शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११२०० - दूषित नामसारी निर्णय लिखत दर्ता बदर

भाग: ६५ साल: २०८० महिना: फागुन अंक: ११

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

माननीय न्यायाधीश डा.श्री कुमार चुडाल

फैसला मिति : २०७९।१०।१८

०७५-CI-०९४०

 

मुद्दाः दूषित नामसारी निर्णय लिखत दर्ता बदर

 

निवेदक/वादी : ललितपुर जिल्ला, ललितपुर महानगरपालिका, वडा नं. २० बस्ने सरोज जोशीको हकमा मुद्दा सकार गर्ने पति भई आफ्नो हकमा समेत ऐ. बस्ने अमिरराज जोशी

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. २० विच्छेवहाल बस्ने गुणकेशरी जोशीको हकमा मुद्दा सकार गर्ने छोरा भई आफ्नो हकमा समेत ऐ. वडा नं. १६ नयाँबजार बस्ने उत्तमलाल जोशीको छोरा सुनिललाल जोशीसमेत

 

सम्पत्तिको हक कानूनद्वारा मात्र सिर्जना हुने भएकोले हकै नपुग्ने लिखतबाट पूरा हक कायम गराई लिएको कार्य दूषित हुने ।

शेषपछिको बकसपत्र लिखतको सर्तबमोजिम कार्यान्वयन भएमा मात्र लिखतले सार्थकता पाउने ।

(प्रकरण नं. ५)

 

निवेदक/वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री शम्भु थापा र श्री पूर्णमान शाक्य तथा अधिवक्ताहरू श्री राजीव आचार्य, श्री हरिप्रसाद पौडेल र श्री जनकसिंह साउद 

प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री विष्णु भट्टराई र श्री भीमबहादुर गुरूङ तथा अधिवक्ता श्री गणेशमान प्रधान

अवलम्बित नजिर :

ने.का.प. २०६६, अङ्क ८, नि.नं. ८२०१

ने.का.प. २०६६, अङ्क ७, नि.नं. ८१९०

ने.का.प. २०६६, अङ्क ३, नि.नं. ८१०५

ने.का.प. २०६९, अङ्क ४, नि.नं. ८८०३

सम्बद्ध कानून :

मालपोत ऐन, २०३४ 

 

सुरू तहमा फैसला गर्ने:

मा. जि. न्या. श्री शालिकग्राम कोइराला

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने:

मा. न्या. श्री भीमकुमार ओझा

मा. न्या. श्री ऋषिप्रसाद अधिकारी

उच्च अदालत पाटन

 

फैसला

न्या. डा. कुमार चुडाल: न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:

संक्षिप्त तथ्य

मेरो मावलीपट्टिका हजुरबुबा गन्धर्व नारान र निजकी श्रीमती विष्णुदेवी प्रधानको कोखबाट छोराहरूको जायजन्म नभएकोमा नजिकको हक खाने हकदारहरूमा २ जना छोरी ज्यानबाबा र कान्छी मनिनाबाबा प्रधान मात्र भएकोमा आफ्ना दुईजना छोरीहरू जेठी ज्यानबाबाको तर्फबाट जन्मेका नाति उत्तमलाल, नातिनीहरू जुलुम र नानीछोरी तथा मनिनाबाबातर्फका नातिनीहरू सरोज र नयनताराको जायजन्म भएकोमा मनिनाबाबाको २०४३ सालमा कालगतिले मृत्यु भइसकेको छ । हजुरबुबा गन्धर्व नारानको १९८९ मा कालगतिले परलोक भइसकेपछि विष्णुदेवी प्रधानको हेरचाह, रेखदेख गर्ने व्यक्ति कोही नभएकोले मिति २००१।१०।१९ मा र.नं. ६४६४ बाट निजका नामको घरजग्गालगायतका सम्पत्तिहरू अष्टलोह गैह्र गरी नानीछोरी कायस्थ-१, सरोज जोशी-१, नयनतारा प्रधान-१, उत्तमलाल जोशी-१, जुलुम जोशी-१ समेत ५ जनालाई शेषपछिको बकसपत्र लिखत पारित गरिदिएकोमा जुलुम जोशीको २०१८ सालमा अविवाहित अवस्थामा नै मृत्यु भई बाँकी रहने ४ जनाले उक्त शेषपछिको बकसपत्रबमोजिम विष्णुदेवीका नाउँको दर्ता स्रेस्ता कायम रहेको घरजग्गाहरू बराबर बाँडी खान पाउने अधिकार 

रहन्छ । शेषपछिको बकसपत्र दिनु हुने बज्यै विष्णुदेवी प्रधान २०२३ सालमा नै कालगतिले परलोक हुनुभएपछि उहाँको नाउँमा दर्ता स्रेस्ता कायम रहेका जग्गाहरूमध्ये काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. २० विच्छेवहालको कि.नं. ८६४ को क्षेत्रफल ०-१-०-० भएको जग्गामा रहेको तीन तले घर, ऐ. साबिक बालाजु २(ग) कि.नं. १३१ को १-६-१-० क्षेत्रफलको टिनले छाएको कच्ची घरसमेतको जग्गा, ऐ.ऐ, वडा नं. १(ख) कि.नं. १६५ को ०-६-१-०, ऐ. सीतापाईला वडा नं. ९(क) कि.नं. ३६९ को १-२-२-०, ऐ. को वडा नं.१(क) कि.नं. ६६१ को २-४-३-०, ऐ. वडा नं. १ कि.नं. १६६ को १-१२-० समेतका जग्गाहरूमा नामसारी दाखिल खारेज गरिलिन बाँकी रहेको 

थियो । हामी शेषपछिको बकसपत्र प्राप्तवाला व्यक्तिहरूलाई समेत नदेखाई मिति २०३७।८।१५ मा उत्तमलालले र २०५१ सालमा उत्तमलालको मृत्युपश्चात् गुनकेशरीले मिति २०५२।१०।२६ मा आफ्ना नाममा दूषित मनसाय राखी जानाजान हाम्रो हक मेट्ने गरी गराएको नामसारीको कानूनी मान्यता शून्य हुने हुँदा उल्लिखित दूषित नामसारी निर्णयलाई बदर गरी मिति २००१।१०।१९ को शेषपछिको बकसपत्रको लिखतको वास्तविक हकवाला हामी ५ जना रहेकोमा जुलुमको मृत्यु भएकोले ४ जनाले शेषपछिको बकसपत्र अष्टलोह गैह्र लिखतको आधारमा ४ भागको १ भाग मेरो नाममा समेत नामसारी दाखिल खारेज हुनेगरी जग्गाधनी प्रमाणपुर्जा दिलाइपाउँ भन्नेसमेत बेहोराको फिराद पत्र ।

प्रस्तुत मुद्दामा मलाई पनि प्रतिवादी बनाइएको हकमा बज्यै विष्णुदेवी प्रधानको नाउँमा दर्ता रहेको छ कित्ता घरजग्गा शेषपछिको बकसपत्र पाउने हामी ४ जना नाति नातिनाहरूले पाउनुपर्नेमा नाति उत्तमलाल जोशी एक जनाले मात्र एकलौटी रूपमा मिति २०३७।८।१५ मा नामसारी दर्ता गराई लिएको र निजको मृत्युपछि निजकी श्रीमती गुनकेशरीले दर्ता गराई लिइसकेपछि आफ्ना छोराछोरीको नाउँमा समेत दर्ता गराई लिने दिने गरेको सम्पूर्ण दूषित कार्यहरूमा मेरो संलग्नता नभएको र मलाई यस विषयमा जानकारीसमेत नभई फिरादीसरह म पनि आफ्नो हकको शेषपछिको बकसपत्रको सम्पत्तिबाट वञ्चित रहेको र उपर्युक्त दूषित दर्ता गराउने व्यक्तिहरूले नै प्रत्यक्ष रूपमा हाम्रो हक मेट्ने कार्य गरेको हुँदा मैले तिर्नु बुझाउनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी नानीछोरी कायस्थको प्रतिउत्तरपत्र । 

प्रस्तुत मुद्दामा मिति २००१।१०।१९ को शेषपछिको बकसपत्रअनुसार शेषपछिको बकसपत्र गरिदिने विष्णुदेवी प्रधानको २०२३ सालमा परलोक भइसकेको  थियो । पिता उत्तमलालले मिति २०३७।८।१५ मा शेषपछिको बकसपत्रअनुसारको नामसारी दाखेल खारेज गर्नुभएको नभई बज्यैको सम्पत्ति हकदार नातिका नाममा नामसारी गर्नुभएको र बाबु उत्तमलालको परलोकपश्चात् मिति २०५२।१०।२६ मा हकदार आमा गुणकेशरीले कानूनबमोजिम आफ्ना नाममा नामसारी गराउनु भई साबिक बालाजु २(ग) कि.नं. ३३६ कित्ताकाट गरी कायम भएको  कि.नं. ९१० सुनिललाललाई र कि.नं. ९११ सुमनलाललाई हक हस्तान्तण गरिदिनुभएको अवस्थामा कि.नं. ३३६ को सम्बन्धमा पिता उत्तमलालले दायर गर्नु भएको मोही निष्कासन र घर भत्काइपाउँ मुद्दामा मोही निष्कासन र घर भत्किने ठहर भई काठमाडौं जिल्ला अदालतको मिति २०५२।२।१५ को फैसलालाई सदर गर्ने गरी मिति २०५२।१०।१ मा तत्कालीन पुनरावेदन अदालत, पाटनबाट फैसला अन्तिम भई फैसला कार्यान्वयनको प्रक्रियामा मिति २०५३।९।२२ च.नं. ८५२ मार्फत चलनपुर्जीसमेत प्राप्त भई अनवरतरूपमा भोगचलन गर्दै आइरहेको अवस्थासमेतका आधारमा विपक्षीको फिराद दाबी पुग्न नसक्ने हुँदा खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी गुणकेशरी जोशीको हकमा मुद्दा सकार गर्ने छोरा भई आफ्नो हकमा समेत प्रतिवादी सुनिललाल जोशीको प्रतिउत्तरपत्र । 

लगाउमा साथै पेस हुन आएको ३९-०६९-०४९५६ को दूषित नामसारी दर्ता बदर मुद्दामा आज यस इजलासबाट यसै विवादको जरियाको विषयमा ४ भागको १ भाग लिखत बदर हुने गरी फैसला भएकोले उक्त फैसलामा लिइएको बुँदा प्रमाणसमेतको आधारमा प्रस्तुत दूषित नामसारी दर्ता निर्णय बदर गरी शेषपछिको बकसपत्र नामसारी दाखिल खारेज दर्ता गरिपाउँ मुद्दामा मिति २०३७।८।१५ मा उत्तमलालले गराएको नामसारी र मिति २०५२।१०।२६ मा गुणकेशरीले गराई लिएको नामसारी निर्णय बदर भई उक्त लिखतमध्ये चार भागको १ भाग बदर भई वादीका नाममा नामसारी दाखिल खारेजसमेत हुने ठहर्छ भन्नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७१।०३।२२ मा भएको 

फैसला ।

प्रस्तुत मुद्दामा सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७१।३।२२ मा लगाउको संवत् २०६९ सालको दे.नं. ३९-०६९-०४९५६ को दूषित नामसारी निर्णय बदर दर्ता मुद्दामा भएको फैसलाकै आधारमा प्रस्तुत मुद्दामा समेत वादी दाबीअनुसार गर्ने गरी मूल विषय र विद्यमान कानूनहरूले गरेको हकदैया, हदम्याद जस्ता कुराहरूको अध्ययन, मनन् र ख्यालै नगरीकन हचुवा, सतही र आत्मनिष्ठ भावनाबाट ग्रसित भई गरिएको फैसला बदर गरिपाउँ भनी अलग्गै पुनरावेदनपत्र दायर गरिसकेको हुँदा सोही पुनरावेदन पत्रलाई यस मुद्दाको समेत मुख्य पुनरावेदन जिकिरको रूपमा ग्रहण गरी सुरू काठमाडौं जिल्ला अदालतको उक्त फैसला उल्टी गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सुमनलाल जोशी र सुनिललाल जोशीको तर्फबाट उच्च अदालत पाटनमा पेस गरेको पुनरावेदनपत्र ।

मिति २००१।१०।१९ मा भएको शेषपछिको बकसपत्र लिखतका दाताको २०२३ सालमा मृत्यु भई कानूनले तोकेको २ वर्षको हदम्याद नाघेपछि मिति २०७०।१।२० मा मात्र वादी अदालत प्रवेश गरेका, दाताको परलोक भएको १४ वर्षपछि मिति २०३७।८।१५ मा प्रतिवादीहरूका बाबु उत्तमलालले नामसारी दर्ता गराएको, उत्तमलालको २०५१ सालमा मृत्यु भएपछि हकदार श्रीमती गुनकेशरीले नामसारी दाखिल खारेज गर्ने गरी मिति २०५२।१०।२६ मा निर्णय गराएको एवं निज गुनकेशरीले आफ्ना छोरा प्रतिवादीहरूलाई हक हस्तान्तरण गरेको कार्यसमेतमा यी वादीले कानूनको म्यादभित्र कुनै दाबी उजुरीसमेत नगरेका तथा उत्तमलालले काजिमानउपर मोही मुद्दा गरी तह-तह फैसला भई एकलौटी जग्गाधनी कायम भएको सम्बन्धमा समेत वादी मौन बसेका कारणबाट वादीको निर्विवाद हककायम रहन नसकी खण्डित भएको अवस्था देखियो । हकदैया खण्डित भइसकेको, दानबकस महलको ५ नं.को हदम्यादभित्र आफ्नो हककायम गराउन नसकेको र हदम्यादविहीन फिराद पत्रबाट प्रत्यर्थी वादीको हक कायम हुन नसक्ने अवस्थामा फिराद दाबीअनुसार नामसारी निर्णय बदर गरी नामसारी दाखिल खारेजसमेत हुने ठहर गरेको सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७१।३।२२ मा भएको फैसला बदर भई फिराद दाबी पुग्न नसक्ने ठहर्छ भन्ने बेहोराको उच्च अदालत पाटनबाट मिति २०७५।१।२० मा भएको फैसला ।   

प्रस्तुत मुद्दामा रहेका विवादका घरजग्गाहरू मेरो बज्यै विष्णुदेवी प्रधानको राजीखुसीले अष्टलोह गैह्रसमेतको शेषपछिको बकसपत्र लिखत पारित गरिदिएबमोजिम वहाँको परलोकपछि निवेदकले पाउनुपर्नेमा विवाद छैन । मुलुकी ऐन, रजिस्ट्रेसनको १ नं.बमोजिम निवेदिकासमेतको शेषपछिको बकसपत्र लिखतबाट कानूनीरूपमा हक स्थापित भएको जग्गामा हक मेट्ने गरी दूषित मनसायले एकलौटी रूपमा नामसारी दाखिल खारेज गरिलिने हकदैया विपक्षीहरूलाई छैन । लुकाइ छिपाइ समान हकदार दिदी बहिनीहरूले समेत बराबर खान पाउने गरी पारित लिखतको मनसायविपरीत गराएको दूषित नामसारी कायम रहन सक्ने अवस्था नै छैन । जबसम्म शेषपछिको बकसपत्र लिखत अन्यथा प्रमाणित हुँदैन तबसम्म मेरो हक हनन हुने प्रश्न नै उठ्दैन । शेषपछिको बकसपत्र लिखत प्राप्त गर्ने सबै व्यक्तिको हक सुरक्षित रहिआएकोमा अन्यथा हुन नसक्ने हुँदा मालपोत ऐन, २०३४ को दफा ८(१), जग्गा पजनीको २ (क) नं.बमोजिम ४ भागको १ भाग जग्गा मेरो नाममा नामसारी दाखिल खारेज हुनुपर्ने कुरामा कुनै द्विविधा छैन । यसरी शेषपछिको बकसपत्र लिखतबमोजिम विष्णुदेवी प्रधानको हकदार हामी नातिनीहरूसमेत भएको र निजको छोरा नभएको कारण हामी छोरीहरूका तर्फका नाति नातिनीहरूले प्राप्त गरेको उल्लिखित घरजग्गाहरू बज्यै विष्णुदेवी प्रधानबाट शेषपछिको बकसपत्र लिखत पाउने उत्तमलाल जोशी १ र हामी दिदी बहिनी ४ जनासमेतले बराबर बाँडी खान पाउनेमा १ जना जुलुम जोशीको २०१८ सालमा नै परलोक भई निजको हक खाने हकदारसमेत नरहे नभएकोले हामी बाँकी ४ जनाले दानबकसको १ नं.बमोजिम शेषपछिको बकसपत्र लिखतबमोजिम नामसारी दाखिल खारेज गर्न संयुक्त रूपमा निवेदन दिई नरमकरम मिलाई बाँडीलिनुपर्नेमा उत्तमलाल जोशीले हाम्रो मन्जुरीबेगर उल्लिखित घरजग्गाहरू शेषपछिको बकसपत्र प्राप्त गर्ने अन्य हकदारहरू नदेखाई एक्लो हकदार हुँ भनी दूषित मनसायले आफ्नो नाउँमा नामसारी गराई निजको मृत्युपश्चात् निजका पत्नी गुनकेशरी जोशीले एकलौटी नामसारी दाखिल खारेज गरी एक्लो हकदार देखाई नामसारी दाखिल खारेज गरी जग्गाधनी प्रमाणपुर्जा बनाई केही जग्गा हक हस्तान्तरण एवं बिक्री वितरण हुने गरी लिखत पारित गर्ने कार्य बिल्कुलै आधार प्रमाण र तथ्यहीन छ । यस प्रकार २००१ सालमा पारित शेषपछिको बकसपत्र लिखतलाई दूषित मनसाय राखी बज्यै विष्णुदेवीको हक खाने हकदारमा आफूबाहेक कोही नभएको भनी शेषपछिको बकसपत्रको लिखत हकको स्रोत भएको कुरालाई मिति २०३७।८।१५ गते उत्तमलालले आफ्नो नाउँमा नामसारी गराई जग्गाधनी प्रमाणपुर्जा लिई निजको मृत्युपश्चात् मिति २०५२।१०।२६ मा गुनकेशरी जोशीले मालपोत कार्यालय, काठमाडौंबाट गरे गराएको नामसारी दाखिल खारेज निर्णय दर्ता दान बकसको १ नं.समेतको प्रतिकूल भई गैह्रकानूनी रहेको प्रस्ट छ । मुलुकी ऐन, दान बकसको २ नं.बमोजिम प्राप्त गरिएको शेषपछिको बकसपत्र लिखतबमोजिम दाताको मृत्युपश्चात् समान हैसियतका अंशियारहरूले आफ्नो भागजति मात्र मुलुकी ऐन, जग्गा पजनीको २(क) नं.बमोजिम जहिलेसुकै नामसारी दाखिल खारेज गराउनसक्ने कुरामा कुनै विवाद छैन । मुलुकी ऐन, दानबकसको ५ नं. मा भएको हदम्याद प्रस्तुत मुद्दामा आकर्षित नहुने र जुन कुराको जरिया नै दूषित तवरबाट गरिएको हुन्छ उक्त कार्य बदर गराउन कुनै हदम्याद लागु हुन सक्दैन भनी सम्मानित सर्वोच्च अदालतबाट ने.का.प. २०६६, अङ्क ७, नि.नं. ८१९० मा प्रतिपादित सिद्धान्तविपरीत सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसलालाई बदर गरेको उच्च अदालत पाटनको फैसलामा प्रमाण, कानून एवं नजिर सिद्धान्तको गम्भीर त्रुटि देखिएकोले मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरिपाउँ भन्नेसमेत बेहोराको वादी सरोज जोशीको तर्फबाट मुद्दा सकार गर्ने पति भई आफ्नोसमेतका तर्फबाट अमिरराज जोशीले यस अदालतमा पेस गरेको निवेदनपत्र । 

यसमा यी वादीहरूको मावली हजुरआमा विष्णुदेवी प्रधानले आफ्ना दुई छोरीका छोरा छोरी उत्तमलाल, जुलममाया, नानीछोरी, सरोज जोशी र नयनतारालाई शेषपछिको बकसपत्र गरिदिएकोमा विवाद नभएको, सो शेषपछिको बकसपत्र बदर भएको भन्ने नदेखिएको, प्रतिवादी सुनिललाल जोशीका पिता उत्तमलालले आफूसमेतले प्राप्त गरेको शेषपछिको बकसपत्रबारे उल्लेख नै नगरी मावली हजुरआमा विष्णुदेवीको हकको घरजग्गालाई अपुतालीबाट हक हुने पैतृक सम्पत्तिजस्तो उल्लेख गरी नामसारी दर्ता गराएबाट विष्णुदेवी प्रधानले मिति २०१०।०१।१९ मा गरिदिएको शेषपछिको बकसपत्रबाट हक प्राप्त गर्ने वादीहरूको हक मेटाउने गरी दूषित किसिमले नामसारी दर्ता गरेको विषयमा दायर गरेको दूषित नामसारी निर्णय हकदैया र फिराद पत्र हदम्यादको आधारमा दाबी पुग्न नसक्ने ठहर्‍याएको उच्च अदालत पाटनको मिति २०७५।१।२० को फैसलामा यस अदालतबाट प्रतिपादित सिद्धान्तहरू ने.का.प. २०६९, ८८०३, ने.का.प. २०६६, ०७, नि.नं. ८१९०, ने.का.प. २०६६, अङ्क ३, ८१०५ तथा ने.का.प. २०६६, अङ्क ८, नि.नं. ८२०१ तथा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ समेतको व्याख्यात्मक त्रुटि भई न्याय प्रशासन ऐन, २०७३ को दफा १२ (ख) को अवस्था विद्यमान देखिएकोले मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरिदिएको छ । कानूनबमोजिम गर्नुहोला भन्ने बेहोराको यस अदालतबाट मिति २०७५।११।१२ मा भएको आदेश ।

जिज्युबज्यै विष्णुदेवी प्रधानबाट मेरा पिता उत्तमलाल जोशीसमेत ५ जनाले २००१ सालमा अष्टलोह शेषपछिको बकसप्राप्त गरेकोमा शेषपछिको बकसपत्र पाउनेमध्येकी जुलुममाया जोशीको २०१८ सालमा र शेषपछिको बकसपत्र दाता विष्णुदेवी प्रधानको २०२३ सालमा परलोक भई बकस पाउने विपक्षी नयनतारा, नानी छोरी कायस्थ र सरोज जोशीसमेतले बकस पाएको सम्पत्तिमा हकभोग परित्याग गरी बसेको हुँदा मेरा पिता उत्तमलालले एकलौटी भोग गरी आउनु भएको उक्त सम्पत्ति दाताको परलोक भएको १४ वर्षपछि २०३७ सालमा एकलौटी नामसारी गरी लिनुभएको हो । पिता उत्तमलालको २०५२ सालमा परलोक भएपछि आमा गुनकेशरीले नामसारी गरी लिई २०६१ सालमा मलाई रजिस्ट्रेसन गरी दिनुभएपछि एकलौटी हकभोग गरेको जग्गामा २०७० सालमा विवाद उठी मुलुकी ऐन, दानबकस महलको ५ नं. मा भएको हदम्यादको कानूनी व्यवस्थाविपरीत सुरू काठमाडौं जिल्ला अदालतबाट वादी दाबी पुग्ने ठहर गरी भएको फैसलालाई उच्च अदालत पाटनबाट फैसला उल्टी हुने ठहर गरेको कार्य न्यायपूर्ण र कानूनसम्मत रहेको तथा पिता उत्तमलाल जोशीले मोही काजीमान महर्जन विरूद्ध मोही निष्कासन र घर भत्काई पाउँ मुद्दामा दाबीबमोजिम घर भत्काउने र मोही निष्कासन हुने ठहर गरी काठमाडौं जिल्ला अदालतबाट मिति २०५२।२१५ मा भएको फैसलालाई सदर गर्ने गरी मिति २०५२।१०।१ मा पुनरावेदन अदालत पाटनबाट फैसला भएको र सर्वोच्च अदालतबाट मिति २०५३।५।२८ मा मुद्दा दोहोर्‍याउने अनुमति प्रदानसमेत नभई मिति २०५३।९।२२ मा च.नं. ८५२ बाट चलनपुर्जी पाई भोगचलन गरी आएकोमा विपक्षीले कुनै दाबी लिन सक्नुभएको छैन भन्नेसमेत बेहोराको प्रत्यर्थी प्रतिवादी सुमनलाल जोशीले यस अदालतमा पेस गरेको लिखित प्रतिवाद ।

यस अदालतको ठहर

यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरी पुनरावेदनको रोहमा दर्ता भएर नियमबमोजिम मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ इजलासमा पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजातहरूको अध्ययन गरी निवेदक/वादीको तर्फबाट विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री शम्भु थापा र श्री पूर्णमान शाक्य तथा अधिवक्ताहरू श्री राजीव आचार्य, श्री हरिप्रसाद पौडेल र श्री जनकसिंह साउदले गर्नुभएको विद्वत्तापूर्ण बहससमेत सुनियो । निज विद्वान् कानून व्यवसायीहरूले मिति २००१।१०।१९ मा र. नं. ६४६४ बाट बज्यै विष्णुदेबी प्रधानका नाममा रहेका विवादित कि. नं. ८६४, १३१, १६५, ३६९, ६६१, १६६ र सोमा बनेका घरलगायतका सम्पत्तिहरू अष्टलोह गैह्र गरी नाति नातिनीहरू नानीछोरी कायस्थ, सरोज जोशी, नयनतारा प्रधान, उत्तमलाल जोशी, जुलुम जोशीसमेत ५ जनालाई शेषपछिको बकसपत्र लिखत पारित गरिदिएकोमा बज्यै विष्णुदेवी प्रधानको परलोक भएपछि उहाँको नाउँमा दर्ता स्रेस्ता कायम रहेका जग्गाहरू शेषपछिको बकसपत्र प्राप्तवाला व्यक्तिहरूलाई समेत नदेखाई मिति २०३७।८।१५ मा उत्तमलालले र निजको मृत्युपश्चात् गुनकेशरीले मिति २०५२।१०।२६ मा आफ्ना नाममा दूषित मनसाय राखी जानाजान निवेदकको हक मेट्ने गरी दूषित नामसारी निर्णयलाई बदर गरी मिति २००१।१०।१९ को शेषपछिको बकसपत्रको लिखतको वास्तविक हकवाला ५ जना रहेकोमा जुलुमको मृत्यु भएकोले ४ जनाले शेषपछिको बकसपत्र अष्टलोह गैह्र लिखतको आधारमा ४ भागको १ भाग वादीको नाउँमा दाखिल खारेज गर्नुपर्नेमा अन्य हकदारहरूलाई नदेखाई लिखत पारित गरेको नामसारी बदर प्रचलित कानून तथा यस अदालतबाट प्रतिपादित सिद्धान्तका आधारमा  हदम्यादभित्रै फिराद गर्न आएको देखिन्छ । साथै शेषपछिको बकस लिखत प्राप्त गर्ने सबै व्यक्तिको हक सुरक्षित रहिआएकोमा अन्यथा हुन नसक्ने र जुन कुराको जरिया नै दूषित तवरबाट गरिएको हुन्छ उक्त कार्य बदर गराउन कुनै हदम्याद लागु हुन सक्दैन भनी यस अदालतबाट ने.का.प. २०६६, अङ्क ७, नि.नं. ८१९० मा प्रतिपादित सिद्धान्तविपरीत हकदैया खण्डित भइसकेको, वादी दाबीअनुसार नामसारी निर्णय बदर गरी नामसारी दाखिल खारेजसमेत हुने ठहर गरेको सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७१।३।२२ मा भएको फैसलालाई बदर गरेको तत्कालीन पुनरावेदन अदालत, पाटनबाट मिति २०७५।१।२० मा भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरिपाउँ भनी गर्नुभएको तर्कपूर्ण अभिव्यक्तिसमेत रहेको देखियो ।     

प्रत्यर्थी प्रतिवादीको तर्फबाट विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री विष्णु भट्टराई र श्री भीमबहादुर गुरूङ तथा अधिवक्ता श्री गणेशमान प्रधानले पिता उत्तमलालको २०५२ सालमा परलोक भएपछि आमा गुनकेशरीले नामसारी गरी लिई २०६१ सालमा छोराहरूलाई रजिस्ट्रेसन गरी दिनुभएपछि एकलौटी हकभोग गरेको जग्गामा विवाद उठी मुलुकी ऐन, दानबकस महलको ५ नं. मा भएको हदम्यादको कानूनी व्यवस्थाविपरीत सुरू काठमाडौं जिल्ला अदालतबाट वादी दाबी पुग्ने ठहर गरी भएको फैसलालाई उल्टी ठहर गरेको उच्च अदालत पाटनबाट भएको फैसला न्यायपूर्ण र कानूनसम्मत रहेको तथा पिता उत्तमलाल जोशीले मोही काजीमान महर्जन विरूद्ध मोही निष्कासन र घर भत्काइपाउँ मुद्दामा दाबीबमोजिम घर भत्काउने र मोही निष्कासन हुने ठहर गरी काठमाडौं जिल्ला अदालतबाट मिति २०५२।२।१५ मा भएको फैसलालाई सदर गर्ने गरी मिति २०५२।१०।१ मा पुनरावेदन अदालत पाटनबाट फैसला भई मिति २०५३।९।२२ मा च.नं. ८५२ बाट चलनपुर्जी पाई भोगचलनसमेत गरिआएकोमा विपक्षीले कुनै दाबी लिन नसक्नुभएको र मूल विषय र विद्यमान कानूनहरूले गरेको हकदैया, हदम्यादविहीन फिराद दाबीमा उच्च अदालत पाटनबाट भएको फैसला सदर गरिपाउँ भन्ने बहस प्रस्तुत गर्नुभयो ।

उल्लिखित बहस जिकिरसमेत सुनी मिसिल संलग्न कागजातहरूको अध्ययन गरी हेर्दा उच्च अदालत पाटनको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।    

२. अब, निर्णयतर्फ विचार गर्दा, हामी शेषपछिको बकसपत्र प्राप्तवाला व्यक्तिहरूलाई समेत नदेखाई हाम्रो हक मेट्ने दूषित मनसायले कि.नं. ८६४ र ३३६समेतका जग्गाहरू तथा सोमा बनेका घरहरूसमेत  मिति २०३७।८।१५ मा उत्तमलालले र २०५१ सालमा उत्तमलालको मृत्युपश्चात् श्रीमती गुनकेशरीले आफ्ना नाममा गराएको नामसारी लिखतको कानूनी मान्यता शून्य हुने हुँदा उल्लिखित दूषित नामसारी निर्णयलाई बदर गरी मिति २००१।१०।१९ को शेषपछिको बकसपत्र लिखतको हकवाला हामी ५ जना रहेकोमा जुलुम जोशीको मृत्यु भएकोले ४ भाग लगाई ४  भागको १ भाग म फिरादीले पाउने गरी मेरो नाममा समेत नामसारी दाखिल खारेज हुने गरी जग्गाधनी प्रमाण पुर्जा दिलाइपाउँ भन्ने मुख्य फिराद दाबी रहेको 

देखिन्छ । प्रतिवादीहरूको जिकिर हेर्दा पिता उत्तमलालले २०३७ सालमा शेषपछिको बकसपत्रअनुसारको नामसारी दाखेल खारेज गर्नु भएको नभई बज्यैको सम्पत्ति हकदार नातिका नाममा नामसारी गर्नु भएको र बाबु उत्तमलालको परलोकपश्चात् २०५२ सालमा हकदार आमा गुणकेशरीले कानूनबमोजिम आफ्ना नाममा नामसारी गराउनु भई सोमा अनवरत रूपमा भोगचलन गर्दै आइरहेको अवस्था हुँदा हदम्यादविहीन फिराद दाबी खारेजभागी छ भन्ने प्रतिवादी गुणकेशरी जोशीको हकमा मु.स. गर्ने छोरा सुनिललाल जोशी र सुमनलाल जोशीको प्रतिउत्तर पत्र तथा फिरादीसरह म पनि आफ्नो हकको शेषपछिको बकसपत्रको सम्पत्तिबाट वञ्चित रहेको हुँदा उपर्युक्त दूषित दर्ता गराउने व्यक्तिहरूले नै प्रत्यक्ष  रूपमा हाम्रो हक मेट्ने कार्य गरी सोको दायित्व निजहरूले नै बेहोर्नुपर्ने हुँदा मैले तिर्न बुझाउनुपर्ने होइन भन्ने प्रतिवादी नानीछोरी कायस्थको प्रतिउत्तर जिकिर रहेको देखिन्छ । प्रस्तुत मुद्दामा बादी दाबी पुग्ने गरी काठमाडौं जिल्ला अदालतबाट मिति २०७१।३।२२ मा फैसला भएकोमा सो फैसलालाई हदम्यादसमेतका आधारमा तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७५।१।२० मा उल्टी हुने ठहर गरी फैसला भएको र सोउपर चित्त नबुझाई वादी सरोज जोशीको हकमा मुद्दा सकार गर्ने पति अमिरराज जोशीले पेस गरेको मुद्दा दोहोर्‍याई हेर्ने अनुमतिको निवेदनमा यस अदालतबाट अनुमति प्रदान भई पुनरावेदनको रोहमा यस इजलासमा निर्णयार्थ मुद्दा पेस भएको देखियो । 

३. मिसिल संलग्न प्रमाण कागजातहरू हेर्दा, मूल पुरूष गन्धर्भ नारानको १९८९ सालमा मृत्यु भएको र निजकी पत्नी विष्णुदेवीको २०२३ सालमा मृत्यु भएको देखिन्छ । निज गन्धर्भ नारान र विष्णुदेवीका छोराहरू नभएको र दुई छोरीहरू ज्यान बाबा र मकीना भएको र ज्यान बाबातर्फबाट छोरा उत्तमलाल र छोरीहरू जुलुम र नानी छोरी तथा मकीनाबाट छोरा सरोज र छोरी नयनताराको जायजन्म भएको देखिन्छ । यस स्थितिमा बज्यै विष्णुदेवी प्रधानले आफूलाई हेर विचार, स्याहारसुसार तथा पालनपोषण गरी रिझाएबापत उत्तमलालसमेतका पाँच जना नाति नातिनाहरूले मेरा हकभोगको सम्पत्ति बराबरी बाँडी खानु भन्ने बेहोरा उल्लेख गरी र. नं. ६४६४ को मिति २००१।१०।१९।५ बाट नाति नातिनीहरू उत्तमलाल, जुलुम, नानीछोरी, सरोज र नैनतारालाई विभिन्न ५ कित्ता जग्गाहरू र एउटा टिनले छाएको घर अष्टलोह शेषपछिको बकसपत्रको लिखत गरिदिएकोमा दुवै पक्षबिच मुख मिलेकै देखिन्छ । शेषपछिको बकसपत्र पाउनेमध्येकी जुलुमको अविवाहित अवस्थामा नै २०१८ सालमा मृत्यु भएकोले शेषपछिको बकसपत्र प्राप्त गर्नेहरू चार जना कायम रहेको अवस्था देखिन्छ । 

४. विष्णुदेवी प्रधानको मृत्युपछि निजको हक खाने म उत्तमलालबाहेक अन्य कोही नभएको हुँदा बज्यै नाउँको जेथा मेरा नाउँमा नामसारीसमेत गरिपाउँ भनी प्रतिवादी उत्तमलालले दिएको निवेदनमा मालपोत कार्यालय, काठमाडौंबाट कि.नं.१६५, १३१, ३६९, ६६१, १६६ समेतका जग्गाहरू उत्तमलाल जोशीका नाउँमा नामसारी हुने गरी मिति २०३७।८।१५ मा निर्णय भएको देखिन्छ । यसरी उत्तमलालले नामसारी गराई लिएको जग्गामध्ये नगर-२० कि.नं. ८६४ को ०-१०-०, बालाजु-२ग कि.नं. ३३६ को ०-८-१-० जग्गा गुनकेशरी जोशीले आफ्ना पति उत्तमलालको मृत्युपश्चात् उत्तमलालको हकदार ५ जना भएकोमा पाँच जनामध्ये चार जनाले म गुनकेशरी जोशीको नाममा नामसारी गर्न हक छोडिदिएका हुँदा मृतक उत्तमलालको नामबाट मेरा नाउँमा नामसारी गरिपाउँ भन्ने बेहोरा उल्लेख गरिदिएको निवेदनमा मालपोत कार्यालयको मिति २०५२।१०।२६ मा भएको निर्णयबाट उत्तमलालको नाममा रहेका उक्त जग्गा श्रीमती गुनकेशरी जोशीका नाउँमा नामसारी भएको समेत देखिन्छ । यसरी तहतह हुँदै उल्लिखित जग्गाहरू बज्यै विष्णुदेवी प्रधानका नाउँमा रहेका जग्गाहरू नाति उत्तमलाल जोशीका नाउँ र निजबाट निजकी श्रीमती गुनुकेशरीका नाउँमा नामसारी भई आएको 

देखियो । त्यसकारण यी वादी प्रतिवादीका बज्यैले आफ्ना नाउँको जग्गा शेषपछिको बकसपत्र लिखतमा मेरा हकको सम्पत्ति बराबरी बाँडी खानु भन्ने बेहोरा उल्लेख गरी र. नं. ६४६४ को मिति २००१।१०।१९ बाट नाति नातिनीहरू उत्तमलाल, जुलुम, नानीछोरी, सरोज र नैनतारालाई शेषपछिको बकसपत्र गरिदिएकोमा विवाद देखिँदैन । सो शेषपछिको बकसपत्र लिखतबमोजिम जग्गा निजको मृत्युपछि नाति उत्तमलाल जोशीले आफूबाहेक अन्य कोही हकदार नरहेको भनी झुठ्ठा बेहोरा पारी मालपोत कार्यालय, काठमाडौंबाट निर्णय गराई निज उत्तमलाल जोशीको मृत्युपश्चात् निजको श्रीमती गुनकेशरी जोशीले नामसारी गराई लिएको अवस्था 

देखिन्छ । बज्यै विष्णुदेवी प्रधानले गरिदिएको शेषपछिको बकसपत्र लिखतअनुसार शेषपछिको बकसपत्र पाउने अन्य हकदारहरूलाई सो जग्गा उत्तमलालले २०३७ सालमा नामसारी गर्दा मन्जुरी लिएको वा साक्षी राखेको अवस्था देखिँदैन । 

५. वादीलाई मुद्दा दायर गर्नलाई हकदैया नभएको र हदम्यादविहीन फिराद भएको भनी प्रतिवाद जिकिर रहेको देखिन्छ । शेषपछिको बकसपत्रको लिखतको अस्तित्व कायम रहिरहेको अवस्थामा २०३७ सालका लिखतमा उल्लिखित सबैले बराबर खान पाउने गरी बज्यैले दिएको शेषपछिको बकसपत्र लिखतबमोजिमको जग्गा उत्तमलाल जोशीले नामसारी गरेको देखिन्छ । अब यी वादीले आ-आफ्ना भाग हिस्साअनुसारको दर्ता दाखिल खारेज गरिपाउन दायर गरेको फिराद दाबीमा  प्रचलित कानूनी व्यवस्था र प्रतिपादित सिद्धान्तहरूका आधारमा उच्च अदालत पाटनबाट भएको फैसलामा वादीको हकदैया नपुगेको तथा हदम्यादविहीनताको अवस्था रहे, नरहेको भन्ने विषय समावेश भएको देखियो । प्रस्तुत मुद्दामा शेषपछिको बकसपत्र पाउनेहरूले आफ्नो भागमा परेको सम्पत्तिलाई सम्बन्धित निकायबाट कानूनबमोजिम नामसारी दाखिल खारेज गरेको समेत भएको 

देखिँदैन । त्यसैले पुनरावेदक प्रतिवादीहरूले लिएको जिकिर त्रुटिपूर्ण रूपमा जरिया नै दूषित तवरबाट भएको काम कारबाही निर्णयलाई वैधता दिनु न्याय कानून र विवेकसम्मत नहुने हुन्छ । सम्पत्तिको हक कानूनद्वारा मात्र सिर्जना हुने भएकोले हकै नपुग्ने लिखतबाट पूरा हक कायम गराई लिएको कार्य दूषित हुने हुन्छ । यस सन्दर्भमा तत्कालीन मालपोत कार्यालय, काठमाडौंले हकको स्रोतको लिखत, हकदारहरूको पहिचान जस्ता विषयमा बुझी उपयुक्त निर्णय गर्नुपर्नेमा सोसमेत नभएको पाइयो । शेषपछिको बकसपत्र लिखतको सर्तबमोजिम कार्यान्वयन भएमा मात्र लिखतले सार्थकता पाउने 

हुन्छ । लिखतको व्यवस्थालाई निष्क्रिय हुने गरी मनोमानी तरीकाबाट कार्य गर्न नमिल्ने भएको कारण नामसारीको निर्णयहरूबाट वादीहरूलाई प्रत्यक्ष हानि नोक्सानी पुग्न गएको देखिन आएबाट नामसारी गर्ने गराउने कार्य त्रुटिपूर्ण देखिँदादेखिँदै अदालतले स्वीकार गर्नु न्यायसङ्गत हुँदैन । मुलुकी ऐन दान बकसको ५ नं. मा रहेको दानबकस पाउनेले २ वर्षपछि हदम्याद लाग्दैन भन्ने उच्च अदालत ललितपुरबाट भएको व्याख्यालाई युक्तिसङ्गत भएको मान्न 

सकिएन । त्यसकारण र.नं. ६४६४ मिति २००१।१०।१९ को पारित शेषपछिको बकसपत्र लिखतमा यी वादीहरू समान हकदार देखिएको र वादीको हकलाई समाप्त गर्ने हेतुले समान हकवाला व्यक्तिले दूषित मनसाय राखी कपटपूर्ण रूपमा आफू मात्र हकदार रहेको देखाई आफ्नो नाउँमा नामसारी दाखिल खारेज गरेको कार्यबाट शेषपछिको बकसपत्र पाउने अन्य हकदारहरू वञ्चित रहन गएको देखिन आयो । 

६. प्रस्तुत विवादका सम्बन्धमा रहेको कानूनी व्यवस्थातर्फ अवलोकन गर्दा, मुलुकी ऐन, जग्गा पजनीको २क नं. मा “आफ्ना हक हुन आई दाखिल खारेज गर्नुपर्ने भएको र दर्तावाला मरी हकवालाको नाममा सार्नेमा समेत पैंतिस दिनभित्र दाखिल दर्ता नगराई म्याद गुजारी बसेकोमा पछि दाखिल दर्ता गराउन दरखास्त दिएमा जतिसुकै अवधि व्यतीत भए पनि दश रूपैयाँ लिई नामसारी दाखिल खारेज गरिदिनुपर्छ । यो ऐन लागु हुनुभन्दा पहिले जग्गाको नामसारी दाखिल खारेज गर्ने म्याद गुज्रेका कलमहरूमा समेत सोबमोजिम दस्तुर लिई नाउँसारी दाखिल गरिदिनुपर्छ” भन्ने व्यवस्था उल्लेख भएको देखिन्छ । साथै मुलुकी ऐन, रजिस्ट्रेसनको १ नं.मा “अचल सम्पत्ति भएकाको मानु छुट्टिएको लिखत वा मानु जोरिएको लिखत र अरू गैह्र अचल सम्पत्तिमा पर्ने शेषपछिको बकसपत्र लिखत गर्दा गराउँदा रजिस्ट्रेसन गराउनुपर्छ” भनी उल्लेख भएको पाइन्छ भने ऐ.को ३२क नं.मा “यस महलको ३० नम्बर र ३२ नम्बरमा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले सो नम्बरहरूमा लेखिएको म्याद गुजारी दाखिल खारेज गराउन दरखास्त दिएमा जतिसुकै अवधि भए पनि दश रूपैयाँ दस्तुर लाई नाउँसारी दाखिल खारेज गरिदिनुपर्छ । यो ऐन लागु हुनुभन्दा अगावै त्यस्तो म्याद गुज्रिसकेकोमा पनि सोबमोजिम दस्तुर लिई नामसारी दाखिल खारेज गरिदिनुपर्छ” भनी उल्लेख भएको पाइन्छ । त्यसैगरी मालपोत ऐन, २०३४ को दफा ८ को उपदफा १ मा “प्रचलित कानूनबमोजिम लिखतको रजिस्ट्रेसन, नामसारी, दाखिल खारेज र लगत कट्टा गर्ने काम मालपोत कार्यालयले गर्ने छ” भनी उल्लेख गरेको पाइन्छ । 

७. यस्तै समान प्रकृतिका प्रश्न समावेश भएका मुद्दामा यस अदालतबाट बृहत् व्याख्या एवम् सिद्धान्तहरूसमेत प्रतिपादन भएको 

देखिन्छ । प्रतिवादी दुनाई यादव विरूद्ध जगदिश मण्डल धानुकसमेत भएको दर्ता बदर दर्ता कायम मुद्दा (ने.का.प. २०६६, अङ्क ८, नि.नं. ८२०१) मा “स्रोत दूषित भएपछि सो जग्गा अन्यत्र हस्तान्तरण भई कित्ताफोडद्वारा खण्डित भएको जग्गाको हैसियत पनि मूल जग्गासरह दूषित हुन्छ । कानूनी बाटो अनुशरण गरी अदालतबाट फैसला गराई हक हस्तान्तरण गरेको भन्ने आधारले दूषित दर्ताको हैसियत परिवर्तन हुन सक्दैन । यसरी ऐलानी  जग्गा दूषित रूपमा दर्ता गरेको अवस्थामा त्यस्तो दर्तामाथि प्रश्न उठाउन हदम्याद बाधक हुन नसक्ने हुँदा फिराद हदम्याद नाघी परेको भन्न नमिल्ने” भनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ । त्यसैगरी वादी रत्नप्रसाद भट्ट विरूद्ध विपक्षी चित्राकुमारी गुरूङ भएको लिखत बदर मुद्दा (ने.का.प. २०६६, अङ्क ७, नि.नं. ८१९०) मा “मूलतः जग्गामा हक स्वामित्व हुने व्यक्तिमा नै सो सम्पत्ति हस्तान्तरण गर्ने अधिकार रहन्छ । स्वामित्व नरहेको व्यक्तिले लिखत गरिदिन सक्दैन । लिखत गरिदिँदाको अवस्थामा स्वामित्वको परिचायक जग्गाधनी प्रमाणपुर्जामा नाम जग्गाधनीको रूपमा रहेको अवस्थामा मात्र सो सम्पत्तिको हक हस्तान्तरणको क्रिया सम्भव हुने । पछि सो स्वामित्व अवैध रहेको अधिकार प्राप्त निकायले विधिवत् ठहर गरेको अवस्थामा सो दाताको हैसियत स्वामित्वविहीन सरह हुन पुग्छ । स्वामित्वको परिचायक जग्गाधनी प्रमाणपुर्जा नहुनु र  हक हस्तान्तरण गर्दा सो रहेको भए पनि पछि सो आरम्भदेखि नै बदर हुनु कानूनका आँखामा समान अवस्था हुने । जग्गाको स्वामी नै नरहेको व्यक्तिले गरेको हक हस्तान्तरणलाई वैध मान्न नसकिने” भनी सिद्धान्त प्रतिपादन भएको  देखिन्छ । साथै प्रतिवादी रामअधारप्रसाद यादव विरूद्ध रामअयोध्यायप्रसाद अहिरसमेत भएको नामसारी निर्णय दर्ता बदर दर्ता बदर अपुताली हक कायम मुद्दा (ने.का.प. २०६६, अङ्क ३, नि.नं. ८१०५) मा “कानूनबमोजिम हुनै नसक्ने तथ्य र बेहोरा ढाँटेर वा झुट्ठा बेहोरा उल्लेख गरेर अर्काको हकको जग्गा आफ्नो भनी वा अर्काको हकमा जानुपर्ने घर जग्गा सम्पत्ति आफ्नो हकमा आउनुपर्ने भनी जुनसुकै बेहोराले गरे गराएको दर्ता वा नामसारी दूषित हुन्छ । त्यसउपर असली हकवालाले कानूनको हदम्यादभित्र उजुर नगरेबाटै दूषित दर्ताले वैधता प्राप्त गर्न नसक्ने” भनी व्याख्या भएको देखिन्छ । त्यस्तै प्रतिवादी बाकृष्ण श्रेष्ठ विरूद्ध रामेश्वरी श्रेष्ठ भएको अंश चलन मुद्दा (ने.का.प. २०६९, अङ्क ४, नि.नं. ८८०३) मा “शेषपछिको बकसपत्र गरिदिनेको मृत्यु भएको र सो लिखत बदर नभएको अवस्थामा त्यस्तो बकसपत्र स्वतः क्रियाशील भई बकसपत्र दिनेको अंश हक बकसपत्र पाउनेमा सर्ने । शेषपछिको बकसपत्र लिखत बदर नभएको स्थितिमा दाताको मृत्युपछि सो लिखत स्वतः क्रियाशील हुने हुँदा सो लिखतबमोजिम निजको हक भएको सम्पत्ति निजले दश रूपैयाँ दस्तुर तिरी रजिस्ट्रेसनको ३२क नं.बमोजिम जहिलेसुकै नामसारी दाखेल खारेज गराउन सक्ने” भनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ । 

८. उल्लिखित कानूनी व्यवस्था र प्रतिपादित सिद्धान्तहरूको रोहबाट हेर्दा, शेषपछिको बकसपत्र पाउनेमध्येका उत्तमलालले आफ्ना नाउँमा नामसारी दाखिल खारेज गरेकोमा सोही लिखतबाट हक स्थापित भएका अन्य हकदारहरूले कानूनबमोजिम आफ्ना हक हुन आई दाखिल खारेज गर्नुपर्ने भएको र दर्तावाला मरी हकवालाको नाममा सार्नेमा समेत पछि दाखिल दर्ता गराउन दरखास्त दिएमा जतिसुकै अवधि व्यतीत भए पनि नामसारी दाखिल खारेज गरिदिनुपर्छ भन्ने कानूनी व्यवस्था र शेषपछिको बकसपत्र लिखत गर्दा गराउँदा रजिस्ट्रेसन गराउनुपर्नेमा सोअनुसार अन्य हकदारहरूले आफ्नो नाममा नामसारी दाखिल खारेज गरेको अवस्था पाइँदैन । साथै नामसारी गर्ने निकायले पनि सम्पत्तिको लिखतमा भएको सर्तको विश्लेषण गरी हकदारहरू पहिचान गर्नुपर्नेमा सो नगरी नामसारी दाखिल खारेज गर्ने कार्यलाई दूषित स्रोत मानी सो जग्गा अन्यत्र हस्तान्तरण भई कित्ताफोडद्वारा खण्डित भएको जग्गाको हैसियत पनि मूल जग्गासरह दूषित मान्नुपर्ने हुँदा जग्गा दूषित रूपमा दर्ता गरेको अवस्थामा त्यस्तो दर्तामाथि प्रश्न उठाउन हदम्याद बाधक हुन नसक्ने हुँदा फिराद पत्र हदम्याद नाघी परेको भन्न मिल्ने देखिँदैन । शेषपछिको बकसपत्र गरिदिनेको मृत्यु भएको र सो लिखत बदर नभएको अवस्थामा त्यस्तो बकसपत्र स्वतः क्रियाशील भई बकसपत्र दिनेको अंश हक बकसपत्र पाउनेमा सर्ने र शेषपछिको बकसपत्र लिखत बदर नभएको स्थितिमा दाताको मृत्युपछि सो लिखत स्वतः क्रियाशील हुने हुँदा सो लिखतबमोजिम यी वादीको हक भएको सम्पत्ति रजिस्ट्रेसनको महलको ३२क नं.बमोजिम जहिलेसुकै नामसारी दाखेल खारेज गराउन सक्ने नै देखिन्छ ।  प्रस्तुत मुद्दाको जरिया नै दूषित भई अर्काको हक मार्ने मनसायले गराएको दूषित नामसारी दाखिल खारेज र प्रतिवादीले शेषपछिको बकसपत्र पाउने अन्य हकदारहरूले जग्गा बकस पाएपछि आफ्ना नाममा दर्ता गराएको देखाउन नसकेको कार्यलाई हदम्याद नभएको भनी मान्न मिल्ने देखिएन । त्यसकारण हकदैया खण्डित भइसकेको र दानबकस महलको ५ नं.को हदम्यादभित्र आफ्नो हककायम गराउन नसकी दाबीअनुसार नामसारी निर्णय बदर गरी नामसारी दाखिल खारेजसमेत हुने ठहर गरेको सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७१।३।२२ मा भएको फैसलालाई उल्टी गरी फिराद दाबी पुग्न नसक्ने ठहर गरेको तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको देखिएन । 

९. अतः माथि उल्लिखित तथ्य, प्रतिपादित सिद्धान्तहरू र विवेचनासमेतको आधारमा मिति २००१।१०।१९ को र.नं. ६४६४ को पारित शेषपछिको बकसपत्र लिखतबमोजिम हक हुने हकदारहरूलाई नदेखाई दूषित तवरबाट प्रतिवादी उत्तमलाल जोशीले मिति २०३७।८।१५ मा र गुनकेशरी जोशीले मिति २०५२।१०।२६ मा मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंबाट गराएको नामसारी दाखिल खारेज निर्णय कानूनसम्मत नदेखिँदा सो लिखतमा भएको सम्पत्तिमध्ये चारभागको एकभाग बदर भई वादीका नाममा नामसारी दाखिल खारेज हुने देखिएकोले तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७५।१।२० मा भएको फैसला उल्टी भई वादी दाबीबमोजिम उक्त मिति २००१।१०।१९ को पारित शेषपछिको बकसपत्रबमोजिम जग्गाबाट चार भागको एक भाग वादीले दाखिल दर्ता गराइलिन पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू । 

तपसिल खण्ड

माथि ठहर खण्डमा लेखिएबमोजिम उत्तमलाल जोशीले मिति २०३७।८।१५ मा र गुनकेशरी जोशीले मिति २०५२।१०।२६ मा मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंबाट गराएको नामसारी दाखिल खारेज निर्णय कानूनसम्मत नदेखिँदा सो लिखतमा भएको सम्पत्तिमध्ये चार भागको एक भाग यी वादीको हकमा बदर भई निजका नाममा नामसारी दाखिल खारेज हुने ठहर गरेको सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७१।३।२२ मा भएको फैसला उल्टी हुने ठहर्‍याएको तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७५।१।२० मा भएको फैसला उल्टी हुने ठहरेकोले वादीले पुनरावेदन दर्ता गर्दा राखेको कोर्ट फी रू. ३००।- (तीन सय मात्र) प्रतिवादीबाट भराइपाउँ भनी यस अदालतमा निवेदन दिएमा नियमानुसार गरी फिर्ता दिनू.....................................................१

मिति २००१।१०।१९ को अष्टलोह शेषपछिको बकसपत्रसँग मिले भिडेको स्रेस्ता प्रमाण हेरी वादीका नाममा दर्ता दाखिल खारेज गरिदिनू.....................२

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू.............................३

 

उक्त रायमा सहमत छु ।

न्या.सपना प्रधान मल्ल

 

इजलास अधिकृतः नारायणप्रसाद चापागाई

इति संवत् २०७९ साल माघ १८ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु