शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११२६९ - झुठ्ठा विवरण पेस गरी नागरिकता लिएको

भाग: ६६ साल: २०८१ महिना: श्रावण अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश  डा. श्री आनन्दमोहन भट्टराई 

माननीय न्यायाधीश श्री नहकुल सुवेदी

फैसला मिति : २०७९।०९।१७

०७४-CR-०८१५

 

मुद्दाः- झुठ्ठा विवरण पेस गरी नागरिकता लिएको

 

पुनरावेदक / प्रतिवादी : सर्लाही जिल्ला, रामवन गाउँ विकास समिति, वडा नं.२ बस्ने उमामहेश्वर साह

विरूद्ध

प्रत्यर्थी / वादी : अशोककुमार गुप्ताको जाहेरीले नेपाल सरकार

 

कोही व्यक्ति वंशजको आधारमा नागरिकता प्राप्त गर्न योग्य हुन्छ भने निजले सो योग्यता जन्मदै हासिल गरेको सम्झनुपर्ने ।

(प्रकरण नं. ५)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सतिसकृष्ण खरेल

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री दिनेशप्रसाद घिमिरे

अवलम्बित नजिर :

ने.का.प. २०७१, अङ्क-१, नि.नं. ९१०३

सम्बद्ध कानून :

नेपाल नागरिकता ऐन, २०६३ 

 

सुरू फैसला गर्ने :

मा. जि. न्या. कृष्णकमल अधिकारी

सर्लाही जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने :

मा. न्या. श्री प्रेमराज ढकाल

मा. न्या. श्री गुणराज ढुंगेल

पुनरावेदन अदालत, जनकपुर

 

फैसला

न्या.डा.आनन्दमोहन भट्टराई : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा(१) को खण्ड (क) र (ख) बमोजिम दोहोर्‍याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनसरह दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः 

तथ्य खण्ड

प्रतिवादी विदेश भारत, प्रान्त बिहार, जिल्ला सितामढी थाना सोनबरसा पञ्चायत, पुनरदाहा रजवरा पश्चिम ग्राम चिलरा बस्ने उमामहेश भन्ने उमामहेश्वर साह मिति २०६३।१०।१३ गतेका दिन जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट खटिएको नागरिकता टोलीबाट जिल्ला सर्लाही, रामवन गाउँ विकास समिति वडा नं.२ को बासिन्दा हुँ भनी झुठा विवरण पेस गरी १९३०१६/१७ नं. को नागरिकता प्रमाणपत्र लिएकोले निजलाई पक्राउ गरी निजबाट सोधपुछ गरी संलग्न रहेका व्यक्तिहरूलाई पक्राउ गरी आवश्यक कारबाही गरिपाउँ भन्ने बेहोराको जाहेरी दरखास्त ।

मेरो वास्तविक वतन विदेश भारत, प्रान्त बिहार, जिल्ला सितामढी थाना सोनवरसा पञ्चायत, पुनरदाहा रजवरा पश्चिम ग्राम चिलरा भई सो स्थानमा मतदाता नामावलीमा मेरो नाम समावेश रहे तापनि मेरो मावली गाउँ जिल्ला सर्लाही, रामवन गाउँ विकास समिति, वडा नं. २ मा पर्दछ । मावलीतर्फ एक मात्र छोरी मेरी आमा फेकनी देवी हो, सोही गाउँमा ०-७-१० र ०-१-८ गरी दुईवटा घडेरी छ । सो घडेरीमध्ये ०-७-१० मा फुलवारी, ०-१-८ मा घर रहेको छ । मेरो जन्म मावली गाउँमा नै भएको हो । हामी सबै परिवार रामवन गाउँमा नै बस्दै आएको हो । मेरो विवाह जिल्ला सर्लाही, लक्ष्मीपुर सुकचैना गाउँ विकास समिति वडा नं. १ रामऔतार साहकी छोरीसँग भएको हो । मेरी आमाको आमा राजकुमारी भन्ने फुलकुमारी साहले जिल्ला सर्लाही, लक्ष्मीपुर १ स्थित रहेको २-१०-० जमिन मलाई हस्तान्तरण गरेकोमा सो बखत मेरो नेपाली नागरिकता नभएको कारण ससुरा रामऔतार साहका नाउँमा १-१०-० र सासू झरोखादेवीको नाउँमा १-०-१ जमिन पास गरिदिएको हो । बाबुको २०४० सालतिर र आमाको १८/२० वर्षपहिला कालगतिले मृत्यु भएको हो । मावलीको जमिन र आमाले पास गरिदिनु भएको जमिन मैले नै भोगचलन गर्दै आएको हुँदा मैले नेपाली नागरिकता लिनको लागि मिति २०६३।१०।१३ गते रामवन गाउँ विकास समितिमा खटिएको नागरिकता टोलीबाट नागरिकता बनाउनलाई आफ्नो आमाको वंशज नागरिकताको फोटोकपी र जग्गा जमिनको लालपुर्जा लिई तत्कालीन गाउँ विकास समितिको सचिवबाट सिफारिस गराई सोही सिफारिसको आधारमा १९३०१६/१७ नं. को नागरिकता प्रमाणपत्र प्राप्त गरेको हो भन्ने बेहोराको उमामहेश भन्ने उमामहेश्वर साह कलवारले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।

हाल यस कार्यालयमा पक्राउमा परेका प्रतिवादी विदेश भारत, जिल्ला सितामढी थाना सोनवरसा पञ्चायत, पुनरदाहा रजवरा पश्चिम ग्राम चिलरा बस्ने उमामहेश भन्ने उमामहेश्वर साह केही समयदेखि जिल्ला सर्लाही, रामवन गाउँ विकास समिति वडा नं. २ मा आएर बसी निज २०६३।१०।१३ मा रामवन गाउँमा खटी आएका नागरिकता टोलीबाट झुठो विवरण पेस गरी जन्मको आधारमा नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गरेको हो, निज हालसम्म भारतीय नागरिक हो भन्ने बेहोराको संजिवकुमार साहसमेतले गरेको घटना विवरण कागज ।

प्रतिवादी उमामहेश भन्ने उमामहेश्वर साहले झुठो विवरणको आधारमा नेपाली नागरिकता प्राप्त गरेको प्रमाणित हुँदा निजलाई नेपाल नागरिकता ऐन, २०६३ को दफा २१(१) बमोजिमको कसुर अपराधमा सोही दफाबमोजिम सजाय हुन र सिफारिसकर्ता गाउँ विकास समितिका सचिव छटु रायलाई सोही ऐनको दफा २१(२) अनुरूपको कसुर अपराधमा सोही दफा २१(२) बमोजिम सजाय हुन र निजको हकमा सम्मानित अदालतबाट म्याद जारी भई कारबाही हुनसमेतको मागदाबी लिई दायर भएको अभियोग पत्र ।

जाहेरवालाउपर दे.नं. २०९७ को घर भत्काई जग्गा खिचोला मुद्दामा मेरी सासू भारोसीदेवीको म वारेस भएकै कारण मउपर झुठ्ठा जाहेरी दिएको हो । मेरी आमा फेकनीदेवीको सर्लाही जिल्लाको रामवन-२ मा जन्म भई भारत, जिल्ला सितामढी थाना सोनवरसा पञ्चायत, पुनरदाहा रजवरा पश्चिम ग्राम चिलरा बस्ने रामलखन साहसँग विवाह भएको हो । मेरी आमाले २०४१/११/१६ मा नेपाली नागरिकता लिनुभएको 

छ । मेरी आमा नेपालको नागरिक भएको र म नेपालमै जन्मेको हुँदा मैले जन्मको आधारमा नागरिकता पाएको हुँ, मउपरको जाहेरी बेहोरा झुठ्ठा हो । म विदेशी होइन, नेपाली हुँ भन्नेसमेत बेहोराको प्रतिवादी उमामहेश भन्ने उमामहेश्वर साहले गरेको बयान ।

नेपाल सरकारको रेकर्डमा भएको आमाको वंशज नागरिकता, ५ जना मुचुल्कामा बस्ने र ३ जना सनाखत गर्ने मानिसको मुचुल्कासमेतको आधारमा मैले सिफारिस गरेको हुँ मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी छटु रायले गरेको 

बयान ।

पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी प्रतिवादी उमामहेश्वर साहलाई पुर्पक्षको लागि  अ.बं. १२१ नं.बमोजिम थुनुवापुर्जी दिई थुनामा राख्न जिल्ला कारागार कार्यालय रौतहटमा पठाउनु भन्ने सुरू सर्लाही जिल्ला अदालतको मिति २०६९/११/४ को आदेश ।

पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल पुर्पक्षको लागि अ.बं. ११८ को देहाय ५, १०  नं.बमोजिम प्रतिवादी छटु रायबाट रू.२५,०००।– नगद धरौट वा जेथा जमानत लिई तारेखमा राख्नु, दिन नसके अ.बं. ११८ नं.बमोजिम थुनुवापुर्जी दिई थुनामा राख्न कारागार कार्यालयमा पठाउनु भन्ने सुरू सर्लाही जिल्ला अदालतको मिति २०७०/१/१६ को आदेश ।

प्रतिवादी उमामहेश्वर साहकी आमा फेकनीदेवीले नेपाली नागरिकता लिएको छ तर निजको रामवन गाउँ विकास समितिमा जग्गा जमिन र बसोबास रहेको छैन । प्रतिवादी उमामहेश्वर साहको सर्लाही जिल्लाको रामवन गाउँ विकास समिति वडा नं. २ मा जन्म भएको भन्ने जन्मदर्ता प्रमाण पत्र कसरी बन्यो थाहा छैन भन्ने बेहोराको जाहेरवाला अशोककुमार गुप्ताको बकपत्र ।

प्रतिवादी उमामहेश भन्ने उमामहेश्वर साहको जन्म सर्लाही जिल्लाको रामवन गाउँ विकास समिति वडा नं. २ मा २०२५ सालमा भएको हो । सो ठाउँमा निजको जग्गा जमिन, मतदाता नामावलीमा नाम र बसोबास रहेको छ, निज भारतीय होइन । निजको आमाको विवाह भारतमा भए पनि एउटै छोरी मात्र सन्तान भएकोले बाबु आमाको सम्पत्ति रेखदेख गर्न वंशजको आधारमा नेपालको नागरिकता लिई नेपालमै बस्दै आएको हो भन्ने बेहोराको प्रतिवादी उमामहेश भन्ने उमामहेश्वर साहको साक्षी दिपलाल रायको बकपत्र । 

 प्रतिवादी उमामहेश भन्ने उमामहेश्वर साहले नागरिकताको आधार लिएको फेकनीदेवीको विवाह भारतमा भएको, फेकनीदेवीले नेपालको नागरिकता प्रमाणपत्र लिनुअघि नै भारतीय व्यक्तिसँग विवाह गरेको तथ्य स्थापित भइरहेको र सो तथ्यलाई अन्यथा हुने गरी प्रतिवादीको नेपालमै जन्म भएको भन्ने तथ्ययुक्त आधार मिसिल संलग्न रहे भएको नहुँदा निजले अभियोग दाबीबमोजिम नेपाल नागरिकता ऐन, २०६३ को दफा २१(१) को कसुर गरेको 

ठहर्छ । सो ठहर्नाले निजलाई सोहीबमोजिम १ वर्ष कैद हुने ठहर्छ । अर्का प्रतिवादी छटु रायको हकमा हेर्दा रामलखन राय, फेकनीदेवीसमेतले नेपाली नागरिकता प्राप्त गरेको कागजलाई टेकेर सिफारिस गरेको भन्ने प्रतिवादीको भनाइलाई अन्यथा मान्न नमिल्ने हुँदा निज प्रतिवादी छटु रायले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भन्ने सुरू सर्लाही जिल्ला अदालतको मिति २०७०।११।१३ को फैसला ।

नागरिकताको लागि सिफारिस भएका व्यक्ति उमामहेश भन्ने उमामहेश्वर साहलाई फैसलाले नै विदेशी भएको स्वीकार गरेको छ । नागरिकता लिँदाका आधारहरू झुठ्ठा ठहरेका छन् । झुठ्ठा आधारमा नागरिकता दिलाउने कार्यमा सिफारिस गर्ने व्यक्तिलाई नेपाल नागरिकता ऐनले सजायको व्यवस्था गरेको 

छ । निषेधित कार्य गर्दा दण्डको भागीदार हुनुपर्ने भन्ने फौजदारी न्यायको सिद्धान्त रहेको र उक्त व्यवस्था प्रतिकूल हुने गरी सुरू जिल्ला अदालतबाट फैसला भएको हुँदा प्रतिवादी छटु रायलाई सफाइ दिई भएको हदसम्मको उक्त फैसला बदर गरी प्रतिवादी छटु रायलाई समेत सुरू अभियोग मागदाबीअनुसार सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत जनकपुरमा परेको पुनरावेदन ।

मेरो जन्म २०२५|१|११ मा नेपाल सरहदमा नै भएकोले सोही आधारमा मैले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको हुँ । मेरी दिदी राजकेशरी देवीसमेतको नेपालमा जन्म भई नागरिकताको प्रमाणपत्र लिनुभएको छ । आमा फेकनीदेवीले २०४१।११।१६ मा नेपाली नागरिकता प्राप्त गरेको आधारमा मेरो २०२५|१|११ मा नेपाल सरहदभित्र जन्म भएको होइन भनी गरेको फैसला कानून तथा न्यायसम्मत नहुँदा सुरू सर्लाही जिल्ला अदालतको फैसला बदर गरिपाउँ भन्ने बेहोराको प्रतिवादी उमामहेश्वर साहको पुनरावेदन अदालत जनकपुरमा परेको पुनरावेदन ।

यसमा सिफारिसकर्तालाई सफाइ दिएको आधार प्रस्ट नखुलेको र प्रमाण मूल्याङ्कनको रोह तथा नेपाल नागरिकता ऐन, २०६३ को दफा ४ को कानूनी व्याख्याको सन्दर्भमा सुरूको फैसला विचारणीय भई फरक पर्न सक्ने देखिँदा अ.ब. २०२ नं. प्रयोजनार्थ प्रतिवादीको पुनरावेदनसहितको जानकारी पुनरावेदन सरकारी वकिल कार्यालयलाई दिनु र वादी नेपाल सरकारको पुनरावेदनको हकमा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत जनकपुरको मिति २०७१।१०।२८ को आदेश ।

सुरू सर्लाही जिल्ला अदालतबाट मिति २०७०।११।१३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक नेपाल सरकार र प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत जनकपुरको मिति २०७२।३।३० को फैसला ।

नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८(२) मा कुनै व्यक्तिको जन्म हुँदाको बखत निजको बाबु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको आधारमा नेपाली नागरिक ठहर्ने भन्ने र नेपाल नागरिकता ऐन, २०६३ को दफा ४ ले २०४६ चैत मसान्तसम्म नेपाल सरहदभित्र जन्म भई स्थायी रूपले बसोबास गर्दै आएको व्यक्ति जन्मको आधारमा नेपाली नागरिक हुने भनी व्यवस्था गरेको छ । यसै कानूनी व्यवस्थाको आधारमा नेपाल नागरिकता ऐन, २०६३ को दफा ८ को उपदफा (२) ले दफा ४ बमोजिमको सम्पूर्ण प्रक्रिया पूरा गरेर मैले नागरिकता प्राप्त गरेको अवस्थामा आमाको विवाह भारतीय मूलका व्यक्तिसँग भएको आधारबाट नेपालमा जन्मे बसेको होइन होला भन्ने अनुमानको आधारमा भएको फैसला शेष नैमुद्दिन वि. नेपाल सरकार भएको नागरिकता प्रमाण-पत्र रद्द गरी नेपाली नागरिकताबाट हटाउने मद्दामा (ने.का.प. २०७१, नि.नं. ९१०३, पृष्ठ ४२) प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल हुँदा उक्त फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने बेहोराको प्रतिवादी उमामहेश्वर साहले यस अदालतमा दर्ता गरेको मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्ने निवेदन ।    

यसमा यी निवेदक उमामहेश्वर साहको आमा फेकनीदेवी कलवारनी नेपालको नागरिक भई वंशजको आधारमा नागरिकता प्राप्त गरेको देखिएको, निजको नागरिकता बदर भएको नदेखिएको, मतदाता नामावलीमा नाम उल्लेख भएको देखिएको, नेपालमा नै जन्मेको तथा निवेदकले नेपालमा नै जन्मेको तथा निवेदकको स्थायी बसोबास नेपालमा भएको भनी रामवन गाउँ विकास समितिको कार्यालयबाट सिफारिस लिएको देखिन्छ । निवेदकले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा आफू नेपालमा नै जन्मेको भनी उल्लेख गरेको, स्थानीय सर्जमिन हुँदा नेपाली नागरिक र नेपालमा बसोबास गरेको भनी प्रमाणित गरिदिएको अवस्थामा यी प्रतिवादी उमामहेश्वर साहलाई कसुरदार ठहर्‍याई १ वर्ष कैद गर्ने गरेको पुनरावेदन अदालत जनकपुरको मिति २०७२।०३।३० को फैसलामा नागरिकता ऐन, २०६३ को दफा ४(२) तथा नागरिकता नियमावली, २०६३ को नियम ४(३) को व्याख्यात्मक त्रुटि देखिनुका अतिरिक्त ने.का.प २०७१, पृष्ठ ४२, नि.नं. ९१०३ मा प्रतिपादित सिद्धान्तको पालना भएको नदेखिएकोले न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) (क) र (ख) बमोजिम प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०७४।१०।०२ को आदेश ।

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री सतिसकृष्ण खरेलले पुनरावेदककी आमा फेकनीदेवी वंशजको आधारमा नेपाली नागरिक भएको, सबै दिदीबहिनी नेपाली नागरिक भएको, आफू नेपालमा नै जन्मेको भनी उल्लेख गर्नुका साथै मतदाता नामावलीमा नाम समावेश भएको, नेपालमै विवाह भई छोराछोरीको जन्मदर्ता पनि नेपालमै भइरहेको अवस्थामा कानूनबमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाली नागरिकता लिएको अवस्थामा झुट्ठा विवरणको आधारमा नागरिकता लिएको भन्न मिल्दैन भन्नेसमेत बहस गर्नुभयो ।

त्यसैगरी प्रत्यर्थी / वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान् सहन्यायाधिवक्ता श्री दिनेशप्रसाद घिमिरेले यी प्रतिवादीउपर किटानी जाहेरी दिने जाहेरवालाले आफ्नो जाहेरी बेहोरालाई समर्थन गर्दै बकपत्र गरिदिएको, पुनरावेदक स्वयम्‌ले आफ्नो वास्तविक वतन विदेश भारत, प्रान्त बिहार, जिल्ला सितामढी, थाना सोनवरसा पञ्चायत, पुनरदाहा रजवरा पश्चिम ग्राम चिलरा भएको र सो स्थानको मतदाता नामावलीमा नाम समावेश रहेको भनी मौकामा बयान गरेको, निजको आमाको विवाह नेपालमा नभई भारतीय व्यक्तिसँग भएको भनी स्वीकार गरिरहेको अवस्थामा निजले नेपाली नागरिकता लिएको अवस्थामा निजलाई आरोपित कसुरमा कसुरदार ठहरी सजाय गरेको पुनरावेदन अदालत जनकपुरको फैसला मनासिब हुँदा सदर कायम हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो । 

दुवैतर्फबाट उपस्थित विद्वान् कानून व्यवसायीहरूको बहससमेत सुनी पुनरावेदनसहितको मिसिल संलग्न सम्पूर्ण कागजात अध्ययन गरी हेर्दा पुनरावेदन अदालत जनकपुरको फैसला मिलेको छ वा छैन । पुनरावेदक / प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी उमामहेश्वर साहलाई नागरिकता ऐन, २०६३ को दफा २१(१) बमोजिमको कसुरमा सोही दफाअनुसार सजाय हुन र प्रतिवादी छटु रायलाई ऐ. ऐनको दफा २१(२) बमोजिमको कसुरमा सोही दफाअनुसार सजाय गरिपाउँ भन्ने अभियोग दाबी भएकोमा सुरू सर्लाही जिल्ला अदालतले प्रतिवादी उमामहेश्वर साहलाई अभियोग दाबीबमोजिम एक वर्ष कैद सजाय गरी अर्का प्रतिवादी छटु रायलाई आरोपित कसुरबाट सफाइ दिने गरी फैसला गरेको देखियो । सो फैसलाले सजाय गरेउपर प्रतिवादी उमामहेश्वर साहको र प्रतिवादी छटु रायलाई सफाइ दिएउपर वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत जनकपुरमा पुनरावेदन परेकोमा सो अदालतले जिल्ला अदालतबाट भएको फैसलालाई नै सदर हुने ठहर्‍याएपछि उक्त फैसलामा कानूनी त्रुटि रहनुका साथै सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत रहेको भन्दै मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी प्रतिवादी उमामहेश्वर साहको यस अदालतमा दिएको निवेदनमा दोहोर्‍याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनसरह दर्ता हुन आएको देखियो । 

३. सो सन्दर्भमा हेर्दा, सुरू तथा पुनरावेदन तहबाट सफाइ पाएका प्रतिवादी छटु रायउपर वादीको मुद्दा दोहोर्‍याई पाउँ भन्ने निवेदन परेको अवस्था नहुँदा प्रतिवादी उमामहेश्वर साहको हकमा मात्र सीमित रही प्रस्तुत मुद्दाको निरूपण हुनुपर्ने देखियो । यी पुनरावेदक उमामहेश्वर साहले लिएको पुनरावेदन जिकिर हेर्दा आफ्नी आमा वंशजको आधारमा नेपालको नागरिक भएको, आफू पनि नेपालमै जन्मी स्थायी रूपले बसोबास गर्दै आएकोले अन्तरिम संविधान, २०६३ को धारा ८(२) (ख) तथा नेपाल नागरिकता ऐन, २०६३ को दफा ४ बमोजिम आफूले नेपाली नागरिकता प्राप्त गरेको हो भन्दै अभियोग दाबीलाई इन्कार गरी बयान गरेको देखिन्छ । नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८(२) को प्रावधान हेर्दा "यो संविधान प्रारम्भ हुँदाको बखत नेपालमा स्थायी बसोबास भएको देहायको व्यक्ति वंशजको आधारमा नेपाली नागरिक ठहर्ने छ" भन्दै देहाय (ख) मा "कुनै व्यक्तिको जन्म हुँदाको बखत निजको बाबु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति" भनी उल्लेख भएको पाइन्छ । त्यसैगरी नेपाल नागरिकता ऐन, २०६३ को दफा ४ मा "संवत् २०४६ चैत मसान्तसम्म नेपाल सरहदभित्र जन्म भई नेपालमा स्थायी रूपले बसोबास गर्दै आएको व्यक्ति जन्मको आधारमा नेपाली नागरिक हुने" भन्ने उल्लेख भएको देखिन्छ भने ऐ. ऐनको दफा ८ को उपदफा (२) मा दफा ४ बमोजिम जन्मको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने व्यक्तिले निवेदनसाथ निम्नलिखित कागजातको प्रतिलिपि पेस गर्नुपर्ने छ भन्ने देखिन्छ । 

(क) निजको जन्म नेपालमा भएको र नेपालमा स्थायी रूपमा बसोबास गर्दै आएको बेहोरा खुल्ने गरी सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाले गरिदिएको सिफारिस, 

(ख) आफ्नो वा परिवारको नामको जग्गाधनी दर्ता प्रमाण पुर्जा वा मोहियानी हकको प्रमाणपत्र वा घरधुरी प्रमाणपत्र वा निर्वाचन आयोगले तयार गरेको मतदाता नामावलीमा निजको वा निजको बाबु वा आमाको नाम समावेश भएको प्रमाण ।

(४) कुनै व्यक्तिले उपदफा (१) वा (२) बमोजिमका प्रमाणहरू निवेदनसाथ पेस गर्न नसकेको अवस्थामा तोकिएको अधिकारीले स्थलगत सरजमिन र निवेदकलाई चिन्ने सोही वडामा बसोबास गर्ने कम्तीमा तीनजना नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका व्यक्तिले सरजमिन स्थलमै गरेको सनाखतको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिन सक्ने छ । 

(५) उपदफा (४) बमोजिम स्थलगत सरजमिन गर्दा निवेदक नेपालमा जन्म भई निरन्तर रूपमा स्थायी बसोबास भएको तथ्य स्पष्ट रूपमा उल्लेख भएको हुनुपर्ने छ ।

 

४. माथि उल्लिखित संवैधानिक एवम् कानूनी व्यवस्था हेर्दा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८(२) (ख) अनुसार आमा वा बाबु नेपाली नागरिक रहेको अवस्थामा निजहरूबाट जन्मेको सन्तानले "वंशज" को आधारमा र नेपाल नागरिकता ऐन, २०६३ को दफा ४ अनुसार २०४६ चैत मसान्तसम्म नेपालमा जन्मी स्थायी रूपले बसोबास गर्दै आएको व्यक्तिले "जन्म" को आधारमा नेपाली नागरिकता प्राप्त गर्न सक्ने देखिन्छ । जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले नेपाल नागरिकता ऐन, २०६३ को दफा ८ को उपदफा (२) मा दफा ४ बमोजिमको प्रक्रिया पूरा गर्नुपर्ने देखिन्छ ।  

५. अब, प्रस्तुत मुद्दाको सन्दर्भमा हेर्दा, यी पुनरावेदककी आमा फेकनीदेवी कलवारनीले २०४१/११/१६ मा वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेको देखिन्छ । कोही व्यक्ति वंशजको आधारमा नागरिकता प्राप्त गर्न योग्य हुन्छ भने निजले सो योग्याता जन्मदै हासिल गरेको सम्झनुपर्ने हुन्छ । फेकनीदेवीले २०४१/११/१६ मा नागरिकता लिए पनि निज जन्मदै नेपाली नागरिक रहेछ भनी बुझ्नुपर्ने हुन आयो । फेकनीदेवीको उक्त नागरिकतालाई वादी नेपाल सरकारले अभियोग पत्रमा वा जाहेरवालाले बकपत्र गर्दा अन्यथा भनी जिकिर लिन सकेको अवस्था छैन । यसको साथै मालपोत कार्यालय सर्लाहीको मिति २०२९/२/४ को निर्णयअनुसार सर्लाही जिल्लाको रामवन गाउँ विकास समितिको वडा नं.१ को कि.नं.२७ वडा नं. ६ को कि.नं. ३४, ३५, ४७, ८४, १२७, १३२, १३३, १४०, १४१, १५६, १५९ र १८६ का जग्गाहरू फुलकुमारी कलवारनीको पुर्जा खारेज भई निज फेकनीदेवी कलवारनीको दर्ता कायम भएको भन्ने मालपोत कार्यालय सर्लाहीको मिति २०७०/१/१३ को च.नं. ०६९/७० को पत्रबाट देखिन्छ । यी पुनरावेदकले आफू नेपालमै रामवन गाउँ विकास समितिको वडा नं. २ मावली गाउँमा २०२५ सालमा जन्मिएको भनी जिकिर लिएको देखिएको अवस्थामा निजकी आमा फेकनीदेवी कलवारनीले भारतीय व्यक्तिसँग विवाह गरे तापनि वंशजको आधारमा नेपाली नागरिकता लिनुका साथै मिति २०५७/१०/२९ मा निर्वाचन आयोगबाट मतदाता परिचयपत्र प्राप्त गरेको र निजको नाममा प्रशस्त अचल सम्पत्ति जग्गा जमिनसमेत रहेको देखिँदा नेपालमै बसोबास गरेको र सोही अवस्थामा यी पुनरावेदकको जन्म भएको मान्नुपर्ने देखिन आयो । 

६. यी पुनरावेदकलाई निर्वाचन आयोगले प्रदान गरेको मतदाता परिचयपत्र, मिति २०४२/३/९ मा रामकुमारीदेवीसँग विवाह गरेको भनी रामवन गाउँ पञ्चायत कार्यालयले मिति २०४२/७/२३ मा दिएको विवाह दर्ताको प्रमाणपत्र, मिति २०५३/५/५ मा निज सूचक भई भरेको अनुसूचीको आधारमा प्राप्त गरेको क्रमशः छोरी सरिताकुमारी र छोरा दयानन्दन साहको जन्मदर्ताको प्रमाणपत्रसमेतबाट यी पुनरावेदक पनि नेपालमा स्थायी रूपमा बसोबास गरी आएको भन्ने कुरालाई पुष्टि गरेको देखियो । जहाँसम्म निज प्रतिवादीले आफू नेपालमा जन्मिएको जन्म दर्ताको प्रमाणपत्र पेस गर्न नसकेको भन्ने पुनरावेदन अदालत जनकपुरले फैसला गर्दा लिएको आधार छ, सो सम्बन्धमा हेर्दा यी पुनरावेदक २०२५ सालमा जन्मिएको देखिन्छ तर जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ र नियमावली, २०३४ निज जन्मिएको करिब ८,९ वर्षपछि मात्र लागु भएको देखिँदा निजले जन्मदर्ताको प्रमाणपत्र पेस नगरेकै आधारमा नेपालमा जन्मिएको होइन भन्न सक्ने स्थिति देखिएन । 

७. यस स्थितिमा यी पुनरावेदक प्रतिवादीले जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गर्नका लागि नेपाल नागरिकता ऐन, २०६३ को दफा ८ को उपदफा (२) मा उल्लेख भएबमोजिम निजको आमा फेकनीदेवीको नागरिकता र जग्गाधनी दर्ता प्रमाण पुर्जा, स्थानीय व्यक्तिहरूको सरजमिन एवम् सिफारिसलगायतका आवश्यक कागजात पेस गरेको देखिन्छ । सोही कागजातको आधारमा निजलाई गाउँ विकास समितिको सचिवले नेपाली नागरिकताको प्रमाणपत्रको लागि सिफारिस गरेको भन्ने देखिएको र सो सिफारिसको आधारमा निजले मिति २०६३/१०/१३ मा ना.प्र.नं. १९३०१६/१७ को नागरिकता जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट प्राप्त गरेको देखिन्छ । निजको आमा फेकनीदेवीको नागरिकताको बारेमा जाहेरी एवम् अभियोगपत्रमा प्रश्न उठाउन नसकेको र गाउँ विकास समितिको सचिवले नागरिकताको लागि गरेको सिफारिसलाई कानूनसम्मत भन्दै निजलाई सजाय नै नगरी अभियोग दाबीबाट सफाइ दिएको अवस्था 

पाइयो । यसै सन्दर्भमा "पुनरावेदक प्रतिवादीले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्र लिँदा पुनरावेदकले फरेब गरी वा झुट्ठा बयान वा विवरण दिएको हो भन्ने कुराको पुष्टि हुन नसकिरहेको अवस्थामा निजलाई नागरिकताबाट हटाउने निर्णयलाई यथोचित मान्न नमिल्ने" (ने.का.प. २०७१, अङ्क-१, नि.नं. ९१०३) भनी सिद्धान्तसमेत प्रतिपादन भइरहेको अवस्था पाइयो । यसरी यी पुनरावेदकले नेपाली नागरिकता प्राप्त गर्न सक्ने गरी नेपालको अन्तरिम संविधान, २०६३, नेपाल नागरिकता ऐन, २०६३ एवम् यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको आधारमा यी पुनरावेदकले जन्मको आधारमा नागरिकता प्राप्त गर्न सक्ने नै हुँदा निजले झुट्ठा विवरण पेस गरी नेपालको नागरिकता लिएको भन्न मिलेन ।

८. तसर्थ, माथि विवेचित आधार, कारणसमेतबाट सुरू सर्लाही जिल्ला अदालतले यी पुनरावेदक प्रतिवादी उमामहेश्वर साहलाई अभियोग दाबीबमोजिम एक वर्ष कैद गर्ने गरी भएको फैसलालाई सदर हुने ठहर गरेको पुनरावेदन अदालत जनकपुरको मिति २०७२/३/३० को फैसला उल्टी भई यी पुनरावेदकले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । सो ठहर्नाले अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी उमामहेश्वर साहलाई एक वर्ष कैद गर्ने गरी सुरू सर्लाही जिल्ला अदालतबाट भएको फैसला पुनरावेदन अदालत जनकपुरबाट सदर हुने ठहरेकोमा उक्त फैसला उल्टी भई निजले अभियोग दाबीबाट सफाइ पाउने ठहरेको र निज प्रतिवादी मिति २०६९/१०/८ देखि २०७०/११/१३ सम्म थुनामा बसी मिति २०७०/११/१४ मा थुनामुक्त भइसकेको भन्ने कारागार कार्यालय, रौतहटको च.नं.३९६ मिति २०७०/११/१४ को पत्रबाट देखिएकोले सो सम्बन्धमा केही गरिरहनु परेन...........................................१

प्रस्तुत फैसलाको प्रतिलिपि साथै राखी महान्यायाधिवक्ताको कार्यालय, काठमाडौंलाई जानकारी दिनू............................................... २ 

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला विद्युतीय प्रणालीमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ............................३ 

 

उक्त रायमा सहमत छु ।

न्या. नहकुल सुवेदी

 

इजलास अधिकृत: कर्णबहादुर राई

इति संवत् २०७९ साल पुस १७ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु