शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १११६६ - जबरजस्ती करणी

भाग: ६५ साल: २०८० महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा

माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ

फैसला मिति : २०७९।१२।०६

 

मुद्दाः- जबरजस्ती करणी

 

०७५-CR-०१०५

पुनरावेदक / प्रतिवादी : धनप्रसादको नाति लोकप्रसाद रिमालको छोरा नुवाकोट जिल्ला, विदुर न.पा. वडा नं. ३ घर भई हाल जिल्ला कारागार कार्यालय नुवाकोटमा थुनामा रहेको धनप्रसादको नाति लोकप्रसाद रिमालको छोरा विनोद रिमाल

विरूद्ध

प्रत्यर्थी / वादी : परिवर्तित २५ जिल्ला विदुर न.पा. वडा नं. ४ बस्ने विदुर (त्र) को जाहेरीले नेपाल सरकार

 

०७५-CR-०२५३

पुनरावेदक / प्रतिवादी : जसो घलेको नाति चेन्ज घलेको छोरा नुवाकोट जिल्ला, विदुर न.पा. वडा नं. ४ घर भई हाल कारागार कार्यालय मकवानपुर भिमफेदीमा थुनामा रहेको वर्ष ३८ को दिनेश घले

विरूद्ध

प्रत्यर्थी / वादी : परिवर्तित २५ जिल्ला नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं. ४ बस्ने विदुर (त्र) को जाहेरीले नेपाल सरकार

 

०७८-CR-०९८०

पुनरावेदक / प्रतिवादी : नुवाकोट जिल्ला विदुर न.पा. वडा नं. ३ घर भई हाल जिल्ला कारागार शाखा विदुर नुवाकोटमा थुनामा रहेका वर्ष २५ को प्रेम थापा

विरूद्ध

प्रत्यर्थी / वादी : विदुर (त्र) को जाहेरीले नेपाल सरकार

 

पीडितको असहायपना र संवेदनशील अवस्था एवं न्यायिक प्रक्रियामा सहयोग गरेबापत उठाउनुपर्ने जोखिमको प्रकृति र मात्राको तुलनामा अभियुक्त पक्षबाट प्रयोग हुनसक्ने दबाब र प्रभावको सहजताका कारण पीडितले अदालतमा प्रतिकूल बकपत्र गर्ने सम्भावना बढी हुने ।

पीडितले मौकामा के बेहोरा लेखायो र अदालतमा के बेहोरा लेखायो भनी निजले लेखाएको बेहोरालाई यान्त्रिक रूपमा हेरी त्यस्तो बेहोराको सत्यताको परीक्षण गर्नेतर्फ नै नलागी प्रतिवादीलाई कसुरमा गढाउ वा कसुरबाट सफाइ दिनुपर्छ भन्ने मान्यतालाई सही मान्यता मान्न 

नसकिने । प्रमाण मूल्याङ्कनमा प्रमाणहरूको संख्याभन्दा पनि उपलब्ध प्रमाणहरूको विश्वसनीयता महत्त्वपूर्ण हुने ।

(प्रकरण नं.९)

 

वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री डम्बरप्रसाद काफ्ले

प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री सन्तोष नेपाल

अवलम्बित नजिर :

ने.का.प.२०६२, अङ्क १०, नि.नं.७६११

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने : 

माननीय न्यायाधीश श्री लोकजङ्ग शाह

नुवाकोट जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने : 

माननीय न्यायाधीश श्री नीता गौतम दीक्षित

माननीय न्यायाधीश श्री अनन्तराज डुम्रे

उच्च अदालत पाटन

 

फैसला

न्या.तिलप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ को उपदफा १ (ख) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने भनी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-

मुद्दाको संक्षिप्त तथ्य

जिल्ला नुवाकोट, विदुर न.पा. वडा नं.४ स्थित सेन्जायाङवो शेर्पाको घर भाडामा लिई गोसाईकुण्ड होटल सञ्चालन गर्दै आएकोमा मिति २०७३।३।७ गते साँझ अ.७ बजेको समयमा प्रतिवादीहरू दिनेश घले, प्रेम थापा र विनोद रिमालसमेत मेरो होटलमा आई रूस्लान भोड्का ठुलो एक बोतल र क्वाटर १ बोतल, सुकुटी मासु तथा चुरोटसमेत खाई त्यसपछि पुनः मासु तथा बियर ४ वटा तथा ४ वटा पेप्सीसमेत खाँदै गर्दा रातको अ.८:३० बजेको थियो । प्रतिवादीहरूले रक्सी लाग्यो यतै सुत्ने कोठा छ भनी सोधेकोले बिच तलामा सुत्ने कोठा छ भनेकोमा निजहरूलाई कोठा देखाई फर्किन लाग्दा निज प्रतिवादीहरूले कोठामा हिँड भनी मलाई जबरजस्ती समाती बोलिस् कराइस् भने मारिदिन्छु भनी काँधमा बोकी कोठामा लगी खाट बिस्तारामा लडाई निजहरूले मलाई जोरजुलुममा पारी बोलिस् कराइस् भने तेरो ज्यानै मारिदिन्छु भनी धाक धम्की दिएको र दिनेश घलेले आर्मीको जम्दार, विनोदले आर्मीको सुब्दार र प्रेम थापाले क्याप्टेन हो भन्दै दिनेश घलेले हात, प्रेम थापाले खुट्टा समाती चटपटाउनसमेत नदिई विनोद रिमालले मेरो सुरूवाल जबरजस्ती तानी खोली निजले लगाएको पाइन्ट कट्टुसमेत खोली जबरजस्ती करणी गरेपश्चात् विनोद रिमालले हात समाती दिनेश घलेले आफूले लगाएको पाइन्ट खोली जबरजस्ती करणी गरेको र अन्त्यमा दिनेशले खुट्टा समाती प्रेम थापाले आफूले लगाएको पाइन्ट खोली जबरजस्ती करणी गरेको हो । प्रतिवादीहरूले मेरो इच्छाविपरीत जबरजस्ती करणी गरेको पीडा सहन नसकी रूँदै गर्भ बस्यो भने मैले कसरी समाजमा मुख देखाई हिँड्ने भन्दा प्रतिवादीहरूले हामीसँग अस्थायी साधन कण्डम (ढाल) छ भनी कण्डम लगाई पुनः ३ जना प्रतिवादीहरूले पटकपटक करणी गरी राति अ.११:३० बजेको समयमा मलाई समात्न छोडेपछि बाहिर जाने होइन, रातभरि यहीँ सुत्ने हो भनेकोले म पिसाब गरी आउँछु भनी कोठाबाट बाहिर निस्की भाग्दै गर्दा बाटोमा मोबाइल गस्ती प्रहरीलाई भेटी घटना बारेमा बताएकोमा तत्काल प्रहरीले निजहरूलाई खोज्दै जाँदा विनोद रिमाल, प्रेम थापा भागेको तर दिनेश घलेलाई मिति ०७३।३।८ गते अ.०१:०० बजे प्रहरीले फेला पारी पक्राउ गरेको हो । निज प्रतिवादीहरूले मेरो होटलमा आई रक्सी मासु, वियर चुसेटसमेत रू.८२००।- को खाएको र म भागेपछि काउन्टरमा रहेको रू.९०००।- समेत निकाली लगेकोले रू.१७,२००।- समेत निजहरूबाट दिलाई भराई उचित क्षतिपूर्तिसमेत दिलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको पीडित परिवर्तित नाम विदुर (त्र) को जाहेरी ।

जिल्ला नुवाकोट, विदुर न.पा. वडा नं. ४ स्थित पूर्वमा सडक, पश्चिम बारी, उत्तर छत्रबहादुर घलेको घर, दक्षिण नारायण घलेको घर यति चार किल्लाभित्र सेन्जायाङवो शेर्पाको घरको माथिल्लो तलामा गोसाईकुण्ड होटल सञ्चालन गरेको, बिच तल्लाको कोठामा मानिस सुत्ने ३ वटा खाटसहितको बिस्तरा भएकोमा पूर्वतर्फको कुनामा रहेको खाटको तन्ना यत्रतत्र खुम्चिएको, सो तन्नामा ठाउँ ठाउँमा लस्सादार पदार्थ लागेको दाग देखिएको, उक्त खाटमुनि ३ वटा अस्थायी साधन कण्डम प्रयोग गरी फालेको र ३ कण्डमको खोलसमेत रहेको, भुइँमा रातो रंगको चुरा फुटी टुक्राहरू छरिएको अवस्थामा रहेको, घटनास्थलमा प्रयोग भएको कण्डम तथा खोल, चुराको टुक्राहरू र दाग लागेको तन्नासमेत प्रहरीले अनुसन्धानको क्रममा सङ्कलन गरी लगेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।

लिङ्ग तथा शरीरको अन्य भागमा कुनै चोट घाउ नभएको भन्ने बेहोराको दिनेश घलेको स्वास्थ्य परीक्षण प्रतिवेदन ।

निज विनोद रिमालको स्वास्थ्य परीक्षण गर्दा लिङ्ग तथा शरीरको अन्य भागमा कुनै चोट घाउ नभएको भन्ने बेहोराको विनोद रिमालको स्वास्थ्य परीक्षण प्रतिवेदन ।

बच्चा भइसकेको कारण करणी भएको छ छैन भन्न नसकिने भन्ने बेहोराको पीडित विदुर (त्र) को स्वास्थ्य परीक्षण प्रतिवेदन ।

मिति ०७३।३।७ गते साँझ ०७:०० बजेको समयमा म, विनोद रिमाल र प्रेम थापासमेत जाहेरवालाको होटलमा गई रक्सी मासु खाँदै जाहेरवालीसँग कुरा गर्दा जाहेरवाली मात्र होटलमा रहेकोले हामीहरू यतै सुत्ने र जाहेरवालीसँग मोजमस्ती गर्ने भन्ने सल्लाह गरी जाहेरवालीले कोठा देखाई फर्किन लाग्दा कोठामा हिँड् भन्दा नमानेकोले मैले निजलाई बोलिस् कराइस् भने मारिदिन्छु भनी बोकी लगी खाटमा लडाई मैले हात, प्रेम थापाले खुट्टा समाती चल्न नदिई पहिला विनोद रिमालले, त्यसपछि विनोद रिमालले हात समाती मैले करणी गरेँ र त्यसपछि मैले खुट्टा समाती प्रेम थापाले करणी गरेकोमा निज पीडितले मेरो पेटमा बच्चा बस्ने भयो भनी रूँदै गरेकीले हामीसँग अस्थायी साधन पनि छ भनी कण्डम लगाई फेरी पनि पहिला जस्तै तीनै जनाले कण्डम लगाई पालैपालो १।१ पटक करणी गरेको हो । करिब ८:३० बजेतिरबाट करणी गर्न सुरू गरेको हो । तीनै जनाले २।२ पटक करणी गर्दा रातको ११:३० बजेको 

थियो । त्यसपछि तिमी पनि यही कोठामा रातभरि हामीसँगै सुत्नुपर्छ भनी हामीहरूले निजलाई समात्न छाडेपछि निज जाहेरवाली पिसाब गरी आउँछु भनी भागेको हुँदा हामीहरू पनि अब प्रहरी आउँछ भनी घरबाट निस्की भागेकोमा मलाई प्रहरीले भाग्दै गर्दा भेटी समातेको र अरू साथीहरू भाग्न सफल भएको हो । जाहेरवालीको जाहेरीमा पैसासमेत लगेको भनी उल्लेख गरेको रहेछ तर पैसा मैले लगेको छैन, साथीहरूले लगेको भए थाहा भएन, रक्सी मासु खाएको पैसा तिरेको छैन भन्नेसमेत बेहोराको प्रतिवादी दिनेश घलेले मौकामा गरेको बयान ।

म नेपाल आर्मीको दुर्गावक्ष गण अछाममा कार्यरत सिपाही हो । मिति ०७३।३।७ गते साँझ ७ बजेतिर म, दिनेश घले र प्रेम थापासमेत जाहेरवालाको होटलमा गई रक्सी मासु खाएको हो । रक्सी मासु खाँदै जाहेरवालासँग कुरा गर्दा निज जाहेरवाली मात्र होटलमा रहेकोले हामी तीनै जनालाई रक्सी लाग्दै गएकोले आज हामीहरू यतै सुत्ने र जाहेरवालीसँग मोजमस्ती गर्ने भन्ने सल्लाह भई निज जाहेरवालीलाई सुत्ने कोठा देखाइदिनु भनेपछि कोठा देखाई फर्कन लाग्दा कोठामा हिँड् भन्दा नमानेकोले दिनेश घलेले बोलिस् कराइस् भने मारिदिन्छु भनी बोकी लगी खाटमा लडाई दिनेश घलेले हात समाती प्रेम थापाले खुटा समाती चल्न नदिई पहिला मैले निज जाहेरवालीलाई करणी गरेको र त्यसपछि मैले हात समाती दिनेश घलेले करणी गरे र त्यसपछि मैले खुट्टा समाती प्रेम थापाले करणी गरेकोमा निज पीडितले मेरो पेटमा बच्चा बस्ने भयो भनी रूँदै गरेकीले हामीसँग अस्थायी साधन पनि छ भनी कण्डम लगाई फेरि पनि पहिला जस्तै तीनै जनाले कण्डम लगाई पालैपालो १।१ पटक करणी गरेको 

हो । करिब ८:३० बजेतिरबाट करणी गर्न सुरू गरेको 

हो । तिनै जनाले २।२ पटक करणी गर्दा रातको ११:३० बजेसम्म गरेको हो र त्यसपछि तिमी पनि यही कोठामा रातभरि हामीसँगै सुत्नुपर्छ भनी हामीहरूले निजलाई समात्न छाडेकोमा निज जाहेरवाली पिसाब गरी आउँछु भनी भागेको हुँदा हामीहरू पनि अब प्रहरी आउँछ भनी घरबाट निस्की भागेकोमा दिनेशलाई राति नै प्रहरीले समातेको हो । जाहेरवालाको जाहेरीमा पैसासमेत लगेको भनी उल्लेख गरेको रहेछ तर पैसा मैले लगेको छैन, साथीहरूले लगेको भए थाहा भएन, रक्सी मासु खाएको पैसा पनि तिरेको छैन भन्नेसमेत बेहोराको विनोद रिमालको बयान ।

मिति ०७३।३।७ गते राति घटना भएको अवस्थामा नदेखे पनि भोलिपल्ट मिति ०७३।३।८ गते घटनाबारे सुन्दा बुझ्दा प्रतिवादीहरू दिनेश घले, विनोद रिमाल र प्रेम थापासमेतले निज पीडित जाहेरवाली महिलालाई सामूहिक रूपमा जबरजस्ती करणी गरेकोमा पूर्ण विश्वास लाग्छ । घटनास्थलको अवस्था हेर्दा घटनास्थलमा ३ वटा प्रयोग भएको अस्थायी साधन कण्डम फेला पर्नु र चुरा फुटेका, तन्नामा वीर्य पदार्थको दाग लागेको अवस्थामा देखिनुबाट निजहरूले सामूहिक रूपमा पीडित महिलामाथि इच्छाविपरीत जबरजस्ती करणी गरेको हो । निजहरूलाई कानूनबमोजिम कारबाही गरी पीडितलाई उचित क्षतिपूर्तिसमेत दिलाई भराइदिनुपर्छ भन्नेसमेत बेहोराको करिब एकै मिलानको बुझिएका मानिसहरू अनिता लामा, मजा घले र रबहादुर गुरूङको कागज ।

प्रतिवादीहरू दिनेश घले, विनोद रिमाल र प्रेम थापासमेतले जाहेरवालीलाई सामूहिक रूपमा जबरजस्ती करणी गरेको उक्त कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र ३क नं. अनुसारको कसुर अपराध भएकोले उक्त कसुरमा निज प्रतिवादीहरू दिनेश घले, विनोद रिमाल र प्रेम थापालाई सोही ऐनको ३ नं. को देहाय (५) नं. र ३क नं. बमोजिम थप सजाय गरी सोही ऐनको १० नं. बमोजिम पीडितलाई प्रतिवादीहरूबाट उचित क्षतिपूर्तिसमेत भराइपाउन मागदाबीसहितको अदालतमा पेस गरेको अभियोगपत्र ।

जाहेरी दरखास्तको बेहोरा पढी बाची सुनाउँदा सुनी पाएँ । मिति २०७३।०३।०७ गते बेलुका ८:३० बजेतिर नाम परिवर्तित विदुर (त्र) को घर होटलमा म, दिनेश घले र प्रेम थापासमेत तीनै जना गई टेबलमा बसी वियर र रूस्लानसहितका खाने कुरा मगाई नाम परिवर्तित विदुर (त्र) र हामीहरूबिच सँगै बसी रक्सी खाइरहेका थियौं । त्यसपछि नाम परिवर्तित विदुर (त्र) बढी नसाको सुरमा थिए । यतिकैमा मैले यहाँ सेक्स गर्न पाइन्छ भनी भन्दा १ जनाको १ पटकको रू.५,००।- दिएपछि हुन्छ भनेकोले तल कोठामा गई नाम परिवर्तित (त्र) ले मलाई ढाल दिएपछि मैले लगाई नाम परिवर्तित विदुर (त्र) लाई सेक्स गरेको हो । उक्त सेक्स राजीखुसीबाट भएको हो । कुनै जोर जुलुममा पारी जाहेरीमा उल्लेख भएको बेहोराबमोजिम 

होइन । नाम परिवर्तित विदुर (त्र) पैसा लिई यौन व्यवसाय चलाई बस्ने मान्छे हो । त्यसकारण जाहेरीको बेहोरा झुट्टा हो । हामीले खाएको रक्सी रूस्लानलगायतका पैसा थिएन । गाउँकै मान्छे हुँदा भोलि दिउँला भनी हिँडेको हो भन्नेसमेत बेहोराको प्रतिवादी विनोद रिमालले अदालतमा गरेको बयान ।

जाहेरी दरखास्तको बेहोरा पढी बाची सुनाउँदा सुनी पाएँ । मिति २०७३।३।७ गते बेलुकी ८:३० बजेतिर पीडितको पसलमा म, विनोद रिमाल र प्रेम थापासमेत भई रक्सी खान गई रक्सी माग्दा पीडित पनि रक्सी खाई बसेको रहेछ । अन्य साथीहरूले पनि त्यो त पैसामा सेक्स गर्न दिन्छ भनेको थाहा पाई हामीहरू पनि गई त्यहाँ रूस्लान, वियर, सुकुटीसमेत खाइरहँदा बस्दा निज पीडितको बानी बेहोरा थाहा पाइसकेपछि रू.५००।- मा मोल छिनी म पनि तल कोठामा गई नाम परिवर्तित विदुर (त्र) सँग राजीखुसीले सेक्स गरेको हो । जाहेरीमा उल्लिखित बेहोरा झुट्टा हो भन्नेसमेत बेहोराको प्रतिवादी दिनेश घलेले सुरू अदालतमा गरेको बयान ।

यसमा मिसिल संलग्न आधार प्रमाणबाट तत्काल यी प्रतिवादीहरू निर्दोष छन् भनी भन्न सक्ने अवस्था नदेखिँदा पछि ठहरेबमोजिम हुने गरी हाललाई अ.बं. ११८ को देहाय दफा २ बमोजिम मुद्दाको पुर्पक्षको निमित्त अ.बं. १२१ नं.बमोजिम थुनुवा पुर्जी दिई कारागार कार्यालय नुवाकोटमा पठाइदिनु भनी भएको सुरू अदालतको थुनछेक आदेश ।

जाहेरी दरखास्तको बेहोरा पढी बाची सुनाउँदा सुनी पाएँ । यसमा मेरो बेहोरा यो छ कि मिति २०७३ असार ७ गते साँझ ७ बजेको समयमा म विदुर चोकमा बसिरहेको समयमा दिनेश घले र विनोद रिमाल म भएको ठाउँमा आई खाजा र रक्सी खान जाउँ भनी भने र म पनि उनीहरूसँगै जाहेरवालाको गोसाईकुण्ड होटलमा गयौं । त्यहाँ गएर मासु रक्सी बियरहरू हामीहरू तीनै जनाले खायौं । अन्दाजी रातको ९:३० बजेको समयसम्म बस्यौं । त्यसपछि दिनेश घले र विनोद रिमाललाई त्यहीँ छाडी म आफ्नो घर गएको हो । उनीहरू रक्सी खाई बसेका थिए । मैले जाहेरवालीलाई जबरजस्ती करणी गरेको छैन । मैले नगरेको कुरालाई किन मेरो नाममा जाहेरी दिए मलाई थाहा छैन । दिनेश घले र विनोद रिमालले जाहेरवालीलाई जबरजस्ती करणी गरेको कुरा पनि मलाई थाहा छैन । जाहेरवालीलाई जबरजस्ती करणी हामीहरू तिनजनाले गरेको भन्ने हल्ला त्यसको भोलिपल्ट सुनेको हो । सो कुरा सुनेपछि म काठमाडौं गई त्यहिं बसेको हो । म मिति २०७३।०८।०३ गते घरमा आएको बेलामा प्रहरीले पक्राउ गरेको हो । मैले जाहेरवालीलाई जबरजस्ती करणी नगरेकोमा मलाईसमेत पोली दिएको जाहेरी दरखास्त झुट्टा हो भन्नेसमेत बेहोराको प्रतिवादी प्रेम थापाले सुरू अदालतमा गरेको बयान ।

यसमा मिसिल संलग्न आधार प्रमाणबाट तत्काल यी प्रतिवादी प्रेम थापा निर्दोष छन् भनी भन्न सक्ने अवस्था नदेखिँदा पछि ठहरेबमोजिम हुने गरी हाललाई अ.बं. ११८ को देहाय दफा २ बमोजिम मुद्दाको पुर्पक्षको निमित्त अ.बं. १२१ नं.बमोजिम थुनुवा पुर्जी दिई कारागार कार्यालय नुवाकोटमा पठाइदिनु भनी सुरू अदालतबाट भएको थुनछेक आदेश ।

जाहेरवाली राम्रो चरित्र भएकी महिला 

होइनन् । यिनले विदुरदेखि पिपलटारसम्म विभिन्न समयमा होटल व्यापार व्यवसाय चलाउँदै आएकीले यिनले धेरै मानिसहरूलाई फसाउने र आर्थिक लाभ लिने गरेको भन्ने सुनेको छु । त्यसैले यी प्रतिवादीहरू विनोद रिमाल र दिनेश घलेसमेतले अभियोग दाबीबाट सफाइ पाउनुपर्छ भनी प्रतिवादी दिनेश घलेको साक्षी नमराज पाण्डे र शुशिल के.सी.समेतले सुरू अदालतसमक्ष गरेको बकपत्र ।

मिति २०७३।३।७ गतेको घटना विवरण कागजको बेहोरा पढी बाची सुनाउँदा सुनी पाएँ । उक्त बेहोरामा के के लेखिएको थियो मलाई केही थाहा छैन । प्रहरीले लेखेको कागजमा सही गर भनेकोले सहीछापसम्म गरिदिएको हो, अरू केही थाहा छैन भन्ने बुझिएका मजा घलेले सुरू अदालतसमक्ष गरिदिएको बकपत्र ।

जाहेरवाली र मेरो घर एकै ठाउँमा जोडिएको अवस्थामा भएकोले उक्त होटलमा भएको होहल्ला मेरा घरका मानिसले सुन्न सकिने अवस्था छ । मैले उक्त घटना भएको दिन बेलुका ९:३० बजेतिर प्रतिवादी प्रेम थापालाई उक्त होटलबाट निस्की आफ्नो घरतर्फ लाग्दै गरेको भेटी कताबाट आएको भनी सोध्दा अङ्कल खाजा खाएर आएको हुँ भनेका थिए । सो अवस्थामा सम्म उक्त होटलमा केही हो-हल्ला थिएन । त्यसैले जबरजस्ती करणी गरेको भन्ने कुरा मलाई विश्वास लाग्दैन । पछि लेनदेनको कुरा नमिलेर उजुरी दिएको भन्ने कुरा सुन्नमा आएको हो भन्नेसमेत बेहोराको प्रतिवादी प्रेम थापाको साक्षी नारायणकुमार घलेले सुरू अदालतसमक्ष गरेको बकपत्र । 

मिति २०७३।३।८ गते को जिल्ला प्रहरी कार्यालय नुवाकोटमा चढाएको जाहेरी बेहोरा पढी बाची सुनाउँदा सुनी पाएँ । बेहोरा मैले भनेबमोजिम लेखिएको र त्यसमा भएको सहीछाप मेरो हो । प्रतिवादीहरूले मेरो होटलमा भएको रू.३०,०००।- लिएको र खाजा खाएको पैसासमेत नतिरेको हुँदा मैले उजुरी दिएको 

हो । सजाय हुनुपर्ने होइन भन्ने बेहोराको जाहेरवाली विदुर (त्र) ले सुरू अदालतसमक्ष गरेको बकपत्र ।

प्रतिवादीहरू दिनेश घले, विनोद रिमाल र प्रेम थापाले अभियोग दाबीबमोजिमको कसुर गरेको पुष्टि भएको अवस्थामा यी प्रतिवादीहरूले अभियोग दाबीबमोजिमको कसुर गरेको ठहर्छ । सो ठहर्नाले निज प्रतिवादीहरूलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(५) र ३क नं.बमोजिम जनही १० (दश) वर्ष कैद हुने ठहर्छ । साथै ऐ. महलको १० नं.बमोजिम ती प्रतिवादीहरूबाट पीडितलाई जनही रू.१०,०००।- (दश हजार) क्षतिपूर्तिबापत भराइदिने ठहर्छ भन्ने सुरू अदालतको मिति २०७४।२।३१ को फैसला ।

जिल्ला अदालतको फैसलामा चित्त बुझेन । जोहरवालीसँगै बसी रक्सी खाई, जाहेरवालीले ढाल दिएपछि मैले लगाई जाहेरवालीलाई यौन सम्पर्क गरेको हो, सो यौन सम्पर्क राजीखुसीबाट भएको हो, कुनै जोर जुलुमबाट भएको होइन, जाहेरीमा उल्लेख गरेबमोजिम जबरजस्ती करणी गरेको होइन, हामीले खाएको रक्सीलगायतको पैसा गाउँकै मानिस भएको कारणले भोलि दिउँला भनी नदिएको हो, सोही पैसा नदिएकै रिसले लगाएको झुठ्ठा जाहेरी हो भनी बयान गरेको अवस्था छ । सो बयान बेहोरालाई नै पुष्ट्याईं हुने गरी जाहेरवालीले अदालतमा आई बकपत्र गरेकोले जाहेरवालीको अदालतको बकपत्र र म पुनरावेदकको अदालतको बयान बेहोरा मेल खाएको कारणले पनि जबरजस्ती करणी भएको होइन भन्ने कुरा प्रस्ट हुन्छ । अदालतमा गरेको बकपत्रलाई प्रमाणमा नलिने हो भने प्रमाण ऐन, २०३१ को दफा १८ मा भएको कानूनी मकसदको कुनै अर्थ रहँदैन । तसर्थ माथि प्रकरणहरूमा उल्लेख गरेबमोजिम म पुनरावेदकलाई जबरजस्ती करणीको कसुरदार ठहर गरी सुरू नुवाकोट जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा गरी अभियोग दाबीबाट सफाइ दिलाइपाउँ भन्ने पुनरावेदक विनोद रिमालले उच्च अदालत पाटनमा पेस गरेको पुनरावेदन पत्र ।

म पुनरावेदकले जाहेरवालीलाई जबरजस्ती करणी गरेको वारदात स्थापित नभएको अवस्थामा मलाई कसुरदार कायम गरी गरिएको फैसला स्वतः बदरभागी छ । सोभन्दा बाहेक पनि मेरो हक हितमा कुनै पनि प्रतिकूल असर नपर्ने गरी वैकल्पिक जिकिरको रूपमा यदि एकैछिनको निम्ति म पुनरावेदकले अनुसन्धानको क्रममा गरेको बयानबमोजिमको कार्य Actus Reus गरेको रहेछु भन्ने प्रमाणित भएको खण्डमा पनि सम्मानित सर्वोच्च अदालतबाट “अपराधमा व्यक्तिको सहमति अथवा क्रियात्मक व्यवहार मात्र सम्बन्ध हुन सक्ने हुँदा कानूनसम्मत नदेखिने (ने.का.प.२०४७, अङ्क १२, ७३९) लगायतमा प्रतिपादित विभिन्न नजिर सिद्धान्तसमेतको आधारमा प्रस्तुत मुद्दामा जबरजस्ती करणीको वारदात कायम हुन नसक्ने स्पष्ट भएको हुनाले जिल्ला अदालतले म पुनरावेदक विरूद्ध गरेको उल्लिखित फैसला स्वतः बदरभागी छ । अतः मुद्दाको तथ्य, प्रचलित कानून, फौजदारी न्यायका प्रचलित मान्य सिद्धान्त, प्रमाण कानूनसम्बन्धी प्रचलित मान्य सिद्धान्त एवं सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तहरूसमेतको आधारमा मैले जबरजस्ती करणीको कसुर नगरेको प्रमाणित हुँदाहुँदै पनि मलाई सोमा कसुरदार ठहर गरी नुवाकोट जिल्ला अदालतले गरेको फैसला बदर गरी मलाई पूर्णतः सफाइ दिलाइपाउँ भन्ने पुनरावेदक दिनेश घलेले उच्च अदालत पाटनमा दायर गरेको पुनरावेदन पत्र ।

जाहेरवाली पीडित स्वयंले आफूउपर जबरजस्ती करणी नभएको तथ्यलाई स्वीकार गरेको र निजले व्यक्त गरेको सो तथ्यलाई वादी स्वयंको साक्षी मजा घलेले अदालतमा उपस्थित भई गरिदिएको बकपत्र एवं पीडित भनिएकी जाहेरवाली स्वयंको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट थप समर्थन एवं पुष्टि भइरहेको अवस्थामा जबरजस्ती करणीको वारदात स्थापित गर्नु मिसिल संलग्न यी तथ्य प्रमाणहरूको ठाडै विपरीत भई हचुवा हुनुको साथै अदालतबाट फैसला गर्दा पीडितलाई पर्न जाने सामाजिक, मानसिक पीडातर्फ कुनै ध्यान विचार गरिएको छैन । प्रस्तुत मुद्दामा जबरजस्ती करणीको वारदात नै स्थापित नभइरहेको अवस्थामा मिसिल संलग्न तथ्य प्रमाणहरूको विपरीत जबरजस्ती करणी जस्तो गम्भीर फौजदारी अभियोगमा सजाय हुने गरी भएको सुरू नुवाकोट जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरिपाउँ भन्ने बेहोराको पुनरावेदक प्रेम थापाले उच्च अदालत पाटनमा दायर गरेको पुनरावेदन पत्र ।

पीडित जाहेरवालीउपर जबरजस्ती करणीको कार्य भएको भन्ने निजको शारीरिक परीक्षणबाट देखिन नआएकोले निजले सुरू जाहेरीको बेहोरा, पीडितले अदालतमा गरेको बकपत्र र वादीका साक्षी मजा घलेले गरेको बकपत्रसमेतको सन्दर्भमा प्रतिवादीहरूलाई कसुरदार ठहर गर्ने सुरू अदालतको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. को प्रयोजनार्थ उच्च अदालत नियमावली, २०७३ को नियम ६४ बमोजिम प्रत्यर्थी नेपाल सरकारलाई आदेश र पुनरावेदन पत्रको प्रतिलिपिसहित पेसीको सूचना दिई नियमानुसार पेस गर्नुहोला भन्ने मिति २०७४/०८/०४ को उच्च अदालत पाटनको आदेश ।

प्रतिवादीहरूले आरोपित जबरजस्ती करणीको कसुर गरेको ठहर गरी जबरजस्ती करणीको महलको १ नं. को कसुरमा ऐ.३(५) नं. तथा ३क नं.बमोजिम जनही १० (दश) वर्ष कैद र पीडितले क्षतिपूर्तिबापत निज प्रतिवादीहरूबाट जनही र १०,०००/- (दश हजार) भरिपाउने ठहर गरेको फैसलामा कुनै कानून त्रुटि देखिन नआएकोले सुरू नुवाकोट जिल्ला अदालतको मिति २०७४/०२/३१ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत पाटनको मिति २०७४।११।८ को फैसला ।

घटना विवरण कागज गर्ने मानिस मजा घलेको मिति २०७३।०९।२२ को अदालतको बकपत्र बेहोरा, जाहेरवालीको मिति २०७३।१२।०२ को अदालतको बकपत्रको बेहोरा, मिति २०७३/०३/०९ को स्वास्थ्य परीक्षण प्रतिवेदन तथा प्रतिवेदन दिने विशेषज्ञ डाक्टरको मिति २०७४।१०।२९ को उच्च अदालत पाटनमा भएको बकपत्र, पुनरावेदक प्रतिवादीको अदालतको बयान, पुनरावेदक प्रतिवादीका साक्षीको बकपत्र बेहोरासमेतका आधार प्रमाणबाट जबरजस्ती करणी होइन भन्ने कुरा पुष्टि भइरहेकोमा मिसिल संलग्न यी प्रमाणहरूको उचित रूपमा मूल्याङ्कन नगरी प्रमाणमा लिनुपर्ने ग्रहणयोग्य प्रमाणलाई प्रमाणमा ग्रहण नगरी न्यायिक मनको प्रयोग नगरी जाहेरवालीले अदालतमा स्वतन्त्र रूपमा गरेको बकपत्रलाई गलत अर्थ र व्याख्या गरी पूर्वाग्रही भई उच्च अदालत पाटनबाट भएको फैसला कानूनसम्मत, न्यायसङ्गत एवं तर्कपूर्ण नभएको हुँदा उच्च अदालत पाटनको मिति २०७४|११|८ को फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको मिति २०७५।३।२२ को प्रतिवादी  विनोद रिमालका तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

घटना विवरण कागज गर्ने मानिस मजा घलेको बकपत्र, जाहेरवालीको अदालतमा भएको बकपत्र, स्वास्थ्य परीक्षण प्रतिवेदन, विशेषज्ञ डाक्टरको उच्च अदालत पाटनमा भएको बकपत्र, मैले सुरू अदालतमा गरेको इन्कारी बयान, मेरो साक्षीको बकपत्रसमेतबाट जबरजस्ती करणी भएको प्रमाणित नभएको अवस्थामा खाली शंकाको भरमा न्यायिक मनको प्रयोग नगरी प्रमाणहरूको उचित मूल्याङ्कन नगरी जाहेरवालीको भनाइलाई गलत अर्थ र व्याख्या गरी जाहेरी दरखास्तलाई मात्र आधार लिई भएको फैसला कानूनसम्मत नभएको र सो फैसलाले सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित कानून सिद्धान्तसमेतको अनदेखा गरेको हुँदा उच्च अदालत पाटनको फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने बेहोराको प्रतिवादी दिनेश घलेका तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

जाहेरवालीले मसमेतउपर जबरजस्ती करणीको कसुरमा जाहेरी दर्ता गरे तापनि पछि अदालतसमक्ष बकपत्र गर्दा आफूले पहिले दिएको जाहेरी दरखास्तलाई खण्डन गरिदिएकी छन् । वादी नेपाल सरकार स्वयंको तर्फबाट सम्मानित अदालतसमक्ष आई बकपत्र गरिदिने साक्षी मजा घलेले पनि प्रस्ट रूपमा अघि आफूले अनुसन्धान अधिकारीसमक्ष गरेको कागजको बेहोरा आफूले भनेबमोजिम लेखिएको होइन भनी खण्डन गरिदिएका छन् । मैले अदालतमा गरेको बयानमा स्पष्ट रूपले आफूले जाहेरवालीलाई करणीसम्म पनि नगरेको तथ्य उल्लेख गरेको छु । सो बयानलाई मेरो साक्षीले पनि समर्थन गरिदिइरहेको अवस्था विद्यमान छ । तत्काल पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा पनि जाहेरवालीउपर जबरजस्ती करणी त के करणीसम्म पनि भएको छ छैन भन्न नसकिने भन्दै निजको शरीरमा कुनै घाउ चोट नभएको तथा निजको मानसिक अवस्था सामान्य रहेको भन्ने तथ्य देखिएको छ । पीडितको शरीरमा सङ्घर्षका चिह्नहरू देखिएका छैनन् । यसरी जाहेरवालीको जाहेरी दरखास्त माथि उल्लिखित तथ्य प्रमाणहरूबाट खण्डित भइरहेको अवस्थामा आत्मगत एवं मनोगत रूपमा व्याख्या विश्लेषण गरी मलाई हराई भए गरिएको उच्च अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी अभियोग दाबीबाट सफाइ दिलाइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी प्रेम थापाका तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

यसमा प्रतिवादीहरू विनोद रिमाल, दिनेश घलेले मौकामा बयान गर्दा कसुरमा स्वीकार रही बयान गरेको भए तापनि निज प्रतिवादीहरूले अदालतसमक्ष बयान गर्दा कसुरमा इन्कार रही बयान गरेको देखिन्छ । पीडित जाहेरवालीले आफूलाई प्रतिवादीहरूले जबरजस्ती करणी गरेका होइनन् भनी जाहेरी बेहोराविपरीत अदालतमा बकपत्र गरेको साथै डाक्टरको रिपोर्टअनुसार करणी भएको छ छैन भन्न नसकिने भन्ने पीडित जाहेरवालीको शारीरिक परीक्षण रिपोर्ट देखिएबाट सोको विश्लेषण तथा विवेचना नगरी अभियोग माग दाबीबमोजिम कसुर ठहर गरी सजाय गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०७४/११/०८ को फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४० (३) नं. को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई प्रस्तुत पुनरावेदनपत्रको नक्कलसहित पेसीको जानकारी दिई नियमानुसार गरी पेस गर्नु भन्ने बेहोराको यस अदालतको मिति २०७७।९।२८ को आदेश ।

यस अदालतको ठहर

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी आज यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पीडित परिवर्तित नाम विदुर (त्र) लाई जबरजस्ती करणी गरेको भनी प्रतिवादीहरू विनोद रिमाल-१, दिनेश घले-१ र प्रेम थापा-१ गरी जम्मा ३ जनाउपर मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. र ३क नं. को कसुरमा सोही महलको ३(५) नं.बमोजिम सजाय हुन र ३क नं.बमोजिम थप सजायसमेत हुन तथा सोही महलको १० नं.बमोजिम पीडित परिवर्तित नाम विदुर (त्र) लाई प्रतिवादीहरूबाट क्षतिपूर्तिसमेत दिलाइ भराइपाउन माग दाबी लिई वादी नेपाल सरकारको तर्फबाट अभियोग पत्र दायर भएको रहेछ । सुरू जिल्ला अदालतबाट फैसला हुँदा प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिम नै मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(५) र ३क नं.बमोजिम जनही १० वर्ष कैद हुने र पीडित परिवर्तित नाम विदुर (त्र) ले प्रतिवादीहरूबाट जनही रू.१०,०००।- (दश हजार रूपैयाँ) का दरले क्षतिपूर्तिसमेत भराइपाउने ठहराई फैसला भएको रहेछ । सो फैसलाउपर प्रतिवादीहरूको पुनरावेदन परेकोमा उच्च अदालतबाट पनि सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहरी फैसला भएको रहेछ । उक्त फैसलाउपर चित्त नबुझाई प्रतिवादीहरूको तर्फबाट प्रस्तुत पुनरावेदन यस अदालतमा पर्न आएको देखियो ।

प्रस्तुत मुद्दामा आज सुनुवाइको क्रममा पुनरावेदक प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री सन्तोष नेपालले पीडितले प्रतिवादीहरूउपर मौकामा किटानी जाहेरी दिएको भए पनि अदालतमा मौकाको जाहेरी बेहोराभन्दा फरक बेहोराको बकपत्र गरेको, मौकामा कागज गर्ने मजा घलेले मौकामा गरेको कागजमा आफूलाई जबरजस्ती सहीछाप गर्न लगाएको भनी बकपत्र गरेको, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन तथा स्वास्थ्य परीक्षण गर्ने चिकित्सकले अदालतमा गरेको बकपत्रबाट जबरजस्ती करणी भए नभएको विषयमा यकिनसाथ भन्न सकेको नदेखिएको र प्रतिवादीहरूले अदालतमा जबरजस्ती करणी गरेको तथ्यमा इन्कार रही बयान गरेकोलगायतका मिसिल संलग्न अन्य प्रमाणहरूबाट पीडितउपर जबरजस्ती करणी भएको भन्ने तथ्य प्रमाणित हुन नआएको हुँदा प्रतिवादीहरूलाई कसुरदार ठहराई सुरू जिल्ला अदालतबाट भएको फैसलालाई सदर हुने ठहराएको उच्च अदालतको फैसला उल्टी गरी प्रतिवादीहरूलाई कसुरबाट सफाइ दिलाइपाउँ भनी बहस गर्नुभयो । प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री डम्बरप्रसाद काफ्लेले प्रतिवादीहरूउपर किटानी जाहेरी परेको, अनुसन्धान अधिकारीसमक्ष प्रतिवादीहरूले जबरजस्ती करणी गरेको तथ्य स्वीकार गरी बयान गरेको र अदालतमा बयान गर्दा पनि सहमतिमा करणी गरेको तथ्यलाई स्वीकार गरी बयान गरेको, सहमतिमा करणी गरेको भन्ने तथ्य प्रमाणित गर्न सकेको नदेखिएको हुँदा प्रतिवादीहरूले अभियोग दाबीबमोजिमको कसुरबाट सफाइ पाउने स्थिति छैन, कसुरदार ठहर गरी भएको सुरू नुवाकोट जिल्ला अदालतको फैसला सदर हुने ठहर गरी भएको उच्च अदालत पाटनको फैसला कानूनबमोजिम मिलेकै देखिँदा सदर गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।

प्रतिवादीहरूका तर्फबाट पर्न आएको पुनरावेदन पत्रमा लिइएका जिकिरहरू, पुनरावेदक प्रतिवादीहरू र वादी नेपाल सरकार दुवैतर्फका विद्वान् अधिवक्ता तथा उपन्यायाधिवक्ताबाट प्रस्तुत हुन आएका बहस बुँदाहरू एवं मिसिल संलग्न कागजातहरू अध्ययन गरी इन्साफतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा देहायका प्रश्नहरूमा निरूपण गर्नुपर्ने देखिन आयो : 

क. पुनरावेदक प्रतिवादीहरूले पीडित परिवर्तित नाम विदुर (त्र) लाई जबरजस्ती करणी गरेको देखिन्छ वा देखिँदैन ? र,

ख. प्रतिवादीहरूका हकमा जबरजस्ती करणीको कसुर गरेको ठहराई उच्च अदालत पाटनबाट भएको फैसला मिलेको देखिन्छ वा देखिँदैन ?

 

२. निरूपण हुनुपर्ने उपर्युक्त प्रश्नहरूका सन्दर्भमा मिसिल संलग्न कागजातहरू अध्ययन गर्दा जिल्ला नुवाकोट विदुर नगरपालिका वडा नं. ४ स्थित सेन्जायाङवो शेर्पाको घर भाडामा लिई गोसाईकुण्ड नामको होटल सञ्चालन गर्दै आएकी परिवर्तित नाम विदुर (त्र) ले मिति २०७३।३।७ गते साँझ अन्दाजी ७ बजेतिर प्रतिवादीहरूले आफूलाई जबरजस्ती करणी गरेको भनी जाहेरी दरखास्त दिएपछि प्रस्तुत वारदातका सम्बन्धमा अनुसन्धान तहकिकातको कार्य सम्पन्न भई प्रतिवादीहरूउपर तत्काल प्रचलित मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र ३क नं.बमोजिमको कसुर गरेको भनी सोही महलको ३(५) नं.बमोजिम सजाय गरी सामूहिक रूपमा जबरजस्ती करणी गरेतर्फ ३क नं.बमोजिमको थप सजायसमेत हुन र १० नं.बमोजिम प्रतिवादीहरूबाट पीडितलाई क्षतिपूर्ति भराइपाउनसमेतको माग दाबी लिई प्रस्तुत अभियोग पत्र दायर हुन आएको पाइन्छ । वादी र प्रतिवादीहरू दुवैका तर्फबाट आ-आफ्नो पक्षमा आधार बनाइएका विषयहरूलाई हेर्दा प्रस्तुत मुद्दामा प्रमाणका रूपमा मूलत: पीडित परिवर्तित नाम विदुर (त्र) को जाहेरी र अदालतमा भएको बकपत्र, घटनास्थल मुचुल्का, पीडित तथा प्रतिवादी विनोद रिमालको स्वास्थ्य परीक्षण प्रतिवेदन, प्रतिवादीहरू दिनेश घले र विनोद रिमालले अनुसन्धान अधिकारीसमक्ष र अदालतमा गरेको बयान, बुझिएका मानिसहरू अनिता लामा, मजा घले र विरबहादुर गुरूङको कागज, मजा घलेको अदालतमा भएको बकपत्र, प्रतिवादी प्रेम थापाले अदालतमा गरेको बयान र प्रतिवादीका साक्षीहरूको बकपत्र रहेको देखिन्छ ।

३. उल्लिखित प्रमाणहरूमध्ये पीडित परिवर्तित नाम विदुर (त्र) को जाहेरी बेहोरा हेर्दा मिति २०७३।३।७ गते साँझ ७ बजेतिर प्रतिवादीहरू तीनै जना रक्सी लागेको अवस्थामा आफ्नो होटलमा आइपुगेका, आफ्नो होटलमा आएपछि पनि सुकुटी मासु र रक्सी, बियर, पेप्सी खाएका, ८:३० बजेतिर रक्सी लाग्यो अब यतै सुतौं भन्ने कुरा गरी सुत्ने कोठा छ छैन भनी सोधेकोमा सुत्ने कोठा छ भन्दा निजहरूले कोठा देखाइदिनु भनेकोले कोठा देखाउन भर्‍याङसम्म गई कोठा देखाई फर्कन लाग्दा निजहरूले कोठामा हिँड भनी जबरजस्ती कोठामा लगी खाट बिस्तरामा लडाई जोरजुलुममा पारी हामीहरू आर्मीको जमदार, सुबदार, क्याप्टेन हो भन्दै बोलिस् कराइस् भने ज्यानै मारिदिन्छु भनी तीनै जनाले पालैपालो सुरूमा त्यत्तिकै र पछि कण्डम लगाई जबरजस्ती करणी गरेको, पछि पिसाब गरेर आउँछु भनी कोठाबाट बाहिर निस्केर भागेकोमा निजहरूसमेत लखेट्दै आएको देखी प्रहरी कार्यालयतर्फ जाँदै गर्दा बाटोमा प्रहरीको मोबाइल गस्ती भेटी घटनाको बारेमा बताएकोमा प्रतिवादीहरूमध्ये विनोद रिमाल र प्रेम थापा भाग्न सफल भएको तर दिनेश घलेलाई भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको भन्ने बेहोरा उल्लेख भएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक खिलबहादुर रानाको मिति २०७३।३।८ को प्रतिवेदन हेर्दा आफू मिति २०७३।३।७ गते राति २४:०० बजेदेखि मिति २०७३।३।८ को ०६:०० बजेसम्मको लागि मोबाइल गस्ती गर्दै जाँदा ००:१० बजेतिर एकजना महिला बजारतिर आउँदै गरेको र हामीलाई देखी गाडी रोक्न इसारा गरेकोले गाडी रोकेकोमा आफूलाई सामूहिक बलात्कार गरी मान्छे भाग्दै छ भनेकोले खोज्दै जाँदा ३ जना पुरूष व्यक्तिहरू भाग्दै गरेकोमा लखेट्दै जाँदा एकजना पुरूष व्यक्तिलाई पक्राउ गर्न सफल भएको र निजको नाम सोध्दा दिनेश घले भनी बताएको तथा भाग्ने व्यक्तिहरू विनोद रिमाल र प्रेम थापा हुन् भनी पक्राउमा परेका दिनेश घलेले बताएको भन्ने बेहोरा उल्लेख गरेको देखिन्छ । घटनास्थल मुचुल्का हुँदा वारदात घटेको भनिएको कोठामा ३ वटा खाटसहितको विस्तरा रहेको, कुनामा रहेको खाटको विस्तरामा तन्ना यत्रतत्र खुम्चिएको, सो तन्नामा ठाउँ ठाउँमा लस्सादार पदार्थ लागेको दाग रहेको, उक्त खाटमुनि ३ वटा प्रयोग भएको अवस्थाको कण्डम र खोल रहेको, भुइँमा रातो रङ्गको चुरा फुटी टुक्राहरू छरिएको अवस्थामा रहेको भन्नेसमेतको बेहोरा उल्लेख भएको देखिन्छ । अनुसन्धान अधिकारीसमक्ष बयान गर्ने प्रतिवादीहरू दिनेश घले र विनोद रिमाल दुवै जनाले पीडित परिवर्तित नाम विदुर (त्र) लाई आफूहरू तीन जनाले जबरजस्ती करणी गरेको भनी कसुरमा साबित भई बयान गरेको देखिएको छ । अनुसन्धानका क्रममा बुझिएका अनिता लामा, मजा घले र विरबहादुर गुरूङले कागज गर्दा पनि जबरजस्ती करणी गरेकोमा विश्वास व्यक्त गरेको पाइन्छ । प्रतिवादीहरू दिनेश घले र विनोद रिमालले अदालतमा बयान गर्दा जबरजस्ती करणी गरेको तथ्यलाई सम्म इन्कार गरेको भए पनि पीडित परिवर्तित नाम विदुर (त्र) लाई करणी गरेको तथ्यलाई स्वीकार गरेको देखिन्छ । पीडितको स्वास्थ्य परीक्षणको क्रममा स्वास्थ्य परीक्षण गर्ने चिकित्सकसमक्ष पनि निज पीडितले आफूलाई प्रतिवादीहरूले जबरजस्ती करणी गरेको भनी brief history मा लेखाएको 

देखिन्छ । सङ्कलित यी प्रमाणहरूको रोहमा विचार गर्दा यी प्रतिवादीहरूले पीडित परिवर्तित नाम विदुर (त्र) लाई जबरजस्ती करणी गरेको देखिन आयो ।

४. प्रतिवादीहरूले अभियोग माग दाबीबमोजिमको कसुरबाट सफाइ पाउनुपर्ने आधारको रूपमा पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट जबरजस्ती करणी भएको पुष्टि नभएको, अदालतमा बकपत्र गर्दा पीडित स्वयंले प्रतिवादीहरूलाई सफाइ दिएको, अदालतमा बयान गर्दा प्रतिवादीमध्येका प्रेम थापा पूर्णत: कसुरमा इन्कार रहेका तथा दिनेश घले र विनोद रिमालले पनि पीडितको सहमतिमा करणी गरेको तथ्यलाई सम्म स्वीकार गरेको भए पनि जबरजस्ती करणी गरेको तथ्यमा इन्कार रही बयान गरेकोसमेतका विषयहरूलाई उठाएको पाइँदा यी विषयहरूको प्रमाण ग्राह्यताका सम्बन्धमा विवेचना गर्नुपर्ने हुन आएको छ । 

५. प्रस्तुत मुद्दामा प्रतिवादीहरूले जिकिर लिएजस्तो पीडित परिवर्तित नाम विदुर (त्र) को स्वास्थ्य परीक्षण प्रतिवेदनबाट करणी भएको कुराको पुष्टि नभएको तथ्यमा विवाद छैन । निजको स्वास्थ्य परीक्षण प्रतिवेदन हेर्दा करणी भएको छ वा छैन भन्न नसकिने भन्ने बेहोरा उल्लेख भएको देखिएको छ । तर पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा यस्तो बेहोरा उल्लेख भएको भए पनि यस्तो बेहोरा उल्लेख हुनुको कारणतर्फ पनि हेर्नुपर्ने हुन्छ । स्वास्थ्य परीक्षण प्रतिवेदनमा करणी भएको छ वा छैन भन्न नसकिने भनी उल्लेख हुँदा सोको कारणको रूपमा निजबाट बच्चा भइसकेको अवस्थालाई उल्लेख गरिएको पाइन्छ । निज पीडित परिवर्तित नाम विदुर (त्र) बच्चा भइसकेकी महिला भएको कारण निजको यौनाङ्ग परीक्षण गरेर करणी भएको छ वा छैन भनेर भन्न नसकिने भन्ने बेहोरा उल्लेख भएको पाइन्छ । बच्चा भइसकेको महिला भएको कारण निजको यौनाङ्ग परीक्षणबाट मात्र तत्काल करणी भएको छ वा छैन भनेर यकिन गर्न नसकिनु अस्वाभाविक होइन । तर उक्त प्रतिवेदनले करणी भएकै छैन भनेर पनि भनेको अवस्था होइन । त्यसैले बच्चा भइसकेको कारण करणी भएको छ वा छैन भनेर भन्न नसकिने भनी स्वास्थ्य परीक्षण प्रतिवेदनमा उल्लेख भएको मात्र बेहोरालाई करणी भएको होइन भन्ने निष्कर्षमा पुग्न निर्णायक आधार मान्न सकिने अवस्था रहेको देखिँदैन । साथै प्रतिवादीहरू दिनेश घले र विनोद रिमालले मौकामा बयान गर्दा मात्र होइन, अदालतमा बयान गर्दा पनि पीडित परिवर्तित नाम  विदुर (त्र) लाई करणी गरेको तथ्यलाई स्वीकार गरी बयान गरेको देखिँदा करणी नै नभएको भनी लिइएको जिकिर स्वयंमा खण्डित भइरहेको देखिन्छ । 

६. अब प्रतिवादीहरू दिनेश घले र विनोद रिमालले अदालतमा बयान गर्दा पीडित परिवर्तित नाम  विदुर (त्र) लाई जबरजस्ती करणी गरेकोमा इन्कार रही निज पीडित यौन व्यवसाय चलाई बस्ने महिला भएकोले सहमतिमै करणी गरेको हो भनी लिएको जिकिरका सम्बन्धमा विचार गरौं । मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कानूनी व्यवस्था हेर्दा कुनै पनि महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा जबरजस्ती करणी गरेको ठहर्ने व्यवस्था भएको 

पाइन्छ । उक्त व्यवस्थाले कुनै महिलालाई यौन व्यवसाय गर्ने वा नगर्ने भनेर छुट्ट्याउँदैन । कुनै महिला यौन व्यवसायी हो भनेर प्रचलित कानूनले चिनेको अवस्था पनि देखिँदैन । एकैछिनलाई विवेचना प्रयोजनका लागि यौन व्यवसायी रहेकै भनेर मान्ने हो भने पनि यौन व्यवसायी भएकै कारणले मात्र करणी गर्न मन्जुरी नदिने निजको अधिकार समाप्त हुने होइन । यौन व्यवसायमा लाग्नु नै निजउपर जसले पनि करणी गर्न पाउने अनुज्ञापत्र (License) पाएको भनेर सम्झन मिल्दैन । एउटा मानवको रूपमा अरू सामान्य महिलासरह यौन व्यवसायीलाई पनि करणीको कार्यमा मन्जुरी नदिने अधिकार रहन्छ । State of U P vs Munshi को मुद्दामा भारतीय सर्वोच्च अदालतले बोलेको कुरा मननीय छ –”Prosecutrix is promiscuous in sexual behavior not determinative factor in rape case. In rape cases the fact that the victim was previously accustomed to sexual intercourse, is not a determinative question. On the contrary, the question which is required to be adjudicated is did the accused commit rape on the victim on the occasion complained of. Even if it is hypothetically accepted that the victim had lost her virginity earlier, it did not and cannot in law give license to any person to rape her. It is the accused who is on trial and not the victim. Even if the victim in a given case has been promiscuous in her sexual behavior earlier, she has a right to refuse to submit herself to sexual intercourse to anyone and everyone because she is not a vulnerable object or prey for being sexually assaulted by anyone and everyone (para 8).  यस्तै एउटा अर्को मुद्दामा भारतीय सर्वोच्च अदालतले बोलेको कुरा पनि मननीय छ । State (NCT of Delhi) v Pankaj Chaudhary को मुद्दामा भारतीय सर्वोच्च अदालतले भनेको छ - ”No means no, even if rape survivor is a woman of easy virtue. A woman of easy virtue also could not be raped by a person for that reason.” Narender Kumar v State (NCT of Delhi) को मुद्दामा पनि यद्यपि शङ्काको सुविधा अभियुक्तले पाउने भन्ने आधारमा अभियुक्तले सफाइ पाउने त ठहराइयो तापनि कुनै पनि महिला वेश्या भएकै कारणले मात्र जबरजस्ती करणी नहुने भन्ने मान्यतालाई भने अस्वीकार गरिएको छ । भारतीय सर्वोच्च अदालतले भनेको छ - “Even of easy virtue can be raped, the germane question is whether on that particular occasion sexual intercourse was with or without her consent” । भारतीय सर्वोच्च अदालतले राखेका यी मान्यताहरू प्रति यो इजलास असहमत हुनुपर्ने कुनै कारण देखिँदैन । 

७. जहाँसम्म पीडित परिवर्तित नाम  विदुर (त्र) कै सहमतिमा करणी गरेको भनी लिइएको जिकिर छ, सो सम्बन्धमा विचार गर्दा मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को स्पष्टीकरणमा मन्जुरी नमानिने अवस्थाका सम्बन्धमा उल्लेख गरिएको भए पनि मन्जुरीको परिभाषा गरिएको देखिँदैन । संयुक्त अधिराज्यको यौन अपराधसम्बन्धी ऐन, २००३ (Sexual Offences Act, 2003)  को दफा ७४ मा गरिएको मन्जुरीको परिभाषा मननीय छ । उक्त दफामा भनिएको छ - “Someone consents to vaginal, anal or oral penetration only if s/he agrees by choice to that penetration and has the freedom and capacity to make that choice” । यौनजन्य कार्यका लागि मन्जुरी भन्नाले त्यस्तो कार्यका लागि स्वेच्छाले सहमति हुनु त जरूरी छ नै, साथसाथै त्यस्तो सहमति स्वतन्त्रतापूर्वक दिइएको र आफ्नो इच्छाको प्रयोग गर्न सक्ने क्षमताको विद्यमानताको अवस्थामा दिइएको तथ्य पनि प्रमाणित हुनु जरूरी हुन्छ । मन्जुरीको यो मान्यताअनुसार कुनै पीडितलाई सहमति दिनुपर्ने बाध्यात्मक अवस्थामा पारी सहमति लिइएको रहेछ भने पनि करणीजन्य कार्यका लागि सहमति दिएको मान्न नमिल्ने देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरू सैनिक सेवामा कार्यरत ३ जनाले एकसाथ करणी गरेको भन्ने देखिन्छ । घटनास्थल प्रकृति मुचुल्काबाट जबरजस्ती करणी गरियो भनिएको कोठामा कण्डम, कण्डमको खोल र चुराका फुटेका टुक्राहरू यत्रतत्र छरिएको अवस्थामा भेटिएको देखिन्छ । यदि सहमतिले करणी लिनु दिनु गरेको भए चुरा फुटेको र यत्रतत्र छरिएको अवस्थामा भेटिनुपर्ने अवस्था देखिँदैन । साथै वारदातको मध्यरातमा पीडित पिसाब फेर्न जाने निहुँमा कोठाबाट निस्केर जानुपरेको र तत्काल प्रहरी कार्यालयमा जान लाग्दा बाटोमा मोबाइल गस्ती प्रहरी भेटी घटनाको बारेमा बताएको तथा प्रतिवादीमध्येका दिनेश घले तत्काल फेला परी पक्राउमा परेको अवस्था पनि देखिएको छ । पीडितको मन्जुरीमा गरिएको भए यसरी राति नै पिसाब फेर्ने निहुँमा निस्केर प्रहरी कार्यालयमा जानुपर्ने र घटनाका बारेमा बताएर तत्काल प्रतिवादीहरूलाई पक्राउ गराउनुपर्ने कुनै अन्यथा कारण रहेको पनि देखिन आउँदैन । करणीजन्य कार्य सामान्यतया गोप्यतापूर्वक गरिने कार्य मानिन्छ । तीन जनाको संख्यामा रहेका प्रतिवादीहरूलाई एकअर्काको उपस्थितिमा नै करणी गर्न सहमति दिएको तथा प्रतिवादीहरू तीनै जनाले एकसाथ सहमतिमा करणी गरेको भन्ने भनाइ पनि स्वाभाविक देखिन आउँदैन । प्रतिवादीमध्येका प्रेम थापा मौकामा फरार रही अदालतमा बयान गर्दा वारदातको साँझ अन्य प्रतिवादीहरूका साथ पीडित परिवर्तित नाम विदुर (त्र) को होटलमा गएको र सँगै रक्सी खाएको तथ्यलाई स्वीकारै गरेको देखिएको छ । आफू ९:३० बजेको समयसम्म बसी अरू प्रतिवादीहरूलाई त्यहीँ छाडी घरतर्फ गएको भन्दै करणी गरेको तथ्यमा इन्कार रहेको पाइन्छ । तर जाहेरवालाको किटानी जाहेरी रहेको र अरू प्रतिवादीहरूले अदालतमा बयान गर्दासमेत यी प्रतिवादीसमेत भई करणी गरेको भनी पोल गरी लेखाएको तथा वारदातस्थलमा ३ वटा कण्डम भेटिएकोबाट यी प्रतिवादी करणीको वारदातमा नरहेको भन्न सकिने अवस्था देखिँदैन । यसरी वारदातमा प्रतिवादी प्रेम थापासमेतको संलग्नता रहेको देखिनुका साथै पीडितकै सहमतिमा करणी गरेको हो भन्ने निज प्रतिवादीहरूको जिकिर पनि विश्वसनीय नरहेको स्थिति देखिन्छ ।

८. पीडित परिवर्तित नाम विदुर (त्र) ले सुरूमा जाहेरी दिँदा प्रतिवादीहरूउपर किटानी पोल गरी जाहेरी दिएको भए पनि अदालतमा बकपत्र गर्दा सुरू जाहेरीको बेहोराभन्दा भिन्न बेहोरा लेखाई प्रतिवादीहरूले जबरजस्ती करणी गरेको होइन भनी बकपत्र गरेको भन्ने बुँदालाई पनि प्रतिवादीहरूले आफ्नो सफाइको आधारको रूपमा उल्लेख गरेको देखिँदा त्यसतर्फ पनि विवेचना हुनुपर्ने भएको छ । मिति २०७३।३।७ गते राति घटेको जबरजस्ती करणीको घटनालाई लिएर सोही राति प्रहरी कार्यालयमा जाँदा बाटोमा मोबाइल प्रहरी गस्ती टोली भेटिएकोले गस्ती टोलीसमक्ष आफूउपर जबरजस्ती करणी भएको भन्ने बेहोरा जाहेरवालाले बताएको र भोलिपल्ट उज्यालो भएपछि जाहेरी परेको देखिन्छ । मोबाइल प्रहरी गस्तीले पीडितमार्फत घटनाको बारेमा जानकारी प्राप्त हुनासाथ प्रतिवादीहरूको खोजी गरी प्रतिवादीमध्येका एकजना दिनेश घलेलाई सोही राति पक्राउ परेको देखिन्छ । पक्राउ परेका प्रतिवादीलाई तत्काल सोधपुछ गर्दा कसुरमा आफ्नो संलग्नतालाई स्वीकार गर्दै अन्य प्रतिवादीहरू विनोद रिमाल र प्रेम थापालाई समेत पोल गरेको देखिन्छ । जाहेरवालाको जाहेरी पर्दा यी तीनै जना प्रतिवादीहरूउपर किटानी जाहेरी परेको 

देखिन्छ । प्रतिवादीहरूले अदालतमा बयान गर्दा जबरजस्ती करणीको तथ्यमा सम्म इन्कार रहेको भए पनि करणी गरेको तथ्यलाई स्वीकार गरी बयान गरेको देखिन्छ । घटनास्थल मुचुल्काबाट घटना घटेको कोठामा फुटेका चुराहरूको टुक्रा यत्रतत्र छरिएको अवस्थामा रहेको देखिन्छ । यति नै प्रमाणहरूलाई आधार मान्दा पनि यी प्रमाणहरू परस्पर एकअर्काबाट समर्थित रही मालाकार रूपमा जडित रहेको देखिँदा प्रतिवादीहरूको कसुर प्रमाणित हुन पर्याप्त रहेको देखिन्छ । जहाँसम्म जाहेरवालाले अदालतमा बकपत्र गर्दा प्रतिकूल बकपत्र गरेको भन्ने भनाइ छ, सो सम्बन्धमा निजको अदालतमा भएको बकपत्रलाई हेर्दा सवाल ५ को जवाफमा जाहेरी बेहोरा पढी बाची सुनाउँदा सुनी पाएँ, बेहोरा मैले भनेबमोजिम लेखिएको ठिक साँचो हो र यस जाहेरीमा गरेको सहीछाप पनि मेरै हो भनी लेखाएको देखिन्छ । निजको यो लेखाइ बेहोरालाई सुरू जाहेरी बेहोराको विपरीत भन्न मिल्ने देखिँदैन । त्यसपछिका सवाल नं. ६, ७, ८, ९ मा भने प्रतिवादीहरूलाई सजाय हुनुपर्ने होइन भनी लेखाएको देखिन्छ । तर सवाल ९ कै जवाफमा पनि घटना घटेको कोठामा भेटिएको कण्डम र फुटेको चुराका सम्बन्धमा सोधिएकोमा चुरा रिस उठेर म आफैँले फुटाएको हो र कण्डम सोभन्दा अघिल्लो दिनको अरूले प्रयोग गरेको कण्डम देखाएको हो भनी लेखाएको देखिन्छ । अघिल्लो दिन प्रयोग भएको कण्डम भोलिपल्टसम्म त्यत्तिकै रहिरहेको भन्ने भनाइ विश्वासयोग्य छैन र चुरा म आफैँले रिस उठेर फुटाएको भन्ने भनाइ पनि विश्वासयोग्य रहेको 

देखिँदैन । सवाल १६ मा दिएको जवाफबाट निज जाहेरवालाले यस किसिमबाट फरक फरक बेहोरा लेखाउनुको रहस्य खुलेको स्थिति छ । उक्त सवाल १६ मा तपाइँको भन्न केही बाँकी छ कि भनी सोधिएकोमा जवाफ दिँदा तिमीले मलाई यति बेलासम्म थुन्यो भनेर ममाथि रिसइवी नहोस्, दिदी बहिनीसरह हिँड्न पाऊँ, यत्ति नै मेरो भनाइ हो भनी जवाफ दिएको देखिन्छ । यो जवाफबाट निज जाहेरवाला प्रतिवादीहरूबाट हुनसक्ने सम्भावित बदलाको त्रासपूर्ण अवस्थामा रहनुपरेको स्थिति देखिन आउँछ ।

९. फौजदारी मुद्दामा साक्षी त्यसमा पनि पीडित साक्षीको भूमिका महत्त्वपूर्ण हुन्छ । हाम्रो जस्तो प्रतिद्वन्द्वात्मक प्रणाली अपनाइएको र अनुसन्धान प्रक्रियालाई पूर्णतः भौतिक प्रमाणमा आधारित तुल्याउन नसकिएको मुलुकमा मौखिक प्रमाणमै बढी भर पर्नुपर्ने हुँदा यस्ता साक्षीहरू अझ बढी महत्त्वपूर्ण ठानिन्छन् । वास्तवमा अपराधीहरूलाई न्यायको कठघरामा ल्याई दण्डित तुल्याउने कार्यमा साक्षीको भूमिका अदालतको लागि आँखा र कानको रूपमा रहेको हुन्छ । तर आजकल साक्षीहरू प्रतिकूल (hostile) बन्ने प्रवृत्ति बढ्दो छ र यो प्रवृत्ति सामान्य जस्तै भएको छ । यही समस्यालाई सम्बोधन गर्नका लागि धेरै मुलुकहरूमा साक्षी संरक्षण कार्यक्रम लागु गरिएको छ जसको उद्देश्य अनुसन्धानका बखत सङ्कलित प्रमाणहरूलाई अन्यथा हुन नदिई अदालती परीक्षणबाट प्रमाणित नभएसम्म संरक्षित भइरहने सुनिश्चितता दिलाउनु र साक्षीहरूको भौतिक सुरक्षाको प्रत्याभूति दिलाउनु रहेको हुन्छ । यस सम्बन्धमा भारतीय सर्वोच्च अदालतको भनाइ मार्मिक छ । भनिएको छ - “If ultimately truth is to be arrived at, the eyes and ears of justice have to be protected so that the interests of justice do not get incapacitated in the sense of making the proceedings before courts mere mock trials as are usually seen in movies. हामीकहाँ यस प्रकारको साक्षी संरक्षण कार्यक्रम लागु हुनसकेको छैन जसको कारणबाट साक्षीउपर डर, धाक, धम्की, त्रास, दबाब, अनुचित प्रभाव र लोभलालचमा पारेर सही कुरा बोल्न नसक्ने वा नचाहने अवस्थामा पुर्‍याउने सम्भावना प्रबल 

छ । पीडितको असहायपना र संवेदनशील अवस्था एवं न्यायिक प्रक्रियामा सहयोग गरेबापत उठाउनुपर्ने जोखिमको प्रकृति र मात्राको तुलनामा अभियुक्त पक्षबाट प्रयोग हुनसक्ने दबाब र प्रभावको सहजताका कारण पीडितले अदालतमा प्रतिकूल बकपत्र गर्ने सम्भावना बढी छ । अझ जबरजस्ती करणीका पीडितहरूको सन्दर्भमा विचार गर्ने हो भने त झन् उजुर नगरे एक पटक मात्र पीडित हुनुपर्ने तर उजुर गरे पटकपटक पीडित हुनुपर्ने हाम्रो सामाजिक मूल्य र मान्यताका कारण सबै पीडितहरू सबै अवस्थामा निरन्तर आफ्नो पीडाको विरूद्धमा लडिरहन र टिकिरहन सक्छन् भनेर सम्झन नहुने अवस्था पनि छ । यौनिक पवित्रता (vaginal purity) लाई महिलाको अस्मितासँग जोडेर हेर्ने हाम्रो सामाजिक मूल्य र मान्यता रहेको तथा त्यस्तो पवित्रतामा आँच आउने गरी कुनै कुरा प्रकाशमा ल्याउनु भनेको आफ्नै भविष्यलाई दागी बनाउनु र पारिवारिक सम्बन्धमा विघटन निम्त्याउनुसरह हुन जाने अवस्था हाम्रो सामाजिक परिवेशमा कल्पना होइन, यथार्थ हो । जबरजस्ती करणीको पीडित ठहरिनुमा प्रतिवादीलाई सजाय गराउने कुरा मात्र महत्त्वपूर्ण छैन, आफ्नो इज्जत, प्रतिष्ठा र चरित्रमा सुदूर भविष्यसम्म आघात पर्ने अवस्था पनि प्रबल छ । त्यसैले जबरजस्ती करणी मुद्दामा अन्य मुद्दामा जस्तो अङ्क गणितीय हिसाबबाट हेर्नुभन्दा पनि नारीको अस्मितामा गम्भीर आँच आउने विषय भएकाले अदालतले संवेदनशील रूपमा विचार गर्नुपर्ने हुन्छ । खासमा नेपालमा पीडितहरूलाई न्यायिक प्रक्रियामा तिनीहरूको भूमिका र महत्त्वका बारे बुझाउने कुनै प्रणाली नै स्थापना गरिएको छैन । न्यायिक प्रक्रियामा तिनीहरूको कर्तव्य र दायित्व के हुने, अदालतमा तिनीहरूले के बकपत्र गर्दा त्यसको परिणाम के हुन्छ, अपराधीले सफाइ पाउँदा समाजमा त्यसको असर के पर्छ भन्ने जस्ता प्रश्नमा जानकारी प्रवाह गराउने कुनै प्रणाली छैन । यसका साथै न्यायिक प्रक्रियालाई पूरा रूपमा पीडितमैत्री बनाउन पनि सकिएको छैन । यसले गर्दा पीडितहरू सिद्धान्ततः सरकारी साक्षी हुने भए पनि व्यवहारतः प्रतिवादीकै प्रभाव र संरक्षणमा रही अदालतमा पनि प्रतिवादीले नै साथमा ल्याउने प्रवृत्ति बढी देखिएको छ । यस्तो अवस्थामा पीडित साक्षीले सधैँ प्रतिवादीको हित प्रतिकूल बकपत्र गर्ने आशा राख्नु स्वाभाविक 

हुँदैन । जब अवस्था यस्तो छ भने पीडितले मौकामा के बेहोरा लेखायो र अदालतमा के बेहोरा लेखायो भनी निजले लेखाएको बेहोरालाई यान्त्रिक रूपमा हेरी त्यस्तो बेहोराको सत्यताको परीक्षण गर्नेतर्फ नै नलागी प्रतिवादीलाई कसुरमा गढाउ वा कसुरबाट सफाइ दिनुपर्छ भन्ने मान्यतालाई सही मान्यता मान्न 

सकिँदैन । प्रमाण मूल्याङ्कनमा प्रमाणहरूको संख्याभन्दा पनि उपलब्ध प्रमाणहरूको विश्वसनीयता महत्त्वपूर्ण हुन्छ । यस सम्बन्धमा भारतीय सर्वोच्च अदालतको भनाइ महत्त्वपूर्ण भएकोले पुन: उल्लेख गर्नु प्रासङ्गिक हुन्छ । भारतीय सर्वोच्च अदालतले भनेको छ- “It is not number, the quantity but the quality that is material. The time-honored principle is that evidence has to be weighted and not counted. प्रस्तुत मुद्दामा जाहेरवालाले अदालतमा पूरै प्रतिकूल बकपत्र गरेको अवस्था नदेखिई सुरू जाहेरी बेहोरालाई पनि समर्थन गरी बकपत्र गरेको देखिएको तथा सुरू जाहेरी बेहोरा मिसिल संलग्न अन्य प्रमाणहरूबाट समर्थित रहेको देखिएको अवस्था हुँदा बकपत्रको केही अंशलाई मात्र हेरेर प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिमको कसुरबाट सफाइ पाउने आधार बनाउन सकिएन । 

१०. तसर्थ माथिका विभिन्न प्रकरणहरूमा उल्लेख भएबमोजिम प्रतिवादीहरू विनोद रिमाल, दिनेश घले र प्रेम थापाले अभियोग माग दाबीबमोजिम जबरजस्ती करणीको कसुर गरेको ठहराई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुरमा सोही महलको ३(५) नं. तथा ३क नं.बमोजिम जनही १० (दश) वर्ष कैद हुने र पीडितले क्षतिपूर्तिबापत निजहरूबाट जनही रू १०,०००/- (दश हजार) भरिपाउने ठहराएको सुरू जिल्ला अदालतको फैसलालाई सदर हुने गरी उच्च अदालत पाटनबाट मिति २०७४।११।८ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसलाको प्रतिलिपिसहित महान्यायाधिवक्ताको कार्यालयमा जानकारी पठाइदिनू र फैसलाको प्रति यस अदालतको विद्युतीय प्रणालीमा प्रविष्ट गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.ईश्वरप्रसाद खतिवडा 

 

इजलास अधिकृत:- शैलेन्द्र खड्का

इति संवत् २०७९ साल चैत ६ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु