शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११२२९ - लागु औषध ब्राउन सुगर

भाग: ६६ साल: २०८१ महिना: बैशाख अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की 

माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा

फैसला मिति : २०७८।१०।७

०७७-CR-०७९८

 

मुद्दाः लागु औषध ब्राउन सुगर

 

पुनरावेदक / प्रतिवादी : नवलपरासी जिल्ला, सुनवल न.पा. वडा नं.३ कीर्तिपुर घर भई हाल जिल्ला कारागार कार्यालय, नवलपरासी थुनामा बस्ने दीर्घबहादुरको छोरी लोकेन्द्र गुरूङको श्रीमती डिम्पल जेनी भन्ने हरिमाया गुरूङ

विरूद्ध

प्रत्यर्थी / वादी : प्र.ज.बालकिसुन थारूको जाहेरीले नेपाल सरकार

 

प्रतिवादीको साथबाट लागु औषध बरामद हुनुलाई मात्र लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(छ)(१) बमोजिमको सजाय गर्नको लागि पर्याप्त आधार मान्न नमिल्ने । सेवनबाहेक अन्य प्रयोजनको लागि प्रतिवादीहरूले साथमा लिई हिँडेका हुन् भन्ने तथ्य स्थापित हुनुपर्ने ।

(प्रकरण नं. ५)

सेवन गर्नका लागि पनि कुनै न कुनै मूल्य चुकाई खरिद गर्नुपर्ने, एक ठाउँबाट अर्को ठाउँसम्म लैजानुपर्ने र सेवनका लागि आफ्नो साथमा राख्नुपर्ने कुरा स्वाभाविक हुने । यसलाई नितान्त प्राविधिक अर्थमा हेरी सङ्कुचित अर्थमा ग्रहण गर्नु उचित नहुने । व्यापारिक कारोबार प्रकृतिको खरिद, सञ्चय वा ओसारपसार भएको अवस्था देखिएमा खरिद बिक्रीतर्फको कसुर कायम हुन सक्ने । सेवन प्रयोजनका लागि केही मात्रामा लागु औषध खरिद गरी एक ठाउँबाट अर्को ठाउँमा गएको कार्यलाई लागु औषध खरिद बिक्री, ओसारपसार, सञ्चय गरेको भनी कसुर ठहर गर्नु मनासिब नहुने ।

(प्रकरण नं.६)

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री मुकुन्दप्रसाद पौडेल

प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री शिवप्रसाद आचार्य

अवलम्बित नजिर : 

ने.का.प. २०७५,अङ्क ५, नि.नं.१०००३

ने.का.प. २०७५,अङ्क ६, नि.नं.१००३३

ने.का.प. २०७६,अङ्क २, नि.नं.१०२०२

सम्बद्ध कानून : 

लागु औषध (नियन्त्रण) ऐन‚ २०३३ 

 

सुरू तहमा फैसला गर्नेः

मा. जि. न्या. श्री देवप्रसाद योगी

रूपन्देही जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

मा. न्या. श्री मदन पोख्रेल 

मा. न्या. श्री दिपेन्द्रबहादुर बम

उच्च अदालत तुलसीपुर, बुटवल इजलास

 

फैसला

न्या. डा. मनोजकुमार शर्मा : न्याय प्रशासन ऐन, २०७३ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी पर्न आएको निवेदनमा यस अदालतबाट अनुमति प्रदान भई पुनरावेदनको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः

तथ्य खण्ड

मिति २०७४।१२।१२ गते १७:०० बजेको समयमा जिल्ला रूपन्देही, रोहणी गाउँपालिका वडा नं.२ स्थित पूर्वमा २ नं.वडा कार्यालयको भवन, पश्चिममा मैनिहवा स्वास्थ्य चौकीको भवन र उत्तरमा धकधईतर्फ जाने पक्की बाटो दक्षिणमा भगवानपुरतर्फ जाने बाटो यति चार किल्लाभित्र दक्षिणबाट उत्तरतर्फ शङ्कास्पदरूपमा पैदल हिँड्दै आएका जिल्ला नवलपरासी, सुनवल वडा नं.७ असनैया टोल बस्ने प्रेमबहादुर घर्ती मगरको छोरा वर्ष २८ को रोशन घर्ती मगर र जिल्ला नवलपरासी सुनवल नगरपालिका वडा नं.३ कृतिपुर बस्ने दीर्घबहादुर गुरूङको छोरी वर्ष २१ को डिम्पल जेनी भन्ने हरिमाया गुरूङको शरीर खानतलासी गर्दा निज डिम्पल जेनी भन्ने हरिमाया गुरूङले दाहिने खुट्टाको चप्पल र पैतालाको बिच भागमा राखी लुकाइ छिपाइ ल्याएको लागु औषध ब्राउन सुगरजस्तो देखिने खैरो सेतो धुलो पदार्थ चार पुरिया तौल गर्दा ३ ग्राम ४०० मिलिग्राम फेला पारी बरामद भएको भन्नेसमेत बेहोराको खानतलासी तथा बरामदी मुचुल्का ।

मिति २०७४।१२।१२ गते अं.१७:०० बजेको समयमा मसमेतको मोटरसाइकल गस्ती प्रहरी टोलीले जिल्ला रूपन्देही, रोहणी गाउँपालिका वडा नं.२ भदपूर्वस्थित चेकजाँच गर्ने क्रममा दक्षिणबाट उत्तरतर्फ पैदल शङ्कास्पदरूपमा हिँड्दै आइरहेको देखी रोकी चेकजाँच गर्दा पछि नामथर वतन खुलेका जिल्ला नवलपरासी, सुनवल वडा नं.७ असनैया टोल बस्ने प्रेमबहादुर घर्ती मगरको छोरा वर्ष २८ को रोशन घर्ती मगर र जिल्ला नवलपरासी, सुनवल नगरपालिका वडा नं.३ कीर्तिपुर बस्ने बस्ने दीर्घबहादुर गुरूङको छोरी वर्ष २१ को डिम्पल जेनी भन्ने हरिमाया गुरूङको शरीर खानतलासी गर्दा निज डिम्पल जेनी भन्ने हरिमाया गुरूङले दाहिने खुट्टाको चप्पल र पैतालाको बिच भागमा राखी लुकाइ छिपाइ ल्याएको लागु औषध ब्राउन सुगरजस्तो देखिने खैरो सेतो धुलो पदार्थ चार पुरिया तौल गर्दा ३ ग्राम ४०० मिलिग्राम फेला पारी बरामद भएको हुँदा सो सम्बन्धमा बुझ्दा उक्त लागु औषध निज डिम्पल जेनी भन्ने हरिमाया गुरूङ र रोशन घर्ती मगर मिली लिई आएको बुझिएको हुँदा निजहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन ।

म तथा मेरो साथी रोशन घर्ती मगर जना-२ भई मिति २०७४।१२।१२ गते भारतको सुनौली बजारमा गई नाम थाहा नभएको पसलबाट रू.३,०००।- (तीन हजार) मा लागु औषध ब्राउन सुगर खरिद गरी सोही ठाउँमा दुवै जनाले केही ब्राउन सुगर सेवन गरी आफ्नो साथमा लुकाइ छिपाइ घरतर्फ जाने क्रममा जिल्ला रूपन्देही, रोहणी गाउँपालिका वडा नं.२ भदपूर्वस्थित ऐ. अं.१७:०० बजेको समयमा पुग्दा ड्युटीमा खटिएका प्रहरीले हामीहरूलाई रोकी मेरो शरीरसमेतमा खानतलासी गर्दा मैले दाहिने खुट्टाको चप्पल र पैतालाको बिच भागमा राखी लुकाइ छिपाइ ल्याएको लागु औषध ब्राउन सुगरजस्तो देखिने खैरो सेतो धुलो पदार्थ ३ ग्राम ४०० मिलिग्राम बरामद भएको हो । उक्त लागु औषध म र साथी दुवै जनाले सेवन गर्नको लागि लिई आएको हो भन्नेसमेत बेहोराको प्रतिवादी डिम्पल जेनी भन्ने हरिमाया गुरूङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।

म तथा मेरो साथी डिम्पल जेनी भन्ने हरिमाया गुरूङ जना-२ भई मिति २०७४।१२।१२ गते भारतको सुनौली बजारमा गई नाम थाहा नभएको पसलबाट रू.३,०००।- (तीन हजार) मा लागु औषध ब्राउन सुगर खरिद गरी सोही ठाउँमा दुवै जनाले केही ब्राउन सुगर सेवन गरी आफ्नो साथमा लुकाइ छिपाइ घरतर्फ जाने क्रममा जिल्ला रूपन्देही, रोहणी गाउँपालिका वडा नं.२ भदपूर्व स्थित ऐ. अं.१७:०० बजेको समयमा पुग्दा ड्युटीमा खटिएका प्रहरीले हामीहरूलाई रोकी मेरो शरीरसमेतमा खानतलासी गर्दा साथी डिम्पल जेनी भन्ने हरिमाया गुरूङको साथबाट लागु औषध ब्राउन सुगरजस्तो देखिने खैरो सेतो धुलो पदार्थ ३ ग्राम ४०० मिलिग्राम बरामद भएको हो । उक्त लागु औषध म र साथी दुवै जनाले सेवन गर्नको लागि लिई आएको हो भन्नेसमेत बेहोराको प्रतिवादी रोशन घर्ती मगरले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।

मिति २०७४।१२।२२ गतेका दिन मैले जिल्ला सरकारी वकिल कार्यालय, रूपन्देहीमा बयान गर्दा मेरो नामथर डिम्पल जेनी भन्ने हरिमाया गुरूङ लेखाएको थिएँ । मेरो गाउँघरमा बोलाउने नाम डिम्पल जेनी हो, मेरो वास्तविक नाम हरिमाया गुरूङ हो भन्नेसमेत बेहोराको मिति २०७५।०१।११ गते डिम्पल जेनी भन्ने हरिमाया गुरूङले गरेको ततिम्बा बयान कागज ।

मिति २०७४।१२।१२ गते प्रतिवादी डिम्पल जेनी भन्ने हरिमाया गुरूङसमेतको साथबाट बरामद भएको लागु औषध नमुना परीक्षण गर्दा Heroin (Diacetyl Morphine) has been detected in the exhibit no.1 भौतिक सबुद नं. १ मा हेरोइन (Diacetyl Morphine) पाइएको छ भन्नेसमेत बेहोराको मिति २०७५।०१।१५ गतेको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, काठमाडौंको परीक्षण प्रतिवेदन । 

मिति २०७४।१२।१२ गते अं.१७:०० बजेको समयमा हामीहरू आफ्नै घरमा थियौं । सोही समयमा भारत सुनौलीतर्फबाट आइरहेका पछि नाम वतन खुलेका जिल्ला नवलपरासी, सुनवल न.पा. वडा नं.७ बस्ने रोशन घर्ती मगर र ऐ.३ बस्ने डिम्पल जेनी भन्ने हरिमाया गुरूङसमेतलाई ड्युटीमा रहेका प्रहरीले शङ्का गरी निजहरूलाई रोकी निजहरूको शरीरसमेत खानतलासी गर्दा निज डिम्पल जेनी भन्ने हरिमाया गुरूङको साथबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो सेतो धुलो पदार्थ ३ ग्राम ४०० मिलिग्राम बरामद भएको हो भन्ने बेहोराको वस्तुस्थिति मुचुल्का ।

प्रतिवादी डिम्पल जेनी भन्ने हरिमाया गुरूङ र रोशन घर्ती मगरले बरामदी लागु औषध बिक्री वितरणसमेतको लागि भारतबाट खरिद गरी नेपालतर्फ पैठारी गरी लिई हिँडेको पाइएकोले निज प्रतिवादीहरूको उक्त कार्य लागु औषध (नियन्त्रण) ऐन‚ २०३३ को दफा ४ को खण्ड (घ)‚ (ङ)‚ (च) बमोजिमको कसुर अपराध भएको देखिँदा निज प्रतिवादी डिम्पल जेनी भन्ने हरिमाया गुरूङ र रोशन घर्ती मगरलाई सोही ऐनको दफा १४(१)(छ)(१) बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र ।

मिति २०७४।१२।१२ गतेका दिन म र साथी रोशन घर्ती मगर भारतको सुनौलीमा गई हामी आफैँले सेवन गर्नको लागि रू.१५००।– का दरले रू.३०००।– उठाई ३ ग्राम ४०० मिलिग्राम ब्राउनसुगर खरिद गरी मैले आफ्नो साथमा राखी लिई आउँदा प्रहरीले खानतलासी गर्दा उक्त लागु औषधसहित पक्राउमा परेका हौं । मैले आजभन्दा ५/७ महिना पहिलादेखि लागु औषध सेवन गर्न सिकेकी थिएँ । बरामद भएको लागु औषध हामी दुवैजनाले सेवन गर्नको लागि लिइआएका हौं । बिक्री वितरण गर्नको लागि ल्याएको होइन भन्नेसमेत बेहोराको प्रतिवादी डिम्पल जेनी भन्ने हरिमाया गुरूङले सुरू अदालतमा गरेको बयान ।

मैले आजभन्दा ५/७ महिना पहिलादेखि लागु औषध सेवन गर्न सिकेको थिएँ । त्यसै क्रममा साथी हरिमाया गुरूङ र म मिली लागु औषध खरिद गर्न को-को जाने भन्ने सल्लाह भई हामी दुवै जना मिति २०७४।१२।१२ गतेका दिन भारतको सुनौलीमा गई दुवै जनाले रू.१५००।– का दरले लगानी गरी ३ ग्राम ४०० मिलिग्राम लागु औषध ब्राउन सुगर खरिद गरी लिई आएका हौँ । उक्त लागु औषध बिक्री वितरण गर्न ल्याएको होइन । हामी दुवैजना मिली सेवन गर्न ल्याएको हो भन्नेसमेत बेहोराको प्रतिवादी रोशन घर्तीले सुरू अदालतमा गरेको बयान ।

प्रतिवादीहरूले ५/६ महिना पहिलादेखि लागु औषध सेवन गर्दथे र सुनौलीबाट सेवन गर्नको लागि लागु औषध ल्याएका हुन् । बिक्री गर्न ल्याएको 

होइनन् । सेवन गर्दा लुकीछिपी गर्ने गर्दथे । अभियोगदाबीको बेहोरा झुठ्ठा हो भन्ने बेहोराको प्रतिवादी रोशन घर्तीका साक्षी दिलकुमारी भुजेलले गरेको बकपत्र ।

प्रतिवादीहरूले लागु औषध सेवन गर्नका लागि ल्याएका हुन् । बिक्री वितरण गर्न होइन । ५/६ महिनादेखि सेवन गर्दथे । प्रतिवादीहरूलाई बिक्री वितरणमा सजाय हुनुपर्ने होइन । सेवनमा सजाय हुनुपर्ने हो भन्नेसमेत बेहोराको प्रतिवादी डिम्पल जेनी भन्ने हरिमाया गुरूङको साक्षी रूपा गुरूङले गरेको बकपत्र ।

जिल्ला रूपन्देही, रोहिणी गाउँपालिका वडा नं.२ मा प्रतिवादीहरूको शरीर खानतलासी लिँदा हरिमाया गुरूङको साथबाट लागु औषध ब्राउन सुगर ३ ग्राम ४०० मिलिग्राम बरामद भएको हो, निजको साथबाट लागु औषध बरामद हुँदा निजलाई लागु औषध सेवन गरी लठ्ठिएको अवस्थामा फेला पारेको हो भन्नेसमेत बेहोराको प्रतिवेदक प्र.ज. बालकिसन थारूले गरेको बकपत्र ।

प्रतिवादीहरू डिम्पल जेनी भन्ने हरिमाया गुरूङ र रोशन घर्ती मगरले बरामदी लागु औषध ब्राउन सुगर बिक्री वितरण गर्नेसमेत उद्देश्यले खरिद एवं ओसारपसार, सञ्चय, बरामद भएको लागु औषध ब्राउन सुगरको प्रकृति र परिमाण तथा कसुरको मात्रासमेतलाई विचार गर्दा प्रतिवादीहरू डिम्पल जेनी भन्ने हरिमाया गुरूङ र रोशन घर्ती मगरले लागु औषध (नियन्त्रण) ऐन‚ २०३३ को दफा ४ को खण्ड (घ)‚ (ङ)‚ (च) बमोजिम अभियोग मागदाबीअनुसारको कसुर अपराध गरेको ठहरेकाले निज प्रतिवादीहरू डिम्पल जेनी भन्ने हरिमाया गुरूङ र रोशन घर्ती मगरलाई लागु औषधको मात्रा र कसुरको प्रकृतिअनुसार निज प्रतिवादीहरूलाई सोही ऐनको दफा १४(१) (छ) (१) बमोजिम जनही पाँच (५) वर्ष कैद र पाँच हजार रूपैयाँ जरिवानासमेत हुने ठहर्छ भन्नेसमेत बेहोराको रूपन्देही जिल्ला अदालतबाट मिति २०७५।८।२४ मा भएको फैसला ।

म पुनरावेदक र सहप्रतिवादी रोसन घर्ती मगरसँगै सुनौली गएर समान लगानीमा रू.१५००।- / १५००।– मिलाई रू.३,०००।– मा ३ ग्राम ४०० मिलिग्राम बरामदी ब्राउन सुगर लिई हिँडिरहेको अवस्थामा हामी दुवै जनालाई पक्राउ गरी प्रतिवेदन तयार भई चलेको प्रस्तुत मुद्दामा मौकाको बयानमा मसमेतले आफूहरू सेवन गर्ने आदतका व्यक्ति भई सेवनसमेत गरी सेवनका लागि साथमा लिई आएको भनी बयान गरेको वास्तविकतामा लागु औषध सेवनकर्तालाई केही मात्रामा बेचबिखनसमेत गर्छ भनी मौकाको बयानमा जबरजस्ती घुसाएको लेखनतर्फ अदालतको स्वतन्त्रपूर्वकको बयानमा खण्डन गरिएको, हाम्रो स्वतन्त्रपूर्वकको बयानलाई हाम्रा साक्षीले पुष्ट्याइँ गरिदिएको, साथै वादी पक्षबाट उपस्थित प्रतिवेदक प्र.ज. बालकिसन थारूसमेतले हाम्रो भनाइ वा बयानलाई पुष्टि हुने गरी वास्तविकताको उजागर गरिदिएको अवस्था मिसिलबाटै स्पष्ट भइरहेकोमा प्रमाण ऐन, २०३१ को दफा २७ अनुसार प्रतिवादीको हैसियतले प्रमाणको भार पुर्‍याएको र सोही ऐनको दफा २५ बमोजिम वादी नेपाल सरकारले कसुर प्रमाणित गर्न नसकेको अवस्थामा अभियोग दाबीबमोजिम कसुरदार ठहर्‍याई सजायसमेत गर्ने गरेको सुरू फैसला उल्टी बदर गरी न्याय इन्साफ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादीमध्येकी डिम्पल जेनी भन्ने हरिमाया गुरूङको उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा परेको पुनरावेदनपत्र । 

प्रतिवादी डिम्पल जोनी भन्ने हरिमाया गुरूङलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को खण्ड (घ)(ङ) र (च) बमोजिमको कसुरमा सोही ऐनको दफा १४ (१)(६)(१) बमोजिम ५ (पाँच) वर्ष कैद र रू.५,०००।- (पाँच हजार) जरिवाना हुने ठहर्‍याई सुरू रूपन्देही जिल्ला अदालतबाट मिति २०७५।८।२४ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७६।५।३ मा भएको फैसला ।

सहप्रतिवादी रोशन घर्ती मगर र मैले एक डोज सेवन गरी समान रू.१५००/१५००।- लगानी गरी सुनौलीबाट रू.३,०००।- मा ३ ग्राम ४०० मिलिग्राम खरिद गरी सेवनको लागि लिई आएको अवस्थामा पक्राउ परेका हौं । आफू सेवनकर्ता रहेको र उक्त दिन पनि सेवन गरिआएको अवस्थामा पक्राउ परेको, साथबाट लागु औषध ब्राउन सुगर बरामद भएको ५/७ महिना पहिलादेखि सेवन गर्न थालेको, सहप्रतिवादी र आफू मिली १५००/१५००।- मिलाई सेवनका लागि खरिद गरी ल्याएको भनी मौका र अदालतमा गरेको बयानलाई मेरो र सहप्रतिवादीको साक्षीसमेतको बकपत्रबाट पुष्टि भइरहेको छ । साथै प्रतिवेदक प्र.ज. बालकिसुन थारूले बकपत्र गर्दा लट्ठ परेको अवस्थामा पक्राउ गरेको, तत्काल सोध्दा सेवनका लागि खरिद गरी ल्याएको भनेका, निज प्रतिवादीहरूले बिक्री वितरण गर्ने हुन् भन्ने कुनै प्रमाण मसँग छैन भनी गरेको बकपत्रबाट पनि हामी सेवनकर्ता भई सेवनका लागि खरिद गरी लिई आएको तथ्य स्थापित भइरहेको अवस्था हुँदाहुँदै मसमेतलाई लागु औषध बिक्री वितरण गर्ने कसुर अपराधमा सजाय गर्ने गरी भएको सुरू अदालतको फैसलालाई सदर गर्ने गरी उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट भएको फैसला उल्टी गरी आफूलाई सेवनकर्ताको कसुरमा मात्र सजाय गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी डिम्पल जेनी भन्ने हरिमाया गुरूङको तर्फबाट यस अदालतमा पर्न आएको दोहोर्‍याई पाउँको निवेदनपत्र ।

यसमा प्रतिवादी डिम्पल जेनी भन्ने हरिमाया गुरूङले अनुसन्धान अधिकारी र अदालतसमक्ष आजभन्दा ५/७ महिनाअगाडि पहिलेबाट लागु औषध सेवन गर्न थालेको भनी बयान गरेको देखिन्छ । बरामद भएको ३ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर को कसलाई बिक्री वितरण गर्न लागेको हो भन्ने तथ्ययुक्त प्रमाण पेस भएको देखिँदैन । बरामद लागु औषधको परिमाणसमेत न्यून देखिएको अवस्थामा प्रतिवादीलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(छ)(१) बमोजिमको कसुर गरेको ठहर गर्ने गरी उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७६/५/३ मा भएको फैसला प्रमाण ऐन, २०३१ को दफा ३, ५४ तथा ने.का.प.२०७५ अङ्क ६, नि.नं. १००३३ को प्रतिकूल देखिँदा प्रस्तुत मुद्दामा न्याय प्रशासन ऐन, २०७३ को दफा १२ (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरिदिएको छ । नियमानुसार गर्नु भन्ने यस अदालतको मिति २०७७।३।१६ को आदेश ।

 

ठहर खण्ड

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनपत्रसहितको सुरू मिसिल कागजात अध्ययन गरी पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री मुकुन्दप्रसाद पौडेलले निज प्रतिवादीले सहप्रतिवादी रोशन घर्ती मगरसँग मिली रू.१५००/१५००।- लगानी गरी सुनौलीबाट रू.३,०००।- मा ३ ग्राम ४०० मिलिग्राम लागुऔषध खरिद गरी सेवनको लागि ल्याएको भन्ने बेहोराको प्रतिवादीले मौका र अदालतमा गरेको बयान, निज प्रतिवादी सेवनकर्ता रहेको भन्ने बेहोराको प्रतिवादीका साक्षीले गरेको बकपत्र, साथै निज प्रतिवादीलाई लट्ठ परेको अवस्थामा पक्राउ गरेको र तत्काल सोध्दा सेवनका लागि खरिद गरी ल्याएको भन्ने प्रतिवेदक प्र.ज. बालकिसुन थारूले गरेको बकपत्रसमेतका आधारमा र निज प्रतिवादीले बरामद भएको लागुऔषध बिक्री वितरणका लागि खरिद गरेका हुन् भन्ने प्रमाण नेपाल सरकारबाट पेस हुन नसकेको अवस्थामा निज प्रतिवादीलाई बिक्रीकर्तासरह सजाय गरेको सुरू अदालतको फैसलालाई सदर गर्ने गरी भएको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको  फैसला उल्टी गरी प्रतिवादी डिम्पल जेनी भन्ने हरिमाया गुरूङलाई सेवनकर्ताको कसुरमा मात्र सजाय गरिपाउँ भनी र वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री शिवप्रसाद आचार्यले पुनरावेदक प्रतिवादी डिम्पल जेनी भन्ने हरिमाया गुरूङले ३ ग्राम ४०० मिलिग्राम लागु औषध आफूबाट बरामद भएको भनि स्वीकार गरी बयान गरेको, बरामद भएको लागु औषधमा हेरोइन (Diacetyl Morphine) पाइएको भन्ने बेहोराको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, काठमाडौंको परीक्षण प्रतिवेदनबाट देखिएको र प्रतिवादीले निजबाट बरामद भएको उक्त लागु औषध ब्राउन सुगर ३ ग्राम ४०० मिलिग्राम सेवन मात्र गर्छ भन्ने प्रमाणित गर्न नसकेको र प्रतिवादी डिम्पल जेनी भन्ने हरिमाया गुरूङबाट बरामद भएको उक्त ३ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर हेरोइन परिमाणको दृष्टिकोणबाट पनि बेचबिखन गर्ने बढी परिमाणको देखिँदासमेत निज प्रतिवादी डिम्पल जेनी भन्ने हरिमाया गुरूङलाई अभियोग दाबीबमोजिम सजाय गर्ने ठहर्‍याई भएको रूपन्देही जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरी भएको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला मनासिब नै देखिँदा सो फैसलालाई नै सदर गरिपाउँ भनी गर्नुभएको बहस जिकिरसमेत सुनियो ।

उपर्युक्त बहस जिकिरसमेत सुनी मिसिल संलग्न कागजातहरू अध्ययन गरी हेर्दा, प्रस्तुत मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७६।५।३ मा भएको फैसला मिलेको छ वा छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन 

आयो ।

२. निर्णयतर्फ विचार गर्दा, मिति २०७४।१२।१२ गते अं.१७:०० बजेको समयमा मोटरसाइकल गस्ती प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दक्षिणबाट उत्तरतर्फ पैदल शङ्कास्पदरूपमा हिँड्दै आइरहेको देखी रोकी चेकजाँच गर्दा पछि रोशन घर्ती मगर र डिम्पल जेनी भन्ने हरिमाया गुरूङको शरीर खानतलासी गर्दा निज डिम्पल जेनी भन्ने हरिमाया गुरूङले दाहिने खुट्टाको चप्पल र पैतालाको बिच भागमा राखी लुकाइ छिपाइ ल्याएको लागु औषध ब्राउन सुगरजस्तो देखिने खैरो सेतो धुलो पदार्थ चार पुरिया तौल गर्दा ३ ग्राम ४०० मिलिग्राम फेला पारी बरामद भएको हुँदा निज डिम्पल जेनी भन्ने हरिमाया गुरूङ र रोशन घर्ती मगरलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदनबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । प्रतिवादी डिम्पल जेनी भन्ने हरिमाया गुरूङ र रोशन घर्ती मगरले बरामदी लागु औषध बिक्री वितरणसमेतको लागि भारतबाट खरिद गरी नेपालतर्फ पैठारी गरी लिई हिँडेको पाइएकोले निज प्रतिवादीहरूको उक्त कार्य लागु औषध (नियन्त्रण) ऐन‚ २०३३ को दफा ४ को खण्ड (घ)‚ (ङ)‚ (च) बमोजिमको कसुर अपराध भएको देखिँदा निज प्रतिवादी डिम्पल जेनी भन्ने हरिमाया गुरूङ र रोशन घर्ती मगरलाई सोही ऐनको दफा १४(१)(छ)(१) बमोजिम सजाय गरिपाउँ भन्नेसमेत वादी नेपाल सरकारको अभियोग मागदाबी रहेको 

देखिन्छ । प्रतिवादी डिम्पल जेनी भन्ने हरिमाया गुरूङलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को खण्ड (घ)(ङ) र (च) बमोजिमको कसुरमा सोही ऐनको दफा १४ (१)(६)(१) बमोजिम ५ (पाँच) वर्ष कैद र रू.५,०००।- (पाँच हजार) जरिवाना हुने ठहर्‍याई सुरू रूपन्देही जिल्ला अदालतबाट मिति २०७५।८।२४ मा भएको फैसलालाई सदर हुने ठहर्‍याई भएको उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७६।५।३ मा भएको फैसलाउपर चित्त नबुझाई उक्त फैसला उल्टी गरी प्रतिवादी डिम्पल जेनी भन्ने हरिमाया गुरूङको तर्फबाट यस अदालतमा प्रस्तुत पुनरावेदन पर्न आई यस इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको देखियो ।

३. पुनरावेदक प्रतिवादी डिम्पल जेनी भन्ने हरिमाया गुरूङलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासबाट लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को खण्ड (घ), (ङ) र (च) बमोजिमको कसुरमा सोही ऐनको दफा १४(१)(छ)(१) बमोजिम सजाय गर्ने गरी भएको फैसला मिलेको छ वा छैन सो सम्बन्धमा हेर्दा, लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ मा निषेध गरिएका कार्यहरूको वर्गीकरण गरिएको छ । उक्त दफा ४ को खण्ड (घ) मा "लागु औषधको बिक्री वितरण गर्न”, खण्ड (ङ) मा "लागु औषधको निकासी वा पैठारी गर्न", र खण्ड (च) मा "लागु औषधको खरिद गर्ने, सञ्चय गर्ने, राख्ने वा ओसार पसार गर्न” निषेध गरिएको छ । उक्त खण्डहरूमा उल्लिखित कार्यहरू गर्दा ऐ. ऐनको दफा १४ बमोजिम सजाय हुने व्यवस्था गरिएको छ । ऐ. ऐनको उक्त कानूनी व्यवस्थाको दफा १४(१)(छ)(१) हेर्दा ,"पच्चिस ग्रामसम्मको कारोबार गर्नेलाई पाँच वर्षदेखि दश वर्षसम्म कैद र पाँच हजार रूपैयाँदेखि पच्चिस हजार रूपैयाँसम्म जरिवाना हुने"  भन्ने व्यवस्था रहेको देखिन्छ । 

४. म तथा मेरो साथी रोशन घर्ती मगर २ जना भई मिति २०७४।१२।१२ गते भारतको सुनौली बजारबाट रू.३,०००।- (तीन हजार) मा लागु औषध ब्राउन सुगर खरिद गरी सोही ठाउँमा दुवै जनाले केही ब्राउन सुगर सेवन गरी आफ्नो साथमा लुकाइ छिपाइ घरतर्फ जाने क्रममा ड्युटीमा खटिएका प्रहरीले हामीहरूलाई रोकी खानतलासी गर्दा मैले दाहिने खुट्टाको चप्पल र पैतालाको बिच भागमा राखी लुकाइ छिपाइ ल्याएको ३ ग्राम ४०० मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद भएको र उक्त लागु औषध म र साथी दुवै जनाले सेवन गर्नको लागि लिई आएको हो भनी निज प्रतिवादी डिम्पल जेनी भन्ने हरिमाया गुरूङले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको 

पाइन्छ । साथै, बरामद भएको लागु औषध हामी दुवैजनाले सेवन गर्नको लागि लिइआएका हौं, बिक्री वितरण गर्नको लागि ल्याएको होइन भन्नेसमेत बेहोराको निज प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानलाई समर्थन गर्दै सुरू अदालतमा समेत बयान गरेको पाइन्छ । यसरी निज प्रतिवादीले आफू सेवनकर्ता भएकोले सेवनतर्फ सजाय हुनुपर्ने हो बिक्री वितरण नगर्ने भएको र नगरेकाले सोतर्फ सजाय हुनुपर्ने होइन भनी लागु औषध ब्राउन सुगर सेवन गरेकोमा साबित भई र बिक्री वितरण गरेकोमा इन्कार रही बयान गरेको पाइन्छ । साथै, निज प्रतिवादीहरूको शरीर खानतलासी लिँदा हरिमाया गुरूङको साथबाट लागु औषध ब्राउन सुगर ३ ग्राम ४०० मिलिग्राम बरामद भएको हो, निजको साथबाट लागु औषध बरामद हुँदा निजलाई लागु औषध सेवन गरी लठ्ठिएको अवस्थामा फेला पारेको हो भन्नेसमेत बेहोराको प्रतिवेदक प्र.ज. बालकिसन थारूले बकपत्र गरेको देखिन्छ । त्यसैगरी, प्रतिवादी डिम्पल जेनी भन्ने हरिमाया गुरूङ र रोशन घर्ती मगरहरूले ५/६ महिना पहिलादेखि लागु औषध सेवन गर्दथे र सुनौलीबाट सेवन गर्नको लागि लागु औषध ल्याएका हुन् , बिक्री गर्न ल्याएका होइनन् ,सेवन गर्दा लुकीछिपी गर्ने गर्दथे, प्रतिवादीहरूलाई बिक्री वितरणमा सजाय हुनुपर्ने होइन, सेवनमा सजाय हुनुपर्ने हो भन्नेसमेत बेहोराको प्रतिवादी डिम्पल जेनी भन्ने हरिमाया गुरूङको साक्षी रूपा गुरूङ र यस अदालतमा पुनरावेदन नगरेका प्रतिवादी रोशन घर्ती मगरका साक्षी दिलकुमारी भुजेलले एकै मिलानको बकपत्र गरेको पाइन्छ । 

५. लागु औषध (नियन्त्रण) ऐन, २०३३ मा सेवन र ओसारपसारबिचको कसुरमा फरक-फरक सजायको व्यवस्था भएकोमा सेवनतर्फको कसुर भएको आधारमा स्वत: खरिद बिक्रीतर्फको कसुर कायम 

हुँदैन । यसका लागि अभियोजन पक्षले प्रमाणद्वारा पुष्टि गर्नुपर्दछ । अभियोजन पक्षले प्रतिवादीमाथि लगाएको आरोप शङ्कारहित तवरले प्रमाणित हुन नसकेमा त्यसको लाभ अभियुक्तले पाउँदछ । "प्रतिवादीसँग लागु औषध फेला परेको अवस्थामा प्रतिवादीले त्यसको वैधता प्रमाणित गर्नै पर्दैन भन्ने होइन । यसो भन्नुको मतलब लागु औषधको कसुरमध्ये प्रतिवादीले कुन कसुर गरेको हो, सेवनको कसुर हो वा कारोबारको कसुर हो भन्ने कुरालाई स्पष्ट गर्नुपर्ने, तत्सम्बन्धी आवश्यक कुरा खुलाउनुपर्ने र सोको प्रारम्भिक प्रमाण पुर्‍याउनुपर्ने वादीको दायित्वलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ ले समाप्त गरेको हो भन्न पनि 

नमिल्ने ।" भनी सर्वोच्च अदालतको पूर्ण इजलासबाट नेपाल सरकार विरूद्ध राजेशकुमार लामा (ने.का.प. २०७५, अङ्क ५, नि.नं.१०००३) को लागु औषध खैरो हेरोइनको मुद्दामा सिद्धान्त प्रतिपादन भएको देखिन्छ । त्यसैगरी, "लागु औषध प्रतिवादीले सेवन र बिक्री वितरण दुवै प्रयोजनको लागि ओसार पसार गर्न सक्ने हुँदा त्यसमा निजको साथबाट बरामद भएको लागु औषधको मात्रा र अन्य प्रमाणहरूको आधारमा विचार गरिनुपर्ने ।" भनी सर्वोच्च अदालतबाट नेपाल सरकार विरूद्ध मनिष मानन्धरसमेत (ने.का.प. २०७५, अङ्क ६, नि.नं.१००३३) को लागु औषध खैरो हेरोइनको मुद्दामा सिद्धान्त प्रतिपादन भएको देखिन्छ । लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४ को स्पष्टीकरण खण्डमा अपराधको मात्रा भन्नाले "लागु औषधको प्रकृति, परिमाण, सञ्चय, खरिद, बिक्री, ओसारपसार वा निकासी पैठारीको उद्देश्य, अभियुक्तको गिरोह वा सङ्गठन, अभियुक्तहरूले प्रयोग गर्ने हातहतियार वा बलको प्रयोग तथा नाबालकलाई आपराधिक कार्यमा गराइएको संलग्नता, शैक्षिक सामाजिक र साँस्कृतिक सङ्गठन जस्ता संस्थालाई माध्यम बनाई गरिएको कारोबार, सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो पदको दुरूपयोग गरी गरेको कारोबारको आधारमा निर्धारण गरिने अपराधको मात्रा" मानिने भनी व्यवस्था गरिएको हुँदा आरोपित व्यक्ति कसुरमा संलग्न रहँदाको सम्पूर्ण अवस्थाको विचार गरी सजाय निर्धारण गरिनुपर्ने विधायिकी मनसाय रहेको देखिन आउँछ । यस अर्थमा हेर्दा प्रतिवादीको साथबाट लागु औषध बरामद हुनुलाई मात्र लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(छ)(१) बमोजिमको सजाय गर्नको लागि पर्याप्त आधार मान्न मिल्दैन । सेवनबाहेक अन्य प्रयोजनको लागि प्रतिवादीहरूले साथमा लिई हिँडेका हुन् भन्ने तथ्य स्थापित हुनुपर्दछ ।

६. प्रस्तुत मुद्दामा प्रतिवादीले लागु औषध सेवन गर्ने प्रयोजनका लागि मात्र खरिद गरी ल्याएको हो भनी जिकिर लिएको अवस्था विद्यमान हुँदा वादी नेपाल सरकारले प्रतिवादीको साथबाट बरामद भएको लागु औषध बिक्री वितरणको लागि ओसारपसार, सञ्चय गरेको तथ्य प्रमाणबाट पुष्टि गर्न सकेको देखिँदैन । प्रतिवादीले अदालतमा बयान गर्दा बरामद भएको लागु औषध बिक्री वितरण, सञ्चय, ओसारपसार प्रयोजनका लागि ल्याएको होइन, विगत ५/६ महिना पहिलादेखि ब्राउन सुगर सेवन गर्न सिकेकाले सेवन गर्नका लागि खरिद गरी ल्याएको हो भनी जिकिर लिएको देखिन्छ भने यी प्रतिवादीको कथनलाई निजका साक्षीसमेतले पुष्टि गरिदिएको देखिन्छ । सेवन गर्नका लागि पनि कुनै न कुनै मूल्य चुकाई खरिद गर्नुपर्ने, एक ठाउँबाट अर्को ठाउँसम्म लैजानुपर्ने र सेवनका लागि आफ्नो साथमा राख्नुपर्ने कुरा स्वाभाविक हुन्छ । यसलाई नितान्त प्राविधिक अर्थमा हेरी सङ्कुचित अर्थमा ग्रहण गर्नु उचित हुँदैन । व्यापारिक कारोबार प्रकृतिको खरिद, सञ्चय वा ओसारपसार भएको अवस्था देखिएमा खरिद बिक्रीतर्फको कसुर कायम हुन सक्दछ । त्यसप्रकारको स्थिति नदेखिएसम्म केवल सेवन प्रयोजनका लागि केही मात्रामा लागु औषध खरिद गरी एक ठाउँबाट अर्को ठाउँमा गएको कार्यलाई लागु औषध खरिद बिक्री, ओसारपसार, सञ्चय गरेको भनी कसुर ठहर गर्नु मनासिब हुँदैन । प्रस्तुत मुद्दामा निज प्रतिवादीले आफू सेवनकर्ता भएकोले सेवनतर्फ सजाय हुनुपर्ने हो, बिक्री वितरण नगर्ने भएको र नगरेकाले सोतर्फ सजाय हुनुपर्ने होइन भनी लागु औषध ब्राउन सुगर सेवन गरेकोमा साबित भई र बिक्री वितरण गरेकोमा इन्कार रही बयान गरेको देखिएको, बरामद भएको ३ ग्राम ४०० मिलिग्राम लागु औषध ब्राउन सुगर परिमाणको दृष्टिकोणबाट बिक्री वितरण गर्ने तहसम्मको नभई सेवन गर्ने कम परिणामको हो भन्ने नै देखिएको, प्रतिवादीको घरबाट बिक्री वितरणसँग सम्बन्धित कुनै सामान बरामद भएको नदेखिएको, प्रतिवादीले कोही कसैलाई बिक्री वितरण गर्न लगेको भन्ने पनि नदेखिएको, प्रतिवेदक प्र.ज. बालकिसन थारूले पनि अदालतमा बकपत्र गर्दा निज प्रतिवादी हरिमाया गुरूङ लठ्ठिएको अवस्थामा निजको साथबाट लागु औषध ब्राउन सुगर ३ ग्राम ४०० मिलिग्राम बरामद भएको भन्नेसम्म मात्र खुलाई बिक्री वितरणको लागि लगेको भनी भन्न नसकेको अवस्थामा प्रतिवादीले बिक्री वितरण गरे भनी आरोपित गर्दैमा निजहरूलाई सोबमोजिम सजाय गर्न मिल्ने हुँदैन । यसरी निज प्रतिवादी डिम्पल जेनी भन्ने हरिमाया गुरूङबाट बरामद भएको ३ ग्राम ४०० मिलिग्राम लागु औषध ब्राउन सुगर निजले बिक्री वितरण गर्ने प्रयोजनका लागि भारतबाट खरिद गरी ल्याएको भन्ने देखिन आएन ।  

७. खरिद बिक्रीतर्फको कसुर कायम हुन सो कुरा स्वतन्त्र प्रमाणबाट स्थापित हुनुपर्ने हुन्छ । "लागु औषधको सेवन तथा ओसारपसार एउटै अपराध नभई भिन्न प्रकृतिका अपराध हुन् । सेवन गर्ने गरेको तथ्य स्थापित भएको भन्ने आधारमा ओसारपसार, बिक्री वितरणको कसुर स्थापित हुने होइन । व्यापारिक कारोबार प्रकृतिको बिक्री वितरणको उद्देश्य प्रमाणित हुन आवश्यक हुन्छ ।” भनी सर्वोच्च अदालतबाट भुवन के.सी. विरूद्ध नेपाल सरकार (ने.का.प. २०७६, अङ्क २, नि.नं.१०२०२) को लागु औषध खैरो हेरोइनको मुद्दामा सिद्धान्त प्रतिपादन भएको देखिन्छ । त्यसप्रकारको कुनै कारोबारको स्थिति प्रस्तुत मुद्दाका सन्दर्भमा देखिन नआएकोले निज प्रतिवादीले सेवनसम्म गर्ने प्रयोजनको लागि उक्त बरामद भएको लागु औषध लिई आएको देखिन आयो; लागु औषधको ओसारपसार, बिक्री वितरण वा कारोबार गर्ने प्रयोजनका लागि उक्त लागुऔषध ल्याएको भन्ने कुरा पुष्टि हुन आएन ।

८. तसर्थ, माथि उल्लिखित आधार, कारणहरू र यस अदालतबाट प्रतिपादित सिद्धान्तहरूसमेतबाट पुनरावेदक प्रतिवादी डिम्पल जेनी भन्ने हरिमाया गुरूङलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को खण्ड (घ),(ङ) र (च) बमोजिमको कसुरमा सोही ऐनको दफा १४(१)(छ)(१) बमोजिम ५ वर्ष कैद र रू.५,०००।- जरिवाना हुने ठहर्‍याई भएको सुरू रूपन्देही जिल्ला अदालतको मिति २०७५।०८।२४ को फैसला सदर गर्ने गरी भएको उच्च अदालत तुलसीपुर बुटवल इजलासको मिति २०७६।०५।०३ को फैसला केही उल्टी भई ऐजन ऐनको दफा १४(१)(ङ) बमोजिम ४(चार) महिना कैद हुने ठहर्छ । पुनरावेदन नगर्ने अर्का प्रतिवादी रोशन घर्ती मगरको हकमा समेत समान अवस्था रहेको देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४४ को उपदफा (२) आकर्षित हुने भई निज प्रतिवादीको हकमा समेत निजलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को खण्ड (घ), (ङ) र (च) बमोजिमको कसुरमा सोही ऐनको दफा १४(१) (छ)(१) बमोजिम ५ वर्ष कैद र रू.५,०००।- जरिवाना हुने ठहर्‍याई भएको सुरू अदालतको फैसला सदर गर्ने गरेको उच्च अदालतको मिति २०७६।०७।१९ को फैसला केही उल्टी भई ऐजन ऐनको दफा १४(१)(ङ) बमोजिम ४(चार) महिना कैद हुने ठहर्छ । फैसलाबमोजिम निज प्रतिवादीहरूलाई थुनामुक्त गर्नु भनी छुट्टै संक्षिप्त आदेशद्वारा लेखी गइसकेको हुँदा थुनाका सम्बन्धमा केही गरिरहन 

परेन । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

क. माथि ठहर खण्डमा उल्लेख भएबमोजिम प्रतिवादी डिम्पल जेनी भन्ने हरिमाया गुरूङलाई सुरू रूपन्देही जिल्ला अदालतको मिति २०७५।०८।२४ को फैसलालाई सदर गर्ने गरी भएको उच्च अदालत तुलसीपुर बुटवल इजलासको मिति २०७६।०५।०३ को फैसला केही उल्टी भई यस अदालतबाट निज प्रतिवादीलाई ४(चार) महिना कैद सजाय हुने भएकोले निज प्रतिवादीको नाममा सुरू फैसलाअनुसार मिति २०७५।१२।०८ को लगत नं. ६८२४ बाट निजका नाममा राखेको ५ वर्ष कैद र रू.५,०००।- जरिवानाको लगत संशोधन गरी यस अदालतको फैसलाबमोजिम ४(चार) महिना कैद सजायको लगत कायम गरी निज प्रतिवादीलाई लागेको कैद सजाय निज प्रतिवादीले भुक्तानसमेत गरिसकेको देखिँदा असुल जनाउनु भनी सुरू रूपन्देही जिल्ला अदालतको तहसिल शाखामा लेखी पठाउनू..............१

ख. माथि ठहर खण्डमा उल्लेख भएबमोजिम यस अदालतमा पुनरावेदन नगर्ने प्रतिवादी रोशन घर्ती मगरसमेतलाई सुरू रूपन्देही जिल्ला अदालतको मिति २०७५।०८।२४ को फैसलालाई सदर गर्ने गरी भएको उच्च अदालत तुलसीपुर बुटवल इजलासको मिति २०७६।०७।१९ को फैसला केही उल्टी भई यस अदालतबाट निज प्रतिवादीलाई ४(चार) महिना कैद सजाय हुने भएकोले निज प्रतिवादीको नाममा सुरू फैसलाअनुसार मिति २०७५।१२।०८ को लगत नं. ६८२४ बाट निजका नाममा राखेको ५ वर्ष कैद र रू.५,०००।- जरिवानाको लगत संशोधन गरी यस अदालतको फैसलाबमोजिम ४(चार) महिना कैद सजायको लगत कायम गरी निज प्रतिवादीलाई लागेको कैद सजाय निज प्रतिवादीले भुक्तानसमेत गरिसकेको देखिँदा असुल जनाउनु भनी सुरू रूपन्देही जिल्ला अदालतको तहसिल शाखामा लेखी पठाउनू.....................२

ग. प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी मुद्दाको दायरी लगत कट्टा गरी मिसिल यस अदालतको अभिलेख शाखामा बुझाइदिनू.............................३

 

उक्त रायमा सहमत छु ।

न्या.हरिकृष्ण कार्की

 

इजलास अधिकृत: नवीन कुमार यादव

इति संवत् २०७८ माघ ७ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु