निर्णय नं. १११७१ - खोटा चलन

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७९।०७।०४
०७२-CR-२०७४
मुद्दाः- खोटा चलन
पुनरावेदक / वादी : प्र.स.नी. रामकाजी के.सी.को प्रतिवेदन जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : बाँके जिल्ला, नेपालगन्ज नगरपालिका, वडा नं. ७ बस्ने विनय गौतम
कसुर गर्ने मनसाय वा भइरहेको कसुरको जानकारीबेगर साथीको नाताले कसुरदारसँगै उपस्थित हुनुलाई नै शंकारहित तवरबाट कसुरदार कायम गर्ने पर्याप्त आधार मान्न नमिल्ने । अवैध सामान बरामद गरिएको प्रतिवादीसँगै रहेको कारणबाट मात्र कसुर गर्ने मनसाय पुष्टि नहुने । सामान्यतया अवैध वस्तु बरामद नभएको प्रतिवादीलाई कसुरदार ठहर्याउन नमिल्ने । बरामद भएको अवैध भारतीय नक्कली नोट कारोबारमा निज प्रतिवादीको संलग्नता शंकारहित तवरबाट पुष्टि भएको नदेखिने ।
(प्रकरण नं.२)
खोटा चलनको कसुर भए तापनि कसुरमा उपस्थित हुनेमध्ये पनि ज-जसको कसुरमा भूमिका पुष्टि हुन्छ उसैलाई मात्र कसुरदार ठहर गर्नु कानूनसङ्गत हुने । साथीले बोलाएकाले गएको र कसुरको मनसाय वा जानकारी नभएको प्रतिवादीको कसुरमा भूमिका स्थापित हुन नसकेका अवस्थामा निजलाई कसुरदार कायम गर्न नमिल्ने ।
(प्रकरण नं.३)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विष्णुप्रसाद पौडेल
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री शालिकराम सापकोटा
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू फैसला गर्ने :
मा.जिल्ला न्या.श्री कृष्णकमल अधिकारी
बाँके जिल्ला अदालत
पुनरावेदन फैसला गर्ने :
मा. न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना
मा. न्यायाधीश श्री अवधविहारी प्रसाद सिन्हा
तत्कालीन पुनरावेदन अदालत नेपालगन्ज
फैसला
न्या.सपना प्रधान मल्ल : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) तथा हालको न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः
संक्षिप्त तथ्य
जिल्ला बाँके, नेपालगन्ज नगरपालिका, वडा नं. १५ स्थित पूर्वमा खानेपानी संस्थानको खाली जग्गा, पश्चिममा राजु श्रेष्ठको स–मिल, उत्तरमा नाम थाहा नभएको मानिसको घर, दक्षिणमा गुरुद्वारा रोड यति चार किल्लाभित्र उत्तर दक्षिण मोहडा खरले छाएको पश्चिम ढोका भएको तारबारसहितको बेम्बु रेष्टुरेन्टभित्र राउन्ड टेबुलमा बसेको अब्दुल रहीम मिया, बिनय गौतम र दिपक के.सी. समेतको तलासी लिँदा अब्दुल रहीम मियाले लिएको Sky Star नामक ब्यागमा भारतीय नक्कली रू.१,०००।– दरको थान–५० र भारू रू. ५००।– दरको थान ७०० समेत गरी भारू रू.४,००,०००।–, मोटरसाइकल थान २ र मोबाइल थान ३ बरामद भएको भन्ने बेहोराको बरामदी मुचुल्का ।
मिति २०६६।०३।११ का दिनमा मसमेतको प्रहरी टोली अवैध भारतीय नक्कली नोटको कारोबार भएको भन्ने जानकारीअनुसार नेपालगन्ज नगरपालिका वडा नं.१५ बेम्बु रेष्टुरेन्टमा जाँदा दिपक के.सी.समेत रहेकोमा निजको खानतलासी लिँदा अब्दुल रहीम मियाको ब्यागमा भारू रू.१,०००।– दरका थान ५० र भारू रू.५००।– दरको थान-७०० समेत गरी नक्कली भारू रू.४,००,०००।– (चार लाख) तथा अब्दुल रहीम मियाबाट मोटोरोला मोबाइल-१, बिनय गौतमबाट भे २ प १४०१ को पल्सर मोटरसाइकल १, नोकिया मोबाइल-१ र दिपक के.सी.को साथबाट सामसुङ मोबाइल थान-१ र भे १ प ७१२१ नं.को मोटरसाइकल थान-१समेत बरामद भएकोले कानूनबमोजिम होस् भन्ने बेहोराको प्र.स.नि.रामकाजी के.सी. समेतको प्रतिवेदन ।
प्रतिवादी अब्दुल रहीम मिया तथा दिपक के.सी. मेरा साथी हुन्, मिति २०६६।०३।११ का दिनमा मलाई अब्दुल रहीम मियाले बोलाएकाले म पनि निजका साथमा बेम्बु रेष्टुरेन्टमा गएकोमा अब्दुल रहीम मियाबाट भारतीय नक्कली रकम रू.४,००,०००।– (चार लाख) बरामद भएको हो भन्नेसमेत बेहोराको अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादी बिनय गौतमले गरेको बयान कागज ।
मेरो अतहर हुसेन फारूकीसँग चिनजान रहेकोमा निजले नक्कली भारतीय रूपैयाँ मसँग छ, तिमीले बिक्री वितरण गर भनेकाले मेरो साथी दिपक के.सी.ले भारू.१,००,०००।– (एक लाख) को रू.४५,०००।– सक्कलीसँगै साट्ने सहमतिअनुसार मिति २०६६।०३।११ गते मैले निज अतहर हुसेन फारूकीसँग सम्पर्क राखी निजले राजु भन्ने व्यक्तिसँग पैसा पठाएको भारू रू.४,००,०००।– (चार लाख) साट्नका लागि बेम्बु होटलमा गएको अवस्थामा बरामद भएको हो भन्नेसमेत बेहोराको अधिकारप्राप्त अधिकारीसमक्ष अब्दुल रहीम मियाले गरेको बयान कागज ।
मलाई एकजना मानिसले भारतीय नक्कली नोटको व्यवस्था गर भनेकाले मैले अब्दुल रहीम मियालाई सम्पर्क गरेकोमा उसले रू.१,००,०००।– (एक लाख) भारू नक्कलीको सक्कली रू.४५,०००।– (पैंतालिस हजार रूपैयाँ) साट्न भनी रू.५४,०००।– (चौवन्न हजार) का दरले बिक्री गर्ने गरी मिति २०६६।०३।११ मा बेम्बु होटलमा हामीले रकम कारोबार गर्ने क्रममा प्रहरीद्वारा छापा मार्दा भारू ४,००,०००।– (चार लाख) बरामद भएको हो भन्नेसमेत बेहोराको अधिकारप्राप्त अधिकारीसमक्ष दिपक के.सी.ले गरेको बयान कागज ।
मिति २०६६।०३।११ गते नेपालगन्ज नगरपालिका, वडा नं.१५ स्थित बेम्बु होटलनजिक
थिएँ । सोही दिन उक्त रेष्टुरेन्टमा रहेका अब्दुल रहीम मिया, बिनय गौतम र दिपक के.सी.बाट भारू ४,००,०००।– (चार लाख) बरामद भएको हो भन्नेसमेत बेहोराको बब्लु राई, अलि हुसेन, मन्सुर खाँ र मुनाल प्रताप ज.ब.रा.को एकै मिलानको घटना विवरण कागज ।
बरामदी नोट सक्कली नभएको भन्ने केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको मिति २०६६।३।२५ को परीक्षण प्रतिवेदन ।
मिति २०६६।०३।११ मा नेपालगन्ज नगरपालिका, वडा नं.१५ स्थित बेम्बु रेष्टुरेन्टमा अभियुक्त अब्दुल रहीम मिया, दिपक के.सी. र बिनय गौतमलाई प्रहरीले नियन्त्रणमा लिई निजहरूबाट नक्कली भारतीय रूपैयाँ ४,००,०००।– (चार लाख) बरामद गरेको हो भन्नेसमेत उल्लेख गरी घटना विवरणमा बुझिएका असलम हलवाई, बब्लु राई, अलि हुसेन र मन्सुर खाँले आ–आफ्नो कागजमा खुलाई लेखाइदिएको तथा अतहर हुसेन फारूकी हाल घरमा छैनन् भन्नेसमेत अभियुक्त फरारी मुचुल्कामा उल्लेख भएकोसमेतका संलग्न प्रमाण कागजातहरूबाट विरूद्ध खण्डका अभियुक्तहरू अतहर हुसेन फारूकी, अब्दुल रहीम मिया, दिपक के.सी. र बिनय गौतमको मिलोमतो संलग्नतामा हाल बरामद हुन आएका नक्कली भारतीय रूपैयाँ रू.१,०००।– दरका थान-५०, भारू रू.५००।– दरका थान-७०० को तथ्य सप्रमाण पुष्टि हुन आएको हुँदा निज अभियुक्तहरू अतहर हुसेन फारूकी, अब्दुल रहीम मिया, दिपक के.सी. र बिनय गौतमलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५(१) बर्खिलापको कसुर अपराधमा ऐ. ऐनको दफा ९६(१) बमोजिम सजाय हुन र बरामदी नक्कली भारू रू.४,००,०००।– जफत हुन साथै अभियुक्तमध्येका अतहर हुसेन फारूकी अनुसन्धानको क्रममा फेला नपरी फरार रहेको हुँदा निजको वतनमा अदालतबाटै वारेन्ट जारी गरी कारबाही हुन अभियुक्त अब्दुल रहीम मियाको बयानमा उल्लेख भएको राजु भन्ने व्यक्तिको हकमा निजको नाम, थर, वतन खुली वा पक्राउ भई आएको अवस्थामा कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग पत्र ।
अनुसन्धान अधिकारीसमक्ष बयानमा लेखिएको नक्कली नोट बरामद भएको भन्ने सम्पूर्ण बेहोरा झुठ्ठा हो । मसमेतबाट उक्त नोटहरू बरामद भएको होइन । उक्त बेम्बो रेष्टुरेन्टमा चिसो खान गएका अवस्थामा प्रहरीले पक्राउ गरेका हुन् । मैले कसुर नगरेको हुँदा अभियोग माग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी दिपक के.सी.ले सुरू अदालतमा गरेको बयान ।
घटना विवरणका व्यक्तिहरूलाई म चिन्दैन, म नक्कली नोट कारोबार गर्ने व्यक्ति होइन र उक्त कारोबार मैले गरेको पनि छैन । मुनाल मोटरसाइकल सर्भिसको मानिस भएको हुँदा निजलाई म चिन्दछु । उनीबाहेक अन्य व्यक्तिलाई मैले चिन्दैन । उनीहरूले भनेको गलत हो । मुनालसँग मेरो पहिला झगडा भएको हुँदा मलाई फसाउनका लागि घटना विवरण कागजमा उक्त कुरा लेखाएका हुन् । अभियोग दाबीबमोजिमको अपराध मैले नगरेको हुँदा झुठ्ठा अभियोग दाबीबाट फुर्सद पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी अब्दुल रहीम मियाले सुरू अदालतमा गरेको बयान ।
मोटरसाइकल सफा गर्न जाँदा अब्दुल रहीम र दिपकसँग भेट भएको हो । भारतीय रूपैयाँको नक्कली नोट कारोबार गर्नेसम्बन्धी हामीहरूको बिचमा केही कुराकानी भएको होइन । तसर्थ, प्रहरीले बयानमा मेरो नाम, थर, वतन मात्र सोधेको हो । अरू केही बेहोरा सोधेको होइन । प्रहरीमा भएको बयानमा लेखिएको बेहोरा झुठ्ठा हो । मैले नक्कली भारतीय रूपैयाँको कारोबार गरेको पनि होइन । प्रहरीले बयान पढेर नसुनाइ जबरजस्ती सहीछाप गराएको हो । अन्य प्रतिवादीहरूका बयान पनि झुठ्ठा हो भन्नेसमेत बेहोराको प्रतिवादी बिनय गौतमले सुरू अदालतमा गरेको बयान ।
उक्त नक्कली नोट बिनय गौतमबाट बरामद भएको होइन । सो बरामदी मुचुल्का कसको हो थाहा छैन । मैले जाने बुझेअनुसार निज बिनय गौतम यस्तो कारोबार गर्ने व्यक्ति होइनन् । निज प्रतिवादीलाई कुटपिट गरी इच्छाविपरीत बयानमा प्रहरीले सहीछाप गराएका हुन् । ओपि सर्विस सेन्टरमा मोटरसाइकल बनाउन जाने क्रममा बेम्बु होटलमा गएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी बिनय गौतमका साक्षी कृष्णप्रसाद सत्यालले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी अब्दुलबाट भारतीय रूपैयाँ बरामद भएको होइन । बरामदी मुचुल्का झुठ्ठा हो । अब्दुलले नक्कली भारू खोटा चलनको कारोबार गर्दैनन् । कुटपिट गरी बयान पढ्न नदिई गराएको सहीछाप र बयान बेहोरा झुठ्ठा हो । प्रतिवादीले स्वेच्छाले गरेको होइन । सो होटलमा हामी साथसाथै चिसो (कोक) खाइरहेको अवस्थामा बेम्बु होटलबाट प्रहरीले सोधपुछका लागि लगेका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी अब्दुल रहीम मियाका साक्षी जुबेर अहमद सिद्दिकीले सुरू अदालतमा गरेको बकपत्र ।
बरामद भएको भारतीय रूपैयाँ दिपक के.सी.समेतबाट भएको होइन । बरामद मुचुल्का झुठ्ठा हो । दिपक के.सी.नक्कली नोट खोटाचलन आदिको लेनदेन, वितरण, कारोबार केही पनि गर्दैनन् । प्रहरीहरूले आफूखुसी लेखी जबरजस्ती सहीछाप गराएको बयान बेहोरा झुठ्ठा हो । स्वेच्छाले गरेको बयान होइन भन्नेसमेत बेहोराको प्रतिवादी दिपक के.सी.का साक्षी अजय के.सी.ले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६६।०३।११ गते बाँके जिल्ला, नेपालगन्ज नगरपालिका, वडा नं. १५ स्थित बेम्बु रेष्टुरेन्टभित्र अब्दुल रहीम मिया, बिनय गौतम र दिपक के.सी.समेत बसेको अवस्थामा अब्दुल रहीम मियाले लिएको स्काई स्टार ब्यागबाट नक्कली भारू रू.१,०००।– दरका ५० थान र भारू ५००।– दरका ७०० थान गरी जम्मा रू.४,००,०००।– (चार लाख) बरामद भएको हो । बिनय गौतम, दिपक के.सी. र अब्दुल रहीमलाई (व्यापारी भएको हैसियतमा) चिन्दछु । हामी प्रतिवेदकहरू प्र.नि. श्यामजङ्ग शाहको कमान्डमा आएको टोलीले प्रतिवादीहरूलाई पक्राउ गरेका हौँ भन्नेसमेत बेहोराको जाहेरवाला रामकाजी के.सी.ले सुरू अदालतमा गरिदिएको बकपत्र ।
प्रतिवादीमध्येका अब्दुल रहीम र दिपक के.सी.को साथमा बसेको अवस्थामा अब्दुल रहीमले काखमा राखेको ब्यागबाट नक्कली भारू बरामद भएको देखिन्छ । अब्दुल रहीमले दिपक के.सी.सँग सल्लाह भई अतहर हुसेनसँग रकम लिई होटलमा गई लिनेदिने क्रममा पक्राउ परेको भनी बेहोरा लेखाएको देखिन्छ भने दिपक के.सी.ले पनि सोहीअनुसार बयान गरेको अवस्था छ । अदालतको बयानमा दुवैजना इन्कार रहे पनि मौकाको बयानमा कसुरलाई स्वीकार गरेको प्रतिवेदकको बकपत्र एवम् दसीबाट समर्थित भइरहेको अवस्थामा प्रतिवादी अब्दुल रहीम मिया र दिपक के.सी.ले अभियोग दाबीबमोजिम नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५(१) बमोजिमको कसुर गरेको देखिँदा जनही ६ लाख जरिवाना र २० दिन कैद हुने ठहर्छ । प्रतिवादी बिनय गौतमको हकमा निज प्रतिवादी मौकामा तथा अदालतमा इन्कार रहेका
छन् । पक्राउ हुँदाका अवस्थामा यी प्रतिवादी उपस्थित भए पनि बरामद भएको भारू नोटहरूको कारोबारमा अन्य प्रतिवादीहरूले मौकामै र अन्य प्रमाणबाट समेत संलग्नता छैन भनी लेखाइदिएको अवस्थामा यी प्रतिवादीलाई कसुरदार ठहर गर्नु मनासिब नदेखिँदा प्रतिवादी विनय गौतमले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको बाँके जिल्ला अदालतबाट मिति २०६८।१०।०८ मा भएको
फैसला ।
मिति २०६३।०३।११ गते अब्दुल रहीम मिया, बिनय गौतम र दिपक के.सी.बाट नक्कली चार लाख भारतीय रूपैयाँ भेटिएको भन्ने बरामदी मुचुल्का प्रहरी प्रतिवेदनमा उल्लेख छ । प्रतिवादी बिनय गौतमले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा, दिपक के.सी. र अब्दुल रहीम मिया साथी हुन्, वारदात मितिमा अब्दुल रहीम मियाले बोलाएपश्चात् नर्सिङ होम अगाडिबाट अब्दुल रहीम मियालाई मोटरसाइकलमा बसाली बेम्बो होटलतर्फ गएको भनी बताएका छन् भने बरामद हुँदाका बखत आफू त्यहाँ भएको कुरामा साबित रहेका अर्का प्रतिवादी अब्दुल रहीम मियाले बिनय गौतमलाई उक्त नक्कली भारू कारोबार बारेमा थाहा थियो भनी लेखाएका छन् । प्रतिवादीहरू अदालतमा इन्कार रहेको भए तापनि प्रतिवेदक रामकाजी के.सी.ले बकपत्र गर्दा नक्कली भारू प्रतिवादी दिपक, अब्दुल र बिनय गौतमसँग भएको कारोबारमा आफ्नो मोटरसाइकलमा लगी प्रहरीलाई खबर गर्नुपर्नेमा सो नगरी प्रतिवादीहरूलाई नक्कली नोट बोकी हिँड्ने अब्दुल रहीम मियालाई सहयोग गरेबाट निजको संलग्नता पुष्टि भइरहेको हुँदा प्रतिवादी बिनय गौतमलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट तत्कालीन पुनरावेदन अदालत नेपालगन्जमा पेस गरेको पुनरावेदन पत्र ।
प्रतिवादी बिनय गौतम आरोपित कसुरमा अनुसन्धानका क्रममा बयान कागज गर्दा सहअभियुक्त आफ्ना साथीहरूसँग रेष्टुरेन्टमा गएकोमा भारू नोट बरामद भएको, नक्कली नोटको कारोबारमा संलग्न नरहेको भनी अदालतमा समेत कसुरमा इन्कार रही बयान गरेको, सहअभियुक्तहरू अब्दुल रहीम मिया, दिपक के.सी.ले यी प्रतिवादी बिनय गौतम कसुरदार हुन् भनी पोल गरेको नदेखिएको, प्रतिवादी बिनय गौतमको साथबाट भारू नक्कली नोटहरू बरामद भएको भन्ने प्रतिवेदकको बकपत्रबाट समेत नदेखिएको, मिसिल संलग्न कुनै स्वतन्त्र प्रमाणबाट प्रतिवादी बिनय गौतम भारू नक्कली नोटको कारोबारमा संलग्नता रहेको पुष्टिसमेत भएको अवस्था नपाइएको भन्ने आधारमा सुरू बाँके जिल्ला अदालतबाट प्रतिवादी बिनय गौतमलाई सफाइ दिने गरी मिति २०६८।१०।७ मा भएको फैसला सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको तत्कालीन पुनरावेदन अदालत नेपालगन्जबाट मिति २०७०।१२।१० मा भएको फैसला ।
प्रतिवादीहरूले भारतीय जाली नोटको कारोबारको विषयमा कुराकानी गरिरहेको अवस्थामा निजहरूबाट भारतीय जाली नोटहरू बरामद भएको, प्रतिवादी विनय गौतमसमेतको रोहबरमा बरामदी मुचुल्कामा रोहबरमा बसेको, अवैध वस्तु बरामद हुनुले आपराधिक कार्य स्थापित हुने (Possessory Crime) हुँदा अन्यथा प्रमाणित गर्ने भार प्रतिवादीको हुनेमा प्रतिवादीले सो पुष्टि गर्न नसकेको अवस्थामा यी प्रतिवादीको उक्त कसुरमा संलग्नता छैन भनी सफाइ दिने गरी सुरू बाँके जिल्ला अदालतबाट मिति २०६८।१०।७ मा भएको फैसलालाई सदर ठहर्याएको तत्कालीन पुनरावेदन अदालत नेपालगन्जबाट मिति २०७०।१२।१० मा भएको फैसला नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५(१) र ९६(१) को प्रयोग र पालना तथा शेरबहादुर थापा विरूद्ध नेपाल सरकार भएको लागु औषध मुद्दा (ने.का.प. २०६८, अङ्क १२, नि.नं.८७२८) मा प्रतिपादित सिद्धान्तसमेतको आधारमा त्रुटिपूर्ण रहेको हुँदा बदर गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको नेपाल सरकारको पुनरावेदनपत्र ।
यसमा नक्कली मुद्रा सामूहिक रूपमा हुने कारोबार भएकोले यो कसुर हुनको लागि सबै प्रतिवादीसँग नक्कली नोट बरामद हुनुपर्ने भन्नु उपयुक्त नभएकोले नक्कली नोट लिएका अरू प्रतिवादी सँगै रहेको अवस्थामा यी प्रतिवादी पक्राउ परेको देखिन्छ । उक्त स्थानमा आफू रहनुपर्ने सन्तोषजनक कारण प्रतिवादीले दिन नसकेकोसमेतको अवस्थामा प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिएको तत्कालीन पुनरावेदन अदालत नेपालगन्जबाट मिति २०७०।१२।१० मा भएको फैसलामा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ र ९६(१) का साथै मुलुकी ऐन, अ.बं. १८४क, १८५ नं. र प्रमाण ऐन, २०३१ को दफा ३, ७, ९ र ५४ समेतको त्रुटि देखिन आएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । नियमबमोजिम गर्नु भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०७२।१०।१० मा भएको आदेश ।
यस अदालतको ठहर
नियमबमोजिम पेसी सूचीमा चढी मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा इजलासमा निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनपत्रसमेतको मिसिल अध्ययन गरी निम्नबमोजिमको बहस सुनियो ।
पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट विद्वान् उपन्यायाधिवक्ता श्री विष्णुप्रसाद पौडेलले प्रतिवादी विनय गौतमसमेतका प्रतिवादीहरूको साथबाट भारतीय जाली नोटहरू बरामद भएको, बरामदी मुचुल्कामा प्रतिवादी विनय गौतम रोहबरमा बसेकोले निजले आपराधिक कार्य गरेको स्थापित भएकोमा निजले अन्यथा प्रमाणित गर्न नसकेको अवस्थामा प्रतिवादीलाई सफाइ दिने गरी सुरू जिल्ला अदालतबाट भएको फैसलालाई सदर हुने ठहर्याएको तत्कालीन पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण रहेको हुँदा उल्टी गरी प्रतिवादी विनय गौतमलाई अभियोग दाबीबमोजिम सजाय होस् भन्ने तथा प्रत्यर्थी प्रतिवादीका तर्फबाट विद्वान् अधिवक्ता श्री शालिकराम सापकोटाले जाली नोट प्रतिवादी विनय गौतमबाट बरामद नभएको, निजको संलग्नता रहेको भनी अन्य प्रतिवादीले कतै नखुलाएको र अन्य स्वतन्त्र प्रमाणबाट कसुरमा निजको संलग्नता रहेको भनी पुष्टि हुन नसकेको अवस्थामा बरामदी मुचुल्कामा रकम अन्य प्रतिवादीबाट बरामद भएकोले रोहबरमा सम्म बसेकाले आपराधिक दायित्व सिर्जना हुन नसक्ने हुँदा प्रतिवादी बिनय गौतमलाई अभियोग दाबीबाट सफाइ हुने ठहर्याएको सुरू अदालतको फैसलालाई सदर गरेको पुनरावेदन तहको अदालतको फैसला न्यायोचित भएकोले सदर होस् भनी गर्नुभएको बहससमेत
सुनियो ।
उपर्युक्त बहस जिकिर सुनी तथा पुनरावेदनपत्रसहित मिसिल संलग्न प्रमाण कागजातको अध्ययन गरी हेर्दा, प्रतिवादी विनय गौतमलाई सफाइ दिएको हदसम्म तत्कालीन पुनरावेदन अदालत नेपालगन्जको फैसला मिलेको छ वा छैन ? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
यसमा मिति २०६६।०३।११ मा नेपालगन्ज नगरपालिका, वडा नं.१५ स्थित बेम्बु रेष्टुरेन्टमा अभियुक्त अब्दुल रहीम मिया, दिपक के.सी. र बिनय गौतमबाट नक्कली भारतीय रूपैयाँ ४,००,०००।– (चार लाख) बरामद भएको हुँदा निज अभियुक्तहरूलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५(१) बर्खिलापको कसुर अपराधमा ऐ. ऐनको दफा ९६(१) बमोजिम सजाय हुन र बरामदी नक्कली भारू रू.४,००,०००।– जफत गरिपाउँ भन्ने अभियोग दाबी रहेकोमा प्रतिवादीहरू अब्दुल रहीम र दिपक के.सी. लाई जनही ६ लाख जरिवाना र २० दिन कैद हुने तर प्रतिवादी विनय गौतमलाई सफाइ दिने गरी सुरू बाँके जिल्ला अदालतको फैसलालाई सदर ठहर्याएको तत्कालीन पुनरावेदन अदालत नेपालगन्जको फैसलाउपर चित्त नबुझाई वादी नेपाल सरकारको तर्फबाट मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदन परेकोमा यस अदालतबाट मुद्दा दोहोर्याउने निस्सा प्रदान भई प्रस्तुत मुद्दा पुनरावेदनको रोहमा पेस हुन आएको देखिन्छ । तीनै जना प्रतिवादीहरू सरसल्लाह गरिरहेको अवस्थामा निजहरूबाट अवैध जाली नोट बरामद भएको, बरामदी मुचुल्कामा प्रतिवादी विनय गौतमसमेत रोहबरमा बसेकासमेतबाट कसुरमा निजको संलग्नता रहेको पुष्टि भएको हुँदा निजले अन्यथा प्रमाणित गर्न नसेकाले निजलाई सफाइ हुने ठहर गरेको तत्कालीन पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएकोले उल्टी गरी निज प्रतिवादी विनय गौतमलाई समेत अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भन्ने नेपाल सरकारको पुनरावेदन जिकिर रहेको पाइन्छ ।
२. निर्णयतर्फ विचार गर्दा, नेपालगन्ज नगरपालिकास्थित बेम्बो रेष्टुरेन्टभित्र राउन्ड टेबलमा बसेको अवस्थामा प्रतिवादीहरू अब्दुल रहीम, दिपक के.सी. र विनय गौतमलाई प्रहरीले नियन्त्रणमा लिई खानतलासी गर्दा प्रतिवादी अब्दुल रहीमले काखीमा च्यापेको झोलाबाट भारतीय रूपैयाँहरू बरामद भएको भन्ने बरामदी मुचुल्कामा उल्लेख भएको देखिन्छ । उक्त बरामदी मुचुल्कामा यी प्रतिवादीलाई समेत रोहबरमा राखेर सहीछाप गराएको देखिन्छ । बरामद भएको रूपैयाँ नक्कली भएको भन्ने प्रतिवेदन प्राप्त भएको र सो बरामद हुँदा प्रतिवादी विनय गौतमसमेत अन्य प्रतिवादीहरू सँगै रहेको हुँदा उपस्थित तीनै जनालाई प्रतिवादी कायम गरी अनुसन्धान गरी अभियोग दायर गरिएको देखिन्छ । निज प्रतिवादीले अनुसन्धानको क्रममा अब्दुल रहीम र दिपक के.सी. साथी भएकाले अब्दुल रहीमले बोलाएकाले आफू गएको तर निजसँग भारतीय रूपैयाँ रहेको विषयमा जानकारी नभएको र सोमा आफ्नो कुनै संलग्नता नरहेको भनी बयान गरेको देखिन्छ । अदालतमा समेत निजले अनुसन्धानको बयान बेहोरालाई समर्थन गरी कसुरमा इन्कार रही बयान गरेको देखिन्छ । कसुर ठहर भएको प्रतिवादीहरू अब्दुल रहीम र दिपक के.सी.ले अनुसन्धानको क्रममा र अदालतमा समेत विनय गौतमको संलग्नता रहेको भनी कहीँकतै पोल गरेको पाइँदैन । बरामदी मुचुल्काको बेहोरा र तीनैजना प्रतिवादीहरूको अनुसन्धानको र अदालतसमक्षको बयानसमेतबाट प्रतिवादी विनय गौतमको उक्त कसुरमा संलग्नता रहेको देखिँदैन । मिसिल संलग्न अन्य कुनै स्वतन्त्र प्रमाणबाट कसुरमा निजको संलग्नता रहेको भनी पुष्टि हुन सकेको पाइँदैन । कसुर गर्ने मनसाय वा भइरहेको कसुरको जानकारीबेगर साथीको नाताले कसुरदारको सँगै उपस्थित हुनुलाई नै शंकारहित तवरबाट कसुरदार कायम गर्ने पर्याप्त आधार मान्न मिल्दैन । बरामद गरिएको प्रतिवादीको सँगै रहेकै मात्र कारणबाट कसुर गर्ने मनसाय पुष्टि नभएको र अवैध वस्तु बरामद नभएको प्रतिवादीलाई कसुरदार ठहर्याउन खोटा चलनको अपराध possessory crime भनिए तापनि कानूनसङ्गत देखिएन । बरामद भएको अवैध भारतीय नक्कली नोट कारोबारमा निजको संलग्नता शंकारहित तवरबाट पुष्टि
हुनुपर्छ । यसर्थ कसुरदारहरू सँगै रहेको र बरामदी मुचुल्कामा रोहबरमा बसेकै कारणबाट प्रतिवादी विनय गौतमलाई समेत बरामदी मुचुल्कामा उल्लिखित अवैध भारतीय नक्कली नोटको कारोबारको कसुर कायम हुनुपर्छ भन्ने पुनरावेदक वादी नेपालको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
३. खोटा चलनको कसुर भए तापनि कसुरमा उपस्थित हुनेमध्ये पनि जसजसको कसुरमा भूमिका पुष्टि हुन्छ उसैलाई मात्र कसुरदार ठहर गर्नु कानूनसङ्गत हुने हुँदा साथीले बोलाएकाले गएको र कसुरको मनसाय वा जानकारी नभएको प्रतिवादीको कसुरमा भूमिका स्थापित हुन नसकेका अवस्थामा निजलाई कसुरदार कायम गर्न मिल्दैन । यसर्थ, ‘नक्कली मुद्रा सामूहिक रूपमा हुने कारोबार भएकोले कसुर हुनको लागि सबै प्रतिवादीसँग नक्कली नोट बरामद हुनुपर्ने भन्नु उपयुक्त नभएकोले नक्कली नोट लिएका अरू प्रतिवादीसँगै उक्त स्थानमा आफू रहनुपर्ने सन्तोषजनक कारण प्रतिवादीले दिन नसकेको’ भनी मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान गरिएको यस अदालतको मिति २०७२।१०।१० को आदेशसँग समेत सहमत हुन सकिएन ।
४. अतः माथि उल्लिखित तथ्य, प्रमाण, आधार र कारणहरूबाट अवैध भारतीय नक्कली रूपैयाँको कारोबारको कसुरमा प्रतिवादी विनय गौतमको संलग्नता वस्तुनिष्ठ प्रमाणद्वारा शंकारहित रूपमा पुष्टि हुन नसकेकाले निजलाई सफाइ दिने गरी सुरू बाँके जिल्ला अदालतबाट मिति २०६८।१०।७ मा भएको फैसलालाई सदर ठहर गरेको तत्कालीन पुनरावेदन अदालत नेपालगन्जबाट मिति २०७०।१२।१० मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । निज प्रतिवादीलाई समेत अभियोग दाबीबमोजिम कसुर ठहर गरी सजाय हुनुपर्छ भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी यो फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.हरिप्रसाद फुयाल
इजलास अधिकृतः- नारायणप्रसाद चापागाई / विकाशकुमार रजक
इति संवत् २०७९ कार्तिक ४ गते रोज ६ शुभम् ।