निर्णय नं. १११७५ - जबरजस्ती करणी गरी कर्तव्य ज्यान

सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा
माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना
फैसला मिति : २०७९।०८।१५
मुद्दाः जबरजस्ती करणी गरी कर्तव्य ज्यान
०७५-NF-००४०
पुनरावेदक / प्रतिवादी : पर्वत जिल्ला, बाजुङ गा.वि.स. वडा नं. १ हाल ऐ. मोदी गाउँपालिका वडा नं ५ घर भई कारागार कार्यालय, बागलुङमा थुनामा रहेको प्रकाश भन्ने निशान के.सी.समेत
विरूद्ध
प्रत्यर्थी / वादी : परिवर्तित नाम सर्वोच्च-३ पर्वतसमेतको जाहेरीले नेपाल सरकार
०७६-NF-००२७
पुनरावेदक / प्रतिवादी : पर्वत जिल्ला, बाजुङ गा.वि.स. वडा नं.१ बस्ने बलबहादुर भन्ने बुधबहादुर पौडेल क्षेत्री
विरूद्ध
प्रत्यर्थी / वादी : परिवर्तित नाम सर्वोच्च-३ पर्वतसमेतको जाहेरीले नेपाल सरकार
तत्काल सङ्कलन गरिएका वस्तुस्थितिको चित्रण गरिएको घटनास्थल मुचुल्का, बरामदी मुचुल्कामा उल्लिखित बेहोराले अपराधमा देखिएका (crime scene) तथ्यहरू (facts) को उजागर गरिदिएको हुन्छ । अन्यथा प्रमाणित नभएसम्म त्यस्ता तथ्यहरूको विश्लेषणबाट अपराधमा रहेको अपराधीहरूको संलग्नताको बारेमा नजिक पुर्याउने कार्य गरेको
हुन्छ । साथै एकजना मात्र संलग्न रहेको देखिने तथ्य र धेरै व्यक्ति संलग्न भएको देखिने तथ्य जस्तै तत्काल सङ्कलन गरिएका प्रमाणहरूबाट परख गर्न सकिने । मृतकको पोस्टमार्टम रिपोर्ट परीक्षण पनि महत्त्वपूर्ण प्रमाण हुने । वैज्ञानिक विधिबाट मृतकको शरीरको यौनाङ्गमा देखिएका घाउ चोटहरू तत्काल खुलाइएको हुन्छ । सो प्रमाणले पनि कसुरदारहरूको संख्या वा संलग्नतालाई परख गर्न मद्दत पुग्ने ।
(प्रकरण नं.९)
अनुसन्धानको क्रममा तत्काल सङ्कलन गरिएका प्रमाणहरूले अपराध र अपराधीको बारेमा बोलिरहेको हुन्छ । परिस्थितिजन्य प्रमाणले कसुरदारको नजिक पुर्याउने कार्य गर्दछ । कतिपय वारदातमा प्रत्यक्ष प्रमाण नरहेको हुन सक्दछ तर सङ्कलन गरिएका मिसिल संलग्न रहेको परिस्थितिजन्य प्रमाणहरूको सूक्ष्म विश्लेषणबाट कसुरदार पहिल्याउनुपर्ने ।
(प्रकरण नं.१४)
प्रतिवादीहरूको संलग्नता पुष्टि गर्ने परिस्थितिजन्य प्रमाण मालाकार कडीका रूपमा रहेको देखिएको अवस्थामा प्रत्यक्ष प्रमाणको अभाव रहेको भन्ने आधारमा मात्र अपराध र अपराधीले गरेको कसुरबारे खोजबिन नहुने र कसुरदार ठहर गर्न नमिल्ने भन्न नहुने ।
(प्रकरण नं.१८)
कसुरदारले सकभर आफ्नो अपराध समाजबाट लुकाउन खोज्ने प्रवृत्ति रहने हुँदा सबै वारदात घटनामा प्रत्यक्षदर्शी वा प्रत्यक्ष प्रमाण हुन्छ नै भन्ने हुँदैन । तर प्रत्यक्ष प्रमाण नभएको स्थितिमा पनि मिसिलबाट देखिएका तथ्यले के बोलिरहेका छन् र ती तथ्यहरू वारदातको परिस्थिति र परिस्थितिजन्य प्रमाणहरूबाट समर्थित भएको अवस्था छ, छैन हेरी विवादको निरूपण गरिनु आवश्यक हुने ।
(प्रकरण नं.२१)
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री शम्भु थापा र श्री इश्वरीप्रसाद भट्टराई, विद्वान् अधिवक्ताहरू श्री सपना सुवेदी, श्री पुर्ण राजवंशी र श्री कृष्णनाथ शर्मा तथा विद्वान् वैतनिक अधिवक्ताद्वय श्री अमिता गौतम र श्री सुधा धिताल
वादीका तर्फबाट : सहन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी
अवलम्बित नजिर :
ने.का.प.२०४५, अङ्क ११, नि.नं.३६५२
ने.का.प.२०६७, अङ्क ५, नि.नं.८३७८
ने.का.प.२०६८, अङ्क २, नि.नं.८५५३
ने.का.प.२०६९, अङ्क १२, नि.नं.८९३०
ने.का.प.२०७५, अङ्क ६, नि.नं.१००२१
स.अ. बुलेटिन २०६६, वर्ष १८, अङ्क २४, पूर्णाङ्क ४२६
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहको फैसला गर्ने :
माननीय न्यायाधीश श्री सुदर्शनराज पाण्डे
पर्वत जिल्ला अदालत
पुनरावेदन तहको फैसला गर्ने :
माननीय न्यायाधीश श्री नीता गौतम दीक्षित
माननीय न्यायाधीश श्री उमेशराज पौड्याल
उच्च अदालत, बागलुङ
यस अदालतमा फैसला गर्ने :
मा. न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
फैसला
न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : यस अदालतको संयुक्त इजलासको फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(ख) बमोजिम पुनरावलोकनको रोहमा यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः
तथ्य खण्ड
जिल्ला पर्वत, बाजुङ गा.वि.स. वडा नं. २ मोदीखेत स्थित पूर्वमा भूपीशेरचन राजमार्ग, पश्चिम कृष्णबहादुर पौडेलको पाखो खरबारी, उत्तर बमबहादुर पौडेल र कृष्णबहादुर पौडेलको खेत, दक्षिण गौरी शंकर पौडेलको खेत यति चार किल्लाको बिचमा रहेको कृष्णबहादुर पौडेलको धान खेतको गह्रामा पानी जमेको, उक्त गह्राको कान्लामा घाँस भरिन लागेको डोको, उक्त डोको नजिक घाँस काटेर राखेको पाँजो, खेतको बिच भागको कान्ला साइडमा ५ फिट ४ इन्च लम्बाइ ४ फिट चौडाइमा धान मडारिएको र मडारिएको धानको तीनवटा पातमा सामान्य रगत लागी पानीले बगाएको जस्तो रातो रहेको, खेतको गह्राको चौडाइ १६ फिट ५ इन्च, खेतको आलीबाट मडारिएको भागसम्म १४ फिट, मडारिएको स्थानमा सेतोमा आकाशे फुर्का भएको ९.५ इन्चको लुज सटको तुना रहेको, तुनासँगै नजिकै ढुङ्गा रहेको स्थानको दक्षिण १५ फिटमा खेतको आलीदेखि ५.७ फिट पश्चिममा चाइनिज चप्पल १ जोर, उक्त चप्पलको ५ फिट दक्षिणमा कालो पेन्टी, उक्त चप्पल र पेन्टी परिवर्तित नाम सर्वोच्च-१ पर्वतले लगाउने गरेको, उक्त मडारिएको स्थानमा मिति २०६७।६।३ गते बेलुका १९:३० बजेको समयमा परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई बेहोस पेन्टी सुरूवाल खोलिएको अवस्थामा फेला पारी उपचारको लागि लगिएको भनिएको चार किल्लासहितको घटना विवरणका साथै चप्पल, पेन्टी, तुना, ढुङ्गा फेला पारी प्रहरीले बरामद गरी लगेको भन्ने मिति २०६७।६।४ को घटनास्थल मुचुल्का ।
मेरो नातिनी वर्ष १५ की परिवर्तित नाम सर्वोच्च-१ पर्वत मिति २०६७।६।३ गते दिनको ४:३० बजेको समयमा धान काट्न भनी बाजुङ-२ मोदीखेतमा गएकीमा अबेरसम्म घरमा नआएकीले खोजतलास गर्दै जाँदा बेलुका ७:३० बजेको समयमा मोदीखेत स्थित धानको गह्रामा सुरूवाल र पेन्टी खोलिएको, कपडामा हिलो लागेको अचेत अवस्थामा फेला पारी उपचारको लागि पर्वत जिल्ला अस्पतालमा लैजाँदा मृत्यु भइसकेको हुँदा कानूनबमोजिम गरिपाउँ भन्ने बेहोराको परिवर्तित नाम सर्वोच्च-२ पर्वतले जिल्ला प्रहरी कार्यालय, कास्कीमा मिति २०६७।६।४ मा दिएको दरखास्त ।
कास्की जिल्ला, पोखरा उपमहानगरपालिका-१० रामघाट स्थित पश्चिम क्षेत्रीय अस्पतालको मुर्दा घरमा उत्तर टाउको, दक्षिण खुट्टा, नाक एवम् मुखबाट फिँज आई बगेको, योनिबाट रगत बगेको, टाउको पछाडिको भागमा ४ इन्च लम्बाइको छालाको भाग फुटी फाटेको स्थानमा रगत बगी कपालमा रगत लागेको, निलो हाफ कुर्था, कालो ब्रा, सेतो प्याजी रङ्ग भएको हाफ पाइन्ट लगाएको र योनिबाट रगत बगी मृतकले लगाएको हाफ पाइन्टमा समेत रगत लागेको भन्ने मृतक परिवर्तित नाम सर्वोच्च-१ पर्वतको लास प्रकृति मुचुल्का ।
lacerated wound on posterior wall of vagina, hymen torn, pv blood stain भन्नेसमेत बेहोरा उल्लेख भएको मृतक परिवर्तित नाम सर्वोच्च-१ पर्वतको मिति २०६७।६।४ मा भएको शव परीक्षण प्रतिवेदन ।
मेरी छोरी परिवर्तित नाम सर्वोच्च-१ पर्वत मिति २०६७।६।३ गतेका दिनको ४:३० बजेको समयमा घाँस काट्न भनी बाजुङ-२ मोदीखेतमा गएकीमा अबेरसम्म घरमा नआएकीले खोजतलास गर्दै जाँदा बेलुका ७:३० बजेको समयमा मोदीखेत स्थित धानखेतको गह्रामा सुरूवाल र पेन्टी खोलिएको कपडामा हिलो लागिरहेको अचेत अवस्थामा फेला पारी उपचारको लागि पर्वत जिल्ला अस्पतालमा लैजाँदा मृत्यु भइसकेको र बुझ्दै जाँदा जिल्ला पर्वत बाजुङ-१ बस्ने तेजबहादुर कुँवर, बुधबहादुर पौडेल, प्रकाश के.सी., अमृत कुँवर र फलिन्द्र कुँवरले छोरी परिवर्तित नाम सर्वोच्च-१ पर्वत घाँस काटिरहेको स्थानमा गई मुख माटोले बन्द गरी हारगुहार चिच्याउन नदिई सामूहिक रूपमा बलात्कार गरी बलात्कारपश्चात् टाउकोमा ढुङ्गाले हानी मारेर छाडेको स्पष्ट हुन आएको हुँदा निज प्रतिवादीहरूलाई पक्राउ गरी कानूनबमोजिम हदैसम्म सजाय गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम सर्वोच्च-३ पर्वतले मिति २०६७।०६।०७ मा जिल्ला प्रहरी कार्यालय, पर्वतमा दिएको जाहेरी दरखास्त ।
प्रतिवादीहरू बलबहादुर भन्ने बुधबहादुर पौडेल र प्रकाश के.सी. को घाउ चोट छैन । अमृत कुँवरको बायाँ हातको पाखुरामा कोतरेको घाउ, गणेश कुँवर भन्ने तेजबहादुर कुँवरको बायाँ हातको पञ्जा र पाखुरामा कोतरेको घाउ र फणिन्द्र भन्ने फलिन्द्र कुँवरको दाहिने पाखुरामा कोतरेको घाउ साथै बायाँ खुट्टाको पहिलो दोस्रो र तेस्रो औंलामा कोतरेको घाउ रहेको भन्ने बेहोराको जिल्ला अस्पताल पर्वतबाट मिति २०६७।०६।०७ मा भएको प्रतिवादीहरूको शारीरिक जाँच फाराम ।
जिल्ला पर्वत बाजुङ-२ मोदी खेत स्थित पूर्वमा भूपीशेरचन राजमार्ग, पश्चिम परिवर्तित नाम सर्वोच्च-३ पर्वतको पाखो खेतबारी, उत्तर बमबहादुर र परिवर्तित नाम सर्वोच्च-३ पर्वतको खेत, दक्षिण गौरी शंकर पौडेलको खेत, यति चार किल्लाको बिचमा रहेको परिवर्तित नाम सर्वोच्च-३ पर्वतको धान खेतमा मिति २०६७।६।३ गते अचेत अवस्थामा वर्ष १५ की परिवर्तित नाम सर्वोच्च-१ पर्वत फेला परेको धान खेतको कान्लामा धान मडारिएको ठाउँदेखि १ फिट पूर्वमा काठको बिँड भएको फलामे आँसी फेला परेको र सो स्थानदेखि १६ फिट दक्षिणमा धान रहेको डोको र नाइलनको नाम्लो बरामद भएको भन्ने मिति २०६७।०६।१० मा भएको बरामदी मुचुल्का ।
मिति २०६७।६।३ गते म कुश्मा जान भनी घरबाट हिँडेकोमा पातिचौरमा पुग्दा गाउँकै बलबहादुर पौडेलसँग भेट भई गाडीमा चढी कुश्मा जाने क्रममा बलबहादुरले अम्बोट झरौं भनी अम्बोटमा झरी ज्योतिषीकोमा हेराई टिका सुवेदीकोमा रक्सी र माछा खाई दिनको अन्दाजी २:३० बजेको समयमा बलबहादुर र म पैदल हिँडी पातिचौरतर्फ आउँदा बाजुङ २ मोदीखेत नजिकको पुलमा आइपुग्यौं । पुलमा आइपुग्नु अघि बाटोमा हिँड्दै गर्दा परिवर्तित नाम सर्वोच्च-१ पर्वतले घाँस काटेको देखी मलाई इमोसन जागी मैले परिवर्तित नाम सर्वोच्च-१ पर्वतको नजिकमा गई निजको कपालको चुल्ठोमा समाई तानेर आफूतिर फर्काएँ र निजको हातमा रहेको हँसिया समाई खोसी खेततिर फालिदिएँ । अझै पनि उम्किन खोजेकोले निजको छातीको भाग र अर्को हातले पिठ्युँमा समाई जोडसँग खेतको कान्लामा पछारेँ । त्यसपछि निजलाई हातले समाई उचाल्दै घिसार्दै खेतको गह्रामा लगी निजको सुरूवाल र पेन्टीसमेत खोल्ने क्रममा निजको एउटा खुट्टाको चप्पलले अल्झाएको हुँदा चप्पल खोलेर फाली पेन्टी सुरूवाल खोली करणी गरेको हुँ, मैले करणी गर्दा अमृत कुँवर, प्रकाश के.सी., बलबहादुर भन्ने बोधबहादुर पौडेल र फणिन्द्र कुँवरलाई देखेको र निजहरूले पनि मलाई समेत देखेका थिए । करणी गरिसकेपछि मेरो कपडामा हिलो लागेको हुँदा धुन पुल तलको धारामा जाँदा निजहरू ४ जनालाई नै पुलमा देखेकोमा पछि म धारामा हिलो पखाल्दै गर्दा निजहरू चारै जना वारदातस्थलतर्फ गएको देखेको हो । निजहरूले परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई के के गरे मैले देखिनँ, मैले कपडा धोई मोबाइल हेर्दा फेला नपरेकोले वारदात स्थानमा छुटेको होला भनी परिवर्तित नाम सर्वोच्च-१ पर्वत भएको ठाउँमा जाँदा परिवर्तित नाम सर्वोच्च-१ पर्वत मैले करणी गरी छाडेभन्दा सिरियस थिइन् । वारदातस्थलमा ढुङ्गासमेत देखेको थिएँ । म वारदातस्थलमा जाँदा बलबहादुर, अमृत, प्रकाश र फणिन्द्र वारदातस्थलबाट पुलमा आइसकेका थिए । मैले मोबाइल धान खेतमा फेला पारेपछि परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई अरू कसैले चिन्न नसकुन् भन्ने मनसायले घोप्टाइ छोडेको हुँ । पुलबाट घटनास्थल अन्दाजी १०० मिटरको दुरीमा पर्दछ । घटनास्थलमा चिच्याई कराएको पुलबाट प्रस्ट सुन्न र घटनास्थलबाट पुलमा रहेको मानिस र पुलबाट घटनास्थलमा रहेको मानिस प्रस्ट देख्न सकिन्छ । मैले जबरजस्ती करणी गरी ढुङ्गाले प्रहार गरी हिलोमा घोप्टाई छाडिदिएको हुँदा निसासिएर परिवर्तित नाम सर्वोच्च-१ पर्वतको मृत्यु भएको हुन सक्छ भन्नेसमेत बेहोराको प्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवरको अनुसन्धानको क्रममा भएको साबिती बयान ।
मिति २०६७।६।३ गते बेलुका ६:३० बजे घरबाट पातिचौरमा रिचार्ज कार्ड लिन जाँदा बलबहादुर, अमृत र गणेशलाई भेटेको हुँ । त्यसपश्चात् निजहरू र म सँगै घरतर्फ लागेको हो । मैले भेट्दा बलबहादुर र गणेशले रक्सी खाए जस्ता थिए । गणेशको कपडा भिजेको थियो । गणेशको मोबाइल भिजेकोले टंक चापागाईको मोबाइल पसलमा खोल्दा मोबाइलभित्र हिलो पसेको थियो । सो वारदातमा कम्तीमा तीन जनाको संलग्नता भएको हुनुपर्दछ । मिति २०६७।६।४ गते गणेश र म कास्कीको दाङसिङ भन्ने स्थानमा गएका हौं । वारदातमा म नभए पनि गणेश र म एकै गाउँको दाजुभाइ भएको साथै वारदातपश्चात् सँगै हिँडेको हुँदा घटना थाहा पाई लुकाइ छिपाइ राखी प्रतिवादीलाई भगाएको भनी मलाई समेत किटानी जाहेरी परेको हुनुपर्छ भन्ने बेहोराको प्रतिवादी फणिन्द्र कुँवर भन्ने फलिन्द्र कुँवरको अनुसन्धानको क्रममा भएको बयान ।
परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई गणेश कुँवरले नै करणी गरी कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्दछ । उक्त वारदातमा कम्तीमा तीन जना संलग्न भएको हुनुपर्दछ । गणेशसमेतले वारदात घटाउँदा मसमेत पुलमा नै थिएँ भन्नेसमेत बेहोराको प्रतिवादी अमृत कुँवरले अनुसन्धानको क्रममा गरेको बयान ।
गणेश कुँवर पनि मसँगै थिए । अन्दाजी बेलुका ५:०० बजेको हुनुपर्दछ । प्रकाश के.सी. र अमृत कुँवरलाई पुलमा नै भेटेको हुँ । उक्त अवस्थामा गणेश भन्ने तेजबहादुर कुँवर वारदातस्थलतर्फ गएको देखेको हुँ । अन्दाजी ४५ मिनेटपछि गणेश कुँवर पहिलाको अवस्थामा थिएनन् । कपडा भिजेको अवस्थामा फर्की आएका थिए । मैले के भयो भनी सोध्दा रक्सी सेवन गरेको कारण उल्टी भएर भिजेको भनेका
थिए । त्यसपछि प्रकाश के.सी. र अमृत कुँवरलाई उक्त पुलमा नै छाडी म र गणेश पातिचौर बजारतर्फ
लाग्यौ । जाने क्रममा गणेशले मेरो मोबाइल पानीमा भिजेकोले बिग्रेको भनी पसलमा पुग्दा अन्दाजी ६:३० बजेको थियो । परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई तेजबहादुर कुँवरसमेतले करणी गरी कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्दछ । उक्त घटना एक जनाले मात्र घटाउन सक्दैन । कम्तीमा तीन जना संलग्न भएको हुनुपर्दछ भन्नेसमेत बेहोराको बलबहादुर पौडेल भन्ने बुधबहादुर पौडेलले अनुसन्धानको क्रममा गरेको बयान ।
उक्त वारदात सम्बन्धमा पुलमा कुनै आवाज खबर पाइएन । म घरमा गई खाना खाएर बसेको अवस्थामा अन्दाजी १०:०० बजेतिर दिपेन्द्र अर्खेलीले मेरो मोबाइलमा फोन गरेर परिवर्तित नाम सर्वोच्च-३ पर्वतको छोरी मोदीखेतमा घटनामा परिछन् भन्ने थाहा पाएँ । उक्त घटनास्थलमा आई घटना सम्बन्धमा जानकारी पाई कास्कीको नयाँ पुलमा गई बसी मिति २०६७।६।४ गते बिहान पातिचौर बजारमा आई घटनास्थलमा गई घरमा गएको हुँ । वारदात सम्बन्धमा म र अमृत कुँवर पुलमा बसेको अवस्थामा पातिचौरतर्फ गएका मैले समेत भेटेका गणेश कुँवर भन्ने तेजबहादुर कुँवरले जबरजस्ती करणी गरी कर्तव्य गरी मारेको भन्ने थाहा पाएको हुँ । निज तेजबहादुर कुँवरले नै करणी गरी घटना लुकाउनको लागि कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्दछ । घटनास्थल हेर्दा एक जनाले मात्र घटाउन सक्दैन भन्ने बेहोराको प्रकाश के.सी. भन्ने निशान के.सी. ले अनुसन्धानको क्रममा गरेको बयान ।
गणेश भन्ने तेजबहादुर कुँवरसमेतको घरको दक्षिणतर्फको भुइँ तलाको कोठामा ढोकाभित्र गई हेर्दा विस्तारासहितको काठको खाट, उक्त खाटको सिरानीले छोपी राखेको अवस्थामा निलो हाउजिङ भएको नोकिया मोबाइल एक थान र विस्तारामाथि पट्टाई राखेको कालो रङ्गको कटनको पाइन्ट र नपट्टाई राखेको खैरो रङ्गको भि आकार कलर भएको टिसर्ट बरामद भएको भन्ने बरामदी एवं खानतलासी मुचुल्का ।
काठमाडौंबाट घरमा आई उक्त वारदात सम्बन्धमा बुझ्दै जाँदा घटना वारदात समयमा हिँड्डुल गर्ने मानिस, घटनास्थलको अवस्था, मृतकको शरीरको अवस्थासमेत हर्दा उक्त वारदात समयमा जाहेरीमा उल्लिखित प्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवर, बलबहादुर भन्ने बुधबहादुर पौडेल, रक्सी सेवन गरी उक्त वारदात स्थानमा रहेको बुझिन आएको र उक्त वारदात स्थानमा रहेको मानिस प्रस्ट देख्न र चिन्न सकिने, आवाज सुन्न सकिने मोदीखोलाको वर्तनेका पुलको जिपमा बसेका प्रकाश के.सी., अमृत कुँवर, फणिन्द्र भन्ने फलिन्द्र कुँवर रहेको भन्ने बुझिन आएको थाहा पाएको हुँ । निज प्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवर, बलबहादुर भन्ने बुधबहादुर पौडेलले परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई करणी गरी कर्तव्य गरी मारेको र मार्नमा सहयोग गर्ने प्रतिवादीहरू प्रकाश के.सी, अमृत कुँवर, फणिन्द्र भन्ने फलिन्द्र कुँवरले घटनालाई ढाक छोप गरी अपराधबाट बच्नको लागि सहयोग पुर्याएकोमा पूर्ण विश्वास लाग्छ भन्ने बेहोराको ईश्वर कुमार के.सी. र दिपक के.सी. ले गरेको एकै मिलान बेहोराको छुट्टाछुट्टै कागज ।
मिति २०६७।६।३ गते बेलुका अन्दाजी ५.३० बजे हामीहरू मोदिखेतमा धान काट्न जाँदा वर्तनेको पुलनेर बलबहादुर भन्ने बुधबहादुर पौडेल र गणेश भन्ने तेजबहादुर कुँवर रक्सी खाए जस्ता उन्मत्त भई बसेका थिए । परिवर्तित नाम सर्वोच्च-१ पर्वतले वारदातस्थलमा घाँस काटिरहेकी थिइन् । मैले परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई डोको भरियो भन्दा केही समय लाग्छ भनेकी थिइन् । हामीहरूले त्यहाँ वर्तनेको पुलनेर रक्सी खाए जस्ता उन्मत्त भएर बसेका मानिसहरू छन् भनेपछि परिवर्तित नाम सर्वोच्च-१ पर्वतले मेरो डोको भरिन लागेको छ, मेरो डोको भरियो भने म घर जान्छु भनेकी थिइन् । निजको बुवा आमा र गाउँका मानिसहरूसमेत खोज्दै जाँदा उक्त हामीले नै घाँस काटिरहेको देखेको खेतको गह्रामा नै पानीमाथि सुरूवाल पेन्टी खोलिएको, टाउकोमा चोट लागेको बेहोस अवस्थामा फेला पारी घरमा ल्याएका छन् भन्ने थाहा पाएपछि मसमेत परिवर्तित नाम सर्वोच्च-१ पर्वतको घरमा आउँदा परिवर्तित नाम सर्वोच्च-१ पर्वतको टाउकोमा काटेको, योनिबाट रगत बगेको र कपडा भिजेको अवस्थामा थियो । तत्काल पर्वत जिल्ला अस्पतालमा लैजाँदा मृत्यु भइसकेको रहेछ । उक्त वारदात सम्बन्धमा बुझ्दै जाँदा प्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवर, बलबहादुर भन्ने बुधबहादुर पौडेलले परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई करणी गरी कर्तव्य गरी मारेको र मार्नमा सहयोग गर्ने प्रतिवादीहरू प्रकाश के.सी., अमृत कुँवर, फणिन्द्र भन्ने फलिन्द्र कुँवरले घटनालाई ढाकछोप गरी अपराधबाट बच्नका लागि सहयोग पुर्याएकोमा पूर्ण विश्वास लाग्छ । निजहरूलाई कानूनबमोजिम हदैसम्मको सजाय हुनुपर्दछ भन्ने बेहोराको प्रविता सुवेदी, विष्णु पौडेल र मोहनबहादुर मल्लसमेतले गरेको एकै मिलान बेहोराको छुट्टाछुट्टै कागज ।
म आफ्नो काम विशेषले पोखरा गएको थिएँ । मिति २०६७।६।३ गते अन्दाजी ६:१५ बजे पातिचौर बजारमा आइपुग्दा जाहेरीमा उल्लिखित प्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवर, बलबहादुर भन्ने बुधबहादुर पौडेल हतारमा मेरो मोबाइल पसलमा आई मेरो मोबाइलमा पानी पसेको छ सफा गरिदिनुहोस् भनेकाले मोबाइलभित्र पसेको धमिलो पानी र हिलो सफा गरिदिएँ । त्यसपछि मेरो पसलमा आएका गणेश, बलबहादुर, अमृत र फलिन्द्र घरतर्फ लागेका हुन् । त्यसको ३/४ मिनेटपछि परिवर्तित नाम सर्वोच्च-१ पर्वतको आमाले परिवर्तित नाम सर्वोच्च-१ पर्वत घाँस काट्न गएकी आइनन् भनेपछि मसमेत नजिकका गाउँलेहरू खोज्न भनी पैदल मोदीखेत जाँदा धान खेतको गह्रामा पानीमाथि पेन्टी, सुरूवाल, खोलिएको निर्वस्त्र अवस्थामा, टाउकोमा काटी रगत बगेको, योनिबाट रगत बगिरहेको अवस्थामा फेला पारी तत्काल उपचारको क्रममा पर्वत जिल्ला अस्पतालमा लैजाँदा मृत्यु भएको हो । उक्त वारदात सम्बन्धमा के कसरी मारेको भनी बुझ्दा गणेश, बलबहादुर, अमृत र फलिन्द्र चरित्रहीन भएकाले गणेश, बलबहादुर, अमृत र प्रकाशले रक्सी, गाँजा खाई बाटो कुरी एक्लै पारी पाशविक रूपमा करणी गरी पोल खुल्ने डरले अपराधबाट बच्नको लागि टाउकोमा ढुङ्गाले प्रहार गरी कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास
लाग्दछ । निजहरूलाई कानूनबमोजिम हदैसम्मको कडाभन्दा कडा सजाय हुनुपर्दछ भन्ने बेहोराको टंकनाथ चापागाईले गरेको कागज ।
मिति २०६७।६।३ गते छोरी परिवर्तित नाम सर्वोच्च-१ पर्वत मोदीखेतमा घाँस काट्न गएकीमा अबेरसम्म घरमा नआएकीले खोजतलास गर्दै जाँदा मोदीखेतकै धानको गह्रामा पेन्टी खोलिएको, शरीरमा माटो लागेको बेहोस अवस्थामा साँझ ७:३० बजे फेला पारी प्राण छ कि भनी उपचारको लागि पातिचौरमा रहेको कमल मेडिकलमा देखाउँदा साधन सम्पन्न अस्पतालमा उपचार गराउन राय दिएकोले पर्वत जिल्ला अस्पतालमा उपचारको लागि लैजाँदा छोरीको मृत्यु भइसकेको रहेछ । छोरी परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई जाहेरीमा उल्लिखित प्रतिवादीहरूले जबरजस्ती करणी गरी जिउँदै छाडेमा पोल खुल्ने डरले मार्ने मनसाय लिई योजना बनाई आपसमा सल्लाह गरी टाउकोमा ढुङ्गाले हानी कर्तव्य गरी मारी छाडेको प्रस्ट हुन आएको हुँदा निजहरूलाई कानूनबमोजिम हदैसम्मको कडा कारबाही हुनुपर्दछ भन्ने बेहोराको परिवर्तित नाम सर्वोच्च-४ पर्वतले गरेको कागज । साथै उक्त मितिमा बेलुका ८:०० बजेको समयमा प्रतिवादी निशान के.सी. हतारमा मेरो घर अगाडिबाट एक्लै दौडँदै थिए, निज प्रतिवादीहरूले कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्दछ । निजहरूलाई कानूनबमोजिम हदैसम्म कडा कारबाही हुनुपर्दछ भन्ने बेहोराको गुमा पौडेलले गरेको कागज ।
मिति २०६७।६।३ गते दिउँसो अन्दाजी ४.०० बजेको समयमा प्रतिवादी तेजबहादुर र बलबहादुर पौडेल मात्तिँदै मैले गिटी कुटेको ठाउँ भ्याप्लेमा अम्बोटबाट पैदल हिँड्दै आएका थिए । केहीबेर मलाई जिस्क्याएर मेरो छोरा साथमै भएकोले मलाई केही गर्न पाएनन् । मबाट रिसाई पातिचौरतर्फ गई आडमै रहेको बिजुलीको पोललाई श्रीमतीलाई जस्तै समाई अनुचित कार्य गरी पातिचौरतर्फ गएका हुन् । बेलुका परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई मोदीखेतमा कर्तव्य गरी मारेछन् भन्ने थाहा पाई भोलिपल्ट बुझ्दै जाँदा तेजबहादुर, बलबहादुर, अमृत, प्रकाशसमेतले करणी गरी मारेको बुझिन आएको थियो । निज प्रतिवादीहरू उन्मत्त हुँदै बाटोमा हिँडेको हुँदा निजहरूले नै करणी गरी कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्दछ । निजहरूलाई कानूनबमोजिम हदैसम्मको कारबाही हुनुपर्दछ भन्ने बेहोराको कविता गुरूङले गरेको कागज ।
प्रतिवादीहरू तेजबहादुर कुँवर, निशान के.सी., बलबहादुर पौडेल, फणिन्द्र कुँवर, अमृत कुँवर आचरण बेहोरा राम्रो नभएका व्यक्तिहरू हुन् । निजहरू आपसमा सल्लाह गरी मोदी खेतमा जम्मा भई परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई करणी गर्ने योजना बनाई कसैले मानिस हेर्ने र पालै पालो करणी गरी परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई जिउँदै छाडेमा पोल खुल्ने डरले मार्ने मनसाय लिई ढुङ्गाले टाउकोमा हानी कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्दछ । निज प्रतिवादीहरूलाई कानूनबमोजिम हदैसम्म कारबाही हुनुपर्दछ भन्ने एकै मिलान बेहोराको धनबहादुर पौडेलसमेत जना ३ ले गरेको वस्तुस्थिति मुचुल्का ।
परिवर्तित नाम सर्वोच्च-१ पर्वतको शव परीक्षण एवं मृत्युको कारण The cause of death is found to be servere head injury भनी खुलाइएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल विकास समिति पोखराको च.नं. ६४८ मिति २०६७।६।२७ को पत्रसाथ प्राप्त चिकित्सकहरूको राय मिसिल सामेल रहेको ।
वर्तनेको पुलमा रहेको प्रतिक्षालयबाट वारदातस्थल १०५ मि., पुलबाट पुलमुनि मोदीको तिरमा रहेको धारा २१ मिटरको दुरीमा रहेको र वर्तनेको पुलबाट घटनास्थलमा रहेको मानिस र घटनास्थलबाट वर्तनेको पुलमा रहेको मानिस देख्न र चिन्न सकिन्छ भन्नेसमेत बेहोराको मिति २०६७।६।२७ मा भएको रेखाचित्रसहितको घटनास्थल मुचुल्का ।
प्रतिवादीहरू गणेश कुँवर भन्ने तेजबहादुर कुँवर १, बलबहादुर भन्ने बुधबहादुर पौडेल क्षेत्री १, प्रकाश के.सी. भन्ने निशान के.सी.१, अमृत कुँवर १, फणिन्द्र भन्ने फलिन्द्र कुँवर १समेत जना ५ ले मुलुकी ऐन जबरजस्ती करणीको महलको १ नं. विपरीत तथा ऐ. ज्यानसम्बन्धी महलको १ नं. विपरीतको कसुर अपराध गरेकोले निजहरूलाई मुलुकी ऐन जबरजस्ती करणीको महलको ३ नं. को देहाय (३) नं. बमोजिम सजाय गरी सामूहिक रूपमा जबरजस्ती करणी गरेकोमा सोही महलको ३क नं. बमोजिम थप सजाय हुन र गा.वि.स. को सिफारिसबाट प्रतिवादी बुधबहादुर पौडेल क्षेत्री र निशान के.सी. हाडनाताभित्रका देखिएका हुँदा हाडनाताभित्र जबरजस्ती करणी गरेको हुँदा हाडनाता करणी महलको २ नं. बमोजिम जना दुईलाई थप सजायसमेत गरी, प्रतिवादीहरू गणेश कुँवर भन्ने तेजबहादुर कुँवर १, बलबहादुर भन्ने बुधबहादुर पौडेल क्षेत्री १, प्रकाश के.सी भन्ने निशान के.सी. १, अमृत कुँवर १ र फणिन्द्र भन्ने फलिन्द्र कुँवर १ समेत जना ५ ले पीडित वर्ष १५ पूरा नभएकी परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई जबरजस्ती करणी गरी सोको पोल खुल्ने डरले मनसायपूर्वक कर्तव्य गरी ज्यानसमेत मारेको कसुर अपराधका सम्बन्धमा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिमको सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र ।
मिति २०६७ साल असोज ३ गते बिहान ६ बजे उठेर पातिचौर बजारमा आई मगर्नीको पसलमा २ गिलास रक्सी पिएर घर गएँ । करिब ७:३० देखि ८:०० बजेको थियो होला घर पुगी नास्ता खाएपछि करिब ८:३० बजेको समयमा खाना नखाई पातिचौरतर्फ पुनः आएँ र टंक चापागाईको मोबाइल पसलमा केही छिन बसेर वारिपट्टिको पातिचौरतर्फ गएँ । त्यहाँ मैले नाम नजानेको व्यक्तिकोमा तास खेलिरहेका बलबहादुर भन्ने बुधबहादुरलाई देखी म पनि तास खेल्छु भनेकोमा बुधबहादुरले भो नखेल बरू फिल्म हर्न जाउँ भनेकाले म र बुधबहादुर पारि पातिचौरबाट पैदल हिँडेर वारि पातिचौर आइयो । होटलमा बसौं रक्सी खाउँ भनी मैले भनेकोमा बुधबहादुरले भो कुश्मातिर जाउँ भनेकाले एकछिन जुत्ता पसलेकोमा बसेपछि बस आएपछि दुवैजना बसमा चढेर आउँदै गर्दा दुवै जना अम्बोटमा झरियो । त्यहाँ रहेको टिकाबहादुर सुवेदीको होटलमा पसियो र उक्त होटलमा माछा र १/१ गिलास रक्सी पिएपछि माथि रहेको हेराउने ज्योतिषीको घरमा गएर बुधबहादुर र म दुवैले हात हेरायौं । त्यस ठाउँमा करिब आधा घण्टा भुलेपछि पुनः पहिले रक्सी मासु माछा खाएको होटलमा आएर मैले १ बोत्तल रक्सी मागेर २ जनाले माछासँग खाइयो । समय यकिन भएन करिब १ घण्टाजति भुलियो । त्यसपछि मैले कुश्मा जाउँ भनेकोमा बुधबहादुरले नजाउँ घरतर्फ जाउँ भनेको हुनाले पैदलै अम्बोटबाट पातिचौर
गइयो । सो समयमा मलाई र बुधबहादुरलाई रक्सी लागेको थियो । उक्त ठाउँबाट पातिचौर पुग्ने एक ठाउँमा नाम थाहा नभएका गिट्टी कुट्ने एक आइमाई र १ लोग्ने मान्छेसँग भेट भयो । बुधबहादुरले एकछिन केही कुराकानी गरे जस्तो लागेको थियो के कुराकानी भयो थाहा भएन । तत्पश्चात् पुनः एक जना नाम थाहा नभएको मानिससँगै भेट भयो । सोही पुलनजिकबाट खेतको इत्लाको बाटो हुँदै केटीले घाँस काटिरहेको ठाउँमा गएँ । मैले निजलाई झ्याप्पै समातेँ । घाँस काट्ने डोको कान्लामा थियो । मैले निजलाई यौन सम्पर्क गर्ने इच्छाले जबरजस्ती रूपमा पल्टाउन खोज्दा निज ढुङ्गामा ठोक्किएकी हुन् । मैले निज मृतक केटीलाई यौन सम्पर्क गरेँ, मेरो इच्छा पुग्यो । निज बेहोस अवस्थामा चलबलाई राखेकी थिइन् । निज रोए कराएको मैले थाहा पाइँन । त्यसपछि म खोलामा आएँ । मैले गर्मी भएको महसुस गरेँ र हातमुख धोएँ । कपडामा हिलोसमेत लागेको थियो । करिब आधा घण्टा ४५ मिनेटजति खोलामा बसेँ । त्यसपछि फोन गर्छु भन्दा मोबाइल नभेटेकाले खोजी गर्न पुनः घटनास्थलमा
गएँ । मृतक केटी रहेको वरिपरि दायाँँ साइडमा पानीभित्र मोबाइल खोज्दा भेटेँ । केटीको अवस्था गम्भीर र बेहोस अवस्थामा थिइन् । मैले चप्पल लगाएर गएको थिएँ । मैले निज मृतकलाई पछाडिबाट खेतको खाजमा आँसी लिएर हिँडिरहेको अवस्थामा निजको छातीमा
समाएँ । छातीमा समात्दा कराएजस्तो लागेन । डोको र केटी रहेको ठाउँ ५/७ फिट फरकमा थियो । हँसिया खेतमा खसेको थियो । निज मृतक केटीलाई मैले पल्टाउने क्रममा खेतको खाजमा रहेको ढुङ्गामा ठक्कर लागी शरीरको आधा भाग खेततर्फ ढल्केको हुँदा त्यसपछि पूरै शरीर पानी रहेको खेतमा खसालेर यौन सम्पर्क गरेको साँचो हो । मेरो मोबाइल लिएर घटनास्थलबाट गएपछि बलबहादुरले मलाई किन भिजेको भनी सोधे र मैले पानी खाँदा भिजेको भनेर भनेँ । १५/२० मिटरपर माथिबाट प्रकाश भन्ने निशान के.सी. र अमृत कुँवर आएका थिए । मेरो मोबाइलमा पानी परेको कारणबाट नचल्ने भएकोले मर्मतवाला टंक चापागाइको पसलमा बसियो र मोबाइलमा परेको पानी सफा गरेपछि मोबाइल बन्यो । त्यसपछि फलिन्द्र, बुधबहादुर र म भएर घरतर्फ गइयो, तेस्रो दिन फलिन्द्र भेटेपछि निजलाई लिएर दिदी भिनाजुसँग भेटघाट गर्न विरेठाटी गइयो र उक्त दिन त्यहीँ बसियो । भोलिपल्ट घर फर्कने क्रममा बिहान ९ बजेतिर बाटोमा फलिन्द्र र मलाई प्रहरीको टोलीले पक्राउ गरेको हो भन्नेसमेत बेहोराको गणेश कुँवर भन्ने तेजबहादुर कुँवरले सुरू अदालतमा गरेको बयान ।
वारदातको दिन तेजबहादुर कुँवर र मैले रक्सी सेवन गरेका थियौं । रक्सीको नशा लागेकोले रोडमा सुतेँ । गणेशले मलाई उठाई अगाडि बढाए । सो क्रममा खोलाको पुलनजिक पुग्दा मलाई रक्सीको नशा टाउकोमा चढेकोले पुनः सुतेँ । उक्त ठाउँमा म करिब आधा घण्टाजति सुतेको हुँ । उक्त समयमा गणेश घटना घटेको ठाउँतर्फ आएजस्तो लागेको
थियो । पछि करिब १०/१५ मिनेटपछि गणेश म सुतेको ठाउँमा आए । निजले नै मलाई उठाइसकेपछि तैंले लगाएको सर्ट खोई भाइ भनी मैले सोधेँ, मैले टिसर्ट नै लगाएको हुँ भनेर निजले मलाई पनि बोमिट आएको भनेर भन्यो । टिसर्टको अगाडिपट्टि भिजेको अवस्था थियो । त्यसपछि पातिचौरतर्फ अगाडि बढ्ने क्रममा प्रकाश भन्ने निशान के.सी. र अमृत कुँवरलाई वर्तनेको पुलदेखि केही पर पातिचौर साइडमा भेटियो । निशानले कहाँ गएर आएको भनी सोधेपछि अम्बोटबाट खाजा खाएर आएको भनेर म र गणेश भन्ने तेजबहादुर केही अगाडि पानीको छहरातर्फ आइयो । मुख कुल्ला गरेर मुख धोएपछि म र तेजबहादुर पातिचौरतर्फ गयौं । गणेश टंक चापागाइको मोबाइल पसलमा पस्यो । म बाहिर बसेँ । सो ठाउँमा जाहेरवाला परिवर्तित नाम सर्वोच्च-३ पर्वत काका हुनुहुन्थ्यो । केही गाउँलेहरू पनि थिए । उक्त मोबाइल पसलमा करिब १५/२० मिनेटजति बसेर गणेश, म, फलिन्द्र, अमृत, लक्षुमन, डम्मर सबै भएर घरमा गइयो । फलिन्द्र, अमृत, लक्षुमन पनि सो मोबाइल पसलमा भेट भएका हौँ । घरमा पुग्दा रात परिसकेको थियो भन्नेसमेत बेहोराको बलबहादुर पौडेल भन्ने बुधबहादुर पौडेल क्षेत्रीले सुरू अदालतमा गरेको बयान ।
मैले गणेश भन्ने तेजबहादुर कुँवर र बलबहादुर भन्ने बुधबहादुर पौडेल क्षेत्रीलाई वर्तनेको पुलभन्दा अगाडि भेट्दा उनीहरू रक्सी खाए जस्ता देखिन्थे । परिवर्तित नाम सर्वोच्च-३ पर्वतले दिएको जाहेरी दरखास्तको बेहोरा पढी बाची सुनाउँदा
सुनेँ । उक्त घटनामा मलाई समेत संलग्न भएको भनी किन त्यस्तो जाहेरी दिनुभयो थाहा भएन । वारदात भएका दिन र समयमा म प्रकाश भन्ने निशान के.सी.का साथमा वर्तनेको पुलमा गएकोमा गणेश भन्ने तेजबहादुर कुँवर र बलबहादुर भन्ने बुधबहादुर पौडेल क्षेत्रीसँग भेट भएको हो । पछि फर्कने क्रममा पातिचौर बजारमा टंके अङ्कलको मोबाइल पसलमा गणेश भन्ने तेजबहादुर कुँवर र बलबहादुर भन्ने बुधबहादुर साथै फणिन्द्र भन्ने फलिन्द्र कुँवरसँग कुराकानी गरेको अवस्थामा जोहरवाला परिवर्तित नाम सर्वोच्च-३ पर्वतले मसमेतलाई सोही ठाउँमा देखेका हुँदा सोही आधारमा जाहेरी दिएका हुन् । उक्त वारदातमा को कसको संलग्नता थियो मलाई थाहा भएन । घटनाबारे गाउँमा हल्ला चलेपछि मात्र भोलिपल्ट थाहा पाएको हुँ भन्नेसमेत बेहोराको अमृत कुँवरले सुरू अदालतमा गरेको बयान ।
मिति २०६७।६।३ गते बेलुका मोबाइलको रिचार्ज किन्न भनी पातिचौर स्थित टंके अङ्कलको पसलमा जाँदा त्यहाँ प्रतिवादी बनाइएका गणेश भन्ने तेजबहादुर कुँवर र बलबहादुर भन्ने बुधबहादुर पौडेल क्षेत्रीसँग भेट भएको हो । टंके अङ्कलको पसल र जाहेरवाला परिवर्तित नाम सर्वोच्च-३ पर्वतको घर सँगै जोडिएको र सो समयमा जाहेरवालाले मलाई गणेश भन्ने तेजबहादुर कुँवर र बलबहादुर भन्ने बुधबहादुर पौडेल क्षेत्रीको साथमा टंके अङ्कलको पसलमा मलाईसमेत देखेर सोही आधारमा मलाई जाहेरी दिएका हुन् । उक्त घटनामा मेरो कुनै संलग्नता छैन भन्नेसमेत बेहोराको फणिन्द्र भन्ने फलिन्द्र कुँवरले सुरू अदालतमा गरेको बयान ।
दिउँसो ४ बजेपछि पातिचौरमा खाजा खाने भनेर आएँ । सोही क्रममा पातिचौर टंकेको घरमा दिपेन्द्र भन्ने साथीलाई भेटेँ । म पातिचौरमा बस्ने रामु मल्लको घरमा बसिरहेको अवस्थामा प्रतिवादीमध्येका अमृतको फोन आयो । म पातिचौरमा रहेको कुरा थाहा भएपछि अमृत पनि आइपुग्यो । पातिचौर स्थित गोल्कोटे सुवेदीको होटलमा अमृत र म भएर खाजा खाँदा करिब ५:१३ बजिसकेको थियो । खाजा खाएर वर्तने भन्ने ठाउँमा मेरो खरबारी रहेको हुनाले कसैले घाँस काटी दिन्छन् कि भनेर त्यसैतर्फ गइयो । वर्तनेको पुलनेर बुधबहादुर र गणेशलाई भेट्दा ५:३० बजिसकेको थियो । करिब १०/१५ मिनेटजति वर्तनेको पुलमा बसी अमृत र म घरतर्फ फर्कियौ भन्नेसमेत बेहोराको प्रकाश के.सी. भन्ने निशान के.सी. ले सुरू अदालतमा गरेको बयान ।
मिति २०६७।६।३ गते साँझ ५:०० बजेदेखि ६:३० बजेसम्म यी प्रतिवादी निशान के.सी. पातिचौरमा मसँगै गफ गरी बसेका थिए । मृतक परिवर्तित नाम सर्वोच्च-१ पर्वतको मृत्युको घटनामा यी प्रतिवादीको कुनै संलग्नता छैन । यी आपराधिक कार्यमा संलग्न हुने व्यक्ति होइनन् । प्रतिवादी निशान के.सी. लाई जाहेरवालाले शंकाको भरमा दिएको जाहेरीको आधारमा लगाइएको अभियोगबाट सफाइ पाउनुपर्दछ भन्नेसमेत बेहोराको प्रतिवादी प्रकाश भन्ने निशान के.सी. का साक्षी रामबहादुर पौडेलले सुरू अदालतमा गरेको बकपत्र ।
मृतक परिवर्तित नाम सर्वोच्च-१ पर्वतको मृत्यु भएको घटनामा प्रतिवादी बलबहादुर भन्ने बुधबहादुर पौडेलको संलग्नता छैन । मिति २०६७।६।३ गते साँझ प्रतिवादी बुधबहादुरले मलाई बोलाउनु भएकोले म अम्बोटमा ६:०० बजेदेखि ७:०० बजेसम्म बसेको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी बुधबहादुर पौडेलका साक्षी रामबहादुर रोक्काले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६७।६।३ गते साँझ ६:०० बजेको समयमा यी प्रतिवादी फणिन्द्र भन्ने फलिन्द्र कुँवर पातिचौर स्थित टंकेको दोकानमा मोबाइलको रिचार्ज कार्ड लिन आएका हुँदा ६:३० बजेतिर आफ्नो घरतर्फ गएका हुन् । मृतक परिवर्तित नाम सर्वोच्च-१ पर्वतको जबरजस्ती करणी गरी हत्या गर्ने कार्यमा यी प्रतिवादीको संलग्नता छैन । यी प्रतिवादीउपर शंकाको भरमा जाहेरी दिएका हुन् । यी प्रतिवादीउपरको अभियोग दाबी झुट्टा भएकाले सफाइ पाउनुपर्दछ भन्नेसमेत बेहोराको प्रतिवादी फणिन्द्र भन्ने फलिन्द्र कुँवरका साक्षी भिमबहादुर कुँवरले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६७।६।३ गते साँझ ६:०० बजेतिर नुन तेल लिनको लागि म पातिचौरमा आउँदा अमृत कुँवरलाई देखेको हुँ । तेजबहादुर र बुधबहादुरलाई देखिन । निज प्रतिवादीको मृतक परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई जबरजस्ती करणी गरी मार्ने कार्यमा संलग्नता भएजस्तो मलाई लाग्दैन । प्रतिवादी अमृत कुँवरले अभियोग दाबीबाट सफाइ पाउनुपर्दछ भन्नेसमेत बेहोराको प्रतिवादी अमृत कुँवरका साक्षी गंगाबहादुर कुँवर, हरिबहादुर कुँवर, पदमबहादुर कुँवर र हेमराज कुँवरले सुरू अदालतमा गरेको एकै मिलान बेहोराको बकपत्र ।
मिति २०६७।६।३ गते साँझ ५:०० बजेको समयमा प्रतिवादी प्रकाश भन्ने निशान के.सी. लाई मेरो घरनजिकको होटलमा खाजा खान लागेको अवस्थामा देखेको हुँ । निजउपर शंकाको आधारमा उजुरी गरेको हुन । कानूनले प्रमाण पुगे सजाय हुने होला नभए सफाइ पाउनुपर्ने हो । घटनापछि मृतक परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई कुश्मा ल्याउने क्रममा प्रकाश पनि आएका थिए । एउटै बाजेका नाति नातिनी पर्ने प्रकाश भन्ने निशान के.सी.को उक्त घटनामा संलग्नता देखिन्न भन्नेसमेत बेहोराको प्रतिवादी प्रकाश भन्ने निशान के.सी. का साक्षी गोविन्द के.सी.ले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६७।६।३ गते साँझ ६:३० बजे प्रतिवादीमध्येका गणेश भन्ने तेजबहादुर कुँवर र प्रतिवादी बुधबहादुर मेरो पसलमा आई मोबाइल पानीमा भिज्यो बनाइदिनुपर्यो भनेकाले रू.२००।- लिई मोबाइल बनाइदिएको हुँ । यी दुवै जना प्रतिवादी रक्सीको नशामा थिए । अरू प्रतिवादीलाई देखिनँ । उक्त घटना एक जनाभन्दा बढी प्रतिवादी भई घटाएको हुनुपर्दछ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारका साक्षी टंकनाथ चापागाईले सुरू अदालतमा गरेको बकपत्र ।
घटना प्रत्यक्ष देखेको नहुँदा को, कसले, के, कसरी हत्या गरे यकिन खुलाउन सक्ने अवस्था भएन । घटनास्थलको प्रकृति हेर्दा १ जना मात्र व्यक्तिले घटना घटाउन सक्ने अवस्था छैन भन्नेसमेत बेहोराको वादी नेपाल सरकारका साक्षी देवबहादुर अर्खेलीले सुरू अदालतमा गरेको बकपत्र ।
मैले मृतक परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई घरमा ल्याएपछि देखेकी हुँ, देख्दा टाउकोपछाडिबाट रगत बगेको, मुख र शरीरको तल्लो भागमा माटो लागेको देखेकी थिएँ । प्रतिवादीहरूको बानी बेहोरा आचरण थाहा छैन । वर्तनेको पुलभन्दा पर भ्याप्लेबाट आउँदै गरेका बुधबहादुर र गणेशलाई देखेको हो । अरू ३ जनालाई देखिनँ । अमृत, निशान र फलिन्द्रलाई शंकाको आधारमा भनेकी हुँ भन्नेसमेत बेहोराको मौकामा कागज गर्ने प्रविता सुवेदीले सुरू अदालतमा गरेको बकपत्र ।
मैले घटनास्थल देखिनँ । हातमा हँसिया लिएकी १४/१५ वर्षकी युवतीलाई एक जना रक्सीले मातेको व्यक्तिले हाइवेको १५ मिटरभित्र पर्ने क्षेत्रमा एक्लैले मुख थुनी, हात खुट्टा समाएर, युवती र आफ्नो पनि कपडा खोल्नुपर्यो, यसरी एक्लै हत्या गरेको भन्ने कुनै पनि हालतमा सम्भव हुँदैन । यसकारण पाँचै जनाले सामूहिक बलात्कार गरेको हुनुपर्दछ र अभियुक्तहरू मृतकका छरछिमेकी र ७ पुस्ताभित्रका दाजुभाइसमेत भएको हुँदा बाँची भने पोल खोल्ने डरले बलात्कारपछि मारेको हुनुपर्दछ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारका साक्षी तेजबहादुर क्षेत्रीले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६७।६।३ गते साँझ ५:०० बजेदेखि ६:३० बजेको समयमा घाँस काट्न गएकी परिवर्तित नाम सर्वोच्च-१ पर्वत घाँस काटिरहेको अवस्थामा गणेश भन्ने तेजबहादुर कुँवर र बुधबहादुर पौडेल, निशान के.सी., अमृत कुँवरले मृतक परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई करणी गरी हत्या गरेका हुन् । निजहरू जाहेरवालाका ७ पुस्ताभित्रका मानिसहरू हुन् । निज चार जना प्रतिवादीहरूमध्ये २ जनाले जबरजस्ती करणी गर्ने र २ जनाले मानिस आवतजावत गरेको रेखदेख गरी पोल खुल्ने डरले पछि मारेका
हुन् । प्रतिवादीमध्येका फणिन्द्र भन्ने फलिन्द्र कुँवर पनि घटनालाई ढाकछोप पारी लुकाउने कार्यमा संलग्नता भएको देखिन्छ भन्नेसमेत बेहोराको मौकामा कागज गर्ने परिवर्तित नाम सर्वोच्च-२ पर्वतले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६७।६।३ गते अन्दाजी ४:३० बजेतिर मैले गिटी कुटिरहेको अवस्थामा प्रतिवादीमध्येका गणेश र बुधबहादुर रक्सीको तालमा झ्याप भई म भएको ठाउँमा आई गिट्टीको मूल्य सोधी हल्लिदै हिँड्ने क्रममा बिजुलीको पोलमा चढ्ने त्यसैलाई अङ्गालो मार्ने गर्दागर्दै पातिचौरतर्फ पैदल गएका हुन् । परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई बलात्कार गरी मार्ने कार्यमा यिनै प्रतिवादीहरूको संलग्नता छ । मैले दिउँसो ४:३० बजे प्रतिवादी गणेश र प्रतिवादी बुधबहादुरलाई देखेकी हुँ । अरू प्रतिवादीहरूलाई देखिनँ । घटना घटाएको मैले देखेकी होइन भन्नेसमेत भन्ने बेहोराको मौकामा कागज गर्ने कविता गुरूङले सुरू अदालतमा गरेको बकपत्र ।
मैले मृतक परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई खेतको गह्रामा पल्टिएको अवस्थामा देखेकी हुँ । मैले देख्दा तल्ला कपडाहरू च्यातिएको अवस्थामा देखेकी हुँ । प्रतिवादी प्रकाश मृतक परिवर्तित नाम सर्वोच्च-१ पर्वतको सति गति गर्ने ठाउँमा गएका हुन् । मृतक परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई कर्तव्य गरी मार्नेमा प्रतिवादी प्रकाश के.सी.समेतका यी प्रतिवादीहरूउपर शंका लाग्दछ । उक्त घटना एक जनाले मात्र गर्न सक्दैन धेरै जना हुनुपर्दछ भन्नेसमेत बेहोराको मौकामा कागज गर्ने गुमा पौडेलले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६७।६।३ गते घाँस काट्न गएकी छोरी नफर्केपछि खोजी गर्ने क्रममा पोखरा बागलुङ राजमार्गको बाजुङ गा.वि.स. अन्तर्गत मोदीखेत भन्ने ठाउँमा छेदविच्छेद रूपमा उत्तानु अवस्थामा, ढाडभन्दा तल कपडा नभएको, मुखमा माटो भएको, टाउकोमा घाउ भएको अवस्थामा छोरीलाई भेटी मेडिकल हलमा जाँच गर्दा प्राण भएको शंका लागी उपचारको लागि पर्वत जिल्ला अस्पतालमा पुर्याउँदा अस्पतालले मृत घोषणा गर्यो । मिति २०६७।६।३ गते साँझ यी प्रतिवादीहरूमध्येका फणिन्द्र भन्ने फलिन्द्र कुँवर, अमृत कुँवर, बलबहादुर पौडेल र गणेश कुँवर साँझ ६:३० बजेको समयमा मेरो घरमा आई बसेका थिए । अनुसन्धान हुँदै जाँदा अर्का प्रतिवादी प्रकाश भन्ने निशान के.सी.समेत गरी पाँच जना भई पालै पालो गरेर जबरजस्ती करणी गरी छोरीको हत्या गरेका हुन् । प्रतिवादी बुधबहादुर र निशान के.सी. ७ पुस्ताभित्रका नाताका मानिस हुन् । यी प्रतिवादीहरूले नै मेरो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेका हुन् भन्नेसमेत बेहोराको जाहेरवाला परिवर्तित नाम सर्वोच्च-३ पर्वतले सुरू अदालतमा गरेको बकपत्र ।
मृतक परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई खेतमा घाँस काट्न गएको बेला अन्दाजी ५:३० बजे अम्बोट टिका सुवेदीको होटलबाट रक्सी र माछा खाई विचेत अवस्थामा भद्रेखोलामा बस्ने कविता गुरूङ, बाटोमा गिटी कुट्दै गर्दा प्रतिवादी बलबहादुर भन्ने बुधबहादुर र गणेश भन्ने तेजबहादुर कुँवरले बोल्दै हिँडेको र बिजुलीको खम्बामा हातले समाई यौन सम्पर्क गर्ने प्रक्रिया देखाइएको भनी कविता गुरूङले बताएको हुँदा मृतक परिवर्तित नाम सर्वोच्च-१ पर्वतको मृत्यु प्रतिवादी बलबहादुर भन्ने बुधबहादुर, तेजबहादुर कुँवर, अमृत कुँवर र प्रकाश भन्ने निशान के.सी. ले जबरजस्ती करणी गरी जथाभावी ढुङ्गाले हानी मारिएको हो । प्रतिवादी तेजबहादुर र बुधबहादुर अम्बोटबाट र अन्य प्रतिवादी अमृत र निशान के.सी. पातिचौरबाट प्रतिवादी बुधबहादुर र तेजबहादुरसँग फोन सम्पर्क गरी आएका हुन् । प्रतिवादी निशान के.सी. र प्रतिवादी तेजबहादुर जाँड रक्सी खाने र बालकदेखि नै चोरीचकारी गर्ने व्यक्ति हुन् भन्नेसमेत बेहोराको धनबहादुर पौडेलले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६७।६।३ गते ४:४५ बजेको समयमा मैले बाख्रा हेरिरहेको ठाउँबाट पहिला मृतक परिवर्तित नाम सर्वोच्च-१ पर्वत घाँस काट्न गइन् । त्यसको १० मिनेटपछि २ वटी बाल्खी घाँस काट्न गए । मृतक परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई घटनास्थलमा देख्दा सुरूवाल च्यातिएको, मुखमा माटो कोचिएको, टाउकोमा चोट लागेको आदि कारणले गर्दा ३/४ जना मिली बलात्कार गरी त्यसपछि थाहा होला भन्ने डरले मारेका हुनुपर्दछ । प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेपछि निजहरूले नै हुनुपर्दछ भनेको हुँ भन्नेसमेत बेहोराको मौकामा कागज गर्ने मोहनबहादुर मल्लले सुरू अदालतमा गरेको बकपत्र ।
मिसिल संलग्न कागज प्रमाणहरूको विश्लेषण र विवेचनाबाट प्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवरले अधिकारप्राप्त अधिकारीसमक्ष तथा अदालतमा समेत आरोपित कसुर गरेकोमा साबित भई गरेको बयान बेहोरा, वारदातस्थलको घटनास्थल प्रकृति मुचुल्का, मृतक परिवर्तित नाम सर्वोच्च-१ पर्वतको लास प्रकृति मुचुल्का र लासजाँच प्रतिवेदनसमेतका कागज प्रमाणबाट समर्थित भई निज प्रतिवादीले १५ वर्षकी मृतक परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई मिति २०६७।६।३ गते साँझ जबरजस्ती करणी गरी कर्तव्य गरी मारेको भन्ने अभियोगपत्र मागदाबी प्रमाणित हुन आएको देखिँदा निज प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. विपरीतको कसुरमा सोही महलको ३(३) नं. अनुसार १० वर्ष तथा ज्यानसम्बन्धी महलको १ नं. विपरीतको कसुरमा सोही महलको १३(३) नं. अनुसार सर्वस्वसहित जन्मकैदसमेत हुनेमा मुलुकी ऐन दण्ड सजायको महलको ८ नं. अनुसार सर्वस्वसहित जन्मकैदको ठुलो सजाय भएपछि सानो सजाय हुने खत वा सो सजाय नखापिने भई जबरजस्ती करणीको कसुर गरेबापतको थप सजाय गर्न नमिल्ने भएकोले निज प्रतिवादीलाई सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ । प्रतिवादी बलबहादुर भन्ने बुधबहादुर पौडेल क्षेत्रीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७ नं. को देहाय ३ नं. अनुसार ३ वर्ष र प्रतिवादी प्रकाश भन्ने निशान के.सी., अमृत कुँवर र फणिन्द्र भन्ने फलिन्द्र कुवँरलाई ज्यानसम्बन्धी महलको १७ नं. को देहाय ३ अनुसार जनही २ वर्ष कैद हुने ठहर्छ । प्रतिवादी बुधबहादुर, प्रकाश भन्ने निशान के.सी., अमृत कुँवर र फणिन्द्र भन्ने फलिन्द्र कुँवरले समेत मृतक परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई सामूहिक रूपमा जबरजस्ती करणी गरी पोल खुल्ने डरले ढुङ्गाले प्रहार गरी मारेका भन्ने अभियोग स्वतन्त्र, विश्वसनीय र वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुन नसकेकोले निज प्रतिवादीहरूलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं. को देहाय ३, ३क नं. तथा ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम तथा प्रतिवादीहरू बुधबहादुर र प्रकाश के.सी. लाई हाडनाता करणीको महलको २ नं. बमोजिम थप सजायसमेत गरिपाउँ भन्ने वादी नेपाल सरकारको अभियोग दाबी पुग्न सक्दैन भन्नेसमेत बेहोराको सुरू पर्वत जिल्ला अदालतबाट मिति २०६९।१।३ मा भएको फैसला ।
प्रस्तुत मुद्दाको वारदातको समय यकिन छैन भनी तर्क गरिएको छ । म पुनरावेदक फलिन्द्रको कान्छा बाबुको छोरा तेजबहादुर भएको कुरामा विवाद छैन । दाजुभाइ छरछिमेकबिच आपसमा कुराकानी हुनु कुनै नौलो कुरा होइन । यदि वारदातस्थलमा मसँगै भएको भए फोनमा सम्पर्क हुनुपर्ने थिएन । दाजु नाता पर्ने व्यक्तिले भिनाजु नाता पर्ने व्यक्तिको घरमा जाउँ भनेकाले त्यसतर्फ गएको कुरालाई लिएर घटनाको मतियार बनाउन मिल्दैन । मतियारको दोषी करार गरी गरेको फैसला अनुमान र शंकाको भरमा गरिएको हुनाले उक्त फैसला बदर गरी सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरू फणिन्द्र भन्ने फलिन्द्र कुँवर र अमृत कुँवरले पुनरावेदन अदालत बागलुङमा दायर गरेको संयुक्त पुनरावेदनपत्र ।
प्रस्तुत मुद्दाको वारदातको समय यकिन छैन । म पुनरावेदक प्रकाश भन्ने निशान के.सी.को अनुसन्धानमा गरेको भनिएको बयान बेहोरा मैले लेखाएको भन्दा फरक पारी लेखिएको छ । घाँस काट्न आएकी प्रविताले समेत सोही बाटो आउँदा तेजबहादुर र बुधबहादुरलाई मात्र देखेको भनेकोले वादीकै साक्षीको बकपत्रबाट म पुनरावेदक र अमृत पुलमा नभएको र बाटोमा भेट भएको भन्ने कुरा प्रस्ट हुन्छ । मुख्य अभियुक्त भनिएका तेजबहादुरले बयान गर्दा वर्तनेको पुलमुनि रहेको धाराबाट वारदातस्थल देखिँदैन । कपडामा लागेको हिलो पखाल्न म धारामा गएको अवस्थामा अन्य प्रतिवादीहरू वारदातस्थलतर्फ गएको देखेको भन्ने कुरा पनि मिलेको छैन । साँझ ५:०० बजे घटनास्थलमा आई ५.४५ बजे घाँस काटी फर्कंदासमेत वादीकी साक्षी कविताले अमृत कुँवरलाई वर्तनेको पुलमा देखिनँ भनी गरेको बकपत्रबाट समेत मेरो बयान बेहोरालाई समर्थन गर्दछ । अनुमान र शंकाको भरमा गरिएको उक्त फैसला बदर गरी सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी प्रकाश भन्ने निशान के.सी.को पुनरावेदन अदालत बागलुङमा दायर भएको पुनरावेदनपत्र ।
मैले तेजबहादुर पौडेललाई कुनै प्रकारले कसुर गर्न सहयोग गरेको छैन । निजले त्यस्तो कसुर गरेको थाहा पाएको पनि छैन । कसुर गरेको होला भनी अनुमानसम्म पनि गरेको छैन । नसा पानी खाने बानी भएकोले मैले नसा पानीको सुरमा ठाउँ ठाउँमा निदाउने र पल्टने गरेकोले आफ्नो सुरमा थिएँ । निजको चालचलन हाउभाउमा मैले कुनै सरोकार राखेको
छैन । तथाकथित वारदातमा म पुगेको पनि छैन । दिनभर बाटोमा सँगै हिँडेको कारणबाट मात्र यसले वातावरण मिलाई दिएको होला भनी भावनामा आएर अनुमान गर्न मिल्दैन । मबाट हुनै नसक्ने अपराधमा मलाई दोषी देखाई गरिएको प्रस्तुत फैसलामा कानूनको गम्भीर त्रुटि भएकाले बदर गरी सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी बुधबहादुर पौडेलले पुनरावेदन अदालत बागलुङमा दायर गरेको पुनरावेदनपत्र ।
प्रतिवादी बुधबहादुरले बयान गर्दा म रक्सी खाई अचेत अवस्थामा रहेको भनी बयान गरे पनि अन्य प्रतिवादीहरूले बुधबहादुरलाई पुलमा गफ गरी बसेको देखेको भनी बयान गरेको देखिन्छ । निज बुधबहादुर दिनभर तेजबहादुर कुँवरसँग वारदातपूर्व लामो समयदेखि सँगै भई वारदातपछि पनि सँगै भएका कारणले उक्त कुरा विश्वसनीय नभएको, प्रतिवादी तेजबहादुर र फलिन्द्र वारदात भएपछि सँगै दाङसिङतर्फ गई बसेको जस्ता मालाकार रूपमा रहेका परिस्थितिजन्य तथा प्रत्यक्ष प्रमाणबाट सबैजना प्रतिवादी मिली परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई सामूहिक रूपमा जबरजस्ती करणी गरी कर्तव्य गरी मारेको तथ्य पुष्टि हुन आउँछ । जाहेरवाला, कविता गुरूङसमेतले यिनै प्रतिवादीहरूले जबरजस्ती करणी गरी मारेको भनी बकपत्रसमेत गरेका र स्वयं प्रतिवादी तेजबहादुरले आफूले जबरजस्ती करणी गरी आएपछि अन्य प्रतिवादीहरूसमेत त्यसतर्फ गएको देखेको भनी बयान गरेको अवस्थामा जाहेरी बेहोरासमेत प्रस्ट हुँदासमेत उल्लिखित आधार प्रमाणको न्यायोचित र तथ्यपरक ढङ्गबाट विवेचना र प्रयोग नगरी जबरजस्ती करणी जस्तो गम्भीर फौजदारी अपराध गरी सो अपराधबाट उम्कने उद्देश्यले पीडितको ज्यानै मार्नेसमेतको जघन्य फौजदारी अपराधमा प्रत्यक्ष रूपमा संलग्न प्रतिवादीहरूलाई सामान्य मतियार मात्रको कसुर ठहर गरी अभियोग दाबी नपुग्ने गरी पर्वत जिल्ला अदालतबाट भएको फैसला बदर गरी सबै प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत बागलुङमा दायर भएको पुनरावेदनपत्र ।
फौजदारी अभियोगमा अभियोजन पक्षले वादी दाबीलाई स्वतन्त्र प्रमाणले पुष्टि गर्नुपर्नेमा सो नगरी केवल काल्पनिक भनाइ र मलाई जबरजस्ती दबाबमा पारी गराएको अनुसन्धानको बयानलाई आधार मानी मलाई मुख्य अभियुक्त मानी फैसला गरिएको छ । मेरो बयानलाई न त जाहेरी बेहोराले न त घटनास्थलले नै समर्थन गरेको छ । कुनै कागज मेरो बयानसँग मेल खाने अवस्थाका छैनन् । घटना सामूहिक रूपमा घटाइएको भनी घटनास्थल, जाहेरी र बुझिएका व्यक्तिसमेतले उल्लेख गरेका छन् । कुनै चिनजान नभएको, गाउँमा भर्खर आएको, भाषाको समेत ज्ञान नभएको मलाई व्यक्तिगत तथा पारिवारिक रिसइवीले गाउँघरमा एकल गराउन गरिएका कागजलाई र प्रहरी प्रशासनको दबाबमा साबिती बयान दिन बाध्य बनाउने र कुनै प्रमाणबाट समर्थित नभएको कुरालाई अदालतले समेत प्रमाणमा लिई मलाई सर्वस्वसहित जन्मकैद हुने गरी गरिएको फैसला मिलेको छैन । उक्त फैसला बदर गरी न्याय इन्साफ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवरको पुनरावेदन अदालत बागलुङमा दायर भएको पुनरावेदनपत्र ।
प्रतिवादीहरू गणेश भन्ने तेजबहादुर कुँवर, बलबहादुर भन्ने बुधबहादुर पौडेल क्षेत्री, प्रकाश भन्ने निशान के.सी., अमृत कुँवर, फणिन्द्र भन्ने फलिन्द्र कुँवरलाई वादी दाबीबमोजिम सजाय नगरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरी दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको र हामीलाई सजाय गर्ने गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरी कसुरबाट सफाइ पाउँ भन्ने बुधबहादुर पौडेल क्षेत्री, निशान के.सी., अमृत कुँवर, फणिन्द्र भन्ने फलिन्द्र कुँवर, तेजबहादुर कुँवरको तर्फबाट पर्न आएको पुनरावेदनपत्रहरू अ.बं. २०२ नं. को प्रयोजनको लागि वादी नेपाल सरकार र पुनरावेदक प्रतिवादीहरूलाई जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत बागलुङबाट मिति २०६९।०३।२६ मा भएको आदेश ।
प्रतिवादीहरूमध्येका गणेश कुँवर भन्ने तेजबहादुर कुँवर, बलबहादुर भन्ने बुधबहादुर पौडेल क्षेत्री, प्रकाश के.सी. भन्ने निशान के.सी. र अमृत कुँवरले मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ र १३(३) नं. तथा मुलुकी ऐन जबरजस्ती करणीको ३(३) नं.समेतको कसुर गरेको ठहर्छ । सो ठहर्नाले प्रतिवादीहरू गणेश भन्ने तेजबहादुर कुँवर, बलबहादुर भन्ने बुधबहादुर पौडेल, प्रकाश भन्ने निशान के.सी. र अमृत कुँवरलाई ज्यानसम्बन्धी १३(३) नं. बमोजिम जन्मकैद हुने ठहर्छ । प्रतिवादीमध्येका फणिन्द्र भन्ने फलिन्द्र कुँवरले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । प्रतिवादीहरूमध्येका बलबहादुर भन्ने बुधबहादुर पौडेल क्षेत्री र प्रकाश भन्ने निशान के.सी. हाडनाताभित्रको देखिएको हुँदा हाडनाता करणीको २ नं. बमोजिम थप सजाय हुनुपर्ने हो, होइन भन्नेतर्फ हेर्दा निजहरूलाई जन्मकैदको सजाय भइसकेको हुँदा हाडनाता करणीको २ नं. अनुसार थप सजाय गर्नुपर्ने देखिएन । प्रतिवादीहरू गणेश भन्ने तेजबहादुर कुँवर, बलबहादुर भन्ने बुधबहादुर पौडेल क्षेत्री, प्रकाश भन्ने निशान के.सी. र अमृत कुँवरले जबरजस्ती करणीको ३(३) नं. अनुसार कसुर गरेको ठहर भए पनि दण्ड सजायको ८ नं. अनुसार निजहरूलाई जन्मकैदको सजाय भइसकेको हुँदा जबरजस्ती करणीतर्फ थप सजाय तोकिरहनुपरेन, सो हदसम्म वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको पुनरावेदन अदालत बागलुङबाट मिति २०७०।५।१८ मा भएको फैसला ।
वारदातमा आफू एक जना मात्र सरिक भएको र अन्य कोही कसैको मद्दत नलिएको भनी प्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवरले अनुसन्धानको क्रममा र अदालतसमक्ष गरेको बयानबाट प्रस्ट खुलिसकेको र म रक्सीले लठ्ठ भई वर्तनेको पुलको भुइँ भागमा अर्धचेत अवस्थामा रहेको छु । पुलबाट हेर्दासमेत वारदातस्थल देख्न सकिँदैन । त्यसमा पनि साँझको समयमा धानको फाँटमा भएको घटना देख्न झनै सम्भावना छैन । त्यसैले न त मैले देखेको छु, न त मैले कुनै सहयोग नै गरेको छु । वारदातस्थलमा मेरो उपस्थिति नै नभएको र अनुसन्धान अधिकारी र अदालतसमक्ष मैले इन्कारी बयानसमेत गरेको अवस्थामा सुरू पर्वत जिल्ला अदालतले वर्ष ३ कैद सजाय गर्ने गरेको फैसला उल्टी गरी जन्मकैदको सजाय गर्ने गरेको पुनरावेदन अदालत बागलुङको फैसलाबाट मलाई हदैसम्म अन्याय हुन गएको हुँदा सफाइ दिलाई थुनामुक्त गरिपाउँ भन्ने बेहोराको प्रतिवादी बलबहादुर भन्ने बुधबहादुर पौडेलको यस अदालतमा दायर हुन आएको पुनरावेदनपत्र ।
मुद्दामा ठहर गर्नुपर्ने विषयहरूमध्ये जबरजस्ती करणीको २ नं. बमोजिम सजाय ठहर गर्न इन्कार गरेको फैसलामा मुलुकी ऐन अ.बं. १९२ नं. को त्रुटि हुन पुगेको छ । प्रतिवादीहरू बलबहादुर भन्ने बुधबहादुर पौडेल क्षेत्री, प्रकाश भन्ने निशान के.सी. लाई हाडनातातर्फ कसुर एवं सजाय ठहर नगरेको, प्रतिवादीहरू गणेश भन्ने तेजबहादुर कुँवर, बलबहादुर भन्ने बुधबहादुर पौडेल, प्रकाश भन्ने निशान के.सी. र अमृत कुँवरलाई जबरजस्ती करणीको महलको ३(क) नं. बमोजिम सजाय ठहर नगरेको र फणिन्द्र भन्ने फलिन्द्र कुँवरलाई सफाइ दिई अन्य प्रतिवादीहरूलाई जन्मकैद मात्र ठहर गरेको फैसला त्रुटिपूर्ण भएकोले सो फैसला बदर गरी सबै प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहाराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा दायर हुन आएको पुनरावेदन पत्र ।
प्रस्तुत मुद्दामा अभियोग दाबीबमोजिम हामी पुनरावेदकहरूले कसुरमा इन्कार रही अधिकारप्राप्त अधिकारी एवं अदालतसमक्ष बयान गरेको, हामी पुनरावेदकहरू वारदातमा संलग्न रहेको भनी पुष्टि गर्ने कुनै पनि चश्मदिद गवाह एवं प्रत्यक्ष प्रमाणको अभाव रहेको र घटना विवरण तथा वस्तुस्थिति मुचुल्कामा आफ्नो बेहोरा लेखाइदिने तथा मौकामा कागज गर्ने कुनै पनि व्यक्तिले हामी पुनरावेदकहरूको वारदातमा संलग्नता रहेको भनी किटानी गर्न नसकेको अवस्थामा एक जनाले मात्र वारदात घटाउन सक्दैन भन्ने आधार उल्लेख गरी बिनाप्रमाण निर्दोष रहेका हामीलाई फौजदारी न्यायको मान्य सिद्धान्तविपरीत जबरजस्ती करणी र ज्यानजस्तो गम्भीर फौजदारी अपराधमा दोषी ठहर गर्ने गरी भएको पुनरावेदन अदालत बागलुङको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट फुर्सद दिलाइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी प्रकाश भन्ने निशान के.सी. र अमृत कुँवरको यस अदालतमा दायर हुन आएको संयुक्त पुनरावेदनपत्र ।
यसमा प्रतिवादीमध्येका गणेश भन्ने तेजबहादुर कुँवरको पुनरावेदन परेको रेकर्डबाट नदेखिएकोले यस अदालतबाट मिति २०७१।१०।१२ मा साधक जाँचको लागि साधक दायरीमा दर्ता गरी मुद्दाको काम कारबाही अघि बढाउन टिप्पणी आदेश भएकोले निज प्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवरको हकमा प्रस्तुत मुद्दा साधक दायरीमा दर्ता भई साधकको रोहबाट पेस हुन आएको देखिन्छ । गणेश भन्ने तेजबहादुर कुँवर, बलबहादुर भन्ने बुधबहादुर पौडेल, प्रकाश के.सी. भन्ने निशान के.सी. र अमृत कुँवरले मादक पदार्थ र गाँजा सेवन गरी उन्मत्त भई बाटो कुरी एक्लै पारी परिवर्तित नाम सर्वोच्च-१ पर्वतले घाँस काटिरहेको मौका पारी यौन तृष्णा मेटाउन पालैपालो जबरजस्ती करणी गरी पोल खुल्ने डरले अपराधबाट बच्नका लागि टाउकोमा ढुङ्गाले प्रहार गरी कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्दछ भनी मौकामा कागज गर्ने देवबहादुर अर्खेली, शालिकराम पौडेल र बमबहादुर पौडेलसमेतले एकै मिलान बेहोराको छुट्टाछुट्टै कागज गरिदिएको देखिन्छ । प्रस्तुत कागज बेहोरालाई मृतकको शव परीक्षण प्रतिवेदनमा उल्लेख भएको "मृतकको योनिभित्रको भागमा मांसपेसी च्यातिएको चोट भएको (lacerated wound at posterior wall of vegina), मृतकको योनि च्यातिएको hymen torn)" भन्ने बेहोरा र तथ्यले थप पुष्टि गरेको अवस्थासमेत पाइयो । यसबाट पनि हत्याको मुख्य कारण जबरजस्ती करणी गर्न खोज्दा पीडितले गरेको प्रतिरोध हो भन्ने देखिन्छ । १५ वर्षकी परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई जबरजस्ती करणी गर्ने कार्यमा यी चारै जना प्रतिवादीहरू गणेश भन्ने तेजबहादुर कुँवर, बलबहादुर भन्ने बुधबहादुर पौडेल, अमृत कुँवर र प्रकाश भन्ने निशान के.सी.समेतले सामूहिक रूपमा जबरजस्ती करणी गरेको कुरा मिसिल संलग्न कागज प्रमाणसमेतबाट पुष्टि भएको देखिएकाले निज प्रतिवादीहरूले मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. विपरीत ऐ. ऐनको देहाय ३(३) नं. र ३(क) नं.समेतको कसुर अपराध गरेको देखिन आयो । तसर्थ, उपर्युक्त आधार र कारणसमेतबाट निज प्रतिवादीहरूले मृतक परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई जबरजस्ती करणी गरी कर्तव्य गरी मारेको ठहर्याई निजहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं. का साथै ऐ. ऐनको जबरजस्ती करणी महलको ३(३) नं. र ३(क) नं.समेत बमोजिमको कसुर गरेकोमा जन्मकैदको सजाय हुने र मुलुकी ऐन दण्ड सजायको ८ नं. बमोजिम जन्मकैद भएपछि अरू सजाय नखापिने भनी पुनरावेदन अदालत बागलुङबाट भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको यस अदालत संयुक्त इजलासको मिति २०७५।१।३१ को फैसला ।
प्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवरले आफूले मादक पदार्थ सेवन गरेको कारणले आफू एक्लैले वारदात घटाएको र त्यसमा अरू कोही कसैको संलग्नता छैन भनी बयान गरेकोले कसुरमा साबिती रही गरेको उक्त बयानलाई प्रमाणमा लिनुपर्ने
हुन्छ । मुख्य अभियुक्तसँग हामीले कुनै सल्लाह गरेको, सहमतिमा पसेको, घटनामा सामेल भएको अवस्था नरहेको र परिस्थितिजन्य प्रमाणले पनि हाम्रो संलग्नता पुष्टि हुँदैन । हामी कसुरमा इन्कारी रहेकोमा प्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवर वारदातपछि वर्तनेको पुलमुनिको धारामा कपडामा लागेको हिलो पखाल्दै गर्दा अन्य प्रतिवादीहरू घटनास्थलतर्फ गएको देखेको भनी अनुसन्धानका क्रममा गरेको साबिती बयानका आधारमा हामीलाई कसुरदार ठहर गरेको मिलेको छैन । किटानी जाहेरी परेको भन्ने आधारमा हामीलाई कसुरदार ठहर गर्ने गरी भएको फैसला सर्वोच्च अदालतबाट प्रतिपादित न्यायिक सिद्धान्तविपरीत रहेको छ । वारदातस्थल नजिक वर्तनेको पुलसम्म पुगेको भन्ने कारणले वारदातस्थलमा पुगी जबरजस्ती करणी र कर्तव्य ज्यानको कसुर गरेको भनी अनुमान गर्नु फौजदारी न्यायको सिद्धान्तविपरीत रहेको छ । मिसिलबाट वारदातमा हामीहरूको संलग्नता रहेको पुष्टि हुन सकेको छैन । अनुसन्धानका क्रममा सङ्कलित तथ्य एवम् खडा भएका मुचुल्काबाट हाम्रो संलग्नता रहेको नदेखिएको अवस्थामा वर्तनेको पुलमा वारदात भएको साँझ समूहमा घर फर्केको कसैले देखे भनेको भरमा हामीलाई कसुरदार ठहर गर्न मिल्ने होइन । हामी एकै गाउँ छिमेकका भएकाले एकापसमा फोन सम्पर्क हुनुलाई स्वाभाविक रूपमा लिनुपर्नेमा मोबाइलमा सम्पर्क भएकै आधारमा हाम्रो संलग्नता रहेको अनुमान गरी जन्मकैदको सजाय गर्न मिल्ने होइन । वारदातमा आफू साबित भई अन्य प्रतिवादीहरू कसैको पनि संलग्नता छैन भनी गरेको बयानलाई अन्यथा भन्न मिल्दैन । गणेश भन्ने तेजबहादुर कुँवरले अदालतमा गरेको बयानले घटनाको क्रमबद्धता र सिलसिलाबद्ध कथनले अन्य प्रमाण खोज्नै पर्दैन ।
यस सन्दर्भमा पुष्परत्न भन्ने अश्विनकुमार स्थापितसमेत विरूद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान (ने.का.प. २०६६, अङ्क २, नि.नं. ८०६९, पृ. १८५) मुद्दामा...अधिकारप्राप्त अधिकारीसमक्ष अभियुक्तले लगाएको पोल र अभियोग दाबीकै आधारमा अन्य प्रतिवादीहरूलाई कसुरदार ठहर गर्न नमिल्ने, बुद्धीप्रसाद सुवेदी विरूद्ध श्री ५ को सरकार भएको कर्तव्य ज्यान (ने.का.प.२०४८, अङ्क ५, नि.नं.४२८७, पृ.१८६) मुद्दा...परिस्थितिजन्य प्रमाण मालाकार कडीका रूपमा रहेको हुनुपर्ने...शंका र अनुमानका भरमा कसुर ठहराउन नमिल्ने, श्री ५ को सरकार विरूद्ध इश्वरीप्रसाद लोहनीसमेत (ने.का.प. २०४२, अङ्क ९, नि.नं. २५०१ पृ. ८८०) को कर्तव्य ज्यान मुद्दामा र श्री ५ को सरकार विरूद्ध भोला सहनी मलाह (ने.का.प. २०४१, अङ्क १, नि.नं. १८९२, पृ.८९) को ज्यान मुद्दामा प्रहरीमा भएको कागजलाई आधार लिएर दोषी ठहराउन नमिल्ने, श्री ५ को सरकार विरूद्ध सोचिन्द्रप्रसाद यादव (ने.का.प. २०५६, अङ्क १, नि.नं. ६६५६ पृ.४५) मा जाहेरी दरखास्त आफैँमा प्रमाण होइन...त्यसलाई स्वतन्त्र आधार र प्रमाणबाट पुष्टि हुनुपर्छ । धनविर आले मगर विरूद्ध श्री ५ को सरकार (ने.का.प.२०५३, अङ्क ७, नि.नं. ६२२६, पृ. ५५२) को मुद्दामा ...केवल शंका र अनुमानको आधारमा व्यक्त गरिएका कुरालाई प्रमाणमा लिन मिल्दैन, जसमान लिम्बूसमेत विरूद्ध नेपाल सरकार (ने.का.प.२०६९, अङ्क १, नि.नं. ८७५८ पृ....) को कर्तव्य ज्यान मुद्दा…कुनै वारदातमा एक जनाभन्दा बढी व्यक्ति सामूहिक रूपमा संलग्न रहेको अवस्थामा हरेक व्यक्तिको आपराधिक कार्यको विश्लेषण गरी हरेकको आपराधिक दायित्व निर्क्यौल गर्नुपर्ने, श्री सर्वोच्च अदालतबाट बमबहादुर बस्नेतसमेत विरूद्ध नेपाल सरकार (ने.का.प. २०७०, अङ्क ६, नि.नं. ९०२२ पृ...) को कर्तव्य ज्यान मुद्दामा ...दुई विपरीत खालका अभिव्यक्ति मिसिल सामेल रहेकोमा अदालतले स्वतन्त्र प्रमाणबाट पुष्टि हुने कथनलाई प्रमाणमा लिनुपर्ने हुन्छ र श्री सर्वोच्च अदालतबाट विकास खड्का विरूद्ध नेपाल सरकार (ने.का.प. २०७३, अङ्क ७, नि.नं. ९६४० पृ......) भएको कर्तव्य ज्यान मुद्दामा...वादीले शंकारहित तवरले पुष्टि हुने प्रमाण अदालतसमक्ष प्रस्तुत गर्न सक्नुपर्ने भन्नेसमेतका प्रतिपादित सिद्धान्तहरूको प्रतिकूल हुने गरी हामी निवेदक/प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम ज्यानसम्बन्धीको १, १३(३) नं. तथा जबरजस्ती करणीको १, ३(३) र ३(क) नं. को कसुरदार ठहर गरी ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैदको सजाय हुने ठहर गरिएको मिति २०७५।०१।३१ को फैसलामा न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२) को खण्ड (ख) को अवस्था विद्यमान भएकोले प्रस्तुत मुद्दा पुनरावलोकन गरी हेरी सर्वोच्च अदालत संयुक्त इजलासबाट भएको त्रुटिपूर्ण फैसला बदर गरी हामी निवेदक प्रतिवादीहरूले झुठ्ठा अभियोग दाबीबाट सफाइ पाउनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादीहरू प्रकाश भन्ने निशान के.सी. र अमृत कुँवरले यस अदालतमा मिति २०७५।७।१४ मा पेस गरेको निवेदनपत्र ।
यसमा यी प्रतिवादीहरू अनुसन्धानको क्रममा इन्कार रहेको, कसुरमा साबित हुने प्रतिवादी तेजबहादुर कुँवरले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा घटनास्थलमा आफू एक्लै गएको भनी उल्लेख गरेको र अदालतसमक्ष बयान गर्दासमेत यी प्रतिवादीहरूको संलग्नता रहेको भनी उल्लेख गर्न नसकेको तथा मिसिल संलग्न प्रमाणहरूबाट यी प्रतिवादीहरूको जबरजस्ती करणी तथा ज्यान मार्ने कार्यमा संलग्नता वा भूमिका रहेको भन्ने शंकारहित तवरबाट पुष्टि हुने प्रमाणको अभावमा कसुरदार ठहर गर्ने गरी यस अदालतबाट मिति २०७५।०१।३१ मा भएको फैसलामा विकास खड्का विरूद्ध नेपाल सरकार (ने.का.प. २०७३, अङ्क ७, नि.नं.९६४० नि.नं.७१२), जसमान लिम्बूसमेत वि. नेपाल सरकार (ने.का.प.२०६९, अङ्क १, नि.नं.८७५८) मा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल फैसला भएको देखिँदा न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(ख) को अवस्था विद्यमान रहेको देखिँदा पुनरावलोकन गर्न अनुमति प्रदान गरिएको छ । नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७६।१।१९ को
आदेश ।
यसमा जन्मकैदको सजाय हुने ठहरेका प्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवरको हकमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४७(२) को प्रतिबन्धात्मक वाक्यांशको प्रयोजनार्थ निज प्रतिवादीलाई पेसीको जानकारी दिनू । साथै निजको तर्फबाट वैतनिक वकिल नियुक्ति गरी पुरानो थुनुवा मुद्दा हुँदा यथाशीघ्र पेसी चढाई लगाउका मुद्दा साथै राखी नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७८।४।२८ को आदेश ।
जाहेरवाला प्रत्यक्षदर्शी नभएकाले अन्दाजका भरमा दिएको जाहेरीलाई प्रमाणमा लिन मिल्दैन । अनुसन्धानका बखत जाहेरीमा दाबी गरिएबमोजिम सो घटना एक्लैले घटाउन सम्भव छैनसम्म भनी दिएका छन् । तर एक्लै घटाउन नसक्ने भए मुख्य अभियुक्त तेजबहादुरबाहेक अरू को हुन त ? कसैले पनि दोस्रो व्यक्ति खोलेका छैनन् । दिउँसोको घटना र घाइतेको अवस्था हेरी सबैले अनुमानका भरमा त्यो कुरा लेखाइदिएको भन्ने सबैतिरबाट स्पष्ट भएको छ । वादी पक्षका कोही पनि साक्षीहरू प्रत्यक्षदर्शी नभएकाले आशंका र विश्वासका भरमा लेखाइदिएको कुरालाई प्रमाणमा लिनै नमिल्नेमा प्रमाणमा लिई फैसला गर्नु प्रमाण ऐन, २०३१ र सर्वोच्च अदालतबाट प्रतिपादित न्यायिक सिद्धान्तसमेतले मिल्ने होइन । प्रतिवादीले अपराधमा इन्कार रही बयान गरेको भए पनि शंका र अनुमानका भरमा दोषी ठहर गर्न मिल्ने होइन । पीडितको टाउकोको चोट ढुङ्गाले हानेर भएको र काटेको चोट नभई गणेश भन्ने तेजबहादुरले कपालमा समाएर लडाउँदा लागेको हो । त्यसैले त्यो चोट धेरै व्यक्तिबाट पारिएको होला भन्न मिल्दैन । पहिलोचोटि करणी गर्दा रगत आउनु स्वाभाविक भएको र धेरैजनाले करणी गरेको भए योनि क्षत विक्षत हुनेमा, त्यस्तो अवस्था रहेको छैन । पानी र हिलो रहेको वारदातस्थलमा म गएको भए मेरो घरबाट हिलो लागेको कपडा बरामद हुनुपर्नेमा बरामद भएको छैन । पीडित मेरो वंशको बहिनी नाता पर्ने भएकाले सो वारदातमा अरूलाई सघाउने र झन् आफैँ अपराधमा संलग्न हुने कुरा सम्भव होइन । वारदातस्थल व्यस्त सडक मार्ग नजिक रहेकोले समूहबाट करणी सम्भव हुने अवस्था नभएको र वारदातका मिति समयमा म रक्सीले मातेर सुतेकोले त्यस्तो जघन्य अपराध मबाट सम्भव छैन । यस्तो अवस्थामा केवल कोरा अनुमान, आशंका गरी मलाईसमेत जन्मकैदको सजाय गर्ने गरी श्री सर्वोच्च अदालतबाट भएको फैसला न्याय, विवेक र औचित्यको समेत प्रतिकूल छ । तसर्थ, अभियोग दाबीबाट सफाइ पाउनुपर्ने हुँदा प्रस्तुत मुद्दा पुनरावलोकन गरी हेरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी बुधबहादुर पौडेलले मिति २०७६।२।१४ मा यस अदालतमा पेस गरेको निवेदनपत्र ।
यसमा यी निवेदक बलबहादुर भन्ने बुधबहादुर पौडेल र प्रकाश भन्ने निशान के.सी.समेत उपर जबरजस्ती करणी गरी कर्तव्य ज्यान मुद्दा चलेको देखिन्छ । उक्त मुद्दामा यी निवेदक र प्रकाश भन्ने निशान के.सी.समेतलाई यस अदालतबाट जन्मकैदको फैसला भएकोमा उक्त फैसलाउपर प्रकाश भन्ने निशान के.सी.समेतले दिएको ०७५-RV-०१५८ को पुनरावलोकनको निवेदनमा यस अदालतबाट मिति २०७६/०१/१९ मा पुनरावलोकनको अनुमति प्रदान गरेको देखिँदा प्रस्तुत मुद्दा ०७५-RV-०१५८ सँग अन्तरप्रभावी देखिएकोले सोही मुद्दामा उल्लिखित आधार र कारणबाट यस अदालतबाट भएको मिति २०७५/०१/३१ मा भएको फैसलामा न्याय प्रशासन ऐन, २०७३ को दफा ११ को उपदफा (२) को खण्ड (ख) को अवस्था विद्यमान रहेको देखिँदा प्रस्तुत मुद्दामा पुनरावलोकनको अनुमति प्रदान गरिएको छ । ०७५-RV-०१५८ मुद्दाको मिसिलसमेत साथै राखी नियमानुसार गर्नु भन्ने यस अदालतको मिति २०७६।१०।१६ को आदेश ।
यस अदालतको ठहर
नियमबमोजिम पेसी सूचीमा चढी आज निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक/प्रतिवादी प्रकाश भन्ने निशान के.सी. र अमृत कुँवरको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री शम्भु थापा र श्री इश्वरीप्रसाद भट्टराईका साथै विद्वान् अधिवक्ताहरू श्री सपना सुवेदी र श्री पुर्ण राजवंशीले यी प्रतिवादीहरूले कसुरमा इन्कार रही अधिकारप्राप्त अधिकारी एवं अदालतसमक्ष बयान गरेका छन् । वारदातमा संलग्न रहेको भनी पुष्टि गर्ने कुनै पनि चश्मदिद गवाह एवं प्रत्यक्ष प्रमाणको अभाव रहेको छ । घटना विवरण तथा वस्तुस्थिति मुचुल्कामा आफ्नो बेहोरा लेखाइदिने तथा मौकामा कागज गर्ने कुनै पनि व्यक्तिले यी प्रतिवादीहरूको वारदातमा संलग्नता रहेको भनी किटानीसाथ लेखाइदिन सकेको छैन । वारदातस्थलमा हिलो पानी रहेकोमा प्रकाश के.सी. र अमृत कुँवरको कपडा भिजेको देखेको भनी कसैले भन्न सकेको पनि छैन । अनुमानको आधारमा एक जनाले मात्र वारदात घटाउन सक्दैन भन्ने आधार उल्लेख गरी बिनाप्रमाण निर्दोष व्यक्तिलाई जबरजस्ती करणी र ज्यानजस्तो गम्भीर फौजदारी अपराधमा प्रकाश भन्ने निशान के.सी. र अमृत कुँवरलाई जन्मकैद गर्ने गरी पुनरावेदन अदालत बागलुङबाट मिति २०७०।५।१८ मा भएको फैसलालाई सदर गर्ने गरी यस अदालतबाट मिति २०७५।१।३१ मा भएको फैसला कानून र न्यायका मान्य सिद्धान्तअनुरूप नभएको हुँदा उक्त फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउनुपर्छ भनी गर्नुभएको बहस सुनियो ।
पुनरावेदक/प्रतिवादी बलबहादुर भन्ने बुधबहादुर पौडेलका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री कृष्णनाथ शर्माले प्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवरले अनुसन्धानको क्रममा र अदालतसमक्ष भएको बयानमा समेत आफू एक्लैले वारदात गरेको र अन्य कोही कसैको मद्दत नलिएको साथै बलबहादुर भन्ने बुधबहादुरले रक्सीले लठ्ठ भई पुलमा सुतेको थिएँ भनी बयान गरेको अवस्था छ । पुनरावेदक/प्रतिवादी बलबहादुर भन्ने बुधबहादुर पौडेलले अनुसन्धान अधिकारी र अदालतमा भएको बयानमा समेत कसुरमा इन्कार रही बयान गरेको अवस्था रहे पनि निजको हकमा जन्मकैदको सजाय गर्ने गरी पुनरावेदन अदालत बागलुङबाट भएको फैसलालाई सदर गरेको सर्वोच्च अदालत संयुक्त इजलासको फैसला त्रुटिपूर्ण भएकाले उल्टी गरी अभियोग दाबीबाट सफाइ दिलाइपाउँ भनी आफ्नो बहस प्रस्तुत गर्नुभयो ।
थुनामा रहेका प्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवरको तर्फबाट विद्वान् वैतनिक अधिवक्ताहरू श्री सुधा धिताल र श्री अमिता गौतमले गणेश भन्ने तेजबहादुर कुँवरले जबरजस्ती करणीको कसुरमा आफू साबित रही बयान गरेको भए पनि परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई कर्तव्य गरी मारेको भन्ने कसुरमा सुरूदेखि नै इन्कार रहेकोले कर्तव्यतर्फको अभियोग दाबीबाट सफाइ दिलाइपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
प्रत्यर्थी/वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारीले प्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवरसहित यी पुनरावेदक/प्रतिवादीहरूसमेत वारदातमा संलग्न रहेका छन् । प्रतिवादीहरू एकापसमा चिनजान भएका व्यक्तिहरू हुन् । घटनास्थल मुचुल्कामा खेतको धान मडारिएको देखिएकोबाट उक्त घटनामा धेरै जनाको संलग्नता रहेको पुष्टि भएको छ । हँसिया बोकेकी १५ वर्षकी युवतीको करणी गरी हत्यासमेत भएको यो घटना रक्सीले मातेको एकजना व्यक्तिले घटाउनसक्ने स्थिति पनि रहँदैन । वारदातको अघि र तत्काल केही समयपछि पनि यी प्रतिवादीहरूसँगै देखिएका छन । परिस्थितिजन्य प्रमाणबाट दोषी देखिएमा कसुरदार ठहर गर्न मिल्ने न्यायिक सिद्धान्तबमोजिम सर्वोच्च अदालतबाट कानूनसम्मत फैसला भएको हो । यी प्रतिवादीहरूउपर किटानी जाहेरी परेको र सो जाहेरी बेहोरालाई समर्थन गरी जाहेरवालाले अदालतमा उपस्थित भई बकपत्र गरिदिएकोले सो जाहेरीलाई प्रमाणमा लिन मिल्ने नै हुन्छ । प्रतिवादीहरूलाई सजाय गर्ने गरी पुनरावेदन अदालत बागलुङबाट मिति २०७०।५।१८ मा भएको फैसलालाई सदर गरेको सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०७५।१।३१ मा भएको फैसला कानून र न्यायका मान्य सिद्धान्तअनुरूप भएको हुँदा उक्त फैसला सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
यसमा प्रतिवादीहरू गणेश कुँवर भन्ने तेजबहादुर कुँवर (१), बलबहादुर भन्ने बुधबहादुर पौडेल क्षेत्री (२), प्रकाश के.सी. भन्ने निशान के.सी. (३), अमृत कुँवर (४), फणिन्द्र भन्ने फलिन्द्र कुँवर (५) समेत जना ५ ले मुलुकी ऐन जबरजस्ती करणीको महलको १ नं. विपरीत तथा ऐ. ज्यानसम्बन्धीको महलको १ नं. विपरीतको कसुर अपराध गरेकोले निजहरूलाई ऐ.को जबरजस्ती करणीको महलको ३ नं. को देहाय (३) नं. बमोजिम सजाय गरी सामूहिक रूपमा जबरजस्ती करणी गरेकोमा सोही महलको ३क नं. बमोजिम थप सजाय हुन साथै प्रतिवादीहरू बुधबहादुर पौडेल र निशान के.सी.ले हाडनाताभित्र जबरजस्ती करणी गरेको हुँदा हाडनाता करणी महलको २ नं. बमोजिम निजहरूलाई थप सजायसमेत गरी र वर्ष १५ पूरा नभएकी पीडित परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई जबरजस्ती करणी गरी कर्तव्य ज्यानसम्बन्धी अपराध गरेकोमा निज प्रतिवादीहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी रहेको पाइन्छ । प्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवरलाई सर्वस्वसहित जन्मकैद हुने र प्रतिवादीहरूको हकमा बलबहादुर भन्ने बुधबहादुर पौडेल क्षेत्रीलाई ज्यानसम्बन्धी महलको १७(३) अनुसार ३ वर्ष कैद हुने साथै प्रतिवादी प्रकाश भन्ने निशान के.सी., अमृत कुँवर र फणिन्द्र भन्ने फलिन्द्र कुँवरलाई ऐ. नं. अनुसार जनही २ वर्ष कैद हुने ठहरी पर्वत जिल्ला अदालतबाट मिति २०६९।०१।०३ मा सुरू फैसला भएको
देखिन्छ । उक्त सुरू फैसलाउपर वादी प्रतिवादीहरू दुवै पक्षको तर्फबाट परेका छुट्टाछुट्टै पुनरावेदनमा सुरूको फैसलामा केही उल्टी गर्ने गरी प्रतिवादीहरूमध्येका गणेश भन्ने तेजबहादुर कुँवर, बलबहादुर भन्ने बुधबहादुर पौडेल क्षेत्री, प्रकाश के.सी. भन्ने निशान के.सी. र अमृत कुँवरलाई मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहर्याई पुनरावेदन अदालत बागलुङबाट मिति २०७०।०५।१८ मा फैसला भएको देखिन आयो । उक्त फैसलामा चित्त नबुझाई प्रतिवादीहरू बलबहादुर भन्ने बुधबहादुर पौडेल क्षेत्री, प्रकाश के.सी. भन्ने निशान के.सी. र अमृत कुँवरका साथै वादी नेपाल सरकारको तर्फबाट परेका छुट्टाछुट्टै पुनरावेदनमा पुनरावेदन अदालत बागलुङबाट भएको फैसला सदर हुने र पुनरावेदन नगर्ने प्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवरको हकमा साधक सदर हुने ठहरी यस अदालतको संयुक्त इजलासबाट फैसला भएकोमा सो फैसला त्रुटिपूर्ण रहेकाले पुनरावलोकन गरी हेरिपाउँ भनी पुनरावेदक/प्रतिवादी प्रकाश भन्ने निशान के.सी. र अमृत कुँवरका साथै प्रतिवादी बलबहादुर भन्ने बुधबहादुर पौडेल क्षेत्रीले निवेदन दिएकोमा मुद्दा पुनरावलोकन गरी हेर्न निस्सा प्रदान भई यस इजलाससमक्ष पेस हुन आएको देखियो ।
उपर्युक्तानुसारको तथ्य रहेको प्रस्तुत मुद्दामा दुवै पक्षबाट प्रस्तुत बहस जिकिर सुनी मिसिल संलग्न कागज प्रमाण एवम् यस अदालतको संयुक्त इजलासबाट भएको फैसला र उक्त फैसला पुनरावलोकन गरी हेरिपाउँ भनी पेस भएका निवेदनमा लिइएका जिकिरहरूसमेत अध्ययन गरी हेर्दा, प्रस्तुत मुद्दामा निम्नानुसारको विषयमा केन्द्रित भई निरूपण गर्नुपर्ने देखियो ।
१. मृतक परिवर्तित नाम सर्वोच्च-१ पर्वतको मृत्यु स्वाभाविक हो वा कर्तव्यबाट भएको हो ?
२. कर्तव्यबाट मृत्यु भएको भए को कसको कर्तव्यबाट भएको हो ? परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई जबरजस्ती करणीसमेत गरेको हो, होइन ?
३. यी पुनरावेदक / प्रतिवादीहरूको प्रस्तुत वारदातमा के कस्तो संलग्नता रहेको छ ?
४. कसुरदारलाई के कति सजाय हुनुपर्ने हो ?
५. उच्च अदालत बागलुङको फैसला सदर गरेको यस अदालतबाट मिति २०७५।०१।३१ मा भएको फैसला मिलेको छ, छैन ?
६. यस अदालतको मिति २०७५।०१।३१ को फैसला पुनरावलोकन गरी हेरिपाउँ भन्ने पुनरावेदक / प्रतिवादीको जिकिर पुग्नसक्ने हो, होइन ?
२. निर्णय दिनुपर्ने प्रश्नहरूमध्ये पहिलो प्रश्नमा विचार गर्दा, प्रस्तुत मुद्दामा मोदीखेत स्थित कृष्णबहादुर पौडेलको धान खेतको गह्रामा धान मडारिएको स्थानमा मिति २०६७।६।३ गते बेलुका १९:३० बजेको समयमा परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई बेहोस पेन्टी सुरूवाल खोलिएको अवस्थामा फेला पारी उपचारको लागि लगिएको भनिएको चार किल्लासहितको घटना विवरण र चप्पल, पेन्टी, तुना, ढुङ्गा फेला पारी प्रहरीले बरामद गरी लगेको भन्ने मिति २०६७।६।४ को घटनास्थल मुचुल्कामा उल्लेख भएको पाइयो । मृतकका बाबु परिवर्तित नाम सर्वोच्च-३ पर्वतले मिति २०६७।६।७ गते गणेश कुँवर भन्ने तेजबहादुर कुँवरको नेतृत्वमा अन्य प्रतिवादीहरूसमेतले घाँस काटिरहेकी परिवर्तित नाम सर्वोच्च-१ पर्वतको मुख माटोले बन्द गरी सामूहिक रूपमा बलात्कार गरी बलात्कारपश्चात् टाउकोमा ढुङ्गाले हानी मारेको हुँदा निज प्रतिवादीहरूलाई पक्राउ गरी कानूनबमोजिम सजाय गरिपाउँ भनी किटानी जाहेरी दरखास्त दिएकोमा जाहेरवालाले सो बेहोरालाई समर्थन गरी बकपत्रसमेत गरिदिएको देखिन्छ । मृतक परिवर्तित नाम सर्वोच्च-१ पर्वतको लास प्रकृति मुचुल्कामा टाउको पछाडिको भागमा ४ इन्च लामो छालाको भाग फुटी काटेको चोट रहेकोमा उक्त स्थानबाट रगत बगी कपालमा रगत लागेको र योनिबाट रगत बगी हाफपेन्टसमेत भिजेको भन्ने देखिन्छ । मृतक परिवर्तित नाम सर्वोच्च-१ पर्वतको शव परीक्षण प्रतिवेदनमा "lacerated wound on posterior wall of vagina, hymen torn, pv blood stain" भन्ने बेहोरासहित भिसेरा रिपोर्ट प्राप्त भएपछि मृत्युको कारण यकिन गर्न सकिने भनी उल्लेख भएको पाइयो । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल विकास समिति पोखराको च.नं. ६४८ मिति २०६७।०६।२७ को पत्रसाथ प्राप्त चिकित्सकहरूको राय प्रतिवेदनमा मृतकको मृत्युको कारण Head injury भनी उल्लेख भएको र निज मृतकको यौनाङ्गसमेत जाँच भई यौनाङ्गको भित्री भागको मांसपेसीसमेत च्यातिएको भन्ने बेहोरा उल्लेख भएको हुँदा परिवर्तित नाम सर्वोच्च-१ पर्वतको मृत्यु स्वाभाविक नभई जबरजस्ती करणी गरी कर्तव्यबाट भएको पुष्टि हुन आयो ।
३. दोस्रो प्रश्नतर्फ हेर्दा, मृतक परिवर्तित नाम सर्वोच्च-१ पर्वतको मृत्यु कर्तव्यबाट भएको भन्ने पुष्टि भएको अवस्थामा को कसको कर्तव्यबाट निजको मृत्यु भएको हो भनी हेर्नुपर्ने हुन आयो । सर्वप्रथम मुख्य अभियुक्त भनिएका प्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवर कसुरमा साबित रहेकोमा पुनरावेदन तहबाट निज प्रतिवादीलाई कसुरदार ठहर गरी जन्मकैदको सजाय भएकोमा निजले सो फैसलाउपर पुनरावेदन नगरी बसेकोमा निजको हकमा साधक जाहेर भई यस अदालतबाट सदर भएको देखिन्छ । अर्का प्रतिवादी फणिन्द्र भन्ने फलिन्द्र कुँवरको हकमा वारदातस्थलमा निजको उपस्थिति नै नदेखिएको भनी अभियोग दाबीबाट सफाइ दिने गरी पुनरावेदन तहबाट भएको फैसलाउपरको नेपाल सरकारको पुनरावेदनमा निज प्रतिवादीको हकमा समेत पुनरावेदन अदालतको फैसला यस अदालतको संयुक्त इजलासबाट सदर भएको र सोउपर नेपाल सरकारको पुनरावलोकनको निवेदन परेको भन्ने देखिँदैन । अतः प्रतिवादीहरू गणेश भन्ने तेजबहादुर कुँवर र फणिन्द्र भन्ने फलिन्द्र कुँवरको हकमा फैसला अन्तिम भई बसेको हुँदा सो सम्बन्धमा थप विवेचना गरिरहनुपर्ने देखिएन ।
४. अब मृतक परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई कर्तव्य गरी मारेको कसुरमा पुनरावेदक/प्रतिवादीहरू प्रकाश के.सी., अमृत कुँवर र बलबहादुर भन्ने बुधबहादुर पौडेलको संलग्नता रहेको छ, छैन भन्ने सम्बन्धमा विचार गर्दा, मृतकको मुखमा हिलो माटोले थुनी चल्न बोल्न नदिई जबरजस्ती करणी गरी ढुङ्गाले हानी मारेको भनी जाहेरवाला मृतकका बाबु कृष्णप्रसाद पौडेलले यी पुनरावेदक/प्रतिवादीहरूउपर किटानी जाहेरी दिएको देखिन्छ । लास जाँच मुचुल्कामा पनि मृतकको मुखमा हिलो लागेको, टाउकोको पछाडिको भागमा गहिरो चोट रहेको, योनिबाट रगत बगी रहेको, कपडा खोलिएको अवस्था दर्साइएको छ । यी पुनरावेदक/प्रतिवादीहरूले आफूहरू वारदातस्थलमा नै नगएकोले वारदातमा संलग्न नरहेको भनी कसुरमा पूर्ण इन्कार रही बयान गरेको देखिन्छ । जाहेरवालालगायत बुझिएका व्यक्तिहरूले यी प्रतिवादीहरूसमेतले नै मृतक परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई जबरजस्ती करणी गरी मारेकोमा विश्वास लाग्छ भनी लेखाइदिएको
पाइन्छ । प्रस्तुत वारदातमा चस्मदिद गवाह रहेको पाइँदैन । यस स्थितिमा मिसिल सामेल जाहेरी दरखास्त, घटनास्थल तथा लास जाँच मुचुल्का, बरामदी मुचुल्का र मृतकको शव परीक्षण प्रतिवेदन तथा अनुसन्धानमा बुझिएका व्यक्तिहरूको बयान बकपत्र र प्रतिवादीहरूको बयान बेहोरालाई सूक्ष्म रूपमा विश्लेषण गरी हेर्नुपर्ने देखियो ।
५. मिसिल सामेल मिति २०६७।०६।०७ को घटनास्थल मुचुल्का हेर्दा, वारदातस्थल मोदीखेतस्थित धान खेतको गह्रामा पानी जमेको, उक्त गह्राको कान्लामा घाँस भरिन लागेको डोको, उक्त डोको नजिक घाँस काटेर राखेको पाँजो देखिन्छ । खेतको बिच भागको कान्ला साइडमा ५ फिट ४ इन्च लम्बाइ ४ फिट चौडाइमा धान मडारिएको र मडारिएको धानको तीन वटा पातमा सामान्य रगत लागी पानीले बगाएको जस्तो रातो रहेको उल्लेख भएको छ । खेतको गह्राको कुल चौडाइ १६ फिट ५ इन्च रही खेतको आलीबाट मडारिएको भागसम्म १४ फिट रहेको उल्लेख छ । वारदातस्थलको धान मडारिएको स्थानमा सेतोमा आकाशे फुर्का भएको ९.५ इन्चको लुज सटको तुना रहेको देखिएकोमा सो तुनासँगै नजिकै वारदातमा प्रयोग भएको ढुङ्गा रहेको पाइयो । उक्त ढुङ्गा रहेको स्थानको दक्षिण १५ फिटमा खेतको आलीदेखि ५.७ फिट पश्चिममा १ जोर चाइनिज चप्पल रहेको र उक्त चप्पल रहेको ठाउँबाट ५ फिट दक्षिणमा कालो पेन्टी रहेको देखियो । उक्त चप्पल र पेन्टी मृतक परिवर्तित नाम सर्वोच्च-१ पर्वतले लगाउने गरेको भनी उल्लेख भएको देखिन्छ । मिति २०६७।६।१० को बरामदी मुचुल्काको अध्ययन गर्दा धान खेतको कान्लामा धान मडारिएको ठाउँदेखि १ फिट पूर्वमा काठको बिँड भएको फलामे आँसी फेला परेको र सो स्थानदेखि १६ फिट दक्षिणमा घाँस रहेको डोको र नाइलनको नाम्लो रहेको देखिन्छ । घटनास्थल मुचुल्का र बरामदी मुचुल्काको उल्लिखित बेहोराबाट घाँस काट्न मोदीखेत गएकी परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई जबरजस्ती करणी गरी निजको टाउकोमा ढुङ्गाले हानी कर्तव्यद्वारा निजको मृत्यु भएको भन्ने जाहेरी बेहारामा उल्लिखित बेहोरा समर्थित भएको देखिन आयो ।
६. वारदातस्थल खेतको गह्राको कुल चौडाइ १६ फिट ५ इन्च रहेको छ । सो खेतको बिच भागको कान्ला साइडमा ५ फिट ४ इन्च लम्बाइ ४ फिट चौडाइमा धान मडारिएको भन्ने उल्लेख छ । मृतकलाई घिसार्दै उचाल्दै खेतको बिच भागमा लगी जबरजस्ती करणी गरेको हो भनी सहप्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवरले साबिती बयान गरेका छन् । खेतको बिच भागमा मृतकलाई पुर्याउँदा घिसार्दै लगेको भए घाँस काटिरहेको खेतको कान्लाबाट नै धानको बोटहरू मडारिनुपर्ने हुन्छ । तर घटनास्थल मुचुल्काको बेहोरा र स्केच नक्सा हेर्दा मृतकलाई टपक्क उठाई खेतको बिचमा पुर्याएको भन्ने देखिन्छ । फलत: खेतको बिच भागमा ५ फिट ४ इन्च लम्बाइ र ४ फिट चौडाइ हुने गरी धानको बोट मडारिएको तथ्य घटनास्थल मुचुल्कामा उल्लेख छ । मादक पदार्थ सेवन गरेका एक जना व्यक्ति प्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवरले मृतकलाई घाँस काटिरहेको स्थानबाट उठाई खेतको बिच भागमा पुर्याउँदा ५ फिट ४ इन्च लम्बाइ र ४ फिट चौडाइमा करिब गोलाकार एरिया हुने गरी त्यति क्षेत्रफलको धानको बोटहरू मडारिन जाने अवस्था हुन सक्दैन । निजको बयान हेर्दा मृतकलाई खेतको बिच भागमा पर्ने स्थानमा लगी मृतकलाई लडाई जबरजस्ती करणी गरेको भन्ने उल्लेख छ । घटनास्थलको उक्त बेहोराबाट एक जना व्यक्तिको मात्र सो वारदातमा संलग्नता रहेको भन्ने कुरा मेल खाँदैन ।
७. यी प्रतिवादीहरूले एकातर्फ गणेश एक्लैले वारदात घटाएको, हामीले होइन भनी बयान गरेका छन् भने अर्कोतर्फ सोही बयानमा एक जनाले मात्रै यो वारदात घटाउन सक्दैनसमेत भनेको देखिन्छ । प्रतिवादी गणेश स्वयंले पनि मृतकसँग रहेको हँसिया आफूले खोसी फाली करणी गरेको भनेको र धान मडारिएको क्षेत्र नजिकै हँसिया फेला परेको बरामदी मुचुल्काबाट देखिएकोले पीडितसँग हँसिया रहेको तथ्य पुष्टि भइरहेको छ । प्रतिवादी गणेशले रक्सी खाई मातेको देखिन्छ, यो कुरा गणेशले आफ्नो बयानमा पनि उल्लेख गरेका छन् । हँसिया बोकेकी १५ वर्षकी युवतीलाई प्रतिकारको कुनै मौका नदिई रक्सीले मातेका भनिएका गणेशले मात्र जबरजस्ती करणी गर्न सक्ने अवस्थासमेत विद्यमान
देखिँदैन । उनी एक्लैले जबरजस्ती करणी गर्ने प्रयास गरेका भए मृतक/पीडितबाट प्रतिकार भएको अवस्था रही प्रतिवादी गणेशउपर हँसिया प्रहार भई सोको चोट निजको शरीरमा देखिने थियो । प्रतिवादी गणेशको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट निजको शरीरमा हँसियाले हानेको चोटपटक देखिएको छैन । यसले पनि उक्त घटनामा एकभन्दा बढी व्यक्तिको संलग्नता भएको देखाउँछ । अर्कोतर्फ वारदात लगत्तै गरिएको प्रतिवादीहरू गणेश भन्ने तेजबहादुर कुँवर र अमृत कुँवरको स्वास्थ्य परीक्षण प्रतिवेदनमा निजहरूको हात पाखुरामा चिथोरेको जस्तो चोट रहेको देखिएको छ । निज प्रतिवादीहरूले सो चोट कसरी लागेको भनी वारदातबाहेक अन्य कारण खुलाउन सकेको पनि देखिएन ।
८. मृतक १५ वर्षकी नाबालिग रहेकी
छन् । उनी गाई वस्तुलाई घाँस काट्न डोको बोकी गएकी र घाँस काटिरहेको भन्ने देखिन्छ । निज मृतकको पोस्टमार्टम परीक्षण प्रतिवेदन हेर्दा, PV blood stain, lacerated wound on posterior wall of vagina, Hymen torn रहेको भन्ने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराबाट मिति २०६७।०६।०४ मा भएको परीक्षण प्रतिवेदनमा उल्लेख छ । यसबाट मृतकउपर जबरजस्ती करणीको अपराध भएको पुष्टि भएको छ । तत्कालै गरिएको मृतकको शव परीक्षण प्रतिवेदनबाट Hymen torn अर्थात् कन्याजाली च्यातिनुको साथै lacerated wound on posterior wall of vagina अर्थात् यौनाङ्गको posterior wall मा गहिरो घाउ चोट पर्न गएको साथै PV blood stain अर्थात् यौनाङ्गबाट रगतसमेत बगिरहेको भन्ने
देखिन्छ । मृतकको यौनाङ्गका गहिरो घाउ चोट र यौनाङ्गबाट रगतसमेत बगिरहेको अवस्थालाई विचार गर्दा एक जना व्यक्तिको करणीबाट मात्र नभई एक जनाभन्दा बढी व्यक्तिहरूले करणी गरेको कारण यौनाङ्गमा गहिरो घाउ चोट हुन गई यौनाङ्गबाट रगतसमेत बगिरहेको भन्ने देखिएको छ । यसबाट मृतकउपर सामूहिक रूपमा जबरजस्ती करणीको अपराध घटित भएको र सोको परिणाम स्वरूप उक्त घाउ चोट पर्न गएको शव परीक्षण प्रतिवेदनले पुष्टि गरेको छ ।
९. आफैँले मात्र वारदात घटाएको भनी कसुरमा साबिती हुने प्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवरले पनि घटनास्थलको विवरण र खुलेका तथ्यहरूबाट एक जना मात्रै व्यक्तिले कसुर गर्न नसक्ने भनी खुलाइदिएका छन् । तत्काल सङ्कलन गरिएका वस्तुस्थितिको चित्रण गरिएका घटनास्थल मुचुल्का, बरामदी मुचुल्कामा उल्लिखित बेहोराले अपराधमा देखिएका (Crime scene) तथ्यहरू (Facts) को उजागर गरिदिएको हुन्छ । अन्यथा प्रमाणित नभएसम्म त्यस्ता तथ्यहरूको विश्लेषणबाट अपराधमा रहेको अपराधीहरूको संलग्नताको बारेमा नजिक पुर्याउने कार्य गरेको हुन्छ । साथै एक जना मात्र संलग्नता रहेको देखिने तथ्य र धेरै व्यक्ति संलग्नता भएको देखिने तथ्य जस्तै तत्काल सङ्कलन गरिएका प्रमाणहरूबाट परख गर्न सकिने हुन्छ । मृतकको पोस्टमार्टम परीक्षण पनि महत्त्वपूर्ण प्रमाण हुन्छ । वैज्ञानिक विधिबाट मृतकको शरीरको यौनाङ्गमा देखिएका घाउ चोट तत्काल खुलाइएको हुन्छ । सो प्रमाणले पनि कसुरदारहरूको संख्या वा संलग्नतालाई परख गर्न मद्दत पुग्दछ । प्रस्तुत वारदात घटनाको सम्बन्धमा तत्काल सङ्कलन गरिएको उक्त प्रमाणहरूले मृतक १५ वर्षकी नाबालिगलाई सामूहिक रूपमा जबरजस्ती करणी गरी कर्तव्य गरी मारेको भन्ने पुष्टि भएको पाइन्छ ।
१०. अब, प्रतिवादीहरू बलबहादुर भन्ने बुधबहादुर पौडैल, प्रकाश भन्ने निशान के.सी. र अमृत कुँवरको प्रस्तुत वारदात कसुरमा संलग्नता रहेको छ ? वा छैन ? भन्ने तेस्रो प्रश्नतर्फ हेर्दा, अदालतमा पनि साबिती भई बयान गर्ने प्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवरसँग वारदातका दिन र समयमा यी प्रतिवादीमध्येका बुधबहादुर पौडेलको भेटघाट भएको र मादक पदार्थसमेत सँगै पिएको भन्ने तथ्य निज प्रतिवादीहरूले मादक पदार्थ सेवन गरेको भनिएको होटलको साहु टीकाबहादुर सुवेदीले गणेश भन्ने तेजबहादुर कुँवर र बलबहादुर भन्ने बोधबहादुर पौडेल वारदात मितिमा मेरो होटलमा रक्सी खाएर अन्दाजी २:३० बजे पातिचौर बजारतिर गएका हुन् भनी गरिदिएको मौकाको कागजबाट खुल्न आएको छ । मौकामा कागज गरिदिने मोबाइल पसलका साहु टंकनाथ चापागाईले सुरू अदालतमा गरेको बकपत्रको स.ज.५ मा वारदात मिति २०६७।०६।०३ गतेका दिन ६.३० बजे प्रतिवादीमध्येका गणेश भन्ने तेजबहादुर कुँवर र बलबहादुर भन्ने बुधबहादुर पौडेल मेरो पसलमा आएका थिए, दुवैजना रक्सीको नशामा थिए भनी लेखाइदिएबाट कसुरमा साबित भएका प्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवरसँगै प्रतिवादी बलबहादुर भन्ने बुधबहादुर पौडैल टंकनाथ चापागाईको पसलमा समेत सँगै देखिएका छन् । अधिकारप्राप्त अधिकारीसमक्ष कसुर स्वीकार गर्ने प्रतिवादी तेजबहादुर कुँवरले वारदातस्थलमा आफूले जबरजस्ती करणी गर्दाको समयमा यी प्रतिवादीहरूले वर्तनेको पुलबाट देखेका थिए । पछि म खोलामा हिलो पखाल्न जाँदा प्रतिवादीहरू घटनास्थलतर्फबाट फर्केको देखेको भनी बयान गरेको पाइन्छ । त्यसैगरी यी पुनरावेदक/प्रतिवादीहरूमध्ये बुधबहादुर पौडेललाई कसुरमा साबित रहेका प्रतिवादी गणेशसँगै वारदातस्थल नजिक वर्तनेको पुलभन्दा केही परबाट आउँदै गरेको देखेकोले उक्त घटनामा निजहरूको संलग्नता हुनसक्ने भनी मौकामा कागज गर्ने प्रविता सुवेदीले लेखाइदिई बकपत्रसमेत गरिदिएको देखिन्छ ।
११. यी पुनरावेदकहरू प्रकाश के.सी. र अमृत कुँवरले आफूहरू वारदातस्थलमा उपस्थित नरहेकोले वारदातमा संलग्न भएको भन्ने प्रश्न उठ्दैन भनी जिकिर लिएको देखिन्छ । उक्त जिकिरलाई पुष्टि गर्ने मुख्य आधारको रूपमा प्रतिवादी गणेशको निज एक्लैले वारदात घटाएको भनी गरेको बयान बेहोरालाई लिएको देखिन्छ । प्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवरले अनुसन्धानका क्रममा गरेको आफ्नो बयानमा यी पुनरावेदकहरू वर्तनेको पुलमा रहेको, आफू कपडामा लागेको हिलो पखाल्न वर्तनेको पुलमुनिको धारामा जाँदा यी पुनरावेदकसमेत वारदातस्थलतर्फ गएको देखेको तर ढुङ्गाले हानेर मारी करणी गरेको चाहिँ नदेखेकोले उनीहरूको संलग्नताबारे यकिन गर्न नसकेको भनी बयान गरेको पाइयो । निज प्रतिवादी गणेशले सुरू अदालतमा बयान गर्दा भने अनुसन्धानको बयानभन्दा फरक स.ज.७ मा रक्सीले मातेकोले जबरजस्ती करणी र हत्या आफ्नै हिम्मत र साहसले एक्लै गरेको अरू कसैको निर्देशनमा होइन भनेका छन भने स.ज.९ मा मैले बयान गर्दा वर्तनेको पुलमा अमृत, प्रकाश, फडिन्द्र र बुधबहादुरले हेरेर बसेको मैले घटना घटाएको कार्य हेरेर देखेर बसेका थिए भनेको होइन । अमृत, प्रकाश, फडिन्द्र त्यहाँ थिएनन्, बुधबहादुरले देखे देखेनन् थाहा भएन भनेकोमा सोलाई बढाएर लेखी नपढी सही गराए । सोबाहेकको अरू बेहोरा ठिकै हो भनेको पाइन्छ । प्रतिवादी गणेशले गरेको अनुसन्धानको बयान स्वेच्छाको नभएको भने पनि अदालतमा म्याद थप गर्न ल्याउँदा कुटपिट गरी धाक धम्की दिई मेरो इच्छाविपरीत बयान गराएको भनी लेखाउनुपर्नेमा सो नगरेबाट दबाबमा पारी गराएको भन्ने कथन विश्वासयोग्य देखिएन । जाहेरवाला र अनुसन्धानका क्रममा बुझिएका व्यक्तिहरूले यी पुनरावेदक/प्रतिवादीहरूसमेत ४ जनाको वारदातमा संलग्नता देखाएको सम्बन्धमा प्रतिवादी गणेशले गरेको अदालतको बयानको स.ज.३१ र स.ज.३४ मा घटना घटाउने कार्य मबाट भएकोले अन्य ४ जना प्रतिवादीबाट भएको होइन । मबाहेक अरू कसैको संलग्नता छैन भनी उल्लेख गरेको पाइन्छ । प्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवरले अनुसन्धानका क्रममा गरेको बयानमा यी पुनरावेदक/ प्रतिवादीहरूको घटनामा संलग्नता रहे नरहेको यकिन भन्न नसक्ने भनी बयान गरेको तर अदालतमा भने आफूबाहेकका अन्य प्रतिवादीहरू ४ जनाको संलग्नता नरहेको भनी गरेको बयान एकापसमा विरोधाभासपूर्ण भई विश्वासलायक देखिएन । प्रमाण ऐन, २०३१ को दफा १८ विपरीत अनुसन्धानको भन्दा फरक बेहाराले दिएको निज प्रतिवादी गणेशको बयानलाई प्रमाणमा लिन नमिल्ने हुँदा गणेशको बयानलाई आधार देखाएर आफूहरू निरपराध रहेको भन्ने यी पुनरावेदक/प्रतिवादीहरूको इन्कारी बयान बेहोरा प्रमाण ग्राह्य देखिँदैन । प्रमाणबिनाको प्रतिवादीहरूको इन्कारी बयान औचित्यहीन हुन्छ । यस्तो अवस्थामा अप्रत्यक्ष प्रमाण वा परिस्थितिजन्य प्रमाणलाई ग्रहण गरी निरूपण गरिनुपर्दछ । यस सन्दर्भमा यस अदालतबाट पुनरावेदक/प्रतिवादी चार्ल्स गुरूमुख शोभराज विरूद्ध प्रत्यर्थी/वादी नेपाल सरकार भएको कर्तव्य ज्यान (ने.का.प.२०६७, भाद्र महिना, निर्णय नम्बर ८३७८) मुद्दामा "कुनै प्रमाणविनाको इन्कारी बयान अर्थहीन र प्रयोजनहीन हुन्छ र यस्तोमा सङ्कलित अप्रत्यक्ष प्रमाणलाई पनि निजका विरूद्ध अदालतले प्रमाणमा ग्रहण गर्नुपर्ने" भनी सिद्धान्तसमेत स्थापित रहेको देखियो ।
१२. प्रत्यक्ष प्रमाण नै नरहेको स्थितिमा शंका र अनुमानका भरमा दोषी ठहर गरेको यस अदालत संयुक्त इजलासको फैसला त्रुटिपूर्ण रहेको भनी पुनरावेदकहरूले मुख्य जिकिर लिई सोबमोजिम प्रस्तुत मुद्दा पुनरावलोकन गरी हेर्ने अनुमतिसमेत पाएको अवस्था र मिसिल सामेल तथ्य र सम्बद्ध अप्रत्यक्ष वा परिस्थितिजन्य प्रमाणहरूबाट कसुर ठहर गर्नुपर्ने स्थितिमा अप्रत्यक्ष वा परिस्थितिजन्य प्रमाणको समेत विवेचना गरी हेर्नुपर्ने हुन
आयो । परिस्थितिजन्य प्रमाणको अर्थ र परिभाषाका सम्बन्धमा हेर्दा, मुद्दामा ठहर गर्नुपर्ने कुराको विषयमा अदालतलाई कुनै निष्कर्ष निकाल्न सहयोग गर्ने प्रमाण परिस्थितिजन्य प्रमाण हो । परिस्थितिजन्य प्रमाण र प्राथमिक प्रमाण (Primary Evidence) बिच न्यायालयबाट स्वीकारयोग्य र विश्वसनीय तवरले तादात्म्यता रही तथ्यको सत्यता साबित वा सम्पुष्टि गर्न सक्ने क्षमतासहित मालाकार कडीका रूपमा उपलब्ध हुनुपर्दछ भन्ने अदालती अभ्यास र मान्यता रही आएको पाइन्छ । भनी परिस्थितिजन्य प्रमाणको अर्थ र उपयोगबारे स्पष्ट गरिएको
पाइन्छ । प्रमाण कानूनसम्बन्धी प्रचलित कानूनी व्यवस्था प्रमाण ऐन, २०३१ को अध्ययन गर्दा परिस्थितिजन्य प्रमाणका बारेमा स्पष्ट रूपमा व्यवस्था भएको पाइँदैन । तथापि उक्त ऐनको दफा ३ को प्रमाण बुझ्न हुने कुराहरू शीर्षकमा उपदफा (१) मा "अदालतले मुद्दामा ठहर गर्नुपर्ने कुरा र त्यस्तो कुरासँग सम्बद्ध कुराको मात्र प्रमाण बुझ्न हुन्छ" भन्ने व्यवस्था रहेको र सोको स्पष्टीकरणमा : "सम्बद्ध कुरा" भन्नाले मुद्दामा ठहर गर्नुपर्ने कुरालाई प्रमाणित वा खण्डन गर्न सहयोग गर्ने कुरालाई सम्झनुपर्छ" भनी उल्लेख भएको देखिन्छ । उक्त व्यवस्थामा रहेको सम्बद्ध कुरा भन्नाले अप्रत्यक्ष वा परिस्थितिजन्य प्रमाणलाई सङ्केत गरेको मान्न सकिन्छ । उक्त दफा ३ को व्यवस्थालाई उद्धृत गर्दै सम्बद्ध कुरा भन्नाले परिस्थितिजन्य प्रमाणलाई इङ्गित गर्न खोजेको बुझिन्छ भनी महान्यायाधिवक्ताको कार्यालयबाट प्रकाशित प्रमाणसम्बन्धी स्रोत सामग्री पुस्तकमा उल्लेख भएको पाइन्छ ।
१३. परिस्थितिजन्य प्रमाणको अर्थ, महत्त्व र उपयोगका सम्बन्धमा यस अदालतबाट समेत विभिन्न मुद्दामा स्पष्ट न्यायिक दृष्टिकोण स्थापित भएको
देखिन्छ । यस सन्दर्भमा यस अदालतबाट भएका फैसलामा स्थापित केही मुख्य न्यायिक दृष्टिकोण प्रस्तुत मुद्दाका सन्दर्भमा समेत उल्लेखनीय हुँदा तल प्रस्तुत गरिएको छ:-
ने.का.प.२०६९, चैत्र महिना, निर्णय नम्बर ८९३० मा "वारदात प्रतिवादीकै घर कोठाभित्र हुनुको साथसाथै रातको समय भन्ने पनि देखिएको अवस्थामा यस्तो स्थान र समयमा चश्मदिद गवाहको अभाव रहनु स्वाभाविक नै हुन्छ र सबै वारदात एवं अपराधमा चश्मदिद गवाह हुनैपर्छ भन्ने पनि छैन । कसुरदारले गरेको कसुर प्रमाणित हुन अपराधको अनुसन्धान हुँदा विभिन्न कोणहरूबाट प्राप्त तथ्य एवं अभिव्यक्त भएका भनाइहरूलाई परिस्थितिजन्य प्रमाणहरूबाट समर्थित भने हुनुपर्ने भनी सिद्धान्तसमेत स्थापित रहेको देखिन्छ ।
सर्वोच्च अदालत बुलेटिन २०६६, वर्ष १८, अङ्क २४, पूर्णाङ्क ४२६मा "घटना घट्दाको प्रत्यक्ष चश्मदिद कोही नरहेको अवस्थामा प्रत्यक्षदर्शीको अभावमा अन्य स्वतन्त्र परिस्थितिजन्य प्रमाणको मूल्याङ्कन नगरी गम्भीर प्रकृतिका फौजदारी मुद्दामा निष्कर्षमा पुग्ने हो भने चश्मदिद गवाहबिनाको कसुरमा सबै आरोपितलाई सफाइ दिँदै जानुपर्ने अवस्था रहन्छ । यस्तो भएमा अपराधीको मनोबल बढ्दै जाने र त्यसले समाजमा दण्डहीनताको स्थिति उत्पन्न हुनसक्ने र न्याय व्यवस्थाप्रति पनि वितृष्णा पैदा हुन्छ । स्वतन्त्र रूपमा स्थापित भएका परिस्थितिजन्य प्रमाण फौजदारी न्यायिक प्रणालीमा कसुर स्थापित गर्ने एक मुख्य आधारको रूपमा रहेको हुन्छ । यस्तो आधारलाई नजर अन्दाज गरी निर्णय दिँदा समाजमा न्याय व्यवस्थाको प्रवर्द्धनमा बाधा अड्चनको अवस्था सिर्जना हुन जाने" भनी परिस्थितिजन्य प्रमाणको आवश्यकता र महत्त्वबारे विवेचनासमेत भएको देखियो ।
ने.का.प.२०४५, फागुन महिना, निर्णय नम्बर ३६५२ मा "व्यक्तिले साक्षी राखी कर्तव्य गर्ने भन्ने स्वाभाविक प्रक्रिया नहुने, यस्तै प्रत्यक्ष प्रमाण नभएको अवस्थामा परिस्थितिजन्य प्रमाणलाई राम्ररी छानबिन गरी निष्कर्षमा पुग्नुपर्ने । प्रत्यक्ष प्रमाणको अभाव छ भनी त्यसको लाभ अभियुक्त मात्रलाई दिने हो भने परिस्थितिजन्य प्रमाणको धारणा मृतप्रायः हुने स्थिति सिर्जना हुन जाने" भनी सिद्धान्तसमेत स्थापित रहेको छ ।
ने.का.प.२०६८, जेष्ठ महिना, निर्णय नम्बर ८५५३ मा "घटनाको अवस्था तथा तत्काल विद्यमान परिस्थितिलाई पुनर्मूल्याङ्कन गरी परिस्थितिजन्य प्रमाणको अस्तित्वलाई नकार्न उचित हुन आउँदैन । तसर्थ परिस्थितिजन्य प्रमाणको भूमिका तथा अस्तित्वलाई विश्लेषण र विवेचना गर्नु पनि त्यतिकै सान्दर्भिक देखिने" भनी सिद्धान्तसमेत स्थापित रहेको देखियो ।
ने.का.प.२०७५, असोज महिना, निर्णय नम्बर १००२१ मा "फौजदारी मुद्दामा प्रत्यक्ष प्रमाणको महत्त्वपूर्ण स्थान रहने भन्ने कुरामा विवाद हुन सक्तैन । तर कुनै मुद्दामा प्रत्यक्ष प्रमाण उपलब्ध नभएकै आधारमा अपराध र अपराधीको बारेमा खोजबिन नहुने भन्ने हुँदैन । प्रत्यक्ष प्रमाण उपलब्ध नभएको स्थितिमा परिस्थितिजन्य प्रमाण (Circumstantial Evidence) को सहाराबाट मिसिलमा रहेको तथ्य एवम् प्रमाणहरूको विश्लेषण गरी अपराध र अपराधीको बारेमा न्यायिक निरूपण हुन आवश्यक हुने । कुनै घटनामा परिस्थितिजन्य प्रमाणले नै घटनाक्रम उजागर गरी घटनाको पुष्टि गरिरहेको छ भने प्रत्यक्ष प्रमाण प्रस्तुत हुन नसकेकै कारण निर्दोषिताको आधार बन्न नसक्ने" भनी सिद्धान्त स्थापित भएको देखिन्छ ।
१४. उल्लिखित कानूनी प्रबन्ध र यस अदालतबाट विभिन्न मुद्दाको रोहमा व्यक्त भएका न्यायिक दृष्टिकोणसमेतको अध्ययनबाट अप्रत्यक्ष प्रमाण वा परिस्थितिजन्य प्रमाण पनि फौजदारी कसुर अपराधमा महत्त्वपूर्ण प्रमाणका रूपमा रहने देखियो । यस स्थितिमा पुनरावेदकहरूले जिकिर लिए जसरी प्रत्यक्ष प्रमाण नरहेको भन्ने आधारमा निर्दोषिता पुष्टि हुने भनी अनुमान गर्न मिल्ने होइन । अप्रत्यक्ष प्रमाणहरू वा परिस्थितिजन्य प्रमाण पनि बलियो प्रमाण
हुन्छ । अनुसन्धानको क्रममा तत्काल सङ्कलन गरिएका प्रमाणहरूले अपराध र अपराधीको बारेमा बोलिरहेको हुन्छ । परिस्थितिजन्य प्रमाणले कसुरदारको नजिक पुर्याउने कार्य गर्दछ । कतिपय वारदातमा प्रत्यक्ष प्रमाण नरहेको हुन सक्दछ तर सङ्कलन गरिएका मिसिल संलग्न रहेको परिस्थितिजन्य प्रमाणहरूको सुक्ष्म विश्लेषणबाट कसुरदार पहिल्याउनुपर्ने देखिँदा मुद्दाको तथ्य र मिसिल सामेल सम्बद्ध कुरा अर्थात् परिस्थितिजन्य प्रमाणहरू एकापसमा सम्बन्धित देखिन्छन् या देखिँदैनन् सोसमेत हेरी प्रस्तुत वारदातमा रहेको कसुरदारहरूको संलग्नताबारे निरूपण हुनुपर्ने
देखियो ।
१५. मिति २०६७।०६।२७ को वारदातस्थलको भौगोलिक अवस्थितिको स्केचसहितको मुचुल्का हेर्दा, वर्तनेको पुलमाथि रहेको प्रतिक्षालयबाट वारदातस्थल अन्दाजी १०५ मिटरको दुरीमा र वर्तनेको पुलबाट पुलमुनिको धारा २१ मिटरको दुरीमा रहेको छ । वर्तनेको पुलबाट वारदातस्थलमा रहेको मानिस र वारदातस्थलबाट पनि वर्तनेको पुलमा रहेका मानिस देख्न र चिन्न सकिने साथै मानिसले बोलाएको, कराएको र चिच्याएको प्रस्ट सुन्न सकिने भनी उल्लेख भएको छ । वर्तनेको पुलबाट वारदातस्थलमा भएको गतिविधि देखिने भन्ने प्रतिवादी गणेशले वारदातस्थलमा घाँस काटिरहेको युवतीलाई देखेर इमोसन जागी त्यता गएको भनेको र वर्तनेको पुलबाट वारदातस्थल देखिन्छ, कराए चिच्याएको सुनिन्छ भनी बुझिएका व्यक्तिहरूले लेखाइदिएबाट पुष्टि हुन्छ । वारदात मिति समयलाई हेर्दा असोजको महिना ४ बजे हाराहारीको समय छ । अँध्यारो भइसकेको नभई वरपर देख्न सकिने उज्यालो रहेको स्थिति देखिन्छ । घटनास्थल नजिकै वर्तनेको पुलमा रहेका बुधबहादुरले भने आफू रक्सीले मातेर पुलमा बसेकाले घटना भएको देखिनँ, सुनिनँ भनी गरेको बयान बेहोरा घटनास्थलको उल्लिखित वातावरण र परिस्थितिसँग मेल खाएको देखिँदैन । त्यसैगरी यी पुनरावेदक बुधबहादुरसँगै रहेका गणेश भन्ने तेजबहादुरले खेतमा घाँस काटिरहेकी पीडित मृतक युवतीलाई देखेर वारदातस्थल जाने तर उनीसँगै हिँडिरहेका प्रतिवादी बुधबहादुरले भने युवतीलाई देखेनन होला भनी विश्वास गर्नसक्ने स्थिति देखिँदैन । बुधबहादुरकै भनाइमा उनी रक्सीले मातेको सुरमा गणेश वारदातस्थलतर्फ गएको देखेनछन् र यसबारे गणेशले पनि बताएका रहेनछन् भने पनि सँगै हिँडेको साथी गणेशलाई नदेख्दा प्रतिवादी बुधबहादुरले सँगै हिँडेका साथी प्रतिवादी गणेश कहाँ गयो भनी सोधीखोजीसम्म पनि नगर्नुलाई स्वाभाविक मानवीय चरित्रका रूपमा हेर्न मिल्ने नदेखिँदा पुनरावेदक/प्रतिवादी बुधबहादुरको आफू वर्तनेको पुलमा मातेर बसेको हुँदा घटनास्थलमा नगएकोले निर्दोष रहेको भन्ने जिकिर विश्वसनीय देखिएन ।
१६. गणेश भन्ने तेजबहादुर कुँवरको साथै अमृत कुँवरको बायाँ हातमा कोतरिएको घाउ देखिएको कुरा निज प्रतिवादीहरूको स्वास्थ्य जाँच प्रतिवेदनमा उल्लेख भएको पाइन्छ । उक्त स्वास्थ्य परीक्षण तत्कालै भएको देखिएको छ । प्रतिवादीका शरीरमा देखिएका सो घाउ चोट उक्त वारदातका क्रममा लागेको होइन भनी प्रतिवादीहरूले कारणसहित जिकिर लिन सकेको पनि देखिँदैन । केही प्रतिवादीहरूको शरीरमा चिथोरेको जस्तो चोट देखिएको र सो चोटको कारण प्रतिवादीहरूले प्रस्तुत गर्न नसकेको स्थितिमा मृतक र यी पुनरावेदक/प्रतिवादीहरूसमेतका बिचमा भएको सङ्घर्षका क्रममा लछार पछार हुन गई सोही समयमा उक्त चोटहरू लागेको र खेतको धानसमेत मडारिएको भन्ने सहजै अनुमान लगाउन सकिन्छ । यसरी प्रतिवादीहरूको हात पाखुरामा चिथोरिएको जस्तो घाउचोट देखिनुले पनि यी पुनरावेदक/प्रतिवादीहरूको वारदातमा संलग्नता नरहेको भनी मान्न सकिने देखिएन ।
१७. पुनरावेदक/प्रतिवादीहरूले समूहमा वारदात घट्नसक्ने अवस्था छैन किनभने वारदातस्थल राजमार्गसँगै जोडिएकाले समूहमा भएको भए हल्ला हुन्थ्यो, करणी गर्ने योजना नै भए सुरक्षित स्थानमा लाने थियौं भनी जिकिर लिएको पाइन्छ । अर्कोतिर यो घटना समूहमा भएको विश्वास लाग्छ भनी यिनै पुनरावेदक प्रतिवादीहरूले आफ्नो बयानमा उल्लेख गरिदिएको देखिन्छ । पुनरावेदक/प्रतिवादीहरूको यी बयान बेहोरा एकापसमा विरोधाभासपूर्ण रहेको
पाइयो । वारदात हुनु केही समयअघि गणेश र बुधबहादुरले गलत हर्कत गरिरहेको देखेको भनी वारदातस्थल नजिकै गिटी कुटिरहेकी कविता गुरूङले कागज गरी बकपत्र गरिदिएको पाइन्छ । गणेश भन्ने तेजबहादुर कुँवरको भनाइमा बुधबहादुर र उनी घरतर्फ आउँदै गर्दा निशान भन्ने प्रकाश के.सी. र अमृत कुँवरसँग वर्तनेको पुल नजिक भेट भएको भनेका छन । अन्दाजी ६:३० बजे गणेश र बुधबहादुर मेरो पसलमा आएकामा पछि अमृत कुँवर पनि मेरो दोकान अगाडि आएका र फणिन्द्र रिचार्ज कार्ड किन्न आएका हुन् । मैले गणेशको पानी पसेको मोबाइल सफा गरी बनाइदिएपछि गणेश, बलबहादुर, अमृत, फणिन्द्र निजहरूको घरतर्फ गएका हुन् भनी टंक चापागाईले घटना विवरण कागजमा लेखाइदिएकोमा गणेश र बुधबहादुर वारदात मितिमा अन्दाजी ६:३० बजे मेरो पसलमा आएका थिए, अरू प्रतिवादीलाई देखिनँ भनी सुरू अदालतमा भएको बकपत्रको स.ज. ५ मा लेखाइदिएकोमा सोही बकपत्रको स.ज.८मा अनुसन्धानका क्रममा मिति २०६७।०६।२० को घटना विवरण कागज मैले भनेबमोजिम लेखिएको र सोमा भएको सहीछाप मेरो हो भनी बकपत्रसमेत गरिदिएबाट प्रकारान्तरले प्रतिवादी गणेशसँग बुधबहादुरका साथै अमृत र फणिन्द्र पनि रहेको पुष्टि हुन्छ । यस घटनामा प्रतिवादी कायम गरिएका सबैजना एउटै गाउँका छरछिमेकीहरू रहेको
देखिन्छ । एकै गाउँ समाजका यी पुनरावेदक/प्रतिवादीहरू सँगसँगै हिँड्नुलाई अस्वाभाविक मान्नुपर्ने अवस्था नभए पनि वारदात मितिमा वारदातस्थलनजिकै प्रतिवादीहरू गणेश र बुधबहादुरले गरेको गलत हर्कत र वारदात समयको लगत्तै अघि र पछि दिनभरजसो सँगसँगै हिँडेको जस्ता तथ्यबाट यी पुनरावेदक/प्रतिवादीहरू निर्दोष रहेको भन्ने देखिएन । प्रतिवादी गणेश र बुधबहादुर वारदातस्थलभन्दा १०५ मिटर दुरीको वर्तनेको पुलसम्म सँगै गएको र वारदातपश्चात् यी प्रतिवादीहरू टंक चापागाईको मोबाइल पसलमा भेटघाट भई साँझमा सँगै घर फर्किएको मिसिलबाट देखिन्छ । वारदातको अघि र पछि प्रतिवादी गणेशसँग यी पुनरावेदक/प्रतिवादीहरूको भेटघाट कुराकानी भएको देखिएबाट निजहरूसमेत वारदातमा संलग्न रहेको पुष्टि हुन आयो ।
१८. यी पुनरावेदक प्रतिवादीहरूको नाम जाहेरीमा किटानीसाथ उल्लेख भएको, सो जाहेरीको बेहोरालाई समर्थन गरी जाहेरवालाले अदालतमा बकपत्र गरिदिएको साथै पीडित एवम् जाहेरवालासँग प्रतिवादीहरूको पूर्वरिसइवी रहेको पनि नदेखिएको, घटनास्थल प्रकृति मुचुल्काबाट खेतमा धान मडारिएको देखिएको, पीडितको लास जाँचसमेतबाट टाउकोको चोटका कारण निजको मृत्यु भएको, योनिको भित्री भागको मांसपेसीसमेत क्षतविक्षत हुने गरी घाउ चोट देखिएको, प्रतिवादीहरू गणेश भन्ने तेजबहादुर कुँवर र अमृत कुँवरको स्वास्थ्य परीक्षण प्रतिवेदनले निजहरूको हात पाखुरामा चिथोरेको जस्तो चोट देखिएकोमा निज प्रतिवादीहरूले सोको कारण खुलाउन सकेको नदेखिएको, वारदातस्थल र अपराधको प्रकृति एवम् पीडितको घाउ चोट हेर्दा एक जनाले मात्र वारदात घटाउन सक्ने अवस्था नदेखिने भनी वादीका साक्षीहरू देवबहादुर अर्घेली, टंकनाथ चापागाई र तेजबहादुर क्षेत्रीसमेतले लेखाई अदालतमा समेत बकपत्र गरिदिएको जस्ता वारदातमा गणेश भन्ने तेजबहादुर कुँवरसहित यी पुनरावेदक/प्रतिवादीहरूको संलग्नता पुष्टि गर्ने परिस्थितिजन्य प्रमाण मालाकार कडीकार रूपमा रहेको देखिएको अवस्थामा प्रत्यक्ष प्रमाणको अभाव रहेको भन्ने आधारमा मात्र अपराध र अपराधीले गरेको कसुरबारे खोजबिन नहुने र कसुरदार ठहर गर्न नमिल्ने भन्ने हुँदैन ।
१९. चौथो सवाल कसुरदारलाई के कस्तो सजाय हुने हो भनी सोतर्फ दृष्टिगत गर्दा, प्रस्तुत वारदातमा यी पुनरावेदक/प्रतिवादीहरूसमेत भई समूहमा मिलेर जबरजस्ती करणीसमेत गरी कर्तव्य गरी परिवर्तित नाम सर्वोच्च-१ पर्वतको हत्या गरेको देखिए पनि वारदातमा प्रतिवादीहरूको समूहमा रहेको व्यक्तिगत भूमिका मिसिलबाट यकिन गर्न सक्ने स्थिति रहेको देखिँदैन । मृतकको मृत्यु टाउकोमा ढुङ्गाले हानेर लागेको चोटका कारण भएको पुष्टि भए पनि यी पुनरावेदकसमेतका प्रतिवादीहरूमध्ये मृतकको टाउकोमा कसले ढुङ्गा प्रहार गरेको हो भन्ने मिसिलबाट खुल्न सकेको देखिँदैन । यसैले मारेको वा यसैका चोटले मरेको भन्ने अर्थात् मृतकको टाउकोमा ढुङ्गा प्रहार गर्ने कार्य यी प्रतिवादीहरूमध्ये को कसले गरेको भन्ने खुल्न नसकेको स्थितिमा यी पुनरावेदक/प्रतिवादीहरूलाई हुने सजायका सम्बन्धमा मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ नं. मा "कानूनबमोजिम बाहेक कसैले कुनै मानिसको ज्यान मार्न, मार्न लगाउन वा मार्नाको उद्योग गर्न हुँदैन" भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । त्यस्तै ऐ.को १३ नं.को देहायको (३) मा "लाठा, ढुङ्गा र साधारण सानातिना हातहतियारले कुटी, हानी, रोपी, घोची वा अरू ज्यान मर्ने गैह्र कुरा गरी ज्यान मरेमा एकै जनाले मात्र सो काम गरी ज्यान मारेमा सोही एक जना र धेरै जनाको हुल भई मारेमा यसैले मारेको वा यसको चोटले मरेको भन्ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा
ठहर्छ । त्यस्तालाई सर्वस्वसहित जन्मकैद
गर्नुपर्छ । सोबाहेक अरूलाई र यसैले मारेको वा यसैका चोटले मरेको भन्ने कुरा सो हातहतियार छाड्ने कसैउपर कुनै प्रमाणबाट देखिने ठहर्न नआएमा सबैलाई जन्मकैद गर्नुपर्छ" भन्ने व्यवस्था रहेको देखिन्छ । जबरजस्ती करणीसमेत गरेकोमा मुलुकी ऐन जबरजस्ती करणीको महलको १ नं. विपरीतको कसुरमा ऐ.को ३ नं.को देहायको (३) मा "चौध वर्ष वा सोभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए छ वर्षदेखि दश वर्षसम्म कैद हुने" भन्ने व्यवस्था रहेको
पाइन्छ । त्यस्तै सोही महलको ३क नं. मा "महिलालाई सामूहिक रूपमा जबरजस्ती करणी गर्ने वा गर्भवती, असक्त वा अपाङ्ग महिलालाई जबरजस्ती करणी गर्नेलाई यस महलमा लेखिएको सजायमा थप पाँच वर्ष कैद गर्नुपर्छ" भन्ने व्यवस्था रहेको देखिन्छ । मुलुकी ऐन दण्ड सजायको ८ नं. बमोजिम जन्मकैदको ठुलो सजाय भएपछि अरू सजाय नखापिने हुँदा निज पुनरावेदक/प्रतिवादीहरूलाई जन्मकैदको मात्र सजाय हुने देखिन्छ ।
२०. पाँचौं प्रश्न, पुनरावेदन अदालत बागलुङबाट पुनरावेदक/प्रतिवादीहरूलाई जन्मकैदको सजाय ठहर गरी भएको फैसला सदर गर्ने गरी भएको यस अदालत संयुक्त इजलासको फैसला मिले नमिलेको सम्बन्धमा हेर्दा, माथि विवेचना भएबमोजिम यी पुनरावेदक/प्रतिवादीहरूसमेत भई समूहमा रही परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई जबरजस्ती करणी गरी ढुङ्गाले टाउकोमा हानी कर्तव्य गरी मृतकको मृत्यु भएको भन्ने कसुर अपराध पुष्टि भएको
देखियो । तर कुन प्रतिवादीको चोट/प्रहारबाट मृतकको मृत्यु भएको भन्ने मिसिलबाट यकिन हुन नसकी यसैले मारेको वा यसैका चोटले मरेको भन्ने कुरा सो हातहतियार छाड्ने कसैउपर कुनै प्रमाणबाट देखिने ठहर्न नआएको स्थितिमा सबैलाई जन्मकैद गर्नुपर्ने स्थितिमा निज पुनरावेदक/ प्रतिवादीहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम जन्मकैदको सजाय ठहर गरेको पुनरावेदन अदालत बागलुङको फैसलालाई सदर गर्ने गरी भएको यस अदालत संयुक्त इजलासको फैसला मनासिब देखिँदा अन्यथा गरिरहनुपर्ने देखिएन ।
२१. छैठौं सवाल, यस अदालत संयुक्त इजलासको मिति २०७५।०१।३१ को फैसला पुनरावलोकन गरी हेरिपाउँ भन्ने निवेदनमा यी पुनरावेदक/प्रतिवादीहरूले संयुक्त इजलासको फैसला पुनरावलोकन हुनुपर्ने भनी पेस गरेका जिकिर पुग्नसक्ने हो, होइन भनी विचार गर्दा, जाहेरवालालगायत वादी पक्षका साक्षीहरू कोही पनि प्रत्यक्षदर्शी नभएकोमा आशंका र विश्वासका भरमा लेखाइदिएको बेहोरालाई प्रमाणमा लिई कसुरदार ठहर गरी सजाय गरेको नमिलेको भनी जिकिर लिए पनि वस्तुनिष्ठ प्रमाणबाट पुष्टि गर्न सकेको देखिँदैन । जाहेरवालालगायत वादीका साक्षीहरूले लेखाएको बेहोरा मिसिलबाट देखिएका माथि विवेचित परिस्थितिजन्य प्रमाणहरूबाट समर्थित भएको देखियो । प्रतिवादीहरूले वारदात गराएको प्रत्यक्ष देख्ने साक्षी प्रमाणको विद्यमानता नदेखिए तापनि मिसिल सामेल घटनास्थल मुचुल्का, मृतकको शव परीक्षण प्रतिवेदन र प्रतिवादीहरूको तत्कालै भएको स्वास्थ्य जाँच प्रतिवेदन जस्ता अप्रत्यक्ष वा परिस्थितिजन्य प्रमाणबाट दोषी देखिइरहेको स्थितिमा कसुरदार ठहर गरी सजाय गरेकोलाई अन्यथा भन्न मिल्ने देखिएन । अपराधीले सकभर आफ्नो अपराध समाजबाट लुकाउन खोज्ने प्रवृत्ति रहने हुँदा सबै वारदात घटनामा प्रत्यक्षदर्शी वा प्रत्यक्ष प्रमाण हुन्छ नै भन्ने हुँदैन । तर प्रत्यक्ष प्रमाण नभएको स्थितिमा पनि मिसिलबाट देखिएका तथ्यले के बोलिरहेका छन र ती तथ्यहरू वारदातको परिस्थिति र परिस्थितिजन्य प्रमाणहरूबाट समर्थित भएको अवस्था छ, छैन हेरी विवादको निरूपण गरिनु आवश्यक हुन्छ । त्यसैगरी मुख्य अभियुक्तसँग कुनै सल्लाह सहमतिमा नरहेको, घटनामा सामेल नरहेको र परिस्थितिजन्य प्रमाणले पनि हाम्रो संलग्नता पुष्टि हुँदैन भनी पुनरावेदक प्रकाश भन्ने निशान के.सी. र अमृत कुँवरले जिकिर गरेकोमा अधिकारप्राप्त अधिकारीसमक्ष कसुरमा साबित रहेका प्रतिवादी गणेशले वारदात भएको मिति समयमा यी पुनरावेदकहरूलाई वारदातस्थल नजिक वर्तनेको पुलमा देखेको भनी लेखाइदिएकोले भेटघाट र सम्पर्क भएको देखिँदा मुख्य अभियुक्त भनिएका प्रतिवादी गणेशसँग यी पुनरावेदक/प्रतिवादीहरूको सल्लाह सहमति भएकै मान्नुपर्ने र १५ वर्षको नाबालिग मृतकलाई सामूहिक रूपमा जबरजस्ती करणी गरी हत्यासमेत गरेको जघन्य फौजदारी अपराध भए गरेको कुरा माथि विवेचित वारदात सम्बद्ध तथ्य र परिस्थितिजन्य प्रमाणले पुष्टि भएको देखिएको अवस्थामा निज पुनरावेदकहरूको संलग्नता नरहेको भनी मान्न मिल्ने देखिएन । प्रत्यक्ष प्रमाण नभएको भनी अभियुक्तलाई सफाइ दिँदै जाने हो भने परिस्थितिजन्य प्रमाणको मर्म र औचित्य नै समाप्त हुन जाने
देखिन्छ । यस स्थितिमा प्रत्यक्ष प्रमाणबेगर कसुरदार ठहर गर्न नमिल्ने भन्ने पुनरावेदक/प्रतिवादीहरूको जिकिर मनासिब मान्न सकिएन ।
२२. यसप्रकार माथि विवेचित प्रस्तुत वारदातको प्रकृति र स्वरूप एवम् परिस्थितिजन्य प्रमाणबाट यी पुनरावेदक/प्रतिवादीहरूसमेत भई समूहमा रही मृतकलाई जबरजस्ती करणी गरी ढुङ्गाले टाउकोमा हानी हत्यासमेत गरेको भन्ने तथ्य शंकारहित तवरले पुष्टि हुन आएको स्थितिमा पुनरावेदकहरूले यस अदालत संयुक्त इजलासको फैसला पुनरावलोकन गरी हेरिपाउँ भनी दिएको निवेदनमा पुनरावेदकहरूले जिकिर लिँदा आधारका रूपमा प्रस्तुत गरेका नजिरहरूसमेत यस मुद्दाका सन्दर्भमा आकर्षित हुनसक्ने अवस्था पनि
देखिँदैन । यस स्थितिमा अभियोग दाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदक/प्रतिवादीहरूको जिकिर तथा पुनरावेदक/प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान् कानून व्यवसायीहरूले गर्नुभएको बहस जिकिरसँग सहमत हुन सकिएन ।
२३. अत: यी पुनरावेदक/प्रतिवादीहरूउपर परेको किटानी जाहेरी दरखास्त, घटनास्थल प्रकृति मुचुल्का, मृतकको शव परीक्षण प्रतिवेदनलगायतका परिस्थितिजन्य प्रमाणसमेतबाट परिवर्तित नाम सर्वोच्च-१ पर्वतको मृत्यु स्वाभाविक नभई निजलाई जबरजस्ती करणी गरी कर्तव्य गरी मारेको भन्ने पुष्टि भएको, यी पुनरावेदक/प्रतिवादीहरूको इन्कारी बयान प्रमाणबाट पुष्टि हुन नसकेको, हातमा हँसिया लिएकी मृतकलाई रक्सीले मातेका एक जना प्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवरले मात्र जबरजस्ती करणी गरी मार्न सक्ने अवस्था नरहेको, वारदातको अघि र पछि प्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवरसँगै बलबहादुर भन्ने बुधबहादुर दिनभरजसो सँगै रहेको देखिएको, वारदातपछि टंक चापागाईको मोबाइल पसलमा यी पुनरावेदक/प्रतिवादीहरू सँगै रहेको देखेको भनी बुझिएका व्यक्तिहरूले बकपत्रसमेत गरेको, यी पुनरावेदकहरूबिच भेटघाट सम्पर्क भएको देखिएको, प्रतिवादीहरूको स्वास्थ्य परीक्षणबाट निजहरूको हात पाखुरामा चिथोरेको जस्तो चोट देखिएको र उक्त चोट लाग्नुको कारण खुलाउन नसकेको, पीडित मृतकको शव परीक्षणसमेतबाट मृतकको यौनाङ्गमा देखिएको गहिरो घाउ चोटबाट सामूहिक रूपमा घटना भएको होइन भनी मान्न मिल्ने नदेखिएको, घटनास्थल मुचुल्काबाट वारदातस्थलको खेतमा धान माडिएको देखिएको, मृतकको टाउको ठोक्किएको भनिएको खेतको भित्तामा ढुङ्गा नदेखिएको, मृतकको पेन्टी वारदातस्थलभन्दा केहीपर भेटिएको बरामदी मुचुल्काबाट देखिएको जस्ता परिस्थितिजन्य प्रमाणबाट प्रतिवादी गणेश भन्ने तेजबहादुर कुँवरका साथै यी पुनरावेदकहरू बलबहादुर भन्ने बुधबहादुर पौडेल क्षेत्री, प्रकाश भन्ने निशान के.सी. र अमृत कुँवरले परिवर्तित नाम सर्वोच्च-१ पर्वतलाई जबरजस्ती करणी गरी ढुङ्गाले टाउकोमा हानी सोही चोट पिरका कारण मृतकको मृत्यु भई कर्तव्य गरी मारेको भन्ने अभियोग पुष्टि भएको स्थितिमा निज प्रतिवादीहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ नं. र १३ नं. को देहायको (३) नं. का साथै ऐ. को जबरजस्ती करणीको महलको ३ नं.को देहायको (३) नं. र ३क. नं.समेत बमोजिमको कसुर गरेकोमा जन्मकैदको सजाय हुनेमा मुलुकी ऐन दण्ड सजायको महलको ८ नं. बमोजिम जन्मकैदको ठुलो सजाय भएपछि अरू सजाय नखापिने हुँदा निज पुनरावेदक प्रतिवादीहरूलाई जन्मकैदको सजाय ठहर गरेको पुनरावेदन अदालत बागलुङबाट भएको फैसलालाई सदर गर्ने गरी यस अदालत संयुक्त इजलासबाट मिति २०७५।०१।३१ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक/प्रतिवादीहरूको पुनरावलोकन निवेदन जिकिर पुग्न सक्दैन । पीडित मृतक १५ वर्षकी नाबालिग भएको देखिएको सन्दर्भमा निज पीडित मृतक र निजका परिवारका सदस्यहरूको प्रतिष्ठाको विषय पीडितको मृत्युपर्यन्त पनि उत्तिकै सान्दर्भिक रहने भएकाले निजहरूको परिचय गोप्य राख्नुपर्ने देखिन आयो । त्यसैले पीडित मृतकको वास्तविक नामको सट्टामा साङ्केतिक नाम सर्वोच्च-१ पर्वत, जाहेरवालाहरू क्रमशः पीडित मृतकका हजुरबुबाको साङ्केतिक नाम सर्वोच्च-२ पर्वत, बुबाको साङ्केतिक नाम सर्वोच्च-३ पर्वत र घटना विवरण कागज गर्ने पीडित मृतककी आमाको साङ्केतिक नाम सर्वोच्च-४ पर्वत कायम गरिदिएको छ । यसैअनुरूप पीडित मृतक, जाहेरवालाहरू र कागज गर्नेको परिवर्तित नाम कायम गरी गोपनीयता कायम राख्नु भनी सुरू पर्वत जिल्ला अदालत र उच्च अदालत पोखरा, बागलुङ इजलासमा लेखी पठाइदिनू । प्रस्तुत फैसला यस अदालतको विद्युतीय मुद्दा व्यवस्थापन प्रणालीमा प्रविष्ट गरी उक्त फैसलाको जानकारी कैदमा रहेका पुनरावेदक/प्रतिवादीहरूका साथै महान्यायाधिवक्ताको कार्यालयसमेतलाई दिई प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा हामी सहमत छौं ।
न्या.अनिलकुमार सिन्हा
न्या.प्रकाशकुमार ढुङ्गाना
इजलास अधिकृत (उपसचिव): टीकाबहादुर थापा
इति संवत् २०७९ मङ्सिर १५ गते रोज ५ शुभम् ।