शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १११७८ - जालसाजी

भाग: ६५ साल: २०८० महिना: माघ अंक: १०

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा

माननीय न्यायाधीश श्री नहकुल सुवेदी

फैसला मिति : २०७९।१।२९

०७३-CR-०९१८

 

मुद्दाः- जालसाजी

 

पुनरावेदक / वादी : ललितपुर जिल्ला, लेले गा.वि.स. वडा नं. १ वैकटोल घर भई हाल काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. २८ नरदेवी बस्ने बट्टाई नेपालीको छोरा दिलीपकुमार नेपालीसमेत

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : ललितपुर जिल्ला, लेले गा.वि.स. वडा नं. १ बस्ने खुन्ते नेपालीको छोरा बट्टाई नेपाली (दमाई) समेत

 

जग्गाको हक हस्तान्तरण गर्ने कार्य देवानी कारोबार भए तापनि मुलुकी ऐन, किर्ते कागजको ३ नं. मा परिभाषित “जालसाजी” एक फौजदारी कार्य भएकोले सोको पुष्टि हुन कर्ताको बदनियत तत्त्व स्थापित हुनुपर्ने । घरको मुख्य भई कार्य गरेका व्यक्तिले घर व्यवहार चलाउन असल नियतले गरेको काम कारबाही परिस्थितिको परिवर्तन वा अन्य अनपेक्षित अवस्था सिर्जना भएका कारण जालसाजीमा परिणत हुन नसक्ने ।

(प्रकरण नं. ४)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बच्चु सिंह खड्का

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून : 

 

सुरू तहमा फैसला गर्ने:

मा. जि. न्या. श्री लेखनाथ ढकाल

ललितपुर जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने:

मा. मु. न्या. श्री केशरीराज पण्डित

मा. न्या. श्री विष्णुदेव पौडेल

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या. नहकुल सुवेदी : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्राप्त भई पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः-

तथ्यगत बेहोरा

प्रतिवादी पिता बट्टाई दमाई (नेपाली) दिने लिने विमला दाहाल भएको ललितपुर जिल्ला, लेले गा.वि.स. वडा नं. ३(ग) कि.नं. ३०८ को क्षेत्रफल ०-१४-२-० जग्गा र. नं. ८९५३(क) मिति २०६२।१०।४ मा पारित गरी लिएको लिखतको ३ भागमध्ये हामी फिरादीहरूको हुन आउने २ भाग लिखत जालसाजी घोषित गरी एवं किर्ते कागजको ३ नं.बमोजिम प्रतिवादीहरूलाई सजाय गरिपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी ।

मैले वादीहरूको हक जाने कुनै किसिमको जालसाजी कार्य नगरी कानूनबमोजिम नै प्रतिवादी बट्टाई दमाई नेपालीका नाममा रहे भएको निजको एकलौटी दर्ता स्रेस्ताको अंशियार छोराको मन्जुरी लिन नपर्ने आफूखुस गर्न पाउने निजी सम्पत्ति निज बट्टाई दमाईले सहकारीबाट ऋण लिई रोक्का भएको जग्गाको ऋण म विमलाले बुझाई रोक्का फुकुवा गराई सम्बन्धित मालपोत कार्यालयबाट कानूनबमोजिम मिति २०६२।१०।४ मा र.नं. ८९५३(क) बाट राजीनामाको लिखत रजिस्ट्रेसन गरी लिएको हो । जालसाजीपूर्ण तरिकाले लिखत गरेको होइन, हकदैया, हदम्यादविहीन फिराद दाबी खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी विमला दाहालको प्रतिउत्तर 

जिकिर ।

प्रतिवादी बट्टाई नेपाली दमाईको नाउँको म्याद मिति २०६७।१।१३ मा तामेल भएकोमा निजले सोको म्याद गुजारी प्रतिउत्तर नफिराई सुरू म्यादै गुजारी बसेको । 

छोराहरूलाई थाहा जानकारी नै नदिई, नसोधी बुबाले जग्गा बेचेको हुन् । जग्गा पिता पुर्खाको हो, छोराहरूलाई जानकारी नदिई बेचेको हुँदा किर्ते जालसाजी नै हो भन्नेसमेत बेहोराको वादीको साक्षी राम नेपालीले सुरू अदालतमा गरेको बकपत्र ।

फाइनान्समा ऋण छ, तपाइँले जग्गा लिई दिनुहोस्, म ऋण तिर्छु भनी अनुरोध गरेका कारण यो जग्गा लिइएको हो । मिति २०६२।१०।४ गते नै फाइनान्सको ऋण चुक्ता गरी रोक्का जग्गा फुकुवा गरी सोही दिन जग्गा पास गरेको हो, त्यसकारण यो जालसाजी होइन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी पवन दाहालले सुरू अदालतमा गरेको बकपत्र । 

दिने बट्टाई नेपाली र लिने विमला दाहाल भई मिति २०६२।१०।४ मा पारित र.नं. ८९५३(क) को राजीनामा लिखतको ३ भागको २ भाग जालसाजी घोषित गरी प्रतिवादीहरूलाई सजाय गरिपाउँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत बेहोराको सुरू ललितपुर जिल्ला अदालतको मिति २०६८।२।२३ को फैसला ।

ललितपुर जिल्ला अदालतले हामी वादी / प्रतिवादी एकासगोलका अंशियार हो भन्ने कुरा प्रतिवादी विमला दाहाललाई जानकारी हुँदाहुँदै हामीलाई थाहा जानकारी नदिई साक्षी नराखी हाम्रो अंश हक मेटिने गरी जग्गा पारित गरी लिनुदिनु गरेको कार्य किर्ते कागजको ३ नं.विपरीत छ । विमला दाहालले लिएको कि.नं. ३०८ को जग्गा हाम्रो हक जतिमा जालसाजी घोषित गर्नुपर्नेमा वादी दाबी नपुग्ने ठहर गरेको सुरू जिल्ला अदालतको मिति २०६८।२।२३ को फैसला बदर गरिपाउँ भन्नेसमेत बेहोराको वादीहरूको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।

यसै लगाउको दु.फौ.नं. ६९४ को जालसाजी मुद्दामा वादी दाबी पुग्न नसक्ने ठहरी भएको फैसलामा उल्लिखित आधारसमेतबाट वादी दाबी नपुग्ने भनी सुरूले गरेको फैसला परस्पर बाझिएको देखिन आई फरक पर्न सक्ने देखिँदा छलफलको लागि अ.बं. २०२ नं.बमोजिम प्रत्यर्थी झिकाई आएपछि पेस गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६८।१०।१५ को आदेश ।

वादी दाबी पुग्न नसक्ने ठहर्‍याई सुरू ललितपुर जिल्ला अदालतबाट मिति २०६८।२।२३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनको मिति २०६९।४।११ मा भएको फैसला ।

हामी फिरादीहरू र प्रतिवादी पिता बट्टाई दमाई एकासगोलको अंशियार भएको र विवादित सम्पत्ति पैतृक सम्पत्ति हो भन्नेमा विवाद छैन । त्यसैगरी पिता बट्टाई दमाइले प्रतिवादी विमला दाहाललाई मिति २०६२।१०।४ मा राजीनामा पारित गरी हक हस्तान्तरण गर्दा हामी एकासगोलका अंशियारहरूको मन्जुरी लिई वा लिखत साक्षी राखी लिखत पारित गरिदिएको अवस्था छैन । प्रतिवादी विमला दाहालले राजीनामा पारित गरी लिएको सम्पत्ति हामी अंशियारहरूको निर्विवाद अंश हकको सम्पत्ति हो । हाम्रोसमेत अंश लाग्ने सम्पत्ति प्रतिवादी विमला दाहालले हक हस्तान्तरण गरी लिएका 

हुन । हामी फिरादीहरूको निर्विवाद अंश हक लाग्ने सम्पत्ति प्रतिवादी विमला दाहाललाई गरिदिएको मिति २०६२।१०।४ को लिखत तीन भागको दुई भाग जालसाजी ठहर गर्नुपर्नेमा जालसाजी ठहर नगरेको पुनरावेदन अदालत पाटनको फैसला किर्ते कागजको ३ नं. को कानूनी व्याख्याको गम्भीर त्रुटि भएको छ । तसर्थ, एकासगोलको पैतृक एवं सगोलको सम्पत्तिलाई हाम्रो हक मेटिने गरी लिखत गरी लिनुदिनु गरेको भन्ने कुरा प्रमाणित हुँदाहुँदै पनि जालसाजी ठहर नगरी वादी दाबी नपुग्ने ठहर गरी भएको फैसला मुलुकी ऐन, अ.बं.१८४(क),१८५, किर्ते कागजको ३ नं., प्रमाण ऐन, २०३१ को दफा ३, २७, ३४ तथा ५४ को प्रतिबन्धात्मक वाक्यांशको कानूनी व्याख्याको गम्भीर त्रुटि भएको हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) को आधारमा निस्सा दिलाइपाउँ भन्नेसमेत बेहोराको निवेदनपत्र ।

लगाउको ०७०-RI-१०२३ को जालसाजी मुद्दामा आज यसै इजलासबाट साबिक न्याय प्रशासन ऐन तथा हाल प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) र (ख) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएकोले प्रस्तुत मुद्दा सो मुद्दासँग अन्तरप्रभावी भएको हुँदा प्रस्तुत मुद्दामा समेत दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ । नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतको मिति २०७३।९।२० मा भएको आदेश ।

यस अदालतको ठहर

नियमबमोजिम आजको दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको सम्बन्धित मिसिल अध्ययन गरी पुनरावेदक वादीहरूका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री बच्चु सिंह खड्काले एकासगोलको अंशियार छोराहरूको मन्जुरीबेगर प्रतिवादी बट्टाई दमाईले विमला दाहाललाई जालसाजीपूर्वक मिति २०६२।१०।४ मा गरिदिएको राजीनामाको लिखत जालसाजी ठहर गर्नुपर्नेमा वादी दाबी नपुग्ने ठहर गरेको ललितपुर जिल्ला अदालतको फैसला सदर गर्ने गरेको उच्च अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी फिराद दाबीबमोजिम जालसाजी घोषित गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।

यसमा, प्रतिवादी पिता बट्टाई दमाई दिने तथा विमला दाहाल लिने भई ललितपुर जिल्ला, लेले गा.वि.स. वडा नं. ३(ग) कि.नं. ३०८ क्षेत्रफल ०-१४-२-० को जग्गा र.नं. ८९५३(क) मिति २०६२।१०।४ मा पारित भएको राजीनामाको लिखतको ३ भागको २ भाग लिखत जालसाजी घोषित गरी किर्ते कागजको ३ नं.बमोजिम सजाय गरिपाउँ भन्ने फिराद दाबी रहेको र प्रतिवादीमध्येका बट्टाई दमाईको प्रतिउत्तर नपरेको तथा प्रतिवादी बट्टाई दमाईको नाममा रहेको अंशियार छोराहरूको समेत मन्जुरी लिनु नपर्ने, बट्टाई दमाईले सहकारीबाट ऋण लिई रोक्का रहेको जग्गा म विमला दाहालले बट्टाई दमाईको नामबाट उक्त ऋण तिरी रोक्का जग्गा फुकुवा गराई राजीनामाको लिखत रजिस्ट्रेसन गरी लिएको हो । मैले वादीहरूको हक जाने कुनै किसिमको जालसाजी कार्य नगरेकोले हकदैया, हदम्यादविहीन फिराद खारेज गरिपाउँ भन्नेसमेत बेहोराको विमला दाहालको प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा वादी दाबी पुग्न नसक्ने ठहरी सुरू ललितपुर जिल्ला अदालतबाट भएको फैसला सदर गरी पुनरावेदन अदालत पाटनबाट मिति २०६९।४।११ मा फैसला भएको पाइयो । सो फैसलाउपर मुद्दा दोहोर्‍याइपाउँ भनी वादीहरूको तर्फबाट यस अदालतमा परेको निवेदनउपर मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा प्रस्तुत मुद्दा पेस हुन आएको देखिन्छ ।

उल्लिखित तथ्य तथा बहस बुँदा भएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनबाट मिति २०६९।४।११ मा भएको फैसला मिलेको छ, छैन ? वादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. अब निर्णयतर्फ विचार गर्दा, पुनरावेदक वादी दिलीपकुमार नेपाली र चन्द्रबहादुर नेपाली प्रतिवादी बट्टाई दमाईको एकसगोलको अंशियार छोराहरू भएको तथ्यमा विवाद देखिँदैन । प्रतिवादी बट्टाई दमाईले आफ्नो नाममा रहेको जिल्ला ललितपुर, लेले गा.वि.स. वडा नं. ३(ग) कि.नं. ३०८ क्षेत्रफल ०-१४-२-० को जग्गा र.नं. ८९५३(क) बाट मिति २०६२।१०।४ मा प्रतिवादी विमला दाहाललाई राजीनामाको लिखत रजिस्ट्रेसन पारित गरिदिएको देखिन्छ । सो लिखत एकासगोलका अंशियार छोरा हामीहरूको अंश हक मेट्ने उद्देश्यले हाम्रो मन्जुरीसमेत नलिई जालसाजीपूर्ण तरिकाले लिनुदिनु गरेको भन्ने पुनरावेदक वादीको मुख्य जिकिर देखिन्छ ।

३. मुलुकी ऐन, किर्ते कागजको ३ नं. मा “अर्काको हक मेट्ने, हदम्याद तारिख जाने वा कुनै तरहसँग नोक्सान पार्ने इत्यादि जुनसुकै मतलबले होस्, नगरे नभएको झुठ्ठा कुरा गरे भएको हो भनी वा मिति अङ्क वा बेहोरा फरक पारी सहीछाप गरी गराई कागज बनाए वा बनाउन लगाएमा समेत जालसाजी गरेको ठहर्छ” भन्ने कानूनी व्यवस्था रहेको पाइयो । उक्त कानूनी व्यवस्थाअनुसार जालसाजीको क्रिया स्थापित हुनको लागि अर्काको हक मेट्ने, हदम्याद तारिख जाने वा कुनै तहरसँग नोक्सान पार्ने नियतले नगरे नभएको झुठ्ठा कुरा गरे भएको हो भनी वा मिति, अङ्क वा बेहोरा आदि फरक पारी कुनै कागज गरे गराएको हुन आवश्यक देखिन्छ । प्रस्तुत विवादको सन्दर्भमा हेर्दा प्रतिवादी बट्टाई दमाई घरको मुख्य भई कामकाज गर्ने व्यक्ति हुन् भन्ने तथ्य फिराद लेखबाट नै स्पष्ट 

हुन्छ । निजले आफ्नो नाउँको विवादित कि.नं. ३०८ को जग्गा तिलेश्वर सहकारी संस्था लि. चापागाउँमा धितो राखी ऋण लिँदा रोक्का राखेकोमा सोही जग्गा फुकुवा गर्न उक्त संस्थाको रू.१,४३,१३८।– ऋण रकम प्रतिवादीमध्येकी विमला दाहालले बट्टाई नेपालीको नामबाट तिरेको तथ्य प्रतिवादी विमला दाहालको प्रतिउत्तरबाट देखिन्छ । उक्त तथ्य प्रतिवादीका साक्षी पवन दाहालको बकपत्रबाट समेत समर्थित हुन्छ । पुनरावेदक वादीले सो तथ्यलाई अन्यथा भन्न सकेको नदेखिँदा प्रतिवादी विमला दाहालले वादीका पिता बट्टाई दमाईले सहकारी संस्थामा धितो राखी कर्जा लिएको जग्गा रोक्का फुकुवा गर्न रकम तिरेको र सोही जग्गा निज प्रतिवादी बट्टाई दमाईले प्रतिवादी बिमला दाहाललाई मिति २०६२।१०।४ मा र.नं. ८९५३(क) बाट राजीनामाको लिखत पारित गरिदिएको देखिन आउँछ । 

४. यस प्रकार, प्रतिवादी बट्टाई दमाईले ऋण कर्जामा धितो राखेको जग्गा अर्का प्रतिवादी बिमला दाहालले ऋण तिरी फुकुवा गरेपछि निजले रजिस्ट्रेसन पारित गरिदिएको कार्यलाई यी वादीहरूको हक मेट्ने वा निजहरूलाई नोक्सान पार्ने नियतले गरेको भन्ने देखिँदैन । पिता बट्टाई दमाईले आफ्ना छोराहरू यी वादीहरूको अंश हक मारी उनाउ व्यक्ति प्रतिवादी विमला दाहाललाई उक्त जग्गा जालसाजपूर्ण तरिकाले रजिस्ट्रेसन पारित गरिदिनुपर्ने चित्त बुझ्दो आधार, कारण पनि मिसिलबाट खुल्न आउँदैन । वस्तुतः जग्गाको हक हस्तान्तरण गर्ने कार्य देवानी कारोबार भए तापनि मुलुकी ऐन, किर्ते कागजको ३ नं. मा परिभाषित “जालसाजी” एक फौजदारी कार्य भएकोले सोको पुष्टि हुन कर्ताको बदनियत तत्त्व स्थापित हुनुपर्छ । घरको मुख्य भई कार्य गरेका व्यक्तिले घर व्यवहार चलाउन असल नियतले गरेको काम कारबाही परिस्थितिको परिवर्तन वा अन्य अनपेक्षित अवस्था सिर्जना भएका कारण जालसाजीमा परिणत हुन सक्दैन । प्रस्तुत मुद्दामा प्रतिवादी बट्टाई दमाईले पुनरावेदक वादीको हक मार्ने नियतले उल्लिखित कारोबार गरेको पुष्टि हुन नआएबाट र.नं. ८९५३(क), मिति २०६२।१०।४ को लिखतलाई जालसाजीपूर्वक खडा भएको भनी मान्न मिलेन । वादी दाबी पुग्न नसक्ने ठहर्‍याएको सुरू ललितपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मनासिब देखिँदा अन्यथा गर्नुपर्ने देखिएन ।

५. अतः माथि विवेचित आधारण कारणबाट मिति २०६२।१०।४ को पारित लिखत जालसाजी घोषित गरिपाउँ भन्ने फिराद दाबी पुग्न नसक्ने ठहर्‍याई सुरू ललितपुर जिल्ला अदालतको मिति २०६८।२।२३ को फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०६९।४।११ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको विद्युतीय प्रति कम्प्युटर प्रणालीमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. ईश्वरप्रसाद खतिवडा

 

इजलास अधिकृत:- डल्लुराम चौधरी

इति संवत् २०७९ साल वैशाख २९ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु