निर्णय नं. १११९० - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश डा. श्री कुमार चुडाल
माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
फैसला मिति : २०८०।२।४
मुद्दा: कर्तव्य ज्यान
०७२-CR-०५४९
पुनरावेदक / प्रतिवादी : जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं.३ बस्ने नरेन्द्रनाथ योगी
विरूद्ध
प्रत्यर्थी / वादी : विरेन्द्रबहादुर शाहीको जाहेरीले नेपाल सरकार
०७२-CR-१६८८
पुनरावेदक / प्रतिवादी : भुवानी शंकर गौतमको छोरा सुर्खेत जिल्ला वीरेन्द्रनगर न.पा. वडा नं. ३ बस्ने वर्ष ३१ को युवराज गौतम
विरूद्ध
प्रत्यर्थी / वादी : विरेन्द्रबहादुर शाहीको जाहेरीले नेपाल सरकार
०७२-CR-१६८९
पुनरावेदक / प्रतिवादी : हेमराज रेग्मीको छोरा सुर्खेत जिल्ला वीरेन्द्रनगर न.पा. वडा नं. ४ बस्ने वर्ष ३२ को उपेन्द्र रेग्मी
विरूद्ध
प्रत्यर्थी / वादी : विरेन्द्रबहादुर शाहीको जाहेरीले नेपाल सरकार
०७२-RC-००९७
वादी : विरेन्द्रबहादुर शाहीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रतिवादी : सन्तोष अधिकारी
कसुर स्थापित हुन प्रतिवादी घटना स्थलमा उपस्थित रही कुनै अर्को प्रतिवादीले ज्यान मार्ने कार्य गरेको अवस्थामा सो कार्यमा सहप्रतिवादीलाई सहयोग गरेको तथ्य शंकारहित तवरमा स्थापित
हुनुपर्ने । वारदातस्थलमा उपस्थित रहनु नै कसुर कायम हुने र सजायको भागीदार हुने आधार नबन्ने । वारदात घटाउन पूर्वयोजनाअनुसार घटनास्थलमा उपस्थित भएको छ, छैन, वारदातस्थलमा गरेको आपराधिक कार्यको आधार स्थापित हुन्छ, हुँदैन भन्ने महत्त्वपूर्ण पक्ष हुने । मृतकलाई उपचारको लागि सहयोग नगरेका कारणले मात्र आपराधिक दायित्व सिर्जना नहुने ।
(प्रकरण नं.१०)
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री नरेन्द्र श्रेष्ठ, श्री कृष्णप्रसाद सापकोटा र विद्वान् अभिवक्ता श्री रमेश रेग्मी, विद्वान् वैतनिक कानून व्यवसायी अधिवक्ता श्री सुधा शर्मा
वादीका तर्फबाट : विद्वान् उपन्यायाधविक्ता श्री बीना दहाल
अवलम्बित नजिर :
ने.का.प.२०७०, अङ्क ६, नि.नं.९०२२
सम्बद्ध कानून :
मुलुकी अपराध संहिता, २०७४
प्रमाण ऐन, २०३१
सुरू फैसला गर्ने :
माननीय न्यायाधीश श्री कुल प्रसाद शर्मा
सुर्खेत जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
मा. न्यायाधीश श्री रमेश प्रसाद राजभण्डारी
पुनरावेदन अदालत सुर्खेत
फैसला
न्या.डा.कुमार चुडाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ८(२) र १० बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दा यसै अदालतको क्षेत्राधिकारभित्रको हुँदा प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
संक्षिप्त तथ्य
मिति २०६१।३।१४ गते बिहान अं. ११.०० बजेको समयमा जिल्ला बर्दिया बगनाह गा.वि.स. वडा नं. ३ घर भई हाल मेरो घरमा डेरा गरी बस्ने मेरो फुपूको छोरा गोपाल भन्ने यादव शाहलाई सन्तोष अधिकारीसमेतले ढुङ्गाले टाउको तथा शरीरका विभिन्न अङ्ग भागमा प्रहार गरी सख्त घाइते बनाएका, तत्काल उपचारको लागि क्षेत्रीय अस्पताल सुर्खेतमा लग्दा उपचार हुन नसकी थप उपचारको लागि नेपालगन्ज मेडिकल कलेजमा लगी उपचार गर्दा गर्दै मृत्यु भएकोले कारबाही होस् भन्नेसमेत बेहोराको जाहेरी दरखास्त ।
सुर्खेत वीरेन्द्रनगर न.न.पा.वडा नं.४ खोर्केखोला स्थित पूर्व खोर्केखोला, पश्चिम हर्कबहादुर नेपालीको घर, उत्तर खोर्केखोला सिँचाइ बाँध, दक्षिण राजेन्द्र गिरीको घर यति ४ किल्लाभित्रको खोर्केखोला सिँचाइ बाँध रहेको कुलो सोही स्थानमा मिति २०६१।३।१४ गते बिहान अं. ११:३० बजेको समयमा प्रतिवादी सन्तोष अधिकारीसमेतका व्यक्तिहरूले मृतक गोपाल भन्ने यादव शाहलाई ढुङ्गाले हानी सख्त घाइते बनाएको स्थानको घटनास्थल मुचुल्का ।
मृतक गोपाल भन्ने यादव शाहको मृत्यु टाउकोमा चोट लागेको कारणले भएको भन्नेसमेत बेहोराको मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतको लास पोस्टमार्टम रिपोर्ट ।
मिति २०६१।३।१४ गते म आफ्नै माइती घरमा थिएँ, १४ गतेको अघिल्लो रात मेरो भाइ किशोर गौतम र गोपाल भन्ने यादव शाह मेरो माइती घरमा सुतेका थिए १४ गते घरमा पुर्याउन लागेको बखत प्रतिवादीहरूले हात मुक्काले हानी लडाई प्रतिवादीमध्येका सन्तोष अधिकारीले हानेको ढुङ्गाले कञ्चटमा लागेको र सोही चोटको कारणले रगताम्य भई बेहोस भई ढलेपछि प्रतिवादीहरू वारदात स्थानबाट भागी फरार भएका हुन् भन्नेसमेत बेहोराको विष्णु गौतमको अनुसन्धान अधिकृतसमक्ष गरेको कागज ।
मिति २०६१।३।१४ गते मृतक गोपाल भन्ने यादव शाहले मलाई फोन गरी बोलाएकोले कुरा गरी यादव शाह पनि मेरो घरमा सुते र सो रात हीरा गुरूङको कोठामा लोकप्रसाद गौली भन्ने केटा उठवस गर्छ किन केटा बसाल्छौ भन्दा गाली गरी तत्पश्चात् लोकप्रसाद गौलीले जाहेरवालाको श्रीमतीलाई यादव शाहलाई कुटपिट तथा मार्नेसमेत धम्की दिएको रहेछ, २०६१।३।१४ गते यादव शाहलाई डेरा कोठातिर पुर्याउन जाँदै गरेको अवस्थामा खोर्केखोलाको बाँध स्थित पुगेको अवस्थामा उपेन्द्र रेग्मीसमेतका प्रतिवादीहरूले योजना बनाई मृतक यादव शाहलाई एक्कासि घाँटीमा समाती कन्चटमा मुक्काले हानी ढुङ्गा मुढाले प्रहार गरी सख्त घाइते बनाएको हुँदा सोही चोटको कारण उपचारकै क्रममा निज यादव शाहको मृत्यु भएको हो भन्नेसमेत बेहोराको किशोर गौतमको अनुसन्धान अधिकृतसमक्ष गरेको कागज ।
मिति २०६१।३।१४ गते अं. ११.३० बजेको समयमा खोर्केखोला सिँचाइ बाँधमा झगडा परेको छ भन्ने खबर थाहा पाएपछि घटनास्थलमा पुग्दा दुवै पक्षबिच ढुङ्गा हानाहान भइरहेको थियो, प्रतिवादीमध्येका सन्तोष अधिकारीसमेतले प्रहार गरेको ढुङ्गाले हान्दा मृतक यादव शाहको टाउकोमा गम्भीर चोट लाग्न गई सख्त घाइते भएपश्चात् पनि निज प्रतिवादीहरूले निरन्तर ढुङ्गा मुढा प्रहार गरिरहेका थिए । जब निज यादव शाह रगताम्य भई ढल्न पुगे तब प्रतिवादीहरू भागी फरार भएका हुन् । तत्पश्चात् यादव शाहलाई उपचारका लागि अस्पताल लगिएको हो । उपचारकै क्रममा प्रतिवादीहरूले ढुङ्गाले हानेको कारणले यादव शाहको मृत्यु भएको हो भन्नेसमेत बेहोराको ओमबहादुर बोहरासमेतका मानिसहरूले अनुसन्धान अधिकृतसमक्ष गरेको कागज ।
मिति २०६१।३।१२ गते राति दिदी हीरा गुरूङले ल्याएको किताब यादव शाहले च्यातिदिएको रहेछ । सोही दिनको करिब ९.०० बजेको समयमा सोही घरमा डेरा गरी बस्ने झलक भण्डारीको कोठाबाट मृतक यादव शाह कताबाट मादक पदार्थ सेवन गरी आई हीरा गुरूङ कस्ती केटी हो मलाई थाह छ, राति राति लोकप्रसाद गौली आई बस्छ भन्दा मेरो दिदी हिरा गुरूङलाई किन ओराप लगाएको छौ भनी भनाभन भयो । यसै क्रममा ऐ. १३ गते मेरो दाजु दैलेखबाट आएको हुँदा लोकप्रसादसमेत सँगै आएका थिए । उक्त समयमा यादव शाहसँग भएको वादविवादको बारेमा सबै कुरा दाजु तथा लोकप्रसाद गौलीसँग भनेकी
हुँ । ऐ. १४ गते मृतक यादव शाहलाई प्रतिवादीहरूको कुटपिटबाट टाउकोमा गम्भीर चोट लागी उपचारको लागि जाँदै गर्दाको अवस्थामा निज यादव शाहको मृत्यु भएको भन्नेसमेत बेहोराको आशा गुरूङले अनुसन्धान अधिकृतसमक्ष गरेको कागज ।
मृतकलाई लोकप्रसाद गौलीले खोजी गर्दै हिँडेको र फेला परेमा मार्छु भनी भन्दै हिँडेको हुँदा निज लोकप्रसाद गौलीको षड्यन्त्रबाट निज यादव शाहको मृत्यु भएको हो भन्नेसमेत बेहोराको केशवबहादुर शाहीको अनुसन्धान अधिकृतसमक्ष गरेको कागज ।
मिति २०६१।३।१४ गते बिहान ७:४५ बजेको समयमा चिया पिएर फर्किंदै गरेको अवस्थामा प्रतिवादीहरू उपेन्द्र रेग्मी र नरेन्द्रनाथ योगी सोही चोकको एउटा होटेलमा बसी मादक पदार्थ रक्सी खाइरहेका थिए । मलाई खोर्केखोला बाँधमा नुहाउन जाउँ भनी भनेको हुँदा जान लाग्दा प्रतिवादी युवराज गौतमले आफ्नो घरबाट देखेकोले ४ जना भई नुहाउन गएका हौं । नुहाउन लागेको अवस्थामा गोपाल भन्ने यादव शाह र किशोर गौतम २ जना हाम्रो नजिक आइपुगेपछि मृतक यादव शाहलाई चिन्दछु भनी नरेन्द्रनाथ योगीले भेट्न गयो । सोपश्चात् दुवैको बिचमा वादविवाद भएको र उक्त समयमा नरेन्द्रनाथ योगीले मादक पदार्थ सेवन गरेको थियो । झगडा हुँदाका बखतमा दुवै जनाबिचमा हात हालाहाल भएको हो र हामीले छुट्याएका हौं । तत्पश्चात् मृतक यादव शाह र किशोर गौतम उक्त स्थानबाट गए र केही समयपछि हात हातमा खुकुरी लिई हामीलाई प्रहार गर्न आएपछि हामीहरूले मृतक यादव शाह र किशोर गौतम भएको स्थानतर्फ ढुङ्गा मुढा प्रहार गरिरहेको बेला हामीहरूको प्रहार गरेको ढुङ्गाले यादव शाहको टाउकोमा लाग्न गई भाग्ने क्रममा सिँचाइ बाँधको सानो कुलोमा लड्न पुगेको हो र यसरी हामीहरूले प्रहार गरेको चोटले सख्त घाइते भएको गोपाल भन्ने यादव शाहलाई तत्कालै उपचारको लागि मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा लगी उपचार हुन नसकी लखनउतर्फ लैजाने क्रममा मृत्यु भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी सन्तोष अधिकारीको अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६१।३।१४ गते मसमेतका मानिसहरू घटनास्थलमा जाँदा उक्त स्थानमा प्रतिवादी उपेन्द्र रेग्मीलगायत गोपाल भन्ने यादव शाह, किशोर गौतमबिचमा झै-झगडा तथा वादविवाद हुनुका साथै ढुङ्गा हान्न लागेको अवस्थामा म उक्त स्थानमा पुगेको हुँ । मैले देखेको बखतमा मृतक यादव शाहको टाउकोमा गम्भीर चोट लागको थियो सोही चोटको कारणले उपचारको क्रममा लखनउतर्फ लैजाँदै गर्दा मृत्यु भएको हो । यसरी वारदात मितिपूर्व भएको योजनाले मृतक यादव शाहलाई विभिन्न समयमा ज्यान मार्ने धम्की गरेबाट प्रतिवादी लोकप्रसाद गौलीको योजनामा अन्य प्रतिवादीले समेत निज यादव शाहलाई ढुङ्गा प्रहार गरी कर्तव्य गरी मारेको हो भन्नेसमेत बेहोराको बुझिएका ओम कठायतसमेतका मानिसहरूले एकै मिलानको अनुसन्धान अधिकृतसमक्ष गरेको कागज ।
प्रतिवादी सन्तोष अधिकारी, उपेन्द्र रेग्मी, नरेन्द्रनाथ योगी र युवराज गौतमले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. तथा चोरी महलको १, ४ नं. को कसुरमा निजहरूलाई सोही ज्यानसम्बन्धी महलको १३ (३) नं. तथा चोरीको महलको १२ र १४(२) नं. बमोजिम सजाय गरी जबरजस्ती छिनाली चोरी गरी लगेको २ तोलाको सुनको सिक्रीसमेत मुलुकी ऐन चोरीको महलको २१ नं. बमोजिम जाहेरवालालाई दिलाई भराइपाउँ अन्य प्रतिवादीहरूद्वय हीरा गुरूङ र लोकप्रसाद गौली वारदातस्थलमा मौजुदा नरहेको तर यादव शाहलाई मार्नमा मुख्य भई षड्यन्त्र गरी ज्यानमार्ने कार्य गर्न लगाएको अवस्था पुष्टि भएकोले निजहरूलाई मुलुकी ऐन ज्यानसमबन्धी महलको १ नं. को कसुरमा सोही ऐनको सोही महलको १६ नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग मागदाबी ।
मिति २०६१।३।१४ गते बिहान ८L१५ बजेतिर नुहाउन भनी म, उपेन्द्र रेग्मी, नरेन्द्रनाथ योगी र युवराज गौतम खोर्केखोलामा गएका थियौं, सोही समयमा किशोर गौतम र गोपाल भन्ने यादव शाह हामीहरू नुहाउन गएको खोर्केखोलामा सिँचाइ ड्याम नजिकै आएको थिए । नरेन्द्रनाथ योगीले कहाँबाट आएको भनेर किशोर गौतमलाई सोधेकोमा किशोर गौतमले तँ चोरलाई के मतलब छ भनेर जवाफ
दिए । किशोर गौतमले चोर भन्यो भनेर नरेन्द्रनाथ योगी र किशोर गौतमबिच विवाद भयो, विवाद नगर भनेर म, युवराज गौतम, उपेन्द्र रेगमी गई छुट्याएका हौं । पछि किशोर गौतम, यादव शाह र अरू नाम नचिनेका २/३ जना दौडँदै खोलातर्फ हामीहरू खोज्दै आएकोमा कुलोमा लड्दा कुलोको ढिकमा टाउको पर्दा काटिएका र उपचार गर्दागर्दै घाइते यादव शाहको मृत्यु भएको भन्ने कुरा सुनी थाहा पाएको हुँ । मसमेतले यादव शाहलाई ढुङ्गाले प्रहार गरी सोही चोटको कारणले मृत्यु भएको होइन । मसमेतले मृतक शाहलाई ढुङ्गा प्रहार गरेका हौइनौं भन्नेसमेत बेहोराको प्रतिवादी सन्तोष अधिकारीले अदालतमा गरेको बयान ।
हिरा गुरूङ र मेरोबिचमा सम्बन्ध रहेको र हिरा गुरूङको कुरा सुनी मृतकलाई खोजी गरी हिँडेको र षड्यन्त्र गरी मार्न लगाएको भन्ने सम्पूर्ण कुरा झुठ्ठा हो । मैले यादव शाहलाई मार्न षड्यन्त्र गरेको होइन को कसले किन मसमेतलाई षड्यन्त्रकारी बनाई जाहेरी दिए, मलाई थाहा छैन भन्नेसमेत बेहोराको प्रतिवादी लोकप्रसाद गौलीले अदालतमा गरेको बयान ।
मृतकलाई शरीरमा र टाउकोमा चोट पटक लागेको देखी शंकाले जाहेरी दिएको हुँ । किशोर गौतमको घरमा जाने क्रममा सो खोर्केखोलामा पश्चिमपट्टि भएको सिँचाइ कुलोमा चिप्लेर लडी चोट लागेको हो भनेको हुँ । किन लोटे चोट लागेपछि मसमेतले बोकेर हस्पिटल ल्याएको हौं भन्नेसमेत बेहोराको जाहेरवाला वीरेन्द्रबहादुर शाहीले गरेको बकपत्र ।
मृतक यादव शाहको मृत्यु २०६१।३।१४ गते दिउँसो ११:०० बजेको खोर्केखोलाको पक्की सिँचाइ कुलोमा चिप्लेर लोटी भएको हो भन्नेसमेत बेहोराको बुझिएका किशोर गौतमले गरेको बकपत्र ।
मृतक आफैँ लडी चोट लागेको हो । प्रतिवादीले ढुङ्गाले हानेका होइनन् भन्ने मैले सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी निलकण्ठ खनालले गरेको बकपत्र ।
मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. तथा चोरीको महलको १२, १४ (२) र २१ नं. बमोजिम सजायको मागदाबी लिई अभियोग पत्र दायर भएको स्थितिमा चोरीको महलतर्फको अभियोग मागदाबीतर्फ केही नबोली मात्र ज्यानसम्बन्धी महलको दाबीतर्फ मात्र ठहर निर्णय गरेकोले अभियोग मागदाबीको सबै विषयमा ठहर निर्णय नगरेको सुरू सुर्खेत जिल्ला अदालतको मिति २०६६।९।७।३ को फैसला अ.बं.१९२ नं.को विपरीत भई त्रुटिपूर्ण देखिँदा बदर गरिदिएको छ । अब उपस्थित रहेका सबै प्रतिवादीहरूको हकमा समेत कानूनबमोजिम फैसला गर्नु भनी सुरू मिसिल सुर्खेत जिल्ला अदालतमा पठाइदिनु भन्ने पुनरावेदन अदालत सुर्खेतको फैसला ।
फरार प्रतिवादीहरूको हकमा मुल्तवीबाट जागी दर्ता भएको ।
मिति २०६१।३।१४ गते अं ८:१५ बजे म सन्तोष अधिकारी, युवराज गौतम र नरेन्द्रनाथ योगी सुर्खेतको खोर्के भन्ने ठाउँमा नुहाउन गएका थियौं । त्यसबेला किशोर गौतम र मृतक गोपाल भन्ने यादव शाह त्यही बाटो आउँदा नरेन्द्रनाथ योगीले कहाँबाट आएको भनी सोध्दा किशोर गौतमले तँलाई के मतलब भनी विवाद पछि किशोर गौतम र मृतक त्यहीँबाट हिँडेका हुन् । कहाँ गए थाह भएन । हामी नुहाई धुवाई गरी चिसापानी हुँदै बजार गर्यौं मृतकसँग त्यसपछि हाम्रो भेट भएन । के कसरी मृत्यु भयो थाहा भएन भनी प्रतिवादी उपेन्द्र रेग्मीले अदालतमा गरेको बयान ।
मिति २०६१।३।१४ गते बिहान अं. ८:१५ बजेको मृतक यादव शाह, नरेन्द्र योगी र किशोर गौतमको बिचमा वादविवाद झगडा भएको थियो म, उपेन्द्र रेग्मी, सन्तोष अधिकारीले झगडा छुट्टाइदिएका हौं । झगडा छुट्टाइसकेपछि हामी नुहाएर चिसापानी हुँदै बजारतर्फ लाग्यौं त्यसपछि मृतक कहाँ गए थाहा
भएन । तीन दिनपछि मात्र यादव शाहको मृत्यु भयो भन्ने सुनेको हुँ भनी प्रतिवादी युवराज गौतमले अदालतमा गरेको बयान ।
मृतक यादव शाहको मृत्यु नुहाउने क्रममा लडी टाउकोमा चोट लागी भएको भन्ने सुनेको हुँ । मिति २०६०।१०।१५ गते म भारत गएको हुँदा घटनाका बारेमा मलाई थाहा भएन, मैले घटना घटाएको होइन भनी प्रतिवादी नरेन्द्रनाथ योगीले अदालतमा गरेको बयान ।
२०६१।३।१४ गते म भारतको बरौदा भन्ने ठाउँमा थिएँ । प्रतिवादी नरेन्द्रनाथ योगी २०६१।३।६ गतेदेखि १४ गतेसम्म बिरामी परी बरौदाको सुन्दरम अस्पतालमा बिरामी भई भर्ना भएका थिए । घटना हुँदा यहाँ थिएनन् भनी प्रतिवादी नरेन्द्रनाथ योगीका साक्षी रूद्रबहादुर वली र सोही मिल्दो जुल्दो मोहननाथ योगीले गरेको बकपत्र ।
प्रतिवादी सन्तोष अधिकारीका साबिती बयान प्रतिवादी युवराजको अदालतसमक्षको बयान, घाउ जाँच विवरण, लासको प्रकृति, शव परीक्षण प्रतिवेदनहरू परस्पर मालाकार रूपमा मिल्न भिड्न आएबाट प्रतिवादी सन्तोष अधिकारीले छाडेको ढुङ्गाको चोटले मृतक यादव शाह मर्न गएको देखिँदा यी प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा ज्यानसम्बन्धी महलको १३ (३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ र मृतकको घाँटीमा लगाएको सिक्री यिनै प्रतिवादीसमेतले लिएको लगेको भन्ने दाबी भए पनि त्यस्तो सामान बरामद हुन नसकेबाट प्रतिवादीहरूले चोरी गरे भन्ने ठोस आधार नहुँदा प्रतिवादीउपरको चोरीको १ र ४ नं. को कसुरमा सजाय गरिपाउँ भन्ने दाबी पुग्न सक्दैन । चोरीको दाबी पनि नपुग्ने र चोरीको दशी पनि बरामद नभएको अवस्थामा प्रतिवादीबाट जाहेरवालालाई धनमाल भराइदिने भन्ने दाबी पनि पुग्न सक्दैन । मुख्य अभियुक्त सन्तोष अधिकारीले मृतकलाई ढुङ्गा प्रहार गरी हत्या गर्ने विवादित घटनास्थलमा उपस्थित रहे बसेर वारदात हुनबाट रोक्ने छेक्नेसम्मको काम नगरी वारदात हेरी बस्ने मतलबी मतियार प्रतिवादी युवराज गौतम, प्रतिवादी नरेन्द्रनाथ योगी र प्रतिवादी उपेन्द्र रेग्मीलाई मु.ऐन ज्यानसम्बन्धी महलको १७ नं.को कसुरमा सोही १७(३) नं. बमोजिम जनही ३/३ वर्ष कैद हुने ठहर्छ । ठोस प्रमाणको अभावमा चोरीको दाबी पुग्दैन । मृतक यादव शाहलाई मार्ने योजना बनाउने मानिस प्रतिवादी लोकप्रसाद गौली र प्रतिवादी हिरा गुरूङको योजना एवं षड्यन्त्र पुष्टि हुने प्रमाण अनुसन्धानबाट पनि खुल्न नआएको र प्रतिवादी लोकप्रसाद गौलीले यस अदालतमा हाजिर भई बयान गर्दा मृतक यादव शाहलाई मार्ने योजना, षड्यन्त्र मैले गरेको होइन भनी दाबीलाई इन्कार गरी बयान गरेको र प्रतिवादी लोकप्रसाद गौली र प्रतिवादी हिरा गुरूङको योजना मुताबिक मृतकलाई मारेको हौं भनी अन्य कुनै पनि प्रतिवादीहरूले पोल गर्न नसकेको हुँदा यी प्रतिवादी लोकप्रसाद गौली र फरार रहेकी प्रतिवादी हिरा गुरूङले आरोपित कसुरबाट पूर्ण सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुर्खेत जिल्ला अदालतको फैसला ।
बुझिएका मौकामा कागज गर्ने किशोर गौतमको कागजबाट समेत यी प्रतिवादीहरूले कुटपिट र प्रहार गरेको तथ्य पुष्टि भई यी प्रतिवादीको संलग्नता वारदातमा रहेको र यी प्रतिवादीहरूले मार्नुपर्ने कारणमा मृतक र प्रतिवादी हिरा गुरूङका बिच विवाद भएको, सो रिसइवी साँध्ने अभिप्रायले प्रतिवादी लोकप्रसाद गौलीसमेत भई षड्यन्त्र गरेको भन्ने तथ्य स्थापित भएको, प्रतिवादीहरू नरेन्द्रनाथ योगी, सन्तोष अधिकारी, युवराज गौतम र उपेन्द्र रेग्मीले मृतक यादव शाहलाई कुटपिट गरी मरणासन्न तुल्याएपछि निज मृतकको गलामा लगाएको २ तोलाको सुनको सिक्री जबरजस्ती छिनाली लिएको भन्ने जाहेरवालाको सुरूको निवेदनमा प्रस्ट उल्लेख भई जाहेरीमा समेत उक्त सिक्री दिलाई भराइपाउँसमेत भनेको अवस्था देखिन्छ । जाहेरवालाले अदालतमा बकपत्र गर्दा प्रतिवादीहरूले प्रहार गरी कर्तव्य गरी मारेका होइनन् भनी प्रतिकूल बकपत्र गरे पनि उक्त जाहेरी बेहोरा मेरो हो भनी अदालतको सोधपुछ (स.ज.७) मा लेखाएको समेतबाट प्रतिवादीहरूले उक्त सिक्री जबरजस्ती लगेको भन्ने बेहोरा उल्लेख भएको जाहेरी सत्य रहेछ भन्ने देखिएको छ । यसबाट यी प्रतिवादीहरूउपरको जबरजस्ती चोरीको दाबी ठहर गर्दा उक्त चोरी गरी लगेको सुनको २ तोलाको सिक्री मृतकको हकवाला वा जाहेरवालालाई दिलाई भराइदिने ठहर गर्नुपर्नेमा सो नगरी सोतर्फको दाबी नपुग्ने भनी सुर्खेत जिल्ला अदालतले प्रतिवादी सन्तोष अधिकारीलाई सर्वस्वसहित जन्मकैदको सजाय गर्ने ठहर गरे पनि निज सन्तोष अधिकारीसमेतले जबरजस्ती चोरी गरेको ठहर नगरेको, प्रतिवादी युवराज गौतम, नरेन्द्रनाथ योगी र उपेन्द्र रेग्मीलाई कम सजाय गरेको एवं प्रतिवादी लोकप्रसाद गौली र हिरा गुरूङलाई अभियोग मागदाबीबाट सफाइ दिएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरी चोरीको सामानसमेत दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
अनुसन्धानको क्रममा कागज गर्ने किशोर गौतम, जो प्रत्यक्षदर्शी हुन् र किशोर गौतमले भन्दा थाहा पाई जाहेरी दरखास्त दिएका जाहेरवाला वीरेन्द्रबहादुर शाहीले अदालतमा उपस्थित भई बकपत्र गर्दा मृतक घरतर्फ फर्कने बेलामा खोर्के खोलामा भएको कुलोको ढिकमा चिप्लन गई कुलोको ढिक धारमा मृतकको टाउको पर्न गई चोट लागी रगत बगेको हो र उपचार गर्ने क्रममा मृत्यु भएको भनी उल्लेख गरेका छन् । मृतक यादव शाहको टाउकोमा ढुङ्गाको चोट लागेको कुरा मिसिलबाट स्थापित छ र उक्त फैसलामा आत्मसात् गरिएकै छ । सो चोट हानेको ढुङ्गाले मात्र लाग्न सक्ने, लागेको हो, कुलोमा भएको ढुङ्गामा पछारिँदा टाउको पर्न गएपछि लाग्न नसक्ने, नलागेको भन्ने प्राविधिक, वैज्ञानिक, भौतिक, तार्किक आधार केही नहुँदानहुँदै मिसिल संलग्न प्रमाण कागजबाट जे देखिन्छ त्यसरी नै चोट लाग्न गएको भनी मान्नुपर्ने हुन्छ । न्याय निरूपण आधार भनेको मौजुदा प्रमाणबाहेक अरू केही नहुने हुँदा सुरू सुर्खेत जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी हामीलाई पूर्ण सफाइ दिलाइपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादीहरू उपेन्द्र रेग्मी र युवराज गौतमको संयुक्त पुनरावेदन पत्र ।
घटनाको दिन उल्लिखित घटनास्थलमा म छैन र सो अघिपछि पनि तत्काल समयमा म आफ्नो घर वा गाउँ छिमेक वा जिल्लामै छैन र विदेश भारतको वरौदा अलकापुरी सुन्दर अस्पताल थिएँ भन्ने मेरो बयान र सोही बयानलाई समर्थन गरी उक्त स्थानमा उक्त अवस्थामा रहे भएको देखेको हुँ भन्ने चस्मदिद मेरो साक्षी मोहन नाथ योगी र रूद्रबहादुर वली जना २ ले अदालतमा आई बकपत्र गरी लेखाइदिएका हुँदा प्रमाण ऐन, २०३१ को दफा २७ बमोजिम प्रतिवादीले पुर्याउनुपर्ने प्रमाणको भार म बिरामी भई उपचारमा बसी सञ्चो भई गएको डाक्टरको प्रमाणित सर्टिफिकेट लिखत र उल्लिखित साक्षीको बकपत्रबाट मैले उक्त कानूनले पुर्याउनुपर्ने प्रतिवादीको प्रमाणको भार पुर्याएको छु त्यो मेरो प्रमाणको भार खण्डन गरेको कतैबाट पनि देखिएको छैन । वादी पक्षका साक्षी जाहेरवालालगायत घटनास्थलका सर्जमिनमा उल्लिखित साक्षी कसैले पनि अदालतमा आएर मेरो विरूद्ध बकपत्र गरेका छैनन् र मिसिलमा स्वयं वादीका साक्षीले मृतक यादव शाह खोर्के खोलाको ढुङ्गामा चिप्लिएर लोटी मृत्यु भएको भन्ने उल्लेख गरेको पाइन्छ । यसरी वादीका साक्षीले मेरो विरूद्ध अदालतमा बकपत्र नगरेका र लिखित प्रमाण पनि पेस नभएकाले मेरो साक्षीको मेरो संरक्षणमा बकपत्र र प्रमाण पेस हुँदा मैले उक्त अभियोगबाट सफाइ पाउनुपर्नेमा सुरू सुर्खेत जिल्ला अदालतले मलाई कैद वर्ष ३ को सजाय गर्ने गरेको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी उल्लिखित सजायबाट फुर्सद पाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी नरेन्द्रनाथ योगीको पुनरावेदन
पत्र ।
यसमा प्रतिवादीमध्येका सन्तोष अधिकारीलाई सुरू जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय गरी साधक सदरका लागि जाहेर गर्ने भन्ने फैसला बेहोरा भएकोमा निजका हकमा साधक दायरीमा दर्ता भएको नदेखिएको हुँदा कानूनबमोजिम साधक दायरीमा दर्ता गरी पेस गर्नु भन्ने अदालतबाट मिति २०७०।०५।१६।०१ मा भएको आदेश ।
यसमा सुरू फैसलाबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका प्रतिवादीमध्येका सन्तोष अधिकारीको पुनरावेदन नपरे पनि साधकको रोहबाट हेर्दा यस मुद्दामा दुवैतर्फबाट ढुङ्गा हानाहान हुँदा गोपाल भन्ने यादव शाहलाई लाग्न गएको ढुङ्गाको चोटका कारणले निजको मृत्यु भएको भन्ने देखिँदा निज प्रतिवादी सन्तोष अधिकारीलाई सर्वस्वसहित जन्मकैदको सजाय गर्ने गरी भएको सुरू सुर्खेत जिल्ला अदालतको मिति २०६९।२।११।५ को फैसला विचारणीय देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ प्रयोजनार्थ विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि यसै लगाउका २०६९-CS-००६६, ०९० र १०७ मुद्दा साथै राखी नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत सुर्खेतबाट मिति २०७०।०६।०७ मा भएको आदेश ।
प्रतिवादीमध्येका सन्तोष अधिकारीको हकमा साधकको रोहबाट विचार गरी हेर्दा मृतक गोपाल भन्ने यादव शाहको मृत्यु ढुङ्गा प्रहार भई कर्तव्यबाट मृत्यु भएको कुरामा कुनै विवाद नदेखिएको, प्रतिवादी सन्तोष अधिकारी स्वयंले ५।६ वटा ढुङ्गाले मृतकलाई प्रहार गरेको सोही चोटबाट मृतकको मृत्यु भएको भनी मौकामा साबिती बयान गरेको, सोअनुरूप घाउ जाँचलगायत घटनास्थल तथा लास प्रकृति मुचुल्कासमेतबाट मृतकको टाउको फुटेको देखिएको र Head injury को कारण नै मृतकको मृत्युको कारण भएको भनी शव परीक्षण प्रतिवेदनमा डाक्टरको राय भएकोसमेतका परिस्थितिजन्य आधारहरूबाट निज प्रतिवादी सन्तोष अधिकारीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने र सबुद प्रमाणको अभावमा चोरीतर्फको अभियोग दाबी नपुग्ने ठहराई भएको सुरू सुर्खेत जिल्ला अदालतको फैसला मिलेकै देखिँदा सदर हुने
ठहर्छ । अपराधको पृष्ठभूमि अवस्था र परिस्थितिबाट निज प्रतिवादीलाई उपर्युक्त सजाय गर्दा चर्को पर्न जाने हो कि भनी चित्तमा लागेको हुँदा निजलाई अ.बं. १८८ नं. को आधारमा १२ (बाह्र) वर्ष कैद हुनुपर्ने देखी सोको साधक जाहेर गर्ने गरी राय प्रस्तुत गरिदिएको छ । अन्य प्रतिवादीहरू उपेन्द्र रेग्मी, युवराज गौतम र नरेन्द्रनाथ योगीको हकमा निजहरू वारदातस्थलमा उपस्थित रहेको हदसम्म निज प्रतिवादीहरूउपर ज्यानसम्बन्धी महलको १७ (३) नं. को कसुर गरेको देखिँदा निजहरूलाई जनही ३ (तीन) वर्ष कैदको सजाय हुने तथा ज्यान मार्ने कार्यमा षड्यन्त्र गरेको भन्ने आरोपित अभियोग कसुरमा प्रतिवादीहरू लोकप्रसाद गौली र हिरा गुरूङको संलग्नता भएको मिसिल प्रमाणबाट नदेखिएको आधारमा प्रतिवादी लोकप्रसाद गौली र हिरा गुरूङलाई सफाइ दिने र सबुद प्रमाणको अभावमा चोरीतर्फको अभियोग दाबी नपुग्ने ठहराई सुरू सुर्खेत जिल्ला अदालतबाट मिति २०६९।२।११ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न
सक्दैन । भन्नेसमेत बेहोराको पुनरावेदन अदालत सुर्खेतको फैसला ।
म पुनरावेदक प्रतिवादी वारदात भएको भनिएको मिति २०६१।३।१४ गते वारदातस्थलमा नभई भारतको वरौदामा भएको, त्यहीँ रहेको अवस्था बिरामी परी त्यहाँको अलकापुरी भन्ने सहरमा अवस्थित सुन्दर अस्पतालमा मिति २०६१।३।५ मा भर्ना भई ऐ. १४ गते बिहान ९ बजे मात्र सो अस्पतालबाट डिस्चार्ज भएको कुरा अदालतको आफ्नो बयानमा खुलाएको
छु । मेरो सो बयान मेरा २ जना साक्षी मोहननाथ योगी र रूद्रबहादुर वलीबाट स्पष्ट रूपमा पुष्टि भएको छ । मुद्दाका प्रमुख गवाहको रूपमा रहेका जाहेरवालाले अदालतमा आई बकपत्र गर्दा मउपर किटान गरेका छैनन् । अन्य आधारभूत स्वतन्त्र प्रमाणहरूबाट कसुर कायम हुनसक्ने स्थितिमा मात्रै सह-अभियुक्तको पोललाई थप निश्चयका लागि प्रमाणमा लिन सकिने हुन्छ, यसलाई सारभूत प्रमाणको रूपमा लिन मिल्दैन भनी सम्मानित सर्वोच्च अदालतबाट नजिर प्रतिपादन भएको छ । प्रस्तुत मुद्दाको फैसलामा तथ्यको सही विश्लेषण र कानूनको विवेचना नै नगरी सतही रूपमा गोश्वारा भाषा प्रयोग गरी मउपर ज्यानसम्बन्धीको १७(३) को कसुर ठहर गरिएको हुँदा उक्त फैसला स्थापित न्यायिक मान्यताविपरीत समेत भएको छ । त्यसरी भवितव्यवश घट्न गएको घटनामा ज्यानसम्बन्धीको १७ नं. आकर्षित हुन सक्दैन । तथ्य, प्रमाण, कानून र सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतबाट प्रस्तुत मुद्दामा सुरू तथा पुनरावेदन अदालतले मउपर मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिमको कसुर ठहर गरी ३ वर्ष सजाय गरेको अन्यायपूर्ण र फौजदारी न्यायिक मान्यताविपरीतसमेत फैसला भएकोले उक्त पु.वे.अ. सुर्खेतको फैसला बदर गरी आरोपित कसुरबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको नरेन्द्रनाथ योगीको यस अदालतमा पेस गरेको पुनरावेदन पत्र ।
मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७(३) नं. को कसुर प्रमाणित हुनको लागि वारदातस्थलमा कसैको ज्यान लिनेसम्मको कार्य भइरहेको छ भन्ने थाहा / जानकारी प्राप्त गरी सो कार्यमा कुनै न कुनै प्रकारको सहमतिसहित उपस्थित भएको भन्ने देखिनुपर्दछ । तर प्रस्तुत मुद्दामा कुनै पूर्वयोजनासहित योजनाबद्ध रूपमा मसमेत उपस्थित भएको र सोही पृष्ठभूमिमा ज्यान मर्न गएको भन्ने कुनै पनि प्रमाणले पुष्टि गर्न सकेको छैन । मृतक गोपाल भन्ने यादव शाहसँग मेरो कुनै रिसइवी, मनमुटाव रहेको छैन, निजसँग मेरो कुनै विषयमा विवाद रहे/भएको तथ्य पनि कतैबाट खुल्न सकेको छैन । जुन विषयमा विवादको सिर्जना भएको भनिएको छ त्यो विषयसँग मेरो कुनै सरोकार र सम्बन्ध नै रहेको छैन । मसमेत संलग्न रहेको भनी मौकामा बुझिएका मानिसहरूले अदालतसमक्ष आई आफ्नो बेहोरा पुष्टि गर्न सकेको देखिँदैन । जाहेरवालाको सो जाहेरी दरखास्त बेहोराबाट निज स्वयं प्रत्यक्षदर्शी नभई अरू कसैले मेरो विरूद्धमा उल्लेख गरिदिएको कथनको भरमा मेरो विरूद्धमा मेरो नामसम्म उल्लेख गरी जाहेरी दर्ता भएको अवस्था छ । ज्यान जस्तो गम्भीर प्रकृतिको फौजदारी मुद्दामा जाहेरवाला स्वयं प्रत्यक्षदर्शी नभई अरू कसैले भनेको आधारमा जाहेरीमा मेरो नामसम्म उल्लेख गरिदिएको अवस्थामा त्यस्तो जाहेरी दरखास्तबाट उठान भएको प्रस्तुत मुद्दामा मलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७(३) नं. को कसुर कायम गरी ३ वर्ष कैद सजाय गरेको फैसला बदरभागी
छ । प्रस्तुत मुद्दामा प्रत्यक्षदर्शी भनिएका निज किशोर गौतमको मौकाको भनाइ र अदालतसमक्षको बकपत्र एकआपसमा बाझिन गएको छ । अन्य अनुसन्धानको सिलसिलामा बुझिएका व्यक्तिहरू अदालतसमक्ष आई बकपत्र नगरेबाट पनि मउपरको कसुर पुष्टि हुन सकेको छैन । वर्णित आधार कारणहरूबाट मलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७(३) नं. को कसुरमा ३ वर्ष कैद सजाय गरेको पुनरावेदन अदालत सुर्खेतको मिति २०७१/७/१६ को फैसला त्रुटिपूर्ण एवं अन्यायपूर्ण हुँदा सो फैसला बदर गरी आरोपित कसुरबाट पूर्ण रूपमा सफाइ दिलाइपाउन सम्मानित अदालतसमक्ष सादर अनुरोध गर्दछु भन्नेसमेत बेहोराको युवराज गौतमको यस अदालतमा दायर भएको पुनरावेदन पत्र ।
मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७(३) नं. को कसुर प्रमाणित हुनको लागि वारदातस्थलमा कसैको ज्यान लिनेसम्मको कार्य भइरहेको छ भन्ने थाहा/जानकारी प्राप्त गरी सो कार्यमा कुनै न कुनै प्रकारको सहमतिसहित उपस्थित भएको भन्ने देखिनुपर्दछ । तर प्रस्तुत मुद्दामा कुनै पूर्वयोजनासहित योजनाबद्ध रूपमा मसमेत उपस्थित भएको र सोही पृष्ठभूमिमा ज्यान मर्न गएको भन्ने कुनै पनि प्रमाणले पुष्टि गर्न सकेको छैन । वादी पक्षबाट सङ्कलन भएका र अदालतसमक्ष प्रस्तुत भएका कुनै पनि प्रमाणले म मृतकको ज्यान लिने मतलबमा रहे/भएको भन्ने कुरो प्रमाणित नै हुन नसकेको अवस्था छ । मृतक गोपाल भन्ने यादव शाहसँग मेरो कुनै रिसइवी, मनमुटाव रहेको छैन, निजसँग मेरो कुनै विषयमा विवाद रहे / भएको तथ्य पनि कतैबाट खुल्न सकेको छैन । जुन विषयमा विवादको सिर्जना भएको भनिएको छ त्यो विषयसँग मेरो कुनै सरोकार र सम्बन्ध नै रहेको छैन । मसमेत संलग्न रहेको भनी मौकामा बुझिएका मानिसहरूले अदालतसमक्ष आई आफ्नो बेहोरा पुष्टि गर्न सकेको देखिँदैन । अदालतमा बकपत्र हुन नसकेको भनाइ प्रमाण ऐन, २०३१ को दफा १८ ले मेरो विरूद्ध प्रमाण लाग्दैन । ज्यान जस्तो गम्भीर प्रकृतिको फौजदारी मुद्दामा जाहेरवाला स्वयं प्रत्यक्षदर्शी नभई अरू कसैले भनेको आधारमा जाहेरीमा मेरो नामसम्म उल्लेख गरिदिएको अवस्था छ । प्रस्तुत मुद्दामा प्रत्यक्षदर्शी भनिएका निज किशोर गौतमको मौकाको भनाइ र अदालतसमक्षको बकपत्र एकआपसमा बाझिन गएको छ । मौकामा कागज गर्ने खगिसरा गौतम, श्यामबहादुर बोहरा, विनोद नेपाली, उपेन्द्रकुमार पन्त, अशोककुमार खड्का, आहन गुरूङसमेतका व्यक्तिहरूले मौकामा आफूले गरेको कागज बेहोरालाई अदालतसमक्ष उपस्थित भई बकपत्रको माध्यमबाट आफ्नो मौकाको भनाइ बेहोरा पुष्टि गराएको अवस्था छैन । फौजदारी मुद्दामा सहप्रतिवादीले गरेको पोल अन्य स्वतन्त्र प्रमाणहरूबाट समर्थन नभएसम्म उक्त पोलको आधारमा मात्रै कसुरदार ठहर गर्न
मिल्दैन । वर्णित आधार कारणहरूबाट मलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७(३) नं. को कसुरमा ३ वर्ष कैद सजाय गरेको श्री पुनरावेदन अदालत सुर्खेतको मिति २०७१/७/१६ को फैसला त्रुटिपूर्ण एवं अन्यायपूर्ण हुँदा सो फैसला बदर गरी आरोपित कसुरबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको उपेन्द्र रेग्मीको यस अदालतमा दायर भएको पुनरावेदन पत्र ।
यसमा वारदातको रूप र प्रकृतिका दृष्टिले हेर्दा प्रतिवादीमध्येका सन्तोष अधिकारीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३ (३) नं. बमोजिम तथा नरेन्द्रनाथ योगीसमेतका अन्य प्रतिवादीहरूलाई १७(३) नं. बमोजिम ३/३ वर्ष सजाय हुने ठहर गरेको फैसला फरक पर्न सक्ने देखिँदा प्रतिवादीहरूको पुनरावेदन परेको जनाउ अ.बं. २०२ नं. को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई दिनू ।
प्रतिवादी सन्तोष अधिकारीको तर्फबाट प्रतिरक्षा गर्न वैतनिक कानून व्यवसायीलाई सूचना दिई नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतको मिति २०७४।०८।०४ गते भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक / प्रतिवादी नरेन्द्रनाथ योगीको तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री नरेन्द्र श्रेष्ठले सहअभियुक्तले पोल गरेको कुरा अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि भएको छैन । जाहेरवालाले अदालतमा आई बकपत्र गर्दा यी प्रतिवादीलाई किटानी गरेको अवस्था छैन । प्रत्यक्षदर्शी एक जनाबाहेक कसैलाई पनि वादी पक्षले अदालतसमक्ष उपस्थित गराई बकपत्र गराउन सकेको छैन । यी प्रतिवादीले पीडितलाई मार्नुपर्नेसम्मको कारण छैन । मनसायपूर्वक हत्या नभएको घटनामा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ नं. आकर्षित हुँदैन । उच्च अदालतबाट भएको त्रुटिपूर्ण फैसला बदर गरी प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ पाउँ भनी र पुनरावेदक / प्रतिवादी उपेन्द्र रेग्मीको तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा र विद्वान् अभिवक्ता श्री रमेश रेग्मीले सह-अभियुक्तको पोल अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि भएको छैन । सह-अभियुक्तको पोल गरेको आधारमा कसुरदार ठहर गर्न मिल्दैन । यी प्रतिवादीले मृतकको ज्यान लिने मतलबमा रहे / भएको छैन । मौकामा बुझिएका मानिसहरूले अदालतमा आई बकपत्र गर्न नसकेको कागजलाई प्रमाणमा ग्रहण गर्न मिल्दैन । चस्मदिद भनिएका किशोर गौतमको मौकाको भनाइ र अदालतसमक्ष गरेको बकपत्र एक-आपसमा बाझिएको छ । मृतकको ज्यान मार्ने कार्यमा यी प्रतिवादीको कुनै संलग्नता नरहेको अवस्थामा उच्च अदालतले मुलुकी ऐन ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम कैदको सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भनी र प्रतिवादी सन्तोष अधिकारीको तर्फबाट उपस्थित हुनुभएका विद्वान् वैतनिक कानून व्यवसायी अधिवक्ता श्री सुधा शर्माले प्रतिवादीले अदालतसमक्ष बयान गर्दा कसुरमा पूर्ण इन्कार रहेको अवस्था
छ । घटनाको चस्मदिद भनिएका खगिसरा गौतमले अदालतसमक्ष बकपत्र गरेको छैन । प्रतिवादी सन्तोष अधिकारीले ढुङ्गा प्रहार गरेको कुरा प्रमाणबाट पुष्टि भएको छैन । जाहेरवालाले अदालतसमक्ष आई बकपत्र गर्दा शंकाको आधारमा जाहेरी दिएको हो भनी बकपत्र गरेको अवस्था छ । प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम प्रतिवादीउपरको अभियोग दाबी शंकारहित तवरबाट पुष्टि नभइरहेको अवस्थामा प्रतिवादीलाई सर्वस्वसहित जन्मकैदको सजाय गर्ने गरी उच्च अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भनी तथा प्रत्यर्थी / वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान् उपन्यायाधिवक्ता श्री बीना दाहालले मृतकको मृत्यु ढुङ्गा प्रहारबाट भएको कुरा मिसिलबाट स्थापित छ । प्रतिवादीहरूउपर किटानी जाहेरी परेको छ । प्रतिवादी सन्तोष अधिकारीले अनुसन्धान अधिकारीसमक्ष कसुरमा साबित रहेको अवस्था छ । अन्य प्रतिवादीहरू मौकामा फरार रहेका छन् । प्रतिवादीहरूले अदालतसमक्ष गरेको इन्कारी बयान अन्य प्रमणबाट पुष्टि भइरहेको अवस्था छैन । मृतकको ज्यान मार्नेमा मुख्य भूमिका प्रतिवादी सन्तोष अधिकारीको पुष्टि भइरहेको र अन्य प्रतिवादीहरू घटनामा मतियारको रूपमा रहेकोले प्रतिवादीहरूउपर कसुर ठहर भई सजाय गर्ने गरी भएको उच्च अदालतको फैसला मनासिबको नै हुँदा सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
यसमा प्रतिवादी सन्तोष अधिकारी, उपेन्द्र रेग्मी, नरेन्द्रनाथ योगी र युवराज गौतमले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. तथा चोरी महलको १४ नं. को कसुरमा निजहरूलाई सोही ज्यानसम्बन्धी महलको १३(३) नं. तथा चोरीको महलको १२ र १४(२) नं. बमोजिम सजाय गरी जबरजस्ती घाँटीबाट छिनाली चोरी गरी लगेको २ तोलाको सुनको सिक्रीसमेत मुलुकी ऐन चोरीको महलको २१ नं. बमोजिम जाहेरवालालाई दिलाई भराई पाउँ भनी र अन्य प्रतिवादीहरूद्वय हीरा गुरूङ र लोकप्रसाद गौली वारदातस्थलमा मौजुद नरहेको तर यादव शाहलाई मार्नमा मुख्य भई षड्यन्त्र गरी ज्यान मार्ने कार्य गर्न लगाएको अवस्था पुष्टि भएकोले निजहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा सोही ऐनको सोही महलको १६ नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग मागदाबी भएकोमा प्रतिवादी उपेन्द्र रेग्मी, नरेन्द्रनाथ योगी र युवराज गौतमको हकमा मुलतबी रहने र प्रतिवादी सन्तोष अधिकारीले अभियोग दाबीबाट सफाइ पाउने तथा जाहेरवाला वीरेन्द्रबहादुर शाही र साक्षी किशोर गौतमलाई जनही ३ महिना कैद र ३,०००।– जरिवाना हुने ठहरी सुरू सुर्खेत जिल्ला अदालतबाट मिति २०६६।९।७ मा फैसला भएकोमा सो फैसलाउपर वादी नेपाल सरकारको पुनरावेदन परेकोमा चोरीको अभियोग दाबीतर्फ केही नबोली ज्यानसम्बन्धी महलको दाबीतर्फ मात्र ठहर निर्णय गरेकोले सुरू फैसला बदर गरी पुन: फैसला गर्नु भनी तत्कालीन पुनरावेदन अदालत सुर्खेतबाट मिति २०६७।१०।२३ मा फैसला भएकोमा प्रतिवादी सन्तोष अधिकारीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने र सबुद प्रमाणको अभावमा चोरीतर्फको अभियोग दाबी नपुग्ने र प्रतिवादीहरू उपेन्द्र रेग्मी, नरेन्द्रनाथ योगी र युवराज गौतमलाई ज्यानसम्बन्धी महलको १७(३) नं. को कसुरमा ३ वर्ष कैद को सजाय हुने तथा प्रतिवादी लोकप्रसाद गोली र हिरा गुरूङलाई ज्यानसम्बन्धी महलको १६ नं. को ज्यान मार्ने षड्यन्त्रको अभियोग दाबीबाट सफाइ पाउने र चोरीतर्फको अभियोग दाबी नपुग्नेसमेत ठहर्याई भएको सुरू सुर्खेत जिल्ला अदालतको फैसलाउपर वादी नेपाल सरकार तथा प्रतिवादी उपेन्द्र रेग्मी, नरेन्द्रनाथ योगी र युवराज गौतमका तर्फबाट छुट्टाछुट्टै पुनरावेदन परेको र प्रतिवादी सन्तोष अधिकारीको हकमा साधक जाँचको रोहमा पेस भएकोमा तत्कालीन पुनरावेदन अदालत सुर्खेतबाट सुरू जिल्ला अदालतको फैसला सदर हुने गरी र प्रतिवादी सन्तोष अधिकारीको हकमा मुलुकी ऐन अ.बं.१८८ नं. बमोजिम १२ वर्ष कैद हुने राय व्यक्त गरी मिति २०७१।७।१६ मा फैसला भएकोमा सो फैसलाउपर प्रतिवादी उपेन्द्र रेग्मी, नरेन्द्रनाथ योगी र युवराज गौतमको तर्फबाट छुट्टाछुट्टै पुनरावेदन र प्रतिवादी सन्तोष अधिकारीको हकमा साधक जाँचको रोहमा यस अदालतसमक्ष पेस हुन आएको देखियो ।
उल्लिखित दुवै पक्षका विद्वान् कानून व्यवसायीहरूले गर्नुभएको बहस जिकिर सुनी मिसिल संलग्न पुनरावेदन पत्रसहितको कागजातहरू अध्ययन गरी प्रस्तुत मुद्दामा देहायका प्रश्नहरूमा केन्द्रित भई विवेचना गर्नुपर्ने देखिन आयो ।
क. मृतकको मृत्यु कर्तव्यबाट भएको हो, होइन ?,
ख. मृतकको मृत्यु कर्तव्यबाट भएको भए सो कार्यमा यी प्रतिवादीहरूको संलग्नता छ, छैन ?,
ग. पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छ छैन ? पुनरावेदक / प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ? र
घ. प्रतिवादी सन्तोष अधिकारीको हकमा तत्कालीन मुलुकी ऐन, अ.बं.१८८ नं. बमोजिम राय लगाई १२ वर्ष कैद सजाय गरेको मिलेको छ, छैन ?
प्रतिवादीहरूउपर मुलुकी ऐन चोरीको महलको १ र ४ नं.को कसुरमा ऐ. महलको १२ र १४(२) नं. बमोजिम र प्रतिवादीहरू हीरा गुरूङ र लोकप्रसाद गौलीउपर ज्यानसम्बन्धी महलको १ र १६ नं. को कसुरमा ऐ. महलको १६ नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत अभियोग दाबी भएकोमा सो अभियोग दाबीबाट प्रतिवादीहरूले सफाइ पाउने गरी सुरू अदालतबाट फैसला भएकोमा सो फैसलाउपर वादी नेपाल सरकारले पुनरावेदन गरेकोमा सो हदसम्म सुरू फैसला सदर हुने गरी र अन्य पुनरावेदकहरूसमेतको हकमा पुनरावेदन अदालत सुर्खेतबाट भएको फैसलाउपर वादी नेपाल सरकारले पुनरावेदन नपरेको हुँदा साधक एवम् पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन पत्रसम्ममा विवेचना गर्नुपर्ने देखिन आयो ।
२. अब प्रस्तुत मुद्दामा पहिलो प्रश्नतर्फ विचार गर्दा, मिति २०६१।३।१४ गते बिहान अं. ११:०० बजेको समयमा गोपाल भन्ने यादव शाहलाई सन्तोष अधिकारीसमेतका व्यक्तिले ढुङ्गाले टाउको तथा शरीरका विभिन्न भागमा प्रहार गरी सख्त घाइते बनाएका, तत्काल उपचारको लागि क्षेत्रीय अस्पताल सुर्खेतमा लग्दा उपचार हुन नसकी उपचारको लागि नेपालगन्ज मेडिकल कलेज लगी उपचार गर्दा गर्दै मृत्यु भएकोले कारबाही गरिपाउँ भन्ने किटानी जाहेरी परेको देखिन्छ । मिसिल संलग्न मिति २०६१।३।१६ गतेको लास जाँच मुचुल्का हेर्दा, मृतकको अनुहारमा निलडाम र रगतले लतपतिएको, टाउको अनुहारमा ठाउँ ठाउँमा दागहरू भएका, टाउकोको बायाँ कन्चटमा २ इन्च लम्बाइको घाउ भएको भन्ने देखिन्छ । मृतकको Autospy Report मा Head Fractured भन्ने उल्लेख भएको देखिन्छ । यसरी मृतकको शरीरमा लागेको घाउचोट तथा Autospy Report बाट मृतकको मृत्यु निजको टाउकोमा लागेको चोटको कारणले कर्तव्यबाट भएको कुरा पुष्टि भएकोले अपराधजन्य कार्य भएको तथ्य स्थापित भएको देखिन्छ ।
३. दोस्रो प्रश्न मृतक गोपाल भन्ने यादव शाहको टाउकोमा लागेको चोटको कारण मृत्यु भएको देखिँदा सो कार्यमा यी प्रतिवादीहरूको को कसको कस्तो संलग्नता छ, छैन भन्नेतर्फ हेर्दा, प्रतिवादीमध्येका प्रतिवादी सन्तोष अधिकारीको सम्बन्धमा विवेचना हुनुपर्ने देखियो । जाहेरवाला वीरेन्द्र बहादुर शाहीले नाम किटान गरी मेरो फुपूको छोरा गोपाल भन्ने यादव शाहलाई प्रतिवादीहरू सन्तोष अधिकारी, युवराज गौतम, उपेन्द्र रेग्मी र नरेन्द्रनाथ योगीले घटनास्थल खोर्के खोलामा मिति २०६१।३।१४ गते लात ढुङ्गा मुक्काले हानी कर्तव्य गरी मारेको तथा प्रतिवादीहरू हिरा गुरूङ र लोकप्रसाद गौलीले मार्नमा षड्यन्त्र गरेको भन्नेसमेत बेहोराको जाहेरी दरखास्त दिएको देखिन्छ । अनुसन्धानको क्रममा प्रतिवादी सन्तोष अधिकारीले बयान गर्दा, मिति २०६१।३।१४ गते बिहान अं. ७:४५ बजे ललित चोकमा चिया पिएर फर्कंदै गर्दा निज प्रतिवादीहरू उपेन्द्र रेग्मी र नरेन्द्रनाथ योगीसँग भेट भई मादक पदार्थ सेवन गरी निस्केका हौं । प्रतिवादीहरू नरेन्द्र र उपेन्द्रले नुहाउन खोर्के जाउँ भनेकाले प्रतिवादी युवराज गौतमसमेत भई नुहाउन खोर्के खोला जाँदा गोपाल भन्ने यादव शाहसँग भेट भई विवाद झगडा भयो, सबै मिलेर विवाद सुल्झाएपछि यादव शाह र किशोर गौतमलाई घरतर्फ पठाएकोमा निजहरू पुन: २०/२५ जना भई खुकुरी लिई हामीहरूलाई उताबाट यादव शाहसमेतले ढुङ्गा प्रहार गर्दा हामीले पनि प्रतिकारमा ढुङ्गाले हान्ने काम गरेका हौं । ढुङ्गा यादव शाहको टाउकोमा लाग्न गयो र ढुङ्गा लागी बेहोस भई यादव शाह सिँचाइ कुलोमा ढल्न गएको हो । तत्पश्चात् हामी ४ जना भागेर
गयौं । हामीहरूले मार्ने पूर्वयोजना नबनाएको भए पनि ढुङ्गाले हान्दा सोही ढुङ्गाको प्रहारबाट लाग्न गएको चोटले यादव शाहको मृत्यु हुन गएको हो भनी साबिती बयान दिई घटना विवरण सविस्तार लेखाइदिएको देखिन्छ । निजले अदालतसमक्ष बयान गर्दा कसुरमा इन्कारी रही बयान गरेको देखिन्छ । प्रतिवादी सन्तोष अधिकारीले अदालतसमक्ष कसुरमा इन्कार रही बयान गरे पनि मिति २०६१।३।१४ गते बिहान ८:१५ बजेतिर नुहाउन भनी उप्रेन्द्र रेग्मी, नरेन्द्रनाथ योगी र युवराज गौतमसमेत भई खोर्के खोलामा गएका
हौं । सोही समयमा किशोर गौतम र गोपाल भन्ने यादव शाह हामीहरू नुहाउन लागेको खोलामा आएका थिए । नरेन्द्रनाथ योगीलाई किशोर गौतमले चोर भनी विवाद भएपछि विवाद नगर भनेर मैले र युवराज गौतम र उपेन्द्र रेग्मी भई छुट्ट्याएका हौं भन्ने तथ्यलाई स्वीकार गरेको पाइन्छ । प्रस्तुत वारदातमा घटनास्थल खार्के खोला रहेको, प्रतिवादीहरू र मृतक पक्षका बिचमा विवाद भएको तथा चारै जना प्रतिवादीहरू घटनास्थलमा मौजुद रहेको तथ्य स्वीकारै गरेको पाइन्छ ।
४. प्रस्तुत मुद्दामा प्रतिवादी सन्तोष अधिकारी मौकामा कसुरमा साबित रहेको र अदालतसमक्ष कसुरमा इन्कारी गरे तापनि निजको अदालतको इन्कारी बयानलाई वस्तुस्थितिका तमाम अवस्थाले खण्डित गरेको र अनुसन्धान अधिकारीसमक्ष भएको साबिती बयानका तथ्यहरू मालाकार कडीका रूपमा स्थापित भएको देखिन्छ । उक्त अनुसन्धान अधिकारीसमक्षको बयान निजको स्वइच्छाले भएको अवस्था निजको शारीरिक तथा मानसिक अवस्थाको सवालको जवाफबाट पनि समर्थित भएको देखिन्छ । पुनरावेदक बमबहादुर बस्नेत विरूद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा (ने.का.प. २०७०, अङ्क ६, नि.नं. ९०२२) सर्वोच्च अदालतबाट "प्रमाण ऐन, २०३१ को दफा ९(२) ले व्यवस्था गरेको भय, त्रास, प्रलोभनसमेतका अवस्था देखिएमा अभियुक्तको अदालतबाहेक अन्यत्र व्यक्त गरेको कुरा प्रमाण नलाग्ने हुन्छ । अभियुक्तले अधिकारप्राप्त अधिकारीसमक्ष कुनै कुरा व्यक्त गर्दाको अवस्थाको सचेतता, यातना, धम्की र प्रलोभन दिएको थिएन भने प्रत्याभूति प्रमाणित गर्नुपर्दछ । तर, यी अवस्थाको जिकिर र आधार भने मिसिलबाट देखिनुपर्ने, अन्य स्वतन्त्र प्रमाणले पुष्टि गरेको अवस्था र अधिकारप्राप्त अधिकारीसमक्षको आफ्नो कथन इच्छाविरूद्धको हो भनी लिएको जिकिरलाई विश्वास गर्न सकिने आधार नदेखाइएको अवस्थामा सो कथन प्रमाण शून्य हुन्छ भन्न नसकिने" भन्ने न्यायिक व्यवस्था भएको देखिन्छ ।
५. अत: यी प्रतिवादीले मौकामा गरेको सिलसिलेवार ढंगको घटना विवरण उल्लेख गरिदिएको बयानबमोजिम मृतकलाई ढुङ्गाले हानेपछि निज बेहोस भई कुलोमा ढलेको घटनास्थल विवरणले पनि पुष्टि गरिराखेको छ भने मृतकको टाउको फुटेको भन्ने लास प्रकृति तथा शव परीक्षण प्रतिवेदनसमेतबाट पनि देखिन आएको छ । वारदातस्थलमा ढुङ्गा हानाहान भएको भनी प्रतिवादी सन्तोष अधिकारीले मौकाको साबितीमा भनेका र अर्को प्रतिवादी युवराज गौतमले अदालतसमक्ष बयान गर्दा घटनास्थल खोर्के खोलामा मृतकसँग झगडा भएको कुरा स्वीकार गरी झगडा छुट्टयाइदिएको भनी उल्लेख गरेबाट पनि प्रतिवादी सन्तोष अधिकारीको बयानलाई अन्यथा भन्न मिल्ने देखिँदैन । मृतकको टाउको फुटेको र टाउकोकै चोटले अर्थात् Head Injury को कारणले मृत्यु भएको कुरा शव परीक्षण प्रतिवेदनबाट देखिएकोबाट पनि प्रतिवादी सन्तोष अधिकारीको मौकाको बयानको सत्यता स्थापित भएको देखिन्छ ।
६. मौकामा कागज गर्ने प्रत्यक्षदर्शीहरू श्यामबहादुर बोहरा, खगिसरा गौतम, विनोद नेपाली, उपेन्द्र कुमार पन्त, यामलाल गौतम, अशोककुमार खड्का, खेमराज र आशा गुरूङसमेतले अदालतसमक्ष उपस्थित भएको तर बकपत्र नगरे पनि अनुसन्धानको क्रममा भएको कागज प्रमाणबाट प्रतिवादी सन्तोष अधिकारी मृतक यादव शाहलाई मिति २०६१/३/१४ गते बिहान अं.११:३० बजे खोर्के खोलामा ढुङ्गाले हानी कर्तव्य गरी मारेको कुरा व्यक्त गरिदिएको समेतको अवस्थाबाट प्रतिवादीलाई तत्कालीन मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. को कसुर ठहर गर्ने गरी तत्कालीन पुनरावेदन अदालत सुर्खेतबाट फैसला भएको र सो फैसलाउपर पुनरावेदनसमेत नपरेकोले अन्यथा देखिन आएन । अब सजायको हकमा हेर्दा, कसुर ठहर भई प्रतिवादी सन्तोष अधिकारीउपर अभियोगबमोजिम कसुरदारलाई तत्कालीन मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३)नं. बमोजिमको सर्वस्वसहित जन्मकैद ठहरे पनि केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९(२)(क) मा कुनै कसुरको सजाय साबिक मुलुकी ऐनमा मुलुकी अपराध संहितामा लेखिएभन्दा बढी रहेछ भने संहितामा लेखिएको हदसम्म मात्र सजाय हुने छ भन्ने कानूनी व्यवस्था भएको परिप्रेक्ष्य मुलुकी अपराध संहिता, २०७४ मा सर्वस्वसहित जन्मकैदको कानूनी व्यवस्था नभएको र ऐ.को दफा १७७(२) मा ज्यान मार्ने कसुर गर्ने गराउने व्यक्तिलाई जन्मकैदको मात्र हुने भन्ने कानूनी व्यवस्था रहेकोले प्रतिवादी सन्तोष अधिकारीलाई जन्मकैदको मात्र सजाय हुने देखियो । साथै निज प्रतिवादीलाई तत्कालीन मुलुकी ऐनको अदालती बन्दोबस्तको १८८ नं. बमोजिम कैदको सम्बन्धमा व्यक्त राय मिलेको छ, छैन भन्नेतर्फ हेर्दा मृतकको मृत्यु साधारण ढुङ्गा प्रहार भएको, वारदातको कारण ज्यानै मार्नुपर्नेसमेतको नदेखिएको, प्रतिवादीको वारदातमा समग्र संलग्नता एवम निजको १२(बाह्र) वर्ष कैद सजाय गर्दा न्यायको मक्सद पूर्ति हुने नै देखिएकोले पुनरावेदन अदालत सुर्खेतले व्यक्त गरेको राय मनासिबै देखिन आयो ।
७. अन्य प्रतिवादीहरू नरेन्द्रनाथ योगी, युवराज गौतम र उपेन्द्र रेग्मीको हकमा विचार गर्दा, यी प्रतिवादीहरूसमेतले गोपाल भन्ने यादव शाहलाई लात, मुक्का, ढुङ्गाले हानी कर्तव्य गरी मारेकोले कारबाही गरिपाउँ भन्ने किटानी जाहेरी रहेको भए तापनि यी प्रतिवादीहरू तीनै जनाले कसुरमा पूर्ण इन्कार रही अदालतसमक्ष बयान गरेको देखिन्छ । प्रतिवादी युवराज गौतमले अदालतसमक्ष बयान गर्दा वारदातका दिन प्रतिवादी सन्तोष अधिकारी, उपेन्द्र रेग्मी, म र नरेन्द्रनाथ योगी सुर्खेतको खोर्के खोलामा नुहाउन गएका थियौं, त्यसबेला किशोर गौतम र मृतक यादव शाह त्यहीबाट आउँदा नरेन्द्रनाथ योगीले कहाँबाट आएको भनी किशोर गौतमलाई सोध्दा किशोर गौतमले तँलाई के मतलब ? भनी विवाद गर्दा सम्झाइ बुझाइ गर्यौं, त्यसपछि किशोर गौतम र मृतक यादव शाह त्यहाँबाट हिँडेका हुन्, कहाँ गए थाहा भएन भनी र अर्का प्रतिवादी उपेन्द्र रेग्मीले अदालतमा बयान गर्दा मिति २०६१।३।१४ गते अं. सवा आठ बजे उपेन्द्र रेग्मी, सन्तोष अधिकारी, युवराज गौतम र नरेन्द्रनाथ योगी सुर्खेतको खोर्के खोला भन्ने ठाउँमा नुहाउन गएका थियौं, त्यसबेला किशोर गौतम र मृतक गोपाल भन्ने यादव शाह त्यहीँबाट आउँदा नरेन्द्रनाथ योगीले कहाँबाट आएको भनी सोध्दा किशोर गौतमले तँलाई के मतलब भनी विवाद भएपछि किशोर गौतम र मृतक यादव शाह त्यहीँबाट हिँडेका हुन् कहाँ गए थाहा भएन । हामी नुहाई धुवाई गरी चिसापानी हुँदै बजार गयौं भन्ने बेहोराको बयान गरेको देखिन्छ ।
८. यी प्रतिवादी नरेन्द्रनाथ योगी, युवराज गौतम र उपेन्द्र रेग्मीले मृतक गोपाल भन्ने यादव शाहलाई ज्यान लिनुपर्नेसम्मको कुनै कारण तथा पूर्वरिसइवी रहेको पनि देखिँदैन । प्रतिवादीउपरको किटानी जाहेरी भए पनि सो जाहेरी बेहोरामा यी प्रतिवादीहरूले मृतकलाई मार्नुपर्ने कारण केही उल्लेख भएको देखिँदैन । मिसिल संलग्न मृतकको Autopsy Report मा Head Fractured भन्ने उल्लेख भई जसको लम्बाइ ६ से.मी. उल्लेख भएको देखिन्छ । मृतकको मृत्यु टाउकोमा लागेको चोटका कारण भएको कुरामा विवाद देखिँदैन । सहप्रतिवादी सन्तोष अधिकारीले अनुसन्धानका क्रममा स.ज. ९ मा आफूले ५/६ ओटा ढुङ्गा प्रहार गरेको कुरा स्वीकार गरेको देखिन्छ । मृतकको टाउकोमा भएको चोटको कारण मृत्यु भएको देखिएको अवस्थामा यी अन्य प्रतिवादीहरूसमेतले ढुङ्गाले प्रहार गरेको भए Autospy Report मा घाउ चोटको संख्या बढी वा फरक अवस्थाको घाउचोट देखिनुपर्ने
हुन्छ । तर सो अवस्था देखिएको छैन । मृतकको शरीरमा लागेको घाउ चोटको अवस्था हेर्दा पनि यी तीनजना प्रतिवादीसमेतको प्रहारका अवस्था विश्वासलायक र तथ्यगत रूपमा स्थापित भएको देखिँदैन ।
९. प्रतिवादीहरू नरेन्द्रनाथ योगी, युवराज गौतम, उपेन्द्र रेग्मीसमेत उपर जाहेरवाला वीरेन्द्रबहादुर शाहीले किटानी जाहेरी दिए पनि जाहेरवालाले अदालतसमक्ष बकपत्र गर्दा, यी प्रतिवादीहरूले कर्तव्य गरी मारेको हो भनी भन्न सकेको छैन । निजले आफ्नो बकपत्रको स.ज.४ मा प्रतिवादीहरू उपचारका लागि नआएकाले यिनीहरूको कर्तव्य हो कि भनेर जाहेरी दिएको हुँ भनी बेहोरा लेखाएको देखिन्छ ।
१०. यसरी प्रतिवादीहरू नरेन्द्रनाथ योगी, युवराज गौतम र उपेन्द्र रेग्मी वारदातस्थलमा उपस्थित रहेको देखिए पनि यी प्रतिवादीहरूले मृतक गोपाल भन्ने यादव शाहलाई चोट प्रहार छोडेको वा प्रतिवादी सन्तोष अधिकारीलाई ज्यान मार्ने कार्यमा कुनै किसिमले सहयोग गरेको कुरा मिसिल संलग्न प्रत्यक्षदर्शीको अदालतसमक्षको बकपत्र, जाहेरवालाको बकपत्र, सहप्रतिवादीको अदालतसमेतको बयानसमेतबाट पुष्टि भएको देखिँदैन । सुरू एवं पुनरावेदन अदालतले यी तीनै जना प्रतिवादीउपर तत्कालीन मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७ नं. को कसुर ठहर गरी ऐ. को १७(३) नं. बमोजिम सजाय गरेको देखिन्छ । मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७ नं. मा "ज्यान मार्नलाई मतलबमा भने पसेको तर मुख्य भई वचन पनि नदिने, हतियार पनि नछोड्ने, जिउमा पनि नछुने देहायका अवस्थामा अरू मतलबीहरूलाई ज्यान मरेको रहेछ भने देहायबमोजिम र ज्यान मरेको रहेन छ भने देहायमा लेखिएको सजायको आधा सजाय गर्नुपर्छ" ऐ.को १७(३) नं. मा "अरू किसिमसंगको मत सल्लाहमा पसेकोमा मार्ने ठाउँमा गई अरू कुरा केही नगरी हेरिरहनेलाई र लेखिएदेखि बाहेक अरू किसिमका मतलबीलाई छ महिनादेखि तीन वर्षसम्म कैद गर्नुपर्छ" भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । उक्त कानूनी व्यवस्थानुसार कसुर स्थापित हुन निज प्रतिवादी घटना स्थलमा उपस्थित रही कुनै अर्को प्रतिवादीले ज्यान मार्ने कार्य गरेको अवस्थामा सो कार्यमा सहप्रतिवादीलाई सहयोग गरेको तथ्य शंकारहित तवरमा स्थापित हुनुपर्ने
हुन्छ । वारदातस्थलमा उपस्थित रहनु नै कसुर कायम हुने र सजायको भागीदार हुनुहुँदैन । वारदात घटाउन पूर्वयोजनाअनुसार घटनस्थलमा उपस्थित भएको छ, छैन । वारदातस्थलमा गरेको आपराधिक क्रियाको आधार स्थापित हुन्छ, हुँदैन भन्ने महत्त्वपूर्ण पक्ष
हुन् । मृतकलाई उपचारको लागि सहयोग नगरेको मात्रको कारण आपराधिक दायित्व सिर्जना हुनुहुँदैन ।
११. यसरी उपर्युक्त उल्लेख भएबमोजिम प्रतिवादीहरू नेरेन्द्रनाथ योगी, युवराज गौतम, उपेन्द्र रेग्मीको हकमा प्रतिवादीहरू अदालतसमक्ष कसुरमा पूर्ण इन्कार रहेको, जाहेरवालाले जाहेरीमा नाम किटान गरे पनि अदालतसमक्षको बकपत्रमा यी प्रतिवादीउपर गढाउ नगरेको, घटनाको प्रत्यक्षदर्शी किशोर गौतमले अदालतसमक्षको बकपत्रमा समेत यी प्रतिवादीको संलग्नतालाई गढाउ गर्न नसकेको, यी प्रतिवादीहरूले मृतकलाई मार्नुपर्नेसम्मको कारण र कुनै पूर्वरिसइवीसमेत रहेको नदेखिएको, मृतकको मृत्युको कारण Head fracture भएको भन्ने Autopsy Report बाट देखिएको, सोको चोट प्रतिवादी सन्तोष अधिकारीको ढुङ्गा प्रहारका कारण भएको भन्ने माथि विवेचना गरिसकिएको समेतको स्थितिमा मृतकलाई ज्यान मार्ने कार्यमा यी प्रतिवादीरूको संलग्नता रहेको कुरा शंकारहित तवरबाट पुष्टि नभएकोले निज प्रतिवादीहरूलाई कसुरदार ठहर गर्न नमिल्ने हुँदा प्रतिवादी नरेन्द्रनाथ योगी, उपेन्द्र रेग्मी र युवराज गौतमसमेतलाई ज्यानसम्बन्धी महलको १७ नं. को कसुरमा ऐ. को १७(३) नं. बमोजिम जनही ३/३ वर्ष कैद गर्ने गरी सुरू सुर्खेत जिल्ला अदालतले गरेको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत सुर्खेतबाट भएको फैसला सो हदसम्म मिलेको देखिन आएन ।
१२. अतः माथि विवेचित आधार र कारणहरूबाट प्रतिवादी सन्तोष अधिकारीलाई तत्कालीन मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा ऐ. महलको १३(३) नं. बमोजिम जन्मकैद हुने गरी सुर्खेत जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरी प्रतिवादीलाई १८८ नं. बमोजिम १२(बाह्र) वर्ष कैद गरी तत्कालीन पुनरावेदन अदालत सुर्खेतबाट भएको फैसला सो हदसम्म मिलेकै देखिँदा साधक सदर हुने ठहर्छ । प्रतिवादी नरेन्द्रनाथ योगी, युवराज गौतम र उपेन्द्र रेग्मीलाई तत्कालीन मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७ नं. को कसुरमा ऐ. को १७(३) नं. बमोजिम जनही ३/३ वर्ष कैद सजाय गर्ने गरी सुर्खेत जिल्ला अदालतबाट मिति २०६९।२।११ भएको फैसला सदर गर्ने गरी तत्कालीन पुनरावेदन अदालत सुर्खेतबाट मिति २०७१।७।१६ मा भएको फैसला मिलेको नदेखिँदा सो हदसम्म केही उल्टी भई प्रतिवादी नरेन्द्रनाथ योगी, उपेन्द्र रेग्मी र युवराज गौतमले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । सो ठहर्नाले अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी सन्तोष अधिकारीको हकमा तत्लकालीन पुनरावेदन अदालत सुर्खेतको फैसला सदर हुने ठहरी प्रतावदीलाई जन्मकैद मात्र हुने र तत्कालीन मुलुकी ऐन, अ.बं.१८८ नं. बमोजिम १२(बाह्र) वर्ष कैद हुने हुँदा सर्वस्वसहित जन्मकैदको लगत कट्टा गरी १२(बाह्र) वर्ष कैदको लगत राखी लगत संशोधन गरी सोहीअनुसार संशोधित कैदीपुर्जी दिनु भनी फैसलाको प्रतिलिपिसहित सुर्खेत जिल्ला अदालत, तहसिल शाखालाई लेखी पठाइदिनू---------------------------------------------१
प्रतिवादी नरेन्द्रनाथ योगी, युवराज गौतम र उपेन्द्र योगको हकमा जनही ३/३ वर्ष कैद हुने गरी भएको सुरू जिल्ला अदालतको फैसला सदर गर्ने गरी तत्कालीन पुनरावेदन अदालत सुर्खेतबाट भएको फैसला निजहरूको हकमा उल्टी भई अभियोग दाबीबाट यी प्रतिवादीहरूले सफाइ पाउने ठहरी फैसला भएकोले जिल्ला तथा तत्कालीन पुनरावेदन अदालतको फैसलाबमोजिम यी तीनै जना प्रतिवादीहरूको नाउँमा राखेको ३ (तीन) वर्ष कैदको लगत कट्टा गर्नु भनी सुरू सुर्खेत जिल्ला अदालत, तहसिल शाखालाई लेखी पठाइदिनू---------------------------------------------२
सरोकारवालाले नक्कल मागे लाग्ने दस्तुर लिई कानूनी रीत पुर्याई नक्कल दिनू------------------------------३
दायरीको लगत कट्टा गरी प्रस्तुत फैसला विद्युतीय प्रति प्रविष्ट गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू--------------------------------------------४
उक्त रायमा सहमत छु ।
न्या.तिलप्रसाद श्रेष्ठ
इजलास अधिकृत : जानकी रमण यादव / चन्दा बेल्वासे
इति संवत् २०८० साल जेठ ४ गते रोज ५ शुभम् ।