निर्णय नं. ११२५६ - कर्तव्य ज्यान
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई
माननीय न्यायाधीश श्री नहकुल सुवेदी
फैसला मिति : २०७९।१०।२३
मुद्दाः- कर्तव्य ज्यान
०७०-CR-१०६५
पुनरावेदक / प्रतिवादी : जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका, वडा नं.६ बस्ने रविन्द्र भट्टराई
विरूद्ध
प्रत्यर्थी / वादी : जनक भन्ने टेकराज थापाको जाहेरीले नेपाल सरकार
०७०-CR-११८७
पुनरावेदक / वादी : जनक भन्ने टेकराज थापाको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला मोरङ टंकीसिनबारी-४ बस्ने विमल भट्टराईसमेत
०७०-CR-१२८२
पुनरावेदक / प्रतिवादी : ओमप्रसाद दाहालको छोरा मोरङ जिल्ला, विराटनगर उपमहानगरपालिका, वडा नं. ४ घर भई हाल कारागार कार्यालय मोरङमा थुनामा रहेका विजय दाहाल
विरूद्ध
प्रत्यर्थी / वादी : जनक थापा भन्ने टेकार थापाको जाहेरीले नेपाल सरकार
मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं.अन्तर्गतको कसुरदार यकिन पहिचान भएपछि मात्र ऐ.१७ नं.अन्तर्गत मतियारको भूमिकाबारे न्याय निरूपण हुने । वारदात परिदृश्यमा अस्तित्वमा रहेको यकिन नै नभएको व्यक्तिलाई मुख्य भूमिकामा रहेको मानी वारदातमा उपस्थित अन्य सबै प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको महलको १७ नं. बमोजिमको कसुर र सजाय ठहर गरेको फैसला ज्यानसम्बन्धीको महलको कानूनी व्यवस्थाअनुकूल र फौजदारी न्यायका दृष्टिले सङ्गतिपूर्ण नदेखिने ।
(प्रकरण नं.१७)
पुनरावेदक / वादीको तर्फबाट : विद्वान् सहन्यायाधीवक्ता श्री सोमकान्ता भण्डारी
प्रत्यर्थी / प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा, श्री बाबुराम गिरी, हर्कबहादुर भट्टराई र श्री टीकाराम भट्टराई र विद्वान् अधिवक्ता श्री आशिकराम कार्की
अवलम्बित नजिर :
ने.का.प. २०६७ नि.नं. ८३७८
सम्बद्ध कानून :
मुलुकी अपराध संहिता, २०७४
सुरू फैसला गर्ने :
मा. जि. न्या. श्री मेघनाथ भट्टराई
मा. जि. न्या. श्री चण्डीराज ढकाल
मोरङ जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
मा. न्या. श्री राजकुमार वन
मा. न्या. श्री शान्ति सिंह थापा
पुनरावेदन अदालत विराटनगर
फैसला
न्या.डा.आनन्दमोहन भट्टराई : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः
तथ्य खण्ड
जिल्ला मोरङ, विराटनगर उ.म.न.पा., वडा नं.२, विरेन्द्र चौक स्थित राम पान पसल अगाडि क्यारम बोर्ड खेल्ने ठाउँमा क्यारम बोर्ड लडिरहेको अवस्थामा देखिएको, रामनारायण चौधरीको पान पसलभित्र पनि रगतका स-साना टाटाहरू देखिएको, अगाडि क्यारम बोर्ड खेल्ने स्थानमा रगतका टाटाहरू देखिएको, सोही स्थानमा रहेको शारदाप्रसाद गिरीको घर कम्पाउन्ड गेट तथा सो कम्पाउन्डभित्र रहेका सवारी साधनमा समेत रगतका छिटाहरू लागेको, भोला थापालाई धारिलो हतियार प्रहार गरिएको भनिएको घटनास्थल मुचुल्का ।
जिल्ला मोरङ, विराटनगर उ.म.न.पा. स्थित कोशी अञ्चल अस्पतालभित्र रहेको लास घरमा स्टेचरमाथि राखिएको भोला थापा भन्ने योगेन्द्र विरसिंह थापाको टाउको बायाँ कन्चटमा ३ ठाउँमा धारिलो हतियारले काटेको घाउ, छातीको भागमा चोट लागेको डाम देखिएको, बायाँ भागमा २ ठाउँ आधा इन्च गहिराइ १ इन्च गोलाइ बराबरको धारिलो हतियारले घोचिएको घाउ देखिएको, च्युँडोमा आधी इन्च लम्बाई काटिएको बायाँपट्टिको टाउको मुनी ३ इन्च लम्बाई आधी इन्च गहिराई २ ठाउँमा काटिएको घाउ, दायाँ कन्चटमा आधा इन्च लम्बाई भएको धारिलो हतियारले काटेको घाउ, पछाडिको ढाडको बायाँ भागमा ठाडो सात इन्च लम्बाई भएको काटेको घाउ, चाकको बायाँ भागमा दुई ठाउँमा धारिलो हतियारले काटेको घाउ तथा शरीरका विभिन्न अंगहरूमा रगत लागी सुकेको अवस्थामा रहेको भन्ने मृतक भोला थापा भन्ने योगेन्द्र विरसिंह थापाको लास जाच मुचुल्का ।
मिति ०६३।७।३ गते राति दिवस गिरीसमेतका १०/१२ जना मानिसहरू आई तेरो छोरा भोला थापा कहाँ छ देखा, हैन भने तीन दिनभित्र तेरो छोराको लास मात्र भेट्छस् भनी हतियार देखाई मलाई धम्काई गएको, मिति ०६३।७।६ गते साँझ १८:४५ बजेतिर उल्लिखित दिवस गिरीसमेतका ग्याङले ५/६ जना व्यक्तिहरू मोटर साइकलमा आई मेरो छोरा भोला थापा भन्ने योगेन्द्र विरसिंह थापा विरेन्द्र चौक स्थित क्यारम बोर्ड खेलिरहेको अवस्थामा एक्कासि खुकुरी, रड, छड, खुकुरीसमेतका धरीलो हतियार प्रहार गरी रगत पक्ष पारी भोलालाई मार्यो भन्दै गएका छन् भनी तत्काल आदित्य वर्माद्वारा मलाई अस्पतालमा तुरून्त आउनु भनी जानकारी गराएअनुसार कोशी अञ्चल अस्पतालमा गई हेर्दा निज छोराको मृत लास देखेँ, घटनास्थलमा तत्काल गई बुझ्दा दिवश गिरी, विकेश चौधरी, राजेश चौधरी, पप्पु राई, दिपक श्रेष्ठ, रविन्द्र भट्टराई, विमल भट्टराई र मधुसुदन मानन्धरसमेतले ३ दिनभित्र मार्ने धम्की दिई मेरो छोरालाई कर्तव्य गरी मार्ने व्यक्तिलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने मृतकको बाबु जनक थापा भन्ने टेकराज थापाको जाहेरी दरखास्त ।
मिति ०६३।७।६ गते मसमेत राम पान पसल अगाडि क्यारम बोर्ड खेलिरहेको अवस्थामा ८।९ वटा मोटरसाइकलमा ३।३ जनाका दरले खुकुरी रडसमेतका हतियार लिई आएका व्यक्तिहरूले एक्कासि घेरा हाली कुटपिट गर्न लाग्दा भागाभाग भएकोले म पनि भागेँ । त्यसै क्रममा मलाई पनि प्रहार गरेका र अन्यले भोला थापा भन्ने योगेन्द्रवरलाई लखेट्दै शारदा गिरीको घरतर्फ
गए । निज भोला थापालाई उक्त समूहले कर्तव्य गरी मारेको भन्ने सुनी थाहा पाएको हुँ भन्ने प्रत्यक्षदर्शी सुभव वर्मा प्याकुरेलको कागज ।
मिति ०६३।७।६ गते साँझ मेरो पान पसलअगाडि क्यारम बोर्ड खेलिरहेको अवस्थामा ७।८ वटा मोटरसाइकलमा आएका मानिसले भोला थापालाई लखेट्दै शारदाप्रसाद गिरीको घर कम्पाउन्डमा लगी धारिलो हतियार प्रहार गरी भागेकोमा उमेश सिटौलासमेतले उपचारको लागि लगेका हुन् । निज आक्रमण गर्ने व्यक्तिहरूलाई चिन्न सक्छु भन्ने बेहोराको राम नारायण सरदारको कागज ।
मिति ०६३।७।६ गते साँझ भोला थापा, मसमेत राम पान पसलअगाडि क्यारम बोर्ड खेलिरहेको अवस्थामा विकेश चौधरी समातेर लडायो । भोला थापालाई प्रहार गर्नका साथै अन्य मोटरसाइकलमा आएका दिवश गिरी र राजेश चौधरीले भोला थापालाई शारदा गिरीको घर कम्पाउन्डभित्र हतियार प्रहार गरे, पप्पु राई र मधुसुधन मानन्धरले इँटा र छुरीले हाने, दिपक श्रेष्ठ र विमल भट्टराईले वेस बल वेड र रडले हाने । रविन्द्र भट्टराईले थिचेर भोला थापा चल्न छाडेपछि भागेका हुन् । निजहरू भागेपछि भोला थापालाई मसमेतले उपचारको लागि ल्याएकोमा निजको उपचारकै क्रममा मृत्यु भएको हो । वारदात मैले प्रत्यक्ष देखेको हुँ भन्ने बेहोराको आलोक भन्ने आदित्य वर्माको कागज ।
मेरो पसल तथा घटनास्थल नजिकै पर्छ । मिति ०६३।७।६ गते साँझ राम पान पसलअगाडि चर्को हल्ला भएको कारण पसल बन्द गरी के भएछ भनी हेर्न आउँदा छिमेकी शारदाप्रसाद गिरीले मान्छे मार्यो भन्दै चिच्याएको सुनेँ । त्यहाँ ७।८ वटा मोटरसाइकलमा आएका मानिसहरू मोटरसाइकलमै भाग्नेमा लामो कपाल भएको १ जना विकेश चौधरीलाई चिनेँ । उक्त स्थानमा भोला थापालाई निज भागेका जाहेरीमा उल्लिखित व्यक्तिहरूले धारिलो हतियार प्रहार गरी भागेकोले तत्काल मसमेत भई उपचारको लागि रिक्सामा लगेकोमा निजको उपचार गर्दाकै क्रममा मृत्यु भएको हो । निजलाई जाहेरीमा उल्लिखित व्यक्तिहरूले धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्दछ भन्ने बेहोराको उमेश सिटौलाको कागज ।
मिति ०६३।७।६ गते साँझ मेरो घर कम्पाउन्डमा एक जना व्यक्तिलाई केही व्यक्तिहरूले कुटपिट गर्दै गरेको देखेँ । निजहरूलाई चिन्दिनँ । निजहरूलाई त्यस्तो नगर्न भन्दा एकजनाले मलाई नै इँटा ताकेकोले म घरभित्र फर्कें, म त्यहाँबाट फेरि फर्केपछि त्यो मान्छेले घाइते भई लडेको मान्छेलाई इँटाले हानेर भाग्यो । निजहरू भागेपछि दुई जना व्यक्ति आई निज घाइतेलाई उपचारको लागि लगेकोमा निजको मृत्यु भएछ भन्ने बेहोराको शारदाप्रसाद गिरीको कागज ।
मृतकसँग चिनजान छ व्यक्तिगत कुनै रिसइवी झै-झगडा केही छैन । म सो वारदारमा कुनै संलग्नता छैन । भोला थापालाई निज दिवश गिरी, विकेश चौधरीसमेतले खुकुरी प्रहार गरी मारेको भन्ने सुनी थाहा पाएको हुँ । भोला थापाकै समूहका सुरज गुप्ता आलोकसँग मेरो पुरानो दुस्मनी भए पनि मैले उक्त दिन दिउसो सुरज गुप्तालाई धम्काएको र सोही साँझ भोला थापाको हत्या भएको, तिनीहरूको ग्रुप र हाम्रो ग्रुपको सम्बन्ध राम्रो नभएको कारण रिसइवीले मेरो नाममा पनि किटानी जाहेरी दिएको हुनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादी विमल भट्टराईको अधिकारप्राप्त अधिकारीसमक्षको बयान ।
घटनास्थलको विभिन्न भागबाट लिइएको रगतको नमूना परीक्षण गरी सोको परीक्षण प्रतिवेदन पठाइदिनु हुन भनी केन्द्रीय वैज्ञानिक प्रयोगशाला महाराजगन्ज काठमाडौंमा नमूना परीक्षणको लागि पठाइएको पत्र ।
Cause of death: incised wound in head deep by sharp cutting weapons damage brain matter expose with haemorage and death भन्ने भोला थापाको शव परीक्षण प्रतिवेदन ।
मिति ०६३।७।६ गते साँझ भोला थापालाई धारिलो हतियार प्रहार गरी भाग्ने फरार प्रतिवादीहरूको खोज तलास एवं पक्राउ गरी दाखिला गर्नु हुन प्रहरी निरीक्षक विमल बस्नेतको कमान्डमा टोली खटाइएको पत्र ।
मिति ०६३।७।६ गते दिउँसो प्रतिवादी विमल भट्टराईले मसँग झगडा गरी तँलाई र भोला थापालाई नमारी छोड्दिन भनेका थिए । निजको हामी भोला थापाको समूहसँग रिसइवी थियो । सोही कारण निज विमल भट्टराईलगायत जाहेरी दरखास्तमा उल्लिखित मानिसहरूले नै भोला थापालाई सो स्थान, मिति र समयमा धारिलो हतियार प्रहार गरी हत्या गरे भन्ने कुरा सुनेर थाहा पाएको हुँ । घटना मेरै आँखाले नदेखे तापनि उल्लिखित प्रतिवादीहरूसँग पहिला झगडा भएको कारण मारेकोमा विश्वास लाग्छ भन्ने बेहोराको सुरज गुप्ताको कागज ।
मिति ०६३।७।६ गते भोला थापालाई हान्दै गर्ने व्यक्तिमध्ये विमल भट्टराई पनि एक हो । मैले प्रत्यक्ष देखेको हुँ भनी मिति ०६३।७।११ गते यस कार्यालयमा गरेको कागजमा उल्लिखित विमल भट्टराई भन्ने व्यक्ति यिनै हुन्, हाल देखाउँदा देखी चिनेँ भन्ने बेहोराको प्रत्यक्षदर्शी मृतकसँगै क्यारम बोर्ड खेल्ने भनिएका आलोक भन्ने आदित्य बर्माको सनाखत कागज ।
बा.२१ प. ४८२७ नं. को हिरो होन्डा मोटरसाइकल विमल भट्टराईको बुबाले मर्मत गर्नको लागि मेरो वर्कशपमा दशैंअगाडि ल्याउनु भएकोमा पूर्ण मर्मत भई नसकेको कारणले हालसम्म उक्त मोटरसाइकल मेरै वर्कशपमा छ । बिचबिचमा कसैले ल्याउने लैजाने काम गरेको छैनन् भन्ने बेहोराको भाजुरत्न वर्कशपका मेकानिक पुष्कर लामिछानेको कागज ।
मिति ०६३।७।६ गते दिउँसो ४:०० बजेदेखि साँझ करिब ७:३० बजेसम्म विमल भट्टराई र उसका साथीहरूले मेरो रेष्टुरेन्टमा वियर नास्ता खाई विमल भट्टराईको पैसा तथा मोबाइल अज्ञात व्यक्तिले लुटी लगेको सम्बन्धमा कुराहरू गरी बसिरहेको थिए भन्ने बेहोराको मनकामना रेष्टुरेन्टका सञ्चालक अमर प्रधानको कागज ।
घटनास्थलमा उल्लेख गरिएका नम्बरका गाडीहरूमध्ये ट्याक्टरहरू मेरै हुन् भनेका र छोराले काठमाडौंबाट लिएर आएको हो । वारदातको अवस्थामा उक्त गाडीहरू कुनैमा पनि मानिसहरू थिएनन् । सोही वारदातका क्रममा उक्त गाडीको विभिन्न भागहरूमा रगत लागेको हुन सक्छ भन्ने बेहोराको शारदाप्रसाद गिरीको कागज ।
मिति ०६३।७।६ गते राति अं. ९:१५ बजे समयमा हाल मेरो छोराको हत्या गरी फरार रहेका दिवश गिरी, पप्पु राई जाहेरीमा मैले विकेश चौधरी भनी लेखाएका राजेश साहसमेतका मानिसहरू आई मलाई धम्काई तेरो छोरा भोला कहाँ छ बाहिर निकाल् हैन भने तेरो छोराको तीन दिनभित्र लास भेटछन् भनी धम्काएर गएका हुन् भन्ने बेहोराको जनक थापा भन्ने जाहेरवाला टेकराज थापाको मिति ०६३।७।२२ को कागज ।
यस कार्यालयबाट मेरो कमान्डमा फरार अभियुक्तहरूको खोजतलास गर्न टोली खटाएबमोजिम खोजतलास गर्दै जाने क्रममा सोही वारदातमा संलग्न रहेको भनी केही व्यक्तिहरूले विराटनगर-६ बस्ने अशोक हुमागाइँलाई कुटपिट गर्दै गरेको अवस्थामा फेला परेका र निज उक्त वारदातपश्चात् फरार रहेका र सो घटनाको योजनाकार हुन सक्ने भन्ने बुझिन आएका हुँदा आवश्यक कारबाहीको लागि पेस गरेको छ भन्ने प्रहरी निरीक्षक विमल बस्नेतको दाखिला
प्रतिवेदन ।
मैले तत्काल जाहेरीमा नाम किटान गरेबाहेकका अन्यसमेत १०।१२ जना भनी नाम उल्लेख गरेकोमध्ये मेरो छोराको हत्या काण्डमा निज अशोक हुमागाइँको पनि संलग्नता छ । निजले सो दिन मेरो छोराको हत्या गर्नको लागि दिवश गिरीसमेतलाई भेला जम्मा बनाइ सोको योजना बनाएका र उक्त घटना घटाएका हुन् भन्ने बेहोराको जाहेरवाला जनक थापा भन्ने टेकराज थापाको मिति ०६३।७।२३ को कागज ।
मृतक तथा फरार प्रतिवादीहरूलाई
चिन्दछु । मैले निजहरूलाई नराम्रो काममा लाग्नु हुँदैन एकआपसमा भई झगडा गर्नु हुँदैन भनी बेलाबेलामा सम्झाउने गर्थें । निज भोला थापालाई हत्या भएको मैले वारदातको भोलिपल्ट मात्र थाहा पाएको हुँ । सो कार्यमा मेरो कुनै पनि संलग्नता छैन । म व्यापारिक कारोबार गर्ने मानिस हुँदा कहिले काहीँ घरबाहिर बस्ने गरेको
हुँ । म भागी फरार भएको छैन भन्ने बेहोराको प्रतिवादी अशोक हुमागाइँको बयान ।
परीक्षणको लागि पठाइएको नमूनाहरू २, ३, ४, ५, ६, २८ मानिसको रगत हो । उक्त रगतमध्ये नमूना नं. २, ३, ५, ७ र ९को रक्त समूह (ए) नमूना नं. ६ को (ओ) र नमूना ४ को (एवी) हो भन्ने नमूना परीक्षण प्रतिवेदन ।
विराटनगर २ बस्ने सुभव वर्मा प्याकुरेलको टाउकाको अगाडिको भागमा काटेको घाउ रहेको भन्ने घाउ जाँच प्रतिवेदन ।
मिति ०६३।७।६ गते साँझ मसमेत भोला थापासँग सँगै क्यारम बोर्ड खेलिरहेको अवस्थामा उत्तरतिरबाट ८।१० वटा मोटरसाइकलमा आएका मानिसहरूमध्ये लामो कपाल भएकोले पछाडिबाट हतियार निकाली हान्न लाग्दा डर लागेकोले हामी सबै भाग्यौं । यसै क्रममा भोला थापालाई निज जाहेरीमा उल्लिखित मानिसहरूले शारदा गिरीको घर कम्पाउन्डमा पुर्याई घाइते बनाएको रहेछन् । पछि अस्पताल लगी उपचार गराउने क्रममा निजको मृत्यु भएकोले जाहेरीमा उल्लिखित मानिसहरूले भोला थापालाई कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्छ भनी गरेको अनिल शर्माको कागज ।
मिति ०६३।७।६ गते साँझ म पनि राम पान पसलअगाडि भोला थापाहरू क्यारम बोर्ड खेलेको हेरी वसेका अवस्थामा चिनेका तथा नचिनेका मानिसहरू मोटरसाइकलमा आई लामो कपाल भएको मानिसले हतियार निकाली भोला थापालाई प्रहार गर्न लागे । भोला थापा भाग्दै गर्दा विमल भट्टराई, दिवश गिरी तथा दिपक श्रेष्ठसमेतले लखेट्दै थिए । अन्य मानिसलाई मैले चिन्दिनँ । भोला थापालाई घाइते पारेको अवस्थामा उपचारको लागि केशी अञ्चल अस्पताल जाँदा निज भोलाको मृत्यु भएको हो । यिनै जाहेरीमा उल्लिखित व्यक्तिहरूको प्रहारबाट भोला थापाको मृत्यु भएकोमा विश्वास लाग्छ भन्ने धौला भन्ने विजय रायको कागज ।
मिति ०६३।७।६ गते साँझ विरेन्द्र चौकमा क्यारम बोर्ड खेलिरहेको अवस्थामा जाहेरीमा उल्लिखित मानिस तथा अशोक हुमागाईसमेतका अन्य व्यक्तिहरू भई भोला थापालाई धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्छ भन्ने वस्तुस्थिति मुचुल्काका सुमन श्रेष्ठ, अभिषेक नेपाल तथा गिता सिटौलाको कागज ।
मौकामा पर्न आएको जाहेरी दरखास्त, घटनास्थल एवं लास प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदन, घटनास्थलमा फेला परेको खुकुरीको बिँड, जाहेरीमा उल्लिखित भएका देख्ने बुझ्ने भनिएका सुभव प्याकुरेल वर्मा, आलोक भन्ने आदित्य वर्मा र शारदाप्रसाद गिरीको कागज बेहोरा, घटनास्थल भनिएको ठाउँमा पसल गरी बस्ने पान पसलले राम नारायण सरदार र किराना पसले उमेश सिटौला तथा गिता सिटौला एवं अन्य बुझिएका सुरज गुप्ता, अनिल शर्मा, धौला भन्ने विजय राय र वस्तुस्थितिका सुमन श्रेष्ठ र अभिषेक नेपालको कागज बेहोरा र पक्राउ परेका प्रतिवादीद्वय विमल भट्टराई तथा अशोक हुमागाईको बयान कागजबाट मिति ०६३।७।६ गते साँझ १८:३० बजेको समयमा विराटनगर उपमहानगरपालिका वार्ड नं. २ स्थित तिनपैनी स्थित बजरंगवली चौकको राम पान पसलअगाडि शारदाप्रसाद गिरीका घर आँगन कम्पाउन्डभित्र जाहेरवालाको छोरा वर्ष २२ को भोला भन्ने योगेन्द्र विरसिंह थापालाई धारिलो हतियार प्रहार गरी मारेको कर्तव्य ज्यान वारदात स्थापित हुन आएकोले प्रतिवादीहरू विमल भट्टराई, अशोक हुमागाई, दिवश गिरी, विकेश चौधरी भन्ने विकेश साह, राजेन्द्र चौधरी भन्ने राजेश साह, पप्पु राई, खुदी भन्ने दिपक श्रेष्ठ, रविन्द्र भट्टराई र मधुसुधन मानन्धरसमेत नाम नखुलेको र अन्य तत्काल नाम, थर, वतन खुल्न नसकेको अन्य प्रतिवादीहरूसमेतले मृतक भोला थापालाई ज्यान मार्ने उद्देश्यले पूर्वरिसइवी साँध्ने मनसायले प्रतिवादीहरू अशोक हुमागाईको नेतृत्वदायी षड्यन्त्र र योजनाबाट निजसमेतले वारदातमा उपस्थित भई धारिलो हतियार, रड तथा हातहतियारसमेतको प्रयोग गरी कर्तव्य गरी मारेको भन्ने स-प्रमाण पुष्टि हुन आई प्रतिवादीहरूले ज्यानसम्बन्धी महलको १ र १३ नं. को बर्खिलाप कसुर अपराध गरेको देखिँदा विरूद्ध खण्डका विमल भट्टराईसमेतका ९ जना प्रतिवादीलाई सोही महलका १३(१) नं.बमोजिम सजाय गरिपाउन र फरार प्रतिवादीहरू दिवस गिरी, राजेश चौधरी भन्ने राजेश साह, विकेश चौधरी भन्ने विकेश साह, पप्पु राई, खुदी भन्ने दिपक श्रेष्ठ, रविन्द्र भट्टराई र मधुसुधन मानन्धरको नाममा वारेन्टसहितको म्यादी पुर्जी जारी गरिपाउन र वारदातमा संलग्न तत्काल नाम, थर, वतन नखुलेका अन्य प्रतिवादीहरूका हकमा पछि यकिन भई खुलिआएमा कानूनबमोजिम दाबी लिइने बेहोरासमेत अनुरोध छ भन्नेसमेत बेहोराको मिति ०६३।८।४ को अभियोगपत्र ।
मृतक भोला थापा र प्रतिवादी दिवश गिरी दुई ग्रुपका मानिसहरू हुन् । उनीहरूको ग्रुपको पुरानो रिसइवी थियो । म कसैको ग्रुपमा नभए पनि सो कुराको जानकारी थियो । मिति २०६३/७/६ गते दिउँसो दिवस गिरीले फोन गरेर मलाई वरगाछी चोकमा बोलाएकोले मैले मेरो मामाको मोटरसाइकल लिई चोकमा गएँ । चोकमा विकेश साह र दिवश गिरी रहेछन् । निजहरूले मलाई एउटा चिया पसलमा लगी चिया, चुरोट फेन्सीडील र नाइट्रोसन् ट्याबलेट खुवाए र निजहरूले पनि खाए । सो साँझ करिब ६:१५ बजेतिर मेरो मोटरसाइकलमा विकेश र दिवशलाई राखेँ । निजहरूले मलाई चलाउन लगाई तीनै जना मोटरसाइकलमा बसी बिजुली अफिस जाउँ भनी
आयौँ । विपक्षीले मोटरसाइकल रोकी दिवशले नजिकै रहेको मासु पसलबाट २।३ वटा खुकुरी, काट्टी ल्यायो र मलाई मोटरसाइकलबाट ओराली सिटमुनि सो खुकुरी कट्टी लुकाई मलाई नै मोटरसाइकल लिई तिनैपनी हुँदै विरेन्द्र चोक पुगी त्यहाँ पुग्दा, मधुसुदन मानन्धर, पप्पु राई, खुदी भन्ने दिपक श्रेष्ठ, राजेश साह, रविन्द्र भट्टराईसमेतका व्यक्तिहरूले इँट्टा, रड, कट्टी र खुकुरी आदिले भोला थापालाई हान्दै लखेट्दै गरेका रहेछन् । सो ठाउँमा पुगेपछि मलाई मोटरसाइकल रोक्न लगाई मलाई मोटरसाइकलबाट झराली सिटमुनि लुकाएको कट्टी र खुकुरी लिएर दिवश गिरी र विकेश साहले भोला थापाको टाउको तथा शरीरको विभिन्न भागमा
हाने । मलाई पनि लागु औषधको नशा लागेको नशाकै सुरमा मैले पनि दुई पटक लात्तीले भोला थापालाई हानेँ । निजको शरीरबाट अधिक रक्तश्राव भई ढलेपछि मर्यो भागौं भनी दिवसले भनेपछि दिवश आफैँले मोटरासाइकल चलाई विकेश र म पछाडि बसी जोगवनी हुँदै भारत पुग्यौं भन्ने बेहोराको प्रतिवादी विजय दाहालले मिति २०६३।८।४ मा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
त्यो वारदातमा कुनै अप्रिय घटना हुन नपाओस् भन्ने अभिप्रायले लात्ती हानेकोसम्म हो, भिँडमा मैले भोला थापालाई छुट्याउने नियतले हानेको हो । कसलाई लाग्यो मलाई थाहा भएन । घटना म एक्लैको बुताले नभ्याउने हुँदा ५,१० मिटर परै
बसेँ । वारदातमा संलग्न प्रतिवादीहरूले भोला थापालाई नजिकैको एउटा गेटनेर पुऱ्याएर हातहतियारले हिर्काउनासाथ गेट नै रगतपच्छे भयो । दिवस गिरी, विवेक साह, राजेश चौधरी, रविन्द्र भट्टराई, पप्पु राई, दिपक श्रेष्ठ, मधुसुदन मानन्धरसमेतले खुकुरी, कट्टी, दाउसमेत प्रयोग गरेका र अन्य प्रतिवादीहरू शम्भु राई, राजकुमार चौधरीसमेतले ढुङ्गा र लात्ती प्रयोग गरेका थिए । ज्यादै ठुलो विभत्स घटनाले गर्दा कानूनबाट नभागी प्रायश्चित गर्ने मनसायले प्रहरीमा आफैँ हाजिर हुनका लागि निवेदन दिएको हो भन्नेसमेत बेहोराको प्रतिवादी विजय दाहालले सुरू अदालतमा गरेको बयान ।
म भोला थापालाई कुटपिट गर्न गएको थिइँन । म वारदात भएको मिति समयमा आयल निगम चौकमा रहेको मनोहर फाष्ट फुडमा रहेको हुँदा मलाई लगाएको आरोप झुट्टा हो । भोला थापाको ज्यान मार्ने कार्यमा संलग्न छैन । अनुसन्धान अधिकारीसमक्षको बयान मलाई सही गराउने बेलामा पढेर सुनाएनन् सही गर भने मैले सहीछाप गरिदिएँ । म अन्य प्रतिवादीहरूसँग मिली भोला थापामाथि आक्रमण गर्न गएको भन्ने दाबी झुट्टा
हो । मैले भोला थापालाई कुटपिट गरी मारेको होइन भन्नेसमेत बेहोराको प्रतिवादी विमल भट्टराईले सुरू अदालतमा गरेको मिति ०६३।८।५ को
बयान ।
मैले षड्यन्त्र गरी योजना बनाई भोला थापालाई हतियार प्रयोग गरी कुटपिट गरी ज्यान मारेको होइन । मैले भोला थापालाई मार्ने कार्यको नेतृत्व गरेको छैन । म आफ्नो व्यवसाय गरी खाने यो ४५ वर्षको उमेरको मान्छे २०।२२ वर्षका केटाहरूसँग सँगै हिँड्ने सङ्गत गर्ने सम्भव पनि छैन । म भोला थापालाई मार्ने कार्यमा संलग्न नहुँदा अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन । म कारोबारको सिलसिलामा विराटनगरको गुद्री चौकमा पुग्दा सुरज गुप्ताको समूहले यो वरगाछीको मान्छे
हो । भोला थापाको केसमा यसको पनि संलग्नता छ भनी कुटपिट गरी घाइते बनाई प्रहरीमा बुझाएका
हुन् । निज भोला थापालाई को, कसले मारे मलाई थाहा छैन भन्नेसमेत बेहोराको प्रतिवादी अशोक हुमागाईले सुरू अदालतमा मिति ०६३।८।७ मा गरेको बयान ।
मिति ०६३।७।६ गतेका दिन भोला थापालाई आजादले खुकुरी प्रहार गरेका थिए । मैले भोला थापालाई रोडमा भएको ढुङ्गा टिपी हिर्काएकोसम्म हुँ । भोला थापा घाइते भई लडेपछि हामी पनि घटनास्थलबाट भागी गयौं । मैले अशोक हुमागाईको नेतृत्वमा भोला थापालाई मार्ने उद्देश्यले घटनास्थल गई भोला थापालाई कर्तव्य गरी मारेको होइन । मलगायत मेरो साथी औषधी खरिद गर्न गइरहेको अवस्थामा भोला थापालगायत निजका साथीहरूले नै मलाई घेरा हाली धारिलो हतियार प्रहार गरेको र मेरो साथीलाई झट्टी हानेको खुकुरीबाट बच्न सफल भई सोही खुकुरी टिपी भोला थापाको साथीहरूलाई आजादले भगाएका र भोला थापालाई नभागी आजादसँग भिड्न आएका कारण निजले भोलालाई खुकुरीले प्रहार गरेका
हुन् । भोलालाई कहाँ चोट पर्यो देखिनँ, म आफैँ नै घाइते भएकोले भारत जोगवनी गई उपचार गराएको हुँ । निज भोलाको साथी आजाद अन्सारीले प्रहार गरेको चोटका कारण मृत्यु भएकोसम्म हो । मैले दाबीअनुसारको कसुर अपराध नगरेको हुँदा मउपरको झुट्टा दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको विकेश चौधरी भन्ने विकेश साहले मिति ०६३।१२।७ मा सुरू अदालतमा गरेको बयान ।
मिति ०६३।७।३ गतेदेखि मलाई ज्वरो आई बिरामी परेको थिएँ । मिति ०६३।७।६ गते बेलुकी मलाई काम ज्वरो आई मेरो भाइ विकेश चौधरी मलाई औषधी खरिद गर्न भनी गएका
थिए । भाइ बेलुका घरमा नै आएन, भाइ काहाँ गए, किन घरमा आएनन् भनी मेरा घरपरिवारका मानिसहरूले मिति ०६३।७।७ गते बिहान सोधखोज गर्दा मेरो भाइसमेतलाई यी मर्ने भोला थापासमेतका साथीहरूले तिनपैनीमा बाटो छेकी कुटपिट भएछ, भोला थापासमेतले मेरो भाइको साथी आजाद अन्सारीलाई खुकुरीले झट्टी हानेछन्, सो खुकुरीको चोटबाट भाइहरू छलिई सोही खुकुरी टिपी भोला थापालाई प्रहार गर्दा भोला थापाको मृत्यु भयो भन्ने कुरा घरपरिवारले मलाई सुनाउँदा थाहा पाएकोसम्म हुँ । म वारदातमा संलग्न पनि
छैन । मैले दाबीअनुसारको कसुर अपराध गरेको पनि छैन होइन, मउपरको झुट्टा अभियोग माग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी राजेश चौधरीले सुरू अदालतमा मिति ०६४।१।५ मा गरेको बयान ।
मिति ०६३।७।५ गतेका दिन भाइटीका लगाउन भनी बहिनीको घर ज्ञानेश्वर काठमाडौं डे-बसबाट गएको थिएँ । बहिनीको हातको टीका लगाई केही दिन बहिनीको घरमा बसेँ । त्यसपछि केही दिन मेरो ससुराली घर भक्तपुरमा बसी मिति ०६३।८।२१ गते विराटनगर आएको हुँदा वारदात भएको भनिएको मिति समयमा म विराटनगरमा नै थिइनँ । वारदातमा संलग्न नभएको व्यक्तिसमेतको नाउँमा लगाइएको दाबीबाट सफाइ पाऊँ । मलाई दाबीअनुसार सजाय हुने होइन भन्नेसमेत बेहोराको प्रतिवादी मधुसुधन मानन्धरको मिति ०६४।१।५ मा सुरू अदालतमा गरेको बयान ।
यसमा वादीका साक्षी जाहेरवाला जनक थापा भन्ने टेकराज थापा, सुभव वर्मा प्याकुरेल, शारदाप्रसाद गिरीले र प्रतिवादीहरूका साक्षी नविन बुढाथोकी, सानु थापा, राजेश पुडासैनी, उद्धव कोइराला, दिपक चापागाई, अनिल साह, मनिष अत्री, लक्ष्मण सुवेदी, धिरेन्द्रजङ्ग राणासमेतले गरेको बकपत्र मिसिल सामेल रहेको ।
यसमा फरार प्रतिवादीहरू दिवस गिरी, दिपक श्रेष्ठ, पप्पु राई, रविन्द्र भट्टराईको अंश रोक्का भई मुचुल्का मिसिल सामेल रहेको ।
यसमा प्रतिवादी विमल भट्टराई, राजेश चौधरी, अशोक हुमागाई, मधुसुदन मानन्धरले मिति ०६६।११।११ मा सफाइ पाउने ठहरी फैसला भएको साथै सोही मितिमा प्रतिवादी विकेश चौधरी र विजय दाहाललाई १०।१० वर्ष कैद सजाय हुने फैसला भएको र प्रतिवादी दिवश गिरी, पप्पु राई, खुदी भन्ने दिपक श्रेष्ठ र रविन्द्र भट्टराईका हकमा मुद्दा अ.बं. १९० नं.बमोजिम मुल्तबीमा रहेको ।
यसमा सुरू अदालतको मिति ०६६।११।११ को फैसलाअनुसार प्रतिवादी दिवश गिरीका हकमा अ.बं.१९० नं.बमोजिम मुल्तबीमा रहेकोमा जिल्ला सरकारी वकिल कार्यालय मोरङको च.नं.२१९ मिति ०६७।६।५ को पत्रसाथ निज प्रतिवादीलाई उपस्थित गराएको हुँदा प्रतिवादी दिवश गिरीको हकमा मुल्तबीबाट जगाइदिएको छ भन्ने ०६७।६।६ को सुरू अदालतको आदेश ।
वारदात भनिएको मिति र समयमा म विराटनगरमा नभई काठमाडौंमा व्यापार गरी बसेको हुँ । निज भोला थापाको मृत्यृ भएकोसम्म पनि मलाई थाहा थिएन । निजलाई, को कसले के कुन कारणले कहिले कर्तव्य गरी मारे सोसमेत आफूलाई कुनै थाहा जानकारी नभएको, आफूले जाहेरवालालाई कहिल्यै नचिनेको र सो मितिमा घटेको भनिएको घटनामा म गाउँघरमा नभई काठमाडौंमा रहेको हुँदा उक्त घटनामा मेरो उपस्थिति देखाई दिएको जाहेरी बेहोरा मेरो हकमा साँचो होइन । मैले अपराध नै नगरेको अपराध भएको भनिएकोसमेत नदेखिएको हुँदा सजाय पाउने होइन भन्नेसमेत बेहोराको मिति ०६७।६।६ गते प्रतिवादी दिवश गिरीले सुरू अदालतमा गरेको बयान ।
यसमा प्रतिवादी दिवश गिरीले वादी दाबीबाट सफाइ पाउने गरी मिति ०६७।११।५ मा फैसला भएको ।
यसमा, हाजिर गराइपाउँ भनी रविन्द्र भट्टराईले द.नं. ९६१७ मिति ०६८।१।२७ मा निवेदन दिई सोही मितिमा निजका हकमा अ.बं. १९० नं.बमोजिम मुल्तबीमा रहेको मुद्दा जगाई बाँकी काम कारबाही भएको ।
जाहेरी बेहोरा पढी बाची सुनाउँदा सुनी पाएँ, जाहेरवाला, मृतक तथा अन्य प्रतिवादीहरू कसैलाई चिन्दिनँ । जाहेरी बेहोरा झुट्टा हो । उल्लिखित मितिमा म काठमाडौंमा थिएँ । मैले जाहेरवालाको छोरालाई मारेको छैन । ०६२ सालदेखि नै म कामको खोजीमा काठमाडौंमा बसी आएको थिएँ । कर्तव्य ज्यान मुद्दामा तेरो पनि नाम परेको छ भनी १ महिनाअगाडि भनेको हुँदा थाहा पाई के कस्तो मुद्दा रहेछ भनी विराटनगर आई बुझ्दा थाहा पाएको हुँ । म ०६२ सालदेखि एक्सिलेन्ट एजुकेसनल कन्सल्टेन्सीमा काम
गर्दछु । घटनाको मिति समयमा म काठमाडौंमा नै रहेको हुँदा मैले मारे, मराएको होइन भन्ने प्रतिवादी रविन्द्र भट्टराईले सुरू अदालतमा मिति ०६८।१।२७ मा गरेको बयान ।
यसमा प्रतिवादी रविन्द्र भट्टराईको साक्षी दिपेस लामा, निर्मल खनालले सुरू अदालतमा आई बकेको बकपत्र मिसिल सामेल रहेको ।
जाहेरी बेहोरा पढी बाची सुनाउँदा सुनी
पाएँ । जाहेरवाला मृतकलाई चिन्दिनँ, प्रतिवादीमध्येका दिवस गिरीलाई सामान्य रूपले चिनजान छ । अन्य प्रतिवादीहरूलाई चिन्दिनँ, झगडा केही छैन । घटनाको समयमा काठमाडौंमा रहेको हुँदा मैले कुनै कसुर अपराध गरेको नहुँदा मउपरको अभियोग दाबी झुटा
हो । किन मउपर जाहेरी दिए थाहा भएन । मैले मृतकलाई मारेको होइन भन्ने प्रतिवादी पप्पु भन्ने आशिष राईले सुरू अदालतमा गरेको बयान ।
जाहेरी बेहोरा पढी, बाची सुनाउँदा सुनी पाएँ, म काम गरी खाने मानिसलाई किन जाहेरी दिए थाहा भएन । म घटना भएको समयमा काठमाडौंमा थिएँ । घटना हुनुभन्दा ३, ४ महिनाअगाडि गएको थिए । म २०६७ असारमा घर फर्केको थिएँ । मैले ज्यान मारेको होइन । निजहरू कसैलाई म
चिन्दिनँ । किन त्यस्तो बेहोरा लेखाए मलाई केही पनि थाहा भएन भन्ने प्रतिवादी खुदी भन्ने दिपक श्रेष्ठले सुरू अदालतमा गरेको बयान ।
यसमा प्रतिवादी आशिष राईका साक्षी संजय राई, अभिषेक श्रेष्ठ र प्रतिवादी दिपक श्रेष्ठका साक्षी ऋषि सुवेदी, खगेन्द्र थापाले अदालतमा आई बकेको बकपत्र मिसिल सामेल रहेको ।
यसमा आदेशानुसार काम सम्पन्न भएका कागजात मिसिल सामेल रहेको ।
आलोक भनिएका आदित्य वर्माले प्रहारकर्ता हुन् भने पनि अदालतमा बकपत्र गर्न नआएका र प्रतिवादी विजय दाहालको बयानबाट पनि हतियारसहित उपस्थित थिए भनी लेखाए पनि प्रहार गरेको देखेका हौं भनी भन्न नसकेको र जाहेरवालाको जाहेरी तथा बकपत्रसमेतबाट प्रहार गरेको भन्न नसके पनि ३ दिनपहिले जाहेरवालाको घरमा गई मृतकलाई मार्ने धम्की दिनेमध्येका यिनै प्रतिवादी पप्पु राई र दिपक श्रेष्ठसमेत थिए भनी बकपत्रमा उल्लेख गरिएको हुँदा यी प्रतिवादीहरू १७(१) बमोजिमका मतियार देखिँदा जनही १० वर्ष कैद हुने ठहर्छ । अर्को प्रतिवादी रविन्द्र भट्टराई जाहेरी दरखास्त, जाहेरवालाको बकपत्र, मौकामा कागज गर्ने व्यक्तिहरूको कागजसमेतका कागजसमेतको आधारमा निजको घटनास्थलमा उपस्थिति पुष्टि भएको तर मिति २०६३।७।३ गते मृतकलाई जाहेरवालासँग मार्ने धम्की दिनेमध्येको यी प्रतिवादी नदेखिँदा निज ज्यानसम्बन्धी महलको १७ (३) बमोजिम मतियार देखिँदा ऐ.नं.बमोजिम ३ वर्ष कैद हुने ठहर्छ भन्नेसमेत बेहोराको सुरू मोरङ जिल्ला अदालतको मिति २०६९।०३।२८ को फैसला ।
मृतकको पोस्टमार्टम रिपोर्ट, घटनास्थल मुचुल्का र साक्षी बकपत्रसमेतको आधारमा प्रतिवादीहरूलाई अभियोगदाबीबमोजिम सजाय गर्नुपर्नेमा सो नगरी प्रतिवादीमध्येका विजय दाहाल र विकेश चौधरी भन्ने विकेश साहलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ ( १) बमोजिम जनही १० वर्ष कैद र अन्य प्रतिवादीहरू विमल भट्टराई, अशोक हुमागाई राजेश चौधरी भन्ने राजेश साह र मधुसुदन मानन्धरलाई सफाइ दिने गरी भएको सो हदसम्मको फैसला बदर गरी प्रत्यर्थीहरू सबैजनालाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको मिति २०६७।०२।३१ मा तत्कालीन पुनरावेदन अदालत विराटनगरमा गरेको पुनरावेदन-पत्र ।
वादी नेपाल सरकारले प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम मउपरको दोष प्रमाणित गर्न नसकेको अवस्थामा मलाई दोषी करार गरी भएको सुरूको फैसला फौजदारी न्यायको सिद्धान्तविपरीत हुँदा फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी विकेश चौधरी भन्ने विकेश साहले तत्कालीन पुनरावेदन अदालत विराटनगरमा गरेको पुनरावेदन-पत्र ।
यसमा प्रतिवादी विमल भट्टराईसमेतलाई सफाइ दिएउपर नेपाल सरकारको र सजाय ठहर गर्ने गरी भएको सुरूको फैसलाउपर प्रतिवादी विजय दाहाल र विकेश साहको पुनरावेदन परेको देखिँदा एकआपसमा सुनाउने साथै वस्तुस्थिति मुचुल्काका अभिषेक नेपालले पहिला विकेश चौधरीले कुटपिट गर्न थालेपछि अरू सबै घर पसे भनी लेखाएको स्थिति र मृतक भोला थापाको पोष्टमार्टम रिपोर्टसमेतलाई मध्यनजर गर्दा प्रमाण मूल्याङ्कनको आधारमा सुरू मोरङ जिल्ला अदालतको मिति २०६७।०२।३१ को फैसला फरक पर्न सक्ने हुँदा छलफलका लागि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाइ पेस गर्नु भनी मिति २०६७।११।३ मा तत्कालीन पुनरावेदन अदालत विराटनगरबाट भएको आदेश ।
प्रतिवादीले Plea of alibi को जिकिर लिएकोलाई स्वतन्त्र तथा निष्पक्ष प्रमाणबाट पुष्टि गराउन सक्नुपर्नेमा सो नगरी अभियोग दाबीबाट प्रतिवादी दिवस गिरीलाई सफाइ दिने गरी भएको फैसला मिलेको नदेखिँदा बदर गरी अभियोगदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तत्कालीन पुनरावेदन अदालतमा गरेको पुनरावेदन पत्र ।
यसमा यसै प्रत्यर्थी प्रतिवादीसरहका अन्य प्रतिवादी विमल भट्टराईसमेतले अभियोग माग दाबीबाट सफाइ पाउने ठहरी सुरू जिल्ला अदालतबाट भएको फैसलाउपर वादी नेपाल सरकारको पुनरावेदन परेकोमा यस अदालतबाट प्रत्यर्थी झिकाउने आदेश भएको परिप्रेक्ष्यमा प्रस्तुत पुनरावेदनको सन्दर्भमा समेत मुलुकी ऐन अ.बं. २०२ नं. एवम् पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाउनु साथै पूर्वआदेशबमोजिम म्याद सूचना जारी भएको प्रतिवादीमध्येका विमल भट्टराईको वतन पुनरावेदनपत्रमा जिल्ला मोरङ टंकिसिनुवारी गा.वि.स. वडा नं. ४ पुष्पलाल चौक बस्ने बलबहादुरको छोरा भनी उल्लेख भएकोमा गा.वि.स. को नाम र वडा नं. मात्र उल्लेख गरी बाबुको नाम र पुष्पलाल चौक उल्लेख नगरी जारी भएको म्याद मिति २०६७।१२।२८ मा रोहबरमा वडा सचिवलाई समेत नराखी बेपत्ते तामेल भई आएको देखिँदा उक्त बेरितको तामेली म्याद बदर गरिदिएको छ । अब प्रतिवादी विमल भट्टराईको नाममा पुनरावेदन पत्रमा उल्लिखित वतन पूर्ण रूपमा खुलाई बाबुको नामसमेत उल्लेख गरी म्याद सूचना जारी गरी तामेल भई आएपछि म्याद नाघेमा वा निज उपस्थित भएपछि नियमानुसार गरी पेस गर्नू । म्याद नाघेको मुद्दा हुँदा आदेशानुसारको कार्य यथाशीघ्र सम्पन्न गर्नु भनी मिति २०६९।०२।३२ को आदेश ।
प्रतिवादीहरू पप्पु भन्ने आशिष राई, खुदी भन्ने दिपक श्रेष्ठले हतियार छाडेको भन्ने पुष्टि नभएको भनी र प्रतिवादी रविन्द्र भट्टराईको घटनास्थलमा उपस्थित रही मृतकको शरीरमा हात हालेको भनी पुष्टि नभएको भनी आत्मनिष्ठ रूपमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(१) र १७ (३) नं. बमोजिम सजाय गर्ने गरी भएको सुरूको फैसला सो हदसम्म बदर गरी प्रत्यर्थी प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारले तत्कालीन पुनरावेदन अदालत विराटनगरमा गरेको पुनरावेदन पत्र ।
फौजदारी अपराधमा mens rea र actus rea हुनुपर्नेमा मउपर लगाइएको आरोप स्वतन्त्र तथा निष्पक्ष प्रमाणबाट पुष्टि नभएको, मेरा साक्षीको बकपत्रसमेतबाट मेरो अदालतको इन्कारी बयान समर्थित भइरहेको अवस्थामा सुरूले ज्यानसम्बन्धी महलको १७(३) बमोजिम ३ वर्ष कैदको सजाय गर्ने गरेको फैसला बदर गरी पुनरावेदन दाबीबमोजिम अभियोगबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रविन्द्र भट्टराईले तत्कालीन पुनरावेदन अदालत विराटनगरमा गरेको पुनरावेदन पत्र ।
प्रतिवादी पुनरावेदक रविन्द्र भट्टराई धम्की दिनेमध्येका हुन् भन्ने जाहेरवालाको भनाइ नभएको र बुझिएका आदित्य वर्माले यी प्रतिवादी मृतकलाई थिच्नेमध्येका हुन् भनी भन्न नसकेको भन्दै वारदातस्थलमा उपस्थित रहेको आधारमा निजलाई समेत सजाय गर्ने गरेको सुरू फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन अ.बं. २०२ नं. को प्रयोजनका लागि वादी नेपाल सरकारलाई सूचना दिनु र पप्पु भन्ने आशिष राई र खुदी भन्ने दिपक श्रेष्ठसमेतका हकमा वादी नेपाल सरकारको पुनरावेदन परेको देखिँदा अ.बं. २०२ नं. को प्रयोजनका लागि सो पुनरावेदनमा विपक्षी बनाइएका प्रतिवादीहरूलाई म्याद जारी गरी झिकाइ यी पुनरावेदकलाई पुनरावेदनको जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने मिति २०७०।२।२३ को तत्कालीन पुनरावेदन अदालत विराटनगरबाट भएको आदेश ।
प्रतिवादीहरूमध्ये अशोक हुमागाईं, बिमल भट्टराई, मधुसुदन मानन्धर, राजेश साहलाई सफाइ दिने गरी तथा प्रतिवादी विजय दाहाल र विकेश साहलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७ (१) नं.बमोजिम जनही कैद वर्ष १० हुने गरी मोरङ जिल्ला अदालतबाट भएको मिति २०६६।११।११ को फैसला प्रतिवादी दिवस गिरीले अभियोग दाबीबाट सफाइ पाउने गरी मिति २०६७।११।०५ मा भएको फैसला र प्रतिवादीहरू रविन्द्र भट्टराईलाई ज्यानसम्बन्धी महलको १७ (३) बमोजिम ३ वर्ष कैद एवं प्रतिवादी खुदी भन्ने दीपक श्रेष्ठ र पप्पु भनिएका आशिष राईलाई ज्यानसम्बन्धीको १७ (१) बमोजिम कैद वर्ष १० हुने गरी मिति २०६९।०३।२८ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको मिति २०७०।०५।११ मा तत्कालीन पुनरावेदन अदालत विराटनगरबाट भएको फैसला ।
मउपर लगाएको अभियोग झुठा हो । चिनजान नै नभएको मृतकलाई मैले मार्नुपर्नेसम्मको कुनै कारण पनि छैन । म २०६२ सालदेखि excellent educational consultancy मा कार्यरत रही वारदातको मिति तथा समयमा म काठमाडौंमै रहेको र आफन्त साथीभाइबाट तेरो नाममा पनि कर्तव्य ज्यान मुद्दा परेको छ भन्ने सुनी बुझ्दा प्रस्तुत मुद्दाको बारेमा थाहा पाएको हुँ । जाहेरवाला प्रत्यक्षदर्शी नभई अरूको कुराको आधारमा जाहेरी दिएको अवस्था छ । मौकामा बुझिएको तथा घटनाका प्रत्यक्षदर्शी आलोक भन्ने आदित्य बर्मासमेतका मानिसहरूले वारदातमा देखी चिनेको, अपराध कसुरमा संलग्नता रहेको भनी उल्लेख गर्न सकेको अवस्था छैन । साथै मबाट कुनै दसी प्रमाण फेला परेको अवस्था
छैन । प्रस्तुत मुद्दाको मुख्य अभियुक्त आजाद अन्सारी हुन भन्ने कुरा मिसिल संलग्न विकेश चौधरी भन्ने विकेश साहको पोलबाट स्पष्ट भइरहेको अवस्था छ । तर आजाद अन्सारीलाई पक्राउ गरी सत्य तथ्य पत्ता लगाई अनुसन्धान अघि बढाउन सकेको अवस्था छैन । यसरी घटनाको मुख्य अभियुक्त भनिएको व्यक्तिलाई मुद्दा नै नचलाई दोस्रो स्तरको अपुष्ट भनाइ एवं आंशिक साबितीलाई आधार मानी दोषी करार गर्ने गरी भएको फैसला त्रुटिपूर्ण
छ । मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं.विपरीत १७(३) नं.बमोजिम कसुर अपराध हुनका लागि मृतकलाई मार्नुपर्नेसम्मको कारण तथा पूर्वरिसइवीबाट ज्यान मार्ने आपराधिक मनसाय जागृत भई सो मनसायलाई साकारीकरण गर्नका लागि आपराधिक कार्य घटित गरेको वा सो कार्यमा सहमत भई घटनामा सम्मिलित भएको हुनुपर्दछ । तर, प्रस्तुत मुद्दामा मृतकलाई मार्नुपर्नेसम्मको कारण अनुसन्धानबाट खुल्न सकेको छैन । जाहेरवाला तथा प्रत्यक्षदर्शी भनिएका आलोक भन्ने आदित्य बर्मासमेतको भनाइअनुसार दुई पक्षबिचको झगडाका कारण घटना घट्न गएको भन्ने देखाउन खोजिएको छ । मृतकलाई कर्तव्य गरी मार्नुपर्नेसम्मको कुनै कारण नरहेको र पीडक पक्षसँग मेरो सम्बन्ध रहेको भन्ने कुरा कहीँकतैबाट खुल्न नसकी मेरो कथन जिकिर सत्य रहे भएको प्रस्ट हुँदाहुँदै वारदातमा संलग्नता देखाई ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम ३ वर्ष कैद हुने गरी सुरू फैसला सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको मिति २०७०।१०।०७ मा रविन्द्र भट्टराईले यस अदालतमा गरेको पुनरावेदन ।
मृतकको मृत्यु Cause of death is incised wound in head deep by sharp cutting weapons, damage brain matter exposed with haemorrhage and death भन्ने शव परीक्षण प्रतिवेदन तथा लास प्रकृति मुचुल्काको बेहोरा मृतकको मृत्यु कर्तव्यबाटै भएको भन्ने कुरामा विवाद नभई दुवै अदालतको फैसलाबाट निर्विवाद स्थापित भएको छ । जाहेरवालाले छोरालाई कर्तव्य गरी मार्ने व्यक्तिहरू रविन्द्र भट्टराईसमेतलाई कारबाही गरिपाउँ भनी किटानी जाहेरी दिएको र उक्त जाहेरीलाई समर्थन गर्दै अदालतमा बकपत्र गरेको देखिन्छ । यसैगरी वारदातमा अशोक हुमागाई पनि संलग्न रहेछन्, कारबाही गरिपाउँ भनी जाहेरवालाको पुनः अर्को जाहेरीसमेत परेको देखिन्छ । प्रत्यक्षदर्शी आलोक भन्ने आदित्य वर्माले मौकामा कागज गर्दा मृतकसमेत क्यारम बोर्ड खेलिरहेको अवस्थामा विकेश चौधरी (विकेश साह) ले निलो सुजुकी मोटरसाइकलमा पछाडि २ जना राखेर आई एक्कासि भोला थापालाई वेडबल (क्रिकेटको ब्याट) प्रहार गरे, भोला थापाले छलेर पान पसलमा भएको पानीको जगले हिर्काइ भागी शारदा गिरीको घरको गेटबाट भित्र छिरे, विकेश चौधरीले भोला यता छ भन्दै कराउन थालेपछि अन्य ७, ८ जना मोटरसाइकलमा गुरूरू आएर कता भाग्यो भन्दै भोला थापाको पछि-पछि लागे, शारदा गिरीको घर कम्पाउन्डमा पुगेपछि भोला थापालाई विकेशले समातेर लडायो, दिवस गिरी र राजेश चौधरी (राजेश साह) ले बोकेको धारिलो हतियारले प्रहार गरे, पप्पु राई, मधुसुदन मानन्धरले इँटा र छुरीले हाने, दिपक श्रेष्ठ र विमल भट्टराईले ब्याट र रडले हाने, रविन्द्र भट्टराईले थिचेको थिच्चै थिए, चटपटाउन छाडेपछि हामीसँग क्यारम बोर्ड खेलिरहेका शुभम वर्मालाई पनि अन्य व्यक्तिहरूले कुटपिट गरी घाइते बनाई निजहरू देउसुरे भन्दै मोटरसाइकलमा चढी भागे भनी किटानी बेहोरा लेखाएका, निजको बकपत्र नभएको भए पनि अर्का प्रत्यक्षदर्शी शुभम वर्माको मौकाको कागज र बकपत्रको बेहोराबाट आदित्य वर्माको मौकाको कथन एकआपसमा समर्थित भइरहेको छ ।
प्रहरीसमक्ष उपस्थित भएका विजय दाहालले दिवस गिरी र विकेश साह मेरो मोटरसाइकलमा तीनपैनी हुँदै बीरेन्द्र चौक पुग्दा मधुसुदन मानन्धर, पप्पु राई, खुदी भन्ने दिपक श्रेष्ठ, राजेश साह, रविन्द्र भट्टराईसमेतका व्यक्तिहरूले इँटा, रड, कट्टी, खुकुरी आदिले भोला थापालाई हान्दै लखेट्दै रहेछन् सो ठाउँमा पुगेपछि मलाई मोटरसाइकल रोक्न लगाई मलाई ओराली सीटमुनि लुकाएको कट्टी र खुकुरी लिएर दिवस गिरी र विकेश साहले भोला थापाको टाउको तथा शरीरमा हाने, मैले पनि भोला थापालाई दुई लात्तीले हानेँ, निजको शरीरबाट अत्यधिक रक्तश्राव भई मर्यो, भागौं भनी दिवसले भनेपछि दिवस आफैँले मोटरसाइकल चलाई विकेश र म पछि बसी वथनाहा हुँदै भारत पुग्यौं, अन्य व्यक्तिहरू विभिन्न समूहमा बाँडिएर सोही स्थानमा पुगेका रहेछन् भनी आफू कसुरमा साबित रही अन्य प्रतिवादीहरूलाई समेत पोल गरी मौकामा बयान गरेको र अदालतमा समेत सो हदसम्मको बयान बेहोरालाई स्वीकार गरेको देखिन्छ ।
प्रतिवादीहरू विरूद्धको अभियोग दाबीअनुसारको कसुर स्थापित भइरहेको अवस्था प्रतिवादीहरू विजय दाहालसमेतलाई प्रतिवादीको मौकाको बयानसमेतलाई प्रमाणमा लिई ज्यानसम्बन्धीको १७(१) नं.बमोजिम सजाय गरिएको तर निज विजय दाहालले सोही बयानमा पोल गरेका दिवस गिरीसमेतलाई सफाइ दिने गरी भएको उक्त फैसला आफैँमा विरोधाभाषयुक्त भई प्रमाण मूल्याङ्कनको दृष्टिकोणबाट त्रुटिपूर्ण छ । प्रतिवादी विकेश साहले कसुरबाट बच्ने उद्देश्यले अदालतमा गरेको बयानलाई नै आधार मानी मुख्य अभियुक्त आजाद अन्सारीलाई मुद्दा नचलाएको भनी प्रत्यर्थी प्रतिवादीहरू दिवस गिरी, अशोक हुमागाइँ, विमल भट्टराई, मधुसुदन मानन्धर र राजेश साहलाई सफाइ दिने गरी तथा विकेश साह, खुदी भन्ने दिपक श्रेष्ठ, पप्पु भन्ने आशिष राई र विजय दाहाललाई ज्यानसम्बन्धीको १७ (१) नं.बमोजिम जनही १० वर्ष कैद गर्ने एवं रविन्द्र भट्टराईलाई ज्यानसम्बन्धीको १७(३) नं.बमोजिम ३ वर्ष कैद गर्ने गरी भएको सुरू फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रत्यर्थी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउन अनुरोध छ भन्नेसमेत बेहोराको मिति २०७०।११।१६ मा वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा गरेको पुनरावेदनपत्र ।
मृतक भोला थापाको मृत्यु हुने घटनामा आफू मौजुदा उपस्थित थिएँ भन्ने कुरा प्रहरी र अदालतमा भएको बयानबाहेक उक्त घटनामा मेरो उपस्थिति र संलग्नता थियो भनी वादी पक्षले पुष्टि गर्न पनि सकेको छैन । अदालतमा भएको बयानलाई नै आधार मान्ने भए पनि मृतकसँग मेरो असल मित्रता थियो । असल मित्रताकै कारण काठमाडौंमा रहँदा आउने जाने गर्दा मेरै कोठामा सुत्ने खाने गरेका
थियौं । मृतकका विरोधी ग्रुपका दिवस गिरीसमेतले मलाई नसालु पदार्थ फेन्सीडिल र नाइट्रोजन खुवाई बेहोस अवस्थामा घटनास्थलमा पुग्दा मृतक भोला थापामाथि विभिन्न हतियारले आक्रमण भइरहेको देखी छुट्याउने कोसिस गरेकोले निजलाई मार्ने मराउने कार्यमा म संलग्न मृतकको बुबा टेकराज थापाले दिएको जाहेरी दरखास्त र अनुसन्धानको सिलसिलामा तयार भएको कागजातमा मृतकलाई मार्ने कार्यमा यसरी संलग्न रहेको भनी कोही कसैले मेरो विरूद्धमा लेखाउन सकेको छैन, बरू आफैँ स्वयंले घटनाको जानकारीसहित प्रहरीमा हाजिर भई आफूलाई जानकारी भएको घटनाको बारेमा यथार्थ विवरण उल्लेख गरेको, सुरू अदालतमा गरेको बयानमा कहीँकतै मृतकलाई मराउने कार्यमा आफ्नो संलग्नतालाई स्वीकार नगरेको अवस्थामा आकर्षित नै हुन नसक्ने १७(१) नं.बमोजिम १० वर्षको कैद हुने गरी फैसला गरिएको छ । घटनाको कुनै तथ्य स्वीकार गर्नु र अपराध स्वीकार गर्नु अलग कुरा हुन् । असल नियतले घटनाको सत्य तथ्य जानकारी गराउन मेरो बयानबाहेक प्रमाणमा लाग्ने अन्य प्रमाण मिसिल संलग्न नरहेको अवस्थामा गरी दोषी ठहर गरी भएको सुरू अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत विराटनगरको बदरभागी छ । उक्त वारदातमा मृतकलाई मार्ने कार्यमा मेरो कुनै संलग्नता नरहेकोले सफाइ दिने गरी फैसला गर्नुपर्नेमा नगरी ज्यानसम्बन्धी महलको १७(१) बमोजिम १० वर्ष कैद गर्ने गरी भएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत विराटनगरको त्रुटिपूर्ण फैसला बदर गरी पुनरावेदकलाई सफाइ पाउँ भन्नेसमेत बेहोराको विजय दाहालले यस अदालतमा गरेको पुनरावेदन ।
यसमा वादी नेपाल सरकार र प्रतिवादी पक्षबाट पुनरावेदन परेको देखिँदा उक्त दुवै पुनरावेदन मुलुकी ऐन, अ.बं.२०२ नं. को प्रयोजनार्थ एक अर्कामा परस्पर सुनाई लगाउको ०७०-CR-१२८२ को मुद्दा साथै राखी नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको मिति २०७३।१।८ गते यस अदालतबाट भएको
आदेश ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारीले प्रतिवादीहरू १० जनाउपर किटानी जाहेरी परेको, वारदातको मिति २०६३।७।६ भन्दा ३ दिनअगाडिबाट नै दिवश गिरीसमेतका प्रतिवादीहरूले धम्काएका, सो कुरालाई अदालतमा समेत आई जाहेरवालाले बकपत्र गरेको अवस्था छ, घटनास्थलमा राखिएका सवारी साधनसमेतमा रगतका टाटा देखिएको, शव-परीक्षण प्रतिवेदन हेर्दा, मृतकको शरीरमा धारिलो हतियारले शरीरका विभिन्न ठाउँमा चोट लागेको देखिएको अवस्थाले घटनालाई समर्थन गरेको देखिन्छ । प्रतिवादीहरू मोटरसाइकलमा आई धारिलो हतियार ल्याई प्रहार गरेको भन्ने कुरा घटनाका प्रत्यक्षदर्शी शुभम वर्मा प्याकुरेलले मौकामा तथा अदालतमा गरेको बकपत्र, शारदाप्रसाद गिरी तथा आदित्य वर्माको मौकाको कागजबाट पुष्टि भएको छ, विकेश चौधरी भन्ने विकेश साहले मृतकलाई आजाद अन्सारीले खुकुरी प्रहार गरेको र आफूले ढुङ्गाले हानेकोसम्म कुरामा साबित रहेको अवस्था छ, प्रतिवादी विजय दाहालले अदालतको बयानमा आफूले लात्तीले हानेको स्वीकार गरी अन्य प्रतिवादीहरूलाई पोल गरी बयान गरेको देखिई अभियोग दाबीबमोजिमको कसुर कायम भएको अवस्थामा तत्कालीन पुनरावेदन अदालत विराटनगरबाट मुख्य अभियुक्त र मतियारको विभाजन सही रूपले गर्न सकेको अवस्था छैन । मार्ने व्यक्ति पहिचान भएपछि मात्र मतियारको अवस्था आउँछ । अर्थात् ज्यानसम्बन्धी महलको १३ नं. को प्रयोग नभई १७ नं. को प्रयोग गर्न मिल्दैन । मुख्य कसुरदार नभई मतियार भएकोमा कसैलाई १७(१) नं. र कसैलाई १७(३) नं. लगाएको आधार मिलेको देखिँदैन । यो समूहगत रूपमा हुने कर्तव्य ज्यानको कसुर हो । मुख्य अभियुक्त मतियार हुन सक्दैन । अभियोगपत्र पेस हुँदासम्म आजाद अन्सारीको नाम नै उल्लेख
छैन । विकेश साह र विजय दाहालले आफू साबित भई अन्य प्रतिवादीलाई पोलेको तथा अन्य प्रमाणबाट समेत समर्थन भएको अवस्था छ । ४ जना प्रतिवादीहरूले Alibi को जिकिर लिनुभएको छ, सो सम्बन्धमा पुनरावेदक चार्ल्स गुरूमुख सोभराज विरूद्ध प्रत्यर्थी नेपाल सरकार भएको ने.का.प. २०६७ नि. नं. ८३७८ भएको कर्तव्य ज्यान मुद्दामा, Alibi को जिकिर तथ्यपरक, निश्चयात्मक तथा लिखतको प्रमाणबाट समर्थित हुनसके मात्र सो जिकिर लिने व्यक्तिको पक्षमा प्रमाणयोग्य हुन सक्ने भनी सिद्धान्त प्रतिपादन भएकोमा प्रतिवादीहरूको Alibi तथ्यपरक तथा अन्य प्रमाणबाट समर्थित भएको अवस्था छैन । तसर्थ दाबीभन्दा भिन्न वा सफाइ दिएको सुरू अदालतको फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत विराटनगरबाट भएको फैसला मिलेको नहुँदा बदर गरी सबै प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बहस गर्नुभयो ।
त्यसैगरी प्रत्यर्थी प्रतिवादी दिवश गिरीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री शम्भू थापा, श्री बाबुराम गिरी र हर्कबहादुर भट्टराई, र विद्वान् अधिवक्ता श्री आशिकराम कार्कीले प्रत्यक्षदर्शी उमेश सिटौला, घरधनी शारदाप्रसाद गिरी त्यस्तै अनिल शर्मा तथा चस्मदिद भनिएका सुभम वर्मासमेतका व्यक्ति कसैले पनि यी प्रतिवादी दिवश गिरीको नाम लिएको अवस्था छैन । प्रत्यक्षदर्शी आदित्य वर्माले गरेको बकपत्रमा मोटरसाइकल दिवश गिरीले चलाएको भन्ने भनाइ र सहप्रतिवादी विजय दाहालले दिवश गिरीले मोटरसाइकलमा खुकुरी ल्याएको भन्ने भनाइ पत्यारलायक छैन । सहप्रतिवादी विजय दाहालको मौकामा तथा अदालतमा गरेको बयानबाट गडाउ गर्न खोजेको भए तापनि निजको भनाइ परस्पर बाझिएको अवस्था छ । निज प्रतिवादीको बयानबाट निज कुलतमा फसेको, ३ पटक मर्नलाई विष सेवन गरेको भनाइबाट त्यस्तो भनाइलाई प्रमाणमा लिई गडाउ गर्न मिल्दैन । सहप्रतिवादी विकेश शाहको बयानमा निज दिवश गिरी थिएनन् भनेको अवस्था छ । जाहेरवालाले अदालतमा बकपत्र गर्दा घटनाको बारेमा सबै विजय दाहाललाई थाहा छ भनेको अवस्था छ । वारदात ६:३० बजे भएकोमा त्यसको भोलिपल्ट बिहान ७ बजे टिचिङ हस्पिटलमा उपचार गरेको भनी Alibi को जिकिर लिएकोमा सोलाई आधार मानी निज प्रतिवादीलाई सफाइ दिएको सुरू फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत विराटनगरको फैसला मिलेकै देखिँदा सदर हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
त्यस्तै प्रत्यर्थी प्रतिवादी विमल भट्टराईको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री टीकाराम भट्टराईले निज प्रतिवादी मौकामा पक्राउ परेको भए पनि कसुर गरेकोमा इन्कार छन, प्रत्यक्षदर्शी भनिएका आदित्य वर्माले सम्म पोल गरेको भए पनि अन्य व्यक्तिहरूले पोल गरेको अवस्था छैन भनी तथा प्रतिवादी अशोक हुमागाईको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री नमराज रिजाल र श्री रमा दाहालले प्रतिवादी कसुर गरेकोमा इन्कार छन्, निज प्रतिवादीउपर पहिलो जाहेरीमा नाम उल्लेख नभई मिति २०६३।७।२२ मा गुद्री बजारमा निज प्रतिवादी अरू मानिससँग झगडा गरिरहेको बेला प्रकाउ गरी प्रहरीबाट प्रतिवेदन दिई जाहेरवालाले कागज गरेको अवस्था छ । साथै जाहेरवालाले अदालतमा बकपत्र गर्दा अशोक हुमागाईले कर्तव्य गरेको सुनी पाएको भनी भनेको अवस्था छ । सहप्रतिवादी विजय दाहालले अदालतको बयानमा अशोक हुमगाईलाई चिनेको पनि छैन भनेको, जाहेरीलगायत कुनै पनि कागजातले अशोक हुमगाईको नाम पुष्टि भएको छैन भनी तथा प्रतिवादी मधुसुदन मानन्धरको तर्फबाट विद्वान् अधिवक्ता श्री भीमप्रसाद ढकालले सुरू जाहेरीमा मधुसुदन मानन्धरको नाम उल्लेख भए पनि निज जाहेरवालाले वारदातस्थलमा थिए भनी सुनेको हुँ भनी भनेको, यी प्रतिवादी अदालतमा इन्कार छन् । सहप्रतिवादी विजय दाहाल प्रहरीमा हाजिर हुन आउँदा निजको नाम उल्लेख छैन, निज प्रतिवादीलाई सफाइ दिएको सुरू अदालतको फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत विराटनगरको फैसला मिलेकै हुँदा सदर हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
दुवै पक्षका विद्वान् सहन्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको बहस जिकिर सुनी मिसिल संलग्न कागज अध्ययन गरी निर्णयतर्फ विचार गर्दा तत्कालीन पुनरावेदन अदालत विराटनगरबाट मिति २०७०।५।११ मा भएको फैसला मिलेको छ छैन, वादी नेपाल सरकार र प्रतिवादी रविन्द्र भट्टराई र विजय दाहालको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन सोही विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. प्रस्तुत मुद्दा मिति २०६३।७।६ गते साँझ १८:४५ बजे घटेको वारदातसँग सम्बन्धित
देखिन्छ । उक्त वारदात जिल्ला मोरङ विराटनगर-२ तिनपैनी स्थित वजरंगवली मन्दिर जाने वन्जराचौकको राम पसलअगाडि क्यारम बोर्ड खेलिरहेको ठाउँदेखि शारदाप्रसाद गिरीको घर कम्पाउन्डभित्रको स्थानमा घटेको र उक्त घटनामा भोला थापा भन्ने योगेन्द्रवर सिंह थापा घाइते भई पछि अस्पतालमा निजको मृत्यु भएको देखिन्छ । उक्त हत्याको विषयमा दिवश गिरीसमेतले पूर्वरिसइवी लिई ज्यान मार्ने उद्देश्यले धारिलो हतियार खुकुरीसमेतले टाउकोको संवेदनशील भागमा प्रहार गरी हत्या गरेको भन्ने जाहेरी दरखास्तबाट अनुसन्धान प्रारम्भ भएकोमा उक्त घटनामा संलग्न प्रतिवादीहरू विकेश चौधरी भन्ने विकेश साह, दिवश गिरी, पप्पु भन्ने आशिष राई, खुदी भन्ने दिपक श्रेष्ठ, रविन्द्र भट्टराई, अशोक हुमगाई, विमल भट्टराई, राजेश साह भन्ने राजेश चौधरी र मधुसुदन मानन्धरउपर मृतक भोला थापा भन्ने योगेन्द्रवर सिंह थापालाई ज्यानमार्ने उद्देश्यले पूर्वरिसइवी लिई प्रतिवादी अशोक हुमगाईको नेतृत्वमा षड्यन्त्र र योजनाबाट निजसमेतले वारदातमा उपस्थित भई धारिलो रड तथा हातहतियार प्रयोग गरी मारेको हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १, १३ नं. को कसुरमा सबै प्रतिवादीहरूलाई ऐ. महलको १३(१) नं.बमोजिम सजाय गरी फरार प्रतिवादीहरूको नाममा वारेन्ट जारी गरी नाम थर वतन नखुलेको प्रतिवादीहरूको हकमा पछि यकिन गरी दाबी लिने भन्ने बेहोराको अभियोगपत्र तथा प्रतिवादी विजय दाहाललाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सजाय गरिपाउँ भनी पूरक अभियोगपत्र पेस भएको देखियो । उल्लिखित प्रतिवादीहरूमध्ये विमल भट्टराई, राजेश चौधरी भन्ने राजेश साह, अशोक हुमगाई, मधुसुदन मानन्धरको हकमा सफाइ दिने गरी तथा विकेश साह भन्ने विकेश चौधरी र विजय दाहालको हकमा ज्यानसम्बन्धी महलको १७(१) नं. बमोजिम १० वर्ष कैद हुने ठहरी मिति २०६६।११।११ मा सुरू मोरङ जिल्ला अदालतबाट फैसला भएको र अरू प्रतिवादीहरूमध्ये दिवश गिरी, पप्पु भन्ने आशिष राई, खुदी भन्ने दिपक श्रेष्ठ र रविन्द्र भट्टराईका हकमा मुल्तबी रहेकोमा दिवश गिरीको हकमा मुल्तबीबाट जागी मिति २०६७।११।५ मा सफाइ पाउने गरी फैसला भएको देखियो । त्यस्तै प्रतिवादीहरू पप्पु भन्ने आशिष राई, खुदी भन्ने दिपक श्रेष्ठको हकमा ज्यानसम्बन्धी महलको १७(१) नं.बमोजिम १० वर्ष कैद हुने र रविन्द्र भट्टराईको हकमा ज्यानसम्बन्धी महलको १७(३) नं.बमोजिम ३ वर्ष कैद हुने गरी मिति २०६९।०३।२८ मा मोरङ जिल्ला अदालतबाट फैसला भएको देखिन्छ । उक्त फैसलाउपर चित्त नबुझाई वादी नेपाल सरकारले सबै प्रतिवादीको हकमा र प्रतिवादीहरू विजय दाहाल, बिकेश चौधरी भन्ने बिकेश साह, रविन्द्र भट्टराईको तत्कालीन पुनरावेदन अदालत विराटनगरमा पुनरावेदन परेकोमा उक्त अदालतबाट समेत सुरू मोरङ जिल्ला अदालतको फैसला सदर हुने गरी फैसला भएको पाइन्छ । उक्त फैसलाउपर आफूहरूले अभियोगदाबीबाट सफाइ पाउनुपर्छ भनी प्रतिवादीहरू रविन्द्र भट्टराई र विजय दाहालको तथा सबै अभियुक्तको हकमा अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भनी वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन गरेको देखियो ।
३. सो सन्दर्भमा वारदातको स्वरूप र प्रकृति हेर्दा प्रस्तुत वारदात समूहगत रूपमा दुई समूहको पुरानो रिसइवीका कारण योजनाबद्ध रूपमा घटाएको भन्ने देखिएबाट प्रस्तुत वारदात जघन्य प्रकृतिको घटना भन्ने देखिन आयो । मिसिल संलग्न घटनास्थल मुचुल्का हेर्दा, क्यारम बोर्ड खेल्ने स्थानमा रगतका टाटाहरू देखिएको, शारदाप्रसाद गिरीको घर कम्पाउन्ड, गेट तथा कम्पाउन्डभित्र रहेको सवारी साधनमा रगतका छिटाहरू लागेको, ५ इन्चको खुकुरीको बिँड थान-१ बरामद भएको तथा उक्त स्थानमा आलो रगतै रगतका धारा बगेको देखिएको भन्ने घटनास्थल मुचुल्का, बायाँ कन्चटमा काटिएका घाउ, दुई ठाउँमा काटिएका घाउ भन्ने लास प्रकृति मुचुल्का, शव-परीक्षण प्रतिवेदनमा Cause of death is incised wound in head deep by sharp cutting weapons, damage brain matter exposed with haemorage and death भन्ने बेहोरा, जाहेरवालाको किटानी जाहेरी, प्रत्यक्षदर्शी तथा घटना विवरण कागज गर्ने व्यक्तिहरूको भनाइ तथा मृतकका विभिन्न थानका फोटोहरू, घटनास्थलमा देखिएका रगतका बाक्ला टाटै टाटाहरू तथा सवारी साधानहरूमा लागेको रगतका छिटाहरू देखिएका फोटाहरू साथै प्रतिवादीहरूको बयान कागजसमेतका मिसिल संलग्न कागजबाट मृतक भोला थापा भन्ने योगेन्द्रवर सिंह थापाको मृत्यु स्वाभाविक नभई कर्तव्यबाट भएकोमा विवाद देखिएन ।
४. अब, अभियोग दाबीबाट सफाइ पाउनुपर्छ भन्ने प्रतिवादी रविन्द्र भट्टराईको जिकिर रहेको सन्दर्भमा हेर्दा, निज प्रतिवादी मौकामा फरार रही आफू २०६२ सालदेखि Excellent Educational Consultancy मा कार्यरत रही वारदातको मिति तथा समयमा काठमाडौंमा रहेको र आफन्त साथीभाइबाट मुद्दाको बारेमा थाहा पाएको भनी Excellent Educational Consultancy को सिफारिसपत्र संलग्न राखी बयान गरेको देखिन्छ । निज प्रतिवादीउपर मिति २०६३।८।१० मा जारी भएको म्यादी पुर्जी मिति २०६३।९।३ मा निजकै बाबु महेन्द्र भट्टराईलाई बुझाएको देखिन्छ तर निज प्रतिवादी लामो समय फरार रही मिति २०६८।१।२७ गते मात्र अदालतमा उपस्थित भई बयान गरेको देखियो । आफ्नो एकाघरका बाबुले आफ्नो छोराउपर लागेको फौजदारी अभियोगको सम्बन्धमा अदालतबाट जारी भएको म्याद समयमै बुझेर पनि प्रतिवादी म्यादमा हाजिर नभई करिब ५ वर्षपछि आएर आफन्त साथीहरूले भनेर मात्र थाहा पाएको भन्नु आफैँमा पत्यार लाग्ने कुरा
देखिएन । प्रतिवादीले वारदातको समयमा काठमाडौंमा नै थिएँ भनी पेस गरेको निजी संस्थाको उल्लिखित Consultancy को सिफारिस पत्रको विश्वसनीयता पुष्टि हुने अन्य कुनै प्रमाण कागजसमेत नभएको देखिँदा उक्त सिफारिसलाई आधिकारिक मान्न मिल्ने
देखिएन । निज प्रतिवादीउपर मौकामा किटानी जाहेरी परेको र जाहेरीलाई समर्थन गर्दै जाहेरवालाले बकपत्र गरेकोसमेत देखिन्छ । तर निजको संलग्नता के कस्तो हो भन्ने सम्बन्धमा सहप्रतिवादी विजय दाहालले मौकामा बयान गर्दा दिवश गिरीसमेतका व्यक्तिहरू मोटरसाइल लिएर तिनपैनी हुँदै विरेन्द्र चोक पुग्दा यी प्रतिवादी रविन्द्र भट्टराईसमेतका व्यक्तिहरूले भोला थापालाई इँट्टा, रड, खुकुरीले हान्दै, लखेट्दै रहेछन् भनी उल्लेख गरेको देखिन्छ भने अदालतमा बयान गर्दासमेत निज प्रतिवादीको अपराधमा संलग्नतालाई स्वीकार गरेको
देखिन्छ । उल्लिखित अवस्थामा यी प्रतिवादीको प्रस्तुत अपराधमा उपस्थिति नै नभएको भन्न
मिलेन । मौकामा कागज गर्ने घटनास्थलमा उपस्थित आलोक भन्ने आदित्य वर्माले मौकामा कागज गर्दा निज प्रतिवादीको संलग्नता देखाएको पाइन्छ । त्यस्तै सुरज गुप्ता, उमेश सिटौलासमेतका मौकामा कागज गर्ने व्यक्तिहरूले निज प्रतिवादीको वारदातमा संलग्नता देखाई कागज गरेको
देखिन्छ । तर निज प्रतिवादीको मुख्य भूमिका थियो भन्ने कुरा मिसिल संलग्न प्रमाणबाट पुष्टि नभई निजको भूमिका मतियारसम्मको रहेको भन्ने
देखियो । यसरी यी प्रतिवादीउपर किटानी जाहेरी परेको र सो जाहेरीलाई समर्थन गर्दै बकपत्र गरेको, निजको वारदातमा संलगनतालाई प्रत्यक्षदर्शीहरूले समेत मौकामा स्वीकार गरेकोसमेतका आधार प्रमाणबाट निज प्रतिवादीको प्रस्तुत वारदातमा मतियारसम्मको भूमिका रहेको पुष्टि भएको देखिँदा निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं.बमोजिम ३ वर्ष कैद सजाय गरेको सुरू मोरङ जिल्ला अदालतको फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत विराटनगरको फैसलालाई अन्यथा मान्नुपर्ने अवस्था देखिएन । निजलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
५. त्यसैगरी प्रतिवादीमध्येको विजय दाहालको हकमा हेर्दा, निज प्रतिवादी मौकामा तथा अदालतमा बयान गर्दा वारदातमा आफ्नो उपस्थितिसमेतलाई स्वीकार गरेको पाइन्छ । ज्यादै ठुलो विभत्स घटनाले गर्दा प्रायश्चित गर्न आफैँ प्रहरीमा उपस्थित भई हाजिर हुन निवेदन दिएको भन्ने पनि निजको भनाइ छ । वारदातमा कुनै अप्रिय घटना हुन नपाओस् भनेर छुट्याउने नियतले मृतकलाई लात्ती हानेकोसम्म हो भनी मौकामा तथा अदालतमा बयान गरेको देखिन्छ । त्यस्तै सहप्रतिवादीहरू विकेश चौधरी भन्ने विकेश साह, दिवश गिरी र निज प्रतिवादी स्वयम् एउटै मोटरसाइकलमा चढी वारदातमा गएको कुरा निजले स्वीकार गरेको देखिन्छ । सहप्रतिवादी दिवश गिरीसमेतले खुकुरी र कट्टी मोटरसाइकलको सिटमुनि लुकाएर ल्याएको रहेछ, घटनास्थलमा देखेपछि थाहा भएको भनी निजले भनेको, साथै दिवश गिरी र विकेश साहले भोला थापाको टाउकोमा तथा शरीरका विभिन्न भागमा हाने, मैले पनि २ पटक भोला थापालाई हानेको भनी उल्लेख गरेको
देखिन्छ । जाहेरवाला टेकराज थापाले अदालतमा बकपत्र गर्दा जाहेरीको बेहोरालाई समर्थन गर्दै स.ज.६ मा मेरो छोरालाई क-कस्ले मार्यो भन्ने कुरा विजय दाहाललाई थाहा छ, घटनाको चस्मदिद विजय दाहाल नै हो भनी उल्लेख गरेको देखिन्छ । मुलुकी ऐन,ज्यानसम्बन्धी महलको दफा १७(१) नं. को व्यवस्था हेर्दा "ज्यान मार्नालाई भनी हतियार विष मागेमा जानी जानी हतियार गोली बारूद विष दिने वा ज्यान मार्ना निमित्त वारदात गरिरहेका ठाउँमा हतियार साथमा लिई महजुद रहनेलाई १० वर्ष कैद गर्नुपर्छ" भन्ने उल्लेख गरेको देखिन्छ । यसरी निज प्रतिवादी विजय दाहाल प्रस्तुत वारदातमा मुख्य भई खुकुरी प्रहार नगरे पनि खुकुरी र कट्टी आफ्नो मोटरसाइकलमा राखी सहप्रतिवादीहरूसँग घटनास्थलमा आएको पाइएबाट निज प्रतिवादी उक्त वारदातको मतसल्लाहमा नपसे होलान् भनी भन्न सक्ने अवस्था देखिएन । निज प्रतिवादी अदालतमा आई मृतकलाई आफूले लात्तीले हानेको हो भनी वारदातमा आफूले पूर्ण रूपमा स्वीकार गरेको स्थिति र अवस्थामा निज प्रतिवादी निर्दोष रहेको भन्न मिल्ने अवस्था देखिएन । अतः उल्लिखित आधार, कारणसमेतबाट निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(१) बमोजिम १० वर्ष कैद सजाय गरेको सुरू मोरङ जिल्ला अदालतको फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत विराटनगरको फैसलालाई अन्यथा भन्नुपर्ने अवस्था देखिएन । निजलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भन्ने नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
६. अब, प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर रहेकोले सो सन्दर्भमा प्रतिवादीमध्येका विकेश चौधरी भन्ने विकेश साहको हकमा हेर्दा, निज प्रतिवादी अनुसन्धानमा फरार रही अदालतमा बयान गर्दा वारदातमा रहेकोसम्म कुरामा साबिती रही भोलालाई आफ्नो साथी आजादले खुकुरी प्रहार गरेका थिए, मैले भोला थापालाई रोडमा भएको ढुङ्गाले टिपी हिर्काएको सम्म हो, भोला थापा घाइते भई लडेपछि हानी घटनास्थलबाट भागेको हो भनी बयान गरेको देखिन्छ । यसरी मृतक भोला थापालाई आफूले ढुङ्गाले हानेको कुरामा भने साबित रहेको
देखिन्छ । सहप्रतिवादी विजय दाहालले मौकामा बयान गर्दा निज प्रतिवादीसमेत भई मोटरसाइकलमा हतियार लिई घटनास्थलमा गएको, वारदातमा मोटरसाइकलको सिटमुनि लुकाएको कट्टी र खुकुरी लिएर यी प्रतिवादीसमेतले मृतक भोला थापाको टाउको तथा शरीरका विभिन्न भागमा हानेको र निजको शरीरबाट अधिक रक्तश्राव भई ढलेपछि भागेको भन्दै यी प्रतिवादी विकेश चौधरी भन्ने विकेश साहसमेतलाई पोल गरेको देखिन्छ भने अदालतमा बयान गर्दासमेत यी प्रतिवादीसमेतले खुकुरी, कट्टी मासु काट्ने डाउ र सिरूपाते भन्ने हतियार प्रयोग गरेका थिए भन्ने बेहोरा उल्लेख गरेको देखिन्छ । जाहेरवाला टेकराज थापाले निज प्रतिवादीउपर किटानी जाहेरी दिएको र वारदातको दिनभन्दा ३ दिनअगाडि छोरा भोला थापालाई मार्ने धम्काउने व्यक्ति निज विकेश चौधरी भन्ने विकेश साहसमेतका व्यक्ति पनि थिए भनी कागज गरेको देखिन्छ भने अदालतमा आई सोही बेहोराको बकपत्रसमेत गरेको देखिन्छ ।
७. घटनास्थलमा उपस्थित घाइते शुभम वर्मा प्याकुरेलले मौकामा मृतक भोला भन्ने योगेन्द्रविर सिंह पनि "क्यारम बोर्ड खेलिरहेको अवस्थामा साँझ अन्दाजी ६:३० बजेको समयमा अन्दाजी ८, ९ वटा मोटरसाइकलमा ३, ३ जना मनिसहरू बसी हामी भएको ठाउँमा आई घेरा हालिरहेको अवस्थामा सो स्थानमा रहेका मानिसहरू भागा भाग भएको
देखेँ । उक्त घेरा हाल्ने मानिसहरूको साथमा खुकुरी, रडसमेतका हतियार" देखेपछि डर लागि भागेको भन्दै सोही स्थानमा बसेका मानिसहरूले "विके आयो, विके आयो भनी हल्ला गरेको मैले सुनेको हुँ" भनी र म पनि भाग्दै जाँदा के कुन हतियारले टाउकोमा तथा शरीरका विभिन्न भागमा प्रहार गरेका र सोही समूहका मानिसले यो होइन भनेपछि छाडी भोला थापालाई लखेट्दै गए भन्ने उल्लेख गरेको र सुरू अदालतमा समेत सोही बेहोराको बकपत्र गरेको देखिन्छ । त्यसैगरी आलोक भन्ने आदित्य वर्माले मिति २०६३।७।६ गते दिउँसो १० बजेको समयमा भोला भन्ने योगेन्द्रविर सिंह थापासँगै शान्तिचोकतर्फ दिन बितायौँ । साँझ पर्न आँटेपछि भोला दाइ र म विरेन्द्र चोक आई साथीहरूसँग टेलिफोनमा शुभकामना आदान प्रदान गर्यौं । त्यसपछि राम पान पसलअगाडि क्यारम बोर्ड खेल्न थाल्यौं । "साँझ १८:३० बजेको समयमा सुजुकी मोटरसाइकलमा विकेश चौधरीले पछाडि मोटरसाइकलमा २ जना राखेर ल्याई एक्कासि वेस बलले भोला थापालाई प्रहार गरे । प्रहार गर्नसाथ भोला थापाले छलेर राम पान पसलमा भएको पानी खाने जगले
हिर्कायो । भोला दाइ माथितिर भागी शारदा गिरीको गेटबाट भित्र छिरे भने म पान पसलको च्यापबाट पश्चिम लागेँ । भोला यता छ भनी भनेर कराउन थालेपछि अन्य ७।८ वटा मोटरसाइकल गुरूरू आएर कता भाग्यो भन्दै भोला थापाको पछि पछि लागे । सारदा गिरीको घर कम्पाउन्डमा पुगेपछि मृतक भोला थापालाई विकेश चौधरीले समातेर लडायो र दिवश गिरीले साथमा बोकेको धारिलो हतियार प्रहार गरे" भनी उल्लेख गरेको देखिन्छ ।
८. त्यसैगरी मौकामा कागज गर्ने उमेश सिटौलाले उक्त दिन म पसलमा गएर चिउरा किन्न खोज्दा खोज्दै ठुलो हो-हल्ला भयो । पसलअगाडि के भएछ भनी फर्की आउँदा ७, ८ वटा मोटरसाइकल कसैले मुखमा फेटा बाँधेका र कसैले नबाँधेका मानिस मोटरसाइकल स्टार्ट गरी घुमाइरहेकोमा मैले लामो केश पालेको विकेश चौधरीलाई मात्र चिनेँ भन्ने बेहोरा उल्लेख गरेको देखिन्छ भने सोहीबमोजिमको हुलिया भन्दै "भोला थापालाई लामो कपाल भएको मैले नचिनेको मान्छे आई काठको बेसले हिर्काएको" भनी राम नारायण सरदारले समेत उल्लेख गरेको
देखिन्छ । त्यस्तै वस्तुस्थिति मुचुल्कामा कागज गर्ने सुमन श्रेष्ठ, अभिषेक नेपालले निज प्रतिवादीको नाम लिएको देखिन्छ भने घटना विवरण कागज गर्ने विजय राय तथा अनिल शर्मासमेतले ८/१० वटा मानिसहरू आई मोटरसाइकल रोकी एक्कासि लामो कपाल भएको मानिसले भोला थापालाई हतियार निकाली प्रहार गरे भनी निज प्रतिवादीको हुलिया मिल्ने गरी कागज गरेको देखिन्छ । यसरी यी प्रतिवादी विकेश चौधरी भन्ने विकेश साह वारदातमा उपस्थित भएको र मृतकलाई प्रहारसमेत गरेको तथ्यमा विवाद नभएको तथा घटनास्थलको प्रकृति र मृतकउपर परेको चोटको प्रकृति हेर्दा निजले मृतकउपर धारिलो हतियार प्रहार गरी ज्यान मारेको देखिँदा अभियोगदाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिम सजाय हुनुपर्नेमा ऐ.महलको १७(१) नं.बमोजिम सुरू अदालतको फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत विराटनगरको मिति २०७०।५।११ को फैसला नमिलेको हुँदा केही उल्टी भई निज प्रतिवादीलाई ऐ. महलको १३(१) नं.बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुनेमा मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम जन्मकैदको सजाय हुन्छ ।
९. प्रतिवादीमध्येको दिवश गिरीको हकमा हेर्दा, निज प्रतिवादी अनुसन्धानमा फरार रही अदालतमा बयान गर्दा वारदातको मिति र समयमा आफू विराटनगर नभई काठमाडौंमा रहेको भनी Alibi को जिकिर लिँदै कसुर गरेकोमा इन्कार रही बयान गरेको देखिन्छ । तर सहप्रतिवादी विजय दाहालले मौकामा बयान गर्दा वारदातको दिन प्रतिवादी दिवश गिरीले फोन गरेर मलाई वरगाछी चोकमा बोलाएकोले मामाको मोटरसाइकल लिई बिजुली अफिस जाउँ भनी भनेकोले सँगै गएको, त्यहाँ पुगेपछि मोटरसाइकल रोकी दिवशले नजिक रहेको मासु पसलबाट २, ३ खुकुरी, कट्टी ल्यायो साथै मोटरसाइकलबाट ओराली सिटमुनि सो खुकुरी कट्टी लुकाइ मलाई नै मोटरसाइकल चलाउन लगाई तिनपैनी हुँदै विरेन्द्र चोक गएको, पप्पु शाहसमेतका प्रतिवादीले इँट्टा रड खुकुरीले हान्दै लखेट्दै गरेकोमा सो ठाउँमा पुगेपछि मोटरसाइकल रोक्न लगाई सिटमुनि लुकाएको कट्टी र खुकरी लिएर दिवश गिरी र विकेश साहले भोला थापाको टाउको तथा शरीरका विभिन्न भागमा हानेको भनी उल्लेख गरेको देखिन्छ भने अदालतमा बयान गर्दा "निज प्रतिवादीसमेत भई मोटरसाइकलमा सिटमुनी लुकाएको कट्टी र खुकुरी लिएर घटनास्थलमा गएको, तर उक्त वारदातमा गएपछि मात्र ती हतियार घटना गराउन बोकेको भन्ने थाहा पाएको हो, यी दिवश गिरीलाई झगडा छुट्याउन भन्दा उनीहरूले मलाई धकेलेको, त्यो अन्धाधुन्द माहोलमा क-कस्ले कुन कुन हतियार प्रयोग गरेका थिए थाहा भएन भनी" यी प्रतिवादीसमेतलाई पोल गर्दै बयान गरेको देखिन्छ ।
१०. त्यसैगरी मौकामा उपस्थित आलोक भन्ने आदित्य वर्माले विकेश चौधरीले शारदा गिरीको घर कम्पाउन्डमा पुगेपछि मृतक भोला थापालाई विकेश चौधरीले समातेर लडायो र दिवश गिरीले बोकेको धारिलो हतियार प्रहार गरेको भनी उल्लेख गरेको देखिन्छ । वस्तुस्थिति मुचुल्काका व्यक्ति अभिषेक नेपालले घटनास्थलमा नजिक आएका मानिसलाई मैले प्रस्ट चिनेँ भनी यी प्रतिवादी दिवश गिरीको समेत नाम लिएको अवस्था छ भने सुमन श्रेष्ठसमेतले मृतक भोला थापालाई धारिलो हतियार प्रहार गरी शारदाप्रसाद गिरीको आँगनमा लडाई निजहरू मोटरसाइकलमा चढी भागे भनी यी प्रतिवादीसमेतले कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भनी उल्लेख गरेको देखिन्छ । मौकामा कागज गर्ने उमेश सिटौला तथा वस्तुस्थिति मुचुल्काका मानिस सुमन श्रेष्ठले समेत प्रतिवादी दिवश गिरीसमेतका मानिसहरूले मारेकोमा विश्वास लाग्छ भनेको देखिन्छ । घटना विवरण कागज गर्ने व्यक्ति विजय रायले एक्कासि लामो कपाल भएको मानिसले भोला थापालाई हतियार निकाली प्रहार गर्यो, यी दिवश गिरीसमेतका व्यक्तिले लखेटे, यीबाहेक अन्य मानिसलाई मैले चिनिनँ भनी उल्लेख गरेको देखिन्छ । मृतकको बाबु जाहेरवाला जनक थापा भन्ने टेकराज थापाले वारदात मितिभन्दा ३ दिनअगाडि अर्थात् मिति २०६३/०७/०३ गते राति यी दिवस गिरीसमेतका मानिसहरू आई ३ दिनभित्र तेरो छोराको लास भेट्छस् भनी हतियार देखाई धम्काएको, साथै मिति २०६३/०७/०६ मा समेत खुकुरी, रडसमेतका धारिलो हतियार प्रहार गरी भागेको भनी जानकारी गराएकोले अस्पताल गई हेर्दा लास देखेँ भनी यी प्रतिवादीसमेत उपर कारबाही गरिपाउँ भनी किटानी जाहेरी परेको र जाहेरीलाई समर्थन गर्दै अदालतमा समेत आई बकपत्र गरेको देखियो ।
११. निज प्रतिवादीले वारदातको मितिको भोलिपल्ट अर्थात् मिति २०६३।७।७ गते आफू टिचिङ हस्पिटलमा टाउकोको बिरामी भई माइग्रेनको उपचार गराइरहेको भनी Alibi को जिकिर लिएको पाइन्छ । उक्त बयानको समर्थनमा त्रि.वि. टिचिङ अस्पतालले च.नं. ६७३, मिति २०६७।६।१३ मोरङ जिल्ला अदालतलाई लेखेको पत्रमा "उपर्युक्त विषयमा त्यस सम्मानित जिल्ला अदालतको च.नं. १८४१, मिति २०६७।६।८ गतेको पत्र र सो पत्रसाथ संलग्न यस अदालतको इमर्जेन्सी विभागको प्रेस्क्रिप्सनसमेत प्राप्त भई बेहोरा अवगत भयो । सो सम्बन्धमा मिति २०६३।७।७ गतेको बिहान ८:०० बजेको समयमा यस अस्पतालको इमर्जेन्सी वार्डमा कार्यरत तत्कालीन ड्युटी डाक्टर अनिशद्वारा दिवश गरी भन्ने व्यक्तिको टाउको दुख्ने माइग्रेनसमेतको शङ्का गरी आकस्मिक स्वास्थ्य परीक्षण र उपचारसमेत गरिएको बेहोरा आधिकारिक भएको अनुरोध" छ भन्ने उल्लेख गरेको देखिन्छ । अर्थात् पत्रको कुरा अभिलेखबाट देखिएको नभनी प्राप्त पत्रकै आधारमा लेखेको देखिन्छ । अस्पतालको अभिलेखबाट देखिएको भनी नलेखेको स्थितिमा त्यस्तो प्रेस्किप्सनलाई मात्र आधार गरी यी प्रतिवादीलाई काठमाठौंमा उपचाररत रहेछ भन्न मिल्ने देखिएन । Alibi जिकिरको सम्बन्धमा सर्वोच्च अदालतबाट पुनरावेदक चाल्स गुरूमुख सोभराज विरूद्ध प्रत्यर्थी नेपाल सरकार भएको ने.का.प. २०६७ नि.नं. ८३७८ मा "कुनै अभियुक्तले वारदातको समयमा आफू घटनास्थलमा नभई अन्यत्र छु भनी अन्य स्थल (Alibi) को जिकिर लिन्छ भने सो जिकिरलाई प्रमाणित गर्ने भार पनि निज अभियुक्तउपर नै रहन्छ । यस्तो अन्य स्थल Alibi को जिकिर तथ्यपरक, निश्चयात्मक तथा लिखतको प्रमाणबाट समर्थित हुन सके मात्र सो जिकिर लिने व्यक्तिको पक्षमा प्रमाणयोग्य हुनसक्ने हुन्छ र सो जिकिर त्यस्तो निर्विवाद र तथ्यपरक प्रमाणबाट स्थापित हुन नसके त्यस्तो जिकिर लिने व्यक्तिका विरूद्ध नै प्रमाण लाग्न जाने" भनी सिद्धान्त प्रतिपादन भएको छ ।
१२. उल्लिखित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त तथा निज प्रतिवादी दिवश गिरीसमेतले वारदातको दिनभन्दा ३ दिनअगाडि नै जाहेरवालालाई तेरो छोराको लास मात्र भेट्छस् भनी धम्की दिएको, निजउपर मिति २०६३।७।७ गते जाहेरवाला जनक भन्ने टेकराज थापाको किटानी जाहेरी र बकपत्र रहेको तथा सहप्रतिवादी विजय दाहालको अनुसन्धान तथा अदालतमा गरेको बयानबाट निज प्रतिवादीको Alibi जिकिर निर्विवाद रूपमा स्थापित भएको नदेखिँदा निज निर्दोष रहेछ भन्न मिलेन । निज प्रतिवादी वारदातमा हतियारसाथ महजुद रहेको कुरामा मिसिल संलग्न प्रमाणबाट पुष्टि भएको तर निजले नै मृतकलाई चोट छाडेको भन्ने निश्चयात्मक प्रमाण मिसिलबाट देखिन नआएको यस स्थितिमा निज प्रतिवादी दिवश गिरीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(१) नं.बमोजिम १० वर्ष कैद सजाय गर्न न्यायोचित देखिँदा ऐ.को १७(१) नं.बमोजिम १० वर्ष कैदको सजाय हुन्छ । निज प्रतिवादीलाई सफाइ दिएको सुरू मोरङ जिल्ला अदालतको फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत विराटनगरको फैसला नमिलेकोले उल्टी हुन्छ ।
१३. प्रतिवादीमध्येको पप्पु भन्ने आशिष राई र दीपक श्रेष्ठलाई ज्यानसम्बन्धी महलको १७ (१) नं.बमोजिम १० वर्ष कैदको सजाय भएकोमा निजहरूको पुनरावेदन नपरेको र वादी नेपाल सरकारको पुनरावेदन परेको पाइन्छ । यीमध्ये पप्पु भन्ने आशिष राईको हकमा हेर्दा निज प्रतिवादी मौकामा फरार रही अदालतमा बयान गर्दा कसुर गरेकोमा इन्कार रही बयान गरे पनि निज प्रतिवादीउपर मृतकका बाबु जनक भन्ने टेकराज थापाले वारदात मितिभन्दा ३ दिनअगाडि अर्थात् मिति २०६३/०७/०३ गते राति प्रतिवादी दिवश गिरीसमेतका मानिसहरूका साथमा यी प्रतिवादी पप्पु राईसमेतका व्यक्तिहरू आई तेरो छोराको लास भेट्छस् भनी हतियार देखाई धम्काएको, साथै मिति २०६३/०७/०६ मा समेत खुकुरी, रडसमेतका धारिलो हतियारले छोरा भोला थापालाई प्रहार गरी भागेकोले यी प्रतिवादी उपर कारबाही गरिपाउँ भनी किटानी जाहेरी परेको र जाहेरीलाई समर्थन गर्दै अदालतमा समेत आई बकपत्र गरेको देखियो । मौकामा कागज गर्ने व्यक्तिहरू आलोक भन्ने आदित्य वर्माले मृतक भोला थापालाई पप्पु राईले इँट्टा र छुरीले हाने भनी भनेको देखिन्छ भने उमेश सिटौलासमेतका व्यक्तिहरूले निज प्रतिवादीसमेतको नाम उल्लेख गरेको देखिन्छ । सहप्रतिवादी विजय दाहालको बयान बेहोरासमेतबाट यी प्रतिवादीको उल्लिखित घटनामा संलग्नता रहेकोमा विवाद देखिएन । निज प्रतिवादीलाई अभियोगदाबीबमोजिमको सजाय हुने नहुने भन्ने सन्दर्भमा हेर्दा, सहप्रतिवादी विजय दाहालले अनुसन्धानमा बयान गर्दा यी प्रतिवादीहरू पप्पु राईसमेतका व्यक्तिहरूले इँट्टा, रड, खुकुरीले भोलालाई हान्दै, लखेट्दै गरेको भनी बेहोरा उल्लेख गरेको र अदालतमा बयान गर्दा यी पप्पु राईसमेतले खुकुरी कट्टी मासु काट्ने दाउ र सिरूपाते हतियारले प्रयोग गरेका थिए भनी उल्लेख गरेबाट यी प्रतिवादीको उल्लिखित वारदातमा संलग्नता भएकोमा विवाद देखिएन । तर यी प्रतिवादीले नै धारिलो हतियारले हानेको भन्ने कुरा यकिनसाथ भन्न सकेको अवस्था देखिँदैन । आलोक भन्ने आदित्य वर्माले मौकामा कागज गर्दा पप्पु राईको घटनास्थलमा उपस्थिति रहेको उल्लेख गरेको
देखिन्छ । यसरी उल्लिखित वारदातमा निज प्रतिवादीको मुख्य भूमिकामा रहेको भनी यकिनसाथ भन्न नसकिएको तर ज्यान मार्नालाई निमित्त वारदात गरिरहेको ठाउँमा हतियारसाथ महजुद रहेको भन्ने सहप्रतिवादी विजय दाहालको बयान, जाहेरवालाको किटानी जाहेरी र बकपत्र तथा मौकामा कागज गर्ने उमेश सिटौला, आलोक भन्ने आदित्य वर्मासमेतका मिसिल संलग्न कागजातबाट देखिएबाट निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(१) नं.बमोजिम १० वर्ष कैद गरेको सुरू मोरङ जिल्ला अदालतको फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत विराटनगरको फैसलालाई अन्यथा मान्नुपर्ने देखिएन ।
१४. त्यसैगरी प्रतिवादी खुदी भन्ने दिपक श्रेष्ठको हकमा हेर्दा, निज प्रतिवादी मौकामा फरार रही अदालतमा बयान गर्दा कसुर गरेकोमा इन्कार रही बयान गरे पनि निज प्रतिवादीउपर मृतकका बाबु जनक भन्ने टेकराज थापाको किटानी जाहेरी परेको र अदालतमा समेत आई सोही बेहोराको बकपत्र गरेको देखिन्छ । मौकामा कागज गर्ने व्यक्तिहरू आलोक भन्ने आदित्य वर्मा, उमेश सिटौलासमेतका व्यक्तिहरूको भनाइ एवं सहप्रतिवादी विजय दाहालको बयान बेहोरासमेतबाट यी प्रतिवादीको उल्लिखित घटनामा संलग्नता रहेकोमा विवाद देखिएन । निज प्रतिवादीलाई अभियोग दाबीबमोजिमको सजाय हुने नहुने भन्ने सन्दर्भमा हेर्दा, सहप्रतिवादी विजय दाहालले अनुसन्धानमा बयान गर्दा यी प्रतिवादी खुदी भन्ने दिपक श्रेष्ठसमेतका व्यक्तिहरूले इँट्टा, रड खुकुरीले भोलालाई हान्दै लखेट्दै गरेको भनी बेहोरा उल्लेख गरेको देखिन्छ । आलोक भन्ने आदित्य वर्माले अदालतमा आई बकपत्र नगरे पनि मौकामा कागज गर्दा दिपक श्रेष्ठसमेतको नाम लिएको देखिन्छ । यसरी उल्लिखित वारदातमा निज प्रतिवादीको मुख्य भूमिकामा रहेको भनी यकिनसाथ मिसिल संलग्न प्रमाणबाट भन्न नसकिएको तर ज्यान मार्नालाई निमित्त वारदात गरिरहेको ठाउँमा हतियारसाथ महजुद रहेको भन्ने सहप्रतिवादी विजय दाहालको बयान, जाहेरवालाको किटानी जाहेरी र सोहीबमोजिमको बकपत्र तथा मौकामा कागज गर्ने आलोक भन्ने आदित्य वर्मासमेतका मिसिल संलग्न कागजातबाट देखियो । यसरी निज प्रतिवादीले नै छाडेको चोटको कारण भोला थापाको मृत्यु भएको भन्ने प्रमाण मिसिलबाट देखिन नआई निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(१) नं.बमोजिम १० वर्ष कैद गरेको सुरू मोरङ जिल्ला अदालतको फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत विराटनगरको फैसलालाई अन्यथा मान्नुपर्ने देखिएन ।
१५. अब, अभियोग दाबीबाट सफाइ पाएका प्रतिवादी विमल भट्टराईलाई अभियोगदाबीबमोजिम सजाय गर्नुपर्छ भन्ने वादी पक्षको जिकिर रहेको सन्दर्भमा हेर्दा, निज प्रतिवादी मौकामा तथा अदालतमा बयान गर्दा कसुर गरेकोमा इन्कारी रही बयान गरेको देखिन्छ । निज प्रतिवादीउपर सहप्रतिवादी विजय दाहालले मौकामा तथा अदालतमा बयान गर्दा निज प्रतिवादीको नाम किटान गरी पोल उजुर गर्न सकेको अवस्था
छैन । घटनाका प्रत्यक्षदर्शी शुभम वर्मा प्याकुरेलले यी प्रतिवादीको नाम किटान गर्न सकेका छैनन् । मौकामा कागज गर्ने व्यक्तिहरू उमेश सिटौला, सुरज गुप्ताले मौकामा यी प्रतिवादीको नाम किटान गरे पनि निज व्यक्तिहरू अदालत आई बकपत्र गरेको देखिँदैन । त्यसैगरी अशोक हुमागाईको हकमा हेर्दा, निज मौकामा तथा अदालतमा बयान गर्दा कसुर गरेकोमा इन्कारी रही बयान गरेको देखिन्छ । निज प्रतिवादीउपर पहिलो जाहेरीमा किटानी साथ निजको नाम उल्लेख गरेको
देखिँदैन । निजका साक्षी उद्धव कोईरालासमेतले मृतकसँग प्रतिवादीको कुनै रिसइवी नभएकोले मृतकलाई मार्नुपर्ने अवस्था देखिँदैन भनी बकपत्र गरेको देखिन्छ । सहप्रतिवादी विजय दाहालले मौकामा तथा अदालतमा बयान गर्दा निज प्रतिवादीको नाम उल्लेख गर्न सकेको देखिँदैन । मौकामा कागज गर्ने व्यक्ति अभिषेक नेपाल, प्रत्यक्षदर्शी शारदाप्रसाद गिरी, आलोक भन्ने आदित्य वर्मा, उमेश सिटौला र राम नारायण सरदारसमेतका व्यक्तिले यी प्रतिवादी घटनास्थलमा उपस्थित भई उल्लिखित वारदात घटाएका हुन् भनी किटानीसाथ भन्न सकेको अवस्था देखिँदैन । त्यसैगरी राजेश चौधरी भन्ने राजेश साहको हकमा हेर्दा, निज प्रतिवादीले आरोपित कसुरमा इन्कार रही वारदातको समयमा आफू बिरामी भई घरमै सुतिरहेको भनी बयान गरेको देखिन्छ । सहप्रतिवादी विजय दाहालले मौकामा तथा अदालतमा बयान गर्दा यी प्रतिवादीको समेत नाम पोल गरी बयान गरे पनि मौकामा कागज गर्ने व्यक्ति अभिषेक नेपालसमेतले यी प्रतिवादीको कर्तव्यबाट मृतक भोला थापाको मृत्यु भएको भनी किटानीसाथ भन्न सकेको देखिँदैन । घटना विवरण कागज गर्ने प्रत्यक्षदर्शी शारदाप्रसाद गिरी, राम नारायण सरदारसमेतले यी प्रतिवादी घटनास्थलमा उपस्थित भई उल्लिखित वारदात घटाएका हुन् भनी किटानीसाथ भन्न सकेको अवस्था देखिँदैन भने घटना विवरण कागज गर्ने अनिल शर्मा र विजय रायले समेत यी प्रतिवादीको नाम लिएको अवस्था छैन । निज प्रतिवादीको इन्कारी बयानलाई निजका साक्षी मनिष अत्रीले वारदातको दिन अर्थात् मिति २०६३।७।६ गते बेलुका निज प्रतिवादीलाई निजकै घरमा बिरामी अवस्थामा सुतिरहेको देखेको भनी स.ज. ८ मा बकपत्र गरिदिएको देखिन्छ । त्यसैगरी मधुसुदन मानन्धरको हकमा हेर्दा, निज प्रतिवादी कसुर गरेकोमा इन्कार रही वारदातको समयमा आफू विराटनगरबाट काठमाडौं गएको भनी बयान गरेको देखिन्छ भने निज प्रतिवादीका साक्षी अनिल साह र दिपक चापागाईले निज प्रतिवादीलाई राम्रोसँग चिन्दछु । मिति २०६३।७।५ मा श्रीमतीको साथ काठमाडौं गएका हुन् भनी बकपत्र गरिदिएको देखिन्छ । मौकामा कागज गर्ने व्यक्तिहरू अभिषेक नेपालसमेतले यी प्रतिवादीको कर्तव्यबाट मृतक भोला थापाको मृत्यु भएको भनी किटानीसाथ भन्न सकेको देखिँदैन । प्रत्यक्षदर्शी शारदाप्रसाद गिरी, सुभव वर्मा, राम नारायण सरदारसमेतले यी प्रतिवादी घटनास्थलमा उपस्थित भई उल्लिखित वारदात घटाएका हुन् भनी किटानी साथ भन्न सकेको
पाइँदैन । यस स्थितिमा यी प्रतिवादीहरू विमल भट्टराई, अशोक हुमागाइँ, राजेश चौधरी भन्ने राजेश साह र मधुसुधन मानन्धरलाई अभियोग दाबीबाट सफाइ दिएको सुरू मोरङ जिल्ला अदालतको फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत विराटनगरको फैसलालाई अन्यथा भन्नुपर्ने देखिएन ।
१६. यसरी प्रस्तुत मुद्दालाई समग्रतामा हेर्दा स्थानीय युवाहरूको दुई समूहबिचका दुस्मनीका कारण घटना घटन गएको
देखिन्छ । यसको प्रारूप वारदातको तीन दिनपहिले नै मृतकको बाबुलाई धम्क्याएको देखिन्छ । घटना विराटनगर बजारको तीनपैनी चोकमा क्यारम बोर्ड खेल्ने व्यक्तिहरू र वरिपरि पसल गरी बस्ने व्यक्तिहरूको सामुन्ने संसाँझै घटेको देखिन्छ । साथीसँग क्यारम बोर्ड खेलिरहेका मृतकलाई एक्कासि घेरा हाली लखेटी लखेटी हतियार प्रहार गरी मरणासन्न भएपछि छोडिएको र तत्कालै निजलाई अस्पताल लाने क्रममा मृत्यु भएको
देखिन्छ । यस्तो जघन्य घटनापछि अधिकांश व्यक्तिहरू लामो समयसम्म फरार रहेको
पाइन्छ । यसरी गुण्डागर्दी, हत्यासमेतमा संलग्न धेरैजसो प्रतिवादीहरू फरार रहेको अवस्थामा प्रहरीमा कागज गर्ने कतिपय प्रत्यक्षदर्शी र घाइतेहरू खुलेर अदालतमा बकपत्र गर्न नआउनुलाई अस्वाभाविक मान्न मिल्ने
देखिँदैन । हाम्रो जस्तो साक्षी संरक्षणको भरपर्दो व्यवस्था नभएको मुलुकमा सबै प्रत्यक्षदर्शीहरूबाट बकपत्र नहुन पनि सक्छ । त्यस्तो अवस्थामा मिसिल मौजुद प्रत्यक्ष र परिस्थितिजन्य प्रमाणहरूको राम्रोसँग संयोजन गर्न सकिएन भने जघन्य घटनाहरूमा पनि अपराधीहरू छुट्ने र न्याय मर्ने हुनसक्छ । सो अवस्था उत्पन्न हुन नदिन मिसिलमा भएका प्रमाणहरूलाई सतर्कतापूर्वक हेरी र दोषी निर्दोषीबारे उचित निष्कर्ष निकाल्नुपर्ने
हुन्छ । प्रस्तुत मुद्दामा उच्च अदालतले आजाद अन्सारी मुख्य अभियुक्त मानी अन्य प्रतिवादीहरूलाई मतियारका रूपमा विश्लेषण गरेको पाइयो । जबकि निज आजाद अन्सारी विरूद्ध जाहेरी परेको वा निज विरूद्ध अभियोगपत्र वा पूरक अभियोगपत्रमा मागदाबी लिएको अवस्थासमेत छैन । सो बेलासम्म मौकामा घटना विवरण कागज गर्ने वारदातका प्रत्यक्षदर्शीहरूलगायत कसैले पनि निजको नामसम्म पनि लिएको पाइँदैन । केवल विकेश चौधरी भन्ने विकेश साह र राजेश चौधरी भन्ने राजेश साहले अदालतको बयानमा निजको नाम लिएको पाइन्छ ।
१७. प्रस्तुत वारदात घटाउनमा मुख्य भूमिका निर्वाह गरेका निज विकेश चौधरी भन्ने विकेश साहले आफू आपराधिक दायित्वबाट पन्छिने नियतले बिना कुनै ठोस आधार प्रमाणबेगर आजाद अन्सारीको नाम लिएको र उक्त व्यक्तिको वारदातमा संलग्नताका सम्बन्धमा प्रत्यक्ष परोक्ष कुनै प्रमाणबाट समर्थित हुन नआएको अवस्थामा निजको बयानलाई आधार मानी वारदात परिदृश्यमा देखा नपरेको आजाद अन्सारीलाई मुख्य कसुरदार ठानी अन्य प्रतिवादीहरू मतियारको भूमिकामा रहेको भनी मान्न मिलेन । मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. र १७ नं. को अवस्थालाई हेर्दा १३ नं.अन्तर्गतको कसुर यकिन पहिचान भएपछि ऐ.१७ नं.अन्तर्गत मतियारको भूमिकाबारे न्याय निरूपण हुने हो । उच्च अदालत विराटनगरले मिसिलबाट वारदात परिदृश्यमा अस्तित्वमा रहेको यकिन नै नभएको आजाद अन्सारीको मुख्य भूमिकामा रहेको मानी वारदातमा उपस्थित अन्य सबै प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको महलको १७ नं.बमोजिमको कसुर र सजाय ठहर गरेको फैसला ज्यानसम्बन्धीको महलको कानूनी व्यवस्थाअनुकूल र फौजदारी न्यायका दृष्टिले सङ्गतिपूर्णसमेत देखिन आएन ।
१८. यस अवस्थामा माथि विभिन्न दफामा गरिएका विश्लेषणबाट प्रतिवादी विकेश चौधरी भन्ने विकेश साह वारदातमा उपस्थित भएको तथ्यमा विवाद नभएको, घटनास्थलको प्रकृति, मृतकउपर परेको चोटको प्रकृति हेर्दा निजको हकमा अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सजाय हुनुपर्नेमा ऐ. महलको १७(१) नं.बमोजिम १० वर्ष कैद सजाय गरेको सुरू मोरङ जिल्ला अदालतको फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत विराटनगरको मिति २०७०।०५।११ को फैसला केही उल्टी भई निज प्रतिवादीलाई ऐ. को १३(१) नं. तथा मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम जन्मकैद सजाय हुने, प्रतिवादी दिवश गिरीको हक मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(१) नं.बमोजिम सजाय हुनुपर्नेमा निजलाई सफाइ दिएको सुरू अदालतको फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत विराटनगरको मिति २०७०।०५।११ को फैसला उल्टी भई निजलाई ऐ. को १७(१) नं.बमोजिम १० वर्ष कैद सजाय हुने, प्रतिवादीहरू विजय दाहाल, खुदी भन्ने दीपक श्रेष्ठ र पप्पु भन्ने आशिष राईलाई ज्यानसम्बन्धीको महलको १७(१) नं. बमोजिम १० वर्ष कैद हुने, प्रतिवादी रविन्द्र भट्टराईलाई ज्यानसम्बन्धीको महलको १७(३) नं.बमोजिम ३ वर्ष कैद हुने साथै प्रतिवादीहरू अशोक हुमागाइँ, बिमल भट्टराई, मधुसुदन मानन्धर, राजेश चौधरी भन्ने राजेश साहले कसुरबाट सफाइ पाउने ठहराई गरी सुरू मोरङ जिल्ला अदालतको फैसला सदर गर्ने गरी तत्कालीन पुनरावेदन अदालत विराटनगरबाट मिति २०७०।०५।११ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । अभियोग दाबीबाट छुट्करा पाउँ भन्ने प्रतिवादीहरू रविन्द्र भट्टराई र विजय दाहाल तथा सबै प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । तपसिलबमोजिम गर्नुहोला ।
तपसिल खण्ड
माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी विकेश चौधरी भन्ने विकेश साहको हकमा तत्कालीन पुनरावेदन अदालत विराटनगरबाट मिति २०७०।५।११ मा भएको फैसला केही उल्टी भई निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. र मुलुकी अपराध संहिताको दफा ४१ बमोजिम जन्म कैद हुने ठहर भएकोले निज प्रतिवादी मिति २०६३।१२।७ देखि थुनामा बसी १० वर्षको कैद सजाय भुक्तान भएको देखिँदा यस अदालतबाट कायम भएको जन्मकैदको लगत कसी असुल गर्नु भनी सुरू मोरङ जिल्ला अदालतमा लेखी पठाइदिनू ।
प्रतिवादी दिवश गिरीको सम्बन्धमा तत्कालीन पुनरावेदन अदालत विराटनगरबाट मिति २०७०।५।११ मा भएको फैसला उल्टी भई निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(१) नं.बमोजिम १० वर्ष कैद हुने ठहरी फैसला भएकोले निज प्रतिवादी मिति २०६७।६।५ देखि २०६७।११।५ सम्म ५ महिना कैदमा बसेको देखिँदा बाँकी अवधि ९ वर्ष ७ महिना कैदको लगत कसी असुलउपर गर्नु भनी सुरू मोरङ जिल्ला अदालतमा लेखी पठाइदिनू ।
फैसलाको प्रतिलिपि संलग्न गरी महान्यायाधिवक्ताको कार्यालयलाई जानकारी दिनू ।
फैसलाको नक्कल माग्न आए सरोकारवालालाई नियमबमोजिम दस्तुर लिई नक्कलको प्रति दिनू ।
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको प्रति कम्प्युटरमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा पठाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. नहकुल सुवेदी
इजलास अधिकृत: शारदादेवी पौडेल
इति संवत् २०७९ साल माघ २३ रोज २ शुभम् ।