निर्णय नं. ११२०२ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना
माननीय न्यायाधीश डा. श्री नहकुल सुवेदी
फैसला मिति : २०८०।५।३१
मुद्दा:- कर्तव्य ज्यान
०७४-CR-११२९
पुनरावेदक / प्रतिवादी : नित्यानन्द साहको छोरा, भारत बिहार राज्यको अररिया जिलाल जोगबनी हरिपुर महेश्वरी वडा नं.१६ घर भई हाल कारागार कार्यालय, सप्तरी राजविराजमा थुनामा रहेको वर्ष २६ का जिवछ साह
विरूद्ध
प्रत्यर्थी / वादी : शिवानन्द साहको जाहेरीले नेपाल सरकार
०७८-CR-०९९०
पुनरावेदक / प्रतिवादी : ताराचन्द्र साहको छोरी, राजेश साहकी पत्नी जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका वडा नं.१९ हाल विराटनगर महानगरपालिका वडा नं.१५ घर भई हाल कारागार कार्यालय, मोरङमा थुनामा रहेकी सुशिलादेवी साह
विरूद्ध
प्रत्यर्थी / वादी : शिवानन्द साहको जाहेरीले नेपाल सरकार
फौजदारी मुद्दामा आरोपित कसुरमा साबित हुनु र तथ्यको स्वीकारोक्ति हुनु फरक अवस्था हुन् । तथ्यको स्वीकारोक्तिको अर्थ आरोपित कसुरमा साबिती रहेको भनी भन्न नमिल्ने । तथापि प्रतिवादीले स्वीकार गरेको तथ्यलाई सो तथ्यबाट आरोपित कसुरमा निजको संलग्नताको यकिन गर्न सकिने तहसम्म पुग्न सकिने अवस्था छ, छैन भनी सावधानीसाथ हेरिनुपर्ने ।
प्रतिवादीहरूबिच चिनजान र फोन सम्पर्क स्थापित हुनु मात्र पनि कसुर प्रमाणितका पर्याप्त आधार हुन नसक्ने । तर उक्त चिनजान र फोन सम्पर्कले प्रतिवादीहरूको मौकामा आरोपित कसुरमा साबित रही गरेको बयानमा उल्लिखित तथ्य स्थापित हुने । फरक फरक समय र लामो समयको अन्तरालमा भएको प्रतिवादीहरूको मौकाको साबिती बयानमा गरिएको वारदातको विस्तृत र सिलसिलेवार विवरणमा तथ्यगत तादम्यता देखिनुबाट समेत प्रतिवादीहरूको मौकाको बयान समर्थित हुने ।
(प्रकरण नं.५)
वारदातको प्रत्यक्षदर्शी वा चश्मदिद गवाहको अभाव रहेको र प्रतिवादीहरू अदालतको बयानमा कसुरमा इन्कार रहेको देखिए तापनि वारदातका सम्बन्धमा मौकाको घटना विवरण कागज गर्ने मृतकका छोराछोरी र छिमेकी तथा ड्युटीमा रहेका प्रहरी कर्मचारीको भनाइ एवम् मिसिल संलग्न कल डिटेल्ससमेतबाट खुल्न आएको कसुर गर्दाको परिस्थितिजन्य तथ्य एकआपसमा मालाकार कडीको रूपमा देखिएकोमा सो तथ्यलाई परिस्थितिजन्य प्रमाणको रूपमा ग्रहण गर्नुपर्ने ।
(प्रकरण नं.९)
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री प्रकाशनाथ उप्रेती तथा विद्वान् अधिवक्ताहरू श्री रामप्रसाद ढुङ्गेल, श्री सुजन रिजाल र श्री रूद्र नेपाल
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ताहरू श्री सन्तोष शर्मा र श्री रूद्र सुवेदी
अवलम्बित नजिर :
ने.का.प.२०६७, अङ्क ५, नि.नं.८३७८
ने.का.प.२०७०, अङ्क ५, नि.नं.९०१२
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्ने :-
मा.जिल्ला न्या.श्री फणिन्द्रप्रसाद पराजुली
मा.जिल्ला न्यायाधीश श्री प्रकाश राउत
मोरङ जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:-
माननीय न्यायाधीश श्री बालेन्द्र रूपाखेती
माननीय न्यायाधीश श्री राजेन्द्र खरेल
उच्च अदालत विराटनगर
फैसला
न्या.डा.नहकुल सुवेदी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४५ बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र रही पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-
तथ्य खण्ड
मिति २०७१।११।२४ गते बिहानको राति अ.१.१० को समयमा जिल्ला मोरङ विराटनगर १९ बस्ने मेरो भाइ राजेश साहको सुतेकै ठाउँमा मृत्यु भएको छ भनी मेरो ठुलो बुबाको छोरा दिनेश साहले मलगायतका छरछिमेकीलाई हारगुहार गरी होहल्ला गर्दा थाहा पाई तत्काल मसमेत घटनास्थलमा गई हेर्दा, राजेश साहको घरको उत्तरतर्फको कोठामा ओछ्यानमाथि दक्षिण टाउको, उत्तर खुट्टा भई उत्तानो अवस्थामा मृतक लास रहेको, मृतक लासको घाँटीमा डोरीले बाँधेको गहिरो डाम रहेको देखी तत्काल प्रहरीमा खबर गरी मृतक लास सुरक्षितसाथ रुँगालो राखी जाहेरी दरखास्तसाथ उपस्थित भएको छु । मृतक लासको सम्बन्धमा जे जो गर्नुपर्ने हो गरी सद्गतको लागि जिम्मा पाऊँ । मृतक लासको सम्बन्धमा प्रहरी प्रशासनबाटै गहिरो अनुसन्धान गरिपाउँ भन्नेसमेत बेहोराको शिवानन्द साहको जाहेरी दरखास्त ।
जिल्ला मोरङ विराटनगर उ.म.न.पा.१९ स्थित पूर्वमा शिवानन्द साहको घर, पश्चिममा जुटमिल गेटबाट विराटनगर मलाय रोड जाने बाटो, उत्तरमा दिनेश साहको घर, दक्षिण पूर्व पश्चिम फर्किएको बाटो यति चार किल्लाभित्र पश्चिम मोहडा फर्किएको टिन छानो भएको २ कोठे पक्की घर रहेको, सो कोठामध्ये उत्तरतर्फको कोठामा दक्षिण पश्चिमतर्फ देवालमा टाँसिएको अवस्थामा बेडसहितको बिस्तारा रहेको, सो बिस्तरामाथि दक्षिण टाउको, उत्तर खुट्टा भई उत्तानो अवस्थामा राजेश साहको लास रहेको, मृतकको घाँटीमा डोरीले बाँधिएको गहिरो डाम रहेको, ओछ्यानमाथि काँचको रातो चुरा फुटेको ४ बटा टुक्रा रहेको, बिस्तरा मुनि छालाको बेल्ट रहेको उक्त सामानहरू प्रहरीले बरामद गरी लगेको भन्ने बेहोराको घटनास्थल लास जाँच प्रकृति मुचुल्का तथा खानतलासी बरामदी मुचुल्का ।
मिति २०७१।११।२४ गते बिहानको राति १:१० बजेको समयमा मृतक राजेश साहको छोरा अं. वर्ष ११ को जेम्स साह मेरो घरमा आई घरको मेन ढोका ढकढकाई ठुलो बुबा भनी बोलाएपछि तत्काल उठी म आफ्नो घरको ढोका खोली बाहिर निस्केपछि जेम्स साहले मेरो बुबाको मृत्यु भएको छ भनी सुनाएपछि मैले तत्काल स्थानीय मानिसहरूसमेतलाई हारगुहार गरी होहल्ला गरी घटनास्थलमा गई हेर्दा राजेश साहको घरको उत्तरतर्फको कोठामा ओछ्यानमाथि राजेश साहको दक्षिण टाउको उत्तर खुट्टा भई घाँटीमा डोरीले बाँधेको गहिरो डाम रहेको अवस्थामा लास रहेको, ओछ्यानमाथि काँचको चुरा फुटेको टुक्रा ४ वटा रहेको देखेको, राजेश साहलाई निजकै श्रीमती सुशिलादेवी साहले अन्य मानिसहरूसमेतको सहयोग लिई घाँटीमा डोरीले बाँधी कसी कर्तव्य गरी मारेको मलाई पूर्ण आशंका भएको हुँदा सुशिलादेवी साहलाई पक्राउ गरी कानूनबमोजिम गरी घटनामा संलग्न अन्य मानिसहरूको प्रहरी प्रशासनबाटै विस्तृत अनुसन्धान गरी कानूनबमोजिम गरिपाउँ भन्ने बेहोराको दिनेश कुमार साहको घटना विवरण कागज ।
Ligature Mark Situated above the Thyroid Cartilage भन्ने लेखिएको मृतक राजेश शाहको पोस्टमाटम रिपोर्ट ।
प्रतिवादी जिवछ शाहको नं. ९८०७७९२६४० को मोबाइलबाट प्रतिवादी सुशिलादेवी साहको ९८१७३३७७७९ नं. को मोबाइलमा बारम्बार कल आदान प्रदान भएको कल डिटेल ।
मिति २०७१।११।१५ गते म, विराटनगर बस्ने संगिता मण्डल र भारत नेताचोक बस्ने जिवछ साहसमेत भारतको बाबाधाम घुम्न गई ४ दिन बसी आएको विषयलाई लिएर मेरो श्रीमान् राजेश साहले मलाई दैनिक गाली गलौज गरी कुटपिट गरेको हुँदा मैले मेरो प्रेमी भारत नेताचोक बस्ने जिवछ साहसँग मिति २०७१।११।२३ गते दिनको १५:०० बजे विराटनगर वडा नं. १९ हडताली हाटमा भेटी राजेश साहलाई मार्ने योजना बनाएका थियौँ । मैले मेरो माथि उल्लिखित नं. बाट जिवछ साहको नं. मा खोइत आउनुभएन भनी फोन गरेँ । म आउँदै छु भनी जवाफ दिई ऐ. राति २०:३० बजे जिवछ साहले भारत जोगबनी तकिया बस्ने अनिल साह र ऐ. बस्ने ललित साहलाई लिएर आए । राजेश साहलाई मार्ने पूर्वयोजनाअनुसार मसँग आधा बोतल रोयल स्टाग र मासु मागे मैले दिएँ राजेश साहलाई जिवछ साहसमेतले कर लगाई उक्त रक्सी सेवन गराई मताए पछि ऐ. राति २१:३० बजे जिवछ साहसमेत मेरो घरबाट बाहिर गएपछि मैले ऐ. राति २२:०० बजे छोरा छोरी निदाइसके तर अगाडि पट्टिको किराना पसल भर्खर बन्द गर्दै छ अहिले नआउनु बन्द भएपछि म फोन गर्छु भनी जिवछ साहलाई फोन गरी बताएँ । अं. राति २२:४० बजेतिर अब बाहिर सुनसान छ आउनु भनी फोन गरेको केही समयपछि हामी आइसक्यौं मेनगेट खोल भनी फोन गरेपछि मैले मेनगेट खोलिदिएँ । मेरो श्रीमान् राजेश साह र छोरा जेम्स साह घरको उत्तरतर्फको कोठामा ओछ्यानमाथि निदाइसकेका थिए । मेरो छोरी वर्ष १३ की नेहाकुमारी साह दक्षिणतर्फको कोठामा निदाएकी थिइन् । मैले छोरालाई उत्तरतर्फको कोठाबाट बोकी दक्षिणतर्फको कोठामा लगी सुताइदिएपछि जिवछ साह र अनिल साहसमेतले मेरो श्रीमान् राजेश साहलाई चुलेसी, छुरीले रेटी मार्नुपर्छ भन्दा मैले चुलेसी, छुरीले होइन डोरीले घाँटीमा बाँधी कसी मार्नुपर्छ भनी मैले मेरो श्रीमान् राजेश साहले हटिया बजारबाट साइकल तथा मोटरसाइकलमा घरायसी सामान बाँधी ल्याउने गरेको निलो कलरको डोरी दिएँ । सोही डोरीले अनिल साहले मेरो श्रीमान् राजेश साह सुतेको तकिया सिरानीमुनिबाट पसाए, सो डोरी जिवछ साह र अनिल साहले दुवैतिरबाट समाई राजेश साहको घाँटीमा बाँधी कसे, ललित साहले टाउको समाए, मैले मेरो श्रीमान्को दुवै खुट्टा समाएँ, राजेश साह हाम्रो पन्जाबाट बाँच्नको लागि सङ्घर्ष गरी खुट्टा छटपटाएपछि मैले बेसरी थिचेँ, एकै छिनपछि राजेश साहको मृत्यु भयो । अनिल साहसमेतले हामीहरू जान्छौँ भनी गएको केही समय पछि मेरो श्रीमान्को आफैँ सुतेको ठाउँमा मृत्यु भयो भनी होहल्ला गरी रूनु, भोलि राजेश साहको दाहसंस्कारपछि हामी आउँछौ, तिमीलाई समेत भारततर्फ नै लान्छौ भनेपछि मैले अनिल साह, जिवछ साह, ललित साह गएपछि घरको मेन ढोका बन्द गरिदिएँ । मैले मेरो छोरा छोरीलाई उठाई बुबाको सुतेकै ठाउँमा मृत्यु भएको छ भनी जेम्स साहलाई जेठाजु नाता पर्ने दिनेशकुमार साहलाई बोलाउन पठाएँ । मिति २०७१।११।२५ गते मेरो श्रीमान्को दाह संस्कार हुन नपाउँदै मलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मसमेतले पूर्वयोजना बनाई राजेश साहलाई घाँटीमा डोरीले बाँधी कसी बोल्न कराउनसमेत नदिई कर्तव्य गरी मारेको हो । राजेश साह बाँच्नको लागी खुट्टा उफार्दा मेरो नारीमा लागि मैले लगाएको चुरा फुटेको हो । बरामद चुरा मैले लगाएको फुटेको चुरा हो, हेरी देखी सनाखतसमेत गरिदिएको छु भन्नेसमेत बेहोराको प्रतिवादी सुशिलादेवी साहले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
वारदातको समयमा म आफ्नै घर कोठामा थिएँ । मृतकसँग विगत २ वर्ष अगाडिदेखि चिनजान भएको थियो । निजको श्रीमती सुशिलादेवी साह २०७० सालको श्रावण महिनामा विदेश गएको बेलामा राजेश साहसँग सम्बन्ध प्रगाढ हुन गई माया प्रेमको बन्धन हुन गयो, राजेश साहको घरकोठामा समेत जाने आउने हुन्थ्यो । राजेश साहसँग दिनहुँ फोनमा कुरा हुने गर्दथ्यो, सुशिलादेवी साहसँग चिनजान थियो, निजले घरमा कहिले काहीँ बोलाई खाना खुवाउँथिन् । मिति २०७१।११।१५ गते सुशिलादेवी साह, निजको छोरी नेहा साह भारत जोगबनी नेताचोक बस्ने अं. वर्ष ३५ को जिवछ साहसमेत भारतको झारखण्ड घुम्न गएका थिए, जिवछ साहसँग सुशिलादेवी साहको प्रेम सम्बन्ध भएको थियो । मिति २०७१।११।२४ गते बिहानको राति १:१० बजे राजेश साहको आफ्नै घरकोठामा सुतेको ठाउँमा घाँटीमा गहिरो डामसमेत रहेको अवस्थामा मृतक लास रहेको छ भनी होहल्ला सुनी थाहा पाएको हुँ । मिती २०७१।११।२३ गते राति १० बजेदेखि १०:३० बजेसम्म मैले मेरो ९८१७३६५४१८ नं. बाट राजेश साहको ९८०७०७४८४८ नं. मा फोन गरेको थिएँ । फोन उठेन, मैले राजेश साहलाई मेरो मोबाइलबाट राजेश साहको मोबाइलमा मलाई १ पटक फोन गर्नु नभए मलाई निन्द्रा लाग्दैन भनी फोन गरेको म्यासेज पठाएको थिएँ । मैले म्यासेज पठाएको केही समयमा राजेश साहले मलाई फोन गरी पसलमा मानिसहरू छन्, कुरा गर्न भ्याउँदिन भनी १ मिनेट फोन गर्नुभएको थियो । राजेश साहलाई निजकै श्रीमती सुशिलादेवी साहले पूर्वयोजना बनाई आफ्नै प्रेमी जिवछ साहसमेतका अन्य मानिसहरूको सहयोग लिई घाँटीमा डोरीले बाँधी कसी कर्तव्य गरी मारेको कुरा सुनी थाहा पाएको हुँ । यसमा मलाई पूर्ण विश्वास लाग्छ भन्नेसमेत बेहोराको संगिता मण्डलको घटना विवरण कागज ।
मिति २०७१।११।२४ गते बिहानको १:१० बजेको समयमा म आफ्नै घर कोठामा थिएँ । विगत १ वर्षअगाडिदेखि विराटनगर १९ बस्ने राजेश साहसँग मेरो भन्सार कार्यालयमा भेटघाट भई चिनजान
थियो । सो बेला निजले मलाई मेरो घरमा होटल खोलेको छु, मासु रक्सी खाने ग्राहक लिएर आउनु भनेका थिए, म कहिले काहीँ राजेश साहको पसलमा मासु रक्सी खान जान्थेँ । जाने आउने गर्दा सुशिलादेवी साहसँग चिनजान भयो निजलाई मैले बेला बेलामा काजु किसमिसलगायतका फलफूल लगिदिन्थेँ । मासु रक्सी खाएर हिसाब मिलाउँथे । मेरो ९८११०००६०० नं. बाट सुशिलादेवी साहको ९८१७३३७७७९ नं. मा फोन सम्पर्क हुन्थ्यो । मिति २०७१।११।२२ गते राजेश साहले मलाई होली खेल्न बोलाएका
थिए । ऐ. दिनको १२ बजे मसमेत होली खेल्न गएको थिएँ । सो बेला राजेश साहको घर कोठामा भारत जोगबनी बस्ने जिवछ साह ऐ. भारत तकिया बस्ने अनिल साह ऐ. बस्ने ललित साह रक्सी र मासु खाँदै
थिए । निजहरूलाई मैले होली खेल्न आग्रह गरेँ । अनिल साह र ललित साह मसँग होली खेले । जिवछ साह खेल्न मानेन, आक्रोसित अवस्थामा एकोहोरो भएका थिएँ । सो दिन निजहरू गएपछि म पनि आफ्नो घर गएँ । मिति २०७१।११।२४ गते बिहानको राति राजेश साहको आफ्नै घर कोठामा ओछ्यानमाथि घाँटीमा डोरीले बाँधेको गहिरो डामसमेत रहेको अवस्थामा मृतक लास रहेको छ भनी होहल्ला सुनी थाहा पाएको हुँ । सुशिलादेवी साह र जिवछ साहबिच प्रेम सम्बन्ध
थियो । निजहरूले नै पूर्वयोजना बनाई अन्य मानिसहरूको सहयोगमा राजेश साहलाई घाँटीमा डोरीले बाँधी कसी कर्तव्य गरी मारेको हुनुपर्छ भन्नेसमेत बेहोराको सन्तोष यादवको घटना विवरण कागज ।
मिति २०७१।११।२३ गते रातिको २०.३० बजेको समयमा मेरो घर कोठामा भारत जोगबनी नेताचोक बस्ने जिवछ साह, ऐ. भारत तकिया बस्ने ललित साह, ऐ. बस्ने अनिल साह आई मेरो आमा सुशिलादेवी साहसँग आधा बोतल रोयल स्टाग र मासु मागी जिवछ साहसमेतका मानिसहरूले खाई मेरो बुबा राजेश साहलाई समेत सेवन गराई मताएका थिए । जिवछ साहसमेतले थोरै सेवन गरेका थिए । ऐ. दिनको राति २१:३० बजे जिवछ साहसमेत गएपछि म र मेरो आमा सुशिलादेवी साह घरको दक्षिणतर्फको कोठामा सुतेका थियौं । मेरो भाइ जेम्स साह र बुबा राजेश साह उत्तरर्तफको कोठामा सुत्नुभएको थियो । कतिखेर निदाएँ थाहा भएन । मिति २०७१।११।२४ गते बिहानको राति १:१० बजेको समयमा मेरो आमा सुशिलादेवी साहले म र मेरो भाइ जेम्स साहलाई उठाउँदा जेम्स साह म सुतेको ओछ्यानमा सुतेका
थिए । जेम्स साह म सुतेको ओछ्यानमा कसरी आयो मलाई थाहा भएन । आमाले मलाई र भाइलाई मैले भारत बस्ने जिवछ साह, अनिल साह, ललित साहको सहयोग लिई तिमीहरूको बुबालाई घाँटीमा डोरीले बाँधी कसी कर्तव्य गरी मारिदिएकी छु कसैलाई केही नभन्नु भनी भाइ जेम्स साहलाई मेरो घर नजिकै रहेको ठुलोबुबा दिनेशकुमार साहलाई उठाई बोलाउ भनी आमाले भाइलाई पठाउनुभयो । भाइ बोलाउन गयो, म बुबा सुत्ने कोठामा गई हेरेँ, बुबाको घाँटीमा डोरीले बाँधिएको गहिरो डाम रहेको थियो । ओछ्यानमा काँचको चुरा टुक्रा ४ वटा थियो । म धेरै रून कराउन थालेँ, मेरो बुबा र आमाबिच पहिलादेखि झै-झगडा हुन्थ्यो । यसरी मेरो बुबालाई कर्तव्य गरी मार्ने आमालगायतका अनिल साह, ललित साह र जिवछ साहउपर कानूनबमोजिम गरी फरार अनिल साह, ललित साह र जिवछ साहलाई खोजतलास गरी पक्राउ गरी कानूनबमोजिम होस् भन्नेसमेत बेहोराको नेहाकुमारी साहको घटना विवरण कागज ।
मिति २०७१।११।२३ गते रातिको २०:३० बजेको समयमा मेरो घर कोठामा भारत जोगबनी नेताचोक बस्ने जिवछ साह, ऐ. भारत तकिया बस्ने अं ललित साह, ऐ. बस्ने अनिल साह आई मेरो आमा सुशिलादेवी साहसँग आधा बोतल रोयल स्टाग र मासु मागी जिवछ साहसमेतका मानिसहरूले खाई बुबा राजेश साहलाई समेत मादक पदार्थ सेवन गराई मताएका
थिए । जिवछ साहसमेतले थोरै थोरै सेवन गरेका थिए । ऐ. दिनको राति २१:३० बजे जिवछ साहसमेत गएपछि म र मेरो बुबा राजेश साह घरको उत्तरतर्फको कोठामा सुत्यौं । मेरो दिदी नेहाकुमारी साह र आमा सुशिलादेवी साह घरको दक्षिणतर्फको कोठामा सुत्नु भएको थियो । कतिखेर निदाएँ थाहा भएन । मिति २०७१।११।२४ गते बिहानको राति १:१० बजेको समयमा मेरो आमा सुशिलादेवी साहले म र मेरो दिदी नेहाकुमारी साहलाई उठाउँदा म दक्षिणतर्फको ओछ्यानमा थिएँ । म सो ओछ्यानमा कसरी आएँ मलाई थाहा भएन । आमाले मलाई र दिदीलाई उठाई मैले भारत बस्ने जिवछ साह, अनिल साह, ललित साहको सहयोग लिई तिमीहरूको बुबालाई घाँटीमा डोरीले बाँधी कसी कर्तव्य गरी मारिदिएकी छु । कसैलाई केही नभन्नु भनी मलाई मेरो घर नजिकै रहेको ठुलोबुबा दिनेशकुमार साहलाई उठाई बोलाउ भनी आमाले पठाउनुभयो । म मेरो घरको मेन ढोका खोली बोलाउन गएँ । ठुलोबुबालाई बोलाई आउँदा मेरो आमा धेरै रूनु हुँदै थियो । मेरो बुबा र आमाबिच पहिलादेखि झै-झगडा हुन्थ्यो । यसरी बुबालाई कर्तव्य गरी मार्ने आमालगायतका अनिल साह, ललित साह र जिवछ साहउपर कानूनबमोजिम गरी फरार अनिल साह, ललित साह र जिवछ साहलाई खोज तलास गरी पक्राउ गरी कानूनबमोजिम होस् भन्नेसमेत बेहोराको जेम्सकुमार साहको घटना विवरण कागज ।
वारदातको समयमा म आफ्नै घर कोठामा थिएँ । राजेश साहको आफ्नै घर कोठामा ओछ्यानमाथि घाँटीमा डोरीले बाँधेको गहिरो डामसमेत रहेको अवस्थामा मृतक लास रहेको, राजेश साहलाई निजकै श्रीमती सुशिलादेवी साहले भारत नेताचोक बस्ने जिवछ साहसँग सरसल्लाह गरी पूर्वयोजना बनाई जिवछ साहले मिति २०७१।११।२३ गते रातिको समयमा भारत तकिया बस्ने अनिल साह ऐ. बस्ने ललित साहलाई लिई आई मादक पदार्थ सेवन गराई मताई २०७१।११।२४ गते बिहानको राति १२:४५ भन्दा पहिला नै राजेश साहको घाँटीमा डोरीले बाँधी कसी कर्तव्य गरी मारी घटनापश्चात् जिवछ साह, अनिल साह, ललित साह भारततर्फ भागी फरार भए भनी मैले मिति २०७१।११।२४ गते बिहानको समयमा सुनी थाहा पाएको हुँ । राजेश साहलाई कर्तव्य गरी मार्ने सुशिलादेवी साहसमेत उपर कानूनबमोजिम गरी फरार जिवछ साहसमेतलाई खोजतलास गरी पक्राउ गरी कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको बेचन मियाँको घटना विवरण कागज ।
मिति २०७१।११।२३ गते राति १२:०० बजेबाट मिति २०७१।११।२४ गते बिहानको ०६:०० बजेसम्म मेरो विराटनगर २१ भन्सार कार्यालयको १ नं. ढाट स्थितमा ड्युटी थियो । मिति २०७१।११।२४ गते बिहानको राति १२:४५ तिर दुईवटा मोटरसाइकलमा भारत नेताचोक बस्ने जिवछ साह, ऐ. तकिया बस्ने अनिल साह, ऐ. बस्ने ललित साह नेपालतर्फबाट भारततर्फ जाँदै गरेको अवस्थामा मैले रोकी यति राति कहाँबाट आउनुभयो भनी सोधखोज गरेँ । अनिल साहले मोटरसाइकल सवार गरेका थिए । सोही मोटरसाइकलमा पछाडि जिवछ साह सवार थिए । अर्का मोटरसाइकल ललित साहले सवार गरेका थिए । निजहरूले विराटनगरमा पार्टी खाई आउँदा ढिलो भयो भनी बताए । मैले दुवै मोटरसाइकलको डिकी चेकजाँच गरेँ । अनिल साहले सवार गरेको मोटरसाइकलको डिकीमा आधा बोतल रोयल स्टागको खाली बोतल थियो । कारण सोध्दा मोटरसाइकलको तेल निकाल्न काम लाग्ने हुँदा राखेको भनी गए । निजहरूले सवार गरेको मोटरसाइकल भारतीय नं. प्लेटको थियो नं. खुलाउन सक्दिनँ ऐ. दिनको बिहानको राति १:३० बजे जिल्ला मोरङ विराटनगर १९ स्थित राजेश साहको आफ्नै घर कोठामा ओछ्यानमा घाँटीमा डोरीले बाँधेको गहिरो डाम रहेको अवस्थामा मृतक लास छ भनी सुनी थाहा पाएको हुँ । घटना सम्बन्धमा बुझ्दा सुशिलादेवी साहले जिवछ साहसँग सरसल्लाह गरी पूर्वयोजना बनाई जिवछ साहले मिति २०७१।११।२४ गते रातिको समयमा भारत तकिया बस्ने भोला साहको छोरा वर्ष ३० को अनिल साह ऐ. बस्ने बाबुको नाम थाहा नभएको अं. वर्ष ३५ को ललित साहलाई लिई राजेश साहको घरमा गई राजेश साहलाई मादक पदार्थ सेवन गराई मताई फर्की गई पुनः ऐ. राति २३:०० बजे सुशिलादेवी साहसँग फोन सम्पर्क गरी राजेश साहको घरमा गई राजेश साह निदाएको मौका पारी जिवछ साह, अनिल साह, ललित साह र सुशिलादेवी साह भई मिति २०७१।११।२४ गते १२:२४ भन्दा पहिला नै राजेश साहको घाँटीमा डोरीले बाँधी कसी कर्तव्य गरी मारी घटनापश्चात् जिवछ साह, अनिल साह, ललित साह भारततर्फ भागी फरार भएका रहेछन् । राजेश साहलाई कर्तव्य गरी मार्ने सुशिलादेवी साहसमेत उपर कानूनबमोजिम गरी फरार जिवछ साहसमेतलाई खोज तलास गरी पक्राउ गरी कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको प्रहरी जवान महेशलाल यादवको घटना विवरण कागज ।
मृतक राजेश साहलाई घाँटीमा डोरीले बाँधी कर्तव्य गरी मार्न प्रयोग गरिएको साइकल तथा मोटरसाइकलमा सामान बाँध्न प्रयोग गरिने हरियो रङ्गको दुवैतर्फ फलामको तारको हुकसमेत प्रहरीले बरामद गरी लगेको ठिक साँचो छ भन्नेसमेत बेहोराको घटनास्थल खानतलासी बरामदी मुचुल्का ।
मेरो श्रीमान् राजेश साहलाई घाँटीमा बाँधी कसी कर्तव्य गरी मार्न प्रयोग गरिएको साइकल तथा मोटरसाइकलमा सामान बाँध्न प्रयोग गरिने हरियो रङ्गको दुवैतर्फ फलामको तारको हुकसमेत भएको अं. १ मि. ३७ से.मि. लामो डोरी देखाउँदा हेरी
पाएँ । उक्त डोरी मेरो श्रीमान्लाई कर्तव्य गरी मार्न प्रयोग गरिएको डोरी हो । कर्तव्य गरी मारिसकेपछि मैले अनिल साहलाई बाहिर फ्याँकिदिनु भनी दिएको डोरी यही हो । हेरेँ देखेँ सनाखत गरिदिएँ भनी सुशिलादेवी साहले गरिदिएको सनाखत कागज ।
वारदातको समयमा म आफ्नै घर कोठामा सुतेको थिएँ । राजेश साहको आफ्नै घर कोठामा ओछ्यानमाथि घाँटीमा डोरीले बाँधेको गहिरो डामसमेत रहेको अवस्थामा मृतक लास रहेको छ भनी हो-हल्ला सुनी थाहा पाएको हुँ । तत्काल घटनास्थल मेरो घर नजिक पर्ने हुँदा गई हेरेँ । राजेश साहको आफ्नै घर कोठाको उत्तरतर्फको कोठामा दक्षिण टाउको उत्तर खुटा भई उत्तानो अवस्थामा घाँटीमा डोरीले बाँधेको गहिरो डाम रहेको ओछ्यानमा काँचको रातो फुटेको चुरा ४ वटा रहेको देखेको हुँ । राजेश साहलाई को कसले के कुन परिबन्धमा मारी मराएको हो थाहा भएन । प्रहरी अनुसन्धानबाटै खुलाई पहिचान गरी कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको कृष्णादेवी साहको घटना विवरण कागज ।
वारदातको समय राजेश साहको आफ्नै घरकोठामा सुतेकै ठाउँमा घाँटीमा डोरीले बाँधेको गहिरो डामसमेत रहेको अवस्थामा मृतक लास रहेको छ भनी होहल्ला सुनी थाहा पाई तत्काल घटनास्थलमा गई हेर्दा राजेश साहको उत्तरतर्फको कोठामा ओछ्यानमाथि दक्षिण टाउको उत्तर खुट्टा भई उत्तानो अवस्थामा मृतक लास रहेको ओछ्यानमा काँचको चुरा टुक्रा ४ वटा रहेको मैले देखेको हुँ । घटना सम्बन्धमा बुझ्दा राजेश साहलाई निजकै श्रीमती सुशिलादेवी साहले भारत नेताचोक बस्ने जिवछ साहसँग सरसल्लाह गरी पूर्वयोजना बनाई जिवछ साहले मिति २०७१।११।२३ गते रातिको समयमा भारत तकिया बस्ने अनिल साह ऐ. बस्ने ललित साहलाई लिई आई मादक पदार्थ सेवन गराई मताई फर्की गई पुनः ऐ. राति २३:०० बजे सुशिलादेवी साहसँग फोन सम्पर्क गरी आई राजेश साह निदाएको मौका पारी जिवछ साह, अनिल साह, ललित साह र सुशिलादेवी साह भई मिति २०७१।११।२४ गते बिहानको राति पउने एक बजेभन्दा पहिला नै राजेश साहको घाँटीमा डोरीले बाँधी कसी कर्तव्य गरी मारेका रहेछन् । कर्तव्य गरी मार्ने सुशिलादेवी साहसमेत उपर कानूनबमोजिम गरी फरार जिवछ साह, अनिल साह, ललित साहलाई खोज तलास गरी पक्राउ गरी कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको एकै मिलान हुने गरी बुझिएका मानिसहरूले लेखाइदिएको वस्तुस्थिति मुचुल्का ।
मिसिल संलग्न घटनास्थल लास जाँच प्रकृति तथा बरामदी मुचुल्का, जाहेरी दरखास्त, पक्राउ प्रतिवादीको बयान कागज, बुझिएका मानिसहरूको कागज, पोस्टमार्टम रिपोर्ट, कलडिटेल प्रतिवेदन, बरामदित मुचुल्का, दसी सनाखत गरेको कागज, एवं वस्तुस्थिति मुचुल्कासमेतको कागजातहरूबाट मिति २०७१।११।२४ गते बिहानको राति २३:०० बजेको समयमा प्रतिवादी सुशिलादेवी साहले जिवछ साह, अनिल साह र ललित साहसमेतको सहयोग मतलबबाट राजेश साहलाई मार्ने योजना बनाई योजनाबद्ध तरिकाबाट साइकलमा बाँध्ने बरामदित डोरीले सुती निदाएको राजेश साहको घाँटीमा बाँधी कर्तव्य गरी मारेको भन्ने पुष्टि भएको हुँदा निज प्रतिवादी सुशिलादेवी साहलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा ऐ. महलको १३(३) नं. बमोजिम सजाय गरिपाउँ जिवछ साहसमेतका व्यक्तिको हकमा फेला परेका बखत फरक अभियोग पेस गरिने भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको अभियोग दाबी ।
पति राजेश साहको मृत्यु के कसरी भयो, मलाई थाहा भएन । वारदात भएको दिन निजले ४ जना भारतीय मानिसहरूसँग बसेर रक्सी खाएका
थिएँ । निज पति राजेशले सोभन्दा एक दिन पहिला र उक्त घटना भएको दिनमा पनि मलाई कुटपिट गरेकाले मेरा चुरा फुटेका हुन् । लेनदेनको विषयमा भारतीय अनिल साह, ललित साहसँग मेरो श्रीमान्को झगडासमेत भएको थियो । सोही विषयलाई लिएर निजहरूले मेरो श्रीमान्लाई मारेको हुनसक्छ । निज पतिलाई मार्नमा मेरो कुनै हात छैन । निज पतिले उक्त दिन मलाई सँगै सुत्न नदिएकाले छोरा छोरीसहित आफू अर्कै कोठामा सुतेकी हुँ, मेरो जेठाजुले छोरालाई सिकाई बुबासँगै सुतेको भन्न लगाएका हुन् । म आफ्ना ग्राहकसँग फोनमा कुरा गर्ने गर्थें, पतिलाई मार्ने प्रयोजनको लागि फोन गरेको हैन । साथै अनुसन्धानको सिलसिलामा भएको बयान बेहोरासमेत मेरो हैन भन्नेसमेत बेहोराको प्रतिवादी सुशिलादेवी साहले सुरू अदालतसमक्ष लेखाइदिएको बयान ।
घटना विवरण कागज गर्ने दिनेशकुमार साहले प्रतिवादीहरू जिवछ साह, अनिल साह र ललित साहले मृतकलाई मारेको हुनुपर्छ भनी घटनास्थल मुचुल्काका सैलेन्द्र महतोले मैले घटनास्थलमा काँचको चुरा र बिस्तारा मुनि छालाको बेल्ट देखिनँ भनी जाहेरवाला सिवानन्द साहले जाहेरी बेहोरा र सहीछाप मेरै हो भनी घटना विवरण कागज गर्ने नेहाकुमारी साहले घटनास्थलमा मेरो ममी प्रतिवादी सुशिलादेवीको काँचको चुरा फुटेको थियो, मैले सफा गरिसकेको थिएँ, कसरी आयो थाहा भएन भनी, घटना विवरण गर्ने जेम्स साहले मेरो आमाले बुबालाई मारेको होइन, प्रतिवादी जिवछ साह, अनिल साह र ललित साहले मारेको हो भनी, घटना विवरण कागज गर्ने महेसलाल यादवले घटना भएको मिति २०७२।११।२३ मा म रानीढाटमा डिउटीमा थिएँ प्रतिवादी जिवछ साह र अन्य २ जना मानिसहरू मोटरसाइकलमा चढी जोगवनीतर्फ गएका हुन् भनी बकपत्र गरेको तथा प्रतिवादी सुशिलादेवी साहका साक्षी सिताराम साहले को कसले कर्तव्य गरी मृतकलाई मारेको हो थाहा भएन भन्नेसमेत बेहोराको बकपत्र ।
प्रतिवादी सुशिलादेवी साह र मृतक राजेश साह पति पत्नी भएको र प्रस्तुत घटना रातको समयमा मृतक र प्रतिवादी रहे बसेकै घरमा भएको तथ्यमा विवाद
छैन । उक्त वारदात देख्ने प्रत्यक्षदर्शी कोही रहे भएको समेत मिसिलबाट देखिँदैन । साँझको समयमा निजहरूको घर जिवछ साहसमेतका भारतीय व्यक्तिहरू आई मादक पदार्थ सेवन गरी मृतकसँग वादविवाद गरेको भन्ने कुरा बुझिएका सबै व्यक्तिहरूको बकपत्रबाट देखिन्छ । निज जिवछ साहसमेतका भारतीय मानिसहरू भागी फरार भएकोले पक्राउ गर्न नसकिएको भन्ने तथ्य अभियोग पत्रबाट देखिन्छ । यी प्रतिवादी सुशिलादेवी शाहउपर किटानी जाहेरी परेको अवस्था छैन वादी पक्षले अभियोग दाबी प्रमाणित गर्ने प्रमाणको रूपमा लिएका मौकाको बुझिएका मानिसहरूले अदालतसमक्ष उपस्थित भई बकपत्र गर्दा प्रतिवादी सुशिलादेवी शाहको आरोपित कसुरमा संलग्नता नरहेको भनी लेखाइदिएको समेत देखिन्छ । पति पत्नीबिच झगडा हुने गरेको भन्दैमा, बिना सबुद, पत्नीले पतिलाई कर्तव्य गरी मारे मराएको भन्ने अर्थ गरी सजाय गरिनु पनि हुँदैन । मृतक र प्रतिवादी रहे बसेकै घरमा रातको समयमा घटना घटेको र प्रत्यक्षदर्शीसमेत कोही नभएका कारण अभियोग दाबीबमोजिमको कसुरमा यी प्रतिवादीसमेतको संलग्नता रहेको हुन सक्छ भन्ने शंका व्यक्त गरी यी प्रतिवादीउपर अभियोग लगाइएको देखिएको र वादी पक्षले गरेको शंका मिसिल प्रमाणबाट पुष्टि हुन सकेको नदेखिँदा, बिना सबुद प्रमाण केवल शंका र अनुमानको भरमा मात्र कर्तव्य ज्यान जस्तो गम्भीर अपराधमा कसुरदार ठहर्याई प्रतिवादीलाई सजाय गर्नु फौजदारी न्यायको मान्य सिद्धान्तविपरीत हुने हुँदा प्रतिवादी सुशिलादेवी साहले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू मोरङ जिल्ला अदालतको मिति २०७३।०३।२८ को फैसला ।
भारत बस्ने जिवछ साहलाई खोजतलास गर्ने क्रममा जिल्ला सप्तरी हनुमाननगरअन्तर्गतको एरिया इलाकामा फेला पारी निज प्रतिवादीलाई पक्राउ गरी पठाइएको छ भन्नेसमेत बेहोराको जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराजले इलाका प्रहरी कार्यालय मोरङलाई लेखेको मिति २०७३/०५/०३ को च.नं. ३७३ को पत्र ।
म भारतमा ट्याक्सी चलाउने काम गर्छु, अर्का साथी ललित साहले पनि ट्याक्सी चलाउने काम गर्छ‚ निजले मलाई सुशिलादेवी साहको होटलमा मासु दारू खान लगी निजसँग चिनाजान गराइदिएको हो र निज सुशिलादेवी साहले भारत घुम्नको लागि मेरो ट्याक्सी भाडामा लिई भारतको विभिन्न ठाउँमा घुमाइ ल्याइदिएको हो । मेरो भाडा रकम सबै तत्काल दिन नसकेकोले मेरो होटलमा आई लानुहोला भनेको हुँदा म निजको पसलमा ललित साहसँग लिन गएकोले निज सुशिलादेवीसँग मेरो राम्रो चिनाजान भई फोन नम्बरसमेत आदान प्रदान गरी सोपछि फोनबाट बारम्बार कुरा हुन थालेपछि निजसँग मेरो माया प्रेम सम्बन्धसमेत बढ्दै गयो । निज सुशिलादेवीले मेरो श्रीमान्ले निकै दु:ख‚ यातना दिने गरेकोले म तपाइँसँग विवाह गरी बस्छु भनी प्रेम प्रस्ताव राखिसकेपछि मैले पनि स्वीकार गरी हामी दुवैबिच बारम्बार मेरो फोन नं. ९८०७७९२६४० बाट निज सुशीलाको फोन नं. ९८१७३३७७७९ मा सम्पर्क हुन थाल्यो हामी दुवै जनाको प्रेममा निजको श्रीमान् राजेश साहले अवरोध गर्ने गरेकोले निजलाई मार्नेबारे मिति २०७१।११।२३ गते हामी दुवै जनाले केही सल्लाह गर्यौ सोही बेलुका भारतबाट ललित साह र अनिल साहलाई लिई निजको होटलमा आई मृतक राजेश साहलाई निकै मादक पदार्थ सेवन गराई मताएपछि ललित साह‚ अनिल साह र मेरी प्रेमिका सुशिलादेवी साह र मसमेतले मृतक राजेश साह बेडमा मस्त सुतिरहेको अवस्थामा डोरीले घाँटीमा बाँधी, कसी बेडमै कर्तव्य गरी मारेका हौं‚ निज राजेश साहलाई मसमेतको संलग्नतामा कर्तव्य गरी मारी वारदातस्थलबाटै रातको समयमा भागी भारत गएका हौं । सोपछि सुशिलादेवी साहलाई प्रहरीले पक्राउ गरेको सुनेको थिएँ भन्नेसमेत बेहोराको प्रतिवादी जिवछ साहले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
वारदातको समयमा म आफ्नै घरमा
थिएँ । मृतक राजेश साह मेरो छिमेकी हुन् । निजको मृत्यु राति नै भएको कुरा सुनी थाहा पाएको थिएँ । बिहानको समयमा घटनास्थलमा पुगी हेर्दा राजेश साहको घाँटीमा डोरीले कसेको गहिरो कालो निलो डामसमेत देख्दा निजलाई कर्तव्य गरी मारेको हुनुपर्छ भन्ने कुरा थाहा भयो । निजलाई को कस्ले कर्तव्य गरी मारेको भन्ने तत्काल थाहा भएन । मिति २०७१।११।२३ गते बेलुकाको समयमा प्रतिवादी सुशिलादेवी साहले खोलेको होटलमा म पनि बेलुका नास्ता खान जाँदा प्रतिवादी जिवछ साहसँग २/३ जना अन्य मानिसलाई पनि दारू मासु खाइरहेको देखेको थिएँ । जिवछ साह पहिलेदेखि नै निजको होटलमा नास्ता खान आइरहेकोले निजलाई म राम्ररी चिन्दथेँ, निज जिवछ साहसँग सुशिलादेवी साहको प्रेम सम्बन्ध रहेको र निजहरूको प्रेम सम्बन्धको कारण राजेश साहको श्रीमती सुशिलादेवी साह र जिवछ साहले अनिल साह र ललित साहलाई बोलाई सुनियोजित तरिकाले कर्तव्य गरी मारेको वारदातमा संलग्न रहेका प्रतिवादी अनिल साह, ललित साह‚ जिवछ साह र सुशिलादेवी साहलाई कानूनबमोजिम हदैसम्मको कारबाही होस् भन्ने बेहोराको सुभाषकुमार साहको कागज ।
मृतक राजेश साह मेरो छिमेकी हुन् । निज र निजकी श्रीमतीले दारू र मासुको नास्ता खाने होटल खोलेका थिए । निजको होटलमा विभिन्न किसिमका मानिसहरू आउने जाने गरेका थिए । निजको होटलमा मिति २०७१।११।२३ गते साँझको समयमा जिवछ साहलगायत अन्य २‚ ३ जना मानिसहरू मोटरसाइकलमा आई होटलमा प्रवेश गरेको मैले देखेको हुँ । सोको भोलिपल्ट राजेश साह सुतेको कोठामै मृत्यु भएको हो-हल्ला सुनी निजको कोठामा हेर्न जाँदा घाटीको वरिपरि कालो निलो डोरीको डाम देखिएकोले निजको कर्तव्यबाट मृत्यु भएको हो । प्रतिवादी जिवछ साह र सुशिलादेवीबिच प्रेम सम्बन्धको कारणले निजलाई मिति २०७१।११।२३ गते साँझको समयमा भारतीय नागरिक जिवछ साहसमेत २‚ ३ जना भई निजैहरूले कर्तव्य गरी मारेको हो । वारदातको दिनदेखि प्रतिवादी जिवछ साह भागी फरार रहेको सुनी थाहा
पाएँ । निज राजेश साहलाई निजकी श्रीमती सुशिलादेवी साह‚ अनिल साह‚ ललित साह र जिवछ साहसमते भइ कर्तव्य गरी मारेको हुँदा निज प्रतिवादीहरूलाई कानूनबमोजिम हदैसम्मको कारबाही हुनुपर्छ भन्ने बेहोराको भिखाई साहको कागज ।
उल्लिखित आधार प्रमाणहरूबाट मिति २०७१।११।२४ गते बिहानको राति ०१:१० बजेको समयमा मृतकको आफ्नै घरमा प्रतिवादी जिवछ साहसमेत भई मृतक राजेश साहलाई कर्तव्य गरी मारेको कसुर स-प्रमाण पुष्टि हुन आएकोले निज प्रतिवादी जिवछ साहलाई मुलुकी ऐन‚ ज्यानसम्बन्धी महलको १ नं. अनुसारको कसुर अपराधमा सोही महलको १३(३) नं. बमोजिमको सजाय गरिपाउन पूरक मागदाबी लिइएको वादी नेपाल सरकारको मिति २०७३।०५।२० को अभियोगपत्र ।
मउपरको अभियोग दाबी झुट्टा हो । मैले मृतक राजेश शाहलाई घाँटीमा डोरीले बाँधी कर्तव्य गरी मारेको होइन । म मिति २०७१।११।२४ गते दिन रात भारत फारविसगन्जमा थिएँ । मलाई घटना घटेको सम्बन्धमा केही थाहा छैन । मैले कुनै अपराध नै नगरेको हुँदा सजाय हुने होइन भन्नेसमेत बेहोराको प्रतिवादी जिवछ साहले सुरू अदालतमा गरेको बयान ।
वादीका साक्षी भिखाई साहले घटना विवरण कागजको बेहोरा र सहीछाप मेरै हो भनी‚ सुभाषकुमार साहले प्रतिवादीहरू जिवछ साह र सुशिलादेवी साहले मृतकलाई मारेको भन्ने सुनी थाहा पाएको हो भनी र प्रतिवादीका जिवछ साहको साक्षी दर्पनारायण नायकले प्रतिवादी जिवछ साहले मृतकलाई मारेको होइनन् । अरू को कसले मारे थाहा भएन भनी‚ प्रतिवादी जिवछ साहकै साक्षी ओमप्रकाश साहले प्रतिवादीउपरको अभियोग दाबी झुट्ठा हो भनी गरेको बकपत्र मिसिल सामेल रहेको देखिन्छ ।
अनुसन्धानमा कागज गर्ने सुभाषकुमार साहले प्रतिवादी जिवछ साहसँग सुशिलादेवी साहको प्रेम सम्बन्ध रहेको र निजहरूको प्रेम सम्बन्धको कारण यी जिवछ साहसमेतले सुनियोजित तरिकाले मारेको हो भनी र अदालतमा बकपत्र गर्दासमेत सोही बेहोरा लेखाइदिएको देखिन्छ । जाहेरवाला शिवानन्द साहले भाइको रक्सी पसलमा रक्सी खान आएका जिवछ, ललित र अनिल साहसमेतले भाइसँग झगडा गरी वारदात घटाएको हुनुपर्छ भनी अदालतमा बकपत्र गरिदिएको देखिन्छ । वारदातको राति घरमा जिवछ, अनिल र ललित साह पाहुना आएका थिएँ । म, भाइ र ममीसँगै सुतेका थियौं । राति पिसाब फेर्न ममीसँग उठेको बेलामा बुबाको कोठाको ढोका खुल्ला देखी हेर्दा बुबाको मृत्यु भइसकेको रहेछ । मेरो बुबालाई जिवछ, अनिल र ललित साहले मारेका हुन् भनी मृतककी छोरी नेहाकुमारी साहले बकपत्र गरिदिएको देखिन्छ । अनिल साह, जिवछ र ललित साह मिली मेरो बुबालाई मारेको हो भनी मृतकको छोरा जेम्स साहले बकपत्र गरिदिएको पाइन्छ । मिति २०७१।११।२३ गते राति १२ बजेदेखि बिहान ६ बजेसम्म म राति भन्सारको १नं. ढाटमा ड्युटीमा थिएँ । सो समयमा चेकजाँच गरी सोध्दा अनिल, ललित साह नाम बताउने व्यक्तिहरू दुईवटा मोटरसाइकलको डिकीमा आधा सिसी रोयल स्ट्याग भेटिएकोले किन राखेको भनी सोध्दा पेट्रोल सकिँदालाई ल्याउन राखेको भन्थे उज्यालो भई हल्लाखल्ला हुँदा निजहरूले मृतकलाई कर्तव्य गरी मारी भागेका रहेछन् भन्ने थाहा भयो भनी नेपाल भारत सीमा नाकाको जोगबनी भन्सारमा ड्युटीमा रहेका प्रहरी जवान महेशलाल यादवले बकपत्र गरिदिएको समेतबाट घटना भएको पुष्टि भएको देखिँदा प्रतिवादी जिवछ साहले अभियोग माग दाबीबमोजिम मुलुकी ऐन ज्यानसम्बन्धी महलको नं.१ बमोजिमको कसुर गरेको देखिन आयो । तसर्थ निज प्रतिवादी जिवछ साहलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहर्छ भन्ने सुरू मोरङ जिल्ला अदालतको मिति २०७३।०८।०१ को फैसला ।
अनुसन्धान तहकिकातको सिलसिलामा कागज गराइएका व्यक्तिहरूले जबसम्म अदालतमा आई आफूले बोलेका कुराहरू खम्बिर हुने गरी बकपत्र गर्दैनन् उक्त प्रमाणहरूलाई लिन सकिँदैन । साक्षीका शंकास्पद कथन अप्रस्ट परिस्थितिजन्य प्रमाणलाई आधार मानेर कसैलाई दोषी ठहर गर्न मिल्दैन । त्यसो गर्नु कानून र न्यायका मान्य सिद्धान्तविपरीत हुन जान्छ । म प्रतिवादीले प्रयोग गरेको मोबाइल सिम एनसेल कम्पनीको नं.९८०७७९२६४० को नेपाली सिम रहेको उल्लेख गरी सोही सिम नं. बाट प्रतिवादी सुशिलादेवी साहसँग प्रेम सम्बन्ध रहेको भन्नेसमेतका साबिती बयान बेहोरा लेखाई गराई लिए पनि सो साबिती बयान अन्य स्वतन्त्र प्रमाणहरूबाट पुष्टि र समर्थित भएको छैन । सुशिलादेवी साहको पति राजेश साहलाई मार्नुपर्ने कुनै कारण र अवस्थासमेत छैन । म प्रतिवादी जिवछ साहको जाहेरवाला शिवानन्द साहको भाइ राजेश साहसँग कुनै प्रकारको लेनदेन, रिसइवी छैन । राजेश साहकी पत्नी सुशिलादेवी साहसँग मेरो प्रेम सम्बन्ध नरहेको अवस्था हुँदा राजेश साहको हत्यामा मेरो कुनै संलग्नता छैन । म उक्त हत्याको वारदात भएको मिति समयमा वारदातस्थलमा उपस्थिति
छैन । म यसरी उक्त वारदातमा संलग्न नरहेको अवस्थामा अभियोजन पक्षले मउपर लगाएको अभियोग दाबी स्वतन्त्र र ठोस प्रमाणहरूबाट शंकारहित तवरले पुष्टि नगरेको अवस्था हुँदा केवल शंकाको भरमा उक्त हत्या अपराधमा संलग्नता रहेको अनुमान गरी अभियोग दाबी पुग्ने ठहर गरेको सुरू मोरङ जिल्ला अदालतको फैसला सर्वोच्च अदालतबाट प्रतिपादित नजिरहरूसमेतको आधारमा त्रुटिपूर्ण रहेको हुँदा सुरूको फैसला उल्टी बदर गरी म प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिलाइपाउँ भन्ने मिति २०७३।१०।२६ को प्रतिवादी जिवछ साहको पुनरावेदन पत्र ।
प्रतिवादी सुशिलादेवी साहको पति राजेश साहको मिति २०७१।११।२४ गते रातिको समयमा आफ्नै घरमा सुती निदाएको अवस्थामा हत्या भएको
छ । सुशिलादेवी सोही घरमा रहेकी छिन् । घटनास्थलबाट फुटेका चुराहरू भेटिएको बरामदी मुचुल्काबाट देखिन्छ । प्रतिवादी सुशिलादेवी साहले आफ्नो प्रेमी जिवछ साहसँगको सल्लाहमा योजनाबद्ध रूपमा मृतकलाई रक्सी खुवाई साइकलमा बाँध्न प्रयोग हुने डोरीले घाँटीमा कसी मारेको हो, वारदातमा मैले मृतकको खुट्टा थिचेकोमा निजले सङ्घर्ष गर्दा चुरा फुट्न गएको हो भनी अनुसन्धानमा बरामदित चुराका टुक्राहरू र डोरीसमेत सनाखत गरी साबिती बयान गरेको छ भने राति मृतकको छोरा जेम्स मृतकसँग र छोरी नेहाकुमारी साह प्रतिवादीसँग सुतेकोमा बिहान दुवै छोरा छोरी आमा सुतेकै ओछ्यानमा रहेको भनी मृतकका छोरा छोरीले घटना विवरण कागज गरेको र वारदातको दिन सुशिलादेवी साहले जिवछ साहसमेतलाई बोलाई निजहरूसमेतको संलग्नता मृतकलाई डोरीले घाँटी कसी मारेको र सो क्रममा फुटेका यी प्रतिवादीका चुराहरू वारदातस्थलबाट बरामद भएको तथ्य स्थापित भई यी प्रतिवादीउपरको अभियोग दाबी पुष्टि भइरहेको अवस्था हुँदाहुँदै प्रतिवादी सुशिलादेवी साहलाई सफाइ दिने गरेको सुरू मोरङ जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी निज प्रतिवादी सुशिलादेवी साहलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने मिति २०७३।११।११ मा वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
मृतक र प्रतिवादी सुशिलादेवी साह र मृतकका २ नाबालक बच्चाहरूसमेत रातिको समयमा सुतेको अवस्थामा घरको झ्याल ढोकासमेत बन्द रहनेमा सोतर्फ र मिसिल संलग्न समग्र परिस्थितिजन्य प्रमाणसमेतको विवेचना नै नगरी अदालतमा प्रतिवादी इन्कार रहेकै आधारमा प्रतिवादी सुशिलादेवी साहलाई सफाइ दिने गरी मोरङ जिल्ला अदालतबाट मिति २०७३।०३।२८ मा भएको फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन अ.बं.२०२ नं. तथा उच्च अदालत नियमावली, २०७३ को नियम ११२ बमोजिम प्रत्यर्थी प्रतिवादीलाई झिकाउनु भन्नेसमेत बेहोराको मिति २०७४।०१।१३ को आदेश ।
प्रतिवादी सुशिलादेवी साहले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानलाई अर्का प्रतिवादी जिवछ साहले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान, शव परीक्षण प्रतिवेदन, घटनास्थल प्रकृति, बरामद भएको डोरी, फुटेको चुरा, टेलिफोन कल डिटेल्स, मृतककी पत्नी प्रतिवादी सुशिलादेवी साह र प्रतिवादी जिवछ साहसँगको सम्बन्धलगायतको प्रत्यक्ष र परिस्थितिजन्य प्रमाणले पुष्टि गरेको देखिई प्रतिवादी सुशिलादेवी साहसमेतको कर्तव्यबाट राजेश साहको मृत्यु भएको देखिन आएकोमा वादी पक्षका केही प्रमाणका मानिसहरूको प्रतिकूल भनाइका आधारमा सुशीला साहलाई सफाइ दिने गरेको मोरङ जिल्ला अदालतको मिति २०७३।०३।२८ को फैसला मिलेको नदेखिँदा उल्टी भई ज्यानसम्बन्धी महलको १ र १३ नं. को कसुरमा ऐ. १३ नं.को देहाय ३ अनुसार प्रतिवादी सुशीला साहलाई जन्मकैद हुने ठहर्छ । प्रतिवादी जिवछ साहलाई ज्यानसम्बन्धी महलको १ र १३ नं. को कसुरमा ऐ.को १३ नं. को देहाय ३ नं. बमोजिम जन्मकैदको सजाय गर्ने गरेको मोरङ जिल्ला अदालतको मिति २०७३।०८।०१ को फैसला मनासिब हुँदा सदर हुने ठहर्छ । अभियोग दाबीबाट पूर्णरूपमा सफाइ पाउनुपर्ने भन्ने प्रतिवादी जिवछ साहको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको उच्च अदालत विराटनगरबाट मिति २०७४।०७।१५ मा भएको फैसला ।
मृतक राजेश साहको छोरा जेम्स साह र छोरी नेहाकुमारी साहले अदालतमा उपस्थित भई बकपत्र गर्दा बुबाबाहेक हामीहरू एउटै कोठामा सुतेका थियौं । पसलमा जिवछलगायतका मानिसहरू रक्सी खाँदै मेरो बुबासँग लेनदेन विषयमा झगडा गरेको हुँदा निजहरूले मारेका हुन् भन्नेसमेतको गरेको बकपत्र गरेको, प्रतिवादी सुशिलादेवी साहले अदालतमा उपस्थित भई बयान गर्दा निजले प्रहरीसमक्ष गरेको बयान कागजको बेहोरालाई इन्कार गर्दै लेनदेन विषयमा भारतीय अनिल साह, ललित साहसँग मेरो श्रीमान्को झगडासमेत भएको थियो । सोही विषयलाई लिएर पनि भारतीयहरूले मारेको हुनसक्छ, मृतक पतिको के कसरी मृत्यु भयो मलाई थाहा छैन । मेरो जिवछ साहसँग कुनै प्रेम सम्बन्ध थिएन, मलाई निज अनिल र ललितसमेतले मारेको भन्नेमा शंका छ भनी बयान गरेको देखिन्छ । जाहेरवाला शिवानन्द साह, घटना विवरण कागज गर्ने दिनेश शाह, वेचन मियाँ, विराटनगर २१ भन्सार कार्यालयको १ नं. ढाट ड्युटीमा प्र.ज. महेशलाल यादवले मौकामा तथा अदालतमा उपस्थित भई बकपत्र गर्दा जिवछ साह, ललित साह र अनिल साहले मृतकसँग झगडा गरी उनीहरूले नै मारेको हुनुपर्छ भन्नेसमेतको गरेको बकपत्र स्वयम्मा शंकास्पद रहेको देखिन्छ । म प्रतिवादी जिवछ साहबाट प्रहरीसमक्ष प्रस्तुत कसुरमा साबिती बयान गराए पनि सो कोरा साबिती बयान अन्य स्वतन्त्र प्रमाणहरूबाट पुष्टि र समर्थित नभएको म पुनरावेदक प्रतिवादी जिवछ साहको जाहेरवाला शिवानन्द साहको भाइ राजेश साहसँग कुनै प्रकारको लेनदेन, पूर्वरिसइवी, नरही मृतक राजेश साहकी पत्नी सुशिलादेवी साहसँग मेरो प्रेम सम्बन्ध नरहेको अवस्था हुँदा राजेश शाहको हत्यामा म प्रतिवादीको कुनै संलग्नता थिएन, छैन । म प्रतिवादी जिवछ साहले सुरू अदालतसमक्ष उपस्थित भई बयान गर्दा जाहेरवालाको भाइ राजेश साहको हत्यामा मेरो कुनै संलग्नता नरहेको, उक्त हत्याको वारदात भएको मिति र समयमा वारदातस्थलमा म प्रतिवादीको उपस्थिति नरहेको भन्नेसमेतको लेखाएको बयान बेहोरा मेरोतर्फबाट अदालतमा उपस्थित भई बकपत्र गर्ने साक्षीहरू दर्पनारायण नायक र ओम प्रकाश साहले समर्थन गरिदिएको बकपत्रलाई समेत उचित न्यायिक मूल्याङ्कन नगरिएको, घटना विवरण कागज गर्ने सुभाषकुमार साह र भिखाई साहले अदालतमा बकपत्र गर्दा मृतक राजेशको पत्नी सुशीला र जिवछ भन्नेसँग प्रेम सम्बन्ध थियो । श्रीमान् श्रीमतीबिच झै-झमेला गरिरहन्थ्यो, राजेश साहलाई कसले मार्यो थाहा भएन भन्नेसमेतको बकपत्र गरेको, सर्वोच्च अदालतबाट प्रमाण ऐन, २०३१ को दफा १८ को कानूनी व्यवस्थाअनुसार अदालतसमक्ष परीक्षण नभएको साक्षी प्रमाणलाई प्रमाणको रूपमा ग्रहण गरी त्यस्तो प्रमाणलाई आधार बनाई फौजदारी अपराधमा कसुर ठहराउन नमिल्ने नजिर प्रतिपादन भइरहेको अवस्थामा सोको मूल्याङ्कन नगरेको हुँदा जाहेरवाला शिवानन्द साहको भाइ राजेश साहको हत्यामा म पुनरावेदक प्रतिवादीको कुनै संलग्नता नरहेको, अभियोजन पक्षले मेराउपर लगाएको अभियोग दाबी स्वतन्त्र र ठोस प्रमाणहरूबाट शंकारहित तवरले पुष्टि प्रमाणित नभइरहेको अवस्थामा केवल शंकाको भरमा उक्त हत्या अपराधमा कथित म प्रतिवादीको समेत संलग्नता रहेको अनुमान गरी प्रस्तुत मुद्दामा म प्रतिवादीउपरको अभियोग दाबी पुग्ने ठहर गरेको सुरू फैसला मुलुकी ऐन अ.बं.१८४क, १८५, प्रमाण ऐन, २०३१ को दफा ३, २५, ५४ एवम् सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित उपर्युक्त नजिरहरूसमेतको आधारमा त्रुटिपूर्ण रहेको देखिइरहेकोले सुरू उच्च अदालतबाट भएको फैसला उल्टी बदर गरी म पुनरावेदक / प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिलाइपाउँ भन्नेसमेत बेहोराको जिवछ साहले यस अदालतमा पेस गरेको पुनरावेदन पत्र ।
यसमा अत्यधिक रक्सी खुवाई राति सुतेको बेलामा डोरीले घाँटीमा बाँधी मादक पदार्थ सेवन गराई मारेको भन्ने अभियोग र Medical report मा मादक पदार्थमा Negative भन्ने प्रतिवेदन, जाहेरी दरखास्त दिने शिवानन्द साह र घटना विवरणमा कागज गर्ने दिनेशकुमार साहको कागज एकआपसमा बाझिएको, मृतकका छोरा छोरीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान तथा अदालतमा गरेको बकपत्रमा तात्त्विक भिन्नता देखिएको । Central Police Forensic Science Labrotary को मिति २०७१।१२।२० को Visera sample को प्रतिवेदन, शव पोस्टमार्टम प्रतिवेदन मूल्याङ्कन गर्दा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ तथा ने.का.प.२०७१, पौष नि.नं.९२४३ पृष्ठ.१४३५ मा प्रतिपादित सिद्धान्तसमेतका आधारमा उच्च अदालत विराटनगरको मिति २०७४।७।१५ को फैसला फरक पर्न सकिने देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४० (३) को प्रयोजनार्थ प्रत्यर्थी झिकाई आएपछि नियमानुसार पेस गर्नू ।
साथै उच्च अदालत विराटनगरको मिति २०७४।७।१५ को फैसलाले प्रतिवादी सुशीला साहलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद हुने गरी फैसला भएको र निजका नाममा मिति २०७४।१०।१४ मा पुनरावेदनको म्याद तामेल भएकोमा कानूनका म्यादभित्र यस अदालतमा पुनरावेदन परेको नदेखिँदा निजको हकमा साधक दर्ता गरी नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०७६।०४।२६ मा भएको आदेश ।
अभियोजनकर्ताद्वारा प्रत्यक्षदर्शीको रूपमा प्रस्तुत गरिएका जेम्स साह, नेहाकुमारी साहलगायतले अदालतमा बकपत्र गर्दाको अवस्थामा हामी दिदी भाइ र मम्मी सुरूदेखि एउटै कोठामा सुतेका थियौं । करिब ९, १० बजे जेम्स सुत्न गएको आफूहरूले पसलमा काम गरेको तथा मृतक राजेश साहले मम्मीलाई पिट्नु भएको थियो । जिउ दुखेर घरमै सुत्नु भएको हो भनी मेरो संलग्नतालाई इन्कार गरेको, म आफूले सुरू अदालतमा र प्रहरीसमक्ष बयान गर्दा लेनदेनको विषयमा भारतीय अनिल साह, ललित साहसँग मेरो श्रीमान्को झगडासमेत भएको थियो । सोही विषयलाई लिएर पनि भारतीयहरूले मारेको हुन सक्छ । मृतकको के कसरी मृत्यु भयो मलाई थाहा छैन । मेरो जिवछ शाहसँग कुनै प्रेम सम्बन्ध थिएन कसले मारेको हो भन्ने यकिन भन्न सक्दिन भनी गरेको बयान, जाहेरवाला शिवानन्द शाह तथा घटना विवरण कागज गर्ने दिनेशकुमार शाह तथा घटनास्थल मुचुल्कामा उल्लिखित सैलेन्द्र महतोले यकिनका साथ मेरो उक्त वारदातमा संलग्नता पुष्टि गर्न सकेको अवस्थाको विद्यमानता रहेको छैन भने मउपर किटानी जाहेरी परेको अवस्थासमेत छैन । अनुसन्धान तहकिकातको सिलसिलामा कागज गराइएका व्यक्तिहरूले जबसम्म अदालतमा आई आफूले बोलेका कुराहरू खम्बिर हुने गरी बकपत्र गर्दैनन् उक्त प्रमाणहरूलाई प्रमाणमा लिन सकिने हुँदैन । वादी पक्षले पेस गरेको प्रमाणको आधारमा मेरो उक्त वारदातमा संलग्नता छ वा छैन भन्ने विषयमा निर्णय गर्नुपर्नेमा सम्मानित उच्च अदालतको फैसलामा Crime Must be Proved Beyond Reasonable Doubt को विपरीत अनुमानको आधारमा फौजदारी कसुर स्थापित गराइएको सर्वथा स्वीकार्य रहने विषयवस्तु होइन । वारदातस्थलमा मेरा फुटेका चुरालाई घटनामा संलग्नताको पुष्ट्याइँ गर्न खोजिएको छ । आफ्नो घरमा कुनै विवाहित महिलाको फुटेको चुरा हुनु स्वाभाविक नै रहन्छ । उप्रान्त मेरो श्रीमान्सँग बेलाबखत निजको प्रेम सम्बन्धको विषयलाई लिएर झगडा भइरहेको अवस्था रहँदा केवल फुटेका चुरा बरामद भएको आधारमा मात्रै मलाई उक्त घटनामा ठहर हुने अवस्था रहन्न । आफ्नो श्रीमान्को हत्यामा संलग्न रहेको भनी सम्पूर्ण मेरा तथा विपक्षी नेपाल सरकारका साक्षीहरूसमेतले सम्मानित अदालतसमक्ष बकपत्र गर्दा मेरो संलग्नतालाई इन्कार गरेको अवस्थाको विद्यमानता रहँदारहँदै उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको, अभियोजन पक्षले मेराउपर लगाएको अभियोग दाबी स्वतन्त्र र ठोस प्रमाणहरूबाट शंकारहित तवरले पुष्टि नभई रहेको अवस्थामा केवल शंका र अनुमानको भरमा उक्त अपराधमा मेरो संलग्नता रहेको ठहर गरेको उच्च अदालत विराटनगरको फैसला प्रमाण ऐन, २०३१ को दफा ३, २५ र ५४, सर्वोच्च अदालतबाट प्रतिपादित नजिरहरूसमेतका आधारमा त्रुटिपूर्ण रहेको हुँदा ऐ. मिति २०७४।०७।१५ को फैसला बदर गरी म पुनरावेदकलाई सुरू जिल्ला अदालतको फैसलाबमोजिम सफाइ दिलाई न्याय गरिपाउँ भन्नेसमेत बेहोराको सुशिलादेवी साहले यस अदालतमा पेस गरेको पुनरावेदन पत्र ।
यसमा लगाउको पुनरावेदक प्रतिवादी जिवछ साहको पुनरावेदनमा मिति २०७६।०४।२६ मा प्रत्यर्थी झिकाउने आदेश भइसकेको देखिँदा सोही आधारमा प्रस्तुत पुनरावेदनको जानकारीसमेत मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ दफा १४०(३) को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको जानकारी दिई नियमानुसार गर्नुहोला भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०८०।०४।१६ मा भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी जिवछ साहको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री प्रकाशनाथ उप्रेती तथा विद्वान् अधिवक्ता श्री रामप्रसाद ढुङ्गेलले यी पुनरावेदक प्रतिवादी वारदात भएको मिति समयमा वारदातस्थलमा नभएको, मृतक राजेश साहसँग निजको कुनै रिसइवी तथा लेनदेनसमेत नभएकोले मृतक राजेश शाहलाई कर्तव्य गरी हत्या गर्नुपर्ने कुनै कारण र अवस्थासमेत रहेको देखिँदैन । मृतकका छोरा जेम्स साह, छोरी नेहाकुमारी साह तथा जाहेरवाला शिवानन्द शाहलगायतका मानिसहरूले घटना विवरण कागज गर्दा यी पुनरावेदकको उक्त हत्या प्रकरणमा संलग्न रहेको भनी कागज गरे तापनि उक्त आरोप स्वतन्त्र र ठोस प्रमाणहरूबाट शंकारहित तवरले पुष्टि नगरेको अवस्था हुँदा केवल शंकाको भरमा उक्त हत्या अपराधमा निजको संलग्नता रहेको अनुमान गरी अभियोग दाबी पुग्ने ठहरी मोरङ जिल्ला अदालतको फैसला सदर हुने गरी उच्च अदालत विराटनगरबाट भएको फैसला उल्टी गरिपाउँ भनी गर्नुभएको बहस सुनियो । अर्का प्रतिवादी सुशिलादेवी साहको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरू श्री सुजन रिजाल र श्री रूद्र नेपालले यी पुनरावेदक प्रतिवादी र मृतक निजका पति राजेश साहबिच सामान्य विवाद भए तापनि कर्तव्य गरी मार्नेसम्मको कुनै कार्य नगरेको, वारदातपश्चात् घटनास्थलमा उपस्थित भएका जेम्स साह र नेहाकुमारी साहले अदालतमा बकपत्र गर्दा हामी दिदीभाइ र मम्मी सुरूदेखि एउटै कोठामा सुतेको भनी निज सुशिलादेवी साहको संलग्नतामा इन्कार रहेको, जाहेरवाला शिवानन्द साह र घटना विवरण कागज गर्ने दिनेश शाहले समेत यकिनसाथ यी पुनरावेदकको वारदातमा संलग्नता पुष्टि गर्न नसकी निजउपर किटानी जाहेरीसमेत दिएको नदेखिँदा अनुमानका भरमा उक्त अपराधमा पुनरावेदकको संलग्नता रहेको देखाई गरेको फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदकलाई सुरू जिल्ला अदालतको फैसलाबमोजिम सफाइ दिलाइपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
यसैगरी, प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान् उपन्यायाधिवक्ताहरू श्री सन्तोष शर्मा र श्री रूद्र सुवेदीले प्रतिवादी सुशिलादेवी साह भारतको बाबाधाम जाँदा अर्का प्रतिवादी जिवछ साहसँग चिनजान भई दुवैजना बिचमा प्रेम सम्बन्ध रहेकोमा उक्त कुरा मृतक राजेश साहले थाहा पाई प्रतिवादी सुशिलादेवी साह र राजेश साहबिचमा दैनिकजसो झगडा हुने गरेको कारण सुशिलादेवी साहको योजनामा निज सुशिलादेवी साह, जिवछ साह, अनिल साह र ललित साहको संलग्नतामा राजेश साहलाई घाँटीमा डोरीले बाँधी कसी कर्तव्य गरी मारेको तथ्य शिवानन्दको जाहेरी तथा दिनेश साहलगायतका मानिसहरूले घटना विवरण कागज गर्दासमेत उल्लेख गरेको देखिन्छ । त्यसैगरी मृतक राजेश साहका छोरा जेम्स साह र छोरी नेहाकुमारी साहले अनुसन्धान अधिकारीसमक्ष कागज गर्दा मैले भारतमा बस्ने जिवछ साहसमेतका मानिसहरूको सहयोगमा तिमीहरूको बुबालाई घाँटीमा डोरीले बाँधी कसी कर्तव्य गरी मारिदिएका छौँ कसैलाई नभन्नु भनी आमा सुशिलादेवी साहले हामीलाई भन्नुभएको हो भनी उल्लेख गरेकोलगायतका सबुत प्रमाणबाट मृतक राजेश साहको हत्यामा सुशिलादेवी साह, जिवछ साह, ललित साह र अनिल साहको संलग्नता रहेको हुँदा उच्च अदालत विराटनगरको फैसला सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
यसमा, अनुसन्धान तथा सङ्कलित दसी प्रमाणहरूवाट प्रतिवादी सुशिलादेवी साहले भारत बस्ने जिवछ साहसमेतको सहयोगमा पति राजेश साहलाई घाँटीमा डोरीले कसी कर्तव्य गरी मारेको हुँदा निज सुशिलादेवी साहलाई मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा ऐ.१३(३) नं. को सजाय हुन तथा फरार प्रतिवादीहरू जिवछ साह, अनिल साह र ललित साह भारतीय नागरिक भएको हुँदा नेपाल सरहदभित्र फेला परेका बखत पूरक अभियोग पेस गर्ने भन्नेसमेत बेहोराको अभियोग मागदाबी भएकोमा प्रतिवादी सुशिलादेवी साहले अभियोग दाबीबाट सफाइ पाउने ठहर्याई मोरङ जिल्ला अदालतबाट मिति २०७३।०३।२८ मा फैसला भएको देखिन्छ । अर्का प्रतिवादी जिवछ साह मिति २०७३।०५।०३ मा पक्राउ परेको र निजको हकमा ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा १३(३) नं. अनुसार सजाय गरिपाउँ भन्नेसमेत बेहोराको पूरक अभियोग दाबी भएकोमा निज प्रतिवादीलाई अभियोग दाबीबमोजिम जन्मकैद हुने ठहरी मोरङ जिल्ला अदालतबाट मिति २०७३।०८।०१ मा फैसला भएको देखिन्छ । सुरू अदालतबाट भएको उल्लिखित फैसलाउपर चित्त नबुझाई प्रतिवादी सुशिलादेवी साहउपर वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परेको र अभियोग दाबी ठहर भई जन्मकैद भएको सजायउपर प्रतिवादी जिवछ साहको पुनरावेदन परेकोमा उच्च अदालत विराटनगरबाट प्रतिवादी जिवछ साहको हकमा सुरू जिल्ला अदालतको फैसला सदर हुने गरी र प्रतिवादी सुशिलादेवी साहको हकमा जिल्ला अदालतको फैसला उल्टी गरी निज प्रतिवादीलाई जन्मकैद हुने गरी मिति २०७४।०७।१५ मा फैसला भएकोमा दुवैजना प्रतिवादीहरूको तर्फबाट यस अदालतमा प्रस्तुत छुट्टाछुट्टै पुनरावेदन परी पेस हुन आएको पाइन्छ ।
उल्लिखित तथ्य एवं पुनरावेदन जिकिर तथा वादी प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान् कानून व्यवसायीहरूको बहस जिकिर भएको प्रस्तुत मुद्दामा उच्च अदालत विराटनगरले गरेको फैसला मिलेको छ, छैन ? र पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
निर्णयतर्फ विचार गर्दा, मृतक राजेश साहको घाँटीमा डोरीले बाँधेको गहिरो डाम रहेको भन्ने मृतकका दाजु शिवानन्द साहको जाहेरी दरखास्त, सोही बेहोराको लास जाँच प्रकृति मुचुल्का, घाँटीमा डोरीले कसेको दाग, Ligature mark situated above the thyroid cartilage रहेको भन्ने मृतकको पोस्टमार्टम रिपोर्ट तथा वादी प्रतिवादी पक्षका साक्षीहरूको बकपत्रसमेतका आधार प्रमाणबाट राजेश साहको मृत्यु स्वाभाविक रूपमा भएको नभई कर्तव्यबाट भएको तथ्य स्थापित हुन आउँछ ।
अब मृतक राजेश साहको मृत्यु को कसको कर्तव्यबाट के कसरी भएको रहेछ ? उक्त वारदातमा पुनरावेदक प्रतिवादीहरूको संलग्नता छ, छैन ? भन्ने सम्बन्धमा हेर्दा, मिति २०७१।११।२४ गते बिहानको राति अं.१:१० को समयमा मेरो भाइ राजेश साहको सुतेकै ठाउँमा मृत्यु भएको छ भनी दिनेश साहले हारगुहार गरी होहल्ला गर्दा थाहा पाई घटनास्थलमा पुग्दा मृतक राजेश साहको घाँटीमा डोरीले बाँधेको गहिरो डाम रहेको देखी तत्काल प्रहरीलाई खबर गरी मृतकको हत्याको सम्बन्धमा आवश्यक अनुसन्धान गरिपाउँ भन्ने मिति २०७१।११।२४ को जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ ।
२. प्रतिवादीमध्येकी मृतकको पत्नी सुशिलादेवी साहले सुरू अदालतमा बयान गर्दा प्रतिवादी जिवछ साहसँग प्रेम सम्बन्ध नभएको तथा मृतक पति राजेश साहलाई मार्नमा आफ्नो कुनै संलग्नता रहेको छैन । बारदातको दिन मृतक पतिले अनिल साहसमेतका ३ जना भारतीय नागरिकहरूसँग सँगै बसी रक्सी सेवन गरिरहेका थिए । राजेश साह र उक्त भारतीय नागरिकहरूबिच लेनदेनको विषयमा झगडा भएको थियो । सोही विषयलाई लिएर निजहरूले मारेका हुन सक्छन् भनी आरोपित कसुरमा इन्कार रही बयान गरेको देखिए तापनि मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष म भारतको बाबाधाम घुम्न जाँदा जिवछ साहसँग प्रेम सम्बन्ध रहेको, सो कुरा नेपालमा फर्कंदा पति राजेश साहले समेत थाहा जानकारी पाई हामीहरूबिच दैनिकजसो झगडा हुने गरेको हुँदा मैले जिवछ साहसँग सल्लाह गरी पति राजेश साहको हत्या गर्ने योजना बनाई जिवछ साहसमेतका मानिसहरू मिलेर राजेश साह सुतेको समयमा घाँटीमा डोरीले बाँधी कसी कर्तव्य गरी मारेका हौँ भनी आरोपित कसुरमा साबित रही बयान गरेको देखिन्छ ।
३. यसैगरी अर्का प्रतिवादी जिवछ साह सुरूमा फरार रही मिति २०७३।०५।०३ मा पक्राउ परी निजउपर मिति २०७३।०५।२० मा पूरक अभियोगपत्र दायर गरेको देखिन्छ । निज प्रतिवादी जिवछ साहले सुरू अदालतमा बयान गर्दा मेरो र सुशिलादेवी साहका बिचमा प्रेम सम्बन्ध नरहेको, निजको र मेरो कुनै फोन सम्पर्क नभएको, ९८०७७९२६४० नं.को मोबाइलको सिम मेरो होइन, म वारदात भयो भनिएको समयमा भारतको फारविसगन्जमा थिएँ मलाई घटना घटेको सम्बन्धमा केही थाहा जानकारी छैन भनी कसुरमा इन्कार रही बयान गरेको भए तापनि मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा म र अर्का प्रतिवादी ललित साह भारतमा ट्याक्सी चलाउने काम गर्छौँ । ललित साहले सुशिलादेवी साहको होटलमा मासु रक्सी खान लगेपछि निजसँग चिनजान भएको
हो । सुशिलादेवी साह भारत घुम्न आउँदा मेरो ट्याक्सी भाडामा लिई भारतका विभिन्न ठाउँमा घुमाउँदा लागेको रकम तत्काल दिन नसक्दा होटलमा आई लिनुहोला भनेको हुँदा निजको होटलमा जाँदा चिनजान भई फोन नम्बर आदानप्रदान गरी बारम्बार कुरा हुँदा निजसँग मेरो प्रेम सम्बन्ध बढ्दै गएको हो । सोही क्रममा प्रतिवादी सुशिलादेवी साहले मेरो श्रीमान्ले मलाई निकै दुःख यातना दिने गरेको हुँदा म तपाइँसँगै विवाह गर्छु भनेपछि मैले पनि सो प्रस्ताव स्वीकार गरेको कुरा मृतकले थाहा पाई अवरोध गरेकोले निजलाई मार्ने नियतले दुवै जनाबिचमा सल्लाह भई वारदात भयो भनिएको राति ललित साह र अनिल साहलाई समेत लगी मृतकको होटलमा आई निजलाई मादक पदार्थ सेवन गराई मताएपछि निज आफ्नै कोठाको बेडमा सुतिरहेको अवस्थामा हामी चारै जनाले मृतक राजेश साहलाई डोरीले घाँटीमा बाँधी कसी कर्तव्य गरी मारेका हौँ भन्ने बेहोरा लेखाई आरोपित कसुरमा साबित रहेको देखिन आउँछ ।
४. अब मिसिलबाट देखिएको वारदातको परिस्थिति तथा अन्य स्वतन्त्र प्रमाणबाट प्रतिवादीहरूको अदालतको इन्कारी बयान वा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबिती के कुन बयान समर्थित हुन्छ भनी सो सम्बन्धमा हेर्दा, प्रतिवादी सुशिलादेवी साह अदालतको बयानमा आरोपित कसुरमा इन्कार रहेको देखिए तापनि निजको बयानबाट वारदातको साँझ प्रतिवादी अनिल साह र ललित साहसमेतका भारतीय नागरिकहरू राजेश साहसँगै बसेर रक्सी सेवन गरेका, निजहरूसँग राजेश साहको लेनदेनको विषयमा झगडासमेत भएको हुँदा निजहरूले नै मारेको हुन सक्ने तथा मृतक पतिले निजलाई वारदातको अघिल्लो दिन र वारदातको दिनमा समेत कुटपिट गरेका कारण निजले छोराछोरी साथमा लगी अर्को कोठामा सुत्न गएको भन्नेलगायतका कतिपय तथ्यहरू खुल्न आएको देखिन्छ । निजको बयानबाट अर्का प्रतिवादी भारतीय नागरिक जिवछ साहको ट्याक्सीमा निज भारतको बाबाधामलगायतका विभिन्न ठाउँमा घुमेको, ट्याक्सीको भाडा तिर्न जिवछ साहलाई नेपालमा बोलाएको, निज पटकपटक नेपाल आउने गरेको एवम् आफूले प्रतिवादी जिवछ साहको मोबाइलमा फोन गरेको जस्ता तथ्यलाई पनि स्वीकार गरेको देखिन्छ ।
५. फौजदारी मुद्दामा आरोपित कसुरमा साबित हुनु र तथ्यको स्वीकारोक्ति हुनु फरक अवस्था हुन् । तथ्यको स्वीकारोक्तिको अर्थ आरोपित कसुरमा साबिती रहेको भनी भन्न मिल्दैन । तथापि प्रतिवादीले स्वीकार गरेको तथ्यलाई सो तथ्यबाट आरोपित कसुरमा निजको संलग्नताको यकिन गर्न सकिने तहसम्म पुग्न सकिने अवस्था छ, छैन भनी सावधानीसाथ हेरिनुपर्ने हुन्छ । प्रतिवादी सुशिलादेवी साहले मौकामा गरेको बयानमा जिवछ साहसँग भारतको बाबाधाम गई फर्केपछि पति राजेश साहले हामीहरूको प्रेम सम्बन्धको बारेमा थाहा पाई दिनहुँ झगडा हुने गरेको हुँदा प्रतिवादी जिवछ साहसँग मिली राजेश साहलाई मार्ने योजना बनाएको र वारदातको दिन प्रतिवादी जिवछ साहलाई मोबाइलमा फोन गरी बोलाएको भनेकोमा वारदात भएको दिन अर्थात् मिति २०७१।११।२३ का दिन अपराह्न ३ बजेबाट राति ११ बजेसम्म प्रतिवादी सुशिलादेवी साहले प्रयोग गर्ने ९८१७३३७७७९ नम्बरको मोबाइलबाट अर्का प्रतिवादी जिवछ साहले प्रयोग गर्ने ९८०७७९२६४० नम्बरको मोबाइलमा पटकपटक फोन सम्पर्क भएको मिसिल संलग्न कल डिटेलको विवरणबाट
देखिन्छ । सोभन्दा अघिसमेत निजहरूबिच पटकपटक फोन सम्पर्क भएको देखिन्छ । प्रतिवादी जिवछ साहले अदालतसमक्ष गरेको बयानमा उक्त नम्बर आफ्नो होइन भनी फोन सम्पर्क गरेको तथ्य इन्कार गरेको भए तापनि उक्त नम्बर निजको नभए सुशिलादेवी साहले उक्त नम्बर जिवछ साहको हो भनी लेखाउनुपर्ने कारण देखिँदैन । अस्वाभाविक रूपमा बारम्बार सम्पर्क गरिएको उक्त फोन नम्बर जिवछ साहको नभई अरू कसैको हो भनी प्रतिवादी सुशिलादेवी साहले देखाउन सकेको अवस्था पनि छैन । उक्त फोनमा निजले मौकाको बयानमा फोन गरी बोलाएको भनेकै समयमा सम्पर्क भएको देखिन आउँछ । प्रतिवादी सुशिलादेवी साहको अदालतमा भएको उल्लिखित बयान बेहोरामा निजले पतिको कर्तव्य गरी मारेको आरोपमा इन्कारी भए तापनि निजको बयानबाट यी प्रतिवादीहरूबिच चिनजान तथा फोन सम्पर्क भएको भन्ने देखिँदा अर्का प्रतिवादी जिवछ साहले आफ्नो र सुशिलादेवी साहबिच फोन सम्पर्क नभएको भनी लिएको जिकिर खण्डित हुन आउँछ । अपितु प्रतिवादीहरूबिच चिनजान र फोन सम्पर्क स्थापित हुनु मात्र पनि कसुर प्रमाणितका पर्याप्त आधार हुन सक्दैन तर उक्त चिनजान र फोन सम्पर्कले प्रतिवादीहरूले मौकामा आरोपित कसुरमा साबित रही गरेको बयानमा उल्लिखित तथ्य स्थापित हुन
जान्छ । फरक फरक समय र लामो समयको अन्तरालमा भएको प्रतिवादीहरूको मौकाको साबिती बयानमा गरिएको वारदातको विस्तृत र सिलसिलेवार विवरणमा तथ्यगत तादम्यता देखिनुबाट समेत प्रतिवादीहरूको मौकाको बयान समर्थित हुन आउँछ ।
६. पुनरावेदक प्रतिवादी सुशिलादेवी साहले अदालतको बयानमा प्रतिवादी जिवछ साहको नाम नलिई अनिल साहसमेतका ३ जना भारतीय नागरिक राति अबेरसम्म पतिसँग बसी रक्सी सेवन गरेको हुँदा निजहरूले मारेको हुन सक्ने भनी उल्लेख गरेको देखिन्छ तर लेनदेनको विषयमा झगडासमेत भएका पतिलाई राति एक्लै छाडी आफू अर्को कोठामा सुत्न गएको र निजहरूले पतिलाई घाँटीमा कसी कर्तव्य गरी मार्दासमेत आफूले केही थाहा जानकारी नपाएको भन्ने निजको अदालतको बयान पत्यारलायक
देखिएन । निजले राति १ बजे राजेश साहको कर्तव्य भएको जानकारी के कसरी पाइन भन्ने पनि बयानमा खुलाउन सकेको देखिँदैन । मिसिलबाट देखिएको घटनास्थल प्रकृति मुचुल्काको चित्रणबाट वारदात भएको भनिएको कोठा र निज प्रतिवादीले आफू सुतेको भनी जिकिर लिएको कोठा एकैसाथ जोडिएको देखिएकोमा सँगैको कोठामा ३ जना प्रतिवादीहरूले पतिको घाँटी कसी हत्या गर्दा थाहा पाइनँ भन्ने निजको बयान स्वाभाविक देखिँदैन ।
७. प्रस्तुत मुद्दामा मृतक तथा प्रतिवादी सुशिलादेवी साहका दुई नाबालक छोराछोरी जेम्स साह र नेहाकुमारी साह महत्त्वपूर्ण गवाहका रूपमा रहेको देखिन्छ । नेहाकुमारी साहले मौकामा कागज गर्दा प्रतिवादी जिवछ साहसमेतका मानिसहरू मृतक राजेश साहको होटल अर्थात् निजको घरमा राति अबेरसम्म बसी रक्सी सेवन गरेको, राति वारदातपश्चात् आमा सुशिलादेवी साह हामीहरू दिदीभाइ सुतेको कोठामा आई मलगायत भारत घर भएका जिवछ साह, अनिल साह र ललित साहले तिम्रो बुवालाई घाँटीमा डोरीले बाँधी कसी हत्या गरेका हौँ, कसैलाई नभन्नु भनी भाइलाई ठुलो बुबा दिनेशकुमार साहलाई बोलाउन पठाएपछि म बुबा सुत्ने कोठामा गई हेर्दा बुबाको घाँटीमा डोरीले बाँधिएको गहिरो डाम रहेको र बुबाको हत्या भइसकेको, आमा सुशिलादेवी साह, जिवछ साहलगायतका मानिसहरूले बुबालाई कर्तव्य गरी मारेका हुन् भन्ने बेहोरा लेखाएको देखिन्छ । सोही बेहोराको कागज जेम्स साहको पनि रहेको छ । साथै छोरी नेहाकुमारी साहले मौकाको कागजमा बुबा र भाइ जेम्स साह उत्तरतर्फको कोठामा बुबासँग सुतेकोमा राति १:०० बजे आमाले मलाई उठाउँदा भाइ जेम्स साह मसँगै सुतेको थिए भनी लेखाएको देखिन्छ । जेम्स साहको पनि तदनुसारको कागज देखिन्छ । निजहरूले अदालतमा उपस्थित भई बकपत्र गर्दा बुबालाई आमाले मारेको नभई प्रतिवादी जिवछ साहसमेतले मारेको भनी मौकाको कागजको प्रतिकूल बकपत्र गरेको भए तापनि आमालाई फौजदारी कसुर लाग्ने गरी बकपत्र नगर्नु स्वाभाविक देखिन्छ । प्रमाण ऐन, २०३१ को दफा ४० मा "यस ऐनका अन्य दफाहरूमा वा अन्य प्रचलित नेपाल कानूनमा जनुसुकै कुरा लेखिएको भए तापनि कुनै पक्षका विरूद्ध गवाही दिन निजको आमा, बाबु, छोरा, छोरी, पति वा पत्नीलाई कर लाग्ने छैन" भन्ने व्यवस्थालाई साक्षीको विशेषाधिकारको रूपमा राखेको स्थितिमा बुवाको मृत्यु भइसकेको र निजहरूले यथार्थ विवरण लेखाइदिएमा आमासमेत कैदमा बस्नुपर्ने परिस्थिति सिर्जना हुन सक्ने यथार्थ जान्न बुझ्न सक्ने उमेरका छोराछोरीले आमालाई कसुर नलाग्ने गरी प्रतिकूल बकपत्र गर्नुलाई प्रमाण ऐन, २०३१ को उल्लिखित कानूनी व्यवस्थाको रोहमा हेरिनुपर्दछ । अदालतले सामान्यतः साक्षीले अदालतबाहिर व्यक्त गरेको कथनलाई प्रमाणमा लिँदैन । प्रमाण ऐन, २०३१ को दफा १८ को व्यवस्था पनि यही नै हो तर साक्षीले अनुसन्धानको सिलसिलामा तयार गरिएका कागजमा व्यक्त गरेको कथन मिसिल संलग्न अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भएको स्थितिमा भने प्रमाण ऐन, २०३१ को दफा ४० को रोहमा त्यस्तो साक्षीको मौकाको कागजलाई समेत प्रमाणमा लिन सकिने देखिँदा प्रतिवादी सुशिलादेवी साहका छोराछोरी जेम्स साह र नेहाकुमारी साहको प्रतिकूल बकपत्रको आधारमा निज प्रतिवादी सुशिलादेवी साहको कसुरमा संलग्नता रहेनछ भनी निष्कर्षमा पुग्न मिल्ने देखिएन ।
८. मौकामा बुझिएका मृतक तथा प्रतिवादी सुशिलादेवी साहका छोराछोरी जेम्स साह तथा नेहाकुमारी साह वारदातका प्रत्यक्षदर्शी नभए तापनि वारदात भएकै घरमा रहेका, वारदात हुनुपूर्वसम्म वारदातस्थलमा नै रहेका र वारदातपश्चात् सबभन्दा पहिले वारदातको बारेमा जानकारी पाउने व्यक्ति रहेका देखिन्छन् । निजहरूले अदालतसमक्ष गरेको बकपत्रमा आमा सुशिलादेवी साहले बुबालाई नमारेको भन्ने बेहोरा लेखाए तापनि राति अबेरसम्म जिवछ साहसमेतका प्रतिवादीहरू रक्सी खाई घरमा बसेका भनी लेखाएको बेहोरा प्रत्यक्षदर्शीका हैसियतले निश्चयात्मक रूपमा लेखाएको अवस्था छ । प्रतिवादी जिवछ साह वारदातस्थलमा उपस्थित नभएको भए निजहरूले जिवछ साहसमेतका मानिसहरू घरमा थिए भनी यकिनसाथ बकपत्र गर्नुपर्ने अवस्था देखिँदैन । यसबाट प्रतिवादी जिवछ साह वारदात मिति र समयमा वारदातस्थलमा नै उपस्थित नभएको भनी लिएको जिकिर खण्डित हुन्छ । निजहरूका अतिरिक्त मृतकका छिमेकी एवम् घटना विवरण कागज गर्ने व्यक्तिहरू दिनेश साह, भिखाई साह, सुभाषकुमार साहलगायतका व्यक्तिहरूले वारदातका दिन साँझ जिवछ साहसँग अरू दुई तLन जना व्यक्तिहरूसमेत आई दारू मासु खाँदै गरेको देखेको थिएँ । निज पहिलेदेखि नै सो होटलमा नास्ता खान आउने गरेकोले निजलाई म राम्ररी
चिन्दथेँ । सुशिलादेवी साह र निजबिच प्रेम सम्बन्धका कारण निजहरू दुवैजनासमेत भई राजेश साहलाई कर्तव्य गरी मारेका भनी किटानीसाथ लेखाइदिएको र निजहरू अदालतमा आई बकपत्र गरेको अवस्थासमेत छ । यसैगरी वारदातको मिति राति विराटनगर भन्सार कार्यालयमा ड्युटीमा रहेका प्र.ज. महेशलाल यादवले वारदात भयो भनिएको राति करिब पौने एक बजेको समयमा प्रतिवादीहरू जिवछ साह, अनिल साह र ललित साह २ वटा मोटरसाइकलमा बसी नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा मैले निजहरूलाई सोधखोज गर्दा विराटनगरबाट पार्टी खाई आउँदा ढिलो भयो भनेका थिए । मैले मोटरसाइकलको डिकी चेक गर्दा आधा बोतलको रोयल स्ट्यागको बोतल थियो । सोही राति राजेश साहको हत्या भएको सुनी थाहा पाएको हुँ भनी मौकामा कागज गरी अदालतमा उपस्थित भई बकपत्र गरिदिएकोसमेतका प्रमाणबाट वारदातको मिति र समयमा आफू वारदातस्थलमा नै उपस्थित नभएको भन्ने प्रतिवादी जिवछ साहको अदालतको इन्कार बयान खण्डित भई निज प्रतिवादी वारदात हुनुअघिसम्म मृतक राजेश साहको होटल कोठामा नै रहे भएको तथ्य स्थापित हुन आउँछ ।
९. यस प्रकार, प्रस्तुत मुद्दामा वारदातको प्रत्यक्षदर्शी वा चश्मदिद गवाहको अभाव रहेको र प्रतिवादीहरू अदालतको बयानमा कसुरमा इन्कार रहेको देखिए तापनि वारदातका सम्बन्धमा मौकाको घटना विवरण कागज गर्ने मृतकका छोराछोरी र छिमेकी तथा विराटनगर भन्सारमा ड्युटीमा रहेका प्रहरी कर्मचारीको भनाइ एवम् मिसिल संलग्न कल डिटेल्ससमेतबाट खुल्न आएको कसुर गर्दाको परिस्थितिजन्य तथ्य एकआपसमा मालाकार कडीको रूपमा देखिएकोमा सो तथ्यलाई परिस्थितिजन्य प्रमाणको रूपमा ग्रहण गर्नुपर्ने देखिन आयो । परिस्थितिजन्य प्रमाणका सम्बन्धमा यस अदालतबाट पुनरावेदक प्रतिवादी चार्ल्स शोभराज विरूद्ध वादी नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा (ने.का.प. २०६७, अङ्क ५, नि.नं.८३७८) "कुनै काम, घटना वा अपराधका सम्बन्धमा अभियुक्तको काम वा व्यवहारका विभिन्न अवस्था र क्रियाकलापबाट तथ्यहरूको कडी एकआपसमा श्रृङ्खलाबद्ध रूपमा जोडिँदा आपराधिक कार्य सम्पादन भएको स्वाभाविक निष्कर्ष निस्कने भएमा र सो कार्य र व्यवहारबाट अभियुक्तले अपराध गरेको स्थापित भएको देखिएमा यस्तो तथ्यहरूको मालाकार कडीलाई परिस्थितिजन्य प्रमाणको रूपमा लिनुपर्ने" भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ । प्रस्तुत मुद्दामा समेत प्रतिवादी सुशिलादेवी साह र जिवछ साहबिचमा भएको प्रेम सम्बन्धको कारण मृतक राजेश साहको हत्या गर्नका लागि सुशिलादेवी साहले भारत बस्ने प्रेमी जिवछ साहसँग सल्लाह गरी राजेश साहलाई मार्ने योजना बनाई पूर्वयोजनाअनुसार जिवछ साहले अर्का प्रतिवादीहरू अनिल साह र ललित साहलाई साथमा ल्याई मृतक राजेश साहलाई रक्सी सेवन गराई मत्याएपछि निज आफ्नो कोठाको ओछ्यानमा सुतिरहेको अवस्थामा चारै जना प्रतिवादीहरू मिली मृतकको घाँटीमा डोरीले बाँधी कसी कर्तव्य गरी मारेको पुष्टि हुन आउछ । पुनरावेदक प्रतिवादी जिवछ साहले आफू वारदातस्थलमा नै उपस्थित नरहेको भनी अन्यत्रस्थलको उपस्थितिको जिकिर लिएको भए तापनि उक्त जिकिर पुष्टि हुने कुनै विश्वसनीय आधार प्रमाण देखाउन नसकेको र यस सम्बन्धमा यस अदालतबाट पुनरावेदक प्रतिवादी रन्जित राईसमेत विरूद्ध दिलबहादुर लिम्बुको जाहेरीले वादी नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा (ने.का.प.२०७०, अङ्क ५, नि.नं. ९०१२) "ठोस आधार प्रमाणको अभावमा अदालतमा इन्कारी बयान गरेकै आधारमा वारदात घटाएको बेलामा घटनास्थलमा मौजुद नरही अन्यत्र थिएँ भनी लिएको जिकिर प्रमाणद्वारा पुष्टि गर्न नसकेको अवस्थामा अधिकारप्राप्त अधिकारीसमक्षको बयानलाई स्वेच्छाले गरेको बयान होइन रहेछ भन्नु तर्कसङ्गत नहुने" भनी सिद्धान्त प्रतिपादनसमेत भएको सन्दर्भमा निजको अन्यत्रस्थलको उपस्थितिको जिकिर पुष्टि हुन सकेको पाइएन । मिसिल संलग्न स्वतन्त्र प्रमाणको विश्लेषणबाट प्रतिवादीहरूको अदालतको इन्कारी बयान समर्थित नभई मौकाको साबिती बयान पुष्टि हुन आएकोले प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम जन्मकैदको सजाय ठहर गरेको उच्च अदालत विराटनगरको फैसला मनासिब देखिँदा अन्यथा गर्नुपर्ने देखिएन ।
१०. तसर्थ, माथि उल्लिखित आधार, प्रमाण, कानूनी व्यवस्था तथा यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतबाट प्रतिवादीमध्येका सुशिलादेवी साहले आरोपित कसुरबाट सफाइ पाउने ठहरी मोरङ जिल्ला अदालतबाट मिति २०७३।०३।२८ मा भएको फैसला उल्टी भई अभियोग मागदाबीबमोजिमको कसुरमा जन्मकैदको सजाय हुने र अर्का प्रतिवादी जिवछ साहलाई अभियोग मागदाबीबमोजिमको कसुरमा जन्मकैदको सजाय हुने ठहरी मोरङ जिल्ला अदालतबाट मिति २०७३।०८।०१ मा भएको फैसला सदर हुने ठहर्याई उच्च अदालत विराटनगरबाट मिति २०७४।०७।१५ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । अभियोग दाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसलाको प्रति विद्युतीय प्रणालीमा प्रविष्ट गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.प्रकाशकुमार ढुङ्गाना
इजलास अधिकृत : जोवन काफ्ले
इति संवत् २०८० साल भाद्र ३१ गते रोज १ शुभम् ।