शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११२३६ - हक कायम गरी क्षतिपूर्ति रकम दिलाई पाऊँ

भाग: ६६ साल: २०८१ महिना: बैशाख अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

माननीय न्यायाधीश श्री सुष्मालता माथेमा

फैसला मिति: २०७९।०९।२४

 

मुद्दा:- हक कायम गरी क्षतिपूर्ति रकम दिलाई पाऊँ ।

 

०७३-CI-१३४३

पुनरावेदक / प्रतिवादी : ओखलढुङ्गा जिल्ला, कालिमाटी गा.वि.सं. वडा नं. ७ मा जन्म भई सुनसरी जिल्ला, मधेशा गा.वि.सं. वडा नं. १ स्थायी घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ८ बस्ने खड्गबहादुर कार्कीको नाति, हरिबहादुर कार्कीको छोरा शम्भुकुमार कार्की

विरूद्ध

प्रत्यर्थी / वादी : सुनसरी जिल्ला, मधेशा गा.वि.सं. वडा नं. ८ बस्ने खड्गबहादुरको छोरा, हरिबहादुर कार्की

 

०७३-CI-१४७४

पुनरावेदक / वादी : सुनसरी जिल्ला, मधेशा गा.वि.सं. वडा नं. ८ बस्ने खड्गबहादुरको छोरा, हरिबहादुर कार्की

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : सुनसरी जिल्ला, मधेशा गा.वि.सं. वडा नं. ८ बस्ने खड्गबहादुरको छोरा, देवेन्द्रबहादुर कार्कीको मु.स. गर्ने निजकी श्रीमती हिमालयकुमारी कार्कीसमेत

 

०७३-CI-१८१९

पुनरावेदक / प्रतिवादी : सुनसरी जिल्ला, मधेशा गा.वि.स वडा नं. १ को हाल इनरूवा नगरपालिका वडा नं.६ बस्ने स्व. देवेन्द्रबहादुर कार्कीको मु.स. गर्ने हिमालयकुमारी कार्की

विरूद्ध

प्रत्यर्थी / वादी : सुनसरी जिल्ला, मधेशा गा.वि.सं. वडा नं.८ बस्ने खड्गबहादुरको छोरा, हरिबहादुर कार्की

 

मृतकको एकासगोलमा नरहेको र मृतकले आफ्नो हक कसैले खाने भनी लिखित रूपमा लेखेर नदिएको अवस्थामा समानस्तरको हकवालाले बराबर अपुताली पाउने र कसैले एकलौटी रूपमा पालनपोषण गरेको रहेछ भने उसैले मात्रै अपुताली पाउने ।

(प्रकरण नं. ६)

मृतकको स्याहार सम्भार हकवालाहरू सबैले नगरी हकवालामध्ये कसैले वा हकवालाबाहेक अन्य व्यक्तिले गरेमा निजको अपुताली त्यसरी स्याहार सम्भार गर्नेले पाउने ।

(प्रकरण नं. ८)

अपुताली प्राप्त गर्न सम्बन्धित पक्षले कानूनबमोजिमको आफ्नो दायित्व तथा कर्तव्यसमेत पूरा गरेको हुनुपर्ने । मृतकलाई पालनपोषण, स्याहार सम्भार तथा औषधोपचारसमेतको दायित्व तथा कर्तव्य पूरा नगरेको अवस्थामा केवल मौखिक जिकिरकै भरमा नजिकको हकवाला भएको नाताले मात्र दाजु / भाइको अपुताली स्वत: दाजुभाइमा हक स्थापित हुन जान्छ भन्न नमिल्ने ।

नाताको हिसाबले टाढाको रहे तापनि स्याहार सम्भार कसैले गरेको छ भने उसले अपुताली पाउने ।

(प्रकरण नं. १४)

 

प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री चन्द्र प्रकाश भट्टराई तथा श्री रमेश निरौला

वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरेल

अवलम्बित नजिर :

ने.का.प. २०६८, अङ्क ८, नि.नं. ८६६९

ने.का.प. २०७५, अङ्क ५, नि.नं. १०००९

सम्बद्ध कानून :

मुलुकी देवानी संहिता, २०७४ 

 

सुरू फैसला गर्ने:

मा. न्या. श्री मुरारीबाबु श्रेष्ठ

काठमाडौं जिल्ला अदालत

 

पुनरावेदन फैसला गर्ने:

  मा. न्या. श्री चण्डीराज ढकाल

मा. न्या. श्री प्रमोदकुमार श्रेष्ठ वैद्य

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या. सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्राप्त गरी यस अदालतको क्षेत्राधिकारभित्रको भई पुनरावेदनको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ:

संक्षिप्त तथ्य

पिता खड्गबहादुर कार्की र माता पदमकुमारी कार्कीका तर्फबाट जेठा स्व. दलबहादुर कार्की, माहिला स्व. ओमभक्त कार्की, साहिँला स्व. डम्बरबहादुर कार्की, काहिँला म फिरादी हरिबहादुर कार्की र कान्छा देवेन्द्रबहादुर कार्की भएको र हामी दाजुभाइहरू अघि नै छुट्टिई भिन्न भई आ-आफ्नो घर व्यवहार गरी आएकोमा माहिला ओमभक्त कार्कीकी श्रीमती गंगादेवी कार्की पनि मिति २०५६।०६।३० मा परलोक हुनुभएको हुँदा दाजु ओमभक्त निसहारा भएको कारण निजलाई मैले आफ्नै घरमा साथै राखी पालनपोषण गर्दै आइरहेकोमा निज दाजु ओमभक्त कार्कीलाई मिति २०६७।६।९ गते बसले ठक्कर दिई घाइते बनाएको र उपचारको क्रममा सोही दिन निज दाजुको मृत्यु भयो । सर्वोच्च अदालतमा चलेका निज दाजु ओमभक्त कार्की र भिन्न भई बसेका भाइ देवेन्द्रबहादुर कार्कीबिच बाली बिगो मुद्दा र वादी भरतबहादुर कार्की प्रतिवादी ओमभक्त कार्की भएको अंश मुद्दासमेत निज दाजु ओमभक्तको मृत्युपश्चात् मैले नै मुद्दा सकार गरी तारेखमा बसी मुद्दा पुर्पक्ष गर्दै आइरहेको छु । स्व. ओमभक्तको सवारी दुर्घटनामा परी मृत्यु भएको क्षतिपूर्तिबापत पाउने रकम रू.५,००,०००।- (पाँच लाख) म अपुताली खान पाउने हकदारलाई दिलाइपाउँ भनी जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मैले निवेदन दिएकोमा सो क्षतिपूर्ति रकम पाउँ भनी अपुताली खानै नपाउने मेरो भाइ देवेन्द्रबहादुर कार्की, मेरो छोरा शम्भुबहादुर कार्की, भाउजूहरू पूर्णकुमारी कार्की, लवकुमारी कार्की र भिमकुमारी कार्कीसमेतले निवेदन गरेको कारण जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट उक्त क्षतिपूर्ति हक कसले पाउने हो हक बेहक छुट्ट्याई आएपछि कानूनबमोजिम गर्ने भनी मिति २०६७।१२।६ गते भएको निर्णयको नक्कल मिति २०६८।१।२७ मा सारी लिँदा थाहा पाएकोले मृतक ओमभक्त कार्कीको अपुताली खाने मलाई हकदार कायम गरी उक्त क्षतिपूर्ति रकम दिलाइपाउन दाबी गर्ने अन्य प्रतिवादीहरूउपर यो फिराद गर्न आएको छु । विपक्षीहरूलाई झिकी बुझी मसँग जोडी मेरो साक्षी प्रमाण बुझी मृतक ओमभक्त कार्कीको अपुताली खाने हकदार कायम गरी सवारी दुर्घटनाबापतको क्षतिपूर्ति रकममा मेरो हक कायम गरी मलाई दिलाइपाउँ भन्नेसमेत बेहोराको वादी हरिबहादुर कार्कीको फिरादपत्र ।

विपक्षी वादीको भनाइ झुठा, असत्य 

हो । मुद्दामाथि मुद्दा दिएर दुःख दिने यी वादीले स्व. ओमभक्त कार्कीलाई पालनपोषण, हेरविचार गरे भन्ने कुरा बनावटीभन्दा केही होइन । एउटा जन्मजात झगडियाको घरमा आएर बस्ने कुरा नै आउँदैन । हिन्दु धर्मका अनुयायी स्व. ओमभक्त कार्की अति वृद्ध भई एक्लै बस्न नसकी मलाई बोलाई निजले जीवनको अन्तिम अवस्था काठमाडौं पशुपतिमा बिताउने इच्छा व्यक्त गरेकोले निज ठुलोबुबालाई २०६३ सालदेखि पशुपति भागवत आश्रम राम मन्दिर परिसर, काठमाडौंमा बसोबासको प्रबन्ध मिलाई मैले नै निरन्तर निजको हेरविचार गर्दै आएको, निजको तर्फबाट मैले नै अदालती कार्यमा समेत सहयोग गर्दै आएको, निजको मृत्युपश्चात् अन्य व्यक्तिलाई कोरा बस्न लगाई हिन्दु परम्पराअनुसार गर्नुपर्ने काज किरिया, पिण्डपानी जे जो गर्नुपर्ने सम्पूर्ण कार्य मैले आफ्नै खर्चमा १३ दिने काज किरिया सम्पन्न गराएको, मेरो नियमित सेवाबाट प्रभावित भई खोटाङ निवासी वामदेव राईबाट मैले लिएको ऋणसमेत तिरिदिने गरी कागज गरिदिनु भएको, हिमालय फाइनान्स लिमिटेड, ललितपुर शाखाको मुद्दती खाता नं.१०२४ मा इच्छाएको व्यक्तिमा आफ्नो हेरविचार तथा रेखदेख गर्ने व्यक्ति भतिजा नाता पर्ने शम्भुकुमार कार्की भनी मेरो ठेगाना खोली बेहोरा लेखाइदिएको, स्ट्यान्डर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि. रामशाहपथ, पुतलीसडकमा स्व. ठुलोबुबा ओमभक्तको नाममा रहेको बचत रकम पाउन मैले निवेदन दिएकोमा उक्त सहकारीले मेरो निवेदनउपर ३५ दिने सूचना प्रकाशित गरेकोमा उक्त तोकिएको हदम्यादभित्र कसैले पनि हकदाबी गर्न नआएकोले उक्त सहकारीबाट मैले नै भुक्तानी लिएको छु । अपुतालीको ११ नं.अनुसार स्याहारसुसार मैले गरेकोले स्व. ओमभक्तको नजिकको हकदार मबाहेक अरू हुन नसक्ने भएकोले वादीको झुठा दाबीबाट अलग फुर्सद गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी शम्भुकुमार कार्कीको प्रतिउत्तरपत्र ।

सर्वप्रथमत: प्रस्तुत मुद्दा यस अदालतको अधिकारक्षेत्रभित्र पर्दैन । सबै प्रतिवादीहरूको बसोबास सुनसरीमा रहेको हुनाले अ.बं. २९ नं. को देहाय ९ बमोजिम प्रस्तुत मुद्दा सुनसरी जिल्ला अदालतमा सारिपाऊँ । विपक्षी वादीको बसोबास मधेशा गा.वि.सं. वडा नं.१ मा छ । मृतक ओमभक्तले मसँग मुद्दा गरी अंशप्राप्त गरे पनि वहाँ सुनसरी मधेशामा बस्दाको अवस्थामा मेरो कामत घर मधेशा १ नं. वडामा र काठमाडौं बस्दाको अवस्थामा मेरो काठमाडौं स्थित मितेरी मार्गको घरमा बस्नुहुन्थ्यो । दुर्घटनामा पर्नुभन्दा एक साताअघि मात्र मधेशाबाट काठमाडौं जानु भई मेरो घरबाट मन्दिर दर्शन गर्न जाँदा पशुपतिक्षेत्र जय वागेश्वरी जाने क्रममा माइक्रो बसले ठक्कर लगाएकोले उपचारको क्रममा न्युरो अस्पतालमा निधन हुनुभएको हो । निज ओमभक्तको उपचारदेखि सद्‌गत तथा काज किरियासम्ममा लागेको खर्च मैले गरी भतिजा दुर्गाबहादुर किरियापुत्री भई वहाँको काम सम्पन्न भएको हो । दाजु ओमभक्त कार्कीको मृत्युपश्चात् प्राप्त हुने तेस्रो पक्षको बिमाको रकम प्राप्त गर्न मैले पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन गरेकोमा हक कायम गराई ल्याउन सुनाएको हुनाले मैले पनि हक कायम गरी सो तेस्रो पक्षको बिमाको रकम पाउँ भनी मैले पनि सुनसरी जिल्ला अदालतमा फिराद गरी कारबाही भइरहेको छ । हरिबहादुर र शम्भुकुमार कार्कीको बिचमा अंशबन्डा भएको अवस्था नभई हरिबहादुर र शम्भुकुमार मधेशा वडा नं.१ मा एकासगोलमा रहँदै बस्दै आएको अवस्थामा दुवै बाबु छोराले अपुताली आफूलाई प्राप्त हुने भनी पृथक् पृथक् दाबी लिई आएको अवस्था भए तापनि शम्भुकुमार र हरिबहादुर दुवैले ओमभक्तको मृत्युबाट प्राप्त हुने तेस्रो पक्षको बिमाको रकम पाउने अवस्था हुँदैन । विपक्षी वादीको झुठा दाबीबाट उन्मुक्ति दिलाइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी देवेन्द्रबहादुर कार्कीको प्रतिउत्तरपत्र ।

मृतक ओमभक्त कार्कीले आफ्नो अंश लिई पाइसकेपछिको अवस्थामा पनि उहाँको आफ्नो निजी घर थिएन । आफ्नो अंश बिक्री गर्नु भएका निज ओमभक्त कसैसँग आश्रित हुनुपर्ने अवस्था पनि 

थिएन । घर नभएको कारण मधेशा बस्दाको अवस्थामा प्रतिवादीमध्येका दुर्गाबहादुरको घरमा र काठमाडौं जाँदाको अवस्थामा देवेन्द्रबहादुरको घरमा मितेरी मार्गमा बस्नुहुन्थ्यो । सो कुरा मृतक ओमभक्त कार्कीले कुमार कार्कीसँगको जालसाज मुद्दामा प्रतिवाद गर्दाको अवस्थामा मितेरी मार्ग बस्ने भनी आफ्नो वतन उल्लेख गर्नुभएको अवस्था छ भने सोही मुद्दामा मेरो सेवा टहल गरेबापत भनी हालैको बकसपत्र २०६३ सालमा प्रतिवादीमध्येका दुर्गाबहादुरलाई गरिदिनु भएको अवस्था छ । विपक्षीसमेतले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बिमाको रकम प्राप्त गर्न निवेदन गर्दा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कानूनी राय लिएको अवस्था छ । सो रायमा ओमभक्तको बिमाको रकम पाउने हकदार धनबहादुरका छोरा दलबहादुरको पत्नी हामी प्रतिवादी डम्बरबहादुरको पत्नी भिमकुमारी, हरिबहादुर, देवेन्द्रबहादुरले पाउने कानूनी राय दिइएकोमा भीमकुमारीको मृत्यु भएको हुनाले वहाँको छोरा दुर्गाबहादुरसमेतले पाउने हो । ओमभक्त कार्कीको निधनपछि वहाँको आर्यघाटमा दाहसंस्कार गरी प्रतिवादीमध्येका दुर्गाबहादुर किरियामा बसेको र किरिया गर्दा लागेको खर्च देवेन्द्रबहादुरले गर्नुभएको हो । वादीले ओमभक्तको लालनपालन, औषधोपचार, सेवाचाकर गरेको, मृत्युपर्यन्त काज किरिया गरे गराएको भन्ने बनावटी मात्र हुन् । वास्तवमा ओमभक्त कार्कीको सेवाचाकर दुर्गाबहादुरले गरी आएको हुनाले वहाँको बिमाको रकम विपक्षी तथा देवेन्द्रबहादुर कसैले एकलौटी खान पाउने होइन, 

छैन । विपक्षीको दाबी बिल्कुलै असत्य, बनावटी मात्र 

हो । विपक्षी वादीको झुठ्ठा दाबीबाट उन्मुक्ति दिलाई पाउँ भन्नेसमेत बेहोराको भीमकुमारी कार्कीको मु.स. गर्ने दुर्गाबहादुर कार्की, लवकुमारी कार्की र पूर्णकुमारी कार्कीको संयुक्त प्रतिउत्तरपत्र । 

प्रस्तुत मुद्दामा वादीले सुनसरी जिल्लाका अधिकांश व्यक्तिलाई प्रतिवादी बनाई यस अदालतमा फिराद दायर गरेकोले अ.बं. २९ नं. को देहाय २ ले यस अदालतको अधिकारक्षेत्रभित्र नपर्ने भएकोले सम्बन्धित सुनसरी जिल्ला अदालतमा सारिपाउँ भनी प्रतिवादीहरू भीमकुमारी कार्कीको मु.स. गर्ने दुर्गाबहादुर कार्की, लवकुमारी कार्की र पूर्णकुमारी कार्कीले पेस गरेको निवेदन । 

ओमभक्त कार्कीलाई काठमाडौंमा बसले ठक्कर दिई मृत्यु भएकोमा क्षतिपूर्तिबापत पाउने रकम कसले पाउने हो, हक बेहक छुट्याई आएपछि कानूनबमोजिम गर्ने भनी जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णयबमोजिम प्रस्तुत मुद्दा दायर भएको देखियो । फिरादको रूपबाट जग्गा वा घर जाँच्नुपर्नेबाहेकको मुद्दामा जुन ठाउँमा काम भएको छ, सो ठाउँको इलाकाको अड्डा वा प्रतिवादी रहेको इलाकाको अड्डाबाट हेर्न मिल्ने अ.बं.को २९ को देहाय २ ले व्यवस्था गरेको पाइन्छ । ओमभक्त कार्कीलाई काठमाडौंमा बसले ठक्कर दिई मृत्यु भएको र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णयबमोजिम दायर भएको प्रस्तुत मुद्दा यस अदालतसमेतको अधिकार क्षेत्रभित्र पर्ने देखिएबाट निवेदन मागबमोजिम प्रस्तुत मुद्दा सुनसरी जिल्ला अदालतमा पठाउन मिल्ने देखिएन भन्ने बेहोराको काठमाडौं जिल्ला अदालतको मिति २०६८।९।२१ को आदेश । 

मृतक ओमभक्त कार्कीको स्वास्नी तथा छोराछोरीलगायत कुनै सन्तान नभएको र निजलाई आफ्नो साथमा राखी कसैले पनि निजको स्याहार सम्भार गरेको अवस्था नदेखिएकोले निजको सवारी दुर्घटनाबाट मृत्यु भई निजको हकवालाले पाउने क्षतिपूर्तिको रकममा निजको समानस्तरका दाजुभाइको हक लाग्ने भई निजको समानस्तरका चारजना दाजुभाइ भएकोमा दाजु स्वर्गीय दलबहादुरको हक खाने निजको श्रीमतीहरू र भाइ स्वर्गीय डम्बरबहादुरको छोरा भएको भन्ने देखिँदा ओमभक्त कार्कीको सवारी दुर्घटनाबाट मृत्यु भई जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दाखिला हुन आएको क्षतिपूर्ति रकम रू.५,००,०००।- मध्ये चार खण्डको एक खण्डमा ओमभक्त कार्कीको दाजुभाइमध्ये एकजना यी वादीको हक कायम हुने र सो रकममध्ये चार खण्डको एक खण्ड रकम वादीले पाउने ठहर्छ भन्ने सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६९।२।३२ को फैसला ।

ओमभक्त कार्कीको सवारी दुर्घटनाबाट मृत्यु हुँदाको अवस्थामा निज आफ्नो भाइहरू तथा दाजु भाइको श्रीमती तथा छोरासँग नबसी एक्लै आश्रममा बस्ने गरेको भनी उल्लेख छ । यस्तो अवस्थामा सबैभन्दा नजिकको हकवालाले क्षतिपूर्तिको रकम पाउने स्पष्ट कानून व्यवस्था भएको हुँदा नजिकको हकवाला पहिलो हक म पुनरावेदकको नै लाग्ने 

हुन्छ । साथै प्रतिवादीमध्येको देवेन्द्रबहादुरको साधिकार क्षेत्राधिकार रहेको काठमाडौं जिल्ला अदालतमा हक कायममा फिराद दाबी परेको छैन भने अन्य प्रतिवादीको न त जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा क्षतिपूर्ति दाबीको निवेदन परेको छ, न त काठमाडौं जिल्ला अदालतमा हक कायम गर्न वादी दाबी लिएका छन् । तसर्थ, क्षतिपूर्तिबापत प्राप्त हुने रकममा म पुनरावेदकको मात्रै एकलौटी हक कायम गर्नुपर्नेमा सो नगरी चार खण्डको एक खण्ड मात्र हक कायम हुन ठहर्‍याई भएको फैसला त्रुटिपूर्ण छ । अतः प्रतिवादी देवेन्द्रबहादुर कार्कीको हक कायममा साधिकार निकाय काठमाडौं जिल्ला अदालतमा फिराद दाबी गर्न नसकेको अवस्था र अन्य प्रतिवादीहरूको जिल्ला प्रशासन कार्यालयमा क्षतिपूर्ति रकममा दाबी लिई निवेदन पर्न नसकेको र काठमाडौं जिल्ला अदालतमा हक कायममा फिराद गर्न नसकेको अवस्था विद्यमान हुँदा दाबी नै नलिएको कुरामा अदालत आफैँले प्रतिवादीहरूलाई समेत वादी बनाई बुझ्नुपर्नेमा प्रमाण बुझ्दै नबुझी हक कायम गर्ने ठहर्‍याई भएको फैसला अपुतालीको महलको १ नं. र १२ नं. विपरीत हुँदा बदर गरी क्षतिपूर्तिबापत प्राप्त हुने रकममा मेरो एकलौटी हक कायम हुने ठहर्‍याई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी हरिबहादुर कार्कीको तत्कालीन पुनरावेदन अदालत पाटनमा पेस भएको पुनरावेदनपत्र ।

मृतक ठुलोबुबा ओमभक्तले यस मुद्दाका विपक्षी प्रत्यर्थी देवेन्द्रबहादुरसँगको अंश दपोट तथा फैसला बदर मुद्दाको पुनरावेदन गर्न म पुनरावेदकलाई नै वारेस दिएको हुँदा उक्त मुद्दासमेत मैले नै दर्ता गरेको, त्यस्तै मृतक ठुलोबुबाले आफ्नो नामको विभिन्न कित्ता जग्गाहरू बिक्री गर्नका निमित्त मलाई पटकपटक अधिकृत वारेसनामा समेत दिनुभएको र म पुनरावेदकले पनि मेरो नाममा प्राप्त अ.वा.बमोजिमको कार्य सम्पन्न गरेकोसमेतबाट निज मृतक ओमभक्तको एक मात्र हकदार म शम्भुकुमार कार्की मात्र भएको पुष्टि हुन्छ । बिमाबापत मृतकको नाममा प्राप्त भई हाल जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा धरौटीमा रहेको रकम रू. ५,००,०००।- (पाँच लाख) दाबी गर्न निज विपक्षी प्रत्यर्थीलाई मुलुकी ऐन, अ.बं. ८२ नं. ले हकदैया नै प्रदान गर्दैन । हकदैया नै नपुग्ने कुरामा ऐ. अपुतालीको महलको ११ नं.समेतको विपरीत बाँचुन्जेल कुनै कर्तव्य पूरा नगर्ने तर मरेपछि सबैभन्दा नजिकको हक खाने हकदार म मात्र भएको भनी विपक्षी प्रत्यर्थीले दुस्साहस गरेकै भरमा दायर हुन आएको प्रत्यर्थी।वादीको जिकिर पुग्ने तर जीवनभर सेवा शुश्रूषा र मरेपश्चात्‌का सम्पूर्ण कर्म गर्ने व्यक्ति म पुनरावेदकको फिराद दाबी नपुग्ने भनी भएको सुरू अदालतको मिति २०६९।२।३२ को फैसला उपर्युक्त आधार र प्रमाणहरूसमेतबाट कपोलकल्पित, हचुवा, कानूनी आधारहीन एवं मनगढन्ते भई स्वतः खारेजभागी भएकोले स्व. ओमभक्तको सवारी दुर्घटनामा परी मृत्यु भएपश्चात् कानूनबमोजिम मृतकको क्षतिपूर्तिबापत दिइने तेस्रो पक्ष बिमाबापतको रकम म पुनरावेदकको नाममा हक कायम हुनुपर्ने पुष्टि भइसकेको हुँदा सुरू अदालतको फैसला खारेज गरी म पुनरावेदकको प्रतिउत्तर जिकिरबमोजिम गरिपाऊँ । बिमाबापत मृतक ओमभक्त कार्कीको नाममा प्राप्त भई हाल जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा धरौटीमा रहेको रकम रू. ५,००,०००।- (पाँच लाख) रकम म पुनरावेदकको पुनरावेदन जिकिरबमोजिम हक कायम हुने ठहर्‍याई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी शम्भुकुमार कार्कीको तत्कालीन पुनरावेदन अदालत पाटनमा पेस भएको पुनरावेदनपत्र ।

समानस्तरका हकवालामा हाल जीवित रहेका हामी २ दाजुभाइ फिरादी हरिबहादुर कार्की, पुनरावेदक म देवेन्द्रबहादुर कार्कीमध्ये मृतक ओमभक्त म पुनरावेदक देवेन्द्रबहादुरसँग सुनसरी मधेशा १ को घरमा वा काठमाडौं मितेरी मार्गका घरमा बसी बाँचुन्जेल मैले स्याहार सम्भार तथा दुर्घटनापश्चात् न्युरो अस्पतालमा उपचार गराई मृत्युपश्चात् सद्‌गत र काज किरियासमेत गराएको तथ्य, प्रमाणसमेत नहेरी मुलुकी ऐन, अपुतालीको महलको ७ नं.विपरीत क्षतिपूर्ति रकम ४ खण्डको १ खण्ड रकम वादीले पाउने ठहर्छ भनी सुरू जिल्ला अदालतबाट भएको फैसलाको इन्साफ त्रुटिपूर्ण भएकोले उक्त फैसला उल्टाई मुलुकी ऐन, अपुतालीको महलको १ नं., ७ नं. र १२ नं.समेतको आधारमा नजिकको हकदार पालनपोषण गर्ने व्यक्ति म देवेन्द्रबहादुरले सुनसरी जिल्ला अदालतमा हक कायम गरी क्षतिपूर्ति रकम दिलाई भराइपाउँ भनी दिएको फिरादबमोजिम हकवाला कायम हुने नै हुँदा प्रस्ततु मुद्दामा यी वादी हरिबहादुर कार्कीको वादी दाबी नपुग्ने ठहर फैसला गरिपाउँ भन्ने बेहोराको वादी देवेन्द्रबहादुर कार्कीको तत्कालीन पुनरावेदन अदालत पाटनमा पेस भएको पुनरावेदनपत्र ।

यसै लगाउको ०७१-DP-१९१२, १९१३, १९३१ समेतमा अ.बं. २०२ नं. प्रयोजनार्थ विपक्षी झिकाउने आदेश भएकोले प्रस्तुत मुद्दा उक्त मुद्दासँग अन्तरप्रभावी देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि व्यतीत भएपछि लगाउका मुद्दा साथै राखी नियमानुसार पेस गर्नु भन्ने तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७२।३।१८ मा भएको आदेश ।

मिसिल संलग्न तथ्य प्रमाणहरूको विवेचित आधार, कारणसमेतबाट खड्गबहादुर कार्कीका ५ छोरामध्ये माहिला छोरा ओमभक्त कार्की सवारी दुर्घटनाको जरियाबाट मिति २०६७।६।९ मा घाइते भएको र निजको सोही कारणबाट मृत्यु भएकोमा निजको किरिया खर्च र क्षतिपूर्तिबापतको रकम जेठा छोरा दलबहादुरको मृत्यु भएको देखिँदा निजको श्रीमती पूर्णकुमारी र लवकुमारी, साहिँला छोरा डम्बरबहादुर कार्कीको मृत्यु भइसकेको देखिँदा निजको छोरा दुर्गाबहादुर कार्की र कान्छा छोरा देवेन्द्रबहादुर कार्कीको मृत्यु भइसकेको देखिँदा निजको श्रीमती हिमालयकुमारी कार्कीले र १ भाग यी पुनरावेदक वादीले अपुतालीको रूपमा दामासाहीले बाँडी लिन पाउने देखिँदा सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६९।२।३२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने बेहोराको उच्च अदालत पाटनबाट मिति २०७३।०५।१९ मा भएको फैसला ।

प्रस्तुत मुद्दामा हामी निवेदक पुनरावेदक/विपक्षी प्रत्यर्थीहरूबिच रहेको पुस्तेवारीलाई थप प्रस्ट पार्न चाहन्छु । विपक्षी प्रत्यर्थीमध्येका देवेन्द्रबहादुर र हरिबहादुरसमेतका बुबा म पुनरावेदकका हजुरबुबा स्व. खड्गबहादुर कार्कीको २ वटी श्रीमतीमध्ये जेठीतर्फका १ छोरा धनबहादुर कार्कीको पहिल्यै देहान्त भइसकेको र कान्छी पदकुमारीतर्फका ५ भाइ छोराहरूमा जेठा स्व. दलबहादुर कार्की-१, माहिला स्व. ओमभक्त कार्की, साहिँला स्व. डम्बरबहादुर कार्की-१, काहिँला हरिबहादुर कार्की-१, र कान्छा देवेन्द्रबहादुर कार्की भएको, हजुरबुबा र हजुरआमा धैरै पहिला नै मृत्यु भइसकेको, त्यस्तै ठुलोबुबा दलबहादुर कार्कीको पनि मृत्यु भई उहाँको २ श्रीमतीहरूमा विपक्षीमध्येकी पूर्णकुमारी कार्कीको पनि मृत्यु भइसकी निजको मु.स. गर्ने छोरी उर्मिला कार्की-१ र लवकुमारी कार्की -१ छन् । माहिला ओमभक्त कार्की भएको, निजको मिति २०६७।०६।१९ मा गाडीले हानी मृत्यु भएको र निजकी पत्नी गंगादेवी कार्की पनि आफ्नै कालगतिले मिति २०५६।६।३ मा मृत्यु भइसकेको र निजहरूको तर्फबाट कुनै सन्तान जायजन्म नभएको, डम्बरबहादुर कार्कीको पनि यसअघि नै मृत्यु भएको र साहिँला निवेदकको बाबु हरिबहादुर कार्की भएको र कान्छा विपक्षीमध्येका देवेन्द्रबहादुर कार्की भएको, यसरी उपर्युक्तबमोजिम बाजे खड्गबहादुर कार्कीको कान्छीतर्फका भाइ छोराहरूले यसअघि नै आ-आफ्नो अंश आ-आफूले बुझी छुट्टिई भिन्न भई बसी आएको, ठुलोबुबा स्व. ओमभक्त कार्की सानैदेखि धर्मकर्ममा लाग्ने धार्मिक स्वभावको भएको र उहाँको आफ्ना सहोदर दाजुभाइ तथा भाउजू, बुहारीहरूसँग विभिन्न अदालतमा पटकपटक अंश, अंश दपोट तथा बाली बिगोलगायतका वर्षौंदेखि थुप्रै मुद्दासमेत चलिरहेको हुँदा सोही कारणसमेतबाट पहिल्यैदेखि नै सुनसरीको आफ्नो स्थायी घर छोडी धेरैजसो प्युठानको स्वर्गद्वारी आश्रममा बसी आउनु भएको र धर्मकर्मको सिलसिलामा काठमाडौं आउँदा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३४ मितेरी मार्ग स्थित उहाँको भदा लिलाबहादुर बस्नेतको घरमा बसोबास गर्ने गर्नुहुन्थ्यो । यस बेलासम्म हामीहरूबिच कुनै पनि किसिमको विवाद थिएन र छैन । 

ठुलोबुबा ओमभक्तले घर छोडी धर्मकर्ममा लागिरहनुभएको अवस्थामा निजकी पत्नी मेरी ठुलीआमा गंगादेवी कार्कीको पनि आफ्नै कालगतिले मिति २०५६।६।३ मा परलोक भएको र निजहरूको कुनै सन्तानसमेत नभएको हुँदा ठुलोबुबा ओमभक्त कार्कीले अब मेरो हकमा जो जो गर्नुपर्ने सम्पूर्ण कार्य तिमी भतिजाले गर है भनी भनेकोले मैले पनि सोही वचनलाई सहर्ष स्वीकार गरी निरन्तररूपमा प्युठानको स्वर्गद्वारीसमेत गई सेवा गरिरहेको अवस्थामा ठुलोबुबा ओमभक्त पनि अति वृद्ध भई स्वर्गद्वारी आश्रम बस्न नसकी पुनरावेदक/वादी म शम्भुकुमार कार्कीलाई बोलाई म वृद्ध भएँ, हिन्दु परम्परा र धार्मिक आस्थाका कारण जीवनको अन्तिम अवस्था काठमाडौं पशुपतिमा बिताउने इच्छा छ, आवश्यक सहयोग गर भनेको हुँदा म निवेदकले निज ठुलोबुबालाई २०६३ सालदेखि काठमाडौं ल्याई प्युठानको स्वर्गद्वारी आश्रमसँग सम्बन्धित पशुपति भगवान् सन्यास आश्रम बसोबासको प्रबन्ध मिलाई सोही समयदेखि स्व. ठुलोबुबाको निरन्तर हेरविचार, टहल चाकरी गरी तथा बिरामी हुँदा आवश्यक औषधोपचारसमेत गरी आएको अवस्थामा मिति २०६७।०६।१७ मा काठमाडौं गौशालामा बाटो काट्दै गर्दा बा.१.ज ५६९६ नं. को बसले ठक्कर दिएको र सोही कारणबाट मिति २०६७।०६।१९ मा ९५ वर्षको उमेरमा उपचार हुन नसकी न्युरो अस्पताल बाँसबारी, काठमाडौंमा ठुलोबुबा ओमभक्तको देहान्त भएपश्चात् तेस्रो पक्ष बिमाबापत प्राप्त हुने रू. ५,००,०००।- (पाँच लाख) जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा धरौटीमा रहेकोले म निवेदक वादी तथा विपक्षी प्रतिवादीसमेतका अन्य हकदारहरूको दाबी परेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट मिति २०६७।१२।६ मा हक कायम गराई ल्याउने निर्णय भएपश्चात् उक्त क्षतिपूर्तिबापतको बिमा रकममा हक कायमसमेत गरिपाउँ भनी विभिन्न आधार प्रमाणहरू खुलाई म निवेदक वादीले मुलुकी ऐन, अपुतालीको महलको ११ नं.समेतको आधारमा सुरू अदालतमा हक कायम फिराद दर्ता गरेकोमा सुरू अदालतले मिति २०६९।२।३२ मा मलाई हराई फैसला गर्ने क्रममा निज मृतक ओमभक्तलाई निवेदक वादीले आफूसँग साथमा राखी स्याहार सम्भार गरेको भन्ने नदेखिएको भनी गलत तर्क खडा गरी हुन पुगेको अदालतको फैसला मिलेको छैन । म निवेदकले निरन्तररूपमा मृतक ठुलोबुबाको सधैँ सँगसाथ रही रेखदेख, सेवा शुश्रूषा गरिरहेको र उक्त कुराको पुष्टि आश्रमले मिति २०६७।०७।०५ मा काठमाडौं महानगरपालिका वडा नं. ८ को कार्यालयलाई लेखेको पत्रसमेतले पुष्टि गरिरहेको अवस्थामा सुरू अदालतबाट उक्त पत्रसमेतलाई प्रमाणमा नलगाई पूर्ण बेवास्ता गर्दै निज मृतक ओमभक्तलाई म निवेदकले आफूसँग साथमा राखी स्याहार सम्भार गरेको भन्ने नदेखिएको भनी गलत तर्क खडा गरी हुन पुगेको अदालतको फैसला प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को विपरीत छ । 

ठुलोबुबा ओमभक्तले घर छोडी धर्मकर्ममा लागिरहनुभएको अवस्थामा निजकी पत्नी मेरी ठुलीआमा गंगादेवी कार्कीको पनि आफ्नै कालगतिले मिति २०५६।६।३ मा परलोक भएको र निजहरूको कुनै सन्तानसमेत नभएको हुँदा ठुलोबुबा ओमभक्त कार्कीले अब मेरो हकमा जो जो गर्नुपर्ने सम्पूर्ण कार्य तिमी भतिजाले गर है भनी भनेकोले मैले पनि सोही वचनलाई सहर्ष स्वीकार गरी निरन्तररूपमा प्युठानको स्वर्गद्वारीसमेत गई सेवा गरिरहेको अवस्थामा ठुलोबुबा ओमभक्त पनि अति वृद्ध भई स्वर्गद्वारी आश्रम बस्न नसकी पुनरावेदक/वादी म शम्भुकुमार कार्कीलाई बोलाई म वृद्ध भएँ, हिन्दु परम्परा र धार्मिक आस्थाका कारण जीवनको अन्तिम अवस्था काठमाडौं पशुपतिमा बिताउने इच्छा छ, आवश्यक सहयोग गर भनेको हुँदा म निवेदकले निज ठुलोबुबालाई २०६३ सालदेखि काठमाडौं ल्याई प्युठानको स्वर्गद्वारी आश्रमसँग सम्बन्धित पशुपति भगवान् सन्यास आश्रम बसोबासको प्रबन्ध मिलाई सोही समयदेखि स्व. ठुलोबुबाको निरन्तर हेरविचार, टहल चाकरी गरी तथा बिरामी हुँदा आवश्यक औषधोपचारसमेत गरी आएको अवस्थामा मिति २०६७।०६।१७ मा काठमाडौं गौशालामा बाटो काट्दै गर्दा बा.१.ज ५६९६ नं. को बसले ठक्कर दिएको र सोही कारणबाट मिति २०६७।०६।१९ मा ९५ वर्षको उमेरमा उपचार हुन नसकी न्युरो अस्पताल बाँसबारी, काठमाडौंमा ठुलोबुबा ओमभक्तको देहान्त भएपश्चात् तेस्रो पक्ष बिमाबापत प्राप्त हुने रू. ५,००,०००।- (पाँच लाख) जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा धरौटीमा रहेकोले म निवेदक वादी तथा विपक्षी प्रतिवादीसमेतका अन्य हकदारहरूको दाबी परेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट मिति २०६७।१२।६ मा हक कायम गराई ल्याउने निर्णय भएपश्चात् उक्त क्षतिपूर्तिबापतको बिमा रकममा हक कायमसमेत गरिपाउँ भनी विभिन्न आधार प्रमाणहरू खुलाई म निवेदक वादीले मुलुकी ऐन, अपुतालीको महलको ११ नं.समेतको आधारमा सुरू अदालतमा हक कायम फिराद दर्ता गरेकोमा सुरू अदालतले मिति २०६९।२।३२ मा मलाई हराई फैसला गर्ने क्रममा निज मृतक ओमभक्तलाई निवेदक वादीले आफूसँग साथमा राखी स्याहार सम्भार गरेको भन्ने नदेखिएको भनी गलत तर्क खडा गरी हुन पुगेको अदालतको फैसला मिलेको छैन ।

ठुलोबुबा सँगसाथ रहने क्रममा उहाँले बैङ्कको शाखामा खाता नं. १०२४ अन्तर्गत मुद्दती खाता खोली रू.३,००,०००।- रकम खातामा राख्ने क्रममा इच्छाएको व्यक्तिमा मेरो हेरविचार तथा रेखदेख गर्ने व्यक्ति भतिजा नाता पर्ने शम्भुकुमार कार्की भनी मेरो ठेगाना खोली बेहोरा लेखाई दिनु भएको हुँदा निज ठुलोबुबाको देहान्तपश्चात् स्व. ठुलोबुबा ओमभक्तको नाममा रहेको उक्त मुद्दती खाताको रकम पाउँ भनी म निवेदकले निवेदन दिएकोमा उक्त फाइनान्सले उक्त मेरो निवेदनउपर छानबिन तथा हकदाबीसमेतका निमित्त ३५ दिने सूचना राष्ट्रियस्तरको दैनिक पत्रिका मिति २०६८।४।६ मा प्रकाशित भएकोमा उक्त तोकिएको हदम्यादभित्र कसैले पनि हकदाबी गर्न नगएको हुँदा बैङ्क तथा वित्तीय संस्था ऐन, २०६३ को दफा ८१ अनुसार उक्त सावाँ रकम रू.३,००,०००।- र सोको ब्याजसमेत म पुनरावेदकले भुक्तानी लिएको, त्यस्तै स्व. ठुलोबुबा ओमभक्त कार्कीले क्रेडिट एण्ड को-अपरेटिभ लि. रामशाहपथ, पुतलीसडकमा समेत खाता खोलेको हुँदा निजको देहान्तपश्चात् स्व. ठुलोबुबा ओमभक्तको नाममा रहेको बचत रकम पाउँ भनी म निवेदकले निवेदन दिएकोमा उक्त मेरो निवेदनउपर छानबिन तथा हकदाबीसमेतका निमित्त ३५ दिने सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशित भएकोमा उक्त तोकिएको हदम्यादभित्र कसैले पनि हकदाबी गर्न नगएको हुँदा उक्त रकम मैले भुक्तानी लिएको, सो दुवै निर्णयउपर विपक्षीहरू कोही कसैको उजुरसमेत नपरी उक्त दुवै निर्णय अन्तिम भइरहेकोसमेतबाट निज स्व. ठुलोबुबा मेरो सेवाबाट प्रभावित हुनुहुन्थ्यो र मैले नै निजको सेवा शुश्रूषा गरेको भन्ने निजले आफ्नै जीवनकालमा लेखाइदिएको र उक्त कार्यलाई यी विपक्षीहरूले स्वीकार गरेकोसमेतबाट जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा धरौटी रहेको रकममा विपक्षीहरूको हककायम हुनै नसक्ने कुरा पुष्टि भइसकेकोले उक्त रकम म निवेदक शम्भुकुमार कार्कीका नाममा सहजरूपमा हककायम गरिदिनुपर्ने कुरालाई सम्मानित अदालतले अनदेखा गरी अपुतालीको महलको ११ नं. को गलत व्याख्या गर्दै मेरो हक कायम नहुने ठहर गरी भएको फैसला कानूनी त्रुटिपूर्ण छ । 

ठुलोबुबाको जीवनकालमा नै मैले निरन्तर सेवा गरेको अवस्थामा दुर्घटनामा परी मृत्यु भएपश्चात् हिन्दु धर्म परम्पराअनुसार गर्नुपर्ने काजकिरिया, पिण्डपानीसमेतको जे जो गर्नुपर्ने सम्पूर्ण कार्य विपक्षी/प्रत्यर्थीहरूले गरेको नभई म निवेदकले नै गरेको भए तापनि म निवेदकको बाबु जीवित भएको हुँदा हिन्दु परम्पराबमोजिम बाबु भएकाले टाउको मुण्डन गरी कोरा बस्न नहुने भन्ने मान्यताअनुरूप म कोरा नबसी अन्य व्यक्तिलाई कोरा बस्न लगाई मेरो आफ्नै खर्चमा १३ दिने काजकिरिया सम्पन्न गराएको बेहोरासमेत सम्मानित अदालतलाई अवगत गराउँदै सो काजकिरिया सम्बन्धमा लागेको सम्पूर्ण खर्चहरूको बिल भरपाइसमेत यसै साथ पेस गरेको, साथै उहाँको वार्षिकी (बर्खान्त) समेत मेरो निजी खर्चमा मिति २०६८।६।८ भागवत सन्यास आश्रममा सम्पन्न गरेको र सुरू फिराद साथ खर्च गरेको सम्पूर्ण बिल भरपाहरूसमेत पेस गरेको, उक्त कुराको पुष्टि जो जसलाई सम्बन्ध छ भनी दिएको सिफारिससमेतबाट पुष्टि भइरहेको छ । 

ठुलोबुबा स्व. ओमभक्तको नामको क्षतिपूर्ति तथा अन्य श्रीसम्पत्तिसमेत यस मुद्दाका विपक्षीहरूले पाउन सक्ने अवस्था छैन किनकि स्व. ठुलोबुबा ओमभक्त कार्की र यस मुद्दाका विपक्षी देवेन्द्रबहादुर कार्कीको मु.स. गर्ने हिमालयकुमारी कार्कीसँग बाली बिगो, अंश मुद्दा परी हालसम्म बाली बिगो मुद्दा सुनसरी जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ भने देवेन्द्रबहादुर कार्कीसँग चलेको फैसला बदर, लिखत बदर मुद्दा उच्च अदालत, विराटनगरमा चलिरहेको छ । निज ओमभक्तको भाइ बुहारी भिमकुमारी (हाल मृतक) सँग बन्डा छुट्याइपाउँ भन्ने मुद्दा, त्यस्तै ओमभक्त र लवकुमारी तथा पूर्णकुमारीबिच चलेको अंश दपोट मुद्दा, त्यस्तै ओमभक्त र हरिबहादुरबिच चलेको अंश र लिखत बदर मुद्दा अन्तिम भई बसेको छ । सुनसरी जिल्ला अदालतमा वादी कुमार कार्की र प्रतिवादी ओमभक्त भई चलेको बन्डा छुट्याइपाउँ भन्ने मुद्दा हाल पनि विचाराधीन रहेकोसमेतबाट निज मृतक ओमभक्त कार्कीलाई विपक्षीहरू कसैले हेरचाह, पालनपोषण नगरेको, हालका विपक्षीसँग मुद्दा परी पक्ष विपक्ष कायम भई मुद्दा फैसला तथा विचाराधीनसमेत रहेको विपक्षीहरूले पालनपोषण, रेखदेख गरे होलान् भन्ने सामान्य अनुमानसमेत गर्न नसकिने अवस्थामा अपुतालीको महलको ११ नं.अनुसार अपुताली पर्नेको जसले पालनपोषण, हेरचाह गर्‍यो त्यसैले पाउने हुँदा हाल विवादित बनाउन खोजिएको रकम अंश हक लाग्ने रकमजस्तो होइन । मृतक ठुलोबुबाले आफ्नो नामको विभिन्न कित्ता जग्गाहरू बिक्री गर्नका निमित्त मलाई दिनुभएको अ.वा. बमोजिमको कार्य सम्पन्न गरेकोसमेतबाट निज मृतक ओमभक्तको एक मात्र हकदार म शम्भुकुमार कार्की मात्र भएको पुष्टि हुन्छ । उक्त बिमाबापत मृतकका नाममा प्राप्त भई हाल जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा धरौटी रहेको रकम रू. ५,००,०००।- (पाँच लाख) दाबी गर्न निज विपक्षी प्रत्यर्थीहरूलाई मुलुकी ऐन अ.बं. ८२ नं. ले हकदैया नै प्रदान गर्दैन ।

अत: उल्लिखित कानूनी आधारहरू, सम्बद्ध प्रमाणहरूका विपरीत तथा सबुद प्रमाणको विश्लेषण एवं मूल्याङ्कन नगरी मुलुकी ऐन, अ.बं. १८५क, प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ तथा ऐ. अपुतालीको महलको ११ नं. तथा सम्मानित सर्वोच्च अदालतबाट प्रकाशित ने.का.प. २०६८ अङ्क ८ पृष्ठ १३८२, नि.नं. ८६६९, सर्वोच्च अदालत बुलेटिन वर्ष २० अङ्क १०, २०६८ भदौ-२ मा प्रकाशित नजिर सिद्धान्तहरूको विपरीत सुरू अदालतको त्रुटिपूर्ण फैसला सदर गर्ने गरी तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसला प्रमाणको मूल्याङ्कनको अभाव र कानूनको गलत व्याख्या भई कानूनी त्रुटिपूर्ण रहेबाट उक्त फैसला उल्टी गरी बिमाबापत मृतक ओमभक्त कार्कीको नाममा प्राप्त भई जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा धरौटी रहेको रकम रू.५,००,०००।- (पाँच लाख) रकममा म निवेदकको निवेदन जिकिरबमोजिम हककायम गरिपाउँ भन्नेसमेत बेहोराको शम्भुकुमार कार्कीले यस अदालतमा पेस गरेको निवेदनपत्र ।

यसमा यिनै निवेदक र विपक्षी भएको ०७३-RI-१६९८ को हककायम मुद्दामा आज यसै इजलासबाट दोहोर्‍याई हेर्ने अनुमति प्रदान भएकोले प्रस्तुत मुद्दासमेत उक्त मुद्दासँग अन्तरप्रभावी हुँदा प्रस्तुत मुद्दासमेत सोही आधारमा न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरिदिएको छ भनी यस अदालतबाट मिति २०७३।११।२० मा भएको 

आदेश ।

सुरू काठमाडौं जिल्ला अदालतबाट लिएको फैसलाधारमा मृतक दाजु ओमभक्तको सवारी दुर्घटनाबाट मृत्यु भई जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा जम्मा हुन आएको क्षतिपूर्तिको रकम रू.५,००,०००।- पाउँ भनी म पुनरावेदक वादी र प्रतिवादीमध्येको भाइ देवेन्द्रबहादुर कार्की र मेरो सहोदर छोरा विपक्षी शम्भुकुमार कार्कीको मात्र निवेदन परेको कुरा उल्लेख गरेको छ । जसबाट के प्रस्ट हुन्छ भने अन्य प्रतिवादी पूर्णकुमारी कार्की, लवकुमारी कार्की र भीमकुमारी कार्कीको कुनै दाबी छैन । दाबी नै नलिने व्यक्तिहरूलाई अदालत आफैँले अंशबन्डा गरेजस्तो गरी हक कायम गर्ने गरी भएको फैसला त्रुटिपूर्ण छ । अंश र अपुताली भनेको बेग्ला बेग्लै कानूनी सन्दर्भ 

हुन् । अंश हक सबै अंशियारलाई समानरूपमा बन्डा लाग्छ भने अपुताली हक नजिकको हकवालाले मात्र प्राप्त गर्ने हक हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट सम्बन्धित अदालतबाट हकबाहेक छुट्याई आएपछि कानूनबमोजिम गर्ने भनी मिति २०६७।१२।६ मा हक कायम गरी ल्याउन निर्णय भएपछि म पुनरावेदक वादीले र अर्को वादी मेरो एकाघरका छोरा शम्भुकुमार कार्कीले मात्र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सम्बन्धित क्षेत्राधिकार भएको काठमाडौं जिल्ला अदालतमा र यी विपक्षी देवेन्द्रबहादुर कार्कीले क्षेत्राधिकार नै नभएको सुनसरी जिल्ला अदालतमा फिराद गरेका छन् । क्षेत्राधिकारविहीन फिरादबाट हक कायम हुन नसक्ने र अन्य विपक्षीहरू जिल्ला प्रशासन कार्यालय र काठमाडौं जिल्ला अदालतमा हक कायम गर्न नआएको हुँदा विपक्षीहरूको कुनै हक नलाग्नेमा विपक्षीहरूको समेत हक लाग्ने गरी भएको फैसला त्रुटिपूर्ण छ ।

मृतक दाजु ओमभक्त कार्कीलाई मैले बेला बेलामा घरमा राखी हेरविचार गरी आएको थिएँ । मृतक दाजु र भिन्न बसेका भाइ देवेन्द्रबहादुर कार्कीबिच चलेको बाली बिगो मुद्दा सर्वोच्च अदालतमा चली मिति २०६८।५।१ मा फैसला भएको छ । वादी भरतबहादुर कार्की प्रतिवादी दाजु ओमभक्त कार्की भएको अंश मुद्दा निजको दाजुको मृत्युपश्चात् म पुनरावेदकले मुद्दा सकार गरी तारेखमा बसी मुद्दाको पुर्पक्ष गरी आएको छु । यी कुरालाई प्रमाणमा नबुझी फैसलामा कहीँकतै उल्लेख नै गरिएको छैन । मृतक दाजु ओमभक्त कार्कीलाई आफ्नो साथमा राखी विपक्षी वादी प्रतिवादीहरू कसैले पनि स्याहार सम्भार गरेको अवस्था नभएको, निजको स्वास्नी तथा छोराछोरी नभएको हुँदा सवारी दुर्घटनाबाट मृत्यु भई प्राप्त हुने क्षतिपूर्ति मुलुकी ऐन, अपुतालीको १ नं.बमोजिम सबैभन्दा नजिकको जीवित हकवाला म पुनरावेदक मात्र हुँ । अपुतालीको महलको १२ नं.बमोजिम कोही कसैले आफ्नो घरमा राखी पालनपोषण, हेरविचार नगरेको अवस्था विद्यमान भएकोले म निवेदक नजिकको सहोदर भाइको मात्र एकलौटी हककायम गर्नुपर्नेमा सो नगरी विपक्षी प्रतिवादीहरूसमेतको हक कायम हुने ठहर्‍याई भएको फैसला अपुतालीको १ नं. र १२ नं.विपरीत भएको प्रस्ट छ ।

पिता माताबाट जन्मेका ५ भाइमध्ये हाल जीवित म वादी र भाइ देवेन्द्रबहादुर कार्की मात्र बाँकी रहेकोमा भाइ देवेन्द्रबहादुर कार्की अघि नै भिन्न भई बसेको र निज मृतक दाजु ओमभक्त कार्कीको झगडिया भई मुद्दा गरेको हुँदा निज देवेन्द्रबहादुर कार्की दाजु ओमभक्तको अपुताली खाने हकदार नभएकोले म निवेदक मात्र कानूनबमोजिम अपुताली पाउने हकदार हुँ । म निवेदकपछिको भाइ देवेन्द्रबहादुर कार्की भएकोले म निवेदक हुँदा हुँदै निजले अपुताली पाउने होइन । निजसँग दाजु ओमभक्त कार्कीको मुद्दासमेत चलिरहेको, सो मुद्दाहरू मैले सकार गरी मुद्दा गरिरहेको हुँदा देवेन्द्रबहादुर कार्कीको क्षतिपूर्ति रकममा हक कायम हुन सक्ने होइन । त्यस्तै गरी पुरूषतर्फ हाँगाको नजिकको भाइ म वादी हुँदा हुँदै पालनपोषण नगर्ने परलोक भइसकेको दाजु दलबहादुरका श्रीमतीहरू पूर्णकुमारी कार्की, लवकुमारी कार्की र परलोक भएका दाजु डम्बरबहादुर कार्कीको श्रीमती भीमकुमारी कार्की नजिकको हकदार कायम हुन नसक्ने हुँदा निजहरूको क्षतिपूर्ति रकममा दाबी लाग्ने सक्ने होइन । 

मृतक दाजु ओमभक्त कार्कीको क्षतिपूर्ति रकममा दाबी गर्ने शम्भुकुमार कार्की म निवेदकको सहोदर अंश छुट्टिई भिन्न बसेका छोरा हो । मृतकको भाइ म निवेदक हुँदाहुँदै निजले अपुताली हक पाउने होइन । निज दाजु ओमभक्त कार्कीको हेरविचार, स्याहार सम्भार विपक्षी शम्भुकुमार कार्कीले गरेको होइन । दाजु ओमभक्त कार्की बसोबास नै नगरेको काठमाडौं महानगरपालिकाको वडा कार्यालयसमेतबाट बनावटी सिफारिससमेतको आधारमा निज शम्भुकुमार कार्कीले पालनपोषण गरेको आधारमा हकदार कायम हुन सक्ने होइन । 

अत: उल्लिखित कानूनी आधार, प्रमाणहरूको विपरीत, मुलुकी ऐन अ.बं. १८४क, १८५, प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ तथा ऐ. अपुतालीको महलको १ नं. र १२ नं. तथा सम्मानित सर्वोच्च अदालतबाट ने.का.प. २०६८ अङ्क ८ पृष्ठ १३८२, नि.नं. ८६६९ मा प्रतिपादित नजिर सिद्धान्तसमेतको प्रत्यक्ष गम्भीर त्रुटि हुने गरी वादी दाबीभन्दा बाहिर गई क्षतिपूर्तिबापतको रकममा म निवेदक/पुनरावेदकको मात्रै एकलौटी हक कायम गर्नुपर्नेमा सो नगरी चार खण्डको एक खण्ड मात्र हक कायम हुन ठहर्‍याई हुन गएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६९।२।३२ को फैसला बदर नगरी सदर भएको पुनरावेदन अदालत पाटनको मिति २०७३।५।१९ को फैसला त्रुटिपूर्ण, नजिर सिद्धान्त प्रतिकूल, औचित्यहीन र गलत तर्कमा आधारित भएको हुँदा उक्त फैसला बदर गरी बिमाबापत मृतक ओमभक्त कार्कीका नाममा प्राप्त भई हाल जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा रहेको धरौटी रकम रू. ५,००,०००।- (पाँच लाख) रकम म निवेदकको अपुताली हक कायम हुने ठहर गरी क्षतिपूर्ति रकम दिलाई पाउन प्रस्तुत मुद्दा दोहोर्‍याई हेरी न्याय पाउँ भन्नेसमेत बेहोराको हरिबहादुर कार्कीले यस अदालतमा पेस गरेको निवेदनपत्र ।

मृतक ओमभक्त कार्कीलाई निवेदक हरिबहादुरले म एक मात्र जीवित हकदार भनी लिनु भएको मागदाबी सरासर झुठा बनावटी मात्र हो । अपुताली पर्दाका अवस्था नजिकका हकदार सहोदर भाइहरू हरिबहादुर कार्की र देवेन्द्रबहादुर कार्की जीवित रहेको तथ्यलाई अनदेखा गरी देवेन्द्रबहादुर कार्कीले मृतक दाजु ओमभक्त कार्कीलाई स्वर्गद्वारीबाट आएपश्चात् सुनसरी, मधेशा-१ को घरमा र काठमाडौं मितेरी मार्गको घरमा बसोबासको व्यवस्था मिलाई हेरचाह, स्याहार सम्भार गरी आएको अवस्था काठमाडौं मितेरी मार्ग स्थित देवेन्द्रबहादुरको घरबाट पशुपति मन्दिर दर्शन गर्न जाने क्रममा दुर्घटनामा परी देवेन्द्रबहादुरले उपचार गराउँदा गराउँदै मृत्यु भएको तथ्य प्रमाणित रूपमा छ । मृत्युपश्चात् सद्‌गत गरी भतिजा दुर्गाबहादुरलाई कोरामा राखी पिण्डपानी तर्पण आदि आफ्नै खर्चमा गराएको हुँदा अपुताली बिमा रकममा विपक्षी हरिबहादुरले भनेजस्तो निजको एकलौटी हक हुने होइन ।

प्रस्तुत निवेदन माग दाबीमा हरिनारायण महतो धानुक विरूद्ध गौरी महतो धानुकसमेत भएको हककायम खिचोला चलन दर्ता मुद्दामा प्रतिपादन भएको सिद्धान्त लाग्न सक्ने अवस्था छैन । उक्त मुद्दाको तथ्य र सन्दर्भ अलग छ, जसमा मृत्युअघि नै मृतकले सेवा टहल गरी आएको आधारमा सम्पत्ति बकसपत्र गरिदिएको देखिन्छ । यसमा मृतकले मृत्युपछि अपुतालीको हकदार अघि नै कायम गरेको आधारमा अपुताली महलको ११ नं. आकर्षित भई सोही आधारमा हदम्यादसमेतको व्याख्या गरेको 

पाइन्छ । सो केही नभई खाली मुखका भरमा प्रस्तुत मुद्दाको सन्दर्भमा ने.का.प. २०६८ अङ्क ८ नि.नं. ८६६९ मा प्रतिपादित कानूनी सिद्धान्त लाग्न नसक्ने हुँदा सम्मानित अदालतबाट न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) र (ख) बमोजिम दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरिएको निवेदक शम्भुकुमार कार्की प्रत्यर्थी लिखित प्रतिवादकर्ता म हिमालयकुमारी कार्कीसमेत भएको हक कायम मुद्दामा दोहोर्‍याई हेर्ने अनुमति प्रदान भएको र प्रस्तुत मुद्दा पनि अन्तरप्रभावी भएकोले सोही आधारमा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरिएको आदेश त्रुटिपूर्ण भई बदरभागी छ । निवेदन मागदाबीबाट अलग फुर्सद गरी न्याय पाउँ भन्नेसमेत बेहोराको हिमालयकुमारी कार्कीले यस अदालतमा पेस गरेको लिखित प्रतिवाद ।

मृतक ओमभक्त मृत्यु हुनुअघिसम्म सुनसरी जिल्लामा बस्दा मधेशा १ मा रहेको म निवेदकको घरमा र काठमाडौंमा बस्दा मेरो मितेरी मार्गको घरमा बस्नु हुन्थ्यो । मृतक मृत्यु हुनु एक साताअघि मात्र मेरो मधेशा १ स्थित कामत घरबाट काठमाडौं गई मितेरी मार्गको घरमा बस्नुभएको थियो । घरबाट मन्दिर जाने क्रममा पशुपतिक्षेत्र जय वागेश्वरीमा माइक्रो बसले ठक्कर दिई उपचारको क्रममा न्यूरो अस्पताल, काठमाडौंमा मृत्यु भएको हो । मृत्युपश्चात् काजकिरिया, सद्‌गत, पिण्डपानी आदि आफैँले गराएको छु । मृत्यु हुनुअघि वृद्ध अवस्थाका दाजु ओमभक्तलाई आफ्नो घरमा राखी भात भान्सा स्याहार सम्भार गरी आएको भन्ने वस्तुनिष्ठ र भनाइ रहेकोतर्फ दृष्टि नपुगी मृतकलाई आफूले स्याहारसुसार गरेको भन्ने वस्तुनिष्ठ प्रमाण पेस गरेको नदेखिँदा समानस्तरका दाजुभाइको हक लाग्ने गरी भएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ बमोजिम बुझ्नुपर्ने प्रमाणलाई प्रमाणमा नलिई भएको फैसला त्रुटिपूर्ण भई बदरभागी छ ।

अपुतालीको महल जुन मनसाय र भावनाबाट लागु भएको हो, सोतर्फको तथ्य, प्रमाण र कानूनको विवेचना फैसलामा भएको छैन । अंशबन्डाको कानूनी व्यवस्थाबमोजिम खड्गबहादुरका छोराहरू, छोराहरू नभएमा निजहरूको श्रीमती तथा छोराहरूमा ४ भाग लगाई १/१ भाग पर्ने गरी बन्डा गरिएको पाइन्छ, जुन अपुताली महलको कानूनी व्यवस्था प्रतिकूल तथा कानूनको प्रत्यक्ष त्रुटि फैसलामा रहेको प्रथम दृष्टिमा नै विद्यमान छ । म निवेदकको मागदाबी भनेको अंशबन्डा महलअन्तर्गतको नभई अपुताली महलअन्तर्गतको 

हो । म निवेदकको मुख्य प्रतिउत्तर जिकिर भनेको अन्य दाजुहरूअघि नै छुट्टिई भिन्न भई बसेका माहिला दाजु ओमभक्त कार्की र म सगोलमा थियौं । दाजु ओमभक्तले ममाथि अंश मुद्दा दायर गर्नुभएको 

थियो । सो मुद्दा छिनोफानो नभई भात भान्सासम्म अलग गरी बस्नुभएको थियो । उहाँको मृत्युपश्चात् हकदारले पाउने गरी जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा धरौटीमा रहेको बिमा रकम रू.५,००,०००।- दाजु ओमभक्तको सबैभन्दा नजिकको हकदार म फिरादी मात्र भएको तथ्य, प्रमाण र अपुतालीको महलको १२ नं. को कानूनी व्यवस्थासमेत विपरीत अंशबन्डाको महलबमोजिम जस्तो बन्डा गर्ने गरी भएको फैसला त्रुटिपूर्ण छ ।

अतः उपर्युक्तबमोजिम हरिबहादुर वादी म निवेदिका प्रतिवादी भएको ०७३-RI-१६९४ को हककायम गरी क्षतिपूर्ति रकम दिलाइपाउँ भन्ने मुद्दा र निवेदक वादी शम्भुकुमार कार्की र म निवेदिका प्रतिवादी भएको ०७३-RI-१६९९ नं. को हककायम गरी क्षतिपूर्ति रकम दिलाई पाउँ भन्ने मुद्दामा दोहोर्‍याई हेर्ने अनुमति प्रदान भई न्यायिक प्रक्रियामा रहेका मुद्दासमेतलाई लगाउमा राखी दाबी प्रमाणभन्दा बाहिर गई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७१।७।११ मा भएको फैसला सदर गरी पुनरावेदन अदालत पाटनबाट भएको मिति २०७३।५।१९ गतेको फैसलामा मुलुकी ऐन, अपुतालीको महलको ७ नं. र १२ नं. को गम्भीर त्रुटि विद्यमान हुँदा मुद्दा दोहोर्‍याई हेरी प्रतिउत्तर जिकिरअनुसार न्याय पाउँ भन्नेसमेत बेहोराको हिमालयकुमारी कार्कीले यस अदालतमा पेस गरेको निवेदनपत्र ।

यसमा निवेदक प्रतिवादी हिमालयकुमारी कार्की भएको ०७३-RI-१६९४ को हककायम गरी क्षतिपूर्ति रकम दिलाइपाउँ भन्ने मुद्दा र निवेदक वादी शम्भुकुमार कार्की र विपक्षी प्रतिवादी हिमालयकुमारी कार्की भएको ०७३-RI-१६९९ को हककायम गरी क्षतिपूर्ति रकम दिलाइपाउँ भन्ने मुद्दामा मिति २०७३।११।२७ मा दोहोर्‍याई हेर्ने अनुमति प्रदान भएको देखिएको र प्रस्तुत मुद्दा सो मुद्दासँग अन्तरप्रभावी भएकोले प्रस्तुत मुद्दामा समेत न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) र (ख) बमोजिम दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरिएको छ । नियमानुसार पेस गर्नु भनी यस अदालतबाट मिति २०७४।०३।१८ मा भएको आदेश ।

यस अदालतको ठहर

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ यस इजलासमा पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनपत्रसहितको मिसिल संलग्न कागजातहरू अध्ययन गरी निम्नबमोजिमको बहस सुनियो ।

पुनरावेदक/प्रतिवादी शम्भुकुमार कार्कीको तर्फबाट विद्वान् अधिवक्ता श्री चन्द्र प्रकाश भट्टराईले मृतक ओमभक्त कार्की पुनरावेदकका सहोदर माहिला काका हुनुहुन्छ । निज काकाको सवारी दुर्घटनाबाट मृत्यु भएकोमा विवाद छैन । मृतक काका ओमभक्त कार्की र प्रत्यर्थीहरूबिच अंशलगायतका विभिन्न मुद्दाहरू चली निजहरूबिच अंशबन्डा भइसकेको स्थिति छ । ओमभक्त कार्कीको श्रीमतीको यसअघि नै मृत्यु भएको र निजहरूको छोराछोरी नभई नि:सन्तान भएको कारण ओमभक्त कार्कीको स्याहार सम्भार, पालनपोषण र औषधोपचारसमेत र निजको मृत्युपश्चात्‌को काज किरियासम्बन्धी सम्पूर्ण खर्चसमेत पुनरावेदक/प्रतिवादी शम्भुकुमार कार्कीले नै गरेका हुन् । सो कुराको पुष्टि भागवत सन्यास आश्रमको पत्र, काठमाडौं महानगरपालिकाको सिफारिस, हिमालय फाइनान्सको सिफारिस, स्ट्यान्डर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभमा ओमभक्तको नामबाट बचत भएको रकम शम्भुकुमार कार्कीले भुक्तानी लिएकोसमेतका प्रमाणहरूले पुष्टि गरिरहेको छ । मृत्युपछि क्षतिपूर्तिबापतको रकमको हकदार पुनरावेदक शम्भुबहादुर कार्कीबाहेक अन्य व्यक्ति हुनै सक्दैन । क्षतिपूर्तिबापतको रकम अंशहक जस्तो होइन । कानूनमा नै अंशबन्डा र अपुतालीसम्बन्धी छुट्टै महल तथा हकवालाको क्रम नै छुट्टै व्यवस्था भएको अवस्थामा अंश र अपुताली एउटै मान्न मिल्दैन । तत्कालीन मुलुकी ऐन, अपुतालीको महलको ११ नं.अनुसार अपुताली पर्दा मर्नेको स्याहार सम्भार नजिकको हकवालाले नगरी अन्य व्यक्तिले गरेको रहेछ भने त्यस्तो व्यक्तिको अपुतालीको सबै चल अचल सम्पत्ति त्यस्तो स्याहार गर्नेले पाउने व्यवस्था गरिरहेको र नजिकको हकवालाले स्याहार सम्भार नगरी अन्यले गरेमा पनि अपुताली पाउनसक्ने अवस्था रहेको हुँदा मृतक ओमभक्त कार्कीको मृत्युपश्चात् प्राप्त भएको क्षतिपूर्तिबापतको रकममा पुनरावेदक शम्भुकुमार कार्कीको एकलौटी हक लाग्नेमा निजको दाबी पुग्न नसक्ने ठहर गरी सुरू अदालतबाट भएको फैसला नै सदर हुने ठहर्‍याई उच्च अदालत पाटनबाट भएको फैसला त्रुटिपूर्ण रहेकोले उक्त फैसला उल्टी गरी उक्त क्षतिपूर्तिबापतको रकममा पुनरावेदक/प्रतिवादी शम्भुकुमार कार्कीको हक कायम गरी रकम दिलाइपाउँ भन्नेसमेत बहस जिकिर प्रस्तुत गर्नुभयो ।

साथै पुनरावेदक/प्रतिवादी देवेन्द्रबहादुर कार्कीको मु.स. गर्ने हिमालयकुमारी कार्कीको तर्फबाट विद्वान् अधिवक्ता श्री रमेश निरौलाले मृतक ओमभक्तसँगको नाता सम्बन्धमा विवाद छैन । निजसँग अंशबन्डा भए पनि सगोलमा बस्दै आएको हो । वहाँको श्रीमतीको मृत्यु भएको र छोराछोरी नभई नि:सन्तान भएको कारण स्वर्गद्वारी स्थित आश्रममा बस्नुभएको हो । त्यहाँ बस्दा आश्रमको सञ्चालन समितिमा रहनु भई आश्रमबाट प्राप्त हुने सुविधाले वहाँको निर्वाह भएकोले निजलाई कसैले पाल्नुपर्ने अवस्था 

होइन । निज वृद्ध भएकोले नाताभित्रका व्यक्तिसँग सहयोग माग्नु स्वाभाविकै हो । त्यसै आधारमा क्षतिपूर्तिबापतको रकममा कसैको हक कायम हुन सक्दैन । वृद्ध भएको कारण आश्रममा बस्न नसकेकोले सोही आश्रममा आवद्ध पशुपति मन्दिर परिसरमा बस्नुभएको हो । सुनसरी जाँदा मधेशा-१ स्थित देवेन्द्रबहादुर कार्कीको घरमा र काठमाडौं आएका बखत मितेरी मार्गस्थित निज देवेन्द्रबहादुर कार्कीकै घरमा बस्नु हुन्थ्यो । निजको स्याहार सम्भार आफूले गरेको भन्ने शम्भुबहादुर कार्कीको दाबी र नजिकको हकदार आफू रहेको भन्ने हरिबहादुर कार्कीको जिकिर झुठ्ठा हो । दाजु ओमभक्त कार्कीको मृत्युपश्चात्‌ मृत्यु संस्कारमा हुने सम्पूर्ण खर्च आफैँले गरी भतिजा नाताका दुर्गाबहादुर कार्कीलाई कोरामा राखी काज किरिया गराएको हुनाले मुलुकी ऐन, अपुतालीको महलको २ नं. मा भएको कानूनी व्यवस्थाबमोजिम दुर्घटनाबाट प्राप्त क्षतिपूर्तिबापतको रकममा देवेन्द्रबहादुर कार्कीबाहेक अन्य कसैको हक लाग्न नसक्ने हुँदा क्षतिपूर्तिबापतको रकममा पुनरावेदक देवेन्द्रबहादुर कार्कीको हक कायम गरी मु.स. गर्ने हिमालयकुमारी कार्कीलाई सो क्षतिपूर्ति रकम दिइने गरी इन्साफ होस् भनी बहस गर्नुभयो ।

त्यसैगरी पुनरावेदक/वादी हरिबहादुर कार्कीको तर्फबाट विद्वान् वरिष्ठ अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरेलले ओमभक्त कार्कीको मृत्यु सवारी दुर्घटनाबाट भएकोमा विवाद छैन । निजको सवारी दुर्घटनाबाट मृत्यु भएपश्चात् मृतक र देवेन्द्रबहादुर कार्की तथा मृतक र भरतबहादुर कार्कीबिच चलेका क्रमशः बाली बिगो र अंश मुद्दामा यी पुनरावेदक वादीले सकार गरी आएको कारणबाट ओमभक्त कार्कीको सवारी दुर्घटनाबाट मृत्युबापत प्राप्त क्षतिपूर्ति रकममा नजिकको जीवित हकदार व्यक्ति पुनरावेदक हरिबहादुर कार्की रहेको स्पष्ट छ । अपुतालीको महलको १, २ र १२ नं.अनुसार नातामा पुनरावेदक वादी हरिबहादुर कार्की पहिलो प्राथमिकतामा रहेकोले क्षतिपूर्तिबापतको रकमलाई अंशबन्डासरह ४ जनाको भाग लगाउने गरी सुरू तथा उच्च अदालत पाटनबाट भएको फैसला मिलेको नहुँदा उल्टी गरी क्षतिपूर्तिबापतको रकममा पुनरावेदक/वादी हरिबहादुर कार्कीको एकलौटी हक कायम गरी रकम दिलाइपाउँ भनी बहस गर्नुभयो ।

उल्लिखित बहससमेत सुनी निर्णयतर्फ विचार गर्दा उच्च अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन ? वादी/प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।

२. यसमा ओमभक्त कार्कीको सवारी दुर्घटनाबाट मृत्यु भई जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा जम्मा हुन आएको क्षतिपूर्तिबापतको रकम रू.५,००,०००।- आफूले पाउनुपर्ने दाबी लिई मृतक ओमभक्त कार्कीको भाइ पुनरावेदक/वादी हरिबहादुर कार्की, निज ओमभक्तको अर्का भाइ पुनरावेदक/प्रतिवादी देवेन्द्रबहादुर कार्की र मृतकको भतिजा पुनरावेदक/प्रतिवादी शम्भुकुमार कार्कीको जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन परेकोमा उक्त क्षतिपूर्तिको रकमको सम्बन्धमा सम्बन्धित अदालतबाट हक बेहक छुट्याई आएपछि कानूनबमोजिम गर्ने भनी जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट मिति २०६७।१२।६ मा निर्णय भएको देखिन्छ । 

३. जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट उल्लिखित निर्णय भएपश्चात् मृतक ओमभक्त कार्कीको श्रीमती तथा छोराछोरी नभएको र मुलुकी ऐन, अपुतालीको महलको २ नं.अनुसार निजको नजिकको हकदार भएकोले सो क्षतिपूर्ति रकममा आफ्नो हक कायम गरिपाउँ भन्ने वादी हरिबहादुर कार्कीको फिराद दाबी रहेकोमा विपक्षी वादीको भनाइ झुठा, असत्य रहेको, मुद्दामाथि मुद्दा दिएर दुःख दिने यी वादीले स्व. ओमभक्त कार्कीलाई पालनपोषण, हेरविचार गरे भन्ने कुरा बनावटी रहेको, मुलुकी ऐन, अपुतालीको महलको ११ नं.अनुसार स्याहारसुसार आफूले गरेकोले स्व. ओमभक्तको नजिकको हकदार आफूबाहेक अरू हुन नसक्ने भएकोले वादीको झुठा दाबीबाट खारेज गरी उक्त क्षतिपूर्तिबापतको रकममा आफ्नो हककायम गरी रकम दिलाइपाउँ भनी आफूले समेत फिराद दायर गरेको भन्नेसमेत प्रतिवादी शम्भुकुमार कार्कीको प्रतिउत्तरपत्र जिकिर रहेको देखिन्छ । त्यसैगरी निज ओमभक्तको उपचारदेखि सद्‌गत तथा काज किरियासम्ममा लागेको खर्च आफूले बेहोरी भतिजा दुर्गाबहादुर किरियापुत्री भई वहाँको काम सम्पन्न भएको, हरिबहादुर कार्की र शम्भुकुमार कार्कीको बिचमा अंशबन्डा भएको अवस्था नभई हरिबहादुर कार्की र शम्भुकुमार कार्की मधेशा वडा नं.१ मा एकासगोलमा रहँदै बस्दै आएको अवस्थामा दुवै बाबु छोराले अपुताली आफूलाई प्राप्त हुने भनी पृथक् पृथक् दाबी लिई आएको अवस्था भए तापनि शम्भुकुमार कार्की र हरिबहादुर कार्की दुवैले ओमभक्त कार्कीको मृत्युबाट प्राप्त हुने तेस्रो पक्षको बिमाको रकम पाउने अवस्था हुँदैन । ओमभक्त कार्कीको मृत्युपश्चात् निजको काज किरियासम्बन्धी सम्पूर्ण खर्च आफूले गरेको, सो रकममा आफ्नो हक भएकोले विपक्षी वादीको झुठा दाबीबाट उन्मुक्ति दिलाइपाउँ भन्ने प्रतिवादी देवेन्द्रबहादुर कार्कीको प्रतिउत्तर जिकिर रहेको देखिन्छ । ओमभक्त कार्कीको निधनपछि वहाँको आर्यघाटमा दाहसंस्कार गरी प्रतिवादीमध्येका भतिजा नाताका दुर्गाबहादुर कार्की किरियामा बसेको र किरिया गर्दा लागेको खर्च देवेन्द्रबहादुर कार्कीले गर्नुभएको, वादी हरिबहादुर कार्कीले ओमभक्त कार्कीको लालनपालन, औषधोपचार, सेवाचाकर गरेको र मृत्युपर्यन्त काजकिरिया गरे गराएको भन्ने कुरा बनावटी रहेको, वास्तवमा ओमभक्त कार्कीको सेवा चाकर दुर्गाबहादुर कार्कीले गरी आएको हुनाले वहाँको बिमाको रकम विपक्षी शम्भुकुमार कार्की तथा देवेन्द्रबहादुर कार्की कसैले एकलौटी खान नपाउने, विपक्षीको दाबी असत्य, बनावटी मात्र भएकोले झुठ्ठा दाबी खारेज गरिपाउँ भन्ने भीमकुमारी कार्कीको मु.स. गर्ने दुर्गाबहादुर कार्की, लवकुमारी कार्की र पूर्णकुमारी कार्कीको संयुक्त प्रतिउत्तर जिकिर रहेको देखिन्छ । प्रस्तुत मुद्दामा ओमभक्त कार्कीको सवारी दुर्घटनाबाट मृत्यु भई जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दाखिला हुन आएको क्षतिपूर्ति रकम रू. ५,००,०००।- मध्ये चार खण्डको एक खण्डमा ओमभक्त कार्कीको दाजुभाइमध्ये एकजना यी वादीको हक कायम हुने र सो रकममध्ये चार खण्डको एक खण्ड रकम वादीले पाउने ठहर गरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६९।२।३२ मा भएको फैसलाउपर चित्त नबुझाई वादी/प्रतिवादीतर्फबाट उच्च अदालत पाटनमा पुनरावेदन परेको देखिन्छ । खड्गबहादुर कार्कीका ५ छोरामध्ये माहिला छोरा ओमभक्त कार्की सवारी दुर्घटनाको जरियाबाट मिति २०६७।६।१९ मा घाइते भएको र निजको सोही कारणबाट मृत्यु भएकोमा निजको किरिया खर्च र क्षतिपूर्तिबापतको रकम जेठा छोरा दलबहादुरको मृत्यु भएको देखिँदा निजको श्रीमती पूर्णकुमारी र लवकुमारी, साहिँला छोरा डम्बरबहादुर कार्कीको मृत्यु भइसकेको देखिँदा निजको छोरा दुर्गाबहादुर कार्की र कान्छा छोरा देवेन्द्रबहादुर कार्कीको मृत्यु भइसकेको देखिँदा निजको श्रीमती हिमालयकुमारी कार्कीले र १ भाग यी पुनरावेदक वादीले अपुतालीको रूपमा दामासाहीले बाँडी लिन पाउने देखिँदा सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६९।२।३२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्‍याई उच्च अदालत पाटनबाट मिति २०७३।०५।१९ मा भएको फैसलाउपर दुवै पक्षको मुद्दा दोहोर्‍याई हेरिपाउन निवेदन परी यस अदालतबाट मिति २०७३।११।२० मा मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान भई प्रस्तुत मुद्दा पुनरावेदनको रोहमा पेस हुन आएको देखियो ।

४. प्रथमत: खड्गबहादुर कार्कीका २ श्रीमतीमध्ये कान्छी पदमकुमारीतर्फका ५ छोरामध्ये महिला छोरा ओमभक्त कार्कीको मृत्यु भएको र बाँकी ४ छोरामा जेठा दलबहादुर कार्कीको मृत्यु भई निजको श्रीमती पूर्णकुमारी कार्की र लवकुमारी कार्की, साहिँला डम्बरबहादुर कार्कीको मृत्यु भई निजको श्रीमती भीमकुमारी कार्की, काहिँला वादी हरिबहादुर कार्की र निजतर्फका छोरा प्रतिवादी शम्भुबहादुर कार्की र कान्छा छोरा प्रतिवादी देवेन्द्रबहादुर कार्की रहेकोमा निजको मृत्यु भई हिमालयकुमारी कार्की भनी वादीले उल्लेख गरेको नाता र पुस्तावली प्रतिवादीहरूले स्वीकार गरेकोले सोमा विवाद देखिएन । माहिला छोरा ओमभक्त कार्कीको मिति २०६७।६।१९ मा सवारी दुर्घटनामा परी मृत्यु भएको, निजको श्रीमती गंगामायाको मिति २०५६।६।३० मा मृत्यु भएको र निजहरूको छोराछोरी नभई नि:सन्तान भएको भन्ने कुरामा पनि विवाद नदेखिएकोले त्यसतर्फ थप विवेचना गरिरहनुपर्ने देखिएन ।

५. ओमभक्त कार्कीको मिति २०६७।६।१९ मा सवारी दुर्घटनामा परी मृत्यु भएकोमा निजको मृत्युपश्चात् हकवालाले प्राप्त गर्ने क्षतिपूर्तिबापतको रू. ५,००,०००।- मा दाबीकर्ताहरूमध्ये को-कस्को हक लाग्ने हो ? भन्ने विषय नै प्रस्तुत मुद्दामा मुख्य विवाद रहेको देखियो । सो सम्बन्धमा विचार गर्दा प्रमाणमा पेस हुन आएको मृतक ओमभक्त कार्की वादी र देवेन्द्रबहादुर कार्कीसमेत भई चलेको संवत् २०५५ सालको दे.पु.नं. ५६८६ को अंश चलन मुद्दाको फैसलाको प्रतिलिपिबाट उक्त मुद्दा यस अदालतबाट मिति २०५९।०९।०१ मा वादी ओमभक्त कार्कीले प्रतिवादीहरूबाट अंश पाउने ठहरी अन्तिम भएको देखिन्छ । उक्त फैसलाबाट मृतक ओमभक्त कार्की र प्रस्तुत मुद्दाका वादी प्रतिवादीहरू एकासगोलको नरही छुट्टिई भिन्न भएको भन्ने देखियो । 

६. प्रस्तुत सन्दर्भमा अपुतालीसम्बन्धी व्यवस्थाको अवलोकन गर्न सान्दर्भिक देखियो । मुलुकी ऐन, अपुतालीको महलको १ नं. मा "हकवाला भनेको सम्बन्धित व्यक्तिको सात पुस्तासम्मको सबैभन्दा नजिकको अंशियार हुन्छ । सात पुस्ता नाघेको टाढाको नातेदार हुन्छ ।"  भन्ने व्यवस्था रहेको छ । ऐ. महलको २ नं. मा "यस महलको अन्य नम्बरहरूको अधीनमा रही अपुताली पर्दा मर्नेको लोग्ने, स्वास्नी, छोरा, अविवाहिता छोरी, छोराको छोरा वा निजको अविवाहिता छोरी भएसम्म अरूले अपुताली पाउँदैन । मर्नेको छोरा नभई विधवा बुहारी भएमा निजले छोरासरह अपुताली पाउँछे । त्यस्ता कोही नभएमा विवाहिता छोरी, विवाहिता छोरी पनि नभए निजका छोरा वा अविवाहिता छोरी र निजहरू पनि नभए त्यस्तो अपुताली ऐनबमोजिमको हकवालाले पाउँछन् ।" भन्ने व्यवस्था रहेको देखिन्छ । ऐ. महलको ११ नं. मा "यस महलको अन्य नम्बरहरूमा जुनसुकै कुरा लेखिएको भए तापनि अपुताली पर्दा मर्नेको स्याहार सम्भार नजिकको हकवालाले नगरी अन्य अन्य व्यक्तिले गरेको रहेछ भने त्यस्तो व्यक्तिको अपुतालीको सबै चल अचल सम्पत्ति त्यस्तो स्याहार सम्भार गर्नेले पाउँछ ।" भन्ने व्यवस्था छ । साथै ऐ. महलको १२ नं. मा "कुनै भाइ वा अविवाहिता बहिनी अंश लिई भिन्न बसेको र कुनै भाइ वा अविवाहिता बहिनीसँग बसेकोमा सँग बसेका भाइ वा अविवाहिता बहिनीमा कुन भाइ वा अविवाहिता बहिनी मरी अपुताली पर्‍यो भने भिन्न भएको भाइ वा अविवाहित बहिनीले पाउँदैन । विमातृक भए पनि सँग बसेकाले मात्र पाउँछ । सँग बसे पनि खानु पिउनु आफ्ना अंशबाट आफ्ना हिस्साबमोजिम राखी खाएका रहेछन् भने सँग बसेको भए पनि त्यस्तोमा र भिन्न बसेका भाइ भाइ वा अविवाहिता बहिनीको अपुतालीमा समेत मर्ने भाइ वा अविवाहिता बहिनीको सहोदर भाइ वा अविवाहिता बहिनीहरूले पाउँछन् । विमातृकपट्टिकाले पाउँदैनन् ।" भन्ने कानूनी व्यवस्था रहेको छ । उल्लिखित व्यवस्थाअनुसार मृतकको एकासगोलमा नरहेको र मृतकले आफ्नो हक कसैले खाने भनी लिखित रूपमा लेखेर नदिएको अवस्थामा समानस्तरको हकवालाले बराबर अपुताली पाउने र कसैले एकलौटी रूपमा पालनपोषण गरेको रहेछ भने उसैले मात्रै अपुताली पाउने भन्ने देखियो ।

७. यसै प्रश्न समावेश रहेको पुनरावेदक/प्रतिवादी हरिनारायण महतो धानुक प्रत्यर्थी वादी गौरी महतो धानुकसमेत भएको हक कायम खिचोला चलन दर्ता (ने.का.प. २०६८, मंसिर अङ्क ८, नि.नं. ८६६९) मुद्दा र पुनरावेदक वादी नन्दलालप्रसाद यादव ओमप्रकाश राय यादवसमेत भएको अपुताली हक कायम दर्ता चलन (ने.का.प. २०७५, भाद्र अङ्क ५, नि.नं. १०००९) मुद्दामा "अंश र अपुतालीका विषयहरू झट्ट हेर्दा उस्तै देखिने भए पनि पृथक् विषयहरू हुन् । अंशको विवादमा अंशियार हुनलाई नाता सम्बन्ध महत्त्वपूर्ण हुन्छ । तर अपुतालीको सम्बन्धमा स्याहार सम्भार गर्ने व्यक्तिलाई मर्ने व्यक्तिको सम्पत्तिको हकदार मानिएको देखिन्छ । बाँचुन्जेल मर्ने व्यक्तिलाई स्याहार सम्भार नगर्ने, आफ्नो कर्तव्य निर्वाह नगर्ने तर मरेपछि मर्ने व्यक्तिसँग केवल नाता र हकदार हुनुको आधार देखाएर अपुतालीको सम्पत्ति दाबी गर्ने र त्यस्तो सम्पत्तिमा हक प्राप्त गर्ने कुरालाई प्रस्तुत कानूनी व्यवस्थाले अनुमति दिएको नदेखिने ।" भनी सिद्धान्तसमेत प्रतिपादन भएको देखिन्छ ।

८. यसैगरी मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद ११ मा अपुतालीसम्बन्धी व्यवस्था गर्दै दफा २३७ मा "कुनै व्यक्तिको मृत्यु भएमा निजको अपुताली खुला भएको मानिने छ । स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनका लागि "अपुताली" भन्नाले मृतकको ऋण, धन र सम्पत्तिसम्बन्धी दायित्व र अधिकार कानूनबमोजिम हकवालामा सर्ने कार्य सम्झनुपर्छ" भन्ने उल्लेख भएको छ । ऐ. संहिताको दफा २४३ मा "यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मृतकको स्याहार सम्भार हकवालाले नगरी अन्य व्यक्तिले गरेको भए त्यस्तो अपुताली त्यसरी स्याहार सम्भार गर्ने व्यक्तिले पाउने छ ।" भन्ने उल्लेख रहेको छ । उल्लिखित व्यवस्था एवं प्रतिपादित सिद्धान्तअनुसार मृतकको स्याहार सम्भार हकवालाहरू सबैले नगरी हकवालामध्ये कसले वा हकवालाबाहेक अन्य व्यक्तिले गरेमा निजको अपुताली त्यसरी स्याहार सम्भार गर्नेले पाउने नै देखियो ।

९. मृतक ओमभक्त कार्कीको पालनपोषण, स्याहार सम्भार को कसले गरेको भन्ने सम्बन्धमा विचार गर्दा, "मृतक ओमभक्त कार्की श्री स्वर्गद्वारी आश्रमको कार्य व्यवस्था समितिको सदस्यमा रही निजको हकमा सो समितिको मिति २०६५।०२।२८ गतेको बैठकबाट निज ओमभक्त कार्की (काजीबाबु) का सम्बन्धमा वयोवृद्ध ओमभक्त कार्की १९९२ सालदेखि सेवारत रही हाल अशक्त भएकोले उहाँको जीवन वृत्तिको लागि मासिक रू. ५,०००।- (अक्षरूपी पाँच हजार) दिने निर्णय भएको देखिन्छ । श्री स्वर्गद्वारी आश्रमको चौतर्फी सेवा सुधार कार्यमा लाग्नु भएका श्री ओमभक्त कार्की श्री स्वर्गद्वारी आश्रमसँग सम्बन्धित यस भागवत सन्यास आश्रममा आउँदै जाँदै गर्नुहुन्थ्यो, वहाँ अति वृद्ध भएपछि २०६३ साल फाल्गुणदेखि उहाँको सहोदर भतिजा शम्भुकुमार कार्कीलाई साथै राखेर निरन्तर सेवा लिँदै यसै आश्रमको ३ नं. कोठामा बस्नुभएको थियो । उहाँको हेरविचार, स्याहार सम्भार गरी सधैँ साथैमा रहने भतिजा श्री शम्भुकुमार कार्की नै हुनुहुन्छ । उहाँ श्री ओमभक्त कार्कीको यही २०६७।०६।१९ गते साँझ न्युरो अस्पतालमा स्वर्गवास भएको हुँदा यथार्थ अनुभवको आधारमा जानकारी गराइएको छ" भन्ने बेहोरा भागवत-सन्यास आश्रम एवं गुरूकुल तथा वैदिक सनातन धर्म-संस्कृति-रक्षार्थ वेदविद्याश्रम, पशुपति क्षेत्र, राम मन्दिर काठमाडौंको मिति २०६७।७।५ को पत्रमा उल्लेख भएको देखिन्छ । उल्लिखित पत्र बेहोरासमेतबाट मृतक आफ्नो पत्नीको मृत्युपछि स्वर्गद्वारी आश्रम र तत्पश्चात् अन्तिम अवस्थामा भागवत सन्यास आश्रम पशुपतिक्षेत्र राम मन्दिरमा बस्दै आउनुभएको देखिएबाट मुद्दाका कुनै पनि पक्षसँग वा कुनै पनि हकवालासँग रही बसी नआएको तथ्यमा विवाद रहेन ।

१०. काठमाडौं महानगरपालिकाबाट मिति २०६७।७।१५ मा भएको सर्जमिन मुचुल्कामा मृतक ओमभक्त कार्कीको मृत्युअघिदेखि (४-५ वर्षयता) यस भागवत सन्यास आश्रम एवं गुरूकुलमा आई मृतकका सहोदर भतिजा शम्भुकुमार कार्कीले रेखदेख, हेरविचार, औषधोपचार गरी आएको र मृत्युपछि काज किरिया गराएको कुरा जानेबुझेसम्म ठिक साँचो हो, मृतकका नाउँमा भएको चल अचल सम्पूर्ण सम्पत्ति निज शम्भुकुमार कार्कीले नै पाउनुपर्छ भनी भागवत सन्यास आश्रम बस्ने शत्रुधन सिंह राजपुतसमेतका मानिसहरूले बेहोरा लेखाइदिएको पाइन्छ । काठमाडौं महानगरपालिकाको द.नं. ७ मिति २०६७।०७।०७ को पत्रबाट मानध्वज कार्कीको नाति, खड्गबहादुर कार्कीको छोरा, श्रीमती गंगादेवी कार्कीको पति श्री ओमभक्त कार्कीको मिति २०६७।०६।१९ गते अस्पतालमा मृत्यु भएको प्रमाणित गरेको देखिन्छ । निज मृतक ओमभक्त कार्कीको मृत्यु भएपछि शवदाह/दाउरा बोक्ने, चिता बनाउने कामको लागि घाट व्यवस्था तथा सेवा समिति पशुपति, आर्यघाटलाई मिति २०६७।६।२० मा र.नं. ६७६९१ बाट रू. ३००।- शम्भुकुमार कार्कीले बुझाएको भन्ने सो रसिदको प्रतिलिपिबाट देखिन्छ । काठमाडौं महानगरपालिका वडा नं. ८ को वडा कार्यालयको च.नं. १८६ मिति २०६७।७।१६ को सिफारिस पत्रबाट मिति २०६७।७।५ को श्री भागवत सन्यास आश्रमको पत्र, स्थलगत सर्जमिन तथा अन्य स्रोतबाट बुझ्दा निवेदक शम्भुकुमार कार्कीको ठुलोबा ओमभक्त कार्की हुनुभएको र शम्भुकुमार कार्कीले विगत ४ वर्षअघिदेखि पालनपोषण, हेरविचार तथा औषधी उपचार गर्दै आएको बेहोरा सिफारिससाथ प्रमाणित गरेको देखिन्छ ।

११. Hearing Aid Center को मिति २०६७।४।१८ को पत्रमा This is to certify that Mr. Om Bhakta Karki, resident  of Rammandir, Pashupati, Kathmandu has moderately severe sensory neural hearing loss in both ears. He is using a hearing aid on his right ear. He is able to hear sounds and communicate easily. Mr. Sambhu Kumar Karki resident of Rammandir, Pashupati has helped in the process of getting hearing and checkup for him भन्ने उल्लेख भएको देखिन्छ । स्केभिन क्लिनिकका डा. मनोजकुमार थापाले पशुपति क्षेत्र एवं गुरूकुलमा बस्ने ओमभक्त कार्कीलाई विभिन्न मितिमा ल्याई उपचार निजकै भतिजा शम्भुकुमार कार्कीले गराएको र अन्तिम पटक २०६७।१।५ मा उपचारको लागि ल्याएको हो भनी प्रमाणित गरिदिएको देखिन्छ । त्यसैगरी स्ट्यान्डर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड रामशाह पथ, पुतलीसडक, काठमाडौंको च.नं. २५/२०६८/२०६९ मिति २०६८।०१।०५ को पत्रबाट "मानध्वजको नाति खड्गबहादुरको छोरा यस सहकारी संस्थाका सदस्य श्री ओमभक्त कार्की मिति २०६९।६।१९ मा मृत्यु भएको हुँदा निजको नाममा यस सहकारी संस्थामा रहेको बचत रकम निवेदक श्री शम्भुकुमार कार्कीलाई निर्विवाद रूपमा भुक्तानी दिने भनी सहकारी संस्थाबाट मिति २०६७।१२।२३ मा निर्णय भएको भन्ने देखिन्छ । हिमालय फाइनान्स लिमिटेड (वित्तीय संस्था) को च.नं. १३/०६७/६८ मिति २०६७।०५।०३ को पत्रबाट यस कम्पनीमा मुद्दती खाता नं. १०२४ मा १ वर्षे मुद्दती खाता खोली रू. तीन लाख रकम जम्मा गरेको र उक्त रकममा इच्छाइएको व्यक्तिमा भतिजा नाता पर्ने शम्भुकुमार कार्की (मेरो हेरविचार र रेखदेख गरिरहेको व्यक्ति) भनी राखिएको भन्ने देखिन्छ ।

१२. त्यसैगरी मृतक ओमभक्त कार्कीले भाइ डम्बरबहादुर कार्कीका छोरा दुर्गाबहादुर कार्कीलाई मिति २०६३।१२।७ मा र.नं. ७८२० को पारित लिखतबाट हालैको बकसपत्र गरिदिँदा शम्भुकुमार कार्कीलाई साक्षीमा राखेको देखिन्छ । यसैगरी निज ओमभक्त कार्कीले आफ्नो नाउँमा रहेको सुनसरी जिल्ला मधेशा गा.वि.सं. वडा नं. १ग कि.नं. १४१ को १-३-१५½ जग्गा कुनै व्यक्तिलाई राजीनामा लिखत रजिस्ट्रेसन पारित गरी बिक्री वितरणसमेत गर्नका लागि शम्भुकुमार कार्कीलाई मिति २०६४।५।४ मा ललितपुर जिल्ला अदालतबाट अधिकृत वारेसनामा प्रमाणित गराइदिएको देखिन्छ भने ऐ. कि.नं. १४३ को ०-६-२ जग्गा बिक्री वितरणसमेत गर्नका लागि शम्भुकुमार कार्कीलाई मिति २०६४।३।८ मा सुनसरी जिल्ला अदालतबाट प्रमाणित गरिदिएको अधिकृत वारेसनामा दुर्गाबहादुर कार्कीलाई साक्षी राखेको देखिन्छ । निजले आफ्नो नाउँमा रहेको सोही गा.वि.सं. वडा नं. ४ग का कि.नं. २०, ४८, १६४ र १६६ का जग्गाहरू बिक्री गर्न हकवाला भनी दाबी गर्ने नाताभित्रका व्यक्तिहरू कसैलाई अधिकृत वारेस मुकरर नगरी सोलुखुम्बु जिल्ला जुनु गा.वि.सं. वडा नं. ८ घर भई हाल ललितपुर जिल्ला, इमाडोल ३ बस्ने गोपाल बस्नेतलाई अधिकृत वारेस मुकरर गरेको देखिन्छ । पुनरावेदन अदालत विराटनगरमा वादी देवेन्द्रबहादुर कार्की र प्रतिवादी ओमभक्त कार्की भई चलेको अंश दपोट र फैसला बदर मुद्दामा ओमभक्त कार्कीको मृत्यु भएपछि निजको हकमा शम्भुकुमार कार्कीले मुलुकी ऐन, अ.बं. ६२(३) बमोजिम मुद्दा सकार गरी कारबाहीमा रहेको समेत देखिन्छ ।

१३. उल्लिखित मिसिल संलग्न कागज प्रमाणहरूलाई विश्लेषण गर्दा वडाको सर्जमिन, सिफारिस, आश्रमको कागज पशुपति आश्रममा बस्दा २०६३ सालदेखि नै निरन्तर निजको रेखदेख भतिजा शम्भुकुमार कार्कीले गर्दै आएको तथ्य स्थापित भएको देखिएकोले निज मृतक ओमभक्त कार्की मृत्युपर्यन्त हेरचाह गर्ने व्यक्ति शम्भुकुमार कार्की नै रहेको भन्ने देखिन आयो ।

१४. पुनरावेदक वादी हरिबहादुर कार्कीले मुलुकी ऐन, अपुतालीको महलको २ नं.बमोजिम नजिकको हकवाला आफू भएकोले क्षतिपूर्ति रकममा आफ्नो हक कायम हुनुपर्ने भनी जिकिर लिए पनि अपुताली र अंश फरक विषय रहेको देखिन्छ । अंशको नातासँग अन्योन्याश्रित सम्बन्ध रहन्छ भने अपुतालीमा त्यसो नभई अंश लिई छुट्टिई भिन्न भएको व्यक्तिको मृत्यु भई निजको अपुताली खुला भएको स्थितिमा त्यस्तो मृतक व्यक्तिलाई जीवित हुँदाका अवस्था अंशियार नाताबाहेकका अन्य व्यक्तिले समेत पालनपोषण, हेरचाह, स्याहार सम्भार, स्वास्थ्योपचारलगायतका समुचित व्यवहार गरेको रहेछ भन्ने त्यस्तो व्यक्तिले समेत अपुताली प्राप्त गर्नसक्ने देखिन्छ । अपुताली प्राप्त गर्न सम्बन्धित पक्षले कानूनबमोजिमको आफ्नो दायित्व तथा कर्तव्यसमेत पूरा गरेको हुनुपर्दछ । मृतकलाई पालनपोषण, स्याहार सम्भार तथा औषधोपचारसमेतको दायित्व तथा कर्तव्य पूरा नगरेको अवस्थामा केवल मौखिक जिकिरकै भरमा नजिकको हकवाला भएको नाताले मात्र दाजु/भाइको अपुताली स्वत: दाजुभाइमा हक स्थापित हुन जान्छ भन्न मिल्दैन । यी पुनरावेदक वादीले मृतक ओमभक्त कार्कीलाई पालनपोषण स्याहार सम्भार गरेको भन्ने तथ्य पुष्टि हुने प्रमाण पेस गर्न सकेको देखिँदैन । आफूसमेतसँग मृतक ओमभक्त कार्की अंश लिई छुट्टिई भिन्न भएको तथ्यलाई इन्कार गरेकोसमेत देखिँदैन । अपुतालीको महलको २ नं.अनुसार हकवालाले पाउने व्यवस्था भए पनि अपुतालीको ११ नं. ले अन्य नम्बरमा जुनसुकै कुरा लेखिएको भए तापनि अपुताली पर्दा मर्नेको स्याहार सम्भार नजिकको हकवालाले नगरी अन्य व्यक्तिले गरेको छ भने त्यस्ता व्यक्तिको अपुताली सबै चल अचल सम्पत्ति त्यस्तो स्याहार सम्भार गर्नेले पाउँछ भन्ने उल्लेख भएको छ । नजिकको नातेदार हरिबहादुर कार्की भए तापनि नाताको हिसाबले टाढाको रहे तापनि स्याहार सम्भार कसैले गरेको छ भने उसले अपुताली पाउने भन्ने नै देखिन्छ । यी वादीका छोरा प्रतिवादी शम्भुकुमार कार्कीले मृतक ओमभक्त कार्कीको स्याहार सम्भार गरेकोले निजको मृत्युपछि प्राप्त भएको क्षतिपूर्तिको रकममा यी पुनरावेदक वादीको हककायम हुने देखिन नआएको हुँदा निजको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

१५. यसैगरी पुनरावेदक/प्रतिवादी हिमालयकुमारी कार्कीले मृतक ओमभक्त कार्की काठमाडौंस्थित र सुनसरी मधेशास्थित आफ्नो घरमा आउने जाने गरेको, निजको मृत्युपश्चात् धार्मिक संस्कारअनुसार आफैँले खर्च गरी काजकिरिया गराएकोले क्षतिपूर्तिको रकममा आफ्नो हक कायम हुनुपर्ने भनी लिएको पुनरावेदन जिकिरको सम्बन्धमा हेर्दा मृतक र पुनरावेदकबिच नाता सम्बन्ध रहेको कुरा र निजहरूबिच २०५९ सालमा नै अंशबन्डा भइसकेको विषयमा विवाद छैन । आफ्नो नाता सम्बन्धमा रहेको व्यक्तिको घरमा आउ जाउ हुने कुरा र मृत्युपश्चात् निजको सम्पत्तिमा हक लाग्ने कुरा फरकफरक विषय हुन् । त्यस्तो हक कानूनबमोजिम सिर्जना हुनुपर्छ । अंश र अपुतालीको विषय फरक रहेको र सो विषयमा विधायिकाले नै फरकफरक व्यवस्था गरेको सम्बन्धमा माथि हरफहरूमा चर्चा गरिसकिएकै छ । प्रस्तुत क्षतिपूर्तिको विवाद अंशको विवाद नभई अपुतालीको विवाद रहेकोले मुलुकी ऐन, अपुतालीको महलबमोजिम नै प्रस्तुत विवादको समाधान हुनुपर्ने हुन्छ । अपुताली महलबमोजिम यी पुनरावेदक प्रतिवादीले क्षतिपूर्तिबापतको रकममा दाबी गरेको आफूले वृद्धावस्थाका ओमभक्त कार्कीलाई पालनपोषण, स्याहार सम्भार गरी आफ्नो दायित्व पूरा गरेको तथ्य पुष्टि गर्न भरपर्दो प्रमाण पेस गर्न सकेको देखिँदैन । अपुताली प्राप्त गर्न अंशियार नै हुनुपर्छ भन्ने पनि कानूनको मकसद रहे भएको देखिँदैन । मृतकको मृत्युपश्चात् धार्मिक संस्कारअनुसार आफैँले काजकिरिया गराएको भने पनि सो तथ्य पुष्टि हुने कुनै प्रमाण कागजातहरू पेस गर्न सकेको देखिँदैन । मृतकको काजकिरिया दुर्गाबहादुर कार्की कोरामा बसी पूरा गरेको देखिएकोमा प्रतिवादीमध्येका शम्भुकुमार कार्कीको बुबा आमा जीवित भएकोले निज कोरामा बस्न नसकेको कुरा मिसिलबाट समेत देखिएको छ । मृतक ओमभक्त कार्कीको मृत्युअघि पालनपोषण, स्याहार सम्भारलगायतका कार्य र मृत्युपश्चात्‌को दाहसंस्कार एवं काजकिरियालगायतका कार्य मृतकका भतिजा शम्भुकुमार कार्कीले गरेको तथ्य स्थापित भइसकेकोले मुलुकी ऐन, अपुतालीको महलको ११ नं.बमोजिम मृतकको अपुतालीमा शम्भुकुमार कार्की हककायम हुने हुँदा पुनरावेदक/प्रतिवादी हिमालयकुमारी कार्कीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । 

१६. अत: उल्लिखित तथ्य, कानूनी व्यवस्था, प्रतिपादित सिद्धान्त एवं विवेचनासेतको आधारमा क्षतिपूर्तिबापत प्राप्त रकम रू. ५,००,०००।- को ४ भागको १ भाग वादीले पाउने ठहर गरेको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६९।०२।३२ को फैसला सदर हुने ठहर्‍याई उच्च अदालत पाटनबाट मिति २०७३।०५।१९ मा भएको फैसला नमिलेकोले उल्टी भई उक्त क्षतिपूर्तिबापतको रकममा पुनरावेदक/प्रतिवादी शम्भुकुमार कार्कीको मात्रै हक कायम भई निजले दिलाई भराइपाउने ठहर्छ । दाबीको क्षतिपूर्ति रकममा आफ्नो मात्रै हक कायम गरी दिलाई भराइपाउँ भन्ने पुनरावेदक/वादी हरिबहादुर कार्की र पुनरावेदक/प्रतिवादी देवेन्द्रबहादुर कार्कीको मु.स. गर्ने हिमालय कुमारी कार्कीसमेतको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरू तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम क्षतिपूर्तिबापतको रकम रू. पाँच लाखमा पुनरावेदक/प्रतिवादी शम्भुकुमार कार्कीको मात्रै हक कायम भई निजले दिलाई भराइपाउने ठहरेकोले उक्त रकम दिलाई भराइपाउँ भनी निजले निवेदन दिए नियमानुसार उक्त रकम पुनरावेदक/प्रतिवादी शम्भुकुमार कार्कीलाई भुक्तानी दिनु भनी जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा लेखी पठाइदिनू---------------------------------------१

सरोकारवालाले नक्कल मागे नियमानुसार लाग्ने दस्तुर लिई नक्कल दिनू-----------------------------२

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी यो फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू------------------------३

 

उक्त रायमा सहमत छु ।

न्या. सुष्मालता माथेमा

 

इजलास अधिकृत : इन्द्रकुमार श्रेष्ठ

इति संवत् २०७९ साल पौष २४ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु