निर्णय नं. ११२६० - जबरजस्ती करणी गरी मारेको कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना
फैसला मिति : २०८०।१।२४
०७४-CR-०५०९
मुद्दा : जबरजस्ती करणी गरी मारेको कर्तव्य ज्यान
पुनरावेदक / प्रतिवादी : तुलसीबहादुर कार्कीका छोरा खोटाङ जिल्ला राजापानि गाउँ विकास समिति वडा नं.७ घर भई हाल जिल्ला कारागार सिन्धुलीमा थुनामा रहेका विदुर कार्की
विरूद्ध
विपक्षी / वादी : हरि सापकोटाको जाहेरीले नेपाल सरकार
जहाँ बदलाको भाव उत्पन्न हुन्छ त्यहाँ आवेशको स्थान नरहने । आवेशमा आई होस गुमाएको मानिसले चुल्ठोमा समाई अनुहार आफूतर्फ फर्काई निधारजस्तो संवेदनशील अंग यकिन गरी पटकपटक प्रहार गर्ने अवस्था नहुने । भुइँमा लडेपछि पनि घाँटीमा च्याप्ने, चिउँडोमा टोक्नेलगायतका आक्रमण प्रतिवादीले मृतकउपर गरेको पुष्टि भएको अवस्थाले प्रतिवादीमा आवेशको स्थिति समाप्त भई उद्देश्यमूलक आक्रमणमा संलग्न भएको मान्नुपर्ने । भौतिक प्रहारपछि प्रतिवादीले मृतकलाई जबरजस्ती करणीसमेत गरेको प्रमाणित भएको अवस्थामा यस्तो वारदातलाई आवेश प्रेरित हत्याको कसुर मान्न नमिल्ने । जबरजस्ती करणीको निमित्त गरिने निर्मम हिंसाको स्वरूप नै मान्नुपर्ने ।
(प्रकरण नं. १०)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री भोजेन्द्र बहादुर क्षेत्री
विपक्षी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री लोकबहादुर कटुवाल
अवलम्बित नजिर :
ने.का.प. २०७३, अङ्क १ नि.नं.९५१९
ने.का.प. २०६७, अङ्क ७ नि.नं.८४१५
ने.का.प. २०३८, अङ्क ११, नि.नं.१५१४
सम्बद्ध कानून :
सुरू फैसला गर्ने:
मा. जि. न्या. श्री देवेन्द्र पौडेल
सिन्धुली जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:
मा. न्या. श्री उमेशराज पौड्याल
मा. न्या. श्री टेकप्रसाद ढुङ्गाना
उच्च अदालत पाटन
फैसला
न्या. सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने भई प्रतिवादीको पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:-
तथ्य खण्ड
जिल्ला सिन्धुली गा.वि.स. कपिलाकोट वडा नं. ९ स्थित पूर्वमा हर्कबहादुर माझीको खेत, पश्चिममा श्यामलाल घिसिङको गोठ मतान घर, उत्तरमा रामबहादुर कार्कीको घर, तथा इलाका वन कार्यालय कपिलाकोटको भवन र दक्षिणमा जयबहादुर घिसिङको घर, यति चार किल्लाभित्रमा दक्षिण मोहडा भएको प्रताप कार्कीको घर, सो घरमा महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय रहेको, सो कार्यालय कोठामा विदुर कार्की सुत्ने बस्ने गरेको, सो कोठाभित्र प्रवेश गरी हेर्दा खाटमा सिरक ओढी विदुर कार्की सुतिरहेको अवस्थामा निजलाई बोलाउँदा निजले कालो रंगको स्ल्याक्स कट्टु मात्र लगाएको अवस्थामा रहेको, निजको ओछयानको छेउमा रहेको जेब्रा झोलामाथि बेल्टसहित रातो प्याजी रंगको कटराइजको पाइन्ट पानीले भिजी चिसो अवस्थामा रहेको, कलेजी रंगको भेष्ट थान १, हरियो रंगको Comfort स्पोर्ट जुत्ता र ग्रे कलरको ज्याकेटको बाहुला पानीले भिजी बालुवासमेत लागेको अवस्थामा रहेको साथै कार्यालयको अगाडि तारमा कालो रंगको हाफ पाइन्ट भिजेको अवस्थामा फेला परेको, निजको साथबाट सामसुङ मोबाइल थान १, सोभित्र रहेको NCELL र SMART को सिम थान २ प्रयोग रहेको अवस्थामा उक्त सामानहरू बरामद गरी निज विदुर कार्कीलाई पक्राउ गरेको भन्नेसमेत बेहोरा मिति २०७१।८।५ गतेको खानतलासी तथा बरामदी मुचुल्का ।
जिल्ला सिन्धुली गा.वि.स. कपिलाकोट वडा न. ९ स्थित पूर्वमा मरिणखोलाको बगर, पश्चिममा मरिण खोलाबाट पानीको भंगालो, उत्तरमा मरिण खोलाको बगर तथा धमिलेतर्फ जाने सडक बाटो र दक्षिणमा मुख्य मरिण बगर तथा कल्पवृक्ष गाउँतर्फ जाने बाटो, यति चार किल्लाभित्र सोही खोलाको बगरमा दक्षिण टाउको उत्तर खुट्टा भई उत्तानो अवस्थामा अन्दाजी वर्ष २३ की दिपा सापकोटाको अर्धनग्न अवस्थामा मृत लास रहेको, सो लासदेखि दक्षिणतर्फ ३ मिटरको दुरीमा सेतो रंगको सामसुङ मोबाइल स्विचअफ गरिएको अवस्थामा भित्रपट्टि NCELL र SMART को सिमकार्ड प्रयोग रहेको, सो मोबाइलदेखि १ मिटर दक्षिणतर्फ कालो कभरभित्र रातो रंगको सोनी डिजिटल क्यामरा रहेको, सोदेखि १ मिटर दक्षिणतर्फ मृतकको दुवै खुट्टाको कालो रंगको चप्पल रहेको, उक्त क्यामरा र मोबाइलसमेतमा बालुवा टाँसिएको, सो स्थानमा ढुङ्गा बालुवा मडारिएको अवस्थामा रहेको, सो स्थानदेखि ५ मिटर उत्तरतर्फ मरिणखोलाको बगरमा मृतक दिपा सापकोटाले कालो फित्ता भएको हरियो रंगको फुल बाहुला भएको टिसर्ट लगाएकी, दाहिने खुट्टाको घुँडासम्म खुम्चिएको अवस्थामा कालो रंगको ट्राउजर, खैरो कालो र सेतो रंगको बुट्टेदार पेन्टी र कालोखैरो रंगको बुटा भएको ब्रा रहेको, लासको बायाँ खुट्टाबाट ट्राउजर र पेन्टी फुकालिएको अवस्थामा रहेको, मृतकको निधारमा २ ठाउँमा काटिएको, काटिएको चोटबाट रगत आएको, घाँटीमा दायाँ, बायाँपट्टि रातो निलडाम रहेको, नाकको दायाँ प्वालबाट रगत जस्तो रातो तरल पदार्थ निस्किएको, दुवै कानमा बालुवा टाँसिएको, चिउँडोमा रातो निलो निलडाम बसेको लासको पछाडिपट्टि ढाडमा दछारिएको रातो निलडाम रहेको भन्नेसमेत बेहोराको मिति २०७१।०८।०५ गतेको लासजाँच मुचुल्का ।
मिति २०७१।०८।०४ गते रातको अन्दाजी २२:३० बजेको समयमा सौर्य उर्जासम्बन्धी अनुगमनको लागि काठमाडौंबाट कपिलाकोट सिन्धुलीमा आएकी दिपा सापकोटालाई घटनास्थलमा ऐ. कपिलाकोट स्थित रहेको महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालयका कर्मचारी विदुर कार्कीले जबरजस्ती करणी गरी हत्या गरी भागेकोमा खोजतलास गर्दै जाने क्रममा सोही महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालयको सुत्ने गरेको कोठामा विदुर कार्की सिरक ओढी सुतिरहेको अवस्थामा फेला परेको, निजको चिउँडाको बायाँ साइडमा दाँतले टोकेको जस्तो आलो घाउ, दुवै नलीखुट्टामा स–साना घाउहरू रहेको, निजको कोठामा भिजेको पाइन्टलगायतको कपडाहरू र जुत्तासमेत भिजेको अवस्थामा फेला परेको हुँदा निज प्रतिवादी विदुर कार्कीलाई यसै प्रतिवेदनसाथ दाखिला गरेको छु भन्ने बेहोराको प्र.ना.नि. ओम प्रकास घिमिरेको प्रहरी प्रतिवेदन ।
मेरो छोरी दिपा सापकोटा वातावरण संरक्षण तथा सामाजिक स्रोत केन्द्र कोटेश्वर काठमाडौंमा काम गर्दै आएकोमा सोही संस्थाको कामले मिति २०७१।०७।२० गते १७ दिनको लागि जिल्ला सिन्धुली गा.वि.स. कपिलाकोट गएकी थिइन्, जिल्ला सिन्धुली गा.वि.स. कपिलाकोट वडा नं. ९ स्थित मरिणखोलाको बगरमा छोरी दिपा सापकोटाको लास फेला परेको खबर मिति २०७१।०८।०५ गते फोनमार्फत जानकारी पाई तत्कालै म जाहेरवालालगायतका मानिसहरू आई घटनास्थलमा गई छोरीको लास हेरी बुझ्दा घटना हुनुभन्दा आधी घण्टाअगाडि विदुर कार्की र छोरी दिपा सापकोटा कपिलाकोटबाट कल्पवृक्षतर्फ मेला हेर्न भनी जाँदै गरेको र निज विदुर कार्कीले घटनास्थलमा मेरो छोरीलाई जबरजस्ती करणी गरी कर्तव्य गरी मारेको हुँदा निज प्रतिवादीलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराका हरि सापकोटाको जाहेरी दरखास्त ।
The cause of death may be due to excessive bleeding due to head injury or cervical vertebra fracture भन्नेसमेत बेहोराको मृतक दिपा सापकोटाको शव परीक्षण प्रतिवेदन ।
मृतकको मृत्युको कारण (Excessive bleeding due to head injury or cervical vertebra fracture), मृतकको निधारमा लागेको चोट, घाउ जाँच गर्दा सो घाउ ढुङ्गाले भएको हुनसक्ने देखिन्छ । मृतकको शरीरमा लागेको निलडामको सन्दर्भमा ढाडमा लागेको निलडाम सङ्घर्षको कारण भएको हुनसक्ने र घाँटीमा लागेको निलडाम मफ्लरले बेरिएर भएको हुनसक्ने देखिन्छ । मृतकको योनिमा बाक्लो सेतो पदार्थ देखिन्छ, जबरजस्ती करणी भएको सम्भावना देखिन्छ । जबरजस्ती करणी कहिले भएको भनी किटान गर्न नसकिने देखिन्छ, मृतकको कन्याजाली च्यातिएको छ, मृतकको योनिभित्र र बाहिर बाक्लो सेतो तरल पदार्थ देखिन्छ । Vaginal Swab यस पत्रसाथ पठाइएको छ, मृतकको चिउँडो तथा दाहिने गालामा दाँतले टोकेको घाउ देखिन्छ । तर जाँच गर्ने समयमा घाउ सुख्खा अवस्थामा भएकोले Swab निकाल्न सकिएन, मृतकको योनिभित्र र बाहिर बाक्लो सेतो तरल पदार्थ देखिन्छ भन्ने बेहोराको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको लास जाँच परीक्षण रिपोर्ट ।
प्रतिवादी विदुर कार्कीको शारीरिक तथा मानसिक अवस्था ठिक छ, निजको देब्रे चिउँडोमा १/२ दिन पुरानो घाउ रहेको साथै दुवै घुँडामुनि चोटको निसान देखिन्छ । संर्घषको चिह्नहरूको सन्दर्भमा चिउँडोमा रहेको घाउ, सङ्घर्ष भएको अवस्थामा भएको हुन सक्ने देखिन्छ भन्नेसमेत बेहोराको स्वास्थ्य परीक्षण रिपोर्ट ।
मैले महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय कपिलाकोट–९, सिन्धुलीको सेन्टर मैनेजर पदमा रही काम गरेको १५ महिना भयो । म कपिलाकोट ६ स्थित दमैसिँ बलको कमला होटेलमा सुरूदेखि नै खाना खाने गरेकामा सोही होटलमा खाना खाने क्रममा मृतक दिपा सापकोटालाई ९/१० दिन अगाडिदेखि देखेको थिएँ, बोलचाल भएको थिएन, निज सौर्यउर्जासम्बन्धी अनुगमनको लागि काठमाडौंबाट आई सोही कमला होटेलमै खाने बस्ने गरेकोमा निजले प्रायः कसिलो खालको ल्येगिन्स सुरूवाल र कुर्ता लगाउँथिन्, निजको शारीरिक बनावट देखेर निजलाई यौन सम्पर्क गर्न मलाई भित्रैबाट यौन तृष्णा जागेर आइरहेको थियो । यसै क्रममा मेरो अफिसको शाखा प्रबन्धक भगवानी साहको सरूवा भएको उपलक्ष्यमा मिति २०७१।०८।०४ गते साँझ अ. १८:०० बजेको समयमा मैले खाना खाने गरेको होटेलमा मेरो अफिसको नयाँ आउनु भएको शाखा प्रबन्धक दिलिप कुमार चौधरी, सरूवा भई जान लागेका भगवानी साह, अफिसकै कर्मचारी अशोक कुमार चौधरी र मसमेत ४ जनाले एउटा टुबोर्ग बियर, २ क्वाटर रूसलान भोड्का, ५ वटा रेडबुल र मासु च्युरा खाइसकेपछि साँझ अ. १९:३० बजेको समयमा अन्य सरहरू उठी आफ्नो कोठातर्फ जानुभएकोमा म चाहीँ सोही होटेलमा बसी रातको अ.२०:०० बजेको समयमा खाना खाँदै गर्दा सोही होटेलमा दिपा सापकोटा पनि खाना खान आएकी र निजले मभन्दा अगाडि खाना खाई बाहिर निस्केकीमा म खाना खाई बाहिर पसलमा चुरोट किन्न जाँदा सिर्जना सामुदायिक विकास केन्द्र कपिलाकोटमा काम गर्ने शान्ता थापा र निज दिपा सापकोटा कुरा गर्दै थिए । मैले शान्ता थापालाई मेला जाने हो भनी सोधकोमा निजले म जाँदिन दिपा मिस जाने भन्दै हुनुहुन्छ भनेकोमा सोही बेला दिपा सापकोटाले मलाई सर तपाइँ मेला जाने हो भनेर सोध्दा मैले जाने भनेको थिएँ । मैले चुरोट खाँदै गर्दा दिपा सापकोटा आफ्नो कोठामा पसेकी जस्तो लाग्यो । तर निज दिपा सापकोटा मेला हेर्न गएकी थाहा भयो । निजले मेरो साथी सुगम लाखेको मोबाइलको सिम बोकेको भन्ने कुरा मलाई थाहा थियो । मैले फोन गर्दा दिपा सापकोटाले फोन उठाई, निजले एक्लै धमीले नजिकै बाटोमा छु भनेकोले यही मौकामा निजसँग यौन सम्पर्क गर्ने आफ्नो पहिलादेखिको चाहना पूरा गर्ने लालसाले दिपा सापकोटालाई एकैछिन बाटोमा पर्खिनु म आउँदैछु भनी हतार–हतारमा पिछा गर्दै जाँदा धमीले भन्ने ठाउँछेउमा निज दिपा सापकोटासँग भेट भयो । रातको समय मरिणखोलाको एकान्त बगर बाटो हुँदै गफ गर्दै कल्पवृक्षमा लागेको मेलातर्फ जाने क्रममा बाटोमा मैले दिपा सापकोटालाई यौन सम्पर्क गर्न इच्छा जागी दिपा सापकोटाको पाखुरामा समाती सुमसुमाउन थालेँ, दिपा सापकोटाले मेरो हात हटाई दिई मैले फेरि दिपा सापकोटाको कुम छोई मलाई एकचोटि यौन सम्पर्क गर्न देउ भन्दा निज दिपा सापकोटाले आफू त्यस्तो खालको चरित्र भएको केटी होइन भनी कसिएर मेरो गालामा एक झापड हिर्काउँदा म भुइँमा
लडेँ । दिपा सापकोटा कराउँदै अगाडि दौडिन् । मैले भुइँबाट ढुँगा उठाई निजको पछि–पछि दौडी गई निजको कपाल समाती निजलाई आफूतिर फर्काई निजको निधारमा मैले बोकेको ढुङ्गाले कसेर २ चोटि हिर्काएकोमा दिपा सापकोटा आईया भन्दै बगरमा लडेकी र लडेपश्चात् पनि कराएकीले मैले दिपा सापकोटाको घाँटीमा हातले समाई केहीबेर च्यापी एक हातले हतार–हतार दिपा सापकोटाले लगाई राखेको लेगिन्स र पेन्टी निजको बायाँ खुट्टाबाट खोल्दा सोबेला निज आईया–आईया छोड–छोड भन्दै थिई, उठ्न सकेको थिइन । मैले आफ्नो पाइन्ट र निजको पेन्टी घुँडासम्म खोली मेरो उत्तेजित लिङ्ग दिपा सापकोटाको योनिभित्र जबरजस्ती छिराई करणी गर्दै गरेको अवस्थामा दिपा सापकोटा हिक–हिक गर्दै थिइन्, सोही बेला बत्तीको उज्यालो फोकस आई मान्छे आएको जस्तो लागि दिपा सापकोटालाई करणी गर्न छाडी हतारहतार आफ्नो पेन्ट लगाई भाग्ने क्रममा मरिण खोलामा लड्दा मैले लगाइराखेको पाइन्ट, ज्याकेट, जुत्तासमेत भिजी बालुवा, माटोसमेत लागेको हो । म लड्दाको बखत मेरो नली खुट्टामा घाउ भएको हो । वारदातको समयमा किस खान खोज्दा दिपा सापकोटाले मेरो चिउँडोमा दाँतले टोकी दिएकाले चोट लागेको हो । सोही राति अ. ११:३० बजेको समयमा प्रहरीले मलाई पक्राउ गरेपश्चात् दिपा सापकोटाको मृत्यु भएको थाहा भएको हो । बरामदी मुचुल्कामा बरामद भएको मेरो कपडा तथा जुत्ताहरू घटना वारदातमा लगाएको थिएँ । भाग्ने क्रममा खोलामा लड्दा पानीले भिजी बालुवासमेत लागेको
हो । मैले नै निज दिपा सापकोटालाई जबरजस्ती करणी गरी मारेको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी विदुर कार्कीले अधिकारप्राप्त अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
मृतक दिपा सापकोटा सौर्यउर्जा अनुगमनको लागि काठमाडौंबाट कपिलाकोट आई मेरै होटेलमा बस्ने खाने गरेकी थिइन् । मिति २०७१।०८।०४ गते साँझ अ.१८:०० बजेको समयमा विदुर कार्की, भगवानी साह, दिलिप कुमार चौधरी, अशोक कुमार चौधरीसमेत आई मादक पदार्थ तथा नास्ता सँगै बसी खाएको हो । विदुर कार्की होटेलमा बसी खाना खाइरहेको र निजको अन्य साथीहरू आफ्नो कोठातर्फ गएकोमा सो समयमा दिपा सापकोटा आई मेरो सो होटेलमा खाना खाई गएको हो । निज विदुर कार्की पनि खाना खाई होटेलबाट निस्केको थियो । सो रातको मध्यरातमा मानिसहरूको हो हल्ला सुनी घटनास्थलमा दिपा सापकोटालाई प्रतिवादी विदुर कार्कीले जबरजस्ती करणी गरी मारी फालेको भन्ने कुरा सुनी थाहा पाएको हुँ । निज प्रतिवादी विदुर कार्कीले मेला घुम्ने बहाना गरी घटनास्थल एकान्तस्थलमा लगी जबरजस्ती करणी गरी मारी त्यतिकै छाडेमा कानूनको फन्दामा परिन्छ भनी ढुङ्गाले हिर्काई घाँटी थिची मारेको हो । निज प्रतिवादीलाई सोही राति प्रहरीले पक्राउ गरेको हो भन्नेसमेत बेहोराको दमैसिँ बलले गरेको अनुसन्धानको क्रममा गरी दिएको घटना विवरण कागज ।
मिति २०७१।०८।०४ गते राति कल्पवृक्ष ४ स्थित साहान भन्ने ठाउँमा बालाचतुर्दशीको अवसरमा पशुपति मेला लागेकोमा सो मेलामा कलाकार बद्री पंगेनीसहितका गायकहरूले कार्यक्रम गर्ने भएकाले सो कार्यक्रम हेर्न भनी मेरो आमा र दिदीहरू जानुभएको थियो । दिदी र आमालाई लिन सो राति अ. १०:३० बजेको समयमा मैले मेरो आफ्नो मोबाइलको टर्चलाइट बाली कपिलाकोट–९ मरिणखोलाको बगरबाटो हुँदै मेलातर्फ जाने क्रममा घटनास्थल नजिक अन्दाजी १५ मिटरको दुरीमा पुग्दा घटनास्थलमा एक केटी अर्धनग्न अवस्थामा लडिरहेकी थिइन्, निजमाथि चढेको पुरूष मानिस म आएको थाहा पाएर होला जुरूक्क उठी हतार–हतार आफ्नो पाइन्ट लगाई भाग्न लाग्दा म नजिकै पुगिसकेकोले को हो भनी टर्चले हेर्दा उक्त पुरूष मानिस विदुर कार्की भएको चिनेँ । त्यस ठाउँबाट प्रहरीलाई खबर गर्न फर्की आउने क्रममा बाटोमा गाउँकै साथी सरोज लाखे र अ. वर्ष २५ को हिरालाल घिसिङ मोटरसाइकलमा आउँदै गरेकोले मैले रोकी सो घटना सुनाइ प्रहरीलाई खबर गरेका हौ । घटनास्थलमा दिपा सापकोटा मृत अवस्थामा पाइएकोले सोही राति विदुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । घटनाको प्रकृति हेर्दा विदुर कार्कीले दिपा सापकोटालाई जबरजस्ती करणी गरी हत्या गरेको हो भन्ने एकै बेहोराको मिलान हुने गरी जीवन लामा, सरोज लाखे र हिरालाल घिसिङ्समेतको मानिसहरूले अनुसन्धानको क्रममा गरिदिएको घटना विवरण कागज ।
मिति २०७१।०८।०४ गते बेलुका अन्दाजी ०६:०० बजेको समयमा जिल्ला सिन्धुली गा.वि.स. कपिलाकोट वडा न. ६ स्थित दमैसिँ बलको होटेलमा हामी भगवानी साह, दिलिप कुमार चौधरी, अशोक कुमार चौधरी र प्रतिवादी विदुर कार्कीसमेत चारजना बसी रेडबुल, टुबोर्ग बियर, रूस्लान भोड्का र मासु चिउरासमेत खाई विदुर कार्की चाहीँ सोही होटेलमा बसिरहेका बाँकी हामी ३ जना उठी होटेलबाट आफ्नो कोठामा गएको, रातको अन्दाजी ११:३० बजेको समयमा हामी सुत्न लागेको बेलामा प्रतिवादी विदुर कार्की आई निजले ढोका ढक्ढकाएकोमा ढोका खोली हेर्दा विदुर कार्कीले लगाएको कपडा भिजेको देखी के भयो, कसरी लुगा भिज्यो भनी सोध्दा निजले जाँड रक्सी खाएकोले खोलामा लड्दा भिजेको भनी बताएको, निजको चिउँडोनिर चोट लागेको देखी सोध्दा कलमा लडेको भनी बताएकाले निजलाई निजकै कोठामा पठाई हामी सुत्न लागेको बेला प्रहरी टोली आई विदुर कार्कीलाई पक्राउ गरेको हो । निज पक्राउ परेपछि मात्रै दिपा सापकोटालाई विदुर कार्कीले घटनास्थल मरिणखोलाको बगरमा जबरजस्ती करणी गरी हत्या गरेको थाहा भएको हो । स्थानीय मानिसहरू हाम्रो अफिसमा आई हुल हुज्जत गरेकोले घटनास्थलमा गई मृतक लास तथा घटनास्थल हेर्न जान सम्भव नभएकोले हामी कर्मचारी कोही पनि नगएको, प्रतिवादी विदुर कार्की र मृतक दिपा सापकोटा सोही होटेलमा खाना खाने हुँदा खाना खाने क्रममै चिनजान भई प्रतिवादी विदुर कार्कीले दिपा सापकोटालाई कुनै बहाना बनाई घटनास्थल एकान्त स्थानमा लगी जबरजस्ती करणी गरी त्यतिकै छाडेमा आफू अफ्ठ्यारोमा परिन्छ भनी विदुर कार्कीले दिपा सापकोटालाई ढुङ्गाले निधारमा प्रहार गरी घाँटी थिची मारेको हो भन्ने एकै बेहोराको मिलान हुने गरी कपिलाकोट ९ स्थित रहेको महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालयका कर्मचारी भगवानी साह, दिलिप कुमार चौधरी, अशोक कुमार चौधरीसमेतले अनुसन्धानको क्रममा गरिदिएको घटना विवरण कागज ।
मृतक दिपा सापकोटा ९/१० दिनअगाडि म बस्दै आएको दमैसिँ बलको कमला होटेलमा बस्दै आएकी थिइन् । निज सौर्य उर्जासम्बन्धी अनुगमनको लागि काठमाडौंबाट आएकीमा मिति २०७१।०८।०३ गते कपिलाकोट नजिकै कल्पबृक्ष ४ स्थित साहन भने ठाउँमा मेला हेर्न दिपा सापकोटा र मसमेत ८/१० जनाको संख्यामा गएका थियौं । सोही बेला हाम्रो चिनजान भएको थियो । मिति २०७१।०८।०४ गते रातको अन्दाजी २०:०० बजेको समयमा मेरो कोठाअगाडि दिपा सापकोटा र मेरो भेट भई हामी आफ्नै व्यक्तिगत कुरा गर्दै गरेको अवस्थामा विदुर कार्की आई मलाई मेला जाने होइन भनी सोध्दा मलाई सन्चो छैन म जान्नँ दिपा मिस जानु हुन्छ कि भनी मैले भन्दा दिपा सापकोटा र निज विदुर कार्कीबिच मेलामा जाने कुरा भएको थियो । म आफ्नो कोठामा गई सुतेँ । भोलिपल्ट अर्थात् मिति २०७१।०८।०५ गते बिहान अन्दाजी ०६:०० बजेको समयमा उठी हातमुख धुन लाग्दा गएको राति अन्दाजी १०:३० बजेको समयमा विदुर कार्कीले दिपा सापकोटालाई घटनास्थलमा जबरजस्ती करणी गरी हत्या गरेको र सोही रात प्रहरीले विदुर कार्कीलाई पक्राउ गरेको भन्ने कुरा गाउँ टोलमा सुनेको हुँ । प्रतिवादी विदुर कार्कीले दिपा सापकोटालाई कुनै बहाना बनाई झुक्याई घटनास्थलमा लगी जबरजस्ती करणी गरी त्यतिकै छाडेमा आफू कारबाहीमा पर्ने भनेर ढुङ्गाले दिपा सापकोटाको निधारमा हिर्काई घाँटी थिची मारेको हो भन्नेसमेत बेहोराको कपिलाकोट ९ स्थित रहेको सिर्जना सामुदायिक विकास केन्द्र शाखा कार्यालयका कर्मचारी शान्ता थापाले मौकामा गरिदिएको घटना विवरण कागज ।
मिति २०७१।०८।०४ गते राति कल्पवृक्ष ४ साहन भन्ने ठाउँमा लागेको मेला हेरी हामी आ–आफ्नो श्रीमतीहरूलाई आ–आफ्नै मोटरसाइकलमा राखी घर फर्किने क्रममा रातको अ. ०९:३० बजेको समयमा कपिलाकोट ९ मरिणखोलाको बगर घटनास्थलदेखि डेढ दुईसय मिटरपर धमीले भन्ने ठाउँनजिक बगरको बाटोमा पुग्दा बाटोमा विदुर कार्की र दिपा सापकोटा गफ गर्दै सँगै आउँदै गरेको देखेका हौं । हामीले निजहरूलाई बोलाएनौँ । मेला घुम्न गएका होलान् भनी सोचेको
थियौं । हामी सरासर आ–आफ्नो घरमा गई सुतेका हौँ । रातको समयमा विदुर कार्कीलाई प्रहरीले पक्राउ गरिसकेपछि मात्रै विदुर कार्कीले दिपा साकोटालाई घटनास्थलको बगरमा लगी जबरजस्ती करणी गरी मारेको हो भन्ने कुरा थाहा पाएको हो । तत्काल घटनास्थलमा गई हेर्दा घटनास्थल बगर भुइँँ मडारिएको, मृतक दिपा सापकोटाको निधारमा ढुङ्गाले हिर्काको चोट, घाँटी दबाएको जस्तो डाम देखिएको तथा मृतकले लगाएको लेगिन्ज र पेन्टी बायाँ खुट्टापट्टिको फुकाली मृतकको गुप्ताङ देखिएको, मृतकको सामानहरू छरपष्ट रहेकामा सो रातको अन्दाजी ०९:३० बजेको समयमा दिपा सापकोटा र विदुर कार्कीसँगै बाटोमा हिँडेको हामीले प्रस्ट देखेको हुँदा प्रतिवादी विदुर कार्कीले मृतक दिपा सापकोटालाई जबरजस्ती करणी गरी मारेको हुनुपर्छ भन्ने बेहोराको मधु लाखे र प्रेमनाथ मैनालीले लेखाइदिएको घटना विवरण कागज ।
मिति २०७१।०८।०३ गते साँझ म, दिपा सापकोटा, शान्ता थापासमेत ८/९ जना मानिसहरू कल्पवृक्ष ४ स्थित साहन भन्ने ठाउँमा मेला हेर्न गएकोमा मेला हेरी सोही राति अन्दाजी ०९:३० बजेको समयमा हामी सबै आफ्नो घर फर्की आएका
हौं । फर्किने क्रममा बाटोमा दिपा सापकोटाले मलाई मेरो आमाको सारै याद आयो मेरो मोबाइलको NTC को सिमले काम गरेन, तिम्रो NCELL को सिमकार्ड देउन म आमालाई फोन गर्छु भनी मागेकीले मैले आफ्नो मोबाइलको ९८०१६०४८४३ नं.को सिमकार्ड मैले दिपा सापकोटालाई दिएको हुँ । भोलिपल्ट मिति २०७१।०८।०४ गते बिहान उक्त मेरो सिमकार्ड दिपा सापकोटासँग फिर्ता माग्न निज बस्ने गरेको कमला होटेलमा जाँदा निज बिहानै उठी फिल्डमा गएकीले निजसँग भेट भएन । मिति २०७१।०८।०५ गते बिहान प्रहरीले मलाई घरमा आई सोधपुछ गर्दा गएको राति प्रतिवादी विदुर कार्कीले दिपा सापकोटालाई घटनास्थलमा लगी जबरजस्ती करणी गरी मारिदिएको कुरा थाहा पाएको हुँ भन्ने बेहोराको सुगम भन्ने ताराबहादुर लाखेले गरेको घटना विवरण कागज ।
मिति २०७१।०७।२१ गते बिहानैदेखि दिपा सापकोटालाई साथमा लगी कपिलाकोटको गाउँ–गाउँमा सोलारको फोटो खिच्ने तथा नम्बरसमेत लेखाइदिएको थिएँ । ३ दिनसम्म निजसँगै काम गरी सो काम गरेकोबापत दिपा सापकोटाले मलाई रू. १५००।– पारिश्रमिक दिएकी थिइन् । कल्पवृक्ष वडा नं. ४ स्थित साहन भन्ने ठाउँमा बालाचतुर्दशीको अवसरमा मेला लागेकोले सोही मेलामा खटी काममा सहयोग गर्दै आएकोमा सोही मेलाको नाचगानमा काम गरिरहेको अवस्थामा मिति २०७१।०८।०४ गते राति अन्दाजी २३:३० बजेको समयमा घटनास्थलमा एउटी केटीको मृत लास अर्धनग्न अवस्थामा रहेको भन्ने हल्ला हुँदा मेलाको आधी मानिसहरू मेलाबाट बाहिरिएकोले कार्यक्रममा सामानहरू मेरो जिम्मामा रहेकोले म घटनास्थलमा जान पाइँन । मृतक दिपा सापकोटा भएको र निजलाई प्रतिवादी विदुर कार्कीले घटनास्थलमा ल्याई जबरजस्ती करणी गरी मारेको हो भन्ने कुरा सुनी थाहा पाएको हुँ, भन्ने बेहोराको आकास भन्ने सुनिल गोलेले अनुसन्धानको क्रममा गरिदिएको घटना विवरण कागज ।
मिति २०७१।०८।०४ गते राति हाम्रो गाउँनजिकै कल्पवृक्ष गा.वि.स. वडा नं. ४ स्थित साहन भन्ने स्थानमा बाला चतुर्दशीको उपलक्ष्यमा पशुपति मेला लागेकोमा सो मेलामा गायक बद्री पंगेनीलगायतको गायकारहरू आई गीत गाउने कार्यक्रम भइरहेको थियो । म पनि उक्त कार्यक्रम हेर्न जाँदा राति १०:४५ बजेको समयमा मेला आउने बाटोमै पर्ने घटनास्थलमा एउटी युवतीको मृत अवस्थामा लास फेला परेको छ भन्ने हल्ला खल्ला हुँदा चासो भई म पनि मानिसहरूसँगै घटनास्थलमा गई मृत लासलाई देखेको हो । सो राति अन्दाजी १०:३० बजेको समयमा निज प्रतिवादी विदुर कार्कीले दिपा सापकोटालाई झुक्याई घटनास्थलमा ल्याई जबरजस्ती करणी गरी कर्तव्य गरी मारेको हो भन्नेसमेत बेहोराको स्थानीय भगवान माझी, अमृतबहादुर माझी र गोविन्दलाल माझीसमेतका मानिसहरूले मौकामा खुलाई लेखाई दिएको वस्तुस्थिति मुचुल्का ।
मिति २०७१।०८।०४ गते राति अन्दाजी १०:३० बजेको समयमा जिल्ला सिन्धुली गा.वि.स. कपिलाकोट वडा नं.९ स्थित मरिणखोलाको बगरमा प्रतिवादी विदुर कार्कीले दिपा सापकोटालाई जबरजस्ती करणी गरी मारेको तथ्य पुष्टि भएकोले निज प्रतिवादी विदुर कार्कीको सो आपराधिक कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महल १ नं.विपरीत ३(५) नं.बमोजिम र मुलुकी ऐन, ज्यानसम्बन्धीको महल १ नं.विपरीत १३(३) नं.बमोजिमको कसुर भएको देखिएको हुँदा निज प्रतिवादी विदुर कार्कीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(५) नं.बमोजिम र मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम सजाय गरी मृतक दिपा सापकोटाको आश्रित परिवारलाई जबरजस्ती करणीको महलको १० नं.बमोजिम प्रतिवादी विदुर कार्कीबाट क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको अभियोग माग दाबी ।
मिति २०७१।०८।०४ गते साँझ कपिलाकोटको बगर स्थित होटलमा म र मेरा साथीहरूसमेत बसी वियर भोड्का, मासु चिउरा खाएका र अन्दाजी ७:३० बजे साथीहरू उठी आ–आफ्नो गन्तव्यतिर लागेका र मैले सो होटलमा खाना खाँदै गर्दा मृतक दिपा सापकोटा खाना खाई सोही होटलबाट बाहिर निस्कँदै गरेको देखेको
थिएँ । सोपश्चात् म पनि सो होटलबाट बाहिर निस्की पसलमा चुरोट किन्न जाँदा सिर्जना सामुदायिक विकास केन्द्र कपिलाकोटमा काम गर्ने शान्ता थापा र दिपा सापकोटा कुरा गर्दै गरेको अवस्थामा निज शान्ता थापालाई कल्पवृक्षमा लागेको मेला हेर्न जाउँ भनी मैले भन्दा म मेलामा जान्न बरू दिपा दिदी जानुहुन्छ भनी निजले मलाई जवाफ दिएकीले म पसलको अगाडि चुरोट तान्दै थिएँ । यत्तिकैमा एक जना अपरिचित व्यक्ति मोटरसाइकल लिई आई निजले मसँग उतै मेलामा भेटौंला भनी ती व्यक्तिको मोटरसाइकलमा चढी गइन् । पछि वारदातस्थलमा निजसँग पुन: भेट्दा निजसँग केहीबेर अगाडि मोबाइलमा कुरा गर्दा करणी गर्ने सहमति जनाएकीले वारदातस्थलमा निजसँग मेरो भेट भई मैले मृतक दिपाको कुममा हात राख्दा निजले मेरो हात झट्कारेर फालिन् । मैले फेरि पनि निजको कुममा हात राखेकोले निजले मेरो गालामा १ झापड हिर्काएकोले मैले मरिण खोलाको बगरबाट ढुङ्गा उठाई मृतकको चुल्ठो समाई निजको अनुहार आफूपट्टि फर्काई मेरो हातमा रहेको ढुङ्गाले लगातार निज मृतकको निधारमा प्रहार गर्दा निज ऐया ऐया गर्दै चिच्याउँदै थिइन् । निज चिच्याएको हुँदा मैले निज मृतकको घाँटी एक हातले समाती अर्को हातले निजको सुरूवाल र पेन्टी खोली निजलाई करणी गर्ने प्रयास गर्दा गर्दै केही परबाट बाइकको हेड लाइटको प्रकाश उज्यालो आएको हुँदा कसैले देख्लान् कि भन्ने डरले म वारदातस्थल मरिणखोलाको बगरबाट आफ्नो डेरा कोठामा गएको हुँ । मृतकलाई मैले नशाको सुरमा सेक्सको प्रस्ताव राख्दा म निज मृतकले बोलाएको ठाउँमा गएको र निजले मलाई पछि सेक्स गर्न नदिई उल्टै मेरो गालामा झापडले हानी मलाई बगरमा लडाएकी हुँदा रक्सीको नशा तथा रिसको आवेगमा नजिकै रहेको ढुङ्गा टिपी लगातार मृतकको निधारमा मैले ३ पटक प्रहार गरेको ढुङ्गाको चोट पीडाबाट निजको मृत्यु भएको हो । निजसँग मेरो करणी गर्ने इच्छा भए तापनि वारदातस्थलमा त्यस बेला बाइकमा कोही आएको देखी त्यहाँबाट म भागेको हुँ । निजको मृत्यु मेरो कर्तव्यबाट भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी विदुर कार्कीले सुरू अदालतमा गरेको बयान ।
मिति २०७१।०८।०४ गते रातको अन्दाजी १०:३० बजेको समयमा सिन्धुली जिल्ला कपिलाकोट गा.वि.स. वडा नं. ९ मरिनखोला बगरमा एक जना महिलालाई एक जना पुरूष मानिसले घिसारिरहेको छ भनी स्थानीय मानिस सरोज लाखे, जिवन लामासमेतका मानिसहरूले ड्युटीमा रहेको अवस्थामा मौखिक सूचना दिएपश्चात् तत्काल मसमेतका प्रहरी टोली घटनास्थलमा पुग्दा महिलाको लास अर्धनग्न अवस्थामा रहेको देखी को, कसले कर्तव्य गरी मारेको भन्ने अनुसन्धान गर्दै जाँदा स्थानीय मधु लाखेसमेतले उक्त मितिको राति अन्दाजी ९:३० बजेको समयमा मृतक युवती र विदुर कार्की भन्ने व्यक्ति सँगै हिँडेको देखेको र त्यसपछि स्थानीय व्यक्तिहरूले समेत प्रतिवादी विदुर कार्कीले नै कर्तव्य गरी मारेको हुन सक्ने भनी बताएपछि तत्काल निज विदुर कार्की बस्ने गरेको कपिलाकोट गा.वि.स. वडा नं. ९ स्थित महुली लघुवित्त वित्तीय संस्थासमेतको कार्यालय रहेको निज सुत्ने बस्ने कोठामा मिति २०७१।०८।०५ गते अन्दाजी १:३० बजेको समयमा पुगी निजलाई बोलाउँदा निज स्यलाक्स मात्र लगाइरहेको अवस्थामा उठेको र निजको चिउँडोमा बायाँ साइडमा टोकेको जस्तो आलो घाउ र खुट्टामा खोस्रिएको जस्तो घाउ देखिएको, निज सुत्ने कोठामा निजले लगाउने गरेको ज्याकेट पाइन्ट र जुत्तासमेत भिजी बालुवा लागेको अवस्थामा फेला परेको हुँदा निज घटनास्थलबाट भाग्दा पानीमा लडी भिजी बालुवा लागेको र मृतकसँग सङ्घर्ष हुँदा निजको चिउँडोमा चोट लागेको हुन सक्ने र घटनामा निजको संलग्नता हुन सक्ने देखी आवश्यक कारबाहीको लागि निजलाई पक्राउ गरी निजको कोठामा भित्री साइडमा बालुवा लागेको ज्याकेट, पाइन्ट र जुत्तासमेत बरामद गरी घटनास्थल प्रकृति मुचुल्कासमेत सम्पन्न गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दाखिल गरेका हौं भन्नेसमेत बेहोराको प्रतिवेदक प्र.ना.नी. ओम प्रकाश घिमिरेले सुरू अदालतमा गरिदिएको बकपत्र ।
मृतक दिपा सापकोटालाई मिति २०७१।०८।०४ मा प्रतिवादी विदुर कार्कीले कर्तव्य गरी मारे भन्ने सुनेको हुँ, अन्य कुरा मलाई थाहा भएन भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने भगवती साह र दिलीपकुमार चौधरीले सुरू अदालतमा गरिदिएको एकै मिलानको बकपत्र ।
मिति २०७१।०८।०४ गते कल्पबृक्षको बालाचतुर्दशी मेलाबाट मोटरसाइकलमा चढी कपिलाकोटतिर फर्कंदै गर्दा धमिलेको पुछार मरिणको बगरमा वारदात स्थलदेखि करिब २०० मिटर पर प्रतिवादी विदुर कार्की र मृतक दिपा सापकोटालाई कल्पवृक्षतर्फ जाँदै गरेको अवस्थामा उक्त मितिमा मैले राति अं. ९।९:१५ बजेतिर देखेको हुँ । मृतकलाई यिनै प्रतिवादी विदुर कार्कीले जबरजस्ती करणी गरी कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्नेसमेत बेहोराको वादी पक्षका साक्षी घटना विवरण कागज गर्ने मधु लाखेले सुरू अदालतमा गरिदिएको बकपत्र ।
मसमेतले मृतक लासलाई मरिण खोलाको कपिलाकोट साइडपट्टिको बगरमा रातको १:०० बजे फेला पारेको हुँदा सोभन्दा अगावै घटना भएको हुँदा उक्त वारदात मिति २०७१।०८।०४ गते नै भएको
हो । मैले जाने बुझेसम्म प्रतिवादी विदुर कार्कीले नै मृतक दिपा सापकोटालाई जबरजस्ती करणी गरी सोपश्चात् कर्तव्य गरी मारेको हुनुपर्दछ । यसमा मलाई विश्वास लाग्दछ भन्नेसमेत बेहोराको घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्कामा बस्ने अमृतबहादुर माझीले सुरू अदालतमा गरिदिएको बकपत्र ।
मृतक दिपा सापकोटालाई प्रतिवादी विदुर कार्कीले जबरजस्ती करणी गरी कर्तव्य गरी मारेको भन्ने कुरा सुनेको हुँ, मैले आफ्नै आँखाले देखेको होइन भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने शान्ता थापाले सुरू अदालतमा गरिदिएको बकपत्र ।
मिति २०७१।०८।२२ मा भएको घटना विवरण कागज बेहोरा र सोमा भएको सहीछाप मेरै
हो । घटना वारदात मैले नदेखेको र सबैले विदुर कार्कीले मृतकलाई करणी गरी मारी दिएछ भनी भनेकाले मैले पनि सो आधारबाट भनेको हुँ भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने ताराबहादुर लाखेले सुरू अदालतमा गरिदिएको बकपत्र ।
घटना घटेको भोलिपल्ट अर्थात् २०७१।०८।०५ गते बिहान काठमाडौं जिल्ला तारकेश्वर न.पा. स्थित घरमा प्रहरी आई तपाइँको छोरी दिपा सापकोटाको कर्तव्यबाट मृत्यु भएकाले तपाइँ सिन्धुली जानुपर्यो भनेपछि म, मेरो २ जना साला, भाइ गरी १२/१३ जना मानिसहरू सिन्धुली आई जिल्ला प्रहरी कार्यालय सिन्धुली पुगी बुझ्दा प्रतिवादी विदुर कार्कीले मेरो छोरीलाई रातको समय पारी कल्पवृक्ष जाने बाटो मरिणखोला बगरमा लगी जबरजस्ती करणी गरी सोपश्चात् हत्या
गरेछन् । मैले जाने बुझेसम्म घटना मिति २०७१।०८।०४ गते राति भएको हो । यसरी मेरो छोरीलाई मरिण खोला बगरमा लगी जबरजस्ती करणी गरी कर्तव्य गरी मार्ने कार्य प्रतिवादी विदुर कार्कीले गरेको हुँदा निजलाई कानूनबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरवाला हरि सापकोटाले सुरू अदालतमा गरिदिएको बकपत्र ।
दिपा सापकोटालाई प्रतिवादी विदुर कार्कीले करणी गरी हत्यासमेत गरेको रे भन्ने सुनेको हुँ अन्य कुरा मलाई थाहा छैन भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने सरोज लाखेले सुरू अदालतमा गरिदिएको बकपत्र ।
मिति २०७१।०८।०४ गते राति अन्दाजी १०:३० बजेको समयमा सि.जि. कपिलाकोट गा.वि.स. वडा नं. ९ स्थित मरिणखोलाको बगरमा पशुपति मेला जात्रा हेरी फर्किएकी दिपा सापकोटालाई यस मुद्दाका प्रतिवादी विदुर कार्कीले जबरजस्ती करणी गरी कर्तव्य गरी मारेका हुन् भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने जिवन लामाले सुरू अदालतमा गरिदिएको बकपत्र ।
केन्द्रीय विधि विज्ञान प्रयोगशालाको मिति २०७१।०१।२० तथा जिल्ला प्रहरी कार्यालयको मिति २०७१।०१।२२ को पत्र साथ प्राप्त हुन आएको नमूना परीक्षण रिपोर्टको परीक्षण प्रतिवेदनको सक्कल मिसिल संलग्न रहेको ।
प्रतिवादी विदुर कार्कीले जाहेरवालाकी छोरी दिपा सापकोटालाई कर्तव्य गरी मारेको तथ्य पुष्टि हुन आएकोले प्रतिवादी विदुर कार्कीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्म कैद हुने र प्रतिवादीले मृतक दिपा सापकोटालाई जबरजस्ती करणीको कसुर गरेको भन्ने अभियोग दाबीबाट सफाइ पाउने साथै मृतक दिपा सापकोटाको आश्रित परिवारलाई जबरजस्ती करणीको महलको १० नं.बमोजिम प्रतिवादी विदुर कार्कीबाट क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्ने हदसम्मको वादी नेपाल सरकारको अभियोग दाबी पुग्न सक्दैन भन्ने बेहोराको सुरू सिन्धुली जिल्ला अदालतको मिति २०७२।०२।०३ मा भएको फैसला ।
यी प्रतिवादीले मृतकलाई करणी गर्ने अभिप्राय राखेको तथ्य मिसिल संलग्न बयान बकपत्रलगायतका प्रमाणहरूबाट पुष्टि भइरहेको छ । यी प्रतिवादीले मृतकलाई जबरजस्ती करणी गरी निजलाई कर्तव्य गरी भागी खोजतलास गर्ने क्रममा निज प्रतिवादीको कोठाबाट सोही राति नै पक्राउ गरेको भन्ने प्रहरी प्रतिवेदन र सो बेहोरालाई अदालतमा आई बकपत्र गरी पुष्टि गरिदिएका घटना विवरणका जिवन लामाले यी प्रतिवादीले मृतकलाई जबरजस्ती करणीपश्चात् कर्तव्य गरी मारेकोमा प्रहरीलाई खबर गरी पक्राएको र उक्त तथ्यलाई बकपत्रमा समेत पुष्टि गरिदिएको एवं सोही मिलानको सरोज लाखे र हिरालालको कागज बेहोरा एवं यिनै प्रतिवादीले मौकामा करणी गरी कर्तव्य गरी मारेका हुन् भनी मौकामा कागज गर्ने मानिसहरूको बकपत्रसमेतबाट यिनै प्रतिवादीले जाहेरीअनुरूपको कसुर अपराध गरेको अवस्था विद्यमान भई प्रमाणबाट पुष्टि हुँदाहुँदै निजलाई जबरजस्ती करणीको कसुरबाट उन्मुक्ति दिने गरी भएको उक्त त्रुटिपूर्ण फैसला बदर गरी निजलाई अभियोग माग दाबीबमोजिम सजाय गरी इन्साफ पाउँ भन्नेसमेत बेहोराको पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन ।
मृतकलाई मार्नेसम्मको मेरो कुनै पूर्वयोजना थिएन । प्रस्तुत मुद्दाको वारदात अनपेक्षित रूपमा बदलिएको परिवेश Attitude बाट घट्न गएको
छ । आवेशमा आई प्रस्तुत वारदात घटेको
हो । मृतक दिपा सापकोटा मेरी प्रेमिका भएको र निजलाई सहमति र सल्लाहबमोजिम रातको समयमा एकान्तमा भेट गरी निजलाई मैले प्रेममयी वाहपासमा बेरी अँगालोमा लिन निजको कुममा हात राख्दा मैले सेवन गरेको मदिराको गन्ध आएको कारण पूर्वसहमति तोडी निजले मेरो गालामा जोडले हान्दा बगरमा लड्दा भावावेशमा आई निजको निधारमा ढुङ्गाले प्रहार गर्दा अचानक निज दिपा मरेकी हुन् । कुनै मनसाय तत्त्वको विद्यमानता नहुँदा सिन्धुली जिल्ला अदालतले मिति २०७२।०२।०३ मा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम हुने ठहर गरेको सजाय बदर गरी ऐ. ऐनको १४ नं.बमोजिम सजाय हुने ठहर गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी विदुर कार्कीको पुनरावेदन जिकिर ।
यसमा वादी नेपाल सरकार र प्रतिवादी विदुर कार्की दुवै पक्षको तर्फबाट सिन्धुली जिल्ला अदालतबाट मिति २०७२।०२।०३ मा भएको फैसलाउपर पुनरावेदन परेको देखिएकोले मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ वादी नेपाल सरकारको तर्फबाट परेको पुनरावेदनको बेहोरा प्रतिवादीलाई जानकारी गराई प्रतिवादीको पुनरावेदनपत्रको प्रतिलिपि जानकारीको लागि उच्च सरकारी वकिल कार्यालय, पाटनमा पठाई नियमानुसार गरी पेस गर्नुहोला भन्नेसमेत बेहोराको उच्च अदालत पाटनबाट मिति २०७४।०२।२२ मा भएको विपक्षी झिकाउने
आदेश ।
प्रतिवादीलाई जबरजस्ती करणीतर्फ सफाइ दिने गरी सुरू सिन्धुली जिल्ला अदालतबाट मिति २०७२।०२।०३ मा भएको फैसला सो हदसम्म मिलेको नदेखिँदा उल्टी भई प्रतिवादी विदुर कार्कीलाई सुरू अभियोगपत्र माग दाबीबमोजिम मुलुकी ऐन, जबरजस्ती करणीको १ नं.विपरीतको कसुरमा सोही महलको ३(५) नं.बमोजिम ५(पाँच) वर्ष कैद हुने ठहर्छ । क्षतिपूर्तिको हकमा मुलुकी ऐन, जबरजस्ती करणीको १० नं. मा उल्लेख भएबमोजिम मृतकका आश्रित नाबालक छोराछोरी भएको भन्ने अभियोगपत्रबाट नदेखिँदा क्षतिपूर्तितर्फ केही बोलिरहनु परेन । प्रतिवादीलाई सुरू सिन्धुली जिल्ला अदालतले ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद गरेको मिति २०७२।०२।०३ को फैसला सो हदसम्म मिलेको देखिँदा सदर हुने ठहर्छ । ज्यानसम्बन्धी महलको १४ नं.बमोजिमको कसुर कायम हुनुपर्ने भनी प्रतिवादीले लिएको पुनरावेदन जिकिर पुग्न
सक्दैन । भन्नेसमेत बेहोराको उच्च अदालत पाटनबाट मिति २०७४।०३।२७ मा भएको
फैसला ।
प्रस्तुत मुद्दामा प्रत्यक्षदर्शी भनी प्रमाणमा लिइएका बुझिएको मानिस जीवन लामाले उक्त घटना नजिकबाट देखेको भन्नेसम्म मात्र पुष्टि भएको निजको बकपत्रबाट देखिन्छ । म पुनरावेदकले मृतकलाई करणी गरिरहेको देखेको भनी लेखाउन नसकेको सन्दर्भतर्फ फैसला निर्णयाधारमा प्रस्ट उल्लेख गर्न सकेको
देखिँदैन । उद्देश्य करणी गर्ने रहेको भनी बयान गरेकै कारण मैले जबरजस्ती करणी नगरेको अवस्थामा जबरजस्ती करणी गरेको इन्कार गरेको अवस्थामा साथै करणी नगरेको भन्ने कुरा स्वास्थ्य परीक्षण प्रतिवेदनबाट समेत पुष्टि भइरहेको अवस्थामा मलाई हदैसम्मको सर्वस्वसहित जन्मकैदको सजाय गर्ने गरेको सुरू अदालतको फैसला सदर गरी जबरजस्ती करणीतर्फ सुरू अदालतको फैसला उल्टी गरी जबरजस्ती करणीको महलको ३(५) नं.बमोजिम मलाई ५(पाँच) वर्ष सजाय गर्ने गरी श्री उच्च अदालत पाटनबाट भएको फैसलाले मलाई साह्रै अन्याय भएको हुँदा उक्त फैसला उल्टी गरी जबरजस्ती करणीतर्फ सफाइ दिने गरी सुरू अदालतबाट मिति २०७२।०२।०३ मा भएको फैसला सदर गरी सर्वस्वसहित जन्मकैँदको सजाय गर्ने गरेको उल्लिखित फैसला उल्टी गरी ज्यानसम्बन्धी महलको १४ नं.बमोजिम आवेश प्रेरित कसुर कायम गरी न्याय इन्साफ पाउँ भन्नेसमेत बेहोराको विदुर कार्कीले यस अदालतमा पेस गरेको पुनरावेदनपत्र ।
यसमा वारदातको रूप, प्रकृति, घटनाक्रमतर्फ दृष्टिगत गर्दा अभियोग दाबीबमोजिमको कसुर ठहर गरेको उच्च अदालत पाटनको मिति २०७४।०३।२७ को फैसला प्रमाणको मूल्याङ्कन तथा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ र १४ नं. मा रहेको प्रावधानको व्याख्याका दृष्टिले विचारणीय देखिँदा छलफलका लागि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियमानुसार पेस गर्नु भन्ने बेहोराको मिति २०७६।१०।१४ मा यस अदालतबाट भएको
आदेश ।
यस अदालतको ठहर
नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक/प्रतिवादीको तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री भोजेन्द्रबहादुर क्षेत्रीले मृतक र यी प्रतिवादी एउटै होटलमा खाने बस्ने गर्दथे, प्रतिवादीले मृतकलाई मार्नुपर्ने रिसइवी, झैझगडा र मनसाय केही पनि
छैन । ज्यान लिनुपर्ने तयारी गरेको अवस्था पनि छैन । यी प्रतिवादीलाई मृतकले गालामा हान्दा तत्काल रिस उठी घटना घट्न पुगेको हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सजाय हुने गरी उच्च अदालत पाटनबाट भएको फैसला उल्टी गरी ऐ.ऐ. १४ नं.बमोजिम सजाय हुन तथा जबरजस्ती करणी नगरेको हुँदा सुरू अदालतबाट भएको फैसला सदर गरिपाउँ भनी तथा वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान् उपन्यायाधिवक्ता श्री लोकबहादुर कटुवालले बदलाको भावमा आवेशको तत्त्व हुन सक्दैन तसर्थ उच्च अदालत पाटनबाट भएको फैसला सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
उपर्युक्त दुवै पक्षको बहस जिकिरसमेत सुनी सुरू तथा रेकर्ड मिसिलसमेत अध्ययन गरी हेर्दा, प्रस्तुत मुद्दामा उच्च अदालत पाटनबाट भएको फैसला मिलेको छ वा छैन ? तथा पुनरावेदक / प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी विदुर कार्कीले दिपा सापकोटालाई जबरजस्ती करणी गरी मारेको तथ्य पुष्टि भएकोले निज प्रतिवादी विदुर कार्कीको सो आपराधिक कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महल १ नं. विपरीत ३(५) नं.बमोजिम र मुलुकी ऐन, ज्यानसम्बन्धीको महल १ नं. विपरीत १३(३) नं.बमोजिमको कसुर भएको देखिएको हुँदा निज प्रतिवादी विदुर कार्कीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(५) नं.बमोजिम र मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम सजाय गरी मृतक दिपा सापकोटाको आश्रित परिवारलाई जबरजस्ती करणीको महलको १० नं. बमोजिम प्रतिवादी विदुर कार्कीबाट क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको अभियोग माग दाबी रहेको प्रस्तुत मुद्दामा सुरू सिन्धुली जिल्ला अदालतबाट प्रतिवादी विदुर कार्कीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्म कैद हुने र प्रतिवादीले मृतक दिपा सापकोटालाई जबरजस्ती करणीको कसुर गरेको भन्ने अभियोग दाबीबाट सफाइ पाउने साथै मृतकको आश्रित परिवारलाई जबरजस्ती करणीको महलको १० नं.बमोजिम प्रतिवादीबाट क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्ने हदसम्मको अभियोग दाबी पुग्न नसक्ने ठहर्याई मिति २०७२।०२।०३ मा भएको फैसलाउपर पुनरावेदन परी उच्च अदालत पाटनबाट अभियोग माग दाबीबमोजिम मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं.विपरीतको कसुरमा सोही महलको ३(५) नं.बमोजिम ५(पाँच) वर्ष कैद हुने, क्षतिपूर्तिको हकमा मृतकका आश्रित नाबालक छोराछोरी भएको अभियोगपत्रबाट नदेखिँदा क्षतिपूर्तितर्फ केही बोलिरहनु परेन । ज्यानसम्बन्धी महलको १(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याई भएको सुरू फैसला सदर हुने, ऐ.ऐ. १४ नं.बमोजिमको कसुर कायम हुनुपर्ने भनी प्रतिवादीले लिएको पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्याई उच्च अदालत पाटनबाट मिति २०७४।०३।२७ मा भएको फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको देखियो ।
३. पुनरावेदक/प्रतिवादी विदुर कार्कीको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्रमा मूलतः मृतकलाई मार्नेसम्मको मेरो कुनै पूर्वयोजना थिएन । प्रस्तुत मुद्दाको वारदात अनपेक्षित रूपमा बदलिएको परिवेश Attitude बाट घट्न गएको
छ । आवेशमा आई प्रस्तुत वारदात घटेको
हो । मृतक दिपा सापकोटा मेरी प्रेमिका भएको र निजलाई सहमति र सल्लाहबमोजिम रातको समयमा एकान्तमा भेट गरी निजलाई मैले प्रेममयी वाहपासमा बेरी अँगालोमा लिन निजको कुममा हात राख्दा मैले सेवन गरेको मदिराको गन्ध आएको कारण पूर्वसहमति तोडी निजले मेरो गालामा जोडले हान्दा म बगरमा लड्दा भावावेशमा आई निजको निधारमा ढुङ्गाले प्रहार गर्दा अचानक निज दिपा मरेकी हुन् । कुनै ज्यान मार्ने मनसाय तत्त्वको विद्यमानता नभएको हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सजाय हुने ठहर गरेको फैसला बदर गरी ऐ. ऐनको १४ नं.बमोजिम सजाय ठहर गरिपाउँ भनी तथा मैले मृतकलाई जबरजस्ती करणी नगरेको हुँदा जबरजस्ती करणी गरेको भन्ने अभियोग माग दाबीबाट सुरू अदालतबाट सफाइ दिने गरी भएको फैसला सदर गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदन जिकिर लिएको देखिन्छ ।
४. अब, पुनरावेदक / प्रतिवादीले मलाई ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम सजाय हुनुपर्ने भन्ने तथा जबरजस्ती करणीको कसुरमा सुरू अदालतबाट भएको फैसला सदर गरिपाउँ भन्नेसमेतको पुनरावेदन जिकिरतर्फ विचार गर्दा, सर्वप्रथम प्रस्तुत मुद्दामा सुरू अभियोगपत्रमा प्रतिवादी विदुर कार्कीले दिपा सापकोटालाई जबरजस्ती करणी गरी मारेको तथ्य पुष्टि भएकोले निज प्रतिवादी विदुर कार्कीको सो आपराधिक कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महल १ नं.विपरीतको कसुर भएकोले सोही महलको ३(५) नं.बमोजिम र मुलुकी ऐन, ज्यानसम्बन्धीको महल १ न.विपरीतको कसुर भएकोले सोही महलको १३(३) नं.बमोजिम सजायको माग दाबी लिई अभियोगपत्र दायर भएको देखिन्छ । छोरी दिपा सापकोटालाई जबरजस्ती करणी गरी मारेको भनी प्रतिवादी विदुर कार्कीको विरूद्धमा मृतकका बाबु हरि सापकोटाको मौकामा किटानी जाहेरी परेको देखिन्छ । प्रतिवादी विदुर कार्कीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा, "दिपा सापकोटाको पेन्टी घुँडासम्म खोली मेरो उत्तेजित लिङ्ग दिपा सापकोटाको योनिभित्र जबरजस्ती छिराई करणी गर्दै गरेको अवस्थामा दिपा सापकोटा हिक–हिक गर्दै थिइन्, सोही बेला बत्तीको उज्यालो फोकस आई मान्छे आएको जस्तो लागी दिपा सापकोटालाई करणी गर्न छाडी हतारहतार आफ्नो पेन्ट लगाई भाग्ने क्रममा मरिणखोलामा लड्दा मैले लगाइराखेको पाइन्ट, ज्याकेट, जुत्तासमेत भिजी बालुवा माटोसमेत लागेको हो, म लड्दाको बखत मेरो नली खुट्टामा घाउ भएको हो । मैले नै निज दिपा सापकोटालाई जबरजस्ती करणी गरी मारेको हुँ" भनी आरोपित कसुरमा पूर्ण रूपमा साबित रही बयान गरेको देखिन्छ । निजको उक्त साबिती बयान, लासको बायाँ खुट्टाबाट ट्राउजर र पेन्टी फुकालिएको अवस्थामा रहेको भन्ने मौकाको लास जाँच मुचुल्काको बेहोरा, मैले दिदी र आमालाई लिन सो राति अन्दाजी १०:३० बजेको समयमा मैले मेरो आफ्नो मोबाइलको टर्चलाइट बाली कपिलाकोट–९ मरिणखोलाको बगर बाटो हुँदै मेलातर्फ जाने क्रममा घटनास्थल नजिक अन्दाजी १५ मिटरको दुरीमा पुग्दा घटनास्थलमा एक केटी अर्धनग्न अवस्थामा लडिरहेकी थिइन्, निजमाथि चढेको पुरूष मानिस म आएको थाहा पाएर होला जुरूक्क उठी हतार–हतारमा आफ्नो पाइन्ट लगाई भाग्न लाग्दा म नजिकै पुगिसकेकोले को हो भनी टर्चले हेर्दा उक्त पुरूष मानिस विदुर कार्की भएको चिने भन्नेसमेतको घटना विवरण कागजमा बेहोरा लेखाउने जीवन लामा, सरोज लाखे र हिरालाल घिसिङलगायतका व्यक्तिको भनाइबाट समर्थित भइरहेको देखिन्छ । उक्त वारदातलाई प्रत्यक्ष देखेर प्रहरीलाई तत्कालै जानकारी दिने निज जीवन लामासमेतका मौकामा घटना विवरण कागज गर्ने व्यक्तिहरू सुरू जिल्ला अदालतमा उपस्थित भई बकपत्रसमेत गरिदिएको अवस्थामा निजहरूको भनाइलाई प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रमाणमा लिन योग्य रहेको
देखियो । सुरू अदालतमा बयान गर्दा प्रतिवादी विदुर कार्कीले मृतकसँग मेरो करणी गर्ने इच्छा भए पनि वारदातस्थलमा कोही आएको देखी भागेको भनी करणीको अपराध गरेकोमा इन्कार रही बयान गरेको भए तापनि ढुङ्गाले प्रहार गरी अशक्त भई लडेपछि पनि करणी गर्ने उद्देश्यले मृतकको सुरूवाल र पेन्टी खोलेको कुरालाई प्रतिवादीले अदालतको बयानमा समेत स्वीकार गरेको देखिन्छ । वारदात भइरहेको अवस्थामा मौकामा नै घटनास्थल पुगेका जीवन लामाले घटनास्थलमा एक केटी अर्धनग्न अवस्थामा लडिरहेकी थिइन्, निजमाथि चढेको पुरूष मानिस म आएको थाहा पाएर होला जुरूक्क उठी हतार–हतारमा आफ्नो पाइन्ट लगाई भाग्न लाग्दा मैले टर्चले हेर्दा उक्त पुरूष प्रतिवादी विदुर कार्की भएको चिनेको हुँ भनी यत्तिकै तत्काल प्रहरीलाई खबर गर्नु, मौका तथा अदालतको बयान बेहोरामा लेखाइदिनुपर्नेसम्मको कुनै आधार र कारण मिसिल संलग्न कुनै प्रमाण कागजातबाट देखिँदैन । वारदातको लगत्तै मौकामा अर्थात् वारदातको दिन मिति २०७१।०८।०४ गते राति १०:४५ बजे मृतकको लास देखेका अमृत माझी, मधु लाखेसहितका व्यक्तिहरूले मृतकले लगाएको लेगिन्स र पेन्टी बायाँ खुट्टापट्टि फुकाली मृतकको गुप्ताङ्ग देखिएको भनी लेखाइदिएको अवस्था र निजहरूले अदालतमा उपस्थित भई बकपत्रसमेत गरी मौकामा गरेको कागजको बेहोरालाई पुष्टि गरिदिएको देखिन्छ ।
५. यसैगरी मृतकको मृत्युको कारण (Excessive bleeding due to head injury or cervical vertebra fracture), मृतकको निधारमा लागेको चोट, घाउ जाँच गर्दा सो घाउ ढुङ्गाले भएको देखिन्छ, मृतकको शरीरमा लागेको निलडामको सन्दर्भमा ढाडमा लागेको निलडाम सङ्घर्षको भएको र घाँटीमा लागेको निलडाम मफ्लरले बेरिएर भएको देखिन्छ, मृतकको कन्याजाली च्यातिएको छ, मृतकको योनिभित्र र बाहिर बाक्लो सेतो तरल पदार्थ देखिन्छ । मृतकको चिउँडो तथा दाहिने गालामा दाँतले टोकेको घाउ देखिन्छ । तर जाँच गर्ने समयमा घाउ सुख्खा अवस्थामा भएकोले Swab निकाल्न सकिएन भनिए तापनि मृतकको योनिभित्र र बाहिर बाक्लो सेतो तरल पदार्थ देखिन्छ भन्ने बेहोराको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको मिति २०७१।०८।०८ को लास जाँच परीक्षण प्रतिवेदनको बेहोरासमेतका प्रमाणहरूबाट यी प्रतिवादीले मृतक दिपा सापकोटालाई जबरजस्ती करणी भएको अवस्था देखिन्छ । जबरजस्ती करणीको पूर्ण अपराध हुनका लागि पुरूषको लिङ्ग महिलाको योनिमा पूर्णरूपमा प्रवेश गरेको हुनुपर्ने, वीर्य स्खलन हुनुपर्ने, पीडित महिलाले प्रतिकार गरेको हुनुपर्ने, सो गर्दा पीडक र पीडितको शरीरमा सङ्घर्ष र प्रतिकारका चिह्न हुनुपर्ने जस्ता परम्परागत मान्यतामा परिवर्तन आई पुरूषको लिङ्ग महिलाको योनिमा केही मात्रामा प्रवेश गरेको भए वा घर्षणसम्म भएको अवस्थामा पनि जबरजस्ती करणीको अपराध मानिने मान्यताको विकास भएको
पाइन्छ । यसै सन्दर्भमा, सिता खड्काको जाहेरीले वादी नेपाल सरकार विरूद्ध टसि वि.क. समेत भएको जबरजस्ती करणी मुद्दा (ने.का.प. २०७३, अङ्क १ निर्णय नं. ९५१९) मा "लिङ्ग र योनिको सम्पर्क गरी करणीको कार्य हुने हुनाले योनिमा कति प्रवेश होइन कि योनिमा किञ्चित घर्षण वा प्रवेश पनि करणी गर्ने उद्देश्यले भएको छ भने सो करणी भएको मान्नुपर्ने । ... यौनाङ्गमा लिङ्गले छुने, रगड्ने वा आंशिक रूपमा प्रवेश गरेको रहेछ भने पनि बालिका विरूद्धको करणीको कार्य पूरा भएसरह नै मान्नुपर्ने हुन्छ । अन्यथा लिङ्गले त्यहाँसम्म प्रवेश गर्ने कुरा अप्रासङ्गिक
हुन्छ । आपराधिक मनसायलाई हेरी खराब कार्य (Mischief) लाई निरूत्साहित गरी दण्डित गर्ने हिसाबले कसुरसम्बन्धी कानूनको व्याख्या गर्नुपर्ने" भन्ने यस अदालतको पूर्ण इजलासबाट सिद्धान्त प्रतिपादन पाइन्छ ।
६. प्रस्तुत मुद्दामा प्रतिवादी विदुर कार्कीले मृतक दिपा सापकोटालाई करणी गर्ने मनसायले नै घटनास्थलमा भेटेको, निजले यौन सम्पर्क गर्न नदिई प्रतिरोध गरेपछि मृतकको चुल्ठो समाई निधारमा ढुङ्गाले पटकपटक हानी लडाएको तथा निज अशक्त भई हिक्कहिक्क गर्दै चिच्याएको अवस्थामा समेत जसरी पनि करणी गरी छाड्ने आपराधिक यौन आशक्ति पूरा गर्न अमानवीय रूपमा निजको घाँटी च्याप्दै आफ्नो पाइन्ट तथा मृतकको सुरूवाल र पेन्टीसमेत खोली आफ्नो उत्तेजित लिङ्ग दिपा सापकोटाको योनिभित्र जबरजस्ती छिराई जबरजस्ती करणी गरिरहेको अवस्थामा जीवन लामा टर्च बाली घटनास्थलमा आएको कारण प्रतिवादी भागेको भन्ने माथि विवेचित मिसिल संलग्न प्रमाणहरूबाट प्रतिवादी स्वयंको मौकाको बयान नै स्थापित भएको अवस्थामा यी प्रतिवादीले मृतकलाई करणी गरेको कार्यसमेत पुष्टि हुन आएकोले मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(५) नं.बमोजिम ५(पाँच) वर्ष कैद हुने ठहर्याई क्षतिपूर्तिको हकमा मुलुकी ऐन जबरजस्ती करणीको १० नं. मा उल्लेख भएबमोजिम मृतकका आश्रित नाबालक छोराछोरी भएको भन्ने अभियोगपत्रबाट नदेखिँदा क्षतिपूर्तितर्फ केही बोलिरहनु परेन भनी उच्च अदालत पाटनबाट मिति २०७४।०३।२७ मा भएको फैसला मनासिब नै देखिन आयो ।
७. अब, उच्च अदालत पाटनबाट यी प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३ (३) नं. बमोजिम सजाय गरेको नमिलेकोले ज्यानसम्बन्धीको १४ नं. को कसुर कायम हुनुपर्ने भनी पुनरावेदक / प्रतिवादी विदुर कार्कीले लिएको पुनरावेदन जिकिरतर्फ विचार गर्दा, मुलुकी ऐन, ज्यानसम्बन्धीको १४ नं मा "ज्यान मार्नाको मनसाय रहेन छ, ज्यान लिनुपर्नेसम्मको इवी पनि रहेन छ, लुकी चोरिकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुङ्गा, लात, मुक्का इत्यादि हान्दा सोही चोट पिरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ" भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ ।
८. उपर्युक्त कानूनी व्यवस्थाअनुसार, प्रस्तुत वारदातमा प्रतिवादी विदुर कार्कीले मृतकको निधारमा ढुङ्गाले प्रहार गरेको चोटबाट रक्तश्राव भई मृतकको मृत्यु भएको तथ्य निर्विवाद पुष्टि
देखिन्छ । यी प्रतिवादी विदुर कार्कीले सुरू अदालतमा बयान गर्ने क्रममा समेत दिपा सापकोटाको कुम छोई मलाई एकचोटी यौन सम्पर्क गर्न देउ भनी भन्दा निज दिपा सापकोटाले आफू त्यस्तो खालको चरित्र भएको केटी होइन भनी कसिएर मेरो गालामा एक झापड हिर्काउँदा म भुइँमा लडेँ । दिपा सापकोटा कराउँदै अगाडि दौडिन् । मैले भुइँबाट ढुङ्गा उठाई निजको पछि–पछि दौडी गई निजको कपाल समाती निजलाई आफूतिर फर्काई निजको निधारमा मैले बोकेको ढुङ्गाले कसेर २ चोटि हिर्काएकोमा दिपा सापकोटा आईया भन्दै बगरमा लडेकी र लडेपश्चात् पनि कराएकीले मैले दिपा सापकोटाको घाँटीमा हातले समाई केहीबेर च्यापी जबरजस्ती करणी गर्न थालेको भनी बयान गरेको पाइन्छ । प्रतिवादीले आफूलाई करणी गर्न नदिई झापड हानेकोमा तत्कालको स्वतःस्फूर्त प्रतिक्रिया स्वरूप साधारण ढुङ्गाले हानेको कारण मृतकको मृत्यु भएको नभई हातमा ढुङ्गा लिई मृतकको चुल्ठो समाती आफूतिर फर्काइ निधारजस्तो संवेदनशील अंगमा पटकपटक हानेको भन्ने निज प्रतिवादीकै मौका तथा अदालतको बयानबाटै देखिएको छ । मृतक भुइँमा लडेपछि पनि घाँटीमा च्यापेको भन्नेसमेत निजको भनाइ देखिन आउँछ । मृतकको निधारमा २ ठाउँमा काटिएको, काटिएको चोटबाट रगत आएको, घाँटीमा दायाँ बायाँपट्टि रातो निलडाम रहेको, नाकको दायाँ प्वालबाट रगत जस्तो रातो तरल पदार्थ निस्किएको, दुवै कानमा बालुवा टाँसिएको, चिउँडोमा रातो निलो निलडाम बसेको, लासको पछाडिपट्टि ढाडमा ददारिएको रातो निलडाम रहेको भन्नेसमेत बेहोराको लास जाँच मुचुल्काको बेहोराले प्रतिवादीको बयानलाई पूर्ण रूपमा समर्थन गरेको पाइन्छ ।
९. यसै सन्दर्भमा वादी नेपाल सरकार विरूद्ध विकाश महतसमेत भएको कर्तव्य ज्यान मुद्दा (ने.का.प. २०६७, अङ्क ७ निर्णय नं. ८४१५) मा, "अवस्था र परिस्थितिअनुरूप अभियुक्तमा तत्काल मृतकउपर ज्यान लिनुपर्ने मनसाय तत्त्व जागृत भएको
हुनसक्छ । वारदातमा प्रत्यक्ष प्रमाण भएको अवस्थामा मार्नु पर्ने खास कारणको खोजी गर्नु उपयुक्त नमानिने" भन्ने यस अदालतबाट सिद्धान्त प्रतिपादित भएको छ ।
१०. उपर्युक्त प्रतिपादित सिद्धान्तअनुसार, प्रस्तुत मुद्दामा वारदातको सुरूवात प्रतिवादीले करणीको आशयले मृतकको पाखुरामा सुम्सुम्याउने र कुममा हात राख्ने तथा यौन सम्पर्कको माग गरेपछि मृतकले असहमति प्रकट गर्दै प्रतिवादीको गालामा थप्पड हानेपछि भएको देखिन्छ । यसबाट भावावेशमा आई आफ्नो नियन्त्रण क्षणिक रूपमा गुमाई प्रतिवादीले प्रतिक्रिया स्वरूप ढुङ्गाले हानेको र त्यसको कारण मृतकको मृत्यु भएको अवस्था स्थिति मात्र रहेको भए त्यसलाई आवेशप्रेरित हत्या मान्न पनि सकिने
हुन्थ्यो । तर प्रस्तुत वारदातमा प्रतिवादीले सुरूमा नै भेट गर्ने, मृतकलाई करणी गर्ने मनसाय राखी बदलाको भावबाट प्रेरित भई मृतकलाई अशक्त बनाई जसरी पनि करणी गर्ने उद्देश्यले मृतकको कपालको चुल्ठो समाई अनुहार आफूतर्फ फर्काई निधारमा पटकपटक प्रहार गरेको र मृतक भुइँमा लडेपछि पनि घाँटी च्याप्ने, चिउँडोमा टोक्नेलगायतका क्रियाकलाप गर्दै मृतकलाई जबरजस्ती करणी गर्ने अर्को जघन्य आपराधिक कार्यसम्म निजले आफ्ना क्रियाकलापलाई निरन्तरता दिएको
देखिन्छ । यसरी पुनरावेदकले पुनरावेदनपत्रमा जिकिर लिएजस्तो दिपा सापकोटाले गालामा झापड हान्दा प्रतिवादीले होस गुमाई आवेशमा ढुङ्गाले प्रहार गरेको कारणबाट मृतकको मृत्यु भएको अवस्था नभई इच्छित यौन सम्पर्क गर्न नपाएको झोकमा प्रतिवादी बदलाको भावनाबाट प्रेरित भई जसरी पनि करणी गर्ने उद्देश्य लिई सोलाई कार्यरूप दिएको देखिन्छ । जहाँ बदलाको भाव उत्पन्न हुन्छ त्यहाँ आवेशको स्थान रहँदैन । आवेशमा आई होस गुमाएको मानिसले चुल्ठोमा समाई अनुहार आफूतर्फ फर्काई निधारजस्तो संवेदनशील अङ्ग यकिन गरी पटकपटक प्रहार गर्ने अवस्था हुँदैन । अनि भुइँमा लडेपछि पनि घाँटीमा च्याप्ने, चिउँडोमा टोक्नेलगायतका आक्रमण प्रतिवादीले मृतकउपर गरेको पुष्टि भएको अवस्थाले प्रतिवादीमा आवेशको स्थिति समाप्त भई उद्देश्यमूलक आक्रमणमा संलग्न भएको मान्नुपर्ने देखिन आयो । भौतिक प्रहारपछि प्रतिवादीले मृतकलाई जबरजस्ती करणीसमेत गरेको प्रमाणित भएको अवस्थामा यो वारदातलाई कुनै पनि आधारमा आवेश प्रेरित हत्याको कसुर मान्न मिल्ने देखिएन । बलात्कारको निमित्त गरिने निर्मम हिंसाको स्वरूप नै मान्नुपर्ने देखिन्छ ।
११. यसैगरी होमनाथ भन्ने बाबुराम तिवारी विरूद्ध श्री ५ को सरकार भएको ज्यान मुद्दा (ने.का.प.२०३८, अङ्क ११, नि.नं. १५१४) मा "ढुङ्गाले छातीमा हिर्काएको कसुरलाई आवेशप्रेरित हत्या मान्न नसकिने" भनी यस अदालतको पूर्ण इजलासबाट सिद्धान्त प्रतिपादन भएको छ । प्रस्तुत मुद्दाको वारदातलाई उल्लिखित प्रतिपादित सिद्धान्तको रोहमा हेर्दासमेत आवेशप्रेरित हत्या कायम गर्नुपर्ने भन्ने प्रतिवादीको जिकिरसँग सहमत हुन सकिएन । यी पुनरावेदक प्रतिवादी विदुर कार्कीलाई उच्च अदालत पाटनबाट कर्तव्य ज्यानतर्फको कसुरमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम सुरू सिन्धुली जिल्ला अदालतबाट मिति २०७२।०२।०३ मा सर्वस्वसहित जन्मकैदको सजाय हुने गरी भएको फैसला सदर हुने ठहर्याई फैसला भए तापनि हाल प्रचलित फौजदारी कानूनमा सर्वस्वसहित जन्म कैदसम्बन्धी कानून नभएकोले केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९(२) को खण्ड (ग) बमोजिम निज प्रतिवादी विदुर कार्कीलाई सर्वस्वसहित जन्मकैद गर्न नमिल्ने हुँदा जन्मकैदको मात्र सजाय हुन आउन देखियो ।
१२. अतः माथि विवेचना गरिएको आधार, कारण तथा प्रतिपादित सिद्धान्तबमोजिम प्रतिवादी विदुर कार्कीलाई जबरजस्ती करणीतर्फ सफाइ दिने गरी सुरू सिन्धुली जिल्ला अदालतबाट मिति २०७२।०२।०३ मा भएको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादी विदुर कार्कीलाई सुरू अभियोग माग दाबीबमोजिम मुलुकी ऐन, जबरजस्ती करणीको १ नं.विपरीतको कसुरमा सोही महलको ३(५) नं.बमोजिम ५(पाँच) वर्ष कैद हुने, क्षतिपूर्तिको हकमा मुलुकी ऐन, जबरजस्ती करणीको १० नं. मा उल्लेख भएबमोजिम मृतकका आश्रित नाबालक छोराछोरी भएको भन्ने अभियोग पत्रबाट नदेखिँदा क्षतिपूर्तितर्फ केही बोलिरहनु परेन भनी तथा प्रतिवादीलाई सुरू सिन्धुली जिल्ला अदालतले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद गरेको मिति २०७२।०२।०३ को फैसला सो हदसम्म मिलेको देखिँदा सदर हुने ठहर्याई उच्च अदालत पाटनबाट मिति २०७४।०३।२७ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने
ठहर्छ । तर केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९(२) को खण्ड (ग) बमोजिम निज प्रतिवादी विदुर कार्कीलाई सर्वस्वसहित जन्मकैद गर्न नमिल्ने हुँदा जन्मकैदको मात्र सजाय हुने ठहर्छ । ज्यानसम्बन्धी महलको १४ नं.बमोजिमको कसुर कायम हुनुपर्ने भनी पुनरावेदक/प्रतिवादीले लिएको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी विदुर कार्कीलाई जन्मकैदको मात्र सजाय हुने ठहरी फैसला भएकोले निजलाई सर्वस्वसहित जन्मकैदको कसिएको लगतमा सर्वस्वको लगत कट्टा गरी जन्मकैदको मात्र लगत कसी संशोधित कैदीपुर्जी दिनु भनी सुरू सिन्धुली जिल्ला अदालत तहसिल शाखामा लेखी पठाइदिनू...................१
थुनामा रहेका प्रतिवादी विदुर कार्कीलाई प्रस्तुत फैसलाको प्रमाणित प्रतिलिपिसहित निज थुनामा रहेको कारगार कार्यालयमा पठाइदिनू...............२
सरोकारवालाले नक्कल माग गरे नियमानुसार गरी नक्कल दिनू..............................................३
प्रस्तुत फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी नियमानुसार अभिलेख शाखामा बुझाइदिनू.................................................४
उक्त रायमा सहमत छु ।
न्या. प्रकाशकुमार ढुङ्गाना
इजलास अधिकृत:- उद्वीर नेपाली
इति संवत् २०८० साल वैशाख २४ गते रोज १ शुभम् ।