निर्णय नं. १११८७ - सरकारी छाप दस्तखत किर्ते

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा
फैसला मिति : २०७९।८।१४
मुद्दा: सरकारी छाप दस्तखत किर्ते
०७४-CR-१८५८
पुनरावेदक / प्रतिवादी : जिल्ला सर्लाही, घुर्कौली गा.वि.स. वडा नं. ८ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३४ बस्ने इन्द्र प्रसादको नाति गंगाप्रसादको छोरा महेश अधिकारी
विरूद्ध
प्रत्यर्थी / वादी : केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज, काठमाडौंका प्रहरी निरीक्षक भोलाकुमार भट्टसमेतको प्रतिवेदनले नेपाल सरकार
०७४-CR-१८५९
पुनरावेदक / प्रतिवादी : सुनसरी जिल्ला, धरान उपमहानगरपालिका वडा नं. ११ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३ बस्ने अभय पोखरेल
विरूद्ध
प्रत्यर्थी / वादी : केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज, काठमाडौंका प्रहरी निरीक्षक भोलाकुमार भट्टसमेतको प्रतिवेदनले नेपाल सरकार
पढ्न लेख्न जान्ने व्यक्तिले कागजमा लेखेको बेहोरा नपढी त्यतिकै सही गरे होलान् भनी विश्वास गर्न नसकिने । प्रतिवादीहरूको मौकाको बयान र बरामदी मुचुल्कामा भएको सहीलाई स्वीकार गरेको र सोमा भएको बेहोरालाई इन्कार गरेको देखिएकोमा कागजमा भएको सहीछाप स्वीकार गरेको अवस्थामा अन्यथा प्रमाणित नभएसम्म सो कागजमा भएको बेहोरा पनि निजकै मानिने र सो बेहोरा निजको हकमा प्रमाणमा ग्रहणयोग्य नै मानिने ।
(प्रकरण नं.५)
प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री विष्णुप्रसाद भण्डारी
वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने :
मा.जिल्ला न्या.श्री महम्मद जुनैद आजाद
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री राजकुमार वन
माननीय न्यायाधीश श्री कृष्णकमल अधिकारी
उच्च अदालत पाटन
फैसला
न्या.सुष्मालता माथेमा : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
तथ्य खण्ड
वुमसाङ धोर्जे लामासमेतले विभिन्न व्यक्तिहरूको राहदानी लिई नक्कली श्रम स्टिकर टाँसी छाप लगाई रकम लिई गैरकानूनी रूपमा मानिसहरूलाई विदेश पठाउने गरेको भन्ने सूचना प्राप्त भई त्यस्ता मानिसहरूको खोजतलास गर्दा वुमसाङ धोर्जे लामा र महेश अधिकारीलाई फेला पारी चेक जाँच गर्दा महेश अधिकारीले श्रम स्टिकरको रू.१५,०००।- का दरले वुमसाङ धोर्जे लामालाई बिक्री गर्न लागेको अवस्थामा महेश अधिकारीबाट बरामदी मुचुल्कामा उल्लिखित विभिन्न व्यक्तिहरूको राहदानी थान-३८, विभिन्न संस्थाका छापहरू र श्रम स्टिकर थान- ७, राहदानी थान- ३ Department of Foreign Employment Nepal २०६५ लेखिएको रवरको छाप थान १ बरामद गरी बरामदी मुचुल्कासाथ पेस गरेका छौं, आवश्यक कारबाही गरिपाउँ भन्नेसमेत प्रहरीको प्रतिवेदन ।
काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ९ गैरीगाउँमा महेश अधिकारीको शरीर खानतलासी लिँदा १२ थान श्रम स्टिकर, विभिन्न व्यक्तिका नामको ३८ थान, नेपाली Aakriti Recruiting लेखेको छाप, Notary Public लेखेको छाप, Future Employment Service लेखेको छाप, Wise International लेखेको छाप, Future International लेखेको छापसमेत फेला परेको भन्ने खानतलासी तथा बरामदी मुचुल्का ।
काठमाडौं जिल्ला, मण्डीखाटार गा.वि.स. वडा नं. ३ मा भएको प्रतिवादी वुमसाङ धोर्जे लामाको डेरा कोठाबाट विभिन्न व्यक्तिको राहदानी-२, निजको राहदानी-१, श्रम स्टिकर थान-७ र काठमाडौं जिल्ला, Department of Foreign Employment Nepal २०६५ लेखेको रबर स्टाम्प छाप थान-१ बरामद भएको भन्ने खानतलासी मुचुल्का ।
वुमसाङ धोर्जे लामा र महेश अधिकारीलगायतका व्यक्तिहरूले राहदानीमा श्रम स्टिकर टाँसी छाप लगाई मानिसहरूलाई गैरकानूनी रूपमा विदेश पठाउने गरेको भन्ने सूचना प्राप्त हुन आएकोले त्यस्ता मानिसहरूलाई खोजतलास गर्ने क्रममा वुमसाङ धोर्जे लामा र महेश अधिकारीलाई फेला पारी चेक जाँच गर्दा महेश अधिकारीको साथबाट विभिन्न व्यक्तिका नामको ३८ थान नेपाली राहदानी, १२ थान श्रम स्टिकर र विभिन्न संस्थाको छापहरू र प्रतिवादी बुमसाङ धोर्जे लामाको डेराबाट श्रमस्टिकर थान-७, राहदानी थान-३, Department of Foreign Employment Nepal २०६५ लेखेको रबर स्टाम्प छाप थान-१ फेला पारी बरामद भई आवश्यक कारबाहीको लागि पेस हुन आएकोले कारबाहीको लागि पठाइएको भन्ने प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको पत्र ।
वुमसाङ धोर्जे लामा र महेश अधिकारीसमेतले विभिन्न व्यक्तिहरूको राहदानी लिई नक्कली श्रम स्टिकर टाँसी छाप लगाई ठुलो परिमाणमा रकम लिई गैरकानूनी रूपले मानिसहरूलाई विदेश पठाउने गरेको भन्ने सूचना प्राप्त हुन आई त्यस्ता काम गर्ने मानिसहरूको खोजतलास गर्ने क्रममा वुमसाङ धोर्जे लामा र महेश अधिकारीलाई फेला पारी महेश अधिकारीले श्रम स्टिकरको रू.१५,०००।- का दरले वुमसाङ धोर्जे लामालाई बिक्री गर्न लागेको अवस्थामा निज महेश अधिकारीको साथबाट बरामदी मुचुल्कामा उल्लिखित राहदानी थान-३८ विभिन्न संस्थाको छाप र श्रम स्टिकर थान १२ फेला परेको र अर्का प्रतिवादी वुमसाङ धोर्जे लामाको डेराबाट श्रम स्टिकर थान- ७, राहदानी थान-३, Department of Foreign Employment Nepal, २०६५ लेखेको रबर स्टाम्प छाप थान १ बरामद भएकोमा अनुसन्धानको क्रममा प्रतिवादीहरूले अभय पोख्रेलसँग श्रम स्टिकर किन्ने गरेको भन्ने खुल्न आएकोले अभय पोखरेललाई खोजतलास गर्दा फेला पारी निजको कोठा खानतलासी गर्दा नक्कली श्रम स्टिकर थान- ११, राहदानी थान-५ र विभिन्न प्रवेशाज्ञा VISA को छायाँ-प्रति थान ५ बरामद भएकोले आवश्यक कारबाही गरिपाउँ भन्ने प्रहरीको प्रतिवेदन ।
काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ३ मा भएको प्रतिवादी अभय पोखरेलको कोठा खानतलासी हुँदा नक्कली श्रम स्टिकर थान-६, Foreign Employment Permit लेखेको स्टिकर ५ थान, रामबहादुर लामाको नामको प्रवेशाज्ञाको प्रतिलिपि बरामद भएको भन्ने खानतलासी तथा बरामदी
मुचुल्का ।
प्रतिवादी महेश गुरूङ र वुमसाङ धोर्जे लामासँग नक्कली श्रम स्टिकर तथा छाप बनाई विभिन्न व्यक्तिहरूको राहदानीमा लगाई ठुलो परिमाणमा रकम लिई गैरकानूनी रूपमा विदेश पठाउने कार्यमा अभय पोखरेलको समेत संलग्नता रहेको देखिएकोले निजलाई आवश्यक कारबाहीको लागि पठाइएको भन्ने प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको
पत्र ।
बरामद भएका श्रम स्टिकरहरू त्यहाँ विभागका हुन्, होइनन् ? त्यहाँ विभागबाट जारी भएका हुन्, होइनन् ? श्रम स्टिकर कस्को जिम्मामा रहन्छ ? उनाउ व्यक्तिलाई श्रम स्टिकर दिन मिल्छ, मिल्दैन ? श्रम स्टिकर तथा छाप परीक्षण प्रयोजनको लागि पठाइदिनुहुन भनी वैदेशिक रोजगार विभागलाई लेखेको पत्र ।
मेरो कोठाबाट बरामद भएका राहदानी भिषाको प्रतिलिपि मैले काम गर्ने ग्लोरी ओभरसिज मेनपावरबाट ल्याएको हो । श्रम स्टिकर पहिलादेखि चिनजानका एसके शाह भन्ने शम्भुप्रसाद दाहालबाट प्रति-स्टिकर रू.१,६००।- मा खरिद गरेको हुँ । महेश अधिकारीले सो स्टिकर मागेकोले निजलाई दिनको लागि ल्याएको थिएँ । भूमिनन्द शाह ठकुरीले मैले मेनपावर अफिसमा काम गर्ने भएकोले नक्कली श्रम स्टिकर चाहिन्छ भने मसँग भन्नु भनेकोले मैले र मेरो साथी एसके शाह भन्ने शम्भुप्रसाद दाहाल भई नक्कली श्रम स्टिकर बिक्री गर्छौं भनेको र महेश अधिकारीले नक्कली श्रम स्टिकर खरिद बिक्री गर्ने व्यक्ति चिनेको भए मलाई नक्कली श्रम स्टिकर चाहिएको छ भनेकोले मैले एसके शाह भन्ने शम्भुप्रसाद दाहाललाई सम्पर्क गरी प्रति श्रम स्टिकरको रू.१,६००।- का दरले ११ थान खरिद गरी मैले प्रति-स्टिकर रू.२,०००।- मा महेश अधिकारीलाई बिक्री गरेको हो र पछि फेरि २२ थान स्टिकर खरिद गरेकोमा रू.४००।- फाइदा लिई ११ थान महेश अधिकारीलाई बिक्री गरेको हो । मसँग ग्लोरी ओभरसिज मेनपावरबाट श्रम प्रतिनिधिको रूपमा काम गर्ने अनुमति छ भन्नेसमेत बेहोराको प्रतिवादी अभय पोखरेलले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
बरामद भएका राहदानीमध्ये फ्युचर इम्प्लोइमेन्ट सर्भिसेज प्रा.लि. को श्रम स्वीकृतिको लागि राखिएको ६ थान, फ्युचर इन्टरनेसनल सर्भिसेज प्रा.लि. को श्रम स्वीकृतिको लागि राखिएको १२ थान, वाइज इन्टरनेसनल नेपाल प्रा.लि. को श्रम स्वीकृतिको लागि राखिएको १३ थन र ७ थान विभिन्न व्यक्तिहरूले श्रम स्वीकृति निकाल्नको लागि दिएको र लिन नआई रहेका हुन् । श्रम स्वीकृति निकाल्नको लागि छाप चाहिने भएकोले बरामद भई आएका छापहरू अफिसले मलाई दिएको हो । श्रम स्टिकर मैले अभय पोखरेलबाट एउटाको रू.२,०००।- का दरले खरिद गरेको हो । सो श्रम स्टिकर मैले प्रतिवादी वुमसाङ धोर्जे लामालाई रू.१५,०००।- का दरले बिक्री गर्ने कुरा भइरहेको अवस्थामा पक्राउ पारी बरामद भएको हो । सोभन्दा पहिले मैले निजलाई ११ थान श्रम स्टिकर बिक्री गरिसकेको थिए । राहदानी र छाप अफिसको स्वीकृतिबाट राखेको हुँ । श्रम स्टिकर राख्ने, खरिद बिक्री गर्ने इजाजत मसँग छैन Aakriti Recruiting लेखेको छाप मसँगै थियो । Notary Public को छाप के कसरी कहाँबाट आयो भन्न सक्दिनँ । मेरो साथबाट बरामद भएको हो । प्रतिवादी बुमसाङ धोर्जे लामाले मलाई वैदेशिक रोजगारको छाप बनाइदेउ भन्दा म सक्दिन भन्दा जसरी पनि बनाइदेउ भनी कर गरेकोले राहदानीमा टाँसिएको स्टिकरमा भएको छापसहितको फोटोकपी गरी नमुना दिएपछि सो छाप वुमसाङ धोर्जे लामाले बनाएका हुन् । श्रम स्टिकर सक्कली हुन् भन्नेसमेत प्रतिवादी महेश अधिकारीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
बरामद भएको राहदानी, श्रम स्टिकरहरू, Department of Foreign Employment Nepal, २०६५ रबर स्ट्याम्पसमेत मेरो कोठाबाट बरामद भएको हो । श्रम स्टिकर विदेश जाने मानिसहरूको राहदानीमा टाँसी पठाउनका लागि महेश अधिकारीबाट लिएको हुँ । रबर स्ट्याम्प महेश अधिकारीले दिएका हुन् । स्टिकर र स्ट्याम्प नक्कली हुन् । बरामद भएका चिजवस्तु राख्ने इजाजत छैन । म श्रम प्रतिनिधि पनि होइन । मैले सन्चमाया वि.क. र मसली कामीसमेत २ जनाको राहदानीमा श्रम स्टिकर र छाप लगाउने काम गरेको, ११ थान श्रम स्टिकर प्रतिगोटा रू.१५,०००।- मा महेश अधिकारीबाट किनेको हुँ, टिकट रामबहादुर तामाङ र श्याम दमाईले मिलाई दिने र मैले रू.३,०००।- फाइदा लिने गर्दथे भन्नेसमेत प्रतिवादी वुमसाङ धोर्जे लामाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
बरामद भएका श्रम स्टिकरमा लागेको वैदेशिक रोजगार विभागको छाप र वैदेशिक रोजगार विभागको भनिएको रबर स्ट्याम्प र वैदेशिक रोजगार विभागबाट प्राप्त हुन आएको छाप एकापसमा मेल खान्छ खाँदैन परीक्षण गरी पठाइदिनु भनी केन्द्रीय विधिविज्ञान प्रयोगशालालाई लेखिएको पत्र ।
श्रम स्टिकर नं. ९८९८१३ र ९८९८१५ रोटरी ओभरसिज प्रा.लि. को नामबाट मानकुमारी लामाको लागि मिति २०६९।२।२५ मा प्रयोग भएको र त्यहाँ कार्यालयबाट प्राप्त स्टिकरहरू यस विभागबाट जारी भएको अभिलेखबाट नदेखिएको भन्नेसमेत वैदेशिक रोजगार विभागको च.नं. १२३६ मिति २०६९।९।३ को पत्र ।
श्याम दमाईले दुबई जाने भयौं, काठमाडौं आउनु भनेकोले म काठमाडौं आई निज श्यामलाई भेट्दा निजले, राम भन्ने मानिस र वुमसाङ धोर्जे लामालाई भेटी राहदानी लिनु भनेकोले मैले आफ्नो राहदानी निजहरूबाट लिएँ । बेलुकी चेकिङ गर्ने ठाउँमा पुग्दा चेकिङ गर्नेले राहदानीमा लागेको श्रम स्टिकर नक्कली रहेछ भनी मलाई रोकेका थिए । मलाई विदेश पठाउने भनी राम भन्नेले रू.२५,०००।- लिएका
थिए । म विदेश जान नपाएपछि श्याम दमाईले सो रकम फिर्ता गरिसकेका छन् । मेरो राहदानीमा नक्कली श्रम स्टिकर र छाप वुमसाङ धोर्जे लामाले लगाएको हुनुपर्छ भन्नेसमेत प्रतिवादी सन्चमाया वि.क.ले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
श्याम दमाईले मलाई विदेश पठाइदिन्छु भनेकोले मेरो राहदानी निजलाई दिएको थिएँ । पछि श्याम दमाईले म र सन्चमाया लामालाई काठमाडौं आउनु भनेकोले म काठमाडौं आई निज श्याम दमाईलाई भेटी मैले आफ्नो राहदानी लिएँ । मिति २०६९।७।३ गते एयरपोर्टको चेकिङ गर्ने ठाउँमा पुग्दा चेकिङ गर्ने मानिसले राहदानीमा लागेको श्रम स्टिकर नक्कली रहेछ भनी मलाई रोकेका थिए । त्यसपछि मसमेतलाई वैदेशिक रोजगार विभागमा पठाएका थिए । मलाई विदेश पठाउने भनी राम भन्ने मानिसले रू.३०,०००।- लिएका र म विदेश जान नपाएपछि रामले सो रकम फिर्ता गरिसकेका छन् । मेरो राहदानीमा नक्कली श्रम स्टिकर र छाप वुमसाङ धोर्जे लामाले लगाएको हुनुपर्छ भन्नेसमेत प्रतिवादी मसली कामीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
प्रतिवादीहरू अभय पोखरेल, महेश अधिकारी, वुमसाङ धोर्जे लामा, सन्चमाया वि.क. र मसली कामीले मुलुकी ऐन, किर्ते कागजको महलको १, ९ र १२ नं. बमोजिमको कसुर गरेकाले निज प्रतिवादीहरूलाई सोही महलको ९ र १२ नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत अभियोग पत्र ।
नक्कली श्रम स्टिकर र छाप बनाई राहदानीमा लगाई मानिसहरूलाई विदेश पठाउने कार्यमा म संलग्न छैन । को कसले गरे थाहा छैन । मेरो राहदानी प्रहरीले मेरो कोठाबाट ल्याएका हुन् भन्नेसमेत प्रतिवादी वुमसाङ धोर्जे लामाले अदालतसमक्ष गरेको बयान ।
सिन्धुपाल्चोक घर बताउने श्याम लामाले भिषा, पासपोर्ट र श्रम स्टिकर लगाई दुबई पठाउन लाग्दा म काठमाडौंको एयरपोर्टमा पक्राउ परेकी हुँ । श्याम लामाले किर्ते काम गरेको भन्ने पक्राउ परेपछि मात्र थाहा पाएकी हुँ । मैले किर्ते काम गरेकी छैन भन्नेसमेत प्रतिवादी सन्चमाया वि.क.ले अदालतमा गरेको बयान ।
म ग्लोरी ओभरसिज मेनपावरको श्रम प्रतिनिधि भएकोले ५३ वटा राहदानीमा श्रम स्वीकृति ल्याउन र भिषाको प्रतिलिपि गरी ल्याउन अफिसबाट काम लगाएकोले सो राहदानी र भिषाको प्रतिलिपि मेरो कोठामा राख्दा फेला परेको हो । मसँग श्रम स्टिकर फेला परेको होइन । नक्कली श्रम स्टिकर बनाउने, खरिद गर्ने, बिक्री गर्ने र सरकारी छाप दस्तखत किर्ते गर्ने कार्य मैले गरेको होइन भन्नेसमेत प्रतिवादी अभय पोखरेलले अदालतमा गरेको बयान ।
मेरो नामको राहदानी विदेश जानको लागि एजेन्टलाई दिएको र सो राहदानी प्रतिवादी वुमसाङ धोर्जे लामाबाट प्राप्त गरी विदेश जान लाग्दा मिति २०६०।७।३ गते एयरपोर्टमा चेकिङ हुँदा श्रम स्टिकर नक्कली भएको भनी रोकेको हो । म मानिस पठाउने दलाल होइन भन्नेसमेत प्रतिवादी मसली कामीले अदालतमा गरेको बयान ।
म श्रम विभागमा काम गरिराखेको छु । बरामदी सामान कहाँबाट ल्याए मलाई थाहा छैन । मैले छापलगायतका श्रम स्टिकरसमेत नक्कली बनाई सरकारी छाप दस्तखत किर्ते गरेको होइन भन्नेसमेत प्रतिवादी महेश अधिकारीले अदालतमा गरेको बयान ।
प्रतिवादीहरूको मिलेमतोमा श्रम स्टिकर नक्कली बनाई वैदेशिक रोजगार विभागको नक्कली छाप बनाई लगाई आफैँले दस्तखत गरी विदेश पठाउने जाने कार्य गरेकोले किर्ते कागजको महलको १,९ र १२ नं. को कसुर गरेकाले सोही महलको ९ र १२ नं. बमोजिम सजाय गरिपाउँ भन्ने मागदाबी भएको प्रस्तुत मुद्दामा प्रतिवादीहरूले अदालतमा बयान गर्दा आरोपित कसुरमा इन्कार रही बयान गरे तापनि अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा प्रतिवादी अभय पोखरेल, महेश अधिकारी र वुमसाङ धोर्जे लामाले आरोपित कसुर स्वीकार गरेको साथै निजहरूबाट नक्कली श्रम स्टिकरसमेत फेला परेको र प्रतिवादी सन्चमाया वि.क. र मसली कामीले आफूहरूसँग नक्कली श्रम स्टिकर लगाएको भनिएको आ-आफ्नो राहदानी फेला परेको स्वीकार गरेको समेतका तत्काल प्राप्त सबुद प्रमाणका आधारमा प्रतिवादीहरू आरोपित कसुरका कसुरमा संलग्न नरहेको भनी हालै विश्वास गर्न सकिएन । प्रतिवादी सन्चमाया वि.क. र मसली कामीको साथबाट विदेश जान लाग्दा आ-आफ्नो राहदानी फेला परेको अवस्थासमेतलाई विचार गर्दा पछि थप सबुद प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई अ.बं. ११८ को देहाय ५/१० नं. बमोजिम प्रतिवादी अभय पोखरेल, महेश अधिकारी र वुमसाङ धोर्जे लामाबाट जनही नगद धरौट रू.९,०००।- र प्रतिवादी सन्चमाया वि.क. र मसली कामीबाट जनही नगद धरौट रू.५००।- वा सोबापत जेथा जमानी दिए लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नु र वादी प्रतिवादीको साक्षी उपस्थित गराई बकपत्रको लागि पेस गर्नु भनी मिति २०६९।९।९ मा भएको आदेश ।
प्रतिवादी महेश अधिकारीउपर लगाइएको अभियोग झुट्टा हुँदा अभियोग दाबीबाट सफाइ पाउनुपर्दछ भनी प्रतिवादी महेश अधिकारीको साक्षी विनोद अधिकारीले बकेको बकपत्र ।
प्रतिवादी अभय पोखरेल श्रम स्टिकर खरिद बिक्री गर्ने मानिस होइन अभियोग दाबीबाट सफाइ पाउनुपर्दछ भनी प्रतिवादी अभय पोखरेलको साक्षी जीवन दाहालले बकेको बकपत्र ।
प्रतिवादी वुमसाङले कुनै किसिमको कागज किर्ते गरेको होइन । त्यस्तो कागज तयार गर्नेमा निजको कुनै संलग्नता छैन भन्नेसमेत बेहोराको प्रतिवादी वुमसाङ धोर्जेको साक्षी तारा विक्रम चौहानले बकेको बकपत्र ।
बरामदी मुचुल्का र प्रतिवेदनमा भएको सहीछापसमेत मेरो हो । प्रतिवादीहरूबाट बरामदी मुचुल्कामा उल्लेख भएका सामान बरामद भएको हो भन्नेसमेत प्रतिवेदक योगेन्द्रराज थपलिया, भोलाकुमार भट्ट, विक्रम पण्डित, वकिलबहादुर सिंह र कृष्णानन्द जोशीसमेतले बकी लेखाइदिएको एकै मिलानको बकपत्र ।
प्रतिवादीहरू अभय, महेश र वुमसाङ धोर्जेलाई किर्ते कागजको महलको ९ नं. बमोजिम जनही पचास रूपैयाँका दरले जरिवाना हुने साथै सरकारी अड्डाको छाप भनी अरू छाप निर्माण गरी तदनुरूपको कार्य भएको नदेखिँदा ऐनको १२ नं. बमोजिमको थप सजाय गर्न न्यायिक औचित्य नहुने तथा प्रतिवादीहरू सन्चमाया वि.क. र मसली कामीको हकमा यस वारदातमा निज प्रतिवादीहरूको कुनै संलग्नता एवं कार्य केही देखिन खुल्न नआएकाले अभियोग दाबीबाट यी दुई प्रतिवादीहरूले सफाइ पाउने ठहर्छ भन्ने सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७०।८।२० मा भएको फैसला ।
प्रतिवादीहरू सन्चमाया वि.क. र मसली कामीले विदेश जाने प्रयोजनको लागि अन्य प्रतिवादीलाई आफ्नो राहदानी दिएको भन्ने कुरा निजहरूको बयानबाटै खुलेको अवस्था छ । वैदेशिक रोजगारीको निम्ति विदेश जाने प्रयोजनको लागि राहदानीमा श्रम स्टिकर लगाउन कानूनबमोजिम आफैँ वैदेशिक रोजगार विभागमा आई प्रक्रिया पूरा गरी सो स्टिकर लगाउनुपर्नेमा कानूनी प्रक्रिया पूरा नगरी अन्य प्रतिवादीहरूलाई गैरकानूनी रूपमा राहदानीमा नक्कली स्टिकर लगाउन दिई छिटो माध्यमबाट विदेश जाने प्रक्रिया अवलम्बन गरी किर्ते गर्ने कार्यमा मानसिक रूपमा सहमति जनाएको र उक्त नक्कली लगाइएको राहदानी निजहरूकै साथबाट बरामद भएको तथ्यबाट निज प्रतिवादीहरू किर्ते गर्ने मतलबमा पसेको, लाभ लिएको, सरोकार राखेको र सो काम पूरा गर्न संलग्नता देखिएकोमा प्रतिवादीहरू अभय पोखरेल, महेश अधिकारी र वुमसाङ धोर्जेलाई कम सजाय तथा प्रतिवादीहरू सन्चमाया वि.क. र मसली कामीलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण भई बदरभागी छ । अतः प्रतिवादीहरूलाई आरोपित कसुरमा कम सजाय र सफाइ दिने गरी गरिएको फैसला सो हदसम्म बदर गरी सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारले उच्च अदालत पाटनमा पेस गरेको पुनरावेदन पत्र ।
यसमा बरामद भएका श्रम स्टिकरहरू नक्कली हुन् भनी प्रतिवादीहरू महेश अधिकारी, वुमसाङ धोर्जे लामासमेतको मौकाको बयानबाट देखिएको, केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनबाट ती स्टिकर नक्कली हुन् भन्ने देखिइरहेको अवस्थामा प्रत्यर्थी प्रतिवादीहरू अभय पोखरेल, वुमसाङ धोर्जे र महेश अधिकारीलाई मुलुकी ऐन, किर्ते कागजको महलको १२ नं. बमोजिम थप सजाय नगर्ने गरी भएको सुरू फैसला त्रुटिपूर्ण भई फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन अ.बं. २०२ नं. र उच्च अदालत नियमावली, २०७३ को नियम ११२ बमोजिम छलफलका निमित्त निज प्रत्यर्थी प्रतिवादीहरू अभय पोखरेल, महेश अधिकारी र वुमसाङ धोर्जे लामालाई झिकाई उपस्थित भए वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु भन्ने उच्च अदालत पाटनबाट मिति २०७३।९।१ मा भएको आदेश ।
प्रतिवादीहरू अभय पोखरेल,महेश अधिकारी र बुमसाङ धोर्जे लामालाई अभियोग दाबीबमोजिम किर्ते कागजको महलको ९ नं. बमोजिमसम्म सजाय गरी १२ नं. बमोजिम सजाय नगरेको हदसम्म सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७०।८।२० मा भएको फैसला मिलेको नदेखिँदा केही उल्टी भई ऐ.बमोजिम निजहरूलाई जनही १ वर्ष कैदसमेत हुने ठहर्छ । अन्य प्रतिवादीहरू सञ्चमाया वि.क. र मसली कामीलाई सफाइ दिने ठहर्याएको सुरूको फैसला सो हदसम्म मिलेको देखिँदा निजहरूउपर वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको उच्च अदालत पाटनको मिति २०७४।७।१९ को फैसला ।
अधिकारप्राप्त अधिकारीसमक्षको बयान मेरो होइन । उक्त बयान लेखी तयार पारी केवल मेरो बाबु बाजेको नाम वतनसम्मका सामान्य कुरा सोधी अरू सम्पूर्ण बेहोरा लेखिएको कागजमा सहीछाप गराएका
हुन् । छापलगायत श्रम स्टिकर मैले नक्कली बनाइ सरकारी छाप दस्तखत किर्ते गरेको छैन भनी अदालतमा आई सही सत्य बेहोराको बयान लेखाइदिएको
छु । मैले कुनै पनि सरकारी छाप दस्तखत किर्ते गरेको प्रमाणित नहुँदा पनि श्री काठमाडौं जिल्ला अदालतले किर्ते कागजको ९ नं. बमोजिम रू.५०।- जरिवाना हुने गरी फैसला गर्दा पनि उक्त फैसलालाई शिरोधार्य गर्दै फैसलामा चित्त बुझाई बसेको अवस्थामा श्री उच्च अदालत पाटनले किर्ते कागजको १२ नं. को व्याख्यात्मक त्रुटि गरी ऐ. को १२ नं. बमोजिम थप १ वर्ष कैद हुने गरी गरेको फैसला त्रुटिपूर्ण छ । केवल अभियोग लगाउँदैमा उक्त अभियोग आफैँमा प्रमाण हुँदैन । अभियोग दाबी शंकारहित तवरले प्रमाणित
हुनुपर्छ । किर्ते कागजको १ नं. ले गरेको परिभाषाबमोजिम मैले कुनै सरकारी कर्मचारीको वा अन्य कसैको पनि हस्ताक्षर वा ल्याप्चे सही निशान र छाप झुट्ठा बनाएको छैन । यस्तो अवस्थामा किर्ते कागजको १ नं. को कसुर गरेको प्रमाणित हुन सक्ने अवस्था देखिँदैन । त्यसै गरी ऐ. को ९ नं. बमोजिम लिखतको अङ्क वा बेहोरा घटीबढी हुने किर्ते काम पनि मबाट भएको छैन । किर्ते कागजको १२ नं. ले सरकारी अड्डाको छाप वा सरकारी काममा सरकारी कर्मचारीको छाप दस्तखत वा सो छाप दस्तखत भएको कागज किर्ते गरेमा मात्र १ वर्ष थप कैद हुने व्यवस्था गरेको छ । तर म निवेदक प्रतिवादीले सरकारी अड्डाको छाप भनी अरू छाप निर्माण गरी तद्अनुरूपको कार्य नगरेको साथै सरकारी कर्मचारीको दस्तखत वा छाप दस्तखत भएको कागज पनि किर्ते नगरेको र त्यस्तो किर्ते गरेको भन्ने कुरा मिसिल संलग्न कुनै कागज प्रमाणबाट नदेखिएको अवस्थामा पनि उच्च अदालत पाटनले किर्ते कागजको १२ नं. को त्रुटिपूर्ण व्याख्या गरी फैसला भएको छ । काठमाडौं जिल्ला अदालतको फैसलामा चित्त बुझाई बसेको अवस्थामा वादी नेपाल सरकारका तर्फबाट पुनरावेदन गरी १२ नं. बमोजिम थप १ वर्ष कैदसमेत हुने गरी गरेको उच्च अदालत पाटनको फैसलामा न्यायिक मनको अभाव रही न्याय प्रशासन ऐन, २०७३ को दफा १२ (१) (क) बमोजिम कानूनी त्रुटिपूर्ण हुँदा मुद्दा दोहोर्याई हेरी १ वर्ष कैद सजाय नहुने गरी न्याय निरूपण गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी महेश अधिकारीले यस अदालतमा पेस गरेको निवेदनपत्र ।
अधिकारप्राप्त अधिकारीसमक्षको बयान मलाई बाध्य पारी धम्की दिई आफ्नो इच्छा विरूद्धको कुरामा सहीछाप गर्न लगाइएकोलाई प्रमाणको रूपमा ग्रहण गर्न मिल्दैन । प्रमाण ऐन, २०३१ को दफा ९(२) १(क)२ बमोजिम मेरो इच्छा विरूद्ध भएको हो । मुलुकी ऐन किर्ते कागजको १ नं. को परिभाषाबमोजिम मैले किर्ते नगरेको अर्थात् मैले अभियोग पत्रमा दाबी लिएबमोजिमको कार्य नगरेको अवस्थामा किर्ते कागजको १ नं. विपरीतको कार्य गरेको भनी दफा १२ नं. बमोजिमको माग दाबी हुँदैमा मलाई सजायको भागीदार बनाउन मिल्दैन । प्रमाण ऐन, २०३१ को दफा २५ नं. बमोजिम फौजदारी मुद्दामा दाबी प्रमाणित गर्ने भार पक्षको हुन्छ भनी व्यवस्था भएकोमा मलाई अभियोग दाबीबमोजिम अभियोजन पक्षबाट कुनै पनि प्रमाणित नभएबाट पनि म निर्दोष भएकोमा त्यसतर्फ विचारै नगरी उच्च अदालतबाट मलाई कसुरदार ठहर्याई भएको फैसला बदरभागी छ । बरामदी मुचुल्काका कुनै पनि मानिसहरू सम्मानित अदालतमा उपस्थित भई बकपत्र नगरेको अवस्थामा उक्त बरामदी मुचुल्का ठिक हो भनी भन्ने आधार छैन । पासपोर्टलगायत स्टिकर मसँग बरामद नभई विपक्षीले आफैँ बरामद भएको भनी लेखाएका मात्र हुन् । सम्पूर्ण दाबी गलत छ । बरामदी भएको भनिएका सामानहरू स्वतन्त्र रूपले पुष्टि हुन नसकेको अवस्थामा समेत उच्च अदालत पाटनको फैसला गम्भीर कानूनी त्रुटिपूर्ण भएको हुँदा बदर गरी न्याय इन्साफ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी अभय पोखरेलले यस अदालतमा पेस गरेको मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदनपत्र ।
यसमा यी निवेदकको साथबाट बरामद स्टिकर निजहरूले बनाएको वा सहीछाप गर्ने कार्यमा संलग्न रहेको भन्ने तथ्य मिसिल संलग्न कागजातबाट शंकारहित रूपबाट पुष्टि नभएको स्थितिमा निजहरूलाई मुलुकी ऐन किर्ते कागजको महलको १२ नं. बमोजिम सजाय गर्ने गरेको उच्च अदालत पाटनको मिति २०७४।७।१९ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३, ५४ र किर्ते कागजको महलको १ र १२ नं. को व्याख्यात्मक त्रुटि रहेको देखिँदा न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) बमोजिम दोहोर्याई हेर्ने अनुमति प्रदान गरिदिएको छ भन्नेसमते बेहोराको यस अदालतबाट मिति २०७५।०३।१९ मा भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम आजको पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक/प्रतिवादीको तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री विष्णुप्रसाद भण्डारीले पुनरावेदक प्रतिवादीहरू विभिन्न ओभरसिज प्रा.लि. मा काम गर्ने मानिस हुन् । कार्यालयले लगाए अह्राएको काम गरेको हो, प्रतिवादीहरूको मौकाको बयान स्वेच्छाको होइन । वादी पक्षले आफ्नो साक्षी उपस्थित गराई बकपत्र गराउन सकेको छैन । वादीले शंकारहित तवरबाट अभियोग दाबी पुष्टि गर्न नसकेको अवस्थामा उच्च अदालत पाटनबाट कैद सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट सफाइ पाउनुपर्दछ भनी तथा प्रत्यर्थी / वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान् सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवालीले प्रतिवादीहरूबाट नक्कली श्रम स्टिकर बरामद भएको अवस्था छ । बरामदी मुचुल्कालाई अन्यथा प्रमाणित गराउन सकेको
छैन । प्रतिवादीहरूबाट बरामद भएका छाप र स्टिकरहरू सरकारी कार्यालयको हो । प्रतिवादीहरूबाट बरामद भएका वैदेशिक रोजगार विभागको छाप नक्कली भनी पुष्टि भएको छ । सुरूले कसुर कायम गरेको फैसलालाई प्रतिवादीहरूले स्वीकार गरी बसेको अवस्था छ । प्रतिवादीहरूलाई कैदसमेतको सजाय गर्ने गरी भएको उच्च अदालत पाटनको फैसला मनासिब हुँदा सदर गरिपाउँ भनी गर्नुभएको बहस जिकिरसमेत सुनियो ।
यसमा प्रतिवादी महेश अधिकारीसमेतले विभिन्न व्यक्तिहरूको राहदानी लिई नक्कली श्रम स्टिकर टाँसी छाप लगाई ठुलो परिमाणमा रकम दिई गैरकानूनी रूपले मानिसहरूलाई विदेश पठाउने गरेको भन्ने देखिन आएकोले प्रतिवादीहरूको सो कार्य मुलुकी ऐन, किर्ते कागजको महलको १, ९ र १२ नं. बमोजिमको कसुर पुष्टि भएकोले प्रतिवादीहरूलाई सोही महलको सोही नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी भएकोमा प्रतिवादीहरू अभय पोखरेल, महेश अधिकारी र वुमसाङ धोर्जेलाई किर्ते कागजको महलको ९ नं. बमोजिम जनही रू.५०।- जरिवाना हुने, ऐ. को १२ नं. बमोजिमको थप सजायको दाबी पुग्न नसक्ने र प्रतिवादीहरू सन्चमाया वि.क. र मसली कामीको हकमा अभियोग दाबीबाट सफाइ पाउने ठहरी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला केही उल्टी गरी प्रतिवादी अभय पोखरेल, महेश अधिकारी र वुमसाङ धोर्जे लामालाई मुलुकी ऐन, किर्ते कागजको महलको १२ नं. बमोजिम थप १ वर्ष कैद सजाय हुने र प्रतिवादी सन्चमाया वि.क. र मसली कामीको हकमा सुरू फैसला सदर हुने गरी उच्च अदालत पाटनबाट मिति २०७४।७।१९ मा फैसला भएकोमा सो फैसलाउपर प्रतिवादी महेश अधिकारी र अभय पोखरेलको यस अदालतसमक्ष छुट्टाछुट्टै मुद्दा दोहोर्याई पाउँ भनी निवेदन परी यस अदालतबाट अनुमति प्रदान भई प्रस्तुत पुनरावेदनको रोहमा पेस हुन आएको देखियो ।
माथि उल्लिखित दुवै पक्षका विद्वान् कानून व्यवसायीहरूले गर्नु भएको बहस जिकिर सुनी पुनरावेदन पत्रसहितको मिसिल संलग्न सम्पूर्ण कागजातहरूसमेत अध्ययन गरी उच्च अदालत पाटनबाट भएको फैसला मिलेको छ छैन ? पुनरावेदक/प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन् भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखियो ।
२. प्रतिवादीहरू वुमसाङ धोर्जे लामालाई महेश अधिकारीले प्रति-स्टिकर रू.१५,०००।- का दरले बिक्री गर्न लागेको अवस्थामा निज महेश अधिकारीबाट राहदानी ३८ थान, विभिन्न संस्थाको छाप र श्रम स्टिकर १२ थान बरामद भएको छ भने वुमसाङ धोर्जे लामाको डेराबाट श्रम स्टिकर ६ थान, राहदानी ३ थान, रबर स्ट्याम्प १ थान बरामद भएको छ । त्यसै गरी अभय पोखरेलको कोठाबाट नक्कली श्रम स्टिकर ११ थान, राहदानी ५ थान र भिषाको छायाँप्रति ५ थान बरामद भएको कुरा मिसिल संलग्न बरामदी मुचुल्काबाट देखिन्छ । उल्लिखित बरामदी मुचुल्काबाट प्रस्तुत मुद्दाको अनुसन्धान प्रारम्भ भई प्रतिवादीहरूउपर अभियोगपत्र दायर हुन आएको अवस्था छ ।
३. प्रतिवादी अभय पोखरेलले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा, एस.के. शाह भन्ने शम्भुप्रसाद दाहालसँग प्रति-स्टिकर रू.१,६००।- का दरले ११ थान खरिद गरी प्रति-स्टिकर रू.२,०००।- मा महेश अधिकारलाई बिक्री गरेको बेहोरा लेखाएका छन् भने महेश अधिकारीले पनि सोहीअनुरूपको बयान गरेको देखिन्छ । अर्का प्रतिवादी वुमसाङ धोर्जे लामाले नक्कली स्टिकर भएकोमा साबित भई सन्चमाया र मसली कामीको राहदानीमा स्टिकर लगाउने कार्य गरेको बेहोरा लेखाएका छन् । सन्चमाया र मसलीले वुमसाङ धोर्जेले नक्कली स्टिकर लगाएको भनी पोल गरेका छन् ।
४. प्रतिवादी अभय पोखरेलसहित ५ जना व्यक्तिउपर अभियोग पत्र दायर भएकोमा सुरू जिल्ला अदालतबाट ५ जना प्रतिवादीमध्ये प्रतिवादीहरू अभय पोखरेल, महेश अधिकारी र वुमसाङ धोर्जे लामासमेत ३ जनाउपर कसुर ठहर भएको र प्रतिवादीहरू सन्चमाया वि.क. र मसली कामीले सफाइ पाएकोमा सोउपर वादी नेपाल सरकारले कसुर ठहर भएको प्रतिवादीहरूउपर थप सजाय हुन् र सफाइ पाएका प्रतिवादीहरूउपर अभियोग दाबीअनुसार सजाय हुन पुनरावेदन गरेकोमा यी पुनरावेदक प्रतिवादीहरूसमेतलाई थप १ वर्ष कैद सजाय भएको देखिन्छ । सुरू अदालतबाट कसुर ठहर भएको फैसलालाई यी पुनरावेदक/प्रतिवादीहरूले स्वीकार गरी बसेको अवस्था छ । उच्च अदालतबाट कैद सजाय भएको हदसम्मको सजायमा मात्र चित्त नबुझी यस अदालतमा पुनरावेदन गरेको देखिन्छ । प्रतिवादी बुमसाङ धोर्जे लामाको पुनरावेदन नपरेको हुँदा निजको हकमा विचार गर्नु परेन ।
५. यी पुनरावेदक / प्रतिवादीहरूले अदालतसमक्षको बयानमा कसुरमा इन्कार रहे पनि मौकाको बयानमा कसुरमा साबित रहेको देखिन्छ । यी पुनरावेदक प्रतिवादीहरूले अदालतसमक्षको बयानमा बरामदी मुचुल्कामा भएको सहीछापलाई अन्यथा भन्न सकेको छैन । बरामदी मुचुल्काका व्यक्ति र प्रतिवेदकसमेतले बरामदी मुचुल्का बेहोरालाई समर्थन गरी अदालतसमक्ष उपस्थित भई बकपत्र गरिदिएको देखिन्छ । मौकाको बयान स्वेच्छाको होइन भनी जिकिर लिए पनि प्रतिवादीहरूले उक्त जिकिर प्रमाणद्वारा पुष्टि गर्न सकेको छैन । प्रतिवादीहरूले अदालतसमक्षको बयानमा बरामदी सामान र आफ्नो इन्कारी बयानलाई ठोस सबुद प्रमाणबाट पुष्टि गराउन सकेको छैन । प्रतिवादीहरूले बरामदी मुचुल्का र मौकाको बयानमा आफैँले लेखेर सही गरेको देखिन्छ । निजहरूले गरेको सहीबाट प्रतिवादीहरू पढ्न लेख्न जान्ने व्यक्ति रहेको र त्यस्ता पढ्न लेख्न जान्ने व्यक्तिले कागजमा लेखेको बेहोरा नपढी त्यतिकै सही गरे होलान् भनी विश्वास गर्न सकिँदैन । प्रतिवादीहरूको मौकाको बयान र बरामदी मुचुल्कामा भएको सहीलाई स्वीकार गरेको र सोमा भएको बेहोरालाई इन्कार गरेको देखिन्छ । कागजमा भएको सहीछाप स्वीकार गरेको अवस्थामा अन्यथा प्रमाणित नभएसम्म सो कागजमा भएको बेहोरा पनि निजकै मानिने र सो बेहोरा निजको हकमा प्रमाणमा ग्रहणयोग्य नै मानिन्छ ।
६. पुनरावेदक / प्रतिवादीहरूले सुरू अदालतबाट किर्ते कागजको ९ नं. बमोजिम भएको सजायमा चित्त बुझाएको अवस्था छ । उच्च अदालत पाटनबाट प्रतिवादीलाई किर्ते कागजको १२ नं. को कसुरमा सोही नं. बमोजिमको १ वर्ष कैदको थप सजाय गरेको अवस्था छ । प्रतिवादीहरूको कार्य किर्ते कागजको १२ नं. बमोजिमको कसुर अपराधअन्तर्गत पर्छ पर्दैन भन्नेतर्फ हेर्दा, तत्कालीन मुलुकी ऐन, किर्ते कागजको १२ नं. को कानूनी व्यवस्था हेर्दा, "सरकारी अड्डाको छाप वा सरकारी काममा सरकारी कर्मचारीको छाप दस्तखत वा सो छाप दस्तखत भएको सरकारी कागज किर्ते गर्नेलाई यसै महलको अरू नं. ले हुन सजायमा एक वर्ष र उसै अड्डाको कर्मचारीले किर्ते गरेमा २ वर्ष थप कैद हुन्छ" भन्ने कानूनी व्यवस्था भएको पाइन्छ । उक्त कानूनी व्यवस्थालाई हेर्दा, सोही महलको अन्य नं. बमोजिम किर्ते गर्नेलाई सजाय हुनेमा १२ नं. बमोजिम सरकारी अड्डाको छाप वा सरकारी काममा सरकारी कर्मचारीको छाप दस्तखत वा सो छाप दस्तखत भएको सरकारी कागज किर्ते गर्नेलाई थप सजाय हुने देखिन्छ । प्रस्तुत मुद्दामा यी प्रतिवादीहरूले उक्त १२ नं. बमोजिम कसुर अपराध गरेको छ, छैन भन्नेतर्फ हेर्दा, प्रतिवादीहरू अभय पोखरेल, महेश अधिकारी र वुमसाङ धोर्जे लामासमेतका सँगसाथ तथा डेराकोठाबाट श्रम स्टिकर, वैदेशिक रोजगार विभागको रबर स्ट्याम्प छाप, विभिन्न व्यक्तिहरूको राहदानी तथा विभिन्न संस्थाको छाप बरामद भएको कुरा बरामदी मुचुल्काबाट देखिन्छ । उक्त बरामदी मुचुल्कामा बरामद भएका श्रम स्टिकर र Department of Foreign Employment Nepal, २०६५ लेखेको वैदेशिक रोजगार विभागको रबर स्ट्याम्प र श्रम स्टिकर टाँसेको विभिन्न व्यक्तिहरू राहदानीसमेत रहेको देखिन्छ । प्रतिवादीहरूबाट बरामद भएको वैदेशिक रोजगार विभागको छाप र वैदेशिक रोजगार विभागको छाप एकआपसमा मेल खान्छ खाँदैन भनी परीक्षण गरी पठाइदिनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको च.नं. ५३८४ मिति २०६९।९।३ को पत्रसाथ केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, महाराजगन्ज, काठमाडौं पठाएकोमा उक्त रबर स्टयापका छापहरू परीक्षण गर्दा एक आपसमा मेल नखाएको भनी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला महाराजगन्जको मिति २०६९।९।९ को परीक्षण प्रतिवेदनबाट देखिन्छ । त्यसै गरी मानकुमारी लामा र सुजु तामाङको नामबाट जारी भएको पासपोर्टहरूमा प्रयोग भएको श्रम स्टिकरहरू वैदेशिक रोजगार विभागबाट जारी नभएको बेहोराको वैदेशिक रोजगार विभागको च.नं. १२६६ मिति २०६९।९।३ को पत्र जवाफबाट देखिन्छ । यसरी प्रतिवादीहरूबाट बरामद भएको वैदेशिक रोजगार विभागको रबर स्ट्याम्प छाप र श्रम स्टिकर नक्कली किर्ते रहेको देखिन्छ । प्रतिवादीहरूबाट बरामद भएको विभिन्न व्यक्तिहरूको राहदानी सरकारी कागज रहेको र सो कागजमा नक्कली स्टिकर प्रयोग भएको, वैदेशिक रोजगार विभाग नेपाल सरकारको सरकारी कार्यालय रहेको र सो सरकारी कार्यालयको छाप नक्कली बनाई किर्ते गरेको देखिएबाट प्रतिवादीहरूको सो कार्य तत्कालीन मुलुकी ऐन, किर्ते कागजको महलको १२ नं. ले परिभाषा गरेको सरकारी छाप कागज किर्ते गरेको कसुरजन्य कार्य भए गरेकोमा प्रतिवादीहरूलाई ऐ. महलको ९ र १२ नं. बमोजिम सजाय गर्ने गरी भएको फैसला अन्यथा देखिएन । प्रतिवादीहरूले आफूहरू सरकारी अड्डाको छाप भनी अरू छाप निर्माण गरी कार्य नगरेको हुँदा किर्ते कागजको १२ नं. बमोजिम भएको सजाय त्रुटिपूर्ण छ भनी लिएको पुनरावेदन एवं बहस जिकिरसँग सहमत हुन सकिएन ।
७. अतः माथि विवेचित आधार र कारणहरूबाट मिसिल संलग्न बरामदी मुचुल्का, प्रहरी प्रतिवेदन, प्रतिवादीहरूको मौकाको बयान, सहप्रतिवादीको पोल, प्रतिवादीबाट बरामद भएको सामानहरूको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन एवं बरामदी मुचुल्काको व्यक्ति र प्रतिवेदकले अदालतसमक्ष आई गरेको बकपत्रसमेतका आधारमा प्रतिवादीहरू अभय पोखरेल, महेश अधिकारी, वुमसाङ धोर्जे लामालाई मुलुकी ऐन, किर्ते कागजको महलको ९ नं. बमोजिम जनही रू.५०।- जरिवाना गरी अन्य प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिने गरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७०।८।२० मा भएको फैसला केही उल्टी गरी प्रतिवादी अभय पोखरेल, महेश अधिकारी र वुमसाङ धोर्जे लामालाई ऐ. महलको १२ नं. बमोजिम थप जनही १ वर्ष कैद गर्ने गरी उच्च अदालत पाटनबाट मिति २०७४।७।१९ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक/प्रतिवादीहरूको पुरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला विद्युतीय प्रणालीमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.डा.मनोजकुमार शर्मा
इजलास अधिकृत (उपसचिव) : जानकी रमण यादव
इति संवत् २०७९ साल मंसिर १४ गते रोज ४ शुभम् ।