शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११२६१ - लागु औषध (अफिम)

भाग: ६६ साल: २०८१ महिना: असार अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

माननीय न्यायाधीश डा.श्री कुमार चुडाल

फैसला मिति : २०८०।४।२३

 

मुद्दाः लागु औषध (अफिम)

 

०७५-CR-०१०९

पुनरावेदक / वादी : प्रहरी प्रतिवेदनले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला धनकुटा, साबिक हिले गाउँ विकास समिति वडा नं. १ घर भई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. कलंकी बस्ने इन्द्र तामाङको छोरी गगन गुरूङको श्रीमती मञ्जु भनिने सम्झना तामाङ

 

०७४-CR-१०९४

पुनरावेदक / प्रतिवादी : दैलेख जिल्ला साबिक खरिगैरा गाउँ विकास समिति वडा नं. ७ घर भई हाल कारागार कार्यालय, दैलेखमा थुनामा रहेको विशाल भनिने बलबहादुर गुरूङ

विरूद्ध

प्रत्यर्थी / वादी : प्रहरी प्रतिवेदनले नेपाल सरकार

 

०७४-CR-०९७७

पुनरावेदक / प्रतिवादी : दैलेख जिल्ला साबिक खरिगैरा गाउँ विकास समिति वडा नं. ६ जुंगेपानी घर भई हाल दैलेख कारागार कार्यालयमा थुनामा रहेको शिखर गुरूङ

विरूद्ध

प्रत्यर्थी / वादी : प्रहरी प्रतिवेदनले नेपाल सरकार

 

यदि कुनै व्यक्तिको सँगसाथ वा नियन्त्रणमा रहेको अवस्थामा कुनै चीजवस्तु बरामद भएमा actual possession हुने र यदि कुनै व्यक्तिको साथमा नै कुनै चीजवस्तु नभए पनि सो वस्तुबारे निजको थाहा जानकारीमा भई सो चिजवस्तु आफूले पनि राख्‍न वा नियन्त्रण लिन सक्ने (ability to control the object) भएमा वा कसुरबाट बच्न सावधानी अपनाई अन्य कसैलाई राख्न दिने वा कुनै स्थानमा राख्नेसमेतका कार्यसमेत भएमा possession भएको मानिने ।

प्रतिवादीबाट लागु औषध (अफिम) को झोला बरामद भएकाले निजले वास्तविक कब्जा (actual possession) र सो चिजवस्तुबारे पूर्णतः ज्ञान जानकारी भई आफैँले तारतम्य मिलाइदिएको चिजवस्तु बरामद हुँदा उपस्थित नभए पनि अर्का प्रतिवादीको सो चिजवस्तुमा constructive possession रहेको मानिने । प्रतिवादीहरूले सँगसाथ लागु औषध अफिम बोकी योजनाबद्ध रूपमा ओसारपसार गरी बिक्री वितरण गर्न हरउपाय अवलम्बन गर्दै गरेको बखत बरामद भएकाले निजहरू उक्त कसुर कार्यमा शंकारहित तवरबाट संलग्न रहेको देखिने ।

(प्रकरण नं.६)

 

वादीका तर्फबाट : विद्वान् सहायक न्यायाधिवक्ता रमादेवी पराजुली 

प्रतिवादीका तर्फबाट : वैतानिक कानून व्यवसायी अनिता गुरूङ

अवलम्बित नजिर :

ने.का.प.२०६८, अङ्क १२, नि.नं.८७२८

ने.का.प.२०६८, अङ्क १२, नि.नं.८७४३

ने.का.प.२०६९, अङ्क ११, नि.नं.८९२३

सम्बद्ध कानून :

लागु औषध (नियन्त्रण) ऐन, २०३३

 

सुरू तहमा फैसला गर्ने:

मा. जिल्ला न्यायाधीश श्री उमेश कोइराला

काठमाडौं जिल्ला अदालत 

पुनरावेदन फैसला गर्ने:

मा. न्यायाधीश श्री टंकबहादुर मोक्तान

मा. न्यायाधीश श्री शेखरप्रसाद पौडेल

उच्च अदालत पाटन

 

फैसला

न्या.डा.कुमार चुडाल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः –

मिति २०७२।४।७ का दिन काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.११ सुन्धारामा रहेको होटल रोयल गोरखा गेष्टहाउसअगाडि सडक किनारामा विशाल गुरूङ र मञ्जु तामाङसमेतका दुईजना सँगसँगै रहेको अवस्थामा विशाल गुरूङले साथमा बोकेको कालो रङको झोलाभित्रबाट सेतो प्लाष्टिकमा डल्लो पारी राखिएको अवस्थामा ७ किलो ३० ग्राम लागु औषध (अफिमको चोप जस्तो देखिने कालो रङको लेसिलो ओसिलो पदार्थ) फेला पारी बरामद भई आई पक्राउ गरिएको हुँदा निजहरूउपर लागु औषध (नियन्त्रण) ऐनअन्तर्गत कानूनबमोजिम गरिपाउँ भन्ने बेहोराको प्रहरी प्रतिवेदन ।

खानतलासी बरामदी मुचुल्कामा उल्लिखित अवैध लागु औषध (अफिम) म र मसँगै पक्राउमा परी आएकी मञ्जु तामाङसमेत सँगसँगै रहेको अवस्थामा मैले आफ्नो साथमा बोकेको झोलाभित्रबाट फेला परी बरामद भई आएको अवैध लागुऔषध (अफिम) हो । बरामद हुँदा अवैध लागुऔषध (अफिम) ७ किलो ३० ग्राम बरामद भएको हो । बरामदी मुचुल्कामा भएको दस्तखत सहीछाप मेरो आफ्नै हो । मेरो एकै गाउँको अगाडिदेखि चिनेका भिनाजु नातापर्ने शिखर गुरूङले काठमाडौं घुम्न जाउँ भनी मलाई भनिसकेपछि निज शिखर गुरूङले भनेअनुसार घरमा कोही कसैलाई जानकारी नगराई मिति २०७२।४।३ मा दैलेखबाट काठमाडौं आउने १२ बजेको रात्री बसमा शिखर गुरूङसँगै बसमा चढी सुर्खेतसम्म आइसकेपछि सुर्खेत बसपार्कमा शिखर गुरूङले काठमाडौं लाने पीठो हो, डिक्कीमा राख भनी मलाई अह्राएपछि मैले उक्त सामान डिक्कीमा 

राखेँ । मिति २०७२।४।४ मा अन्दाजी १५:०० बजेको समयमा मलाई निज शिखर गुरूङले काठमाडौं, कलङ्की चोक ओराली बसबाट सामान झिक भने । त्यसपछि शिखर गुरूङले आफ्नो भाउजूलाई फोन गरी कलङ्की आउनु भनेपछि मञ्जु तामाङ आई उक्त पीठो भनिएको सामानको साथमा बोकी निज शिखर गुरूङसँगै मञ्जु तामाङको कोठामा आई उक्त सामान सोही कोठामा राखी त्यहीँ बस्यौँ । मिति २०७२।४।७ का दिन बिहान शिखर गुरूङले झोलामा सामान छ, लिएर कलङ्की पुलसम्म 

जाऊ । साथी लिन आउँछ, दिएर आउनु भने । त्यसपछि लोकबहादुर रानाले मलाई झोलाको सामान बोक्न लगाई म, मञ्जु तामाङलाई एउटा गाडीमा चढाए, आफू चाहीँ अर्को गाडीमा चढी सुन्धारा आइपुगेपछि म, मञ्जु तामाङ र लोकबहादुर रानासमेत भई सँगसँगै सुन्धारामा मैले साथमा कालो रङको झोला बोकी गइरहेको अवस्थामा मलाई प्रहरी आई नियन्त्रणमा लिएको हो । निज लोकबहादुर राना के कहाँ भागे, थाहा भएन । मलाई र मञ्जु तामाङलाई नियन्त्रणमा लिई झोला खोली बरामदी मुचुल्कामा उल्लिखित लागुऔषध (अफिम) सहित पक्राउ गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी विशाल गुरूङले गरेको बयान ।

खानतलासी बरामदी मुचुल्कामा उल्लिखित अवैध लागुऔषध (अफिम) म र मसँगै पक्राउमा परी आएका प्रतिवादी विशाल गुरूङसमेत सँगसँगै रहेको अवस्थामा प्रतिवादी विशाल गुरूङले आफ्नो साथमा बोकेको झोलाभित्रबाट फेला परी बरामद भई आएको 

हो । बरामदी मुचुल्कामा भएको दस्तखत सहीछाप मेरो आफ्नै हो । मिति २०७२।४।४ को दिन मेरो श्रीमान्‌को भाइ नातापर्ने शिखर गुरूङले भाउजू म कलङ्की आएको छु, लिन आउनु भनेपछि म कलङ्की लिन गएँ । देवर शिखर गुरूङ र अर्का हालसँगै पक्राउमा परेका विशाल गुरूङ सँगसँगै मेरो कोठामा आई कोठामा दुई दिनसम्म बसेका 

थिए । मिति २०७२।०४।७ का दिन देवर शिखर गुरूङले विशाल गुरूङको झोलामा सामान 

छ । उसलाई सुन्धारा थाहा छैन । तपाइँ पनि सँगै जानुहोस् भनेपछि विशाल गुरूङ र म कलङ्की पुलनजिक पुग्दा लोकबहादुर राना भन्ने व्यक्तिले भेट गरी शिखर गुरूङ मेरो साथी हो । तपाइँसँगै सुन्धारासम्म जाउँ भनी निज लोकबहादुर राना एउटा माइक्रो बसमा, म र विशाल गुरूङ अर्को माइक्रो बसमा चढी सुन्धाराअगाडि ओर्लिसकेपछि विशाल गुरूङले झोला बोकी तिनै जना सुन्धाराबाट भित्र गेष्ट हाउसहरू भएको स्थानतर्फ गइरहेको अवस्थामा विशाल गुरूङको साथमा भएको कालो रङको झोला प्रहरी आई नियन्त्रणमा लिँदा निज लोकबहादुर राना के कहाँ भागे, थाहा भएन । मलाई र विशाल गुरूङलाई नियन्त्रणमा लिई बरामदी मुचुल्कामा उल्लिखित लागुऔषध (अफिम) सहित पक्राउ गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी सम्झना तामाङको बयान ।

म र विशाल गुरूङ दैलेखबाट काठमाडौं आउने रात्री बसमा मिति २०७२।०४।०३ मा चढी ऐ. ४ गते काठमाडौं आएका हौँ । दुवैजना सुर्खेत आइसकेपछि मलाई कोही कसैले सामान दिएका 

छैनन् । काठमाडौं आई भाउजूको कोठामा बसी म र विशाल गुरूङ कलङ्की चोकतिर घुम्न जाँदा एक जना नचिनेको व्यक्तिले सामान सुन्धारासम्म पुर्‍याइदेउ भनेकोले मैले उक्त सामान लिई भाउजू मञ्जु तामाङलाई दिई विशाल गुरूङसँगै गई ठाउँ चिनाई सामान पुर्‍याई दिनुपर्‍यो भनी भाउजू मञ्जु तामाङलाई विशाल गुरूङसँगै पठाइदिएको हुँ । म आफू भाउजूको कोठामा बसिराखेको थिएँ भन्नेसमेत बेहोराको प्रतिवादी शिखर गुरूङले गरेको बयान ।

प्रतिवादी मञ्जु तामाङ भन्ने सम्झना तामाङ मेरो श्रीमती हुन् । अर्का पक्राउमा परेका विशाल गुरूङ मेरो मामाको छोरा हुन्, शिखर गुरूङ मेरो आफनो भाइ हुन् । भाइ शिखर गुरूङ र विशाल गुरूङ काठमाडौं आई मेरो कोठामा बसी मिति २०७२।०४।०७ गतेका दिन सुन्धारामा रहेको होटल रोयल गोरखा गेष्टहाउसअगाडि सडक किनारामा विशाल गुरूङ र मेरो श्रीमती मञ्जु तामाङ सँगसगै रहेको अवस्थामा विशाल गुरूङले बोकेको कालो रङको झोलाभित्रबाट ७ किलो ३० ग्राम लागुऔषध (अफिम) सहित पक्राउमा परी आएको भन्ने सुनी थाहा पाएको हुँ । सोपश्चात् उक्त बरामदी लागुऔषध (अफिम) मेरो भाइ शिखर गुरूङले ल्याएको अनुसन्धानबाट खुल्न आई निज शिखर गुरूङसमेत पक्राउमा परी आएका हुन् । उक्त बरामदी लागुऔषध (अफिम) को कारोबारमा मेरो कुनै संलग्नता छैन । के कसरी के कहाँबाट को को भई ल्याई बरामदी लागुऔषध (अफिम) को कारोबार गरे निजहरूलाई नै थाहा छ । कारोबारसम्बन्धी मलाई जानकारी थिएन । श्रीमती मञ्जु तामाङ के कसरी बरामदी लागुऔषध (अफिम) को कारोबारमा संलग्न रही पक्राउमा परी आइन्, थाहा भएन भन्नेसमेत बेहोराको गगन गुरूङको कागज ।

मिति २०७२।४।७ का दिन काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.११ सुन्धारामा रहेको होटल रोयल गोरखा गेष्टहाउसअगाडि सडक किनारामा विशाल गुरूङ र मञ्जु तामाङ सँगसँगै रहेको अवस्थामा विशाल गुरूङले साथमा बोकेको झोलाभित्रबाट सेतो प्लाष्टिकमा डल्लो पारी राखिएको अवस्थामा ७ किलो ३० ग्राम लागुऔषध (अफिम) को चोपजस्तो देखिने कालो रङको लेसिलो ओसिलो पदार्थ फेला पारी बरामद भई आई पक्राउमा परेको र सो बरामदी लागु औषध कारोबारमा शिखर गुरूङ पनि पक्राउमा परेको सुनी थाहा पाएको हुँ । पक्राउमा परेका प्रतिवादीहरूले लागु औषधको कारोबार गरेको हुँदा निजहरूउपर कानूनबमोजिम कारबाही हुनुपर्दछ भन्ने बेहोराको बुझिएका मानिसहरूले गरेको कागज ।

परीक्षणको लागि पठाइएको नमुनामा लागुऔषध (अफिम) पाइयो भन्ने बेहोराको परीक्षण प्रतिवेदन ।

प्रतिवादी विशाल गुरूङ भन्ने बलबहादुर गुरूङबाट बरामद भएका लागु औषध ७ किलो ३० ग्राम (अफिम) को कारोबारमा संलग्न रही खरिद बिक्री गर्नका लागि प्रतिवादी विशाल गुरूङ भन्ने बलबहादुर गुरूङ, मञ्जु तामाङ भन्ने सम्झना तामाङ, शेखर गुरूङ र लोकबहादुर रानासमेतको संलग्नतामा उक्त लागु औषध खरिद बिक्री तथा ओसारपसार गर्ने कार्य गरेको देखिँदा यी प्रतिवादीहरू विशाल गुरूङ भन्ने बलबहादुर गुरूङ, मञ्जु तामाङ भन्ने सम्झना गुरूङ, शेखर गुरूङ र लोकबहादुर रानाले गरेको उक्त कार्य लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को (घ) र (च) को कसुर गरेको पुष्टि हुन आएकोले यी प्रतिवादीहरू विशाल गुरूङ भन्ने बलबहादुर गुरूङ, मञ्जु तामाङ भन्ने सम्झना तामाङ, शेखर गुरूङलाई सोही ऐनको दफा १४(१)(छ)(३) बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग मागदाबी ।

अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ठीक हो । बरामद भएको झोला सन्दिप भन्ने मानिसले राखिदेउ भनेकोले राखिदिएको हो । निजले सो सामान सुन्धारा पुर्‍याइदेउ भनेकोले सो सामान विशालसँगै पठाइदिएको र मञ्जुलाई सँगै गइदिनुपर्‍यो भनेको 

हो । अभियोग दाबीअनुसारको कसुर नगरेको हुँदा सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी शिखर गुरूङले सुरू अदालतसमक्ष गरेको बयान ।

बरामदी मुचुल्कामा उल्लिखित झोला मलाई शिखर गुरूङले दिएको हो । उक्त झोलामा लागु औषध छ भन्ने कुरा मलाई थाहा थिएन । कुनै कसुर गरेको नहुँदा सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको विशाल भनिने बलबहादुर गुरूङले सुरू अदालतमा गरेको बयान ।

प्रतिवादी विशाल गुरूङले घुम्न जाउँ भनेकोले सँगै गएको हो । निजले लागु औषध बोकेको कुरा मलाई थाहा थिएन । निजलाई कलङ्की पुलमा शिखर गुरूङले उक्त झोला दिएको हो । अभियोग दाबीबमोजिम कार्य नगरेको हुँदा सजाय पाउनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी मञ्जु भनिने सम्झना तामाङले सुरू अदालतसमक्ष गरेको 

बयान ।

प्रतिवादी सम्झना तामाङ असल चालचलन भएकी मानिस हुन् । निजले लागु औषध ओसारपसार तथा बिक्री गरेकी होइनन् । निजलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी मञ्जु भनिने सम्झना तामाङको साक्षी अविनाश कुँवरको बकपत्र ।

मिति २०७२।४।७ को बरामदी मुचुल्कामा भएको सहीछाप मेरै हो । बरामदित लागु औषध प्रतिवादी विशाल गुरूङको साथबाट बरामद भएको हो भन्नेसमेत बेहोराको एकैमिलानको प्रतिवेदक केशव बराकोटी र किरणप्रसाद न्यौपानेको बकपत्र ।

शिखर गुरूङले विशाल भन्ने बलबहादुर गुरूङसमेतको संलग्नतामा ७ के.जी. ३० ग्राम लागु औषध अफिम ओसारपसार गरेको भन्ने देखिँदा निजहरूले लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ को खण्ड (च) अनुसारको कसुर अपराध गरेको ठहर्छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरूले संगठित रूपमा अफिमको ओसारपसार गरेको देखिएको 

छ । तसर्थ, उक्त लागु औषधको परिमाण तथा प्रस्तुत मुद्दाबाट उजागर भएका समग्र तथ्यहरूको आधारमा यी प्रतिवादीहरू शिखर गुरूङ र विशाल भन्ने बलबहादुर गुरूङलाई सोह्र वर्ष कैद र छ लाख रूपैयाँ जरिवानासमेत हुने ठहर्छ र प्रतिवादी मञ्जु भन्ने सम्झना गुरूङको संलग्नता स्थापित हुन नसकेबाट निजउपरको अभियोग दाबी पुग्न सक्दैन । निजले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्‍नेसमेत सुरू काठमाडौंको मिति २०७२।०७।१७ को फैसला ।

म पुनरावेदक प्रतिवादी लागु औषधको कारोबार तथा खेती उत्पादन, तयारी खरिद बिक्री निकासी, पैठारी ओसारपसार अर्थात लागु औषध ऐन, २०३३ को दफा ४ बमोजिमको अपराध गर्ने व्यक्ति नभएको हुँदा उक्त अपराध गर्ने पूर्वतयारी, मनसाय नभएको, जानी जानी अपराध नगरेको म प्रतिवादीलाई झुक्याई झोला बोकाउने कार्य शिखर गुरूङले गरेको अवस्था र बरामदी मुचुल्कामा घटनास्थल मुचुल्का वस्तुस्थितिलगायत बुझिएका व्यक्तिसमेतले सम्मानित अदालतमा आई बकपत्रसमेत नगरेको अवस्थामा पक्राउ गर्ने प्रहरीको प्रतिवेदनमा उल्लिखित प्रतिवेदकको बकपत्रको आधारमा मलाई कसुरदार ठहर गरी सजाय गर्ने गरी गरेको भएको त्रुटिपूर्ण फैसला उल्टी गरी न्याय पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी विशाल भन्ने बलबहादुर गुरूङले उच्च अदालत पाटनमा चढाएको पुनरावेदन जिकिर ।

अन्तराष्ट्रिय बजारमा करोडौं पर्ने लागु औषध अफिमको कारोबारमा परिवारका सबैजनासमेत लाग्न सक्‍ने अवस्थामा गाउँमा बस्‍ने प्रतिवादीहरू शिखर गुरूङ र बलबहादुर गुरूङ र बलबहादुर गुरूङ, सहरमा डेरा लिई बस्‍ने गाउँले भाउजू नाताकी निज मञ्जु भन्‍ने सम्झना तामाङ जसको कुनै रोजजार पेसा छैन निजले समेत केही पाउँला भनी आशामा उक्त लागु औषध ओसार्ने र हस्तान्तरण, बिक्री वितरणका लागि साथै गएको अवस्थामा निजलाई लागेको अभियोगबाट सफाइ दिएको फैसला तथ्यपरक नहुँदा निजसमेतलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको उच्च अदालत पाटनमा वादी नेपाल सरकारको पुनरावेदन जिकिर ।

म पुनरावेदक आँखा नदेख्‍ने अन्धो र एक अनपढ भएकाले प्रस्तुत मुद्दामा सो झोलाभित्र लागु औषध (अफिम) रहेको कुरा मलाई जानकारी नरहेको अवस्थामा मनसाय तत्त्व पनि 

देखिँदैन । उक्त झोला मेरो हो या त सो लागु औषध मैले आफैँले कारोबारको लागि ल्याएको हो भन्ने कुराको वस्तुनिष्ठ प्रमाण नभएको तथा मैले कहिलेदेखि सो व्यवसाय गर्न लागेको हो, सोमा संलग्न को को छन्, कहाँबाट ल्याएको हो कसलाई बिक्री गर्न ल्याएको हो, या त अरूको लागु औषध ल्याइदिएबापत मैले के कति रूपैयाँ प्राप्त गरेँ सो कसले दियो आदि कुरा भन्‍ने कुरा अभियोजन पक्षले अनुसन्धान गरी स-प्रमाण पुष्टि गर्न सक्नुपर्नेमा म विरूद्ध दिइएको जाहेरी सहरको प्रहरी प्रतिवेदनलाई अन्य स्वतन्त्र प्रमाणले पुष्टि गर्न नसकी प्रमाणमा ग्रहण नै गर्न नमिल्‍ने उक्त प्रहरी प्रतिवेदनलाई ग्रहण गरी दोषी कायम गर्ने गरी भएको जिल्ला अदालतको त्रुटिपूर्ण फैसला उल्टी गरी आरोपित कसुरबाट सफाइ दिने गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी शिखर गुरूङको उच्च अदालत पाटनमा पुनरावेदन जिकिर ।

प्रतिवादी विशाल गुरूङले बोकेको झोलाबाट ७ केजी ३० ग्राम लागुऔषध अफिम बरामद भएको र आफूले बोकेको झोलाबाट लागुऔषध बरामद भएको, उक्त झोला आफूलाई शिखर गुरूङले अर्को मान्छेलाई दिन भनी पठाएको भनी अनुसन्धानमा र अदालतमा साबित भई बयान गरेको, शिखर गुरूङले अदालतमा बयान गर्दासमेत विशाल गुरूङलाई झोला दिई सुन्धारामा पुर्‍याउन पठाएकोमा साबित भई बयान गरेको र प्रतिवादीमध्येकी मञ्जु भन्ने सम्झना तामाङले अदालतमा बयान गर्दा पनि प्रतिवादी विशाल गुरूङबाट बरामद भएको झोला शिखर गुरूङले दिएको हो भनी बयान गरेकोसमेतका प्रमाणबाट प्रतिवादीहरू शिखर गुरूङ, विशाल भन्ने बलबहादुर गुरूङको मिलोमतोबाट लागुऔषध (अफिम) साथमा राखी ओसारपसार गरी अभियोग दाबीबमोजिमको कसुर गरेको पुष्टि भइरहेको अवस्थामा प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिम सजाय हुने ठहर गरी भएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला मनासिबै देखिँदा अभियोग दाबीबाट सफाई पाउनुपर्छ भन्ने पुनरावेदक प्रतिवादीहरू विशाल भन्ने बलबहादुर गुरूङ र शिखर गुरूङको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । साथै, प्रतिवादीमध्येको मञ्जु भन्ने सम्झना तामाङलाई सुरू जिल्ला अदालतबाट अभियोग दाबीबाट सफाइ दिने ठहर्‍याई भएको फैसलाउपर परेको नेपाल सरकारको पुनरावेदनतर्फ विचार गर्दा प्रतिवादी मञ्जु भन्ने सम्झना तामाङसमेत प्रतिवादी विशाल गुरूङलाई पक्राउ गर्दा सँगसाथमा हिँडिरहेको अवस्थामा एकैपटक पक्राउ गरेको भए पनि मञ्जु तामाङको साथबाट लागुऔषध बरामद भएको नदेखिएको, निज प्रतिवादीले अनुसन्धान र अदालत दुवैठाउँमा अभियोग दाबीबमोजिम कसुर गरेकोमा इन्कार भई बयान गरेको, प्रतिवादीहरू विशाल गुरूङ र शिखर गुरूङ दुवैको बयानबाट मञ्जु भन्ने सम्झना तामाङले विशाल भन्ने बलबहादुर गुरूङलाई सुन्धारा भन्ने ठाउँमा पुर्‍याइदिनेसम्मको कार्य गरेको देखिएको समेत आधारमा, विशाल भन्ने बलबहादुर गुरूङले बोकेको झोलामा लागुपदार्थ रहेको भन्ने निज मञ्जुलाई थाहा भएको प्रमाणबाट नदेखिँदा लागुऔषध (अफिम) को अवैध ओसारपसारको कार्यमा मञ्जु तामाङको मिलोमतो रहेको मिसिल संलग्न प्रमाणबाट पुष्टि हुन सकेको नदेखिएकोले प्रतिवादी मञ्जु भन्ने सम्झना तामाङलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भन्ने नेपाल सरकारको पुनरावेदन जिकिरसँगसमेत सहमत हुन नसकिई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७२।०७।१७ मा भए फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत पाटनबाट मिति २०७४।३।५ मा भएको फैसला ।

मिति २०७२।०४।०७ गतेका दिन काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११ सुन्धारामा रहेको होटेल रोयल गोरखा गेष्‍टहाउस अगाडि सडकमा विशाल गुरूङ र मञ्जु तामाङसमेत दुईजना सँगै रहेको अवस्थामा विशाल गुरूङले साथमा बोकेको कालो रङको झोलाबाट ७ किलो ३० ग्राम लागु औषध (अफिमको चोप जस्तो देखिने कालो रङको लेसिलो ओपलो पदार्थ) फेला परेकाले पक्राउ भई आएका निजहरूउपर कारबाही गरिपाउँ भन्दै प्रहरी प्रतिवेदन परेको, प्रतिवादी विशाल गुरूङले मौकामा बयान गर्दा बरामद भएको पीठोसहित मिति २०७२।४।४ गते म र शिखर गुरूङसमेत मञ्जु तामाङको कोठामा बसेका र मिति २०७२।४।७ मा सो सामानसहित म, मञ्जु तामाङ र लोकबहादुर रानासमेत सँगसँगै रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको भन्दै उक्त लागु औषधसहित कसुरदार ठहर भएका अन्य प्रतिवादीहरूले बयान गरेको भई सोही भनाई निज प्रतिवादी मञ्जु भनिने सम्झना तामाङले मौकामा बयान गरेको देखिँदा, तीनै जना प्रतिवादीहरू सँगसँगै रहे बसेको र लागु औषधसमेत सँगै राख्‍ने गरेको तथा पक्राउसमेत सँगसँगै परेको र निजहरू आपसी चिनजानका रही फोनमा कुराकानी भएको देखिएको समेतबाट प्रतिवादी मञ्जु भनिने सम्झना तामाङलाई सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण छ भनी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।

यसमा यसै लगाउमा रहेको ०७४-CR-०९७७ नं. को मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भएको र प्रस्तुत मुद्दा उक्त मुद्दाको अन्तरप्रभावी रहेको हुँदा प्रस्तुत मुद्दामा समेत मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भनी यस अदालतबाट मिति २०७६।१०।२६ मा भएको आदेश ।

म पुनरावेदक लागु औषध कारोबार अर्थात् ओसार पसार नगर्ने व्यक्ति, पहिलो पटक काठमाडौं आएको यहाँको ठाउँहरूको बारेमा कुनै जानकारी नभएको तथा गाउँका अघिदेखि नै चिनेका भिनाजु नाता पर्ने व्यक्ति शिखर गुरूङले भनेबमोजिम काठमाडौं आउने बसमा चढी सुर्खेत आइपुगेपछि सुर्खेतमा निज शिखर गुरूङले यो पिठो हो काठमाडौं साथीलाई लिने हो डिकीमा राख भनेपछि डिकीमा राखेको, काठमाडौं पुगेपछि मैले बसबाट सामान निकाली निजको भाउजु नाता पर्ने मञ्जु तामाङ भन्ने सम्झना तामाङको कोठामा गई बसेको, यो सामान साथीलाई सुन्धारामा पुर्‍याइदेउ भनेपछि शिखर गुरूङले सम्झना तामाङलाई ठाउँ देखाई दिनको लागि मेरो साथसँगमा पठाएकोमा सुन्धारामा रहेको होटल रोयल गोरखा गेष्ट हाउस अगाडि सडक किनारामा मलाई र सम्झना तामाङलाई प्रहरीले पक्राउ गरेर मैले बोकेको झोला खान तलासी गर्दा मात्र लागु औषध (अफिम) भएको जानकारी भएको हुँदा उक्त लागु औषध ओसार पसारमा मेरो कुनै संलग्नता नरहेको कुरा मैले अधिकारप्राप्त अधिकारी र सम्मानित जिल्ला अदालतमा भन्दाभन्दै र मौकामा कागज गर्ने व्यक्तिहरूको सम्मानित अदालतमा आई बकपत्रसमेत नगराई पक्राउ गर्ने प्रहरी प्रतिवेदकको बकपत्रको आधारमा मलाई कसुरदार ठहर गरी सुरू काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई सदर गर्ने उच्च अदालत पाटनको फैसला त्रुटिपूर्ण भएकाले बदर गरी न्याय पाउँ भनी पुनरावेदक प्रतिवादी विशाल भनिने बलबहादुर गुरूङले यस अदालतमा दिएको पुनरावेदनपत्र ।

यसमा यसै लगाउमा रहेको ०७४-CR-०९७७ नं. को मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भएको र प्रस्तुत मुद्दा उक्त मुद्दासँग अन्तरप्रभावी रहेको हुँदा प्रस्तुत मुद्दामा समेत मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) को प्रयोजनार्थ विपक्षी वादी नेपाल सरकारलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भनी यस अदालतबाट मिति २०७६।१०।२६ मा भएको आदेश ।

म पुनरावेदक आँखा नदेख्‍ने अन्धो र एक अनपढ भएकाले प्रस्तुत मुद्दामा सो झोलाभित्र लागु औषध (अफिम) रहेको कुरा मलाई जानकारी नरहेको अवस्थामा मनसाय तत्त्व पनि 

देखिँदैन । उक्त झोला मेरो हो या त सो लागु औषध मैले आफैँले कारोबारको लागि ल्याएको हो भन्ने कुराको वस्तुनिष्ठ प्रमाण नभएको तथा मैले कहिलेदेखि सो व्यवसाय गर्न लागेको हो, सोमा संलग्न को को छन्, कहाँबाट ल्याएको हो कसलाई बिक्री गर्न ल्याएको हो, यात अरूको लागु औषध ल्याइदिएबापत मैले के कति रूपैयाँ प्राप्त गरे सो कसले दियो आदि कुरा भन्‍ने कुरा अभियोजन पक्षले अनुसन्धान गरी स-प्रमाण पुष्टि गर्न सक्नुपर्नेमा म विरूद्ध दिइएको जाहेरी सहरको प्रहरी प्रतिवेदनलाई अन्य स्वतन्त्र प्रमाणले पुष्टि गर्न नसकी प्रमाणमा ग्रहण नै गर्न नमिल्‍ने उक्त प्रहरी प्रतिवेदनलाई ग्रहण गरी, अ.बं. २०२ बमोजिम झ.झि. को आदेश गरी प्रत्यर्थी झिकाई, अग्राह्य गैरन्यायिक साबिती बयानलाई फैसलाको आधार मानी प्रमाण स्वरूप ग्रहण गरी अभियोजन पक्षले पुष्टि नै गर्न नसकेको लागु औषधको बरामदी तथा बिक्री वितरणको कार्य मैले गरेको भनी मलाई कसुरदार ठहर गरी अधिकतम सजायसमेत गर्ने गरी उच्च अदालत पाटनबाट भए गरिएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी बदर गरी आरोपित कसुरबाट सफाई दिनेगरी हक इन्साफ गरिपाउँ भनी पुनरावेदक प्रतिवादी शिखर गुरूङले यस अदालतमा दिएको पुनरावेदनपत्र ।

यसमा प्रतिवादी शिखर गुरूङ दृष्टिविहीन भएको र निजबाट लागु औषध बरामद भएको नदेखिनुको साथै बरामदी मुचुल्का मिति २०७२।४।७ मा भएकोमा यी प्रतिवादी मिति २०७२।४।१३ मा मात्र पक्राउ परेको देखिएको अवस्थामा यी प्रतिवादी शिखर गुरूङसमेतलाई कसुरदार ठहर्‍याई सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर गर्नेगरी उच्च अदालत पाटनबाट मिति २०७४।३।५ मा भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) को प्रयोजनार्थ प्रत्यर्थी वादी नेपाल सरकारलाई पेसीको सूचना दिई झिकाई नियमानुसार पेस गर्नुहोला भनी यस अदालतबाट मिति २०७६।१०।२६ मा भएको आदेश ।

यसमा प्रतिवादीहरू विशाल भनिने बलबहादुर गुरूङको हकमा वैतनिक कानून व्यवसायीलाई पेसीको सूचना दिएको नदेखिँदा पेसीको दिनु साथै मञ्जु भनिने सम्झना तामाङको तर्फबाट प्रतिनिधित्व गर्न कानून व्यवसायी सूचना वैतनिक कानून व्यवसायीलाई उपस्थित भएको नदेखिँदा निजको तर्फबाट पनि प्रतिनिधित्व गर्नका लागि वैतनिक कानून व्यवसायीलाई जानकारी गराई पेसीको सूचनासमेत दिई नियमानुसार पेस गर्नु भनी यस अदालतबाट मिति २०७८।४।२८ मा भएको आदेश ।

यस अदालतको ठहर

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकार तथा प्रतिवादी विशाल भनिने बलबहादुर गुरूङ र प्रतिवादी शंकर गुरूङसमेतको पुनरावेदनसहितको मिसिल अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहायक न्यायाधिवक्ता रमादेवी पराजुली तथा प्रतिवादी विशाल भनिने बलबहादुर गुरूङका तर्फबाट उपस्थित वैतानिक कानून व्यवसायी अनिता गुरूङले गर्नुभएको बहस जिकिरसमेत सुनियो ।

अब यसमा पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन ? वादी नेपाल सरकार तथा प्रतिवादीद्वय विशाल भनिने बलबहादुर गुरूङ र शंकर गुरूङको पुनरावेदन जिकिर पुग्न सक्छ, 

सक्दैन ? भन्ने प्रश्नमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णतर्फ विचार गर्दा, प्रतिवादीहरू विशाल भन्‍ने बलबहादुर गुरूङ तथा मञ्जु भन्‍न सम्झना गुरूङ सुन्धारास्थित होटल रोयल गोर्खा गेष्‍ट हाउस अगाडि सडक किनारामा उभिइरहेको र विशाल गुरूङले बोकेको झोलाबाट मिति २०७२।०४।०७ का दिन ७ किलो ३० ग्राम लागु औषध (अफिमको चोप जस्तो देखिने कालो रंगको लेसिलो ओसिलो पदर्थ) फेला परेकोले बरामद चीजवस्तुसहित कारबाही किनारा गर्न परेको प्रहरी प्रतिवेदनका आधारमा प्रस्तुत मुद्दा उठान भई अनुसन्धान तहकिकात भएको देखिन्छ । सो बरामद पदार्थ लागु पदार्थ (अफिम) भएको भन्‍ने परीक्षण प्रतिवेदन भएकाले कसुरदारको अनुसन्धान भई प्रतिवादीहरू विशाल भन्‍ने बलबहादुर गुरूङ, शिखर गुरूङ र मञ्जु भन्‍ने सम्झना तामाङउपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को (घ) र (च) को कसुरमा सोही ऐनको दफा १४(१)(छ)(३) बमोजिम सजायको मागदाबी गरी अभियोगपत्र दायर भएको देखिन्छ । बरामद भएको लागु औषधको परिमाण, प्रतिवादीहरूको बयान, घटनास्थलका प्रतिवेदकका बकपत्रसमेतको आधार कारणबाट प्रतिवादीहरूमध्ये विशाल भन्‍ने बलबहादुर गुरूङ र शिखर गुरूङलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को खण्ड (च) बमोजिमको कसुर ठहर गरी जनही सोह्र वर्ष कैद र ६ लाख रूपैयाँ जरिवाना हुने र प्रतिवादी मञ्जु भन्‍ने सम्झना तामाङले अभियोग दाबीबाट सफाई पाउने ठहर गरी सुरू काठमाडौं जिल्ला अदालदतबाट फैसला भएको देखिन्छ । सो फैसलाउपर नेपाल सरकार तथा कसुर ठहर भएका प्रतिवादीहरूको समेत पुनरावेदन पर्दा सुरू फैसलालाई सदर गरी उच्च अदालत पाटनबाट फैसला भएकोमा दुवै पक्षको पुनरावेदन परी यस इजलाससमक्ष पेस भएको देखिन्छ ।

३. अब अभियोग दाबीबमोजिम कसुर ठहर भएका प्रतिवादीहरू विशाल भन्‍ने बलबहादुर गुरूङ र शिखर गुरूङको अभियोग दाबीबाट सफाइ पाउँ भनी गरेको पुनरावेदन जिकिरतर्फ हेर्दा, लागु औषध बरामद वारदात मिति २०७२।०४।०७ मा सुन्धारास्थित रोयल गेष्‍ट हाउस अगाडि विशाल गुरूङले बोकेको झोलाभित्रबाट उक्त ७ किलो ३० ग्राम लागु पदार्थ (अफिम) बरामद भएको भन्‍ने बरामदी मुचुल्का 

देखिन्छ । प्रतिवादी विशाल गुरूङले सो लागु पदार्थ आफूबाट बरामद भएकोमा स्वीकार गरी अनुसन्धान अधिकारी र अदालतसमक्ष गरेको बयानमा समेत सो लागु औषध (अफिम) भएको झोला आफूबाट बरामद भएकोमा साबित रही बेहोरा खुलाएको पाइन्छ । सो तथ्यलाई प्रतिवादी ‍मञ्जु भन्‍ने सम्झना तामाङको बयान बेहोरासमेतले समर्थन गरिरहेको स्थिति 

देखिन्छ ।

४. निज प्रतिवादी बलबहादुर गुरूङको अनुसन्धान अधिकारीसमक्षको बयान बेहोरा हेर्दा शिखर गुरूङले घुम्न जाउँ भनी निजसँगै दैलेखबाट रात्री बसमा आएको, सुर्खेत बस पार्कमा काठमाडौं लाने पिठो हो, डिकीमा राख भनी मलाई अह्राएकोले डिकीमा राखेँ, काठमाडौं बसपार्क कलंकी चोकमा ओर्ली सामान झिकेँ, शिखर गुरूङले मञ्जु तामाङलाई फोनबाट बोलाई पिठो भनिएको सामान साथमा बोकी शिखर गुरूङसँगै मञ्जु तामाङको कोठामा राखी त्यहीँ बस्यौं । मिति २०७२।०४।०७ का दिन बिहान शिखर गुरूङले झोलामा सामान छ, लिएर कलंकी पुलसम्म जाउ, साथी लिन आउँछ, दिएर आउनु भने । त्यसपछि लोकबहादुर रानाले मलाई झोलाको सामान बोक्‍न लागई म, मञ्जु तामाङलाई एउटा गाडीमा चढाए, आफू चाँही अर्को गाडीमा चढी सुन्धारा आइपुगेपछि म, मञ्जु तामाङ र लोकबहादुर रानासमेत भई सुन्धारामा मैले साथमा कालो रङको झोला बोकी गइरहेको अवस्थामा मलाई प्रहरी आई नियन्त्रणमा लिएको हो । लोकबहादुर राना कहाँ भागे थाहा भएन । मलाई र मञ्जु तामाङलाई नियन्त्रणमा लिई झोला खोली हेर्दा बरामदी मुचुल्कामा उल्लिखित लागु औषध (अफिम) सहित पक्राउ परेको हो भनी बेहोरा उल्लेख गरेको पाइन्छ । निजले अदालतमा उपस्थित भई बयान गर्दासमेत अनुसन्धान अधिकारीसमक्ष गरेको बयान मिलान हुने गरी बेहोरा खुलाएको पाइन्छ । निज प्रतिवादीले उल्लेख गरेका शिखर गुरूङको अनुसन्धान अधिकारीसमक्षको बयान बेहोरामा पनि विशाल भन्‍ने बलबहादुर गुरूङ र शिखर गुरूङ दैलेखबाट बस चढी काठमाडौं आएको, काठमाडौंमा निज शिखर गुरूङ र विशाल गुरूङ कलंकी चोकतिर घुम्न जाँदा एक जना नचिनेको व्यक्तिले सामान पुर्‍याई देउ भनेकाले मैले उक्त सामान लिई भाउजु मञ्जु तामाङलाई दिई विशाल गुरूङसँगै गई ठाउँ चिनाई सामान पुर्‍याइ दिनुपर्‍यो भनी भाउजु मञ्जु तामाङलाई विशाल गुरूङसँगै पठाइदिएको हुँ भनी उल्लेख गरेको र अदालतमा सोही बयान बेहोरा समरूप हुने गरी बयान गरेको देखिन्छ ।

५. यसरी निज प्रतिवादीहरू शिखर गुरूङ र विशाल भन्‍ने बलबहादुर गुरूङ दैलेखबाट काठमाडौं आएको, काठमाडौं आउँदा प्रतिवादी विशाल भन्‍ने बलबहादुरको बयानबमोजिम नै सुर्खेतबाट लागु औषध (अफिम) ल्याएको र बेचबिखन गर्न तारतम्य मिलाउँदाको बखतमा पक्राउ परी लागु औषध बरामद भएको देखिन्छ । निज प्रतिवादी विशाल भन्‍ने बलबहादुर गुरूङले सो झोलामा पिठो छ भनी शेखर गुरूङले भनेकोमा लागु औषध रहेछ भनी तथ्यको मूल (Mistake of Fact) को जिकिर लिएको देखिन्छ । निज विशाल गुरूङले सो झोलाका सामान मिति २०७२।०४।०३ गतेदेखि नै सुर्खेतबाट ल्याई मञ्जु भन्ने सम्झना गुरूङकोमा राखी पुनः अस्वाभाविक तरवरबाट कसैलाई दिने प्रयत्‍न गरेको अवस्थामा बरामद भएको देखिन आउँछ । पिठो रहेको झोला हो भन्‍ने मात्र भएको भए निज प्रतिवादी विशाल भन्‍ने  बलबहादुर गुरूङले होसियारी सतर्कताका साथ पहुँच स्थानमा ४ दिनपछि पुर्‍याई दिनुपर्ने अवस्था आउने कुनै विश्‍वासप्रद तथ्य कारण देखिन्‍न ।

६. लागु औषध कारोबार बिक्री वितरण स्वयंमा संगठित तवरबाट होसियारीपूर्वक सकभर प्रमाणहरू स्थापित हुन नसक्ने तौरतरिका र सीप प्रयोग गरी सम्‍पन्‍न गर्ने कसुर हुने भएकाले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ बमोजिम कुनै व्यक्तिको साथबाट लागु औषध फेला परेमा त्यस्तो लागु औषध आफूसँग रहनाको तथ्ययुक्त कारण पुष्‍टि गर्ने प्रमणको भार निजै व्यक्तिमाथि निहित राखेको पाइन्छ । प्रस्तुत मुद्दामा पनि लागु औषध बरामद भएकोमा विवाद नभएको र प्रतिवादी विशाल भन्‍ने बलबहादुर गुरूङले पिठो भनेको लागु औषध रहेछ भनेजस्तो नभई लागु औषध अफिम बरामद भएको सो लागु औषधको कसुरजन्य कार्यमा प्रतिवादीहरू विशाल भन्‍ने बलबहादुर गुरूङ र शिखर गुरूङको सल्लाह सहमति (Meeting of Mind) भई कसुरजन्य कार्य गरेको अवस्था देखिन आउँछ । प्रतिवादी विशाल भन्‍ने बलबहादुर गुरूङले पिठो भनेको लागु औषध रहेछ भनी खुलाए जस्तै तथ्य भएको भए प्रतिवादीहरूसँगै सँगै दैलेखबाट काठमाडौं आउने, सुर्खेतमा अनायास झोला लिई निजैले बसको डिकीमा राख्ने, शिखर गुरूङले झोला झिक भनेपछि झिक्‍ने, प्रतिवादी शिखर गुरूङको कोठामा सो झोला लिई आफैँ जाने, ४ दिनसम्म झोला कोठामा राखी निजैसमेतले गाडी चढी सुन्धारा ल्याउने, सुन्धारामा सो झोला आफ्नो साथमा राख्‍ने, सुन्धारा आउँदा पनि लोकबहादुर राना भनेका व्यक्ति फरक गाडीमा चढ्ने तर एउटै ठाउँमा जाने, निज प्रतिवादीले फरक फरक ठाउँमा लगेको झोलामा पिठो मात्र छ भन्‍ने ठान्‍नेलगायतका तमाम अवस्थाहरूले निजको उक्त कथन समर्थन गर्न सक्ने देखिँदैन । अतः निजको सो कार्य अभियोग दाबीबमोजिम मनसायपूर्वकको Possession Crime स्थापित हुन आउँछ । Possession Crime लाई पनि २ वर्गमा वर्गीकरण गरिएको पाइन्छ । जस्तै Actual Possession र Constructive Possession । यदि कुनै व्यक्तिको सँगसाथ वा नियन्त्रणमा रहेको अवस्थामा कुनै चीजवस्तु बरामद भएमा Actual Possession हुने र यदि कुनै व्यक्तिको साथमा नै कुनै चीजवस्तु नभए पनि सो वस्तुबारे निजको थाहा जानकारीमा भई सो चिजवस्तु आफूले पनि राख्‍न वा नियन्त्रण लिन सक्ने (Ability to control the object) भएमा वा कसुरबाट बच्न सावधानी अपनाई अन्य कसैलाई राख्न दिने वा कुनै स्थानमा राख्नेसमेतका कार्यसमेत भएमा Possession भएको मानिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी विशाल भन्‍ने बलबहादुर गुरूङबाट लागु औषध (अफिम) को झोला बरामद भएकाले निजले वास्तविक कब्जा (Actual Possession) र सो चिजवस्तुबारे पूर्णतः ज्ञान जानकारी भई आफैँले तारतम्य मिलाइदिएको चिजवस्तु बरामद हुँदा उपस्थित नभए पनि प्रतिवादी शिखर गुरूङको सो चिजवस्तुमा Constructive Possession रहेको मानिन 

आउँछ । यसरी प्रस्तुत मुद्दामा प्रतिवादीहरूले दैलेखबाट बस चढी सुर्खेतमा सँगसाथ लागु औषध अफिम बोकी योजनबद्ध रूपमा ओसारपसार गरी बिक्री वितरण गर्न हरउपाय अवलम्बन गर्दै गरेको बखत बरामद भएकाले निजहरू उक्त कसुर कार्यमा शंकारहित तवरबाट संलग्न रहेको देखिन आयो ।

७. शेरबहादुर थापा विरूद्ध नेपाल सरकार भएको लागु औषध मुद्दामा (ने.का.प. २०६८, अङ्क १२, नि.नं. ८७२८) “लागु औषधसम्बन्धी अपराध निरपेक्ष दायित्वअन्तर्गत पर्ने अपराध भएको हुनाले जसबाट लागु औषध बरामद भएको छ, निजसँग सो कारोबार गर्न आफू नहिँडेको वा निजको समूहमा सामेल नभएको भन्‍ने तथ्य पुष्‍टि हुनुपर्ने” भनी व्याख्या भएको पाइन्छ । त्यस्तै प्रकारले शकुल शाही ठकुरी विरूद्ध नेपाल सरकार भएको लागु औषध खैरो हिरोइनको मुद्दामा (ने.का.प. २०६८, अङ्क १२, नि.नं. ८७४३) “प्रतिवादीहरूबाट लागु औषध बरामद भएको तथ्य स्थापित भएकोमा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ मा कुनै व्यक्तिका साथमा लागु औषध फेला परेमा...त्यस्तो पदार्थ निजले यो ऐन र यस ऐनअन्तर्गत बनेको नियम वा जारी गरिएको आदेशबमोजिम प्राप्‍त गरेको वा राखेको हो भन्‍ने कुराको प्रमाण निजले पेस गर्नुपर्ने छ । त्यस्तो प्रमाण पेस गर्न नसकेकमा र अन्यथा प्रमाणित भएमा बाहेक निजले यस ऐनअन्तर्गत सजाय हुने अपराध गरेको मानिने छ” भन्‍ने व्याख्या गरिएकोबाट आफू निर्दोष रहेको प्रमाण पुर्‍याउने भार प्रतिवादीहरूमा नै निहित रहेको देखियो भनी प्रमाणको भार सम्बन्धमा व्याख्या भएको 

पाइन्छ । एवम् प्रकारले “कुनै चीजवस्तु सँगसाथमा फेला पर्नु वा सो चिजवस्तु कसैसँग रहेको कुरा स्थापित हुन तथ्यगत प्रश्‍न हो, सबै तथ्यगत विषय कसुर वा अपराध हुँदैनन् । तर कुनै प्रतिबन्धित वस्तु कसैको साथबाट फेला पर्नु नै आपराधिक कार्य (Corpus Delicti) भएको प्रमाणित भएको मानिने प्रकृतिका अपराध जसलाई Possessory Crime भनिन्छ, त्यस्ता अपराधमा आपराधिक कार्य स्थापित भएपछि निर्देषिता प्रमाणित गर्ने भार प्रतिवादीको हुन्छ । लागु औषध अपराध Possessory Crime भएकाले सोमा कसुर प्रमाणित गर्ने भार प्रतिवादीको हुन्छ भन्‍ने भएकाले प्रतिवादीको साथबाट लागु औषध बरामद भएको पुष्‍टि भएपछि आफ्नो निर्देषिता प्रमाणित गर्ने भार यस मुद्दामा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ ले प्रतिवादीमा रहेको कुरामा विवाद रहेन । यस्तो अवस्थामा प्रतिवादीले यस ऐनअनुरूप सजाय हुने अपराध गरेको हुन् भनी लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ अनुरूप मान्‍नुपर्ने देखियो” भनी नेपाल सरकार विरूद्ध अर्जुन भोटे भन्‍ने जीतबहादुर खत्री भएको लागु औषध मुद्दामा (ने.का.प. २०६९, अङ्क ११, निर्णय नं. ८९२३) सिद्धान्त प्रतिपादत भएको देखिन्छ ।

८. अर्का प्रतिवादी मञ्जु भन्‍ने सम्झना तामाङका हकमा हेर्दा निज प्रतिवादी लागु औषध अफिम बरामद भएको स्थलमा रहे भएको देखिए पनि निज प्रतिवादीलाई अन्य प्रतिवादीहरूले लागु औषध अफिमको काम कारोबार गरिरहेको छन् भन्‍ने देखिने तथ्यगत प्रमाण रहे भएको देखिन्‍न । निजलाई लागु औषध अफिम रहेको झोलामा पिठो छ भन्‍ने अन्य प्रतिवादीको भनाई भएको र सो झोला प्रतिवादीहरूले दैलेखदेखि नै योजना बनाई लागु औषध ल्याई बरामद हुँदाका अवस्थासम्म निज प्रतिवादी मञ्जु भन्‍ने सम्झना तामाङको Meeting of Mind देखिन आउँदैन । निज सो वारदातमा जानी बुझी थाहा पाई संलग्न रहेको भनी अन्य प्रतिवादीहरूले समेत आरोप लगाएको पनि देखिन्‍न । निजले वारदातमा आफ्नो संलग्नता नरहेको भनी अनुसन्धान अधिकारी एवम् अदालतमा समेत बयान बेहोरा खुलाएको 

पाइन्छ । यस्तो स्थितिमा वारदातमा अन्य प्रतिवादीसँग साथमा गएको भन्‍नेसम्मको शंकाको आधारमा लागु औषध जस्तो गम्भीर आरोपमा कसुर ठहर गर्नु न्यायसङ्गत हुन सक्ने देखिँदैन । तसर्थ, निज प्रतिवादीका हकमा आरोपित कसुरबाट सफाई प्रदान गर्ने गरी भएको फैसला अन्यथा देखिन आएन ।

९. अतः विवेचित आधार र कारणहरूबाट प्रतिवादी विशाल भनिने बलबहादुर गुरूङ विरूद्ध नेपाल सरकार र प्रतिवादी शंकर गुरूङ विरूद्ध नेपाल सरकारसमेतको उल्लिखित मुद्दाहरूमा निज पुनरावेदकहरूको हकमा अभियोग मागदाबीबमोजिमको कसुर ठहर्‍याई सुरू काठमाडौं जिल्ला अदालतले मिति २०७२।०७।१७ मा गरेको फैसला सदर हुने गरी उच्च अदालत पाटनबाट भएको मिति २०७४।३।५ को फैसला निज पुनरावेदकहरूको हकमा कसुर ठहरेको हदसम्म सदर हुने ठहर्छ । निज पुनरावेदक प्रतिवादीहरूलाई लागु औषधको प्रकृति एवम् परिमाणसमेतको रोहबाट न्यायको मक्सद पूर्ति हुने अवस्थालाई विचार गरी सजायको हकमा, सो फैसला केही उल्टी भई जनही १५(पन्ध्र) वर्ष कैद र ५(पाँच) लाख जरिवाना हुने ठहर्छ । सो हदभन्दा बढीमा पुनरावेदक प्रतिवादीहरू एवम् नेपाल सरकार विरूद्ध मञ्जु भनिने सम्झना तामाङको मुद्दामा वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरू तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम निज पुनरावेदक प्रतिवादीहरू विशाल भनिने बलबहादुर गुरूङ र शंकर गुरूङलाई सुरू जिल्ला अदालतले १६(सोह्र) वर्ष कैदको सजाय हुने गरी राखेको लगत संशोधन गरी यो फैसलाबमोजिमको १५(पन्ध्र) वर्ष कैद सजाय हुने लगत कायम गरी थुनामा रहेका प्रतिवादीलाई संशोधित कैदी पुर्जी पठाउनु भनी सुरू काठमाडौं जिल्ला अदालत अदालतमा लेखी पठाउनुहोला .............................................१

माथि ठहर खण्डमा लेखिएबमोजिम निज प्रतिवादीहरूबाट जनही रू. ६,००,०००/- (छ लाख) जरिवानासमेत हुने भनी सुरू जिल्ला अदालतले राखेको लगत संशोधन गरी यो फैसलाबमोजिम निजहरूबाट जनही रू.५,००,०००/- (पाँच लाख) जरिवाना हुने लगत कसी असुल गर्नु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनुहोला.......................२

प्रस्तुत फैसलाको प्रतिलिपिसहित फैसलाको जानकारी थुनामा रहेका प्रतिवादीहरू तथा महान्यायाधिवक्ता कार्यालयलाई दिनुहोला........ ३

सरोकारवालाले नक्कल माग गरे नियमानुसार लाग्ने दस्तुर लिई नक्कल दिनुहोला ................४

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी झिकाइएका मिसिलहरू तत् तत् अदालतमा र रेकर्ड मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनुहोला.......................................................५

 

उक्त रायमा सहमत छु ।

न्या.सपना प्रधान मल्ल

 

शाखा अधिकृतः दिप माला चापागाईँ

इति संवत् २०८० श्रावण २३ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु