निर्णय नं. १११६७ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी
फैसला मिति : २०७८।१२।१३
मुद्दाः- कर्तव्य ज्यान
०७२-CR-०३८१
पुनरावेदक / वादी : सोभित रामसमेतको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला, सप्तरी छिन्नमस्ता गा.वि.स. वडा नं.४ बस्ने सूर्य नारायण यादव-१ ऐ. वडा नं.२ बस्ने अशोक शर्मा
०७२-RC-००८७
पुनरावेदक / वादी : सोभित रामसमेतको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : वैजनाथी राम
कुनै पनि स्वतन्त्र प्रमाण वा परिस्थितिजन्य प्रमाणहरूबाट व्यक्ति कसुरदार हुन् भनी प्रमाणित गर्न नसकेको अवस्थामा plea of alibi को विषयमा प्रश्न उठ्ने नदेखिने । कुनै पनि स्वतन्त्र प्रमाण वा परिस्थितिजन्य प्रमाणहरूबाट व्यक्ति कसुरदार हुन् भनी देखिन आएमा मात्र plea of alibi को विषयमा प्रश्न उठ्ने देखिने ।
(प्रकरण नं.६)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री खडिन्द्र राज कटुवाल
प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४
मुलुकी अपराध संहिता, २०७४
फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४
केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४
सुरू फैसला गर्ने :
माननीय जिल्ला न्यायाधीश श्री रितेन्द्र थापा
सप्तरी जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री राजेश्वर तिवारी
माननीय न्यायाधीश श्री तेजबहादुर राई
पुनरावेदन अदालत राजविराज
फैसला
न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ख) र सोही ऐनको दफा १० बमोजिम यसै अदालतको क्षेत्राधिकारअन्तर्गत पर्ने भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ:-
तथ्य खण्ड
जिल्ला सप्तरी, गा.वि.स., छिन्नमस्ता वडा नं.२ स्थित धान खेतको आलीमा पश्चिम टाउको पूर्व खुट्टा भई उत्तानो अवस्थामा रहेको मृतक बौकी देवी रामको लास हेर्दा दायाँ आँखामाथि निधारमा कालो निलडाम बायाँ हातमा दुई ठाउँमा खुइलिई रगत बगिरहेको, दायाँ कानबाट रगत बगिरहेको, मुखबाट तरल पदार्थ निस्किएको, योनिबाट सेतो तरल पदार्थ निस्किएको भन्नेसमेत बेहोराको मिति २०६७।८।२ को घटनास्थल लास जाँच मुचुल्का ।
मेरो श्रीमान्ले श्रीमती बौकी देवी रामलाई विवाह गरी कान्छी श्रीमती बनाई भारततर्फ बस्ने गरेको थियो । निजहरूसँग मेरो बोलचाल थिएन । मिति २०६७।८।२ गतेका दिन छिन्नमस्ता २ स्थित श्रीमती बौकी देवी रामको मृतक लास फेला परेकोले निजको के कसरी मृत्यु भएको हो, सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०६७।८।२ मा वैजनाथी रामको जेठी श्रीमती सितली देवी रामको जाहेरी दरखास्त ।
मृतक बौकी देवी रामको टाउकोमा गम्भीर चोट लागेको कारण निजको मृत्यु भएको भन्नेसमेत बेहोराको मिति २०६७।८।३ को सगरमाथा अञ्चल अस्पताल, राजविराजको पोष्टमार्टम रिपोर्ट ।
मेरो श्रीमती बौकी देवी रामलाई अन्यायी वैजनाथी रामले ललाइफकाइ भगाई लगी श्रीमती बनाइराखेकोमा निजलाई खोजतलास गर्दा फेला नपरेको, मिति २०६७।८।१ गते राति वैजनाथी राम र निजका मिलुवा ४।५ जनासमेत मिली बौकी देवी रामलाई कर्तव्य गरी मारेको हुँदा निजहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०६८।१।२ मा सोभित रामको किटानी जाहेरी दरखास्त ।
मिति २०६७।८।१ गतेका दिन श्रीमती बौकी देवी राम मसँग थिइन् । बेलुका मलाई रक्सी खान मन लागेकोले म रक्सी खान जान्छु भन्दा निजले म पनि जान्छु भनी हामी दुवै जना छिन्नमस्ता सखडा बजारमा गई राजेन्द्र चौधरीको रक्सी पसलमा गई रक्सी खरिद गरी विनोद चौधरीको गोठ घरमा राखेको खाटमा बसी रक्सी खाइरहेकोमा सो स्थानमा बसी अन्य रक्सी खाइरहेका सूर्य नारायण यादव, बैजनाथ ठाकुर, अशोक शर्मा, फेकु मलाहसमेतले मलाई नास्ता चुरोट लिन बजारतर्फ पठाई मेरो श्रीमती बौकी देवी रामलाई जबरजस्ती करणी गरेका, म नास्ता चुरोट लिई फर्की आउँदा सो स्थानमा बत्ती निभाइसकेको थियो । श्रीमतीलाई बेहोस अवस्थामा देखेको र म आउँदा निजहरू भागी फरार भएकोले मैले श्रीमतीलाई उठाई केही पर सदा जातको घरमा लगी मुखमा पानी हाली तान्दै आफ्नो घरतर्फ लगिरहेकोमा छिन्नमस्ता २ स्थित धानखेतको आलीमा निज बेहोस भई लडेकोमा निजलाई चलाउँदा बोलाउँदा नबोलेकोले मृत्यु भइसकेको भनी घर गई छिमेकीलाई सबै कुरा जानकारी गराई भागी भारततर्फ बसेको थिएँ भन्नेसमेत बेहोराको मिति २०६८।१।६ मा प्रतिवादी वैजनाथी रामले जिल्ला सरकारी वकिल कार्यालय, सप्तरीसमक्ष गरेको बयान ।
जाहेरवाला सोभित राम तथा मृतक श्रीमती बौकी देवी राम, प्रतिवादी वैजनाथी रामसमेत मेरो गाउँघरको भएकोले निजहरूलाई राम्ररी चिन्दछु । जाहेरवालाको श्रीमती बौकी देवी रामलाई अन्यायी वैजनाथी रामले ललाइफकाइ भगाई भारतको भूमिमा लगी सँगै श्रीमती जस्तो बनाई राखिरहेकोमा मिति २०६७।८।१ गतेका दिन भारतबाट आफ्नो घर लालापट्टि आई बेलुका सखडा बजारतर्फ गएको देखेको र सोको भोलिपल्ट बिहान छिन्नमस्ता २ स्थित धानखेतमा बौकी देवी रामको लास फेला परेको, मृतक लास हेर्दा कर्तव्य गरी मारेको जस्तो लागी घटना सम्बन्धमा बुझ्दा वैजनाथी राम र बौकी देवी राम सो दिन बेलुका रक्सी खान भनी सखडा बजारमा आई राजेन्द्र चौधरीको रक्सी पसलमा रक्सी खरिद गरी विनोद चौधरीको गोठ घरमा बसी रक्सी खाइरहेकोमा सो स्थानमा अन्य रक्सी खाइरहेका सूर्य नारायण यादव, बैजनाथ ठाकुर, अशोक शर्मा, फेकु मलाह र वैजनाथी रामसमेत मिली बौकीदेवी रामलाई कर्तव्य गरी मारी मृतक लास छिन्नमस्ता २ मा फाली भागी फरार भएकोले निजहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०६८।१।११ मा जिल्ला प्रहरी कार्यालय, सप्तरीको अनुसन्धान अधिकृतसमक्ष पुलकित रामसमेतले गरेको घटना विवरण कागज ।
मिति २०६७।८।१ गतेका दिन राति जिल्ला सप्तरी, राजविराज ७ स्थित डेरा कोठामा थिएँ । मिति २०६७।८।२ गतेका दिन बिहान छिन्नमस्ता २ स्थित श्रीमती बौकी देवी रामको मृतक लास फेला परेको थाहा पाई घरमा गई घर परिवारका मानिसहरूसँग बुझ्दा सो दिन राति वैजनाथी राम, बौकी देवी राम, सूर्य नारायण यादव, अशोक शर्मा र फेकु मलाहसमेत मिली मेरो घरदेखि २०० मिटर पश्चिम रहेको मेरो गोठमा बसी रक्सी खाएको थियो । श्रीमती बौकी देवी रामको के कसरी मृत्यु भएको हो मैले आँखाले देखिनँ भन्नेसमेत बेहोराको मिति २०६८।१।११ मा जिल्ला प्रहरी कार्यालय, सप्तरीको अनुसन्धान अधिकृतसमक्ष विनोद चौधरीले गरेको घटना विवरण कागज ।
जाहेरवाला सोभित राम मृतक बौकी देवी राम वैजनाथी रामसमेत मेरो गाउँको नै भएकोले निजहरूलाई राम्ररी चिन्दछु । जाहेरवालाको श्रीमती बौकी देवी रामलाई वैजनाथी रामले ललाइफकाइ भगाई भारतको भूमिमा लगी राखिरहेकोमा मिति २०६७।८।१ गतेका दिन भारतबाट आफ्नो घर आएको सो दिन बेलुका निज श्रीमती बौकी देवी राम र वैजनाथी रामलाई सखडा बजारतर्फ गएको देखेको थिएँ । सोको भोलिपल्ट बौकी देवी रामको छिन्नमस्ता २ स्थित धान खेतमा मृतक लास फेला परेको मृतक लास हेर्दा निजलाई कर्तव्य गरी मारेको जस्तो लाग्यो पछि घटना अपराध वारदात सम्बन्धमा बुझ्दा मिति २०६७।८।१ गतेका दिन बेलुका बौकी देवी राम र वैजनाथी राम रक्सी खान भनी सखडा बजार आई राजेन्द्र चौधरीको पसलमा रक्सी खरिद गरी विनोद चौधरीको गोठमा बसी रक्सी खाएको सो स्थानमा बसी अन्य रक्सी खाने सूर्य नारायण यादव, बैजनाथ ठाकुर, अशोक शर्मा र फेकु मलाहसमेत मिली रक्सी खाई निजहरूसमेत मिली श्रीमती बौकी देवी रामलाई कर्तव्य गरी मारी मृतक लास छिन्नमस्ता २ स्थित धान खेतमा लगी फालिदिएको र अन्यायीहरू भागी फरार भएको हुँदा निजहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०६८।१।२३ को घटनास्थल वस्तुस्थिति मुचुल्का ।
प्रतिवादीहरू वैजनाथी राम, सूर्य नारायण यादव, बैजनाथ ठाकुर, अशोक शर्मा र फेकु मलाहसमेतले श्रीमती बौकी देवी रामलाई कर्तव्य गरी मारी खेतमा लगी फालिदिएको हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं.विपरीतको कसुरमा ऐ. को १३(३) बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०६८।१।२३ को अभियोग दाबी ।
मृतक बौकी देवी मेरो कान्छी श्रीमती हुन् । मेरो जेठी श्रीमतीसँग मेरो विवाह करिब ४० वर्षअघि नै भएको र निजबाट मेरा ३ छोरा र २ छोरी छन् । बौकी देवीका पतिले निजलाई मसँग बात लगाई घरबाट निकाली निजको माइती इण्डियातिर पठाइदिएकोले ८ वर्षजति पहिले हामीले विवाह गरी कुनौलीदेखि पूर्व गई जनमजदुरी गरी जीविका चलाउँदै आएकोमा निजलाई त्यहीँ छाडी म पञ्जाब गएको थिएँ । २०६८ वैशाखमा म घर आउँदा गाउँका जगदीश रामको घरमा बसेको थिएँ । आफ्नो जेठी श्रीमतीसँग बसेको थिइनँ । निज जगदीश रामले नै मलाई कान्छी श्रीमतीको मृत्यु भएको कुरा सुनाएका हुन् । त्यतिखेर मैले थाहा पाएको हुँ । सोको भोलिपल्ट गाउँका मानिस तथा प्रहरीसमेतले मलाई पक्राउ गरेको हो । वारदात समयमा म पञ्जावमा जनमजदुरी गर्न गएको थिएँ । मैले बौकी देवीलाई कर्तव्य गरी मारेको होइन । निजलाई कसले मारेको हो मलाई थाहा भएन भन्नेसमेत बेहोराको मिति २०६८।१।२५ मा प्रतिवादी वैजनाथी रामले सप्तरी जिल्ला अदालतसमक्ष गरेको बयान ।
म भारतको महादेव मठ दुधैलामा बहिनीको घरमा पूजा भएकोले मलाई बोलाएकोमा मिति २०६७।७।२८ मा त्यहाँ गई सोही मङ्सिर ३ गते मात्र आफ्नो घरमा आएकोमा वारदात मिति समयमा म गाउँ घरमा नै नरहेको हुँदा मृतकको मृत्यु के कसरी भएको हो, कसले मारेको हो सो कुरा मलाई थाहा भएन । किन मलाई पोलेको हो मलाई थाहा भएन । म रक्सीसमेत खाने गर्दिनँ भन्नेसमेत बेहोराको मिति २०६८।३।१९ मा प्रतिवादी सूर्य नारायण यादवले सप्तरी जिल्ला अदालतसमक्ष गरेको बयान ।
वारदात मिति समयमा म भारतको मधुवनी जिल्लाको ककडो भन्ने स्थानमा थिएँ । मृतकको मृत्यु कसरी भएको हो मलाई थाहा भएन । म इण्डियाबाट मिति २०६७।८।५ मा घर आउँदा मात्र मृत्यु भएको कुरा थाहा पाएको हुँ । गाउँघरको रिसइवीले मलाई पोल गरेको होला भन्नेसमेत बेहोराको मिति २०६८।४।५ मा प्रतिवादी अशोककुमार शर्माले सप्तरी जिल्ला अदालतसमक्ष गरेको बयान ।
प्रतिवादी फेकु मलाहको नाममा जारी भएको वारेन्टसहितको म्यादी पुर्जीमा निज हाजिर हुन नआई म्याद गुजारी बसेको ।
प्रतिवादी वैजनाथी रामले बौकी देवी रामलाई कर्तव्य गरी ज्यान मारेको होइन । वैजनाथी राम निर्दोष व्यक्ति हुन् भन्नेसमेत बेहोराको मिति २०६९।३।२७ मा वैजनाथी रामको साक्षी रामफल रामले सप्तरी जिल्ला अदालतसमक्ष गरेको बकपत्र ।
हामी दुवै भारत मधुवनी जिल्लाको दुधैला भन्ने ठाउँमा घटना हुनुको दुई दिनअगावै बहिनीको निम्तोमा श्राद्ध खान गएका थियौं भन्नेसमेत बेहोराको मिति २०६९।३।२७ मा प्रतिवादी सूर्य नारायण यादवको साक्षी सुरेन्द्र साहले सप्तरी जिल्ला अदालतसमक्ष गरेको बकपत्र ।
अभियोग दाबी झुठ्ठा हो, प्रतिवादी अशोक शर्मा त्यस अवधिमा गाउँमा नभई अन्यत्र आफ्नो फुपू कहाँ गएको थियो भन्ने बेहोराको मिति २०६९।३।२८ मा प्रतिवादी अशोक शर्माको साक्षी राजकुमार मण्डलले सप्तरी जिल्ला अदालतसमक्ष गरेको बकपत्र ।
अशोक शर्मा भारतको मधुवनी जिल्ला आफ्नो फुपूको घर मिति २०६७।७।२७ गते गई मिति २०६७।८।५ गते फर्की आएका हुन् भन्नेसमेत बेहोराको मिति २०६९।३।२८ मा प्रतिवादी अशोक शर्माको साक्षी रामकुमार चौधरीले सप्तरी जिल्ला अदालतसमक्ष गरेको बकपत्र ।
मेरी पत्नी बौकी देवी रामलाई वैजनाथी राम तथा निजको सँग साथमा रहेका व्यक्तिहरूले के कसरी मारे मैले देखेको होइन । म नभएको बेलामा मेरी श्रीमतीलाई निज प्रतिवादी वैजनाथी रामसमेतले घरबाट लिई भागी मारेका हुन् भन्नेसमेत बेहोराको मिति २०६९।८।२१ मा जाहेरवाला सोभित रामले सप्तरी जिल्ला अदालतसमक्ष गरेको बकपत्र ।
बौकी देवी रामलाई को कस्ले मारेको हो, नदेखेकोले त्यो सम्बन्धमा मलाई केही थाहा छैन भन्नेसमेत बेहोराको मिति २०६९।११।२३ मा जाहेरवाली सितली देवीले सप्तरी जिल्ला अदालतसमक्ष गरेको बकपत्र ।
मिति २०६८।८।१ मा घरमा नभई आफ्नो ससुराली घर भारतको मधुवनी जिल्लामा थिएँ भन्नेसमेत बेहोराको मिति २०६९।११।२३ मा वस्तुस्थिति मुचुल्का गर्ने विनोद चौधरीले सप्तरी जिल्ला अदालतसमक्ष गरेको बकपत्र ।
प्रस्तुत मुद्दामा बौकी देवी रामको मृत्यु कर्तव्यबाट भएको तथ्य निर्विवाद रूपमा पुष्टि हुन आई उक्त वारदातमा यी प्रतिवादी वैजनाथी रामको संलग्नता रहेको परिस्थितिजन्य प्रमाणबाट पुष्टि हुन आएको हुँदा निजलाई ज्यानसम्बन्धी महलको (१) र १३(३) नं.को कसुरमा सोही महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ । प्रतिवादीमध्येका बैजनाथ ठाकुरको मृत्यु भइसकेको हुँदा निजको हकमा केही बोलिरहन
परेन । प्रतिवादी फेकु मलाह फरार रहेको हुँदा निजका हकमा मुद्दा अ.बं.१९० नं.बमोजिम मुलतबी रहने र प्रतिवादीहरू अशोक शर्मा र सूर्यनारायण यादवको हकमा सबुद प्रमाणको अभावमा निजहरूउपरको अभियोग दाबी स्थापित हुन सकेन । निज दुवै प्रतिवादीहरूले सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको सप्तरी जिल्ला अदालतबाट मिति २०६९।१२।२० मा भएको फैसला ।
मैले मेरै कान्छी पत्नीलाई मार्नुपर्ने इवी, मनसाय पूर्वयोजनासमेत नभएको तथा मैले मारेको देख्ने कोही पनि नभएको, मौकामा कसैको पनि उजुर नपरेको, म विदेश भारत रोजगारीमा काम गर्न गएको, कामबाट फर्की आउँदा प्रहरीद्वारा घटना वारदातको ६ महिनापछि बिनाआधार पक्राउ गरी मैले कान्छी स्वास्नी विवाह गरेको निजको पूर्वपतिबाट सुनियोजित ढङ्गले जाहेरी लिई सोही जाहेरी अनुमानको भरमा गरेको बकपत्रद्वारा प्रमाणित गराउन उक्त बकपत्रसमेतलाई परिस्थितिजन्य प्रमाणको संज्ञा दिई तर्कसङ्गत रूपले अपराध प्रमाणित हुन सक्ने अवस्था हुँदै नभएकोमा प्रत्यक्ष प्रमाणको अभावमा यति लामो सजायमा म निर्दोष व्यक्तिले पाउने गरी सप्तरी जिल्ला अदालतबाट भएको निर्णय कुनै अवस्थामा पनि न्यायपूर्ण छैन । अतः ज्यान मार्ने काममा मेरो संलग्नता रहेको भनी कठोर दण्ड सजायको निर्णय गरेको सप्तरी जिल्ला अदालतको फैसला श्री सर्वोच्च अदालतबाट नि.नं.८५६८, ने.का.प.२०६८, अङ्क २, पृष्ठ ३५० को कानूनी सिद्धान्तसमेतको प्रतिकूल भई उक्त निर्णय बदर गरी कानूनबमोजिम सफाइ पाउँ भन्नेसमेत बेहोराको मिति २०७०।६।८ मा प्रतिवादी वैजनाथी रामले पुनरावेदन अदालत राजविराजसमक्ष दायर गरेको पुनरावेदन ।
प्रतिवादीहरूले कसुरमा इन्कारी रही बयान गरे तापनि सो कुरालाई पुष्टि गर्ने आधार प्रमाणहरू पेस गरेको देखिँदैन । प्रतिवादीहरूले वारदातको समयमा आफूहरू अन्यत्र (भारतमा) रहेको भनी ALIBI लिए पनि निजहरूको ALIBI निश्चयात्मक प्रमाणको आधारमा पुष्टि हुन सकेको अवस्था छैन । प्रतिवादीहरू सबै मिली कर्तव्य गरी मारेको हो भन्ने कुरा वैजनाथी रामले मौकामा गरेको बयानबाट देखिएको, वैजनाथी र अन्य ४।५ जना मानिसहरूसमेत भई मृतकलाई कर्तव्य गरी मारेको भनी किटानी जाहेरी परेको र बुझिएको मानिसहरूसमेतले यी प्रतिवादीहरूसमेत भई मृतकलाई कर्तव्य गरी मारेको भनी कागज लेखाएबाट प्रतिवादीहरूको संलग्नता पुष्टि भएको छ । अतः उल्लिखित आधारहरूमा सप्तरी जिल्ला अदालतबाट प्रत्यर्थी प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण देखिँदा सुरू फैसला सो हदसम्म उल्टी गरी प्रत्यर्थीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७०।११।२२ मा वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत राजविराजसमक्ष दायर भएको पुनरावेदन ।
म प्रतिवादी विरूद्ध कुनै ठोस तथ्ययुक्त प्रमाण छैन, प्रत्यक्षदर्शी कोही छैन, जाहेरवालासमेतले जाहेरीमा मेरो नाउँ उल्लेख गरेको अवस्था नरही निज जाहेरवालाले सुरू सप्तरी जिल्ला अदालतमा बयान गर्दा मेरो निर्दोषिताको पुष्टि हुने गरी बकपत्र गरेको अवस्था एकातर्फ छ भने मेरो साक्षीसमेतले बकपत्र गर्दा र मैले सुरूमा बयान गर्दा म पूर्णरूपले निर्दोष रहेको यथार्थलाई पुष्टि हुने गरी बकपत्र गरेको अवस्थाको विद्यमानता रहेको सुरू मिसिल कागज प्रमाणसमेतले पुष्टि गरिराखेको अवस्था छ । सोहीअनुरूप सुरू जिल्ला अदालतबाट मलाई सफाइ दिने गरी निर्णय भएको अवस्था छ । यस्तै सहअभियुक्तको पोललाई सारभूत एवम् आधारभूत प्रमाणको रूपमा लिन मिल्दैन भनी सम्मानित सर्वोच्च अदालतबाट सिद्धान्तसमेत प्रतिपादन भएको छ । सहअभियुक्त वैजनाथी रामको म विरूद्धको अधिकारप्राप्त अधिकारीसमक्षको झुठ्ठा पोल बयान प्रमाणमा ग्रहणयोग्य छैन । मेरो उपर्युक्त घटना वारदातमा कुनै संलग्नता नरहेको र म पूर्णरूपले निर्दोष हुँदा सोतर्फ समेत न्यायिक रोहमा मनन चिन्तन गर्नु भई सुरू जिल्ला अदालतबाट मलाई सफाइ दिने गरी भएको सुरू निर्णय सो हदसम्म कानूनसङ्गत नै हुँदा सो फैसला मेरो हकमा सुरू सदर हुने गरी हक इन्साफ पाउन यो निवेदनसाथ उपस्थित हुन आएको छु भन्नेसमेत बेहोराको मिति २०७१।४।२७ मा प्रतिवादी अशोक शर्मा र सूर्य नारायण यादवको पुनरावेदन अदालत राजविराजसमक्ष प्रस्तुत भएको एकै मिलानको निवेदन ।
यसमा यसै मुद्दाका पुनरावेदक प्रतिवादीले फौ.पु.नं.CS-०१०९ नं.को पुनरावेदन दिएको र पुनरावेदक वादी नेपाल सरकारले पनि फौ.पु.नं.CS-०२२४ नं.को मुद्दामा पुनरावेदन गरेको देखिँदा एकातिर दोहोरो पुनरावेदन परेको अर्कोतर्फ सबुद प्रमाणको विवेचना नगरी प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको सुरू फैसला प्रमाण मूल्याङ्कनको रोहबाट फरक पर्न सक्ने देखिँदा छलफलका निम्ति मुलुकी ऐन, अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली (संशोधनसहित), २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थीलाई म्याद जारी गरी झिकाई पुनरावेदक प्रतिवादीको पुनरावेदन परेको जानकारी श्री पुनरावेदन सरकारी वकिल कार्यालय, राजविराजलाई दिई नियमानुसार पेस गर्नुहोला भन्नेसमेत बेहोराको पुनरावेदन अदालत राजविराजबाट मिति २०७१।२।२८ मा भएको आदेश ।
घटना विवरण कागज, घटनास्थल वस्तुस्थिति मुचुल्कासमेतका कागजात प्रमाणहरूबाट मृतक बौकी देवी रामको यी प्रतिवादी वैजनाथी रामकै कर्तव्यबाट ज्यान मर्न गएको देखियो र मिसिल संलग्न रहेको कुनै प्रमाणहरूबाट प्रतिवादी सूर्य नारायण यादव र अशोक शर्माको संलग्नता पुष्टि हुन सकेको नदेखिँदा सुरू सप्तरी जिल्ला अदालतबाट वैजनाथी रामलाई ज्यानसम्बन्धी महलको (१) र १३(३) नं.को कसुरमा सोही महलको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने, सूर्य नारायण यादव र अशोक शर्मालाई सफाइ दिने गरी मिति २०६९।१२।२० मा भएको फैसला सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको मिति २०७१।८।२२ मा पुनरावेदन अदालत राजविराजबाट भएको फैसला ।
प्रस्तुत मुद्दामा Bleeding from Right nostril, Right periorbital swelling and bruise, Swelling over right frontoparieto temporal region of head with underlying soft tissue haematoma, Cause of death is head injury leading to shock and death भन्ने बेहोराको Autopsy Report बाट मृतकको मृत्यु कर्तव्यबाट भएको भन्ने पुष्टि भइरहेको उक्त प्रतिवेदनलाई समर्थन गर्ने गरी सोभित रामको जाहेरी दरखास्त रहेको देखिन्छ भने सो जाहेरीलाई बकपत्र गरी पुष्टिसमेत गरेको देखिन्छ । मृतक बौकी देवी र प्रतिवादी वैजनाथी रामसँगै बसी रक्सी खाइरहेकोमा अन्य प्रतिवादीहरू सूर्य नारायण यादव, वैजनाथी ठाकुर, अशोक शर्मा, फेकु मलाहसमेतले निज प्रतिवादी वैजनाथी रामलाई नास्ता, चुरोट लिन बजारतर्फ पठाई मृतकलाई जबरजस्ती करणी गरी प्रतिवादी वैजनाथी राम फर्किई आउँदा मृतक बेहोस अवस्थामा रहेको र अन्य प्रतिवादीहरू फरार भएको भनी अन्य प्रतिवादीहरूलाई मौकामा पोल गरेको अवस्था देखिन्छ । साथै स्वयम् प्रतिवादी वैजनाथी रामलाई कसुर ठहरसमेत भएको अवस्था एवम् मौकामा बुझिएका व्यक्तिहरूले पनि यी प्रतिवादीहरूउपर कर्तव्यमा पोल गरी लेखाएको कागज बेहोरासमेतका मिसिल संलग्न प्रमाणहरूबाट यी प्रतिवादीहरूले आरोपित कसुर गरेको पुष्टि भइरहेको अवस्थामा सफाइ दिने गरी भएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ को कानूनी त्रुटि भएको हुँदा उक्त फैसला त्रुटिपूर्ण भई बदरभागी छ ।
प्रतिवादी सूर्य नारायण यादव तथा प्रतिवादी अशोककुमार शर्मा मौकामा भागी उक्त मिति तथा समयमा भारतमा रहेको भनी Alibi को जिकिर लिए तापनि वस्तुनिष्ठ प्रमाणबाट पुष्टि गर्नसकेको
देखिँदैन । प्रस्तुत सन्दर्भमा “फौजदारी मुद्दामा Alibi सम्बन्धी मान्य सिद्धान्तअनुसार जस्ले वारदात मितिमा घटनास्थलमा थिइनँ अन्यत्र थिएँ भन्ने जिकिर लिन्छ, यस्तो अन्यत्र रहेको भन्ने Alibi को जिकिर लिने प्रतिवादीले नै प्रमाणित गर्नुपर्ने हुन्छ” (ने.का.प. २०६२, अङ्क ५, नि.नं. ७५४०, पृष्ठ ५८३) भनी सम्मानित अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल भई उक्त फैसला त्रुटिपूर्ण हुँदा सुरू अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्नेमा सफाइ दिने गरी भएको पुनरावेदन अदालत राजविराजको उक्त फैसला कानून प्रतिकूल देखिँदा बदर गरी प्रतिवादीहरूलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७२।६।१२ मा वादी नेपाल सरकारतर्फबाट यस अदालतसमक्ष दायर भएको पुनरावेदन ।
यस अदालतको ठहर
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक वादीको तर्फबाट उपस्थित हुनुभएको विद्वान् उपन्यायाधिवक्ता श्री खडिन्द्र राज कटुवालले प्रतिवादी सूर्य नारायण यादव र अशोक शर्माले वारदातको समयमा आफू त्यस स्थानमा नभई भारतमा रहेको भनी Alibi को जिकिर लिए तापनि Alibi को जिकिर प्रमाणसहित पुष्टि गर्न नसकेको र प्रतिवादी वैजनाथी राम तथा बुझिएका मानिसहरूले समेत यी प्रतिवादी सूर्य नारायण यादव र अशोक शर्मालाई पोल गरेको अवस्थामा निजहरूलाई सफाइ हुने गरी भएको तत्कालीन पुनरावेदन अदालत राजविराजको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी बहससमेत गर्नुभयो ।
उपर्युक्तअनुसार प्रस्तुत भएको बहस जिकिर सुनी निवेदनसहितको मिसिल अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिरबमोजिम हुनुपर्ने हो वा होइन, प्रतिवादी वैजनाथी रामलाई जन्मकैद सजाय हुने गरी पुनरावेदन अदालत राजविराजबाट ठहर भएको फैसला मिलेको छ वा छैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरू वैजनाथी राम, सूर्य नारायण यादव, बैजनाथ ठाकुर, अशोक शर्मा र फेकु मलाहले बौकी देवी रामलाई कर्तव्य गरी मारी खेतमा फालिदिएको हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं.को कसुरमा ऐ.ऐनको १३(३) बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी रहेकोमा सुरू सप्तरी जिल्ला अदालतबाट प्रतिवादीमध्येका वैजनाथी रामलाई अभियोग मागदाबीबमोजिम सर्वस्वसहित जन्मकैद, प्रतिवादी फेकु मलाहको हकमा मुलुकी ऐन, अ.बं.१९० नं.बमोजिम मुलतबीमा राख्ने, प्रतिवादी बैजनाथ ठाकुरको मृत्यु भइसकेको हुँदा मुलुकी ऐन, अ.बं.१७६नं.बमोजिम हुने र प्रतिवादीहरू अशोक शर्मा तथा सूर्य नारायण यादवको हकमा सफाइ पाउने ठहरी फैसला भएको र सफाइ दिएका प्रतिवादीहरू अशोक शर्मा तथा सूर्य नारायण यादवको हकमा सफाइ दिने गरी भएको फैसलाउपर वादी नेपाल सरकार र प्रतिवादी वैजनाथी राम आफूलाई सर्वस्वसहित जन्मकैद हुने फैसलाउपर चित्त नबुझाई पुनरावेदन अदालत राजविराजमा पुनरावेदन गरेकोमा पुनरावेदक वादी तथा प्रतिवादी दुवैको पुनरावेदन जिकिर नपुग्ने भनी पुनरावेदन अदालत राजविराजबाट मिति २०७१।८।२२ मा सुरू सदर भएको रहेछ । प्रतिवादी सूर्य नारायण र अशोक शर्मालाई सफाइ हुने हदसम्म चित्त नबुझाई यी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी नेपाल सरकारको तर्फबाट यस अदालतसमक्ष पुनरावेदन परेको र प्रतिवादी वैजनाथी रामलाई सर्वस्वसहित जन्मकैद सजाय भएको हुँदा निजको हकमा न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम साधकको रोहमा दर्ता हुन आएको देखियो ।
२. सो सन्दर्भमा हेर्दा, प्रतिवादी बैजनाथ ठाकुरको सुरू सप्तरी जिल्ला अदालतबाट फैसला हुनुअगावै मृत्यु भइसकेकोले फौजदारी न्यायको मान्य सिद्धान्तअनुसार बिगो वा क्षतिपूर्ति नभएको अवस्थामा प्रतिवादीको मृत्यु भएसँगै निजको फौजदारी दायित्वसमेत अन्त्य हुने हुँदा निजको हकमा साबिक मुलुकी ऐन, अदालती बन्दोबस्त महलको १७६ नं. र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३ आकर्षित हुने साथै अर्का प्रतिवादी फेकु मलाह सुरूदेखि नै फरार रहेको देखिँदा निज प्रतिवादीको हकमा साबिक मुलुकी ऐन, अदालती बन्दोबस्त महलको १९० नं. र मुलुकी फौजदारी कार्याविधि संहिता, २०७४ को दफा ९८ बमोजिम मुद्दा मुलतबीमा राखिएको हुँदा यस विषयमा थप केही गरिरहनु परेन ।
३. यसमा मिति २०६७।८।२ मा जिल्ला सप्तरी, छिन्नमस्ता गा.वि.स. वडा नं. २ स्थित नारायण यादवको खेतको आलीमा मृतक बौकी देवी रामको लास फेला परेको र सोही मितिमा सितलीदेवी रामको प्रारम्भिक जाहेरी दरखास्त परेबाट अनुसन्धान प्रारम्भ भएको मिसिल संलग्न कागजातबाट
देखिन्छ । अनुसन्धान प्रारम्भ भएपश्चात् सोभित रामले वैजनाथी रामसहित अन्य ४/५ जनाको संलग्नतामा बौकी देवी रामको मृत्यु भएको भन्ने किटानी जाहेरी दिएको पाइन्छ । यस्तै मृतक बौकी देवी रामको दायाँ आँखामाथि निधारमा कालो निलडाम, बायाँ हातको २ ठाउँमा खुइलिएको रगत बगिरहेको, दायाँ कानबाट रगत बगिरहेको, मुखबाट तरल पदार्थ निस्किएको भन्ने घटनास्थल मुचुल्कामा उल्लेख भएको देखिन्छ । मिसिल संलग्न रहेको सगरमाथा अञ्चल अस्पतालबाट भएको शव परीक्षण प्रतिवेदन जाँच हेर्दा मृत्युको कारण grievous head injury leading to shock and death भन्ने देखिन्छ । उल्लिखित घटनास्थल मुचुल्का एवम् विशेषज्ञको शव परीक्षण प्रतिवेदनसमेतबाट यी मृतक बौकी देवी रामको मृत्यु कतर्व्यबाट नै भएको भन्ने देखियो ।
४. अब प्रतिवादी वैजनाथी रामको हकमा साधकको रोहमा दर्ता भई आएकोमा निजउपर लिएको अभियोग दाबीतर्फ विचार गर्दा, मिति २०६८।१।२ मा बौकी देवी रामको पूर्व पति सोभित रामले यी प्रतिवादी वैजनाथी रामले नै मृतकलाई कर्तव्य गरी मारेका हुन् भनी किटानी जाहेरी दिनुका साथै उक्त जाहेरीलाई समर्थन गर्दै अदालतसमक्ष बयानसमेत गरेको देखिन्छ । यी प्रतिवादीले अनुसन्धान अधिकारी तथा अदालतसमक्ष बौकी देवी रामलाई कर्तव्य गरी मारेको सम्बन्धमा इन्कारी बयान गरे तापनि अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा वारदातस्थलमा आफू उपस्थित रहेको भन्ने तथ्यसम्म स्वीकार गरेको देखिन्छ । साथै निज प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष बयान दिने क्रममा आफूलाई कुटपिट गरी डरत्रासमा बयान लेखाएको भनी उल्लेख गरे तापनि सो सम्बन्धमा कुनै प्रमाण पेस गरी पुष्टि गर्न सकेको अवस्थासमेत देखिँदैन । साथै यी प्रतिवादीले अदालतसमक्ष बयान गर्दा आफू वारदातको समयमा भारतमा भएको भन्ने जिकिर लिएको पाइन्छ । वारदातको समयमा अन्यत्र रहेको जिकिर यी प्रतिवादीले लिएकोमा आफू घटनास्थलमा नरहेको तथ्य प्रमाणसहित अदालतसमक्ष पुष्टि गर्नुपर्नेमा पुष्टि गर्न सकेको
देखिँदैन । यसैगरी घटना विवरण कागज तथा वस्तुस्थिति मुचुल्का गर्ने व्यक्तिहरूले समेत यी प्रतिवादीले आफ्नी श्रीमतीलाई मारेको हुँदा हदैसम्मको सजाय होस् भनी किटान गरी लेखाई दिएकोसमेत देखिन्छ । उल्लिखित किटानी जाहेरी, घटनाविवरण कागज र वस्तुस्थिति मुचुल्कासमेतका कागजात एवम् परिस्थितिजन्य प्रमाणबाट मृतक बौकी देवी रामको मृत्यु यी प्रतिवादी वैजनाथी रामकै कर्तव्यबाट भएको भन्ने देखिँदा निजलाई जन्मकैद सजाय गर्ने गरी भएको फैसलालाई अन्यथा भन्नुपर्ने देखिएन ।
५. अब प्रतिवादी सूर्य नारायण यादव र अशोक शर्मालाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ विचार गर्दा, प्रतिवादी वैजनाथी रामले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा सूर्यनारायण यादव, बैजनाथ ठाकुर, अशोक शर्मा र फेकु मलाहसमेत मिली मेरो श्रीमतीलाई जबरजस्ती करणी गरी कुटपिटसमेत गरेको कारण निजको मृत्यु भएको हुनुपर्दछ भन्ने उल्लेख गरेको भए तापनि अदालतसमक्ष बयान गर्दा आफू कसुरमा संलग्न रहेको सम्बन्धमा इन्कार गर्नुका साथै यी प्रतिवादी सूर्य नारायण र अशोक शर्माको संलग्नता सम्बन्धमा जिकिर लिएको देखिँदैन । मिसिल संलग्न रहेको घटनास्थल प्रकृति मुचुल्का, लास जाँच प्रकृति मुचुल्का एवम् शव परीक्षण प्रतिवेदनबाट मृतकलाई जबरजस्ती करणी भएको भन्ने तथ्य पुष्टि हुनसकेको समेत देखिँदैन । यस्तै जाहेरी दरखास्त दिने व्यक्ति एवम् घटना विवरण कागज गर्ने र वस्तुस्थिति मुचुल्का गर्ने व्यक्तिहरूले प्रतिवादी सूर्य नारायण र अशोक शर्माको नाम उल्लेख गरे तापनि निजहरूको कसुरमा के कति संलग्नता रहेको भन्ने सम्बन्धमा स्पष्ट भन्न सकेको देखिँदैन । साथै प्रतिवादी सूर्य नारायण यादव र अशोक शर्माको साक्षीले अदालतसमक्ष बयान गर्दा वारदात हुने समयभन्दा अगाडिदेखि नै यी प्रतिवादीहरू भारतमा रहेको भन्ने लेखाएको पाइन्छ । यसरी मिसिल संलग्न रहेको कुनै पनि कागजात वा प्रमाणहरूबाट प्रतिवादी सूर्य नारायण यादव र प्रतिवादी अशोक शर्माले मृतक बौकी देवी रामलाई कर्तव्य गरी मार्ने कसुरमा संलग्नता रहेको भन्ने शंकारहित तवरबाट पुष्टि हुन नसकेको अवस्थामा केवल बुझिएका मानिसहरूको कथन एवम् प्रतिवादी वैजनाथी रामले पोल गरेको आधारमा यी प्रतिवादीहरूलाई कसुरदार कायम गर्नु न्यायोचित देखिएन ।
६. अब पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर हेर्दा, वारदात मितिमा घटनास्थलमा थिइनँ अन्यत्र थिएँ भन्ने यी प्रतिवादी सूर्य नारायण यादव तथा अशोक शर्माले Alibi को जिकिर लिए तापनि प्रमाणित गर्न नसकेको अवस्थामा यी प्रतिवादीहरूले सफाइ पाउने गरी भएको फैसला त्रुटिपूर्ण छ भन्ने जिकिर लिएको देखिन्छ । सो सन्दर्भमा हेर्दा, फौजदारी मुद्दामा कुनै व्यक्तिलाई कसुरदार प्रमाणित गर्ने भार (Onus probandi) वादी पक्षमा निहित रहने
हुन्छ । यदि कुनै पनि स्वतन्त्र प्रमाण वा परिस्थितिजन्य प्रमाणहरूबाट यी व्यक्ति कसुरदार हुन् भनी प्रमाणित गर्न नसकेको अवस्थामा Plea of alibi को विषयमा प्रश्न उठ्ने देखिँदैन । तर यदि कुनै पनि स्वतन्त्र प्रमाण वा परिस्थितिजन्य प्रमाणहरूबाट यी व्यक्ति कसुरदार हुन् भनी देखिन आएमा मात्र Plea of alibi को विषयमा प्रश्न उठ्ने देखिन्छ । प्रस्तुत मुद्दाको सन्दर्भमा हेर्दा यी प्रतिवादी सूर्य नारायण यादव तथा अशोक शर्मालाई कसुरदार हुन् भनी वादी पक्षले वा कुनै पनि प्रमाणहरूबाट पुष्टि हुन नसकेको अवस्था छ । Alibi को जिकिर प्रमाणित गर्ने अवस्था यी प्रतिवादीहरू कसुरदार हुन् भनी देखिएमा मात्र Alibi को जिकिर पुष्टि गर्ने भार यिनै प्रतिवादी सूर्य नारायण यादव तथा अशोक शर्मामा निहित हुने हुँदा पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । यसरी उल्लिखित कारणहरूबाट सुरू सप्तरी जिल्ला अदालत तथा तत्कालीन पुनरावेदन अदालत राजविराजले यी प्रतिवादी सूर्य नारायण यादव र अशोक शर्मालाई अभियोग दाबीबाट सफाइ पाउने गरी भएको फैसला मिलेकै देखिन आयो ।
७. अब प्रतिवादी वैजनाथी रामलाई तत्काल प्रचलित मुलुकी ऐन, ज्यानसम्बन्धी महलको दफा १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय ठहर भएको पुनरावेदन अदालत राजविराजको फैसलातर्फ हेर्दा, तत्काल प्रचलित कानूनी व्यवस्थाअनुसार यी प्रतिवादीको हकमा ज्यानसम्बन्धीको १३(३) आकर्षित हुने देखिए पनि हाल मुलुकी ऐन, खारेज भई मुलुकी अपराध संहिता, २०७४ को लागु भएको अवस्था छ । सोही संहिताको दफा ४०(२) मा “कानूनमा कुनै कसुरबापत सर्वस्वको सजाय हुने रहेछ भने यो संहिता प्रारम्भ भएपछि त्यस्तो कसुरमा सजाय गर्दा सर्वस्व हुने गरी सजाय गरिने छैन” भन्ने व्यवस्था रहेको र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ५ मा “कुनै कसुर सम्बन्धमा कसुर गर्दाका बखतभन्दा सजाय निर्धारण गर्दाको बखत कानूनबमोजिम घटी सजाय हुने रहेछ भने घटी सजाय हुने गरी निर्धारण गर्नुपर्ने छ” भन्ने व्यवस्था रहेको पाइन्छ । साथै केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९ को उपदफा (२) को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांशमा “कुनै फौजदारी कसुरको सजाय मुलुकी अपराध संहितामा लेखिएभन्दा बढी रहेछ भने मुलुकी अपराध संहितामा लेखिएको हदसम्म मात्र सजाय हुने छ” भन्ने कानूनी व्यवस्था भएबाट यी प्रतिवादीलाई सर्वस्वको सजाय हुने अवस्था देखिएन ।
८. तसर्थ, माथि विवेचित आधार, कारणहरूबाट प्रतिवादी बैजनाथ रामले अभियोग दाबीबमोजिम तत्काल प्रचलित मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं.विपरीत ऐ. महलको १३(३) नं. अनुसारको कसुर अपराध गरेको वारदात स्थापित हुन आएको हुँदा अभियोग दाबीबमोजिम निज प्रतिवादीलाई सर्वस्वसहित जन्मकैद गरेकोमा जन्मकैद सजाय हुने तथा प्रतिवादीहरू सूर्य नारायण यादव र अशोक शर्मालाई सफाइ दिने गरी सुरू इन्साफ सदर हुने ठहर्याएको तत्कालीन पुनरावेदन अदालत राजविराजको मिति २०७१।०८।२२ को फैसला सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल खण्ड
माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी वैजनाथी रामलाई सर्वस्वको सजाय नहुने हुँदा निज प्रतिवादीको नाउँको सर्वस्वको लगत कट्टा गर्नु भनी सप्तरी जिल्ला अदालमा लेखी पठाइदिनू..................................१
फैसलाको जानकारी प्रतिवादीलाई यसै अदालतबाट दिनू र प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको विद्युतीय प्रति अपलोड गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू.............................२
उक्त रायमा सहमत छु ।
न्या.तेजबहादुर के.सी.
इजलास अधिकृत: विनिता भारती
इति संवत् २०७८ साल चैत्र १३ गते रोज १ शुभम् ।