शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४२६९ - ज्यान मार्ने उद्योग

भाग: ३३ साल: २०४८ महिना: जेष्ठ अंक:

निर्णय नं. ४२६९     ने.का.प. २०४८            अङ्क २,

 

संयुक्तइजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०४६ सालको फौ.पु.नं. ३५०।३५१।३६०

२०४७ सालको निवेदन नं. १२३८

फैसला भएको मिति: २०४८।२।६।२ मा

पुनरावेदक/वादी: मनसा ठकुराठीको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी: का.जि. सोल्टी पछाडि बाफल डेरा गरी बस्ने राजु लामासमेत

पुनरावदेक/प्रतिवादी: म्याग्दी,पाखापानी गा.वि.स. वा.नं. ३ बस्ने भीमप्रसाद गौचनसमेत

विरुद्ध

विपक्षी/वादी: मनसा ठकुराठीको जाहेरीले श्री ५ को सरकार

मुद्दा : ज्यान मार्ने उद्योग

(१)    ततिम्बा बयान गराउन नमिल्ने गरी कुनै ऐन नियमले बन्देज लगाएको देखिँदैन, अ.बं. १३३ नं. मा सोध्नु परेको मनासिब माफिकको कुरा जहिलेसुकै सोधी कागज गराउन सक्ने गरी व्यवस्था भएको पाइन्छ । सो कानुनी व्यवस्थाबाट सोध्नु परेको कुरा (साविक पेज नं. १००) खुलाई ततिम्बा बयान गराउन मिल्ने ।

(प्रकरण नं. ४३)

(२)   छुट्टै साक्षीको रुपमा आएको नभई अभियोग लागी आएको र ती अभियोग लागेका सहअभियुक्तहरु स्वयं आफूले गरेको कसूर समेतलाई स्वीकारी पोल गरेको स्थितिमा निजहरुको पोलाइलाई आधार लिन मिल्ने ।

(प्रकरण नं. ४४)

(३)   श्री ५ को सरकार वादी मुद्दा, शुरु अदालतबाट फैसला भई सो फैसला उपर प्रतिवादीहरुले पुनरावेदन गरी तारीख गुजारी सकेपछि सो पुनरावेदनमा कारवाही गर्नुपर्ने हुँदैन, त्यस्तो पुनरावेदन डिसमिस गर्न नहुने कुनै कानुनले बन्देज लगाएको पनि नपाइने ।

(प्रकरण नं. ४५)

(४)   ज्यान मार्ने वा मार्नलाई बचन दिएको वा मार्न लगाएकोमा सो बमोजिमको कार्य पूर्ण भए पनि मानिस नमरेको अर्थात उनीहरुले सोचेको परिणाम ननिस्केको अवस्थामा ज्यान मार्ने उद्योगको अपराध कायम गरी सजायँ गर्ने व्यवस्था १५ नं. मा भएको पाइने ।

(प्रकरण नं. ४६)

(५)   १५ नं. ले स्पष्ट रुपमा ज्यान मार्ने उद्योग र १६ नं. ले षडयन्त्रको कसूरमा सजायँ गर्ने भिन्दा भिन्दै व्यवस्था गरेको देखिन्छ । उक्त व्यवस्थाबाट एउटै कसूरमा उक्त दुवै व्यवस्था एकैसाथ आकर्षित हुने नदेखिने ।

(प्रकरण नं. ४६)

(६)    १५ नं. को व्यवस्था आकर्षित भई सो बमोजिम सजायँ भएको हुँदा १६ नं. बमोजिम पनि सजायँ हुनु पर्ने भन्ने वादी श्री ५ को सरकारको पुनरावदेन जिकिर नमिल्ने ।

(प्रकरण नं. ४६)

(७)   पुनरावेदन सुन्ने अधिकारीलाई कसूरको मात्रा अनुसार त्यस्तो सजायँमा थप घट गर्न पाउने तजबिजी अधिकार भएको सजायँ घटाएको मिलेन भन्ने पुनरावेदन जिकिर पुग्ने अवस्था नरहने ।

(प्रकरण नं. ४६)

पुनरावेदक वादीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.

पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ, विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव, विद्वान अधिवक्ता श्री शम्भु थापा

फैसला

न्या.बब्बरप्रसाद सिंह

१.     प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भन्ने दुवै पक्षको पुनरावेदन परी पेश हुन आएकोमा मुद्दाको तथ्य यस प्रकार छ :

२.    मिति ०४३।५।२० गते राती कोठामा सुतिरहेको अवस्थामा ३ बजे केही पडकेको आवाजले (साविक पेज नं. १०१) बिउँझी हेर्दा लोग्ने पदम ठकुराठीको टाउकोमा गोली लागी रगत बगीरहेको रहेछ । तसर्थ अपराधीहरु पत्ता लगाई कार्यवाही गरी पाउँ भन्ने समेत मनसा ठकुराठीको जिल्ला प्रहरी कार्यालय काठमाडौंमा परेको मिति २०४३।५।२१ को जाहेरी ।

३.    घटनास्थलबाट रगत लागेको कपडा र ९ १९ एम.एम.एस. ७५ लेखिएको खोका फेला परेको समेत मिति २०४३।५।२१ को बरामदी मुचुल्का ।

४.    पदम ठकुराठीको टाउको काटी गोली निकालिएको र दाहिने आँखाको गेडा अपरेशन गरी निकालिएको भन्ने समेत मिति २०४३।५।२६ को घा जाँच केश फाराम ।

५.    व्यक्तिगत दुश्मनी कसैसंग नभएको, राजनीतिमा लागी पत्रकारिता पेशा रहेकोले राजनीतिक विचार र पत्रिकाको लेखले के कसलाई चोट पुर्‍यायो र कसले गोली हान्यो मैले ठोकेर शंका गर्ने ठाउँ छैन भन्ने समेत मिति २०४३।८।१३ को पदम ठकुराठीको कागज ।

६.    पोखरा न.पं. वा.नं. ८ बस्ने विजय पौड्यालको घरमा डेरा गरी बस्ने विकास गुरुङको डेरा खानतलासी गर्दा ९ १९ एम.एफ.एस लेखिएको ९ एम.एम. पेस्तोलको गोली ४ समेत बरामद भएको भन्ने समेत मिति २०४३।९।७ को मुचुल्का ।

७.    ०४३ साल भाद्रको दोस्रो हप्तातिरबाट भिमबहादुर गुरुङ मार्फत विकास गुरुङसंग सम्पर्क भयो । जगत र भीमप्रसाद गौचनको निर्देशन बमोजिम पदम ठकुराठीलाई मार्ने षडयन्त्रमा सम्मिलित भई विकास गुरुङ र गणेश थापाले हात्तिवनमा टेष्ट फायर गरी मिति २०४३।५।१९ गते बेलुकी म, विकास, गणेश थापा र शंकर विश्वकर्मा भई चावेल गई शान्त मल्लको ट्याक्सी रातभरलाई माग्दा नदिएकाले बानेश्वरसम्म पुर्‍याई दिए । त्यसबाट राजेश गुरुङको डेरा गई गणेश र शंकर नमानेकोले म र विकास गुरुङ पदम ठकुराठीको घर जाँदा जाली काट्ने कैची नहुनुको साथै बच्चाहरु पनि साथमा सुतेको देखी फर्की आयौं । भोलिपल्ट २० गते १० बजे ट्याक्सी चढ्न लाग्दा गणेश र शंकर नमानेकाले म र विकास राती २.३० बजे ठकुराठीको घरमा गई जाली काटी विकासले पेस्तोलले एक राउण्ड गोली हान्यो त्यसपछि भीमप्रसादको घर गई गोली हानेको भन्दा जगतलाई फोन गरी दिन्छु भने, पछि शंकर विश्वकर्माले पैसा लिई आए । विकासलाई जगतले मोटर साइकल किनी दिए, भीमप्रसादले १२ बोरको बन्दुक दिए भन्ने समेत राजु लामाको मिति २०४४।३।३ मा प्रहरीमा भएको बयान ।

८.    विकास र गणेश थापाले जगतले दिएको भनेको पेस्तोल देखाए पछि गोली हान्नु ३ दिन पूर्व गणेश र मैले ठकुराठीको घर पत्ता लगायौं मिति २०४३।५।२० गते चारैजना त्रिपुरेश्वरमा ट्याक्सी चढ्न लाग्दा गणेश र म नमानी विकास र राजु ठकुराठीको घरतर्फ लाग्यो मिति ०४३।५।२१ गते विहान ७ बजे होटेलमा आयौं । विकासले अ¥हाए बमोजिम जगतकहाँबाट पैसा लिई आएँ भन्ने समेत मिति २०४४।३।३ मा शंकर विश्वकर्माको प्रहरीमा भएको बयान ।

९.    रा.पं.स. चन्द्रबहादुर बुढाको सुन काण्डमा मेरो नाम मुछिनाको साथै ०४३ सालको आम निर्वाचन बारे जनज्योति साप्ताहिकका सम्पादक पदम ठकुराठीले विभिन्न आरोप छपाएकोले निजको हात भाँची तर्साउने विचार गर्दा भाइ जगतसंग कुरा गरें । पेस्तोल मैले दिएको छैन । घटनाबारे पूर्व जानकारी थिएन भन्ने मिति २०४४।३।३ को र म विकास र जगत बीचको सल्लाह भई विकास र राजुले मिति २०४३।५।२० गते गोली हानी भोलिपल्ट ४ बजे विहान आएकोले पैसा लिन फिजिकल फिटनेस जान भनेको थिएँ ४.४५ तिर फर्कें भन्ने समेत मिति २०४४।३।१८ को प्रहरीमा भएको भीमप्रसाद गौचनको बयान ।

१०.    आफ्नो पत्रिका मार्फत दाजु र मेरो बेइज्जत (साविक पेज नं. १०२) गरेकाले पदम ठकुरीलाई खत्तम पारे विकास गुरुङलाई रु. ३०,००० दिने र निजको मुद्दा पनि मिलाई दिन मञ्जूर गरें । सल्लाह अनुसार गोली हानी मिति २०४३।५।२१ गते विहान फिजिकल फिटनेसमा आए पछि सबै कुरा सोधी रु. ३०,०००।शंकर विश्वकर्मालाई दिएँ । २।३ घण्टा पछि रु. १०,००० दिएँ । मुद्दा मिलाई दिनु पर्दैन, मोटरसाइकल किनी देउ भनेपछि मोहनविरबाट विकासलाई मोटरसाइकल खरिद गरी दिएँ भन्ने समेत मिति २०४४।३।५ र ठकुराठीलाई खत्तम पार्न पेस्तोल माग गरेकोले प्रदिप शमशेरसंग मागी विकासलाई दिएको हुँदा पशुपतिबाट फर्कंदा ठकुराठीलाई गोली हानेको थाहा पाई भरत गुरुङसंग भन्दा चालिस हजार दिनु भनेकाले भरतको सल्लाहले रु. ४०,०००।शंकर विश्वकर्मालाई दिएको र भरतसंगबाटै पैसा ल्याई विकासलाई मोटरसाइकल खरिद गरी दिएको हुँ भन्ने समेत मिति २०४४।३।२० को प्रहरीमा भएको जगत गौचनको बयान ।

११.    जगतको भनाई अनुसार ठकुराठीको घर पत्ता लगाई विकास गुरुङ र गणेश थापालाई देखाएको हुँ । ठकुराठीलाई मार्ने बारे जगत, भिम र विकास बीच भएको षडयन्त्र पहिले नै थाहा थियो । डरले रुपन्देही गएकोमा जगत गौचनलाई भेट्न आउँदा पक्राउ परेको हुँ भन्ने समेत मिति २०४४।३।११ को प्रहरीमा भएको चक्रराज शर्माको बयान ।

१२.   कलेजमा पढ्दा देखिकै चिनजान भएका जगत गौचनले मधेश तिर जाँदैछु पिस्तौल दिनोस भनी मागेकाले बाबुको पिस्तोल र ७ राउण्ड र २ राउण्ड गोली दिएँ । मिति २०४३।५।२१ मा फिर्ता माग्दा दिएन । तिम्रो पेस्तोलबाट ठकुराठीलाई गोली हान्ने काम भएको छ भने पछि बोलाएर फिर्ता दिए भन्ने समेत मिति ०४४।३।२४ मा प्रहरीमा भएको प्रदिप शमशेरको बयान ।

१३.   अमरिकाको सनफ्रान्सिस्को जाँदा जगतसंग भेट भएको, ठकुराठीले मसमेत विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गरी पत्रिका निकालेको त्यसलाई कसैले ठिक गर्न सकेनन् भन्दा जगतले म ठिक गर्छु भनेको थियो । मिति २०४३।५।२१ मा जगतले ठकुराठीलाई गोली हान्ने काम भयो भनी रु. ४०,०००।मागी लगे । निजलाई मार्न म र जगत बीच कुरा मात्र भएको थियो । कसबाट कसको पिस्तोलले हान्न लगाए थाहा छैन भन्ने समेत मिति २०४४।३।२२ को प्रहरीमा भएको भरत गुरुङको बयान ।

१४.   छुट्टाछुट्टै व्यहोराको भीमप्रसाद गौचन र जगत गौचनको घर खानतलासी गरेको मिति २०४४।३।६ को खानतलासी र बरामदी मुचुल्का ।

१५.   मिति २०४३।८ मा बा.अ.प. ९८९२ को मोटरसाइकल जगत गौचनले रु. ३३ हजारमा किनेको हो भन्ने समेत मिति २०४४।३।७ मा प्रहरीमा भएको मोहनविर गुरुङको बयान ।

१६.    डिल्लीबजार खोरमा चिनिएका विकास गुरुङ र राजु लामा मिति ०४३।५।१८ र १९ गते गणेश थापा र शंकर विश्वकर्मा समेत ४ जना म कहाँ आई आलोपालो गरी सुते बसेका हुन । २० गते विकास र राजु मात्र आएपछि राजुलाई भेटी बानेश्वरको घटना तिमीहरुले गराएका हौ भनी सोद्धा होइन भन्थे भन्ने समेत मिति २०४४।३।७ को प्रहरीमा भएको राजेश गुरुङ र निजकी श्रीमती अनिता गुरुङको छुट्टा छुट्टै कागज ।

१७.   पहिले नै जानपहिचान भएका भीमप्रसाद गौचनले पत्रिकामा छापिएको कुरालाई लिई गाली बेइज्जती मुद्दा चलाएका, भरत गुरुङले सोही कुराबाट धम्की र गाली गर्थे निजहरुले नै मेरो ज्यान लिने षडयन्त्र गरेको हुनुपर्छ भन्ने समेत मिति २०४४।३।२५ को पदम ठकुराठीको प्रहरीमा भएको कागज ।

१८.   गोली र पेस्तोल सनाखत गरी दिएको राजु लामा, चक्रराज शर्मा, शंकर विश्वकर्मा र जगत गौचनको मिति २०४४।३।२५ को सनाखती कागज ।

१९.    पदम ठकुराठीले आफ्नो पत्रिकामा भरत गुरुङ, भीमप्रसाद र जगत गौचनको विरुद्धमा लेखेको कुरालाई लिएर प्रतिशोध लिन पक्राउ परेका र फरार रहेका अभियुक्तहरु समेतको मिलोमतो र सहयोगबाट पदम ठकुराठीलाई गोली हानी ज्यान मार्ने उद्योग गरेको हुनुपर्छ भन्ने समेत मिति २०४४।३।२६ को सरजमीन मुचुल्का । (साविक पेज नं. १०३)

२०.   संकलित सबूदप्रमाण तथा दशी समेतको आधारमा भीमप्रसाद गौचनले मुख्य भई षडयन्त्र गरेको जगत गौचनले षडयन्त्र गरी ज्यान मार्ने उद्योग गर्न लगाएको, राजु लामाले घटनास्थलमा उपस्थित भई ज्यान मार्ने उद्योग गर्न लगाई मद्दत गरेको, शंकर विश्वकर्मा, चक्रराज शर्मा र गणेश थापाले वारदात हुँदाको अवस्थामा घटनास्थलमा नगए तापनि षडयन्त्र गरी ज्यान मार्न उद्योग गर्न लगाई निजहरुले ज्यानसम्बन्धी महलको १, १५, १६, नं. को कसूर गरेको देखिँदा सोही महलको १६, १५ नं. बमोजिम हदैसम्म प्रदिप शमशेरले पेस्तोल र गोली उपलब्ध गराई ज्यान मार्नको निम्ति गोली हानी ज्यान मार्ने उद्योग गरी ज्यानसम्बन्धीको १ र १५ नं. को कसूर गरेकोले सोही महलको १५ नं. बमोजिम हदैसम्म कैदको सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको का.जि.अ.मा दाखिल भई मिति २०४४।३।३१ मा मध्यमाञ्चल वि.अ.मा सारी दायर भएको मिति २०४४।३।२८ को प्रहरी प्रतिवेदन ।

२१.   प्रदिप शमशेर बाहेकका प्रतिवादीहरु चिन्दछु गोली कहाँबाट ल्याए थाहा छैन देखाइएको पदम ठकुराठीलाई प्रहार गर्न लगेको पेस्तोल देखी पहिचान गरें । मोटर साइकल कसको कहाँबाट ल्याए थाहा छैन । विकास गुरुङ समेतको बल जबरजस्तीले गर्दा मलाई फसाएको मात्र हुन्, विकासकै डरले जाहेर गर्न नपाई नगरेको हुँ । प्रहरीले पक्राउ गरी लगेका हुन् भनी लेखिए बाहेक अरु प्रहरीमा भएको बयान मैले लेखाए बमोजिम छ । प्रहरी प्रतिवेदन अनुसारको अपराधमा सरिक छैन भन्ने समेत प्रतिवादी शंकर विश्वकर्माको म.वि.अ.मा भएको मिति २०४४।३।३० को बयान ।

२१.   भीमप्रसाद, जगत गौचन, चक्रराज शर्मा र पदम ठकुराठीलाई चिन्दिन । शंकर विश्वकर्मालाई चिन्दछु । विकास गुरुङ र गणेश थापा कहाँ छन् थाहा छैन । ठकुराठीसंग कुनै किसिमको रिसइवी छैन । विकास गुरुङको खबर अनुसार २०४३ सालमा असारतिर धौलागिरी छात्रावासमा जाँदा शंकर विश्वकर्मा र गणेश थापासंग परिचय भएको हो । विकासको भनाई अनुसार उसको पुरानो रिसइवीको मानिसलाई पिट्नु छ भन्दा मैले पुरानो इवी छोडी देउ भन्दा साथीलाई पर्दा मद्दत गर्दैनौ भनेकाले हेरौंला भनेको थिएँ । बच्चा बिरामी भएकोले भोलिपल्ट उनीहरुसंग गई पछि छात्रावासमा भेट हुँदा हिजो तीनैजना रिसइवी भएको मानिसकोमा जाँदा भेट भएन भनी विकासले भने आज घुम्न जाने भन्दा म मानिन विकास र गणेश थापा मोटर साइकलमा बसी रिभल्भर ट्राई गर्न गए । बेलुका छात्रावासमा गएपछि गणेश, विकास, शंकर र म चारैजना ट्याक्सीबाट बानेश्वरतिर  लाग्यौं । चिनेको ट्याक्सी छैन भनी विकासले भनेपछि दिने नदिने ट्राई गर्न मैले चिनेका चावहिलका शान्त मल्लको घरमा गई ट्याक्सी माग्दा नदिएकोले बानेश्वरसम्म पुर्‍याई दिए । विकासले त्यही राजेश गुरुङको डेरामा लगी राती १२ बजे चारैजना निस्कियौं । बाटोमा शंकरले जान्न भनेपछि शंकर र गणेशलाई त्यहीँ सुत्न भनी म र विकास गयौं । रिसइवी भएको मानिस आए नआएको हेरी आउँछु भनी राती १ बजेतिर मलाई मानिस हेर्न बाहिर राखी विकास गई आएको छैन भनी फर्कि आए । फर्केर राजेश गुरुङकोमा सुती भोलिपल्ट चारैजना धौलागिरी छात्रावासमा गई दिउँसो म घर गएँ बेलुका त्यही खाना खाई ८.३० तिर त्रिपुरेश्वरमा ट्याक्सी रोक्दा शंकरले जान नमानेकोले विकासले गणेश थापालाई शंकरलाई नछोडी सुत्न भने विकास र म बानेश्वर गई राजेशको घरमा सुती रातको १.३० बजेतिर विकासले उठाएपछि त्यो मानिसको घर गयौं । घर यही हो अरु मानिस आउला हेर भनी मलाई अह्राई विकास गए । आएको रहेछ भने बाहिर बोलाएर आउँछु भनी उ पछाडिपट्टि दक्षिण तिर गयो, कम्पाउण्ड बाहिर बसें त्यसको करिव एक डेढ घण्टा पछि ढ्यांग आवाज आयो । विकास दौडेर आई मलाई पनि दौडन भन्यो । बाटोमा सोद्धा त्यो (साविक पेज नं. १०४) मानिसलाई गोली हानें भन्यो नाम सोद्धा पदम ठकुराठी भन्यो त्यसपछि कुपण्डोल विहान ५.३० बजे विकाशले चिनेको मानिसको घर भनी ढोका खोल्न लगाई भित्र पसी चिया खायौं । बाटोमा माननीय भीमप्रसादको घर भन्थ्यो । त्यसपछि छात्रावासमा आई घर गएँ पछि गणेश र विकास मेरो कोठामा आई रु. १,०००।दिए पोखरा गई १८।१९ दिन बसी आएँ पछि २०४३।८।४ गते होटलबाट चिया खाई निस्कदा प्रहरीले पक्राउ गरेको हो । विकासको फोटो देखाई चिन्दछु भन्दा पोखरा गई डेरा देखाउँदा खानतलासी लिइयो । पेस्तोल गोली कहाँबाट बरामद भयो थाहा  छैन । मोटरसाइकल पोखरामा थियो । कहाँबाट बरामद भयो थाहा छैन । प्रहरीमा भएको बयान कुटपिट र यातनाले भएको हो भन्ने समेत व्यहोराको मिति ०४४।३।३० मा मध्यमाञ्चल विशेष अदालतमा भएको प्रतिवादी राजु लामाको बयान ।

२२.   मनसा ठकुरीलाई चिन्दिन । जगत गौचन भाइ हो ठकुराठी उपर गाली बेइज्जती मुद्दा दायर गरेको छ । राजु लामा, शंकर विश्वकर्मा, गणेशबहादुर, प्रदिप शमशेर समेतलाई थुनामा परेपछि चिनेको र विकास गुरुङ र पदम ठकुराठीलाई पहिले देखि चिन्दछु । सरजमीन कागज र बयानमा परेको सही स्वेच्छाको नभई जबरजस्ती भएको हो । देखाइएको गोली डि.एस.पि. अफिसमा पनि देखेको थिएँ पेस्तोल आजै देखेको हुँ । मोटरसाइकल कहाँ कसरी ल्याइयो थाहा छैन । ७।८ महीना देखि थुनी राखेको मानिसबाट बनावटी कुरा अजमाई मलाई फसाउने उद्देश्यले पोल गर्न लगाएका हुन ठकुराठीलाई मार्ने मराउने कार्यमा मुख्य भई शरिक भएको छैन । पेस्तोल दिई मानिस पठाएको  छैन । पत्रकारले लेख्दैमा मार्न लगाउने भए राष्ट्रपुकार र अरु केही पत्रिकाहरुले विभिन्न कुरा लेखेकोमा सम्पादक उपर त्यस्तो कार्य गराउने थिएँ होला पदम ठकुराठीलाई मार्ने मराउने काम गरेको छैन । मिति २०४३।५।२० गते म घरमा छु । तसर्थ म निर्दोष छु भन्ने समेत व्यहोराको मिति २०४४।३।३१ को प्रतिवादी भीमप्रसाद गौचनको बयान ।

२३.   भीमप्रसाद गौचन दाजु, चक्रराज चेला, प्रदिप शम्शेर प्रशिक्षक भएकोले चिन्दछु । प्रहरीमा भएको बयान र त्यसमा परेको सहिछाप स्वेच्छाको नभई जबर्जस्ती गराइएको हो । मिति २०४३।५।२० मा म कहाँ थिएँ भन्न सक्दिन, सो दिन निजहरुसँग भेट भएको छैन । सरजमीनका मानिसले किन त्यस्तो व्यहोरा लेखाए भन्न सक्तिन अधिकार प्राप्त अधिकारी समक्ष भरत गुरुड्ड, राजु लामा, शंकर विश्वकर्मा, चक्रराज शर्मा, भीमप्रसाद गौचन, प्रदिप शम्शेरको बयान र टंक गौचन तथा मोहनविरको कागजबाट लेखिएको भरत गुरुङसंग रुपैयाँ लिएको र मोहनवीरसँग मोटर साइकल किनी दिएको भन्ने कुराको हकमा कतिपय मानिसलाई म चिन्दिन, किन त्यस्तो कागज गरी दिए थाहा छैन । देखाइएको पेस्तोलका गोलीहरु र मोटरसाइकल सम्बन्धमा प्रहरीमा देखाइएको पेस्तोल र गोली यही वा अर्को हो थाहा छैन । मोटर साइकल मैले देखेको छैन । प्रहरी प्रतिवेदन दावी अनुसार मैले कसूर गरेको नहुँदा सजायँ हुनु पर्ने होइन भन्ने समेत प्रतिवादी जगत गौचनको म.वि.अ. मा भएको मिति २०४४।३।३१ को बयान ।

२४.   भीमप्रसाद र जगत गौचन बाहेकका प्रतिवादी चिन्दिन, मिति २०४३।५।२० गते रुपन्देहीको दिपनगरमा थिएँ । निजहरुसंग भेट भएको छैन । भिनाजुको घरमा गएको भन्ने र मिति २०४३।६।३२ बाट कराते सिक्न गएको भन्ने प्रहरीमा भएको बयान स्वेच्छाको नभई डर त्रासबाट भएको हो । ठकुराठीको ज्यान मार्ने उद्योगको काण्डमा म संलग्न छैन । भीमप्रसाद र जगतलाई चौथापटक फलफूल दिन जाँदा पक्राउ परेको हुँ । पेस्तोल मोटर साइकल कहाँबाट बरामद भयो थाहा छैन । मैले ठकुराठीको घर देखाएको भनी के कारणले पोल गरियो थाहा छैन । मासिक रु. ५००।मा मलाई जगत गौचनले नयाँ भर्ना हुने केटाहरुलाई नियम सिकाउने काम दिएका थिए । मैले कुनै कसूर गरेको छैन भन्ने समेत मिति २०४४।३।३१ मा प्रतिवादी चक्रराज शर्माको बयान ।

२५.   मनसा र पदम ठकुराठी तथा जगत र भिम (साविक पेज नं. १०५) प्रसाद गौचनलाई चिन्दछु । ठकुराठी काण्डमा संलग्नता लेनदेन इवी केही छैन । वारदात हुँदाको दिन रात सोल्टी होटलमा छु । पेस्तोल ठकुराठीलाई हान्न नभई मधेश जानको लागि जगतले मागी लगेका हुन । यसै पेस्तोलबाट वारदात भएको भन्ने थाहा थिएन । ठकुराठीलाई हान्न भनेको भए दिने थिइँन । पेस्तोल र पहिले ७ वटा र पछी २ वटा गोली जगतलाई मैले दिएको थिएँ । हालसम्म फिर्ता पाएको छैन । विश्वासमा दिएको पेस्तोलबाट विश्वासको दुरुपयोग भएको हो । तसर्थ प्रहरी प्रतिवेदन बमोजिम मलाई सजायँ हुनुपर्ने होइन भन्ने समेत मिति ०४४।३।३२ मा अदालतमा भएको प्र.प्रदिप शम्शेर राणाको बयान ।

२६.   २०४३ सालमा टंक गौचन मार्फत गोरखपुरबाट काठमाडौं आई गौचन दाजुभाइसँग भेट भो पछि फर्की गोरखपुर गएँ । पछि भाद्रमा हरिबहादुर राईद्वारा लिन पठाएपछि साथी गणेश थापा र शंकर विश्वकर्मालाई लिई म काठमाडौं आई भीमप्रसाद र जगत गौचनसंग भेट भयो । जगत गौचनले एक सरकार विरोधी पदम ठकुराठीलाई मार्न सक्छौ भने पछि सक्छु भनें, ठकुराठीको छापाखाना र घर पत्ता लगाउन शंकर विश्वकर्मा, गणेशबहादुर, चक्रराज हिंडे म राजुको खोजीमा हिंडे । छात्रावासमा बस्थ्यो भोलिपल्ट राजु छात्रावासमा आयो । शंकर समेतले ठकुराठीको घर पत्ता लगाए पछि जगतबाट पेस्तोल र गोली लियौं । जंगलमा पेस्तोल टेष्ट गरी ठकुराठीलाई गोली हान्ने योजना बनायौं । राजु लामा, गणेशबहादर, शंकर विश्वकर्मा र म त्रिपुरेश्वरबाट ट्याक्सीमा ठकुराठीको घरमा जाँदा उनी बाहिर गएका रहेछन फर्की छात्रावासमा आई बसें पछि भाद्र १९ गते पनि त्यसरी नै गयौं संयोग नमिली छात्रावास नै फक्र्यौं । सोही २० गते बेलुका ९ बजे चारैजना निस्की ट्याक्सी चढ्न लाग्दा शंकर विश्वकर्मा र गणेशबहादुर त्यही छुटे, म र राजु गयौं । ठकुराठी सुती सकेपछि १२१ बजेतिर गोली हान्ने सल्लाह अनुसार बानेश्वर राजेश गुरुङको डेरामा सुती १२ बजे उठी ठकुराठीको घर गयौं । राजुले अं. ३ बजेको समयमा जाली काटीसकेपछि झ्याल खोल्यो र उसलाई पेस्तोल दिंदा हात कमाई हान्न सकेन । मिस होला भनी पेस्तोल खोसी बत्तीको प्रकाशमा ठकुराठीको टाउको देखिएपछि ज्यान मार्ने उद्देश्यले टाउकोमा गोली हानेको हुँ । जगतले पैसाको आश देखाएकोले सो कार्य गरेको हुँ । त्यसपछि नयाँ बानेश्वर हुँदै भीमप्रसाद कहाँ गई सो खबर सुनाउँदा ठिक छ ऐले जाओ म जगतलाई फोन गरी दिन्छु भनेपछि छात्रावास गई सुत्यौं । भोलिपल्ट शंकरलाई पठाई जगतबाट ३० हजार ल्याए पछि शंकर, राजु र गणेशलाई रु. ५।५ हजार दिई रु. १५ हजार मैले लिएँ । २१ गते गणेश र म नारायणघाट गई पछि गोरखपुर पुगी ८।१० दिन बसी पोखरा आउँदा भीमप्रसाद गौचनले हानेको पेस्तोल मागे मैले नदिई नारायणघाट गएँ । जगत गौचन समेतले खोज्दै हिंडेकोमा भेट भई रु. ५० हजार जगतले दिएपछि पेस्तोल फिर्ता दिई पोखरा गई काठमाडौं आई जगतलाई भेटेपछि उनले रु. ३३ हजारमा मोटरसाइकल किनी दिए । मोटरसाइकल लिई पोखरा गई महीना दिनपछि काठमाडौं आउँदा राजु लामा पक्राउ परेको काण्ड म मिलाउँछु तिमी इण्डिया जाउ भनी जगतले भने पछि गाउँ हुँदै हरि राइसंग दिल्ली गई सपना होटलबाट जगतलाई ट्रंकल ग¥यौं । १ हप्तामा जगत दिल्ली आई रु. १० हजार होटल खर्च र रु. ५० हजार मलाई दिई नेपाल नआउनु भनी जगत काठमाडौं फर्किनु भयो । २।४ दिन बसी स्याङजा घरमा आई परिवारलाई खर्च दिई बम्बै गई जगतलाई ट्रंकल गरें । हरि राई हस्ते रु. ५० हजार पठाई दिनु भयो । १ मैना पछि पुनः खर्च माग्न टं«कल गर्दा आफैं आउँछु भने तापनि आउनु भएन । पक्राउ पर्नु भएछ । ३ महीना बम्बै बसी रुपन्देही खैरेनी आई बसें । ऐले १ महीना अगाडि परिवारलाई उपचार गराउन काठमाडौंमा पाल्पाका माननीय हरिबहादुर थापाको डेरा जाउलाखेलमा बसेको ८।१० दिन भयो । वन विभागको साथी भानु पाठकलाई भेट्न जाँदा बबरमहलमा प्रहरीले पक्राउ गरी ल्याएको हो । आज देखाइएको पेस्तोलले नै ठकुराठीलाई हिर्काएको हुँ । जगतले दिएका मध्येकै ४ (साविक पेज नं. १०६) वटा गोली पोखरा मेरा डेराबाट बरामद भएको हो । देखाइएको खोका ठकुराठीलाई मार्न भनी प्रयोग गरिएको गोलीको खोका हो । जगतले खरिद गरी दिएको मोटर साइकल पोखरा नयाँ बजार बस्ने सुदिप गुरुङलाई दिएको थिएँ । यही हो । नम्बरसम्म चेन्ज गरेछ । कानुनले जे ठहर्छ मञ्जूर छु भन्ने समेत प्रहरीद्वारा पक्राउ भई दाखिल भएका प्र.विकास गुरुङले मिति २०४५।२।२ मा म.वि.अ.मा गरेको बयान ।

२७.   प्र.गणेशबहादुरले शुरु म्यादै गुजारी बसेको ।

२८.   वादीतर्फबाट गवाह मनसा ठकुराठी, पदम ठकुराठी, शान्त मल्ल र मोहनवीर गुरुङ, प्र.भीमप्रसाद गौचनतर्फबाट रुद्रबहादुर के.सी. र नन्दबहादुर श्रेष्ठ, प्र.जगत गौचनतर्फबाट कृष्णप्रसाद लम्साल र देवकुमार बानिया, प्र.चक्रराज शर्माका खिमानन्द घिमिरे र चोलाकान्त घिमिरे, प्र.प्रदिप शमशेरका तर्फबाट के.वी. शाही, पदम ठकुराठी र योगेसप्रसाद लोहनी र अदालतबाट बुझिएका सीता थापा, कृष्णप्रसाद लम्साल, सैलजा थापा, अच्युत शर्मा, टंक गौचन र हरिबहादुर राई समेतको म.वि.अ.मा भएको अलग अलग व्यहोराको बकपत्र ।

२९.   मिसिल संलग्न संकलित सम्पूर्ण सबूद प्रमाण समेतको आधारमा प्रतिवादीहरु कसूरदार देखिएकोले प्रतिवादी विकास गुरुङलाई ज्यानसम्बन्धीको १५ नं. ले कैद वर्ष १२, प्र.राजु लामालाई ऐ.ऐनले कैद वर्ष ११, प्र.जगत गौचनलाई ऐ.ऐनको १६ नं. ले कैद वर्ष १२, प्र. भीमप्रसाद गौचनलाई ऐ.ऐनले कैद वर्ष १२, प्र.शंकर विश्वकर्मालाई ऐ.ऐनले कैद वर्ष ८ र प्र.प्रदिप शमशेरलाई ज्यानसम्बन्धीको १७(३) ले कैद महीना तीन ३, प्र.चक्रराज शर्मालाई ऐ.ऐनले कैद वर्ष १ महीना ६ हुने ठहर्छ । फरार रहेका प्र.गणेशबहादुर सिजाली थापा मगरको हकमा अ.बं. १९० नं. बमोजिम मुतलवी राखी दिनु भन्ने समेत व्यहोराको मिति २०४५।४।१७ को मध्यमाञ्चल विशेष अदालतको फैसला ।

३०.   प्र.भीमप्रसाद गौचन र जगत गौचनले पेस्तोल र गोलीको बन्दोवस्त गरी मानिस खोजी गोली हान्न लगाएको मिसिल संलग्न प्रमाणबाट देखिएकोले ज्यानसम्बन्धीको १५ र १६ को सजायँ हुनु पर्नेमा १६ नं. बमोजिम मात्र भएकोले सो कायमै गरी १५ नं. बमोजिम पनि, राजु लामा र शंकर विश्वकर्मा उपर ज्यानसम्बन्धी १५ र १६ नं. को सजायँ माग भएकोमा राजु लामालाई १५ नं. र शंकर विश्वकर्मालाई १६ नं. बमोजिम मात्र सजायँ भएकोले सो कायमै राखी राजुलाई १६ नं. र शंकर विश्वकर्मालाई १५ नं. बमोजिम पनि हदैसम्म, अपराधमा संलग्न भएका चक्रराज शर्मा मतलवी मात्र नभई सक्रिय देखिएकोले प्रहरी प्रतिवेदन माग दावी बमोजिम हदैसम्म र कसैको हत्या गर्ने कार्यमा प्रयोग हुने पेस्तोल दिई फिर्ता लिने तर्फ समेत कार्यवाही नगर्ने प्र.प्रदिप शमशेर ज.ब.रा. लाई पनि प्रहरी प्रतिवेदन बमोजिम हदैसम्म सजायँ गरी सो हदसम्म म.वि.अ., को मिति २०४५।४।१७ को फैसला बदर गरी प्रतिवादीहरुलाई माग दावी बमोजिम हदैसम्म सजायँ हुन अनुरोध छ भन्ने समेत व्यहोराको मिति २०४५।७।१९ मा मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको श्री ५ को सरकारको पुनरावेदन ।

३१.   जगत गौचन लगायतका अन्य प्रतिवादीले पनि अदालतमा इन्कारी बयान गरी कसूरमा मेरो संलग्नता नदेखिएकोमा दोषी ठहर्‍याई सजायँ गर्ने गरेको फैसला नमिलेको हुँदा सो फैसला उल्ट्याई सफाई पाउँ भन्ने समेत व्यहोराको मिति २०४५।४।३१ मा म.क्षे.अदालतमा दर्ता भएको प्र.भीमप्रसाद गौचनको पुनरावेदनपत्र ।

३२.   वादी पक्षबाट ठोस प्रमाण प्रस्तुत नहुनुका साथै ठकुराठीलाई मार्नु पर्ने रिसइवी र कुनै कारणै नभई मार्न लगाएको भनी कानुनको असमान प्रयोग गरी कसूरदार ठहर्‍याई सजायँबाट उन्मुक्ति पाउँ भन्ने समेत मिति (साविक पेज नं. १०७) २०४५।५।१६ को प्रतिवादी जगत गौचनको पुनरावेदन ।

३३.   अपराधमा संलग्नता नै नभएको र वादी पक्षबाट मेरो उपरमा उपयुक्त प्रमाणको भार पनि नपुर्‍याएको अवस्थामा दोषी ठहर्‍याई सजायँ गर्ने गरेको म.वि.अ. को फैसला बदर गरी पाउँ भन्ने समेत व्यहोराको मिति २०४५।५।३१ को प्र.चक्रराज शर्माको पुनरावेदनपत्र ।

३४.   थाहा पाएर प्रकाश नल्याएको कार्यलाई ज्यानसम्बन्धीको १७(३) नं. तथा अन्य कुनै कानुनले पनि त्यत्रो सजायँ गर्न नसक्ने र मेरो पीडित पक्ष विरुद्ध कुनै रिसइवी नभएको समेत कारणबाट अपराधमा संलग्न भई मतलवी कायम हुन नसक्ने हुँदा म.वि.अ.को फैसला बदर गरी वादी दावीबाट छुटकारा पाउँ भन्ने समेत मिति २०४५।७।१९ को प्र. प्रदिप शमशेर ज.ब.रा.को पुनरावेदन ।

३५.   अपराधको सल्लाहमा नपसेको, पीडित पक्षसंग चिनजान र रिसइवी समेत नभएको, वारदातस्थलमा जान इन्कार गरी डेरामा फर्केको समेत कारणबाट मेरो अपराधमा संलग्नता नभएकोमा प्रमाणको ठोस मूल्यांकन नगरी हचुवाका आधारमा दोषी ठहर्‍याई भएको म.वि.अ.को फैसला बदर गरी पूरै सफाई पाउँ भन्ने समेत मिति २०४५।७।१९ को प्र.शंकर विश्वकर्माको पुनरावेदनपत्र ।

३६.   पुनरावेदक प्रदिप शमशेर र चक्रराज शर्माले ०४६।३।१२ को तारिख गुजारेकोले निजहरुको पुनरावेदन अ.बं. १७९ नं. ले डिसमिस हुन्छ । अरु मिसिल संलग्न प्रमाणबाट प्रतिवादी जगत गौचन र भीमप्रसाद गौचनले पदम ठकुराठीको ज्यान मार्ने मतलवमा पसी ज्यानसम्बन्धीको १ नं. अन्तर्गतको ज्यान मार्न लगाउने कसूर गरेको ठहर्छ । प्रतिवादी शंकर विश्वकर्माले ज्यान मार्ने मतलवमा पसी ज्यान मार्न मद्दत पुर्‍याएको ठहर्छ । मध्यमाञ्चल विशेष अदालतले प्र.जगत गौचन, भीमप्रसाद गौचन र शंकर विश्वकर्मालाई ज्यानसम्बन्धीको १६ नं. को अभियोग कायम गरी सोही ऐन बमोजिम सजायँ गरेको फैसला केही उल्टी हुन्छ । सफाई पाउँ भन्ने प्रतिवादीतर्फको र कसूर र सजायँ थप हुनु पर्ने भन्ने वादी श्री ५ को सरकार तर्फको पुनरावेदन जिकिर पुग्न सक्दैन भनी प्र.भीमप्रसाद गौचन र शंकर विश्वकर्मालाई ज्यानसम्बन्धीको १५ नं. ले जनही कैद वर्ष ५ का दरले र प्र.जगत गौचनलाई ज्यानसम्बन्धीको १५ नं. ले कैद वर्ष ७ गर्ने भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४६।८।९।६ को फैसला ।

३७.   सो फैसलामा चित्त बुझेन ज्यानसम्बन्धीको १५ नं. को कसूर कायम गरी प्रतिवादीहरु भीमप्रसाद गौचन र शंकर विश्वकर्मालाई ५ वर्षका दरले, प्र.जगत गौचनलाई सात वर्ष कैद गरी विशेष अदालतको फैसला उल्टी गरी सजायँ घटाएको इन्साफ मिलेको छैन । प्रतिवादी प्रदिप शमशेर र चक्रराज शर्मालाई ज्यानसम्बन्धीको १७(३) लगाएको इन्साफ समेत मिलेको छैन । राजु लामालाई पनि कैद वर्ष ११ मात्र गरेको मिलेको छैन । सबै मिसिल प्रमाणहरुको मूल्यांकन गरी विशेष अदालतको नमिलेको हदसम्मको फैसला बदर गरी प्रहरी प्रतिवेदन दावी बमोजिमको प्रतिवादीहरुलाई हदैसम्म सजायँ गरी पाउँ भन्ने समेत श्री ५ को सरकारतर्फको पुनरावेदन ।

३८.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट बहस गर्न खटिई उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.ले पदम ठकुराठीको घर समेत देखाई दिने चक्रराज शर्मा र पेस्तोल गोली उपलब्ध गराई दिने प्रदिप शमशेर भएको यस्तोमा ज्यानसम्बन्धीको १७(३) नं. लगाई सजायँ गरेको मिलेको छैन । श्री ५ को सरकार वादी मुद्दा हो । निज प्र.चक्रराज र प्रदिप शमशेरको पुनरावेदन डिसमिस गरेको मिलेको छैन । प्रहरी प्रतिवेदन दावी बमोजिम सजायँ हुनुपर्छ । अरु जगत गौचन, भीमप्रसाद र राजु लामा र शंकर विश्वकर्मा (साविक पेज नं. १०८) समेतलाई ज्यानसम्बन्धीको १५ र १६ नं. समेत अनुसार सजायँको माग गरेकोमा ज्यानसम्बन्धीको १५ नं. अन्तर्गतको अपराध कायम गरी सजायँ घटाएको म.क्षे.अ.को इन्साफ मिलेको छैन । सजायँ घटाउनु पर्ने आधार पनि खुल्दैन । अ.बं. १३३ नं. ले आवश्यक देखेमा जहिले पनि बयान गराउन सक्छ । तसर्थ ततिम्बा बयान गराउन मिल्छ । विकास गुरुङ, हरिबहादुर राई, प्रदिप शमशेर समेतको बयानबाट प्र.भीमप्रसाद, जगत गौचनको प्रहरीको साविती पुष्टि भएको छ । तसर्थ म.क्षे.अ.को फैसला बदर गरी प्रतिवादीहरुलाई प्रहरी प्रतिवेदन दावी अनुसार हदैसम्म सजायँ हुनुपर्दछ भन्ने समेत बहस गर्नुभयो । पुनरावेदक जगत गौचनतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले अपराधी ठहराउन अपराधिकता प्रमाणित छ छैन हेर्नुपर्छ । प्र.जगत गौचन अदालतमा इन्कार रहेकोछ । मोहनवीर गुरुङ, हरिबहादुर राई समेतको भनाइको आधारमा दोषी ठहराएको क्षेत्रीय अदालतको तर्क गलत छ, विकास गुरुङ सहअभियुक्त हो मतियार होइन । सहअभियुक्तको बयानको आधारमा प्रतिवादीलाई दोषी करार गर्न प्रमाण ऐनको दफा ३८ ले मिल्दैन । प्रहरीमा भएको भरत गुरुङको बयानलाई प्रमाणमा लिन मिल्दैन । मोहनवीर गुरुङले ज्यान मार्ने सम्बन्धमा कुनै कुरा भनेको छैन । तसर्थ जगत गौचनलाई दोषी ठहराएको इन्साफ मिलेको छैन । सफाई हुनुपर्दछ भनी बहस गर्नुभयो । त्यस्तै पुनरावेदक प्रतिवादी भीमप्रसाद गौचनको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवले दावी किटान छैन । ज्यानसम्बन्धीको १।१५ र १६ नं. को दावी छ । प्र.भीमप्रसाद कुन कुराको अपराधमा संलग्न छ भन्ने वादी स्वयं निश्चित छैन । सहअभियुक्त राजु लामाले कहीँ पनि भीमप्रसादको नाउँ भनेको छैन । जगत गौचनले भीमप्रसादलाई देखाएको छैन । चक्रराजले पनि भीमप्रसादले यो कुरा गरेको भन्न सकेको छैन । तसर्थ भीमप्रसादले अभियोगबाट सफाई पाउनु पर्छ भन्ने र विद्वान अधिवक्ता श्री शम्भु थापाले ज्यानसम्बन्धीको १५ नं. षडयन्त्रकारीलाई लाग्दैन । ज्यानसम्बन्धीको १६ नं. षडयन्त्रकारीको लागि प्रयोग हुने हो । प्र.भीमप्रसाद गौचनले कुनै अपराध गरेको छैन । पदम ठकुराठीलाई मार्ने कुरा जगत गौचनसंग भएको भन्ने भरत गुरुङले बयान गरेको छ । तर भीमप्रसाद सम्मिलित भएको भने छैन । पेस्तोल गोली भीमप्रसादले दिएको होइन । विकास गुरुङ, राजु लामालाई भीमप्रसादले रकम दिएको पनि छैन । प्रहरीमा ततिम्बा बयान गराई सावित गराएको छ । सो ग्राह््य छैन । चक्रराजले खासखुस कुरा गरेको भनेको छ । मार्ने कुरा नै हो भनी कसरी थाहा भयो । सो बयानलाई मान्न मिल्दैन । भीमप्रसादले पदम ठकुराठीलाई मार्ने नियत भए बेइजति मुद्दा दिने नै थिएन । हरि राई, टंक गौचन र विकास गुरुङहरुको बयान एकआपसमा मिल्दैन । भीमप्रसादलाई अपराधी ठहर गर्न सबूद प्रमाण छैन सफाई पाउनु पर्दछ । लाग्ने नै हो भने केवल ज्यानसम्बन्धीको २५ नं. मात्र लाग्छ । तसर्थ सफाई पाउनु पर्दछ भनी बहस गर्नुभयो ।

३९.   आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ, छैन ? सो कुराको निर्णय दिनु पर्ने हुन आएकोछ ।

४०.   यसमा निर्णयतर्फ हेर्दा मौकामा परेको जाहेरी, सरजमीन, घटनास्थल प्रकृति मुचुल्का, घा जाँच फाराम समेतका प्रमाणहरुबाट पदम ठकुराठी उपर ज्यान मार्ने उद्योगले गोली प्रहार भई घाइते पदम ठकुराठी औषधोपचारबाट ज्यान बचेको मिसिलहरुका तथ्यबाट प्रमाणित भएको छ । प्रतिवादी मध्येका विकास गुरुङलाई ज्यानसम्बन्धीको १५ नं. ले १२ वर्ष कैद गर्ने फैसला गरेकोमा पुनरावेदन नपरेको र प्र.मध्ये गणेशबहादुर सिजाली थापा मगर फरार रहेकोले निजको हकमा मुलतवी रहेकोमा विचार गर्न परेन ।

४१.   प्रतिवादी मध्ये भीमप्रसाद गौचन तथा जगत गौचनलाई ज्यानसम्बन्धीको १५ नं. को अपराधमा क्रमशः कैद वर्ष पाँच र सात वर्ष सजायँ गरेको मध्य (साविक पेज नं. १०९) माञ्चल क्षेत्रीय अदालतको फैसला चित्त बुझेन । अभियोगबाट सफाई पाउँ भन्ने समेत जिकिर लिई निजहरुको पुनरावेदन परेतर्फ हेर्दा पुनरावेदक प्र.भीमप्रसाद गौचनले मेरो घरमा विकास गुरुङ समेत ३ जना, भाइ जगतलाई भेट्न आई रक्सी खाइरहेको देखें, निजहरु बीच के कुरा भयो सुनिन । पदम ठकुराठीले निजको आफ्नो पत्रिकामा चन्द्रबहादुर बुढाको सुन काण्डमा मेरो नाम समेत मुछी समाचार प्रकाशित गरी मेरो बेइज्जत गरेकोले सहन नसकी निजको हात भाँची तर्साउनु पर्‍यो भन्ने कुरा भाइ जगतसंग गरेको थिएँ । भाइले कुनै कुरा बोलेन । भाद्र २० गते राती पदम ठकुराठीलाई विकास गुरुङ समेतले गोली हानी आयौं भनी मेरो घरमा राती ४ बजे आई भनेका थिए भनी २०४४।३।३ मा र टंक गौचनले विकास गुरुङसंग भेट गराई दिएको र म, भाइ जगत र विकास गुरुङ पदम ठकुराठीलाई मार्ने र हामीले चाहिने सहयोग उपलब्ध गराइदिने सल्लाह गर्दाको अवस्थामा चक्रराज शर्मा मलाई भेट्न आएको रहेछ । हामी गफ गरिरहेको देखी फर्की गएको हो । भाइ जगतले २ राउण्ड गोली दिएका हुन् भाद्र २० गते राती पदम ठकुराठीलाई गोली हानी आयौं भनी विकास गुरुङ र राजुले भोलिपल्ट विहान मेरो घरमा आई मलाई बताएपछि बेश गरेछौ, भाइ यहाँ छैन पैसा लिन फिजिकल फिटनेश सेण्टर जाउ म फोन गरिदिन्छु भनी मिति २०४४।३।१८ मा आफ्नो स्वहस्ताले बयान लेखी प्रहरीमा सावित भएको देखिन्छ । तर अदालतमा बयान गर्दा प्रहरीमा कुट्छौं मार्छौ भनी जबरजस्ती संग माथिको निर्देशन बमोजिम कागज नगरे अदालत जान दिने छैनौ भनी यो बमोजिम लेखी सही गर भनी अपराधमा इन्कार रहेको छ । त्यसरी प्रहरीमा जबरजस्तीसंग साविती गराउनु पर्ने कारण प्रतिवादीले खुलाउन सकेको छैन । आफ्नो बयानको व्यहोरा सबै आफ्नो स्वहस्ताक्षरले लेखिएको छ त्यस्तो बयानलाई जबरजस्तीसंग गराएको भन्ने तथ्ययुक्त आधार देखाउन सकेको पाइएन ।

४२.   अर्को पुनरावेदक प्रतिवादी जगत गौचनले प्रहरी समक्ष पदम ठकुराठीले हाम्रो चरित्रहत्याको समाचार छापेकाले सहन सकेको थिएन । टंक गौचनले चिनाई दिएको विकास गुरुङ बराबर आउने गरेको थियो । एक दिन एकजनालाई ठीक गर्नुछ सक्छौ भन्दा सक्छु पेस्तोल चाहिन्छ पेस्तोल पनि आफैं ल्याउँछु भनी भने । पदम ठकुराठीलाई मार्ने कुरा हुँदा काम भइसकेपछि मैले ३० हजार दिने, जेलबाट भागेको मुद्दा मिलाई दिने कुरा स्वीकार गरे । गणेश थापा, शंकर विश्वकर्मालाई साथी भनी विकासले चिनाए । भाद्र २१ गते विहान पदम ठकुराठीलाई गोली हानेको खबर सुनँे । लाजिम्पाट मेरो अफिसमा शंकर विश्वकर्मा बसिरहेको निजबाट घटनाबारे सबै कुरा सोधेर रु. ३० हजार दिई पठाएँ । त्यसपछि रु. १०,००० दिई पठाएँ । तिहारपछि मोहनवीर गुरुङसंग रु. ३३ हजारमा मोटर साइकल किनी दिएँ भन्ने समेत मिति ०४४।३।५ मा र अमेरिका सनफ्रान्सिस्कोमा भरत गुरुङसंग भेट भई पदम ठकुराठीलाई खतम गर्ने कुरा भए अनुसार टंक गौचन मार्फत विकास गुरुङ भेटघाट गरी प्रदिप शमशेरबाट ९ एम.एम.को पेस्तोल गोली प्राप्त गरी विकास गुरुङलाई दिएँ । पदम ठकुराठीलाई गोली हानेको थाहा पाएपछि भरत गुरुङकहाँ गई रु. ४० हजार २ पटक गरी शंकर मार्फत दिएको हो । पेस्तोल प्रदिप शमशेरलाई फिर्ता दिएँ भन्ने समेत पुनः मिति २०४४।३।२० मा सबै विवरण खुलाई सावित भई बयान गरेको देखिन्छ । तर अदालतमा बयान गर्दा कुटी पिटी खान समेत नदिई लेखी राखेको कागजमा होस नभएको अवस्था सही गराएको हुनुपर्छ मैले कसूर गरेको छैन भनी इन्कार रहेको पाइन्छ । कसकसले कुटेपिटेको हो र खान नदिएको हो, सो कुरा खुलाउन सकेको छैन । कुटे पिटेको घा खत छ भन्न देखाउन समेत सकेको छैन । कागजमा भएको सहिछाप हेर्दा आफ्नै स्वहस्ताक्षरबाट सही भएको देखिन्छ । तर होस नभएको अवस्था स्वहस्ताक्षरबाट सही गरेको होला भन्न सक्ने अवस्था रहँदैन । तसर्थ सो प्रहरी समक्ष भएको उक्त बयान कागज कुटी पिटी लेखी राखेको कागजमा बेहोसी अवस्थामा सही गराएको भन्न तथ्ययुक्त आधारहरु खुलाउन सकेको देखिएन । (साविक पेज नं. ११०)

४३.   प्रहरीमा पुनरावेदकहरुलाई ततिम्बा बयान गराएको छ । ततिम्बा बयान गराउन पाउने अधिकार छैन भन्ने समेत पुनरावेदक प्रतिवादीहरुको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता तथा विद्वान अधिवक्ताहरुले बहस गर्नुभएतर्फ हेर्दा ततिम्बा बयान गराउन नमिल्ने गरी कुनै ऐन नियमले बन्देज लगाएको देखिँदैन । अ.बं. १३३ नं. मा सोध्नु परेको मनासिब माफिकको कुरा जहिलेसुकै सोधी कागज गराउन सक्ने गरी व्यवस्था भएको पाइन्छ । सो कानुनी व्यवस्थाबाट सोध्नु परेको कुरा खुलाई ततिम्बा बयान गराउन नमिल्ने देखिँदैन ।

४४.   प्रस्तुत मुद्दामा अपराधी ठहरी सजायँ पाइराखेका सहअभियुक्त प्रतिवादीहरु मध्ये विकास गुरुड्डले अदालतमा बयान गर्दा भीमप्रसाद, जगत गौचनले टंक गौचन, हरिबहादुर राई मार्फत मलाई लिन पठाएकोले काठमाडौं आएँ । भीमप्रसादको घरमा भीमप्रसाद, जगत गौचनसंग भेट भई जगत गौचनले एकजना मानिस मार्नु छ सक्छौ भन्दा मैले सक्छु भनेँ, पदम ठकुराठीको घर पत्ता लगाउने काममा शंकर विश्वकर्मा, गणेशबहादुर र चक्रराज लागे, मैले राजु लामालाई खबर गरें, जगत गौचनले पेस्तोल गोली दिए । भाद्र २० गते राजु लामा र म गई राजुले झ्यालको जाली काटी सकेपछि पेस्तोल दिएँ । हात कमाई हान्न सकेन । मैले पेस्तोल खोसी सुतिरहेका पदम ठकुराठीको टाउकोमा हानी त्यहाँबाट भागी भीमप्रसादको घरमा गई सबै कुरा भीमप्रसादलाई बताएँ । तिमीहरु जाउ म जगतलाई फोन गरी दिन्छु भने । जगत कहाँ शंकरलाई पैसा लिन पठाएँ । रु. ३० हजार लिई आए । जगत गौचनले मोटर साइकल समेत किनी दिए भनी पेस्तोल गोली खोखा समेत सनाखत गरी प्रतिवादी भीमप्रसाद र जगत गौचनलाई पोल गरेको छ । प्रतिवादी राजु लामाले पनि मेरो पुरानो रिसइवी परेको मानिसलाई पिट्न जाउँ भनी विकासले भनेकोले साथमा गएँ । म कम्पाउण्ड बाहिर बसें । म त्यो मानिस बोलाई ल्याउँछु भनी विकास भित्र गए, डेढ घण्टा पछि ढ्वाड्ड आवाज आयो विकास दौडी आयो । सोद्धा पदम ठकुराठीलाई गोली हानी आयौं भने भनी पोल गरेको पाइन्छ । प्रतिवादी शंकर विश्वकर्मा, गणेश थापा र मैले पदम ठकुराठीको घर पत्ता  लगायौं । भाद्र २० गते विकास र राजु पदम ठकुराठीको घरतर्फ लागे भोलिपल्ट विहान विकासहरु होटलमा आई मैले भीमप्रसादसंग कुरा गर्दा जगत कहाँ पैसा लिनु भनेको छ । पैसा लिएर आउ भनी विकासले भने अनुसार गई पैसा लिई आएको भनी सावित भई बयान गरेको छ । यसबाट पदम ठकुराठीको घर पत्ता लगाएकोमा सावित भई भीमप्रसादको भनाई बमोजिम जगत गौचनसंग पैसा लिई आएको कुरामा पोल गरेको देखिन्छ । प्रतिवादी चक्रराज शर्माले अदालतमा इन्कार रही बयान गरेको छ । तर प्रहरीमा बयान कागज गर्दा भीमप्रसादको घरमा भीमप्रसाद, जगत गौचन र विकास गुरुङ कुरा गरी बसेको म पुगेपछि चुप लागेकोले म फर्की आएपछि जगत गौचनले विकास गुरुङ बसेको धौलागिरी छात्रावास लजमा रु. ५००।दिन पठाएको र साप्ताहिक विमर्शको कार्यालय र पदम ठकुराठीलाई चिनाई दिन पठाई दिए अनुसार विकास गुरुङ र गणेश थापालाई चिनाई दिएँ । पदम ठकुराठीको घरमा फोन गरी महिलासंग घरको हुलिया लिई घर पत्ता लगाई दिए भनी बयान गरेको छ । यसबाट भीमप्रसाद, जगत गौचन र विकास गुरुङ कुरा गरी रहेको र जगत गौचनले विकास गुरुङलाई पदम ठकुराठीलाई चिनाई निजको घर देखाई दिएको कुरा स्वीकारी पोल गरेको देखिन्छ । प्रतिवादी प्रदिप शमशेर ज.ब.रा. ले तराइतिर जान भनी जगत गौचनले मसंग पेस्तोल गोली मागेकोले पेस्तोल र जम्मा ९ राउण्ड गोली दिएको हुँ । पदम ठकुराठीलाई गोली हानेको हल्ला सुनेपछि पेस्तोल फिर्ता मागें दुई तीन दिनपछि ल्याई दिन्छु भने, पुनः ल्याई दिनुहोस भन्दा तिम्रो पेस्तोलबाट पदम ठकुराठीलाई गोली हान्ने काम भएको छ । पख भनी भन्दा पछि फोनबाट बोलाई पेस्तोल फिर्ता दिएको हो भनी बयान गरेको छ । यसबाट पेस्तोल र (साविक पेज नं. १११) गोली जगत गौचनलाई दिएको र सो पेस्तोलबाट पदम ठकुराठीलाई गोली हान्ने काम भएको भनी जगत गौचनले भनेको भनी पोल गरेको पाइन्छ । उपर्युक्त सहअभियुक्तहरुले पुनरावेदक प्रतिवादीहरु भीमप्रसाद र जगत गौचन उपर पदम ठकुराठीलाई मार्न लगाउने भनी पोल गरेको पाइन्छ । निज सहअभियुक्तहरुको बयानको व्यहोरा बाझिएको भन्ने देखिँदैन । सो सहअभियुक्तहरुको पोल परस्पर एक अर्कोसंग मिली एकरुपता देखिन्छ । सो पोलाईलाई प्रमाणमा लिन मिल्दैन भन्ने प्रतिवादी पुनरावेदकहरुतर्फको भनाईको हकमा छुट्टै साक्षीको रुपमा आएको नभई अभियोग लागी आएको र ती अभियोग लागेका सहअभियुक्तहरु स्वयम आफूले गरेको कसूर समेतलाई स्वीकारी पोल गरेको स्थितिमा निजहरुको पोलाईलाई आधार लिन मिल्दैन भन्न कानुनसंगत देखिँदैन । सो सहअभियुक्तहरुको पोलाईबाट पुनरावेदक प्रतिवादीहरु भीमप्रसाद र जगत गौचनको प्रहरी समक्ष भएको साविती बयानको शंकारहित स्वतन्त्र प्रमाणबाट पुष्टी भइराखेको देखिन्छ । वादी तर्फका गवाह मोहनवीर गुरुङले जगत गौचनबाट रुपैयाँ लिई मोटर साइकल बिक्री गरी संदिपका नाउँमा नामसारी गरी दिएको भनी बकपत्र गरी दिएकोछ । त्यस्तै पिडीत पदम ठकुराठीले मैले पत्रिकामा छापेको कुराहरुबाट भीमप्रसाद समेतले दागा गरेका थिए । मेरो अफिसमा आई भिजिटिङ कार्ड लाने चक्रराजलाई चिन्दछु भनी सनाखत समेत गरी भीमप्रसाद गौचन समेत मिली मेरो ज्यान मार्ने उद्योग गरेका हुन् भनी बकपत्र गरी दिएका छन् । बुझिएका हरिबहादुर राइले लाउरेलाई बोलाई ल्याउ भनी भीमप्रसादले भनेकोले बोलाई ल्याएको भनी बकपत्र गरेको पाइन्छ । यस स्थितिमा उपर्युक्त उल्लेखित सबूद प्रमाणको आधारमा पुनरावेदक प्रतिवादीहरु भीमप्रसाद गौचन तथा जगत गौचन, पदम ठकुराठीको ज्यान मार्ने मतलवमा पसी ज्यान मार्न लगाउने कसूर गरेको भन्ने देखिन आयो । तसर्थ निज पुनरावेदक भीमप्रसाद गौचन र जगत गौचनलाई ज्यानसम्बन्धीको १५ नं. अन्तर्गत पदम ठकुराठीको ज्यान मार्न लगाउने कसूर गरेको ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिन आयो । प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्ने देखिएन ।

४५.   अब वादी श्री ५ को सरकार तर्फबाट पुनरावेदन परेतर्फ प्रदीप शमशेर र चक्रराज शर्माको पुनरावेदन मध्यमाञ्चल क्षेत्रीय अदालतले डिसमिस गरेको छ । श्री ५ को सरकार वादी मुद्दा हुँदा पुनरावेदन डिसमिस गरेको मिलेन भन्ने सम्बन्धमा हेर्दा वादी पक्षको र प्र.प्रदिप शमशेर समेतको पुनरावेदन परेकोमा प्रतिवादी प्रदीप शमशेर र चक्रराज शर्माले तारिख गुजारेको हुँदा निजहरुको पुनरावेदन डिसमिस गरेको देखिन्छ । श्री ५ को सरकार वादी मुद्दा शुरु अदालतबाट फैसला भई सो फैसला उपर प्रतिवादीहरुले पुनरावेदन गरी तारिख गुजारी बसेपछि सो पुनरावेदनमा कारवाही गर्नु पर्ने हुँदैन । त्यस्तो पुनरावेदन डिसमिस गर्न नहुने कुनै कानुनले बन्देज लगाएको पनि पाइन्न । तसर्थ निज प्रदीप शमशेर ज.ब.रा. र चक्रराज शर्माको पुनरावेदन डिसमिस गरेको कानुनसम्मत देखिन्छ ।

४६.   विद्वान सहन्यायाधिवक्ताले विपक्षीहरुले ज्यानसम्बन्धीको १६ नं. बमोजिम षडयन्त्रको कसूर समेत गरेको हुँदा १६ नं. बमोजिम पनि सजायँ हुनुपर्ने भनी जिकिर लिनु भएतर्फ हेर्दा ज्यानसम्बन्धीको १५ नं. मा ज्यान मार्ने मनसायले गोली चलाउने वा बम हान्ने वा घातक हतियारले काट्ने वा मार्नको लागि अरु जुनसुकै कुराको उद्योग गरी मर्नेसम्मको काम गरेकोमा कुनै कारणले ज्यान मर्न पाएको रहेनछ भने त्यस्तो काम गर्ने र गर्न लगाउने तथा सो ठाउँमा गई बचन दिने वा मद्दत गर्नेलाई ५ वर्ष देखि १२ वर्षसम्म कैद गर्नु पर्दछभन्ने उल्लेख भएको पाइन्छ । यसबाट ज्यान मार्ने वा मार्नलाई बचन दिएको वा मार्न लगाएकोमा सो बमोजिमको कार्य पूर्ण भए पनि मानिस नमरेको अर्थात उनीहरुले सोचेको परिणाम ननिस्केको अवस्थामा ज्यान मार्ने उद्योगको अपराध कायम गरी सजायँ गर्ने व्यवस्था उक्त १५ नं. मा भएको (साविक पेज नं. ११२) पाइन्छ । प्रस्तुत मुद्दाका प्रतिवादी मध्येका भीमप्रसाद गौचन, जगत गौचनले मार्न लगाएको र मार्ने काममा प्रत्यक्ष रुपमा सरिक भएका विकास गुरुङ र राजु लामाले ज्यान मार्नेसम्मको कार्य पूरा गरे पनि पदम ठकुराठीको मृत्यु नभएको हुँदा ज्यान मार्ने उद्योगको अपराध कायम गरी ज्यानसम्बन्धीको १५ नं. बमोजिम सजायँ हुने कसूर गरेको देखिन्छ । तर ज्यानसम्बन्धीको १६ नं. को व्यवस्था हेर्दा ज्यान मार्ने काममा वा ज्यान मर्न सक्ने कुनै कुरामा मुख्य भई षडयन्त्र गर्ने वा त्यस्तो काम गर्न लगाउनेलाई ज्यान मरेको रहेछ भने १० वर्ष देखि १५ वर्षसम्म कैदको सजायँ गर्नु पर्दछ । ज्यान मर्न पाएको रहेनछ भने ५ वर्ष देखि १२ वर्षसम्म कैद गर्नु पर्दछभन्ने उल्लेख भएको पाइन्छ । यसबाट ज्यान मार्ने वा मार्नुमा उद्योग गरेको बाहेक षडयन्त्रको कसूर गरेकोलाई मात्र सजायँको व्यवस्था भएको पाइन्छ । यसरी १५ नं. ले स्पष्ट रुपमा ज्यान मार्ने उद्योग र १६ नं. ले षडयन्त्रको कसूरमा सजायँ गर्ने भिन्दा भिन्दै व्यवस्था गरेको देखिन्छ । उक्त व्यवस्थाबाट एउटै कसूरमा उक्त दुवै व्यवस्था एकै साथ आकर्षित हुने देखिँदैन । माथि उल्लेख गरे बमोजिमका प्रतिवादीहरुको हकमा १५ नं. को व्यवस्था आकर्षित भई सो बमोजिम सजायँ भएको हुँदा १६ नं. बमोजिम पनि सजायँ हुनु पर्ने भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर मिल्ने देखिएन । प्रतिवादी प्रदिप शमशेर जबराले मसंग जगत गौचनले तराई तर्फ जान पेस्तोल र गोली मागेकोले दिएको भनेकोछ । पदम ठकुराठीलाई मार्ने नियतबाट दिएको भन्ने देखिँदैन । प्रतिवादी चक्रराजले पनि पदम ठकुराठीको ज्यान मार्ने उद्योगको कुरा थाहा पाई पदम ठकुराठीको घर अफिस पत्ता लगाई दिएको भन्ने देखिँदैन । यस स्थितिमा निजहरुलाई प्रहरी प्रतिवेदन दावी अनुसार ज्यानसम्बन्धीको १५।१६ नं. को अपराध गरेको भन्न मिलेन । ज्यानसम्बन्धीको १७(३) नं. अन्तर्गतको अभियोग कायम गरेको इन्साफ सदर गरेको मिलेको देखिन्छ । जहाँसम्म सजायँ घटाएको मिलेन भन्ने पुनरावेदन जिकिर सम्बन्धमा ज्यानसम्बन्धीको १५ नं. मा पाँच वर्ष देखि बा¥ह वर्षसम्म कैद गर्नुपर्छ भन्ने तजबिजी व्यवस्था गरेको पाइन्छ । मध्यमाञ्चल क्षेत्रीय अदालतले आफू समक्ष परेको पुनरावेदनबाट तथ्यमा प्रवेश गरी मध्यमाञ्चल विशेष अदालतले गरेको सजायँलाई घटाएको देखिन्छ । पुनरावेदन सुन्ने अधिकारीलाई कसूरको मात्रा अनुसार त्यस्तो सजायँमा थपघट गर्न पाउने तजबिजी अधिकार भएको पाइन्छ । यस्तोमा सजायँ घटाएको मिलेन भन्ने पुनरावेदन जिकिर पुग्ने अवस्था रहेन । तसर्थ प्रहरी प्रतिवेदन दावी अनुसार प्रतिवादीहरुलाई हदैसम्म सजायँ गरी पाउँ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने देखिन आएन । तसर्थ उपर्युक्त उल्लेख भए अनुसार मध्यमाञ्चल क्षेत्रीय अदालतले ठहराएको इन्साफ मनासिब ठहर्छ ।

४७.   ग.अ.प. ३४६ नं. को मोटरसाइकल र ऐ.को ब्लुबुक फिर्ता पाउँ भन्ने रामबहादुर गुरुङको नं. १२३८ मिति ०४७।११।१३ को निवेदन सम्बन्धमा सो मोटरसाइकल मुद्दा अन्तिम किनारा भएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता दिने भनी मध्यमाञ्चल विशेष अदालतको ०४५।४।१७ को फैसलामा उल्लेख भएको र मुद्दा आज किनारा भएकोले सो फैसला बमोजिम फिर्ता पाउने नै हुँदा यस्मा केही उल्लेख गरी रहन परेन । अरु तपसील बमोजिम गर्नु ।

तपसील

पुनरावेदक प्रतिवादी भीमप्रसाद गौचन के इन्साफ सदर ठहरेकोले पुनरावेदन गरे बापत शुरु कैद वर्ष ५। पाँच को अ.बं. २०३ नं. ले दोश्रो पुनरावेदन हुँदा त्यसको सयकडा पाँचले कैद ।३ तीन महीना थप कैद हुन्छ । बेरुजु हुँदा ऐन बमोजिम गर्नु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु..१, पुनरावेदक प्रतिवादी जगत गौचन के इन्साफ सदर ठहरेकोले पुनरावेदन गरे बापत शुरु कैद वर्ष ७। को अ.बं. २०३ नं. ले दोश्रा पुनरावेदन हुँदा त्यसको सयकडा पाँचले (साविक पेज नं. ११३) कैद, ४ महीना ६ दिन थप कैद हुन्छ । निज थुनामा हुँदा ऐन बमोजिम असूल गर्नु भनी काठमाडौं जि.अ.मा लगत दिनु...२, पुनरावेदन निर्णय भएको सूचना वादी श्री ५ को सरकार र पुनरावेदक प्र.जगत गौचनलाई दिनु...३, मिसिल नियम बमोजिम गरी बुझाई दिनु...............४

उक्त रायमा म सहमत छु । प्र.न्या.धनेन्द्रबहादुर सिंह

 

इतिसम्वत् २०४८ साल ज्येष्ठ ६ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु