शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११२६५ - अंश नामसारी

भाग: ६६ साल: २०८१ महिना: श्रावण अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री नहकुल सुवेदी

फैसला मिति : २०७९।०५।३०

०७४-CI-०७७८

 

मुद्दाः- अंश नामसारी

 

पुनरावेदक / प्रतिवादी : जिल्ला रूपन्देही पटखौली गा.वि.स. वडा नं. ६ बस्ने जगन्नाथ कुर्मीसमेत

विरूद्ध

प्रत्यर्थी / वादी : जिल्ला रूपन्देही पटखौली गा.वि.स. वडा नं. ६ बस्ने शिवकुमार चौधरी कुर्मी

 

मुद्दा चल्दाचल्दै मृत्यु भएको अंशियारले दिएको बकसपत्रको सम्पत्ति सो परिवारको सगोलकै सम्पत्ति देखिने । अदालतबाट निर्णय निरूपण हुन बाँकी रहेकै अवस्थामा मृत्यु भएका व्यक्तिले सो परिवारको अंश हक लाग्ने सम्पूर्ण सम्पत्ति एक जना अंशियारलाई मात्र बकस गरिदिएका कारण सोमा अरू अंशियारको अंश हक मर्न जाने भएकाले त्यस्तो सम्पत्तिलाई सगोलकै मान्नुपर्ने ।

(प्रकरण नं. ५)

जीवित अंशियारले अंशियारमध्येकै एकजनालाई मात्र गरेको बकसपत्र सम्पत्ति बन्डा प्रयोजनको लागि पैतृक नै हुने ।

अंश भई नसकेको अवस्थामा परेको अपुताली, अपुतालीको सम्पत्ति नभई सगोलको पैतृक सम्पत्ति देखिँदा जीवित रूपमा रहेका अंशियारको बिचमा बन्डा गरिदिनुपर्ने अंशबन्डासम्बन्धी मान्यता र प्रचलित कानूनको मनसाय रहँदा मृत्यु भइसकेको व्यक्तिबाट रीतपूर्वक कुनै अंश हक प्राप्त नगरेको स्थितिमा बाँकी जीवित अंशियारहरूको बिचमा पैतृक सम्पत्ति बराबर बाँडिदिनु न्यायोचित हुने । 

(प्रकरण नं. ६)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान् अधिवक्ता श्री मञ्जुल गौतम

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री ईश्वरी प्रसाद भट्टराई र विद्वान् अधिवक्ता श्री ओजस्वी भट्टराई

अवलम्बित नजिर :

सम्बद्ध कानून : 

 

सुरू तहमा फैसला गर्नेः

मा. जि. न्या. श्री मुरारीबाबु श्रेष्ठ

रूपन्देही जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

मा. न्या श्री ईश्वरराज आचार्य

मा. न्या. श्री शान्ता सेढाई सापकोटा

उच्च अदालत तुलसीपुर, बुटवल इजलास

 

फैसला

न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

तथ्य खण्ड

मूल पुरूष गोकुल कुर्मीको छोरा शंकर र निजकी श्रीमती पियारीको चार जना छोराहरू नन्दलाल, जगन्नाथ, राजेन्द्र प्रसाद, लालसा प्रसाद हुन् । प्रतिवादी जगन्नाथ र निजकी श्रीमती सुखनाको छोरा राजकुमार र म शिवकुमार २ भाइ हौँ । गोकुल र निजको श्रीमती शंकर पियारी तथा म वादीका आमा सुखना अघि नै परलोक हुनुभयो । बाँकी नन्दलाल, जगन्नाथ, राजेन्द्र प्रसाद, लालसा प्रसाद ४ अंशियारा एकासगोलमा रहेको अवस्थामा राजेन्द्र प्रसाद कुर्मीले नन्दलाल कुर्मीसमेतउपर २०५७ सालको दे.नं. ११९१ को अंशनामसारी मुद्दा गरी रूपन्देही जिल्ला अदालतबाट फैसला भई बन्डा छुट्ट्याई अलग हुनुभएको छ । लालसा प्रसाद चौधरीले आफ्नो अंश भागको जग्गा २०६५।६।७ मा अंश बुझेको भरपाई गरी अलग हुनुभएको छ । बाँकी नन्दलाल, जगन्नाथ, राजकुमार र म शिवकुमारसमेतका अंशियार एकासगोलमा बसी आएका छौं । नन्दलालको श्रीमती र सन्तान छैनन् । अंशबन्डा गर्नुपर्ने अविवाहित दिदी बहिनी छैनन् । पैतृक तथा सगोल आर्जनको जग्गा नन्दलाल कुर्मी र राजकुमार चौधरीसमेतको नाममा दर्ता रहेको छ । घरको मुख्य विपक्षीहरूले म र मेरो परिवारलाई खान लाउन नदिई घरबाट निकाला गरिदिएको हुँदा त्यसो नगर्न र खान लाउन, घरमा बस्न दिनुहोस् या मेरो अंश छुट्याइदिनुहोस् भन्दा अंश र घरमा बस्न दिन्नौं जहाँ गई जे गर्ने हो गर भनी मिति २०७१।७।१५ मा जवाफ दिएको र विपक्षीहरू आपसमा मिली मेरोसमेत अंश हक लाग्ने जग्गा मलाई कुनै जानकारी नदिई गुपचुपमा जालसाजीबाट नन्दलाल कुर्मीले राजकुमारको नाममा बकसपत्र पारित गरिदिएको र राजकुमार चौधरीले केशरी चमार र कपिलदेव न्यौपानेलाई बिक्री गरेको कार्यले मलाई नोक्सान हुने र विपक्षीहरूले आफूलाई फाइदा हुने कार्य गरेको हुँदा सोतर्फ लिखत बदर र जालसाजी मुद्दा गरी अंशतर्फ फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी विपक्षीहरूबाट फाँटवारी लिई नन्दलाल र जगन्नाथको दुई भाग गरी जगन्नाथको अंश भागबाट तीन भाग गरी सोको एक भाग अंश दिलाइपाउँ भन्नेसमेत बेहोराको फिरादपत्र ।

सम्पूर्ण फिराद दाबी झुठ्ठा हो । वादी म प्रतिवादी जगन्नाथको छोरा होइनन् । मेरो एक मात्र छोरा राजकुमार चौधरी हुन् । हामी प्रतिवादीको परिवारमा जगन्नाथ, राजेन्द्र प्रसाद र लालसाको बिचमा अंशबन्डा भइसकेको छ । म प्रतिवादी नन्दलालको छोरा छोरी कोही नभएकोले मेरो सेवा जतन औषधी उपचारसमेत राजकुमार चौधरीले गर्दै आएको हुँदा मेरो भागको सम्पत्ति सबै राजकुमारलाई बकसपत्र गरिदिएको हो र सो सम्पत्तिमा वादीको अंश हक लाग्ने होइन । वादी भारत निवासी हुन् । हाल म जगन्नाथले केही व्यक्तिहरूसँग ऋण लिएको छु र भुक्तान गरेको 

छैन । मेरो नाममा भएको चल अचल सम्पत्ति सहप्रतिवादी छोराको हक हुने हो । वादीलाई विदेश जाँदा दिएको रकमसमेत फिर्ता गरेका छैनन् । वादीलाई अंश दिनुपर्ने दायित्व मसँग छैन । वादीको झुठ्ठा दाबीबाट अलग फुर्सद दिलाइपाउँ भन्नेसमेत बेहोराको नन्दलाल कुर्मी र जगन्नाथ कुर्मीको संयुक्त प्रतिउत्तरपत्र ।

सम्पूर्ण फिराद दाबी झुठ्ठा हो । वादीलाई अंश दिनुपर्ने दायित्व छैन । वादीको आमा भारतमा जीवित हुनुहुन्छ । विपक्षी वादी म प्रतिवादीको घनिष्ठ सम्बन्ध भएकोले मैले वादीको नागरिकता निकाल्ने काममा साक्षी बसी सहयोग गरिदिएको हो । वादीले मेरो रकमबाट विदेश गई मलाई सो रकम फिर्ता नगरी धोका दिने काम गरेका छन् । विपक्षीको कारण मलाई ऋणसमेत लागेको छ । साहुहरूको र बैंकको ऋणसमेत तिर्न सकेको छैन । वादीलाई हामीले अंश दिनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी राजकुमार चौधरीको प्रतिउत्तरपत्र ।

वादी र मबिच खाली चिनजान मात्र हो । नागरिकतामा झुक्किएर सनाखत गरेको हुँ । वादीको दाबी सबै झुठा हो भन्नेसमेत बेहोराको प्रतिवादी राजकुमार चौधरीले अ.बं. ८० नं. बमोजिम नातामा गरेको बयान । 

प्रतिवादीले गरेको बयान झुठ्ठा हो । मेरो बाबुको नाम जगन्नाथ र आमा सुखनी कुर्मी हो । दाजु राजकुमार चौधरी हुन् । प्रतिवादीले मलाई अंश दिन नपरोस् भनी झुठ्ठा बयान गरेका हुन् भन्नेसमेत बेहोराको वादी शिवकुमार चौधरीले अ.बं. ८० नं.बमोजिम नातामा गरेको बयान ।

वादी प्रतिवादी एकआपसमा सगोलका अंशियारा हुन् । निजहरूबिच अंशबन्डा भएको छैन । वादीले ३ भागको १ भाग अंश पाउने हो भन्नेसमेत बेहोराको वादीका साक्षी पिङ्गल कुर्मीले गरेको 

बकपत्र ।

शिवकुमार जगन्नाथका छोरा होइनन् । निज प्रतिवादीहरूको नाताभित्रको अंशियार होइनन् । वादीले अंश पाउनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी आसी कुर्मीले गरेको बकपत्र ।

फिराद परेको अघिल्लो दिन अर्थात् २०७१।८।९ लाई मानो छुट्टिएको मिति कायम गरी वादी प्रतिवादीबाट फाँटवारी पेस गर्न लगाउने भन्ने सुरू अदालतबाट मिति २०७२।१२।२२ मा भएको आदेश । 

प्रतिवादीले पेस गरेको फाँटवारीमा उल्लेख भएको सम्पूर्ण सम्पत्तिबाट र प्रतिवादीले दिएको फाँटवारीको सम्बन्धमा वादीले दिएको उजुरीको निवेदनमा उल्लेख गरेको घरबासको घर जग्गामध्येबाट उत्तरतर्फको आधा घर जग्गाबाट वादीले तीन भागको एक भाग अंशबन्डा पाउनुपर्ने देखिन आएकोले फाँटवारीमा उल्लेख भएको सम्पूर्ण सम्पत्तिबाट तीन भागको एक भाग र प्रतिवादीले दिएको फाँटवारीको सम्बन्धमा वादीले दिएको उजुरी निवेदनमा उल्लेख गरेको सम्पत्तिमध्ये उत्तरतर्फको आधा घरबासको घरजग्गाबाट तीन भागको एक भाग वादीले अंशबन्डा पाउने ठहर्छ भन्ने सुरू रूपन्देही जिल्ला अदालतको मिति २०७३।५।१४ को फैसला ।

यस मुद्दाका प्रतिवादी राजकुमारले अंश नबुझेको भन्दैमा यस मुद्दाका वादीले अंश बुझेका छैनन् भन्दै अंशियारभित्र नै नपर्ने व्यक्तिले मुद्दा गरेकोमा सोमा प्रमाण मूल्याङ्कन नगरी सुरू फैसला भएको । नन्दलालको मुद्दा चल्दाचल्दैका अवस्थामा निजको मृत्यु भएकोमा सेवा जतन गर्ने हामी अन्य प्रतिवादी भएको कारण निजको अपुताली खाने हक हामीहरूको हुनुपर्दछ । सेवाजतन हामीले गरेको भन्ने विषयमा कुनै विवाद नभएको अवस्थामा वादीको मागभन्दा बाहिर गई नन्दलालको अंश हक वादीसमेतले अंश लिने गरी भएको फैसला उल्टी गरी न्याय पाउँ भन्नेसमेत बेहोराको प्रतिवादीको पुनरावेदनपत्र ।

यसमा नन्दलालले राजकुमारलाई र.नं. ९९८ग मिति २०६५।६।७ मा हालैको बकपत्रको लिखत पारित गरिदिएको अवस्थामा सो लिखतमा उल्लिखित जग्गासमेत बन्डा हुने ठहर गरी सुरू अदालतबाट भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा छलफलको लागि मुलुकी ऐन, अ.बं. २०२ नं. तथा उच्च अदालत नियमावली, २०७३ को नियम ६४ बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नुहोला भन्ने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेश ।

मूल अंशियार नन्दलाल कुर्मी र जगन्नाथ कुर्मी सगोलमा रहेकै अवस्थामा जगन्नाथ कुर्मीका छोरा यी वादी शिवकुमारले सगोलको सम्पत्तिबाट अंशमा दाबी लिई विचाराधीन अवस्थामा मूल अंशियारमध्येका नन्दलालको मृत्यु भएको र नन्दलालको श्रीमतीबाट सन्तान नभएको स्थितिमा बाँकी रहेका अंशियारमा बन्डा गर्ने गरी भएको सुरू जिल्ला अदालतको फैसला अन्यथा नदेखिएकाले सदर हुने ठहर्छ भन्ने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको मिति २०७४।३।२९ को फैसला । 

वादी हाम्रो अंश वंशका व्यक्ति नै नभएको र प्रतिवादी नन्दलाल कुर्मीलाई विपक्षी नै नबनाएको अवस्थामा मुद्दा चल्दाचल्दैको अवस्थामा निजको मृत्युसमेत भएकोले निजको सम्पत्ति अपुताली खाने हाम्रो एकलौटी हक भएकोमा सोमा समेत वादीको अंश भाग लाग्ने ठहरेको सुरूको फैसला सदर गरेको उच्च अदालतको फैसला दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरी उल्टी गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरूको यस अदालतमा पर्न आएको मुद्दा दोहोर्‍याई पाउँ भन्ने विषयको निवेदन । 

यसमा कृषि विकास बैंकको प्रमाणित ऋणको हकमा बन्डा नलगाएको र मूल एक अंशियार नन्दलालले आफ्नो अंश भाग आफ्नो जीवनकालमा नै बकस दिएको जग्गासमेत बन्डा लाग्ने गरी भएको उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट भएको मिति २०७४।३।२९ को फैसला त्रुटिपूर्ण देखिँदा न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरिदिएको छ । नियमानुसार गर्नु भन्ने मिति २०७४।११।२० को यस अदालतको आदेश । 

यस अदालतको ठहर

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी निर्णयार्थ आज यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान् अधिवक्ता श्री मञ्जुल गौतमले नन्दलाल कुर्मीको स्याहार सुसार प्रतिवादी राजकुमारले गरेको भन्ने बकसपत्रको लिखतबाट देखिन्छ । राजकुमारको निजी सम्पत्ति पनि बन्डा लगाइदिएको अवस्था छ, नन्दलालले आफूखुसी गर्न पाउने जग्गा राजकुमारलाई लिखत गरिदिएको हो, नन्दलालको अपुताली हक खाने प्रतिवादी भएकोमा नन्दलालको अंश हकसमेत बन्डा लाग्ने गरेको सुरू फैसला सदर गरेको उच्च अदालतको फैसला बदरभागी छ भनी गर्नुभएको बहस सुनियो । 

त्यसैगरी प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री ईश्वरीप्रसाद भट्टराई र विद्वान् अधिवक्ता श्री ओजस्वी भट्टराईले वादी शिवकुमार जगन्नाथका छोरा भएकोले नागरिकता लिएका छन् । वादी प्रतिवादी सगोलमा रहेको अवस्थामा जियजियैको अंश लाग्ने कानूनी व्यवस्था छ । बन्डा लाग्ने सम्पत्ति नन्दलालको नाउँमा रहेको र सगोलमै रहँदा राजकुमारलाई बकसपत्रको लिखत गरिदिएको हुँदा सगोलका अंशियारका नामको सम्पत्ति बन्डा लाग्ने ठहर्‍याएको सुरू अदालतको फैसला सदर गरेको उच्च अदालतको फैसला मिलेकै हुँदा सदर हुनुपर्दछ भनी गर्नुभएको बहससमेत सुनियो । 

उपर्युक्तानुसारको बहस जिकिर सुनी मिसिल संलग्न पुनरावेदन पत्रलगायतका कागज प्रमाण अध्ययन गरी हेर्दा वादी दाबीअनुसार वादीको अंश लाग्ने ठहरेको सुरूको फैसला सदर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला मिलेको छ, छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? सोही विषयमा निर्णय दिनुपर्ने हुन आयो । 

मूल पुरूष गोकुल, गोकुलका छोरा शंकर, शंकरका चार भाइ छोरामा नन्दलाल, जगन्नाथ, राजेन्द्रप्रसाद र लालसा हुन् । गोकुल र शंकरसमेतको मृत्यु भइसकेको, नन्दलाल, जगन्नाथ, राजेन्द्र र लालसा चार अंशियार रहेको राजेन्द्र र लालसाको अंश लिई भिन्न भएका, नन्दलालका श्रीमती सन्तान छैनन्, वादी शिवकुमार र प्रतिवादी राजकुमार जगन्नाथका छोरा हौं । दुई भागको एक भागबाट तीन भागको एक भाग अंश छुट्ट्याइपाउँ भन्ने फिराद परेकोमा वादी शिवकुमार प्रतिवादी जगन्नाथको छोरा होइन, नन्दलालको सन्तान नभएबाट सेवा जतन राजकुमारले गरेको हुँदा आफ्नो भागको सबै सम्पत्ति राजकुमारलाई बकसपत्र गरिदिएको हो, सो सम्पत्तिमा वादीको अंश हक लाग्ने होइन भन्नेसमेत नातामा विवाद देखाई प्रतिउत्तर परेकोमा वादीले पेस गरेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपिमा निजको बाबुको नाम जगन्नाथ कुर्मी उल्लेख भएको र सो नागरिकता यथावत् रहेको अवस्थामा प्रतिवादीले पेस गरेको तायदाती फाँटवारीमा उल्लेख भएको सम्पूर्ण सम्पत्ति घरबासको घरजग्गामध्येबाट वादीले तीन भागको एक भाग अंश छुट्याइलिन पाउने ठहर्‍याएको सुरू जिल्ला अदालतको फैसला सदर गरेको उच्च अदालतको फैसलाउपर वादीको चित्त नबुझी यस अदालतमा मुद्दा दोहोर्‍याई पाउँको निवेदन दिएकोमा यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएको देखियो । 

पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर हेर्दा, वादी हाम्रो अंश वंशका व्यक्ति नै नभएको र प्रतिवादी नन्दलाल कुर्मीलाई विपक्षी नै नबनाएको अवस्थामा मुद्दा चल्दाचल्दैको अवस्थामा निजको मृत्यु भएकोले निजको सम्पत्ति अपुताली खाने हाम्रो एकलौटी हक भएकोमा सोमा समेत वादीको अंश भाग लाग्ने ठहरेको सुरूको फैसला सदर गरेको उच्च अदालतको फैसला उल्टी गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरूको मुख्य पुनरावेदन जिकिर रहेको 

पाइयो । 

२. सर्वप्रथम प्रतिवादीहरूले वादी आफ्ना अंश वंशका होइनन् भारतीय नागरिक हुन् भन्ने जिकिर लिएको सम्बन्धमा हेर्दा, वादीले फिरादसाथ संलग्न गरेको ना.प्र.नं. १७०६० को जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट जारी भएको नागरिकताको प्रमाणपत्रको फोटोकपी हेर्दा शिवकुमार चौधरीका बाबु जगन्नाथ कुर्मी भन्ने उल्लेख भएको 

देखिन्छ । सो नागरिकता बदरतर्फ कोही कसैले कुनै उजुर गरेको भन्ने पनि देखिँदैन । निज जगन्नाथ कुर्मीका छोरा प्रतिवादी राजकुमार चौधरीले प्रतिउत्तर गर्दा वादीको नागरिकता निकाल्ने क्रममा साक्षी बसिदिन भनी सहयोग गरेको भन्नेसमेत बेहोरा लेखाएको पाइन्छ । यसरी वादी शिवकुमार चौधरी कुर्मीलाई यी प्रतिवादीहरू बुबा जगन्नाथ कुर्मीले छोरा भनी सनाखत गरेको र दाजु राजकुमार चौधरी (कुर्मी) ले पनि भाइ भनी साक्षी बसी नागरिकता लिने क्रममा सिफारिस सहयोग गरेको देखिन्छ । मिसिल संलग्न कागजातबाट वादीको नागरिकता यथावत् रहेको देखिएको हुँदा वादी शिवकुमार प्रतिवादी जगन्नाथ कुर्मीका छोरा होइनन् भन्न मिल्ने नदेखिएको अवस्थामा अंशियार होइनन् भन्ने जिकिर कानूनसम्मत देखिएन ।

३. अब, निजहरूको पुस्तेवारी हेर्दा पनि मूल पुरूष गोकुल कुर्मीको छोरा शंकर र निजकी श्रीमती पियारीको चार जना छोराहरू नन्दलाल, जगन्नाथ, राजेन्द्र प्रसाद, लालसा प्रसाद रहेको देखिन्छ । प्रतिवादी जगन्नाथ र निजकी श्रीमती सुखनाको छोराहरू राजकुमार र शिवकुमार रहेको देखिन्छ । मूल हाँगाका गोकुल र निजको श्रीमती शंकर पियारी तथा वादीका आमा सुखना अघि नै परलोक भएको र बाँकी वादीका बुबाका पुस्ताका दाजुभाइहरू नन्दलाल, जगन्नाथ, राजेन्द्र प्रसाद, लालसा प्रसाद ४ जना अंशियार एकासगोलमा रहेको अवस्थामा साइँला भाइ राजेन्द्र प्रसाद कुर्मीले, नन्दलाल कुर्मीसमेतउपर २०५७ सालको दे.नं. ११९१ को अंश नामसारी मुद्दा गरी रूपन्देही जिल्ला अदालतबाट फैसला भई बन्डा छुट्ट्याई अलग भएको एवं लालसा प्रसाद चौधरीले आफ्नो अंश भागको जग्गा २०६५।६।७ मा अंश बुझेको भरपाई गरी अलग भएको पाइन्छ । वादीका जेठा बुबा नन्दलाल, र बुबा जगन्नाथ तथा दाजु राजकुमार एकासगोलमा बसी आएकामा नन्दलालको श्रीमती र सन्तान नभएको भन्नेसमेतको तथ्यमा प्रतिवादीको जिकिरसमेत नरहेकाले सो तथ्यमा कुनै विवाद 

रहेन । बाँकी अंशियारमध्ये वादीका जेठाबुबा नन्दलाल र बुबा जगन्नाथका दुई भाइ रहेकोमा नन्दलालको मुद्दा चल्दाचल्दैको अवस्थामा मिति २०७२।७।१८ मा मृत्यु भई निजको मुद्दा प्रतिवादी राजकुमार चौधरीले सकार गरी लिएको र निज निसन्तान भएको कुरामा वादी प्रतिवादीको मुख मिलिरहेकै देखिँदा अब जम्मा ३ जना अंशियार अर्थात् वादीका बुबा जगन्नाथ र छोराहरू वादी शिवकुमार र प्रतिवादी निजका दाजु राजकुमार रहेको पाइयो । यसप्रकारको पुस्तेवारी भएका यी वादी र प्रतिवादीहरूका बिच विधिवत् रूपमा अंशबन्डा भइसकेको भन्ने प्रतिवादी जिकिरसमेत रहेको नदेखिँदा निजहरू तीनै जना एकासगोलमा रही अंशबन्डा हुन बाँकी रहेको भन्ने कुरा पुष्टि हुन आएकाले वादीले प्रतिवादीहरूबाट ३ भागको १ भाग अंश पाउने कुरामा कुनै विवाद रहेन । 

४. जहाँसम्म वादीका जेठाबुबा नन्दलाल कुर्मीलाई वादीले प्रतिवादी नै नबनाएको र निजको मृत्युपछि निजको अपुताली निजको एकासगोलको भाइ प्रतिवादी जगन्नाथले पाउनुपर्ने भन्ने जिकिर छ सो सम्बन्धमा हेर्दा वादीका बुबाको पुस्ताका यी दुई दाजुभाइहरू नन्दलाल र जगन्नाथ एकासगोलमै रहेका र मुद्दा चल्दाचल्दैको क्रममा नन्दलालको मृत्यु भएको र निज निसन्तान रहेका कारण स्वाभाविकरूपमा निजको अपुताली खाने एक मात्र हकदार वादीका बुबा जगन्नाथ भएकोमा कुनै विवाद रहेन । तर यी वादी तिनै जगन्नाथका २ छोरामध्येका एक जना छोरा भएकाले कानूनतः घरको मूली रहेका आफ्ना बुबाको नाममा जुनसुकै तरहले प्राप्त हुने सम्पत्तिमा निजको अंश हक लाग्ने नै देखिए पनि मिसिल संलग्न तायदाती फाँटवारी हेर्दा निजको नाममा कुनै सम्पत्ति रहेको देखिँदैन भने निजका जेठाबुबा नन्दलालको नाममा पनि कुनै सम्पत्ति रहेको नदेखिएको र निजले आफ्ना नाउँको सम्पूर्ण सम्पत्ति अर्का प्रतिवादी राजकुमार चौधरीका नाउँमा मिति २०७१।७।१६ मा बकसपत्र गरिदिएको 

देखिन्छ । यसै लगाउको पुनरावेदक राजकुमार चौधरी प्रत्यर्थी शिवकुमार चौधरी भएको लिखत दर्ता बदर (०७४-CI-०७७९) मुद्दा र यिनै पुनरावेदक तथा प्रत्यर्थी भएको ०७४-CI-०७७८ को लिखत बदर मुद्दामा समेत वादी दाबीको लिखत बदर हुने ठहरी आजै यस इजलासबाट फैसलासमेत भएको छ । सोबाहेक निज राजकुमार चौधरीको नाउँमा बकसपत्रबाट प्राप्त हुन आएको कि.नं. ६७९, ६८१, ३६१, ४४४, २६९ र ११२६ का विभिन्न कित्ता जग्गा रहेको पाइयो । उल्लिखित जग्गाहरूको मूलस्रोत सोही बकसपत्र देखिन्छ । 

५. यसरी मुद्दा चल्दाचल्दै मृत्यु भएको अंशियारले दिएको बकसपत्रको सम्पत्ति सो परिवारको सगोलकै सम्पत्ति देखिन्छ । अदालतबाट निर्णय निरूपण हुन बाँकी रहेकै अवस्थामा मृत्यु भएका व्यक्तिले सो परिवारको अंश हक लाग्ने सम्पूर्ण सम्पत्ति एक जना अंशियारलाई मात्र बकस गरिदिएका कारण सोमा अरू अंशियारको अंश हक मर्न जाने भएकाले त्यस्तो सम्पत्ति आफूखुस गर्न पाउने निजी सम्पत्ति मान्न नमिल्ने भएकाले पनि उक्त सम्पत्तिलाई सगोलकै मान्नुपर्ने हुन आयो । 

६. सङ्क्षेपमा भन्नुपर्दा वादी र प्रतिवादी अंशियार नाताका भएको देखियो । तायदातीको सम्पत्ति पैतृक सम्पत्तिहरू रहेको कुरामा र सो सम्पत्ति नन्दलालबाट प्रतिवादी राजकुमारले बकसपत्र पाएकोमा विवाद देखिएन । जीवित अंशियारले अंशियारमध्येकै एकजनालाई मात्र गरेको बकसपत्र सम्पत्ति बन्डा प्रयोजनको लागि पैतृक नै हुने भयो । यसरी सो सम्पत्ति बकसपत्र दिने अंशियारको नाउँबाट अर्को अंशियारको नाममा हस्तान्तरण भएको देखियो । हस्तान्तरण गरेको नाताले अब सो सम्पत्ति को कसको अंश हक लाग्ने र बन्डा हुने भन्ने विषय जीवित अंशियारको बिचमा फैसला हुँदा निरूपण हुने हुँदा जिल्ला अदालतबाट फैसला नहुँदै प्रतिवादी नन्दलालको मृत्यु भएको भन्ने देखिँदा निजका नाउँको सो सम्पत्ति निजको अंश हकदारमा स्वतः जाने हुन्छ । तर नन्दलालको हकदार कोही नभई निज नि:सन्तान रहेको पाइन्छ । यसरी अंश भई नसकेको यस अवस्थामा परेको अपुताली अपुतालीको सम्पत्ति नभई सगोलको पैतृक सम्पत्ति देखिँदा जीवित रूपमा रहेका अंशियारको बिचमा अंशबन्डा गरिदिनुपर्ने अंशबन्डासम्बन्धी मान्यता र प्रचलित कानूनको मनसाय रहँदा मृत्यु भइसकेको व्यक्तिबाट रीतपूर्वक कुनै अंश हक प्राप्त नगरेको स्थितिमा बाँकी जीवित अंशियारहरूको बिचमा पैतृक सम्पत्ति बराबर बाँडिदिनु न्यायोचित हुन्छ । 

७. अतः उपर्युक्त विवेचित आधार, कारणबाट यी वादी शिवकुमार कुर्मीले फिराद दाबीबमोजिम ३ भागको १ भाग अंश पाउने ठहरेको सुरूको फैसला सदर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको मिति २०७४।३।२९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी प्रस्तुत फैसला अपलोड गरी नियमानुसार मिसिल बुझाइदिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या. नहकुल सुवेदी

 

इजलास अधिकृत : इन्द्रबहादुर कठायत 

इति संवत् २०७९ साल भदौ ३० गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु