शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४२७३ - परमादेश

भाग: ३३ साल: २०४८ महिना: जेष्ठ अंक:

निर्णय नं. ४२७३    ने.का.प. २०४८            अङ्क २,

 

संयुक्तइजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

सम्वत् २०४७ सालको रिट नं. ८९०

आदेश भएको मिति: २०४८।१।२४।३ मा

निवेदक      : का.न.पा.वा.नं. ११ बस्ने सुकुलढोका मठको महन्त क्षेत्रबहादुर पुरी

विरुद्ध

विपक्षी :  गुठी संस्थान केन्द्रीय कार्यालय, रामशाहपथसमेत

विषय : परमादेश

(१)    अदालतको फैसला अक्षरसः पालन गर्नु पर्ने । (प्रकरण नं. १८)

निवेदकतर्फबाट      : विद्वान अधिवक्ता श्री नेत्रध्वज कार्की

विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री हेमराज सुवेदी

आदेश

न्या.त्रिलोकप्रताप राणा

१.     नेपालको संविधान, ०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।

२.    भक्तपुर सुकुलढोका मठ निवेदकको पुर्खाले राखे पाएको दानपत्र लिखत सनद सवाल अनुसार छूटगुठी हो । निवेदकको दानपत्र लिखत परम्पराको साथै विपक्षी संस्थानले नियुक्ती गरे मानेको महन्त भई छूटगुठीको महन्तले गर्न पर्ने काम गर्दै आएकोमा विपक्षी संस्थान समेतले ०४३ सालमा मेरो महन्त्याई पदमा खिचोला गर्न आएकोले खिचोला मेटाई यथावत महन्त कायम गरी पाउँ भन्ने मुद्दा परी सम्मानीत अदालतको संयुक्तइजलासबाट कानुन बमोजिम अविछिन्न रहँदै आएको महन्तलाई प्रतिवादीले गुठी संस्थान ऐन, २०३३ को दफा ५७ को कार्यविधि नअपनाई महन्तबाट हटाउने निर्णय (साविक पेज नं. १२७) कारवाही गरेको देखिँदा वादी दावी बमोजिम खिचोला मेटाई यथावत महन्त कायम गर्ने ठहराएको वागमती अञ्चल अदालतको निर्णय मनासिब ठहर्छ भनी मिति ०४६।१०।१० गते अन्तिम फैसला भएको छ ।

३.    खिचोलाको फिरादमा संस्थानले बाली असूल तहसील गरेको कुरा समेत उल्लेख गरेको र सम्मानीत अदालतबाट अन्तिम फैसला भएपछि विपक्षी संस्थानले मठको आम्दानी अगाडि देखि नै विपक्षी संस्थानले असूल तहसील जम्मा गरेको हुँदै विपक्षी संस्थानमा जम्मा भएको मठको आम्दानी बाली फिर्ता पाउँ र मोहीसंग असूल गर्न बाँकी भएको बाली अब निवेदक महन्तलाई नै बुझाउने गरी निर्देशन सहयोग गरी पाउँ भनी निवेदकले २०४७ बैशाख महीनामा विपक्षी संस्थानमा निवेदन गरी सम्मानीत अदालतको फैसला र निवेदकको निवेदन माग बमोजिम गरी पाउँ भनी दैनिक अनुनय विनय गर्दा विपक्षीहरुले सम्मानीत अदालतको फैसलाको कुनै महत्व नदिई उपेक्षा गर्दै आएकोबाट सम्बन्धित मन्त्रीलाई निवेदन दिई संस्थानमा आई त्यसैको आधारमा निवेदकलाई जानकारी गराएको भनी लेखेको गोप्य खामबन्दी पत्र विपक्षी खर्च तथा तहसील कार्यालयले मिति ०४७।७।८ गते बुझाएको हेर्दा अमानतबाट काम चलाउने गरी महन्तमा तपाईलाई नियुक्ति गर्ने भन्ने मिति ०४७।५।२८ मा निर्णय भई सम्बन्धित कार्यालयमा लेखी गइसकेको भन्ने समेत उल्लेख गरेको पाइयो ।

४.    निवेदकको महन्त्याई पदमा खिचोला गरेकोमा सम्मानीत अदालतबाट यथावत महन्त कायम हुने भनी अन्तिम फैसला भइसकेपछि त्यो फैसलाको विपरीत हुने गरी कुनै पनि निर्णय गर्न नपाउने सर्वमान्य सिद्धान्तलाई विपक्षीहरुबाट ठाडै उल्लंघन भए गरेको छ । सम्मानीत अदालतबाट भएको फैसलालाई विपक्षीहरुबाट अन्यथा हुने हो भने फैसलाको औचित्य केही भएन ।

५.    विपक्षी गु.सं.एउटा कानुनद्वारा सृजना भएको व्यक्ति होभने यसभित्र रहेको व्यक्तिहरुबाट कानुनी फैसला द्वारा तोकिएको काममात्र गर्नपाउने र कानुनले निर्दिष्ट गरेकोभन्दा बाहिरगई कुनै पनि कामगर्ने छूटछैन ।

६.    विपक्षीहरुलाई सर्वोच्च अदालतको फैसला काटिने गरी कुनै पनि निर्णय गर्न पाउने अधिकार छैन । देशको सवै निकाय अधिकारीले अदालतको फैसला बाध्यात्मक रुपले मान्नु पर्ने हुन्छ । जसअनुसार फैसलाबमोजिम अविछिन्न महन्त कायम गरी त्यसअनुसार छूटगुठीको महन्तको हकअधिकार यथावत कायम गर्नुपर्नेमा फैसलाउपर एकशब्द नबोली अमानती महन्त नियुक्त गरेको भन्दा अदालतको फैसला लाई निष्कृय गराएको स्वतःसिद्ध भएकोछ । सम्मानीत अदालत लगायतबाट यथावत महन्त कायम गरी फैसला भएपछि विपक्षीहरुले अनाधिकृत असूल तहसील जम्मा गरेको कूत बाली र रकम समेत फिर्ता गरी गुठी महन्तको पद सञ्चालन गर्न सहयोग गरी फैसला कार्यान्वयन गर्न पर्नेमा सो नगरी अमानती महन्त नियुक्ति गरेकोबाट सम्मानीत अदालतको फैसलाबाट प्राप्त गरेको र संविधानको धारा १०।१५ द्वारा प्रदत्त संवैधानिक हक हनन् गरी कामकारवाही गरेको र अदालतबाट जुनकुराको ठहर भएकोछ सो कुरा जित्ने पक्षले समयमा उपभोग गर्न नपाउने समेत हुँदा सम्मानीत अदालतको शरणमा आएको छु ।

७.    तसर्थ विपक्षीहरुको काम कारवाही निर्णय स्वतः अनाधिकृत बदर हुने र अदालतको अपहेलनाको कारवाही पश्चात पनि विपक्षीहरुले मिति २०४७।५।२८ गते अमानती महन्त नियुक्त गर्ने काम कारवाही निर्णय गरेको भनेबाट समयमा फैसला कार्यान्वयन नगरी अमानती निर्णय नै कायम राखेकोले संविधानको धारा ७१ अन्तर्गत विपक्षीहरुको मिति ०४७।५।२८ गतेको अनाधिकृत निर्णय र चिठी पूर्जा समेत बदर भई चाँडो फैसला कार्यान्वयन हुने गरी परमादेश लगायत जो चाहिने आज्ञा, आदेश जारी गरी पाउँ भन्ने रिटनिवेदन जिकिर ।

८.    यसमा के कसो भएको हो ? निवेदकको माग (साविक पेज नं. १२८) बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? विपक्षीहरुबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने आदेश भए बमोजिम प्राप्त हुन आएको लिखितजवाफहरुको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।

९.    उक्त गुठी साविकमा छूटमा दिई संचालन गर्दै आएको अवस्थामा फत्तेबहादुर पुरी महन्त हुनुहुन्थ्यो । वि.स. २०३६ साल आषाढ महीनामा फत्तेबहादुर परलोक हुनुभएपछि उक्त मठको महन्तमा खड्गबहादुर पुरी, बालकुमारी पुरी समेतले दावी गरेकोमा सो सुकुलढोका मठको महन्त फत्तेबहादुर पुरी परलोक भई खाली हुन आएको सो महन्त पदमा संस्थानले कसैलाई पनि नतोकी अमानतबाटै गुठी संस्थानले नै पुजारी मार्फत दरबन्दी अनुसारको काम चलाउने र असूल तहसील समेत गर्ने भन्ने मिति ०३९।१।१२।१ मा निर्णय भएको व्यहोरा ०३९।१।१५ गतेको बोधार्थ पत्रद्वारा यी विपक्षीलाई पनि जानकारी गराएको थियो ।

१०.    सुकुलढोका मठ अमानतबाट चलाउने भनी गुठी संस्थानबाट मिति ०३९।१।१२ मा भएको निर्णय बदर गरी सनद बमोजिम मलाई महन्त पद कायम गरी पाउँ भनी खड्गबहादुर पुरीले वागमती अञ्चल अदालतमा फिराद गरेको थियो सो मुद्दामा गुठी संस्थान ऐन, २०३३ को दफा १६ तथा १९ मा छूटगुठीको हक स्वामित्व संस्थानमा सर्ने अमानत अथवा महन्त तोकी पूजा चलाउने अधिकार गुठी संस्थानलाई नै भएको हुँदा आफ्ना अख्तियारी प्रयोग गरी गरेको निर्णय बदर गरी पाउँ भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने मिति २०४०।२।४।४ मा वागमती अञ्चल अदालतबाट भएको फैसलालाई नै सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति ०४१।७।२ मा भएको फैसला अन्तिम भई बसेको छ ।

११.    मध्यमाञ्चल क्षेत्रीय अदालत समेतबाट मठ अमानत गरेको सदर भए पश्चात मठ छाडी दिनु भनी यी विपक्षीहरुलाई भनेकोमा महन्त्याई पदमा खिचोला गरी महन्त्याई काम गर्न पाउँदैनस भनी धरपकड गरेको हुँदा मेरो महन्त्याई पद उपर विपक्षीहरुले खिचोला टण्टा मेटाई यथावत महन्त कायम गरी पाउँ भनी यी विपक्षीले दायर गर्नु भएको मुद्दामा वादी दावी बमोजिम खिचोला मेटाई यथावत महन्त कायम हुने ठहर्छ भनी वागमती अञ्चल अदालतबाट मिति ०४३।९।६।१ मा भएको फैसलालाई नै सदर गरी सम्मानीत सर्वोच्च अदालतबाट मिति ०४६।१०।१० मा फैसला भएको ।

१२.   फत्तेबहादुर पुरी परलोक भएपछि महन्त नियुक्त नगरी अमानतबाट काम चलाउने भन्ने निर्णय भई सो निर्णय सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला अन्तिम भइसकेको अवस्थामा यथावत महन्त कायम हुने भन्ने फैसला भए अनुसार यी क्षेत्रबहादुर पुरीलाई तोकिए बमोजिमको काम गर्ने गरी दरबन्दी अनुसार रकम पाउने गरी महन्तमा कायम गर्ने । मठ अमानत भइसकेको हुँदा बाली असूल तहसील गर्ने काम महन्तले नगरी गुठी कार्यालयले नै गर्ने भन्ने मिति ०४७।५।२८ मा भएको निर्णय व्यहोरा विपक्षीलाई जानकारी गराएकै छ ।

१३.   मठ अमानत भएदेखि लगातार पूजा पर्व आदिको कार्य भक्तपुर गुठी तहसील तथा खर्च कार्यालयबाट खर्च दिई गराई आएको छ । पूजारीले पूजा आदिको कार्य गरिरहेका छन् । अदालतको निर्णय अनुसार नै अमानत भएको मठको बाली असूल तहसील गर्ने कार्य गुठी कार्यालयबाट हुने, महन्त समेत यथावत कायम गर्ने निर्णय भएको हो । ०३९ सालमा मठ अमानत भएको कुरामा सोही समयमा यी विपक्षीलाई पनि थाहा जानकारी गराएको हो सो मा यी विपक्षीले चित्त बुझाई बसेका र खड्गबहादुर पुरीले निर्णय बदर गराउन नालेश गरेकोमा वादी दावी नपुग्ने ठहरी फैसला भएको छ । महन्त्याई पदमा खिचोला गर्‍यो भन्ने दावी र सोही खिचोला मेटाई यथावत महन्त कायम हुन्छ भन्ने सम्मानीत अदालतबाट फैसला भएको हो । सो फैसलाले मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलाबदर गरेको छैन । यो रिटनिवेदनबाट (साविक पेज नं. १२९) पनि मठ अमानत गर्ने गरेको निर्णय बदर हुने अवस्था समेत नहुँदा रिटनिवेदन खारेजभागी छ भन्ने समेत व्यहोराको प्रत्यर्थीहरुको संयुक्त लिखितजवाफ ।

१४.   नियमबमोजिम पेशीसूचीमा चढी इजलाससमक्ष निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिटनिवेदनमा निवेदकतर्फ बाट उपस्थित वि.अ.श्री नेत्रध्वज कार्कीले रिटनिवेदन वादी तथा विपक्षी गुठी संस्थान के.का. समेत प्र. भएको खिचोला मेटाई यथावत महन्त कायम गरी पाउँ भन्ने मुद्दामा कानुन बमोजिम अविछिन्न रहँदै आएको महन्तलाई प्रतिवादीले गुठी संस्थान ऐन, ०३३ को दफा ५७ को कार्यविधि नअपनाई महन्तबाट हटाउने निर्णय कारवाही गरेको देखिँदा वादी बमोजिम खिचोला मेटाई यथावत महन्थ कायम गर्ने ठहराएको वागमती अञ्चल अदालतको निर्णय मनासिब ठहराएको श्री सर्वोच्च अदालतबाट ०४६।१०।१० मा फैसला भएकोमा सो फैसलाको विपरीत अमानती महन्त नियुक्त गर्ने ०४७।५।२८ को विपक्षी संस्थानको निर्णय गैरकानुनी र त्रुटिपूर्ण छ भनी तथा विपक्षी गुठी संस्थान समेतको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हेमराज सुवेदीले फत्तेबहादुर पुरी परलोक भएपछि महन्त नियुक्ति नगरी अमानतबाट कायम गराउने भन्ने निर्णय भई सोको निर्णय सदर गरी म.क्षे.अ.बाट भएको फैसला अन्तिम भई बसेको अवस्थामा यथावत महन्त कायम हुने भन्ने स.अ.को मिति ०४६।१०।१० मा फैसला भए अनुसार यी क्षेत्रबहादुर पुरीलाई तोकिए बमोजिम काम गरी दरबन्दी अनुसार रकम पाउने गरी महन्तमा कायम गर्ने मठ अमानत भइसकेको हुँदा बाली असूल तहसील गर्ने काम महन्तले नगरी गुठी कार्यालयले गर्ने भन्ने मिति २०४७।५।२८ को निर्णय कानुनअनुकूल हुँदा रिटनिवेदन खारेज हुनुपर्छ भनी बहस जिकिर गर्नुभयो ।

१५.   यसमा आज निर्णय सुनाउन तोकिएको प्रस्तुत रिटनिवेदनमा यिनै निवेदक क्षेत्रबहादुर पुरी आफू वादी भई गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौं उपर समेत सुकुलढोका मठको गुठीको सञ्चालनमा खिचोला मेटाई यथावत महन्त कायम गरी पाउँ भनी फिराद दावी भएकोमा दावी बमोजिम खिचोला मेटाई यथावत महन्त कायम हुने भनी ठहर्‍याएको बा.अं.अ.को निर्णय मनासिब ठहर्छ भनी यस अदालतको संयुक्तइजलासबाट मिति २०४६।१०।१० मा फैसला भई सो अन्तिम रहेको देखिन्छ ।

१६.    उक्तमुद्दाको फिराद हेर्दा निवेदक क्षेत्रबहादुरले आफूलाई गुठीसंस्थानले अमानतबाट चलाएको महन्त्याईमा खिचोला गरेको भन्ने वादी दावी नभई गुठी संस्थान अन्तर्गतको भक्तपुर सुकुलढोका मठको महन्त फत्तेबहादुर पुरी जीवितछँदै निज महन्तको काम काज गर्न असमर्थ भएको कारणले २०२५ सालमा उक्त मठको महन्तमा मलाई नियुक्त गरेको २०२५ सालदेखि आजसम्म महन्त पूजारी काम म फिरादीले गरी आएकोमा हाल यही २०४३ साल आषाढ १ गते देखि गुठी संस्थानको आदेश भनी भक्तपुर गुठी तथा तहसील कार्यालयको मठ छोडी दिनुहोस भनी खिचोला गरेकोले मेरो महन्त्याई पद उपर विपक्षीहरुको खिचोला मेटाई पाउँ भन्ने फिराद दावी देखिन्छ । सो फिरादबाट विवादको मठ गुठी संस्थानले अमानतमा चलाई त्यस्तो अमानतमा चलाएको मठको मेरो महन्त्याईमा खिचोला गरेको भन्ने छैन ।

१७.   गुठी संस्थानले २०४७।६।३१ मा महन्त क्षेत्रबहादुर पुरीलाई दिएको जानकारी पत्र हेर्दा सो पत्रमा उक्त सम्बन्धमा तपाईले माननीय भूमिसुधार तथा व्यवस्था मन्त्रीज्यू समक्ष दिनुभएको निवेदन उक्त मन्त्रालयको २०४७।६।२२ को पत्र साथ नियमानुसार तुरुन्त आवश्यक कारवाही गर्न आदेश भई प्राप्त हुन आएको र सोही विषयमा यस संस्थानबाट तपाईलाई भक्तपुर सुकुलढोका मठको दरबन्दी बमोजिम रकम कार्यालयबाट खर्च लेखी लगी अमानतबाट काम चलाउने गरी महन्तमा तपाईलाई नियुक्ति गर्ने भन्ने मिति ०४७।५।२८ मा निर्णय भई सम्बन्धित कार्यालयमा लेखी गइसकेकोले सो कार्यालयमा सम्पर्क गरी कार्य गर्नु हुन जानकारी गराइन्छ भनी लेखिएको पाइन्छ । (साविक पेज नं. १३०)

१८.   निवेदकले खिचोला मेटाई यथावत महन्त कायम गरी पाउँ भनी फिराद दिंदा उपरोक्त मठ गुठी संस्थानले अमानतमा चलाई सो अमानतबाट चलेको मेरो महन्त्याईमा खिचोला भयो भन्ने न त फिराद दावी छ न त सर्वोच्च अदालतबाट २०४७।१०।१० मा फैसला हुँदा गुठी संस्थानबाट अमानतबाट चलेको उक्त मठको महन्त्याईमा खिचोला गरेको भनी निर्णय गरेको हो । सर्वोच्च अदालतबाट निर्णय हुँदा वादी दावी बमोजिम शुद्ध महन्त कायम गर्ने तर्फ फैसला गरेको पाइन्छ । अदालतको फैसला अक्षरसः पालन गर्नुपर्छ । सर्वोच्च अदालतको फैसला बमोजिम निवेदकलाई उक्त मठको महन्तमा कायम नगरी भक्तपुर सुकुलढोका मठको दरबन्दी रकम कार्यालयबाट खर्च लेखी लगी अमानतबाट काम चलाउने गरी निवेदकलाई महन्तमा नियुक्त गरेको मिलेन ।

१९.    अतएव निवेदकलाई भक्तपुर सुकुलढोका मठको अमानतबाट काम चलाउने गरी निवेदकलाई महन्त नियुक्त गरेको ०४७।५।२८ को निर्णय र नियुक्ति समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अतः निवेदकको हकमा सर्वोच्च अदालतको २०४६।१०।१० को फैसला बमोजिमको महन्त कायम गर्ने तर्फ उक्तफैसला कार्यान्वयन गर्नुभन्ने परमादेशको आदेश समेत जारी हुने ठहर्छ आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयको जानकारीको लागि म.न्या.का.मार्फत पठाई दिनु । फायल नियमानुसार गरी बुझाईदिनु ।

उक्त रायमा म सहमत छु । न्या.बब्बरप्रसाद सिंह

इतिसम्वत् २०४८ साल बैशाख २४ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु