निर्णय नं. १११८१ - जबरजस्ती करणी गरी कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
फैसला मिति : २०७९।५।१
०७५-CR-२३२५
मुद्दा : जबरजस्ती करणी गरी कर्तव्य ज्यान
पुनरावेदक / प्रतिवादी : धनुषा जिल्ला, उमाप्रेमपुर गा.वि.स. वडा नं.४ घर भई हाल कारागार कार्यालय सिन्धुलीमा थुनामा रहेको सहिदुल राईन
विरूद्ध
विपक्षी / वादी : बिमला कापरको जाहेरीले वादी नेपाल सरकार
परिस्थितिजन्य प्रमाणहरूका साथै चस्मदिद व्यक्तिले गरेको बकपत्रसमेतबाट आरोपितले कसुर गरेको पुष्टि भएको देखिँदा लास decomposed भई मृत्युको कारण नखुलेको अवस्थामा विशेषज्ञ डाक्टरले बकपत्र नगरेकै कारण प्रतिवादी निर्दोष रहेको भन्ने जिकिरसँग सहमत हुन नसकिने ।
(प्रकरण नं.५)
पुनरावेदक / प्रतिवादीका तर्फबाट :
विपक्षी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
मुलुकी अपराध संहिता, २०७४
केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४
सुरू तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री कैलास के.सी
धनुषा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
मा.मुख्य न्यायाधीश श्री उदय प्रकाश चापागाई
माननीय न्यायाधीश श्री नातिबाबु लामिछाने
उच्च अदालत जनकपुर
फैसला
न्या.सुष्मालता माथेमा : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः
तथ्य खण्ड
जिल्ला धनुषा, यज्ञभूमि गा.वि.स. वडा नं. ७ स्थित पूर्वमा वेंगाडावरको जंगल, पश्चिम, दक्षिण र उत्तरमा समेत वेंगाडावरकै जंगलको बिच भागमा श्री मालटोल सामुदायिक वनभित्र पर्ने चिराइते खोलाको पूर्वपट्टि किनारमा रहेको हलुरेको रूखमा नाम थर वतन यकिन नखुलेकी अं.वर्ष २० की तराई मूलकी रातो कुर्ता हरियो सुरूवाल लगाएकी महिला मानिसको दुवै खुट्टा भुइँमा छोएको हरियो सलले पासोमा उत्तरतर्फ फर्केको झुन्डिई मृत अवस्थामा झिँगा लागि दुर्गन्धित अवस्थामा फेला परेको लासको अनुहारको अवस्था सडीगली सकेको, आँखा सुन्निएर किरा लागेको, जिब्रो बाहिर निस्की औँसा परेको, घाँटी सुन्निएको र सलको डाम रहेको, दुवै हात सुन्निएको, बायाँ हातअगाडि दाहिने हात पछाडि भएको, दुवै खुट्टा सुन्निएको, बायाँ खुट्टा अगाडि, दायाँँ खुट्टा पछाडि भई लत्रेको, जिउभरि फोका उठेको, पेट सुनिएको, मलद्वारबाट दिसा आएको र योनिद्वारमा रगत र वीर्य जस्तो तरल पदार्थ रहेको भन्ने बेहोराको घटनास्थल तथा लास जाँच मुचुल्का ।
मिति २०७०।३।२८ गतेका दिन अं.११:०० बजेको समयमा मेरो नाबालिक नातिनी वर्ष १५ की आरती कुमारी घरबाट निस्की गएकोमा खोजतलास गर्ने क्रममा मिति २०७०।३।३० गते इलाका प्रहरी कार्यालयमा यज्ञभूमिबाट मुर्गिया टोलको टिकटिक खोलानजिक जंगलमा लास फेला परेको भन्ने खबर पाई उक्त स्थानमा मसमेत गई हेर्दा मृतक नातिनीको लास हलुरेको रूखमा दुवै खुट्टा भुइँमा लतारिएको अवस्थामा देखी मेरो नातिनीको लास हेरी देखी सनाखतमा समेत गरी लास कानूनबमोजिम गरी दाह संस्कारको लागि जिम्मा पाऊँ । पछि खुलेको बखत कानूनबमोजिम किटानी जाहेरी दिने नै छु भन्ने बेहोराको सुरू जाहेरी दरखास्त ।
The body is decomposed so cause of death can’t be ascertained भन्ने बेहोराको मृतकको शव परीक्षण प्रतिवेदन ।
म जाहेरवालीको माइली छोरी वर्ष १२ की मनिषाकुमारी आफ्नो घर आँगन बढारिरहेको अवस्थामा जाहेरीमा उल्लिखित प्रतिवादीमध्ये हरिदेव ठाकुर मेरो घरमा आई मेरी जेठी छोरी कहाँ छ भनी छोरी मनिषालाई सोधेपछि निजले घरमै छ भनेपछि निजलाई बोलाइदेउ भनी मेरी जेठी छोरी आरती घरबाहिर निस्की किन भनी निजलाई सोधपुछ गर्दा तिमीसँग विद्यालयमा काम छ भनी मिति २०७०।३।२८ गते श्री नि.मा.वि. हरिपुर निगाहपुरमा बोलाई विपक्षीहरूले सोही स्कुलबाट नम्बर यकिन नभएको मोटरसाइकलमा जबरजस्ती तानी राखी जिल्ला धनुषा, गा.वि.स. यज्ञभूमि वडा नं.७ स्थित मुर्गिया जंगलमा लगी सबै विपक्षीहरूले पालै पालो जबरजस्ती करणी गरी कर्तव्य गरी मारी निजले नै लगाएको सलले घाँटीमा रूखमा झुन्ड्याई फरार भएका हुन् । मिति २०७०।४।६ गते मुर्गिया जंगलको टिकटिके खोलानजिक झुन्डिरहेको अवस्थामा फेला परेको हुँदा निजहरूलाई पक्राउ गरी कानूनबमोजिम गरिपाउँ भन्ने बेहोराको मिति २०७०।४।६ गतेको जाहेरी दरखास्त ।
मिति २०७०।३।२८ गतेका दिन अं.११:०० बजेको समयमा जाहेरवालीको छोरी वर्ष १५ की आरतीकुमारी कापरलाई मसमेतको योजनाअनुसार मैले हरिदेव ठाकुरलाई निजको घरमा गई केही काम छ भनी स्कुलसम्म बोलाई ल्याउनु भनी पठाएको र निज साथी हरिदेवले मृतकको घरमा गई तिमीसँग नि.मा.वि. स्कुल हरिपुर निगाहपुरमा काम छ भनी बोलाई ल्याएको र सो स्थानमा मेरो साथी रमेश ठाकुर, मेरो काका नाता पर्ने हाकिम राईन, साथी बुदुर भन्ने सरिफ राईनसमेत बसिरहेको र केही समयपछि हरिदेव ठाकुरले आरतीलाई बोलाई ल्याएपछि केही समय निज र म सोही स्कुलमा बसी गफ गरिरहेको र निजसँग मेरो पहिलेदेखि नै प्रेम सम्बन्ध भएकोले सो स्कुलमा आई निजले मलाई तपाइँसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी छु भनी पहिलेदेखि नै भनेको र म तपाइँसँग विवाह गर्छु भन्ने प्रस्ताव राखेपछि मैले योजनाअनुसार निजलाई विवाह गर्छु भनी फकाइ सो स्कुलबाट निजको हात समाई दुवैजना स्कुलदेखि केही उत्तरतर्फ गइसकेपश्चात् पछाडिबाट आएका साथी हरिदेव ठाकुर, रमेश ठाकुर, बुदुर भन्ने सरिफ राईन मियाँ र काका हकिम राईनसमेत आई निज मृतकलाई मेरो साथी रमेश ठाकुरको घरमा पुर्याई केही समय निजको घरमा नै बसी अब हामी विवाह गर्नुपर्छ भनी मैले बहाना बनाई निज आरतीकुमारी कापरलाई घटनास्थलको मुर्गिया जंगलमा पुर्याई पहिलो पटक निजलाई मैले करणी गरी मेरो वीर्य स्खलन भएपछि म सो स्थानबाट उठिसकेपश्चात् साथीहरू र काका नाता पर्नेसमेतले पालैपालो जबरजस्ती करणी गरेपछि आरतीकुमारी कापर बेहोस भएपछि सबैजना साथीहरूले घाँटी थिची मार्ने क्रममा निजको मलद्वारबाट दिसा निस्केको र निजले नै लगाएको सलले नै घाँटीमा बाँधी सबैजना भई उठाई सोही घटनास्थल नजिक रहेको हलुरेको रूखमा झुन्ड्याई मारी फरार भएको हो भन्नेसमेत बेहोराको पक्राउ प्रतिवादी सहिदुल राईनले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
मिति २०७०।३।२८ गते म जिल्ला धनुषा, उमाप्रेमपुर ३ स्थित रहेको नि.मा.वि.स्कुल हरिपुर चोकमा नै चिया पसलमा थिएँ । सोही दिन जाहेरवालीको छोरी आरतीकुमारी कापरलाई पक्राउ प्रतिवादी सहिदुल राईन मियाँले निजको हात समाई घटनास्थलतर्फ लिई गएको मैले देखेको हुँ । सोही दिनदेखि निज हराई बेपत्ता भएकोले जाहेरवालीसमेतका मानिसहरूले खोजतलास गर्ने क्रममा मिति २०७०।३।३० गते जिल्ला धनुषा, यज्ञभूमि गा.वि.स. वडा नं. ७ स्थित मुर्गिया जंगलमा मृतकको लास फेला परेको हो । निजलाई को को भई मारेका रहेछन् भन्ने कुरा पछि बुझ्दै जाँदा जाहेरीमा उल्लिखित प्रतिवादीहरूको योजनाअनुसार निजलाई घटनास्थलतर्फ लगी पालैपालो जबरजस्ती करणी गरी मारेको हो भन्ने बेहोराको एकै मिलान हुने गरी रामबाबु यादव र सोमबहादुर मिझारले गरिदिएको घटना विवरण कागज र सोही बेहोरासँग मिल्दो जुल्दो हुने गरी रामनाथ दास, रामचन्द्र दास र रामशरण दासले गरी दिएको घटना विवरण कागज ।
मिति २०७०।३।२८ गते अं.१०:०० बजेको समयमा म आफ्नै घरको आँगन बढारी गरेको अवस्थामा मेरो आमा र दिदी खाना खाई घरभित्रै बसिरहेको अवस्थामा सोही दिन प्रतिवादीमध्येका हरिदेव ठाकुर म भएको ठाउँमा आई बहिनी तिम्री दिदी कहाँ छिन्, स्कुलमा काम छ भनी दिदीलाई बोलाई लिई जानुभएको र सो दिनदेखि मिति २०७०।३।३० गतेसम्म मेरो दिदी आरतीकुमारी कापर घरमा नआएपछि खोज तलास गर्ने क्रममा मिति २०७०।३।३० गते मृत अवस्थामा मुर्गिया जंगलमा फेला परेको हो । निजलाई हरिदेव ठाकुरसमेतले स्कुलसम्म बोलाई लगी सो स्थानबाट पक्राउ प्रतिवादी सहिदुल राईनसमेतले लगी घटनास्थलसम्म पुर्याई जाहेरीमा उल्लिखित प्रतिवादीहरूले पालैपालो जबरजस्ती करणी गरी निज दिदीलाई घाँटी थिची मारेको हो । मेरो दिदी आरतीकुमारी कापर र पक्राउ प्रतिवादी सहिदुल राईनबिच प्रेम सम्बन्ध भएको कारणले उक्त कार्य गरी मारेको हो भन्ने बेहोराको मनिषाकुमारी कापरले गरिदिएको कागज ।
मिति २०७०।३।२८ गतेका दिन म आफ्नै घरमा खाना खाई बसिरहेको र छोरी पनि मसँगै रहेकोले सोही दिन हरिदेव ठाकुर मेरो घरमा आई मेरो छोरी आरतीकुमारी कापरलाई स्कुलमा काम छ भनी बोलाई लगी सो स्कुलबाट जाहेरीमा उल्लिखित प्रतिवादीहरूले घटनास्थलसम्म लगी योजना बनाई घटनास्थलमा पुर्याई पालैपालो जबरजस्ती करणी गरी मारेको हो । सो दिन मेरी छोरी घरमा फर्की नआएपछि आफन्त तथा गाउँघरमा खोजतलास गर्दासमेत फेला नपरेको र खोजतलासकै क्रममा मिति २०७०।३।३० गतेका दिन जिल्ला धनुषा, यज्ञभूमि गा.वि.स. वडा नं.७ स्थित मुर्गिया जंगलमा झुन्ड्याई राखेको अवस्थामा फेला परेको हो । मेरो नाबालिक छोरी वर्ष १५ की आरतीकुमारीसँग पक्राउ प्रतिवादी सहिदुल राईनसँग प्रेम सम्बन्ध भएको कारणले निजले योजना बनाई निज प्रतिवादीहरूसमेत भई उक्त स्थानमा लगी जात धर्मसमेत नमिल्ने भनी करणी गरी मारेको हो भन्ने बेहोराको बमिला देवी कापरले गरिदिएको कागज ।
मिति २०७०।३।२८ गते शुक्रबारका दिन अं.१०:१५ बजेको समयमा म आफ्नो विद्यालयको वर्षे बिदा भएको दिन आफ्नै विद्यालय नजिक पर्ने जिवछ साहुको चिया पसलमा बसी चिया खाइरहेको अवस्थामा पक्राउ प्रतिवादी सहिदुल राईनले आरतीकुमारी कापरलाई हात समाई स्कुलतर्फ बाट उत्तरतर्फ रहेको घटनास्थलतर्फ लिई गएको र सो चिया पसलदेखि केही पर पुगेपछि दुवैजना एकआपसमा तानातान गरिरहेको देखको हुँ । निज र आरतीकुमारीसमेत सो स्थानबाट तानातान गर्दै घटनास्थलतर्फ गएको र केही समयपछि जाहेरीमा उल्लिखित अन्य प्रतिवादीहरूसमेत दुईवटा मोटरसाइकलमा गएकोसमेत मसमेतले देखेको हुँ र सोही दिन जाहेरवालीले मेरो छोरी आरतीकुमारी कापरलाई हरिदेव कापरले घरमा आई लिई गएको र हालसम्म पनि नआएको, खोजतलास गर्दासमेत फेला नपरेको भन्ने कुरासमेत निज जाहेरवालीले भन्दा सुनी थाहा पाएकोमा मिति २०७०।३।३० गतेका दिन जिल्ला धनुषा, यज्ञभूमि गा.वि.स. वडा नं. ७ स्थित पर्ने मुर्गिया जंगलको टिकटिके खोला नजिक मृतक लास झुन्डिएको अवस्थामा छ भन्ने खबर पाई मसमेत सो स्थानमा गई हेर्दा निज आरती कुमारीको लास दुवै खुट्टा भुइँमा टेकी हात अघि पछि भई झुन्डिएको अवस्थामा देखेको हुँ र सोही मितिदेखि नै प्रतिवादीहरू फरार भएको हो निजलाई जाहेरीमा उल्लिखित प्रतिवादीहरूको योजनाअनुसार पक्राउ प्रतिवादी सहिदुल राईन र आरतीकुमारीबिच प्रेम सम्बन्ध भएको करणले जात धर्मसमेत नमिल्ने हुँदा जबरजस्ती करणी गरी कर्तव्य गरी मारी झुन्ड्याइदिएको भन्ने एकै मिलान हुने गरी रफिद मियाँ, महेश सहनी र राम अशिष यादवसमेतले लेखाइदिएको वस्तुस्थिति मुचुल्का ।
प्रतिवादीहरू हकिम मियाँ राईन, बुदुर भन्ने सरिफ मियाँ राईन, हरिदेव ठाकुर र रमेश ठाकुरसँग मिली आरतीकुमारी कापरलाई मार्नुपर्छ भन्ने योजना बनाई मिति २०७०।३।२८ गते प्रतिवादी हरिदेव ठाकुरले जाहेरवालीको छोरी आरतीकुमारीलाई घरबाट बोलाई स्कुलमा लगी प्रतिवादीहरू हकिम मियाँ राईन, बुदुर भन्ने सरिफ मियाँ राईन, रमेश ठाकुर र सहिदुल राईनसमेत त्यही स्कुलमा भेटी प्रतिवादी सहिदुल राईनले ललाइ फकाइ घटनास्थलतर्फ लगी योजनाअनुसार पहिला प्रतिवादी सहिदुल राईन जबरजस्ती करणी गरेपश्चात् पालैपालो अन्य प्रतिवादीहरू हकिम मियाँ राईन, बुदुर भन्ने सरिफ मियाँ राईन, हरिदेव ठाकुर र रमेश ठाकुरसमेत जबरजस्ती करणी गरी आरतीकुमारी कापर बेहोस भएपछि प्रतिवादीहरूले निज आरतीकुमारी कापरको घाँटी थिची मारी निजले नै लगाएको सलले निजको घाँटीमा बाँधी घटनास्थलनजिक रहेको हलुरेको रूखमा झुन्ड्याई मारेको तथ्य पुष्टि भएको हुँदा प्रतिवादीहरू सहिदुल राईन, हकिम मियाँ राईन, बुदुर भन्ने सरिफ राईन, हरिदेव ठाकुर र रमेश ठाकुरको उल्लिखित कार्य मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(३) नं. को कसुर अपराध भएको पुष्टि भएको हुँदा निज प्रतिवादीहरू सहिदुल राईन, हकिम मियाँ राईन, बुदुर भन्ने सरिफ मियाँ राईन, हरिदेव ठाकुर र रमेश ठाकुरलाई सोही ऐन महलको १३(३)नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग माग दाबी ।
मिति २०७०।३।२८ गतेका दिन म आफ्नै घरमा थिएँ । मउपर परेको जाहेरी बेहोरा झुट्टा हो । मेरो घटनामा संलग्नता छैन । म आरतीकुमारीसँग कहीँ पनि गएको होइन । म निर्दोष भएकोले अभियोग दाबीबमोजिम मलाई सजाय हुनुपर्ने होइन सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सहिदुल राईनले अदालतमा रहेको बयान ।
मिति २०७१।७।२० को आदेशानुसार निज प्रतिवादीलाई यस अदालतको च.नं. ३४००, मिति २०७१।७।२१ मा मुद्दा पुर्पक्षका निमित्त कारागार कार्यालय, सिन्धुलीमाढी सिन्धुलीमा थुनामा रहेको ।
प्रतिवादीहरू बुदुर भन्ने सरिफ राईन, रमेश ठाकुर, हरिदेव ठाकुर र हकिम राईनको नाउँमा जारी भएको म्याद मिति २०७१।७।२७ मा तामेल भई निज प्रतिवादीहरूले सुरू म्यादै गुजारी फरार रहेको ।
मिति २०७०।४।४ मा जाहेरी र मिति २०७१।७।१० मा भएको कागजको बेहोरा र सहीछाप मेरै हो । प्रतिवादीहरूले छोरीलाई विद्यालयबाट मोटरसाइकलमा लगी रमेश ठाकुरको घरमा लुकाइराखेको र केही समयपछि प्रतिवादीहरूले मुर्गिया जंगलको टिकटिके खोलामा लगी पालैपालो जबरजस्ती करणी गरिसकेपछि छोरीको घाँटी थिची कर्तव्य गरी मारेका हुन् भन्नेसमेत बेहोराको जाहेरवाली बिमलादेवी कापरले अदालतमा गरेको बकपत्र ।
वादीको साक्षी घटना विवरण कागज गर्ने सोमबहादुर मिजार र रामबाबु यादवले अदालतमा गरेको बकपत्र मिसिल सामेल रहेको ।
यी प्रतिवादीसमेत भई मिति २०७०।३।२८ गतेका दिन आरतीकुमारी कापरलाई मोटरसाइकलमा राखी मुर्गियाको जंगलमा लगी पालैपालो जबरजस्ती करणी गरी आफूले गरेको अपराध छिपाउन आरतीकुमारी कापरको घाँटी थिची मृतकको साथ रहेको सलले घाँटीमा कसी बाँधी घटनास्थलमा रहेको हललुडेको रूखमा झुन्ड्याएर मारेको तथ्य प्रमाणबाट प्रस्ट हुन आएकोले यी प्रतिवादी सहिदुल राईनले अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीतको कसुर ऐ.१३(३) नं. बमोजिम गरेकोले ऐ.१३(३) नं. बमोजिम निजलाई सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ । प्रस्तुत मुद्दाको साधक सदरको लागि पुनरावेदन अदालत जनकपुरमा साधक जाहेर गर्नु भन्ने धनुषा जिल्ला अदालतको मिति २०७२।२।२५ को फैसला ।
जबरजस्ती करणीको घटना स्थापित भएको छैन । जबरजस्ती करणीको कुनै चिह्न लासमा भेटिएको छैन । प्रहरीमा मलाई करबलले समेत बयान गराइएकोमा सो आधारमा मलाई सजाय गरिएको मिलेको छैन । साबिती स्वेच्छाको होइन र स्वतन्त्र प्रमाणबाट पुष्टि भएको छैन । लास Decomposed भएको कारण मृत्युको कारण पोस्टमार्टम Report मा उल्लेख छैन । मारेर झुन्ड्याइएको हो वा झुन्डेर आत्महत्या गरी मरेको हो ? यकिन छैन चिकित्सकको बकपत्र भएन । कसैले घटना देखेको भनेको छैन । म निर्दोष छु । सुरू फैसला उल्टी गरिपाउँ भन्ने प्रतिवादी सहिदुल राइनको पुनरावेदन पत्र ।
प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा सोही महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर गरी धनुषा जिल्ला अदालतबाट मिति २०७२।०२।२५ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्ने मिति २०७५।०३।०६ मा उच्च अदालत जनकपुरबाट भएको फैसला ।
निज मृतक आरती मेरो प्रेमिका हो । निजलाई मैले निजको घरमा लिन गएको पनि छैन । निजलाई मैले जबरजस्ती करणी गरी मारेको पनि होइन । निज मृतकको लासको प्रकृति हेर्दा जिब्रो बाहिर निस्की औँसा परेको भन्ने लास जाँच प्रकृति मुचल्कालाई विश्लेषण नगरी आफैँ आत्महत्या गरेको हो कि कर्तव्य गरी मारेको भन्ने विशेषज्ञ डाक्टरको बकपत्र नै नगराई एकतर्फी मलाई सजाय हुने गरी गरेको फैसला गैरन्यायिक
छ । प्रहरीमा जबरजस्ती करबलले साबिती गराएको बयानलाई आधार मानी मैले सम्मानित अदालतसमक्ष गरेको इन्कारी बयानलाई बेवास्ता गरिएको छ । प्रहरीमा गराइएको कागज डर, धाक र त्रासको भरमा मेरो इच्छा विरूद्ध गराइएको हो । सो कागज अन्य स्वतन्त्र प्रमाणले पुष्टि हुनुपर्दछ । ज्यान जस्तो गम्भीर प्रकृतिको अपराधमा केवल प्रहरीको साबिती बयानलाई आधार मानी भएको सजाय प्रमाण ऐन, २०३१ को दफा ९ को २(क) को विपरीत छ । यस सम्बन्धमा हिरापासी विरूद्ध नेपाल सरकार ने.का.प.२०२८, पृष्ठ २०८, नेपाल सरकार विरूद्ध दमै लामा, ने.का.प.०३८ पृष्ठ ८ नेपाल सरकार विरूद्ध रतिलाल, ने.का.प.२०५३ पृष्ठ ४९ मा प्रतिपादित सिद्धान्तहरू र सम्मानित अदालतमा मैले गरेको इन्कारी बयानलाई बेवास्ता गरी लास Decomposed भएको कारण मृत्युको कारण नखुलेको र विशेषज्ञ डाक्टरको बकपत्र नै नगराई शंकाको भरमा मलाई एकतर्फी सजाय निर्धारण गरी धनुषा जिल्ला अदालतले मिति २०७२।२।२५ गते गरेको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भनी उच्च अदालत जनकपुरले मिति २०७५।३।६ गते गरेको फैसला उल्टी गरी सफाइ पाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी सहिदुल राईनको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।
यस अदालतबाट भएको ठहर
नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको पुनरावेदनपत्रसहितको मिसिलसमेत अध्ययन गरियो ।
यसमा, मिति २०७०।३।२८ गते आरतीकुमारी कापरलाई प्रतिवादी सहिदुल राईनले जबरजस्ती करणी गरेपश्चात् पालैपालो अन्य प्रतिवादीहरू हकिम मियाँ राईन, बुदुर भन्ने सरिफ मियाँ राईन, हरिदेव ठाकुर र रमेश ठाकुरसमेतले जबरजस्ती करणी गरी कर्तव्य गरी मारेको तथ्य पुष्टि भएको हुँदा निज प्रतिवादीहरू सहिदुल राईन, हकिम मियाँ राईन, बुदुर भन्ने सरिफ मियाँ राईन, हरिदेव ठाकुर र रमेश ठाकुरलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. विपरीतको कसुरमा सोही ऐन महलको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग दाबी रहेको प्रस्तुत मुद्दामा धनुषा जिल्ला अदालतबाट निज प्रतिवादीलाई सर्वस्वसहित जन्मकैदको सजाय भएको देखिन्छ । धनुषा जिल्ला अदालतको मिति २०७२।२।२५ को उक्त फैसला सदर हुने ठहर्याई उच्च अदालत जनकपुरबाट मिति २०७५।०३।०६ गते भएको फैसलाउपर प्रतिवादी सहिदुल राईनले चित्त नबुझाई मैले उक्त घटना घटाएकै होइन सफाइ पाउँ भन्ने जिकिर लिई यस अदालतमा पुनरावेदन गरेको देखियो ।
उपर्युक्तानुसारको पुनरावेदन तथा मिसिल संलग्न कागजातहरूको अध्ययन गरी हेर्दा, धनुषा जिल्ला अदालतबाट प्रतिवादीलाई तत्कालीन मुलुकी ऐन ज्यानसम्बन्धी महलको १नं. विपरीतको कसुरमा सोही ऐन महलको १३(३) नं. बमोजिम जन्मकैदको सजाय भएको फैसलालाई सदर गर्ने गरी उच्च अदालत जनकपुरबाट मिति २०७५।०३।०६ मा भएको फैसला मिलेको छ वा छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ?
२. निर्णयतर्फ विचार गर्दा, जिल्ला धनुषा, यज्ञभूमि गा.वि.स. वडा नं.७ मुर्गिया स्थित श्री मालटोल सामुदायिक वनभित्र हलुरेको रूखमा लास अनुहार सडी गलिसकेको, दुवै खुट्टा भुइँमा छोई पासोमा झुन्डिएको, योनिद्वारमा रगत र वीर्य जस्तो तरल पदार्थ रहेको अवस्थामा अं.वर्ष २० की महिला मृत फेला परेको भन्ने बेहोराको घटनास्थल तथा लासजाँच मुचुल्का रहेको देखिन्छ । मृतकको शरीर सडी गलिसकेको अवस्था भएबाट मृत्युको कारण यकिन हुन नसकेको भन्ने शव परीक्षण प्रतिवेदन भएबाट निजको मृत्यु कर्तव्यबाट भएको हो वा आत्महत्या हो भन्ने सम्बन्धमा लास झुन्डिएको अवस्था, मिसिल संलग्न अन्य प्रमाण कागजात अर्थात् बुझिएका व्यक्तिहरूसमेतको कथनका आधारमा निर्क्यौल गर्नुपर्ने अवस्था रहेको छ ।
३. मृतकको लास दुवै खुट्टा भुइँमा छोएको, जिब्रो निस्किएको अवस्थामा रहेको देखिन्छ । निज मृतक अमृताकुमारी कापर मिति २०७०।३।२८ देखि घरमा नआई खोजतलास गर्ने क्रममा मिति २०७०।३।३० गते लास फेला परेको छ । निजलाई घरबाट हरिदेव ठाकुरले घरबाट बोलाएर लगेको भन्ने निजकी आमा जाहेरवाला र बहिनी मनिषा कुमारीसमेतको कागज तथा जाहेरवालाको बकपत्रबाट मृतक आफूखुसी गएको अवस्था देखिँदैन । पुनरावेदक प्रतिवादी सहिदुल राइनले मौकामा अधिकार प्राप्त अधिकारीसमक्ष बयान गर्दा सम्पूर्ण घटना विवरण सिलसिलेवार वर्णन गरी आफूसमेतका प्रतिवादीहरूले निज मृतकलाई घटनास्थलमा पालैपालो करणी गरी घाँटी थिची मारी निजले नै लगाएको सलले घाँटीमा बाँधी रूखमा झुन्ड्याएको भनी साबित भएको तथ्य लासको प्रकृतिबाट पनि समर्थन भइरहेको पाइन्छ । घाँटी थिचेको कारण जिब्रो बाहिर निस्किएको स्थिति छ भने दुवै खुट्टा भुइँमा छोएको समेतबाट निजले आत्महत्या गरेको नभई निजलाई कर्तव्य गरी मारी झुन्ड्याएको नै पुष्टि हुन आएको छ ।
४. अब, मृतक अमृता कुमारीलाई कर्तव्य गरी मार्नमा पुनरावेदक प्रतिवादीको संलग्नता रहे नरहेको सम्बन्धमा हेर्दा, यी पुनरावेदक प्रतिवादीसमेत उपर जाहेरवालाले किटानी जाहेरी दिई सोको समर्थन गरी बकपत्रसमेत गरेको पाइन्छ । मृतक आरतीकुमारीलाई प्रतिवादी सहिदुल राइनले हात समाई घटनास्थलतर्फ लगेको देखेको भनी मौकामा कागज गर्ने रामबाबु यादव र सोमबहादुर मिजारले अदालतमा बकपत्रसमेत गरिदिएका छन् । प्रतिवादी सहिदुल राइनले अदालतको बयानमा कसुरमा इन्कार रहे तापनि अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा मिति २०७०।३।२८ गतेका दिन हरिदेवले आरतीलाई नि.मा.वि. स्कुल हरिपुर निगाहपुरमा बोलाई ल्याएकोमा निज आरतीले मलाई तपाइँसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी छु र म तपाइँसँग विवाह गर्छु भन्ने प्रस्ताव राखेपछि मैले योजनाअनुसार निजलाई विवाह गर्छु भनी फकाइ निजलाई घटनास्थलको मुर्गिया जंगलमा पुर्याई पहिलो पटक मैले करणी गरी मेरो वीर्य स्खलन भएपछि म सो स्थानबाट उठिसकेपश्चात् साथीहरू र काका नाता पर्नेसमेतले पालैपालो जबरजस्ती करणी गरेपछि आरतीकुमारी कापर बेहोस भएको, सबैजना साथीहरूले घाँटी थिची मार्ने क्रममा निजको मलद्वारबाट दिसा निस्केको र निजले नै लगाएको सलले नै घाँटीमा बाँधी सबैजना भई उठाई सोही घटनास्थल नजिक रहेको हलुरेको रूखमा झुन्ड्याई मारी फरार भएको हो भन्नेसमेत बेहोरा उल्लेख गरेको पाइयो । साथै जाहेरीमा उल्लिखित प्रतिवादीहरूको योजनाअनुसार निज आरतीकुमारी कापरलाई घटनास्थलतर्फ लगी पालैपालो जबरजस्ती करणी गरी मारेको हो भन्ने बेहोराको एकै मिलान हुने गरी रामबाबु यादव र सोमबहादुर मिझारको बकपत्रसमेतबाट पुष्टि हुन आएको छ । सोही बेहोरासँग मिल्दोजुल्दो हुने गरी रामनाथ दास, रामचन्द्र दास, रामशरण दास र मनिषाकुमारी कापरले गरिदिएको घटना विवरण कागजसमेत मिसिल सामेल रहेको देखिन्छ । यसरी सिलसिलाबद्ध रूपमा हेर्दा जाहेरी दरखास्तको बेहोरा, मृतकको लासको प्रकृति र घटनास्थल मुचुल्का, प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान, निज आरतीकुमारी कापरलाई प्रतिवादीहरूले घटनास्थलतर्फ लगेको देख्ने रामबाबु यादव र सोमबहादुर मिझारले गरेको बकपत्रसमेतका आधारमा आरतीकुमारी कापरको जबरजस्ती करणी गरी हत्या भएको र सो हत्यामा यी प्रतिवादी सहिदुल राइन मूल अभियुक्त भएको पुष्टि हुन आयो । यस स्थितिमा अभियोग मागदाबीअनुसार धनुषा जिल्ला अदालतबाट भएको फैसलालाई सदर गरेको गरी उच्च अदालत जनकपुरबाट मिति २०७५।०३।०६ मा भएको फैसला तत्कालीन कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा अन्यथा भन्न मिलेन ।
५. पुनरावेदक प्रतिवादीले अदालतसमक्ष आफूले गरेको इन्कारी बयानलाई बेवास्ता गरेको भन्ने पुनरावेदन जिकिरतर्फ हेर्दा, प्रमाण ऐन, २०३१ को दफा ९(१)(क) बमोजिम फौजदारी मुद्दामा कुनै अभियुक्तले निजलाई लगाएको अभियोगको सम्बन्धमा अदालतबाहेक अन्यत्र व्यक्त गरेका कुरा अभियुक्त सचेत रहेको अवस्थामा आफूले भनेको बुझ्न सक्ने, यातना धम्की दिएको अवस्था नरहेको र असत्य व्यक्त गर्ने सम्भावना नरहेको स्थितिमा व्यक्त गरिएको कुरा प्रमाणमा लिन हुने व्यवस्था रहेको देखिन्छ । यस स्थितिमा यी प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दाका बखत निजलाई शारीरिक तथा मानसिक यातना दिएको मिसिल संलग्न प्रमाणबाट नदेखिएको हुँदा अदालतको इन्कारी बयानलाई मात्र कसुरबाट उन्मुक्ति दिने आधार मान्न सक्ने अवस्था देखिएन । त्यसैगरी मृतकको दुवै खुट्टा भुइँमा छोएको, योनिद्वारमा रगत र वीर्य जस्तो तरल पदार्थ रहेको भन्ने बेहोराको घटनास्थल तथा लास जाँच मुचुल्कासमेतका परिस्थितिजन्य प्रमाणहरूका साथै चस्मदिद व्यक्तिले गरेको बकपत्रसमेतबाट निज आरोपितले कसुर गरेको पुष्टि भएको देखिँदा लास Decomposed भई मृत्युको कारण नखुलेको अवस्थामा विशेषज्ञ डाक्टरले बकपत्र नगरेकै कारण निज प्रतिवादी निर्दोष रहेको भन्ने जिकिरसँग समेत सहमत हुन सकिएन ।
६. अतः माथि विवेचित आधार, कारणहरूसमेतबाट प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा सोही महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्म कैदको सजाय हुने ठहर गरी धनुषा जिल्ला अदालतबाट मिति २०७२।०२।२५ मा भएको फैसला सदर गरेको उच्च अदालत जनकपुरको मिति २०७५।०३।०६ को फैसला साबिक कानूनी व्यवस्थाको सन्दर्भमा मिलेको देखिए तापनि मुलुकी अपराध संहिता, २०७४ को दफा ४०(२) मा "कानूनमा कुनै कसुरबापत सर्वस्वको सजाय हुने रहेछ भने यो संहिता प्रारम्भ भएपछि त्यस्तो कसुरमा सजाय गर्दा सर्वस्व हुने गरी सजाय गरिने छैन" भन्ने र केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९(२)(ख) मा "कुनै कानूनअन्तर्गत कुनै अदालतमा दायर भएको कुनै फौजदारी कसुरका मुद्दामा सजाय गर्नुपर्दा सोही कानूनबमोजिम नै गर्नुपर्ने छ तर कुनै फौजदारी कसुरको सजाय मुलुकी अपराध संहितामा लेखिएभन्दा बढी रहेछ भने मुलुकी अपराध संहितामा लेखिएको हदसम्म मात्र सजाय हुने छ" भन्ने कानूनी व्यवस्था भएकोले प्रस्तुत मुद्दामा प्रतिवादी सहिदुल राईनलाई सर्वस्वसहित जन्मकैद हुने देखिएन । तसर्थ, निज प्रतिवादी सहिदुल राईनलाई जन्मकैदको मात्र सजाय हुने ठहर्छ । अभियोगदाबीबाट सफाइ पाउनुपर्ने भन्ने पुनरावेदक प्रतिवादी सहिदुल राईनको पुनरावेदन जिकिर पुग्न सक्तैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
प्रतिवादी सहिदुल राईनलाई जन्मकैद मात्र हुने ठहरेकोले प्रतिवादीको नामको सर्वस्वको लगत संशोधन गरी जन्मकैदको मात्र लगत राखी असुलउपर गर्नु भनी फैसलाको जानकारी सुरू धनुषा जिल्ला अदालतमा लेखी पठाइदिनू ...............................१
यो फैसलाको प्रतिलिपिसहितको जानकारी कारागारमा कैदमा रहेका प्रतिवादी सहिदुल राईन तथा महान्यायाधिवक्ता कार्यालयलाई दिनू ...................२
सरोकारवालाले फैसलाको नक्कल माग्न आए नियमानुसार दिनू ...........................................३
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी विद्युतीय प्रणालीमा अपलोड गरी मिसिल नियमानुसार बुझाइदिनू.................................................... ४
उक्त रायमा सहमत छु ।
न्या.प्रकाशमान सिंह राउत
इजलास अधिकृतः ताराप्रसाद जोशी
इति संवत् २०७९ साल भदौ १ गते रोज ४ शुभम् ।