शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११२२७ - अंश दर्ता चलन

भाग: ६६ साल: २०८१ महिना: बैशाख अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्की 

माननीय न्यायाधीश डा.श्री कुमार चुडाल

फैसला मिति: २०७९।०६।३०

 

मुद्दाः अंश दर्ता चलन

 

०६९-CI-११७४

पुनरावेदक/प्रतिवादी : फेकू सिंह तथा श्रीमती सुरजदेवीको छोरा सर्लाही जिल्ला, अर्नाहा गा.वि.सं. वडा नं.६ बस्ने राजेश्वर सिंहसमेत

विरूद्ध

प्रत्यर्थी/वादी : सर्लाही जिल्ला, अर्नाहा गा.वि.सं. वडा नं.६ बस्ने हरिशंकर सिंह

 

०६९-CI-१२०५

पुनरावेदक/वादी : सर्लाही जिल्ला, अर्नाहा गा.वि.सं. वडा नं.६ बस्ने फेकु सिंहको छोरा हरिशंकर सिंह

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : सर्लाही जिल्ला, अर्नाहा गा.वि.सं. वडा नं.६ बस्ने फेकु सिंहको श्रीमती सुरज देवी

०७०-CI-०४२८ 

प्रत्यर्थी/प्रतिवादी : सर्लाही जिल्ला, अर्नाहा गा.वि.सं. वडा नं.६ घर भई हाल जिल्ला पर्सा, वीरगन्ज उपमहानगरपालिका वडा नं.१४ बस्ने फेकु सिंहको बुहारी रामेश्वरप्रसाद सिंहको श्रीमती अनिता सिंहको वारेस भई आफ्नो हकमा समेत ऐ.ऐ.बस्ने स्व.गोपी सिंहको नाति स्व.फेकु सिंहको छोरा रामेश्वरप्रसाद सिंह

विरूद्ध

प्रत्यर्थी/वादी : सर्लाही जिल्ला, अर्नाहा गा.वि.सं. वडा नं.६ बस्ने फेकु सिंहको छोरा हरिशंकर सिंह

 

०७०-CI-०४२९  

पुनरावेदक/प्रतिवादी : सर्लाही जिल्ला, अर्नाहा गा.वि.सं. वडा नं.६ बस्ने रामबाबु सिंहको पत्नी सुशिलादेवी सिंह

विरूद्ध

प्रत्यर्थी/वादी : सर्लाही जिल्ला, अर्नाहा गा.वि.सं. वडा नं.६ बस्ने फेकु सिंहको छोरा हरिशंकर सिंह

 

अंश पैतृक सम्पत्ति वा सोबाट बढे बढाएको सम्पत्ति वा सगोलका अंशियारहरूको सामूहिक लगानी प्रयत्न वा मेहनतको कमाईबाट आर्जित सम्पत्ति सगोलको सम्पत्ति भई बन्डा लाग्ने ।

अमुक सम्पत्ति आर्जनको अवस्था, आर्जन हुन सक्ने स्रोतको मूल्याङ्कन, परिवारका विभिन्न सदस्यका नाममा आर्जित हुन सक्ने सम्भावित आधारसमेतका समग्र अवस्थाको विवेचना गरी प्रमाणको प्रचुरता (preponderance of evidence) समेतको रोहबाट तत् सम्पत्तिको अवस्थाको निर्क्यौल गर्नुपर्ने ।

(प्रकरण नं. ८)

बकसपत्रबाट प्राप्त सम्पत्ति अन्यथा प्रमाणित भएमा बाहेक पाउनेको निजी ठहरी आफूखुसी गर्न पाउने भन्ने अंशबन्डाको महलको भावना र मर्म रहेको हुँदा बकस पाएको सम्पत्तिलाई निजी आर्जनको सम्पत्ति मान्नुपर्ने ।

(प्रकरण नं. १०)

 

वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा, अधिवक्ताहरू श्री युवराज बन्जाडे र श्री शतिष झा

प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री सतिषकृष्ण खरेल, श्री सुरेन्द्रकुमार महतो तथा विद्वान् अधिवक्ताहरू श्री राजिव आचार्य, श्री नारायणप्रसाद साह, श्री भिम बन्जरा र श्री विपिन कोइराला

अवलम्बित नजिर : 

ने.का.प. २०६७, अङ्क १० नि.नं. ८४७५

ने.का.प. २०६९, अङ्क ५ नि.नं. ८८३०

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्नेः

मा. जि. न्या. श्री विनोदप्रसाद शर्मा

सर्लाही जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

मा. मु. न्या. श्री अली अकबर मिकरानी

मा. न्या. श्री पोषनाथ शर्मा

पुनरावेदन अदालत जनकपुर

 

फैसला

  न्या. डा. कुमार चुडाल: साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः

तथ्य खण्ड

मूल पुरूष स्व.फेकु सिंहको श्रीमती विपक्षी सुरज देवीको गर्भबाट ६ छोराहरूको जायजन्म भएकोमा जेठो रामचन्द्र सिंह रहेकोमा निजको आफ्नो कालगतिबाट स्वर्गवास भइसकेको छ । निज स्व.रामचन्द्र सिंहको श्रीमती विपक्षी सावित्रीदेवी सिंह र निजको छोरा  धर्मेन्द्रप्रसाद सिंह छन् । दोस्रो छोरा रामबालक सिंह र निजको श्रीमती सुधा सिन्हा, तेस्रो छोरा विपक्षी रामबाबु सिंह र निजको श्रीमती सुशिलादेवी सिंह, चौथो छोरा विपक्षी रामेश्वर सिंह र निजको श्रीमती अनितादेवी सिंह, पाँचौं छोरा विपक्षी राजेश्वरप्रसाद सिंह र निजकी श्रीमती सवितादेवी सिंह र कान्छो छोरा म वादी हरिशंकरप्रसाद सिंह छु । हामी वादी प्रतिवादीहरू एकासगोलमा रही बसी आएकोमा हाम्रो पारिवारिक वृद्धि भएको कारणबाट एकासगोल साथमा रहन बस्न हित्त चित्त नमिली आमा दाजुहरूले मनपरी ढङ्गले खर्च गर्ने तथा जग्गा जमिनहरू हिनामिना गर्ने साथै घरमा दिनहुँ कलह झै-झगडा हुन लागेको, उचित तवरले खान लाउन नदिएको र घरबाट निकालासमेत गरिदिएकाले बाध्य भई मेरो अंश भागको जग्गा छुट्याई अंशबन्डा गरी गराइदिनु भनी विपक्षीहरूलाई आग्रह गर्दा विपक्षीहरूले अंशबन्डा गर्न इन्कार गर्दै आआफ्नो नाउँको जग्गा जमिन बेचबिखन गर्दै आआफ्नो परिवारको भरण पोषण गरेको र मेरो अंशहक मेटाउन लागेकाले बाध्य भई विपक्षीहरूउपरमा अंश मुद्दाको फिरादपत्र दायर गर्न आएको छु । मेरो साक्षी सबुत प्रमाणहरू बुझी फिराद परेको अघिल्लो मितिलाई चुल्हो मानो छुट्टिएको मिति कायम गरी विपक्षीहरूबाट चल अचल श्रीसम्पत्तिको अंशबन्डाको २०, २१, २२, २३ नं. को रीत पुर्‍याई तायदाती फाँटवारी माग गरी सम्पूर्ण सम्पत्तिलाई ७ भाग लगाई ७ भागको १ भाग मेरो हुने अंश छुट्याई चलनसमेत चलाइपाउँ भन्नेसमेत बेहोराको फिरादपत्र ।

म प्रतिवादी रामबालक सिंहको विवाह २०३२ सालमा भएदेखि नै विपक्षी र अन्य प्रतिवादीहरूसँग व्यावहारिक रूपमा अलग भई सोही बेलादेखि चुल्हो मानोसमेत अलग गरी ऋणधन अलग बेहोरी भिन्दै बसी आएको छु । विपक्षीलाई घरबाट निकालेको भन्ने दाबी सर्वथा झुट्टा हो । सोही बेलादेखि मैले आफ्नो व्यवहार अलग गरी आफ्नो जीवन निर्वाह गर्दै आएको छु । मैले कुनै सम्पत्ति कमाएको पनि छैन । पैतृक २-१०-० सम्पत्ति सोही बेला घरसारमै अंशबन्डा भएको भए पनि आमा सुरज देवी र विपक्षीसमेतको हकभोगमा 

छ । सोबाहेक विपक्षी वादी र सबै प्रतिवादीहरूको हाल नाममा रहेका जग्गा जमिन घर वा सबै चल अचल आआफ्नै निजी आर्जनका सम्पत्ति हुन् । यी सम्पत्तिमा विपक्षी वादी र मसमेतका प्रतिवादीहरू कसैको कसैसँग हक नलाग्ने हो । विपक्षी फिरादी एका पेटको भाइ भए पनि अलग भइसकेको हुँदा विपक्षीको दाबी अ.बं.८२ नं. को हकदैया नपुग्ने भएकाले अ.बं. १८० नं.बमोजिम खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रामबालक सिंहसमेतको प्रतिउत्तरपत्र ।

फिरादमा उल्लेख भएको पुस्तावली ठिक हो । यसमा हाम्रो कुनै विवाद छैन । वादी हामी ६ भाइमध्येका कान्छा हुन् । म प्रतिवादी राजेश्वरप्रसाद सिंह नेपाल बैंक लिमिटेडमा २०४०।९।१७ गतेबाट नियुक्ति भई हाल सोही कार्यालयको जिल्ला रौतहटको चन्द्रनिगाहपुर शाखामा कार्यरत छु । जागिरबाट पाएको तलब भत्ताबाट बचाई २०४१ सालमा जिल्ला रौतहटको चन्द्रनिगाहपुर गा.वि.सं. वडा नं. १ को कि.नं.१३३३ को ज.वि ०-२-० जग्गा खरिद गरी सोही जग्गामा मैले आफ्नो कमाइबाट बनाएको काठको घरमा म र मेरो परिवारहरू बसी आएका छौं । पिताजीको स्वर्गवासपछि पनि जग्गा जमिन वहाँकै नाममा छ । अरू भएका र सोबाट बढे बढाएका पैतृक सम्पत्तिहरू मबाहेक दाजुहरू र यी वादीसमेतका नाममा छ । यस्तो अवस्थामा यी वादीलाई खान लाउन नदिई घरबाट निकाला गरेको भन्ने वादीको फिराद बेहोरा सरासर झुठ्ठा हो भन्नेसमेत बेहोराको प्रतिवादी राजेश्वरप्रसाद सिंहसमेतको प्रतिउत्तरपत्र ।

विपक्षी वादीको फिरादमा उल्लिखित पुस्तावली ठिक भए पनि दाबीबमोजिम विपक्षी वादीलाई हामीले अंश दिनुपर्ने होइन । हाम्रो परिवारमा पैतृक सम्पत्ति जग्गा जमिन अबन्डा भएकोले पैतृक सम्पत्तिबाट बढे बढाएको कुनै चल अचल श्रीसम्पत्ति हाम्रो जिम्मामा छैन । म रामेश्वरप्रसाद सिंह लोग्ने र मेरो श्रीमतीले विद्यालयमा शिक्षक पदमा नियुक्ति पाई अध्यापनको कार्य गर्दा र विद्यार्थीहरूलाई बिहान बेलुकी ट्युसन पढाई आफ्नो ज्ञान सीप प्रयासले निजी आर्जन गरेको पारिश्रमिक रकमबाट केही जग्गा जमिन निजी तवरले दर्ता बकसपत्र पाएको घरजग्गा जमिन सम्पत्ति हाम्रो आफूखुसी गर्न पाउने निजी आर्जनको श्रीसम्पत्ति हुन् । सो हाम्रो नाउँको दर्ताको निजी आर्जनको निजी तवरले बकस पाएको हाम्रो आफूखुसी गर्न पाउने अचल सम्पत्तिमा विपक्षी वादीको अंशहक लाग्ने होइन । सो वास्तविक कुरा बेहोरालाई विपक्षी वादीले आफ्नो फिरादमा लोप गरी नदेखाई झुठा बेहोराबाट दायर गर्नुभएको प्रस्तुत फिराद दाबी अंशबन्डाको १८ नं.समेत विपरीत भई खारेजयोग्य छ भन्नेसमेत बेहोराको प्रतिवादी रामेश्वरप्रसाद सिंहसमेतको प्रतिउत्तरपत्र ।

विपक्षीले उल्लेख गरेको हाम्रो वंशावलीसम्म सत्य भए पनि अरू दाबी बेहोरा झुठ्ठा हो । प्रतिवादी म सुरज देवीको श्रीमान् स्वर्गीय भइसक्नुभएको 

छ । परिवार धेरै ठुलो हुन गई एकाघर सगोलमा बस्दा हित्तचित्त नमिली सधैँ कलह गरेको र पैतृक सगोलको २-१०-० जग्गाको आयस्ताबाट सबैलाई खान लाउन नपुग्ने स्थिति आई २०३२ सालमा सबै छोरा छोरीलाई भेला जम्मा गरी के गर्दा परिवारमा अमन चैन हुन्छ भनी सोध्दा त्यसबेला भएको पैतृक जग्गा २-१०-० तथा त्यस बखत नाबालिग रहेको विपक्षी वादीलाई मेरो जिम्मा छाडी अन्य छोराहरू घरसारमा चुल्हो मानो छुट्याई पृथक्‌पृथक् बसी आआफ्नो श्रम सीपको आयस्ताबाट आर्जन उपार्जन, ऋण धन गरी आफ्नो स्वास्नी सन्तानको भरण पोषण तथा छोरा छोरीहरूको शिक्षा दीक्षा गरी आएका हुन् । पैतृक सगोलको जग्गाको सम्पूर्ण आयस्ता म तथा मसँग बसेका विपक्षीले उपयोग गरी आएकोमा हालसम्म विपक्षीबाहेक अन्य अंशियार छोरा तथा छोरा बुहारीसमेतले लोभ गरेका छैनन् । म तथा विपक्षीबाहेकका अन्य छोराहरूले २०३२ सालदेखि आफ्नो निजी श्रम सीपबाट गरेको निजी आर्जन तथा बढे बढाएको एकलौटी सम्पत्तिमा अरूको अंश नलाग्ने प्रस्ट छ । पैतृक सम्पत्ति म तथा फिरादी वादीले भोग चलन गरी आएका छोरा मेरा अन्य छोराहरूले आआफ्नो आर्जन आ-आफैँ भोगचलन गरी आएका हुन् । विपक्षीले आफ्नो अंश लिन चाहेको भए मेरो जिम्मा भएको सगोलको पैतृक सम्पत्तिबाट ७ खण्डको १ खण्ड अंश छुट्याइदिन मैले इन्कार गरेको नहुँदा अन्य प्रतिवादीहरूको निजी आर्जनसमेत लोभ गरी हुँदै नभएको झुठ्ठो बेहोराको आधारमा विपक्षीले यो नालेस गरेको हो । ७ खण्डको १ खण्ड अंश दिन मलाई मन्जुर नै हुँदा सोहीबमोजिम विपक्षीको अंश छुट्याई हक इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सुरज देवीको प्रतिउत्तरपत्र ।

विपक्षीले खुलाउनु भएको हाम्रो वंशावलीसम्म सत्य भए पनि सोबाहेकका हाम्रोउपरको सम्पूर्ण दाबी बेहोरा निराधार, मिथ्या तथा बदनियतपूर्ण छ । हाम्रो परिवारमा पैतृक सम्पत्ति २-१०-० जग्गा मात्र भएको र त्यसबाट हाम्रो सम्पूर्ण परिवारलाई खान लाउन नपुग्ने अवस्था आई २०३२ सालमा आमा सासू प्रतिवादी सुरज देवी तथा ससुरासमेतले आफ्ना छोराहरूलाई भेला जम्मा गरी भएको जग्गाको आयस्ताबाट परिवारको सबैलाई खान लाउन औषधोपचारसमेत पुगी राखेको छैन के गर्दा राम्रो हुन्छ भनी सोध्दा सम्पूर्ण परिवारको पारस्परिक समझदारीबाट आमा सुरज देवीले त्यस बखत नाबालिग रहेको विपक्षी वादीलाई सँगसाथ राखी त्यस बखत रहेको जग्गा २-१०-० आयस्ता सम्पूर्ण उपभोग गर्ने तथा हामी बालिग रहेका ५ जना दाजुभाइले आफ्नो श्रम सीप तथा प्रयासबाट आर्जनसमेत गरेका आयस्ताबाट पृथक् पृथक् बसी जीवन निर्वाह गर्ने भनी भएको मौखिक सहमतिको आधारमा त्यसै सालदेखि चुल्हो मानो छुट्याई हामी पृथक् पृथक् तथा बाबु आमा सुरज देवी तथा निजको कान्छो छोरा विपक्षी वादी सगोल बसी आएका 

हुन् । २०३२ सालदेखि चुल्हो मानो छुट्टी पृथक् बसी आएकोमा प्रतिवादी म सावित्रीदेवीको श्रीमान् तथा प्रतिवादी धर्मेन्द्रप्रसाद सिंहको पिता रामचन्द्र सिंहको स्वर्गवास भएकाले हामी आमा छोरा सगोलमा बसेका छौं । वादी तथा प्रतिवादी सुरज देवी दुवै जनाले पैतृक जग्गाको सम्पूर्ण आयस्ता उपयोग गरी छुट्टी बसी आएका हुन् । अन्य प्रतिवादीहरू पनि २०३२ सालदेखि चुल्हो मानो छुट्याई अलगअलग बसी आएका हुन् । सगोलको पैतृक जग्गा प्रतिवादी सुरज देवीको जिम्मामा छ । वादीले त्यसै पैतृक जग्गाबाट ७ खण्डको १ खण्ड अंश पाउने प्रस्ट छ । विपक्षीलाई हाम्रोउपर नालेस दिन पाउने हकदैया छैन भन्नेसमेत बेहोराको प्रतिवादी सुशिलादेवी सिंहसमेतको प्रतिउत्तरपत्र ।

७ भागको १ भाग प्रतिवादीबाट वादीले अंश पाउनुपर्ने हो । २०३२ सालमा वादी नाबालिग थिए । वादी अंशबन्डा बाँडफाँट गर्ने अवस्थामा 

थिएनन् । प्रतिवादीहरूको प्रतिउत्तर जिकिर झुठ्ठा हो भन्ने वादीको साक्षी विश्वनाथप्रसाद सिंहले गरेको बकपत्र ।

रामेश्वर सिंह र अनितादेवी सिंह दुवैजना शिक्षक शिक्षिका भई काम गर्नुहुन्छ । दुवैजना शिक्षक र शिक्षिका भई ट्युसन पढाउने र एल.आई.सी को पनि काम गर्ने भएकोले सोही आम्दानी स्रोतबाट कमाएको सम्पत्तिमा अरूको हक नलाग्ने भएकोले निजहरूको नाममा रहेको सम्पत्ति बन्डा गर्नुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी रामेश्वरप्रसाद सिंहको साक्षी प्रविनकुमार कर्णले गरेको बकपत्र ।

पैतृक जग्गा २-१०-० थियो । सो पैतृक जग्गा आमा सुरज देवीको नाउँमा दर्ता थियो र नाबालिग हरिशंकरको जिम्मामा थियो । रामबाबु सिंह र सुशिलादेवीले आर्जन गरेको जग्गा निजी आर्जनको सम्पत्ति हो भन्नेसमेत बेहोराको प्रतिवादी सुरज देवी र रामबाबु सिंहसमेतको साक्षी नन्दकिशोर सिंहले गरेको बकपत्र ।

प्रतिवादीहरूको नाउँमा रहेको जग्गा प्रतिवादी सावित्री देवीको आमा बाबुले बकसपत्रबाट दिएकोले निजी आर्जनको हो । सो जग्गा बन्डा गर्नुपर्ने होइन छैन भन्ने प्रतिवादी राजेश्वरप्रसाद सिंहसमेतको साक्षी रामचन्द्र ठाकुरले गरेको बकपत्र ।

पैतृक सम्पत्तिबाट वादीले अंश पाउनुपर्ने हो । रामबालक सिंहको नाउँमा जग्गा छैन । प्रतिवादी सुधा सिन्हाको नाउँमा निजी आर्जनको जग्गा हो । उसबाट अंश पाउनुपर्ने होइन । निज सुधा सिन्हा शिक्षिका जागिर भई ट्युसन पढाएर बैंकको एजेन्ट भई सञ्चय गरेको रूपैयाँसमेतबाट जग्गा खरिद गरेका 

हुन् । २०३२ सालदेखि वादी प्रतिवादी अलगअलग छन् भन्ने प्रतिवादीको रामबालक र सुधा सिन्हासमेतको साक्षी विरेन्द्र सिंहले गरेको बकपत्र ।

तायदाती फाँटवारीमा निजी आर्जन भनी उल्लेख गरिएका सम्पत्ति निजी आर्जनको मान्नुपर्ने देखिएकोले बन्डा नलाग्ने भन्ने जग्गाबाहेक वादी प्रतिवादीले फाँटवारीमा उल्लेख गरेको सम्पूर्ण सम्पत्तिमा वादीले दाबीबमोजिम ७ खण्डको १ खण्ड अंश पाउने ठहर्छ भनी सुरू सर्लाही जिल्ला अदालतबाट भएको फैसला ।

एकासाथ सगोलमा रही, बसी, खाई, कमाई घर व्यवहार चलाई परस्पर सहायताबाट आर्जन भएकोमा विद्यमान कानून प्रतिकूल निजी आर्जन कायम गरी मेरो जन्मसिद्ध हक अंश नै लोप हुने गरी भएको सुरू सर्लाही जिल्ला अदालतको फैसला बदर उल्टी गरी मानो नछुट्टी सँग बसेको अंशियारहरूको नाममा भएको सम्पत्ति सगोलको सम्पत्ति मानी सम्पूर्ण सम्पत्तिमा मेरो फिराद दाबीअनुसार मैले अंश पाउने गरी न्याय पाउँ भन्नेसमेत बेहोराको वादी हरिशंकरप्रसाद साहले पुनरावेदन अदालत जनकपुरमा दायर भएको पुनरावेदनपत्र ।

२०३२ साललाई मानो छुट्टिएको मिति कायम गरी सोपूर्वको सम्पत्तिमा अंश लाग्ने फैसला हुनुपर्नेमा सो २०३२ सालपश्चात् हामीले निजी तवरबाट निजी आर्जनले खरिद गरेको जग्गामा समेत अंश लाग्ने गरी गरिएको सुरूको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी गरी मेरो पुनरावेदन जिकिरअनुसार इन्साफ गरिपाउँ भनी प्रतिवादी सुशिला सिंह र रामबाबु सिंहले पुनरावेदन अदालत जनकपुरमा दायर भएको पुनरावेदनपत्र ।

यसमा अंशियारहरूको नाउँमा कायम भएका बकसपत्रबाट पाएको तथा राजीनामाबाट पाएको जग्गाहरू निजी कायम हुने भनी गरिएको सुरूको फैसला प्रमाण मूल्याङ्कन र विश्लेषणको रोहमा फरक पर्न सक्ने देखिँदा प्रत्यर्थी झिकाई पेस गर्नु भन्ने पुनरावेदन अदालत जनकपुरबाट मिति २०६८।८।१८ मा भएको आदेश ।

पुनरावेदक प्रतिवादीहरूले निजी आर्जनको तथा २०३२ सालमा नै मानो छुट्टिएको हो भनी जिकिर लिएकोमा निजी आर्जनको एवं २०३२ सालमा नै मानो छुट्टी भिन्न बसेको कुराको ठोस प्रमाण प्रतिवादीहरूले पेस गर्न नसकेको देखिँदा सुशिला सिंहले राजीनामाबाट खरिद गरेको जग्गामा सबै अंशियारको हक लाग्ने भनी फैसला गर्नुपर्नेमा निजी ठहर गरेको सुशिलादेवीले विजय प्रकाशबाट प्राप्त गरेको जग्गामध्ये कि.नं. ६०३ को जग्गा अनितादेवीलाई बकसपत्र गरेको निजी ठहर गरेको मिलेको नदेखिँदा वादीको अंशहक लाग्ने र राजेश्वरले राजीनामाबाट खरिद गरेको सम्पत्ति निजले सवितालाई बकसपत्र गरेको जग्गा निजी आर्जनको भन्न नमिल्ने हुँदा सोमा पनि बन्डा लगाउनुपर्नेमा निजी ठहर गरेको हदसम्म सुरूको मिति २०६७।१।१९ को फैसला मिलेको नदेखिँदा सो हदसम्म केही उल्टी हुन्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत जनकपुरबाट मिति २०६९।३।३१ मा भएको फैसला ।

वादी प्रतिवादीहरू एकासगोलका अंशियार रहेको कुरामा विवाद नभएको भन्ने कुरा तथ्यको मात्र प्रश्न हो । वादी प्रतिवादीमध्येका आमाछोरा, दाजुभाइ, एकासगोलका अंशियार नाताका भए पनि विवाह गरेर ल्याइएका भाउजू बुहारीहरू एकासगोलका अंशियार नभई अंशियार पतिका मात्र सहअंशियार हुन् । पुस्तावली मिलेको र अंशियारहरू को, के कति भन्ने आधारमा हामी पुनरावेदकको नाममा रहेका निजी आर्जनबाट जोडे कमाएका श्रीसम्पत्ति बन्डा हुने ठहर गर्नु कानूनसम्मत हुँदैन । अंशबन्डाको १८ नं.ले लिखतको अभावमा समेत अंश नभए पनि मानो छुट्टिई भिन्न बसेका वा रजिस्ट्रेसन नगरी खतीउपती गरी आफ्नो हिस्सासँग मात्र राखी खानु पिउनु गरेकोमा एकै ठाउँमा भए पनि मानो छुट्टिई भिन्न भएको 

ठहर्छ । त्यस्तो कमाएको धन लाएको ऋण आफ्नो आफ्नो हुन्छ भन्ने स्पष्ट व्यवस्था गरेको छ । म पुनरावेदक २०४०।०९।१७ देखि बैंकको जागिरे भई सोही जागिरबाट प्राप्त तलबबाट गुजारा र बचत जम्मा गरी २०४३।०३।०४ मा पुनरावेदक सवितासँग विवाह गरी जागिरे जीवनमा सधैँ घरबाहिर नै रही आएको अवस्था छ । त्यसैगरी हाम्रो कुल पैतृक सम्पत्ति भनेको २-१०-० मात्र भएको कुरामा वादी प्रत्यर्थीको समेत विरोध छैन । सुरू फिराद वा पुनरावेदन गर्दासमेत यो यो पैतृक श्रीसम्पत्तिको बिक्री गरी वा यो यो एकासगोलको आय लगानी गरी यति जग्गा जमिन बढे बढाएका छौं वा वार्षिक यति एकासगोलको आम्दानी छ भन्ने दाबी लिन स्वयम् वादीले नसकी हचुवामा हामी पुनरावेदकमध्ये म राजेश्वर सिंहले जागिरे जीवनमा आर्जित तलबभत्ताको बचत रकमबाट निजी तवरले प्राप्त हुने तलबको रकमबाट उनाउ व्यक्तिबाट राजीनामा गरी खरिद गरेको निजी ज्ञान, सीप र आर्जनको सम्पत्ति पछि पुनरावेदक सवितादेवीलाई स्त्री अंशधनको ४ नं.ले पेवास्वरूप दिएको रौतहट जिल्ला, चन्द्रनिगाहपुर गा.वि.सं. वडा नं.१ कि.नं.१३३३ को ०-२-० जग्गासमेतलाई बन्डा ठहराएको कानूनतः मिलेको छैन । 

म पुनरावेदक राजेश्वर सिंह मिति २०४०।०९।१७ मा नेपाल बैंक लिमिटेडमा नियुक्ति पाई स्थायी जागिरे भएको र अविवाहित हुँदा पाएको तलब भत्तासमेतको रकम बचत जम्मा भएकोले मिति २०४१।११।२१ मा रू.१५,०००।- मा एककुमारी र भरतप्रसादबाट ०-२-० जग्गा र.नं.३३८१ को लिखतबाट राजीनामा गरी लिइसकेपछि मिति २०४३।०३।०४ मा म पुनरावेदकको सविता सिंहसँग विवाह भएको हो । मिति २०६५।०४।१६ मा घरायसी कामव्यवहार मिलाउनु परेकाले निज सवितालाई रजिस्ट्रेसनको १ नं. र दान बकसपत्रको १ नं. तथा स्त्री अंशधनको ४ नं.बमोजिम पेवास्वरूप बकसपत्र गरिदिएको हुँ । त्यस लिखतउपर कसैको कुनै दाबी विरोधसमेत छैन । सुरू सर्लाही जिल्ला अदालतले निजी ठहर गरेको राजेश्वरले राजीनामाबाट खरिद गरी सवितालाई बकसपत्र गरेको हदसम्म सुरू फैसला उल्टी भई वादीले अंश पाउने फैसला गर्दा कुन कानूनले र के प्रमाणले सुरू फैसला उल्टी गर्नुपरेको हो कतै केही खुलाइएको छैन । प्रतिउत्तरसाथ म पुनरावेदक राजेश्वरले पेस गरेको बैंकमा भएको मेरो नियुक्ति पत्र, तलबी विवरण, जग्गा राजीनामाबाट प्राप्त गरेको कागज, अर्की पुनरावेदक श्रीमती सवितालाई दिएको लिखत, आदिको मूल्याङ्कन र विश्लेषण नगरी हचुवा अनुमान गरी एकासगोलको ठहर गरी भएको पुनरावेदन अदालत जनकपुरको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी न्याय इन्साफ पाउँ भन्नेसमेत बेहोराको राजेश्वर सिंहसमेतको पुनरावेदनपत्र । 

यसमा वादीको पुनरावेदन जिकिरमा प्रतिवादीहरूमध्ये सुधा सिंह र रामबालक सिंहको सम्पत्ति निजी ठहराएको तर्फ चित्त नबुझेको र प्रतिवादीतर्फका राजेश्वरसमेतले दिएको पुनरावेदनमा चन्द्रनिगाहपुरको कि.नं. १३३३ को जग्गा निजी आर्जन हुँदाहुँदै बन्डा लगाएको भन्ने पुनरावेदन परेको देखियो । वादी प्रतिवादी दुवैतर्फबाट पुनरावेदन अदालतको फैसलामा चित्त बुझेको नदेखिएकाले निजी आर्जनतर्फ फैसलामा अरू विश्लेषण हुनुपर्ने भई मिति २०६९।३।१ को पुनरावेदन अदालत जनकपुरको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. को प्रयोजनार्थ दुवैतर्फको पुनरावेदन एकआपसमा सुनाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७३।१।२९ को आदेश ।

प्रतिवादीमध्येका राजेश्वर सिंहले २०४० सालमा नेपाल बैंक लिमिटेडमा जागिर खाएको र २०४१ सालमा रू.१५,०००।- मूल्य राखी एककुमारी र भरतप्रसादबाट ०-२-० जग्गा खरिद गरेकोले उक्त सम्पत्ति निजी आर्जनको सम्पत्ति भएकोले बन्डा गर्न नपर्ने भनी जिकिर लिएका 

रहेछन् । निजले सर्लाही जिल्ला अदालतमा पेस गरेको नेपाल बैंक लिमिटेडको पत्रका आधारमा सहायक पदमा कार्यरत कर्मचारी भएकोले निजले २०४०/४१ मा रू.४,५००।- पाएको भन्ने उल्लेख रहेछ । नोकरीमा भर्ना हुना साथै रू.१५,०००।- मूल्यको जग्गा खरिद गर्ने आर्थिक हैसियत हुँदैन । निजले अदालतसमक्ष पेस गरेको नेपाल बैंक लिमिटेडको २०६६ सालको प्रमाणका आधारमा निजले २०५१ सालमा खरिद गरेको जग्गाको आयस्रोत पुष्टि हुँदैन । निजी आर्जनको स्रोत पुष्टि नभएसम्म सगोलको सम्पत्तिबाट बढे बढाएको मान्नुपर्ने भएकोले उक्त सम्पत्तिमा सबै अंशियारहरूको समान हक लाग्छ । निजीको आर्जनको जिकिर लिनु मात्र पर्याप्त हुँदैन, आफ्नो जिकिरलाई स्वतन्त्र प्रमाणबाट पुष्टि पनि गराउनुपर्छ । बैंकको नोकरीबाट पर्याप्त आम्दानी भएकोले सोही आयबाट सम्पत्ति खरिद गरेको भन्ने विपक्षीको भनाइ रहेको छ भने अर्कोतर्फ पटकपटक लिएको ऋणको विवरण अदालतसमक्ष पेस गर्ने विपक्षीको लेखाइबाटै पनि निजले बैंकको नोकरीबाट सम्पत्ति खरिद गरेको भन्ने कुरा प्रमाणित हुँदैन । अलगअलग ठाउँमा बस्दैमा अंशबन्डा भएको ठहरिने कुनै कानूनी व्यवस्था 

छैन । रजिस्ट्रेसनको १ नं. ले यसप्रकार अलग बसेको लिखत, अंशबन्डा भएको लिखत, मानो छुट्टिएको लिखतसमेत मालपोत कार्यालयमा रजिस्ट्रेसन गराउनै पर्छ । घरजग्गाहरू आआफ्नो नाममा ७ नं. फाँटवारी भरेको, अंशियारहरूबिच सम्पत्ति खरिद बिक्री व्यवहार गरेको, घरसारमा नरम गरम मिलाई आआफ्नो भाग शान्ति बुझी मालपोत कार्यालयबाट दाखिल खारिज गराई छुट्टिई भिन्न बसी छुट्टाछुट्टै भोगचलन गरेको बेहोरा मुलुकी ऐनको सातौं संशोधन हुनुअघिको व्यवहारलाई अंशबन्डा महलको ३० नं. ले उल्लेख गरेको छ । अंशबन्डा महलको ३० को कानूनी व्यवस्थाले निर्धारण गरेको अवस्था प्रस्तुत मुद्दामा 

छैन । विपक्षीबाट त्यस्तो प्रमाण आएको पनि छैन । विपक्षीले पेस गरेको २०६६।०९।१३ को तायदाती फाँटवारीमा उल्लिखित सबै सम्पत्तिउपर अंशबन्डाको १,२ र १८ नं.बमोजिम मेरो अंशहक कायम भई मेरो नाउँमा दर्ता हुनुपर्छ । अत: मैले विपक्षीहरूबाट पाउनुपर्ने अंशहक सम्पूर्ण सम्पत्ति नपाएकोले मैले दायर गरेको पुनरावेदनलाई असर पार्न विपक्षीहरूले गलत बेहोरा उल्लेख गरी दायर गरेको पुनरावेदनपत्र बदर गरी मेरो पुनरावेदन मागबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको हरिशंकर सिंहको लिखित प्रतिवाद ।

सगोलका अंशियारहरूका नाउँमा रहेको सम्पत्तिमध्ये कुन कुन सम्पत्ति बन्डा नलाग्ने भनी अंशबन्डाको १८ नं. ले स्पष्ट गरेको छ । रामबालक सिंह र निजको पत्नी सुधा सिन्हा, अनिता सिंह र रामेश्वरप्रसाद सिंहलगायत अन्य प्रतिवादीहरूलाई एकाघर सगोलका अंशियार हुन् भनी अदालतले ठहर गरेको छ । एकाघर सगोलका अंशियार ठहर भएपछि सबै अंशियारहरूका नाउँमा कायम रहेको सम्पत्ति बन्डा गर्नै पर्ने कानूनी व्यवस्था छ । सगोलको सम्पत्तिबाट खरिद गरिएको जग्गा घर आदि अन्य अंशियारहरूमा बन्डा गर्न नपरोस् भनी रजिस्ट्रेसन पास गर्दाका अवस्थामा बकसपत्रबाट पाएको भनी बकसपत्रको लिखत पारित गर्दैमा र लिखतहरूमा सेवा मद्दत टहल चाकरी गरी रिझबापत बकसपत्र गरिदिएको, बकसपत्र गरी लिएको भनी कैफियत महलमा उल्लेख गर्दैमा सगोलको सम्पत्तिबाट खरिद गरेको घरजग्गालाई निजी तवरबाट बकसपत्र पाएको भन्न मिल्दैन । एकाघर सगोलका अंशियार ठहर भइसकेपछि सुधा सिन्हाको नाउँमा कायम रहेका सबै सम्पत्तिउपर मेरो अंशहक कायम गरी कानूनबमोजिम मैले पाउने अंशहक ठहर गर्नुपर्नेमा सुरू र पुनरावेदन अदालतले मिति २०६६।०९।१३ को तायदाती फाँटवारीमा उल्लिखित पर्सा जिल्ला, नौतन (वी) कि.नं. ३३३ समेत ८ कित्ता जग्गाहरू प्रतिवादीको निजी आर्जन ठहर गरेको छ । विपक्षी रामबालक सिंह र सुधा सिन्हाले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित घर जग्गामध्ये जिल्ला पर्सा, नौतन (वी) वडा नं.९ कि.नं. ३३३ कित्ता १, ऐ.ऐ.कि.नं. ३३५ कित्ता १, जिल्ला पर्सा श्रीपुर (वी) वडा नं.४ (हाल वि.उ.म.न.पा. वडा नं.४) कि.नं. १२ जग्गा र घर १, जिल्ला बारा नौतन वडा नं. ५ कि.नं. २४ कित्ता १ र जिल्ला पर्सा नौतन वडा नं. ८ कि.नं. ३७० कित्ता १ समेतका घरजग्गाहरू विपक्षीले शिक्षण पेसाबाट निजी आर्जन गरेको, माइती पेवाबाट खरिद गरेको र निजी तवरबाट बकसपत्रबाट प्राप्त गरेकोले निजी एकलौटी बन्डा नलाग्ने भनी विपक्षीको भनाइलाई अदालतले स्वीकार गरी उक्त सम्पत्तिउपर मेरो अंशहक नलाग्ने ठहर गरेको छ । अन्य अंशियारको हक मेटाउन रजिस्ट्रेसन पास गर्दा बकसपत्रबाट प्राप्त गरेको बेहोरा उल्लेख हुँदैमा सगोलको सम्पत्तिबाट खरिद गरेको यस्ता सम्पत्तिहरूमा अन्य अंशियारको हक नलाग्ने भन्न मिल्दैन । यसैगरी जिल्ला सप्तरी, मलेठ गा.वि.सं. वडा नं. १ कि.नं. ४८७ कित्ता १, जिल्ला पर्सा वसविहापिप्रा (वी) वडा नं. ५ कि.नं.१२९ प्लट नं.६३८ कित्ता १ , ऐ. नकटुवा (वी) वडा नं १ कि.नं ५७१ कित्ता १ समेतका जग्गाहरू विपक्षी सुधा सिन्हाले सगोलको सम्पत्तिबाट खरिद गरेकी 

हुन् । राजीनामाको कैफियत महलमा जे जस्तो बेहोरा उल्लेख भए पनि उक्त सम्पत्तिउपर सबै अंशियारको अंशहक लाग्छ । प्रतिवादी रामबालक सिंह माध्यमिक विद्यालय निरीक्षक र प्रतिवादी सुधा सिन्हा शिक्षिका रहेकोले निजहरूका नाउँमा कायम रहेको सम्पत्ति निजी तवरबाट आर्जन गरेको भनी अदालतले निर्णयाधार बनाएको देखिन्छ । विद्यालय निरीक्षक र शिक्षकको आम्दानी खर्च र बचतको हिसाबबाट घरजग्गा आर्जन गरेको प्रमाणित हुनुपर्दछ अन्यथा नोकरी गर्दैमा स्वत: लाखौंको सम्पत्ति खरिद गर्न सक्ने हैसियत रहन्छ भनी अनुमान गर्न मिल्दैन । जिल्ला पर्सा श्रीपुर (वी) वडा नं. ४ (हाल वीरगन्ज उपमहानगरपालिका वडा नं. ४) कि.नं. १२ क्षेत्रफल ज.वि. ०-०-११ जग्गामा बनेको घर सबै अंशियारको सगोलको सम्पत्तिबाट बनेको हुँदा उक्त घरजग्गालगायत निज प्रतिवादी सुधा सिन्हाका नाउँमा कायम रहेको सबै सम्पत्तिबाट मैले अंश पाउनुपर्नेमा विपक्षीले पेस गरेको तायदातीमा उल्लिखित सम्पत्तिहरू बन्डा नहुने ठहर गरेको सुरू र पुनरावेदन अदालत जनकपुरको फैसलाहरू बदरभागी छ । 

एकाघर सगोलका अंशियार अनिता सिंह र रामेश्वरप्रसाद सिंहले मिति २०६६।९।१३ मा पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित निजहरूका नाउँमा कायम रहेका सबै सम्पत्तिउपर मेरो अंशहक कायम गरी कानूनबमोजिम मैले पाउने अंशहक ठहर गर्नुपर्नेमा सुरू र पुनरावेदन अदालतले निजहरूले शिक्षण पेसाबाट ३ कित्ता जग्गा बकसपत्रबाट र ३ कित्ता जग्गा राजीनामाबाट प्राप्त गरेको र निजहरू शिक्षक रहेकोले निजी तवरबाट आर्जन गर्न सक्ने ठहर गरी बन्डा नलाग्ने फैसला गरेको छ । जिल्ला पर्सा, नकटवा (वी) वडा नं.१ कि.नं. ५६० कित्ता १, जिल्ला सर्लाही, मिर्जापुर वडा नं. १ कि.नं. २२३ कित्ता १, जिल्ला पर्सा, वगही वडा नं. ५ कि.नं. ४०० कित्ता १ र जिल्ला पर्सा, श्रीपुर (वी) वडा नं. ४ कि.नं. ३९२ कित्ता १ समेत विपक्षी अनिता सिंहले पेस गरेको तायदाती फाँटवारीमा उल्लेख छ । उक्त जग्गाहरू विपक्षीले शिक्षण पेसाबाट निजी आर्जन गरेको, निजी तवरबाट बकसपत्रसमेत प्राप्त गरेकोले निजी आर्जनको एकलौटी बन्डा नलाग्ने भनी विपक्षीको भनाइलाई अदालतले स्वीकार गरेको छ । अन्य अंशियारको हक मेटाउन रजिस्ट्रेसन पास गर्दा गराउँदा बकसपत्रबाट प्राप्त गरेको बेहोरा उल्लेख हुँदैमा सगोलको सम्पत्तिबाट खरिद गरेको यस प्रकारका सम्पत्तिहरूमा अन्य अंशियारको हक नलाग्ने भन्न मिल्दैन । 

प्रतिवादी रामेश्वरप्रसाद सिंहले मालपोत कार्यालय, पर्साबाट र.नं.७४३ मिति २०४६।६।१२ बाट जिल्ला पर्सा, श्रीपुर वडा नं.४ कि.नं.३९२ राजीनामाबाट किनेको जग्गा निजले आफ्नो पत्नी प्रतिवादी अनिता सिंहलाई हा.व. पास गरेको हुँदा कि.नं.३९२ मा हक कायम नहुने भनी ठहर गर्न मिल्दैन । विपक्षी अनिता सिंहले सगोलको सम्पत्तिबाट खरिद गरेको राजीनामा वा बकसपत्रको लिखतमा जे जस्तो बेहोरा उल्लेख भए पनि उक्त सम्पत्तिउपर सबै अंशियारको अंशहक लाग्ने नै हुँदा निज अनिता सिंहले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित सबै सम्पत्ति बन्डा गर्नुपर्ने र मैले अंश पाउनुपर्नेमा निज प्रतिवादी रामेश्वर संह र अनिता सिंहले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्ति बन्डा नहुने ठहर गरेको सुरू र पुनरावेदन अदालत जनकपुरको फैसलाहरू खारेजभागी छ ।

सुशिलादेवी सिंहसमेतले मिति २०६६।८।३०।३ मा अदालतमा पेस गरेको तायदातीमा उल्लिखित सम्पत्तिमध्ये जिल्ला सर्लाही अर्नाहा गा.वि.सं. वडा नं ७ कि.नं. २९८, ऐ.ऐ. वडा नं. ५ कि नं. २५५, ऐ. वलरा गा.वि.सं. वडा नं. ७(क) कि.नं. २४४, र जिल्ला पर्सा वीरगन्ज उपमहानगरपालिका वडा. नं. ४ कि.नं. ६८७ लगायतका जग्गहरू प्रतिवादी सुशिलादेवीले बकसपत्रबाट प्राप्त गरेको हुँदा निजी आर्जनको सम्पत्ति भएकोले निजको एकलौटी हुने भनी अदालतले ठहर गरेको छ । अलग स्थानमा बसी आएका नारायण महतो, हरिहर महतो, कल्याणीदेवी र उषा शाहबाट अलगअलग मितिमा बकसपत्रको लिखत पारित गराई लिएकै भरमा विपक्षी सुशिलादेवी सिंहले विभिन्न व्यक्तिहरूलाई विभिन्न मितिमा अलगअलग स्थानमा सेवा, मद्दत, टहल, चाकरी गरी रिझाउने अवस्था रहँदैन । बकसपत्र दाताको आर्थिक हैसियत एवम् दाताले बकसपत्र गर्नै पर्ने अवस्था सिर्जना भएको अवस्थाबारेको तथ्य तथा बकसपत्र पाउनेले के कस्ता सेवा वा मद्दत गरेको रहेछन् भन्ने तथ्यसमेत प्रतिवादीले प्रमाणित गर्नुपर्दछ अन्यथा लिखतमा बकसपत्र उल्लेख भएकै भरमा निजी आर्जन ठहर हुन सक्दैन । बकसपत्रमा उल्लेख भएबमोजिम दातालाई रिझाएको अवस्था प्रमाणित हुनैपर्छ, वस्तुनिष्ठ आधारबाट प्रतिवादीहरूले प्रमाणित गर्नुपर्दछ । सगोलको सम्पत्तिबाट आर्जन गरेको सबै सम्पत्तिबाट मैले अंश पाउनुपर्नेमा प्रतिवादी सुशिलादेवी राजपूतका नाउँमा कायम रहेको कि.नं.२९८, २५५, २४४ र ६८७ जग्गाबाट मैले अंश नपाउने भनी अदालतले गरेको फैसला त्रुटिपूर्ण छ ।

प्रतिवादी सविता सिंह र राजेश्वरप्रसाद सिंहले मिति २०६६।९।१३।२ मा अदालतमा पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिमध्ये सबै सम्पत्तिहरूमा ७ खण्डको १ खण्ड मैले अंशबापत पाउनुपर्नेमा अदालतले फैसला गर्दा बकसपत्र र राजीनामाबाट प्राप्त भएका सम्पत्ति बन्डा नलाग्ने भनी फैसला गरेको हुँदा उक्त फैसला त्रुटिपूर्ण छ । प्रतिवादी सवितादेवी सिंहले आफ्नो बाबुको शेषपछि प्राप्त गरेको बाबुको नाउँको सम्पत्तिउपर निजको एकलौटी हक हुने भए पनि सोबाहेकका अन्य सम्पत्ति बन्डा लगाउनुपर्नेमा अदालतले तायदातीमा उल्लिखित सम्पत्ति बन्डा नलाग्ने भनी ठहर गरेको फैसला मिलेको छैन । जिल्ला रौतहट, पुरैनवा गा.वि.सं. वडा नं. ४ कि.नं.१९२७, जिल्ला रौतहट, चन्द्रनिगाहपुर वडा नं. १ कि.नं. १३३३, जिल्ला पर्सा नगवा (वी) वडा नं. ३ कि.नं. ५०४ (कि.नं. ४९९ कित्ताकाट भई कायम भएको) जग्गाहरूमा प्रमाण ऐन, २०३१ को दफा ६(क) बमोजिम मेरो अंशहक लाग्छ । प्रतिवादीहरूले अदालतमा पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित सबै सम्पत्तिहरू प्रमाण ऐन, २०३१ को दफा ६(क) बमोजिम सगोलको सम्पत्ति भएकोले प्रतिवादीहरूले अदालतमा पेस गरेको तायदाती फाँटवारीहरूमा उल्लेख भएका सबै घरजग्गाहरूबाट मेरो फिराद दाबीबमोजिम ७ खण्डको १ खण्ड मैले अंश पाउनुपर्ने ठहर गरी चलनसमेत चलाइपाउँ भन्नेसमेत बेहोराको वादी हरिशंकरप्रसाद सिंहले यस अदालतमा दिएको निवेदनपत्र ।

यसमा लगाउको ०६९-CI-०९५५ को अंश चलन मुद्दामा आज यसै इजलासबाट विपक्षी झिकाउने आदेश भएको र प्रस्तुत मुद्दा सोही मुद्दासँग अन्तरप्रभावी भएकोले प्रस्तुत मुद्दामा अ.बं.२०२ नं. को प्रक्रिया पूरा गरी नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७३।१।२९ को आदेश ।

प्रस्तुत मुद्दामा दुवै थर झगडियाहरूका बिचका नातासम्बन्धी कुरामा कुनै विवाद रहेको नदेखिए पनि २०३२ सालदेखि नै सगोलको पैतृक सम्पत्तिको रूपमा रहेको २-१०-० जग्गाजति सबैको पुरै आयस्ता प्रतिवादी आमा सुरजदेवी एवं वादी हरिशंकरप्रसाद सिंहले नै एकलौटी खान पाउने गरी हामीसमेतका सबै प्रतिवादीहरूले आमाको जिम्मामा छाडिदिई आआफ्नो चुल्हो मानोलाई अलग गरी लिएर सबै बेग्लाबेग्लै रही बसी आफ्नो पद, ज्ञान, सिप, योग्यता एवं भूमिकाको आधारमा छुट्टाछुट्टैको खती उपती आर्जन गर्ने गरी आएको तथ्य कुरालाई यस मुद्दामा आमा सुरजदेवीलगायत कोही कसैले इन्कार गरेको देखिन्न । त्यसैगरी २०३२ सालमा चुल्हो मानो छुट्ट्याइलिएपश्चात्‌बाट नै वादी आमाको साथमा गाउँघरमा छुट्टै रहन बस्न थालेको र पुनरावेदक प्रतिवादी म रामेश्वर सिंह अनिता सिंहलगायतका अन्य प्रतिवादीहरूसमेत छुट्टाछुट्टैरूपले आफ्नो योग्यताअनुसारको जागिर पेसामा लागि अलगअलग ठाउँमा बसेर बेग्लाबेग्लैको खती उपती गर्दै विशुद्ध निजी रूपले नै आआफ्ना नाममा निजी आर्जन गर्ने गरी आएको तथ्य कुराको अर्को थप पुष्टि यसमा बुझिएका प्रतिवादीहरूजति सबैको साक्षीका बकपत्र हामीबिच एकआपसमा पनि भइआएको जग्गाका लेनदेन खरिद बिकी बकसपत्रको लिखत पारितसम्बन्धी व्यवहार प्रमाणका लगायत सबैको बेग्लाबेग्लैको जागिर, पेसा र बसोबासका वतन ठेगानाहरूबाट समेत देखिन्छ । यस्तो अवस्थामा पनि त्यो सबैको न्यायिक विवेचना नै नगरी २०३२ सालमा मानो छुट्ट्याई अलग भएको र त्यसपछि प्रतिवादीहरूले निजी आर्जन गरेका कुराको ठोस प्रमाण दिन नसकेको भन्ने बेबुनियादी एवं परस्पर विरोधीका हचुवा आधारलाई अवलम्बन गरेर म अनिता सिंहका नामको बकसपत्र स्रोतबाट आएको कि.नं.६०३ का जग्गामा पनि वादीको अंश लाग्ने गरी भएको फैसला त्रुटिपूर्ण छ । पुनरावेदन अदालत जनकपुरबाट २०३२ साललाई मानो छुटाएको मिति कायम नगरी सोपछि अलग रहेकी जेठानी सुशिलादेवीले पुनरावेदक म अनिता सिंहलाई खुस भई बकसपत्र गरिदिएकी आफ्ना निजी आर्जनमध्येको कि.नं. ६०३ का जग्गामा समेत विपक्षी वादीको अंश लाग्ने गरी पुनरावेदन अदालत जनकपुरबाट गरिएको फैसला त्रुटिपूर्ण हुँदा सो जग्गाका हदसम्ममा भएको उक्त त्रुटिपूर्ण फैसलालाई बदर गरी त्यसमा समेत वादीको अंश नलाग्ने गरी न्याय निसाफ गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रामेश्वरप्रसाद सिंहसमेतको पुनरावेदनपत्र ।

यसमा लगाउको ०६९-CI-०९५५ को अंश चलन भन्ने मुद्दामा आज यसै इजलासबाट विपक्षी झिकाउने आदेश भएको र प्रस्तुत मुद्दा सोही मुद्दासँग अन्तरप्रभावी भएकोले प्रस्तुत मुद्दामा अ.बं.२०२ नं.को प्रक्रिया पूरा गरी नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७३।१।२९ को आदेश ।

वादी प्रतिवादीहरूबिच मानो छुट्टिएको लिखत वा अंशबन्डा भएको लिखत अदालतमा आएको 

छैन । मानो छुट्टिनुभन्दा अघिका सगोलको सम्पत्तिबाट बढे बढाएको चल अचलमा सबै अंशियारहरू बराबर अंशबन्डा लाग्ने भनी अंशबन्डा महलको १८ नं. ले व्यवस्था गरेको छ । म फिरादीलाई अंशहकबाट वञ्चित गर्ने नियतले प्रतिवादीहरूले प्रमाणविहीन बेहोरा उल्लेख गरेकै भरमा सगोलको सम्पत्तिउपरको मेरो अंशहकलाई असर पार्न मिल्दैन । अलगअलग ठाउँमा बस्दैमा अंशबन्डा भएको ठहरिने कुनै कानूनी व्यवस्था छैन । रजिस्ट्रेसनको १ नं.ले यसप्रकार अलग बसेको लिखत, अंशबन्डा भएको लिखत, मानो छुट्टिएको लिखतसमेत मालपोत कार्यालयमा रजिस्ट्रेसन गराउनैपर्छ । अंशबन्डा महलको ३० नं.को कानूनी व्यवस्थाले निर्धारण गरेको अवस्था प्रस्तुत मुद्दामा छैन । विपक्षीले पेस गरेको मिति २०६६।०९।१३ को तायदाती फाँटवारीमा उल्लिखित सबै सम्पत्तिउपर अंशबन्डाको १, २ र १८ नं.बमोजिम मेरो अंशहक कायम हुनुपर्छ । प्रतिवादीमध्येका सुशिलादेवीले प्रतिवादी अनिता सिंहका नाउँमा कि.नं. ६०३ क्षेत्रफल १-१०-० हालैको बकसपत्र गरे तापनि सगोलका अंशियारहरूबिच भएको हक हस्तान्तरणले अन्य अंशियारहरूको अंशहक मेटिन सक्तैन, बन्डा गर्नैपर्ने हुन्छ । प्रतिवादीमध्येका रामेश्वरप्रसाद सिंहले मालपोत कार्यालय, पर्साको र.नं. ७४३ मिति २०४६।०६।१६ बाट जिल्ला पर्सा श्रीपुर वडा नं.४ कि.नं.३९२ क्षेत्रफल ०-०-१० (मूल्य रू.४०,०००) जग्गा सगोलको सम्पत्तिबाट राजीनामा पास गराएको, अर्का प्रतिवादी निजको पत्नी अनिता सिंहलाई मालपोत कार्यालय, पर्साको र.नं. २९९३ मिति २०५१।१०।०९ बाट मिति २०५१।१०।०९ मा र.नं. २७९३ बाट हक हस्तान्तरण गरेको कुरा मालपोत कार्यालयमा रहेको अभिलेखबाट प्रमाणित हुन्छ । उक्त जग्गाको स्रोत मिति २०४६।०६।१६ मा रामेश्वरप्रसाद सिंहले सगोलको सम्पत्तिबाट खरिद गरी राजीनामा पास गराई आफ्नो नाउँमा दर्ता गराएका र पछि सोही जग्गा अंशियारहरूबिच बन्डा गर्न नपरोस् भन्ने उद्देश्यले आफ्नो श्रीमतीका नाउँमा बकसपत्र पास गर्दैमा अन्य अंशियारको हक समाप्त हुँदैन । 

प्रतिवादीमध्येका अनिता सिंहका नाउँमा बकसपत्रबाट आएकोले बन्डा गर्न नपर्ने भनी विपक्षीले जिकिर लिएको भए पनि सो बकसपत्रको लिखत गर्दा राजीनामासरह रकम लेनदेन भएको, अन्य अंशियारलाई अंशहकबाट वञ्चित गर्न मात्र बकसपत्र शब्द लेखिएको र दाताले प्राप्तकर्तालाई बकसपत्र दिनुपर्ने कुनै कारण र औचित्य नरहेको कुरा देखिएको अवस्थामा बकसपत्र लेखिएको सम्पत्ति पनि कानूनबमोजिम अंशियारहरूबिच बन्डा गर्नुपर्छ । बकसपत्रबाट सम्पत्ति प्राप्त गर्न सामान्यतया बकसपत्र पाउनेले दातालाई निजको व्यवहारमा कुनै तरहले सहयोग पुर्‍याएको वा सेवा गरी रिझाएको हुनुपर्नेमा विपक्षीहरूले शिक्षक पेसामा रही विभिन्न मितिमा विभिन्न व्यक्तिहरूलाई के कस्तो सहयोग पुर्‍याएको वा रिझाएको भन्ने तथ्ययुक्त प्रमाण अदालतसमक्ष पेस गर्न सकेका छैनन् । प्रतिवादीका नाउँमा कायम रहेको बकसपत्रका आधारमा दर्ता सम्पूर्ण सम्पत्तिउपर मेरो अंशहक कायम हुनुपर्ने हुँदा विपक्षीहरूबाट पाउनुपर्ने अंशहक सम्पूर्ण सम्पत्ति नपाएकोले मैले यस अदालतमा दायर गरेको पुनरावेदनलाई असर पार्न विपक्षीहरूले गलत बेहोरा उल्लेख गरी दायर गरेको पुनरावेदनपत्र बदर गरी मेरो पुनरावेदन मागबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको लिखित प्रतिवाद ।

सर्लाही जिल्ला, अदालतबाट मेरा नाउँमा दर्ता रहेको कि.नं. २९८, २५५, २४४ र ६६७ बाट कित्ताकाट भई कायम भएको ६८७ को जग्गाको स्रोत बकसपत्रबाट प्राप्त गरेको कारणबाट अंश नलाग्ने फैसला भएकोमा पुनरावेदन अदालत जनकपुरबाट तीमध्ये कुन कित्ता जग्गा राजीनामाबाट प्राप्त गरेको देखी उल्टी गर्ने फैसला गरेको हो सो स्पष्ट छैन ।  जिल्ला अदालत सर्लाहीबाट मेरो नाममा दर्ता रहेको जिल्ला सर्लाही अर्नाहा गा.वि.सं. वडा नं. ४ कि.नं. ६०८ क्षेत्रफल ३-०-० जग्गा बन्डा लगाउने गरी भएको फैसलाउपर मेरो पुनरावेदन परेको र मैले पुनरावेदन अदालत जनकपुरमा पुनरावेदन दर्ता गर्दा आफ्नो पुनरावेदनको प्रकरण नं. ३ को (ग) मा स्पष्ट रूपमा सो कि.नं.६०८ जग्गा साबिकमा कि.नं.३ बाट कित्ताकाट हुँदै आएको र विभिन्न व्यक्तिलाई हस्तान्तरण गरी बाँकी रहेको जग्गा हो । सो जग्गाको स्रोत विजय प्रकाश शर्माले रू.१४,००,०००।- मा मलाई बिक्री गरेको जग्गा हो सो जग्गा खरिदको स्रोतमा मैले २०६३।९।११ मा मेरो निजी जग्गा ललितदेवी कुसवाहालाई बिक्री गरी प्राप्त गरेको रकम रू.५,००,०००।- र लक्ष्मी बैंक वीरगन्जबाट लिएको घर बनाउने ऋण रू.६,७४,०००।- र मेरो निजी आर्जनबाट प्राप्त गरेको जग्गाको आम्दानीसमेतबाट खरिद गरेको निजी सम्पत्ति रहे भएको भनी स्पष्ट उल्लेख गरेकोमा ती प्रमाणको कुनै मूल्याङ्कनै नगरी फैसला भएको छ । 

मैले निजी रूपमा खरिद गरेको जग्गा धन्द्रीकुमार झा, अनिता सिंह, जगन्नाथ झालाई बिक्री गरेको विषयमा वादीले समयमा विवाद नगरेकोबाटै आचरण व्यवहारबाट समेत सो कि.नं.६०८ को जग्गा मेरो निजी आर्जनको सम्पत्ति भएको र स्त्री अंशधनको १ नं.अनुसार र अंशबन्डाको १८ नं.अनुसारको सम्पत्ति बन्डा नलाग्ने प्रस्ट छ । विपक्षी वादीलाई मैले अंश दिनुपर्ने दायित्वसमेत ममा नरहेको र सबै अंशियारले सगोलको सम्पत्तिबाट कमाएर मेरा नाउँमा जग्गा किनिदिएको होलान् भनी सहज अनुमान गर्दा पनि सो कुरा स्वाभाविक नदेखिएको अवस्था प्रस्ट छ । मेरो निजी आर्जनको कि.नं.६०८ को जग्गाबाट अंश दिलाइदिने गरेको सर्लाही जिल्ला अदालतको मिति २०६७१।१९ को फैसला केही उल्टी भई मेरो पुनरावेदन जिकिर नपुग्ने भनी मिति २०६९।३।३१ को पुनरावेदन अदालत जनकपुरको फैसला स्त्री धनको १, अंशबन्डाको १८ नं.सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल हुँदा बदर गरी मेरो निजी आर्जनको कि.नं.६०८ को जग्गा निजी ठहर गरी इन्साफ प्रदान गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सुशिलादेवी सिंहको पुनरावेदनपत्र ।

मानो छुट्टिनुभन्दा अघिका सगोलको सम्पत्तिबाट बढे बढाएको चल अचलमा सबै अंशियारहरू बराबर अंशबन्डा लाग्ने भनी अंशबन्डा महलको १८ नं. ले व्यवस्था रहेको छ । उल्लिखित जमिनहरूको आयस्ता तथा आफ्नो निजी श्रम सिपको आयस्ताबाट म सुशिलादेवीले उक्त कि.नं. ६०८ को ३-०-० जग्गा खरिद गरेको भनी निजले सर्लाही जिल्ला अदालतमा पेस गरेको तायदाती फाँटवारीमा उल्लेख छ । कुन कुन जग्गाको के कति आयस्ता र के कस्तो निजी श्रम सिपको आयस्ताबाट खरिद गरेको भनी आफ्नो जिकिरलाई पुष्टि हुने प्रमाण पेस नगरी हचुवा, अमूर्त बेहोरा उल्लेख गरेकै भरमा अंशबन्डा महलको १८ नं. आकर्षित हुँदैन । निजी आर्जनबाट राजीनामा पास खरिद गरेको सम्पत्ति बन्डा लाग्न नपर्ने भन्ने विपक्षीको भनाइ वस्तुनिष्ठ आधारबाट प्रमाणित हुँदैन । उल्लिखित जग्गा सगोलको सम्पत्तिबाट खरिद गरी बढे बढाएकाले अंशियारहरूबिच बन्डा गर्नुपर्छ । अलगअलग स्थानमा बसी आएका व्यक्तिहरूसँग अलगअलग मितिमा सगोल सम्पत्तिबाट खरिद गरेका जग्गाहरू रजिस्ट्रेसन पास गराउँदा हालैको बकसपत्र नामकरण गरी पास गराउँदैमा अन्य अंशियारहरूको अंशहक नलाग्ने भन्ने 

हुँदैन । मैले विपक्षीहरूबाट पाउनुपर्ने अंशहक सम्पूर्ण सम्पत्ति नपाएकोले यस अदालतमा मैले दायर गरेको पुनरावेदनलाई असर पार्न विपक्षीहरूले गलत बेहोरा उल्लेख गरी दायर गरेको पुनरावेदनपत्र बदर गरी मेरो पुनरावेदन मागबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको लिखित प्रतिवाद ।

ठहर खण्ड

नियमबमोजिम आजको पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक हरिशंकर सिंहका तर्फबाट रहनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा, अधिवक्ताहरू श्री युवराज बन्जाडे र श्री शतिष झाले वादी प्रतिवादीबिच २०३२ सालमा बन्डा भएको होइन, उक्त समयमा मानो छुट्टिएको पनि होइन । हाम्रो पक्षको अंशहक जस्तो नैसर्गिक हकलाई प्रभावित पार्न 

मिल्दैन । सगोल सम्पत्तिबाट खरिद गरेका जग्गाहरू रजिस्ट्रेसन पास गराउँदा हालैको बकसपत्र नामकरण गरी पास गराउँदैमा अन्य अंशियारहरूको अंशहक नलाग्ने भन्ने हुँदैन । सगोलबाट बढे बढाएको सम्पत्तिसमेत निजी ठहर्‍याई बन्डा नलाग्ने गरी पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला उल्टी गरी प्रतिवादीहरूले अदालतमा पेस गरेको तायदाती फाँटवारीहरूमा उल्लेख भएका सबै घर जग्गाहरूबाट ७ खण्डको १ खण्ड अंश पाउनुपर्ने गरी फिरादपत्र एवम् हाम्रो पक्षको पुनरावेदन जिकिरबमोजिम फैसला हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

पुनरावेदक/प्रतिवादी राजेश्वर साहसमेतका तर्फबाट रहनु भएका विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र अधिवक्ता श्री राजिव आचार्यले पुनरावेदक प्रतिवादीले निजी आर्जनबाट खरिद गरेका जग्गाहरूसमेत बन्डा लाग्ने गरी पुनरावेदन अदालतबाट फैसला भएको छ । कुनै अंशियारले आफ्नो ज्ञान वा सिप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंशधनको महलको ५ नम्बरबमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्न वा पाउने अंशियारको निजी ठहरी आफूखुसी गर्न पाउँछ भन्ने अंशबन्डाको १८ नं. को व्यवस्था रहेको छ । यसै प्रकृतिका अरू अंशियारका सम्पत्ति बन्डा नगरी हाम्रो मात्र उल्लिखित निजी आर्जनको सम्पत्तिलाई “बन्डा गर्न कर लाग्दैन” भन्ने कानूनी प्रावधानविपरीत बन्डा लाग्ने ठहर गरेको पुनरावेदन अदालत जनकपुरको फैसलामा मुलुकी ऐन अंशबन्डाको १८ नं. को मनन र विश्लेषण नगरिएको हुँदा उक्त त्रुटिपूर्ण फैसला बदर गरी न्याय इन्साफ पाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।

यसैगरी पुनरावेदक/प्रतिवादी सुशिलादेवी साहका तर्फबाट रहनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री सतिषकृष्ण खरेल र अधिवक्ता श्री नारायणप्रसाद साहले पुनरावेदक प्रतिवादीसँग निजी आर्जनबाट खरिद गरेका जग्गाहरू मात्र रहेको छ । उक्त जग्गा बन्डा लाग्ने होइन । उक्त जग्गासमेत बन्डा लाग्ने गरी भएको फैसला त्रुटिपूर्ण छ । कुनै अंशियारले आफ्नो ज्ञान वा सीप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंशधनको महलको ५ नम्बरबमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुसी गर्न पाउँछ भन्ने अंशबन्डाको १८ नं. ले स्पष्ट गरेको छ । यसै प्रकृतिका अरू अंशियारका सम्पत्ति बन्डा नगरी हाम्रो मात्र उल्लिखित निजी आर्जनको सम्पत्तिलाई “बन्डा गर्न कर लाग्दैन” भन्ने कानूनी प्रावधानविपरीत बन्डा लाग्ने ठहर गरेको पुनरावेदन अदालत जनकपुरको फैसलामा मुलुकी ऐन अंशबन्डाको १८ नं. को मनन र विश्लेषण नगरिएको हुँदा उक्त त्रुटिपूर्ण फैसला बदर गरी न्याय इन्साफ पाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।

यसैगरी पुनरावेदक/प्रतिवादी रामेश्वर साहका तर्फबाट रहनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री सुरेन्द्रकुमार महतोले पुनरावेदक प्रतिवादीसँग निजी आर्जनबाट खरिद गरेका जग्गाहरू र हालैको बकसपत्रबाट आएको जग्गा मात्र रहेको छ । उक्त जग्गा बन्डा लाग्ने होइन । यस अवस्थामा उक्त जग्गा बन्डा लाग्ने गरी भएको पुनरावेदन अदालत जनकपुरको फैसला त्रुटिपूर्ण रहेकोले उक्त त्रुटिपूर्ण फैसला बदर हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

यसैगरी झिकाइएका प्रतिवादी रामबालक र सुधा सिंहका तर्फबाट उपस्थित हुनभएका विद्वान् अधिवक्ताहरू श्री भिम बन्जरा र श्री विपिन कोइरालाले विपक्षी वादी र आमासँग रहेको सम्पत्ति मात्र पैतृक सम्पत्ति हो । पुनरावेदक प्रतिवादीसँग निजी आर्जनबाट खरिद गरेका जग्गाहरू र हालैको बकसपत्रबाट आएको जग्गा मात्र रहेको छ । उक्त जग्गा बन्डा लाग्ने 

होइन । यस अवस्थामा उक्त जग्गा बन्डा लाग्ने गरी भएको पुनरावेदन अदालत जनकपुरको फैसला त्रुटिपूर्ण रहेकोले बदर हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

विद्वान् कानून व्यवसायीको बहस बुँदालाई मध्यनजर गरी मिसिल संलग्न कागज प्रमाणको अध्ययन गरी हेर्दा पुनरावेदन अदालत जनकपुरको फैसला मिले नमिलेको के रहेछ ? पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

यसमा फिराद परेको अघिल्लो मितिलाई चुल्हो मानो छुट्टिएको मिति कायम गरी विपक्षीहरूबाट तायदाती फाँटवारी माग गरी ७ भागको १ भाग अंश छुट्याई चलनसमेत चलाइपाउँ भन्ने हरिशंकर साहको फिरादबाट उठान भएको प्रस्तुत मुद्दामा हामी वादी प्रतिवादीहरू २०३२ सालदेखि नै व्यावहारिक रूपमा घरसारमै अंशबन्डा भई अलग बसेको भए पनि पैतृक सम्पत्ति २-१०-० सोही बेला आमा सुरज देवी र विपक्षी हरिशंकर सिंहसमेतको हकभोगमा छ । सोबाहेक विपक्षी वादी र सबै प्रतिवादीहरूको हाल नाममा रहेका जग्गा जमिन घर वा सबै चल अचल आ-आफ्नै निजी आर्जनका सम्पत्ति हुन् भन्ने वादीबाहेकका प्राय: एकै मिलान बेहोराको छुट्टाछुट्टै प्रतिउत्तर परेको प्रस्तुत मुद्दामा तायदाती फाँटवारीमा निजी भनी उल्लेख गरिएबमोजिमका जग्गाहरू निजी आर्जनको देखिएकोले बन्डा नलाग्ने उक्त जग्गाबाहेक वादी प्रतिवादीले फाँटवारीमा उल्लेख गरेको सम्पूर्ण सम्पत्तिमा वादीले दाबीबमोजिम ७ खण्डको १ खण्ड अंश पाउने गरी सुरू सर्लाही जिल्ला अदालतबाट मिति २०६७।१।१९ मा फैसला भएको देखिन्छ । उक्त फैसलाउपर परेको पुनरावेदनमा सुशिला सिंहले राजीनामाबाट खरिद गरेको जग्गामा सबै अंशियारको हक लाग्ने भनी फैसला गर्नुपर्नेमा निजी ठहर गरेको, सुशिलादेवीले विजय प्रकाशबाट प्राप्त गरेको जग्गामध्ये कि.नं. ६०३ को जग्गा अनितादेवीलाई बकसपत्र गरिदिएको उक्त जग्गा निजी ठहर गरेको मिलेको नदेखिँदा वादीको अंशहक लाग्ने र राजेश्वरले राजीनामाबाट खरिद गरेको सम्पत्ति निजले सवितालाई बकसपत्र गरेको जग्गा निजी आर्जनको भन्न नमिल्ने हुँदा सोमा पनि बन्डा लगाउनुपर्नेमा निजी ठहर गरेको हदसम्म सुरू जिल्ला अदालतको फैसला मिलेको नदेखिँदा सो हदसम्म केही उल्टी हुने गरी पुनरावेदन अदालत जनकपुरबाट भएको फैसलामा चित्त नबुझाई वादी प्रतिवादी दुवै पक्षको यस अदालतमा पुनरावेदन परेको देखिन आयो ।

२. अब, निर्णयतर्फ विचार गर्दा, स्व.फेकु सिंहको श्रीमती सुरजदेवी सिंह र निज सुरजदेवीको गर्भबाट जन्मेका ६ छोराहरूमा पहिलो रामचन्द्र सिंह, दोस्रो छोरा रामबालक सिंह, तेस्रो छोरा रामबाबु सिंह, चौथो छोरा रामेश्वर सिंह, पाँचौं छोरा विपक्षी राजेश्वरप्रसाद सिंह र कान्छो तथा छैठौं छोरा हरिशंकरप्रसाद सिंहसमेत गरी जम्मा ७ जना मूल अंशियार रहेको देखिन्छ । मूल अंशियारमध्ये जेठो रामचन्द्र सिंह स्वर्गवास भइ निजतर्फ श्रीमती सावित्रीदेवी सिंह र निजको छोरा धर्मेन्द्रप्रसाद सिंह रहेको देखिन्छ । यी वादी प्रतिवादीहरूबिच नातामा कुनै विवाद रहेको देखिएन । 

३. पुनरावेदक प्रतिवादीहरूले २०३२ सालदेखि नै पैतृक सम्पत्ति आमा सुरज देवी सिंह तथा वादी हरिशंकरप्रसाद सिंह जिम्मामा रहेकोले आफ्नो ज्ञान सिपबाट आर्जेको र बकसपत्रबाट प्राप्त जग्गा बन्डा लाग्दैन भन्ने मुख्य पुनरावेदन जिकिर रहेकोले त्यसतर्फ विचार गर्दा, मुलुकी ऐन, रजिस्ट्रेसनको १ नं. मा धर्मपुत्र, धर्मपुत्रीको लिखत अचल सम्पत्ति भएकाको मानु छुट्टिएको वा मानु जोरिएको लिखत र अरू गैह्र अचल सम्पत्तिको देहायमा लेखिएबमोजिमको लिखत गर्दा गराउँदा रजिस्ट्रेसन गराउनुपर्छ भन्ने व्यवस्था रहेको पाइन्छ । अंशबन्डाको महलको ३० नं. मा अंशबन्डा गर्दा साक्षी राखी कानूनबमोजिम बन्डा छुट्याई बन्डापत्रको कागज खडा गरी लिने दिनेको र साक्षीको समेत सहीछाप गरी रजिस्ट्रेसन गर्नुपर्नेमा सो गरिराख्नुपर्छ । सोबमोजिम नभएको बन्डा सदर हुँदैन । तर यो ऐन प्रारम्भ हुँदासम्ममा बन्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबन्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाब भागशान्तिबमोजिम लिई पाई दाखिल खारेजसमेत गराइसकेको वा बन्डाबमोजिम आफ्नो आफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बन्डा भइसकेको ठहरेमा पछि बन्डापत्र रजिस्ट्रेसन भएको छैन वा बन्डा घटीबढी असल कमसल भयो भन्न 

पाउँदैन । रजिस्ट्रेसन नभए पनि बन्डा भएको सदर हुन्छ । पाउने अंशभन्दा घटी अंश जिउनी लिएकोमा र अंश छोडपत्र गरेकोमा भने रजिस्ट्रेसन भएको हुनुपर्छ  भन्ने व्यवस्था रहेको पाइन्छ ।

४. यसर्थ वादी प्रतिवादीहरू अलग बसेको लिखत, अंशबन्डा भएको लिखत, मानो छुट्टिएको लिखतसमेत मालपोत कार्यालयमा रजिस्ट्रेसन गराउनुपर्छ । अंश नभए पनि मानो छुट्टिई भिन्न बसेका वा रजिस्ट्रेसन नगरी खतीउपती आफ्नो आफ्नो गरी आफ्नो हिस्सासँग मात्र राखी खानु पिउनु गरेकोमा एकै ठाउँमा भए पनि मानो छुट्टिई भिन्न भएको मान्नुपर्ने हुन्छ । त्यस्तो कमाएको धन लाएको ऋण आफ्नो आफ्नो हुन्छ । त्यस्तो मानो छुट्टिएको जिकिर लिनेले सोको प्रमाणबाट सिद्ध गर्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरूले २०३२ सालदेखि नै आ-आफ्नो व्यवहार स्वतन्त्र रूपले गरेको भनी प्रतिवाद जिकिर लिएको भए तापनि सोको ठोस प्रमाण प्रतिवादीहरूले पेस गर्न सकेको पाइँदैन । प्रस्तुत मुद्दामा २०३२ सालदेखि नै भिन्न भएको भन्न वादी प्रतिवादीहरूले घर जग्गाहरू आआफ्नो नाममा ७ नं. फाँटवारी भरी दर्ता भोग गरेको वा घरसारमा छुट्टिई भिन्न भएको वा अन्य तथ्यगत कुनै प्रमाणसमेत पेस दाखिला भएको नदेखिएको हुँदा यी वादी प्रतिवादीहरू सगोलमा रहेको मान्नुपर्ने हुँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति मान्नुपर्ने देखिन आयो । 

५. प्रचलित कानून एवं सर्वोच्च अदालतबाट विभिन्न मुद्दामा प्रतिपादन भएका व्याख्यात्मक सिद्धान्तसमेतबाट अंशलाई नैसर्गिक हकको रूपमा ग्रहण गरिएको पाइन्छ । नैसर्गिक हकाधिकारको रूपमा रहेको अंश के कस्तो सम्पत्तिमा लाग्ने वा नलाग्ने भन्नेतर्फ हेर्दा, प्रमाण ऐन, २०३१ को दफा ६(क) मा अन्यथा प्रमाणित नभएसम्म एकाघरका अंशियारहरूमध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्न सक्ने भन्ने कानूनी व्यवस्थासमेत रहेको 

देखिन्छ । साथै मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. मा मानो नछुट्टिई सँग बसेका अंशियार छन् भने जुनसुकै अंशियारले सगोलको सम्पत्तिबाट वा सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट बढे बढाएको सगोलको आर्जन र लेनदेन व्यवहारको महलको ८ नम्बरबमोजिम लगाएको ऋण सबै अंशियारलाई भाग लाग्छ । सोबाहेक कुनै अंशियारले आफ्नो ज्ञान वा सिप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंश धनको महलको ५ नम्बरबमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुसी गर्न पाउँछ बन्डा गर्न कर लाग्दैन भन्ने कानूनी व्यवस्था रहेको 

देखिन्छ । छोराछोरीको हकमा बाबु आमाको सम्पत्ति जुनसुकै बेहोराबाट प्राप्त गरे तापनि सगोलको सम्पत्ति मान्नुपर्ने व्याख्या अंशबन्डाको विधिशास्त्रको रूपमा क्रियाशील रहेको पाइन्छ । 

६. मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. समेतको परिप्रेक्ष्यमा कस्ता सम्पत्ति सगोलिक र कस्ता सम्पत्ति निजी आर्जनको भई बन्डा नलाग्ने भन्नेतर्फ हेर्दा "पैतृक सम्पत्तिको योगदान रहेको भन्ने तथ्य कहीँकतैबाट स्थापित हुन नसकेको सम्पत्तिमा कसैको निजी आर्जनबाट जोडेको सम्पत्तिलाई सगोलको सम्पत्ति मान्न नसकिने...कुनै सम्पत्ति निजी ज्ञान, सिप र प्रयासको परिणती हो भन्ने तथ्य स्थापित भएको अवस्थामा त्यस्तो ज्ञान, सिप र प्रयासको अवलम्बन हुने गरी व्यवहार गरिनु नहुने" भनी योगेन्द्र मान श्रेष्ठसमेत वि. रीता श्रेष्ठ भएको अंश चलन मुद्दामा (ने.का.प. २०६७, अङ्क १० नि.नं. ८४७५) मा व्याख्या भएको पाइन्छ । त्यस्तै जमकदित मिया वि. जियाउल हुसेन मियासमेत भएको अंश मुद्दामा (ने.का.प. २०६९, अङ्क ५ नि.नं. ८८३०) "अंशबन्डाको १८ नं. परिवार सदस्यको उद्यमशीलतालाई संरक्षण र प्रोत्साहन दिने कानून 

हो । सम्पत्तिको आर्जनको इतिहास, स्रोत र लगानीको प्रकृति विश्लेषण गरी न्यायिक निष्कर्षमा पुगिएन भने अंशबन्डाको १८ नं. को उद्देश्य र मर्म मर्न पुग्ने" भनी अंशबन्डाको महलको १८ नं. को आवश्यकता, औचित्यता र विशिष्टताको विवेचना गरिएको पाइन्छ । प्रस्तुत मुद्दामा पनि वादी प्रतिवादीबिच नातामा विवाद नरहेकोले एकापसका अंशियारा भएकोमा र अंशबन्डा भएको भन्ने यकिनन् आधार प्रमाण नभएकोले वादी प्रतिवादीहरू सगोलमा नरहेको भन्न सकिने अवस्था रहेन । अतः प्रस्तुत मुद्दामा मूलतः विवादको सन्दर्भ वादी प्रतिवादीसँग रहेका सम्पत्तिमध्ये कुन सम्पत्ति एकासगोलका भई बन्डा लाग्ने र कुन सम्पत्ति निजी ज्ञान सिप प्रयासबाट प्राप्त भई बन्डा नलाग्ने भन्ने भएकोले सो सम्पत्तितर्फ विवेचना हुनुपर्ने देखिन 

आयो । 

७. यसरी निजी आर्जनको सम्पत्ति हो होइन भन्ने सन्दर्भमा विवेचना गर्दा अंशियारहरूको पारिवारिक अवस्था, व्यवहार कारोबारको समयको अन्तराल, अंशियारहरूबिचका सम्पत्तिको आर्जनमा देखिएका सामूहिक लगानी वा प्रयत्नका स्थितिहरूसमेतका प्रमाणको प्रचुरता (Preponderance of Evidence) को रोहलाई सारतः रूपमा ग्रहण गर्नुपर्ने हुन 

आउँछ । अब उपर्युक्त अंशबन्डा सम्बन्धमा भएका प्रचलित कानून, सर्वोच्च अदालतका पटकपटकका व्याख्याबाट निर्देशित अंशबन्डाको विधिशास्त्रसमेतका कोणबाट प्रस्तुत मुद्दामा वादी प्रतिवादीको सम्पत्तिको विवेचना गरी न्यायिक निष्कर्षमा पुग्नुपर्ने देखिन 

आउँछ । यस  सन्दर्भमा वादी प्रतिवादीबिच रहेको विवादका सम्पत्तिको अवस्था एवं प्राप्तिका आधारहरूलाई देहायबमोजिम देखाउन सकिन्छ । 

 

 

नाम जग्गा रहेको स्थान जग्गाको कि.नं. क्षेत्रफल प्राप्त माध्यम पक्षको जिकिर पुनरावेदन अदालतको फैसला 

अनिता सिंह पर्सा जिल्ला, नकटुवा (वी.) वडा नं.१   ५६० ०-१-१२ र.नं.४७३ बाट मिति ०५४।४।१५ मा राजीनामाबाट खरिद निजी आर्जनको जिकिर निजी आर्जनको र बन्डा नलाग्ने भनी पुनरावेदन अदालतबाट फैसला भएको

अनिता सिंहसर्लाही, मिर्जापुर, वडा नं.१२२३०-२-१७र.नं. १५३२० मिति ०५९।३।१० को पारित राजीनामाबाट खरिदनिजी आर्जनको जिकिर

"

अनिता सिंह पर्सा, बगही, वडा नं.५ ४०० १-०-० र.नं.११७४ मिति ०५५।६।९ को पारित हालैको दर्ता बकसपत्र निजी आर्जनको जिकिर "

अनिता सिंह पर्सा, श्रीपुर (वी), वडा नं.४ ३९२ ०-०-१० र.नं. २९९३ मिति ०५१।१०।९ को पारित हालैको बकसपत्र निजी आर्जनको जिकिर "

अनिता सिंह सर्लाही, अर्नाहा ६०३ १-१०-० र.नं.२१८९ मिति ०६३।९।१२  को हालैको बकसपत्रबाट सुशिलादेवी राजपूतबाट प्राप्त निजी आर्जनको जिकिर बन्डा लाग्ने गरी पुनरावेदन अदालतबाट फैसला भएको

सविता सिंह रौतहट, गम्हरिया विर्ता, वडा नं.३ ६५६

६४९ ६६३ ६५०,

६५३, ६५९, ४४० २-१०-०

०-१६-१०

०-१८-०

०-२-०

०-३-५

०-२-०

०-९-० आफ्नो बाबुबाट मिति ०४७।२।१५ मा शेषपछिको बकसपत्रबाट प्राप्त निजी आर्जनको जिकिर निजी आर्जनको भनी बन्डा नलाग्ने गरी पुनरावेदन अदालतबाट फैसला भएको

सविता सिंह रौतहट, पुरेनवा, वडा नं.४ १९२७ ०-०-१० राम बालक साह कानूबाट मिति ०५१।३।९  मा हालैको बकसपत्रबाट प्राप्त निजी आर्जनको जिकिर "

सविता सिंह रौतहट, चन्द्रनिगाहपुर वडा नं.१ १३३३ ०-२-० राजेश्वरप्रसाद सिंहबाट मिति ०६५।४।१६ मा हालैको बकसपत्रबाट प्राप्त निजी आर्जनको जिकिर बन्डा लाग्ने भनी पुनरावेदन अदालतबाट फैसला भएको 

सविता सिंह पर्सा,  नगवार, वडा नं.३ ५०४ ०-०-१११/२ मिति ०५५।६।३० मा मोतिलाल गुप्ताको नामबाट राजीनामा निजी आर्जनको जिकिर निजी आर्जनको बन्डा लाग्ने भनी पुनरावेदन अदालतबाट फैसला भएको

सुधा सिन्हा पर्सा, नौतनी (बि), वडा नं.९ ३३३ ०-०-१६-१३ र.नं.४३१ बाट मिति ०४९।२।१२ मा पारित हालैको बकसपत्र निजी आर्जनको जिकिर  

"

सुधा सिन्हा पर्सा, नौतनी (वी), वडा नं.९ ३३५ ०-१-३-३ र.नं.४३१ बाट मिति ०४९।२।१२ मा पारित हालैको बकसपत्र निजी आर्जनको जिकिर "

सुधा सिन्हा पर्सा, श्रीपुर (वी), वडा नं.४ १२ ०-०-११ र.नं.७५० बाट मिति ०५१।५।१५ मा हालैको बकसपत्रबाट प्राप्त निजी आर्जनको जिकिर "

सुधा सिन्हा बारा, नौतन, वडा नं.५ २४ ०-२-० र.नं.६२६७ बाट मिति ०५३।१।७ मा हालैको बकसपत्रबाट प्राप्त निजी आर्जनको जिकिर "

सुधा सिन्हा सप्तरी, मलेढ, वडा नं.१ ४८७ ०-२-० र.नं.१३७२ बाट मिति ०४६।८।४ मा राजीनामाबाट पारित निजी आर्जनको जिकिर "

सुधा सिन्हा पर्सा, मजडिहाप्रिया (वी), वडा नं.५ १२९ ०-१-३ र.नं.१९८२ बाट मिति २०६१।७।३० मा राजीनामाबाट पारित निजी आर्जनको जिकिर "

सुधा सिन्हा पर्सा, नकटुवा(वी), वडा नं.१ ५७१ ०-२-० र.नं.४७४ बाट मिति ०५४।४।२८ मा राजीनामाबाट पारित निजी आर्जनको जिकिर "

सुधा सिन्हा पर्सा, नौतन, वडा नं.८ ३७० ०-१-० र.नं.५०२६ बाट मिति ०५०।१।२७ मा हालैको दर्ता बकसपत्रबाट प्राप्त निजी आर्जनको जिकिर "

सुशिलादेवी सिंह अर्नाहा, वार्ड नं.७ २९८ ०-१-३ नारायण महतोले मिति २०५०।५।१७ मा र.नं.६६९ बाट हालै देखिको बकसपत्र निजी आर्जनको जिकिर "

सुशिलादेवी सिंह अर्नाहा, वार्ड नं.५ २५५ ०-१-६३/४ हरिहर महतो कोइरीले र.नं.४६१बाट मिति ०५५।४।२६ मा हालैको बकसपत्रबाट प्राप्त निजी आर्जनको जिकिर "

सुशिलादेवी सिंह जिल्ला सप्तरी, बलरा वार्ड नं.७ क २४४ ०-२-८ कल्यानी देवीले मिति ०५५।१।६ मा हालैको बकसपत्रबाट प्राप्त निजी आर्जनको जिकिर "

सुशिलादेवी सिंह पर्सा,श्रीपुर विरगंज, वार्ड नं.४ ६६७ कि.का भई कायम ६८७ ०-०-८ उषा शाहले मिति २०५६।४।२७ मा हालैको बकसपत्रबाट प्राप्त निजी आर्जनको जिकिर "

सुशिलादेवी सिंह सप्तरी, अर्नाहा, वार्ड नं.४ ६०८ ३-०-० राजीनामाबाट प्राप्त कि.नं.३ को जग्गा कि.का हुँदै आएको निजी आर्जनको जिकिर बन्डा लाग्ने सगोलको भनी पुनरावेदन अदालतबाट फैसला भएको

रामबाबु सिंह अर्नाहा, वार्ड नं. ९ क ७९ ०-५-५ निजी आर्जनको जिकिर  "

रामबाबु सिंह अर्नाहा, वार्ड नं. ८ २२० ०-९-७१/२ " "

रामबाबु सिंह अर्नाहा, वार्ड नं. ७ ३८६ ०-३-१४ " "

रामबाबु सिंह बलरा, वार्ड नं. ७क १९२ ०-०-१५ " "

रामबाबु सिंह बलरा, वार्ड नं. ७क १९४ ०-१-१३       " "

रामबाबु सिंह रौतहट, सिर्सिया, ८ १३९ ०-१-१८ " "

रामचन्द्र सिंह १५२ समेतको १४ कित्ता " "

फेकु सिंह ४२ समेत १० कित्ता सगोलको सम्पत्ति "

हरिशंकरप्रसाद सिंह अर्नाहा, वार्ड नं.७ ६७ ०-५-० सगोलको सम्पत्ति "

हरिशंकरप्रसाद सिंह अर्नाहा, वार्ड नं.७ ४०० ०-५-१३ सगोलको सम्पत्ति "

हरिशंकरप्रसाद सिंह अर्नाहा, वार्ड नं.७ ५३८ ०-०-१० सगोलको सम्पत्ति "

हरिशंकरप्रसाद सिंह अर्नाहा, वार्ड नं.७ १३१ ०-१-१० सगोलको सम्पत्ति "

हरिशंकरप्रसाद  सिंह अर्नाहा, वार्ड नं.७ ५४३ ०-०-४ सगोलको सम्पत्ति बन्डा लाग्ने 

 

 

८. अब वादी प्रतिवादीसँग साथ रहेका उपर्युक्त जग्गा जमिन घर सम्पत्तिसमेतका सम्बन्धमा बन्डा लाग्ने सगोल र बन्डा नलाग्ने निजी आर्जनका भनी सर्लाही जिल्ला अदालत तथा पुनरावेदन अदालत जनकपुरले गरेको न्यायिक व्याख्या, वादी प्रतिवादीको पुनरावेदन जिकिर एवं सम्बद्ध प्रमाण तथा सर्वोच्च अदालतबाट भएका न्यायिक व्याख्यासमेतको रोहबाट विवेचना गर्नुपर्ने देखिन आयो । तत् सम्बन्धमा हेर्दा, वादी प्रतिवादीको पारिवारिक अवस्था एवं पृष्ठभूमिको समेतलाई मनन गरी वादी प्रतिवादीहरूले आर्जन गरेको सम्पत्तिको विवेचना गर्नुपर्ने देखिन आउँछ । फेकु सिंह र सुरज देवीका ६ जना छोराहरू रहेको र फेकु सिंहको मृत्यु भइसकेको र निजका नाममा कि.नं. ४२ समेतका क्षेत्रफल २-१०-० बिगाहा जग्गा पैतृक अवस्थादेखि रहे भएको देखिन्छ । वादीबाहेक अन्य सबै प्रतिवादीहरूको भनाइ २०३२ सालदेखि नै छोराहरू धेरै भएका र घर व्यवहार चलाउन कठिन भई आ-आफ्नो श्रम सीप गरी निजी तवरले सम्पत्ति आर्जन गरी भोग चलन गरी आएको भन्ने रहेको देखिन्छ । निज प्रतिवादीहरूको भनाइ बेहोरालाई वादीकी आमा सुरज देवीले समेत समर्थन हुने गरी प्रतिउत्तर जिकिर गरेको देखिन्छ । प्रतिवादीहरू सबै जना कोही शिक्षक पेसामा रहेको, कोही बैंकको कर्मचारी भएको समेतका विभिन्न पेसामा रहे भएको र सो पेसाबाट आयआर्जन गरेको देखिन्छ । त्यस्तै प्रकारले प्रतिवादीहरूका कोही पत्नीहरू पनि शिक्षिका रहेको अवस्था देखिन 

आउँछ । अंश नैसर्गिक हक भएको र त्यस्तो अंश पैतृक सम्पत्ति वा सोबाट बढे बढाएको सम्पत्ति वा सगोलका अंशियारहरूको सामूहिक लगानी प्रयत्न वा मेहनतको कमाइबाट आर्जित सम्पत्ति सगोलको सम्पत्ति भई बन्डा लाग्ने अवस्था हुन आउँछ । घर परिवारको सामान्य संरचनागत अवस्था पनि सगोलको सम्पत्ति हो वा होइन भन्ने खुट्याउन मद्दतगार हुन सक्ने अवस्था रहन आउँछ । अमुक सम्पत्ति आर्जनको अवस्था, आर्जन हुन सक्ने स्रोतको मूल्याङ्कन, परिवारका विभिन्न सदस्यका नाममा आर्जित हुन सक्ने सम्भावित आधारसमेतका समग्र अवस्थाको विवेचना गरी प्रमाणको प्रचुरता (Preponderance of Evidence) समेतको रोहबाट तत् सम्पत्तिको अवस्थाको निर्क्यौल गर्नुपर्ने हुन आउँछ ।

९. अब, प्रतिवादी सुधा सिंहको नाउँमा कायम हुन आएको कि.नं. ३३३समेतका ८ कित्ता जग्गाहरू बन्डा नहुने निजी आर्जनको सम्पत्ति भनी भएको फैसलाउपर परेको पुनरावेदन जिकिरतर्फ हेर्दा, प्रतिवादी रामबालक सिंह २०३९ सालमा प्रा.वि.नि. पदमा नियुक्त भई मा.वि.नि. पदबाट २०६३ सालमा अवकाश पाएको र निजको श्रीमती सुधा सिंहसमेत २०४५ सालदेखि शिक्षक पदमा कार्यरत रहेको 

देखिन्छ । निज सुधा सिंहका नाममा रहेको कि.नं. ४८७ को ०-२-० जग्गा मिति २०४६।८।४ मा रू.२०,०००।-– मा राजीनामा लिखतबाट,  मिति २०५४।४।२८ मा कि.नं. ५७१ को ०-२-० जग्गा रू ४०,०००।–मा राजीनामा लिखतबाट र कि.नं. १२९ को ०-१-३ जग्गा रू ५,००,०००।– मा मिति २०६१।७।३० मा खरिद गरेको मिसिल संलग्न कागजातबाट देखिन्छ । रामबालक सिंह २०३९ सालदेखि लगातार जागिरमा रहेको र सुधा सिन्हा पनि २०४५ सालदेखि शिक्षिका रही नियमित रूपमा तलबभत्ता बुझेको प्रमाणसमेत पेस भई मिसिल सामेल गरेको देखिन्छ । यसरी राम बालक सिंह र निजको श्रीमती सुधा सिंहले आफ्नो ज्ञान सिपको प्रयासबाट रकम आर्जन गरेको भन्ने निजहरूको जिकिर रहेको र निजहरूले वैयक्तिक रूपमा आर्जित रकमबाट जग्गाहरू खरिद गर्न सक्ने हैसियत रहे भएको र सो सम्पत्ति आर्जनमा अन्य अंशियारको भूमिका नदेखिएको स्थितिमा निजहरूको स्वआर्जनको कथन समर्थित रहेको देखिन आउँछ । 

१०. त्यस्तै सुधा सिंहका नाउँमा कायम हुन आएको कि.नं. ३३३, २४, ३७०, ३३५ र १२ समेतका जग्गाहरू हालैको बकसपत्रबाट प्राप्त गरेको देखिन्छ । उक्त जग्गाहरूको पारित लिखत बेहोरा हेर्दा निजले सरसहयोग गरी रिझबापत दाताले खुसीले आफ्नो हक पुग्ने सम्पत्ति निजलाई प्रदान गरेको भन्ने देखिन आउँछ । निजका नाममा बकसबाट प्राप्त सम्पत्ति आर्जनमा सगोलका अन्य अंशियारहरूको कुनै मेहनत सिप लगानी केही रहे भएको देखिँदैन । बकसपत्रबाट प्राप्त सम्पत्ति अन्यथा प्रमाणित भएमा बाहेक पाउनेको निजी ठहरी आफूखुसी गर्न पाउने भन्ने अंशबन्डाको महलको भावना र मर्म रहेको हुँदा बकस पाएको सम्पत्तिलाई निजी आर्जनको सम्पत्ति मान्नुपर्ने हुन्छ । 

११. प्रतिवादी सुशिलादेवी सिंहका नाउँमा कायम रहेका कि.नं. २९८, २५५, २४४ र ६६७ का जग्गाहरू निजलाई क्रमशः नारायण महतो, हरिहर महतो, कल्याणी देवी, उषा शाहसमेतका व्यक्तिहरूले हालैको बकसपत्र गरिदिएको देखिन्छ । हालैको बकसपत्रबाट प्राप्त उक्त जग्गाहरू बन्डा नलाग्ने निजी आर्जनका जग्गा हुन भन्ने निजको प्रतिउत्तर जिकिर देखिन्छ । उक्त जग्गाहरूको लिखत हेर्दा पनि दातालाई रिझाएबापत प्राप्त गरेको देखिन्छ ।

१२. निज सुशिला सिंहका नाममा कायम हुन आएको कि.नं.६०८ को ३-०-० जग्गा साबिक कित्ता नं.३ बाट कित्ताकाट हुँदै आएको देखिन्छ । साबिक कित्ता नं. ३ को ७-०-० जग्गा रू. १४,००,०००।–मा विजयप्रकाश शर्माबाट मिति २०६३।९।१२ मा खरिद गरेको र उक्त जग्गा खरिद गर्नको लागि सर्लाही, मलंगवा- ६ को कि.नं.३३१, सर्लाही अर्नाहा- ४ को ६०५ र ६०४ को जग्गा बिक्री गरेको र लक्ष्मी बैंकबाट घर बनाउने शीर्षकमा रू.६,७४,०००।– ऋण लिएको रकममा निजी जग्गाको आम्दानीसमेत थप गरी खरिद गरेको भनी सोको समर्थनयोग्य प्रमाणको रूपमा जग्गाको राजीनामाको लिखत र बैंक ऋणको स्टेटमेन्टसमेत पेस गरेको देखिन्छ । साबिकमा खरिद गरेको कि.नं. ३ को जग्गा नै अन्य व्यक्तिलाई बिक्री गरेको र हालैको बकसपत्र दिएर बाँकी हुन आएको कि.नं. ६०८ को जग्गा हुँदा उक्त जग्गा आफ्नो ज्ञान सिपबाट आर्जन गरेको देखिएकोले सो जग्गासमेत बन्डा लाग्ने प्रकृतिको मान्न मिल्ने नदेखिएकोले तत् सम्बन्धमा पुनरावेदन अदालतले बन्डा लाग्ने गरी गरेको फैसला मिलेको देखिन आएन । 

१३. प्रतिवादी सविता सिंहका नाउँमा कायम रहेका कि.नं. ६५६, ६४९, ६६३, ६५०, ६५३, ६५९, र कि.नं. ४४० समेतका जग्गाहरू निजलाई निजका बाबु सत्यानन्द सिंहबाट मिति २०४७।२।१६ मा शेषपछिको बकसपत्रबाट प्राप्त भएको देखिन्छ । शेषपछिको बकसपत्रबाट प्राप्त सम्पत्तिमा वादी पक्षबाट समेत दाबी रहेको देखिएन । त्यस्तै कि.नं. १९२७ को क्षेत्रफल ०-०-१० जग्गा राम बालक साह कानूबाट मिति २०५१।३।९ मा हालैको बकसपत्रबाट निजी तवरबाट प्राप्त गरेको देखिन आउँछ । 

१४. कि.नं. १३३३ को क्षेत्रफल ०-२-० रामेश्वरप्रसाद सिंहबाट मिति २०६५।४।१६ मा सविता सिंहले हालैको बकसपत्रबाट प्राप्त गरेको देखिन्छ । हालैको बकसपत्रबाट प्राप्त जग्गाहरूको लिखत कैफियत हेर्दा दातालाई रिझाएबापत प्रदान गरेको देखिन्छ । उक्त जग्गाहरू सगोलको आर्जन वा मेहनत वा परिश्रम परी आर्जित भएको भन्ने केही देखिँदैन । कोही दाताले व्यक्तिगत रूपमा कसैले रिझाएबापत वा खुसी पारेबापत प्रदान गरेको सम्पत्ति निजी आर्जनको हुने भएकोले बन्डा गर्न कर नलाग्ने कानूनी व्यवस्थासमेत रहे भएको देखिन आउँछ । तसर्थ, कि.नं.१३३३ लाई बन्डा लाग्ने सगोलको सम्पत्ति भनी पुनरावेदन अदालतले गरेको फैसला मनासिब मान्न मिल्ने देखिएन ।

१५. कि.नं.५०४ को क्षेत्रफल ०-०-१११/२ को जग्गा मोतिलाल गुप्ताबाट र.नं.१४१८ मिति २०५५।६।३० मा राजीनामाबाट रू.१९०००।– मा सवितादेवी सिंहले खरिद गरेको देखिन आउँछ, प्रतिवादी सवितादेवी सिंहको श्रीमान् राजेश्वर सिंह नेपाल बैंक लिमिटेडमा सहायक पदमा कार्यरत रही विभिन्न मितिहरूमा विभिन्न प्रकारको कर्जा लिएको बेहोरा नेपाल बैंक लि.को मिति २०६६।०९।८ को पत्रबाट देखिँदा निजले उक्त सम्पत्ति आर्जन गर्न सक्ने देखिन्छ । आफ्नो पतिको आर्जन तथा कर्जाबाट खरिद गरेको सम्पत्तिलाई निजी आर्जनको मान्नुपर्ने देखिन्छ । अत: उक्त कित्ता जग्गाहरू निजी आर्जनको देखिँदा सो सम्पत्ति बन्डा गर्नु नपर्ने भनी पुनरावेदन अदालतको फैसला अन्यथा दखिन आएन । 

१६. प्रतिवादी अनिता सिंहका नाउँमा कायम हुन आएको कि.नं. ५६०, २२३, ४०० र ३९२  समेतका जग्गाहरू बन्डा हुनुपर्ने भन्ने पुनरावेदन जिकिरतर्फ हेर्दा, प्रतिवादी अनिता सिंहका पति रामेश्वरप्रसाद सिंहले २०३८ सालदेखि मा.वि. शिक्षक पदमा र निजको श्रीमती अनिता सिंहसमेत २०५० सालदेखि शिक्षक पदमा कार्यरत रहेको देखिन्छ । निज अनिता सिंहका नाममा रहेको कि.नं. ५६० को ०-१-१२ जग्गा रू.४०,०००।– मा मिति २०५४।०४।१५ मा राजीनामा लिखतबाट, कि.नं. २२३ को ०-२-१७ जग्गा मिति २०५९।३।१० मा राजीनामाबाट रू. ४५,०००।– मा विभिन्न मितिमा खरिद गरेको मिसिल संलग्न कागजातबाट देखिन्छ । निजहरूले आफ्नो ज्ञान सिपको प्रयासबाट आर्जेको रकमबाट उक्त जग्गाहरू खरिद गरेको भनी प्रतिवाद जिकिर लिएको र मिसिल संलग्न कागजातबाट निजहरूले प्राप्त गरेको पारिश्रमिकसमेतबाट उक्त जग्गा खरिद गर्न सक्ने नै देखिन्छ । अनिता सिंहका नाममा कायम रहेको कि.नं. ४००, ३९२ जग्गा अनिता सिंहले हालैको बकसपत्रबाट प्राप्त गरेको देखिएको, उक्त जग्गा प्राप्त गर्नमा कसैको लगानी नरहेको, दातालाई रिझाएबापत निजी तवरले प्राप्त गरेको उक्त जग्गाहरू निजी आर्जनको भएको देखिँदा बन्डा नलाग्ने प्रकृतिको देखिन्छ । 

१७. निजका नाममा रहेको कि.नं. ६०३ को जग्गा बन्डा लाग्ने गरी पुनरावेदन अदालतबाट भएको फैसला त्रुटिपूर्ण छ भन्ने निजको पुनरावेदन जिकिरतर्फ हेर्दा, कि.नं. ६०३ को जग्गा निज अनिता देवीले सुशिलादेवी राजपूतबाट मिति २०६३।९।१२ मा हालैको बकसपत्रबाट प्राप्त गरेको देखिन्छ । उक्त जग्गा साबिक कि.नं.३ बाट कित्ताकाट हुँदै हालको कि.नं. ६०३ कायम हुन आएको देखिन्छ । साबिक कि.नं.३ को ७-०-० जग्गा सुशिलादेवीले रू. १४,००,०००।– मा आफ्नो निजी स्रोतबाट खरिद गरेको भन्ने बेहोरा माथि विवेचना भइसकेको छ । यसरी दाताको स्रोतमा नै निजी आर्जनको ठहरी आफूखुस गर्न पाउने जग्गा एकै अंशियारबिचको अर्को व्यक्तिलाई बकसपत्र गरेको मात्र आधारमा उक्त कि.नं. ६०३ को जग्गालाई सगोलको सम्पत्ति मान्न मिल्ने देखिएन । 

१८. माथि प्रकरण प्रकरणमा विभिन्न अंशियारका नाममा बकसपत्रबाट प्राप्त जग्गाहरूका सम्बन्धमा सर्वोच्च अदालतसमेतले विभिन्न मुद्दाहरूमा अंशियारको कुनै सामूहिक मेहनत, प्रयास वा लगानी नभएको र कसै दाताले रिझाएबापत प्रदान गरेकोमा बन्डा गर्न कर नलाग्ने भनी व्याख्या गरेको पाइन्छ । यदि सगोलका परिवार सबैको श्रम, सिप र प्रयास परेको छ भने त्यसमा कसैको पनि हक नमरोस् र यदि कुनै एक अंशीको मात्र निजी ज्ञान, सिप, श्रम र प्रयास परेको छ भने त्यसमा सहभागी नहुने अरू परिवारका सदस्यलाई भाग बन्डा नलागोस् भन्ने कुरामा ध्यान दिनुपर्नेसमेत भनी यस अदालतबाट भएका फैसलाहरू जस्तै माथि विवेचित जमरूद्दिन मियाँ विरूद्ध हुसेन मियाँसमेत (ने.का.प.२०६९, अङ्क ५, नि.नं.८८३०) र योगेन्द्रमान श्रेष्ठ विरूद्ध रीता श्रेष्ठ (ने.का.प.२०६७, अङ्क १०, नि.नं.८४७५) समेतका अंश चलन मुद्दामा प्रतिपादन गरेको सिद्धान्त प्रस्तुत मुद्दामा समेत आकर्षित भई प्रतिवादीहरूले आफ्नो ज्ञान सिप प्रयासबाट प्राप्त जग्गाहरूसमेतका सम्पत्तिहरू निजी आर्जनको सम्पत्ति रहेको देखिई बन्डा गर्न कर नलाग्ने अवस्थाको देखिन आउँछ ।  अंशबन्डा नभई सगोलमा रहेको सम्पत्तिबाट बढे बढाएको सम्पत्ति सगोलको नै मान्नुपर्ने भए तापनि कुनै अंशियारले आफ्नो ज्ञान वा सिप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंश धनको महलको ५ नम्बरबमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्न वा पाउने अंशियारको निजी ठहरी आफूखुसी गर्न पाउँछ बन्डा गर्न कर लाग्दैन भन्ने कानूनी व्यवस्थासमेतबाट दान बकसबाट पाएको सम्पत्ति र निजी आर्जनको सम्पत्ति बन्डा गर्न कर नलाग्ने अवस्थाको देखिन आयो । अतः माथि उल्लिखित जग्गाहरूसमेत बन्डा लाग्नुपर्छ भन्ने पुनरावेदक वादी जिकिरसँग सहमत हुन सक्ने अवस्था रहन आएन ।

१९. तसर्थ, वादी प्रतिवादीले फाँटवारीमा उल्लेख गरेको निजी आर्जनका सम्पत्ति बन्डा नलाग्ने र सगोलका सम्पत्तिमा वादी दाबीबमोजिम ७ खण्डको १ खण्ड वादीले अंश पाउने र कि.नं. १३३३, ६०३  र ६०८ को जग्गा निजी आर्जनको ठहर गर्नुपर्नेमा सो नगरी बन्डा लाग्ने गरी पुनरावेदन अदालत जनकपुरबाट मिति २०६९।३।३१ मा भएको फैसला मिलेको नदेखिँदा सो हदसम्म केही उल्टी भई कि.नं. १३३३, ६०८  र ६०३ को जग्गासमेत निजी आर्जनको भई बन्डा नलाग्ने ठहर्छ । प्रतिवादीका निजी आर्जन ठहर भएका जग्गासमेत बन्डा लगाइपाउँ भन्ने वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम निजी ठहर्‍याउनुपर्ने सम्पत्तिसमेत बन्डा लाग्ने गरी भएको हदसम्म पुनरावेदन अदालत जनकपुरको फैसला उल्टी हुने ठहर फैसला भएकोले  सुरू सर्लाही जिल्ला अदालत र उच्च अदालत जनकपुरले निजी ठहर गरेको जग्गाहरूको अतिरिक्त प्रतिवादी सुशिलादेवी सिंहको नाममा रहेको कि.नं. ६०८, प्रतिवादी अनिता सिंहको नाममा रहेको कि.नं. ६०३ र प्रतिवादी सविता सिंहका नाममा रहेको कि.नं. १३३३ समेतका जग्गाहरूबाहेक गरी दुवै पक्षबाट पेस भएको तायदाती फाँटवारीमा उल्लिखित बन्डा लाग्ने सगोलको सम्पत्तिलाई ७ खण्ड गरी सो ७ खण्डको १ खण्ड सम्पत्ति बन्डा छुट्याइपाउँ भनी वादी प्रतिवादीहरू ऐनका म्यादभित्र दरखास्त दिन आए नियमले लाग्ने दस्तुर लिई बन्डा छुट्याइदिनु भनी सुरू सर्लाही जिल्ला अदालतमा लेखिपठाउनू..................................................१

माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत जनकपुरको फैसला केही उल्टी हुने ठहरी फैसला भएकोले कोर्ट फी धरौटीबापत राजेश्वरप्रसाद सिंह र सवितादेवी सिंहले यस अदालतमा मिति २०७०।०२।२० मा र.नं.१९३७ मार्फत रू.५००४.०९।– राखेको रकम फिर्ता पाउँ भनी दरखास्त दिन आए कुनै दस्तुर नलिई फिर्ता दिनु भनी यस अदालतको लेखा शाखामा लेखी पठाउनू.........२

माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत जनकपुरको फैसला केही उल्टी हुने ठहरी फैसला भएकोले कोर्ट फी धरौटीबापत पुनरावेदन अदालत जनकपुरमा सुशिलादेवी सिंहले मिति २०६७।८।१५ मा र.नं. ७१ मार्फत राखेको रू. ४,५८७।– र अनितादेवीले मिति २०७०।४।२९ मा र.नं.२६ मार्फत राखेको रू.१,५५५.७५ रकम फिर्ता पाउँ भनी दरखास्त दिन आए फिर्ता  दिनु भनी पुनरावेदन अदालत जनकपुरको लेखा शाखामा लेखी पठाउनू  …....................................……........३

नक्कल माग्ने सरोकारवालाबाट लाग्ने दस्तुर लिइ नक्कल दिनू..................................................४

फैसलाको मुद्दा दर्ता दायरीको लगत कट्टा गर्नु र विद्युतीय प्रति अपलोड गरी मिसिल अभिलेख शाखामा पठाइदिनू......................................................५ 

 

उक्त रायमा सहमत छु ।

का.मु.प्र.न्या. हरिकष्ण कार्की

 

इजलास अधिकृत: श्रद्धा विष्ट

इति संवत् २०७९ असोज ३० गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु