शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११२५० - सरकारी छाप दस्तखत किर्ते

भाग: ६६ साल: २०८१ महिना: जेष्ठ अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल

फैसला मिति : २०७९।८।२९

 

मुद्दाः- सरकारी छाप दस्तखत किर्ते

 

०७२-CR-०१५२

पुनरावेदक / प्रतिवादी : जिल्ला अर्घाखाँची वाङला गा.वि.स. वडा नं. ८ बस्ने नेत्रप्रसाद अधिकारीको छोरा राजु अधिकारी

विरूद्ध

प्रत्यर्थी / वादी : राम प्रकाश बरईको जाहेरीले नेपाल सरकार

 

०७२-CR-०४५०

पुनरावेदक / वादी : राम प्रकाश बरईको जाहेरीले नेपाल सरकार 

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला कपिलवस्तु गा.वि.स. गोटीहवा वडा नं. २ बस्ने रमेश जयसवालको छोरा संजय जयसवालसमेत

 

०७२-CR-०६३६

पुनरावेदक / प्रतिवादी : कन्हैया कलवारको छोरा जिल्ला कपिलवस्तु रंगपुर गा.वि.स. वडा नं. ६ बस्ने अर्जुनप्रसाद कलवार 

विरूद्ध

प्रत्यर्थी / वादी : जिल्ला कपिलवस्तु महाराजगन्ज गा.वि.स. वडा नं. ७ बस्ने राम प्रकाश बरईको जाहेरीले नेपाल सरकार 

 

०७२-CR-०६३७

पुनरावेदक / प्रतिवादी : जिल्ला कपिलवस्तु गा.वि.स. विरपुर वडा नं. २ हाल शिवराज न.पा. वडा नं. ७ मौजा गौराभारी बस्ने घिसियावन कुर्मीको छोरा वर्ष ४२ को तौलेश्वरप्रसाद चौधरी (कुर्मी) समेत

विरूद्ध

प्रत्यर्थी / वादी : राम प्रकाश बरईको जाहेरीले नेपाल सरकार

 

सङ्गठित अपराधमा विभिन्न व्यक्तिहरू मिली योजनाबद्ध तरिकाले विभिन्न भूमिकाको साथ एकआपसमा सम्पर्क गरी विभिन्न तह हुँदै एक सिङ्गो अपराधलाई अन्जाम दिई आएको प्रतिफलको लाभ लिने अवस्था हुन्छ । भिन्न भिन्न भूमिकाको साथ एक जालो बनाई काम गर्ने हुँदा यस प्रकृतिका चोरी गरी बिक्री गर्ने सङ्गठित अपराधमा यो व्यक्तिले यो नै गरेको भनी यकिन गर्न गाह्रो हुने । 

प्रतिवादीहरू एक समूहमा काम गर्ने हुँदा यो किर्ते यसले गरेको, यो चोरी यसले गरेको भनी यकिन गर्न नसकिए पनि सबैको संलग्नतामा अपराध गरी आएको प्रतिफल बाँडफाँट गर्ने हुँदा यस प्रकारको अपराधमा सबै प्रतिवादीहरू समान कसुरको भागीदार हुने 

देखिन्छ । केवल विवादित मोटरसाइकल र नक्कली कागजात प्रतिवादीहरूको साथबाट बरामद नभएको र किटानी प्रमाण नभएको कारणले मात्र प्रतिवादीहरू निर्दोष हुन् भनी निष्कर्षमा पुग्नु न्यायोचित नदेखिने । 

(प्रकरण नं. ८)

मुलुकी ऐन, किर्ते कागजको महलको ७ नं. को कानूनी व्यवस्थालाई हेर्दा "सम्पत्तिका सम्बन्धमा किर्ते गरी लिई खाइसकेको भए बिगो भराई बिगोबमोजिम जरिवाना हुन्छ" भनी व्यवस्था रहेको देखिने । कानूनमा जनही वा दामासाही भनी स्पष्ट उल्लेख गरेको नदेखिने । बिगोभन्दा बढी जरिवाना हुनु कानूनी मनसाय हुन नसक्ने । यसरी कानूनमा बिगोको जनहीले जरिवाना हुन्छ भनी स्पष्ट व्यवस्था नगरेको अवस्थामा उक्त कानूनी प्रावधानलाई कठोर हिसाबले व्याख्या नगरी लचिलो तवरले व्याख्या गर्नु न्यायसङ्गत हुने र बिगोभन्दा बढी जरिवाना असुल गर्नुसमेत न्यायोचित 

नहुने ।

(प्रकरण नं. ९)

 

पुनरावेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री धुव्रमणी ज्ञवाली

वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सन्तोष राज कटुवाल

अवलम्बित नजिर : 

ने.का.प.२०७८, नि.नं. १०७२०, अङ्क ८  

ने.का.प.२०७७, नि.नं. १०४१७, अङ्क १ 

ने.का.प. २०६८, नि.नं. ८६३७, अङ्क ६ 

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

मा.न्यायाधीश श्री अच्युतप्रसाद भण्डारी

कपिलवस्तु जिल्ला अदालत 

पुनरावेदन तहमा फैसला गर्नेः

मा.न्या. श्री वीरबहादुर डाँगी

मा.न्या. श्री अब्दुल अजीज मुसलमान

पुनरावेदन अदालत बुटवल

 

फैसला

न्या. प्रकाशकुमार ढुङ्गाना : साबिक न्याय प्रशासन ऐन, २०४८ तथा हाल न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार रहेको छः-

तथ्यगत बेहोरा

मलाई मोटरसाइकलको आवश्यकता परेको र नयाँ किन्न नसकी संजय जयसवालसँग पुरानो मोटरसाइकल खोजिदिन भनेकोमा मिति २०६७ साल कार्तिक महिनामा निज संजय जयसवाल, गुड्डु धुनिया र तौलेश्वरप्रसाद चौधरीले लु. ५ प १८७३ नं. को हिरो होण्डा मोटरसाइकल सवारी दर्ता प्रमाणपत्रसहित ल्याई मोटरसाइकलको रू.१६,०००।– र बिलबुक को रू.७,०००।– गरी जम्मा रू.२३,०००।- मा बिक्री गरेका र सो मोटरसाइकलको बिलबुक नवीकरण गर्न जाँदा सो सवारी दर्ता प्रमाणपत्र नक्कली भएको थाहा भएकोले नक्कली सवारी दर्ता प्रमाणपत्र र मोटरसाइकल प्रमाण लगाई निजहरूउपर आवश्यक कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरवाला राम प्रकाश बरईको जाहेरी दरखास्त ।

इन्जिन नं. HA11EA99D29382 चेसिस नं. MBLHA11EE99D12158 लु. ५ प १८७३ नं को हिरोहोण्डा मोटरसाइकल कसको नाममा दर्ता छ, खुलाई पठाइदिनु हुन भनी यातायात व्यवस्था कार्यालय लुम्बिनी अञ्चल बुटवललाई लेखेको क्रम संख्या ४५५७ को प्रहरी सञ्चार ।

सरकारी छाप दस्तखतसमेतको नमूना उपलब्ध गराइदिनु हुन भनी यातायात व्यबस्था कार्यालय बुटवललाइ लेखेको पत्र ।

इन्जिन नं HA11EA99D29382 चेसिस नं MBLHA11EE99D12158 को मोटरसाइकल भारत सिद्धार्थनगरमा को कसको नाममा दर्ता रहेको छ खुलाई पठाउन भन्नेसमेतको क्रम संख्या ४६१२ को प्रहरी सञ्चार ।

हामी संजय जयसवाल, तौलेश्वरप्रसाद चौधरी (कुर्मी), गुड्डु धुनिया, अर्जुनप्रसाद कलवार (जयसवाल) अरूण भन्ने लेट्टु नाउँ, राजु अधिकारी, पूर्णवासी यादव भई पहिलेदेखि भारतबाट मोटरसाइकल चोरी गरी ल्याउने र नक्कली नेपाली कागजपत्र बनाई नेपाली नम्बर प्लेट राखी बिक्री गरी आएको पैसा सबैले बाँडी खाने गरी एकआपसमा सहमति भई कार्य गर्दै आएका थियौँ । हामीहरूले योजनाअनुसार कार्य विभाजन गर्दा पूर्णवासी यादव, अर्जुन जयसवाल र संजय जयसवालले भारतबाट मोटरसाइकल चोरी गरी ल्याउने, गुड्डु धुनिया मिस्त्री भएकोले ग्राहकसँग सम्पर्क गर्ने, तौलेश्वरप्रसाद चौधरीले भनेबमोजिम राजु अधिकारीले नक्कली सवारी दर्ता प्रमाण पत्र तयार गरी अरूण भन्ने लेट्टु नाउँलाई दिने, अरूण भन्ने लेट्टु नाउँले सो कागजात तौलेश्वर चौधरीलाई दिने, तौलेश्वर चौधरीले कतिपय आफैँ राख्ने र कतिपय सहकर्मी साथीहरूलाई दिन्थेँ । यसरी काम गर्दै आएकोमा अन्दाजी १०।११ महिनाअगाडि राम प्रकाश बरईले संजय जयसवालको पसलमा आई एउटा पुरानो मोटरसाइकल चाहियो भनेकाले हामीहरूले पूर्णवासी यादवले राखेको चोरीको मोटरसाइकल नक्कली कागजात बनाई मोटरसाइकलको रू.१६,०००।– र बिलबुकको रू.७,०००।– गरी जम्मा रू.२३,०००।– मा दिन सहमति भई सो मोटरसाइकल संजय जयसवाल, गुड्डु धुनिया र तौलेश्वर चौधरी भई ल्याई राम प्रकाश बरईलाई रू.२३,०००।– लिई बिक्री गरेको हौँ । बिक्रीबाट आएको पैसा सबै जनाले बाडँफाँड गरी लिएका हौं ।  सो मोटरसाइकलको नक्कली कागजात तौलेश्वर चौधरी, अरूण भन्ने लेट्टु नाउँ र राजु अधिकारी मिली तयार पारेको हो भन्नेसमेत बेहोराको प्रतिवादी संजय जयसवाल, तौलेश्वरप्रसाद चौधरी (कुर्मी), गुड्डु धुनिया र अर्जुनप्रसाद कलवार (जयसवाल) ले गरेको करिब एकै मिलानको छुट्टाछुट्टै बयान ।

मैले बुटवल नगरपालिका वडा नं. ११ स्थित मिलन चोकमा कपाल काट्ने पसल खोली आएकोमा राजु अधिकारीले नक्कली कागज बनाई बिक्री गर्ने समूह छ, तिमीले पनि सहयोग गर, आएको रकम बराबर लिने खाने गरौंला, मैले यातायात व्यवस्था कार्यालय बुटवलको सरकारी छाप दस्तखत किर्ते गरी सवारी दर्ता किताब बनाई तिम्रो पसलमा 

ल्याइदिन्छु । कपिलवस्तुबाट तौलेश्वर चौधरी नाम गरेको मानिस आई लिएर जान्छ, पैसासमेत छोडी दिन्छ भनेपछि मेरो भूमिका सजिलै भएको र पसलमै बसी बसी पैसा पाइने भएकोले निज राजु अधिकारीको कुरामा सहमति जनाई निजले तौलेश्वर चौधरीसँग परिचय गराइदिएपछि राजु अधिकारीले नक्कली बिलबुक बनाई खामबन्दी गराई मेरो पसलमा दिने, मैले तौलेश्वर चौधरीलाई दिने गरेको, सोबाट जति रकम आउँछ सबैले बराबर लिने गरीएको छ । लु. ५ प १८७३ नं. को मोटरसाइकलको बिलबुक देखाउँदा चिने मैले तौलेश्वर चौधरीलाई दिएको बिलबुक यही हो । उक्त सवारी दर्ता किताब नक्कली हो फरक छैन भन्नेसमेत बेहोराको अरूण भन्ने लेट्टु नाउँको बयान कागज ।

सरकारी छाप दस्तखत नमूना परीक्षणको लागि पठाइएको भन्नेसमेत बेहोराको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको पत्र ।

गुड्डु धुनियाको मोटरसाइकल वर्कशप पसलबाट राजदूत मोटरसाइकलको पार्टपुर्जाहरू, यु.पी.५२ एल ४२९२ को ई.नं. DHGBP 35173 चे.नं. MD2DHDHZZPCF96077 नं. को कालो पल्सर मोटरसाइकल र यु.पी. ५५ ए ३१४९ नं. को इ.नं. १८०८६९७ चे.नं. 00Z1808697 नं को कालो राजदूत मोटरसाइकल बरामद भएको भन्नेसमेत बेहोराको खानतलासी तथा बरामदी मुचुल्का । अर्जुनप्रसाद कलवार (जयसवाल) को घरबाट यु.पी. ५५ ई ६४२४ नं को चे.नं. MD625kF5471A61921 र इ.नं. AF5A71768354 नं. को TVS Star city मोटरसाइकल बरामद भएको भन्नेसमेत बेहोराको खानतलासी तथा बरामदी मुचुल्का ।

तौलेश्वरप्रसाद चौधरीको घर खानतलासी गर्दा अपराधसँग प्रमाण लाग्ने कुनै वस्तु फेला नपरेको भन्नेसमेत बेहोराको खानतलासी 

मुचुल्का ।

यातायात व्यवस्था कार्यालयको नमूना छापसँग सवारी दर्ता किताबमा लागेको छाप नमिलेको भन्नेसमेत बेहोराको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाडौंको परीक्षण 

प्रतिवेदन ।

इन्जिन नं. HAIIEA99D29382 चेसिस नं. MBlHAIIEE99D12158 को मोटरसाइकल भारत जिल्ला सिद्धार्थनगर थाना चिलिया बस्ने मुन्ना गुप्ताको नाममा दर्ता रहेको भन्नेसमेत बेहोराको प्रहरी चौकी मर्यादपुरको पत्र ।

प्रतिवादीहरू संजय जयसवाल, गुड्डु धुनिया र तौलेश्वरप्रसाद चौधरीले भारतबाट चोरीका मोटरसाइकल ल्याई जाहेरवालालाई नक्कली सवारी दर्ता प्रमाण पत्र भएको लु. ५ प १८७३ नं. को मोटरसाइकल बिक्री गरेको भन्ने मिति २०६८।६।३० गते थाहा पाएको र सो वारदातमा अर्जुनप्रसाद कलवार (जयसवाल), अरूण भन्ने लेट्टु नाउँ, राजु अधिकारी, पूर्णवासी यादवसमेतको संलग्नता रहेको भन्ने पछि थाहा पाएको हो भन्नेसमेत बेहोराको बुझिएका मानिसहरू सुरेन्द्र यादव, सन्दिप चौधरी, ध्रुवप्रसाद कुर्मी चौधरी, चाने डफाली र मैराज मनिहारको करिब एकै मिलानको छुट्टाछुट्टै कागज ।

राजु अधिकारीको घर जिल्ला अर्घाखाँची वाङला गा.वि.स. वडा नं. ८ र निजको बाबुको नाम नेत्रप्रसाद अधिकारी भएको भन्नेसमेत बेहोराको क्र.सं. ४८५८ को प्रहरी सञ्चार ।

मेरो नाममा दर्ता रहेको इन्जिन नं. HAIIEA99D29382 चेसिस नं. MBlHAIIEE99D12158 नं. को यु.पी. ५३ ई ३४४६ नं. को हिरोहोण्डा मोटरसाइकल कुदानको गेटबाहिर रोकिराखेको अवस्थामा चोरी भएकोमा तत्काल फेला नपरी प्रहरीलाई मौखिक जानकारी गराएकोमा हाल रू. ८०,०००।– मूल्य बराबरको उक्त मोटरसाइकल चोरी गरी लु. ५ प १८७३ नं. बनाएको अवस्थामा यस कार्यालयमा रहेको जानकारी पाई हेरी चिनी सनाखत गरिदिएको छु, सो चोरी गर्ने प्रतिवादीहरू गुड्डु धुनियासमेतलाई कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको भारतीय नागरिक मुन्नु गुप्ताको जाहेरी दरखास्त ।

इन्जिन नं. HAIIEA99D29382 चेसिस नं. MBlHAIIEE99D12158 नं. को लु. ५ प १८७३ नं को हिरोहोण्डा मोटरसाइकलको मूल्य रू.८०,०००।- (असी हजार) पर्ने भन्नेसमेतको न्यू सँगम मोटरसाइकल रिपेयरिङ वर्कशपको च.नं. ३ मिति २०६८।७।२४ को पत्र ।

यसरी प्रतिवादीहरू संजय जयसवाल, तौलेश्वरप्रसाद चौधरी (कुर्मी), गुड्डु धुनिया, अर्जुनप्रसाद कलवार (जयसवाल), अरूण भन्ने लेट्टु नाउँ, राजु अधिकारी र पूर्णवासी यादवसमेत मिली बिगो रू.८०,०००।– पर्ने इन्जिन नं. HAIIEA99D29382 चेसिस नं. MBlHAIIEE99D12158 को हिरोहोण्डा मोटरसाइकल चोरी गरी लु. ५ प १८७३ नं.  को नक्कली नम्बर प्लेट राखी यातायात व्यवस्था कार्यालय बुटवलको छाप र सो कार्यालयको कर्मचारीको दस्तखत किर्ते गरी सो मोटरसाइकलको सवारी दर्ता प्रमाण पत्र बनाई जाहेरवाला राम प्रकाश बरईलाई सो नक्कली कागजातसहित मोटरसाइकल बिक्री गरी निज प्रतिवादीहरू संजय जयसवाल, तौलेश्वरप्रसाद चौधरी  (कुर्मी), गुड्डु धुनिया, अर्जुनप्रसाद कलवार (जयसवाल), अरूण भन्ने लेट्टु नाउँ, राजु अधिकारी र पूर्णवासी यादवले मुलुकी ऐन किर्ते कागज महलको १ नं. र ७ नं. को कसुर अपराध गरेको प्रमाणित भएकोले निज प्रतिवादीहरू संजय जयसवाल, तौलेश्वरप्रसाद चौधरी (कुर्मी), गुड्डु धुनिया, अर्जुनप्रसाद कलवार (जयसवाल), अरूण भन्ने लेट्टु नाउँ, राजु अधिकारी र पूर्णवासी यादवलाई उक्त ऐन उक्त महलको ७ नं.बमोजिम सजाय गरी बिगो भराइपाउन र उक्त महलको १२ नं.बमोजिम थप सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग पत्र ।

बयान बेहोरा सुनी पाएँ । बयानमा सही गर भनी डार धम्की देखाई सहीछाप गराएको हो । सहीछाप मेरो हो । मोटरसाइकलको बारे केही थाहा छैन । सहअभियुक्तहरू कसैलाई चिन्दिनँ । मैले मोटरसाइकल चोरी गर्ने र बिक्री गर्ने काम गर्दिन; मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी अर्जुनप्रसाद कलवार (जयसवाल) ले सुरू कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।

मलाई अनुसन्धानको क्रममा केही सोधिएको होइन । लेखिएको कागजमा सहीछाप गराएका हुन् । अभियुक्तहरूलाई चिन्दिँन । यु.पी.५२ एल ४२९३ नं. को र यु.पी.५५ ए ३१४९ नं. को मोटरसाइकलहरू मेरो पसलमा मर्मतको लागि ल्याएको हो । मेरो होइन । मैले कुनै कसुर अपराध गरेको होइन । सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी गुड्डु धनियाले सुरू कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।

लु.५ प १८७३ नं. को मोटर साइकल र सवारी दर्ता प्रमाण पत्र कसरी बरामद भएको हो, मलाई थाहा छैन । जाहेरी बेहोरा गलत हो । सहअभियुक्तहरूले मलाई किन पोल गरी बयान गरेको थाहा छैन । मैले कुनै कसुर गरेको छैन । म निर्दोष छु । सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी संजय जयसवालले सुरू कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।

सहअभियुक्त कसैलाई चिनेजानेको 

छैन । बयान कागजमा सही गर भनी डर धम्की दिएकाले सहिछाप गरेको हो । लु.५ प १८७३ नं. को मोटरसाइकल र सवारी दर्ता किताब कहाँबाट कसरी प्राप्त भएको हो । मलाई थाहा छैन । मैले कुनै कसुर नगरेकोले सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी तौलेश्वरप्रसाद चौधरी (कुर्मी) ले सुरू कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।

बयान कागजमा सही गर भनी डर धम्की दिएकाले सहीछाप गरेको हो । मोटरसाइकल र बिलबुकबारे मलाई थाहा छैन । सहअभियुक्तहरूलाई चिन्दिनँ । मैले कुनै कसुर नगरेकोले सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी अरूण भन्ने लेट्टु नाउँले सुरू कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।

जाहेरवाला र सहप्रतिवादीहरू कसैलाई पनि मैले चिन्दैन । मिति २०६८।६।३० गतेको जाहेरी दरखास्त सुनी पाएँ । यस कार्यमा म संलग्न नभएको हुँदा केही थाहा छैन । मैले कुनै किसिमको नक्कली कागज तयार गरी मिसिल संलग्न लु. ५ प १८७३ नं. को मोटरसाइकल बेच्ने कार्य र चोरी गर्नेसमेत गरेको छैन भन्नेसमेत बेहोराको प्रतिवादी राजु अधिकारीले सुरू कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।

प्रस्तुत जाहेरी दरखास्त सुनी पाँए, सो सम्बन्धमा मलाई केही थाहा छैन । २०६७ साल कार्तिक महिनामा घरमै थिएँ । प्रहरीद्वारा छापा मारी मोटरसाइकल बरामद भएको हल्ला गाउँघरमा थाहा पाएको थिएँ । उक्त मोटरसाइकल कहाँबाट ल्याएको र कस्का हुन् थाहा भएन । मैले सरकारी छाप दस्तखत किर्ते गरेको छैन । मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी पूर्णवासी यादवले सुरू कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।

लेटु नाउँ मेरो घरको छेउमा कपाल काट्ने पेसा गरी बस्ने व्यक्ति हुन् । निजले सरकारी छाप दस्तखत किर्तेसम्बन्धी कुनै कार्य गरेको छैन । निर्दोष छन् भन्नेसमेत बेहोराको प्रतिवादी अरूण भन्ने लेटु नाउँको साक्षी मुरताज अलि चुरिहारले सुरू कपिलवस्तु जिल्ला अदालतमा गरेको 

बकपत्र ।

मोटरसाइकल चोरी गर्ने र नक्कली कागजात बनाइ गलत कार्य गर्ने नियत छैन । निजउपर लागेको अभियोगमा कुनै संलग्नता छैन । निर्दोष हुँदा सफाइ पाउनुपर्दछ भन्नेसमेत बेहोराको प्रतिवादी अर्जुनप्रसाद कलवारको साक्षी प्रेमचन्द्र जयसवालले सुरू कपिलवस्तु जिल्ला अदालतमा गरेको बकपत्र ।

तौलेश्वरप्रसाद चौधरी समाजसेवी व्यक्ति 

हुन् । निजले सरकारी कागज बिलबुक किर्तेसम्बन्धी कुनै कार्य गरेको छैन । अभियोगदाबी झुठ्ठा हो भन्नेसमेत बेहोराको प्रतिवादी तौलेश्वरप्रसाद चौधरीका साक्षी भुनेश्वर सिंहले सुरू कपिलवस्तु जिल्ला अदालतमा गरेको बकपत्र ।

निज राजु अधिकारी सरकारी छाप दस्तखत किर्तेसम्बन्धी कुनै कार्य गरेको 

छैन । निर्दोष छन् भन्नेसमेत बेहोराको प्रतिवादी राजु अधिकारीका साक्षी अशोक भुषालले सुरू कपिलवस्तु जिल्ला अदालतमा गरेको बकपत्र ।

प्रतिवादीले सरकारी छाप दस्तखत किर्तेसम्बन्धी कुनै कार्य गरेको छैन । निजको चालचलन राम्रो भएकोले निर्दोष छन् भन्नेसमेत बेहोराको प्रतिवादी संजय जयसवालको साक्षी सत्यनारायण सिंह,  प्रतिवादी पूर्णवासी यादवको साक्षी मोइद खा र प्रतिवादी गुड्डु धुनियाको साक्षी रामप्रसाद चौधरीसमेतले एकै मिलान बेहोराको सुरू कपिलवस्तु जिल्ला अदालतमा गरेको बकपत्र ।

यी प्रतिवादीहरूले रू.८०,०००।- पर्ने इन्जिन नं. HA11EA99D29382 चेसिस नं MBLHA11EE99D12158 नं. को मोटरसाइकल चोरी गरी लु.५ प १८७३ नं. को नक्कली नेपाली नम्बर बनाई, यातायात व्यवस्था कार्यालय बुटवलको छाप र सो कार्यालयका कर्मचारीको छाप किर्ते गरी सवारी दर्ता किताब बनाई राम प्रकाश बरईलाई बेचेको पुष्टि हुन आयो । यस्ता किसिमका अपराध एक्लैले सम्भव नहुने भई सङ्गिठत रूपमा गरिने अपराधका रूपमा हुन्छ । जो कुनै आर्थिक वा भौतिक फाइदा लिने उद्देश्यबाट गरिएको हुन्छ । प्रस्तुत मुद्दामा समेत भारतबाट मोटरसाइकल चोरी ल्याउने र त्यसको Fraud Driving Licence बनाई बिक्री गर्ने गरेको पाइन्छ, जो एकै व्यक्तिबाट सम्भव हुने देखिँदैन । यसरी यो यसैले मात्र बनाएको किर्ते प्रमाणपत्र चोरी गरेको भनी यकिन गर्न नसिकए तापनि सबैको मिलोमतोमा, त्यसबाट आएको आयस्रोत सबैले बाँडी लिने खाने गरी आ-आफ्नो कार्य विभाजनसमेत गरी, एउटै उद्देश्यले सङ्गठित भई सो कार्य गरेको देखिँदा त्यसको भागीदार सबै प्रतिवादीहरू हुने देखिन्छ । तसर्थ दसी बरामद भइसकेको पाइँदा किर्ते कागजको ७ नं. बमोजिम प्रतिवादीहरूलाई जनही  रू.८०,०००।- जरिवाना र १२ नं.बमोजिम जनही एक वर्ष कैद सजाय हुनेसमेत ठहर्छ भन्नेसमेत बेहोराको कपिलवस्तु जिल्ला अदालतको मिति २०७०।१०।२६ को फैसला ।

मेरो विरूद्धमा प्रमाण लाग्ने कुनै ठोस चिजवस्तु मसँगबाट बरामद भएको छैन, जाहेरीमा मेरो नाम किटान गरिएको छैन, साथै सहअभियुक्तको प्रहरीसमक्ष भएको बयानमा मलाई दोषी देखाए तापनि अदालतमा सो कुरा उल्लेख गर्न सकेका छैनन् । मैले भारतबाट के कुन मोडलको, के कति पटक, के कुन कम्पनीको गाडी चोरी गरी ल्याएको हो सो खुलाउन सकेका छैनन्, अदालतमा गरेको बयानमा समेत सो कुरा उल्लेख छैन । मिसिल संलग्न प्रमाणले सो कुरा पुष्टि एवं समर्थन गर्दैन । वादी पक्षबाट मेरो विरूद्ध कुनै प्रमाण नै नभएको भए तापनि मलाई दोषी ठहराई सजाय गर्ने गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी पूर्णवासी यादवको पुनरावेदन अदालत बुटवलमा दायर भएको पुनरावेदन पत्र ।

जाहेरीमा मेरो नाम किटान गरिएको छैन, साथै सहअभियुक्तहरूको प्रहरीसमक्ष भएको बयानमा मलाई पोल गरिएकोमा अदालतमा बयान गर्दा मउपरको पोल दाबीमा इन्कार रही बयान गरेको छ । चोरी भएको भनिएको मोटरसाइकल मेरो साथबाट बरामद भएको छैन । साथै मेरो साक्षीले मलाई निर्दोष छ भनी बकपत्र गरेको अवस्था 

छ । मिसिल संलग्न प्रमाणले मलाई दोषी पुष्टि एवं समर्थन गर्दैन यस्तो अवस्थामा पनि सजाय गर्ने गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी अर्जुनप्रसाद कलवारको पुनरावेदन अदालत बुटवलमा दायर भएको पुनरावेदन पत्र ।

सहअभियुक्तको प्रहरीसमक्ष गरिएको पोललाई कुनै स्वतन्त्र प्रमाणले पुष्टि गरेको छैन । मबाट कुनै चिजवस्तु लिखत कागज बरामद भएको पनि छैन । पेस भएको सवारी दर्ता किताबको छाप, दस्तखत त्यसमा लेखिएको अक्षरसमेत मेरो नभएको परिस्थितिमा को कसको अक्षर हो भनी वास्तविक यकिन नगरी सरकारी दस्तखत किर्ते जस्तो गम्भीर मुद्दामा सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा सुरू फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी राजु अधिकारीको पुनरावेदन अदालत बुटवलमा दायर भएको पुनरावेदन पत्र ।

चोरी र किर्ते फरक प्रकृतिका अपराध 

हुन् । किर्ते कसुरमा के कुन व्यक्तिले किर्ते गरेका हुन्, व्यक्ति व्यक्ति विरूद्धको प्रमाण हुनुपर्नेमा मबाट किर्ते ठहर गर्ने कुनै पनि प्रमाण वादी पक्षले पेस गरेको छैन । लु.५ प.१८७३ नं. को नक्कली नम्बर प्लेट बनाउने, सरकारी छाप दस्तखत किर्ते गर्ने, सवारी दर्ता किताब बनाउने कार्यमा को कस्को संलग्नता छ, को कस्ले के कस्तो कार्य गरेका छन् विवेचना नगरी अनुमानको भरमा गोश्वारा रूपमा सजाय गर्ने गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी गुडडु धुनियाको पुनरावेदन अदालत बुटवलमा दायर भएको पुनरावेदन पत्र । 

मसँगबाट अभियोग दाबीबमोजिमको कथित मोटरसाइकल र बिलबुक बरामद भएको 

छैन । अदालतमा बयान गर्दा मेरो बयान इन्कारी छ । बिलबुकमा उल्लिखित विवरण मैले भरी छाप लगाएको भनी प्रमाणित गर्न नसकेको अवस्थामा गोश्वारा रूपमा मलाई अभियोग दाबीबमोजिम कसुर ठहर भएको छ । कसुर प्रस्ट रूपले कायम नहुँदा नहुँदै कसुर ठहर गरी मलाई सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी संजय जयसवालको पुनरावेदन अदालत बुटवलमा दायर भएको पुनरावेदन पत्र । 

सुरू जाहेरी दिँदा मउपर जाहेरी नपरेको, सहअभियुक्तको बयानबाट मलाई दोषी देखाइएको भए पनि अदालतमा आइ बयान गर्दा इन्कार रही बयान गरेको, चोरी भएको भनिएको मोटरसाइकल मेरो साथ र मेरो घरबाट बरामद भएको होइन । मेरो घर वा साथबाट कुनै लिखत कागज बरामद नभएको, मेरो हस्ताक्षर ल्याप्चे सहीछापबाट सवारी दर्ता प्रमाण पत्र खडा भएको भन्ने कहीँकतैबाट नदेखिएको र अभियोग प्रमाणित गर्ने भार वादीको भएकोमा वादीले शङ्कारहित तवरबाट कसुरमा मेरो संलग्नता देखाउन नसकेको अवस्थामा पनि सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी अरूण भन्ने लेट्टु नाउँको पुनरावेदन अदालत बुटवलमा दायर भएको पुनरावेदन पत्र । 

सुरू जाहेरी मउपर परेको भए पनि त्यसको प्रमाणसङ्गत आधार दिन सकेका छैनन् । अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा मेरो इच्छाविपरीत मलाई बयान नदेखाई नसुनाइ गरेको हो । अदालतमा मेरो इन्कारी बयान छ । मेरो साथ वा घरबाट चोरी भएको भनिएको मोटरसाइकल र बिलबुक बरामद भएको होइन । यसरी मिसिल संलग्न प्रमाणहरूबाट कहीँकतैबाट पनि दोषी नदेखिएको, कसुर अपराध नगरेको प्रमाणित भइरहेको अवस्थामा पनि सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी तौलेश्वरप्रसाद चौधरी (कुर्मी) को पुनरावेदन अदालत बुटवलमा दायर भएको पुनरावेदन पत्र । 

यसै लगाउको ०७१-CS-०००४ समेतको चोरी मुद्दासँग अन्तरप्रभावित हुँदा प्रस्तुत मुद्दामा पनि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाउने भन्नेसमेत बेहोराको पुनरावेदन अदालत बुटवलको मिति २०७१।९।१४ को आदेश । 

जाहेरी दरखास्तलाई समर्थन गर्ने गरी प्रतिवादीहरूको अनुसन्धान अधिकारीसमक्ष भएको बयान बरामदी मुचुल्का जस्तो स्वतन्त्र एवं परिस्थितिजन्य प्रमाणबाट पुष्टि भएको छ ।  प्रस्तुत बरामदी मुचुल्काबाट बरामद भएको मोटरसाइकल प्रस्तुत मुद्दामा विवादित मोटरसाइकल नभए तापनि भारतीय नम्बरका मोटरसाइकल निजहरूको घरबाट बरामद हुनु यी प्रतिवादीहरूको बयानअनुसार मोटरसाइकल चोरी अपराधमा संलग्नता रही आएको पुष्टि भएको छ । प्रस्तुत मुद्दामा समेत भारतबाट मोटरसाइकल चोरी गरी ल्याउने र त्यसको Fraud ब्लु बुक नम्बर प्लेट बनाई बिक्री गर्ने गरेको जुन कार्य  हो सो एकै व्यक्तिबाट मात्र सम्भव हुँदैन । यसरी आपसमा मिली गरेको कार्यमा यो यसैले मात्र बनाएको वा गरेको यसरी किर्ते प्रमाणपत्र तयार भएको भनी यकिन गर्न नसिकए तापनि सबैको मिलोमतोमा, त्यसबाट आएको आयस्रोत र प्रतिफल सबैले बाडी लिने खाने गरी आ-आफ्नो कार्य विभाजनसमेत गरी, एउटै उद्देश्यले सङ्गठित भई सो कार्य गरेको देखिँदा त्यसको भागीदार सबै प्रतिवादीहरू हुने 

देखिन्छ । निज प्रतिवादीहरूलाई सुरू अदालतबाट भएको सजायको सम्बन्धमा विचार गर्दा किर्ते कागजको ७ नं.बमोजिम किर्ते गर्नेलाई बिगोबमोजिम जरीवाना हुन्छ भन्ने कानूनी व्यवस्था हुँदा जति जना उक्त कार्यमा संलग्न छन् सबैलाई जम्मा बिगोको दामासाहीले जरीवाना गर्नुपर्नेमा जनही रू. ८०,०००।– जरीवाना गर्ने गरी भएको फैसला सो हदसम्म मिलेको 

देखिएन । तसर्थ प्रतिवादीहरूलाई किर्ते कागजको ७ नं.बमोजिम जनही रू. ८०,०००।–जरिवाना गर्ने गरी भएको फैसला नमिलेको हुँदा सो हदसम्म सुरू कपिलवस्तु जिल्ला अदालतको फैसला केही उल्टी भई प्रतिवादीहरूलाई दामासाहीले रू. ८०,०००।– (असी हजार) मात्र जरिवाना हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत बुटवलबाट मिति २०७१।११।१२ गते भएको फैसला ।

मेरो कुनै पनि सहअभियुक्तसँग चिनजान नरहेको र मैले कसुरमा इन्कार रही अदालतमा बयान गरेको एवम् यस मुद्दाका सहअभियुक्तहरूले अदालतमा बयान गर्दा मसँग कोही कसैको पनि चिनजान नभएको कुरा प्रस्ट पारेका छन् । कसुरसँग सम्बन्धित कुनै पनि वस्तु मबाट बरामद भएको छैन भने कुनै पनि ठोस, वस्तुनिष्ठ र प्रत्यक्ष प्रमाणले म दोषी रहेको कुरा प्रमाणित भएको 

छैन । म पुनरावेदकले के कस्तो काम गरे र किर्तेजन्य काम हुन गयो सो कुरा प्रतिव्यक्ति यो यस्तो कार्य यसले गरेको भनी प्रमाण गुजार्न सकेको छैन । केवल गोश्वारा र आधारहीन भनाइ र पोलका आधारमा कसुरदार ठहर हुन सक्दैन । प्रत्यर्थी सरकारी पक्षका साक्षी बुझिएका मानिस सन्दीप चौधरीले अदालतमा बकपत्र गर्दा मेरो नाम उल्लेख गरेको छैन भने मेरो साक्षीले मैले कुनै कसुरजन्य काम नगरेको भनी बकपत्र गरेको 

छ । फौजदारी अभियोग प्रमाणित हुन सोको आवश्यक तत्त्वहरू मनसाय, तयारी र सोअनुसारको कार्य भएको ठोस, वस्तुनिष्ठ र प्रत्यक्ष प्रमाणले पुष्टि गरेको 

हुनुपर्दछ । सहअभियुक्तहरूले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको पोल जुन अदालतमा खण्डित छ, सोबाहेक कुनै अन्य स्वतन्त्र प्रमाणले पुष्टि गर्न नसकेको अवस्थामा केवल शङ्का र अनुमानको आधारमा मलाई अभियोग दाबीबमोजिम कसुर ठहर गरी १ वर्ष कैद र रू.८०,०००।– जरिवाना गर्ने गरी कपिलवस्तु जिल्ला अदालतबाट भएको फैसलाउपर पुनरावेदन अदालत बुटवलले जनही जरिवाना रू.८०,०००।– गर्ने फैसलाको हदसम्म नमिलेकोले जरिवाना दामासाहीले गर्नु भनी मिति २०७१।११।१२ मा भएको फैसला कानूनअनुकूल नहुँदा उल्टी गरी अभियोग दाबीबाट पूर्ण रूपमा सफाइ दिलाइपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी राजु अधिकारीले यस अदालतमा दायर गरेको पुनरावेदन पत्र ।    

अनुसन्धान अधिकारीसमक्ष गरेको साबिती बयान मलाई डर धम्की दिई गरेको हो भनी अदालतमा कसुरमा इन्कार रही बयान गरेकोलाई प्रमाणमा लिएको छैन । सह-प्रतिवादीहरूको पोल बयानलाई अदालतमा आई बयान गर्दा मेरो इच्छाविपरीत बयान गरेको हो भनी बयान गरेबाट पोल बयान आफैँमा खण्डित भइसकेको छ । मेरो साक्षीको बयानलाई प्रमाणमा लिएको छैन । मौकामा कागज गर्ने व्यक्तिहरूले चोरीको मोटरसाइकल ल्याई नक्कली कागज बनाइदिएको सुनी थाहा पाएको भनी अनुमानसम्म गरेको छ । सरकारी छाप दस्तखत किर्ते काम कसले कहाँ कुन स्थानमा बसी बनाएको हो, लिखत हस्तलिपि कुन व्यक्तिको हो सोको कुनै प्रमाणहरू मिसिल सामेल छैन । मेरो घरबाट सो किर्ते काम गर्ने कुनै दसी प्रमाण फेला परेको छैन । बिलबुकमा फोटो टाँस गर्न जाँदा सवारी धनी आफैँ जानुपर्छ । जाहेरवालाको फोटो बिलबुकमा टाँस गरिएको छ । जाहेरवालाले एक वर्षपछि बल्ल किर्ते रहेको जानकारी पाएर जाहेरी दिएको भन्ने बेहोरा झुठ्ठा हो । यसरी मेरो विरूद्ध कुनै ठोस स्वतन्त्र प्रमाणहरू नभएको हुँदा कपिलवस्तु जिल्ला अदालतले गरेको फैसलालाई केही उल्टी गरी जरिवानालाई दामासाही गरी कैदका हकमा जनही १ वर्षलाई सदर गरी गरेको पुनरावेदन अदालत बुटवलको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी मलाई सफाइ दिलाइपाउँ भन्नेसमेत बेहोराको एकै मिलान बेहोराको पुनरावेदक प्रतिवादी संजय जयसवाल, गुड्डु धुनिया, अरूण भन्ने लेट्टु नाउँ र तौलेश्वरप्रसाद चौधरी कुर्मीको तर्फबाट यस अदालतमा दायर भएको पुनरावेदन पत्र ।    

जँहासम्म बिगोको दामासाहीले जरिवाना गरेको सन्दर्भ छ, प्रतिवादीहरूले सङ्गठित रूपमा मोटरसाइकल चोरी गरी बिलबुक नम्बर प्लेटसमेत किर्ते गरी बनाएको देखिन्छ । सङ्गठित रूपमा गरिने अपराधमा एक व्यक्तिले गर्ने अपराधको भन्दा कसुरको मात्रा र गुरूत्व बढी हुने हुन्छ । अदालत स्वयम्‌ले फैसला गर्दा प्रतिवादीहरूले सङ्गठनात्मक समूह बनाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक फाइदा लिनको लागि सङ्गठित रूपले नै कसुर गरेको कार्यमा सबै प्रतिवादीहरू भागीदार हुने भनी ठहर गरिसकेको अवस्थासमेत देखिन्छ । यसरी प्रतिवादीहरूले सङ्गठित रूपमा किर्ते गरेको ठहर गरिसकेपछि कानूनबमोजिम नै प्रतिवादीहरूलाई बिगोबमोजिम सजाय गर्नुपर्नेमा प्रतिवादीहरूलाई बिगोको दामासाहीले जरिवाना गर्ने गरी सजाय गरेको पुनरावेदन अदालत बुटवलको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा सो बदर गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा दायर भएको पुनरावेदन पत्र ।    

मउपर जाहेरी दरखास्त नभएको, कसले के अपराध गरेको हो भनी अभियोग दाबी स्पष्ट नभएको, पोल गर्ने सहप्रतिवादीहरूले नै अदालतमा इन्कारी बयान गरेको, मेरो साथ र घरबाट कसुरसँग सम्बन्धित कुनै मोटरसाइकल र लिखत कागज बरामद नभएको, मेरो घरबाट बरामद भएको भनी देखाइएको UP 55E 6424 नं. को TVS Star City मोटरसाइकल चोरीको नभई अभियोगसाथ दसीमा पेस पनि नभएको, सो मोटरसाइकल मेरो हो भनी कसैको जाहेरी दर्खास्त नपरेको, UP 55E 6424 नं. को TVS Star City मोटरसाइकलको मुद्दा नपरेको, अदालतमा मेरो इन्कारी बयान भएको, प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम अभियोग प्रमाणित गर्ने भार वादीको भएकोमा वादीले शङ्कारहित तवरबाट अभियोग दाबी प्रमाणित गर्न नसकेको समेत तथ्य आधार प्रमाणबाट मैले कुनै कसुर अपराध नगरेको स्पष्ट हुँदाहुँदै मलाईसमेत १ वर्ष कैद र जम्मा बिगो रू.८०,०००।- को दामासाहीले जरिवाना हुने गरी भएको पुरावेदन अदालत बुटवलको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी म निवेदकलाई लागेको कैद जरिवानासमेतबाट सफाइ प्रदान गरी इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी अर्जुनप्रसाद कलवारको तर्फबाट यस अदालतमा दायर भएको पुनरावेदन पत्र ।

पुनरावेदन अदालत बुटवलको मिति २०७१।११।१२ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट तथा प्रतिवादीहरू राजु अधिकारी, तौलेश्वरप्रसाद चौधरी र अर्जुनप्रसाद कलवारसमेतले यस अदालतमा पुनरावेदन दायर गरेको देखिएको हुँदा दुवै तर्फबाट पुनरावेदन परेकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४० को उपदफा (३) को प्रयोजनार्थ प्रतिवादीहरूको हकमा वादी नेपाल सरकारको पुनरावेदन पत्र सुनाइ तथा नेपाल सरकारको हकमा प्रतिवादीहरूको पुनरावेदन पत्र र आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयलाई जानकारी दिई नियमानुसार गरी पेस गर्नुहोला भनी यस अदालतबाट मिति २०७८।६।११ मा भएको आदेश ।

अदालतको ठहर

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी राजु अधिकारीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री धुव्रमणी ज्ञवालीले प्रतिवादी राजु अधिकारी विरूद्ध किटानी जाहेरी दरखास्त छैन । अनुसन्धान अधिकृतसमक्ष भएको बयानमा पोल गरिएकोमा अदालतमा सहप्रतिवादीहरूले बयान गर्दा पूर्णइन्कारी बयान गरेका छन् । निज प्रतिवादी राजु अधिकारीको साथबाट कुनै दसी सामान बरामद भएको छैन । सहप्रतिवादीहरूले अनुसन्धान अधिकृतसमक्ष गरेको पोल बयानको आधारमा मात्र सजाय गर्नु न्यायोचित नहुने हुँदा निज प्रतिवादी राजु अधिकारीलाई अभियोगदाबीबाट सफाइ दिलाइपाउँ भनी गर्नु भएको बहस र अन्य सबै प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री दिपकराज रेग्मीले अनुसन्धान अधिकारीसमक्षको प्रतिवादीहरूको बयान निजहरूको इच्छा विरूद्ध डर त्रासमा लिएको हुँदा प्रमाण ऐन, २०३१ को दफा ९ ले उक्त बयान प्रमाणमा लिन मिल्ने अवस्था छैन । पोल गरिदिएको बयान अदालतमा खण्डित हुन पुगेको छ । सरकारी छाप दस्तखत किर्ते जस्तो गम्भीर प्रकृतिको कसुर स्थापित गर्न को कसले,  के कसरी, कुन स्थानबाट किर्ते कागज तयार गरेको भनी पुष्टि हुनुपर्दछ । प्रतिव्यक्ति प्रति प्रमाणबाट कसुर गरेको पुष्टि हुनुपर्नेमा गोश्वारा रूपमा अभियोग दाबीबमोजिम फैसला गर्नु कानूनत: नमिल्ने हुँदा कपिलवस्तु जिल्ला अदालतको फैसलालाई केही उल्टी गरी कैद जनही १ वर्ष र जरिवाना दामासाही गरी भएको पुनरावेदन अदालत बुटवलको फैसला बदर गरी यी प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाइ दिलाइपाउँ भनी गर्नुभएको बहस सुनियो ।

यसैगरी पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री सन्तोषराज कटुवालले प्रतिवादीहरूले अख्तियार प्राप्त अधिकारीसमक्ष गरेको मौकाको बयानमा कसुर स्वीकार गरी बयान गरेका छन् । उक्त बयानले जाहेरी दरखास्त र बरामदी मुचुल्कालाई समर्थन गरेको पाइन्छ । सबै प्रतिवादीहरूले आरोपित कसुर गरेको ठहर्छ भनी सुरू तथा पुनरावेदन अदालत बुटवलबाट फैसला भएको अवस्था छ । बिगो रू. ८०,०००।- को हकमा सबै प्रतिवादीहरूलाई बिगोको दामासाहीले जरिवाना हुने गरी पुनरावेदन अदालतले फैसला गरेको छ । सङ्गठित अपराध भनेको एक व्यक्तिले गर्ने अपराधभन्दा त्यसको मात्रा बढी हुने हुँदा कानूनबमोजिम बिगोको जनही जरिवाना हुनुपर्ने हो । तसर्थ पुनरावेदन अदालत बुटवलको फैसला बिगोको दामासाहीले जरिवाना गरेको हदसम्म बदर गरी अभियोगदाबीबमोजिम सजाय गरिपाउँ भनी बहस गर्नुभयो ।

उपर्युक्तबमोजिम पुनरावेदक वादी तथा प्रतिवादीहरूका तर्फबाट भएको बहस सुनी पुनरावेदनपत्रसहितको मिसिल अध्ययन गरी हेर्दा, प्रस्तुत मुद्दामा पुनरावेदन अदालत बुटवलबाट मिति २०७१।११।१२ मा भएको फैसला मिलेको छ छैन ? वादी नेपाल सरकार तथा प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? सोही विषयमा निर्णय दिनुपर्ने देखियो । 

२. निर्णयतर्फ विचार गर्दा, प्रस्तुत मुद्दामा सहप्रतिवादीहरूको पोल बयान अदालतमा खण्डन भइसकेको, सरकारी छाप किर्ते कहाँ कहिले कसरी र कोबाट भएको हो अभियोगमा प्रस्ट नभएको, अनुसन्धान अधिकृतसमक्षको साबिती बयान डर त्रासमा लिएको, अदालतमा इन्कारी बयान रहेको, सरकारी पक्षका साक्षीहरूले दोषी देखाई बकपत्र गर्न नसकेको लगायत वादीले शङ्कारहित तवरबाट अभियोग दाबी प्रमाणित गर्न नसकेको आधारबाट सुरू अदालत र पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा अभियोगदाबीबाट सफाइ दिलाइपाउँ भन्ने पुनरावेदक प्रतिवादीहरू राजु अधिकारी, संजय जयसवाल, गुड्डु धुनिया, अरूण भन्ने लेट्टु नाउँ, तौलेश्वरप्रसाद चौधरी (कुर्मी) र अर्जुनप्रसाद कलवारको पुनरावेदन जिकिर रहेको 

देखिन्छ । अभियोग मागदाबीबमोजिम प्रतिवादीहरूले सङ्गठित रूपमा किर्ते गरेको ठहर भइसकेकोमा कानूनले गरेको व्यवस्थाबमोजिम जनही जरिवाना गर्नुपर्नेमा कानूनको मनसायविपरीत बिगोको दामासाहीले जरिवाना गर्ने गरेको पुनरावेदन अदालत बुटवलको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा सो बदर गरी अभियोग मागदाबीबमोजिम नै बिगोको जनही जरिवानाको सजाय गरिपाउँ भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन दाबी रहेको पाइन्छ ।

३. अब, प्रतिवादीहरूले अभियोग दाबीबमोजिमको कसुर गरेको होइन भन्ने पुनरावेदक प्रतिवादीहरूको मुख्य जिकिरका सम्बन्धमा हेर्दा,  मलाई पुरानो मोटरसाइकल खोजिदिन भनेकोमा मिति २०६७ साल कार्तिक महिनामा प्रतिवादीहरू संजय जयसवाल, गुड्डु धुनिया र तौलेश्वरप्रसाद चौधरीले लु. ५ प १८७३ नं. को हिरो होण्डा मोटरसाइकलको रू. १६,०००।– र बिलबुकको रू. ७०००।– गरी जम्मा रू.२३,०००।– मा जाहेरवालालाई बिक्री गरेकोमा बिलबुक नवीकरण गर्न जाँदा सो सवारी दर्ता प्रमाणपत्र नक्कली भएको थाहा पाएकोले निजहरूलाई आवश्यक कारबाही गरिपाउँ भन्ने विवादित मोटरसाइकल र नक्कली कागजसहित दिएको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको उठान भएकोमा बिगो रू.८०,०००।– पर्ने इन्जिन नं. HAIIEA99D29382 चेसिस नं. MBlHAIIEE99D12158 को हिरोहोण्डा मोटरसाइकल चोरी गरी लु. ५ प १८७३ नं. को नक्कली नम्बर प्लेट राखी सरकारी छाप र कर्मचारीको दस्तखत किर्ते गरी सो मोटरसाइकलको सवारी दर्ता प्रमाण पत्र बनाई जाहेरवाला राम प्रकाश बरईलाई सो नक्कली कागजातसहित मोटरसाइकल बिक्री गरी प्रतिवादीहरू संजय जयसवाल, तौलेश्वरप्रसाद चौधरी (कुर्मी), गुड्डु धुनिया, अर्जुनप्रसाद कलवार (जयसवाल), अरूण भन्ने लेट्टु नाउँ, राजु अधिकारी र पूर्णवासी यादवले मुलुकी ऐन किर्ते कागज महलको १ नं. र ७ नं. को कसुर अपराध गरेको प्रमाणित भएकोले निज प्रतिवादीहरूलाई ऐ.ऐ. को ७ नं.बमोजिम सजाय गरी बिगो भराइपाउन र उक्त महलको १२ नं.बमोजिम थप सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोगदाबी रहेको पाइन्छ ।

४. जाहेरी दिँदाको समयमा प्रतिवादीहरू संजय जयसवाल, गुड्डु धुनिया र तौलेश्वरप्रसाद चौधरीलाई अभियुक्त कायम गरेको देखिन्छ । प्रतिवादीहरू संजय जयसवाल, गुड्डु धुनिया र तौलेश्वरप्रसाद चौधरीले प्रहरीसमक्ष बयान गर्दा निजहरूलगायत अरूण भन्ने लट्टु नाउँ, राजु अधिकारी, अर्जुनप्रसाद कलवार र पूर्णवासी यादवहरूको समूह मिली पहिलेदेखि नै भारतबाट मोटरसाइकल चोरी गरी ल्याउने र नेपाली नम्बर प्लेट तथा नक्कली नेपाली कागज बनाई बिक्री गर्ने र बिक्रीबाट आएको रकम एकआपसमा बाँडफाँट गरी कमिसन खाने गरेका हौं । प्रतिवादीहरूमध्ये संजय जयसवाल, पूर्णवासी यादव र अर्जुनप्रसाद कलवारले चोरीको मोटरसाइकल भारतबाट नेपाल भित्र्‍याउने, राजु अधिकारीले यातायात कार्यालय बुटवलको सरकारी छाप दस्तखत किर्ते गरी सवारी दर्ता किताब बनाई तौलेश्वरप्रसाद चौधरीलाई दिने र तौलेश्वरप्रसाद चौधरीले कतिपय आफैँले राख्ने र कतिपय अन्य सहकर्मी साथीहरूलाई दिई चोरीको मोटरसाइकल र नक्कली बिलबुक बिक्री गरी पाएको पैसा सबैजनाले बाँडी खाने काम गर्दै आएकोमा जाहेरवालाले १०/११ महिनाअगाडि पुरानो मोटरसाइकल चाहियो भनेकोले भारतबाट चोरी गरी ल्याएको प्रतिवादी पूर्णवासी यादवले राखेको चोरीको लु.५प.१८७३ नं. को मोटरसाइकल र नक्कली बिलबुक जम्मा रू.२३,०००।– मा बिक्री गरी पाएको पैसा सबैले बाँडफाँट गरी लिएका हौं भनी तीनैजना प्रतिवादीहरूले एकै तथ्य उल्लेख गरी साबिती बयान गरेको पाइयो । 

५. उक्त तीनैजना प्रतिवादीहरूले नामसहित पोल गरेका अन्य प्रतिवादीहरू राजु अधिकारी, अरूण भन्ने लेट्टु नाउँ, पूर्णवासी यादव र अर्जुनप्रसाद कलवारमध्ये पक्राउ परेका प्रतिवादीहरू अरूण भन्ने लेट्टु नाउँ र अर्जुनप्रसाद कलवारले समेत माथि उल्लिखित बयानलाई पूर्णसमर्थन गरी विगतदेखि नै मोटरसाइकल चोरी गरी बिक्री गर्दै आएकोमा चोरी गरेको मोटरसाइकलको कागजातहरू नहुने र किन्ने मानिसहरूले तुरून्तै सवारी दर्ता किताब माग गर्ने भएकोले मोटरसाइकल चोरी गरी नक्कली सवारी दर्ता प्रमाण पत्र बनाई बिक्री गर्ने योजनाअनुसार प्रतिवादीहरूले कार्य विभाजन गरी काम गर्दै आएकोमा जाहेरवालालाई समेत चोरीको लु.५प.१८७३ नं. को मोटरसाइकल र नक्कली बिलबुक बिक्री गरी पाएको पैसा एकआपसमा बाँडेको भनी साबिती बयान गरेको पाइन्छ । यसरी अनुसन्धान अधिकृतसमक्ष बयान गर्ने ५ जना प्रतिवादीहरूले एकआपसलाई परस्पर पोल गरी अन्य २ प्रतिवादीहरू राजु अधिकारी र पूर्णवासी यादवलाई समेत कसुरमा संलग्न रहेको भनी पोल गरी बयान गरेबाट यी सबै प्रतिवादीहरूले बेग्लाबेग्लै भूमिकाको साथ सङ्गठित भई चोरीको मोटरसाइकल भारतबाट ल्याई नेपालमा नक्कली कागज बनाई बिक्री गर्ने गरेको भन्ने तथ्य रहेको देखिन्छ । बयानको क्रममा प्रतिवादीहरूले चोरी गरी लिई आएको बिक्री गर्न बाँकी प्रतिवादी गुड्डु धुनियाको घरमा यु.पि. ५५ एल ४२९२ नं. को कालो रंगको पल्सर र यु.पि. ५५ ए ३१४९ नं. को कालो राजदूत मोटरसाइकललगायत एउटा मोटरसाइकलको पार्टपुर्जाहरू रहेको र प्रतिवादी अर्जुनप्रसाद कलवारको घरमा बिक्री हुन बाँकी यु.पि ५५ ई ६४२४ नम्बरको कालो रंगको स्टार सिटी टि.भी.एस मोटरसाइकल रहेको भनी कागज गरिदिएको देखिन्छ । प्रतिवादीहरूको बयानको कथनलाई प्रतिवादी गुड्डु धुनिया र प्रतिवादी अर्जुनप्रसाद कलवारको घर खानतलासी गर्दा बयानबमोजिमकै मोटरसाइकलहरू बरामद भएको बरामदी मुचुल्काबाट समर्थन भएको देखिन्छ । बरामद भएका मोटरसाइकलहरू प्रस्तुत मुद्दासँग सम्बन्धित नरहे तापनि भारतीय नम्बर प्लेटका मोटरसाइकलहरू प्रतिवादीहरूको बयानबमोजिम बरामद हुनु भनेको प्रतिवादीहरूले सङ्गठित रूपमा अपराध गर्ने गरेको भन्ने कथनलाई स्वतन्त्र प्रमाणले पुष्टि गरेको देखियो । विवादित मोटरसाइकलको सवारी दर्ता प्रमाणपत्रमा रहेको यातायात कार्यालय बुटवलको छाप र कर्मचारीको दस्तखत परीक्षणको लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउँदा यातायात कार्यालय बुटवलबाट पठाइएको नमूना र सवारी दर्ता किताबमा रहेको छाप र कर्मचारीको दस्तखत Do not tally भन्ने प्रतिवेदन पेस भएकोले समेत प्रतिवादीहरूको साबिती बयानको कथनलाई थप पुष्ट्याएको देखिन्छ । 

६. यसैगरी घटना विवरण कागज गर्ने मानिसहरूले जाहेरी दरखास्त र प्रतिवादीहरूको बयानलाई समर्थन गरी कागज गरेको देखिन्छ भने विवादित मोटरसाइकल भारत सिद्धार्थनगर थाना चिलियाअन्तर्गत बस्ने मुन्ना गुप्ताको भएको भनी प्रहरी चौकी मर्यादपुर, कपिलवस्तुले खुलाई पठाएको पत्र र मुन्ना गुप्ताले विवादित मोटरसाइकल तीन वर्षअगाडि कपिलवस्तुमा संग्रहालय र कुदान भ्रमण गर्न आएको बेला हराएपछि तत्काल प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको र हाल मोटरसाइकलसाथ अभियुक्तहरू पक्राउ परेपछि उक्त मोटरसाइकल चिनी सनाखत गरी अभियुक्तहरूलाई कानूनबमोजिमको कारबाही गरिपाउँ भनी जाहेरी दिएको पाइन्छ । यसरी प्रतिवादीहरूले सामूहिक रूपमा भारतबाट मोटरसाइकलहरू चोरी गरी नक्कली सवारी दर्ता प्रमाण पत्र बनाई बिक्री गर्ने सञ्जाल नै बनाई कार्य गर्दै आएको तथ्य स्थापित भएको देखिन्छ । 

७. जहाँसम्म अदालतमा सबै प्रतिवादीहरूले कसुरमा इन्कार रही गरेको बयानको मूल्याङ्कन नगरी फैसला गरेको भन्ने जिकिर छ, सो सम्बन्धमा विचार गर्दा, अदालतसमक्षको बयान होस् वा अनुसन्धान अधिकृतसमक्षको उक्त बयानलाई वारदातको अवस्था, घटनाक्रम, तथ्य र अन्य प्रमाणले समेत समर्थन गर्नुपर्ने हुन्छ । यसै सन्दर्भमा ने.का.प.२०७८, नि.नं. १०७२०, अङ्क ८,  प्रल्हाद महत वि. शिव शाहीसमेतको जाहेरीले नेपाल सरकार भएको अपहरण तथा शरीर बन्धक मुद्दामा "प्रत्यक्ष प्रमाण उपलब्ध नभएको स्थितिमा परिस्थितिजन्य प्रमाण (Circumstantial Evidence) को सहाराबाट मिसिलमा रहेको तथ्य एवम् प्रमाणहरूको विश्लेषण गरी अपराध र अपराधीको बारेमा न्यायिक निरूपण हुन आवश्यक हुने" भनी व्याख्या भएअनुसार प्रस्तुत मुद्दामा प्रत्यक्ष प्रमाण नभए पनि परिस्थितिजन्य प्रमाणहरूको मूल्याङ्कनको आधारमा न्याय दिनुपर्ने देखिन्छ । अनुसन्धान अधिकृतसमक्षको बयानमा प्रतिवादीहरूले कसुरलाई स्वीकारी एकअर्कालाई पोल गरी साबिती बयान गरेको देखिन्छ । उक्त साबिती बयानलाई जाहेरी दरखास्त, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन, घटना विवरणको कागज, बरामदी मुचुल्का, मुन्ना गुप्ताले विवादित मोटरसाइकल सनाखत गरिदिएको र निजको, प्रतिवादीहरू विरूद्ध परेको जाहेरी दरखास्तलगायतका प्रमाणहरूले मालाकार रूपमा पुष्टि गरेको देखिन्छ । अदालतमा कसुरमा पूर्णइन्कार रही प्रतिवादीहरूले एक अर्कालाई चिन्दिनँ भनी अनुसन्धान अधिकृतसमक्षको बयानको ठिक विपरीत बयान गरेको पाइन्छ । अनुसन्धान अधिकृतको बयानमा प्रतिवादीहरू आफैँले एक अर्काको पूरा नाम ठेगाना र कुनैको हुलियासहित पोल गरेको हुँदा यी प्रतिवादीहरू एकआपसमा पूर्वचिरपरिचित भएको भन्ने तथ्यलाई स्वीकार गर्नुपर्ने नै देखिन्छ । तर अदालतमा थाहा छैन,  होइन, एक अर्कालाई चिन्दिनँ भनी बयान गर्नु तार्किक जवाफ नभई अभियोगबाट बच्नको लागि इन्कारी बयान दिएको भनी मान्नुपर्ने देखिन्छ ।

८. विवादित मोटरसाइकल र नक्कली सवारी दर्ता प्रमाण पत्र प्रतिवादीहरूको साथबाट बरामद नभएको र सरकारी छाप किर्ते जस्तो गम्भीर अपराधमा को कसले गरे भन्ने किटानी नभएको हुँदा अभियोग दाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदक प्रतिवादीहरूको जिकिरका सम्बन्धमा विचार गर्दा, माथि उल्लिखित जाहेरी दरखास्त, जाहेरीसाथ दाखिल गरेको बिलबुक यातायात कार्यालय, बुटवलको सरकारी छाप र दस्तखत नमुनासँग मेल नखाएको भन्ने परीक्षण प्रतिवेदन, प्रतिवादीहरू मिली योजना बनाई कार्य विभाजन गरी भारतबाट मोटरसाइकल चोरी गरी ल्याउने र नेपालको नेपाली नम्बर प्लेट राखी नक्कली बिलबुक बनाई बिक्री गर्ने क्रममा जाहेरवालालाई समेत त्यसैगरी विवादित मोटरसाइकल र बिलबुक बिक्री गरी पैसा बाँडेको भन्ने  प्रतिवादीहरूको प्रहरीसमक्षको बयान, प्रतिवादी गुड्डु धुनिया र अर्जुनप्रसाद कलवारको बयान कागजबमोजिम खानतलासी गर्दा निजहरूको घरबाट भारतीय नम्बर प्लेटका मोटरसाइकलहरू र मोटरसाइकलका पाटपुर्जाहरू बरामद भएको अवस्था र जाहेरीसाथ दाखिल गरेको विवादित मोटरसाइकल भारत सिद्धार्थनगर थाना चिलिया बस्ने मुन्ना गुप्ताको नाममा दर्ता रहेको भन्ने प्रहरी चौकी मर्यादपुरको पत्र, मुन्ना गुप्ताले रू. ८०,०००।– मूल्य बराबरको उक्त विवादित मोटरसाइकल चोरी गरी लु.५ प १८७३ को अवस्थामा रहेको भनी चिनी सनाखत गरी प्रतिवादीहरूउपर जाहेरी दरखास्तसमेत दर्ता गरेको,  घटना विवरण कागज गर्ने मानिसले समेत जाहेरीलाई समर्थन गरी कागज गरेकोसमेतका प्रमाण कागजातहरूबाट यी प्रतिवादीहरू सामूहिक रूपमा संलग्न भई विवादित लु.५ प १८७३ नं. को मोटरसाइकल चोरी गरी यातायात कार्यालय बुटवलको सरकारी छाप र कर्मचारीको दस्तखत किर्ते गरी जाहेरवालालाई बिक्री गरेको होइन भनी भन्न सक्ने अवस्था मिसिल सम्बद्ध कागजातहरूबाट देखिन आउँदैन । प्रस्तुत मुद्दाको प्रकृतिले यस किसिमको अपराध एकल व्यक्तिले मात्र गर्न सम्भव नहुने र प्रतिवादीहरूको बयानबमोजिम सङ्गठित रूपमा कार्य विभाजन गरी कसुर गरेको देखिन्छ । सङ्गठित अपराधमा विभिन्न व्यक्तिहरू मिली योजनाबद्ध तरिकाले विभिन्न भूमिकाको साथ एकआपसमा सम्पर्क गरी विभिन्न तह हुँदै एक सिङ्गो अपराधलाई अन्जाम दिई आएको प्रतिफलको लाभ लिने अवस्था 

हुन्छ । भिन्न भिन्न भूमिकाको साथ एक जालो बनाई काम गर्ने हुँदा यस प्रकृतिका चोरी गरी बिक्री गर्ने सङ्गठित अपराधमा यो व्यक्तिले यो नै गरेको भनी यकिन गर्न गाह्रो हुन्छ । प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूले निजको कसुरप्रति व्यक्तिप्रति प्रमाणबाट पुष्टि हुनुपर्छ भनी लिएको जिकिरका सम्बन्धमा यस अदालतबाट ने.का.प.२०७७, नि.नं.१०४१७, अङ्क १ मा रमेश भन्ने बै लामा वि. प्र.ना.नि. सुनिल श्रेष्ठसमेतको प्रतिवेदनले नेपाल सरकार भएको लागु औषध मुद्दामा, "सामान्यतः फौजदारी कसुरमा प्रति अभियुक्तउपरको कसुर छुट्टाछुट्टै प्रमाणित हुनुपर्ने तथा कसुरको मात्रासमेत प्रतिअभियुक्त स्थापित हुनुपर्ने हुन्छ तथापि सामूहिक रूपमा एकआपसमा सङ्गठित जालो भई गरेको कसुरमा कसुरको मात्रा पनि सामूहिक रूपमै समान हुने" भनी व्याख्या गरेको पाइन्छ । प्रतिवादीहरू एक समूहमा काम गर्ने हुँदा यो किर्ते यसले गरेको, यो चोरी यसले गरेको भनी यकिन गर्न नसकिए पनि सबैको संलग्नतामा अपराध गरी आएको प्रतिफल बाँडफाँट गर्ने हुँदा यस प्रकारको अपराधमा सबै प्रतिवादीहरू समान कसुरको भागीदार हुने देखिन्छ । केवल विवादित मोटरसाइकल र नक्कली कागजात प्रतिवादीहरूको साथबाट बरामद नभएको र किटानी प्रमाण नभएको कारणले मात्र प्रतिवादीहरू निर्दोष हुन् भनी निष्कर्षमा पुग्नु न्यायोचित देखिँदैन । 

९. अब प्रतिवादीहरूलाई बिगो रू. ८०,०००।– को दामासाहीले जरिवाना हुने गरी पुनरावेदन अदालत बुटवलबाट भएको फैसला त्रुटिपूर्ण भएको भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिरका सम्बन्धमा विचार गर्दा, सुरू कपिलवस्तु जिल्ला अदालतले प्रतिवादीहरूलाई मुलुकी ऐन, किर्ते कागजको महलको ७ नं.बमोजिम बिगोबमोजिम जनही जरिवाना र ऐ. १२ नं.बमोजिम जनही १ वर्ष कैद सजाय हुने ठहराएकोमा पुनरावेदन अदालत बुटवलले जरिवानाको हकमा बिगोबमोजिम दामासाहीले जरिवाना हुने भनी सुरू फैसला केही उल्टी गरी फैसला गरेको पाइन्छ । मुलुकी ऐन, किर्ते कागजको महलको ७ नं. को कानूनी व्यवस्थालाई हेर्दा "सम्पत्तिका सम्बन्धमा किर्ते गरी लिई खाइसकेको भए बिगो भराई बिगोबमोजिम जरिवाना हुन्छ" भनी व्यवस्था रहेको देखिन्छ । कानूनमा जनही वा दामासाही भनी स्पष्ट उल्लेख गरेको देखिँदैन । पुनरावेदक वादी नेपाल सरकारले सङ्गठित रूपमा गरिने अपराध एक व्यक्तिले गर्ने अपराधको भन्दा कसुरको मात्रा र गुरूत्व बढी हुने हुँदा बिगोबमोजिम प्रतिवादीहरूलाई जनहीले जरिवाना हुनुपर्ने भन्ने जिकिर लिएको देखिन्छ । पुनरावेदक वादी नेपाल सरकारले ने.का.प. २०६८, नि.नं. ८६३७, अङ्क ६ को यस अदालतबाट प्रतिपादित सिद्धान्तलाई आधार लिई आफ्नो जिकिर प्रस्तुत गरेकोमा सामूहिक रूपमा गरिने अपराधमा कसुरदारलाई कैदको हकमा दामासाही नगरी जनही गर्नु न्यायोचित हुने भनी बिगोको विषयमा नभई कैदको विषयमा जनही हुने भनी व्याख्या भएको 

देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरूलाई कैदको हकमा जनही १ वर्ष सजाय हुने ठहराएको अवस्था छ । अब बिगोको हकमा हेर्ने हो भने बिगो रू.८०,०००।– को जनही जरिवाना गर्दा प्रतिवादीहरूले गरेको कसुरअनुसारको बिगो रकमभन्दा बढी जरिवाना असुलउपर हुने देखिन्छ । बिगोभन्दा बढी जरिवाना हुनु कानूनी मनसाय हुन सक्दैन । यसरी कानूनमा बिगोको जनहीले जरिवाना हुन्छ भनी स्पष्ट व्यवस्था नगरेको अवस्थामा उक्त कानूनी प्रावधानलाई कठोर हिसाबले व्याख्या नगरी लचिलो तवरले व्याख्या गर्नु न्यायसङ्गत हुने र बिगोभन्दा बढी जरिवाना असुल गर्नुसमेत न्यायोचित नहुने हुँदा पुनरावेदन अदालत बुटवलले प्रतिवादीहरूलाई बिगो रू. ८०,०००।– को दामासाहीले जरिवाना हुने ठहराएको फैसला मनासिब देखिन्छ ।

१०. तसर्थ माथि विवेचित मुद्दाको तथ्य, आधार, कारण एवं कानूनी व्यवस्था र यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतबाट एउटै उद्देश्यले सङ्गठित भई कसुर गरेको देखिँदा त्यसको भागीदार सबै प्रतिवादीहरू बराबर हुने भएकोले प्रतिवादीहरूलाई मुलुकी ऐन, किर्ते कागजको महलको ७ नं.बमोजिम जनही जरिवाना र ऐ. १२ नं.बमोजिम जनही एक वर्ष कैद सजाय हुने ठहराएको कपिलवस्तु जिल्ला अदालतको मिति २०७०।१०।२६ को फैसला जरिवानाको हदसम्म केही उल्टी भई प्रतिवादीहरूलाई बिगोबमोजिम दामासाहीले रू.८०,०००।– जरिवाना हुने र अरूमा उक्त फैसला सदर हुने गरी पुनरावेदन अदालत बुटवलबाट मिति २०७१।११।१२ मा भएको फैसला कानूनसम्मत भई मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउँ भनी लिएको पुनरावेदन जिकिर र पुनरावेदक वादी नेपाल सरकारले अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी लिएको पुनरावेदन जिकिरसमेत पुग्न सक्दैन । प्रस्तुत मुद्दाको फैसला विद्युतीय प्रणालीमा अपलोड गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. हरिप्रसाद फुयाल

 

इजलास अधिकृत:- रेश्मा बुद्धाचार्य

इति संवत् २०७९ साल मङ्सिर गते २९ रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु