत होइन । म पुनरावेदकको मृतकसँग कुनै पूर्वरिसइवी नभई हामी भारतबाट घर आउने क्रममा रोल्पा जिल्लाको सुलिचौरबाट हिँड्दै गई मिझिङ-२ काजिम भन्ने ठाउँमा आइपुग्दा मृतकले मोबाइलको लाइट अघि पछि गरी बाल्दा मृतकसँग वादविवाद भई तत्काल उठेको रिस थाम्न नसकी मृतकलाई तर्साउने उद्देश्यबाट सामान्य ढुङ्गाले हान्दा मृतकको मृत्यु हुन गएकोले प्रहरीले कुटपिट गर्लान् भन्ने डरले तत्काल कोही कसैलाई खबर नगरी घरमा गई सबै कुरा बताउने मनसाय राखेको भए पनि प्रहरीले पक्राउ गरेकोले प्रहरी र अदालतमा आई घटनाको कुनै विवरण नलुकाई अनुसन्धान तथा अदालतसमेतलाई सहयोग गरी गरेको अवस्थामा ज्यानसम्बन्धी महलको १४ नं.बमोजिम आवेशप्रेरित हत्याको कसुर मान्नुपर्नेमा सो नगरी कसुरमा साबिती रहेको भन्ने आधार लिई चर्को सजाय गर्ने गरी भएको सुरू जिल्ला अदालतको फैसला सदर कायम गर्ने गरी उच्च अदालत तुलसीपुरबाट भएको फैसला त्रुटिपूर्ण भएकोले बदर गरिपाउँ भन्नेसमेत बेहोराको दिपक सुवेदीले यस अदालतमा दर्ता हुनआएको पुनरावेदन पत्र ।
ठहर-खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ पेस हुनआएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसहितको मिसिल संलग्न सम्पूर्ण कागजातहरूको अध्ययन
गरियो । पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान् सहन्यायाधिवक्ता श्री शंकर खत्रीले, प्रस्तुत वारदातको सम्बन्धमा यी दुवै प्रतिवादीहरू दिपक सुवेदी र जितबहादुर थापा विरूद्ध किटानी जाहेरी परेको छ । वारदातको समयमा यी प्रतिवादीहरू जितबहादुर थापा, दिपक सुवेदी र मृतक सँगै भएको भन्ने तथ्यमा समेत विवाद छैन । प्रतिवादी दिपक सुवेदीले मात्र मृतकलाई मारेको भए मृतकले प्रतिकार गर्न सक्ने अवस्था हुने थियो । दुवै प्रतिवादीहरू मिलेर मृतकलाई मारी खोल्सामा फाली प्रतिवादी जितबहादुर थापाले घटनाको सम्बन्धमा कसैलाई जानकारी नगराई बसेको देखिन्छ । यसरी मिसिल संलग्न सम्पूर्ण परिस्थितिजन्य प्रमाणहरूबाट समेत यी दुवै जना प्रतिवादीहरूको मिलेमतोमा मृतकलाई कर्तव्य गरी मारी लास खोल्सामा फालेको पुष्टि भएको अवस्थामा प्रतिवादी जितबहादुर थापालाई अभियोग दाबीभन्दा कम सजाय गरी भएको उच्च अदालत तुलसीपुरको फैसला त्रुटिपूर्ण भएकोले उक्त फैसला बदर गरी निज प्रतिवादीलाई अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्नेसमेत बहस गर्नुभयो ।
प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजात अध्ययन गरी हेर्दा, प्रतिवादीहरू दिपक सुवेदी र जितबहादुर थापाले मृतक रेगबहादुर सुवेदीलाई कर्तव्य गरी मारेको हुँदा प्रतिवादीहरूले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं.विपरीत १३(३) नं.बमोजिमको कसुर गरेकोले निज प्रतिवादीहरूलाई ऐ. महलको १३(३) नं.बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको अभियोग दाबी रहेको देखिन्छ । प्रतिवादी दीपक सुवेदीलाई अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने र अर्का प्रतिवादी जितबहादुर थापालाई ऐ. महलको १३(४) नं.बमोजिम जन्मकैद हुने भनी सुरू रोल्पा जिल्ला अदालतबाट मिति २०७५।०२।१० मा फैसला भएको देखियो । उक्त फैसलाउपर प्रतिवादीहरू दिपक सुवेदी र जितबहादुर थापाको तर्फबाट उच्च अदालत तुलसीपुरमा संयुक्त पुनरावेदन परेकोमा उच्च अदालत तुलसीपुरबाट प्रतिवादी दिपक सुवेदीको हकमा सुरू जिल्ला अदालतको फैसला सदर हुने र जितबहादुर थापाको हकमा ज्यानसम्बन्धी महलको १३(४) नं.बमोजिम जन्मकैदको सजाय हुने गरी भएको सुरू जिल्ला अदालतको फैसला सो हदसम्म बदर भई निज प्रतिवादीलाई ऐ. महलको १७ (३) नं. को कसुरमा २ वर्ष कैद सजाय हुने भनी फैसला भएको देखियो । उक्त फैसलाउपर चित्त नबुझाई प्रतिवादी जितबहादुर थापालाई कम सजाय गरेको हकमा नेपाल सरकारको तर्फबाट र ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सजाय गरेको हकमा प्रतिवादी दिपक सुवेदीको तर्फबाट दोहोरो पुनरावेदन परी आज यस इजलाससमक्ष निर्णयार्थ पेस भएको देखियो ।
म पुनरावेदकको मृतकसँग कुनै पूर्वरिसइवी नभई हामी भारतबाट घर फर्कने क्रममा रोल्पा जिल्लाको सुलिचौरबाट हिँड्दै गई मिझिङ-२ काजिम भन्ने ठाउँमा आइपुग्दा मृतकले मोबाइलको लाइट अघि पछि गरी बाल्दा मृतकसँग वादविवाद भई तत्काल उठेको रिस थाम्न नसकी मृतकलाई तर्साउने उद्देश्यबाट सामान्य ढुङ्गाले हान्दा मृतकको मृत्यु हुन गएको अवस्थामा साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं.बमोजिम कैद सजाय हुनुपर्नेमा ऐ. महलको १३(३) नं.बमोजिम कैद सजाय हुने ठहरी भएको उच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको हुँदा उक्त फैसला बदर गरी कमभन्दा कम सजाय गरिपाउँ भन्ने प्रतिवादी दिपक सुवेदीको मुख्य पुनरावेदन जिकिर रहेको देखिन्छ ।
प्रतिवादी दिपक सुवेदी र प्रतिवादी जितबहादुर थापा दुवै जनाको मिलेमतोमा मृतकलाई टाउकोमा ढुङ्गाले प्रहार गरी कर्तव्य गरी मारेको र उक्त मृतक लासलाई दुवै प्रतिवादीहरू मिली खोल्सामा फालेको तथ्य पुष्टि भएको अवस्थामा प्रतिवादी जितबहादुर थापालाई अभियोग मागदाबीको ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सजाय हुनुपर्नेमा सो नगरी ऐ. महलको १७ (३) नं. को कसुर कायम गरी भएको उच्च अदालत तुलसीपुरको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्ने नेपाल सरकारको तर्फबाट पर्न आएको पुनरावेदनको मुख्य जिकिर रहेको देखिन्छ ।
उपर्युक्त तथ्य, बहस जिकिर र पुनरावेदन जिकिर रहेको प्रस्तुत मुद्दामा उच्च अदालत तुलसीपुरबाट मिति २०७५।११।२१ मा भएको फैसला मिलेको छ वा छैन ? प्रतिवादी दिपक सुवेदी तथा वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, जिल्ला रोल्पा, मिझिङ गा.वि.स. वडा नं. २ कजिमस्थित सडक बाटो ढिकमा रगत जमेको, चारैतिर सुकेको रगतका थोपाहरू, सडक छेउदेखि अ. ५० मिटर तल रहेको सालको रूखमा उत्तर गोडियान, दक्षिण टाउको भई घोप्टो अवस्थाको मृतक रेगबहादुर सुवेदीको लासको टाउको, घाँटी, नाक, कान, छाती र दाहिने हातको मासु नभएको, पेटको भागमा निलडाम रहेको, माथिल्लो शरीर चिन्न नसकिने अवस्थामा रहेको, रगत लागेको ढुङ्गा २ थानसमेत फेला पारी प्रहरी टोलीले बरामद गरेको भन्नेसमेत बेहोराको मिति २०७३।०७।२६ को घटनास्थल तथा लास जाँच मुचल्काबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ ।
३. मेरो छोरा रेगबहादुर सुवेदीलाई प्रतिवादीहरू दिपक सुवेदी र जितबहादुर थापा दुई जनाले टाउकोमा ढुङ्गा प्रहार गरी मारी मृतकको साथमा रहेको नगदसमेत लुटी लगेको हुँदा निजहरूलाई कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मृतकी आमा धनकला सुवेदीको मिति २०७३।०७।२८ को किटानी जाहेरी दरखास्त रहेको देखिन्छ । उक्त जाहेरी दरखास्त बेहोरालाई समर्थन गरी जाहेरवाला धनकला सुवेदीले सुरू अदालतसमक्ष बकपत्र गरेको देखिन्छ ।
४. प्रतिवादी दिपक सुवेदीले अख्तियारप्राप्त अधिकारीसमक्षको बयानमा मृतकले भारतमा बिनाकारण कुटपिट गाली बेइज्जती गर्ने गरेको रिसइवी र निजसँगको रूपैयाँको कारण आर्थिक प्रलोभनमा परी जितबहादुर थापा पछाडि भएको रातको समयमा एकान्त जंगलको बाटोमा अन्य कोही मानिसहरू नभएको मौका छोपी मैले मृतकलाई पछाडिबाट ढुङ्गाले २/३ पटक प्रहार गरी मारी निजको साथमा रहेको भा.रू.२९,५००।- झिकी मृतकलाई बाटोदेखि तल जंगलमा सालको रूखमा फालिदिएको
हो । जितबहादुर थापाबाट मृतकलाई मार्ने मराउने कुनै किसिमको कार्य भएको छैन भन्नेसमेत बेहोरा खुलाएको र कसुरमा साबित रहेको देखिन्छ । निजले अदालतसमक्षको बयानमा समेत मृतक रेगबहादुर सुवेदी, म र जितबहादुर थापा सँगै भारतबाट घर आइपुग्ने बेला मृतकसँग झगडा परेकोमा मैले रिस थाम्न नसकी मृतकको टाउकोमा ढुङ्गा प्रहार गरी कर्तव्य गरी मारी मृतकसँग भएको नगद पनि लिएको हुँ । जितबहादुर थापाले मृतकलाई हातपात गरेको होइन । निजले मृतकको लासलाई खोल्सामा फाल्ने बेलामा सहयोग गरेको मात्र हो भन्नेसमेत बेहोरा खुलाई निजको मौकाको बयान र किटानी जाहेरी दरखास्तको बेहोरासमेतलाई स्वीकार गरेको देखिन्छ ।
५. अर्का प्रतिवादी जितबहादुर थापाले प्रतिवादी दिपक सुवेदीले मृतक रेगबहादुर सुवेदीलाई ढुङ्गाले प्रहार गरी मारिसकेपछि मात्र मलाई लासलाई फालौँ नत्र भने तँलाई पनि मार्छु भनेपछि उक्त लासलाई म र प्रतिवादी दिपक सुवेदीले भिरबाट तल झारेका हौँ भनी मृत लास फाल्ने कार्यसम्ममा आफ्नो संलग्नता रहेको स्वीकार गरी अख्तियारप्राप्त अधिकारी र अदालतसमक्ष करिब एकै मिलानको बेहोरा खुलाई बयान गरेको देखिन्छ ।
६. इलाका प्रहरी कार्यालय, रोल्पाबाट मिति २०७३।०७।२७ मा तयार भएको मृतक रेगबहादुर सुवेदीको शव परीक्षण प्रतिवेदनमा Cause of Death is Blunt Force Injury Over Head भन्नेसमेत बेहोराको उल्लेख भएको देखिन्छ । उक्त शव परीक्षण प्रतिवेदन तयार गर्ने चिकित्सक डा. मिलन बज्राचार्यले अदालतसमक्ष उपस्थित भई शव परीक्षण प्रतिवेदनको बेहोरा समर्थन हुने गरी बकपत्र गरेको देखिन्छ । साथै, प्रहरी टोलीले प्रतिवादी दीपक सुवेदीको घरभित्र कोठामा खानतलासी गर्दा भारतीय रूपैयाँ रू.१,०००/- दरको नोट थान ११, भारतीय रूपैयाँ रू.५००/- दरको थान ३७ गरी जम्मा रू.२९,५००।- (उनन्तिस हजार पाँच सय) बरामद गरेको भन्ने तथ्य मिसिल संलग्न रहेको बरामदी तथा खानतलासी मुचुल्काबाट देखिन्छ ।
७. उल्लिखित घटनास्थल तथा लास जाँच मुचुल्काको बेहोरा, किटानी जाहेरी दरखास्त तथा जाहेरवालाको अदालतसमक्षको बकपत्र, प्रतिवादीहरूले अख्तियारप्राप्त अधिकारी तथा अदालतसमक्ष गरेको बयान, मृतकको शव परीक्षण प्रतिवेदन तथा प्रतिवादी दिपक सुवेदीको घर कोठाको खानतलासी मुचुल्काको बेहोराजस्ता वस्तुनिष्ठ प्रमाणहरूबाट यी प्रतिवादी दिपक सुवेदीले मृतक रेगबहादुर सुवेदीलाई रातको समयमा एकान्त जंगलको बाटोमा मृतको टाउकोमा ढुङ्गाले प्रहार गरी कर्तव्य गरी मारेको र निज रेगबहादुरको लासलाई यी दुवै प्रतिवादीहरूले मिलेर भिरबाट खसालेको भन्ने तथ्य पुष्टि हुन आयो ।
८. अब प्रतिवादी दिपक सुवेदीबाट भएको उल्लिखित कार्य ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिमको मनसायप्रेरित हत्या हो वा ऐ. महलको १४ नं.बमोजिमको आवेशप्रेरित हत्या हो भन्ने सम्बन्धमा विचार गर्दा, साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. मा “लाठा ढुङ्गा र साधारण सानातिना हातहतियारले कुटी, हानी, रोपी, घोची वा अरू ज्यान मर्ने गैह्र कुरा गरी ज्यान मरेमा एकै जनाले मात्र सो काम गरी ज्यान मारेमा सोही एक जना र धेरै जनाको हुल भई मारेमा यसैले मारेको वा यसको चोटले मरेको भन्ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा
ठहर्छ । त्यस्तालाई सर्वस्वसहित जन्मकैद गर्नुपर्छ” भन्ने कानूनी प्रावधान रहेको पाइन्छ । फौजदारी न्यायको सर्वमान्य सिद्धान्तअनुसार कुनै पनि मनसायप्रेरित हत्यामा मुख्यत: चार चरणहरू: मार्ने मनसाय, पूर्वयोजना, तयारी र योजनाबमोजिमको कार्य सम्पन्न भई व्यक्तिको हत्या भएको हुन्छ । उल्लिखित कानूनी व्यवस्थाअनुसार कसैले कसैलाई मार्ने मनसायले लाठा, ढुङ्गा वा सानातिना हातहतियारको प्रयोग गरी कर्तव्य गरेको भन्ने स्थापित हुनुपर्ने हुन्छ ।
९. त्यसैगरी, साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. मा “ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्नेसम्मको इवी पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ, उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा ढुङ्गा लात मुक्का इत्यादि हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ” भन्ने कानूनी व्यवस्था गरेको पाइन्छ ।
१०. उल्लिखित कानूनी व्यवस्थालाई हेर्दा, आवेशप्रेरित हत्याको वारदात कायम हुनको लागि ज्यान मार्ने मनसाय हुनु हुँदैन । मृतक र प्रतिवादीबिच ज्यान लिनुपर्नेसम्मको पूर्वरिसइवी रहेको भन्ने पनि देखिनु हुँदैन । त्यसका अतिरिक्त वारदातमा जोखिमी हतियारको प्रयोग भएको हुनु हुँदैन । प्रतिवादीले ज्यान मार्ने षड्यन्त्र गरेको, सोबमोजिमको योजना बनाएको, योजनाबमोजिम तयारी गरी मार्नेसम्मको कार्य भएको भन्ने कहीँकतैबाट देखिनु हुँदैन । प्रतिवादीले तत्काल आवेशमा आई आत्मसंयम गुमाई कार्य हुन पुगेको हुनुपर्छ । ज्यान मार्ने प्रयोजनको लागि मृतक भाग्न उम्कन नपाउने गरी बाटो गौंडा छेकी, थुनी, रोकी प्रहार गरेको भन्नेसमेत देखिनु हुँदैन । मृतक र प्रतिवादीबिच कुनै विषयमा विवाद हुँदा तत्काल उठेको कुनै कुरामा रिस थाम्न नसकी आत्म नियन्त्रण गुमाई साधारण लाठा, ढुङ्गा, लात, मुक्काले हान्दा सोही चोटपीडाबाट मानिस मरेको भन्ने अवस्था देखिनुपर्छ ।
११. कुनै पनि कर्तव्य ज्यान मुद्दामा मनसायप्रेरित हत्या हो वा आवेशप्रेरित हत्या हो भनी छुट्याउने प्रमुख आधार भनेको मनसाय तत्त्व नै हो । मनसाय तत्त्व अदृश्य हुने हुँदा यसलाई कर्ताको कार्य प्रकृति र उक्त कार्यको परिणामबाट पहिल्याउनुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा मिसिल संलग्न सम्पूर्ण कागज प्रमाणहरूलाई समग्रतामा हेर्दा, यी पुनरावेदक प्रतिवादी दिपक सुवेदीलाई मृतक रेगबहादुर सुवेदीले भारतमा बिनाकारण कुटपिट गाली बेइज्जती गर्ने गरेको रिसइवी र निजसँग भएको रूपैयाँको कारण आर्थिक प्रलोभनमा परी मृतकलाई मारेको भनी बयान गरेको देखिन्छ । रातको समयमा बाटोमा साथ सँगै हिँडिरहेका मृतकलाई एकान्तस्थलमा पुगेपछि मौका छोपी मृतकलाई भाग्न उम्कन नदिई पछाडिबाट मृतकको टाउकोमा ढुङ्गाले प्रहार गरी मारेको अवस्था छ । निज मृतकलाई मारिसकेपछि मृतकसँग भएको पैसा लिई मृतकको लास भिरमा फालिदिएको भन्नेसमेत देखिएको अवस्थामा निज प्रतिवादी दिपक सुवेदीको उल्लिखित कार्य र सोको परिणामबाट नै मार्ने नियत लिएको पुष्टि भइरहेको अवस्थामा मृतकले मोबाइलको लाइट अघि पछि गरी देखाएको कारण तत्काल रिस उठी वादविवाद भई सामान्य ढुङ्गाले प्रहार गरेको कारण मृत्यु हुन गएकोले ज्यानसम्बन्धीको महलको १४ नं.बमोजिम आवेशप्रेरित हत्यामा सजाय गरिपाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर युक्तिसङ्गत देखिएन । तसर्थ, प्रतिवादी दिपक सुवेदीलाई साबिक मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम मनसायप्रेरित हत्याको कसुर ठहर गरी उच्च अदालत तुलसीपुरबाट मिति २०७५।११।२१ मा भएको फैसला मुनासिब नै देखियो ।
१२. अब अर्का प्रतिवादी जितबहादुर थापालाई साबिक मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम नै सजाय हुनुपर्ने भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ विचार गर्दा, प्रतिवादी जितबहादुर थापाले मृतक रेगबहादुर सुवेदीको हत्यामा आफू संलग्न नरहेको र प्रतिवादी दिपक सुवेदीले मृतकको लास फाक्ने कार्यमा सहयोग नगरे आफूलाई समेत मार्ने धम्की दिएकोले बाध्य भई मृतकको लास भिरबाट फाल्ने कार्यसम्ममा आफ्नो संलग्नता रहेको भनी स्वयंले अनुसन्धानको क्रममा तथा अदालतसमक्षको बयानमा खुलाएको देखिन्छ । सह-प्रतिवादी दिपक सुवेदीले अनुसन्धान तथा अदालतमा गरेको बयानमा भारतबाट घर फर्कने क्रममा बसबाट झरेर घरतर्फ हिँडेर जाने क्रममा प्रतिवादी जितबहादुर थापा, मृतक र प्रतिवादी दिपक सुवेदीभन्दा अगाडि हिँडेको, मृतकलाई निज एक्लैले कर्तव्य गरी मारेको र मारिसकेपछि अगाडि हिँडिरहेका प्रतिवादी जितबहादुर थापालाई बोलाई उक्त घटना गाउँमा कसैलाई पनि नभन्नु, भनेमा तँलाईसमेत यसरी नै मारिदिन्छु भनी धम्की दिई लास फाल्न सहयोग गर्न लगाई भिरबाट मृतकको लास फाली घर गएको भनी खुलाएको देखिन्छ । मिसिल संलग्न प्रमाण कागजातहरूबाट निज प्रतिवादी जितबहादुर थापाले रेगबहादुर सुवेदीलाई मार्न वचन दिएको वा वारदात भइरहेको ठाउँमा गई निजलाई मार्नका निमित्त संयोग पारिदिने कार्य गरेको नदेखिएको र मृतक लासलाई भिरबाट फाल्नको लागि प्रतिवादी दिपक सुवेदीलाई सहयोगसम्म गरेको देखिँदा निजको उक्त कार्य ज्यानसम्बन्धी महलको १७(३) नं. मा “अरू किसिमसँग मतसल्लाहमा पसेकोमा मार्ने ठाउँमा गई अरू कुरा केही नगरी हेरिरहनेलाई र लेखिएदेखि बाहेक अरू किसिमका मतलबीलाई ६ महिनादेखि ३ वर्षसम्म कैद गर्नुपर्छ” भन्ने कानूनी व्यवस्थाबमोजिमको कसुर देखिन आएबाट निज प्रतिवादी जितबहादुर थापालाई ऐ. १७(३) नं.बमोजिम २ (दुई) वर्ष कैद सजाय हुने ठहरी भएको उच्च अदालत तुलसीपुरको फैसला मुनासिब नै देखियो ।
१३. अत: माथि विवेचित आधार, कारणबाट प्रतिवादीमध्ये दिपक सुवेदीलाई साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याई सुरू अदालतबाट फैसला भएकोमा मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ४० उपदफा (२) बमोजिम सर्वस्व नहुने भई जन्मकैद हुने नै हुँदा निजको हकमा सुरू रोल्पा जिल्ला अदालतबाट मिति २०७५।०२।१० मा भएको फैसला सदर हुने र प्रतिवादी जितबहादुर थापालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं.बमोजिम जन्मकैद ठहर्याउने गरी सुरू रोल्पा जिल्ला अदालतबाट मिति २०७५।०२।१० मा भएको फैसला सो हदसम्म बदर भई निज प्रतिवादी जितबहादुर थापालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं. को कसुरमा सोही नं.बमोजिम २(दुई) वर्ष कैद सजाय हुने ठहरी उच्च अदालत तुलसीपुरबाट मिति २०७५।११।२१ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकार तथा प्रतिवादी दिपक सुवेदीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई र थुनामा रहेका प्रतिवादी दिपक सुवेदीलाई समेत सम्बन्धित कारागारमार्फत प्रस्तुत फैसलाको प्रतिलिपिसहित जानकारी दिनू । प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.डा.कुमार चुडाल
इजलास अधिकृतः- हेमा पाण्डे
इति संवत् २०७९ साल जेठ १७ गते रोज ३ शुभम् ।