शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११२४७ - जबरजस्ती करणी

भाग: ६६ साल: २०८१ महिना: जेष्ठ अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत

माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा

फैसला मिति : २०७९।१२।२४

०७४-CR-१४९७

 

मुद्दाः- जबरजस्ती करणी

 

पुनरावेदक / प्रतिवादी : बागलुङ जिल्ला, साबिक खुँगा गा.वि.स. वडा नं. ८ को हाल ऐ. ढोरपाटन नगरपालिका, वडा नं. ४ बस्ने स्व. पहलसिंह अर्गेजाको छोरा धनबहादुर अर्गेजा

विरूद्ध 

प्रत्यर्थी / वादी : नाम थर परिवर्तन गरिएकी ४५(११) को जाहेरीले नेपाल सरकार

 

व्यक्तिले कुनै घटनाका बारेमा लामो समयपछि व्यक्त गर्दा पहिलेको बेहोरासँग सामान्य फरक पर्नु सामान्य भए पनि घटनाको प्रकृति र मुद्दाको स्वरूपमा नै बदलाव आउने गरी जाहेरीमा प्रतिवादीले बन्दुक बोकेको सम्बन्धमा उल्लेख नगरेको अवस्थामा बकपत्रमा प्रतिवादीले बन्दुकसमेत साथमा लिएको भनी उल्लेख गरेको कुरालाई सामान्य मान्न मिल्दैन । यसबाट घटनाको प्रकृति र प्रतिवादीलाई लाग्न सक्ने कसुरमा समेत भिन्नता आउने गरी भएको बकपत्रमा सामान्य फरक परेको मात्र भन्न मिल्दैन । त्यसैले मौकाको जाहेरी बेहोरा र जाहेरवालीको अदालतको बकपत्रमा तात्त्विक फरक परी विरोधाभाषपूर्ण रहेको देखिन्छ । यसरी, अनुसन्धानका क्रममा सङ्कलित प्रमाणहरू न्यायिक परीक्षणका क्रममा समर्थित नभई परस्पर विरोधाभाषपूर्ण रहेको देखिएमा त्यस्ता प्रमाणहरूका आधारमा कसैलाई कसुरदार ठहर गर्न नमिल्ने । 

(प्रकरण नं. २)

श्रीमतीउपर जबरजस्ती करणी गरेको देख्ने जाहेरवालीका श्रीमान्‌ले आवश्यक प्रतिकार तथा गुहार मागी समयमै घटनाको जाहेरी नदिएबाट पनि घटना वारदातको विश्वसनीयतामा शङ्का संशय पैदा हुन पुगेको 

देखिन्छ । मुद्दामा तोकिएको हदम्यादभित्र जाहेरी दिन सक्ने कुरालाई नकार्न नसकिए पनि घटनाको बारेमा जतिसक्दो छिटो जाहेरी तथा सूचना दिएको खण्डमा मात्र घटनाको वास्तविकतासम्म पुग्न सकिने हुँदा यसतर्फ जाहेरवाला तथा वादी पक्ष सजग हुनु त्यति नै महत्त्वपूर्ण हुन जान्छ । प्रतिवादी र पीडित पनि एकै समाजको छिमेकी भएका कारण समाजमा तथा छिमेकीमा हुने व्यवहार तथा सम्बन्धहरूले पनि यस्ता घटना प्रभावित हुने र त्यस्ता कुराले घटनाको स्वरूप नै परिवर्तन हुनेतर्फ पनि अदालतले ध्यान दिनुपर्ने ।

(प्रकरण नं. ४)

जबरजस्ती करणी मुद्दामा पीडित भनिएकी जाहेरवालीको कथन सर्वोत्तम प्रमाण हुने भए पनि त्यस्तो कथन मिसिल संलग्न अन्य स्वतन्त्र प्रमाणहरूबाट समेत समर्थित 

हुनुपर्दछ । साथै, जाहेरवालीको मौकाको र अदालतमा व्यक्त गरेको भनाइमा समेत एकरूपता भई विश्वसनीय 

हुनुपर्दछ । जबरजस्ती करणीको वारदातका सम्बन्धमा नै फरक परी विरोधाभाषपूर्ण भई शङ्कास्पद देखिएको जाहेरवालीको भनाइलाई अकाट्य प्रमाणको रूपमा लिन नमिल्ने ।

 (प्रकरण नं. ५)

 

पुनरावेदक / प्रतिवादी : विद्वान् वरिष्ठ अधिवक्ता श्री राघवलाल वैद्य

प्रत्यर्थी / वादी : विद्वान् उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइँटेल

अवलम्बित नजिर :

२०७९ साल, अङ्क २, नि.नं. १०८१६

२०७६ साल अङ्क-१, नि.नं. १०१७२

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः 

मा. न्या. श्री हिमलाल बेल्बासे

बागलुङ जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

मा. न्या. श्री शेषराज शिवाकोटी

मा. न्या. श्री हरिप्रसाद पौडेल

उच्च अदालत पोखरा, बागलुङ इजलास

 

फैसला

न्या. डा. मनोजकुमार शर्मा : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-

तथ्य खण्ड

मलाई मिति २०७३।०९।२६ गतेका राति अन्दाजी २०:०० बजेको समयमा जिल्ला बागलुङ, खुङ्गा गा.वि.स. वडा नं. ८ भाङ्गी भन्ने स्थानमा ऐ. बस्ने वर्ष ७३ को धनबहादुर अर्गेजाले जबरजस्ती करणी गरेको हुँदा निजलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोराको पीडित परिवर्तित नाम ४५(११) को जाहेरी दरखास्त । 

जिल्ला बागलुङ, खुङ्गा गा.वि.स. वडा नं. ८ भाङ्गीस्थित पूर्वमा पीडित ४५(११) को पाखोबारी, पश्चिममा पीडितकै २ तले खरले छाएको ढुङ्गामाटोको गाह्रो भएको घर, उत्तर माथितर्फ दुर्गाबहादुर कार्कीको बारी र दक्षिणमा दिलबहादुर फगामीको गोठ, यति चार किल्लाभित्र रहेको पीडितको २ तले खरले छाएको गोठ, सो गोठको भुइँँतलाको पश्चिमतर्फ छेउमा एक भैंसी बाँधेको अवस्थामा रहेको, त्यसपछि एकवटा गाई बाँधी राखिएको, सो गाईदेखि पूर्वतर्फको गोठभित्र छेउमा विभिन्न जातका स्याउलाहरू केही अर्ध सुकेको‚ केही हरियो र केही सुकेको अवस्थामा रहेको, सोही स्थानको भुइँँमा स्याउला घाँस यत्रतत्र नमिलाइकन रहेका, सोही स्थानमा पीडित ४५(११) लाई धनबहादुर अर्गेजाले करणी गरेको उक्त गोठ पीडितको घरदेखि २० मिटरको दूरीमा रहेको भन्ने बेहोराको चार किल्लासहितको घटनास्थल मुचुल्का ।

पीडित परिवर्तित नाम ४५(११) मेरी आमा हुनुहुन्छ । प्रतिवादी भनिएका धनबहादुर अर्गेजा छिमेकी बाजे नाता पर्दछन् । मैले बागलुङको खर्बाङमा रहेको नेष्डो नेपाल भन्ने संस्थामा विगत ३ वर्षपहिलादेखि काम गर्दै आएकी छु । कहिलेकाहीँ घरमा जाने र आमाबुबासँग भेट गरी पुनः आउने 

गर्दथें । त्यस्तैमा मिति २०७३।०९।२६ गतेका दिन म खर्बाङमा नै रहेकोले घटना सम्बन्धमा मलाई उक्त दिन केही पनि जानकारी भएन । मिति २०७३।०९।२९ गतेका बिहान अन्दाजी ११:०० बजेको समयमा उक्त घटना सम्बन्धमा मलाई घरबाट जानकारी पाएको हुँ । मलाई तत्काल घरमा जाने समय नमिलेपछि मैले आमा बाबालाई किन यस्तो घटनाको बारेमा कोही कसैलाई नबताएको, प्रहरी तथा स्थानीय मानिसहरूलाई जानकारी गराउनुपर्दछ भनेपछि आमाबाबाले स्थानीय मानिसहरूलाई तथा प्रहरीलाई जानकारी गराउँदा प्रहरीसमेत पुगी घटनास्थल मुचुल्का बनाई प्रतिवादीलाई पक्राउ गरी लिई आएका रहेछन् । म बुर्तिबाङ पुग्दा मेरो बाबाआमा पनि आउनु भएकोले भेटी घटनाबारेमा बुझ्दा मिति २०७३।०९।२६ गतेका साँझ मेरो बाबा घरदेखि तल रहेको गोठमा गएको र आमा माथि घरमा रहेको अवस्थामा निज धनबहादुर अर्गेजा घरमा आई आमालाई बोलाई विभिन्न धाक, धम्की दिई डर त्रास देखाई घरदेखि केही पर रहेको गोठमा लगी पल्टाई जबरजस्ती करणी गरेको र मेरी आमा निजको पञ्जाबाट भागी घरमा आउँदासमेत निजले नछोडी मेरी आमाको पछिपछि आई घरको पिँढीमा समेत पल्टाई जबरजस्ती करणी गर्न लागेको अवस्थामा तल गोठबाट बाबा घरमा आउँदा देखी बाबा कराउँदा निज धनबहादुर अर्गेजा उक्त स्थानबाट भागी गएको भन्ने सुनी थाहा पाएकी हुँ । निज धनबहादुर अर्गेजाले मेरी आमालाई जबरजस्ती करणी गरेका कारण मेरो आमाले घरमा झुण्डी आत्महत्यासमेत गर्न लागेको अवस्थामा मेरो ठुलो बाबाकी छोरी राममाया फगामीले देखी बचाएको भन्ने कुरा सुनी आमालाई किन झुण्डी आत्महत्या गर्न खोज्नुभएको हो भनी सोध्दा गाउँकै धनबहादुर अर्गेजाले यो उमेरमा जबरजस्ती करणी गरेको हुँदा म बाँचेर के अर्थ भनी आमाले भन्नुभएको हो । मेरी आमा एक्लै भएको अवस्थामा विभिन्न धाक, धम्की दिई डरत्रास देखाई जबरजस्ती करणी गर्ने निज धनबहादुर अर्गेजालाई कानूनबमोजिम कारबाही हुनुपर्दछ भन्ने बेहोराको पीडित ४५(११) की छोरी टिका फगामी मगरले गरेको घटना विवरण कागज ।

पीडित परिवर्तित नाम ४५(११) मेरी श्रीमती हुन् भने प्रतिवादी भनिएका धनबहादुर अर्गेजा पनि छिमेकी पर्दछन् । म र श्रीमती घरमा नै बसी खेतीपाती गर्दै आइरहेका छौं । त्यस्तैमा मिति २०७३।०९।२६ का साँझ म तल गोठमा गाई वस्तुभाउलाई घाँसपात गरी सोही राति अन्दाजी २०:०० बजेको समयमा माथि घरमा आउँदा घरको पिँडीमा मेरी श्रीमती कराएको सुनी के भयो भनी म जाँदा धनबहादुर अर्गेजाले मेरी श्रीमतीलाई पल्टाई अचेटी माथि चढिरहेको देखी के गरेको हो भनी म कराउँदा निज धनबहादुर अर्गेजा उक्त स्थानबाट भागी गएका हुन् । मेरी श्रीमती रोइकराइ रहेकी र मैले श्रीमतीलाई सोध्दा निज धनबहादुरले मेरो श्रीमतीलाई धाकधम्की दिई घरदेखि केही पर रहेको गोठमा लगी जबरजस्ती करणी गरेको र निजको पञ्जाबाट फुस्की घरमा आई बस्दासमेत पछिपछि आई घरमा पनि जबरजस्ती करणी गर्न लागेको समयमा मैले देखेको हुँ । घरमा जान्ने बुझ्ने कोही नभएको हुँदा हामीहरूले तत्काल छिमेकी कोही कसैलाई पनि उक्त घटना सम्बन्धमा जानकारी गराएनौं । केही दिनपछि उक्त घटना सम्बन्धमा बागलुङको खर्बाङमा रहेकी जेठी छोरीलाई जानकारी गराएपछि छोरीले यस्तो घटना प्रहरी तथा स्थानीय मानिसहरूलाई जानकारी गराउनुपर्दछ भनेपछि स्थानीय मानिसहरू तथा प्रहरीलाई समेत जानकारी गराई प्रहरी गई घटनास्थल मुचुल्कासमेतको कार्य गरी प्रतिवादीलाई समेत पक्राउ गरी लिई आएका हुन् । म उक्त समयमा घरमा नगएको भए प्रतिवादीले मेरी श्रीमतीलाई पटकपटक जबरजस्ती करणी गर्ने रहेछन् । निज प्रतिवादीले मेरी श्रीमतीलाई जबरजस्ती करणी गरेका कारण मेरी श्रीमतीले मिति २०७३।०९।२९ गतेका दिन घरमा नै आत्महत्या गर्न लागेको समयमा मेरो दाजुकी छोरी राममाया फगामीले देखी तत्काल उक्त स्थानमा पुगी आत्महत्या गर्नबाट जोगाएकी हुन् । यसरी घरमा मेरी श्रीमती मात्र रहेको अवस्थामा धनबहादुर अर्गेजा आई विभिन्न धाकधम्की दिई डरत्रास देखाई जबरजस्ती करणी गर्ने निजलाई कानूनबमोजिम कारबाही हुनुपर्दछ र मेरी श्रीमतीलाई निज प्रतिवादीबाटै क्षतिपूर्तिसमेत दिलाई भराइदिनुपर्दछ भनी परिवर्तित नाम ४५(छ) ले गरेको घटना विवरण कागज ।

मिति २०७३।०९।२६ गतेका साँझ मेरो घरदेखि नजिकै पर्ने मेरी छिमेकी भतिजी नाता पर्ने यस मुद्दाकी जाहेरवाली परिवर्तित नाम ४५(११) को घरको अगाडिको बाटो हिँडी जङ्गलमा पाइने कालिजको बास हेर्न जाने क्रममा निज जाहेरवालीलाई घरमा एक्लै देखी निजलाई कान्छी एउटा सानो काम छ यता आउ भनी निजले के काम हो अँध्यारो छ भनी भनिन् । मैले तिम्रो बुढा कहाँ गए भनी सोधेँ, निजले तल गोठमा गएका छन् भनेपछि मैले हल्का रक्सी पनि खाएकोले निजको हातमा समाती निजको घरदेखि केही पर रहेको गोठमा लगी निजको गाला तथा मुख चुसी शरीरको विभिन्न भागहरूमा मुसारेकोमा के गरेको हो भनी कराएपछि मैले निज महिलाको मुखसमेत थुनी धेरै बोलिस् भने तँलाई खतरा होला भनी विभिन्न धाकधम्कीहरू दिई बोल्न कराउन नदिई निज महिलाले लगाएको लुङ्गी माथि सारी मैले लगाएको पाइन्टसमेत खोली मेरो उत्तेजित लिङ्ग निज महिलाको योनिमा जबरजस्ती छिराई निजको गाला मुख चुसी अन्दाजी ४/५ मिनेटजति भित्र बाहिर गराई जबरजस्ती करणी गरी मैले वीर्य योनिभित्र खसालेको हुँ । निज उक्त स्थानबाट उठी आफ्नो घरतर्फ आइन् । मैले पाइन्ट लगाई अन्दाजी ५ मिनेटजति गोठमा नै बसेँ । त्यसपछि म पुन: निज महिलाको घरमा जाँदा निज घरभित्र अगेनाको आडमा बसेकी र निजलाई पुन समाती निजलाई पल्टाई निजमाथि चढी संवेदनशील अङ्गहरू मसारमुसुर गरिरहेको अवस्थामा निज कराउँदा तल गोठबाट पीडितको श्रीमान् आई घरभित्र पसेर के गरेको हो भनी कराएकाले म उक्त स्थानबाट भागी घरमा गई मेरो लिङ्ग धोई पखाली गरी सुतेको हुँ । ४५(११) को जाहेरी दरखास्तको बेहोरा ठिक हो, उल्लिखित कसुर अपराध मैले गरेकोले कानूनबमोजिम सजाय भएमा सहन बुझाउन मन्जुर छु । मैले निज महिलालाई जबरजस्ती करणी गर्दा निजले लुङ्गी लगाएकी 

थिइन् । उक्त लुङ्गीमा मेरो वीर्य पनि लागेको हुन सक्छ भन्ने बेहोराको प्रतिवादी धनबहादुर अर्गेजाले गरेको बयान । 

पीडित परिवर्तित नाम ४५(११) मेरी कान्छी आमा पर्नु हुन्छ । घर पनि ३० मिनेटको दुरी तलमाथि मिति २०७३।०९।२९ गतेका दिन निज पीडित ४५(११) लाई गाउँकै धनबहादुर अर्गेजाले जबरजस्ती करणी गरेको भन्ने थाहा पाई म सोही दिन माथि पीडितको घरतिर आएकी थिएँ । निजको घरमा आउँदा पीडित आफ्नै घरको पालीमा प्लाष्टिक नाम्लोको रसी हातमा लिई घाँटीमा बाँधी झुण्डी आत्महत्या गर्न लाग्नु भएको थियो । मैले देखी के गर्न लाग्नु भएको कान्छीआमा भनी भन्दा म बाँचेर के अर्थ, मेरो इच्छाविपरीत गाउँकै धनबहादुर अर्गेजाले मलाई मेरो घरमा आई बोलाई गोठमा लगी विभिन्न डरत्रास देखाई मेरो मुखसमेत थुनिदिई जबरजस्ती करणी गरेकोले मैले आत्महत्या गर्न लागेकी हुँ भनी भन्नुभएको हो । त्यसपछि मैले सम्झाइबुझाइ गरी निजलाई आत्महत्या गर्नबाट बचाएकी हुँ । अन्य स्थानीय मानिसहरूलाई समेत निजले आत्महत्या गर्न लागेको भन्ने कुरा जानकारी गराई सबै स्थानीय मानिसहरूसमेत जम्मा भई उक्त घटना प्रहरीलाई खबर गर्नुपर्दछ भनी प्रहरीलाई खबर गरी प्रहरीसमेत आई घटनास्थल मुचुल्कालगायतको कार्य गरी निज प्रतिवादी धनबहादुर अर्गेजालाई पक्राउ गरी लगेका हुन् । के कसरी निज धनबहादुर अर्गेजाले जबरजस्ती करणी गरे भनी बुझ्दा मिति २०७३।०९।२६ का साँझ कान्छाबाबा तल गोठमा घाँसपात गर्न जानु भएको र कान्छीआमा घरमा नै रहेको अवस्थामा निज धनबहादुर अर्गेजा आई पीडितलाई बोलाई पीडितको गोठमा लगेको र विभिन्न डरत्रास देखाई पल्टाई जबरजस्ती करणी गरेपछि पीडित निज धनबहादुरको पञ्जाबाट भागी घरमा आएको अवस्थामा समेत पछिपछि आई घरको पिँढीमा समेत जबरजस्ती करणी गर्न लागेको अवस्थामा कान्छाबाबा गोठबाट घरमा आई हेर्दा निज धनबहादुरले जबरजस्ती करणी गर्न लागेको देखी कराएपछि भागी गएको भन्ने सुनी थाहा पाएकी हुँ । यसरी पीडित घरमा रहेको अवस्थामा पीडितको घरमा आई बोलाई विभिन्न डरत्रास देखाई गोठमा लगी जबरजस्ती करणी गर्ने निज प्रतिवादी धनबहादुर अर्गेजालाई कानूनबमोजिम कारबाही हुनुपर्दछ भन्ने बेहोराको राममाया फगामीसमेतले गरेको घटना विवरण कागज ।

प्रतिवादी धनबहादुर अर्गेजाले जाहरेवाली परिवर्तित नाम ४५(११) लाई जबरजस्ती करणी गरेकाले निजलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. र ३(५) नं.बमोजिम कसुरमा ऐ. ३(५) नं.बमोजिम सजाय गरी सोही महलको १० नं. र १०ग नं.बमोजिम पीडितलाई प्रतिवादीबाट उचित क्षतिपूर्ति दिलाई भराइपाउँ भन्नेसमेतको अभियोगपत्र । 

मिति २०७३।०९।२६ को दिनभर काम गरी घरमा नै सुतेको हुँ । जाहेरवाली र मेरो घर ५ मिनेटको फरकमा पर्दछ । जाहेरवालीसँग खासै भेट हुँदैन । जाहेरवालीलाई मैले जबरजस्ती करणी गरेको होइन । राममाया फगामीले कस्को गर्भ बोकेर मेरो दाइको छोरालाई जिम्मा लगाउनेबारेमा छिमेकमा छलफल हुँदा सोही विषयमा म उपरसमेत रिसइवी 

थियो । अनुसन्धानको बयान बेहोरा मेरो होइन । अभियोग मागदाबी झुट्टा हो, सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी धनबहादुर अर्गेजाले सुरू अदालतमा गरेको बयान ।

प्रतिवादीले आफूलाई जबरजस्ती करणी गर्न खोज्दा किन त्यसो गर्दछौ काका साइनोले हामी बाबुछोरी हौं भन्दा केही हुँदैन भनी मलाई बन्दुक देखाई तर्साई जबरजस्ती करणी गरेका 

हुन् । पहिले गोठमा लगी ४/५ मिनेटजति जबरजस्ती करणी गरेका हुन् । त्यसपछि घरमा आई म सुत्ने बिस्तारामा दोस्रो पटक जबरजस्ती करणी गरेका हुन् । मेरो श्रीमान् भित्र आई अर्काको पोइ बिगार्न बोलाइस् भनेर मुडो हातले पिट्नुभयो । उहाँले तिमीहरू दुईटालाई कस्तो गराउँछु भन्नुभयो र पछि छोराको घरमा गई घरमा चोर पसो भनी कराउनुभयो भन्नेसमेत बेहोराको जाहेरवाली परिवर्तित नाम ४५(११) ले सुरू अदालतमा गरेको बकपत्र ।

घटनाको बारेमा पीडितले भनेपछि थाहा भएको हो । मिति २०७३।१०।१० मा भएको कागजको सहीछाप बेहोरा मेरो हो भन्नेसमेतको घटना विवरण कागज गर्ने दिलबहादुर कार्कीको बकपत्र । 

घरको पिँढीमा नभई घरभित्रको ओछ्यानमा जबरजस्ती पल्टाई करणी गर्दै गर्दा आमाले गुहार मागी कराएकी र बाबा बाहिरबाट के भयो भनी आउँदा निज प्रतिवादी घरबाट भागी गएको रहेछ । त्यसभन्दा पहिले गोठमा सेउलामा सुताई जबरजस्ती करणी गरेको रहेछ । यही पीडाले आमाले आत्महत्या गर्न लाग्दा राममाया फगामीले बचाउनु भएको रहेछ भन्नेसमेतको घटना विवरण कागज गर्ने टिकाकुमारीले गरेको 

बकपत्र ।

धनबहादुर अर्गेजाले मेरी श्रीमतीलाई जबरजस्ती करणी गरेको मैले देखेको हुँ । जबरजस्ती करणी गर्‍यो भनी श्रीमतीले पनि भनेकी हुन् भन्नेसमेतको घटना विवरण कागज गर्ने परिवर्तित नाम ४५(६) ले सुरू अदालतमा गरेको बकपत्र ।

पीडित घरको पालीमा रसीको पासो लगाइ झुण्डिन लागेको अवस्थामा मैले देखी पासो फुकाई किन यसरी झुण्डिनु भएको भनी सोध्दा मलाई धनबहादुर अर्गेजाले बलात्कार गरेकोले बाँचेर के अर्थ भन्नु भएको थियो भन्नेसमेतको घटना विवरण कागज गर्ने राममाया फगामीले सुरू अदालतमा गरेको बकपत्र । 

मिति २०७३।१०।२९ मा प्रतिवादीलाई बुर्तिबाङ ल्याएपछि मात्र यो घटना थाहा पाएका हौं । २०६४ सालमा भएको राजनीतिक कारणले धनबहादुर अर्गेजासँग भएको रिसइवीको कारण जाहेरी परेको 

हो । म वडा समितिको संयोजक हुँ । उक्त वडाका साना ठुला मुद्दा समितिमा मिलाउँछौ । २६ गतेको घटना २९ गते थाहा भएको हुँदा यो कुरालाई निराधार भनेको हो भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी चन्द्रबहादुर शेरपुन्जाले सुरू अदालतमा गरेको बकपत्र ।

जबरजस्ती करणी भयो भनी भनिएकोमा मैले त्यस्तो हारगुहार भएको केही थाहा पाइनँ । यस्तो वृद्ध मानिसले जबरजस्ती करणी गरेको जस्तो मलाई लाग्दैन । अभियोग मागदाबी झुट्टा हो भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी थमबहादुर कार्कीले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०७३।०९।२६ को राति ८:०० बजेको समयतिर धनबहादुरको घरमा बसी  पानी पिएर गएको हुँ । धनबहादुर आफ्नै घरमा खाना खाइरहेका थिए । सो समयमा मैले जाहेरवालीलाई देखिनँ । वृद्ध मानिसले जबरजस्ती करणी गरेका होइनन् । राजनीतिक कारण मुद्दा परेको हो भनी प्रतिवादीका साक्षी गोकूलप्रसाद अर्गेजा, दुर्गादेवी घर्ती र पूर्णमाया बुढाले सुरू अदालतमा गरेको एकै मिलानको बकपत्र ।

प्रतिवादी धनबहादुरले जाहेरवालीलाई जबरजस्ती करणी गरेका हुन् । सो कुरा निजको विगतको बानी बेहोराले पुष्टि गर्दछ । यो कुरा मैले सुनेको हुँ भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने गोरखबहादुर राना र जुना बुढामगरले सुरू अदालतमा गरेको बकपत्र । 

जबरजस्ती करणी कहिले भयो थाहा 

भएन । मिति २०७३।१०।२९ मा पीडितले भनेपछि मात्र थाहा भएको हो । धनबहादुर अर्गेजाको भतिजको गर्भ राममायाले बोकेको साँचो हो । उक्त गर्भको विषयमा धनबहादुर अर्गेजासँग विवाद भएको थियो भन्नेसमेतको घटना विवरण कागज गर्ने तिलबहादुर कार्कीले सुरू अदालतमा गरेको बकपत्र । 

पीडितले वारदातको समयमा लगाएको लुङ्गीमा वीर्य नपाइएको भन्ने केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन मिसिल संलग्न रहेको । 

पीडितको शरीर तथा यौनाङ्गमा घाउचोट नदेखिएको तथा करणीका चिह्नहरू नपाइएको भन्ने पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, वारदातको समयमा पीडितले लगाएको भनिएको लुङ्गीमा वीर्य नपाइएको भन्ने केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको प्रतिवेदन, पीडितको जाहेरी र सुरू अदालतको बकपत्रमा विरोधाभाष देखिएको अवस्था, घटना विवरण कागज गर्ने राममाया फगामीसँग प्रतिवादीको पुरानो विवाद रहेको अवस्था, अर्काको लोग्नेलाई बोलाएको भनेर श्रीमान्‌ले कुटेको भनी पीडितले बकपत्र गरेको अवस्था र कसुरमा इन्कार रही प्रतिवादी धनबहादुर अर्गेजाले सुरू अदालतमा गरेको बयान, निज प्रतिवादीका साक्षीको बकपत्रबाट पुष्टि भएको अवस्थासमेतका आधार प्रमाणबाट प्रतिवादी धनबहादुर अर्गेजाले निज पीडितलाई जबरजस्ती करणी गरेको भन्ने नदेखिँदा निज प्रतिवादीले अभियोग दाबीको कसुरबाट सफाइ पाउने र निज प्रतिवादीलाई जबरजस्ती करणीको कसुरमा सजाय गरी पीडितलाई क्षतिपूर्ति दिलाइपाउँ भन्नेसमेतको वादी नेपाल सरकारको अभियोग दाबी पुग्न नसक्ने ठहर्छ भन्ने सुरू बागलुङ जिल्ला अदालतको मिति २०७४।३।२६।२ मा भएको फैसला । 

प्रतिवादीउपर जबरजस्ती करणी गरेको भन्ने पीडितको किटानी जाहेरी परेको‚ उक्त जाहेरीमा अनुसन्धान हुँदा बयानको क्रममा प्रतिवादीले पहिला पीडितको लोग्नेलाई कहाँ गए भनी सोधेका‚ पीडितले खेतमा काम गर्न गएको भनी बताएपछि कान्छी यता आउ भनी हातमा समाती‚ गोठमा लगी गाला मुख चुसी‚ शरीरका विभिन्न भाग मसारी‚ के गरेको भन्दा मुख थुनी गोठको स्याउला पातमा पल्टाई‚ धाक, धम्की दिई बोल्न कराउन नदिई‚ लुङ्गी माथि सारी आफ्नो पाइण्ट खोली उत्तेजित लिङ्ग निजको योनिमा छिराई‚ जबरजस्ती करणी गरेको र पछि घरमा पुगी फेरि करणी गर्न लाग्दा निज कराई निजको लोग्ने आएपछि छाडी भागी गएको हुँ भनी कागज र बकपत्रमा खुलाई सनाखतसमेत गरेको तथ्य प्रमाण मिसिल संलग्न हुँदाहुँदै प्रतिवादीले कसुरको गम्भीरता बुझी कसुरबाट उन्मुक्ति पाउने नियतले कसुर गरेको होइन, पीडितको घरमा गएकै होइन भनी तथ्यहीन बयान गरेका र निजका साक्षीले प्रतिवादीलाई सफाइ दिलाउने नियतले तथ्यहीन बकपत्र गरेकै आधारमा त्यस्ता तथ्यहीन काल्पनिक कथालाई आधार लिई प्रतिवादी धनबहादुर अर्गेजाको बयान र प्रतिवादी धनबहादुर अर्गेजालाई सफाइ दिने नियतले राखिएका साक्षीको बकपत्रलाई आधार बनाई गरेको उक्त फैसला प्रचलित उक्त नजिरको विरूद्धमा समेत भएको हुँदा सुरू बागलुङ जिल्ला अदालतबाट भएको फैसला बदर गरी अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने उच्च अदालत पोखरा, बागलुङ इजलासमा परेको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।

सुरू बागलुङ जिल्ला अदालतको मिति २०७४।३।२६।२ को फैसला प्रमाण मूल्याङ्कनको रोहमा विचारणीय देखिँदा अ.बं. २०२ नं. तथा उच्च अदालत नियमावली‚ २०७३ को नियम ११२ बमोजिम प्रत्यर्थी झिकाइ आए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने उच्च अदालत पोखरा, बागलुङ इजलासको मिति २०७४।९।३०।१ को आदेश ।  

जबरजस्ती करणी मुद्दामा पीडितले नै आफूलाई पीडक धनबहादुर अर्गेजाले जबरजस्ती करणी गरेको भन्ने मौकाको किटानी जाहेरी दरखास्तलाई पुष्टि हुने गरी जाहेरवालाले गरेको बकपत्र‚ प्रत्यक्षदर्शी रहेका पीडितको श्रीमान्‌ले नै आफ्नो पत्नीलाई प्रतिवादीले आफ्नै घरमा जबरजस्ती करणी रहेको देखी के भएको भनी भन्दा प्रतिवादी त्यहाँबाट भागी गएको भनी मौका एवं अदालतमा गरेको बकपत्रसमेतका मिसिल संलग्न प्रमाणबाट प्रतिवादीउपरको आरोप पुष्टि भइरहेको अवस्थामा पीडितको शरीर तथा यौनाङ्गमा घाउचोट नदेखिएको‚ करणीका चिह्नहरू नभएको‚ वारदातमा लगाएको लुङ्गीमा वीर्य नपाइएको भनी सुरू अदालतबाट प्रतिवादीलाई सफाइ दिने गरी भएको फैसला मिलेको देखिँदैन । पीडितले जबरजस्ती करणीको वारदातको सम्बन्धमा सिलसिलाबद्धरूपमा भन्न नसकेको कारणले मात्र निजको भनाइमा असङ्गति रहेको भनी जबरजस्ती करणीको वारदात नभएको भन्न 

मिल्दैन । प्रस्तुत मुद्दामा प्रतिवादीको जबरजस्ती करणी गर्ने मनसाय रहेको‚ सोबमोजिम कार्य पनि गरेको‚ सो कार्य गर्न पीडितले अनिच्छा देखाएको भन्ने कुरासमेत मिसिल संलग्न प्रमाण कागजबाट देखिन आएकोले प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिने गरी भएको सुरू बागलुङ जिल्ला अदालतबाट मिति २०७४।३।२६ मा भएको फैसला उल्टी भई प्रतिवादी धनबहादुर अर्गेजालाई अभियोग दाबीबमोजिम ५ वर्ष कैद र क्षतिपूर्तिबापत रू.५०‚०००।– प्रतिवादीबाट पीडितले भराई लिन पाउने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत पोखरा, बागलुङ इजलासबाट मिति २०७४।१२।२६ मा भएको फैसला ।

म वृद्ध अवस्थाको व्यक्तिले गर्दै नगरेको कसुरमा जाहेरवालीसमेतले पुरानो रिसइवीको बदला लिन जबरजस्ती करणी जस्तो गम्भीर आरोप लगाएको छ । मिसिलबाट स्थापित तथ्यलाई अभियोग पत्रमा फरक तथ्य घटना स्थापित गराउन खोजेको छ । म प्रतिवादीको इन्कारी बयान विधिविज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन, जाहेरवालीको स्वस्थ्य परीक्षण प्रतिवेदन र विशेषज्ञको रायले पुष्टि गरेको छ । मेरा साक्षीहरूको सुनी जानेको होइन देखी जानेको कुरा भएकोले निजहरूको बकपत्रलाई प्रमाणमा ग्रहण गरिनुपर्दछ । स्वतन्त्र भरपर्दो प्रमाणबाट पुष्टि हुन नसकेको जाहेरी र जाहेरवालाको बकपत्रलाई प्रमाणमा लिई फैसलाको आधार मान्न 

मिल्दैन । सुनी जान्ने राममाया फगामी र टिकामाया फगामीको विरोधाभाष कथन र बकपत्रको आधारमा मलाई जबरजस्ती करणी जस्तो गम्भीर फौजदारी आरोपमा सजाय गर्ने गरी भएको उच्च अदालत पोखरा बागलुङ इजलासको फैसला प्रमाण कानून प्रतिकूल छ । जाहेरवालीले अदालतमा बकपत्र गर्दा कुनै चोटपटक लागेको लुगाफाटो च्यातिएको थिएन भनेकी छन् । धौलागिरी अञ्चल अस्पताल बागलुङको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट पनि प्रतिकारको सामान्य चिह्न जस्तो कि कोतरिएको घाउचोट कपडा च्यातिएको अवस्था, योनाङ्गमा देखिने सङ्घर्षका चिह्न आदि रहे भएको नदेखिएकाले ४५(११) उपर जबरजस्ती करणी भएको अवस्था देखिँदैन । जाहेरवालीले मेरो श्रीमान्‌ले अर्काको पोई बिगार्न बोलाइस् भनेर भनी मुरो हातले पिटेको, तिमी दुईटालाई कस्तो गराउँछु भनेको भनी उल्लेख गरेकी, जाहेरवाली ४५(११) उपर जबरजस्ती करणी भएको निजका श्रीमान्‌ ४५(६) ले देखेको भए उल्टै ४५(११) लाई कुटपिट गर्नुपर्ने अवस्था नहुने भएबाट पनि मउपरको पोल झुट्टा देखिएको छ । वादीको साक्षी तिलकबहादुर कार्कीले गरेको बकपत्रबाट पनि राममाया र मेराबिच विवाद रहेको देखिएको र मेरो भतिजसँग गर्भको बारेमा विवाद गरी मसँग इवी राख्ने राममायासमेतले ४५(११) लाई समेत उचाली मउपर झुट्टा दोषारोपण गरेकी हुन् भन्नेमा शङ्का छैन । जाहेरवालीबाट जानकारी पाएको भन्ने घटना विवरण कागज गर्नेहरूको झुट्टा कुराबाहेक कुनै स्वतन्त्र प्रमाणबाट वारदातको पुष्टि भएको 

देखिँदैन । ६५ वर्ष पुगेकी वृद्ध महिलाले जिन्दगीभर कलंक लाग्ने र दरसन्तानसम्म असर पुग्ने गरी प्रतिवादीउपर आरोप लगाउनुपर्ने कारण नभएको भन्ने तर्क अभियोग पत्र र जाहेरवालीको नभई फैसलामा मात्र उल्लेख भएको मिसिलबाट देखिएको लगायतका मिसिल संलग्न प्रमाणहरूबाट मैले जाहेरवालीलाई जबरजस्ती करणी गरेको होइन भन्ने तथ्य निर्विवाद रूपमा पुष्टि हुन आएको र प्रस्तुत घटना वारदात झुठ्ठा हो भन्ने देखिएको अवस्थामा प्रमाणको मूल्याङ्कन नै नगरी मलाई आरोपित कसुरबाट सफाइ दिने गरी भएको सुरू फैसला बदर गरी मलाई अभियोग दाबीबमोजिम सजाय गर्ने गरी उच्च अदालत पोखरा, बागलुङबाट आत्मगत ढङ्गबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी आरोपित कसुरबाट सफाइ दिलाइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी धनवहादुर अर्गेजाको यस अदालतमा परेको पुनरावेदन ।

यसमा जाहेरी दरखास्त तथा पीडितले अदालतमा गरेको बकपत्रको बेहोरा मिलेको नदेखिएको, वारदात भएको भनिएको मिति २०७३।९।२६ मा निज पुनरावेदक प्रतिवादी ७३ वर्षको देखिएको र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ को उपदफा (१) को देहाय (ख) बमोजिम सजायको सुविधाबारे विवेचना हुनुपर्ने देखिएकोले उच्च अदालत पोखरा, बागलुङ इजलासको मिति २०७४।१२।२६ मा भएको फैसला विचारणीय देखिँदा प्रमाण ऐन, २०३१ को दफा ३, ५४ समेतका आधारमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४० उपदफा (३) को प्रयोजनार्थ प्रत्यर्थी वादी नेपाल सरकारलाई सूचना दिई नियमानुसार गरी पेस गर्नुहोला भन्ने मिति २०७८।९।६ मा यस अदालतबाट भएको आदेश ।

ठहर खण्ड

नियमबमोजिम साप्ताहिक तथा दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनसहित सक्कल मिसिल अध्ययन गरी प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री राघवलाल वैद्यले पीडित भनिएकी जाहेरवालीले प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको भनेकी तर जबरजस्ती करणी गर्दा शरीरको कुनै पनि भागमा सङ्घर्षका चिह्न नभएको, जाहेरवालीले लगाएको लुङ्गीलगायतको कपडामा परीक्षण गर्दा पुरूष वीर्य नदेखिएको, बन्दुक देखाई धाक, धम्की दिएको भनिएकोमा बन्दुक बरामद हुन नसकेको, घरभन्दा टाढा रहेको गोठमा पहिलो पटक जबरजस्ती करणी गरेको र उम्केर भागी घर आएको भनिएकोमा त्यसरी भागी उम्की आउँदा कोही कसैलाई गुहार मागेको, चिच्याएको वा कराएको नदेखिएको, जाहेरवालीले घटनाको बारेमा जाहेरीमा लेखिएको बेहोरा र बकपत्र गर्दा फरक परेको, घटनाको प्रत्यक्षदर्शी भनिएका जाहेरवालीका श्रीमान् र जाहेरवालीको भनाइमा तादम्यता नरहेको र उक्त घटना पुष्टि हुने प्रमाण वादी पक्षबाट पेस हुन नसकेको अवस्थामा प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिनुपर्नेमा उल्टै प्रतिवादीले आरोपित कसुरबाट सफाइ पाएको सुरू फैसला उल्टी गरी प्रतिवादीलाई अभियोग दाबीअनुसार सजाय गरेको उच्च अदालत पोखरा, बागलुङ इजलासको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीलाई सफाइ दिनुपर्छ भनी गर्नुभएको बहस तथा वादी नेपाल सरकारको तर्फबाट विद्वान् उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइँटेलले प्रतिवादीले जबरजस्ती करणी गरेको भनी पीडितको समयमै जाहेरी परी सो जाहेरीलाई समर्थन हुने गरी अदालतमा बकपत्रसमेत गरिदिएको, जाहेरी बेहोरालाई पुष्टि हुने गरी घटनाको प्रत्यक्षदर्शी जाहेरवालीका श्रीमान् परिवर्तित नाम ४५(६) को भनाइलगायतबाट यी प्रतिवादीले जहेरवालीलाई जबरजस्ती करणी गरेको पुष्टि भइरहेको छ । बन्दुक देखाई धम्क्याई जबरजस्ती करणी गरेको अवस्थामा प्रतिकार नहुन सक्छ, घटनाको लामो समयपछि भएको पीडितको स्वास्थ्य परीक्षणबाट करणी भएको चिह्न तथा वीर्य नदेखिनु स्वाभाविक नै हुने भएकोले त्यसै आधारबाट मात्र प्रतिवादीले कसुरबाट सफाइ पाउन सक्दैन । उच्च अदालत पोखरा, बागलुङ इजलासबाट भएको फैसला मिलेकै देखिँदा सदर हुनुपर्दछ भनी गर्नु भएको बहस जिकिर सुनियो ।

यसमा मिसिल अध्ययन गरी हेर्दा, प्रतिवादी धनबहादुर अर्गेजाले जाहेरवाली परिवर्तित नाम ४५(११) लाई धाक, धम्की दिई जबरजस्ती करणी गरेकोले निजलाई मुलुकी ऐन, जबरजस्ती करणी महलको ३(५)क नं.बमोजिम सजाय गरी सोही महलको १० नं. र १०ग नं.बमोजिम प्रतिवादीबाट पीडितलाई उचित क्षतिपूर्ति दिलाई भराइपाउँ भन्ने अभियोग दाबी रहेकोमा प्रतिवादी धनबहादुर अर्गेजाले अधिकार प्राप्त अधिकारीसमक्ष बयान गर्दा कसुर स्वीकार गरे तापनि अदालतमा बयान गर्दा कसुरमा इन्कार रही बयान गरेकोमा सुरू बागलुङ जिल्ला अदालतबाट प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउने ठहर्‍याई मिति २०७४।३।२६ मा भएको फैसलाउपर वादी नेपाल सरकारको पुनरावेदन पर्दा सुरू फैसला उल्टी गरी प्रतिवादी धनबहादुर अर्गेजालाई अभियोग दाबीबमोजिम ५ वर्ष कैद र रू.५०,०००।- क्षतिपूर्ति प्रतिवादीबाट पीडितलाई भराइदिने गरी मिति २०७४।१२।२६ मा उच्च अदालत पोखरा, बागलुङ इजलासबाट भएको फैसलाउपर प्रतिवादीको पुनरावेदन परी प्रस्तुत मुद्दा पेस हुन आएको देखिन्छ ।

पुनरावेदक प्रतिवादीले पुनरावेदन गर्दा म ७३ वर्षको वृद्ध व्यक्तिले छोटो समयमा दुईपटक करणी गरेको झुट्टा र अपत्यारिलो जाहेरीका आधारमा सजाय गरेको मिलेन । जाहेरवालीले अदालतमा बकपत्र गर्दा घटना वारदातका बारेमा जाहेरीको बेहोराभन्दा फरक बेहोरा लेखाएको, घटनाको प्रत्यक्षदर्शी भनिएको जाहेरवालीको श्रीमान्‌ले पनि घटनाको बारेमा यी जाहेरवालीको भनाइभन्दा फरक भनाइ लेखाएको कारण घटना वारदात झुट्टा एवं काल्पनिक भएको पुष्टि भएको छ । जाहेरवालीले लगाएको लुगा परीक्षणको लागि पठाउँदा वीर्य नदेखिएको, जाहेरवालीको योनिमा पनि वीर्य नदेखिएको, निजको शरीरमा जबरजस्ती करणीको कुनै चिह्न नदेखिएको भन्ने परीक्षण रिपोर्टबाट देखिएबाट पनि घटना काल्पनिक हो भन्ने पुष्टि भएको छ । जबरजस्ती करणी गरेको भन्ने यी जाहेरवालीले घरभन्दा टाढा रहेको गोठमा करणी गरेको र उम्की भागी घर आएको भनेकी तर बाटोमा कसैसँग गुहार मागेको चिच्याएको, कराएको भन्ने नदेखिएकोलगायतका प्रमाणहरूबाट जाहेरी झुट्टा भएको अवस्थामा सो तथ्यको विवेचना र मूल्याङ्कन नै नगरी मनोगत ढङ्गबाट अभियोग दाबीबाट सफाइ दिने गरेको सुरू फैसला उल्टी गरी मलाई कसुरदार ठहर्‍याई सजाय गरेको फैसला मिलेको छैन भन्नेसमेत बेहोराको पुनरावेदन जिकिर रहेको देखियो ।

उपर्युक्त तथ्य एवं बेहोरा भएको प्रस्तुत मुद्दामा सुरू फैसला उल्टी गरी प्रतिवादीलाई अभियोग दाबीअनुसार सजायसमेत गरेको उच्च अदालत पोखरा, बागलुङ इजलासको फैसला मिलेको छ वा छैन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने विषयमा निर्णय दिनुपर्ने हुन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, जाहेरवाली परिवर्तित नाम ४५(११) ले मिति २०७३।९।२६ गते बेलुका २०:०० बजेको समयमा आफू घरमा बसिरहेको समयमा प्रतिवादी धनबहादुर आई मेरो हात समाती यता आइजा भनी केही पर रहेको गोठमा लगी मेरो गाला तथा शरीरको अन्य भागमा मुसारी मुख थुनी लुङ्गी माथि सारी आफ्नो उत्तेजित लिङ्ग मेरो योनिमा छिराई वीर्यसमेत योनिभित्रै स्खलन गरेको र आफू निजको पञ्जाबाट भागी घरमा आई बसेको अवस्थामा निज प्रतिवादी पुनः घरमा आई मलाई समाती पल्टाई मेरो माथि चढिरहेको अवस्थामा म चिच्याउँदा मेरो श्रीमान्‌ले सुनी उक्त स्थानमा आउँदा प्रतिवादी भागी गएको भन्ने मिति २०७३।१०।३ मा परेको जाहेरीका आधारमा प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । जाहेरवाली परिवर्तित नाम ४५(११) ले अदालतमा आई बकपत्र गर्दा पहिला मलाई आइजा कान्छी भनी गोठमा लगी कसैलाई नभन्नु भनी बन्दुक पनि समाती केही हुँदैन भनी करणी गरेको र पछि मेरो घरमा आई सुत्ने बिस्तारामा करणी गरेको हो । सो समयमा श्रीमान् घरमा आई बसेका रहेछन्, मलाई बोलाउँदा नसुनेपछि खोज्दा यी प्रतिवादीले करणी गरिरहेको देखेपछि म हुँदाहुँदै अर्काको लोग्नेलाई बिगार्न बोलाइस् भनी कुटपिट गरेको र प्रतिवादी भागी गएका हुन् भन्नेसमेत बेहोरा उल्लेख गरेको देखिन्छ । जाहेरवालीले मौकामा जाहेरी दिँदा घटना वारदातका सम्बन्धमा लेखाएको बेहोरा अदालतमा आई बकपत्र गर्दा लेखाएको बेहोरा एकआपसमा फरक परेको देखिन्छ । व्यक्तिले कुनै घटनाका बारेमा लामो समयपछि व्यक्त गर्दा पहिलेको बेहोरासँग सामान्य फरक पर्नु सामान्य भए पनि घटनाको प्रकृति र मुद्दाको स्वरूपमा नै बदलाव आउने गरी जाहेरीमा प्रतिवादीले बन्दुक बोकेको सम्बन्धमा उल्लेख नगरेको अवस्थामा बकपत्रमा प्रतिवादीले बन्दुकसमेत साथमा लिएको भनी उल्लेख गरेको कुरालाई सामान्य मान्न मिल्दैन । यसबाट घटनाको प्रकृति र प्रतिवादीलाई लाग्न सक्ने कसुरमा समेत भिन्नता आउने गरी भएको बकपत्रमा सामान्य फरक परेको मात्र भन्न मिल्दैन । त्यसैले मौकाको जाहेरी बेहोरा र जाहेरवालीको अदालतको बकपत्रमा तात्त्विक फरक परी विरोधाभाषपूर्ण रहेको देखिन्छ । यसरी, अनुसन्धानका क्रममा सङ्कलित प्रमाणहरू न्यायिक परीक्षणका क्रममा समर्थित नभई परस्पर विरोधाभाषपूर्ण रहेको देखिएमा त्यस्ता प्रमाणहरूका आधारमा कसैलाई कसुरदार ठहर गर्न मिल्दैन । यसै सम्बन्धमा पुनरावेदक सन्तोष तामाङ विरूद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान (२०७९ साल, अङ्क २, नि.नं.१०८१६) मुद्दामा यस अदालतबाट नजिरसमेत प्रतिपादित भएको सन्दर्भमा पीडित भनिएकी जाहेरवालीको उक्त विरोधाभाषपूर्ण भनाइलाई मात्र एकतर्फी प्रमाण ग्रहण गर्न मनासिब देखिएन ।

३. जाहेरवाली परिवर्तित नाम ४५(११) ले प्रतिवादी धनबहादुर अर्गेजाले आफूलाई यता आउ कान्छी भन्दै हातमा समाती केही टाढा रहेको गोठमा लगी करणी गरेको र भागी उम्की घर आएर बसेको अवस्थामा समेत जबरजस्ती करणी गर्न खोजेको भन्ने उल्लेख गरेको छ । त्यसरी रातको समयमा परपुरूष आई हात समाती गोठमा लग्दा र जबरजस्ती करणी गर्दा कुनै प्रतिकार गरेको भन्ने पनि निज जाहेरवालीले खुलाउन सकेको छैन । प्रतिवादीले जबरजस्ती करणी गरिसकेपछि निजको पञ्जाबाट मुक्त भई घर आउँदासम्म निज जाहेरवालीले कसैसँग हारगुहार गरेको, कराएको वा सो प्रतिकार गर्ने कुनै काम गरेको नदेखिएबाट पनि जबरजस्ती करणीको वारदात घटेको भन्ने तथ्य नै विरोधाभाषपूर्ण रहेको देखिन आउँछ । निज जाहेरवालीले प्रतिवादीले घरको ओछ्यानमा आफूलाई जबरजस्ती करणी गरिरहेको अवस्थामा श्रीमान्‌ले देखी प्रतिवादी भागी गएको र म हुँदाहुँदै अर्काको लोग्नेलाई बोलाई बिगारिस् भनी आफूलाई श्रीमान्‌ले कुटपिट गरेको भनी बकपत्र गरेबाट पनि यदि यी जाहरेवालीलाई प्रतिवादीले करणी गरेकै भए पनि जबरजस्तीका रीतले करणी गरेको हो भन्ने तथ्य पुष्टि हुन सकेको देखिँदैन ।

४. जाहेरवालीका श्रीमान् परिवर्तित नाम ४५(६) ले मौकामा कागज गर्दा तथा अदालतमा बकपत्र गर्दा मेरी श्रीमतीलाई धनबहादुर अर्गेजाले जबरजस्ती करणी गरेको हो । जाहेरवालीको माथि निज प्रतिवादी चढेको मैले देखेपछि निज प्रतिवादी भागेको हो । सो सम्बन्धमा जाहेरवालीलाई सोध्दा पहिलो पटक गोठमा जबरजस्ती करणी गरी अहिले यहाँ पनि यस्तो गरेको हो भनेकी हुन् भनी लेखाएकोमा पीडित भनिएकी जाहेरवालीकै भनाइ नै एकआपसमा बाझिई विरोधाभाषपूर्ण देखिएको अवस्थामा निज जाहेरवालीले भनी घटनाको बारेमा थाहा पाउने अन्य व्यक्तिहरूको भनाइको घटना वारदात स्थापित गर्ने कुनै महत्त्वपूर्ण भूमिका रहने स्थिति देखिँदैन । श्रीमतीलाई यी प्रतिवादीले जबरजस्ती करणी गरिरहेको देखेपछि र जाहेरवालीले सम्पूर्ण बेहोरा भनेपछि सोको प्रतिवाद यी परिवर्तित नाम ४५(६) ले पनि गर्नुपर्नेमा सो केही गरेको भन्ने मिसिलबाट देखिँदैन । पुष २६ गते घटना वारदात भई तत्कालै श्रीमान्‌समेतले थाहा पाइसकेपछि सोको सूचना तथा उजुर गरी अपराधको प्रमाण सङ्कलन गर्न सहयोग गर्नुपर्नेमा पुस २६ गते भएको घटनाका बारेमा माघ ३ गते मात्र जाहेरी दिएको देखिन्छ । त्यस्तो जाहेरी गर्न प्रतिवादी तथा अन्य कुनै पक्षबाट बाधा अवरोध भएको भन्ने युक्ता युक्त कारणसमेत खुलाउन नसकेको अवस्थामा त्यस्तो जाहेरी दरखास्तलाई स्वाभाविक मान्न सकिँदैन । बिलम्ब गरी जाहेरी परे पनि मिसिल संलग्न अन्य स्वतन्त्र प्रमाणहरूबाट जाहेरी बेहोरालाई पुष्टि नभएको अवस्थामा सोही आधारमा मात्र कसुर स्थापित हुन सक्दैन भन्ने निष्कर्षमा पुग्न हुँदैन । तर मिसिल संलग्न प्रमाणहरूबाट कसुर पुष्टि हुन नसक्ने देखिएको अवस्थामा यसरी बिलम्ब गरी आएको विरोधाभाषपूर्ण जाहेरी तथा पीडितको भनाइलाई अकाट्य प्रमाणको रूपमा ग्रहण गर्न मिल्दैन । श्रीमतीउपर जबरजस्ती करणी गरेको देख्ने जाहेरवालीका श्रीमान्‌ले आवश्यक प्रतिकार तथा गुहार मागी समयमै घटनाको जाहेरी नदिएबाट पनि घटना वारदातको विश्वसनीयतामा शङ्का संशय पैदा हुन पुगेको देखिन्छ । मुद्दामा तोकिएको हदम्यादभित्र जाहेरी दिन सक्ने कुरालाई नकार्न नसकिए पनि घटनाको बारेमा जतिसक्दो छिटो जाहेरी तथा सूचना दिएको खण्डमा मात्र घटनाको वास्तविकतासम्म पुग्न सकिने हुँदा यसतर्फ जाहेरवाला तथा वादी पक्ष सजग हुनु त्यति नै महत्त्वपूर्ण हुन जान्छ । प्रतिवादी र पीडित पनि एकै समाजको छिमेकी भएका कारण समाजमा तथा छिमेकीमा हुने व्यवहार तथा सम्बन्धहरूले पनि यस्ता घटना प्रभावित हुने र त्यस्ता कुराले घटनाको स्वरूप नै परिवर्तन हुनेतर्फ पनि अदालतले ध्यान दिनुपर्ने हुन्छ ।

५. जाहेरवाली परिवर्तित नाम ४५(११) ले प्रतिवादीले जबरजस्ती करणी गर्दा वीर्य लागेको लुङ्गीसमेत जाहेरीसाथ पेस गरेको र सो लुङ्गी परीक्षणको लागि पठाउँदा सोमा वीर्य नभेटिएको भन्ने परीक्षण प्रतिवेदनबाट देखिएको र जाहेरवालीको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट पनि निजको शरीर तथा यौनाङ्गमा कुनै घाउचोट निलडामलगायतका कुनै पनि चिह्न नदेखिई सामान्य अवस्था देखिएको छ । यस्तो अवस्थामा जाहेरवालीको जाहेरी बेहोरा र बकपत्र बेहोरा पीडित भनिएकी जाहेरवालीको स्वास्थ्य परीक्षण प्रतिवेदन, निजले लगाएको वीर्य लागेको भनिएको लुङ्गीको परीक्षण प्रतिवेदनलगायतका मिसिल संलग्न कागज प्रमाणहरूबाट समर्थित हुन सकेको देखिँदैन । एकातर्फ जाहेरवालीको जाहेरी बेहोरा र बकपत्र बेहोरा बिच तादम्यता रहेको देखिँदैन भने अर्कोतिर भौतिक परीक्षणबाट आएको रिपोर्टले पनि जाहेरवालीको कथनलाई समर्थन गरेको नदेखिँदा यस्तो अवस्थामा जाहेरवालीको भनाइलाई मात्र प्रमाण मानी कसुर कायम गर्दा न्याय पर्न नसक्ने अवस्था सिर्जना हुन जान्छ । जबरजस्ती करणी मुद्दामा पीडित भनिएकी जाहेरवालीको कथन सर्वोत्तम प्रमाण हुने भए पनि त्यस्तो कथन मिसिल संलग्न अन्य स्वतन्त्र प्रमाणहरूबाट समेत समर्थित 

हुनुपर्दछ । साथै, जाहेरवालीको मौकाको र अदालतमा व्यक्त गरेको भनाइमा समेत एकरूपता भई विश्वसनीय हुनुपर्दछ । जबरजस्ती करणीको वारदातका सम्बन्धमा नै फरक परी विरोधाभाषपूर्ण भई शङ्कास्पद देखिएको जाहेरवालीको भनाइलाई अकाट्य प्रमाणको रूपमा लिन मिल्दैन । सोही आधारमा मात्र जबरजस्ती करणी जस्तो गम्भीर फौजदारी कसुरमा कसैलाई दोषी करार गर्न मिल्ने देखिएन । यसै सम्बन्धमा वादी नेपाल सरकार विरूद्ध गोपाल राना भएको जबरजस्ती करणी (२०७६ साल अङ्क-१, नि.नं. १०१७२) मुद्दामा प्रतिपादित भएको सिद्धान्तको सन्दर्भमा पनि पीडित भनिएकी यी जाहेरवालीको उक्त भनाइलाई यान्त्रिक रूपमा प्रमाणमा ग्रहण गर्न मिल्ने 

देखिएन । उच्च अदालत पोखरा, बागलुङ इजलासबाट सुरू फैसला उल्टी गरी यी प्रतिवादीलाई अभियोग दाबीबमोजिम कसुर कायम गरी सजाय गर्दा उल्लिखित कुरामा ध्यान पुर्‍याउन सकेको देखिएन । तसर्थ, उक्त फैसला कायम रहन सक्ने स्थिति पनि रहेन ।

६. यसप्रकार, प्रतिवादी अदालतमा बयान गर्दा आरोपित कसुरमा इन्कार रहेको परिप्रेक्ष्यमा पीडित भनिएकी जाहेरवाली परिवर्तित नाम ४५(११) को भनाइमा एकरूपता नदेखिएको, निजको शरीरमा तथा यौनाङ्गमा निलडाम तथा घाउचोटलगायत जबरजस्ती करणीको कुनै सङ्केत परीक्षण गर्दा नदेखिएको, जाहेरवालीले लगाएको लुङ्गी परीक्षण गर्दा वीर्य नभेटिएको भन्ने परीक्षण प्रतिवेदनसमेतका सबुत प्रमाणहरूबाट पनि अभियोग दाबी पुष्टि हुन सक्ने अवस्था नदेखिँदा अदालतमा बयान गर्दा कसुरमा इन्कार रहेको यी प्रतिवादी धनबहादुर अर्गेजालाई आरोपित कसुरबाट सफाइ दिने गरी भएको सुरू बागलुङ जिल्ला अदालतको फैसलालाई उल्टी गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गर्ने ठहर्‍याई उच्च अदालत पोखरा, बागलुङ इजलासबाट भएको फैसला न्यायको रोहमा उचित मान्न मिल्ने देखिन आएन ।

७. तसर्थ, माथि विवेचित आधार, कारण र प्रमाणहरूबाट प्रतिवादी धनबहादुर अर्गेजालाई अभियोग दाबीबाट सफाइ दिने गरी सुरू बागलुङ जिल्ला अदालतबाट मिति २०७४।३।२६ मा भएको फैसला उल्टी गरी अभियोग दाबीअनुसार सजाय गर्ने गरेको उच्च अदालत पोखरा, बागलुङ इजलासको मिति २०७४।१२।२६ को फैसला मिलेको नदेखिँदा उल्टी भई प्रतिवादी धनबहादुर अर्गेजाले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू ।

तपसिल खण्ड

माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी धनबहादुर अर्गेजाले अभियोग दाबीबाट सफाइ पाउने ठहरेकाले उच्च अदालत पोखरा, बागलुङ इजलासको फैसलाले निजका नाममा कायम रहेको कैद र क्षतिपूर्तिको लगत कट्टा गर्नु भनी लेखी पठाउनू ...................................................१

प्रतिवादीले सुरू बागलुङ जिल्ला अदालतमा र.नं. ०१७ मिति २०७३।१०।१९ मा राखेको धरौटी रू.५०,०००।– (पचास हजार) र प्रतिवादीले उच्च अदालत पोखरा, बागलुङ इजलासमार्फत पुनरावेदन गर्दा र.नं.००९ मिति २०७५।१।२० मा राखेको धरौटी रू.७,५००।- नियमानुसार फिर्ता दिनु भनी लेखी पठाउनू ...............................२

प्रस्तुत फैसलाको विद्युतीय प्रति यस अदालतको विद्युतीय प्रणालीमा प्रविष्ट गरी मुद्दाको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाई दिनू.........३

 

उक्त रायमा सहमत छु ।

न्या. प्रकाशमान सिंह राउत

 

इजलास अधिकृतः हेमराज शर्मा

इति संवत् २०७९ साल चैत्र २४ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु