शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११२६६ - अंश चलन

भाग: ६६ साल: २०८१ महिना: श्रावण अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ

फैसला मिति : २०७९।०६।०२

०७०-CI-०९८०

 

मुद्दा: अंश चलन

 

पुनरावेदक / वादी : लालीमालको छोरा, सुनसरी जिल्ला, पश्चिम कुशाहा गा.वि.स. वडा नं. ९ बस्ने सिताराम माल यादव

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : ऐ. बस्ने स्व. रघुवीरको श्रीमती ठकनी देवी यादवसमेत

 

समान पुस्ताका अंशियारका बिचमा एकपटक व्यवहार प्रमाणबाट भएको अंशबन्डा अन्यथा प्रमाणित नभएसम्म निज अंशियारका बिचमा पुनः अंशबन्डा गर्ने हो भने उक्त कार्यले व्यक्तिको व्यक्तिगत सिप, परिश्रमको प्रतिफल निषेध हुने ।

(प्रकरण नं. ११)

कानूनले पैतृक सम्पत्तिउपर सन्तानको अंश हकलाई पूर्ण रूपमा संरक्षण गरेको भए तापनि यो हक पटक-पटक प्राप्त भइरहने प्रकृतिको भने होइन । आफूले पाउनुपर्ने अंश हक जुनसुकै माध्यमबाट भए पनि एकपटक प्राप्त भइसकेपछि अन्यथा प्रमाणित भएमा बाहेक पैतृक सम्पत्तिउपरको अंश हक सधैँको लागि समाप्त हुने ।

(प्रकरण नं. १२)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री तुलसीराम निरौला र श्री शतिषकृष्ण खरेल

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री इन्द्रबहादुर अधिकारी

अवलम्बित नजिर :

ने.का.प. २०६६, अङ्क ९, नि.नं. ८२२७

ने.का.प. २०६६, अङ्क २, नि.नं. ८०८८

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने :

मा. जि. न्या. श्री लक्ष्मीकृष्ण श्रेष्ठ

सुनसरी जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने :

मा. न्या श्री गिरिराज पौड्याल

मा. न्या. श्री कुमार चुडाल

पुनरावेदन अदालत विराटनगर

 

फैसला

न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९ तथा प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतको अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः-

तथ्य खण्ड

फिराद दाबीः स्व. पिता लाली माल यादवका ६ छोरामा जेठा म वादी त्यसपछि क्रमशः स्व. रघुवीर, दामोदर, सदानन्द, श्रीलाल र चन्द्रदेव हुन् । आमाको स्वर्गवास भइसकेको, सदानन्द, श्रीलाल, चन्द्रदेव र दामोदर यादवसमेत अंश लिई छुट्टिसकेका, स्व. रघुवीरका २ पत्नीमा जेठी ठकनी देवी र कान्छी फुलेश्वरी देवी हुन् । निजको १ छोरी चम्पाको विवाह भइसकेको छ । २ छोरामा धनिकलाल र इन्द्रदेव 

हुन् । हामी सगोलमै बसी आएका छौं । परिवार ठुलो भई विवाद झगडा हुने गरेकोले मिति २०६३।१२।०५ मा गाउँ छिमेक बसाइ अंश भाग मिलाऔँ भन्दा तिमीले पहिले नै अंश पाइसकेका छौं, तिम्रो अंश भाग हाम्रो जिम्मा छैन भनी जवाफ दिएकोले विपक्षी इन्द्रदेव यादव नाम दर्ताको सुनसरी जिल्ला, पश्चिम कुशाहा गा.वि.स. वडा नं. ८ख, कि.नं. २९२, २९४, ऐ. वडा नं. ८क, कि.नं. ३८९ र विपक्षी धनीकलाल यादव नाम दर्ताको ऐ. वडा नं. ८ख, कि.नं. २८५, २११ समेतका जग्गालाई २ भाग लगाई एक भाग अंश दिलाइपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी ।

प्रतिउत्तर जिकिरः विपक्षी वादीसमेतका ६ अंशियार भएकोमा सदानन्द, श्रीलाल र चन्द्रदेवसमेतका ३ जना देवर / काकाहरूले सिताराम, रघुवीर र दामोदरसमेतका ३ जनाउपर २०४५ सालको दे.नं. २०५२ को अंश चलन मुद्दा दिई कारबाही हुँदा ६ अंशियारमध्ये सिताराम माल यादवका नाममा सुनसरी जिल्ला, पश्चिम कुशाहा वडा नं. ८ख, कि.नं. ४७, ५० र ५६ मा क्रमशः १-१-१९, ०-२-११ र ०-४-२ समेत जम्मा १-८-१२ र हाम्रा पति / पिता स्व. रघुवीर माल यादवका नाममा कि.नं. ८१ र ४३ मा क्रमशः ०-७-१ र १-१-२ समेत जम्मा १-८-३ जग्गा रहेको र अन्य अंशियारहरूसँग कुनै सम्पत्ति रहेको नदेखिएपछि सिताराम र रघुवीरका नाममा रहेका उक्त सम्पत्तिको आधा अर्थात् ६ खण्डको ३ खण्ड सम्पत्ति सदानन्द, श्रीलाल र चन्द्रदेवले उक्त दे.नं. २०५२ को अंश मुद्दाको फैसलाबमोजिम आ-आफ्ना अंश छुट्याई दा.खा. दर्ता गरिसकेको अवस्था छ ।

बाँकी ३ अंशियारमध्ये दामोदर माल यादवले पनि २०५५ सालको सिताराम र रघुवीर यादवउपर दे.नं. १०७४ को अंश चलन मुद्दा दिई निजले पनि अंश पाउने फैसला भएको र यी वादी सिताराम माल यादवले अंशियारसमेतको अंश हक मार्न मिति २०४४।०१।०६ मा राजाराम मेहतालाई गरिदिएको रू.२१,०००।- को लिखतबमोजिम निज राजाराम मेहताले यी वादी सिताराम माल यादवउपर २०४७ सालको दे.नं. १३३६ को लेनदेन मुद्दा दायर गरी सो लेनदेन मुद्दामा भएको फैसलाबमोजिम बिगोमा कारबाही चलाई सकार गरी लिएको सिताराम माल यादव नाम दर्ताको कि.नं. ४७ को १-१-१९ जग्गा दे.नं. २०५२ को अंश मुद्दाको चलन पुर्जीबाट कित्ताकाट भई कि.नं. २५३ र २५४ अन्य अंशियारका नाममा गई कि.नं. २५५ को ०-७-१२ जग्गा सिताराम माल यादवका नाममा दर्ता दा.खा. भएको र राजाराम मेहताले आफूले सकार गरी लिएको कि.नं. ४७ को १-१-१९ जग्गा कित्ताकाट भई दा.खा. दर्ता भएउपर २०४९ सालमा दे.नं. १५४७ को दर्ता बदर दर्ता कायम मुद्दा यी वादीसमेत उपर दायर गरेकोमा सो मुद्दामा भएका फैसलाबाट सिताराम माल यादवका नाममा दर्ता रहेको कि.नं. २५५ को जग्गा राजाराम मेहताका नाममा गएको र सोही जग्गा सिताराम माल यादवको छोरा महानन्द यादवको श्रीमती भोलादेवी यादवको नाममा मालपोत कार्यालय, सुनसरीको र.नं. ५९१९ मिति २०५५।०१।२२ को हालैको बकसपत्रबाट प्राप्त गरेको जग्गा नै यी वादीको अंश भागको जग्गा हुँदा हामीले पुनः वादी दाबीबमोजिम वादीलाई अंश दिनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादीहरूको संयुक्त प्रतिउत्तर ।

तायदाती फाँटवारीः आदेशानुसार वादी प्रतिवादीहरू दुवै पक्षबाट पेस भएको तायदाती फाँटवारी मिसिल सामेल रहेको ।

सुरू फैसलाः प्रतिवादीबाट द.नं. ६२८७ मिति २०६५।०३।१२ मा दाखिल गरेको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिमध्ये देव नारायण गोठियाबाहेक अन्य सबै सम्पत्तिलाई २ भाग लगाई त्यसको एक भाग वादीले अंशबापतमा पाई चलनसमेत चलाइपाउने ठहर्छ भन्नेसमेत सुरू सुनसरी जिल्ला अदालतबाट मिति २०६५।१०।२३ मा भएको 

फैसला ।

तत्कालीन पुनरावेदन अदालत विराटनगरमा परेको प्रतिवादीहरूको पुनरावेदनः वादी सिताराम माल यादव र हाम्रा पति / पिता रघुवीर यादवअघि नै बराबर अंश गरी भिन्न भई बसिआएको अवस्था छ । हामी बुहारी / भतिजाले निजी आर्जन गरेको सम्पत्ति बन्डा लगाउने र हामीलाई अंश हकबाट वञ्चित गर्न आफ्नो नामको सम्पत्ति साहुलाई लेखिदिई त्यसपछि आफ्नै छोराबुहारीका नाममा बकसपत्रबाट फिर्ता गराई लिएको अवस्था छ । त्यसकारण, वादी सिताराम माल यादवको फिराद दाबीबाट अलग फुर्सद गराइदिनुपर्नेमा वादी दाबीबमोजिम बन्डा लाग्ने गरी भएको सुरू अदालतको फैसला मिलेको नहुँदा बदर गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी इन्द्रदेव यादवसमेत तर्फबाट तत्कालीन पुनरावेदन अदालत विराटनगरमा परेको संयुक्त पुनरावेदन ।

तत्कालीन पुनरावेदन अदालत विराटनगरको आदेशः सुरू फैसला विवेचना विश्लेषण नभई भएको अवस्थामा फरक पर्न सक्ने देखिएकोले प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्नेसमेत तत्कालीन पुनरावेदन अदालत विराटनगरको मिति २०६७।०१।२९ को आदेश ।

तत्कालीन पुनरावेदन अदालत विराटनगरको आदेशः प्रत्यर्थी वादी सिताराम यादवका बुहारी भोला देवी र सुशीलाका नाममा भएको जग्गा बन्डा लगाउने सम्बन्धमा सुरूबाट निजहरूलाई बुझेको नदेखिँदा निजहरूलाई बुझ्नु भन्नेसमेत तत्कालीन पुनरावेदन अदालत विराटनगरको मिति २०६७।०५।२७ को आदेश ।

भोलादेवी यादवको बकपत्रः मेरा नाम दर्ताको सुनसरी जिल्ला, पश्चिम कुशाहा ८(ख) को कि.नं. २५५, ऐ. वडा नं. ८(क) को कि.नं. ६८५, ६९९ र ६३३ का जग्गा मैले बकसपत्रबाट प्राप्त गरेको, अरू कसैको अंश हक नलाग्ने मेरो निजी जग्गा हुँदा उक्त जग्गाबाट मैले वादी प्रतिवादीहरूलाई अंश दिनुपर्ने होइन भन्नेसमेत बेहोराको बुझिएकी भोलादेवी यादवले अदालतमा गरेको बकपत्र ।

सुशीलादेवी यादवको बकपत्रः मेरो नाम दर्ताको सुनसरी जिल्ला, पश्चिम कुशाहा वडा नं. ८(क) को कि.नं. ३३६ को ०-११-१६ जग्गा मैले बकसपत्रबाट प्राप्त गरेको, अरू कसैको अंश हक नलाग्ने मेरा निजी जग्गा हुँदा उक्त जग्गाबाट मैले वादी प्रतिवादीहरूलाई अंश दिनुपर्ने होइन भन्नेसमेत बेहोराको बुझिएकी सुशीलादेवी यादवले अदालतमा गरेको बकपत्र ।

मुलतबीबाट जागेकोः सुनसरी जिल्ला अदालतमा चलेको संवत् २०६६ सालको दे.नं. १३६५ को फैसला बदर मुद्दा फैसला नभई प्रस्तुत मुद्दा फैसला गर्न मिल्ने नदेखिँदा उक्त मुद्दा फैसला भई प्राप्त भएपछि जगाउने गरी प्रस्तुत मुद्दा मिति २०६८।०१।०७ को अदालतको आदेशले मुलतबीमा रहेकोमा मिति २०६९।०५।१० को अदालतको आदेशले मुलतबीबाट जागेको ।

तत्कालीन पुनरावेदन अदालत विराटनगरको फैसलाः मुलुकी ऐन, अंशबन्डाको १८ नं. ले अंश नभए पनि मानो छुट्टिई भिन्न बसेका वा रजिस्ट्रेसन नगरी खतीउपती आ-आफ्नो गरी आफ्नो हिस्सा भाग राखी खानु पिउनु गरेकोमा एकै ठाउँमा भए पनि मानो छुट्टिई भिन्न भएको ठहर्ने कानूनी व्यवस्था भएको छ । रजिस्ट्रेसन नभएका बखतमा पनि अंशबन्डा विवादको निरूपण हुन सक्ने नै देखिन्छ । यी वादीले पैतृक सम्पत्ति प्राप्त गरिसकेको अवस्था पूर्ववत् मुद्दाहरूबाट देखिएको छ । तसर्थ, वादी दाबीबमोजिम वादीले अंश पाउन सक्ने अवस्था नहुँदा तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिबाट २ भागको १ भाग यी वादीले अंश पाउने ठहर्‍याएको सुरू सुनसरी जिल्ला अदालतको मिति २०६५।१०।२३ को फैसला मिलेको नदेखिँदा उल्टी भई वादी दाबी नपुग्ने ठहर्छ भन्नेसमेत तत्कालीन पुनरावेदन अदालत विराटनगरबाट मिति २०६९।१२।०७ मा भएको फैसला ।

यस अदालतमा पेस हुन आएको वादी सिताराम माल यादवको पुनरावेदनः पूर्ववत् मुद्दाबाट हामी दुई अंशियार म पुनरावेदक र भाइ स्व. रघुवीर माल यादव सगोलमा र बन्डा गर्न बाँकी रहेको देखिएको छ । हामीबिचमा अंशबन्डा भइसकेको भनी स्पष्ट रूपमा खुल्ने कुनै लिखित प्रमाण छैन । व्यवहार प्रमाणबाट साबिकमा नै अंश छुट्याइसकेको निष्कर्ष निकाल्न मिल्दैन । त्यसकारण, वादी दाबी पुग्न नसक्ने भनी पुनरावेदन अदालत विराटनगरबाट भएको फैसला प्रमाण ऐन, २०३१ को दफा ५४, मुलुकी ऐन, अंशबन्डाको ३० नं., ऐ. ऐनको अ.बं. १८४क नं., १८५ नं.समेतको कानूनी त्रुटिपूर्ण रहेकोले उक्त पुनरावेदन अदालत विराटनगरको फैसला उल्टी गरी मेरो जिकिरबमोजिम सुरू सुनसरी जिल्ला अदालतको फैसला सदर हुने गरिपाउँ भन्नेसमेत बेहोराको वादी सिताराम माल यादवको तर्फबाट यस अदालतसमक्ष पेस हुन आएको पुनरावेदन ।

यस अदालतको आदेशः यसमा मूल पुरूष लाली मान यादवका ६ जना छोराहरूमध्ये तीन जना सदानन्द, श्रीलाल र चन्द्रदेव यादवले २०४५ सालको दे.नं.२०५२ र अर्का छोरा दामोदर यादवले पनि २०५५ सालको दे.नं. १०७४ को अंश चलन मुद्दाबाट अंश लिई छुट्टीभिन्न भइसकेको देखिएकोमा बाँकी दुई दाजुभाइ यी वादी सिताराम यादव र रघुवीर यादवबिच अंशबन्डा भई रजिस्ट्रेसन पास भएको कुनै लिखत रहेको देखिँदैन । मिति २०३४।०९।२७ मा भएको मुलुकी ऐन, सातौं संशोधनपछि अंशबन्डाको लिखत रजिस्ट्रेसन पास हुनुपर्ने बाध्यात्मक कानूनी व्यवस्था रहेको अवस्थामा वादीले अंश पाइसकेको भन्ने पारित लिखतको अभावमा अंश नपाउने भनी ठहर्‍याएको पुनरावेदन अदालत विराटनगरको मिति २०६९।१२।०७ को फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्नसक्ने हुँदा मुलुकी ऐन, अ.बं. २०२ नं.बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नू भन्नेसमेत यस अदालतबाट मिति २०७३।०५।०८ मा जारी भएको आदेश ।

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनपत्रसहितको मिसिल संलग्न कागजातसमेत अध्ययन गरी हेरियो ।

पुनरावेदक वादीका तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री तुलसीराम निरौला र श्री शतिषकृष्ण खरेलले, लाली माल यादवका ६ जना छोराहरूमध्ये तीन जना सदानन्द, श्रीलाल र चन्द्रदेव यादवले २०४५ सालको दे.नं.२०५२ र अर्का छोरा दामोदर यादवले पनि २०५५ सालको दे.नं. १०७४ को अंश चलन मुद्दाबाट अंश लिई छुट्टीभिन्न भइसकेका थिए । मेरो पक्ष यी पुनरावेदक वादी सिताराम यादव र प्रतिवादी रघुवीर यादव सगोलमा नै रहेको अवस्था छ । मेरो पक्षले अंश लिइसकेको भनी स्पष्ट रूपमा खुल्ने कुनै लिखित प्रमाण छैन । मुलुकी ऐनमा सातौं संशोधन भएपछि अंशबन्डाको लिखत रजिस्ट्रेसन पास हुनुपर्ने बाध्यात्मक कानूनी व्यवस्था रहेको अवस्था छ । यस अवस्थामा मेरो पक्षले पहिले नै अंश पाइसकेकोले पुनः अंश नपाउने भनी तत्कालीन पुनरावेदन अदालत विराटनगरबाट भएको फैसला त्रुटिपूर्ण रहेकोले बदर गरी फिराद दाबीबमोजिम मेरो पक्षले अंश पाउनुपर्दछ भनी बहस गर्नुभयो ।

प्रत्यर्थी प्रतिवादीहरूको तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री इन्द्रबहादुर अधिकारीले, अंश भएको लिखित कागज नभए पनि मानो छुट्टिई भिन्न बसी आ-आफ्नो खतीउपती गरी बसेको अवस्थालाई सगोलमै रहेको भन्न मिल्दैन । अंश हक पैतृक सम्पत्तिबाट एकपटक प्राप्त हुने हुन्छ, यो पटक-पटक प्राप्त भइरहने हक होइन । २०४५ सालको दे.नं. २०५२ को अंश चलन मुद्दा तथा २०५५ सालको दे.नं. १०७४ को अंश चलन मुद्दाबाट वादी प्रतिवादीका बिचमा अंशबन्डा भइसकेको देखिन्छ । यसरी, यी पुनरावेदक वादीले अंशबापतको पैतृक सम्पत्ति पहिले नै प्राप्त गरिसकेको अवस्था पूर्ववत् मुद्दाहरूबाट स्पष्ट रूपमा देखिएको छ । तसर्थ, वादी दाबी नपुग्ने ठहर गरी तत्कालीन पुनरावेदन अदालत विराटनगरबाट भएको फैसला न्यायोचित रहेकोले सदर हुनुपर्दछ भनी बहस गर्नुभयो ।

उपर्युक्तानुसारको बहस सुनी मिसिल संलग्न कागजातसमेत अध्ययन गरी हेर्दा, प्रस्तुत मुद्दामा तत्कालीन पुनरावेदन अदालत विराटनगरबाट मिति २०६९।१२।०७ मा भएको फैसला मिलेको छ वा छैन तथा वादी सिताराम माल यादवको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, अन्य अंशियारहरू अंश लिई छुट्टिसकेको र स्व. रघुवीरको परिवार तथा म सगोलमा बसिरहेकोमा हामीबिचमा विवाद हुने गरेकोले स्व. रघुवीरको छोरा विपक्षी इन्द्रदेव यादव नाम दर्ताको सुनसरी जिल्ला, पश्चिम कुशाहा गा.वि.स. वडा नं. ८ख, कि.नं. २९२, २९४, ऐ. वडा नं. ८क, कि.नं. ३८९ र अर्का छोरा विपक्षी धनिकलाल यादव नाम दर्ताको ऐ. वडा नं. ८ख, कि.नं. २८५, २११ समेतका जग्गालाई २ भाग लगाई एक भाग स्व. रघुवीरको हकमा एक भाग मेरो हकमा हुने गरी अंश दिलाइपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी रहेको देखिन्छ । प्रतिवादीका प्रतिउत्तर जिकिर हेर्दा, हामीका बिचमा चलेका २०४५ सालको दे.नं. २०५२ को अंश चलन मुद्दा तथा २०५५ सालको दे.नं. १०७४ को अंश चलन मुद्दाबाट वादी र हामीहरूका बिचमा अंशबन्डा भइसकेको हुँदा हामीले पुनः वादी दाबीबमोजिम वादीलाई अंश दिनुपर्ने होइन भन्नेसमेत बेहोराको संयुक्त प्रतिउत्तर जिकिर रहेको देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीबाट द.नं. ६२८७ मिति २०६५।०३।१२ मा दाखिल गरेको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिमध्ये देव नारायण गोठियाबाहेक अन्य सबै सम्पत्तिबाट २ भागको १ भाग वादीले अंश पाउने ठहर गरी सुरू सुनसरी जिल्ला अदालतबाट फैसला भएको पाइन्छ । सुरू फैसलाउपर चित्त नबुझाई प्रतिवादी इन्द्रदेव यादवसमेतको तर्फबाट तत्कालीन पुनरावेदन अदालत विराटनगरमा संयुक्त पुनरावेदन परेको देखिन्छ ।

३. उक्त पुनरावेदनउपर सुनुवाइ हुँदा, वादीले पैतृक सम्पत्ति प्राप्त गरिसकेको पूर्ववत् मुद्दाहरूबाट देखिएसमेतबाट सुरू फैसला उल्टी भई वादी दाबी नपुग्ने ठहर गरी तत्कालीन पुनरावेदन अदालत विराटनगरबाट फैसला भएको पाइन्छ । उक्त फैसलाउपर चित्त नबुझाई, हामीबिचमा अंशबन्डा भइसकेको भनी स्पष्ट रूपमा खुल्ने कुनै लिखित प्रमाण नै छैन । यद्यपि, मैले पहिले नै अंश पाइसकेको भनी वादी दाबी पुग्न नसक्ने ठहर गरेको तत्कालीन पुनरावेदन अदालत विराटनगरको फैसला त्रुटिपूर्ण रहेकोले बदर गरी मैले अंश पाउने ठहर गरेको सुरू सुनसरी जिल्ला अदालतको फैसला सदर हुने गरिपाउँ भनी वादी सिताराम माल यादवको तर्फबाट यस अदालतमा पुनरावेदन पेस हुन आएको देखिन्छ । मिति २०३४।०९।२७ मा मुलुकी ऐनमा सातौं संशोधन भएपछि अंशबन्डाको लिखत रजिस्ट्रेसन पास हुनुपर्ने बाध्यात्मक कानूनी व्यवस्था रहेको अवस्थामा वादीले अंश पाइसकेको भन्ने पारित लिखतको अभावमा वादीले अंश नपाउने ठहर गरी तत्कालीन पुनरावेदन अदालत विराटनगरबाट भएको फैसला फरक पर्न सक्ने हुँदा प्रत्यर्थी झिकाउने भनी यस अदालतबाट मिति २०७३।०५।०८ मा आदेश भई प्रस्तुत पुनरावेदन निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको अवस्था छ ।

४. प्रस्तुत मुद्दाको पक्षहरूको पुस्तेवारी सम्बन्धमा हेर्दा, लाली माल यादवका ६ छोराहरूमा जेठो छोरा यी पुनरावेदक वादी सिताराम माल यादव तथा अन्य छोराहरू रघुवीर यादव, दामोदर यादव, सदानन्द यादव, श्रीलाल यादव र चन्द्रदेव यादव भएका भन्ने देखिन्छ । लाली माल यादव र निजको श्रीमती तथा छोरा रघुवीर यादवको मृत्यु भइसकेको भन्ने छ । रघुवीर यादवका २ श्रीमतीहरू जेठी प्रतिवादी ठकनी देवी यादव र कान्छी प्रतिवादी फुलेश्वरी देवी यादव तथा २ छोराहरू प्रतिवादी धनिकलाल यादव र प्रतिवादी इन्द्रदेव यादव रहेका भन्ने देखिन्छ । सिताराम यादवका छोराहरू मनिलाल यादव र महानन्द यादव रहेको देखिन्छ । महानन्द यादवको पत्नी भोला देवी यादव तथा मनिलाल यादवको पत्नी सुशीलादेवी यादव रहेको भन्नेदेखिन्छ । उल्लिखित पुस्तेवारीको सम्बन्धमा पक्षहरूका बिचमा कुनै विवाद रहेको देखिएको पनि छैन ।

५. उल्लिखित नाता पुस्ताको सम्बन्ध रहेका यी पक्षहरूका बिचमा देहायअनुसारका पूर्ववत् मुद्दाहरू परी अदालतबाट फैसलासमेत भइसकेको यसै संलग्न मिसिलहरूको अध्ययनबाट देखिन्छः

(क) वादी सदानन्द यादव, श्रीलाल यादव र चन्द्रदेव यादवले सुनसरी जिल्ला अदालतमा यिनै पुनरावेदक सिताराम माल यादव, रघुवीर यादव र दामोदर यादवउपर २०४५ सालको दे.नं. २०५२ को अंश चलन मुद्दा दिएको देखिन्छ । ६ अंशियारहरूमध्ये सिताराम माल यादवका नाममा कि.नं. ४७, ५० र ५६ मा क्रमशः १-१-१९, ०-२-११ र ०-४-२समेत गरी जम्मा १-८-१२ जग्गा रहेको उक्त अंश चलन मुद्दाबाट देखिएको छ । त्यसैगरी, रघुवीर यादवका नाममा कि.नं. ८१ र ४३ मा क्रमशः ०-७-१ र १-१-२ समेत जम्मा १-८-३ जग्गा रहेको भन्ने छ । साथै, अन्य अंशियारहरूसँग कुनै सम्पत्ति रहेको नदेखिएको भनी उक्त अंश चलन मुद्दामा प्रतिवादी सिताराम यादव र रघुवीर यादवका नाममा रहेका उक्त सम्पत्तिको आधा अर्थात् ६ भागको ३ भाग आ-आफ्नो अंश भाग पाउने ठहर भई सुनसरी जिल्ला अदालतबाट मिति २०४७।०८।०६ मा फैसला भएको देखिएको छ ।

(ख) त्यसैगरी, बाँकी ३ अंशियारमध्ये दामोदर माल यादवले पनि सुनसरी जिल्ला अदालतमा यिनै पुनरावेदक सिताराम माल यादव र रघुवीर यादवउपर २०५५ सालको दे.नं. १०७४ को अंश चलन मुद्दा दिएको 

देखिन्छ । उक्त अंश चलन मुद्दामा वादी दामोदर माल यादवले प्रतिवादीहरू सिताराम माल यादव र रघुवीर यादवबाट ३ भागको १ भाग आफ्नो अंश भाग पाउने ठहर भई सुनसरी जिल्ला अदालतबाट मिति २०५७।०२।३० मा फैसला भएको प्रमाण मिसिलबाट देखिएको अवस्था छ ।

 

६. यी पुनरावेदक सिताराम माल यादव उल्लिखित दुवै मुद्दाहरूमा प्रतिवादी रहेको देखिन्छ । निज सिताराम माल यादवले उल्लिखित दे.नं. २०५२ को अंश मुद्दामा पेस गरेको प्रतिउत्तर पत्रमा, २०११ सालदेखि आफू अलग बसी आफ्नो खतीउपती गरेको, प्रतिवादीहरूका पति / पिता रघुवीर यादवले २०४२ सालमा शंकरप्रसाद साहु र दुखी साहुलाई १-३-५ र ०-१५-१ जग्गा बिक्री गरी अचल जग्गा जमिन समाप्त पारिसकेको भनी बेहोरा उल्लेख गरेको देखिन्छ । त्यसैगरी, उल्लिखित दे.नं. १०७४ को अंश मुद्दामा पेस गरेको प्रतिउत्तर पत्रमा समेत निज सिताराम माल यादवले आफू र प्रतिवादीहरूका पति / पिता रघुवीर यादव आ-आफ्नो खतीउपती गरी घर व्यवहारबाट छुट्टिभिन्न भइसकेको भनी बेहोरा उल्लेख गरेको देखिन्छ ।

७. मिति २०३४।०९।२७ मा साबिक मुलुकी ऐनको सातौँ संशोधन भएको पाइन्छ । सातौं संशोधनपश्चात् ऐ. ऐनको अंशबन्डाको महलको ३० नं. मा यसप्रकार कानूनी व्यवस्था रहेको पाइन्छः 

"अंशबन्डा गर्दा साक्षी राखी कानूनबमोजिम बन्डा छुट्टाई बन्डा पत्रको कागज खडा गरी लिने दिनेको र साक्षीको समेत सहीछाप गरी रजिस्ट्रेसन गर्नुपर्नेमा सो गरी राख्नु पर्छ । सोबमोजिम नभएको बन्डा सदर 

हुँदैन । तर यो ऐन प्रारम्भ हुँदासम्ममा बन्डापत्र खडा गरी वा नगरी घरसारमा नरम-गरम मिलाई अचल अंशबन्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाब भाग-शान्तिबमोजिम लिई पाई दाखिल खारेजसमेत गराइसकेको वा बन्डाबमोजिम आफ्नो आफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बन्डा भइसकेको ठहरेमा पछि बन्डापत्र रजिस्ट्रेसन भएको छैन वा बन्डा घटी बढी असल कमसल भयो भन्न 

पाउँदैन । रजिस्ट्रेसन नभए पनि बन्डा भएको सदर हुन्छ । पाउने अंशभन्दा घटी अंश जिउनी लिएकोमा र अंश छोडपत्र गरेकोमा भने रजिस्ट्रेसन भएको हुनुपर्छ ।" 

 

८. व्यवहार प्रमाणबाट छुट्टीभिन्न भएकोलाई उक्त ३० नं. ले अंशबन्डा भएको मानिने भनी मान्यता दिएकै अवस्था पाइन्छ । सो व्यवहार प्रमाणले पैतृक सम्पत्तिहरू न्यायोचित रूपमा बाँडफाँट भई अंशियारहरूको आ-आफ्नो अंशभागमा दर्ता, भोग, तिरो आदि भएको तथ्य भने प्रमाणबाट देखिनु पनि पर्ने हुन्छ । व्यवहार प्रमाणबाट पनि अंशबन्डा गरिने र सोलाई कानूनी मान्यता दिने हाम्रो न्यायिक अभ्यास पनि रहेकै अवस्था छ । यसै सन्दर्भमा, 

"अंशबन्डाको ३० नं. को प्रयोग र प्रयोजनका लागि विवादको स्वरूप, सम्पत्तिको प्रकृति एवं वादी प्रतिवादीहरूको व्यवहार नै निर्धारक तत्त्व हुन् । यस कानूनले व्यवहार प्रमाणबाट बन्डा भएको मानिने सुनिश्चित आधार नदिई केवल केही निर्णायक तत्त्वहरूको परिधि तोकिदिएको छ । यही परिधिको सीमाभित्र रही प्रत्येक मुद्दाको वस्तुस्थिति र सबुद प्रमाणको मूल्याङ्कन गर्दै न्यायकर्ताले एउटा न्यायिक निष्कर्ष निकाल्नुपर्ने"; 

"परिवारको कुनै सदस्य उद्यमशील तथा परिश्रमी र कुनै सदस्य निष्क्रिय तथा उडन्ते भएको अवस्थामा उद्यमशील र परिश्रमी सदस्यको हित संरक्षण गर्दै समाजमा न्यायोचित वातावरणको स्थापना गर्नमा अंशबन्डाको ३० नं. को उद्देश्य परिलक्षित  छ । त्यस बेलाको बन्डा हुनपर्ने सम्पत्तिको न्यायोचित विभाजन भएको र यसलाई आफ्नो आचरणद्वारा अहिले अंश माग गर्ने पक्षसमेतले स्वीकारेको देखिनु नै व्यवहार प्रमाणबाट अंशबन्डा भइसकेको न्यायिक निचोड निकाल्न पर्याप्त आधार हुने";

"आचरणबाट बन्डा भएको कुरा अंशियारले स्वीकार्ने माध्यम लिखत, आपसी व्यवहार, आपसी कारोबार, अलग–अलग बासस्थान र समयको अस्वाभाविक अन्तराल हुन् । यी तत्त्वमध्ये एक वा एकभन्दा बढी अवस्थाको विद्यमानताले अंशबन्डाको ३० नं. को आवश्यकता पूरा गर्दछ । यस कसीमा जति बढी तत्त्वलाई प्रमाणले अङ्गीकार गर्दछ त्यति बढी व्यवहार प्रमाणबाट अंशबन्डा भइसकेको कुरामा अदालत विश्वस्त हुने" 

(ने.का.प. २०६६, अङ्क ९, नि.नं. ८२२७) भनी न्यायिक सिद्धान्त प्रतिपादनसमेत भएको पाइन्छ । 

 

९. अब, प्रस्तुत विवादमा पक्षहरूका बिचमा अंशबन्डाको लिखत रजिस्ट्रेसन परित भई अंशबन्डा भइसकेको भन्ने कागज प्रमाण पक्षहरूबाट पेस हुन सकेको तथा सो कुरा मिसिलबाट खुल्न सकेको अवस्था पनि छैन । यस अवस्थामा पक्षहरूका अन्य व्यवहार प्रमाणको विश्लेषण गरी निजहरूका बिचमा अंशबन्डा भए, नभए सम्बन्धमा निर्क्यौल गर्नुपर्ने देखिन आउँछ । सो सम्बन्धमा हेर्दा, उल्लिखित दे.नं. २०५२ को अंश मुद्दामा फैसला हुँदा अरूको नाउँमा सम्पत्ति नदेखिई यी पुनरावेदकको नाउँमा रहेको १-८-१२ र प्रतिवादीहरूका पति / पिता स्व. रघुवीर यादवको नाउँमा रहेको १-८-३ जग्गा अंशबन्डा लाग्ने ठहरी फैसला भएको पाइन्छ । उक्त फैसलाबाट यी दुवै पक्षका नाउँमा करिब-करिब बराबर परिणाममा जग्गा रहेकोमा उक्त अंशबन्डापश्चात् पनि दुवैमा करिब-करिब बराबर परिणाममा जग्गा बाँकी रहन गएको देखिन्छ । साथै, वादी सिताराम यादव र प्रतिवादी रघुवीर यादवले पैतृक बन्डा गर्नुपर्ने सम्पत्तिहरू अन्यत्र हक छाडी आफैँले तमसुकसमेत बनाई मुद्दा परी ठहरी लिलाम गर्ने क्रियाहरू भई पुनः आफ्नै परिवारको हकमा ल्याउने कार्यहरू भएको तथ्यसमेत देखिएको अवस्था छ । उल्लिखित दे.नं. २०५२ तथा दे.नं. १०७४ का दुईवटै अंश मुद्दाहरूको फैसला अन्तिम भई फैसलानुसार बन्डा मुचुल्का भई दाखेल खारेजसमेत गरिएको भन्ने देखिन्छ । 

१०. कि.नं. २५५ को ०-७-१२ जग्गा यी पुनरावेदक सिताराम यादवउपरको लेनदेन मुद्दाको बिगोमा राजाराम महतले लिलाम सकार गरी लिएको भन्ने देखिन्छ । उक्त जग्गा मिति २०५५।०१।२२ मा राजाराम महतले यिनै पुनरावेदकको छोराबुहारी भोला देवी यादवलाई बकसपत्र गरिदिएको देखिन्छ । अघि आफूबाट हक हस्तान्तरण भएको सम्पत्ति वादीले बुहारीकै नाउँमा घुमाउरो प्रक्रिया अपनाई बकसपत्रबाट फिर्ता लिएको देखिन्छ । साथै, प्रतिवादी रघुवीर यादवले दुखी साहुलाई दिएको जग्गा रघुवीर यादवको छोरा इन्द्रदेव यादवले खरिद गरी राजीनामाबाट प्राप्त गरेको भन्ने पनि देखिएको छ । यसरी, वादी प्रतिवादी दुवै पक्षले पुर्ख्यौली सम्पत्ति अन्य व्यक्तिलाई हक हस्तान्तरण गरी कसैले बकसपत्रबाट कसैले राजीनामाबाट आ-आफ्नै परिवारमा फिर्ता लिएको समेत देखिन्छ । पुनरावेदककै छोराबुहारी भोलादेवी यादवले बकसपत्रबाट प्राप्त उल्लिखित कि.नं. २५५ को ०-७-१२ जग्गा बन्डा नहुने भनी फैसलासमेत भइसकेको अवस्था देखिन्छ ।

११. यी पुनरावेदक वादी सिताराम माल यादवले २०६४ सालमा आएर ६२ वर्षको उमेरमा भाइ स्व. रघुवीर यादवका श्रीमती तथा छोराहरूबाट अंश दिलाइपाउँ भनी प्रस्तुत अंश चलन मुद्दा दर्ता गरेको देखिन्छ । प्रमाणका उल्लिखित दुवै अंश मुद्दाहरूमा प्रतिवादी रहेका यी पुनरावेदकले पेस गरेको प्रतिउत्तरमा, २०११ सालदेखि आफू अलग बसी आफ्नो खतीउपती गरेको, रघुवीर यादवले अचल जग्गा जमिन समाप्त पारिसकेको भनी बेहोरा उल्लेख गरेको अवस्थामा अब आएर आफू रघुवीरसँग छुट्टिभिन्न नभएको सगोलमै रहेको भन्न यी पुनरावेदकलाई विबन्धनको सिद्धान्तले समेत दिँदैन । साथै, यी पुनरावेदक तथा रघुवीर यादव प्रस्तुत मुद्दा दर्ता हुनुभन्दा धेरै समयअघि देखि नै अलग-अलग छुट्टिभिन्न बसेका तथा निजहरूबाट विभिन्न जग्गा जमिन बिक्री गर्ने, पुनः खरिद गर्ने जस्ता व्यवहार कारोबार भइसकेको देखिएको माथिका प्रकरणहरूमा उल्लेख गरिएकै छ । यी पुनरावेदकले समेत उक्त कुरा स्वीकारै गरेको अवस्था छ । साथै, पुनरावेदकले रघुवीर यादव जिउँदो छउन्जेल अंशमा दाबी गरेको देखिँदैन । यसरी, एकातर्फ यी वादीले आफू छुट्टिभिन्न भइसकेको भन्ने, प्रतिवादीका अघिल्लो पुस्ताको अंशियार (स्व. रघुवीर यादव) सँग पहिले नै कुनै जग्गा जमिन थिएन पनि भन्ने, आ-आफ्नो कारोबार, व्यवहारसमेत गरी आ-आफ्नो खतीउपतीसमेत अलग-अलग रहेको भनी प्रमाणको अंश मुद्दामा स्वीकार गरेकोमा फेरी निज रघुवीर यादवबाट अंश भाग माग गर्ने कुरा नै तर्कसङ्गत र युक्तियुक्त देखिँदैन । समान पुस्तास्तरका अंशियारका बिचमा एकपटक व्यवहार प्रमाणबाट भएको अंशबन्डा अन्यथा प्रमाणित नभएसम्म निज अंशियारका बिचमा पुनः अंशबन्डा गर्ने हो भने उक्त कार्यले व्यक्तिको व्यक्तिगत सिप, परिश्रमको प्रतिफल निषेध हुन जान्छ ।

१२. कानूनले पैतृक सम्पत्तिउपर सन्तानको अंश हकलाई पूर्ण रूपमा संरक्षण गरेको पाइन्छ, तथापि यो हक पटक-पटक प्राप्त भइरहने प्रकृतिको हक भने होइन । आफूले पाउनुपर्ने अंश हक जुनसुकै माध्यमबाट भए पनि एकपटक प्राप्त भइसकेपछि अन्यथा प्रमाणित नभएमा पैतृक सम्पत्तिउपरको अंश हक सधैँको लागि समाप्त हुन्छ । यसै सन्दर्भमा, "अंशको हक जन्मबाटै व्यक्तिले प्राप्त गर्ने हुनाले यो कुण्ठित हुनु हुँदैन तर जे जति भए पनि एक-पटक अंश लिइसकेपछि सो हक समाप्त हुन्छ । जुनसुकै बेहोराबाट भए पनि आफूले प्राप्त गर्ने भागजति प्राप्त गरेपछि अंशबन्डाको लिखत नभएको भन्ने आधारमा पटक-पटक अंशमा दाबी गर्न र अंश पाइरहने भन्ने स्थिति स्वीकार्य हुन नसक्ने" (ने.का.प. २०६६, अङ्क २, नि.नं. ८०८८) भनी न्यायिक सिद्धान्त प्रतिपादनसमेत भएको 

पाइन्छ । तसर्थ, यी पुनरावेदक वादी सिताराम माल यादवले पैतृक सम्पत्ति व्यवहार प्रमाणबाट प्राप्त गरिसकेको देखिएको अवस्थामा निजले पुनः अंश प्राप्त गर्न सक्ने अवस्था नहुँदा, वादी दाबी नपुग्ने ठहर गरी तत्कालीन पुनरावेदन अदालत विराटनगरबाट भएको फैसला न्यायोचित देखिँदा परिवर्तन गरिरहनुपर्ने देखिएन ।

१३. अतः उल्लिखित आधार कारणबाट यी पुनरावेदक वादी सिताराम माल यादव र प्रतिवादीहरूको पति / पिता स्व. रघुवीर यादवका बिचमा व्यवहार प्रमाणहरूबाट अंशबन्डा भइसकेको पुष्टि भइरहेको हुँदा वादी दाबीबमोजिम निज पुनरावेदक वादीले पुनः अंश पाउन सक्ने अवस्था नदेखिँदा, वादी सिताराम माल यादवले अंश पाउने ठहर गरेको सुरू सुनसरी जिल्ला अदालतको मिति २०६५।१०।२३ को फैसला उल्टी गरी वादी दाबी नपुग्ने ठहर्‍याई तत्कालीन पुनरावेदन अदालत विराटनगरबाट मिति २०६९।१२।०७ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । फिराद दाबीबमोजिम अंश दिलाइपाउँ भन्ने वादी सिताराम माल यादवको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी दायरीको लगत कट्टा गर्नु र मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. तिलप्रसाद श्रेष्ठ

 

इजलास अधिकृत : वसन्तप्रसाद मैनाली

इति संवत् २०७९ साल आश्विन २ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु