निर्णय नं. ११२३९ - जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
माननीय न्यायाधीश श्री कुमार रेग्मी
फैसला मिति : २०७८।७।४
०७३-CR-०७४४
मुद्दा:- जबरजस्ती करणी
निवेदक / वादी : टोपाराम नेपालीको जाहेरीले नेपाल सरकार
विरूद्ध
विपक्षी / प्रतिवादी : रूकुम जिल्ला, मुसीकोट नगरपालिका वडा नं.१ बस्ने टमस सोनी
अशक्त वा अपाङ्गता रहेका महिलालाई कसैले जबरजस्ती करणी गरेमा थप सजाय गर्नुपर्छ भन्ने विधायिकी मनसाय रहेको देखिने ।
(प्रकरण नं. ४)
अशक्त, अपाङ्ग भनी कानूनमा प्रयुक्त दुई शब्दलाई एकै ठाउँमा जोडेर अर्थ गर्न नमिल्ने । अलगअलग अर्थ दिने उक्त दुईमध्ये कुनै एक अवस्थाको विद्यमानता भएमा पनि प्रतिवादीलाई कानूनबमोजिम थप सजाय गर्नुपर्छ भन्ने कानूनको मक्सद रहेको देखिने ।
(प्रकरण नं. ५)
निवेदक/वादीका तर्फबाट : उपन्यायाधिवक्ता श्री शिव प्रशाद आचार्य
विपक्षी/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री भिमप्रसाद ढकाल
अवलम्बित नजिर :
ने.का.प.२०६४ अङ्क ११ नि.नं.७९०० पृ.१४६२
सम्बद्ध कानून :
न्याय प्रशासन ऐन,२०७३
अपाङ्गता भएको व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४
अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९
मुलुकी अपराध संहिता, २०७४
फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४
सुरू तहमा फैसला गर्नेः
मा. जि. न्या. श्री डण्डपाणि शर्मा
रूकुम जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
मा. का.मु. मु. न्या. डा. श्री कुलरत्न भुर्तेल
माननीय न्यायाधीश श्री श्रीमण कुमार गौतम
पुनरावेदन अदालत तुलसीपुर
फैसला
न्या. कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) र (ख) बमोजिम दोहोर्याई पाउँ भन्ने निवेदन परी निस्सा, अनुमति प्रदान भई पुनरावेदन सरह दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः-
तथ्य खण्ड
रूकुम जिल्ला, मुसिकोट नगरपालिका वडा नं.१ सल्लेस्थित पूर्वमा अन्दाजी २० मिटर टाढा खिरूवाको रूख, पश्चिममा बिसौना टोलबाट राप्ती लोकमार्ग जाने सडक खण्ड, उत्तरमा अन्दाजी ४० मिटर टाढा राप्ती लोकमार्ग सडकखण्ड, दक्षिणमा अन्दाजी ३० मिटर टाढा खानेपानीको रिजर्भ ट्याङकी यति चार किल्लाभित्र रहेको गंगा बोहराको मकैबारीको पश्चिमपट्टि कुनामा नाम परिवर्तित रूकुम ५४(क) लाई प्रतिवादी टमस सोनीले जबरजस्ती करणी गरेको भन्ने स्थानमा रहेका मकैका बोटहरू भाँचिई जमिनमा लत्रिएको अवस्थामा रहेका र जमिनको माटो धस्सिएको अवस्थामा रहेको भन्ने बेहोराको घटनास्थल मुचुल्का ।
मिति २०७२/५/१९ मा श्रीकृष्ण जन्माअष्टमीको उपलक्ष्यमा मेरो छिमेकी गीता रसाइलीको घरमा नाचगान भएकाले पीडितलगायत बालबालिकाहरू सो स्थानमा नाचगान हेर्न गएका
थिए । नाचगान हेरिरहेकै समयमा बालबालिकाहरूमध्ये वर्ष १२ की रूकुम ५४(क) लाई टमस सोनीले ललाइफकाइ विभिन्न प्रलोभनमा पारी आफ्नो साथमा लिई नाचगान भइरहेको स्थानदेखि पश्चिम दिशामा रहेको मकैबारीमा लिई जबरजस्ती करणी गरेको भनी निज पीडित घटनास्थलबाट रूँदै कराउँदै आई निजका साथीहरूलाई जानकारी गराएकोले तत्काल प्रहरीलाई खटाई टमस सोनीलाई पक्राउ गरी पीडितलाई देखाउँदा सनाखत गरिदिएकाले निज सोयोनिलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलबमोजिम हदैसम्मको सजाय गरी पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको टोपाराम नेपालीले दिएको जाहेरी दरखास्त ।
प्रतिवादी निज टमस सोनीको दायाँ बायाँ खुट्टामा कोतरिएका घाउहरू देखिएको, दायाँ साँप्रामा माटो लागेको, बायाँ पाइतलामा काटेको लगभग १५.० से.मि. को दुईवटा घाउ रहेको, घाँटीको बिचमा ०.३ X ०.२ से.मि.को घाउ रहेको, निजले मादक पदार्थ सेवन गरेको र निजले लगाएको पाइन्टमा माटो लागेजस्तो फोहोर देखिएको भन्ने बेहोराको मिति २०७२ ५।२१ गतेको प्रतिवादी टमस सोनीको स्वास्थ्य परीक्षण प्रतिवेदन ।
पीडित रूकुम ५४(क) को शरीरमा कुनै घाउ चोटहरू नदेखिएको, योनि वरिपरि कुनै घाउ चोट नदेखिएको, निजको कन्या झिल्ली च्यातिएको, योनिको जाँच गरी हेर्दा वीर्य जस्तो देखिने प्रशस्त तरल पदार्थ रहेको, निजको भित्री वस्त्रमा वीर्यको जस्तो दाग जस्तो देखिएको भन्नेसमेत बेहोराको पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन ।
मिति २०७२।५।१९ मा म घरबाट खाना खाई घरनजिकै दाइ नाता पर्ने केशव सुनारको घरमा गई २ घन्टाजति नाच हेरिसकेपछि सो स्थानबाट ९:०० बजेको समयमा मनबहादुर वि.क.को घरमा नाच भएको हुँदा सोही स्थानमा नाच हेरी १ घण्टापछाडि बसपार्कतिर नाच छ कि भनी बसपार्कतिर गई नाच नभएकाले केही समय पछाडि सोही स्थानमा नाच हेर्न आई रातको १२/१ बजेसम्म नाच हेरिरहेको
थिए । त्यस पछाडि रक्सी खाएका मानिसहरूले होहल्ला गरेकोले नाच स्थगित हुन लागेकाले पुनः नाच हेर्नको लागि १:१० को समयमा म त्यहाँबाट एक्लै सल्ले ब्यारेकको पछाडिको बाटो हुँदै रातामाटा पुग्ने क्रममा मेरो साथी ठकेन्द्र वि.क.ले मलाई फोन गरेर तँलाई जबरजस्ती करणीको आरोप लागेको छ छिटो सल्ले अस्पतालमा आएर बुझ भनेकाले म तत्काल त्यहाँबाट फर्केर आउँदै गर्दा प्रहरीले खोज्दै जाँदा बाटोमा फेला पारी मसमेत भई अस्पतालमा पुगेपछि स्थानीय मानिसहरूले मलाई देखाएर पीडितलाई सोध्दा निजले टाउको हल्लाई यही हो भनी इसारा
गरिन् । निजले चिनेर भनिन् कि नचिनेर भनिन् मलाई केही थाहा भएन । मैले पीडितलाई जबरजस्ती करणी गरेको
होइन । मेरो खुट्टामा लागेका घाउ म एक्लै रातामाटातर्फ जाँदै गरेको अवस्थामा साथीले तँलाई जबरजस्ती करणीको आरोप लागेको छ भनी खबर गरेपछि हतार-हतार आउँदै गर्दा रातको समयमा अँध्यारोमा आउँदा चप्पल चिप्लेर हातमा समाई आउँदा लडेर चोटपटक लाग्न गएको हो भन्ने प्रतिवादी टमस सोनीले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
प्रतिवादी टमस सोनीले पीडित रूकुम ५४(क) लाई मिति २०७२।५।१९ गते राति मेरो मकैबारीमा ल्याई जबरजस्ती करणी गर्दा मकैका बोटहरू भाँचिई लत्रिएको र जमिनको माटो धस्सिएको कुरा स्थानीय गाउँ छिमेकबाट सुनी थाहा पाएकी हुँ भन्ने गंगा बोहराले गरेको घटना विवरण कागज ।
पक्राउ परेका प्रतिवादी टमस सोनी जस्तै ५ जना व्यक्तिहरू तपाइँलाई देखाइन्छ सो व्यक्तिहरूमध्ये तपाइँलाई जबरजस्ती करणी गर्ने व्यक्ति को हुन् भनी सनाखत गराउँदा मलाई जबरजस्ती करणी गर्ने व्यक्ति टमस सोनी हो भनी टमस सोनीलाई पीडितले सनाखत गरिदिएको भन्ने बेहोराको रूकुम ५४(क) ले गरेको घटना विवरण कागज ।
मिति २०७२।५।१९ को राति ११:०० बजेको समयमा नाच हेर्नको लागि मेरो घरनजिकैको गीता रसाइलीको घरमा गएका थियौं । पीडित मेरै बुबा टोपाराम नेपालीको घरमा बसी पढ्ने भएकाले निज पनि मेरी आमाको साथ लागी नाचमा गएकी थिइन । केहीबेरपछि म उक्त स्थानमा पुग्दा पीडित नाच भएको स्थानबाट हराएपछि आमाहरू खोजतलास गर्न गएका थिए र केही समयपछाडि पीडितलाई नाच भएको स्थानमा ल्याएपछि निजको अवस्था हेर्दा कपाल फुकेको, कपालमा कुरो लागेको, रोइरहेकी अवस्थामा देखी मलगायत अन्य मानिसहरूले पीडितलाई सोधपुछ गर्दा पीडितले देखे चिन्ने अग्लो शरीर, लामो कपाल भएको व्यक्तिले मकैबारीमा लगी जबरजस्ती करणी गरी भाग्यो भनी बताएपछि हामीहरूले उक्त हुलिया भएको व्यक्तिलाई खोजतलास गर्ने क्रममा मनबहादुर वि.क.को घरमा नाच भइरहेको स्थानमा जाँदा टमस सोनीलाई इसारा गरी मलाई जबरजस्ती करणी गर्ने यही हो भनी सनाखत गरेकाले हामीहरूले निजलाई नियन्त्रणमा लिई प्रहरीलाई खबर गरी प्रहरी आएपश्चात् प्रहरीको जिम्मा लगाएका हौं । निज पीडितलाई प्रतिवादी टमस सोनीले जबरजस्ती करणी गरेको सही सत्य हो भन्ने बेहोराको रिमा वि.क.ले गरेको घटना विवरण कागज ।
मिति २०७२।५।१९ को राति मेरो घरअगाडि नाचगान भएकाले पीडित सो नाचगानमा आएकी थिइन् । टमस सोनी सो नाचमा आएका थिए थिएनन् निजलाई मैले देखिनँ । राति ११:०० बजेको समयमा मैले नाचमा बबाल हुन्छ धेरैबेर नाच गर्नु हुन्न भनी नाच बन्द गरी सोही स्थानमा मनबहादुर वि.क.को घरमा नाच भइरहेकाले सो स्थानमा एकछिन नाच हेरी बसपार्कतिर गई नाच हेरी फर्कंदा पीडितलाई टमस सोनीले जबरजस्ती करणी गर्यो भनी होहल्ला भएपछि टमस सोनीलाई तँलाई जबरजस्ती करणीको आरोप लागेको छ तुरून्त आइज भन्दा निज आउँदै गर्दा निजलाई प्रहरीले नियन्त्रणमा लिएका हुन् । टमस सोनीले पीडितलाई जबरजस्ती करणी गरे गरेनन् मलाई थाहा भएन भन्ने बेहोराको केशव सुनारले गरेको घटना विवरण कागज ।
वारदातको दिन राति पीडितलाई नाम थर नखुलेको व्यक्तिले करणी गरेकोले पीडितलाई अस्पताल ल्याएको भन्ने हल्ला सुनी म पनि अस्पतालमा गएको थिएँ । पीडितलाई टमस सोनीले जबरजस्ती करणी गरेको भन्ने हल्ला भएको र पछि प्रहरीले टमस सोनीलाई पक्राउ गरी ल्याई पीडितलाई देखाउँदा पीडितले इसारा गरी मलाई जबरजस्ती करणी गर्ने यही नै हो भनी टमस सोनीलाई देखाएकी थिइन् । पीडितलाई टमस सोनीले जबरजस्ती करणी गरे गरेनन् मलाई थाहा भएन भन्नेसमेत बेहोराको डम्बर थापाले गरेको घटना विवरण कागज ।
वारदातको दिन राति कमला सुनारले मलाई फोन गरी टमस सोनीले पीडितलाई जबरजस्ती करणी गरी भागेको छ । त्यसलाई जसरी पनि नियन्त्रणमा लिनुछ भनेकाले मेरो साथीको मोबाइलबाट टमस सोनीलाई फोन गरी बोलाउँदा निज नआई आफ्नो भाइका घरमा गई बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई अस्पतालमा लगी पीडितलाई देखाउँदा पीडितले साङ्केतिक भाषामा मलाई जबरजस्ती करणी गर्ने यही हो भनी टमस सोनीलाई देखाएकी थिइन् भन्नेसमेत बेहोराको ठगेन्द्रकुमार वि.क.ले गरेको घटना विवरण कागज ।
मिति २०७२।५।१९ मा मेरो घरमा भइरहेको नाचमा पीडित रूकुम ५४(क) पनि आई नाच हेरिरहेको समयमा अन्दाजी बेलुका ९:३० बजेको समयमा पीडित उक्त स्थानबाट हराएपछि तुलसा नेपालीले कहाँ गइन् खोज्न जाउँ भनी भनेपछि हामी ५/६ जना भई खोज्न जाँदा पीडित मेरो घरदेखि उत्तरतर्फ ३०० मिटर टाढा मकैबारीको छेउमा फेला पार्दा निजको अवस्था कपाल फुकेको, शरीरमा लगाएका कपडाहरूमा कुरो माटो लागेको अवस्थामा फेला पारी मेरो घरमा ल्याई मलगायतले पीडितलाई सोधपुछ गर्दा लामो कपाल पालेको शरीर पातलो भएको देखे चिन्ने व्यक्तिले नजिकको मकैबारीमा लगी जबरजस्ती करणी गरेको भनी खुलाएअनुसार सो घटनास्थलमा पीडित र मसमेतका व्यक्तिहरू गई हेर्दा हरियो मकैको बोटहरू भाँचिएको, घाँस, कुरो माडिएको अवस्थामा प्रत्यक्ष देखेकी हुँ । सो घटनामा उक्त हुलिया भएको व्यक्तिको खोजतलास गर्ने क्रममा मेरो घरमा नाच हेर्न आउने व्यक्तिमध्ये खरायो भनेर चिनिने टमस सोनीलाई पीडितले मलाई जबरजस्ती करणी गर्ने व्यक्ति यही हो भनी पीडितले साङ्केतिक भाषाले इसारा गरी सनाखत गरेकी थिइन् । पीडितलाई टमस सोनी भन्ने व्यक्तिले नै जबरजस्ती करणी गरेकोमा मलाई पूर्ण विश्वास लाग्छ भन्नेसमेत बेहोराको गीता रसाइलीले घटना विवरण कागज ।
मिति २०७२।५।१९ गतेका दिन साँझ अन्दाजी ५:०० बजेतिर मेरो साला टमस सोनीसँग भेट भई होटलमा बसी रक्सी खाई साला केही समयअगाडि नै घरतर्फ गएको र म केही समयपछाडि घर गएको
हुँ । घरमा पुगी खाना खाई श्रीकृष्ण जन्माष्टमी भएको कारण मेरो घरनजिकै मनहर वि.क. को घरमा नाच भएको स्थानमा मलगायत टमस सोनी पुनः भेट भई अन्दाजी ८ बजेको समयमा नाच भएको स्थानमा गई नाच हेरिरहेका थियो । टमस सोनी कतिखेर कता गए मलाई थाहा भएन उक्त स्थानमा नाच हेर्न आएकी पीडित उक्त स्थानबाट हराए र टमस सोनी पनि उक्त स्थानमा नदेखिएपछि टमस सोनीले नै लगेर गएको छ भन्ने हल्ला खल्ला भएपश्चात् मैले निजलाई फोन गरी पीडितलाई जबरजस्ती करणी गरी भागेको होस रे भनी सोधपुछ गर्दा निजले मैले होइन भनी भनेका थिए । पछि पीडितलाई टमस सोनीलाई देखाउँदा मलाई जबरजस्ती करणी गर्ने यही हो भनी बताएकी थिइन् । उक्त स्थानका मानिसहरू र पीडितको कुरा सुन्दा पीडितलाई टमस सोनीले नै जबरजस्ती करणी गरेको मलाई पूर्ण विश्वास लाग्छ भन्नेसमेत बेहोराको रामबहादुर सुनारले गरिदिएको घटना विवरण कागज ।
प्रतिवादी टमस सोनीलाई प्रहरीले पक्राउ गरी पीडितलाई देखाउँदा पीडितले मलाई जबरजस्ती करणी गर्ने यही हो भनी प्रतिवादी टमस सोनीलाई देखाएकी थिइन् भनी लेखाइदिएको कागज र मलाई जबरजस्ती करणी गर्ने टमस सोनी हुन् भनी पीडितले गरेको घटना विवरण कागज एवं पीडितको जन्ममिति २०६०।१२।८ मा भएको भन्ने विद्यालयको पत्रलगायतका माथि विवेचित सबुद प्रमाणहरूबाट प्रतिवादी टमस सोनीले वर्ष ११ की नाम परिवर्तित रूकुम ५४(क) लाई जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं., ३(२) नं. र ३(क) नं. विपरीत जबरजस्ती करणीको कसुर गरेकाले निज प्रतिवादी टमस सोनीलाई सोही महलको ३(२) नं. र ३(क) नं. बमोजिम सजाय गरी सोही महलको १० नं.बमोजिम प्रतिवादीबाट पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारले दायर गरेको अभियोगपत्र ।
मैले प्रस्तुत मुद्दाको वारदात मिति २०७२।५।१९ गते श्रीकृष्ण जन्माष्टमीको दिनको राति प्रस्तुत मुद्दाकी पीडित रूकुम ५४(क) लाई जबरजस्ती करणी गरेको होइन । वारदातको दिनमा दिउँसो म मेरो खलंगा बजारमा रहेको मोबाइल पसलमा थिएँ । पछि सोही दिनको साँझ ०६:३० बजेतिर पसल बन्द गरी घर रूकुम सल्लेतर्फ लागेँ अनि म घरतर्फ जाने क्रममा बाटोमा एउटा होटेलमा रक्सी मदिरा सेवन गरे त्यसपछि साँझ अन्दाजी ७:०० बजेतिर घरमा गई खाना खाएँ । पछि मेरो घरको छेउमा रहेको केशव सुनारको घरदेखि माथिपट्टि चक्र पुनको घरमा जन्माष्टमीको अवसरमा नाचिरहेका थिए । म सो ठाउँमा नाच हेर्न भनी गएँ । त्यहाँ गइसकेपछि मैले केही समय नाच हेरी बसेँ । उक्त स्थानमा पीडित थिइन् वा थिइनन् सो मलाई थाहा भएन । पछि उक्त स्थानमा नाच स्थगित भई अर्को सोही नजिकै रहेको मनबहादुर वि.क.को घरमा नाचगान चलिरहेकोले हामी उक्त पहिले नाचेको ठाउँमा भएका सम्पूर्ण व्यक्तिहरू उक्त मनबहादुर वि.क.को घरमा गई नाचगान हेरेका हौं । त्यहाँ पनि सबै व्यक्तिहरू नाच्ने क्रममा म पनि नाचेको हुँ । पछि सो स्थानमा नाच चलिरहेको थियो । मलगायत मेरा अन्य साथीहरूसहित त्यहाँबाट अर्को ठाउँमा नाच हेर्न भनी गएको हुँ । उक्त स्थानमा पनि मैले पीडितलाई देखेको होइन । पछि अर्को ठाउँमा नाचगान कतै नभएकोले म एक्लै सल्लेबाट नाच हेर्न भनी रातामाटा जाँदै गर्दाको अवस्थामा रातामाटा पुग्न लागेको समयमा मेरो साथी रामबहादुर सुनारले मलाई फोन गरी तँलाई जबरजस्ती करणी गरेको भन्ने आरोप लागेको छ तिमी अहिले कहाँ छौ भनी भनेपछि लगत्तै फेरि डम्बर थापासमेतले सोही बेहोराको फोन गरेपछि सो स्थानबाट म तत्काल हस्पिटल आएको हुँ । हस्पिटलतर्फ आउँदै गर्दा मलाई फोन गर्ने डम्बर थापा र प्रहरी मलाई खोज्दै आएका रहेछन् अनि म प्रहरीको पक्राउमा परेको हुँ । करिब २०/२१ वर्षपहिले प्रस्तुत मुद्दाको जाहेरी दिने टोपाराम नेपालीको दाइको छोराले मेरी फुपूलाई जबरजस्ती करणी गरेको हुँदा मेरी फुपूले निज टोपाराम नेपालीको दाइको छोराको उपरमा मुद्दा दिएको हुँदा सोही रिसइबीले गर्दा नै मलाई जाहेरवालाले फसाउनलाई प्रस्तुत जाहेरी दिएका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी टमस सोनीले सुरू अदालतसमक्ष गरेको बयान ।
वारदातको दिन नाच हेर्न गएको बेला मलाई एकजना मान्छेले कोट्याएर बोलाएकोले म कोट्याउने मान्छेसँगै गएकी हुँ । नाच हेर्ने ठाउँबाट घुमाएर परसम्म लिएर गएको थियो । अँध्यारो थियो मसँग टर्च
थिएन । मलाई अँध्यारो ठाउँमा भएकोले कसले लगेको हो, मैले चिनिनँ । निजले मलाई भुइँमा ढाली मैले लगाएको सुरूवाल खोली मलाई समाती करणी गरेको हो । अँध्यारो भएकोले मलाई करणी गर्ने मान्छेलाई चिन्दैन भन्नेसमेत बेहोराको पीडित परिवर्तित ५४(क) ले साङ्केतिक भाषा शिक्षकको सहयोगमा सुरू अदालतसमक्ष गरेको मिति २०७२।६।२० को बकपत्र ।
उक्त वारदातको दिनमा श्रीकृष्ण जन्माष्टमी परी सो दिन म आफ्नो घरमा नै थिएँ । नाच हेर्न कतै पनि नगएर घरमै सुतेको थिएँ । बिहानपख मेरो परिवारलगायत अन्य नाच हेर्न गएका व्यक्तिहरूले पीडितलाई करणी गरेका छन् भन्ने सुनी बिहान मात्र थाहा पाएकोले उक्त वारदात के कसरी भएको हो, सो मलाई थाहा भएन । वारदातको भोलिपल्ट प्रतिवादीलगायत अन्य व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको र पीडितले पनि यी प्रतिवादीलगायतलाई इसारा गरी चिनाएको हुँदा पीडितलाई म पढाउने शिक्षक भएको हुनाले यी प्रतिवादीलाई किटानी जाहेरी दिएको हुँ भन्नेसमेत बेहोराको जाहेरवाला टोपराम नेपालीले सुरू अदालतसमक्ष गरेको मिति २०७२।६।२०
बकपत्र ।
मिति २०७२।०५।१९ गतेको राति ९/१० बजेको समयमा म रूकुम जिल्ला, मुसीकोट न.पा. वडा नं.१ स्थित गीता रसाइलीको घरमा नाच भइरहेकोले सोही घरमा नाच हेरिरहेको थिएँ । म सो नाच हेर्न गएको ठाउँमा प्रतिवादी थिएनन् । यी प्रतिवादी टमस सोनीले परिवर्तित नाम ५४(क) लाई जबरजस्ती करणी गरेका होइनन् । प्रस्तुत मुद्दाको वारदातको दिनमा निज प्रतिवादी गीता रसाइलीको घरमा नाचगान भइरहेकोले सो नाच भइरहेको ठाउँमा निज प्रतिवादी टमस सोनी थिएनन् । जाहेरवाला र प्रतिवादीको बिचमा केही कुनै रिसइबी भएकोले सोही रिसइबीको कारणले गर्दा नै जाहेरवालाले प्रतिवादीका उपरमा प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको भनी जाहेरी दिएका होलान् भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी सर्मिला खड्काले सुरू अदालतसमक्ष गरेको मिति २०७२।६।२१ को बकपत्र ।
वारदातको दिनमा श्रीकृष्ण जन्माष्टमी परेकोले मलगायत धेरै मान्छेहरू जम्मा भएर मेरै घरमा तिजको नाच भइरहेको थियो । सो नाच भइरहेको समयमा मेरी कान्छीसासू नाता पर्ने जाहेरवाला टोपाराम नेपालीको श्रीमतीले पीडित कता गइन् भनी भनेकी थिइन् । सो समयमा पीडित तत्काल मेरै घरको घारीपट्टि करेसामा रहिछन् । उक्त वारदातको दिनमा मेरो घरमा नाच हेर्न यी प्रतिवादी टमस सोनी गएका थिए वा थिएनन् सो मलाई थाहा भएन । त्यहाँ धेरै आइमाईहरू थिए । यी प्रतिवादी टमस सोनीले पीडितलाई जबरजस्ती करणी गरेका होइनन् भन्नेसमेत बेहोराको यस अदालतबाट बुझिएकी गीता रसाइलीले सुरू अदालतसमक्ष गरेको मिति २०७२।९।७ को बकपत्र ।
वारदातको दिनमा श्रीकृष्ण जन्माष्टमीको दिन भएकोले उक्त दिनमा नाचगान भएको र सो दिनमा गीता रसाइलीको घरमा नाचगान भइरहेको थियो । सो नाचगान गर्ने ठाउँमा म पहिले गइनँ, पछि सोही दिनको साँझ अं. ९:०० बजेतिर गएकी थिएँ । सो ठाउँमा म गएपछि पीडित हराइन् भन्ने सुनेँ । सो सुनेको करिब आधा घण्टापछि पीडितलाई मेरी आमा तुलसा नेपालीसमेतका व्यक्तिहरूले कताबाट ल्याए । निज पीडितलाई मेरी आमासमेतका व्यक्तिहरूले ल्याउँदा पीडित अलिकति रोएकी थिइन । पीडितको कपाल अलिअलि फुकेको
थियो । पछि पीडितलाई के भयो भनी सोध्दा पीडितले लामो कपाल भएको, अग्लो मान्छेले तानेर लियो भन्ने किसिमको ईशाराबाट कुरा गरेकी थिइन् । यी प्रतिवादी टमस सोनीले पीडितलाई जबरजस्ती करणी गरेका होइनन् । मैले मिति २०७२।५।२३ गते प्रहरीमा कागज गर्दा नाचगान भएको स्थानमा जाँदा टमस सोनी भन्ने व्यक्तिलाई पीडितले इसारा गरी यही व्यक्ति हो मलाई जबर्जस्ती करणी गर्ने भनी सनाखत गरिदिएको ठिक साँचो हो तर सो कुराको खबर प्रहरीलाई कसले गरेको हो मलाई थाहा छैन भन्नेसमेत बेहोराको सुरू अदालतबाट बुझिएकी रिमा वि.क. ले गरेको मिति २०७२।९।७ को बकपत्र ।
पीडितले मौकामा यी प्रतिवादीले नै जबरजस्ती करणी गरेका हुन भनी सनाखत गरिदिएको कागजबाट मौकाको जाहेरी दरखास्त पुष्टि भएको, निजको मौकाको कागजलाई प्रतिवादीले अन्यथा भन्न नसकेको र रिमा वि.क.ले पीडितले मलाई जबरजस्ती करणी गर्ने मान्छे यही हो भनी यी प्रतिवादीलाई देखाउँदा देखेको हुँ भनी बकपत्र गरिदिएबाट समेत प्रतिवादीले जबरजस्ती करणी गरेको पुष्टि भएकोले निजलाई ८(आठ) वर्ष कैद र कसुरको गाम्भीर्य र पीडितलाई पर्न गएको शारीरिक तथा मानसिक क्षतिसमेतलाई विचार गर्दा पीडितले प्रतिवादीबाट रू.१,५०,०००।- (एक लाख पचास हजार) क्षतिपूर्ति भराइदिने ठहर्छ । प्रतिवादीलाई सोही महलको ३(क) नं.बमोजिम थप सजाय गरिपाउँ भन्नेसमेतको अभियोग दाबीतर्फ हेर्दा पीडित शारीरिक रूपमा अशक्त र अपाङ्ग भएको भन्ने नदेखिएको, बोल्न मात्र नसक्ने यी पीडित हाल विद्यालयमा अध्ययन गरिरहेको र इजलाससमक्ष उपस्थित भई बकपत्र गर्दासमेत निज शारिरिक रूपमा अपाङ्ग रहेको भन्ने नदेखिँदा जबरजस्ती करणी महलको ३(क) बमोजिम थप सजाय गरिपाउँ भन्ने अभियोगदाबी सो हदसम्म पुग्न सक्दैन भन्नेसमेत बेहोराको सुरू रूकुम जिल्ला अदालतबाट मिति २०७२/०९/१६ मा भएको फैसला ।
जाहेरवाला प्रस्तुत वारदातका प्रत्यक्षदर्शी होइनन् । जाहेरी दर्खास्त आफैँमा प्रमाण होइन, जाहेरी बेहोरालाई अन्य स्वतन्त्र प्रमाणले पुष्टि नगरेसम्म यो अपराध अनुसन्धानको आधार मात्र हुन्छ । घटना विवरण कागज गर्ने रिमा वि.क.पनि प्रत्यक्षदर्शी नभएकोले निजको बकपत्रलाई पनि प्रमाणमा ग्रहण गर्न मिल्दैन । सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १२ ले वीर्य रगत जचाउनुपर्ने कानूनी व्यवस्थाअनुरूप वीर्य रगत जाँच भएको छैन । मुलुकी ऐन, अ.बं. १७३ नं. को सनाखत तथा इसारालाई अभियोग प्रमाणित गर्ने आधार मानिएको छ । पीडित आफैँ अदालतमा उपस्थित भई इजलाससमक्ष बकपत्र गर्दा आफूलाई करणी गर्ने मान्छेलाई चिन्दिनँ, यी प्रतिवादी होइनन् भनेको अवस्थामा म प्रतिवादीउपरको कसुर वस्तुनिष्ट प्रमाणबाट पुष्टि भएको नदेखिँदा सुरू रूपन्देही जिल्ला अदालतबाट म प्रतिवादीलाई ८ (आठ) वर्ष कैद र रू.१,५०,०००/- (एक लाख पचास हजार) क्षतिपूर्ति भराइदिने गरी भएको फैसला बदर उल्टी गरी सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी टमस सोनीको मिति २०७२।०९।७ पुनरावेदन पत्र ।
साङ्केतिक भाषा शिक्षक जाहेरवाला टोपाराम नेपालीले मौकामा दिएको जाहेरी दरखास्तमा सरस्वती मा.वि. सल्ले, रूकुममा सुस्त श्रवण भएका बालबालिकाहरूलाई शिक्षण गर्दै आएको र पीडित वर्ष १२ की रूकुम ५४(क) पनि उक्त विद्यालयमा अध्ययनरत सुस्त श्रवण भएकी छात्रा भएको कुरा प्रस्ट रूपमा उल्लेख भएको, पीडितले बकपत्र गर्दा निज पूर्णरूपले कान नसुन्ने र बोल्नसमेत नसक्ने भएका कारण साङ्केतिक भाषा शिक्षक पहलमान के.सी.को सहयोग र साङ्केतिक भाषा शिक्षक टोपाराम नेपाली र पीडितको बाबु वागदल पुनको रोहबरमा बकपत्र भएबाट पीडित कान र मुख दुवै अङ्गले काम नगर्ने अपाङ्ग रहेको भन्ने तथ्य स्पष्ट भएको छ । अपाङ्ग पीडितलाई भौतिक रूपमा हेरी देखी सकेर पनि बोल्न मात्र नसक्ने भनी अशक्त र अपाङ्ग नठानी प्रतिवादीलाई थप सजायबाट उन्मक्ति दिने गरी सुरू अदालतबाट भएको फैसला सो हदसम्म त्रुटिपूर्ण रहेकोले बदर गरी अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
यसमा सुरू रूकुम जिल्ला अदालतको फैसलामा चित्त नबुझाई वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परेको देखिँदा उक्त पुनरावेदनपत्रहरू मुलुकी ऐन अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को प्रयोजनार्थ परस्पर जानकारी गराई नियमानुसार पेस गर्ने भन्ने पुनरावेदन अदालत तुलसीपुरको मिति २०७२।१२।२३ गतेको आदेश ।
पीडितले मौकामा यी प्रतिवादीले नै जबरजस्ती करणी गरेका हुन् भनी सनाखत गरिदिएको कागजबाट मौकाको जाहेरी दरखास्तलाई पुष्टि गरेको छ । प्रतिवादीउपर किटानी जाहेरी परेको, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, जाहेरवाला र मौकामा कागज गर्ने रिमा वि.क.समेतको बकपत्रलगायतका मिसिल प्रमाणबाट प्रतिवादीले १२ वर्षकी पीडित परिवर्तित नाम ५४ रूकुम (क) लाई जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणीको १ र ३(२) नं.बमोजिम कसुर गरेको पुष्टि भएकाले निज प्रतिवादीलाई सोही महलको ३(२) नं.बमोजिम ८ वर्ष कैद सजाय र सोही महलको १० नं. बमोजिम पीडितले प्रतिवादीबाट १,५०,०००/- क्षतिपर्ति भराइपाउने ठहर्छ । साथै जबरजस्ती करणीको महलको ३(क) नं.बमोजिम थप सजाय गरिपाउँ भन्नेसमेतको वादी नेपाल सरकारको पुनरावेदन जिकिर रहेकोमा पीडित शारीरिक रूपमा अशक्त र अपाङ्ग भएको भन्ने नदेखिएको, बोल्न मात्र नसक्ने निज पीडित हाल विद्यालयमा अध्ययन गरिरहेको भन्ने देखिँदा निज शारीरिक रूपमा अशक्त वा अपाङ्ग रहेको भन्ने देखिँदैन । साथै इजलाससमक्ष उपस्थित भई बकपत्र गर्दासमेत निज शारीरिक रूपमा अपाङ्ग रहेको भन्ने नदेखिएकाले प्रतिवादीलाई जबरजस्ती करणी महलको ३(क) बमोजिम थप सजाय गरिपाउँ भन्ने वादीको पुनरावेदन जिकिर सो हदसम्म पुग्न सक्दैन भन्ने बेहोराको पुनरावेदन अदालत तुलसीपुरबाट मिति २०७३।५।१९ मा भएको फैसला ।
साङ्केतिक भाषाका शिक्षक जाहेरवाला टोपाराम नेपालीले मौकामा दिएको जाहेरी दरखास्तमा निज सरस्वती मा.वि. सल्ले, रूकुममा सुस्त श्रवण भएका बालबालिकाहरूलाई शिक्षण गर्दै आएको, पीडित वर्ष ११ की रूकुम ५४(क) पनि उक्त विद्यालयमा अध्ययनरत सुस्त श्रवण भएकी छात्रा भएको कुरा प्रस्ट रूपमा उल्लेख भएको र अदालतसमक्ष पीडितले बकपत्र गर्दा निज पूर्णरूपले कान नसुन्ने र बोल्नसमेत नसक्ने भएका कारण साङ्केतिक भाषा शिक्षक पहलमान के.सी.को सहयोग लिएको र साङ्केतिक भाषा शिक्षक टोपाराम नेपाली र पीडितको बाबु बागदल पुनको रोहबरमा बकपत्र गराएबाट पीडित कान र मुख दुवै अंगले काम नगर्ने अपाङ्ग रहेको भन्ने तथ्य स्पष्ट भएको छ । पीडित अपाङ्ग रहेको भौतिक रूपमा हेरी देखी सकेर पनि बोल्न मात्र नसक्ने भनी अशक्त र अपाङ्ग नठानी सबलाङ्गको स्पष्ट आधार उल्लेख नगरी प्रतिवादीलाई थप सजायबाट उन्मुक्ति दिने अभिप्रायले फैसला भएको देखिएको छ । फैसलामा समेत पीडित बोल्न नसक्ने कुरालाई स्वीकार गरी कान नसुन्नु र बोल्न नसक्नु अपाङ्गता नभएको भन्ने मनोगत आधारमा प्रतिवादीलाई कानूनले हुने थप सजायबाट उन्मुक्ति दिने गरी पुनरावेदन अदालत तुलसीपुरबाट भएको मिति २०७३।५।१९ को फैसला ने.का.प.२०६४, अङ्क-११, नि.नं.७९००, पृष्ठ १४६२ समेतको प्रतिकूल भई कानूनी व्याख्याको रोहमा त्रुटिपूर्ण रहेकोले बदर गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम थप सजायसमेत गरिपाउँ भन्ने वादी नेपाल सरकारको यस अदालतमा पेस भएको मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदनपत्र ।
यसमा पुनरावेदन अदालत तुलसीपुरको मिति २०७३।५।१९ को फैसलामा १२ वर्षको पीडितलाई मुलुकी ऐन, जबरजस्ती करणीको १ र ३(२) नं. को कसुरमा ३(२) नं.बमोजिम ८ वर्ष कैद गरिए तापनि बोल्न नसक्ने पीडितको हकमा मुलुकी ऐन जबरजस्ती करणीको ३क. अनुसार अपाङ्गताको परिभाषाभित्र परी थप सजाय आकर्षित हुनुपर्ने वा नपर्ने विषय थप व्याख्याको आवश्यकता रहेको तथा पीडित नाबालिकाको अपाङ्गताको स्थितिलाई विचार नपुर्याई गरिएको फैसला ने.का.प.२०६४ अङ्क ११ नि.नं.७९०० पृष्ठ १४६२ प्रतिकूलसमेत हुन सक्ने भएकोले न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) र (ख) बमोजिम निस्सा प्रदान गरिएको
छ । नियमानुसार पेस गर्नु भन्ने यस अदालतबाट मिति २०७३।८।३० मा भएको आदेश ।
यसमा प्रतिवादी टोमस सोनीलाई पेसीको सूचना कारागार कार्यालयमार्फत पठाएको देखिएको तर निज प्रतिवादीले सो पेसीको सूचना प्राप्त गरेको मिसिल संलग्न कागजातबाट देखिन आएन । थुनामा रहेका प्रतिवादीले रीतपूर्वक पेसीको सूचना नपाएको अवस्थामा सुनुवाइ गर्नु न्यायको रोहमा मान्य
देखिँदैन । मुद्दा पेसीमा चढ्न समय लाग्ने र मुद्दाको पालो आए पनि थुनामा रहेको पक्षले सूचना नपाएकै कारणबाट सुनुवाइ हुन नसक्नुबाट न्याय निरूपण छिटो छरितो हुन सकेको देखिएन । अत: आइन्दा पेसीको सूचना पठाएको ७ (सात) दिनभित्र प्रतिवादी थुनामा रहेको कारागारबाट भरपाई मगाई मिसिल संलग्न
राख्नू । प्रतिवादीको तर्फबाट प्रतिरक्षा गर्न पेसीको सूचना यस अदालतका वैतनिक वकिललाई जानकारी दिनु भन्ने मिति २०७६।६।२ मा यस अदालतबाट भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन पत्रसहित सम्पूर्ण मिसिल अध्ययन गरी वादी नेपाल सरकारका तर्फबाट उपन्यायाधिवक्ता श्री शिव प्रशाद आचार्यले साङ्केतिक भाषा शिक्षक टोपाराम नेपालीले दिएको जाहेरी दरखास्तमा निज आफू सरस्वती मा.वि.सल्ले, रूकुममा सुस्त श्रवण भएका बालबालिकाहरूलाई शिक्षण गर्दै आएको र पीडित रूकुम ५४ (क) पनि उक्त विद्यालयमा अध्ययनरत सुस्त श्रवण भएकी छात्रा भएको कुरा प्रस्ट रूपमा उल्लेख गराएको छ । पीडितको अदालतमा बकपत्र हुँदा निज पूर्णरूपले कान नसुन्ने र बोल्नसमेत नसक्ने भएका कारण साङ्केतिक भाषा शिक्षक र पीडितको बाबुको रोहबरमा बकपत्र गराएबाट पीडित कान र मुख दुवै अंगले काम नगर्ने अपाङ्गता भएको प्रस्ट हुन्छ । पुनरावेदन अदालत तुलसीपुरबाट भएको फैसलामा एकातर्फ पीडित बोल्न नसक्ने कुरालाई स्वीकार गरेको पाइन्छ भने अर्कातर्फ कान नसुन्नु र बोल्न नसक्नु शारीरिक रूपमा अपाङ्गता नभएको भनी मनोगत आधारमा प्रतिवादीलाई कानूनबमोजिम हुने थप सजायबाट उन्मुक्ति दिएको अवस्था देखिन्छ । तसर्थ, पीडित नाबालिका एवम् अपाङ्गसमेत भएको यथार्थतालाई मध्यनजर गरी अभियोग माग दाबीबमोजिम थप सजायसमेत गरी इन्साफ गरिपाउँ भनी बहस गर्नुभयो ।
प्रत्यर्थी / प्रतिवादी टमस सोनीको तर्फबाट विद्वान् अधिवक्ता श्री भिमप्रसाद ढकालले पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई तथ्ययुक्त प्रमाणको रूपमा लिइएको छ, पीडितलाई करणी भएको हुन सक्ने तथ्य स्वीकार गर्नु र अपराध स्वीकार गर्नु एउटै कुरा होइन । पीडित आफैँ अदालतमा उपस्थित भई इजलाससमक्ष बकपत्र गर्दा आफूलाई करणी गर्ने मान्छेलाई चिन्दिनँ, यी प्रतिवादी होइनन् भनेको अवस्थामा यी प्रतिवादीउपरको कसुर वस्तुनिष्ट प्रमाणबाट पुष्टि हुँदैन । तसर्थ सुरू एवम् उच्च अदालतबाट भएको फैसला उल्टी बदर गरी अभियोग दाबीबाट सफाइ गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
उपर्युक्तानुसारको तथ्यगत विषय र बहस जिकिरसमेत भएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत तुलसीपुरबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, यसमा मिति २०७२।५।१९ गते कृष्ण जन्माअष्टमीको उपलक्ष्यमा नाचगान हेरी रहेको अवस्थामा वर्ष १२ की रूकुम ५४(क) लाई टमस सोनीले ललाइफकाइ प्रलोभनमा पारी नाचगान भइरहेको स्थानदेखि पश्चिम दिशामा रहेको मकैबारीमा लगी जबरजस्ती करणी गरेको भनी निज पीडित घटनास्थलबाट रूँदै कराउँदै आई जानकारी गराएकोले तत्काल प्रहरीले निज टमस सोनीलाई पक्राउ गरी पीडितलाई देखाउँदा सनाखत गरिदिएकाले निजलाई हदैसम्मको सजाय गरी पीडितलाई क्षतिपूर्तिसमेत भराइपाउँ भन्नेसमेत बेहोराको टोपाराम नेपालीको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दामा अनुसन्धान कार्य सम्पन्न भई तत्पश्चात् प्रतिवादीउपर मुलुकी ऐन, जबरजस्ती करणीको महलको १नं., ३(२) नं. र ३(क) नं. बमोजिमको कसुरमा सोही महलको ३(२) नं. र ३(क) नं.अनुसार सजाय गरी ऐ. महलको १० नं.बमोजिम प्रतिवादीबाट पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्ने अभियोग मागदाबी रहेको देखियो । सुरू रूकुम जिल्ला अदालतबाट प्रतिवादीलाई ८(आठ) वर्ष कैद एवम् पीडितलाई प्रतिवादीबाट रू.१,५०,०००।- (एक लाख पचास हजार) क्षतिपूर्ति भराइदिने र जबरजस्ती करणीको महलको ३(क) नं.बमोजिम थप सजाय गरिपाउँ भन्ने अभियोगदाबी सो हदसम्म नपुग्ने गरी मिति २०७२।०९।१६ मा भएको फैसलाउपर वादी नेपाल सरकार र प्रतिवादीको समेत पुनरावेदन परेकोमा पुनरावेदन अदालत तुलसीपुरबाट मिति २०७३।५।१९ मा सुरू सदर हुने गरी भएको फैसलामा चित्त नबुझाई वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा न्याय प्रशासन ऐन,२०७३ को दफा १२(३) बमोजिम मुद्दा दोहोर्याई पाउँको निवेदन पत्र पर्न आएकोमा मिति २०७३/८/३० मा दोहोर्याई हेर्ने अनुमति प्रदान भएकाले प्रस्तुत निवेदन पत्रलाई पुनरावेदनको रोहमा हेरी न्याय निरूपण गर्नुपर्ने देखियो ।
३. बोल्न सुन्न नसक्ने अपाङ्ग भएकी पीडितलाई प्रतिवादीले जबरजस्ती करणी गरेको कसुर गरेकोमा निजलाई जबरजस्ती करणीको महलको ३(क) नं.बमोजिम थप सजाय नगरेको हदसम्म चित्त नबुझाई प्रतिवादीलाई अभियोग दाबीबमोजिम थप सजायसमेत गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर रहेको देखियो । यी प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम थप सजायसमेत हुने नहुने के हो सो सन्दर्भमा विचार गर्दा सुरू रूकुम जिल्ला अदालत एवम् पुनरावेदन अदालत तुलसीपुरबाट उल्लिखित मितिमा भएको फैसला हेर्दा पीडित बोल्न मात्र नसक्ने भएकोमा निज हाल सुस्त श्रवण भएका बालबालिकाहरूसँगै विद्यालयमा अध्ययन गरिरहेको भन्ने देखिएको र इजलाससमक्ष उपस्थित भई बकपत्र गर्दासमेत निज शारीरिक रूपमा अशक्त वा अपाङ्ग रहेको भन्ने नदेखिएको भन्ने आधारमा जबरजस्ती करणी महलको ३(क) बमोजिम थप सजाय गरिपाउँ भन्ने अभियोगदाबी सो हदसम्म पुग्न नसक्ने भनी निर्णयाधारमा बोलेको पाइन्छ । उक्त फैसला मिले नमिलेतर्फ विचार गर्दा मौकाको जाहेरी दरखास्तमा जाहेरवाला शिक्षक भई आफू सरस्वती मा.वि. सल्ले रूकुममा सुस्त श्रवण भएका बालबालिकाहरूलाई शिक्षण गर्दै आएको र पीडित वर्ष १२ की रूकुम ५४(क) पनि उक्त विद्यालयमा अध्ययनरत सुस्त श्रवण भएकी छात्रा भएको कुरा प्रस्ट रूपमा उल्लेख गरी जाहेरी परेको देखिन्छ । अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९को दफा २(क) मा "अपाङ्ग" भन्नाले सामान्य दैनिक चर्या गर्न शारीरिक वा मानसिक तवरले असमर्थ वा असक्षम भएको नेपाली नागरिकलाई सम्झनुपर्छ । सो शब्दले कानो, अन्धो, बहिरो, लाटो, लठेब्रो, लुलो, कुँजो, लङ्गडो, खोरण्डो, डुँडो वा सुस्त मनस्थिति भएको व्यक्तिलाई समेत जनाउँछ" भन्ने कानूनी व्यवस्था पाइन्छ । त्यसैगरी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को दफा २ ख मा "अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता (फङ्सनल इम्पेरिमेन्ट) वा विद्यमान अवरोधको कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति सम्झनुपर्छ" भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । पीडित अपाङ्गता संरक्षण तथा कल्याण ऐन, २०३९को दफा २(क) को परिभाषाभित्र पर्ने अपाङ्गता भएको व्यक्ति रहेकोमा दुविधा देखिँदैन । अपाङ्गता भएको व्यक्तिको अधिकारसम्बन्धी ऐन,२०७४ प्रस्तुत मुद्दामा घटित वारदातभन्दा पछि लागु भएको देखिए तापनि व्यक्तिमा रहेको कस्तो अवस्थालाई आपाङ्गता मानिन्छ भन्ने सन्दर्भमा उल्लिखित परिभाषासमेत सन्दर्भ सामाग्रीको थप सहयोगी हुने देखिन्छ । प्रस्तुत मुद्दामा पीडितले अदालतमा बकपत्र गर्दा निज पूर्णरूपले कान नसुन्ने र बोल्नसमेत नसक्ने भएका कारण साङ्केतिक भाषा शिक्षक पहलमान के.सी.को सहयोग र साङ्केतिक भाषा शिक्षक जाहेरवाला टोपाराम नेपाली र पीडितको बाबुको रोहबरमा बकपत्र गराएबाट निज कान र मुख दुवै अङ्गले काम नगर्ने अपाङ्ग रहेको भन्ने तथ्यलाई पुष्टि गरेको छ । तसर्थ, पीडित रूकुम ५४(क) बोल्न सुन्न नसक्ने अपाङ्ग भएकी १२ वर्षकी नाबालिग रहेकोमा विवाद देखिँदैन ।
४. मुलुकी ऐन, जबरजस्ती करणीको ३(क) को कानूनी व्यवस्थालाई हेर्दा "कसैले गर्भवती अशक्त, अपाङ्गता भएका वा होस ठेगानमा नरहेका वा आफ्नो संरक्षण वा हेरविचारमा रहेका महिलालाई जबरजस्ती करणी गरेमा वा जुनसुकै उमेरका महिलाउपर सामूहिक रूपमा जबरजस्ती करणी गरेमा यस महलमा लेखिएको सजायमा थप पाँच वर्ष कैद गर्नुपर्छ" भनी उल्लेख भएको
पाइन्छ । उक्त कानूनी प्रावधानअनुसार अशक्त वा अपाङ्गता रहेका महिलालाई कसैले जबरजस्ती करणी गरेमा थप सजाय गर्नुपर्छ भन्ने विधायिकी मनसाय रहेको स्पष्ट देखिन्छ । यसको अर्थ पीडित अशक्त र अपाङ्ग दुवै अवस्थाको हुनुपर्छ भन्ने होइन । अशक्त, अपाङ्ग भनी कानूनमा प्रयुक्त दुई शब्दलाई एकै ठाउँमा जोडेर अर्थ गर्न मिल्दैन । पीडित शारीरिक रूपमा अशक्त र अपाङ्ग भएको भन्ने नदेखिएको, बोल्न मात्र नसक्ने यी पीडित हाल विद्यालयमा अध्ययन गरिरहेकी भन्ने देखिँदा निज शारीरिक रूपमा अशक्त वा अपाङ्ग रहेको भन्ने नदेखिएको र इजलाससमक्ष उपस्थित भई बकपत्र गर्दासमेत निज अशक्त नभई शारीरिक रूपमा अपाङ्ग रहेको भन्ने नदेखिएको भन्ने आधारमा मुलुकी ऐन, जबरजस्ती करणी महलको ३(क) बमोजिम थप सजाय गरिपाउँ भन्ने अभियोगदाबी सो हदसम्म पुग्न नसक्ने भनी निर्णयाधारमा बोलेको पाइन्छ । उक्त फैसला मिले नमिलेतर्फ विचार गर्दा, मौकाको जाहेरी दर्खास्तमा जाहेरवाला शिक्षक भई आफू सरस्वती मा.वि. सल्ले रूकुममा सुस्त श्रवण भएका बालबालिकाहरूलाई शिक्षण गर्दै आएको र पीडित वर्ष १२ की रूकुम ५४(क) पनि उक्त विद्यालयमा अध्ययनरत सुस्त श्रवण भएकी छात्रा भएको कुरा प्रस्ट रूपमा उल्लेख गरी जाहेरी परेको देखिन्छ । प्रस्तुत मुद्दामा पीडितले अदालतमा बकपत्र गर्दा निज पूर्णरूपले कान नसुन्ने र बोल्नसमेत नसक्ने भएका कारण साङ्केतिक भाषा शिक्षक पहलमान के.सी.को सहयोग र सांकेतिक भाषा शिक्षक जाहेरवाला टोपाराम नेपाली र पीडितको बाबुको रोहबरमा बकपत्र गराएबाट निज कान र मुख दुवै अङ्गले काम नगर्ने अपाङ्ग रहेको भन्ने तथ्यलाई पुष्टि गरेको छ । यसरी पीडित रूकुम ५४(क) बोल्न सुन्न नसक्ने अपाङ्ग भएकी १२ वर्षकी नाबालिग रहेको देखिन्छ ।
५. तत्काल प्रचलित मुलुकी ऐन, जबरजस्ती करणीको ३(क) को कानूनी व्यवस्थालाई हेर्दा "कसैले गर्भवती, अशक्त, अपाङ्गता भएका वा होस ठेगानमा नरहेका वा आफ्नो संरक्षण वा हेरविचारमा रहेका महिलालाई जबरजस्ती करणी गरेमा वा जुनसुकै उमेरका महिलाउपर सामूहिक रूपमा जबरजस्ती करणी गरेमा यस महलमा लेखिएको सजायमा थप पाँच वर्ष कैद गर्नुपर्छ" भनी उल्लेख भएको पाइन्छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (७) मा "... छ महिनाभन्दा बढीको गर्भवती, अशक्त वा अपाङ्ग वा शारीरिक वा मानसिक रूपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाई जबरजस्ती करणी गरेमा उपदफा (३) मा लेखिएको सजायमा थप पाँच वर्षसम्म कैद सजाय हुने छ" भन्ने कानूनी व्यवस्था पाइन्छ । उक्त कानूनी प्रावधानअनुसार अशक्त वा अपाङ्गता रहेका महिलालाई कसैले जबरजस्ती करणी गरेमा थप सजाय गर्नुपर्छ भन्ने विधायिकी मनसाय रहेको देखिन्छ । अशक्त, अपाङ्ग भनी कानूनमा प्रयुक्त दुई शब्दलाई एकै ठाउँमा जोडेर अर्थ गर्न मिल्दैन । अलगअलग अर्थ दिने उक्त दुईमध्ये कुनै एक अवस्थाको विद्यमानता भएमा पनि प्रतिवादीलाई कानूनबमोजिम थप सजाय गर्नुपर्छ भन्ने कानूनको मकसद रहेको देखिन्छ ।
६. पीडित विद्यालयमा अध्ययन गर्न जाने गरेको र अदालतसमक्ष आफैँ उपस्थित भई बकपत्र गरेको अवस्थामा निज शारीरिक रूपमा अपाङ्ग रहेको नदेखिएको भनी पुनरावेदन अदालतको फैसलामा उल्लेख भएको देखिन्छ । यस सन्दर्भमा पुनरावेदन अदालत तुलसीपुरबाट फैसला हुँदाका बखत तत्काल प्रचलित अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ को दफा २(क) मा अपाङ्ग भन्नाले बहिरो, लाटोसमेतलाई जनाउने भनी अपाङ्गको परिभाषा गरिएको छ । यसैगरी यस अदालतबाट (ने.का.प.२०६४ अङ्क ११ नि.नं.७९०० पृ.१४६२ भाग ४९) मा “अपाङ्ग भन्नाले सामान्य दैनिक चर्या गर्न शारीरिक वा मानसिक तवरले असमर्थ वा असक्षम भएका नेपाली नागरिकलाई सम्झनुपर्छ सो शब्दले कानो, अन्धो, लाटो, लेब्रो, लुम्सो, कुजो, लङ्गडो, खोरोण्डो, डुँडो वा सुस्त मनस्थिति भएको व्यक्तिलाई समेत जनाउँछ" भनी सिद्धान्तसमेत प्रतिपादन भएको पाइन्छ । तसर्थ पीडित बोल्न मात्र नसक्ने भई विद्यालयमा अध्ययन गरिरहेको र निज आफैँ इजलाससमक्ष उपस्थित भई बकपत्रसमेत गरेको अर्थात् निज शारीरिक रूपमा सबल रहेको भन्ने आधारमा मात्र निज अपाङ्ग नरहेको भन्ने तर्कसँग यो इजलास सहमत हुन सकेन ।
७. तसर्थ, माथि विवेचित मुद्दाको तथ्य, आधार र प्रमाणहरूबाट प्रतिवादी टमस सोनीले पीडित रूकुम ५४(क) लाई जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र ३(२) नं. को कसुरमा सोही महलको ३(२) नं.बमोजिम ८ वर्ष कैद र पीडितले प्रतिवादीबाट रू.१५००००।– क्षतिपूर्ति भरिपाउने ठहर्छ । साथै पीडित सुस्त श्रवण भएकी अर्थात् बोल्न सुन्न नसक्ने देखिएको र निजको सो अवस्था तत्काल प्रचलित मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३क र हाल मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (७) को बमोजिम अपाङ्गताको परिभाषाभित्र पर्ने हुँदा पीडित नाबालिका अपाङ्गताको स्थितिलाई विचार नपुर्याई सुरू फैसला सदर गरेको पुनरावेदन अदालत तुलसीपुरबाट मिति २०७३।५।१९ मा भएको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादी टमस सोनीलाई अभियोग माग दाबीबमोजिम साबिकको मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३क बमोजिम थप ५ वर्ष सजाय गर्नुपर्नेमा हालको मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (७) मा थप ५ वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था रहेको र हाल प्रचलित फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४को दफा ५, केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९ को उपदफा २(ख) ले विद्यमान कानूनमा कम सजाय हुन सक्ने व्यवस्था भएमा सोबमोजिम सजाय गर्न सकिने कानूनी व्यवस्थाबमोजिम प्रतिवादीलाई ५ वर्षसम्म थप कैद हुन सक्नेमा २ वर्ष थप सजाय गर्दासमेत कानूनको मकसद पूरा हुने देखिँदा प्रतिवादी टोमस सोनीलाई थप २ वर्ष कैद सजायसमेत हुने
ठहर्छ । अरू तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत तुलसीपुरबाट भएको फैसला केही उल्टी भई प्रतिवादी टमस सोनीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (७) बमोजिम २ वर्ष थप सजायसमेत हुने ठहरेकाले फैसलाबमोजिम कैदी पुर्जी संशोधन गरी थप २ वर्षको कैदसमेत समावेश गरी लगत कसी असुल गर्नु भनी सुरू अदालतमा लेखी पठाइदिनू......................................................१
सरोकारवालाहरूले नक्कल मागे नियमानुसार गरी
दिनू.............................................................२
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाइदिनू.........३
उक्त रायमा सहमत छु ।
न्या. सुष्मालता माथेमा
इजलास अधिकृत : मनोज बराल / अनु याकामी
इति संवत् २०७८ साल कार्तिक ४ गते रोज ५ शुभम् ।