शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११२३५ - भन्सार चोरी पैठारी

भाग: ६६ साल: २०८१ महिना: बैशाख अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास 

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत

माननीय न्यायाधीश डा.श्री कुमार चुडाल

फैसला मिति : २०७८।८।२७

०७१-RB-००३६

 

मुद्दा: भन्सार चोरी पैठारी

 

पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा, वीरगन्ज उपमहानगरपालिका वडा नं. १० स्थित श्री राम आभुषण ट्रेडर्सको प्रोपाइटर ऐ.ऐ बस्ने प्रभुप्रसाद सर्राफ  

विरूद्ध

प्रत्यर्थी / वादी : राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर

 

कुनै पनि वस्तु वा सामान कसैले कानूनबमोजिम प्राप्त गरेको हो भने सोको स्पष्ट विवरणसहितको आधिकारिक र प्रामाणिक कागजात निजसँग हुनुपर्ने । त्यस्तो कागजात 

कानूनबमोजिमको अख्तियारीप्राप्त अधिकारीले माग गरेमा सो बखत पेस गर्नु अनिवार्य हुने । त्यसरी माग भएका अवस्थामा त्यस्ता कागजात पेस गर्न सकिँदैन भने त्यस्ता वस्तु अवैध रूपमा प्राप्त गरेको मान्नुपर्ने । 

सुन खरिदको बिल बीजकलगायतका प्रतीतलायक प्रमाणहरू पेस गर्न नसकेको अवस्थामा भन्सार ऐन, २०६४ को दफा ३८ अनुसार चोरी पैठारी गरेको मानिने ।

(प्रकरण नं. ४)

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री नारायण नेपाल

प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली

अवलम्बित नजिर :

सम्बद्ध कानून :

भन्सार ऐन, २०६४ 

प्रमाण ऐन, २०३१ 

 

सुरू तहमा फैसला गर्ने:-

मा. अध्यक्ष श्री दीपककुमार कार्की

लेखा सदस्य श्री भोलाप्रसाद खकुरेल

राजस्व सदस्य श्री यज्ञबल्क उपाध्याय

 राजस्व न्यायाधिकरण काठमाडौं

 

फैसला

न्या. प्रकाशमान सिंह राउत : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः-

तथ्य खण्ड

सुराकीको सुराकको आधारमा भारत घर भएका पिताम्बर भन्ने मानिसले अवैध रूपमा सुन नेपालबाट भारततर्फ लग्दैछन् भन्ने जानकारी प्राप्त भई निजको खोजतलास गर्दै जाने क्रममा मिति २०६९।४।२३ गते काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं.१४ कलंकीमा निज पिताम्बर पासवानलाई फेला पारी निजको शरीर तलासी लिँदा शरीर कम्मरमा गम्छाले बेरी लुकाइराखेको अवस्थामा चारवटा सुनको टुक्रा तौल १(एक) के.जी.फेला परी आवश्यक कारबाहीको लागि बरामदी सुनसहित निज पिता पासवानलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको मिति २०६९।४।२४ को पत्रसाथ दाखिला हुन आएकोमा दाखिला हुन आएको सुनको केन्द्रीय अनुसन्धान ब्युरोको कर्मचारीको रोहबरमा तौल गर्दा ९९९.०८८ ग्राम (नौ सय उनान्सय ग्राम अठासी मिलिग्राम) भएको उक्त सुन चोरी पैठारी गरी ल्याएको हुँदा भन्सार ऐन, २०६४ को दफा ५७(१) बमोजिम जफत गरी लिलाम बिक्रीबाट प्राप्त हुने रकमबाट पुरस्कारसमेत पाउँ भन्ने प्रहरी नायब महानिरीक्षक श्री उपेन्द्रकान्त अर्यालसमेतको अभियोग प्रतिवेदन । 

मिति २०६९।४।२३ मा सुनसहित पक्राउ परेका पिताम्बर पासवानले राजस्व अनुसन्धान विभागका निर्देशक श्री मोहनबहादुर चन्दसमक्ष मिति २०६९।४।२६ मा “मेरो साथबाट बरामद भएको सुन वीरगन्जको सुन व्यवसायी प्रभुप्रसाद सर्राफको हो । सो सुन विशाल बजारस्थित इलेक्ट्रोनिक पसलबाट (बिक्की मारवाडीको) किनेको हो । बस छुट्ने हतारले बिल लिन बिर्सेको हो । सुरक्षाको कारणले कम्मरमा बाँधेर लैजान लागेको हो । विक्की मारवाडी र प्रभुप्रसाद सर्राफलाई उपस्थित गराउन सक्छु । मलाई भन्सार ऐनबमोजिम कारबाही हुनुपर्ने होइन” भनी बयान गरेको देखिन्छ ।

यस सम्बन्धमा अनुसन्धानपश्चात् ठहरेबमोजिम हुने गरी निज पिताम्बर पासवानलाई भन्सार ऐन, २०६४ को दफा ५७(१) बमोजिम बिगोबमोजिम जरिवानाबापत रू.४८,६९,५००।- (अठ्चालिस लाख उनान्सत्तरी हजार पाँच सय) र कैदबापत रू.३६,५०० (छत्तिस हजार पाँच सय) समेत जम्मा रू.४९,०६,०००।- (उनन्चास लाख छ हजार) सोही ऐनको दफा ४१(१) बमोजिम नगद धरौटी माग गर्ने, माग गरिएको नगद धरौटी रकम दाखिला गरे निजलाई धरौटी तारेखमा छोडिदिने मागबमोजिम नगद धरौटी दाखिला नगरे सोही ऐनको दफा ४१(२) बमोजिम प्रचलित कानूनअनुसारको सिधा खान दिई कारागार कार्यालयमा थुनामा राखी मुद्दाको अनुसन्धान कार्य अघि बढाउने, साथै अभियुक्त पिताम्बर पासवानले बयानमा पोलेका प्रभुप्रसाद सर्राफ र विक्की मारवाडीलाई उपस्थित हुन सूचना जारी गर्ने भनी मिति २०६९।४।२६ मा आदेश भएकोमा अभियुक्त पिताम्बर पासवानले माग गरेको धरौटी दिन नसकी कारागार कार्यालय नख्खुमा सोही मितिदेखि थुनामा रहेको ।

सुन धनी प्रभुप्रसाद सर्राफले मिति २०६९।५।१३ मा भन्सार विभागका उपमहानिर्देशक श्री राजेन्द्रप्रसाद शर्मासमक्ष “पिताम्बर पासवान मेरो पसलमा काम गर्ने विश्वासिलो कामदार हो । म सामान लिन आउन नभ्याएको बखतमा निजलाई नै सुन लिन पठाउने गरेको छु । निजबाट बरामद भएको १ के.जी. सुन मेरो हो । उक्त सुन मैले मिति २०६९।४।२३ गते ज्वालाजी ट्रेडर्ससँग पछि रकम दिने गरी रू.४८,४०,०००।- मा खरिद गरेको बिलको छायाँप्रतिसमेत पेस गरेको छु । मूल्यवान् वस्तु भएकोले कम्मरमा बाँधी लैजान लागेको हो । मैले पेस गरेको बिलको छायाँप्रतिसँग ज्वालाजी ट्रेडर्सको खातापाता बिलसँग भिडान गरेमा पनि यकिन हुन्छ” भनी बयान गरेको ।

सुनको बिल बीजक साथमा बोकी नहिँडेबाट उक्त सुन चोरी पैठारी भई आएको देखिँदा अनुसन्धानपश्चात् ठहरेबमोजिम हुने गरी बरामद भएको सुनको धनी प्रभुप्रसाद सर्राफ नै भई भन्सार ऐन, २०६४ को दफा ५७(१) बमोजिम बिगोबमोजिम जरिवानाबापत रू.४८,६९,५००।- (अक्षरेपी अठ्चालिस लाख उनान्सत्तरी हजार पाँच सय) र कैदबापत रू.३६,५००।- (अक्षरेपी छत्तिस हजार पाँच सय) समेत जम्मा रू.४९,०६,०००।- (अक्षरेपी उनान्पचास लाख छ हजार मात्र) सोही ऐनको दफा ४१(१) बमोजिम नगद धरौटी माग गर्ने । माग गरिएको उक्त नगद धरौटी दाखिला गरेमा निज प्रभुप्रसाद सर्राफलाई धरौटी तारेखमा राख्ने । मागबमोजिमको नगद धरौटी दाखिला नगरे सोही ऐनको दफा ४१(२) बमोजिम प्रचलित कानूनअनुसारको सिधा खान दिई कारागार कार्यालयमा थुनामा राख्ने । यसैगरी मिति २०६९।०४।२६ को आदेशानुसार निज पिताम्बर पासवानलाई मालधनी मानी मागबमोजिमको धरौटी माग गरी धरौटी दाखिला गर्न नसकी थुनामा राखिएकोमा अनुसन्धानबाट उक्त सुनको धनी प्रभुप्रसाद सर्राफ भई निजबाट मागबमोजिमको नगद धरौटी दाखिला गरिसकेबाट निज पिताम्बर पासवानलाई अन्य मुद्दामा थुनामा राख्न नपर्ने भए लगत कट्टा गरी थुनाबाट मुक्त गर्न कारागार कार्यालय, नख्खुलाई लेखी पठाइ निजलाई साधारण तारेखमा राख्ने साथै उक्त सुनका बिक्रेता विक्की भन्ने बालकृष्ण अग्रवाललाई पनि थप अनुसन्धानको लागि तारेखमा राखी कारबाही अगाडि बढाउने भनी मिति २०६९।५।१३ मा आदेश 

भएको । श्रीराम आभुषण ट्रेडर्सका प्रो.सुन धनी प्रभुप्रसाद सर्राफले आदेशबमोजिमको नगद रकम नेपाल बैंक लिमिटेड गावहाल ललितपुरको मिति २०६९।५।१३ को भौचर नं.६०७५५ बाट बिगोबमोजिम जरिवाना रू.४८,६९,५००।- र कैदबापत रू.३६,५००।-समेत जम्मा रू.४९,०६,०००।- धरौटी स्वरूप दाखिला गरेकोले निज पिताम्बर पासवानलाई थुनाबाट मुक्त गरी सुन धनी प्रभुप्रसाद सर्राफ, सुन बिक्री गर्ने विक्की भन्ने बालकृष्ण अग्रवाल र पिताम्बर पासवान तारेखमा रहेको ।

यसमा सुन बिक्री गर्ने सुन किन्ने दुवै व्यक्तिले यस विभागमा उपस्थित भई बिल काटेको थियो भनी जारी भएको बिल पेस गरी उक्त बिल सोही सुनको हो भनी भने तापनि सो बिलमा सुनको सिलसिलेवार नम्बर उल्लेख नभएको हुँदा निजको भनाइमा विश्वास गर्न सक्ने देखिएन । तसर्थ, उक्त सुन भन्सार ऐन,२०६४ को दफा ३८ अनुसार चोरी पैठारी गरेको ठहर्छ । सो ठहर्नाले सोही ऐनको दफा ५७(१) अनुसार बरामदी सुन ९९९.०८८ (नौ सय उनान्सय ग्राम अठासी मिलिग्राम) जफत गरी मिति २०६९।४।२६ को सुनको बिक्री दरले हुने रकम बिगो कायम गरी बिगोबमोजिम रू.४८,६९,५००।- (अठ्चालिस लाख उनान्सत्तरी हजार पाँच सय) उक्त सुनको धनी प्रभुप्रसाद सर्राफलाई जरिवाना हुने ठहर्छ । उक्त सुनसहित पेस हुन आएका पिताम्बर पासवान र  अनुसन्धानको क्रममा रहेका सुन बिक्री गर्न श्री ज्वालाजी / ट्रेडर्सका बालकृष्ण अग्रवालको सम्बन्धमा केही गरिरहनु परेन भनी राजस्व अनुसन्धान विभागबाट मिति २०६९।६।५ मा भएको निर्णय ।

राजस्व अनुसन्धान विभागबाट मिति २०६९।६।५ मा मैले खरिद गरेको सुन जफत गरी जरिवानासमेत हुने गरी भएको निर्णय अन्यायपूर्ण र कानूनविपरीत हुँदा सो निर्णय बदर गरी न्याय पाउँ भनी श्रीराम आभुषण ट्रेडर्सका प्रोपाइटर प्रभुप्रसाद सर्राफको तर्फबाट मिति २०६९।६।२१ मा न्यायाधिकरणमा पुनरावेदनपत्र दर्ता भएको ।

यसमा बिना बिल बीजक सुन लिई हिँडेको भनी सुरू कार्यालयले गरेको निर्णय फरक पर्न सक्ने अवस्था हुँदा अ.बं.२०२ नं.बमोजिम सरकारी वकिल, राजस्व अनुसन्धान विभागलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्न भनी राजस्व न्यायाधिकरणबाट मिति २०६९।८।१० मा भएको आदेश ।

कुनै पनि वस्तु कानूनबमोजिम प्राप्त गरेको हो भने सोको स्पष्ट विवरणसहितको आधिकारिक कागजात निजसँग हुनैपर्छ । त्यस्तो कागजात कानूनबमोजिमको अधिकारीले माग गरेमा सो बखत त्यस्ता कागजात पेस गर्नु अनिवार्य हुन्छ । माग भएका अवस्थामा त्यस्ता कागजात पेस गर्न सक्दैन भने त्यस्ता वस्तु अवैधरूपमा प्राप्त गरेको मानिन्छ । प्रस्तुत मुद्दामा पिताम्बर पासवानले तत्काल सुनको बिल बीजक पेस गर्न सकेको छैन । पछि प्रभुप्रसाद सर्राफ र बालकृष्ण अग्रवाल खरिदकर्ता र बिक्री कर्ता भई बिल पेस गरेको देखाए पनि सो बरामद सुनकै बिल हुन् भनी पुष्टि हुने कुनै आधार देखिँदैन । बरामदी मुचुल्कामा विभिन्न ४ टुक्रा सुनका विभिन्न नम्बरहरूको उल्लेख भएको देखिन्छ । बिलमा ती सुनमा अङ्कित नम्बरहरूसमेत उल्लेख नभएको र सो सम्बन्धमा अन्य कुनै विवरणसमेत उल्लेख नभएको अवस्थामा बरामद सुनकै बिल हुन् भनी भन्न सकिने कुनै आधार 

देखिँदैन । तसर्थ उक्त सुन भन्सार ऐन, २०६४ को दफा ३८ अनुसार चोरी पैठारी गरेको ठहर्छ । सो ठहर्नाले सोही ऐनको दफा ५७(१) अनुसार बरामदी सुन ९९९.०८८ (नौ सय उनान्सय ग्राम अठासी मिलिग्राम) जफत गरी मिति २०६९।४।२६ को सुनको बिक्री दरले हुने रकम बिगो कायम गरी बिगोबमोजिम रू.४८,६९,५००।- (अठ्चालिस लाख उनान्सत्तरी हजार पाँच सय) उक्त सुनको धनी प्रभुप्रसाद सर्राफलाई जरिवाना हुने ठहर्छ । उक्त सुनसहित पेस हुन आएका पिताम्बर पासवान र अनुसन्धानको क्रममा रहेका सुन बिक्री गर्न श्री ज्वालाजी / ट्रेडर्सका बालकृष्ण अग्रवालको सम्बन्धमा केही गरिरहनु परेन भनी राजस्व अनुसन्धान विभागबाट मिति २०६९।६।५ मा भएको निर्णय मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको राजस्व न्यायाधिकरण काठमाडौंको मिति २०६९।१२।०१ मा भएको फैसला ।

म निवेदक आफू काठमाडौंमा सुन चाँदी खरिद गर्नको लागि आउन नभ्याएको हुँदा फर्मको कामदार पिताम्बर पासवानलाई सुन खरिद गर्न काठमाडौंमा पठाएको र निजले मिति २०६९।४।२३ मा श्री ज्वाला जी टेड्रर्स विशाल बजार काठमाडौंबाट १००० ग्राम सुन खरिद गरी सो सुनको बीजकसमेत जारी भएको अवस्थामा निज सोही दिन वीरगन्ज फर्कनुपर्ने हुँदा हतारले गर्दा बीजक सोही पसलमा छुटाइआएको सम्म हो । सो सम्बन्धमा निज पिताम्बर पासवानले भएको बेहोरा उल्लेख गरी बयानसमेत दिएको अवस्था एकातिर छ, भने अर्कातिर सुन बिक्रेता श्री ज्वालाजी टेड्रर्स विशाल बजार काठमाडौंका प्रोपाइटर बालकृष्ण अग्रवाल स्वयं उपस्थित भई पिताम्बर पासवानले मिति २०६९।४।२३ मा १००० ग्राम सुन मसँग खरिद गरी लगेको भनी बयान दिई सुन बिक्रीको बिलसमेत पेस गरेको अवस्थामा उक्त बिललाई झुट्टा तथा किर्ते प्रमाणित नगरी उक्त बिलको सम्बन्धमा सत्य तथ्य नबुझी सामान जफत गरेको अवस्था छ ।

यसरी भन्सार चोरी पैठारीको कुनै पनि पूर्वावस्थाको अभावमा भन्सार चोरी ठहर गरी सामान जफत गरी जरिवाना गर्नु कानूनविपरीत भएको छ । अर्कातिर राजस्व अनुसन्धान विभागसमक्ष खरिदकर्ता र बिक्रीकर्ताले बयानको सिलसिलामा तत्काल पेस गरेको बिल प्रमाणलाई दुई व्यक्ति मिली त्यस्तो बिल पछि तयार हुन सक्ने भनी अनुमान गरी राजस्व न्यायाधिकरणबाट फैसला भएको देखिँदा बुझ्नुपर्ने प्रमाण नबुझेको प्रस्ट देखिन्छ । कुनै पनि खरिदकर्ताले सो खरिदलाई आन्तरिक राजस्व कार्यालयसमक्ष प्रत्येक महिना देखाएको छ वा छैन ? खरिदकर्ताको खरिद खाता तथा स्टकबुकमा सो सामान रहेको छ वा छैन ? त्यसैगरी बिक्रीकर्ताले सो बिक्रीलाई आम्दानी बाँधी बिक्री खातामा जनाएको छ वा 

छैन ? स्टकबुकबाट बिक्री भएको सामान घटाएको छ वा छैन ? भन्ने तथ्य नबुझी प्रमाण ऐन, २०३१ को दफा ३, १४ र ५४ समेतको बेवास्ता गरी न्यायिक निकायले कर प्रशासनसरहको तर्क उल्लेख गरी फैसला गरिएको छ । अर्को कुरा म निवेदकले यसअघि र पछि पनि बैंक तथा सुन चाँदी पसलबाट पटकपटक सुन खरिद गरी बिक्री कारोबार गर्दै आएको छु । सुन खरिद गर्दा सुनको वजनसम्म लेख्ने प्रचलन छ । सुनमा अङ्कित नम्बरहरू उल्लेख गरिँदैन । स्वयम् बैंकबाट सुन खरिद गर्दासमेत सुनको वजन मात्र लेखी बिल दिने प्रचलन र अभ्यास रहेको छ । त्यस्तै भन्सार ऐन, २०६४ को दफा २६ को प्रयोग स्थानीय खरिद बिक्रीको हकमा आकर्षित हुन सक्दैन । ऐ.को दफा २६ को प्रयोग मालसामानको निकासी र पैठारीको हकमा मात्र लागु हुन्छ ।

उपर्युक्त आधार बुँदाहरूबाट मिति २०६९।१२।०१ को राजस्व न्यायाधिकरण, काठमाडौंको फैसलामा राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८(ख)(ग) र (घ) को त्रुटि विद्यमान हुँदा पुनरावेदन अनुमतिको निस्सा प्रदान गरी यसै निवेदकलाई पुनरावेदनपत्र कायम गरी राजस्व अनुसन्धान विभागले गैरकानूनी रूपमा सुन जफत गरी बिगोबमोजिम जरिवाना रू.४८,६९,५००।- समेत ठहर गर्ने गरी गरिएको मिति २०६९।०६।०५ को निर्णय बदर गरी राजस्व न्यायाधिकरण, काठमाडौंको मिति २०६९।१२।०१ को फैसलासमेत बदर 

गरिपाऊँ । साथै कैद बापत रू.३६,५००।- समेत निवेदकबाट दाखिला गराइएको हुँदा सो रकम एवम् जफत गरिएको सुन तथा जरिवानाबापतको रकमसमेत फिर्ता हुने गरी न्याय गरिपाउँ भन्नेसमेत बेहोराको श्री राम आभुषण ट्रेडर्सको प्रोपाइटर प्रभुप्रसाद सर्राफको तर्फबाट परेको निवेदनपत्र ।

यसमा निवेदकलाई १ किलोग्राम सुन भन्सार चोरी पैठारीको कसुर आरोपमा बरामद सुन जफत गरी सजायसमेत गरेको तर बिल जारी गर्ने ज्वालाजी ट्रेडर्सलाई सजाय नगरेको, निवेदकले ज्वालाजी ट्रेडर्ससँग मिति २०६९।४।२३ मा बिल नं.०७३ बाट १००० ग्राम सुन खरिद गरेको बीजकको प्रतिलिपि पेस भएको अवस्थामा सो प्रमाणलाई मूल्याङ्कन नगरी साथैमा बिल लिई हिँड्नुपर्ने भनी भन्सार ऐन, २०६४ को दफा २६, ३८ समेतको कानूनको त्रुटिपूर्ण व्याख्या गरी राजस्व न्यायाधिकरण काठमाडौंबाट गरेको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३, १४, ५४ को त्रुटि देखिँदा राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ (ख), (ग) र (घ) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०७१।०६।०३ मा भएको 

आदेश ।

ठहर खण्ड

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजातहरूको अध्ययन गरी पुनरावेदकतर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री नारायण नेपालले सुन बिक्रेता ज्वालाजी ट्रेडर्सको प्रोपाइटर बालकृष्ण अग्रवालले आफ्नो बयानमा पिताम्बर पासवानले आफूसँग सुन खरिद गरी लगेको हो भनी सुन बिक्रीको बिलसमेत पेस गरेको देखिन्छ । सुन खरिदकर्ता प्रभुप्रसाद सर्राफसमेतले सोही बेहोरालाई समर्थन हुने गरी बयान गरेको 

पाइन्छ । त्यस्तै सुन खरिद गर्दा सुनको वजनसम्म मात्र लेख्ने प्रचलन छ । सुनमा अंकित नम्बरहरू उल्लेख गरिँदैन । स्वयम् बैंकबाट सुन खरिद गर्दासमेत सुनको वजन मात्र लेखी बिल दिने प्रचलन र अभ्यास रहेको पाइन्छ । उल्लिखित तथ्य एवम् प्रमाणलाई बेवास्ता गरी सुन चोरी पैठारीमा निवेदकलाई कसुरदार कायम गर्ने गरी राजस्व अनुसन्धान विभागबाट भएको निर्णयलाई सदर गरेको राजस्व न्यायाधिकरण काठमाडौं फैसला कानूनसम्मत नदेखिँदा बदर गरी पुनरावेदन मागबमोजिम गरिपाउँ भनी तथा प्रत्यर्थी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवालीले बरामदी मुचुल्कामा सुनको स्पष्ट सिलसिलेवार नम्बर लेखिएको भए पनि बिलमा सो कुरा उल्लेख भएको पाइँदैन । त्यसैले बरामद भएको सुन बालकृष्ण अग्रवालको ज्वालाजी ट्रेडर्सबाट बिक्री भएको सुन नै हो भनी पुष्टि गर्ने वस्तुगत आधार 

देखिँदैन । तसर्थ क्रेता र बिक्रेताले आफूहरूले कानूनसम्मत तवरले सुनको खरिद बिक्री गरेको हो भनी गरेको बयान तथा सो कारोबारसम्बन्धी पेस गरेको कथित बिल विश्वासयोग्य देखिन आउँदैन । त्यस्तो अवस्थामा बरामद भएको सुन चोरी पैठारी गरेको हो भन्ने राजस्व अनुसन्धान विभागको निर्णयलाई सदर गरेको राजस्व न्यायाधिकरण काठमाडौंको फैसला मिलेकै देखिँदा सदर गरिपाउँ भनी गर्नुभएको बहसमेत सुनियो ।

उपर्युक्त तथ्य, प्रमाण एवम् कानून रहेको प्रस्तुत मुद्दामा राजस्व न्यायाधिकरण, काठमाडौंले गरेको फैसला मिले, नमिलेको के हो ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, बरामद भएको सुनको चोरी पैठारी गरेको हो भन्ने राजस्व अनुसन्धान विभागको निर्णयलाई सदर गर्ने गरी राजस्व न्यायाधिकरण, काठमाडौंबाट भएको फैसलाउपर चित्त नबुझाई प्रतिवादीको तर्फबाट परेको निवेदनमा यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान भई प्रस्तुत मुद्दा  पुनरावेदनको रोहमा दर्ता भई पेस हुन आएको देखिन्छ ।

३. यसमा मिति २०६९।०४।२३ मा पिताम्बर पासवानको साथबाट चारवटा टुक्राका १ के.जी. तौल भएको सुन बरामद भएको भनी बरामदी मुचुल्का भएको र सोही बेहोराको प्रतिवेदनसमेत पेस भएको तथ्य सुरू मिसिल संलग्न कागजातबाट खुल्न आएको पाइन्छ । बरामद भएको सो सुन प्रभुप्रसाद सर्राफको हो भनी निज पिताम्बर पासवानले आफ्नो बयानमा लेखाइदिएको देखिन्छ । यसप्रकार उल्लिखित सुनका टुक्रा पिताम्बर पासवानको साथबाट बरामद भएकोमा कुनै विवाद देखिँदैन ।

४. कुनै पनि वस्तु वा समान कसैले कानूनबमोजिम प्राप्त गरेको हो भने सोको स्पष्ट विवरणसहितको आधिकारिक र प्रामाणिक कागजात निजसँग हुनुपर्छ । त्यस्तो कागजात कानूनबमोजिमको अख्तियारीप्राप्त अधिकारीले माग गरेमा सो बखत त्यस्ता कागजात पेस गर्नु अनिवार्य हुन्छ । त्यसरी माग भएका अवस्थामा त्यस्ता कागजात पेस गर्न सक्दैन भने त्यस्ता वस्तु अवैध रूपमा प्राप्त गरेको मान्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा मिति २०६९।०४।२३ मा पिताम्बर पासवान सुनसहित पक्राउ पर्दा निजले तत्काल सुनको बिल बीजक पेस गर्न सकेको 

देखिँदैन । बरामदी मुचुल्कामा विभिन्न ४ टुक्रा सुनका फरकफरक नम्बरहरू उल्लेख भएको देखिन्छ । तर बिलमा ती सुनमा अङ्कित नम्बरहरूको उल्लेख रहे भएको पाइँदैन । उल्लिखित तथ्यबाट प्रभुप्रसाद सर्राफ र बालकृष्ण अग्रवाल खरिदकर्ता र बिक्री कर्ता बनी पछि बिल पेस गरेको देखाए पनि सो बरामद गरिएका सुनकै बिल हुन् भनी पुष्टि हुने कुनै आधार देखिँदैन । उपर्युक्त बिललाई शङ्कारहित, विश्वसनीय र आधिकारिक प्रमाणको रूपमा ग्रहण गर्न मिल्दैन । भन्सार ऐन, २०६४ को दफा २६ मा निस्सा प्रमाण वा रसिद माग गर्न सक्ने शीर्षकअन्तर्गत:- "(१) कुनै व्यक्तिले कुनै मालवस्तु पैठारी गरी ल्याएको हो वा निकासी गर्न लागेको हो र भन्सार महसुल तिरेको छैन भनी विश्वास गर्नुपर्ने मनासिब कारण भएमा वा भन्सार महसुल नतिरेको थाहा पाएमा भन्सार कार्यालयको कुनै कर्मचारीले त्यस्तो व्यक्तिबाट सो मालवस्तुको भन्सार महसुल तिरेको प्रमाण वा भन्सार महसुल नलाग्ने भए सोही बेहोराको निस्सा माग गर्न सक्ने छ । (२) उपदफा १ बमोजिम माग भएको प्रमाण वा निस्सा त्यस्तो व्यक्तिले त्यस्तो कर्मचारीलाई देखाउनुपर्ने छ । निजले त्यस्तो प्रमाण वा निस्सा पेस गर्न नसकेमा वा पेस गरेको निस्सामा लेखिएबमोजिमको मालवस्तु नभई फरक मालवस्तु देखिन आएमा त्यस्तो कर्मचारीले त्यस्तो मालवस्तु र व्यक्ति भन्सार अधिकृतसमक्ष पेस गर्नुपर्ने छ । (३) उपदफा (२) बमोजिम पेस भएपछि भन्सार अधिकृतले त्यस्तो मालवस्तु रोक्का गर्न आदेश दिन सक्ने छ र पेस भएको व्यक्तिलाई चोरी निकासी वा पैठारीको कसुरमा कारबाही चलाउने छ" भन्ने कानूनी प्रावधान रहेको देखिन्छ । त्यस्तै प्रमाण ऐन, २०३१ को दफा २७ (१) ले "प्रचलित नेपाल कानूनबमोजिम सजायमा कमी वा छुट हुने वा सजायबाट रिहाई पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्‍याउने भार निजको हुने छ" भन्ने व्यवस्था गरेको छ । यसबाट प्रतिवादीले कसुर नगरेको वा गलत मनसाय नरहेको भन्ने प्रमाणित निजले नै गर्नुपर्ने देखिन्छ । तर प्रस्तुत मुद्दाको सन्दर्भमा प्रतिवादीले सुन खरिदको बिल बीजकलगायतका प्रतीतलायक प्रमाणहरू पेस गर्न सकेको पाइँदैन । उल्लिखित परिप्रेक्ष्यमा, उक्त सुन भन्सार ऐन,२०६४ को दफा ३८ अनुसार चोरी पैठारी गरेको देखिन आएकोले सोही ऐनको दफा ५७(१) अनुसार बरामदी सुन ९९९.०८८ (नौसय उनान्सय ग्राम अठासी मिलिग्राम) जफत गरी मिति २०६९।४।२६ को सुनको बिक्री दरले हुने रकम बिगो कायम गरी बिगोबमोजिम रू.४८,६९,५००।- (अठ्चालिस लाख उनान्सत्तरी हजार पाँच सय) सो सुनको धनी प्रभुप्रसाद सर्राफलाई जरिवानासमेत हुने गरी राजस्व अनुसन्धान विभागबाट भएको निर्णयलाई सदर ठहर्‍याएको राजस्व न्यायाधिकरण, काठमाडौंको फैसलालाई अन्यथा भन्न मिल्ने देखिएन ।

५. अत: माथि विवेचित कानून प्रमाणको आधारमा, राजस्व अनुसन्धान विभागको निर्णयलाई सदर गर्ने गरी राजस्व न्यायाधिकरण, काठमाडौंबाट मिति २०६९।१२।०१ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । प्रस्तुत फैसलाको विद्युतीय प्रति यस अदालतको विद्युतीय प्रणालीमा अपलोड गरी विपक्षीलाई फैसलाको जानकारी दिई प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.डा.कुमार चुडाल

 

इजलास अधिकृतः गगनदेव महतो

इति संवत् २०७८ साल मंसिर २७ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु