शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १११६४ - लागु औषध (गाँजा)

भाग: ६५ साल: २०८० महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ

फैसला मिति : २०७९।३।२८

 

मुद्दाः लागु औषध (गाँजा)

 

०७१-CR-११४६

पुनरावेदक/वादी : प्र.स.नि. वैद्यनाथ दाससमेतको प्रतिवेदनले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : जिल्ला बारा गा.वि.स. प्रशुरामपुर वडा नं.१ बस्ने लखिचन राय यादवको छोरा देवीलाल यादवसमेत

०७२-CR-१४९५

पुनरावेदक/प्रतिवादी : जिल्ला बारा गा.वि.स. प्रशुरामपुर वडा नं.१ बस्ने राजदेव यादवको छोरा दोरिक प्रसाद यादवसमेत

विरूद्ध

प्रत्यर्थी/वादी : प्र.स.नि. वैद्यनाथ दाससमेतको प्रतिवेदनले नेपाल सरकार

 

कसुरमा संलग्नता रहनु र कसुरजन्य वस्तु बरामद भएको स्थानमा उपस्थिति रहनु भन्ने कुरा फरकफरक विषय हुने । अन्य कुनै प्रमाणबाट प्रतिवादीहरूको कसुरमा संलग्नता रहेको नदेखिएको अवस्थामा कसुरजन्य वस्तु बरामद हुँदाको अवस्थामा प्रतिवादीहरू पनि त्यहीँ थिए भन्ने मात्र तथ्यले कसुरदार ठहर गर्न पर्याप्त प्रमाण रहेको मान्न नमिल्ने । 

(प्रकरण नं. २)

 

पुनरावेदक/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री टेकबहादुर कार्की

प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा तथा विद्वान् अधिवक्ताहरू श्री रामविलास राउत, श्री सीता शरण मण्डल र श्री सपना सुवेदी

अवलम्बित नजिर :

सम्बद्ध कानून : 

प्रमाण ऐन, २०३१ 

लागु औषध (नियन्त्रण) ऐन २०३३ 

सुरू तहको फैसला गर्ने

मा.न्या.श्री निलकण्ठ उपाध्याय

बारा जिल्ला अदालत

पुनरावेदन तहको फैसला गर्ने

मा. न्या. श्री डिल्लीराज आचार्य

मा. न्या. श्री विनोदप्रसाद शर्मा

पुनरावेदन अदालत हेटौंडा

 

फैसला

न्या. तिलप्रसाद श्रेष्ठ : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दर्ता भई हाल न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं फैसला यसप्रकार छ:-

मुद्दाको सङ्क्षिप्त तथ्य

जिल्ला बारा प्रशुरामपुर गा.वि.स वडा नं.१ बस्ने रामनारायण यादव, ऐ. बस्ने देवीलाल यादव, ऐ. बस्ने इनरजित प्रसाद यादव, ऐ. बस्ने दोरिकप्रसाद यादव र जिल्ला बारा कबही जब्दी गा.वि.स. ५ बस्ने देवानन्दप्रसाद यादवसमेतका व्यक्तिहरूको मिलोमतो संलग्नतामा लागु औषध गाँजा ओसारपसार, बिक्री वितरण गर्दै आएकोमा निजहरूले लागु औषध गाँजा ल्याई रामनारायण यादवको घरमा लुकाइ छिपाइ राखेकोले उक्त लागु औषध गाँजा बरामद गरी कानूनबमोजिम गरिपाउँ भन्ने बेहोराको प्रहरी प्रतिवेदन पत्र । 

मिति २०६८।७।२२ गते राति अ.२३:०० बजेको समयमा जिल्ला बारा प्रशुरामपुर गा.वि.स. वडा नं. १ स्थित ऐ.ऐ. बस्ने रामनारायण यादवको घर खानतलासी गर्दा घर कोठाबाट लागु औषध गाँजा ९ पोकाको १७० के.जी. गाँजा बरामद भएको भन्ने बेहोराको खानतलासी तथा बरामदी मुचुल्का । 

जिल्ला बारा प्रशुरामपुर गा.वि.स वडा न. १ बस्ने रामनारायण यादव, देवीलाल यादव, इनरजित प्रसाद यादव, दोरिक प्रसाद यादव र देवानन्द प्रसाद यादवसमेतका व्यक्तिहरूले लागु औषध गाँजा खरिद बिक्री ओसारपसार गर्ने गरेको र रामनारायण यादवको घरमा लागु औषध लुकाइ छिपाइ राखेको भन्ने बेहोराको जानकारी प्राप्त हुनासाथ निज रामनारायण यादवको घर खानतलासी गर्दा लागु औषध गाँजा ९ पोकाको १७० के.जी. बरामद भएकोले घरधनी रामनारायण यादव र ओसारपसार कार्यमा संलग्न देवीलाल यादव, इनरजित प्रसाद यादवसमेतलाई पक्राउ गरी दाखिला गरेको छु कानूनबमोजिम गरिपाउँ भन्ने बेहोराको प्रहरी प्रतिवेदन । 

मिति २०६८।७।२२ गते रातिको समयमा लागु औषध गाँजासहित पक्राउ परी आएका अभियुक्त रामनारायण यादव, देवीलाल राय यादव र इनरजित प्रसाद यादवसमेतका व्यक्तिहरूलाई सोही राति अपराध अनुसन्धान शाखाको कोठामा राखी सोधपुछ गर्दै रहेको अवस्थामा ऐ २३:३० बजेको समयमा अचानक विद्युत् सर्ट भई आगलागी हुँदा अभियुक्तमध्येका इनरजित प्रसाद यादवको दुवै खुटा जली घाइते भएको तथा सोही आगलागीबाट प्र.ना.नि.रामबहादुर कार्की र प्र.ह. भरतप्रसाद यादवसमेत घाइते भएको भन्ने बेहोराको घटनास्थल मुचुल्का । 

मिति २०६८।७।२२ गते रातिको समयमा घाइते भएका अभियुक्त इनरजित प्रसाद यादव र सोधपुछ गर्ने प्रहरी कर्मचारी प्र.ना.नि. रामबहादुर कार्की, प्र.ह. भरत प्रसाद यादवसमेतलाई थप उपचारको लागि नेशनल मेडिकल अस्पताल वीरगन्जमा पठाइएको भन्ने बेहोराको पत्र । 

मिति २०६८।७।२० गते राति २४:०० बजेको समयमा मेरो गाउँका दोरिक यादव र मेरो छिमेकी गाउँले देवानन्द प्रसाद यादवसमेतका व्यक्तिले भारतीय व्यापारीसँग लागु औषध गाँजा लुटी मेरो घरअगाडि ल्याई राखी मलाई २ दिनको लागि घरमा राखिदिनु, राखेबापत रू. ५,०००।- दिन्छु भनी आर्थिक प्रलोभन दिएको हुँदा निजको कुरामा सहमत भई उक्त लागु औषध गाँजा मेरो घरमा राखिराखेको अवस्थामा ऐ २२ गते राति २३:०० बजेको समयमा खटी गएको गस्ती टोलीले खानतलासी गर्दा लागु औषध गाँजा ९ पोकाको १७० के.जी. बरामद भएकोले म तथा मेरो घरमा सुतेका दोरिक प्रसाद यादव र इनरजित प्रसाद यादवसमेतलाई पक्राउ गरी ल्याएको हो भन्ने बेहोराको अभियुक्त रामनारायण यादवको बयान कागज । 

मिति २०६८।७।२२ गते राति छिमेकी रामनारायण यादवको घरमा म र साथी इनरजित प्रसाद यादवसमेत सुतिरहेको अवस्थामा प्रहरी गस्ती टोली आई रामनारायण यादवको घर खानतलासी गर्दा लागु औषध गाँजा ९ पोकाको १७० के.जी.बरामद भएकोले घरधनी रामनारायण यादवसहित म र मेरो साथी इनरजित प्रसाद यादवसमेत ३ जनालाई पक्राउ गरी ल्याएको हो । उक्त लागु औषध छिमेकी गाउँले देवानन्द प्रसाद यादव र दोरिक प्रसाद यादवसमेतले ल्याई राखेको हो भन्ने बेहोराको अभियुक्त देवीलाल यादवको बयान कागज । 

परीक्षणका लागि पठाइएको नमूना लागु औषध गाँजा हो भन्ने बेहोराको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको पत्रसहितको परीक्षण प्रतिवेदन । 

अभियुक्त देवानन्द प्रसाद यादव र दोरिक प्रसाद यादवको घर खान तलासी गर्दा दशीका सामानहरू फेला नपरेको भन्ने बेहोराको खानतलासी तथा बरामदी मुचुल्का । 

मिति २०६८।७।२२ गते रातिको समयमा गाउँका छिमेकी रामनारायण यादवको घरमा म तथा मेरो साथी देवीलाल राय यादवसमेत सुतिरहेको अवस्थामा प्रहरी गस्ती टोली आई रामनारायण यादवको घर खानतलासी गर्दा लागु औषध गाँजा ९ पोकाको १७० के.जी. गाँजा बरामद भएकोले घरधनी रामनारायण यादव र निजको घरमा सुतिरहेका साथी देवीलाल राय यादव र मसमेत ३ जनालाई पक्राउ गरी ल्याएको हो । उक्त लागु औषध गाउँका दोरिक प्रसाद यादव र देवानन्द प्रसाद यादवसमेतले भारतीय व्यापारीसँग लुटी ल्याई रामनारायण यादवको घरमा लुकाई छिपाई राखेका थिए भन्ने बेहोराको इनरजित प्रसाद यादवको बयान कागज । 

मिति २०६८।७।२२ गते राति २३:०० बजेको समयमा जिल्ला बारा प्रशुरामपुर गा.वि.स. वडा न. १ बस्ने रामनारायण यादवको घर खानतलासी गर्दा लागु औषध गाँजा ९ पोकामा १७० के.जी. गाँजा बरामद भएकोले घर धनी रामनारायण यादव तथा सोही घरमा सुतिरहेका सहयोगी देवीलाल राय यादव र इनरजित प्रसाद यादवसमेत ३ जनालाई पक्राउ गरी ल्याएको हो, बरामद भएको लागु औषध गाँजा अभियुक्त देवानन्द प्रसाद यादव र दोरिक प्रसाद यादवसमेतका व्यक्तिहरूले भारतीय व्यापारीसँग लुटी रामनारायण यादवको घरमा लुकाइ छिपाइ राखेको अवस्थामा बरामद भएको हो भन्ने बेहोराको महेन्द्रप्रसाद यादवसमेतबाट बुझिएको घटना विवरण कागज । 

प्रतिवादीहरू रामनारायण यादव, देवीलाल यादव, इनरजित प्रसाद यादव, दोरिक प्रसाद यादव र देवानन्द प्रसाद यादवको मिलोमतो एवं संलग्नतामा बरामद लागु औषध (१७० के.जी. गाँजा) ल्याई बिक्री वितरण गर्नका लागि प्रतिवादी रामनारायण यादवको घरमा सञ्चय गरी राखी उक्त गाँजा रेखदेख गर्न रामनारायण यादव, इनरजित प्रसाद यादव, देवीलाल यादव सुतिरहेको अवस्थामा बरामद लागु औषध गाँजा १७० के.जी. सहित पक्राउ परेको तथ्य निर्विवाद रूपमा पुष्टि हुन आएकोले प्रतिवादीहरू रामनारायण यादव, देवीलाल यादव, इनरजित प्रसाद यादव, दोरिक प्रसाद यादव र देवानन्द प्रसाद यादवको उक्त कार्य लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) को परिभाषित कसुर भएकोले उक्त कसुरमा निज प्रतिवादीहरू रामनारायण यादव, देवीलाल यादव, इनरजित प्रसाद यादव, दोरिक प्रसाद यादव र देवानन्द प्रसाद यादवलाई सोही ऐनको दफा १४(१)(घ)(५) बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग पत्र । 

प्रतिवादीमध्येका दोरिक प्रसाद यादवले भारतीय तस्करहरूसँग मिति ०६८।७।२२ गते रात्रिको करिब २३:०० बजेको समयमा गाँजा लुटपाट गरी मेरो घरमा ल्याई ९ पाकेट गाँजा राखेकोमा प्रहरीले थाहा पाई रातको करिब १२ बजे मेरो घरमा छापा मारी उक्त गाँजा बरामद गरेको हो । प्रतिवादीमध्येका देवीलाल यादव र इनरजित प्रसाद यादवसमेत त्यही घरको बरन्डामा सुतेको कारण निजहरूलाई पनि प्रहरीले पक्राउ गरी ल्याएको हो । उक्त गाँजा मेरो घरबाट बरामद भएको भए पनि दोरिक र देवानन्द प्रसादले ल्याई जबरजस्ती राखेकोले हामी तीन जना निर्दोष व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हुँदा सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी रामनारायण यादवले बारा जिल्ला अदालतमा गरेको बयान । 

मिति २०६८।७।२२ गते साँझमा करिब ०७:०० बजेतिर आफ्नो घरमा खाना खाई सुत्ने घरमा ठाउँ नभएकोले प्रतिवादीमध्येका रामनारायण यादवको घर ठुलो भएकोले त्यही घरमा गई ओछ्यान लगाई सुतिरहेकोमा करिब १० बजे रातिमा प्रहरी आई घर खानतलासी गर्दा ९ पोका गाँजा बरामद भएकोमा घरधनी रामनारायण यादव र म सँगै सुतेका देवीलाल यादवसमेतलाई प्रहरीले पक्राउ गरी ल्याएका हुन् । उक्त गाँजा पहिलेदेखि नै त्यहाँ रहेछ । मलाई थाहा 

थिएन । म सुत्न गएकोसम्म हो । उक्त बरामद गाँजा कसले कहाँबाट कहिले ल्याएर राखेका थिए थाहा भएन । रामनारायण यादवको घरभित्रबाट बरामद भएको हो । सो हुँदा मलाई सजायसमेत हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी इनरजित प्रसाद यादवले बारा जिल्ला अदालतमा गरेको बयान । 

मिति २०६८।७।२२ गते साँझ घरमा खाना खाई घर साघुँरो भएकोले छोरा बुहारी त्यहीँ सुत्ने गरेकोले म प्रतिवादी रामनारायणको घरमा सुत्ने गरेकोमा सो दिन पनि सुतेको थिएँ । राति करिब ११ बजेको समयमा प्रहरीको टोली आई छापा गरी खानतलासी गर्दा घरभित्रबाट ९ पोका गाँजा बरामद भएकोमा म तथा इनरजित त्यहीँ सुतिरहेकोले हामीलाई समेत पक्राउ गरी ल्याएको हो । उक्त गाँजा के कसरी कहिले कसले ल्याएर रामनारायणको घरमा राखेको थिए थाहा भएन । उक्त गाँजा मेरो नहुँदा मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी देवीलाल यादवले बारा जिल्ला अदालतमा गरेको बयान । 

मउपरको अभियोग दाबी झुट्ठा हो । फसाउने उद्देश्यले अभियोग लगाइएको हो । मिति २०६८।७।२० गते म आफ्नै घरमा सुतिरहेको थिएँ । रामनारायण यादवलाई चिन्दछु । निजले गरेको बयान बेहोरा गलत हो । मैले अभियोग दाबीबमोजिमको कसुर गरेको होइन भन्नेसमेत बेहोराको प्रतिवादी देवानन्द प्रसाद यादव भन्ने शिवनाथ प्रसाद यादवले बारा जिल्ला अदालतमा गरेको बयान । 

मिति २०६८।७।२२ गतेका दिन म विदेश भारतको कलकत्तामा थिएँ । मैले अभियोग दाबीबमोजिमको कसुर गरेको होइन भन्नेसमेत बेहोराको प्रतिवादी दोरिकप्रसाद यादवले बारा जिल्ला अदालतमा गरेको बयान । 

प्रतिवादी दोरिक प्रसाद यादवको साक्षी जगु यादव, प्रतिवादी देवानन्द यादव भन्ने शिवनाथ यादवको साक्षी प्रभु प्रसाद यादव, प्रतिवादी देवीलाल यादवको साक्षी रामएकवाल राय यादव, प्रतिवादी इनरजीतको साक्षी गौरीशंकर प्रसाद यादव, प्रतिवादी रामनारायण यादवको साक्षी हरेन्द्र यादवले प्रतिवादीहरू निर्दोष रहेकाले सजाय हुनुपर्ने होइन भनी बकपत्र गरेका र प्रतिवेदक प्र.स.नि. बैद्यनाथ दासले बरामद गाँजा सबैजना प्रतिवादीहरूको हो भनी गरेको बकपत्र । 

प्रतिवादीहरू आफूहरूले अपराध गरेमा पूर्ण इन्कार छन् । निजहरूको घरबाट कुनै वस्तु बरामद भएको छैन । सहअभियुक्तको पोललाई स्वतन्त्र प्रमाणबाट पुष्टि हुनुपर्दछ । यहाँ पुष्टि हुन सकेको 

छैन । केवल पोलको आधारमा मात्र लागु औषध जस्तो मुद्दामा सजाय गर्न न्यायसङ्गत नहुने हुँदा प्रतिवादी दोरिक प्रसाद यादव र देवानन्द भन्ने शिवनाथ यादव यसमा संलग्न छन् भन्न सकिएन । अतः प्रतिवादी रामनारायणले लागु औषध गाँजा सञ्चय गरेको ठहरेको हुँदा परिणामलाई विचार गर्दै लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(घ)(५) ले ३ वर्ष कैद र रू.२५,०००।– जरिवाना हुने ठहर्छ । प्रतिवादी देवीलाल, इनरजित, दोरिक र प्रतिवादी देवानन्द यादव भन्ने शिवनाथ यादवको यसमा संलग्नता रहेको भन्न नसकिने हुँदा निजहरूलाई सजाय गरिपाउँ भन्ने वादी दाबी नपुग्ने ठहर्छ भन्ने सुरू बारा जिल्ला अदालतको मिति २०६९।१२।११ को फैसला । 

प्रतिवादीहरू दोरिक प्रसाद यादव र देवानन्द मौकामा फरार रही अदालतमा आई बयान गर्दा कसुरमा इन्कारी रहे पनि मौकामा दशीसहित पक्राउ परेका रामनारायणले मौकामा बयान गर्दा आफ्नो घरमा सञ्चय गरेको गाँजा दोरिक यादव र देवानन्दले ल्याएपछि आफूले घरमा सञ्चय गर्न दिएको, अन्य प्रतिवादी देवीलाल र इनरजित पनि मसँगै रहे बसेको मौकामा पक्राउ परेको भनी मौकामा बयान गर्नुको साथै अदालतमा पनि सोही मिलानको बयान गरेको र मौकामा पक्राउ परेका प्रतिवादीहरू देवीलाल र इनरजितले समेत गाँजा दोरिक र देवानन्दसमेतको हो, हामीहरू गाँजा रुँगी बसेका हौं भनी मौकामा लेखाएको, वादी नेपाल सरकारको तर्फबाट प्रतिवेदन दिने प्रतिवेदक प्र.स.नि. वैद्यनाथ दास अदालतमा आई बरामदी गाँजा ५ जना प्रतिवादीहरूको हो भनी बकपत्र गरेकोसमेतका सबुद प्रमाणहरूबाट प्रतिवादीहरू ५ जनाको संयुक्त कारोबारबाट सो गाँजा त्यहाँ सञ्चय गरी राखेको पुष्टि हुँदाहुँदै प्रतिवादी रामनारायणलाई मात्र सजाय गरी अन्य प्रतिवादीहरू दोरिक, देवानन्द, देवीलाल र इनरजित जना ४ लाई सफाइ दिने गरी भएको सुरूको फैसला त्रुटिपूर्ण रहेको छ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र । 

यसमा लागु औषध गाँजा बरामद भएको घरमै अन्य प्रतिवादीहरूसमेत रहेको, प्रतिवादी रामनारायणले अन्य प्रतिवादीहरूलाई पोल गरी बयान गरेकोसमेतको अवस्थामा सहअभियुक्तहरूलाई सफाइ दिने गरी भएको सुरूको फैसला प्रमाण मूल्याङ्कनको रोहबाट विचारणीय भई फरक पर्न सक्ने देखिँदा छलफलको लागि मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको पुनरावेदन अदालत हेटौंडाको मिति २०७१।३।१७ को आदेश । 

आफूसमेत कसुरमा साबित भई पोल गर्ने सहअभियुक्तको बयानसमेतका आधारमा प्रतिवादीहरू दोरिक यादव तथा देवानन्दप्रसाद यादवले अभियोग दाबीबमोजिमको कसुर गरेको देखिएकोले निजहरूलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) को कसुरमा सोही ऐनको दफा १४ (१) (घ) (५) बमोजिम बरामदी लागु औषधको मात्रा र सामूहिक रूपमा गरेको अपराधको प्रकृतिसमेतका आधारमा जनही कैद वर्ष ३ (तीन) वर्ष तथा जरिवाना रू २५०००।- (पच्चिस हजार मात्र) समेत हुने र अन्य प्रतिवादीहरू देवीलाल यादव र इनरजितप्रसाद यादवउपरको अभियोगदाबी प्रमाणित हुन नसकेकोले निजहरूलाई सफाइ दिने गरी भएको हदसम्मको सुरूको फैसला मिलेकै देखिन आयो । प्रतिवादीहरू दोरिक यादव तथा देवानन्द प्रसाद यादवको हकमा भएको बारा जिल्ला अदालतको मिति २०६९।१२।११ को फैसला नमिलेकोले केही उल्टी हुने गरी भएको तत्कालीन पुनरावेदन अदालत हेटौंडाको फैसला । 

प्रतिवादीहरू देवीलाल यादव र इनरजित प्रसाद यादवलाई सफाइ दिएको हकमा वादी नेपाल सरकारको र कसुरदार ठहर गरी फैसला भएको हकमा प्रतिवादीहरू दोरिक प्रसाद यादव र देवानन्द प्रसाद यादवको यस अदालतमा पर्न आएको पुनरावेदन । 

यसमा मिति २०६८/०७/२२ गते राति गाँजा बरामद हुँदा प्रतिवादी इनरजित यादव र देवीलाल यादव गाँजा बरामद भएको स्थान प्रतिवादी रामनारायणकै घरमा रहेको अवस्थामा पक्राउ परेकोमा निजहरूलाई सफाइ दिने गरेको सुरूको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने र यसमा प्रतिवादीहरू दोरिक प्रसाद यादव र देवानन्द यादव कसुरमा इन्कार रही बयान गरेको, निजहरूको साथबाट कुनै पनि वस्तु बरामद नभएको अवस्थामा केवल सहअभियुक्तको पोलको आधारमा सुरू फैसला उल्टी गरी कसुरदार ठहर्‍याएको पुनरावेदन अदालत हेटौंडाको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७५/०४/२३ गतेको छुट्टाटुट्टै आदेश । 

अदालतको ठहर

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा विवादको पृष्ठभूमि हेर्दा प्रतिवादीहरूमध्येका राम नारायण यादवको घरबाट १७० के.जी. गाँजा बरामद भएकोमा उक्त बरामद गाँजा प्रतिवादीहरू रामनारायण यादव, देवीलाल यादव, इनरजित प्रसाद यादव, दोरिक प्रसाद यादव र देवानन्द प्रसाद यादव सबैको मिलेमतोमा बिक्री वितरण गर्न सञ्चय गरी राखेको भनी निजहरूउपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) बमोजिमको कसुरमा सोही ऐनको दफा १४(१)(घ)(५) बमोजिम सजाय हुन माग दाबी लिई अभियोग पत्र दायर भएको रहेछ । सुरू जिल्ला अदालतबाट फैसला हुँदा प्रतिवादीमध्येका राम नारायण यादवका हकसम्म अभियोग माग दाबीबमोजिमको कसुर गरेको ठहराई अन्य प्रतिवादीहरूलाई सफाइ दिने गरी फैसला भएकोमा पुनरावेदन अदालत हेटौंडाबाट सुरू फैसला केही उल्टी गरी प्रतिवादी राम नारायण यादवका अतिरिक्त थप प्रतिवादीहरू दोरिक प्रसाद यादव र देवानन्दप्रसाद यादवका हकमा समेत अभियोग दाबीबमोजिमको कसुर गरेको ठहराई अन्य प्रतिवादीहरू देवीलाल यादव र इनरजितप्रसाद यादवका हकमा सफाइ दिने गरी भएको सुरू फैसला सदर हुने ठहराई फैसला भएको रहेछ । सफाइ पाएका प्रतिवादीहरू देवीलाल यादव र इनरजित प्रसाद यादवका हकमा वादी नेपाल सरकारको तथा कसुरदार ठहर भएका प्रतिवादीहरूमध्ये दोरिक प्रसाद यादव र देवानन्द प्रसाद यादवका हकमा निजहरूको दोहोरो पुनरावेदन परी आज यस इजलाससमक्ष पेस हुन आएको देखियो । 

पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट प्रतिवादीहरू देवीलाल यादव र इनरजितप्रसाद यादवका हकमा पर्न आएको प्रस्तुत पुनरावेदन हेर्दा तत्कालीन पुनरावेदन अदालत हेटौंडाको फैसलाउपर चित्त नबुझेका बुँदाहरूलाई देहायअनुसार उल्लेख गरेको देखिन्छ :

क. प्रतिवादी रामनारायणको घरबाट ठुलो परिमाणको गाँजा बरामद भएकोमा गाँजा बरामद हुँदाका बखत प्रतिवादीहरू देवीलाल र इनरजितसमेत सोही घरमा रहेको अवस्थामा पक्राउ परेको देखिएको, 

ख. प्रतिवेदकले अदालतमा बकपत्र गर्दासमेत बरामद गाँजा पाँचै जना प्रतिवादीहरूको हो भनी किटानी बकपत्र गरिदिएको देखिएको, 

ग. समान किसिमका कसुरदारलाई समान सजाय हुनुपर्नेमा केहीलाई कसुरदार ठहर गरी केहीलाई सफाइ दिएको दिएको देखिएको, 

घ. तसर्थ यी प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको हदसम्म पुनरावेदन अदालतको फैसला बदर गरी अभियोग दाबीबमोजिम कसुरदार ठहर गरिपाऊँ । 

 

पुनरावेदक प्रतिवादीहरू दोरिक प्रसाद यादव र देवानन्द भन्ने शिवनाथ प्रसाद यादवको तर्फबाट पर्न आएको प्रस्तुत पुनरावेदन हेर्दा तत्कालीन पुनरावेदन अदालत हेटौँडाको फैसलाउपर चित्त नबुझेका बुँदाहरूलाई देहायअनुसार उल्लेख गरेको देखिन्छ :

क. बरामद गाँजाको परिमाण १७० केजी रहेकोमा त्यत्रो परिमाणको गाँजा हामी दुईजना प्रतिवादीहरूले बोकेर ल्याइराखेको भन्ने प्रतिवादी राम नारायणको पोल सत्यतामा आधारित नरहेको, 

ख. म दोरिक यादव वारदातभन्दा धेरै अगाडिदेखि भारतको कलकत्तामा काम गर्न गएको अवस्था रहेको, 

ग. म देवानन्द भन्ने शिवनाथ यादव वारदातमा संलग्न नभएकोमा केवल राजनीतिक प्रतिशोधका कारण पोल गरेको स्थिति रहेको,

घ. हामीहरूको संलग्नता नरहेको तथ्य हाम्रा साक्षीहरूको बकपत्रबाट पुष्टि भइरहेको, र

ङ. तसर्थ हामीहरूलाई कसुरदार ठहर गर्ने पुनरावेदन अदालत हेटौंडाको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी सफाइ दिलाइपाऊँ । 

 

प्रस्तुत मुद्दामा आज सुनुवाइको क्रममा वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान् उपन्यायाधिवक्ता श्री टेकबहादुर कार्कीले सबैजना प्रतिवादीहरूले साझा उद्देश्यका साथ सामूहिकरूपमा प्रतिबन्धित लागु औषध गाँजा कारोबार गरेको, प्रतिवादीहरू देवीलाल र इनरजित गाँजा बरामद भएकै बखत सोही घरमा सुतिरहेको अवस्थामा पक्राउ परेको, अन्य प्रतिवादीहरूलाई पनि कसुरदार ठहर भएका प्रतिवादीले पोल गरेको देखिएकोसमेतको अवस्थामा प्रतिवादीहरूमध्ये देवीलाल र इनरजितलाई सफाइ दिने गरी भएको फैसलाको हदसम्म पुनरावेदन अदालतको फैसला नमिलेको हुँदा सुरू अभियोग माग दाबीबमोजिम हुनुपर्छ भनी बहस गर्नुभयो । प्रतिवादीहरू देवीलाल यादव र इनरजित यादवका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री सीता शरण मण्डलले बरन्डामा सुतेका यी प्रतिवादीहरूलाई घरभित्र के छ भन्ने थाहा जानकारी हुने स्थिति नरहेको, कसुरदार ठहर भएका प्रतिवादीले पनि यी प्रतिवादीहरूलाई पोल गरेको अवस्था नहुँदा निजहरूका हकमा सफाइ दिने गरी भएको फैसला मिलेकै हुँदा सदर गरिपाउँ भनी बहस गर्नुभयो । त्यसैगरी पुनरावेदक प्रतिवादीहरू दोरिक प्रसाद यादव र देवानन्द भन्ने शिवनाथ प्रसाद यादवको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा तथा विद्वान् अधिवक्ताहरू श्री रामविलास राउत र श्री सपना सुवेदीले बरामद गाँजा यी प्रतिवादीहरूले बोकेर ल्याई राखेको भन्ने तथ्य कुनै प्रमाणबाट पनि समर्थित नरहेको, गाँजाको परिमाणलाई विचार गर्दा यी २ जना प्रतिवादीले मात्र बोकेर ल्याउन सक्ने स्थिति पनि नदेखिएको, प्रतिवादीमध्येका दोरिक प्रसाद यादव बरामद हुँदाका बखत भारतमा रहेकोसमेतको अवस्था हुँदा निजहरूका हकमा कसुरदार ठहराई भएको पुनरावेदन अदालतको फैसला नमिलेकोले सफाइ दिलाइपाउँ भनी बहस प्रस्तुत गर्नुभयो । 

माथि उल्लेख भएबमोजिम पुनरावेदकहरूका तर्फबाट प्रस्तुत पुनरावेदनमा लिइएका जिकिरहरू, वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता र पुनरावेदक / प्रत्यर्थी / प्रतिवादीहरूतर्फका विद्वान् कानून व्यवसायीहरूबाट प्रस्तुत हुन आएका बहस बुँदाहरू एवं मिसिल संलग्न कागजातहरू अध्ययन गरी इन्साफतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा मुख्यत: देहायका प्रश्नहरूमा निरूपण गर्नुपर्ने देखिन आयो : 

क. वादी नेपाल सरकारको पुनरावेदन जिकिरबमोजिम प्रतिवादीहरू देवीलाल यादव र इनरजितप्रसाद यादवको प्रस्तुत वारदातमा संलग्नता रहेको देखिन्छ वा देखिँदैन ? र,

ख. प्रतिवादीहरू दोरिक प्रसाद यादव र देवानन्द भन्ने शिवनाथ प्रसाद यादवको पुनरावेदन जिकिरबमोजिम निजहरूले अभियोग माग दाबीबमोजिमको कसुरबाट सफाइ पाउनुपर्ने देखिन्छ वा देखिँदैन ?

 

२. अब निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा अभियोग माग दाबीबमोजिमको कसुर गरेको ठहराई सजायसमेत हुने ठहरेका प्रतिवादीहरूमध्येका राम नारायण यादवको तर्फबाट पुनरावेदन पर्न आएको नदेखिँदा त्यसतर्फ विचार गर्नुपर्ने अवस्था 

देखिएन । निरूपण हुनुपर्ने उपर्युक्त प्रश्नहरूमध्ये सर्वप्रथम पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिरका सम्बन्धमा विचार गरौं । प्रस्तुत मुद्दामा प्रतिवादीमध्येका राम नारायण यादवको घरबाट १७० के.जी. गाँजा बरामद भएको तथ्यमा विवाद रहेको देखिएको छैन । गाँजा बरामद भएको बखत प्रतिवादीहरू देवीलाल यादव र इनरजित प्रसाद यादव दुवैजना सोही घरमा बरन्डामा सुतिरहेको बखत पक्राउ परेको तथ्यमा पनि विवाद रहेको देखिँदैन । तर यी प्रतिवादीहरूले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा र अदालतमा बयान गर्दासमेत बरामद गाँजाका सम्बन्धमा आफूहरूलाई केही थाहा नभएको भन्दै कसुरमा इन्कार रही बयान गरेको देखिन्छ । प्रतिवादी राम नारायण यादव जसको घरबाट गाँजा बरामद भएको हो निजले बयान गर्दा पनि आफ्नो घरमा गाँजा रहेको विषयमा यी प्रतिवादीहरूलाई थाहा थिएन भनी लेखाइदिएको देखिन्छ । यी प्रतिवादीका साक्षीहरूले बकपत्र गर्दा यी प्रतिवादीलाई निर्दोष रहेको भनी लेखाएको देखिन्छ । बरामद गाँजा ल्याएर राख्ने वा अन्य कुनै गतिविधिमा यी प्रतिवादीहरूको संलग्नता रहेको देखिने कुनै तथ्ययुक्त प्रमाण वादी पक्षबाट पेस हुन आएको देखिँदैन । केवल गाँजा बरामद हुँदाका बखत यी प्रतिवादीहरू पनि सोही घरमा रहेको भन्ने मात्र आधारमा यी प्रतिवादीहरूउपर अभियोग लगाइएको पाइन्छ । आफूहरू उक्त घरमा सुत्न जानुको कारणमा यी प्रतिवादीहरू दुवैजनाले आफ्नो घर साँघुरो भएको, छोरा बुहारी सुत्ने गरेको र प्रतिवादी राम नारायणको घर ठुलो हुँदा प्राय: सोही घरको बरन्डामा सुत्ने गरेको भनी लेखाएको पाइन्छ । निजहरूको उक्त बयान बेहोरालाई बिना आधार प्रमाण अस्वीकार गरी गाँजा बरामद भएको घरमा सुतेको अवस्थामा पक्राउ परेको भन्ने आधारमा मात्र अभियोग माग दाबीबमोजिमको कसुर गरेको भनी ठहराउन प्रमाण कानूनको सिद्धान्तअनुसार पनि मिल्ने देखिएन । कसुरमा संलग्नता रहनु र कसुरजन्य वस्तु बरामद भएको स्थानमा उपस्थिति रहनु भन्ने कुरा फरकफरक विषयहरू हुन् । अन्य कुनै प्रमाणबाट प्रतिवादीहरूको कसुरमा संलग्नता रहेको नदेखिएको अवस्थामा कसुरजन्य वस्तु बरामद हुँदाको अवस्थामा प्रतिवादीहरू पनि त्यहीँ थिए भन्ने मात्र तथ्यले कसुरदार ठहर गर्न पर्याप्त प्रमाण रहेको मान्न 

मिलेन । यो स्थितिमा यी प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिमको कसुरबाट सफाइ पाउने ठहराएको हदसम्म पुनरावेदन अदालतबाट भएको फैसला नमिलेको देखिएन । 

३. अब पुनरावेदक/प्रतिवादीहरू दोरिक प्रसाद यादव र देवानन्द भन्ने शिवनाथ प्रसाद यादवको तर्फबाट पर्न आएको पुनरावेदन जिकिरका सम्बन्धमा विचार गरौं । निज प्रतिवादीहरूसमेतको संलग्नतामा लागु औषध गाँजा ओसारपसार तथा सञ्चय गर्ने कार्य भएको भनी निजहरूलाई मौकामा पक्राउ परेका अन्य प्रतिवादीहरूले पोल गरेको भन्ने आधारमा अनुसन्धान भई निजहरूउपर पनि अभियोग पत्र दायर भएको अवस्था देखिन्छ । बरामद लागु औषध गाँजा प्रतिवादीमध्येका रामनारायण यादवको घरबाट बरामद भएको भन्ने तथ्यमा विवाद रहेको देखिँदैन । प्रतिवादी राम नारायण यादवले बयान गर्दा आफ्नो घरबाट बरामद भएको गाँजा यी प्रतिवादीहरूले भारतीय व्यापारीबाट लुटी आफ्नो घरमा जबरजस्ती ल्याइराखेको भन्ने बेहोरा लेखाएको देखिन्छ । तर गाँजा बरामद भएको अवस्थामा यी प्रतिवादीहरू बरामदस्थलमा रहेको देखिँदैन । प्रतिवादी राम नारायण यादवले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा बरामद भएको गाँजा मिति २०६८।७।२० गते यी प्रतिवादीहरूले आफ्नो घरमा ल्याई राखेको भनी बयान गरेकोमा अदालतमा बयान गर्दा सुरू बेहोराभन्दा फरक मिति २०६८।७।२२ गते अर्थात् बरामद भएकै राति ल्याइराखेको भनी लेखाएको देखिन्छ । निजको बयान बेहोरा विरोधाभाषपूर्ण रहेको देखिएको अवस्थामा त्यस्तो बयान बेहोराको सत्यतामा प्रश्न चिह्न खडा भएको देखिन्छ । यदि वास्तवमै बरामद भएको गाँजा यी प्रतिवादीहरूले ल्याई राखेको भए कुन मितिमा ल्याई राखेको हो भन्ने विषयमै शङ्का उठ्ने गरी दुईवटा फरकफरक मिति उल्लेख गर्ने अवस्था नहुनुपर्ने हो । मिति धेरै पुरानो भई बिर्सन सकिने स्थिति पनि रहेको देखिँदैन । प्रतिवादीहरू कसुरमा इन्कार रही बयान गरेको अवस्था देखिन्छ । निजका साक्षीहरूले बकपत्र गर्दा पनि निजहरू निर्दोष रहेको तथ्यलाई बल पुग्ने गरी लेखाइदिएको देखिन्छ । प्रतिवादीमध्येका दोरिक प्रसाद यादव त अझ गाँजा बरामद भएको मितिभन्दा पहिलेदेखि नै भारतको कलकत्तामा काम गरी बसेको भनी लेखाएको देखिन्छ । प्रतिवादी राम नारायण यादवकै पोल बयानलाई आधार मानी यी प्रतिवादीहरूले भारतीय व्यापारीबाट लुटी ल्याएको मान्ने हो भने पनि भारतीय व्यापारीबाट लुटी ल्याएको हो सो बेहोरा खुल्दैन । गाँजाको परिमाण हेर्दा १७० के.जी. रहेको देखिएकोमा यी २ जना प्रतिवादीहरूले मात्र बोकेर ल्याएको भनी विश्वास गर्न सकिने अवस्था पनि रहेको देखिँदैन । दुईजना प्रतिवादीले बोकेर ल्याएको भए दुईवटा मात्र पोकामा रहेको देखिनुपर्नेमा बरामद गाँजा ९ वटा पोकामा राखिएको अवस्थामा बरामद भएको देखिएको छ । प्रतिवादीहरूको साथबाट लागु औषध बरामद नभएको अवस्थामा फौजदारी मुद्दामा कसुर प्रमाणित गर्ने भार प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम वादी पक्षमा रहनेमा सोबमोजिम वादी पक्षले शङ्कारहित तवरबाट कसुर प्रमाणित गर्न सकेको देखिँदैन । यी प्रतिवादीहरूको कसुरमा संलग्नता रहेको देखिने कुनै ठोस र वस्तुनिष्ठ प्रमाण रहेको नदेखिएको अवस्थामा यी प्रतिवादीहरूलाई कसुरदार ठहराएको हदसम्म पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको देखिन आएन । 

४. तसर्थ, माथि विवेचित आधार कारणबाट पुनरावेदक/प्रतिवादीहरू दोरिक प्रसाद यादव र देवानन्द भन्ने शिवनाथ प्रसाद यादवलाई लागु औषध (नियन्त्रण) ऐन २०३३ को दफा ४ (क) को कसुरमा सोही ऐनको दफा १४ (१) (घ) (५) बमोजिम जनही कैद वर्ष ३ (तीन) र जरिवाना रू. २५०००।- (पच्चिस हजार मात्र) समेत हुने ठहरी भएको तत्कालीन पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७१।०७।१६ मा भएको फैसला नमिलेकोले केही उल्टी भई निज प्रतिवादीहरू दोरिक प्रसाद यादव र देवानन्द भन्ने शिवनाथ प्रसाद यादवले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । अन्यका हकमा पुनरावेदन अदालत हेटौंडाको फैसला सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू । 

तपसिल

प्रतिवादीहरू दोरिक प्रसाद यादव र देवानन्द भन्ने शिवनाथ प्रसाद यादवले अभियोग दाबीबाट सफाइ पाउने ठहरेकोले तत्कालीन पुनरावेदन अदालत हेटौंडाबाट अभियोग मागदाबीबमोजिम निज प्रतिवादीहरूलाई लागु औषध (नियन्त्रण) ऐन‚ २०३३ को दफा १४(१)(घ) (५) बमोजिम जनही ३ वर्ष कैद र रू.२५‚०००।- जरिवाना हुने ठहराई सुरू अदालतमा कसिएको लगत निज प्रतिवादीहरू दोरिक प्रसाद यादव र देवानन्द भन्ने शिवनाथ प्रसाद यादवको हकमा कायम नरहने हुँदा बेहोरा जनाई कट्टा गरिदिनु भनी बारा जिल्ला अदालतमा लेखी पठाइदिनू ..............१

सरोकारवाला व्यक्तिले फैसलाको नक्कल माग्न आएमा नियमानुसार गरी नक्कल दिनू............................२

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गर्नु र प्रस्तुत फैसलाको विद्युतीय प्रति सफ्टवेयरमा अपलोड गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ....................३

 

उक्त रायमा सहमत छु । 

न्या. विश्वम्भरप्रसाद श्रेष्ठ

 

इजलास अधिकृत:- श्यामहरि अधिकारी (उपसचिव)

इति संवत् २०७९ साल आषाढ २८ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु