शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १११६८ - अंश दर्ता

भाग: ६५ साल: २०८० महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई

माननीय न्यायाधीश श्री कुमार रेग्मी

 फैसला मिति : २०७९।०७।२०

 

मुद्दा:- अंश दर्ता

 

०७३-CI-०४६६

पुनरावेदक / प्रतिवादी : स्व. बतहुप्रसाद शर्माको छोरा, जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका, वडा नं.११ बस्ने चन्द्रप्रकाश शर्मा

विरूद्ध

प्रत्यर्थी / वादी : स्व. बतहुप्रसाद शर्माको छोरा, धनुषा जिल्ला, बसहिया गाउँ विकास समिति, वडा नं.३ बस्ने केदारनाथ शर्मासमेत

 

०७३-CI-०४६७

पुनरावेदक / प्रतिवादी : स्व. बतहुप्रसाद शर्माकी बुहारी, चन्द्रप्रकाश शर्माकी श्रीमती, जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका, वडा नं.११ बस्ने बवन शर्मा 

विरूद्ध

प्रत्यर्थी / वादी : स्व. बतहुप्रसाद शर्माको छोरा, धनुषा जिल्ला, बसहिया गाउँ विकास समिति, वडा नं.३ बस्ने केदारनाथ शर्मासमेत

 

०७३-CI-१६१७

पुनरावेदिका / प्रतिवादी : जिल्ला धनुषा, बसहिया गाउँ विकास समिति, वडा नं.३ हाल परिवर्तित जनकपुर उपमहानगरपालिका, वडा नं.२४ मा बस्ने बतहुप्रसाद शर्माको छोरा, उपेश्वरप्रसाद भूमिहार मरी मुद्दा सकार गर्ने ऐ.ऐ. बस्ने रामसिकील देवी

विरूद्ध

प्रत्यर्थी / वादी : जिल्ला धनुषा, बसहिया गाउँ विकास समिति, वडा नं.३ हाल परिवर्तित जनकपुर उपमहानगरपालिका, वडा नं.२४ बस्ने बतहुप्रसाद शर्माको छोरा, केदारनाथ शर्मासमेत

 

०७३-CI-१४२०

पुनरावेदक / वादी : स्व. बतहुप्रसाद शर्माको छोरा, जिल्ला धनुषा, बसहिया गाउँ विकास समिति, वडा नं.३ हाल परिवर्तित जनकपुर उपमहानगरपालिका, वडा नं.२४ बस्ने केदारनाथ शर्मा

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : स्व. बतहुप्रसाद शर्माकी बुहारी, चन्द्रप्रकाश शर्माकी पत्नी, जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका, वडा नं.११ हाल परिवर्तित ऐ. वडा नं.८ बस्ने बवन शर्मासमेत

 

दाइजो हुनको लागि माइती मावलीपट्टिका नातेदार इष्टमित्रहरूले दिएको सम्पत्ति हुनुपर्ने र पेवा हुनको लागि लोग्ने वा लोग्नेपट्टिका सबै अंशियारहरूको मन्जुरीको लिखत गरिदिएको हुनुपर्ने ।

(प्रकरण नं.७)

अंशियारबाहेक आफ्नो सहोदर दाजुबाट बकसपत्रको माध्यमबाट प्राप्त गरेको जग्गालाई निजी आर्जनकै सम्पत्ति मान्नुपर्ने ।

(प्रकरण नं.१२)

ऋण लिएको घर जग्गा नै अन्य अंशियारलाई बन्डा नलाग्ने निजी आर्जनको ठहरिसकेको अवस्थामा ऋण भने बन्डा हुनुपर्छ भन्ने जिकिर मनासिब नदेखिने ।

(प्रकरण नं.१७)

 

वादीका तर्फबाट : 

प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री प्रकाशबहादुर के.सी. र श्री श्यामप्रसाद पाण्डे तथा विद्वान् अधिवक्ता श्री सीता भट्ट

अवलम्बित नजिर :

ने.का.प.२०६७, अङ्क ९, नि.नं.८४५४

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्ने न्यायाधीशः

माननीय न्यायाधीश श्री चन्द्रमणी ज्ञवाली

धनुषा जिल्ला अदालत 

पुनरावेदन तहमा फैसला गर्ने न्यायाधीशः

माननीय न्यायाधीश श्री पुरूषोत्तम भणडारी

माननीय न्यायाधीश श्री ईश्वरीप्रसाद घिमिरे

पुनरावेदन अदालत जनकपुर

 

फैसला

न्या.डा.आनन्दमोहन भट्टराई : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ:-

तथ्य खण्ड

हाम्रो मूल पुरूष बाबु बतहुप्रसाद र आमा मोहरी देवी दुवै जनाको मृत्यु भइसकेकोले हामी चार भाइ छोरामा जेठो विपक्षी उपेश्वरप्रसाद शर्मा, माहिलो म वादी केदारनाथ शर्मा, साहिँलो विपक्षी चन्द्रप्रकाश शर्मा र कान्छो यादवप्रसाद शर्मा मृत्यु भइसकेको हुँदा निजको श्रीमती म वादी उषा शर्मा गरी चार जना अंशियार 

हौं । म केदारनाथ शर्मा बैंकको जागिरको सिलसिलामा विराटनगरमा बसेँ । दाजु उपेश्वरप्रसाद शर्मा पैतृक जग्गा जमिन उपभोग गर्दै पैतृक घर बसहियामा रहनुभएको छ । हामी केदारनाथ, चन्द्रप्रकाश र यादवप्रसादले आफ्नो आर्जनको केही जग्गा विराटनगरतर्फ आर्जन गरी सगोलमा बसी आएका थियौं । विपक्षी दाजु उपेश्वरप्रसाद शर्माले जनकपुरस्थित जग्गाको र भाइ चन्द्रप्रकाश शर्माले विराटनगरतर्फको आय नदेखाई आफूखुसी गर्न थालेपछि विपक्षीहरूसँग अंश माग गर्दा नदिएकाले यो नालेस गर्न आएका छौं । तसर्थ, प्रतिवादीमध्येका उपेश्वरप्रसाद शर्मासँग २०६४।१।२ देखि र प्रतिवादी चन्द्रप्रकाश शर्मासँग फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सोही मितिसम्मको बन्डा गर्नुपर्ने सम्पत्तिको तायदाती फाँटवारी लिई उपेश्वरप्रसाद शर्मासँग ४ भागको १।१ भाग र मोरङ जिल्लाअन्तर्गतका जग्गाहरूको तायदाती फाँटवारी प्रतिवादी चन्द्रप्रकाश शर्मासँग लिई सो जग्गाहरू हामी वादी र प्रतिवादी चन्द्रप्रकाशसमेत तीन जनाको अंश रहेकोले सोबाट ३ खण्डको १।१ खण्ड अंश हामीलाई दिलाई हाम्रो नाममा दर्तासमेत गरिपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी । 

हामीमध्ये जेठा दाजु उपेश्वरप्रसाद शर्मा २०२७ सालमा सहकारी विभागमा, केदारनाथ शर्मा र म नेपाल बैंक लि. धुलाबारी शाखामा र कान्छा भाइ विपक्षी उषा शर्माको पति स्व.यादवप्रसाद शर्मा २०३१ सालमा नेपाल बैंक लि. धुलाबारी शाखामा सेवा प्रवेश गरी २०३२ सालको दशैं बिदामा घर जाँदा बाबु बतहुप्रसादले हामी सबैलाई भेला गरी तिमीहरू चारै भाइ जागिरे भएकाले आफूले आर्जन गरेको सम्पत्ति आ-आफूले व्यवहार गर्नु, पुर्ख्यौली सम्पत्ति म मरेपछि चारै जनाले बाँडी लिनु भनेकोले हामीले सहमति जनायौं । बुबाको २०३२ साल फाल्गुणमा देहावसान भएपछि सहमति भएबमोजिम नै आ-आफूले बढे बढाएको सम्पत्ति आ-आफैँले भोग चलन गरी आएका छौं । पैतृक सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति तीनै जनासँग छ । म चन्द्रप्रकाश शर्मा नेपाल बैंक लि. मा २०२७ सालमा सेवा प्रवेश गरी २०६१ सालमा अवकाश भएँ । मसँग कुनै पैतृक सम्पत्ति छैन । मेरी पत्नी बवन शर्मा २०४४ सालमा नेपाल बैंक लि. धुलाबारी शाखामा प्रवेश गरी हालसम्म निरन्तर कार्यरत 

छिन् । मेरी पत्नीले नोकरीबाट प्राप्त तलब भत्ता, बोनस, घरकर्जालगायत विभिन्न कर्जाको सुविधा प्रयोग गरी मोरङ जिल्लाका विभिन्न गाउँ विकास समिति र नगरपालिकासमेतमा जग्गा खरिद गरी घर निर्माण गरी चल सम्पत्तिको हकमा विभिन्न बैंकहरूको सेयर खरिद गरी राखेका छौं । हामीले घर व्यवहार चलाउने क्रममा विभिन्न व्यक्तिबाट ऋण कर्जासमेत लिएका 

छौं । म चन्द्रप्रकाश शर्मा र बवन शर्माको नाममा भएको जग्गा जमिन, सेयरसमेत निजी आर्जनको सम्पत्ति भएकोले सो बन्डा हुने होइन । प्रतिवादीमध्येका दाजु उपेश्वरप्रसाद शर्मा र वादीहरूसँग रहेको सम्पत्ति बन्डा गरी ४ भागको १ भाग मेरोसमेत अंश छुट्याइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी चन्द्रप्रकाश शर्माको प्रतिउत्तर ।

वादी दाबी र भाइ चन्द्रप्रकाशको प्रतिउत्तर बेहोरा झुठ्ठा हो । सबै सम्पत्ति सगोलको सम्पत्तिबाटै बढे बढाएको हो । पिता गान्धी सेवा आश्रम बसहियाका जनरल मेनेजर हुनुहुन्थ्यो । उहाँको देहावसान भएपछि मैले नै काजकिरिया, श्राद्ध गरेको हुँ । म पनि १४ वर्षदेखि २५ वर्षसम्म गान्धी आश्रममा तालिम लिनुका साथै घरको मूली भई भाइहरूलाई पढाउने लेखाउनेसमेतका काम गरी २०२८ सालमा सहकारी विभागमा सहकारी सबइन्स्पेक्टर भई ०५७।११।४ मा स्वेच्छिक अवकाश लिएको छु । घर, खेती तथा सगोलको पैतृक सम्पत्तिको आर्जनबाट बढे बढाएको सम्पत्तिसमेत विभिन्न व्यक्तिको नाममा रहेकोले सम्पूर्ण सम्पत्तिबाट बन्डा छुट्याइपाउँ भन्ने प्रतिवादी उपेश्वरप्रसाद शर्माको प्रतिउत्तर । 

प्रतिवादी उपेश्वरबाहेकले आ-आफ्नो नोकरीबाट निजी आर्जनको सम्पत्ति जोडेको र प्रतिवादी उपेश्वरले पुर्ख्यौली सम्पत्ति लिएर गाउँमै बसेको हुँदा पुर्ख्यौली सम्पत्ति बन्डा लाग्ने हो भन्ने बेहोराको वादीका साक्षी रामरतन भूमिहारको बकपत्र ।

बसहियाको सम्पत्ति पैतृक भएकोले बन्डा हुनुपर्ने हो, मोरङको जग्गा आ-आफ्नो कमाइबाट किनेको हुँदा बन्डा लाग्ने होइन भन्ने बेहोराको प्रतिवादी चन्द्रप्रकाशको साक्षी रामनरेश चौधरी र अर्जुन झाको एकै मिलानको बकपत्र ।

सबै अंशियारको नाममा भएको जाग्गा सबै अंशियारलाई बन्डा लाग्ने हो भन्ने बेहोराको प्रतिवादी उपेश्वरप्रसादको साक्षी हिताई मण्डलको बकपत्र ।

यसमा हामी ४ अंशियार रहेको हुँदा सम्पूर्ण सम्पत्तिलाई चार भाग गरी हामी वादीहरूलाई १।१ भाग छुट्याइपाउँ भन्ने वादी दाबी र वादीको नामको सम्पत्तिसमेत बन्डा लाग्नुपर्ने हो भन्ने प्रतिउत्तर जिकिर रहेकोमा वादी प्रतिवादीका बिचमा नातामा विवाद नदेखिएको र अंशबन्डा भएकोसमेत नदेखिँदा वादीले प्रतिवादीबाट अंश पाउने नै देखिन आयो । मानो छुट्टिएको सम्बन्धमा कुनै लिखत प्रमाण नहुँदा फिराद परेको दिनलाई मानो छुट्टिएको मिति कायम गरी सोको अघिल्लो दिन अर्थात् २०६४।८।२५ सम्मको वादी प्रतिवादी जिम्माको बन्डा गर्नुपर्ने चल अचल श्रीसम्पत्तिको तायदाती फाँटवारी अंशबन्डाको २०, २१, २२, २३ नं.बमोजिम दुवै पक्षबाट लिनु भन्ने सुरू धनुषा जिल्ला अदालतको मिति २०६५।१२।५ को आदेश । 

वादी र प्रतिवादीहरूले पेस गरेको तायदाती फाँटवारी मिसिल सामेल रहेको ।

वादी प्रतिवादीका फाँटवारीमा उल्लिखित जग्गा दर्ता धारक भनिएका शिला शर्मा, अरविन्दकुमार शर्मा, बवन शर्मा वादी प्रतिवादीभन्दा बाहेकका व्यक्ति देखिएकाले निजहरूका नाममा अ.बं.१३९ नं.बमोजिम ७ दिने म्याद जारी गरी बुझ्नु भन्ने सुरू धनुषा जिल्ला अदालतको मिति २०६८।२।२ को आदेश । 

चन्द्रप्रकाश शर्माले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित मेरा नामका जग्गाहरूमा वादी प्रतिवादीको अंश लाग्ने होइन । मेरा पति र मैले नेपाल बैंक लि.मा काम गरी त्यहाँबाट पाएको तलब भत्ता, सञ्चय कोषसमेत सञ्चित गरी किनी सोबाट बढे बढाएको र केही जग्गा मेरो दाजुबाट बकसपत्र प्राप्त भएको हुँदा सोमा अंश लाग्ने होइन । मेरो एकलौटी निजी आर्जनको सम्पत्ति हो भन्ने बेहोराको अ.बं.१३९ नं.बमोजिम बुझिएकी बवन शर्माले गरेको बयान ।

अ.बं.१३९ नं.बमोजिम बुझ्न म्याद जारी गरिएका शिला शर्मा र अरविन्दकुमार शर्माले मिति २०६८।४।१८ मा तामेल भएको ७ दिने म्याद गुजारी बसेको ।

वादी प्रतिवादीबिच कानूनबमोजिम रीतपूर्वक अंशबन्डा भएको लिखित प्रमाण रहेको नदेखिई अंशबन्डा हुने नै हुँदा प्रतिवादी चन्द्रप्रकाश शर्माले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित निजको र निजकी पत्नी बवन शर्माको नाममा दर्ता रहेका घर जग्गाहरू निजहरूले बैंकबाट प्राप्त गरेको रकम कर्जासमेतबाट आर्जन गरेको एवम् निजहरूको नाममा र निजका छोराहरू गोपालप्रसाद र संजिवकुमारको नाम दर्ताको सेयरहरूसमेत निजहरूको निजी भई अंशबन्डाको १८ नं.बमोजिम अन्य अंशियारबिच अंशबन्डा नभई निजहरूको निजी आर्जन देखिँदा सोबाहेक वादी प्रतिवादीले पेस दाखेल गरेका तायदाती फाँटवारीमा उल्लिखित ऋणको हकमा साहुको उजुर परेका बखत ठहरेबमोजिम हुने नै हुँदा अन्य पेस हुन आएका सम्पत्तिमा दर्ता स्रेस्ता, भोग मिले भिडेको सम्पत्तिलाई कूल ४ भाग लगाई ४ भागको १।१ भाग वादीहरूले प्रतिवादीहरूबाट छुट्याइलिन पाउने ठहर्छ । सो अंश पाएको सम्पत्ति वादीहरूको नाममा छुट्टाछुट्टै दर्तासमेत हुने ठहर्छ भन्ने सुरू धनुषा जिल्ला अदालतको मिति २०६९।२।२४ को फैसला ।

सगोलमा रहेको अवस्थाको धन, ऋण सबै बन्डा लाग्ने अंशबन्डाको १८ नं. को कानूनी व्यवस्था रहेको अवस्थामा मैले रा.वा.बैंक र ग्लोबल बैंकबाट ऋण कर्जा लिई सो रकम चुक्ता गरेको लिखतसमेत पेस गरेको अवस्थामा सो ऋण कर्जासमेत बन्डा लाग्ने ठहर फैसला हुनुपर्नेमा सो नठहराएको सुरू जिल्ला अदालतको फैसला बदर गरी मेरो दाबी जिकिरबमोजिम न्याय पाउँ भन्ने वादी केदारनाथ शर्माको पुनरावेदन अदालत जनकपुरमा परेको पुनरावेदन । 

म र मेरी पत्नी नाम दर्ताको जग्गा जमिन निजी आर्जन एवम् दाइजो पेवाबाट खरिद गरिएको प्रमाणित हुँदाहुँदै सोमा बन्डा लाग्ने र प्रतिवादी चन्द्रप्रकाश शर्मा र निजकी पत्नी बवन शर्मा तथा छोराहरूको नाम दर्ताको जग्गा, घर, सेयर निजी आर्जनको भई बन्डा नहुने ठहर गरेको र मैले तिरेको ऋण बन्डा हुनुपर्नेमा नगरेको हदसम्म सुरू धनुषा जिल्ला अदालतको फैसला बदर गरी मेरो दाबी जिकिरबमोजिम न्याय पाउँ भन्ने प्रतिवादी उपेश्वरप्रसाद शर्माको पुनरावेदन अदालत जनकपुरमा परेको पुनरावेदन । 

यसमा वादी र प्रतिवादी दुवै पक्षले आ-आफ्नो नाममा दर्ता रहेको केही सम्पत्तिका सम्बन्धमा आफ्नो निजी आर्जनको सम्पत्ति हो, अंशबन्डा लाग्ने सम्पत्ति होइन भन्ने जिकिर लिई मुद्दाको दुवै पक्षले आफ्नो निजी आर्जनको सम्पत्ति हो भनी पेस गरेको सबुद प्रमाणमध्ये केहीलाई मान्यता दिई केहीलाई मान्यता नदिई धनुषा जिल्ला अदालतबाट भएको फैसला सबुद प्रमाणको मूल्याङ्कनको रोहमा नमिली फरक पर्नसक्ने देखिँदा वादीमध्येको पुनरावेदन गर्ने पुनरावेदक वादी केदारनाथ शर्मा र प्रतिवादीमध्येका पुनरावेदक उपेश्वरप्रसाद भूमिहारलाई एक अर्कोको पुनरावेदन एक अर्कोलाई अ.बं.२०२ नं. को प्रयोजनको लागि जानकारी 

गराउनू । पुनरावेदन नगर्ने वादी उषा शर्मा र पुनरावेदन नगर्ने प्रतिवादी चन्द्रप्रकाश शर्माको नाममा अ.व.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली,२०४८ को नियम ४७ बमोजिम म्याद जारी गरी उपस्थित भए वा म्याद नाघेपछि नियमबमोजिम पेस गर्नु भन्ने पुनरावेदन अदालत जनकपुरको मिति २०७०।२।२८ को 

आदेश ।

प्रतिवादी उपेश्वरप्रसाद भूमिहारको गाउँ ब्लकभित्रको घर बसोबाससमेतको घर जग्गा, वादी केदारनाथ शर्माको श्रीमती शिला शर्माको नामको कि.नं. ३७५, ३९३ को जग्गामा निर्माण भएको घर जग्गा, वादी उषा शर्मा नामको कि.नं. ४९९ को घर जग्गासमेत बन्डा लाग्ने ठहर भएको र प्रतिवादीमध्येका चन्द्रप्रकाश शर्माको नाममा दर्ता कायम भएको कि.नं.७१७ को घर जग्गाबाहेकको अन्य जग्गा तथा निजकी श्रीमती बवन शर्माको नामको राजीनामाबमोजिमको जग्गासमेत बन्डा हुने देखिएकोमा सो जग्गाहरू बन्डा नलाग्ने ठहर भएको हदसम्म सुरू धनुषा जिल्ला अदालतको मिति २०६९।२।२४ को फैसला मिलेको नदेखिँदा केही उल्टी भई सो जग्गासमेत बन्डा लाग्ने ठहर्छ र अन्य कुराको हकमा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत जनकपुरको मिति २०७२।०४।३१ को फैसला ।

वादी उषा शर्माले कि.नं.४९९ को जग्गा निजी आर्जनको हो भनी जिकिर नलिएको र सुरू अदालतबाट उक्त कि.नं.४९९ को जग्गा बन्डा लाग्ने भनी गरेको फैसलाउपर पुनरावेदन नगरी चित्त बुझाई बसेको अवस्थामा समेत निजी आर्जनको सम्पत्ति ठहर गरेको, प्रतिवादी उपेश्वरप्रसाद शर्माले तायदातीमा उल्लेख गरेको गाउँब्लकको ०-०-१५ जग्गा र सो जग्गामा रहेको ५ कोठे घरलाई निजी आर्जनअन्तर्गतको हो भनी जिकिर लिन नसकेको, निजकी बुहारी चञ्चल शर्माको नाममा रहेको कि.नं.७२ को ०-०-१२ जग्गाको पारित लिखतमा दाइजो रकमबाट खरिद गरेको भन्ने बेहोरा उल्लेख भए पनि सोको प्रमाण पेस गर्न नसकेको अवस्थामा समेत उक्त जग्गा निजी आर्जनको ठहर गरेको, त्यसैगरी वादी केदारनाथ शर्माकी श्रीमती शिला शर्मा नाम दर्ताको कि.नं.३७५ को जग्गामा सगोलको सम्पत्तिबाट २०४९ सालअघि नै घर निर्माण भएको र कि.नं.३९३ को जग्गामा घरै नबनेको अवस्थामा उक्त दुवै कित्ता जग्गामा बैंकबाट ऋण लिई घर निर्माण गरेको भन्ने आधारमा निजी आर्जनको ठहर गरेको पुनरावेदन अदालत जनकपुरको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी सो जग्गाहरू बन्डा गरिपाऊँ । साथै मेरो नाम दर्ताको जिल्ला मोरङ, दादरबैरिया गाउँ विकास समिति वडा नं. ६ (क), ९ (क) को कि.नं.२५, १०९, ३५०, ३३४, २१, २२, २४ को जग्गा र मेरी पत्नी बवन शर्मा नाम दर्ताको विराटनगर उपमहानगरपालिका वडा नं. ११ को साबिक कि.नं. ६५९ र जिल्ला मोरङ, दादरबैरीया गाउँ विकास समिति वडा नं. ६ को कि.नं. २७३, २७४, २३० का जग्गाहरू आफू र श्रीमती दुवै जनाले बैंकमा जागिर खाएको तलब सुविधाले खरिद गरेको निजी आर्जनको सम्पत्तिलाई समेत सबै अंशियारहरूलाई बन्डा लाग्ने ठहर गरेको पुनरावेदन अदालत जनकपुरको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी उल्लिखित जग्गाहरू निजी आर्जनको ठहर गरिपाउँ भन्ने बेहोराको प्रतिवादी चन्द्रप्रकाश शर्माको यस अदालतमा परेको पुनरावेदन ।

मेरो नाम दर्ताको जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं. ११ साबिक कि.नं. ६५९ हाल कि.नं.६१७ को ०-१-० जग्गा मेरो पति चन्द्रप्रकाश शर्माले नेपाल बैंक लिमिटेडमा गरेको नोकरीबाट प्राप्त तलब भत्तालगायतका विभिन्न सुविधाहरूबाट खरिद गरेको हो । सो जग्गामा अरू अंशियारको र सगोलको खेती व्यवसायको कुनै रकम लगानी एवम् प्रयोग भएको छैन । त्यसैगरी मेरा नाउँ दर्ताको जिल्ला मोरङ, दादरबैरिया गाउँ विकास समिति वडा नं. ६ कि.न. २७३, २७४, २३० का जग्गाहरू मैले नेपाल बैंक लिमिटेडमा गरेको नोकरीबाट प्राप्त तलब भत्ता तथा सुविधाबापत प्राप्त गरेको रकमका र मेरा दाजु श्यामसुन्दर झाले मिति २०५५/१०/०६ मा बकसपत्र दिनुभएको जग्गाको आम्दानीसमेतबाट खरिद गरी लिएको मेरो निजी आर्जनको हो । उक्त जग्गाहरूलाई सगोलको बन्डा लाग्ने सम्पत्ति भनी पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला मुलुकी ऐन, अंशबन्डा महलको दफा १८ नं. र नेपाल कानून पत्रिका २०७०, अङ्क ६, नि.नं.९०२५, पृ. ८०८ विपरीत हुँदा उक्त फैसला बदर गरी सुरू धनुषा जिल्ला अदालतबाट निजी आर्जन ठहर गरी भएको फैसला सदर कायम रहने गरी न्याय गरिपाउँ भन्ने बेहोराको बवन शर्माको यस अदालतमा परेको पुनरावेदन । 

वादी र प्रतिवादी एकासगोलमा हुँदाकै अवस्थामा चन्द्रप्रकाश शर्माको नामको कि.नं. ७१७, बवन शर्माको नामको कि.नं.६२, ६३, १२२, २६३, २९३, २९५, ३२३, ३२७ का जग्गाहरू, निज चन्द्रप्रकाश शर्माको छोरा गोपालप्रसाद शर्मा र संजिवकुमार शर्माको विभिन्न बैंकमा रहेका सेयरहरू निजी आर्जनको भनी दाबी लिए पनि निजी आर्जनको स्रोत खुलाउन नसकेको र केदारनाथ शर्माकी श्रीमती शिला शर्मा नामको कि.नं. ३७५, ३९३, उषा शर्माको कि.नं. ४९९ को घर जग्गा निजी आर्जनबाट खरिद गरेको भनी निजहरूले तायदाती फाँटवारीमा जिकिर नै नलिएको अवस्थामा ती घर जग्गा तथा सेयरहरू सगोलको सम्पत्तिबाट बढे बढाएको ठहर गरी सबै अंशियारलाई बन्डा गर्नुपर्नेमा अन्य अंशियारलाई बन्डा नलाग्ने निजी सम्पत्ति ठहर गरेको छ । तर सोसरहका मेरो पति उपेश्वरप्रसाद शर्माले २०१४ सालदेखि २०२५ सालसम्म गान्धी सेवा आश्रममा र २०२७।१०।३० देखि सहकारी सबइन्सपेक्टर पदमा नियुक्त भई मिति २०५७।१।२१ मा स्वेच्छिक अवकाश हुँदासम्मको अवधिमा कमाएको रकमले खरिद गरेको बसहिया गाउँ विकास समिति वडा नं.९ को कि.नं. ८४१ र २८५ को जग्गा र मैले माइतीबाट पाएको गरगहना बिक्री गरी खरिद गरेको जनकपुर नगरपालिका वडा नं. ७ कि. नं. ७३ को जग्गालाई निजी आर्जनको ठहर गर्नुपर्नेमा सगोलको सम्पत्ति ठहर गरी सबै अंशियारलाई बन्डा लाग्ने र सगोलमा रहेको अवस्थामा लिएको ऋण कर्जा तिरेको लिखत पेस गरेको अवस्थामा उक्त ऋण कर्जासमेत बन्डा लाग्ने ठहर गर्नुपर्नेमा सो ठहर नगरेको पुनरावेदन अदालत जनकपुरको फैसला प्रत्यक्ष त्रुटिपूर्ण हुँदा सो हदसम्म उक्त फैसला उल्टी गरी न्याय गरिपाउँ भन्नेसमेत बेहोराको उपेश्वरप्रसाद शर्माको मु.स. गर्ने रामसिकील देवीको यस अदालतमा पर्न आएको पुनरावेदन । 

प्रतिवादी उपेश्वरप्रसाद भूमिहारकी पत्नी राम सिकीलदेवी राउत नामदर्ताको कि.नं. १३९५ को जग्गा राजीनामाको कैफियत महलमा धनीको पेवाको रकमबाट खरिद गरेको भन्ने उल्लेख गरेको भए पनि सो ‘दाइजो पेवा’ कसबाट कहिले के कति सम्पत्ति वा रकम पाएको हो भनी खुलाउन नसकेको, त्यसैगरी चन्द्रप्रकाश शर्माकी श्रीमती बवन शर्माको नामको दादरबैरियाको कि.नं. ६२, ६३, १२२, २६३, २९३, २९५, ३२३, ३२७ को जग्गा निजको सहोदर दाजु श्यामसुन्दर झाले ‘रिझाएबापत’ बकसपत्रबाट हक हस्तान्तरण गरिदिएको भन्ने उल्लेख भए पनि आमाबाबुले नभई दाजुले बकसपत्र गरिदिएको र त्यसरी बकसपत्र गरिदिएको सम्पत्तिको स्रोतसमेत खुल्न नसकेको अवस्था छ । त्यसैगरी प्रतिवादी चन्द्रप्रकाश शर्माको नामको कि.नं. ७१७ को जग्गा एकासगोलमै हुँदा खरिद भएको, निजको बुहारी चञ्चल शर्माको नाममा बकसपत्रबाट प्राप्त भएको भनिएको जग्गा मानो छुट्टिएको मितिअघि सगोलकै सदस्यबाट हक हस्तान्तरण भएको अवस्था छ । यस्तो स्थितिमा अन्यथा प्रमाणित नभएसम्म त्यस्तो सम्पत्तिलाई सगोलको सम्पत्ति मानी सबै अंशियारलाई बन्डा गर्नुपर्नेमा निजी सम्पत्ति ठहर गरेको छ । तर म र मेरी श्रीमती शिला शर्माले बैंकमा नोकरी गरी आर्जित रकमबाट कि.नं. ३७५, ३९३ र  ३९२ को जग्गा एकै मितिमा खरिद गरी एकै चक्ला र कम्पाउन्डभित्र पारी बैंकबाट घरकर्जा लिई घर निर्माण गरेको र तायदाती फाँटवारीमा समेत निजी आर्जनको सम्पत्ति हो भनी खुलाइरहेको अवस्थामा कि.नं. ३७५ र ३९३ लाई मात्र निजी आर्जनको ठहर गरी कि.नं. ३९२ को जग्गा र सगोलमा हुँदा विभिन्न बैंकहरूबाट लिएको ऋण कर्जा बन्डा लाग्ने ठहर गरेको फैसला प्रत्यक्ष त्रुटिपूर्ण हुँदा सो हदसम्म उल्टी गरी न्याय पाउँ भन्ने वादी केदारनाथ शर्माको यस अदालतमा पर्न आएको पुनरावेदन ।

यसमा अंश दर्ता मुद्दामा वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परेको देखिँदा उपस्थित पुनरावेदक र प्रत्यर्थीहरूलाई मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २१३(३) को प्रयोजनार्थ एक अर्काको पुनरावेदन परस्पर सुनाई नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतको मिति २०७६/४/२२ को आदेश । 

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल कागज अध्ययन गरी पुनरावेदक/वादी केदारनाथ शर्मा आफैँ तारेखमा रहेको हुँदा निजको कुरा सुनी अन्य पुनरावेदक / प्रतिवादीतर्फको विद्वान् वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको बहससमेत सुनियो ।

पुनरावेदक / प्रतिवादी चन्द्रप्रकाश शर्मा र बवन शर्माको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री प्रकाशबहादुर के.सी.ले मेरो पक्ष चन्द्रप्रकाश शर्मा र बवन शर्मा नेपाल बैंक लिमिटेडमा जागिरे भएको कुरामा विवाद छैन । आफ्नो जागिरबाट कमाएको रकम निजी आर्जनको हुने कुरामा पनि विवाद छैन । निज दुवै जना प्रतिवादीले नोकरीबाट प्राप्त तलब भत्ता तथा अन्य सुविधाबापत प्राप्त गरेको रकमले खरिद गरेको भनी जिकिर लिँदालिँदै सगोलको सम्पत्ति ठहर गरेको फैसला मिलेको छैन । त्यसैगरी वादी उषा शर्माको नामको कि.नं.४९९, प्रतिवादी उपेश्वरप्रसाद शर्माको नामको गाउँब्लकको घर जग्गा, उपेश्वरप्रसाद शर्माकी बुहारी चञ्चल शर्माको नामको कि.नं.७२ र वादी केदारनाथ शर्माकी श्रीमती शिला शर्मा नामको कि.नं.३७५ र ३९३ को जग्गा सगोलको सम्पत्तिबाट खरिद गरेको हुँदा बन्डा लाग्ने ठहर गर्नुपर्नेमा निजी आर्जनको ठहर गरेको हुँदा उक्त पुनरावेदन अदालत जनकपुरको फैसला नमिलेको हदसम्म उल्टी हुनुपर्छ भनी बहस गर्नुभयो ।

त्यसैगरी प्रतिवादी उपेश्वरप्रसाद शर्माको मु.स. गर्ने पुनरावेदिका रामसिकील देवीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद पाण्डे र विद्वान् अधिवक्ता श्री सीता भट्टले सबै अंशियार एकासगोलमै हुँदाको अवस्थामा चन्द्रप्रकाश शर्मा, केदारनाथ शर्मा र स्व. यादवप्रसाद शर्माले आफूलगायत श्रीमती तथा छोराहरूको नाममा खरिद गरेको जग्गालाई निजी आर्जनको ठहर गरेको तर उपेश्वरप्रसाद शर्माले आफ्नो ज्ञान, सीप र प्रयासबाट आर्जन गरी खरिद गरेको कि.नं. २८५, ८४१ तथा निजकी श्रीमती रामसिकील देवीले माइतीबाट पाएको गरगहना बिक्री गरी खरिद गरेको कि. नं. ७३ को जग्गालाई निजी आर्जनको ठहर नगरेको साथै निजहरूले सगोलमा हुँदा विभिन्न बैंकहरूबाट लिएको ऋण कर्जासमेत बन्डा लाग्ने ठहर नगरेको फैसला त्रुटिपूर्ण हुँदा प्रतिवादीहरूको निजी ठहर गरेको सम्पत्ति र मेरो पक्षले सगोलमा हुँदा लिएको ऋण बन्डा गरी कि.नं. २८५, ८४१ र ७३ जग्गासमेत निजी आर्जनको ठहर हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो । 

उपस्थित विद्वान् कानून व्यवसायीहरूले गर्नुभएको उपर्युक्त बहससमेत सुनी पुनरावेदनसहितको मिसिल संलग्न सम्पूर्ण कागजात अध्ययन गरी हेर्दा पुनरावेदन अदालत जनकपुरको फैसला मिलेको छ वा छैन । पुनरावेदक वादी र प्रतिवादीको पुनरावेदन जिकिर पुग्नसक्ने हो वा होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, मूल पुरूष बतहुप्रसाद तथा आमा मोहरी देवीसमेतको मृत्यु भइसकेको हुँदा निजका छोराहरू क्रमशः उपेश्वरप्रसाद, केदारनाथ, चन्द्रप्रकाश र स्व. यादवप्रसादकी श्रीमती उषा शर्मा गरी चार अंशियार रहेकोमा पैतृक सम्पत्ति जेठो दाजु उपेश्वरप्रसादले उपभोग गर्दै आएको र उपेश्वरप्रसाद बाहेक अन्य दाजुभाइले चन्द्रप्रकाशको नाममा विराटनगरमा जग्गा खरिद गरेका छौं । हामीले जेठो दाजुसँग पैतृक सम्पत्तिबाट अंश माग गर्दा दिन नमानेको साथै हाम्रोसमेत लगानीमा खरिद गरिएका जग्गा बाँडफाँट गर्न चन्द्रप्रकाश शर्माले इन्कार गरेको हुँदा उपेश्वरप्रसादका नाममा रहेको जग्गाको ४ खण्डको १।१ खण्ड र चन्द्रप्रकाशको नामको जग्गाबाट ३ खण्डको १।१ खण्ड अंश दिलाइपाउँ भन्ने केदारनाथ शर्मा र स्व.यादवप्रसाद शर्माकी श्रीमती उषा शर्माको फिराद दाबी रहेकोमा हाम्रो बुबा छँदै पैतृक जग्गा बुबाको मृत्युपछि चार जना दाजुभाइले बाँडी लिने र आ-आफ्नो नोकरीबाट आर्जित सम्पत्ति आ-आफ्नो हुने भनी सहमति भएअनुसार पैतृक सम्पत्तिबाट मात्र भाग बन्डा हुनुपर्ने हो भन्ने प्रतिवादी चन्द्रप्रकाश शर्माको र विपक्षीहरूले सगोलको सम्पत्तिबाट परिवारका नाममा खरिद गरेको जग्गा जमिन निजी आर्जनको नभई सगोलको आयस्ताबाट बढे बढाएकोले सम्पूर्ण सम्पत्ति बन्डा हुनुपर्ने हो भन्ने प्रतिवादी उपेश्वरप्रसाद शर्माको प्रतिउत्तर जिकिर रहेको पाइयो । 

३. उक्त वादी दाबी तथा प्रतिउतर जिकिर रहेको प्रस्तुत मुद्दामा सुरू धनुषा जिल्ला अदालतले प्रतिवादी चन्द्रप्रकाश शर्माले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित निजको र निजकी पत्नी बवन शर्माको नाममा दर्ता रहेका घर जग्गाहरू तथा निजका छोराहरू गोपालप्रसाद र संजिवकुमारको नाम दर्ताको सेयरहरूसमेत निजहरूको निजी आर्जनको हुँदा अंशियारहरूबिच बन्डा नहुने र सोबाहेक वादी प्रतिवादीले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिलाई कुल ४ भाग लगाई ४ भागको १।१ भाग वादीहरूले प्रतिवादीहरूबाट छुट्याइलिन पाउने गरी फैसला गरेको रहेछ । उक्त सुरू जिल्ला अदालतबाट फैसलाउपर चित्त नबुझाई वादी केदारनाथ शर्मा र प्रतिवादी उपेश्वरप्रसाद भूमिहारले पुनरावेदन अदालत जनकपुरमा पुनरावेदन गरेकोमा सो अदालतले सुरू धनुषा जिल्ला अदालतको फैसलालाई केही उल्टी गर्दै प्रतिवादी उपेश्वरप्रसाद भूमिहारको गाउँ ब्लकभित्रको घर बसोबाससमेतको घर जग्गा, वादी केदारनाथ शर्माकी श्रीमती शिला शर्माको नामको कि.नं. ३७५, ३९३ को जग्गामा निर्माण भएको घर जग्गा, वादी उषा शर्मा नामको कि.नं. ४९९ को घर जग्गालाई निजी आर्जनको हुँदा बन्डा नलाग्ने र प्रतिवादी चन्द्रप्रकाश शर्माको नाममा दर्ता रहेको कि.नं.७१७ बाहेक अन्य जग्गा तथा निजकी श्रीमती बवन शर्माको नामको राजीनामाबमोजिमको जग्गासमेत निजी आर्जनको नहुँदा बन्डा लाग्ने ठहर्‍याई फैसला गरेपछि सो फैसलाउपरसमेत चित्त नबुझाई वादी केदारनाथ शर्मा र प्रतिवादीहरू उपेश्वरप्रसाद शर्माको मु. स. गर्ने रामसिकील देवी, चन्द्रप्रकाश शर्मा र बवन शर्माको छुट्टाछुट्टै पुनरावेदन पर्न आएको देखियो । 

४. सो सन्दर्भमा हेर्दा पुनरावेदक/वादी केदारनाथ शर्मा, बतहुप्रसाद शर्माको साहिँलो छोरो, पुनरावेदक / प्रतिवादीहरू रामसिकील देवी बतहुप्रसाद शर्माको जेठो छोरो उपेश्वरप्रसाद शर्माकी श्रीमती, चन्द्रप्रकाश शर्मा बतहुप्रसाद शर्माको माहिलो छोरो र बवन शर्मा चन्द्रप्रकाश शर्माकी श्रीमती रहेको देखिन्छ भने कान्छा स्व. यादवप्रसादकी श्रीमती उषा शर्माको पुनरावेदन नपरेको अवस्था छ । पुनरावेदकहरू समान पुस्ताका अंशियार रही निजहरूको बिचमा नातामा विवाद देखिँदैन । विधिवत् रूपमा अंशबन्डा नभएको कुरामा पनि सबैको मुख मिलेकै देखिन्छ । निजहरूबिच अंशबन्डा नभए पनि जेठो उपेश्वरप्रसाद बाहेक अन्य भाइहरू जागिरको सिलसिलामा बाहिर-बाहिरै रहेको, चारैजना दाजुभाइले आफू तथा आ-आफ्ना परिवारसमेतका नाममा घर जग्गा खरिद गरी बैंकको ऋणसमेत सापटी लिई घर निर्माण गरी आ-आफ्नो व्यवहार गर्दै आएको पनि देखिन्छ । साथै प्रस्तुत मुद्दामा सुरू अदालतबाट मिति २०६६।८।२५ लाई मानो छुट्टिएको मिति कायम भएको कुरामा कसैको विमति रहेको पाइँदैन । वादी तथा प्रतिवादीको पुनरावेदन हेर्दा आफू तथा आफ्नो परिवारको नाममा खरिद गरिएका घर जग्गालाई निजी आर्जनको हुँदा बन्डा लाग्न नहुने तर आफूहरूले घर निर्माण गर्दा लिएको ऋण तथा अन्य अंशियारको नाममा खरिद भएका घर जग्गा भने सगोलको ठहर गरी बन्डा हुनुपर्ने भन्ने सबै पुनरावेदकहरूको समान किसिमको जिकिर रहेको पाइँदा निजहरूले पुनरावेदन जिकिरमा उल्लेख गरेका के कुन सम्पत्ति निजी आर्जनका हुन् र के कुन सम्पत्ति सगोलका हुन् भन्ने कुरामा सीमित रही प्रस्तुत मुद्दाको निरूपण हुनुपर्ने देखियो । 

५. प्रस्तुत मुद्दामा मुख्य रूपमा निजी र सगोलको सम्पत्ति सम्बन्धमा विवाद देखिएकोले यससम्बन्धी कानूनी व्यवस्थाबारे चर्चा गर्नु सान्दर्भिक देखिन्छ । यस सम्बन्धमा भएको साबिक मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. को कानूनी व्यवस्था हेर्दा “मानो नछुट्टिई सँग बसेका अंशियार छन् भने जुनसुकै अंशियारले सगोलको सम्पत्तिबाट वा सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट बढे बढाएको सगोलको आर्जन र लेनदेन व्यवहारको महलको ८ नम्बरबमोजिम लगाएको ऋण सबै अंशियारलाई भाग लाग्छ । सोबाहेक कुनै अंशियारले आफ्नो ज्ञान वा सिप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंश धनको महलको ५ नम्बरबमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुसी गर्न पाउँछ । बन्डा गर्न कर लाग्दैन...” भन्ने देखिन्छ । 

६. त्यसैगरी साबिक मुलुकी ऐन, स्त्री अंश धनको महलको ४ नं. मा “स्वास्नी मानिसलाई माइती मावलीपट्टिका नातेदार इष्टमित्रहरूले दिएको चल अचल र त्यसबाट बढे बढाएको सम्पत्ति दाइजो ठहर्छ । लोग्ने वा लोग्नेपट्टिका अंशियारले सबै अंशियारहरूको मन्जुरीको लिखत गरी दिएको र लोग्नेपट्टिका अरू नातेदार वा इष्टमित्रले दिएकोमा चल अचल र त्यसबाट बढे बढाएको सम्पत्ति पेवा ठहर्छ” भनी दाइजो र पेवाको परिभाषा गरेको देखिन्छ भने सोही महलको ५ नं. मा “स्वास्नी मानिसले आफ्नो दाइजो वा पेवा आफूखुस गर्न पाउँछन्...” भन्ने उल्लेख भएको पाइँदा स्वास्नी मानिसले त्यसरी प्राप्त गरेको दाइजो वा पेवा निजी आर्जनको हुने 

देखिन्छ । यसै सन्दर्भमा “दाइजो, पेवा वा निजी आर्जनको सम्पत्ति हो भनी जिकिर लिने पक्षले सो जिकिरको समर्थनमा वस्तुनिष्ट प्रमाण पेस गरी प्रमाणित गराउन सक्नुपर्ने । तायदातीसाथ पेस गरिएका कागजातले आफ्नो निजी ज्ञान, सिप वा प्रयासबाट सम्पत्ति आर्जन गरेको भन्ने तथ्य प्रमाणित भएको नदेखिई राजीनामा लिखतसमेतबाट सम्पत्ति खरिद गरी लिएको देखिएकाले अंशियारहरू एकासगोलमा रहेका अवस्थामा कुनै अंशियारको नाममा खरिद भएकै कारणले त्यस्तो सम्पत्ति निजको मात्र निजी आर्जनको हो भनी प्रमाण ऐन, २०३१ को दफा ६(क) बमोजिम अन्यथा प्रमाणित नभएसम्म अनुमान गर्न नमिल्ने” (ने.का.प.२०६७, अङ्क ९, नि.नं.८४५४) भनी सिद्धान्तसमेत प्रतिपादन भइरहेको देखिन्छ । 

७. उपर्युक्त कानूनी व्यवस्था एवम् प्रतिपादित सिद्धान्तसमेतको रोहमा प्रस्तुत मुद्दामा हेर्दा सम्पत्ति आर्जन गर्दा एकासगोल परिवारका सबै अंशियारको सामूहिक प्रयास रहेको वा उनीहरूले विभिन्न स्थानमा गरेको खेती, उद्योग, व्यापार व्यवसायबाट आर्जित गरेको सम्पत्ति जुनसुकै अंशियारको नाममा भए पनि उसैको मात्र एकलौटी नहुने, त्यस्तो सम्पत्ति सबै अंशियालाई बन्डा लाग्ने, तर सगोलमै भए पनि परिवारका कुनै अंशियारले आफ्नो ज्ञान, सिप वा प्रयासबाट आर्जन गरेको वा कसैबाट निजी तवरले दान, बकस वा अपुतालीबाट वा स्त्रीअंशधनको महलको ५ नम्बरबमोजिम प्राप्त गरेको सम्पत्ति निजी आर्जनको हुने देखिन्छ । त्यसैगरी स्वास्नी मानिसको हकमा दाइजो र पेवाको सम्पत्तिसमेत निजी हुने व्यवस्था रहेको पाइन्छ । तर दाइजो हुनको लागि माइती मावलीपट्टिका नातेदार इष्टमित्रहरूले दिएको सम्पत्ति हुनुपर्ने र पेवा हुनको लागि लोग्ने वा लोग्नेपट्टिका सबै अंशियारहरूको मन्जुरीको लिखत गरिदिएको हुनुपर्ने भन्ने देखिन्छ । साथै त्यसरी निजी आर्जनको भनी लिएको जिकिरलाई दाबी लिने पक्षले नै वस्तुनिष्ट प्रमाणले पुष्टि गराउन सक्नुपर्ने, अन्यथा त्यस्तो सम्पत्ति सगोलको बन्डायोग्य सम्पत्तिअन्तर्गत पर्न जाने देखिन्छ । 

८.  अब प्रस्तुत मुद्दामा वादी केदारनाथ शर्माको पुनरावेदन हेर्दा, आफूले निजी आर्जनबाट खरिद गरेको कि.नं. ३७५, ३९३ र ३९२ जग्गामध्ये कि.नं. ३७५, ३९३ लाई मात्र निजी आर्जनको ठहर गरी कि.नं. ३९२ को जग्गालाई बन्डा लाग्ने ठहर गरेको फैसला नमिलेको हुँदा कि.नं. ३९२ को जग्गासमेत निजी आर्जन कायम हुनुपर्ने भनी निजले जिकिर लिएको देखियो । उक्त कि.नं. ३९२ मा ०-०-१२१/२ जग्गा रहेको देखिन्छ । सो जग्गाको स्रोत हेर्दा मिति २०४२/९/१२ मा र.नं.१९६६ बाट रू. ५,०००।– मा मुनरलाल यादवबाट यी पुनरावेदक केदारनाथ शर्माकी श्रीमती शिला शर्माले राजीनामाको लिखत पारित गरी लिएको देखिन्छ । उक्त कि.नं. ३९२ को जग्गा निजी आर्जनको सम्पत्ति हो भन्ने आधारको रूपमा निजले सो जग्गामा घर निर्माण गर्नको लागि बैंकबाट ऋण लिएको, ऋण लिँदा सोही जग्गा धितोमा समेत राखेको र सो कर्जासमेत आफ्नै जागिरको आम्दानीबाट चुक्ता गरेको भनी उल्लेख गरेको 

देखिन्छ । मिसिल संलग्न कागजातबाट केदारनाथ शर्माले उक्त कि.नं. ३९२ को जग्गामा घर निर्माण गर्नको लागि मिति २०४२/१२/२४ मा नेपाल बैंक लि. बाट रू. ७०,०००।– कर्जा लिएको तथा सो रकमबापत सोही कि.नं. ३९२ को जग्गा मिति २०४३/७/२० मा धितो राखेकोसम्म देखिए तापनि यिनै पुनरावेदक वादीले पेस गरेको तायदाती फाँटवारीमा कि.नं. ३९२ को जग्गामा नभई सोसँगै जोडिएको कि.नं. ३७५, ३९३ मा घर रहेको भनी सङ्केत गरेको देखिन्छ । यसरी पुनरावेदक केदारनाथ शर्माले सो कित्ता जग्गामा घर निर्माण गर्नको लागि बैंकबाट कर्जा लिएको भनी जिकिर लिए पनि निजैले पेस गरेको तायदाती फाँटवारीमा सो कित्तामा घर रहेको भनी खुलाउन नसकेको, जग्गाको स्रोत राजीनामाको लिखत रहेको देखिएको, उक्त राजीनामा लिखतमा निजी आर्जनको देखिने कुनै बेहोरा खुल्न नसकेको अवस्थामा उक्त कि.नं. ३९२ को जग्गालाई निजी आर्जनअन्तर्गतको सम्पत्ति मान्न मिलेन ।

९. अब प्रतिवादी चन्द्रप्रकाश शर्मा र निजकी श्रीमती बवन शर्माको पुनरावेदन हेर्दा, निजहरूले मोरङ, दादरबैरियाको कि.नं. २५, १०९, ३५०, ३३४, २१, २२ र २४ तथा कि.नं. २७३, २७४, २३० त्यसैगरी विराटनगर उपमहानगरपालिका वडा नं. ११ को साबिक कि.नं. ६५९ हाल कि.नं.६१७ का जग्गाहरू निजी आर्जनअन्तर्गतको सम्पत्ति भनी जिकिर लिएको देखिन्छ । उक्त जग्गाहरूको स्रोत हेर्दा कि.नं.२५ को जग्गा नन्दप्रसाद पोखरेलबाट मिति २०३४/१०/७ मा र.नं. १५२० बाट र कि.नं. १०९, ३५०, ३३४, २१, २२ र २४ का जग्गाहरू धनिकलाल रायबाट मिति २०३४/१०/१७ मा र.नं.१७९६ बाट चन्द्रप्रकाश शर्माले खरिद गरी लिएको 

देखिन्छ । त्यसैगरी विराटनगर उपमहानगरपालिका वडा नं. ११ कि.नं. ६५९ को जग्गा कृष्णकुमार राजवंशीबाट मिति २०४२/४/३१ मा र.नं. ३६९ बाट र मोरङ, दादरबैरियाअन्तर्गतको कि.नं.२७३, २७४, २३० जग्गाहरू विष्णुदेव राजवंशीबाट मिति २०५७/६/१५ मा र.नं. ३५१५ बाट प्रतिवादी चन्द्रप्रकाश शर्माकी श्रीमती बवन शर्माले राजीनामाको लिखत पारित गरी लिएको देखिन्छ । आफ्नो ज्ञान, सीप वा प्रयासबाट आर्जन गरेको वा कसैबाट निजी तवरले दान, बकस वा अपुतालीबाट वा स्त्री अंश धनको महलको ५ नम्बरबमोजिम प्राप्त गरेको सम्पत्ति मात्र निजी आर्जनको हुने भनी स्पष्ट कानूनी व्यवस्था रहेको पाइन्छ । उक्त कित्ता जग्गाहरू आफूहरूले नेपाल बैंक लिमिटेडमा गरेको नोकरीबाट प्राप्त तलब भत्तालगायतका विभिन्न सुविधाहरूबाट खरिद गरेको हो भनी जिकिर लिएको देखिए पनि कुन कुन सेवा सुविधाबाट के कहिले के कति रकम प्राप्त गरी सो रकमले उक्त जग्गा खरिद गरेको हो भन्ने देखिने कुनै विवरण पेस दाखिल हुन सकेको पाइँदैन । उक्त जग्गा प्राप्तिको स्रोत राजीनामा लिखत देखिएको, सो लिखतमा निजी आर्जनको देखिने कुनै बेहोरा उल्लेख नभएको अवस्था पाइन्छ । यसरी निजी आर्जनको सम्पत्ति हो भनी दाबी लिने पक्षले आफ्नो दाबी वस्तुनिष्ठ रूपमा प्रमाणित गर्न नसकेको स्थितिमा सो जग्गालाई प्रमाण ऐन, २०३१ को दफा ६(क) अनुसार सगोलकै मान्नुपर्ने देखियो । 

१०. अब उपेश्वरप्रसाद शर्माको मु. स. गर्ने रामसिकील देवीको पुनरावेदन हेर्दा, उपेश्वरप्रसाद शर्माको नाम दर्ताको बसहिया गाउँ विकास समिति वडा नं.९ को कि.नं. २८५ को जग्गा लिलाम सकारी लिएको, कि.नं. ८४१ को जग्गा उपेश्वरप्रसाद शर्माको तलब तथा पेन्सन रकमबाट र कि.नं. ७३ को जग्गा आफूले माइतीबाट पाएको गरगहना बिक्री गरेको रकमबाट खरिद गरेको हुँदा निजी आर्जनअन्तर्गतको सम्पत्ति हो भनी जिकिर लिएको पाइन्छ । उपेश्वरप्रसाद शर्माले कि.नं. २८५ को जग्गा सकार गरी लिएको भनी जिकिर लिए पनि सोको वस्तुनिष्ठ प्रमाण पेस दाखिल गर्नसकेको पाइँदैन । त्यसैगरी कि.नं. ८४१ जग्गा उपेश्वरप्रसाद शर्माले मिति २०५८/१/११ मा रू. ३०,०००।– मा शत्रुधन साहबाट र कि.नं. ७३ को जग्गा मिति २०४०/२/२९ मा रामसोभित साहु तेलीबाट रू. ११,०००।– यी पुनरावेदिका रामसिकील देवीले राजीनामाको लिखत पारित गरी लिएको देखिन्छ । कि.नं. ८४१ को जग्गा उपेश्वरप्रसाद शर्माको पेन्सनको रकमबाट खरिद गरेको भनी राजीनामाको कैफियत महलमा उल्लेख गरे पनि सो रकम पेन्सनबाटै प्राप्त गरेको भन्ने कुरालाई पुष्टि हुने कुनै कागजात पेस भएको पाइँदैन । त्यसैगरी रामसिकील देवी नाम दर्ताको कि.नं. ७३ को जग्गाको राजीनामा लिखतको कैफियत महलमा जग्गादाताले जग्गाधनीको पेवा रकमबाट बुझी बिक्री गरेको भन्नेसम्म उल्लेख भएको देखिए पनि निजले के कुन सम्पत्ति को कसबाट के कहिले पेवा प्राप्त गरेकी थिइन् भन्ने कुरा मिसिल संलग्न कागजातबाट खुल्न सकेको अवस्था छैन । यसरी कि.नं.८४१, २८५ र ७३ का जग्गाहरूलाई निजी आर्जनको सम्पत्ति हो भनी लिएको जिकिरलाई पुनरावेदिका रामसिकील देवीले वस्तुनिष्ठ रूपमा पुष्टि गर्न नसकेको अवस्थामा सो जग्गालाई प्रमाण ऐन, २०३१ को दफा ६(क) अनुसार सगोलकै मान्नुपर्ने देखिँदा सो जग्गा सबै अंशियारलाई बन्डा लाग्ने नै देखियो ।

११. अब पुनरावेदन अदालत जनकपुरले प्रतिवादी चन्द्रप्रकाश शर्माको नामको कि.नं. ७१७ र बवन शर्माको नामको कि.नं.६२, ६३, १२२, २६३, २९३, २९५, ३२३, ३२७ का जग्गाहरू, निज चन्द्रप्रकाश शर्माको छोरा गोपालप्रसाद शर्मा र संजिवकुमार शर्माको विभिन्न बैंकमा रहेका सेयरहरू, वादी केदारनाथ शर्माकी श्रीमती शिला शर्मा नामको कि.नं. ३७५, ३९३, वादी उषा शर्माको कि.नं. ४९९ को जग्गा, प्रतिवादी उपेश्वरप्रसाद शर्माको गाउँब्लकको ०-०-१५ जग्गा, उपेश्वरप्रसाद शर्माकी बुहारी चञ्चल शर्माको नाममा रहेको कि.नं. ७२ को ०-०-१२ जग्गालाई निजी ठहर गरेको र वादी तथा प्रतिवादीले विभिन्न बैंकबाट लिएको ऋणसमेत सबै अंशियारलाई बन्डा नगरेको फैसला मिलेको छ वा छैन भन्ने सम्बन्धमा विचार गर्नुपर्ने देखियो । 

१२. सर्वप्रथम पुनरावेदक / प्रतिवादी चन्द्रप्रकाश शर्मा र निज चन्द्रप्रकाश शर्माकी श्रीमती पुनरावेदिका बवन शर्माको हकमा हेर्दा निजहरूको हक स्वामित्वमा रहेका कि.नं. ७१७, ६२, ६३, १२२, २६३, २९३, २९५, ३२३, ३२७ का जग्गाहरू पुनरावेदन अदालत जनकपुरबाट निजी आर्जनअन्तर्गतको ठहर भएको अवस्था छ । निजहरू दुवै जनाले नेपाल बैंकमा नोकरी गरेको देखिएको, कि.नं. ७१७ को ०-१-० जग्गा चन्द्रप्रकाश शर्माले रू. १७,०००।– मा बैंकबाट प्राप्त हुने घर कर्जाको रकमबाट घर निर्माण गर्नको लागि विश्वराज उपाध्यायसँग मिति २०३९/१२/१३ मा राजीनामाको लिखत पारित गरी लिएको भनी तायदाती फाँटवारीमा खुलाएको 

देखिन्छ । उक्त कित्ता जग्गामा नयाँ घर निर्माणको लागि नेपाल बैंक लिमिटेड प्रधान कार्यालय धर्मपथ, काठमाडौंबाट ऋण लिएको कुरालाई निजले मिति २०४०/१२/१० मा गरिदिएको दृष्टिबन्धकको तमसुकको प्रतिलिपिले समर्थन गरेको देखिन्छ । प्रतिवादी चन्द्रप्रकाश शर्मा र निजकी श्रीमती दुवै जनाको निजी आर्जनको स्रोत रहेको अवस्थामा निजहरूले बैंकबाट घर कर्जासमेत लिई घर निर्माण गरेको देखिएको अवस्थामा सो घर बसोबाससमेत भएको जग्गालाई सगोलको ठहर गरी सबै अंशियारलाई बन्डा गर्न मिल्ने देखिएन । त्यसैगरी प्रतिवादी चन्द्रप्रकाश शर्माकी श्रीमती बवन शर्माको नाममा दर्ता कायम रहेका जग्गाहरूमध्ये मोरङ, दादरबैरिया कि.नं.६२, ६३, १२२, २६३,२९३,२९५, ३२३ र ३२७ का जग्गाहरू निज बवन शर्मालाई निजको सहोदर दाजु श्यामसुन्दर झाले मिति २०५५/६/१० मा र.नं. ३१५ बाट हालैदेखिको बकसपत्र गरिदिएको 

देखिन्छ । कसैबाट निजी तवरले दान वा बकस पाएको सम्पत्ति निजी आर्जनको हुने भनी अंशबन्डाको महलको १८ नं. मा उल्लेख भएको पाइन्छ भने स्वास्नी मानिसलाई माइती मावलीपट्टिका नातेदार इष्टमित्रहरूले दिएको चल अचल र त्यसबाट बढे बढाएको सम्पत्ति दाइजो हुने र त्यसरी प्राप्त गरेको दाइजो निजी आर्जनको हुने भनी स्त्री अंश धनको ४ र ५ नं. मा उल्लेख भएको देखिन्छ । उक्त कानूनी व्यवस्थासमेतको आधारमा अंशियारबाहेक आफ्नो सहोदर दाजुबाट बकसपत्रको माध्यमबाट प्राप्त गरेको जग्गालाई निजी आर्जनकै सम्पत्ति मान्नुपर्ने देखियो । 

१३. अब वादी केदारनाथ शर्माकी श्रीमती शिला शर्मा नामको कि.नं. ३७५ र ३९३ को हकमा विचार गर्दा, यी पुनरावेदक वादी केदारनाथ शर्माले सुरू धनुषा जिल्ला अदालतमा पेस गरेको तायदाती फाँटवारीमा उक्त कि.नं. का जग्गाहरू आफ्नी श्रीमती शिला शर्माले बैंकमा नोकरी गरेको रकमबाट खरिद गरेकोले अरू अंशियारको हक नलाग्ने भनी उल्लेख गर्नुका साथै उक्त जग्गामा घरहरू रहेको भन्ने पनि देखिन्छ । सो घर निर्माणको लागि शिला शर्माले कि.नं. ३७५ को जग्गा मिति २०४९/९/२३ मा र.नं. ३९७९ बाट दृष्टिबन्धकको लिखत पारित गरी नेपाल बैंक लिमिटेड प्रधान कार्यालय धर्मपथ, काठमाडौंबाट रू. १,५०,०००।– ऋण कर्जा लिएको देखिएकोमा २०५९/९/२३ मा सोही घर मर्मतको लागि भन्दै बैंकसँग पुनः रू.७६,०००।– ऋण लिएको कुरा मिसिल संलग्न कागजातबाट देखिन्छ । यसरी शिला शर्माको निजी आर्जनको आय स्रोत देखिएको, निजले व्यक्तिगत रूपमा घर रहेको जग्गा सुरक्षण राखी घर कर्जा लिई घर निर्माण गर्नुका साथै सो घर मर्मतको लागिसमेत ऋण लिएको अवस्थामा सो घरसमेत रहेको कि.नं. ३७५ र ३९३ को जग्गालाई सबै अंशियारलाई बन्डा लाग्ने सगोलको सम्पत्ति मान्न मिलेन । 

१४. अब प्रतिवादी उपेश्वरप्रसाद शर्माको बन्डा नलाग्ने ठहरेको गाउँब्लकको जग्गा सम्बन्धमा हेर्दा, निज उपेश्वरप्रसाद शर्माले पूरक फाँटवारी पेस गर्दै बसहिया गाउँ विकास समिति वडा नं. ३ मा गाउँब्लकको ०-०-१५ जग्गा रहेको, सर्भे नापी नभएकोले तिरो नलाग्ने उक्त जग्गामा इँटा दिवाल, सिमेन्ट टाली र एलवेटरको कर्कट पाताले बनाइएको ५ कोठाको घरमा सबै अंशियारको बास रहेको भनी उल्लेख गरेको देखिन्छ । निज प्रतिवादी उपेश्वरप्रसाद शर्माले २०२७ सालदेखि २०५७ सालसम्म सहकारी विभागमा नोकरी गरेको भन्ने देखिएको, निजका भाइहरू अर्थात् अन्य अंशियारहरू जागिरको सिलसिलामा आ-आफ्नो व्यवहार गरी अन्यत्र नै जग्गा खरिद गरी घर निर्माण गरी बसोबास गरेको देखिनुका साथै उक्त गाउँब्लकको जग्गाको स्रोत पैतृक सम्पत्तिसमेत नदेखिएको हुँदा उक्त घर जग्गामा निज प्रतिवादीकै निजी श्रम तथा आम्दानी समावेश भएको मान्नुपर्ने देखिँदा सो गाउँब्लकको घर जग्गा पनि सगोलको नभई निजी आर्जनकै देखिन आयो ।

१५. अब उपेश्वरप्रसाद शर्माकी बुहारी चञ्चल शर्माको नाममा रहेको कि.नं. ७२ को ०-०-१२ जग्गाको हकमा हेर्दा सो जग्गा आफ्नो पति अरूणकुमार शर्माले काम गरेको नेपाल बैंक लि. बाट मिति २०५५/४/२१ मा रू.६९८१२।– कर्जा ऋण लिई प्रेमनाथ पाण्डेबाट राजीनामा गरी लिएको भनी अ.बं. १३९ नं. बुझिएका अरूणकुमार शर्माकी पत्नी चञ्चल शर्माले पुनरावेदन अदालत जनकपुरमा बयान गरेको अवस्था पाइन्छ भने सो बयानलाई अरूणकुमार शर्माले मिति २०५५/४/२१ मा रू.६९,८१२।– कर्जा लिएको देखिने गरी नेपाल बैंक लिमिटेडको कर्मचारी अवकाश कोष ट्रष्टको मिति २०७१/१२/९ को जो जससँग सम्बन्धित छ भन्ने पत्रसंख्या १८४१ बेहोराले समर्थन गरेको देखिन्छ । मिसिल संलग्न उक्त जग्गाको राजीनामाको प्रतिलिपि हेर्दा मिति २०५५/५/१६ मा रू. ६६,०००।– खरिद गरेको देखिएबाट पनि बैंकबाट लिएको सोही ऋण रकमबाट खरिद गरेको कुरा पुष्टि भइरहेको अवस्थामा सो जग्गालाई निजी आर्जनकै मान्नुपर्ने देखिन आयो । 

१६. त्यसैगरी वादी उषा शर्माको नाम दर्ताको कि.नं.४९९ को ०-०-१४१/२ जग्गाको सम्बन्धमा हेर्दा, निज उषा शर्मा यी वादी तथा प्रतिवादीका कान्छा भाइ अर्थात् मूल पुरूष बतहुप्रसाद शर्माको कान्छो छोरो स्व.यादवप्रसाद शर्माकी श्रीमती रहे भएको देखियो । स्व.यादवप्रसाद शर्माले २०३१ सालमा नेपाल बैंक लि.मा नोकरी सुरू गरी आफ्नो व्यवहार गरी आएको अवस्थामा निजकी श्रीमती वादी उषा शर्माको नाममा खरिद गरी सोही जग्गामा बसोबाससमेत भएको भन्ने देखिन्छ । सुरू जिल्ला अदालतले उक्त कि.नं. ४९९ को जग्गा बन्डा लाग्ने ठहराएउपर वादी उषा शर्माको पुनरावेदन नपरेको र तायदाती फाँटवारीमा निजी आर्जनको भनी जिकिरसमेत नलिएको हुँदा सो जग्गा सबै अंशियारलाई बन्डा लाग्नुपर्ने भनी पुनरावेदन जिकिर रहेको देखिए तापनि सो जग्गा वादी उषा शर्माको पति अर्थात् पुनरावेदक / प्रतिवादीका कान्छा भाइ यादवप्रसाद शर्माले नेपाल बैंक लि. मा नोकरी गरेको आम्दानीले खरिद गरेको होइन भनी भन्न सकेको पाइँदैन । त्यसैगरी वादी उषा शर्मा एक विधवा महिला देखिएको, निजले सुरूको फैसलाउपर पुनरावेदन नगरे पनि समान पुस्ताका अन्य अंशियार रहेका वादी तथा प्रतिवादीको पुनरावेदन परेको अवस्थामा सोही पुनरावेदनको रोहमा सुरू जिल्ला अदालतको फैसलालाई केही उल्टी गर्दै कि.नं. ४९९ को जग्गालाई उषा शर्माको निजी आर्जनअन्तर्गतको सम्पत्ति ठहर गरेको पुनरावेदन अदालत जनकपुरको फैसलालाई अन्यथा भन्न मिलेन । 

१७. जहाँसम्म चन्द्रप्रकाश शर्माको छोरा गोपालप्रसाद शर्मा र संजिवकुमार शर्माको विभिन्न बैंकमा रहेका सेयरहरू र आफूहरूले लिएको ऋण बन्डा हुनुपर्ने भनी पुनरावेदन जिकिर रहेको छ, सो सम्बन्धमा हेर्दा गोपालप्रसाद शर्मा र संजिवकुमार शर्माको के कति सेयर के कुन बैंकमा रहेको र के कुन स्रोतबाट उक्त सेयर खरिद गरिएका हुन् भनी स्पष्ट खुलाउन नसकेको अवस्था देखियो । त्यसैगरी ऋणको हकमा हेर्दा सुरू धनुषाको फैसलामा साहुको नालेस परेका बखत ठहरेबमोजिम हुने नै हुँदा भन्ने वाक्यांश परेको देखिन्छ । मिसिल संलग्न कागजबाट प्रायः सबै पुनरावेदकहरूको घर निर्माण तथा मर्मतसमेतको लागि नेपाल बैंक लि. बाट ऋण लिएको देखिन्छ । निजहरूले जुन जग्गामा घर निर्माण गरी बसोबास गरिरहेका छन् सो घर जग्गा निजहरूको निजी आर्जनअन्तर्गतको ठहरी फैसला भइसकेको अवस्था छ । यसरी ऋण लिएको घर जग्गा नै अन्य अंशियारलाई बन्डा नलाग्ने निजी आर्जनको ठहरिसकेको अवस्थामा ऋण भने बन्डा हुनुपर्छ भन्ने पुनरावेदन जिकिर मनासिब देखिन आएन ।  

१८. तसर्थ, माथि विवेचित आधार प्रमाणबाट प्रतिवादी उपेश्वरप्रसाद भूमिहारको गाउँ ब्लकभित्रको घर बसोबाससमेतको घर जग्गा, वादी केदारनाथ शर्माकी श्रीमती शिला शर्माको नामको कि.नं. ३७५, ३९३ को जग्गामा निर्माण भएको घर जग्गा, वादी उषा शर्मा नामको कि.नं. ४९९ को घर जग्गासमेत बन्डा लाग्ने ठहर भएको र प्रतिवादीमध्येका चन्द्रप्रकाश शर्माको नाममा दर्ताको कि.नं.७१७ को घर जग्गाबाहेकको अन्य जग्गा तथा निजकी श्रीमती बवन शर्माको नामको राजीनामाबमोजिमको जग्गासमेत बन्डा हुने देखिएकोमा सो जग्गाहरू बन्डा नलाग्ने ठहर भएको हदसम्म सुरू धनुषा जिल्ला अदालतको फैसलालाई केही उल्टी गरी सो जग्गासमेत बन्डा लाग्ने र अन्य कुराको हकमा उक्त फैसलालाई सदर गरेको पुनरावेदन अदालत जनकपुरको मिति २०७२/०४/३१ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी तथा प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू । 

तपसिल

सुरू फैसलाबमोजिम वादीले प्रतिवादीहरूबाट भराइपाउने ठहरेको कोर्ट फी रू.११,७३६।– प्रतिवादीहरू उपेश्वरप्रसाद शर्माले मिति २०६९/९/१२ मा र.नं. १२७ बाट रू.५,८६८।– र चन्द्रप्रकाश शर्माले २०७३/४/२४ मा र.नं. १० बाट रू.५,८६८।– पुनरावेदन अदालत जनकपुरमा दाखिला गरिसकेको देखिँदा ऐनको म्यादभित्र कोर्ट फी रकम भराइपाउँ भनी वादीको दरखास्त परे सोही धरौट रकमबाट भराइदिनु भनी उच्च अदालत जनकपुरको लेखालाई जानकारी दिनू.............................................................१

अ.बं. १३९ नं.बमोजिम बुझिएकी बवन शर्मा प्रतिवादी चन्द्रप्रकाश शर्माकी पत्नी भई निज अन्य प्रतिवादीसरहको अंशियार नभएको र प्रतिवादी चन्द्रप्रकाश शर्माले सुरू अदालतको फैसलाबमोजिम वादीले प्रतिवादीबाट भराइपाउने ठहरेको कोर्ट दाखिल गरिसकेको अवस्थामा निज बवन शर्माले पुनरावेदन अदालत जनकपुरमा मिति २०७३/४/२४ मा र.नं.११ बाट राखेको धरौट रू. ५,८६८।– फिर्ता दिनु भनी उच्च अदालतको लेखा शाखालाई जानकारी दिनू ...२ 

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला विद्युतीय प्रणालीमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ............................३

 

उक्त रायमा सहमत छु ।

न्या.कुमार रेग्मी

 

इजलास अधिकृत:- कर्णबहादुर राई

इति संवत् २०७९ साल कार्तिक २० गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु