शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११२६२ - अंश चलन

भाग: ६६ साल: २०८१ महिना: असार अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना

माननीय न्यायाधीश श्री सुष्मालता माथेमा

फैसला मिति : २०७९।५।१९

 

मुद्दा : अंश चलन

 

०६९-CI-०७२२

पुनरावेदक / प्रतिवादी : हिरालालको नाति सानु कृष्ण लालको छोरा काठमाडौं जिल्ला, सुन्दरीजल गा.वि.स. वडा नं. ९ बस्ने नारायण कृष्ण श्रेष्ठसमेत

विरूद्ध

प्रत्यर्थी / वादी : हिरालालको नाति विष्णुलालको छोरा काठमाडौं जिल्ला, सुन्दरीजल गा.वि.स. वडा नं. ९ घर भई हाल काठमाडौं जिल्ला, जोरपाटी गा.वि.स. वडा नं.३ बस्ने प्रकाशबहादुर श्रेष्ठसमेत

 

०६९-CI-०७२३

पुनरावेदक / प्रतिवादी : हिरालालको नाति धनबहादुरको छोरा काठमाडौं जिल्ला, सुन्दरीजल गा.वि.स. वडा नं. ९ बस्ने इन्द्रबहादुर श्रेष्ठसमेत

विरूद्ध

प्रत्यर्थी / वादी : हिरालालको नाति विष्णुलालको छोरा काठमाडौं जिल्ला, सुन्दरीजल गा.वि.स. वडा नं. ९ घर भई हाल काठमाडौं जिल्ला, जोरपाटी गा.वि.स. वडा नं. ३ बस्ने प्रकाशबहादुर श्रेष्ठ

 

कसैको सम्पत्ति बकसपत्रबाट प्राप्त गर्दा बकसपत्र गरिदिने व्यक्तिले निजले मलाई पालनपोषण वा संरक्षण गरी रिझाएबापत इनाम, पुरस्कार वा बक्सिस स्वरूप प्रदान गरेको हुँ भनी उल्लेख गरी कसैलाई निःशुल्क प्रदान गर्ने कार्यले बकसपत्रको रूप लिन्छ । कुनै व्यक्तिले आफ्नो हक पुग्ने वा स्वामित्वको सम्पत्ति हकवाला व्यक्तिलाई बकस गरिदिँदा कानूनबमोजिम हक लाग्ने व्यक्तिको मन्जुरी लिनुपर्नेमा त्यस्तो व्यक्तिको मन्जुरी नलिई बकसपत्र गरिदिए त्यो बकसपत्रले कानूनी मान्यता प्राप्त गर्न नसक्ने ।

(प्रकरण नं. ७)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री रविन्द्र नाथ अर्याल र श्री तोरनमान गोंछे

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री भूमिनन्दन चुडाल

अवलम्बित नजिर :

ने.का.प. २०६९, अङ्क ३, नि.नं. ८७८८

सम्बद्ध कानून : 

प्रमाण ऐन, २०३१ 

 

सुरू तहमा फैसला गर्ने :

मा. जि. न्यायाधीश श्री वैद्यनाथ गुप्ता

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने :   

मा. न्या. श्री एकराज आचार्य

मा. न्या. श्री हरिकुमार पोखरेल

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या. प्रकाशकुमार ढुङ्गाना : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-

तथ्य खण्ड

हिरालाल श्रेष्ठका ५ भाइ छोराहरूमा जेठा म फिरादीका पिता विष्णुलाल श्रेष्ठ, माइला स्व. लक्षुमन भन्ने घनबहादुर श्रेष्ठ भई निजको श्रीमतीसमेतको मृत्यु भइसकेकाले निजहरूको हक खाने छोराहरू विपक्षीमध्येका शंकरबहादुर श्रेष्ठ र इन्द्रबहादुर श्रेष्ठ गरी २ जना छन् । साइँला स्व. सानुकृष्णलाल हुनु भएकोमा निज र निजको श्रीमतीसमेतको मृत्यु भइसकेकाले निजहरूको हक खाने छोरामा विपक्षीमध्येका श्यामकृष्ण श्रेष्ठ, नारायणकृष्ण श्रेष्ठ र हरिकृष्ण श्रेष्ठ गरी ३ जना छन्‌ भने काइँला छोरा विपक्षीमध्येका मोतिलाल श्रेष्ठ र कान्छा रामशरण श्रेष्ठको जायजन्म भएको अवस्था छ । निजहरूमा हालसम्म कुनै छोराहरूका बिचमा अंशबन्डा भइसकेको छैन । म फिरादीका पिता विष्णुलाल श्रेष्ठको सगोलमा रहँदाकै अवस्थामा मृत्यु भएपश्चात् म फिरादी सगोलमै रहन बस्न नसकी पैतृक सम्पत्ति नलिई आफू र आफ्नो परिवार बेगल भान्सा गरी बसेको र हाल आएर काका तथा काकाहरूका छोराहरूलाई आ-आफ्नो भागमा पर्ने श्री सम्पत्तिको बन्डा गरौं भन्दा नमानेकाले फिराद परेको अघिल्लो दिनलाई मानो छट्टिएको मिति कायम गरी बन्डा हुनुपर्ने सम्पूर्ण चल अचल सम्पत्तिको विपक्षीहरूबाटै तायदाती माग गरी सोमध्ये ५ भागको १ भाग अंश पिता विष्णुलालका भागमा पर्ने हुँदा सो अंश निजको हक खाने छोरा म फिरादी वादी प्रकाशबहादुर श्रेष्ठ भएकोले अंश छुट्याई चलनसमेत चलाइपाउँ भन्नेसमेत बेहोराको फिरादपत्र ।

फिरादमा लेखिएको पुस्तेवारी र नातामा कुनै विवाद छैन र अंशबन्डापत्र पारितसम्म नभएको कुरामा पनि विवाद छैन । बन्डा गर्नुपर्नेमा पिता हिरालाल श्रेष्ठको पालाको श्री सम्पत्ति भन्ने कुरामा पनि विवाद छैन । बन्डा गर्नुपर्नेमा पिता हिरालाल श्रेष्ठको पालाको श्री सम्पत्ति भन्ने कुरामा नगदमा दाजु जेठो विष्णुलाल र साहिँलो सानुकृष्णलाल २०२३ सालमा मानो छुट्टी आ-आफ्नो गरी लिएको र माहिलो धनबहादुर र हामी मोतिलाल र रामशरण २०३३ सालमा चुल्हो चम्का छुट्टाछुट्टै गरी बसी खती उपती आ-आफैँले बेहोर्दै आएका छौं । जग्गा जमिन घर मात्र बन्डापत्र पारित हुन बाँकी छ । २०२३ सालअगाडिको दर्ता स्रेस्ताबाट देखिने सुन्दरीजल गा.वि.स.अन्तर्गतका जग्गा जमिन घरमा पाँचै भाग लाग्ने भए तापनि २०२३ सालपश्चात् धनबहादुर, मोतिलाल, रामशरण एकासगोलमा रहेको र त्यतिबेला ३ भाइले आर्जेको ३ भाइले भोग चलन गरी आएको र ३ भाग मात्र लाग्ने, २०२३ साल पहिला र पछि वादी पिताले अर्जेको निजले नै खाने र अन्य प्रतिवादीमध्ये कसैले कहीँकतै आर्जेको पछि आदेशद्वारा तायदाती माग हुँदा पेस हुने सम्पत्तिको विवरणमध्ये सुन्दरीजल गा.वि.स. अन्तर्गत वडा नं. को धनबहादुरको नाममा दर्ता भए तापनि कि.नं. २४ र २५बाहेक सबै अंशियारलाई बराबर भाग लाग्ने र हिरालालको नामबाट हामी वादी प्रतिवादीसमेतको संयुक्त नाममा नामसारी भएको सबै सम्पत्ति बराबर बन्डा लाग्ने हुँदा निज फिरादीले दाबी गरेको सबै कथन काल्पनिक 

हुन् । उक्साहटबाट केवल दुःख दिने नियतले दायर गरेको फिराद खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरू मोतिलाल श्रेष्ठ र रामशरण श्रेष्ठको संयुक्त प्रतिउत्तरपत्र । 

हिरालाल श्रेष्ठका ५ भाइ छोरामा हामी प्रतिउत्तरवाला हिरालालको माइला छोरा धनबहादुर श्रेष्ठका छोराहरूमा शंकरबहादुर श्रेष्ठ र इन्द्रबहादुर श्रेष्ठ भएको र हाम्रो बाबुका दाजु भाइहरूबिच मिति २०१९/०८/०३ मा बन्डापत्र लेखी मानोसमेत छुट्टी भिन्न भई बेगल बसी आ-आफ्नो व्यवहार गर्दै आएको र दाजु भाइका छोराहरूसमेत विभिन्न मौजामा बसी आ-आफ्नो घर व्यवहार गरी छुट्टाछुट्टै रूपमा अचल सम्पत्तिसमेत खरिद बिक्री गरी बसी आएको अवस्था छ । वादीले आफ्ना पिताको परलोकपश्चात् पिताको नाममा भएको सम्पत्ति आफ्नो नाउँमा नामसारी गरिपाउँ भनी मिति २०३७/११/०९ मा निवेदन दिई आफू एक मात्र हकदार भनी झुट्टा बेहोरा उल्लेख गरी सगोलको अचल सम्पत्ति एकलौटी खाने नियतबाट निवेदन दिई नामसारी गर्ने प्रयास गर्दाको अवस्थामा अरू दाजु भाइहरूबाट जानकारी पाएकोले भएको बेहोरा उल्लेख गरी दाबी गर्दा विपक्षीका बाबु बिष्णुलाल श्रेष्ठको नाममा भएको जग्गा सम्पूर्ण दाजुभाइको बन्डा लाग्ने भएकाले संयुक्त नाममा नामसारी भएबाट पनि हाम्रा बाबुका दाजुभाइबिच सो नामसारी हुनुभन्दा अगाडि नै छुट्टी भिन्न भएको कुरा प्रमाणित गर्दछ । हामीहरूका पिताका दाजुभाइहरू अलगअलग बसी आ-आफ्नो व्यवहार गरी आ-आफूले आर्जेको सम्पत्ति अचल सम्पत्ति जग्गा जमिनसमेत छुट्टाछुट्टै नाममा खरिद बिक्री व्यवहार गर्दाको अवस्थामा एक अर्काको कुनै उजुर बाजुरसमेत नपरेकोबाट हामीहरूको बाबुका दाजुभाइको बिच पहिले नै बन्डा भइसकेको र अंशबन्डाको ३० नं.अनुसार आ-आफ्नो व्यवहार भएका हुँदा बन्डा भइसकेको प्रस्ट हुन आएकोले हामी प्रतिवादीहरूले निज वादीलाई अंशबन्डा गरिदिनुपर्ने होइन वादीको फिराद खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी इन्द्रबहादुर श्रेष्ठ, शंकरबहादुर श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ र नारायणकृष्ण श्रेष्ठको संयुक्त प्रतिउत्तरपत्र ।

मेरो आफ्नो पसिनाले कमाएको पैसा र केही ऋण धन गरी काठमाडौं जिल्ला, जोरपाटीमा घरजग्गा बकसपत्रबाट खरिद गरी लिई बसोबास गरी आएको 

छु । सो जग्गामा कसैको अंश हक लाग्ने होइन भन्नेसमेत बेहोराको अ.बं.१३९ नं.बमोजिम बुझिएकी श्रीमती बिमला श्रेष्ठले गरेको बयान । 

आदेशानुसार मालपोत कार्यालय डिल्लीबजारबाट प्राप्त भएको मि.नं. २४४/८२८ को मिसिल र २०५७ सालको दे.नं.११९९ को मिसिलसमेत प्रमाणमा रहेको र वादी प्रतिवादीबाट पेस भएको तायदाती फाँटवारी मिसिल सामेल रहेको ।

वादी प्रतिवादी अंशियार रहेको देखिएको, नातामा मुख मिलेकै देखिएको, वादी प्रतिवादीबिच अंशबन्डा भएको नदेखिँदासमेत वादी दाबीबमोजिम मिसिल संलग्न तायदातीमध्ये मिलेभिडेसम्मको जग्गालाई पाँच भाग लगाई सोमध्ये एक भाग वादीले पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६६/१२/२४ को 

फैसला । 

मिति २०१९/८/३ मा वादी प्रकशबहादुरको बाबु तथा हामी पुनरावेदकहरूका बाबुसमेत छुट्टिई बेगल बसी आएको प्रस्ट हुँदाहुँदै हामी पुनरावेदकहरूका बाबु धनबहादुर श्रेष्ठको नाममा रहेको अचल सम्पत्ति र म पुनरावेदक शंकरबहादुर श्रेष्ठले पटकपटक खरिद गरी र बकसपत्रद्वारा प्राप्त जग्गा जमिनसमेत सगोल गोश्वारासरह गरी बन्डा लाग्ने गरी भएको उक्त काठमाडौं जिल्ला अदालतको फैसला बदर गरी हाम्रो प्रतिउत्तर जिकिरबमोजिम गरिपाउँ भन्ने बेहोरा भएको प्रतिवादीहरू शंकरबहादुर श्रेष्ठ र इन्द्रबहादुर श्रेष्ठसमेतले तत्कालीन पुनरावेदन अदालत पाटनमा दर्ता गराएको संयुक्त पुनरावेदनपत्र । 

पिता हिरालाल श्रेष्ठ जीवित छँदै दाजु जेठो विष्णुलाल श्रेष्ठ र साहिँलो सानुकृष्णलाल २०२३ सालमा मानो छुट्टिई बेग्लै बस्नुभएको र सोही समयमा नै आ-आफ्नो गरी लिएको र माहिलो धनबहादुर र हामी मोतिलाल र रामशरण २०३३ सालमा चुल्हो चम्का छुट्टाछुट्टै गरी बसी खती उपति आ-आफैँले बेहोर्दै आएका छौं । यसरी दाजु जेठो विष्णुलाल श्रेष्ठ र साहिँलो सानुकृष्णलाल २०२३ सालमा मानो छुट्टी बेग्लै बस्नु भएपश्चात् घनबहादुर, मोतीलाल र रामशरण एकासगोलमा रहेको र त्यत्ति बेला हामी तीनै भाइले सगोलमा रहँदाकै अवस्थामा आर्जेको काठमाडौं जिल्ला सुन्दरीजल गा.वि.स. वडा नं.८ (ख) कि.नं. २४ को २-७-०-० र कि.नं. २५ को २-०-० क्षेत्रफल जग्गा धनबहादुर श्रेष्ठकै नाउँमा दर्ता स्रेस्ता कायम भएको भए तापनि प्रतिवादीमध्ये हामी मोतीलाल र रामशरण तथा धनबहादुरको मात्र हक लाग्ने भएकोमा सोसमेत बन्डा लाग्ने गरी भएको काठमाडौं जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने बेहोरा भएको प्रतिवादीहरू मोतिलाल श्रेठ र रामशरण श्रेष्ठसमेतले तत्कालीन पुनरावेदन अदालत पाटनमा दर्ता गराएको पुनरावेदनपत्र । 

मैले सुरू काठमाडौं जिल्ला अदालतमा बयान गर्दा पसिनाको कमाइको हक जोरपाटीमा घरजग्गा बकस खरिद गरिएको भन्ने प्रस्ट भनेको 

छु । पसिनाको व्याख्या गर्दा पसिना भनेको निजी रूपमा गरिएको काम, जस्तै तत्कालीन समयमा मैले गलैंचा ऊन कारखाना मेरो माइतीको पैसा ल्याएर सञ्चालन गरेकी थिएँ । जग्गा बकसपत्र पाएपछि उक्त ऊनको कमाइबाट मैले तत्कालीन समयमा घर बनाई बसी आएको हो । फैसलाले भनेजस्तो सुरूमै घरजग्गा हालैको बकसपत्रले खरिद गरेको होइन । मेरो बयानलाई उल्टो अर्थ लगाई फैसला गर्दा बन्डा लाग्ने भनिएको 

छ । सो बयानमा विवाहपश्चात् घरबाट निकाला गरिएको कुरा तथा मेरो नाउँको घरजग्गा कृषि विकास बैंकमा राखी ऋण लिएको छु भनी बयान गरेको 

थिएँ । सो बारेमा कहीँकतै सोध्ने बुझ्ने कार्यसमेत नभई बन्डा ठहर्ने गरी फैसला भएको छ । उल्लिखित कि.नं. ५८२ र ५८३ का घरजग्गाहरूको मुद्दा परी हाल विचाराधीन अवस्थामा छ । यसरी बुझ्नुपर्ने प्रमाण नबुझी गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने बेहोरा भएको प्रतिवादी बिमला श्रेष्ठको तत्कालीन पुनरावेदन अदालत पाटनमा दर्ता भएको पुनरावेदनपत्र ।

यसमा मिति २०१९/०८/०३ को घरसारको बन्डापत्रको लिखत र मालपोत कार्यालय डोर मुकाम सुन्दरीजलबाट धनबहादुर श्रेष्ठको नाममा एकलौटी कायम भएका जग्गाहरू सम्बन्धमा मिति २०३८/०८/२३ मा भएको निर्णयसमेतको परिप्रेक्ष्यमा सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६६/१२/२४ मा भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्ने देखिँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आएपछि नियमानुसार गरी पेस गर्नु भन्ने मिति २०६८/०५/१५ को तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको आदेश । 

पुनरावेदिका प्रतिवादी बिमला श्रेष्ठका नाम दर्ता रहेको कि.नं. ५८२, ५८३ र ८३ का जग्गा बन्डा गरेको हदसम्म काठमाडौं जिल्ला अदालतको फैसला मिलेको नदेखिँदा सो हदसम्म उल्टी भई ती जग्गा पुनरावेदिका बिमला श्रेष्ठको निजी हुने र अन्य पुनरावेदक प्रतिवादीहरू शंकरबहादुर श्रेष्ठ, इन्द्रबहादुर श्रेष्ठ, मोलीलाल श्रेष्ठ, रामशरण श्रेष्ठ र पुनरावेदक वादी प्रकाशबहादुर श्रेष्ठसमेतको पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्छ भन्नेसमेत बेहोराको तत्कालीन पुनरावेदन अदालत पाटनको मिति २०६८/१२/२३ गतेको फैसला । 

काठमाडौं जिल्ला अदालतबाट फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी तायदातीमा उल्लिखित सम्पूर्ण सम्पत्ति बन्डा हुने गरी भएको फैसलामा चित्त बुझाई पुनरावेदनसमेत नगरी बसेकोमा हामी प्रतिवादीहरूलाई कुनै जानकारी नै नदिई बिमला श्रेष्ठ नाउँका कि.नं. ५८२, ५८३ र ८३ का जग्गा बन्डा नलाग्ने, एकलौटी भई आफूखुस गर्न पाउने भनी काठमाडौं जिल्ला अदालतको फैसला सो हदसम्म उल्टी गरेको पुनरावेदन अदालत पाटनको मिति २०६८/१२/२३ को फैसला त्रुटिपूर्ण भएकोले सो फैसला बदर गरी काठमाडौं जिल्ला अदालतको मिति २०६६/१२/२४ को फैसला सदर गरिपाउँ भन्नेसमेत बेहोरा भएको प्रतिवादी नारायणकृष्ण श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ र हरिकृष्ण श्रेष्ठसमेतले यस अदालतमा दायर गरेको पुनरावेदनपत्र । 

फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी वादी प्रतिवादीहरूबाट पेस भएको तायदातीमा उल्लेख भएको सम्पूर्ण सम्पत्ति बन्डा लाग्ने गरी काठमाडौं जिल्ला अदालतबाट फैसला भएको अवस्थामा वादी प्रकाशबहादुर श्रेष्ठको श्रीमती प्रतिवादी बिमला श्रेष्ठको नाउँमा रहेको काठमाडौं जिल्ला, जोरपाटी गा.वि.स. वडा नं. ३(ख) को कि.नं. ५८३ को ०-९-०-०, कि.नं. ५८२ को ०-८-०-० र वडा नं. ३(ग) कि.नं. ८३ को ०-५-०-० क्षेत्रफल भएको जग्गा र सो जग्गामा बनेको घर सम्पत्ति बन्डा नलाग्ने म पुनरावेदक शंकरबहादुर श्रेष्ठको नाममा रहेको बकसपत्रबाट प्राप्त सम्पत्ति बन्डा लाग्ने गरी सुरू काठमाडौं जिल्ला अदालतको फैसला सो हदसम्म उल्टी गरेको पुनरावेदन अदालत पाटनको मिति २०६८/१२/२३ को फैसला त्रुटिपूर्ण भएकोले सो फैसला बदर गरी सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६६/१२/२४ को फैसला सदर गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी हरिकृष्ण श्रेष्ठ र शंकरबहादुर श्रेष्ठसमेतले यस अदालतमा दायर गरेको पुनरावेदनपत्र ।  

यसमा सुरू फैसला हुँदा बिमला श्रेष्ठको नामको जग्गाहरू बन्डा गर्ने भएकोमा पुनरावेदन अदालतबाट कि.नं. ५८२, ५८३ र ८३ का जग्गाहरू बन्डा नलाग्ने गरी केही उल्टी फैसला भएको देखिन्छ । तत्काल पुनरावेदन नगर्ने यी पुनरावेदकहरू श्यामकृष्ण श्रेष्ठ, नारायणकृष्ण श्रेष्ठ र हरिकृष्ण श्रेष्ठसमेतलाई प्रतिकूल असर पर्ने गरी फैसला गर्दा पुनरावेदन अदालतबाट निजहरूलाई झिकाएको नदेखिँदा अ.बं. २०२ नं. को त्रुटि भई पुनरावेदन अदालत पाटनको मिति २०६८/१२/२३ को फैसला फरक गर्न सक्ने हुँदा छलफलको निमित्त अ.बं. २०२ नं.बमोजिम प्रत्यथी झिकाई आए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०७१/०२/१६ मा भएको आदेश । 

यसमा दुवै पक्षहरू आफैँले मिलापत्रको लागि पहल गरी मेलमिलाप हुन सक्ने सम्भावना व्यक्त गरेकोले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७८(६) बमोजिम मेलमिलापको निमित्त एक महिनाको समयावधि तोकी मेलमिलाप केन्द्रमा पठाई उक्त कार्य सम्पन्न भई आएपछि लगाउको मुद्दासमेत साथै राखी नियमानुसार पेस गर्नुहोला भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०७६/११/११  मा भएको आदेश ।

ठहर खण्ड

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनपत्रसहितको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीहरू नारायणकृष्ण श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, इन्द्रबहादुर श्रेष्ठ र शंकरबहादुर श्रेष्ठका तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरू श्री रविन्द्रनाथ अर्याल र श्री तोरनमान गोंछेले बकसपत्रबाट प्राप्त गरेको सम्पत्तिहरूमा शंकरबहादुर श्रेष्ठका नाउँको सम्पत्ति बन्डा लाग्ने, बिमला श्रेष्ठका नाउँमा रहेको सम्पत्ति बन्डा नलाग्ने भनी बकसपत्रद्वारा प्राप्त जग्गा जमिनलाई समेत असमान तवरबाट बन्डा हुने गरी तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर भागी छ । प्रतिवादी बिमला श्रेष्ठको नाउँमा रहेको सम्पत्ति बन्डा हुँदा सबै पक्षलाई अन्याय नभई न्याय नै हुने हुँदा तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला उल्टी गरी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर गरिपाउँ भनी बहस गर्नुभयो ।

प्रत्यर्थी/वादी प्रकाशबहादुर श्रेष्ठ र विमला श्रेष्ठका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री भूमिनन्दन चुडालले यी वादी प्रतिवादीहरूबिच कानूनी रूपमा अंशबन्डा नभएको र व्यवहार प्रमाणबाट पनि पैतृक सम्पत्ति बन्डा भइसकेको नहुँदा पैतृक सम्पत्ति अबन्डा नै रहेको छ । बिमला श्रेष्ठका नाउँमा रहेको जग्गा सम्पत्ति बकसपत्रबाट प्राप्त भएको हुँदा सो सम्पत्ति बन्डा हुने होइन । पैतृक सम्पत्ति मात्र सबै अंशियारहरूका बिच बन्डा 

हुनुपर्छ । निजी र बकसपत्रबाट प्राप्त सम्पत्ति बन्डा लाग्ने हो होइन भन्ने सम्बन्धमा तत्कालीन कानूनी व्यवस्था हेरिनुपर्दछ । पैतृक सम्पत्ति अंशबन्डा भइसकेको भन्ने विश्वसनीय आधार प्रमाण नहुँदा पुनरावेदन अदालत पाटनबाट भएको फैसला सदर गरिपाउँ भनी बहस गर्नुभयो ।

उपर्युक्तानुसारको तथ्यगत विषय, पुनरावेदक / प्रतिवादीहरू तथा प्रत्यर्थी / वादीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरूको बहस जिकिर सुनी तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ वा छैन, पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो । 

२. निर्णयतर्फ विचार गर्दा, म पुनरावेदक शंकरबहादुर श्रेष्ठको नाममा रहेको बकसपत्रबाट प्राप्त सम्पत्ति बन्डा लाग्ने, प्रतिवादी विमला श्रेष्ठले बकसपत्रबाट प्राप्त गरेको कि.नं. ५८२,५८३ र ८३ का जग्गाहरू बन्डा नलाग्ने गरी असमान तवरबाट तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको त्रुटिपूर्ण फैसला बदर गरी सुरू अदालतको फैसला सदर गरिपाउँ भनी पुनरावेदक/प्रतिवादीहरूको मुख्य पुनरावेदन जिकिरका सन्बन्धमा स्वर्गीय हिरालाल श्रेष्ठका ५ भाइ छोराहरूमा जेठा स्व. विष्णुलालको छोरा वादी प्रकाशबहादुर श्रेष्ठ, माइला स्व.लक्षुमण भन्ने धनबहादुरको छोराहरू प्रतिवादीहरू शंकरबहादुर र इन्द्रबहादुर श्रेष्ठ, साइँला स्व.सानुकृष्णलालको छोराहरू प्रतिवादीहरू नारायणकृष्ण, श्यामकृष्ण र हरिकृष्ण श्रेष्ठ, काइँला मोतिलाल र कान्छा रामशरण श्रेष्ठ उल्लेख भएको अंशियारहरूबिच अंशबन्डा नभएको हुँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी वादी प्रतिवादीहरूबाट तायदाती फाँटवारी लिई सम्पूर्ण सम्पत्तिलाई ५ भाग लगाई १ भाग मेरो बुबाको अंश भाग दिलाई चलनसमेत चलाइपाउँ भन्ने वादी दाबी रहेकोमा वादी प्रतिवादीहरूबिच अंशबन्डा हुन बाँकी नै भए तापनि २०२३ सालपश्चात् प्रतिवादी धनबहादुर, मोतीलाल र रामशरण हामी ३ भाइले आर्जेको काठमाडौं जिल्ला, सुन्दरीजल गा.वि.स. वडा नं.८(ख) को कि.नं.२४ र २५ का जग्गाबाहेक अन्य पिता हिरालालको नाममा रहेको पैतृक सम्पत्ति हामी वादी प्रतिवादीहरूले संयुक्त नामसारी गरेको सबै सम्पत्ति बराबर बन्डा लाग्ने 

हो । भतिजा वादी प्रकाशबहादुर श्रेष्ठले आफ्नो बाबुले पाएको जग्गा जमिन उसैले भोग चलन गरी बसेका छन् । वादीले दुःख दिने नियतले दायर गरेको फिराद दाबी खारेज गरिपाउँ भनी प्रतिवादीहरू मोतिलाल श्रेष्ठ र रामशरण श्रेष्ठको प्रतिउत्तर जिकिर रहेको 

देखिन्छ । वादीको बाबु विष्णुलालको मृत्युपश्चात् निजको नाउँमा रहेको सम्पूर्ण सम्पत्ति वादी प्रतिवादीहरूको नाउँमा संयुक्त नामसारी गरेको सगोलको सम्पत्ति बन्डा हुन बाँकी नै छ । वादी प्रकाशबहादुरको व्यापार व्यवसायमा म प्रतिवादी शंकरबहादुरले समय समयमा आर्थिक सहयोग गर्दै आएको थिएँ । वादीले लिएको सो ऋण तिर्न बुझाउन नपरोस् भन्ने कलुषित भावना लिई फिराद गरेको हो । प्रतिवादीहरूले वादीलाई अंश दिनुपर्ने होइन, फिराद दाबी खारेज गरिपाउँ भन्ने बेहोराको प्रतिवादीहरू इन्द्रबहादुर श्रेष्ठ, शंकरबहादुर श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ र नारायणकृष्ण श्रेष्ठसमेतको संयुक्त प्रतिउत्तर जिकिर देखिन्छ । वादी प्रतिवादीहरूबाट आ-आफ्नो जिम्माको बन्डा गर्नुपर्ने सम्पूर्ण चल अचल श्रीसम्पत्तिको विवरणमा प्रतिवादी नबनाइएकी वादीकी श्रीमती बिमला श्रेष्ठका नाउँमा सम्पत्ति देखिएकोले निजलाई अ.बं.१३९ नं. बमोजिम बुझी प्रतिवादीसरह कायम भएको देखिन्छ । तायदाती फाँटवारीमा उल्लेख भएको सम्पत्तिलाई बराबर ५ भाग लगाई सोमध्ये १ भाग वादीले अंश पाउने गरी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसलाउपर पुनरावेदन परी प्रतिवादी बिमला श्रेष्ठका नाउँमा रहेको कि.नं. ५८२, ५८३ र ८३ का जग्गाहरू बकसपत्रबाट प्राप्त भएको देखिँदा सो जग्गा बन्डा लाग्ने गरी भएको सुरू जिल्ला अदालतको फैसला सो हदसम्म उल्टी हुने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसलाउपर हामीहरूको नाममा रहेको बकसपत्रबाट आएको सम्पत्ति बन्डा हुने तर वादीको श्रीमती प्रतिवादी बिमला श्रेष्ठको नाउँमा बकसपत्रबाट खरिद गरेको कि.नं. ५८२, ५८३ र ८३ का जग्गाहरू बन्डा नलाग्ने गरी भएको असमान स्थितिको फैसला अन्यायपूर्ण भएकोले सो फैसला बदर गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरू शंकरबहादुर श्रेष्ठ, ईन्द्रबहादुर श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, नारायणकृष्ण श्रेष्ठ र हरिकृष्ण श्रेष्ठसमेतको यस अदालतमा छुट्टाछुट्टै पुनरावेदनपत्र परि अ.बं. २०२ नं.बमोजिम प्रत्यर्थी झिकाउने आदेश भएको देखिन्छ ।

३. मिसिल संलग्न प्रमाण कागजातहरूबाट फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी बन्डा लाग्ने पैतृक सम्पत्ति वादी प्रतिवादीहरूबाट दाखिला गर्न लगाई सम्पूर्ण सम्पत्तिलाई ५ भाग लगाई १ भाग वादीले अंश पाउने गरी काठमाडौं जिल्ला अदालतबाट भएको फैसलाउपर प्रतिवादी विमला श्रेष्ठबाहेक सबै प्रतिवादीहरूको पुनरावेदन परेकोमा प्रतिवादी शंकरबहादुर श्रेष्ठले हालैको बकसपत्रबाट प्राप्त गरेको कि.नं. १७५ को जग्गा बन्डा लाग्ने तर प्रतिवादी बिमला श्रेष्ठका नाउँमा दर्ता रहेको कि.नं. ५८२,५८३ र ८३ का जग्गाहरू हालैको बकसपत्रद्वारा प्राप्त गरेको देखिँदा बन्डा नलाग्ने भनी भएको सुरू जिल्ला अदालतको फैसला सोहदसम्म उल्टी हुने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसलामा चित्त नबुझाई सो फैसला बदर गरिपाउँ भन्ने पुनरावेदक प्रतिवादीहरूको मुख्य पुनरावेदन जिकिर रहेको देखिन्छ । वादी र प्रतिवादीहरूले खुलाएको पुस्तेवारी तथा नाता सम्बन्धमा कुनै विवाद 

देखिँदैन । मिति २०१९/०८/०३ को घरसारको बन्डापत्रबाट वादी प्रतिवादीहरू छुट्टी भिन्न भइसकेकोले वादीलाई अंश दिनुपर्ने होइन, बन्डापत्र रीतपूर्वक पारित गराई वादी प्रतिवादीहरूले आ-आफ्नो अंश भागमा पर्ने सम्पत्ति लिनुदिनु गरी अंश छुट्ट्याई भिन्न रहे बसेको भन्ने प्रमाण मिसिल संलग्न कागजातबाट नदेखिँदा यी वादी प्रतिवादीहरूका बिच कानूनी रूपमा अंशबन्डा भएको भनी मान्न मिलेन । 

४. फिराद परेको अघिल्लो दिन मिति २०६३/०७/२० लाई मानो छुट्टिएको मिति कायम गरी वादी प्रतिवादीहरूले आ-आफ्नो जिम्मामा रहेको सम्पूर्ण चल अचल श्रीसम्पत्तिको फाँटवारी पेस गर्दा वादी प्रकाशबहादुर श्रेष्ठले श्रीमती बिमला श्रेष्ठका नाउँमा दर्ता भएको काठमाडौं जिल्ला, जोरपाटी गा.वि.स. वडा नं.३ (ख) को कि.नं. ५८२ को क्षेत्रफल ०-८-० जग्गा अनिता सुवेदीबाट, कि.नं. ५८३ को क्षेत्रफल ०-९-० जग्गामा बनेको घरजग्गा कृष्णप्रसाद दाहालबाट र ऐ. वडा नं.३ (ग) को कि.नं. ८३ को क्षेत्रफल ०-५-०-० जग्गा हरिप्रकाश पुडासैनीबाट हालैको बकसपत्रद्वारा प्राप्त घरजग्गाहरू बन्डा नलाग्ने मेरो एकलौटी हकभोगको सम्पत्ति हो । वादी र प्रतिवादीहरूका नाउँमा संयुक्त दर्ता रहेको पैतृक सम्पत्ति जग्गाहरू मात्र बन्डा लाग्ने हो भन्ने बेहोरा उल्लेख गरी वादी प्रकाशबहादुर श्रेष्ठबाट तायदाती फाँटवारी पेस भएको देखिन्छ । 

५. उल्लिखित कि.नं. ५८२, ५८३ र ८३ का जग्गाहरू वादीकी श्रीमती प्रतिवादी बिमला श्रेष्ठको नाउँमा दर्ता भएको बेहोरा तायदाती फाँटवारीमा उल्लेख भएको देखिएकोले निज विमला श्रेष्ठलाई अ.बं. १३९ नं.बमोजिम बुझी निजले आफ्नो पसिनाको कमाइको रकमबाट बकसपत्रद्वारा खरिद गरी लिएको भनी अदालतसमक्ष बयान गरी अंशियारसरह प्रतिवादी कायम भएको देखिन्छ । तर निजले आफ्नो पसिनाको कमाइले बकसपत्रद्वारा खरिद गरी लिएको हो अंशबन्डा लाग्ने होइन भन्ने बयान बेहोरालाई पुष्टि हुने तथ्ययुक्त प्रमाण प्रतिवादी बिमला श्रेष्ठले पेस गर्न सकेको 

देखिँदैन । प्रतिवादी बिमला श्रेष्ठ नै हाम्रो सम्पत्तिको हकवाला हुन्, सो सम्पत्तिमा अन्य कसैको हक दाबी नरहेको, निजले हाम्रो संरक्षण गरेको हुँदा हामीलाई रिझाएबापत निजलाई हामीले हालैको बकसपत्र गरिदिएको हौं भन्ने तथ्य विश्वासिलो आधार प्रमाणबाट पुष्ट्याइँ हुन नसकेको अवस्था एकातिर देखिन्छ भने हालैको बकसपत्र गर्ने व्यक्तिहरूले सो तथ्यलाई पुष्टि हुने गरी लेखाउनसमेत सकेको देखिँदैन ।  

६. विवादित कि.नं. ५८२ को जग्गा र.नं. २४९४(ख), मिति २०४७/०७/२८ मा अनिता सुवेदीबाट, कि.नं. ५८३ को जग्गा र.नं. २६८१(ख), मिति २०४७/०७/२९ मा कृष्णप्रसाद दाहालबाट र कि.नं. ८३ को जग्गा र.नं.१७२ मिति २०४५/०४/१० मा हरिप्रकाश पुडासैनीबाट प्रतिवादी बिमला श्रेष्ठले हालैको बकसपत्र लिखतबाट पारित गरी लिएको 

देखिन्छ । निजी आर्जनको स्रोतबाट बकसपत्रको माध्यमले जग्गा खरिद गरेको पुष्टि नहुँदा प्रतिवादी विमला श्रेष्ठले अड्डामा तिर्नुपर्ने दस्तुरबाट बच्न र अन्य अंशियाराबाट हुने दाबीबाट बचाउनका लागि हालैको बकसपत्र लिखतबाट लिनुदिनु गरेको भनी मान्नुपर्ने  भयो । यसरी एकासगोलमा हुँदाका अवस्थामा आर्जित भएका सम्पत्ति एकाघरसँगका अंशियारहरूमध्ये जोसुकै अंशियारका नाममा रहेको भए पनि सगोलको सम्पत्ति मानिने हुँदा सबै अंशियारहरूलाई समान रूपमा बन्डा लगाउनुपर्ने देखिन्छ । 

७. कानूनतः कसैको सम्पत्ति बकसपत्रबाट प्राप्त गर्दा बकसपत्र गरिदिने व्यक्तिले निजले मलाई पालनपोषण वा संरक्षण गरी रिझाएबापत इनाम, पुरस्कार वा बक्सिस स्वरूप प्रदान गरेको हुँ भनी उल्लेख गरी कसैलाई निःशुल्क प्रदान गर्ने कार्यले बकसपत्रको रूप लिन्छ । कुनै व्यक्तिले आफ्नो हक पुग्ने वा स्वामित्वको सम्पत्ति हकवाला व्यक्तिलाई बकस गरिदिँदा कानूनबमोजिम हक लाग्ने व्यक्तिको मन्जुरी लिनुपर्नेमा त्यस्तो व्यक्तिको मन्जुरी नलिई बकसपत्र गरिदिए त्यो बकसपत्रले कानूनी मान्यता प्राप्त गर्न सक्दैन । यस मुद्दामा प्रतिवादी विमला श्रेष्ठले हालैको बकसपत्र गरिदिने व्यक्तिहरू अनिता सुवेदी, कृष्णप्रसाद दाहाल र हरिप्रकाश पुडासैनीलाई मैले संरक्षणमा राखी स्याहार सम्भार गरी रिझाएबापत निजहरूले आफूखुस गर्न पाउने सम्पत्ति मलाई हक हस्तान्तरण गरेको हो भनी स्पष्टसँग आफ्नो बयानमा खुलाउन सकेको समेत देखिँदैन । 

८. प्रस्तुत विवादका सम्बन्धमा प्रमाण ऐन, २०३१ को दफा ६(क) हेर्दा, "अन्यथा प्रमाणित नभएसम्म एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदातलले अनुमान गर्ने छ ।" भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । प्रस्तुत कानूनी व्यवस्थाबमोजिम सगोलमा रहेका जोसुकै अंशियारको नाममा सम्पत्ति भए पनि अन्यथा प्रमाणित नभएसम्म एकासगोलको सम्पत्ति मानी सबै अंशियारको समान अधिकार रहन्छ भन्ने कानूनी मान्यता रहेको हुन्छ भनी मान्नुपर्ने हुन्छ । 

९. यसै सन्दर्भमा यस अदालतबाट सानुमाया महर्जनसमेत विरूद्ध बुद्धिलाल महर्जन (ने.का.प. २०६९, अङ्क ३, नि.नं. ८७८८) भएको अंशचलन मुद्दामा - "लिखतमा बकसपत्र शब्द प्रयोग गर्दैमा त्यसमा उल्लिखित सम्पत्ति स्वतः बन्डा नलाग्ने प्रकृतिमा पर्ने होइन । तर बकसपत्र दाता र प्राप्तकर्ताको सम्बन्ध, बकसपत्र दिनुपर्ने कारणको औचित्यको प्रामाणिक विश्लेषण गरी निष्कर्ष निकाल्नुपर्ने 

हुन्छ । सो बकसपत्रको लिखत गर्दा राजीनामासरह रकम लेनदेन भएको, अन्य अंशियारलाई अंश हकबाट वञ्चित गर्न मात्र बकसपत्र शब्द लेखिएको र दाताले प्राप्तकर्तालाई बकस दिनुपर्ने कुनै कारण तथा औचित्य नरहेको कुरा सो लिखतमा उल्लिखित सम्पत्ति बन्डा लागोस् भन्ने पक्षले प्रमाण दिई सो प्रमाणित भएमा बकसपत्र लेखिएको सम्पत्ति पनि बन्डा हुन सक्ने र सगोलको अवस्थामा राजीनामा पारित गराई लिएको उक्त घर जग्गालाई निजी ज्ञान सिपबाट आर्जन गरिएको सम्पत्ति हो भनी जिकिर मात्रको आधारमा अनुमान गर्न मिल्दैन । निजले निजी ज्ञान सिपबाट आर्जन गरी खरिद गरेको भने पनि वस्तुनिष्ठ प्रमाणको अभावमा एकासगोलमा रहेका कुनै अंशियारको नाममा रहेको तथा खरिद गरेको सम्पत्तिमा सबै अंशियारको समान हक लाग्ने ।" भनी सिद्धान्तसमेत प्रतिपादन भएको 

पाइन्छ । यस मुद्दामा विवादको सम्पत्ति बिमला श्रेष्ठले आफ्नो पसिनाको कमाइले बकसपत्रद्वारा खरिद गरी लिएको भनी अदालतमा बयान गरेकोमा सो बकसपत्रको लिखतलाई हेर्दा राजीनामासरह रकम लेनदेन गरी खरिद गरेको तथ्यमा प्रस्तुत प्रतिपादित सिद्धान्त आकर्षित हुने देखिन्छ ।

१०. वादी र प्रतिवादी सबै अंशियारा एकासगोलमै रहेको अवस्थामा वादीको श्रीमती प्रतिवादी बिमला श्रेष्ठले कि.नं.५८२,५८३ र ८३ का जग्गाहरू मिति २०४७/०७/२८, २०४७/०७/२९ र २०४५/०४/१० मा विभिन्न व्यक्तिहरूसँग रकम लिनुदिनु गरी हालैको बकसपत्रद्वारा खरिद गरेको देखियो । यसरी प्रतिवादी विमला श्रेष्ठले हालैको बकसपत्र भनी रकम लिनुदिनु गरी प्राप्त गरेको सम्पत्ति देखिन आएको हुँदा निज विमला श्रेष्ठले अड्डामा तिर्नुपर्ने दस्तुरबाट बच्न र अन्य अंशियाराबाट हुने दाबीबाट बचाउनका लागि हालैको बकसपत्र लिखतबाट जग्गा पारित गरी लिएको भन्ने अवस्था देखिएकोले ती जग्गाहरू कानूनत: बन्डा गर्न योग्य नै  देखिन्छ । 

११. माथि विवेचित मुद्दाको तथ्य, कानूनी व्यवस्था र यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतका आधारमा प्रतिवादी बिमला श्रेष्ठका नाममा रहेको कि.नं. ५८२,५८३ र ८३ का जग्गाहरू हालैको बकसपत्रद्वारा प्राप्त गरेको निजी आर्जनको बन्डा नलाग्ने भनी दाबी लिए पनि सो कुरा पुष्ट्याइँ गर्न तथ्ययुक्त एवं वस्तुनिष्ठ प्रमाणको अभाव देखिएकोले वादी प्रतिवादीहरू एकासगोलमा रहेको अवस्थामा आर्जित सम्पत्ति एकासगोलकै मानी सबै अंशियारहरूलाई बन्डा लाग्ने हुन्छ । विवादको कि.नं. ५८२,५८३ र ८३ का जग्गाहरू सबै अंशियारहरूलाई बन्डा लाग्ने सम्पत्ति देखिन आएको हुँदा उक्त जग्गाहरू बन्डा नलाग्ने गरी तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसला कानूनसम्मत मिलेको भनी मान्न सकिएन । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर तथ्ययुक्त र कानूनबमोजिमको देखिँदा प्रतिवादी बिमला श्रेष्ठको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताको बहस जिकिरसँग सहमत हुन सकिएन ।

१२. तसर्थ, माथि विवेचित आधार, कारणहरूबाट मानो छुट्टिनुअघि हालैको बकसपत्रद्वारा प्रतिवादी बिमला श्रेष्ठले प्राप्त गरेको कि.नं. ५८२, ५८३ र ८३ का जग्गाहरू बन्डा हुने गरी काठमाडौं जिल्ला अदालतबाट मिति २०६६/१२/२४ मा भएको फैसला केही उल्टी गरी उक्त जग्गाहरू प्रतिवादी बिमला श्रेष्ठको निजी हुँदा बन्डा नलाग्ने भनी पुनरावेदन अदालत पाटनबाट भएको मिति २०६८/१२/२३ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई उक्त कि.नं. ५८२, ५८३ र ८३ का जग्गाहरूसमेतबाट अंशियारहरूले अंश पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू । 

तपसिल खण्ड

माथि ठहर खण्डमा लेखिएअनुसार वादी प्रकाशबहादुर श्रेष्ठले दाखिल गरेको तायदाती फाँटवारीमा उल्लेख भएअनुसार वादीका श्रीमती बिमला श्रेष्ठका नाममा दर्ता रहेको कि.नं. ५८२, ५८३ र ८३ को जग्गा र सो जग्गामा बनेको घरसमेत वादी र प्रतिवादीहरूले अंश पाउने ठहरेको हुँदा सो घर जग्गा अंशबन्डा गरी छुट्याइपाउँ भनी प्रतिवादीहरूको ऐनको म्यादभित्र दर्खास्त परेमा कानूनबमोजिम बन्डा छुट्याइदिनु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनू -------------------१ 

प्रतिवादी बिमला श्रेष्ठका नाउँमा दर्ता रहेको कि.नं. ५८२,५८३ र ८३ समेतका जग्गा बन्डा हुने फैसला भएकोले ती जग्गाहरूसमेतका सम्पत्तिको हुने कोर्ट फी लिने गरी सुरू काठमाडौं जिल्ला अदालतको फैसलामा उल्लेख भएअनुरूप नै प्रतिवादीहरूबाट वादीलाई कोर्ट फी भराइदिनु भनी सुरू अदालतमा लेखी पठाउनू ------------------------------------२

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू --------------------३

 

उक्त रायमा सहमत छु ।

न्या. सुष्मालता माथेमा

 

इजलास अधिकृत : ऋतु राई

इति संवत् २०७९ साल भाद्र १९ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु