शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११२१७ - सवारी ज्यान

भाग: ६५ साल: २०८० महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
माननीय न्यायाधीश श्री हरि प्रसाद फुयाल
फैसला मिति : २०७९।१०।२७
०७४-CR-०५७३

मुद्दा- सवारी ज्यान।

पुनरावेदक/प्रतिवादी : चन्द्रबहादुर पौडेलको छोरा, जिल्ला झापा, दमक नगरपालिका, वडा नं. ४ बस्ने प्रेम पौडेल
विरुद्ध
प्रत्यर्थी/वादी : योगेन्द्र लिम्बूको जाहेरीले नेपाल सरकार
•    आफूले सवारी चलाएको कारणबाट मानिस मर्न सक्छ भन्‍ने परिणाम जानीजानी लापरवाही (reckless) गरी सवारी चलाई सो सवारी दुर्घटनाको कारणबाट कसैको मृत्यु भएको अवस्थामा निजको उक्त लापरवाहीपूर्ण कार्य (reckless conduct) दफा 161(2) अन्तर्गतको कसुर हुने। यातायात व्यवस्था ऐन, 2049 को दफा १६१(२) को व्यवस्था अनुसारको कसुर स्थापित हुन सवारी चालकले कसैको ज्यान मर्न सक्छ भन्‍ने अवस्था देख्दा देख्दै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई लापरबाही गरी सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको वा सवारी बाहिर रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणामस्वरुप एक्काइस दिनभित्र मरेको अवस्था स्थापित हुनु पर्ने। यस्तो अवस्थामा चालकलाई आफूले चलाएको सवारी साधनले मानिस मर्न सक्छ भन्‍ने पूर्वाभाष हुने र यस्तो पूर्वाभाष हुँदाहुँदै जोखिम लिई सवारी चलाएको कारणले दुर्घटना गराई सोही कारणले मानिसको मृत्यु भएको हुनुपर्ने।
(प्रकरण नं. ५)
•    “लापरवाही” (recklessness) भन्‍नाले व्यक्तिको यस्तो मानसिक अवस्था हो जसले आफ्नो आचरणको सम्भावित परिणामको पूर्वज्ञान राख्दछ तर परिणामको मनसाय वा इच्छाविना नै उक्त कार्य गर्दछ। यसमा कर्तालाई परिणामको पूर्वज्ञान त हुन्‍छ तर त्यस्तै परिणाम निस्कन्‍छ नै भन्‍ने निश्‍चित हुँदैन र कर्तामा त्यस्तो परिणामको चाहना नहुने मात्रै होइन, उसले सो परिणाम नआओस् भनी प्रयास समेत गरेको हुनुपर्ने। परिणामको चाहना नराखे पनि कर्ताले जोखिम उठाई सो कार्य गर्दछ र उसको चाहना विपरीत निषेधित परिणाम निस्केको हुनुपर्दछ। यो मानसिक अवस्थामा अपराधकर्ताको चाहना विपरीत भएको हुन्‍छ तर यसको दोष अनुचित जोखिम लिनु हो।
(प्रकरण नं. ६)
•    सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा 161 दफाको उपदफा (३) मा कसैको ज्यान मर्न सक्छ भन्‍ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई... भन्‍ने वाक्यांशको प्रयोग गरी दफा 161(३) मा परिणामको पूर्वज्ञान नभएको अवस्थामा हुन गएको दुर्घटनालाई कसुरको रुपमा अपराधीकरण गरिएको पाइने। “हेलचेक्र्याइँ”(negligence) एउटा यस्तो मानसिक अवस्था हो, जसमा कर्तामा परिणामको पूर्वज्ञान पनि हुँदैन र त्यस्तो परिणामको इच्छा पनि हुदैन। तर उसको कार्य निजबाट अपेक्षा गरिने स्तरभन्दा निम्न कोटीको हुने। परिणामको पूर्वज्ञान नहुने भएकोले जोखिमको प्रश्‍न यसमा विचारणीय नहुने। यो पूर्वसावधानी वा होसियारी नअपनाएको अवस्थासम्म हो, जुन सामान्य विवेकशील मानिसबाट अपेक्षित नहुने।
(प्रकरण नं. ७)
पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री शम्भु थापा तथा विद्वान्‌ अधिवक्ताद्वय श्री कृष्णबहादुर थापा र श्री सपना सुवेदी
प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सन्तोषराज कटुवाल
अवलम्बित नजिर :
•    ने.का.प. २०७२, नि.नं. ९४५७ अंक ८
•    ने.का.प. २०७८, अंक ४, नि नं. १०६७२
सम्बद्ध कानून :
•    सवारी तथा यातायात व्यवस्था ऐन, २०४९   
सुरु तहमा फैसला गर्नेः
    मा. जि. न्या. श्री ध्रुबराज त्रिपाठी
झापा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:
    मा. न्या. श्री अच्युतप्रसाद भण्डारी
    मा. न्या. श्री मदन पोखरेल
    उच्च अदालत विराटनगर, इलाम इजलास
         
फैसला
न्या. हरि प्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा 12 को उपदफा (1) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याइ अनुमति भई पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ:-
तथ्य खण्ड
जिल्ला झापा, विर्तामोड नगरपालिका, वडा नं. ५ स्थित पूर्व पश्‍चिममा राजमार्ग, उत्तरमा प्रेम गिरीको जग्गा, दक्षिणमा शेखर गिरीको घर यति चार किल्लाबीच पक्की सडकमा चालक प्रेम पौडेलले चलाएको मे ६ प ३०८५ नं. को मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकलयात्री जिल्ला झापा, शनिअर्जुन नगरपालिका, वडा नं. २ बस्ने वर्ष ८७ को पदमबहादुर भन्‍ने प्रेमराज लिम्बुलाई ठक्कर दिई सख्त घाइते बनाएको भन्‍नेसमेत बेहोराको घटनास्थल मुचुल्का।
मिति २०७२।०८।०३ गते बिहान ७:०० बजेको समयमा जिल्ला झापा, विर्तामोड नगरपालिका, वडा नं. ५ बुट्टाबारीस्थित महेन्द्र राजमार्गमा प्रतिवादी प्रेम पौडेलले चलाई पश्‍चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ६ प ३०८५ नं. को मोटरसाइकलले मेरो बुबालाई एक्कासी ठक्कर दिँदा सख्त घाइते भई तत्काल उपचारको लागि बि.एण्ड सि. अस्पताल विर्तामोड, झापामा ल्याई उपचार गराउँदा गराउँदै सोही दिनको राती २०:०० बजेको समयमा बुबाको मृत्यु भएको हुँदा प्रतिवादीलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाउँ भन्‍नेसमेत बेहोराको योगेन्द्र लिम्बूले इलाका प्रहरी कार्यालय अनारमनी, झापामा दर्ता गराएको जाहेरी दरखास्त।
जिल्ला झापा, विर्तामोडस्थित वि.एण्ड.सी. अस्पतालमा मृतक पदमबहादुर लिम्बु भन्‍ने प्रेमराज लिम्बुको दाहिने आँखामाथि चोट रहेको, बायाँ हातको पाखुरा नाडीमा चोट रहेको लास रहेको भन्‍नेसमेत बेहोराको घटनास्थल लासजाँच मुचुल्का।
मिति २०७२।०८।०३ गते जिल्ला झापा, विर्तामोड नगरपालिका, वडा नं. ६ स्थित डेरा कोठाबाट मैले मे ६ प ३०८५ नं. को मोटरसाइकल लिई धुलाबारीतर्फ जाने क्रममा जिल्ला झापा, विर्तामोड नगरपालिका, वडा नं. ५ स्थित बुट्टाबारी सडक खण्डमा आइपुग्दा हाल मृतक पदम भन्‍ने प्रेमराज लिम्बुले अचानक लरबराउदै साइकल ल्याउँदै थिए। मैले मोटरसाइकलको गति कम गर्दा गर्दै निजले चलाएको साइकल दक्षिणतर्फ मोड्दा मैले रोकी राखेको मोटरसाइकलको पछाडि चक्कामा ठोक्किदा निज सडकमा लडी घाइते भए। म समेतले उपचारको लागि बि.एण्ड सि. अस्पताल, झापामा ल्याई उपचारको क्रममा सोही दिन मृत्यु भएको हो। मैले सवारी चालक अनुमति पत्र बनाई सकेको छैन, मोटरसाइकल धनी आफैँ हुँ भन्‍नेसमेत बेहोराको प्रतिवादी प्रेम पौडेलले अनुसन्धान अधिकारीसमक्ष गरिदिएको बयान कागज।
मिति २०७२।८।३ गते बिहान ०७:०० बजेको समयमा मेरो श्रीमान् कामको सिलसिलामा बुट्टाबारी जानु भएकोमा आफ्नो साइडबाट पूर्वतर्फ गई दक्षिण मोड्ने क्रममा पश्‍चिमबाट पूर्वतर्फ आएको प्रतिवादी प्रेम पौडेलले चलाएको मे. ६ प. ३०८५ नं.को मोटरसाइकलले मेरो श्रीमान् प्रेमराज लिम्बुले चलाएको साइकललाई अचानक ठक्कर दिँदा निज श्रीमान् सख्त घाइते हुनुभएको र तत्काल उपचारको लागि बि.एण्ड सि. अस्पतालमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो। प्रतिवादीले लापरवाही गरी सवारी चलाई मेरो श्रीमान्ले चलाएको साइकललाई ठक्कर दिएको नभई अचानक साइकल मोडी सडक क्रस गर्न लाग्दा ठोक्किन गई सख्त घाइते भई उपचारको क्रममा मृत्यु भएको हो भन्‍नेसमेत बेहोराको संचमाया भन्‍ने संचयमाया लिम्बुले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको घटना विवरण कागज।
मिति २०७२।८।३ गते जिल्ला झापा, विर्तामोड नगरपालिका, वडा नं. ५ स्थित राजमार्गमा प्रतिवादी प्रेम पौडेलले चलाई पश्‍चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ६ प ३०८५ नं.को मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकलयात्री जिल्ला झापा शनिअर्जुन नगरपालिका, वडा नं.२ बस्ने वर्ष ८७ को पदमबहादुर लिम्बु भन्‍ने प्रेमराज लिम्बुलाई ठक्कर दिँदा सख्त घाइते भई उपचारको लागि बि. एण्ड सि. अस्पताल, विर्तामोड लगेकोमा सोही राती २०:०० बजेको समयमा मृत्यु भएको हुँदा मृतकको नजिकका हकदार श्रीमती सन्चमाया लिम्बुले किरियाखर्च तथा क्षतिपूर्ति तेस्रो पक्ष बिमा बापतको रकम रु.५,००,०००।–(पाँच लाख) सवारीधनीको तर्फबाट नगदै बुझिलिएको भन्‍ने जिल्ला प्रशासन कार्यालयमा गरेको भरपाई कागज।
मृतक पदम भन्‍ने प्रेमराज लिम्बुको मृत्युको कारणमा Death Due to Cerebral Hemorrhages भन्‍ने मेची अञ्चल अस्पतालले गरेको शव परीक्षण प्रतिवेदन।
मिति २०७२।०८।०३ गते बिहान ७:०० बजेको समयमा जिल्ला झापा, विर्तामोड नगरपालिका, वडा नं. ५ स्थित पूर्व पश्‍चिम राजमार्गमा पश्‍चिमबाट पूर्वतर्फ चालक प्रेम पौडेलले मे. ६ प. ३०८५ नं.को मोटरसाइकल चलाई जाने क्रममा अचानक प्रेमराज लिम्बुले मोटरसाइकल आउँदै गरेको वास्ता नगरी दक्षिणतर्फ साइकल मोडेको र प्रतिवादी प्रेम पौडेलले जोगाउने प्रयास गर्दागर्दै मोटरसाइकललाई क्रस गरी अगाडि बढ्दा साइकलयात्री लर्बराउँदै मोटरसाइकलमा ठोकिन पुगी लडी घाइते भएकाले निज प्रतिवादी प्रेम पौडेलसमेत भई उपचारको लागि लगेकोमा उपचार हुन नसकी मृत्यु भएको हो। मैले उक्त घटना देख्दा मोटरसाइकल चालकको लापरवाही छैन भन्‍नेसमेत बेहोराको गणेश कन्दङ्गवाले अधिकार प्राप्त अधिकारीसमक्ष गरिदिएको कागज।
मिति २०७२।०८।०३ गते म घटनास्थलमा आइपुग्दा पश्‍चिमबाट पूर्वतर्फ प्रेम पौडेलले मे. ६ प ३०८५ नं.को मोटरसाइकल चलाई जाने क्रममा अचानक प्रेमराज लिम्बुले मोटरसाइकल आउँदै गरेको वास्ता नगरी दक्षिणतर्फ साइकल मोडेको र प्रतिवादी प्रेम पौडेलले जोगाउने प्रयास गर्दा साइकललाई क्रस गरी अगाडि बढ्दा साइकलयात्री लर्बराउँदै मोटरसाइकलमा ठोक्किई लडी घाइते भएकाले निज प्रेम पौडेल समेत भई घाइते प्रेमराज लिम्बुलाई उपचारमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकको लापरवाही छैन भन्‍नेसमेत ब्यहोराको खेमप्रसाद आचार्यले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको कागज।
मिति २०७२।०८।०३ गते अन्दाजी ७:०० बजेको समयमा पश्‍चिमबाट पूर्वतर्फ प्रतिवादी प्रेम पौडेल मे. ६ प ३०८५ नं. को मोटरसाइकल चलाई आउँदै गर्दा साइकल चालक प्रेमराज लिम्बुले चलाएको साइकल मोटरसाइकललाई वास्ता नै नगरी दक्षिणतर्फ मोड्ने क्रममा उक्त मोटरसाइकलमा अचानक ठोकिन गई दुर्घटना हुँदा निज साइकल चालक प्रेमराज लिम्बु लडी घाइते भएको र तत्काल प्रतिवादी प्रेम पौडेल समेतले उपचारको लागी बि. एण्ड सि. अस्पतालमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको हो। प्रतिवादी प्रेम पौडेलको लापरबाहीबाट दुर्घटना भएको होइन भन्‍नेसमेत बेहोराको बविता दुलाल, चेतनाथ बास्कोटा, खेम बास्कोटा समेतले लेखाइदिएको वस्तुस्थिति मुचुल्का।
प्रतिवादी प्रेम पौडेलको मोटरसाइकल सवारी चालक अनुमतिपत्र समेत भएको नदेखिँदा निज प्रतिवादीले चालक अनुमति पत्र (लाइसेन्स) बेगर जानीजानी लापरवाहीपूर्वक मोटरसाइकल सार्वजनिक स्थान मूलसडक खण्ड राजमार्गमा चलाई मृतकले चलाएको साइकललाई ठक्कर दिई प्रेमराज लिम्बु लडी सक्त घाइते भई उपचारको क्रममा मृत्यु भएको भन्‍ने पुष्टि भएकोले प्रतिवादी प्रेम पौडेललाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को कसुरमा सोही दफा १६१(२) बमोजिम र ऐ.ऐनको दफा १६१(४) बमोजिम थप सजायसमेत गरिपाउँ भन्‍नेसमेत अभियोग मागदाबी लिई वादी नेपाल सरकारको तर्फबाट झापा जिला अदालतमा दायर गरेको अभियोगपत्र।
मिति २०७२।८।३ गते विहान ७ बजे म विर्तामोडबाट बुट्टावारी चोकमा मे. ६ प. ३०८५ नं.को मोटरसाइकल चलाएर आउँदै गर्दा साइकल यात्री पनि सोही दिशाबाट आउँदै गरेका थिए। मैले साइकल यात्रीलाई अगाडिपट्टि पार गरेपछि साइकल यात्रीले अचानक साइकल मोडेर मेरो मोटरसाइकलको पछाडिपट्टिको भागमा आफैं ठक्कर दिई लड्न पुगी तुरून्त म आफैँले विर्तामोड बि. एण्ड सि. अस्पतालमा लगी उपचार गराइरहँदा राती निजको मृत्यु हुन गएको हो। मैले भारतको नागाल्याण्डबाट सन् २०१० मा नै सवारी चालक अनुमती पत्र लिएको हुँ। मैले नेपालबाट हालसम्म सवारी अनुमतिपत्र लिएको छैन भन्‍नेसमेत बेहोराको प्रतिवादी प्रेम पौडेलले झापा जिल्ला अदालतसमक्ष गरेको बयान।
पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुनेगरी हुँदा हाल यी प्रतिवादी प्रेम पौडेलबाट मुलुकी ऐन, अ.बं. ११८ नं.को देहाय ५, १० बमोजिम रु.५०,०००।–नगद धरौट वा सो बराबरको जेथा जमानत दिए लिई तारेखमा राख्‍नू। दिन नसके अ.बं. १२१ नं. बमोजिम थुनुवा पुर्जी दिई थुनामा राख्‍नू भन्‍ने झापा जिल्ला अदालतको मिति २०७२।८।२७ को थुनछेक आदेश अनुसार माग भएको धरौटी नगदै दाखिला गरी निज प्रतिवादी तारिखमा रही मुद्दा पुर्पक्ष भएको।
प्रतिवादी प्रेम पौडेलले मोटरसाइकल लापरवाहीपूर्ण तरिकाले चलाई मेरो बुबालाई घाइते बनाएको र उपचारको लागी वि. एण्ड सि. अस्पतालमा लगेकोमा उपचार गर्दा गर्दै बुबाको मृत्यु भएको हो भन्‍नेसमेत बेहोराको जाहेरवाला योगेन्द्र लिम्बुले झापा जिल्ला अदालत समक्ष गरेको बकपत्र।
प्रतिवादीले लापरवाहीपूर्ण तरिकाले मोटरसाइकल चलाएर प्रेमराज लिम्बुलाई ठक्कर दिएको हो। चालकको लाइसेन्स पनि छैन भन्‍नेसमेत बेहोराको घटनास्थल मुचुल्काका धनप्रसाद राइले झापा जिल्ला अदालतसमक्ष गरेको बकपत्र।
प्रतिवादी प्रेमराज पौडेलले लापरवाहीपूर्ण तरिकाले मोटरसाइकल चलाई मेरो श्रीमान् प्रेमराज लिम्बुलाई ठक्कर दिइ घाइते हुनु भएको र वि. एण्ड सि. अस्पतालमा ल्याई उपचार गराउँदा उपचारको क्रममा मेरो श्रीमान्को मृत्यु भएको हो भन्‍नेसमेत बेहोराको घटना विवरण कागज गर्ने संचमाया लिम्बुले झापा जिल्ला अदालतसमक्ष गरेको बकपत्र।
उक्त घटना साइकलधनीको लापरवाहीले घटेको भन्‍ने सुनेको हो। मैले घटना देखिन भन्‍नेसमेत बेहोराको वस्तुस्थितिका मानिस चेतनाथ बास्कोटाले झापा जिल्ला अदालतसमक्ष गरेको बकपत्र।
मोटरसाइकलवालाको लापरवाहीले उक्त घटना भएको होइन। साइकलवालाको लापरवाहीले हो भन्‍नेसमेत बेहोराको घटनास्थल मुचुल्काका मानिस पंकज पाठकले झापा जिल्ला अदालतसमक्ष गरेको बकपत्र।
उक्त घटना मैले प्रत्यक्ष देखेको हो। मोटरसाइकल चालकको लापरवाहीले उक्त दुर्घटना घटेको होइन भन्‍नेसमेत बेहोराको घटना विवरण कागज गर्ने खेमप्रसाद आचार्यले झापा जिल्ला अदालतसमक्ष गरेको बकपत्र।
घटना हुँदा म घटनास्थलमै थिएँ। प्रतिवादीले चलाएको वाइक आफ्नै स्थानमा गुडीरहेको वेलामा साइकल चालक वाइकको पछाडिको भागमा ठोकीई लडेका थिए। मोटरसाइकल चालक निर्दोष छन् भन्‍नेसमेत बेहोराको प्रतिवादीका साक्षी राजन बुढाथोकीले झापा जिल्ला अदालत समक्ष गरेको बकपत्र।
प्रतिवादी प्रेम पौडेलले लापरवाही ढंगबाट सवारी चलाई प्रस्तुत घटना भएको देखिँदा निजले अभियोग माग दाबीबमोजिम सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को कसुर गरेको पुष्टि भएकोले निज प्रतिवादीको पूर्व पृष्ठभूमि, उमेर र निजले चलाएको सवारी साधन समेतलाई बिचार गर्दा न्युनतम सजाय गर्दा पनि न्यायको मकसद पुरा हुनेनै देखिँदा निजलाई सोही ऐनको दफा १६१(२) बमोजिम २(दुई) वर्ष कैद तथा प्रतिवादीले सवारी चालक अनुमति पत्र बिना नै सवारी चलाएको देखिँदा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(४) बमोजिम थप रू.२,०००।– जरिवाना समेत हुने ठहर्छ भन्‍नेसमेत बेहोराको सुरु झापा जिल्ला अदालतबाट मिति २०७२।१२।०२ मा भएको फैसला।
प्रतिवादीले भारतको नागाल्याण्डबाट भारतीय सवारी चालक अनुमतिपत्र लिएको छु। सोही अनुमतिपत्रबाट म मोटरसाइकल चलाउन योग्य रहेको भन्‍ने पुष्टि भएको छ। मेरा साक्षीको बकपत्र, वस्तुस्थिति मुचुल्काका मानिस चेतनाथ बास्कोटा, घटना विवरण कागज गर्ने खेमप्रसाद आचार्य समेतले अदालतमा गरिदिएको बकपत्र लगायतका मिसिल संलग्न सम्पूर्ण प्रमाण कागजातबाट मैले लापरवाही गरी सवारी चलाई दुर्घटना गराएको भन्‍ने पुष्टि नभएको अवस्थामा सुरु झापा जिल्ला अदालतबाट म पुनरावेदकलाई सजाय गर्नेगरी भएको फैसला बदर गरी पुनरावेदक प्रतिवादीउपर लागेको अभियोग दाबीबाट सफाइ पाउनेगरी इन्साफ गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी प्रेम पौडेलले उच्च अदालत विराटनगर, इलाम इजलासमा दायर गरेको पुनरावेदनपत्र।
यसमा मोटरसाइकल चालकको लापरवाही नभई साइकल चालकको लापरवाहीले दुर्घटना भएको हो भनी घटना विवरण कागज गर्ने खेमप्रसाद आचार्य, वस्तुस्थिति मुचुल्काका मानिस चेतनाथ वास्तोला, पंकज पाठक समेतको बकपत्रको सन्दर्भमा सुरुबाट भएको फैसला विचारणीय भई फरक पर्न सक्ने भएकोले मुलुकी ऐन, अ.बं. २०२ नं. तथा उच्च अदालत नियमावली, २०७३ को नियम ६४ को प्रयोजनार्थ उच्च सरकारी वकिल कार्यालय, इलामलाई पेसीको जानकारी दिई नियमानुसार गरी पेस गर्नू भन्‍ने उच्च अदालत विराटनगर, इलाम इजलासको मिति २०७३।१२।३० को आदेश।
प्रतिवादी प्रेम पौडेलले लापरवाही किसिमले सवारी चलाई मृतकको मृत्यु भएको देखिँदा निजलाई अभियोग दाबीबमोजिम सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को कसुरमा सोही दफा १६१(२) बमोजिम २(दुई) वर्ष कैद तथा सवारी चालक अनुमति पत्र नलिई सवारी चलाएतर्फ सोही ऐनको दफा १६१(४) बमोजिम थप रु.२,०००।–(दुई हजार रुपैयाँ) जरिवानासमेत हुने ठहर्‍याइ सुरु झापा जिल्ला अदालतबाट मिति २०७२।१२।२।३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्‍ने मिति २०७४।०१।२५ को उच्च अदालत विराटनगर इलाम इजलासको फैसला।
म निवेदकले भारतको नागाल्याण्डबाट भारतीय सवारी चालक अनुमतिपत्र लिएकोमा उक्त अनुमति पत्रको नेपालीकरण मात्र नभएको हो। सोही अनुमतिपत्रबाट म मोटरसाइकल चलाउन योग्य रहेको भन्‍ने पुष्टि भएको छ। मेरा साक्षीको बकपत्र, वस्तुस्थिति मुचुल्काका मानिस चेतनाथ बास्कोटा, घटना विवरण कागज गर्ने खेमप्रसाद आचार्य समेतले अदालतमा गरिदिएको बकपत्र लगायतका मिसिल संलग्न सम्पूर्ण प्रमाण कागजातबाट मैले लापरवाही गरी सवारी चलाई दुर्घटना गराएको भन्‍ने पुष्टि नभएको अवस्था रहेको छ। यस स्थितिमा कानून तथा संस्थापित सिद्धान्तहरु समेतको आधारमा मुद्दा दोहोर्‍याइ हेरी सुरु झापा जिल्ला अदालतबाट मिति २०७२।१२।२ मा निवेदकलाई २ वर्ष कैद र रु.२,०००।- जरिवाना हुने ठहर गरी भएको फैसलालाई सदर गरेको उच्च अदालत विराटनगर, इलाम इजलासबाट भएको मिति २०७४।१।२५ को फैसला न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को खण्ड (क) र (ख) बदर गरी मलाई अभियोग दाबीबाट सफाइ पाउने ठहर फैसला गरी हक इन्साफ पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी प्रेम पौडेलले यस अदालतमा मिति २०७४।०५।२७।३ मा दायर गरेको निवेदन पत्र।
यसमा भारतको नागालैण्डबाट सवारी अनुमति पत्र प्राप्त गरेकै अवस्था रहेको र लापरवाही के कुन किसिमबाट भएको भन्‍ने उल्लेख गर्न नसकेको स्थितिमा सवारी तथा यातायत व्यवस्था ऐन, २०४९ को १६१ (२) अनुसार सजाय गर्ने गरी भएको फैसला १६१(३) को व्याख्यात्मक त्रुटी भएको देखिँदा न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याइ हेर्ने अनुमति प्रदान गरिदिएको भन्‍ने यस अदालतबाट मिति २०७४।८।२८ मा भएको आदेश।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादी प्रेम पौडेलको तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री शम्भु थापा तथा विद्वान्‌ अधिवक्ताद्वय श्री कृष्णबहादुर थापा र श्री सपना सुवेदीले पुनरावेदक प्रतिवादी प्रेम पौडेलले लापरवाही गरी सवारी साधन चलाई दुर्घटना भएको भन्‍ने मिसिल संलग्न कुनै पनि कागज प्रमाणबाट पुष्टि नभएको र निज प्रतिवादीले भारतको नागाल्याण्डबाट भारतीय सवारी चालक अनुमतिपत्र लिएको अवस्थामा निज प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिम सजाय ठहर गरेको सुरु जिल्ला अदालतको त्रुटिपूर्ण फैसला सदर गरेको उच्च अदालत विराटनगर, इलाम इजलासको फैसला कानूनसम्मत नरहेकाले उक्त फैसला उल्टी गरी मेरो पक्ष पुनरावेदक प्रतिवादी प्रेम पौडेललाई आरोपित कसुरबाट सफाइ दिलाई पाउँ भनी गर्नुभएको बहस सुनियो।
वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री सन्तोषराज कटुवालले प्रतिवादी प्रेम पौडेलले लापरवाही किसिमले सवारी चलाई मृतकको मृत्यु भएको हुँदा निजलाई अभियोग दाबीबमोजिम सवारी तथा यातायत व्यवस्था ऐन, २०४९ को दफा १६१(२) कसुर र सोही ऐनको दफा १६१(४) बमोजिम थप रु.२,०००।- (दुई हजार रुपैयाँ) जरिवानासमेत हुने ठहर गरेको सुरु झापा जिल्ला अदालतको फैसला सदर ठहर्‍याएको उच्च अदालत विराटनगर, इलाम इजलासको फैसला मिलेकै देखिँदा फैसला सदर गरिपाउँ भनी प्रस्तुत गर्नुभएको बहस जिकिरसमेत सुनियो।
विद्वान्‌ कानून व्यवसायीहरू तथा उपन्यायाधिवक्ताको बहस जिकिर सुनी मिसिल संलग्न प्रमाण कागजहरू अध्ययन गर्दा प्रस्तुत मुद्दामा निम्न प्रश्‍नहरुमा निर्णय दिनुपर्ने देखिन आयो:-
(क)    प्रतिवादीले सवारी यातायात तथा व्यवस्था ऐन, 2049 को दफा 161(2) को कसुर गरेको हो, होइन?
(ख)    प्रतिवादीलाई सवारी यातायात तथा व्यवस्था ऐन, 2049 को दफा 161(२) को कसुरमा सोही दफा बमोजिम कैद र दफा १६१(४) बमोजिम जरिवाना हुने ठहर्‍याएको उच्च अदालत विराटनगर, इलाम इजलासको फैसला मिलेको छ, छैन?
(ग)    प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन?
२. यसमा पहिलो प्रश्‍नको सम्बन्धमा विचार गर्दा, योगेन्द्र लिम्बुको तर्फबाट परेको जाहेरी दरखास्तमा अनुसन्धान भई प्रतिवादी प्रेम पौडेलउपर सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) र (४) अनुसारको अभियोग मागदाबी भएकोमा सुरु झापा जिल्ला अदालतबाट अभियोग मागदाबी बमोजिम सजाय हुने फैसला भएकोमा सो उपर प्रतिवादी प्रेम पौडेलको उच्च अदालत विराटनगर, इलाम इजलासमा पुनरावेदन परी उच्च अदालतबाट सुरु फैसला सदर हुने गरी फैसला भएको देखिन्‍छ। उच्च अदालतबाट भएको उक्त फैसलामा चित्त नबुझाई प्रतिवादी प्रेम पौडेलले यस अदालतसमक्ष मुद्दा दोहोर्‍याइ पाउन निवेदन दिएको र सो निवेदनमा दोहोर्‍याइ हेर्न अनुमति प्रदान भई पुनरावेदनको रोहमा दर्ता भई प्रस्तुत मुद्दा आज निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको रहेछ।
३. प्रस्तुत मुद्दाको तथ्यलाई हेर्दा, मिति २०७२।०८।०३ गते बिहान ७:०० बजेको समयमा जिल्ला झापा, विर्तामोड नगरपालिका, वडा नं. ५ बुट्टाबारीस्थित महेन्द्र राजमार्गमा प्रतिवादी प्रेम पौडेलले चलाई पश्‍चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ६ प ३०८५ नं.को मोटरसाइकलले मेरो बुबालाई ठक्कर दिदा सख्त घाइते भई तत्काल उपचारको लागि वि.एण्ड सि. अस्पताल विर्तामोड झापामा ल्याई उपचार गराउँदा गराउँदै सोही दिनको राती २०:०० बजेको समयमा बुबाको मृत्यु भएको हुँदा प्रतिवादीलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाउँ भन्‍नेसमेत बेहोराको योगेन्द्र लिम्बूको किटानी जाहेरी दरखास्त, मृतकको शरीरको विभिन्‍न भागमा चोटहरु रहेको देखिन्छ भन्‍ने बेहोराको लास जाँच मुचुल्का, मृत्युको कारणमा Death due to Cerebral Hemorrhage भन्‍ने उल्लेख भएको शव परीक्षण प्रतिवेदन, प्रतिवादीले मौकामा अनुसन्धान अधिकारीसमक्ष तथा अदालतमा गरेको बयान, बुझिएका मानिसहरुले अदालतमा गरेको बकपत्र समेतबाट यी प्रतिवादीले चलाएको उक्त मोटरसाइकलको ठक्करको कारण घाइते भई सोही मोटरसाइकलको चोटको कारण जाहेरवालाको बाबु प्रेमराज लिम्बुको मृत्यु भएको तथ्यमा विवाद देखिएन।
४. अव, वादीले अभियोग लगाएबमोजिम यी प्रतिवादी प्रेम पौडेलले सवारी यातायात तथा व्यवस्था ऐन, 2049 को दफा 161(2) बमोजिमको कसुर गरेको हो, होइन भन्‍ने प्रश्‍नको निरुपण गर्नको लागि सर्वप्रथम उक्त कानूनी व्यवस्थाहरुको अध्ययन गर्नु वाञ्‍छनीय हुन्छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा 161(2) ले "कसैले कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्‍कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा मुलुकी ऐन, ज्यान सम्बन्धीको महलमा उल्लिखित म्यादभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको नभए तापनि त्यसरी सवारी चलाउँदा कसैको ज्यान मर्न सक्ने ठुलो संभावना छ भन्‍ने कुरा जानीजानी वा लापरवाही गरी सवारी चलाएको कारणबाट सवारी दुर्घटना हुन गई त्यसैको कारणबाट कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्रा अनुसार दुई वर्ष देखि दश वर्षसम्म कैद हुनेछ" भन्‍ने व्यवस्था गरेको पाइन्छ। यसैगरी वादीले यी प्रतिवादीलाई थप सजायको माग गरेको ऐ. ऐनको दफा 161(4) ले "चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा (1) वा (2) बमोजिमको कसुर गरेमा निजलाई सोही उपदफाबमोजिम हुने सजायमा थप दुई हजार रुपैयाँसमेत जरिवाना हुनेछ।" भन्‍ने व्यवस्था गरेको देखिन्छ।
५. उल्लिखित दफा 161(2) ले गरेको व्यवस्था अनुसार ज्यान मार्ने ‍मनसाय नभए पनि सवारी चलाउँदा कसैको ज्यान मर्न सक्ने ठुलो संभावना छ भन्‍ने जानीजानी वा लापरवाही गरी सवारी चलाएको कारणबाट सवारी दुर्घटना भई कसैको ज्यान मर्न गएको अवस्थामा यो दफा 161(2) आकर्षित हुन्छ। यसबाट उक्त दफा बमोजिमको मागदाबी लिँदा लापरवाहीको आधार र सीमा निर्धारण गर्ने तथ्यको विश्‍लेषण महत्वपूर्ण देखिन्‍छ। अर्थात् आफूले सवारी चलाएको कारणबाट मानिस मर्न सक्छ भन्‍ने परिणाम जानीजानी लापरवाही (Reckless) गरी सवारी चलाई सो सवारी दुर्घटनाको कारणबाट कसैको मृत्यु भएको अवस्थामा निजको उक्त लापरवाहीपूर्ण कार्य (Reckless Conduct) दफा 161(2) अन्तर्गतको कसुर हुन जान्छ। उक्त दफा १६१(२) को व्यवस्था अनुसारको कसुर स्थापित हुन सवारी चालकले कसैको ज्यान मर्न सक्छ भन्‍ने अवस्था देख्दा देख्दै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई लापरबाही गरी सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको वा सवारी बाहिर रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणामस्वरुप एक्काइस दिनभित्र मरेको अवस्था स्थापित हुनु पर्दछ। यस्तो अवस्थामा चालकलाई आफूले चलाएको सवारी साधनले मानिस मर्न सक्छ भन्‍ने पूर्वाभाष हुन्छ र यस्तो पूर्वाभाष हुँदाहुँदै जोखिम लिई सवारी चलाएको कारणले दुर्घटना गराई सोही कारणले मानिसको मृत्यु भएको हुन्छ।
६. प्रस्तुत मुद्दामा यी पुनरावेदक प्रतिवादी प्रेम पौडेलले लापरवाहीसाथ मोटरसाइकल चलाएको कारणबाट उक्त सवारी दुर्घटना भई प्रेमराज लिम्बुको मृत्यु भएको हो, होइन अर्थात् यी प्रतिवादीको लापरवाही छ, छैन भन्‍नेतर्फ विचार गर्दा, निज दफा १६१(२) मा रहेको कानूनी व्यवस्थाको प्रयोग गर्न उच्चतम तहको लापरवाही हुनु पर्ने देखिन्छ। “लापरवाही” (Recklessness) भन्‍नाले व्यक्तिको यस्तो मानसिक अवस्था हो जसले आफ्नो आचरणको सम्भावित परिणामको पूर्वज्ञान राख्दछ तर परिणामको मनसाय वा इच्छाविना नै उक्त कार्य गर्दछ।  यसमा कर्तालाई परिणामको पूर्वज्ञान त हुन्‍छ तर त्यस्तै परिणाम निस्कन्‍छ नै भन्‍ने निश्‍चित हुँदैन र कर्तामा त्यस्तो परिणामको चाहना नहुने मात्रै होइन, उसले सो परिणाम नआओस् भनी प्रयास समेत गरेको हुन्‍छ। परिणामको चाहना नराखे पनि कर्ताले जोखिम उठाई सो कार्य गर्दछ र उसको चाहना विपरीत निषेधित परिणाम निस्कन्‍छ। यो मानसिक अवस्थामा अपराधकर्ताको चाहना विपरीत भएको हुन्‍छ तर यसको दोष अनुचित जोखिम लिनु हो। प्रस्तुत मुद्दाको तथ्यलाई विश्‍लेषण गर्दा झापा जिल्ला, विर्तामोड नगरपालिका, वडा नं. ५ बुट्टाबारीस्थित महेन्द्र राजमार्गमा यी प्रतिवादी प्रेम पौडेलले मे. ६ प. ३०८५ नं. को मोटरसाइकल पश्‍चिमबाट पूर्वतर्फ जाँदै गरेको अवस्थामा मृतक प्रेमराज लिम्बुले आफ्नो साइकल दक्षिणतर्फ मोड्दा साइकल प्रतिवादीको मोटरसाइकलको पछाडि चक्कामा ठक्कर दिँदा निज प्रेमराज लिम्बु घाइते भएको देखिन्छ। घाइते भएपश्‍चात् प्रतिवादी आफैँले झापाको वि. एण्ड सि. अस्पतालमा ल्याई उपचारको क्रममा निज प्रेमराज लिम्बुको मृत्यु भएको देखिन्छ। यसबाट प्रतिवादी प्रेम पौडेललाई घटना हुनुपूर्व सम्भावित परिणामको पूर्वज्ञान भएको तथा प्रतिवादीले जानीजानी कुनै जोखिम लिएको र जोखिमको कारण मृतकको मृत्यु भएको भन्‍ने देखिँदैन। तसर्थ, घटना हुनुपूर्व अनुमान गर्न नसकिने अवस्थामा ज्यान मर्न सक्ने ठूलो सम्भावना छ भन्‍ने कुराको पूर्व जानकारी प्रतिवादीलाई भएको भन्‍ने मानी लापरवाहीपूर्वक सवारी चलाएको भनी अनुमान मात्र गर्न मिल्ने देखिँदैन।
७. सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा 161 दफाको उपदफा (३) मा कसैको ज्यान मर्न सक्छ भन्‍ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई... भन्‍ने वाक्यांशको प्रयोग गरी दफा 161(३) मा परिणामको पूर्वज्ञान नभएको अवस्थामा हुन गएको दुर्घटनालाई कसुरको रुपमा अपराधीकरण गरिएको पाइन्छ। “हेलचेक्र्याइँ”(Negligence) एउटा यस्तो मानसिक अवस्था हो, जसमा कर्तामा परिणामको पूर्वज्ञान पनि हुँदैन र त्यस्तो परिणामको इच्छा पनि हुँदैन। तर उसको कार्य निजबाट अपेक्षा गरिने स्तरभन्दा निम्न कोटीको हुन्छ। परिणामको पूर्वज्ञान नहुने भएकोले जोखिमको प्रश्‍न यसमा विचारणीय हुँदैन। यो पूर्वसावधानी वा होसियारी नअपनाएको अवस्थासम्म हो, जुन सामान्य विवेकशील मानिसबाट अपेक्षित हुँदैन।
८. हेलचक्र्याइँ के हो भन्‍ने सम्बन्धमा विश्‍लेषण गर्दा Halsbury's Laws of England (4th Edition)  मा "Negligence is a specific tort and in any given circumstances is the failure to exercise that care which the circumstances demand. What amounts to negligence depends on the facts of each particular case. It may consist in omitting to do something which ought to be done or in doing something which ought to be done either in a different manner or not at all.”भनी उल्लेख गरेको पाइन्‍छ। त्यस्तै एक बेलायती मुद्दा R. v. Briggs (1977) 1 All ER 475 मा “a man is reckless in the sense required when he carries out a deliberate act knowing that there is some risk of damage resulting from the act but nevertheless continues in the performance of that act” भनी व्याख्या भएको देखिन्‍छ। त्यसैगरी, There are only two states of mind which constitute mens rea and they are intention and recklessness. The difference between recklessness and negligence is the difference between advertence and inadvertence they are opposed and it is a logical fallacy to suggest that recklessness is a degree of negligence भनी भारतको सर्वोच्च अदालतले Kuldeep Singh vs. State of H.P., को मुद्दामा  व्याख्या गरेको पाइन्छ। प्रस्तुत मुद्दाको तथ्य हेर्दा प्रतिवादी प्रेम पौडेल झापा जिल्ला, विर्तामोड नगरपालिका, वडा नं. ५ स्थित महेन्द्र राजमार्गमा मे. ६ प. ३०८५ नं. को मोटरसाइकल पश्‍चिमबाट पूर्वतर्फ जाँदै गरेको अवस्थामा मृतक प्रेमराज लिम्बुले आफ्नो साइकल दक्षिणतर्फ मोड्दा साइकल प्रतिवादीको मोटरसाइकलको पछाडि चक्कामा ठक्कर दिँदा निज प्रेमराज लिम्बु घाइते भएको हो भनी बबिता दुलाल, चेतनाथ बास्कोटा, खेम बास्कोटासमेतले लेखाइदिएको वस्तुस्थिति मुचुल्काबाट यी प्रतिवादीलाई सम्भावित परिणामको पूर्वज्ञान नभएको अवस्थामा उक्त दुर्घटना हुन गएको देखिन्‍छ। प्रतिवादीको उक्त कार्य लापरवाही नभई हेलचेक्र्याइँ रहेको देखिन्छ। तसर्थ, प्रस्तुत मुद्दामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) नभई सोही ऐनको दफा १६२(३) आकर्षित हुने देखियो।
९. यसै सम्बन्धमा राजकुमार शाहीसमेतको जाहेरीले नेपाल सरकार विरुद्ध वीरबहादुर लोप्चनको सवारी ज्यान मुद्दामा  यस अदालतबाट “सवारी चलाउँदाका बखत पर्याप्त सावधानी अपनाए तापनि आकस्मिक रूपमा उत्पन्‍न भएको कुनै कारणबाट सवारी दुर्घटना हुन जान्छ भने त्यसलाई लापरवाही अथवा जानाजान गरिएको कार्य भनी नामकरण गर्नु उचित देखिँदैन। यदी आफूले गर्न लागेको कामको परिणामकर्ताले देखेको छ तर पनि उक्त दुष्परिणाम प्रति उत्साहित भई काम गर्दा अर्कालाई हानि नोक्सानी भएमा त्यसलाई लापरवाही भनिन्छ” भनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ। तर प्रस्तुत मुद्दाको तथ्य हेर्दा, प्रतिवादीले घटनाको परिणामको इच्छा नगरेको, पहिले बाटै घटनाको परिणाम नदेखेको अवस्थामा घटनाको दुष्परिणाम पहिलेबाटै थियो भन्‍ने स्थापित नभएको हुनाले निजको त्यस्तो कार्यलाई लापरवाही भन्‍नु उचित देखिँदैन। यद्यपि प्रस्तुत मुद्दाका तथ्यबाट साइकल चालकको मृत्यु हुन सक्दछ भन्‍ने अवस्था विद्यमान नभएको र यस्तो अवस्थामा दुर्घटना भई वृद्ध अवस्थामा रहेको साइकल चालकले चलाएको साइकल लडी मृत्यु भएको देखिँदा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) विद्यमान नभई सोही ऐनको दफा १६१(३) आकर्षित हुने देखियो।
१०. अव, प्रतिवादीले भारतबाट लिएको सवारी चालक अनुमतिपत्रलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५२ बमोजिमको कानूनी प्रक्रिया पूरा गरी नेपालबाट चालक अनुमतिपत्र नलिई सवारी चलाएको कारण दफा १६१(४) बमोजिम थप सजायसमेत हुनुपर्दछ भन्‍ने विषयतर्फ विचार गर्दा, ऐ. ऐनको दफा ४५ मा “कुनै पनि व्यक्तिले सवारी चालक अनुमति-पत्र नलिई सवारी चलाउन हुँदैन” भन्‍ने तथा सोही ऐनको दफा ५२ मा “कसैले विदेशी राष्ट्रबाट चालक अनुमतिपत्र प्राप्त गरेको रहेछ भने सो अनुमतिपत्रमा लेखिएको सवारी चलाउन त्यस्तो व्यक्तिले दफा ४८ बमोजिम दरखास्त दिएमा अधिकारप्राप्त अधिकारीले त्यस्तो व्यक्तिबाट चालक अनुमतिपत्रको लागि लाग्ने दस्तुर लिई चालक अनुमतिपत्र दिन सक्ने छ। तर त्यस्तो व्यक्तिले चालक अनुमतिपत्र लिन कुनै परीक्षा दिनुपर्ने छैन।” भन्‍ने व्यवस्था रहेको छ। निजले सो व्यवस्थाबमोजिम नेपालमा सवारी चलाउन अनुमतिपत्रको लागि दरखास्त नदिएको भन्‍नेसम्म देखिन्छ। उक्त दफा ५२ मा नै त्यस्तो व्यक्तिले कुनै परीक्षा दिनुपर्ने छैन भन्‍ने व्यवस्था भएबाट निजको योग्यता परीक्षण नहुने स्पष्‍ट भएको र त्यसरी दरखास्त दिनुपर्ने व्यवस्था एउटा प्रक्रियाको रूपमा मात्र रहेको देखिन्छ।
११. सवारी तथा यातायात व्यवस्था सम्बन्धी ऐन, २०४९ को दफा ५२ मा नै “त्यस्तो व्यक्तिले कुनै परीक्षा दिनुपर्ने छैन” भन्‍ने व्यवस्था भएबाट निजको योग्यता परीक्षण नहुने स्पष्‍ट भएको र त्यसरी दरखास्त दिनुपर्ने व्यवस्था एउटा प्रक्रियाको रूपमा मात्र रहेको देखिन्छ। त्यसबापतमा निजले कुनै दण्ड जरिवाना भोग्नुपर्ने व्यवस्था रहेको नदेखिने भनी यस अदालतबाट ने.का.प. २०७८, अंक ४, नि नं. १०६७२ भन्‍ने सिद्धान्त समेत प्रतिपादन भएको पाइन्छ। त्यसैगरी निजले विदेशी अनुमतिपत्र भएको अवस्थामा कुनै दण्ड जरिवाना भोग्नुपर्ने व्यवस्था पनि कानूनमा रहेको देखिँदैन। अभियोगपत्रमा दाबी लिइएको ऐनको दफा १६१(४) मा “चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा (१) वा (२) बमोजिमको कसुर गरेमा निजलाई सोही उपदफाबमोजिम हुने सजायमा थप दुई हजार रूपैयाँ जरिवानासमेत हुनेछ” भन्‍ने व्यवस्था रहेको पाइन्छ। यसरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५२ र दफा १६१(४) को व्यवस्थाको एक आपसमा सम्बन्ध नभई फरक फरक रहेको देखिन्छ। उपर्युक्त अनुसारको कानूनी व्यवस्था रहेको परिप्रेक्ष्यमा प्रतिवादी प्रेम पौडेलले भारतको नागाल्याण्डबाट लिएको सवारी चालक अनुमतिपत्र पेस गरेको देखिन्छ। यसरी अर्को देशबाट लिएको चालक अनुमतिपत्रलाई नेपालको कानून सवारी तथा यातायात व्यवस्था सम्बन्धी ऐन, २०४९ को दफा ५२ बमोजिम प्रक्रिया पूरा गरी नेपालबाट अनुमति-पत्र नलिएको अवस्थालाई अनुमति-पत्र नै नलिएको भन्‍न मिल्ने देखिएन। अनुमतिपत्रलाई कानूनले अनिवार्य गरेको छ। सवारी चलाउने योग्यता, दक्षता र कौशलता नभएको व्यक्तिले सवारी नचलाओस् र अन्य व्यक्ति र समाजको सुरक्षा र अधिकारमा बाधा नपरोस् भन्‍ने उद्देश्यले सो व्यवस्था राज्यहरूले गर्ने गरेको हुन्छ। साथै, प्रतिवादीले विदेशी राष्ट्रबाट सवारी चालक अनुमति पत्र प्राप्त गरेको हुनाले प्रतिवादीमा सवारी चलाउने योग्यता, दक्षता र कौशलता रहेको भएको बुझ्नुपर्दछ। नेपालको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५२ मा अर्को देशबाट चालक अनुमतिपत्र लिने व्यक्तिले सोको आधारमा नेपालबाट अनुमतिपत्र लिनको लागि आवेदन दिएमा अधिकार प्राप्त अधिकारीले अनुमतिपत्र दिनसक्ने कुरा उल्लेख भएको पाइन्छ। तर यसरी आवेदन दिई नेपालबाट सवारी चालक अनुमतिपत्र नलिई सवारी चलाएमा अन्य देशबाट प्राप्त गरेको चालक अनुमतिपत्रले नेपालमा सवारी चलाउन नपाउने भन्‍ने प्रावधान रहेको छैन।  हाम्रो सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(४) को सम्बन्धमा निज प्रतिवादीको भारतको लाइसेन्स भएको र सोही ऐनको दफा ५२ अनुसार निजले पुनः परीक्षा दिनुपर्ने अवस्था नदेखिएको हुनाले सुरु जिल्ला अदालत र पुनरावेदन अदालत विराटनगरले दफा १६१(४) को हकमा गरेको व्याख्या मिलेको देखिएन।
१२. अत: माथि विवेचित तथ्य, प्रमाण, आधार र कारण समेतबाट यी प्रतिवादी प्रेम पौडेलले लापरवाही किसिमले सवारी चलाएको नदेखिँदा सुरु जिल्ला अदालतबाट मिति २०७२।१२।०२ मा प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिम २ वर्ष कैद र दफा १६१(४) बमोजिम रु.२,०००।– जरिवानासमेत हुने ठहर गरी भएको फैसलालाई सदर गरेको उच्च अदातल विराटनगर, इलाम इजलासबाट मिति २०७४।०१।२५ मा भएको फैसलामा केही उल्टी भई प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) र १६१(४) बमोजिम सजाय नभई सो ऐनको दफा १६१(३) बमोजिम २0 दिन कैद र रु.५००।- जरिवाना हुने ठहर्छ। अरु तपसिलबमोजिम गर्नू।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी प्रेम पौडेललाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिम २(दुई) वर्ष कैद र ऐ.ऐनको दफा १६१(४) बमोजिम रु.२०००।-(दुई हजार) जरिवानासमेत हुने गरी सुरु जिल्ला अदालतले गरेको फैसला सदर ठहर्‍याएको उच्च अदालत विराटनगर, इलाम इजलासबाट भएको फैसला केही उल्टी भई निज प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) बमोजिम २0(बीस) दिन कैद र रु.५००।-(पाँचसय) जरिवाना हुने ठहरी फैसला भएको हुँदा निज प्रतिवादीलाई लागेको कैद निज प्रहरी हिरासतमा रहेको मिति २०७२।8।४ गतेदेखि मिति २०७२।८।२७ गतेसम्म जम्मा २३(तेइस) दिनबाट कट्टा गरी निजको नाममा बाँकी रहेको भनी कसिएको १ वर्ष ११ महिना ७ दिन कैदको लगत कट्टा गर्नू भनी सुरु झापा जिल्ला अदालतमा लेखी पठाई दिनू -१
जरिवानाका हकमा सुरु जिल्ला अदालतको मिति २०७२।८।२७ गतेको आदेशानुसार प्रतिवादी प्रेम पौडेलले रु.५०,०००।-(पचास हजार) धरौटी राखेको हुँदा सो रकमबाट जरिवाना बापत रु.५००।-(पाँचसय) सदर स्याहा गरी बाँकी रु.४९,५००।-(उनन्पचास हजार पाँचसय) निज प्रतिवादीले फिर्ता पाउँ भनी निवेदन दिएका बखत फिर्ता गरिदिनू भनी सुरु झापा जिल्ला अदालतमा लेखी पठाउनू -२
सुरु मिसिल सुरु जिल्ला अदालतमा र रेकर्ड मिसिल उच्च अदालत विराटनगर, इलाम इजलासमा पठाई प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको विद्युतीय प्रति प्रविष्ट गरी मिसिल अभिलेख शाखामा बुझाई दिनू -२

उक्त रायमा म सहमत छु।
न्या. प्रकाशमान सिंह राउत

इजलास अधिकृत: ताराप्रसाद जोशी (उपसचिव)
अनुसन्धान सहयोगी: लक्ष्मी राना (शाखा अधिकृत)

इति संवत् २०79 साल माघ २७ गते रोज ६ शुभम्..........................................।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु