शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११२५९ - रैकर परिणत जग्गा दर्ता गरी हक कायमसमेत

भाग: ६६ साल: २०८१ महिना: असार अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत

माननीय न्यायाधीश डा.श्री कुमार चुडाल

फैसला मिति : २०७९।७।१७

 

मुद्दा:- रैकर परिणत जग्गा दर्ता गरी हक कायमसमेत

 

०७३-CI-०३५८

पुनरावेदक / वादी : स्व. मानबहादुर खड्काको छोरा, काठमाडौं जिल्ला, चपली भद्रकाली गा.वि.स., वडा नं. ८ को हाल परिवर्तित बुढानिलकण्ठ नगरपालिका, वडा नं. ३ बस्ने रामबहादुर खड्का

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : रत्नकाजी तुलाधरको छोरा, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. २७ बस्ने प्रेमकाजी तुलाधरसमेत

 

०७३-CI-०५८८

पुनरावेदक / प्रतिवादी : सुर्य मोहन (महरा) तुलाधरको नाति, भाइमोहन तुलाधरको छोरा, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ३० बस्ने रत्नकाजी तुलाधर

विरूद्ध

प्रत्यर्थी / वादी : मानबहादुर खड्काको छोरा काठमाडौं जिल्ला, चपली भद्रकाली गा.वि.स., वडा नं. ८ बस्ने रामबहादुर खड्का

 

०७३-CI-१३१३

पुनरावेदक / प्रतिवादी : आशारत्नको नाति बाबुरत्न (काजी) को छोरा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ३० बस्ने लोकरत्न तुलाधरसमेत

विरूद्ध

प्रत्यर्थी / वादी : मानबहादुर खड्काको छोरा, काठमाडौं जिल्ला, चपली भद्रकाली गा.वि.स, वडा नं. ८ बस्ने रामबहादुर खड्का

 

जग्गा दर्ताको विषय सामान्य माग दाबीको आधारमा मात्र कायम हुने 

होइन । दाबीकर्ताले दर्ता बाँकी रहेको जग्गा आफ्नो हकभोगको हो भन्ने देखाउन साबिक स्रोत स्पष्टसँग खुलाउन 

सक्नुपर्ने । दाबी गरिएको जग्गामा आफ्नो स्वामित्व रहेको पुष्टि गराउन पर्याप्त र विवादरहित प्रमाण पुर्‍याएको हुनुपर्ने । कुनै पनि जग्गामा दाबीकर्ताको कानूनबमोजिमको हक रहेको भन्ने स्पष्ट स्रोत पुष्टि नभई त्यस्तो जग्गाउपर त्यस्ता व्यक्तिको कुनै प्रकारको हक स्थापित हुन नसक्ने ।

(प्रकरण नं. ६)

विवादमा रहेको जग्गा वादी प्रतिवादीहरूकै जग्गा हो भन्ने यकिन आधार नभएको अवस्थामा मुद्दाका पक्षहरूमध्येकै कसैको नाममा जग्गा दर्ता हक कायम हुनुपर्छ भनी अदालतले निर्णय गर्न नसक्ने । प्रमाण पुर्‍याई आउने व्यक्तिले कानूनबमोजिम जग्गा दर्ता गराउन सक्ने नै हुँदा प्रस्तुत मुद्दामा रहेका वादी प्रतिवादीहरूकै नाममा जग्गा दर्ता गरिदिनुपर्छ भन्ने दाबी तथा जिकिर पुग्न नसक्ने ।

(प्रकरण नं. ७)

 

वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री राजु बस्नेत तथा विद्वान् अधिवक्ता श्री नरहरि घिमिरे

प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री जितेन्द्र बज्राचार्य र श्री जीवनकुमार थापा

अवलम्बित नजिर :

सम्बद्ध कानून :

बिर्ता उन्मूलन ऐन, २०१६ 

प्रमाण ऐन, २०३१ 

 

सुरू तहमा फैसला गर्नेः

मा. जि. न्या. श्री चन्द्रबहादुर सारू

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

मा. न्या. श्री प्रेमराज कार्की

मा. न्या. श्री नारायणप्रसाद श्रेष्ठ

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या. प्रकाशमान सिंह राउत : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ३३(१) बमोजिम पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः-

तथ्य-खण्ड

म फिरादीको पिता स्व. मानबहादुर खड्का विधिवत् मोही भई कमाई आएको काठमाडौं जिल्ला, चपली गा.वि.स., वडा नं. ५(ग) कि.नं. ६६ जग्गा रोपनी २-४-०-० जग्गा पोता बिर्ताअन्तर्गत "ख" श्रेणीको बिर्ता जग्गा हो । जग्गा नाप जाँच ऐन, २०१९ बमोजिम नाप नक्सा हुँदा फिल्डबुकको जोताहा महलमा पिता स्व. मानबहादुर खड्का र जग्गाधनी महलमा कूलबहादुर मर्दा हक खाने बाबु रत्न तुलाधर का.ई. असन र किसानको बेहोरामा काठमाडौं जिल्ला असन बस्ने बाबु रत्न तुलाधरको हो । कुतमा कमाई आएको भन्ने र कैफियत महलमा २०२३।४।३१ का दरखास्तबमोजिम कि.नं.१ बाट कित्ताफोड भई आएको का.मा. पोता नं.४७१ खेत रोपनी १९ भनी उल्लेख भएको पोता बिर्ताअन्तर्गतको ख श्रेणीको बिर्ता जग्गा हो भन्ने तथ्य स्पष्ट छ । फिल्डबुकमा उल्लिखित बिर्तावाल तथा विपक्षीहरूले समेत बिर्ता उन्मूलन ऐन, २०१६ तथा बिर्ता उन्मूलन नियमावली, २०१७ बमोजिम विवरण दाखिला गरी रैकर परिणत आजसम्म गरे गराएका 

छैनन् । यसरी रै.प. नगरेको पोता बिर्ताअन्तर्गतको जग्गालाई छुट जग्गा दर्ता गरिपाउँ भनी विपक्षीहरूले मालपोत कार्यालय चावहिलमा निवेदन दिई कारबाही चलाएको कुरा गो.प.मा प्रकाशित सूचना र स्थलगत सर्जमिन गर्ने सम्बन्धमा सम्बन्धित गा.वि.स.मा गएको कारण फिरादीले थाहा पाई मालपोत कार्यालय चावहिलमा उपस्थित भई "ख" श्रेणीको बिर्ता जग्गा भएकोले बिर्ता उन्मूलन ऐन, २०१६ को दफा ७ क तथा १२क अन्तर्गत म मोहीको नाउँमा दर्ता गरिपाउँ भनी २०६५ साल आश्विन महिनामा निवेदन दिएको, सो निवेदनमा मालपोत कार्यालयबाट सनाखतसमेत गराई राखियो । तर, फिरादीसमेतलाई तारेखमा राखिएको थिएन । यसैबिच मालपोत कार्यालय, चावहिलबाट प्रकरण नं.१ मा उल्लिखित जग्गासमेतमा प्रमाण बुझी इन्साफ गर्नुपर्ने भएको र सोको क्षेत्राधिकार यस कार्यालयलाई नभएको हुँदा सम्बन्धित जिल्ला अदालतबाट आ-आफ्नो हक कायम गराई ल्याउन सुनाइदिने ठहर्‍याई मालपोत कार्यालय, चावहिलबाट मिति २०६६।४।२५ मा निर्णय भएको रहेछ । सो निर्णयसमेतको रीतपूर्वक नक्कल मिति २०६६।९।२३ मा सारी सराई लिई हेर्दा वास्तविक जानकारीमा पाएकोले अ.बं. ८२ नं. ले हकदैया पुग्ने म फिरादी अ.बं. २९ नं. र न्याय प्रशासन ऐन, २०४८ को दफा ७ ले क्षेत्राधिकार भएको यस सम्मानित अदालतमा जग्गा मिच्नेको १८ नं., जग्गा पजनीको १७ नं., बिर्ता उन्मूलन ऐन, २०१६ को दफा ७ (क) र ऐ.को दफा १२क का आधारमा फिराद गर्न आएको छु । अतः काठमाडौं जिल्ला, चपली गा.वि.स. वडा नं. ५ (ग) कि.नं. ६६ को क्षेत्रफल २-४-०-० जग्गा ख श्रेणीको बिर्ता हुँदा म मोहीका नाउँमा दर्ता हुने स्पष्ट कानूनी व्यवस्था हुँदा मालपोत कार्यालय, चावहिलबाट भएको मिति २०६६।४।२५ को निर्णयसमेत बदर गरी प्रचलित मूल्य रू.२,२५,०००।- जाने उक्त जग्गामा मेरो नाउँमा रै.प. दर्ता गरी हक कायमसमेत गरिपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी ।

काठमाडौं जिल्ला, चपली भद्रकाली गा.वि.स. वडा नं.५(ग) कि.नं. ६६ क्षेत्रफल २-४-०-० जग्गामा हामीहरूको कुनै किसिमको दाबी विरोध नभएकोले विपक्षीले हामीलाई प्रतिवादी बनाई गर्नु भएको फिराद हामीसँग कुनै सम्बन्ध नभई गैरकानूनी र त्रुटिपूर्ण भएकोले यस विषयमा हामीले कुनै प्रतिउत्तर जिकिर लिनुपर्ने आवश्यकता नभएकोले फिराद खारेज गरिपाउँ भन्ने बेहोराको प्रेमकाजी तुलाधर, उत्तमकाजी तुलाधर र करूणा तुलाधरको संयुक्त प्रतिउत्तर जिकिर ।

काठमाडौं जिल्ला, चपली भद्रकाली गा.वि.स. वडा नं.५ (ग) कि.नं. ६६ क्षे.फ. २-४-०-० जग्गा मेरा दाजु बाबुरत्न तुलाधरको नाममा नापी दर्ता भई सोहीबमोजिम फिल्डबुक, मोठ स्रेस्ता कायम भएकोमा निज दाजुको परलोक भई मेरो हक हुन आई मेरै हक भोग तथा स्वामित्वमा रहेको जग्गा मेरो भाउजूको नाममा दर्ता कायम रहेको उल्लिखित साबिक लगतबाट भिडी दर्ता हुने रैकर जग्गा हो । विपक्षीको फिराद दाबीअनुरूप उक्त मेरो जग्गा ख श्रेणीको बिर्ता जग्गा नभएकोले मेरो हक स्वामित्वको जग्गा विपक्षीको नाममा रैकर परिणत जग्गा दर्ता हक कायमसमेत हुन नसक्ने स्पष्ट भएकोले विपक्षीहरूको झुट्टा फिराद दाबी खारेज गरी उल्लिखित जग्गाको साबिक रसिद नापीका बखत तयार भएको फिल्डबुक मालपोत कार्यालयमा मेरो दाजुको नाममा कायम रहेको मोठ स्रेस्तासमेतको आधारमा स्व.दाजुको नामबाट हक़दार भाइ म प्रतिवादीको नाममा हक कायम दर्ता नामसारी गरी ज.ध.प्र.पुर्जा पाउने ठहर गरी हक इन्साफ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रत्नकाजी तुलाधरको प्रतिउत्तर जिकिर ।

काठमाडौं जिल्ला, चपली भद्रकाली गा.वि.स. वडा नं. ५ (ग) कि.नं. ६६ क्षे.फ. २-४-०-० जग्गा हामी प्रतिवादीहरूको हक भोग भई पहिला नै रै.प. गरिसकेको जग्गा भएको र विपक्षीको साबिक मोहीसँग नाता सम्बन्धमा देखिने कुनै प्रमाण नभएको साथै निजले बिर्ता उन्मूलन ऐन, २०१६ को दफा ७, १२ क ऐ. नियमावली, २०१७ को नियम ३क बमोजिमका प्रक्रिया पूरा गरी ज.ध. को निवेदन पर्नुपूर्व निवेदन गर्न नसकेकोले वादीको दाबीअनुसार हक कायम रै.प. हुन नसक्ने हुँदा फिराद खारेज गरिपाउँ भन्ने बेहोराको प्रतिवादी लोकरत्न तुलाधर र हेमरत्न तुलाधरको संयुक्त प्रतिउत्तर जिकिर ।

वादी दाबीको कि.नं.६६ को जग्गा बिर्ता नै रहेको देखिएको, प्रतिवादीहरूले रैकरमा परिणत गराएको वा २०४९ साल आषाढ मसान्तअघि नै जग्गाधनीको हैसियतले रैकरमा परिणत गर्न निवेदन दिई कारबाहीयुक्त अवस्थामा रहेको भन्ने पनि नदेखिएको, प्रस्तुत जग्गाको मोही स्व.मानबहादुर खड्का वादीको पिता रहे भएकोमा विवाद नदेखिँदा वादी दाबीबमोजिम काठमाडौं जिल्ला, चपली भद्रकाली गा.वि.स., वडा नं. ५(ग) कि.नं. ६६ को जग्गा वादीका नाममा रै.प. दर्ता गरी हक कायम हुने ठहर्छ भन्नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६८।१०।२९ मा भएको फैसला ।

सुरू काठमाडौं जिल्ला अदालतबाट ऐन नियम हदम्याद हदबन्दी जस्ता मूलभूत प्रश्नलाई बेवास्ता गरी काठमाडौं जिल्ला, चपली भद्रकाली गा.वि.स., वडा नं. ५ (ग) कि.नं. ६६ क्षे.फ. २-४-०-० जग्गा विपक्षीका नाममा रै.प. दर्ता हुने ठहर्‍याई हक कायम गरिएको फैसला त्रुटिपूर्ण भई बदर भागी हुँदा बदर उल्टी गरी म पुनरावेदक रत्नकाजी तुलाधरका नाउँमा उक्त जग्गा दर्ता हुने ठहर्‍याई हक कायमसमेत गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रत्नकाजी तुलाधरको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन जिकिर ।

विवादित कि.नं.६६ को जग्गाको किसानको बेहोरामा यो जग्गा का.ई.असन बस्ने बाबुरत्न तुलाधरको हो मैले कुतमा कमाई खाएको भनी लेखी कैफियत महलमा २०२३।४।३१ का दर्खास्तबमोजिम कि.नं.१ बाट कित्ताफोड भई आएको का.म.पोता नं.४७१ मा भिडिएको भन्ने उल्लेख छ । यसबाट एक पटक लगतबाट भिडिसकेपछि पुनः भिडाउन पर्दैन, पुनः भिडाउन मिल्दैन । भिड्ने कुरा अन्तिम भइसकेको छ । मोहीको नाममा नभिडेको जग्गा भिड्ने 

हो । जग्गाधनीको नाममा भिडिसकेको जग्गा पुनः मोहीको नाममा भिड्न नै सक्दैन । अतः काठमाडौं जिल्ला अदालतको फैसला प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ र मुलुकी ऐन, अ.बं. १८४ (क) १८५ र १८९ नं.बमोजिम त्रुटिपूर्ण हुँदा बदर गरी हाम्रो प्रतिउत्तर जिकिरबमोजिम न्याय इन्साफ पाउँ भन्ने बेहोराको प्रतिवादी लोकरत्न र हेमरत्न तुलाधरको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन जिकिर ।

दाबीको जग्गा बिर्ताको भएको भन्ने सम्बन्धमा वादीबाट तथ्ययुक्त प्रमाण प्रस्तुत हुन सकेको नदेखिएको र दाबीको जग्गाको मोही हक सम्बन्धमा विवाद भएमा सम्बन्धित पक्षले सम्बन्धित निकायमा कानूनबमोजिम कारबाही चलाएको अवस्थामा ठहरेअनुसार हुने नै भएको हुँदा दाबीको जग्गा वादीको नाममा रै.प. दर्ता गरी हक कायम हुने ठहराएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६८।१०।२९ को फैसला सो हदसम्म मिलेको नदेखिँदा उल्टी भई वादीको दाबी नपुग्ने ठहर्छ भन्नेसमेत बेहोरोको पुनरावेदन अदालत पाटनबाट मिति २०७३।१।२० मा भएको फैसला ।

विवादको कि.नं. ६६ को फिल्डबुक उतार जोताहाको महलमा स्व.मानबहादुर खड्का, जग्गाधनीको महलमा कूलबहादुर मर्दा हक खाने बाबु रत्न तुलाधर र किसानको बेहोरामा यो जग्गा का.इ.असन बस्ने बाबु रत्न तुलाधरको भन्ने उल्लेख छ भने कैफियत महलमा २०२३।४।३१ को दरखास्तबमोजिम कि.नं.१ बाट कित्ताफोड भई आएको पोता नं.४७१ मा भिडी आएको भन्ने उल्लेख छ । साबिक बिर्ता जग्गा रैकरमा परिणत गर्न बिर्ता उन्मूलन ऐन, २०१६अनुसार विवरण भरी रैकर परिणत भएको भन्ने सबुत आधारसमेत दिन विपक्षीहरूले सकेको 

छैन । प्रस्तुत जग्गाको फिल्डबुक जस्तो अकाट्य कागज प्रमाणमा पोता नं.४७१ बाट भिड्ने भनी प्रस्ट उल्लेख छ । विवादित जग्गा रैकरमा परिणत भइसकेको भए पोता नं. उल्लेख नभई हा.नं. उल्लेख हुनुपर्ने 

हो । सो कुराको पुष्टि विपक्षीहरूले गर्न नसकेको तथ्यतर्फ विचारै नगरी बिनाआधार प्रमाण काठमाडौं जिल्ला अदालतबाट भएको मिति २०६८।१०।२९ को फैसला उल्टी गरी वादी दाबी नपुग्ने ठहर्‍याई भएको पुनरावेदन अदालत पाटनको मिति २०७३।१।२० को फैसला बदर गरी फिराद दाबीमोजिम गरिपाउँ भन्ने बेहोराको वादी रामबहादुर खड्काको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।

दाबीको कि.नं. ६६ को जग्गा सर्भे नापीका बखत फिल्डबुकमा जग्गाधनी बाबुरत्न तुलाधर, का.ई. असन उल्लेख भई मोही महलमा मानबहादुर खड्काको नाम जनिई नापनक्सा भएको जग्गा हो । बाबुरत्न तुलाधर काकाबाजेका छोरा भई म निवेदकका दाजु नाताका व्यक्ति हुन् । निज मृतक बाबुरत्न तुलाधरको पिता कूलबहादुर तुलाधर र हजुरबाबु धर्मदास तुलाधर भएको तथ्य फिल्डबुक, काठमाडौं महानगरपालिकाबाट प्राप्त नाता प्रमाणपत्र, नेपाल विद्युत् प्राधिकरणमा रहेको फारामलगायतबाट पुष्टि हुन्छ । मृतक बाबुरत्न तुलाधरको एक मात्र हकदार म पुनरावेदक रहे भएको र उक्त जग्गा मेरो भाउजू लक्ष्मीमायाका नामको मौजा बुढानिलकण्ठ हा.नं. १८३ भिडी दर्ता हुने जग्गा हो । मुलुकी ऐन अपुताली महलको १, २ नं. तथा जग्गा पजनीको २(क) नं.बमोजिम मृतकका नामबाट मेरा नाममा जग्गा दा.खा. दर्ता नामसारी गर्न छुट हुन गएकाले मालपोत ऐन, २०३४ को दफा ७(१) बमोजिम मेरा नाममा छुट जग्गा दर्ता दाखिल खारेज नामसारी गर्न मालपोत कार्यालयमा निवेदन दिएको थिएँ । उक्त जग्गा साबिकमा कि.नं.१ बाट कित्ताफोड भई मिति २०२३।०४।३१ मा कि.नं. ६६, ६७, ६८ कायम भई आएकोमध्ये कि.नं.६७ यसअघि नै जग्गाधनीहरूबाट छुट जग्गा दर्ता गराई जग्गाधनी पुर्जा लिइसकेका छन् । यसबाट उक्त जग्गा बिर्ता जग्गा नरहे नभएको पुष्टि हुँदाहुँदै पुनरावेदन अदालत पाटनबाट बिना आधार, प्रमाण मलाई हराई मिति २०७३।१।२० मा भएको फैसला बदर गरी उक्त कि.नं. ६६ को जग्गा म पुनरावेदकका नाममा छुट जग्गा दर्ता दाखिल खारेज नामसारी हक कायमसमेत हुने गरिपाउँ भन्ने बेहोराको प्रतिवादी रत्नकाजी तुलाधरको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।

काठमाडौं जिल्ला, चपली गा.वि.स., वडा नं.५/ग कि.नं. ६६ क्षे.फ.२-०-०-० को जग्गा हामीहरूका पिता बाबु रत्न (काजी) तुलाधरका नाममा नापी हुँदाका बखत नाप नक्सा भई दर्ता हुन बाँकी रहेको दर्ता छुट जग्गा हो । नापीको समयमा फिल्डबुकको जग्गाधनी महलमा "यो जग्गा असन बस्ने बाबु रत्न तुलाधरको हो मैले कुत बुझाई कमाई खाएको" भनी उल्लेख भई स्पष्ट रूपमा साबिक दर्तावालाको हक खाने हकदार हामीहरू भएको बेहोरा फिल्डबुकको बेहोराबाट समेत पुष्टि भएको अवस्था छ । हामीले पितासँगको नाता प्रमाणित, मृत्यु दर्ता प्रमाण पत्र र स्थानीय निकायको सिफारिस पेस गर्दागर्दै हामीहरूका पिता बाबुरत्न (काजी) तुलाधरका पितासँगको नाता प्रमाणित हुने प्रमाण पेस गर्न नसकेको भनी विवादित जग्गामा हामीहरूको हक कायम नहुने गरी गरेको पुनरावेदन अदालत पाटनको फैसला मुलुकी ऐन, अ.बं. १८४ (क) र १८५ नं. र प्रमाण ऐन, २०३१ को दफा ६(ग)विपरीत गैरकानूनी र त्रुटिपूर्ण हुँदा विवादित कि.नं.६६ मा हामीहरूको हक कायम नगरेको हदसम्म उक्त फैसला बदर गरी उक्त जग्गा हामीहरूको नाममा हक कायम हुने ठहर्‍याई पाउँ भन्ने बेहोराको प्रतिवादीहरू लोकरत्न तुलाधर र हेमरत्न तुलाधरको यस अदालतमा परेको पुनरावेदन पत्र ।

यसमा विवादित जग्गाका धनी तथा मोहीको हैसियत देखाई फिराददाबी परेकोमा जग्गा कसको कायम हुने भन्ने यकिन गरिएको नदेखिँदा तत्कालीन मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको २०२ नं., मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा २१३(३) नं. को प्रयोजनार्थ प्रत्यर्थी झिकाई म्यादभित्र हाजिर भए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भनी यस अदालतबाट मिति २०७५।१२।२ मा भएको आदेश ।

यस अदालतको ठहर

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी रामबहादुर खड्काका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री राजु बस्नेत तथा विद्वान् अधिवक्ता श्री नरहरि घिमिरेले विवादित जग्गाको मोही पुनरावेदकका बाबु स्व.मानबहादुर खड्का रहे भएको तथ्यमा विवाद नभएपछि विवादित कि.नं. ६६ को जग्गा पोता बिर्ता रहेको र बिर्तावालाले रै.प. गरी नसकेको अवस्थामा स्वत: मोहीको नाउँमा रै.प. दर्ता र हक कायम हुने स्पष्ट रहेको छ । पुनरावेदकको नाउँमा रैकर परिणत दर्ता हक कायम हुने गरी काठमाडौं जिल्ला अदालतबाट भएको फैसला उल्टी गरेको पुनरावेदन अदालत पाटनको मिति २०७३।१।२० को फैसला नमिलेको हुँदा बदर गरी फिराद दाबीबमोजिम हाम्रो पक्षको नाउँमा रैकर परिणत दर्ता हक कायमसमेत गरिपाउँ भनी बहस गर्नुभयो ।

त्यसैगरी, पुनरावेदक रत्नकाजी तुलाधरको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री जितेन्द्र बज्राचार्यले विवादको फिल्डबुकको जग्गाधनी महलमा कूलबहादुर मर्दा हक खाने बाबुरत्न तुलाधर उल्लेख भई मोही महलमा मानबहादुर खड्काको नाम जनिई नापनक्सा भएकोमा मृतक बाबुरत्न तुलाधरको एक मात्र हकदार पुनरावेदक रहे भएको र उक्त जग्गा निज पुनरावेदकको भाउजू लक्ष्मीमायाका नामको मौजा बुढानिलकण्ठ हा.नं. १८३ भिडी दर्ता हुने जग्गा भएको हुँदा उपर्युक्त कि.नं.६६ को जग्गा मेरो पक्षका नाममा छुट जग्गा दर्ता दाखिल खारेज नामसारी हक कायमसमेत गरिपाउँ भनी तथा पुनरावेदक प्रतिवादी लोकरत्न तुलाधर र हेमरत्न तुलाधरका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री जीवनकुमार थापाले मेरो पक्षका पिता बाबुरत्न (काजी) तुलाधरका नामको मौजा कपन हा.नं. ३२१ को लगत, नाता प्रमाणित प्रमाण-पत्र, स्थानीय निकायका सर्जमिन र मोहीले नापीको समयमा लेखाएको फिल्डबुकको कैफियत महलको बेहोरा तथा क्षेत्रीय किताबको बेहोरासमेतबाट कि.नं. ६६ जग्गा मेरो पक्षका पुनरावेदक प्रतिवादीको भएकोले पुनरावेदन अदालत पाटनको मिति २०७३।१।२० को फैसला बदर गरी उक्त जग्गा निज पुनरावेदकको नाममा हक कायम हुने ठहर्‍याई पाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

उपर्युक्तानुसारको बहस जिकिर एवं पुनरावेदनसहितको मिसिलसमेत अध्ययन गरी हेर्दा, पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्ने हो, 

होइन ? सो सम्बन्धमा निर्णय गर्नुपर्ने देखिन 

आयो ।

२. निर्णयतर्फ विचार गर्दा, काठमाडौं जिल्ला, चपली गा.वि.स. वडा नं. ५ (ग) कि.नं. ६६ को क्षे.फ. २-४-०-० जग्गा "ख" श्रेणीको बिर्ता भएकोले मालपोत कार्यालय चावहिलको मिति २०६६।४।२५ को निर्णयसमेत बदर गरी उक्त जग्गा म फिरादीको नाउँमा रैकर परिणत दर्ता गरी हक कायमसमेत गरिपाउँ भन्ने फिराद दाबी तथा उल्लिखित जग्गामा हामी प्रतिवादीको कुनै जिकिर र हक दाबी नभएको हुँदा फिराद खारेज गरिपाउँ भन्ने प्रतिवादीहरू प्रेमकाजी तुलाधर, उत्तमकाजी तुलाधर र करूणा तुलाधरसमेतको संयुक्त प्रतिउत्तर जिकिर एवम् बेसरोकारका व्यक्तिहरूले मेरो रैकर जग्गालाई बिर्ता हो भनी ढाँटी दर्ता माग गर्दैमा मेरो हक भोगको जग्गा विपक्षीको नाममा नामसारी दर्ता हुन नसक्ने भएकोले विपक्षीको फिराद दाबी खारेज गरी मेरो नाममा हक कायम दर्ता गरिपाउँ भन्ने प्रतिवादी रत्नकाजी तुलाधरको प्रतिउत्तर जिकिर र वादी दाबीको जग्गा हामी प्रतिवादीहरूको हक भोग भई पहिला नै रैकर परिणत गरिसकेको जग्गा भएको हुँदा वादीको दाबीअनुसार हक कायम रैकर परिणत हुन नसक्ने भएकोले फिराद खारेज गरिपाउँ भन्ने प्रतिवादी लोकरत्न तुलाधर र हेमरत्न तुलाधरको संयुक्त प्रतिउत्तर जिकिर भएको प्रस्तुत मुद्दामा वादी दाबीबमोजिम कि.नं. ६६ को जग्गा वादीका नाममा रैकर परिणत दर्ता गरी हक कायम हुने ठहर गरेको सुरू काठमाडौं जिल्ला अदालतको फैसला सो हदसम्म उल्टी भई वादी दाबी नपुग्ने ठहर्‍याई पुनरावेदन अदालत पाटनबाट भएको फैसलाउपर वादी प्रतिवादी दुवै पक्षको यस अदालतमा पुनरावेदन दर्ता हुन आएको देखियो ।

३. दाबीको कि.नं.६६ को जग्गाको हकको स्रोतमा पुनरावेदक वादी रामबहादुर खड्काले वादीको बाबु स्व.मानबहादुर खड्का मोही भई कमाई आएको पोता नं.४७१ रहेको ‘ख’ श्रेणीको बिर्ता जग्गा हो भनी, पुनरावेदक रत्नकाजी तुलाधरले दाजु बाबुरत्न तुलाधरको नाममा नापी दर्ता भई मोठ स्रेस्ता कायम भएको दाजुको परलोक भई भाउजू लक्ष्मीमायाको नाममा दर्ता कायम रहेको साबिक मौजा बुढानिलकण्ठ हा.नं.१८३ समेतबाट भिडी दर्ता हुने भनी र पुनरावेदक प्रतिवादी लोकरत्न तुलाधरसमेतले बाबुरत्न तुलाधरका नाउँमा नाप नक्सा भई पिताको मिति २०६१।७।१७ मा र आमा राजदेवी तुलाधरको मिति २०४७।६।१ मा परलोक भई निजहरूको शेषपछिको हक खाने छोरा नाताको भनी उल्लेख गरेको पाइन्छ । विवादको कि.नं.६६ को जग्गाको फिल्डबुक उतारबाट जोताहा महलमा मानबहादुर खड्का र जग्गाधनीको महलमा कूलबहादुर मर्दा हक खाने बाबु रत्न तुलाधर भई किसानको बेहोरामा "यो जग्गा का.ई. असन बस्ने बाबु रत्न तुलाधरको हो, मैले कुत बुझाई कमाई खाएको" भन्ने तथा कैफियत महलमा "२०२३।४।३१।२ को दरखास्तबमोजिम कि.नं.१ बाट कित्ताफोड भई आएको का.मा.पोता नं. ४७१ खेत रोपनी १S को रू.१६ मा भिडी आएको" भन्ने उल्लेख भएको देखिन्छ ।

४. अब, पुनरावेदक वादी रामबहादुर खड्काको विवादित जग्गाको मोही मानबहादुर खड्काको मृत्यु भई निजको हकदार आफू भएको र दाबीको जग्गा "ख" श्रेणीको बिर्ता भएको हुँदा आफ्नो नाममा दर्ता हुनुपर्छ भन्ने जिकिरतर्फ विचार गर्दा, बिर्ता उन्मूलन ऐन, १६ को दफा क. (१) मा "ख" श्रेणीको बिर्ता जग्गा कमाउने व्यक्तिले यो दफा प्रारम्भ भएपछि नेपाल सरकारले तोकेको म्यादभित्र आफूसँग भएको वा आफूले जाने बुझेसम्मको सबुत प्रमाण र सो जग्गाको कित्ता नम्बर, चार किल्ला, बिर्तावालको नाम, थर, वतन, कुतबाली, तिरोसमेत खुलाई त्यस्तो जग्गा आफ्नो नाउँमा दर्ता गर्नको लागि सम्बन्धित जिल्लाको माल वा मालपोत कार्यालयमा दरखास्त दिनुपर्ने छ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । पुनरावेदक वादीले मालपोत कार्यालय चावहिलमा आफ्नो नाममा उक्त जग्गा दर्ता गरिपाउँ भनी निवेदन दिए तापनि बिर्ता उन्मूलन ऐन, २०१६ को दफा ७(१) बमोजिम बुझाइएको बिर्ता जग्गाको विवरण तथा बिर्ता उन्मूलन नियमावली, २०१७ को नियम १७ बमोजिम बिर्ता जग्गाको लगत भएको जम्माबन्दीको रेकर्ड (अभिलेख) समेत प्रस्तुत गर्न सकेको देखिँदैन । यी वादीले उक्त जग्गा बिर्ता जग्गा नै हो, यो यस आधारबाट यो यसको नाममा बिर्ता रहेको जग्गा हो भनी बिर्ता जग्गा भएको तथ्य पुष्टि हुने प्रमाण प्रस्तुत गर्न सकेको पनि पाइँदैन । वादीले विवादित जग्गा बिर्ता जग्गा हो भन्ने आधार फिल्डबुकको कैफियत महलमा २०२३।४।३१ को दरखास्तबमोजिम कि.नं.१ बाट कित्ताफोड भई आएको का.मा.पोता नं. ४७१ उल्लेख भएको भन्ने आधार लिई उक्त जग्गालाई "ख" श्रेणीको बिर्ता जग्गा भनी दाबी लिएकोसम्म 

देखिन्छ । तर, मिसिल संलग्न विवादित जग्गाको फिल्डबुकको कैफियत महलमा वादीले दाबी लिएबमोजिमको बेहोरा खुलाई उक्त पोता नं. बाट भिड्ने जग्गा हो भनी कुनै लगत पेस गरेको तथा पोता रसिद मिसिल संलग्न गरेकोसमेत देखिँदैन । बिर्ता जग्गा हो भनी दाबी लिनेले सो पुष्टि हुने विश्वसनीय प्रमाण गुजार्नु दाबीकर्ताको दायित्व हुन्छ । वादीको वारेस सानुबहादुर श्रेष्ठले पुनरावेदन अदालत पाटनमा मिति २०७२।९।१९ मा कागज गर्दा पोता नं. ४७१ समेतको मौजा र पोता खुलाउन सक्दिनँ भनी लेखाएको 

देखिन्छ । साथै उक्त विवादित जग्गा वादीले आफ्नो मोही हकको पोता लगतभित्रको जग्गा हो भनी पोता रसिद संलग्न गरी बिर्तावालका नाम, थर, वतनलगायतका विवरण खुलाई विश्वसनीय ठोस र यकिन प्रमाण पेस गर्न सकेको पनि 

देखिँदैन । यस अवस्थामा "ख" श्रेणीको बिर्ता जग्गा हो भन्ने दाबीलाई मात्र आधार मानी विवादित जग्गा वादीको नाममा रैकर परिणत गरी दर्ता गर्नुपर्ने हो भनी मान्न सकिने अवस्था देखिएन । तर दाबीको जग्गाको मोही हकसम्बन्धी विवाद भएमा सम्बन्धित पक्षले अधिकार प्राप्त निकायमा कानूनबमोजिम कारबाही चलाएको अवस्थामा ठहरेबमोजिम हुने नै हुँदा वादी दाबीको जग्गा जग्गाधनीले रैकर परिणत नगरेको मानी वादीको नाममा रैकर परिणत दर्ता भई हक कायम हुनुपर्ने भन्ने वादीको दाबी तथा पुनरावेदन जिकिरसँग सहमत हुन सक्ने अवस्था देखिएन ।

५. अब, पुनरावेदक प्रतिवादी लोकरत्न तुलाधर र हेमरत्न तुलाधरसमेतले विवादित कि.नं. ६६ को जग्गाको फिल्डबुकमा उल्लिखित बाबुरत्न तुलाधर हामीहरूका पिता भएको र सो जग्गा नाप नक्सा भई दर्ता हुन बाँकी रहेको हाम्रो हकको छुट जग्गा हो भन्ने जिकिरतर्फ विचार गर्दा, उक्त जग्गाको फिल्डबुको जग्गाधनी शीर्षकमा कूलबहादुर मर्दा हक खाने बाबु रत्न तुलाधर का.ई. असन भनी उल्लेख भएको व्यक्ति हाम्रा पिता बाबुरत्न तुलाधर हुन् भन्ने दाबी गरेको देखिन्छ । उक्त जग्गाका हकदार जग्गाधनी मूल पुरूष कूलबहादुर रहेको र निजको हकदार यिनै प्रतिवादीहरूको पिता बाबुरत्न तुलाधर नै हो भन्ने तथ्य प्रमाणित गराउने दायित्व यिनै दाबीकर्ताहरूको हुन्छ । मिति २०६१।७।१० मा दर्ता भएको बाबुरत्न तुलाधरको मृत्यु दर्ताको प्रमाण पत्रमा हजुरबुबाको नाम धिजरत्न तुलाधर र बाबुको नाम आसारत्न तुलाधर भएको भनी खुलाएको देखिन्छ । निज प्रतिवादीहरूले काठमाडौं महानगरपालिका ३० नं. वडाबाट नाता प्रमाणित गरेको कागजको प्रतिलिपि पेस गरे तापनि उक्त नाता प्रमाणित कागजबाट यी प्रतिवादीहरूको पिता बाबुरत्न तुलाधर भएकोसम्म देखिन्छ तर फिल्डबुकमा उल्लिखित मूल पुरूष कूलबहादुरको हकदार यी प्रतिवादीहरूका पिता बाबुरत्न नै रहेको भन्ने तथ्य खुल्न सकेको पाइँदैन । फिल्डबुकमा जग्गावालाको महलमा उल्लिखित कूलबहादुरको हक खाने यिनै प्रतिवादीका पिता बाबुरत्न तुलाधर हो भन्ने हाँगा खुल्ने तथ्य पुष्टि हुने कुनै पनि ठोस कागज प्रमाण पेस गर्न सकेको पाइँदैन । प्रतिवादीको जिकिरअनुसार विवादित जग्गा मौजा कपन हा.नं. ३२१ बाबुकाजी तुलाधरका नाउँको लगत भिडी दर्ता हुने भनिए पनि उक्त लगत प्रतिवादीहरूका पिता बाबुरत्न तुलाधरको नामको नभई बाबुकाजी तुलाधरको नामको लगत रहेको भन्ने तथ्य निजहरूले मालपोत कार्यालय चावहिलमा मिति २०६५।१।२७ मा दिएको निवेदनको पीठमा भिडाएको देखिन्छ । सोही लगतबाट भिड्ने जग्गा नै कि.नं. ६६ को जग्गा हो भन्ने चार किल्ला खुल्नेसमेतका स्पष्ट आधार प्रमाण निजले प्रस्तुत गर्न सकेको पाइँदैन । यस अवस्थामा दाबीको जग्गा सोही लगतबाट भिड्ने जग्गा हो भनी विश्वास गर्न सकिने अवस्थासमेत देखिएन । प्रतिवादीहरूको आफ्नो हकको जग्गा रहेको भए उक्त जग्गा भूमिसम्बन्धी नियमहरू, २०२१ को नियम ३ बमोजिमको जग्गाधनीको लगत रहेको १ नं. अनुसूची भरेको, २ नं. अनुसूचीबमोजिम प्रकाशित लगत तथा अनुसूची- ७ बमोजिम जग्गाको फाँटवारीको प्रमाण पेस गरी आफ्नो जग्गा रहेको तथ्य पुष्टि गराउन सक्नु पर्ने 

हुन्थ्यो । तर, उक्त प्रमाणहरू यी प्रतिवादीहरूले मिसिल संलग्न गरेको समेत देखिँदैन । साथै, विवादित जग्गा बाबु बाजेले भोग चलन गर्दै आएको भन्ने जिकिर पुष्टि गर्ने सबुत दिन सकेकोसमेत पाइएन । यस अवस्थामा पुनरावेदक प्रतिवादीहरू लोकरत्न तुलाधर र हेमरत्न तुलाधरले विवादित कि.नं. ६६ को जग्गा दर्ता छुट हुन गई दर्ता बाँकी रहेको छुट जग्गा आफूहरूको नाममा दर्ता हुनुपर्छ भनी लिएको जिकिरसँग सहमत हुन सक्ने अवस्था देखिएन ।

६. त्यसैगरी, पुनरावेदक रत्नकाजी  

तुलाधरको विवादित कि.नं. ६६ को जग्गा छुट जग्गा दर्ता गरी हक कायम गरिपाउँ भन्नेसमेतको जिकिरतर्फ विचार गर्दा, निज प्रतिवादीले सो विवादित जग्गा दाजुको नाममा जग्गाधनी जनाई भाउजू लक्ष्मीमायाको नाममा दर्ता कायम भएको साबिक मौजा बुढानिलकण्ठ हा.नं. १८३ बाट भिडी दर्ता हुने जग्गा हो भन्ने दाबी जिकिर रहेको 

देखिन्छ । दाबीको जग्गाको हक कायम हुने स्रोतको रूपमा प्रतिवादी रत्नकाजी तुलाधरबाट प्रस्तुत भएको लगत आफ्नो नभई लक्ष्मीमायाको नामको भएको दाबी गरिएको र निज लक्ष्मीमाया यी प्रतिवादीको काका बाजेको नातिनी बुहारी "भाउजू" नाताको रहेको भन्ने तथ्य निजले पेस गरेको मिति २०६५।३।१८ को नाता प्रमाणपत्र कागजबाट देखिन्छ । उक्त दाबी गरिएको लगत फिल्डबुकको जग्गाधनी महलमा जनिएका बाबु रत्न तुलाधरको नामको नभएको र लक्ष्मीमायाको नामको हा.नं.१८३ को लगतबाट नै भिड्ने कि.नं. ६६ को जग्गा हो भन्ने साबिक लगतमा रहेको चारकिल्ला खुल्नेसमेतका स्पष्ट आधार प्रमाण निजले प्रस्तुत गर्न सकेको पाइँदैन । यी प्रतिवादीको आफ्नो हकको जग्गा रहेको भए उक्त जग्गा भूमिसम्बन्धी नियमहरू, २०२१ को नियम ३ बमोजिमको जग्गाधनीको लगत रहेको १ नं. अनुसूची भरेको, २ नं. अनसूचीबमोजिम प्रकाशित लगत तथा अनुसूची- ७ बमोजिम जग्गाको फाँटवारीको प्रमाण पेस गरी आफ्नो जग्गा रहेको तथ्य पुष्टि गराउन सक्नुपर्ने हुन्थ्यो तर, उक्त प्रमाणहरू यी प्रतिवादीले मिसिल संलग्न गरी पुष्टि गरेकोसमेत देखिँदैन । जग्गा दर्ताजस्तो विषय सामान्य माग दाबीको आधारमा मात्र कायम हुने होइन । दाबीकर्ताले दर्ता बाँकी रहेको जग्गा आफ्नो हकभोगको हो भन्ने देखाउन साबिक स्रोत स्पष्टसँग खुलाउन सक्नुपर्छ । दाबी गरिएको जग्गामा आफ्नो स्वामित्व रहेको पुष्टि गराउन पर्याप्त र विवादरहित प्रमाण पुर्‍याएको हुनुपर्छ । कुनै पनि जग्गामा दाबीकर्ताको कानूनबमोजिमको हक रहेको भन्ने स्पष्ट स्रोत पुष्टि नभई त्यस्तो जग्गाउपर त्यस्ता व्यक्तिको कुनै प्रकारको हक स्थापित हुन 

सक्दैन । प्रमाण ऐन, २०३१ को दफा २६ मा "देवानी मुद्दामा आफ्नो दाबी वा प्रतिदाबी प्रमाणित गर्ने भार वादीको हुने छ" भनी आफ्नो दाबी प्रमाणित गर्ने भार दाबीकर्ताउपर राखिएको छ । यसरी दाबीको जग्गामा निज पुनरावेदक रत्नकाजी तुलाधरको हक रहे भएको भन्ने सम्बन्धमा तथ्ययुक्त ठोस प्रमाण प्रस्तुत हुन सकेको नदेखिँदा निजको पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन ।

७. पुनरावेदकहरूले दाबीको कि.नं.६६ को जग्गा पुनरावेदक वादी प्रतिवादीहरू कसैको पनि जग्गा दर्ता नहुने ठहर्‍याएको मिल्दैन भनी लिएको जिकिरको सम्बन्धमा हेर्दा, विवादमा रहेको जग्गा वादी प्रतिवादीहरूकै जग्गा हो भन्ने यकिन आधार नभएको अवस्थामा मुद्दाका पक्षहरूमध्येकै कसैको नाममा जग्गा दर्ता हक कायम हुनुपर्छ भनी अदालतले निर्णय गर्न सक्दैन । प्रमाण पुर्‍याई आउने व्यक्तिले कानूनबमोजिम जग्गा दर्ता गराउन सक्ने नै हुँदा प्रस्तुत मुद्दामा रहेका वादी प्रतिवादीहरूकै नाममा जग्गा दर्ता गरिदिनुपर्छ भन्ने दाबी तथा जिकिर पुग्न सक्ने देखिँदैन ।

८. तसर्थ, माथि उल्लिखित आधार र प्रमाणबाट दाबीको जग्गा बिर्ताको भएको भन्ने सम्बन्धमा तथ्ययुक्त प्रमाण प्रस्तुत हुन सकेको नदेखिएको र दाबीको जग्गाको मोही हक सम्बन्धमा विवाद भएमा सम्बन्धित पक्षले सम्बन्धित निकायमा कानूनबमोजिम कारबाही चलाएको अवस्थामा ठहरअनुसार हुने नै भएको हुँदा दाबीको कि.नं.६६ को जग्गा वादीको नाममा रैकर परिणत दर्ता गरी हक कायम हुने ठहर्‍याएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६८।१०।२९ को फैसला सो हदसम्म उल्टी भई वादी दाबी नपुग्ने र दाबीको जग्गामा हक कायम गरिपाउँ भन्ने पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिरसमेत पुग्न नसक्ने ठहर्‍याई पुनरावेदन अदालत पाटनबाट मिति २०७३।१।२० मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी र प्रतिवादी दुवैको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. डा. कुमार चुडाल

 

इजलास अधिकृतः ताराप्रसाद जोशी

इति संवत् २०७९ साल कार्तिक १७ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु