निर्णय नं. ११२७३ - दूषित शेषपछिको बकसपत्र बदर

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
आदेश मिति : २०७९।०४।२४
०७१-CI-१६०५
मुद्दा:– दूषित शेषपछिको बकसपत्र बदर
पुनरावेदक / वादी : जिल्ला काठमाडौं, साँखु सुन्टोल गा.वि.स. वडा नं. १ बस्ने हरिभक्त श्रेष्ठको छोरा लक्ष्मीभक्त श्रेष्ठसमेत
विरूद्ध
विपक्षी / प्रतिवादी : जिल्ला काठमाडौं, साँखु सुन्टोल गा.वि.स. वडा नं.१ बस्ने हरिभक्त श्रेष्ठको छोरा श्रीभक्त श्रेष्ठसमेत
बन्डापत्रमा वादीहरूको हक समाप्त भएको स्पष्टरूपमा उल्लेख नभएको अवस्थामा आमाको नाउँमा एकलौटी दर्ता भएकै आधारमा पैतृक स्रोतबाट प्राप्त त्यस्तो जग्गाहरूमा निजले आफूखुस गर्न पाउने सम्पत्ति हो वा उक्त जग्गाहरूबाट वादीहरूको हक समाप्त भएको अर्थ गर्नु अंशसम्बन्धी अवधारणाको प्रतिकूल हुने ।
पैतृक सम्पत्तिको हकमा बन्डापत्रमा नै स्पष्ट रूपमा यो यति सम्पत्ति कुनै अंशियारको मात्र हक लाग्ने वा यो यस्तो सम्पत्ति यो अंशियारले मात्र खाने भन्ने स्पष्ट रूपले उल्लेख भएबाहेक बन्डापत्र मौन रहेको अवस्थामा कुनै सम्पत्ति यो यस्तो अंशियारको एकलौटी हुने एवम् अन्य अंशियारको हक नलाग्ने वा सो सम्पत्तिबाट कुनै अंशियारको हक समाप्त भएको अर्थ गर्नु न्यायोचित्त नहुने ।
(प्रकरण नं. ४)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रमेश कुमार मैनाली र विद्वान् अधिवक्ता श्री उमाशंकर जोशी
विपक्षी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री सर्मिला श्रेष्ठ र श्री सुनिलकुमार श्रेष्ठ
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने :
मा.जि.न्या.श्री खडानन्द तिवारी
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या.श्री विनोद शर्मा
मा.न्या.श्री मनोजकुमार शर्मा
पुनरावेदन अदालत पाटन
फैसला
न्या. प्रकाशमान सिंह राउत : साबिक न्याय प्रशासन ऐन, २०४८ दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन दर्ता हुन आई न्याय प्रशासन ऐन, २०७३ समेतले यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
तथ्य खण्ड
हामी फिरादीको बुबा स्व.हरिभक्त श्रेष्ठ र आमा टिकामाया श्रेष्ठको कोखबाट ४ छोराको जन्म भएको हो । जसमा जेठा म लक्ष्मीभक्त श्रेष्ठ, माइलो म फिरादी धर्मभक्त श्रेष्ठ, साहिँलो विपक्षीमध्येको श्रीभक्त श्रेष्ठ र कान्छो विपक्षी राजेन्द्रभक्त श्रेष्ठ हौं । त्यस्तै पाँच जना छोरीहरूको विवाह भइसकेको छ । आमा बुबाको मृत्यु भइसकेकोले हामी चार जना अंशियार रहेका
छौं । हामीहरूका बिच आमाको नाउँमा रहेको पछि बन्डा गर्ने घर सल्लाहबमोजिम आमाको नाममा हाललाई दुई कित्ता राख्ने र बाबुबाजेको दर्ता गर्न बाँकी जग्गा जमिन आमाकै नाममा पछि बन्डा गर्ने सहमति गरी मिति २०५४।०७।२१ गते सबै अंशियारहरूबिच अंशबन्डा भएको हो । केही पैतृक सम्पत्ति बाबुकै दाजुभाइबिच बन्डा नभएको र बुबाको शेषपछि आमाको चित्त दुखाउनु हुन्न भनी केही सम्पत्ति स्व.आमाकै नाउँमा राखिदिने सहमति भई आमाको नाउँमा राखेकोसम्म हो । हामी फिरादीसमेतको अंश हक मार्न विपक्षीहरूले एक आपसमा मिलेमतो गरी आमाको नाउँको सम्पूर्ण सम्पत्ति आफूहरूले खाने नियतले हामी फिरादीसमेत संरक्षक रहेको अवस्थामा हामीलाई थाहा जानकारी नदिई पारित गरेको र.नं.८८३० मिति २०६२।०९।०७ को शेषपछिको बकसपत्रमध्ये ४ भागको दुई भाग बदर गरिपाउँ भन्नेसमेत बेहोराको लक्ष्मीभक्त श्रेष्ठ र धर्मभक्त श्रेष्ठको संयुक्त फिरादपत्र ।
विपक्षी दाजुहरू हाम्रो विवाह हुनुपूर्वदेखि काठमाडौं बस्दै आउनुभएको हो । घरको सम्पूर्ण रेखदेख, आमा बुबाको स्वास्थ्य उपचार, पालन पोषण एवम् बुबा आमाको मृत्यु र मृत्युपश्चात् गरिने खर्च हामी प्रतिवादीहरूले गरेका हौं । दाजुहरूले घर व्यवहारको कुरामा कुनै चासो नदेखाएकाले आमा टिकामाया श्रेष्ठले मिति २०५४।०७।२१ मा विपक्षी दाजुहरूलाई अंश रोजाइ बन्डापत्र रजिस्ट्रेसन पारित गरिदिनुभएको हो । सो पारित बन्डापत्रमा आमा टिकामाया श्रेष्ठको अंश भागमा जिल्ला काठमाडौं, साँखु साल्पा गा.वि.स. वडा नं.१(ख) कि.नं.२६९ को १-६-१-० र ऐ.साँखु सुन्टोल गा.वि.स. वडा नं.८(क) कि.नं.४० को क्षेत्रफल १-११-२-० मोही चवानन्द करकेत कायम भएको खेत र सुरू दर्ता गर्न बाँकी भनी बन्डापत्रमा जनिएको र दर्ता गर्न निवेदन गरिएको आमाको एकलौटी दर्ता गरिदिने भनी बन्डापत्रमा जनिएको जग्गा आमा टिकामाया श्रेष्ठले वादीहरूको गैरजिम्मेवार व्यवहार बुझी हामीलाई शेषपछिको बकसपत्र गरिदिनुभएको हो । आफ्नो अंशभागमा परेको जग्गा आमाले हामीलाई शेषपछिको बकसपत्र गरिदिएकोले वादीहरूको अंश हक लाग्ने सम्पत्ति हामीले लिए खाएको होइन । वादीहरूको बदनियतपूर्ण फिराद दाबी खारेज गरिपाउँ भन्ने प्रतिवादी श्रीभक्त श्रेष्ठ र राजेन्द्रभक्त श्रेष्ठको संयुक्त प्रतिउत्तरपत्र ।
र.नं.८८३० मिति २०६२।०९।०७ को शेषपछिको बकसपत्रको प्रतिलिपिसमेतका कागजात सुरू मिसिल संलग्न रहेको ।
मिति २०६२।०९।०७ मा बहाल रहेको (२०६३।०७।१७ मा संशोधन हुनुपूर्व) मुलुकी ऐन, स्त्री अंशधनको महलमा रहेको व्यवस्थाअनुसार आमा टिकामाया श्रेष्ठले अचल सम्पत्तिको हकमा आधासम्म मात्र आफूखुस गर्न पाउने र आधाभन्दा बढीको अचल सम्पत्तिको हकमा यी वादीहरूको समेत मन्जुरी लिनुपर्ने देखिन आयो । चार छोरामध्ये दुई छोरा वादीहरूको दाबी परेको अवस्थामा अचल सम्पत्तिको हकमा लिखतको आधा हिस्सामध्ये चार दाजुभाइमध्ये दुई दाजुभाइ वादीहरूको हकमा सो लिखतले मान्यता पाउने देखिन आएन । तसर्थ, मिति २०६२।०९।०७ को शेषपछिको बकसपत्र लिखत अचलको आधा खण्डमध्ये ४ खण्डको २ खण्ड लिखत वादीहरूको हकसम्मको हदसम्म बदर हुने ठहर्छ भन्नेसमेत बेहोरा सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६९।११।११ को फैसला ।
आमा टिकामायाले हामीलाई शेषपछिको बकसपत्र गरिदिएको सम्पत्ति मिति २०५४।०७।२१ गते हामी सबै अंशियारहरूको मन्जुरीबाट भएको अंशबन्डाबाट प्राप्त भएको आफ्नो अंश भागको स्त्री अंशधन भई आमा टिकामायालाई स्याहार, सुसार, पालन पोषण र औषधी उपचारदेखि घरमा बसी सम्पूर्ण व्यवहार चलाउँदै आएका हामी दुई भाइलाई राजीखुसीले शेषपछिको बकसपत्र गरिदिएको हो । आमाले २०६२ सालमा दिएको शेषपछिको बकसपत्र मुलुकी ऐन, स्त्री अंशधनको महलको ८ नं.अनुसार भए गरेको मितिले २ वर्षभित्र नालिस दिनुपर्नेमा ६ वर्षपछि २०६८ सालमा आई मुद्दा गर्नु भनेको हदम्यादसम्बन्धी कानूनी व्यवस्थालाई समेत अदालतले वास्ता नगर्नु हो । जुन सर्वोच्च अदालतबाट प्रतिपादित नजिर ने.का.प.२०६६, अङ्क ४, नि.नं.८१३२ समेतको विपरीत रहेको छ । अंश लिई छुट्टीभिन्न बसिसकेका छोराहरूको मन्जुरी लिन नपर्ने अवस्थामा आमाले आफूखुसी गर्न पाउने सम्पत्ति आफूसँग बस्ने छोरालाई दिन विपक्षीहरूको मन्जुरी लिन नपर्ने कुरा सम्मानित सर्वोच्च अदालतबाट ने.का.प.२०६९, अङ्क ५, नि.नं.८८२१ मा बोलिसकेकोमा शेषपछिको बकसपत्रबाट पाएको सम्पत्तिलाई अचलमा २ भागमध्ये १ भागमा ४ भाग गरी ४ भागमध्ये दुई भाग विपक्षी दाजुहरूले पाउने गरी गरिएको काठमाडौं जिल्ला अदालतबाट भएको फैसला कानूनीरूपमा त्रुटिपूर्ण हुँदा उल्टी गरिपाउँ भन्नेसमेत बेहोराको श्रीभक्त श्रेष्ठ र राजेन्द्रभक्त श्रेष्ठको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।
यसमा यसै लगाउको दे.पु.नं.०३८१, १५३५ मुद्दामा आज यसै इजलासबाट प्रत्यर्थी झिकाउने आदेश भएकाले प्रस्तुत मुद्दा सो मुद्दासँग अन्तरप्रभावी देखिँदा अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षीका नाउँमा सूचना म्याद दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०७१।०२।२२ को आदेश ।
मुलुकी ऐन, स्त्री अंशधनको २ नं.मा मिति २०५९।०६।१० को एघारौं संशोधनबाट भएको व्यवस्था नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१) र १७ को विपरीत रहेको भनी सर्वोच्च अदालतबाट मिति २०६२।०८।३० मा अमान्य र बदर गरी फैसला भएको छ । प्रतिवादीहरूका आमा टिकामाया श्रेष्ठले मिति २०६२।०९।०७ मा स्त्री अंशधनको महलको २ नं. मा भएको व्यवस्था बदर भएपछि शेषपछिको बकसपत्र गरिदिएको हुँदा वादीहरूको मन्जुरी लिनुपर्ने भन्ने देखिँदैन । सो सम्पत्ति टिकामाया श्रेष्ठले आफूखुस गर्न पाउने देखिन आएकोले काठमाडौं जिल्ला अदालतबाट भएको फैसला मिलेको
देखिएन । तसर्थ, वादीहरूको हकसम्म बदर हुने ठहर्याएको काठमाडौं जिल्ला अदालतको मिति २०६९।११।११ को फैसला सो हदसम्म केही उल्टी भई वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनको मिति २०७१।०७।१३ को फैसला ।
सर्वोच्च अदालतको मिति २०६२।०८।३० को फैसला अंशको रूपमा स्वास्नी मानिसको स्वामित्व निहित भएपछि स्वामित्वको आधारभूत सिद्धान्त प्रतिकूल हुने गरी कानूनी व्यवस्था गर्न वाञ्छनीय नहुने भन्ने आधारमा स्त्री अंशधनको २ नं. अमान्य र बदर गरिएको हो । हामी वादी प्रतिवादीहरूका बिच भएको मिति २०५४।०७।२१, र.नं.२२८१ मा भएको बन्डापत्रमा आमा टिकामायाको अंश भागमा साँखु साल्खा गा.वि.स. वडा नं.१(ख) कि.नं.२६९ को १-६-१-० र ऐ.८(क) कि.नं.४० को १-११-२-० मात्र परेको बेहोरा बन्डापत्रबाट स्पष्ट छ । अंश हकमा नआएको सगोलको बन्डा हुन बाँकी सम्पत्ति आमा टिकामायाले बकसपत्र दिन मिल्ने होइन । पुनरावेदनको फैसलामा बन्डापत्रको व्याख्या र विश्लेषण भएको छैन । बन्डापत्रको ११ हरफदेखि १२ हरफमा बाँकी घर जग्गाको हकमा दर्ता हुन निवेदन गरी आएको भन्ने र त्यसपछि अर्को वाक्य सुरू गर्दा जग्गा आमा टिकामायालाई मात्र एकलौटी गरिदिने भनी उल्लेख गरिएको छ । जसमा कुनै जग्गा उल्लेख गरिएको छैन । त्यसरी उल्लेख नभएको अवस्थामा आमाको अंश भागमा परेको भनी अन्दाज गर्न मिल्ने होइन । अंश हक नै प्राप्त नभएको अवस्थामा स्त्री अंशधनको २ नं. अमान्य र बदर भएको र अंश हकको जग्गा आफूखुस गर्न पाउने भनी मिति २०६२।०९।०७ मा भएको शेषपछिको बकसपत्र कायम रहने गरी भएको फैसला खारेजभागी छ । दर्ता नभएको जग्गा अंशबन्डा गर्न मिल्दैन । आमाको नाममा दर्ता गरेको खण्डमा पछि सबै अंशियारले बन्डा गर्न सक्ने हुँदा सहमति गरी मूल अंशियार आमाको नाममा राखिएको हो । कुनै अंशियारको नाममा जग्गा दर्ता हुनु र अंशबन्डा हुनु फरक विषय हो । सगोलको पैतृक जग्गा आमाको नाममा एकलौटी दर्ता हुँदैमा आमाको अंशभागमा परेको अर्थ गर्न मिल्दैन । प्रमाण ऐन, २०३१ को दफा ६(क) अनुसार पनि बन्डा नभएको सम्पत्ति जुनसुकै अंशियारको नाममा भए पनि सगोलको मानिने हुँदा कुनै एक अंशियारले मात्र बकस दिन पाउने होइन । मुलुकी ऐन, दान बकसको महलको १ नं. मा आफूखुस गर्न पाउनेबाहेक अरूमा अंशियारको मन्जुरी लिनुपर्ने कानूनी व्यवस्था छ । अर्काको अंश हक मेटिने गरी बकसपत्र लेखिएको बदर हुन्छ भनी सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादन भएको अवस्था छ ।
आमा टिकामायाको नाममा मिति २०५४।०७।२१ को बन्डापत्रबाट ३-१-३-० जग्गा गएको देखिन्छ । हामी पुनरावेदकमध्ये लक्ष्मीभक्तको नाउँमा ०-२-३-१ र धर्मभक्तको भागमा ०-२-२-२ मात्र छ । त्यस्तै बन्डापछि आमाको नाममा साँखु साल्खा वडा नं. ३क को कि.नं.१८, ऐ.८ को कि.नं.१०९, ११०, ऐ.४ख को कि.नं.५९ र भक्तपुर चाँगु ५घ को ९४ समेतको गरी १५-१०-० जग्गा दर्ता भएको छ जुन अस्वाभाविकरूपमा बढी छ । सो जग्गा अबन्डा नमान्दा त्यति धेरै जग्गा आमाको नाममा राख्ने कारण छैन । यो मुलुकी ऐन, अंशबन्डाको २ नं.को विपरीत छ । बन्डापत्रबाट हक प्राप्त गरेकोबाहेक अन्य जग्गा आमाले शेषपछिको बकपत्र गरिदिन नपाउने हुँदा सो बन्डापत्रको व्याख्या नगरी भएको फैसला मुलुकी ऐन, अंशबन्डाको २ नं. तथा दानबकसको १ नं.विपरीत छ । बन्डापत्रमा बन्डा हुने सम्पत्ति र सोको मूल्य खुलाएपछि सोही सम्पत्तिमा अंशियारको भाग खुलाएको हुन्छ । मिति २०५४।०७।२१ को बन्डामा पनि जग्गाको विवरण र मूल्य राखी हामी अंशियारको भाग छुट्ट्याइएको छ । त्यसरी प्रत्येक अंशियारको अंशमा छुट्ट्याएको बाहेक अन्य घर जग्गा आफूखुस गर्न पाउने होइन । बन्डापत्र पारित गर्ने प्रयोजनका लागि मूल्य खुलाइने र सोही आधारमा राजस्व तिरेपछि बन्डापत्र पारित हुन्छ । यसरी बन्डामा नपरेको जग्गा शेषपछिको बकसपत्र पारित गरी लिएकोले सो शेषपछिको बकसपत्र कायम रहन सक्दैन । आमा टिकामाया ७२ वर्षे वृद्ध, रोगी, होस ठेगान नभएको र निरक्षर हुँदा के कुन कागजमा हस्ताक्षर गराएको जानकारी नहुने हुँदा त्यसरी गराएको कागजले मान्यता पाउने होइन । यस्तो परिस्थितिमा मुलुकी ऐन, अ.बं.८३ नं.बमोजिम हामी वादी छोराहरूलाई साक्षी नराखी गराएको कागज कायम रहन सक्दैन । ने.का.प.२०४१, नि.नं.२०६७ र ने.का.प.२०४८, नि.नं.४३४५ मा प्रतिपादित सिद्धान्तसमेतले हामी छोरालाई साक्षी राख्नुपर्ने देखिन्छ । तसर्थ, सो शेषपछिको बकसपत्रको लिखत कायम रहने गरी पुनरावेदन अदालत पाटनको मिति २०७१।०७।१३ को फैसला प्रमाण ऐन, २०३१ को दफा ३, ५४ तथा उक्त नजिरसमेतको विपरीत भएकोले बदर गरी सुरू जिल्ला अदालतको फैसला कायम राखिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदनपत्र ।
यसमा मिति २०५४।०७।२१ र.नं. २२८१ मा भएको बन्डापत्रको समुचित मूल्याङ्कन नगरी पुनरावेदन अदालत पाटनबाट मिति २०७१।०७।१३ मा भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं.को प्रयोजनार्थ विपक्षी झिकाई नियमानुसार पेस गर्नुहोला भन्ने बेहोराको यस अदालतको मिति २०७५।०२।१ को आदेश ।
यस अदालतको ठहर
नियमबमोजिम साप्ताहिक तथा दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री रमेशकुमार मैनाली र विद्वान् अधिवक्ता श्री उमाशंकर जोशीले शेषपछिको बकसपत्रबमोजिमको भनी प्रतिवादीहरूले आफ्नो नाउँमा दर्ता गराएको सम्पत्तिहरू पैतृक सम्पत्ति हो । आमाको नाममा भएको जग्गाहरू विपक्षीहरूसँग समेत भएको सहमतिको आधारमा हाम्रो पक्षसमेत मन्जुर भई आमा टिकामायाको नाममा राखेकोसम्म हो । बन्डा हुँदाका बखत आमाको नाममा राखेको सम्पत्ति बन्डा नगरी बाँकी राखिएको हो । १३ कित्ताका करिब १८ रोपनी जग्गा आमाको नाममा रहन गएको हो । उक्त सम्पत्ति पैतृक हो । अन्यथा हाम्रो पक्षले बन्डापत्रको आधारमा अंश पाएभन्दा कयौं गुणा बढी सम्पत्ति आमाको नाममा राख्नुपर्ने कारण छैन । मेरा पक्षको आमाको नाममा अस्वाभाविक रूपले बढी सम्पत्ति देखिएबाट पनि सो सम्पत्ति बन्डा हुन बाँकी रहेको पैतृक सम्पत्ति भन्ने पुष्टि हुन्छ । बन्डापत्रमा आमालाई एकलौटी गरिदिने भन्नुको तात्पर्य पछि बाँड्न सजिलो होस् भन्ने हो । बन्डापत्रमा कि.नं.४० र कि.नं.२६९ सम्म उल्लेख भएको भएको छ । अन्य सम्पत्तिलाई समेत आमाको अंश भागमा परेको आफूखुस गर्न पाउने मुलुकी ऐन, स्त्री अंशधनको २ नं.अन्तर्गतको ठहर गरी शेषपछिको बकसपत्र कायम राख्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय श्री सर्मिला श्रेष्ठ र श्री सुनिलकुमार श्रेष्ठ २०५४ सालमा नै असल कमसल मिलाएर वादी प्रतिवादीहरू र आमाको बिचमा बन्डा गरिएको
छ । आमा टिकामायाले समेत छोरासरह अंश पाएको देखिन्छ । कि.नं. ४० र कि.नं.२६९ को सम्पत्तिबाहेकका कि.नं.८० टिकामायाको नाममा दर्ताफारी बेहोराबाट आएको हो । बन्डापत्रमा दर्ता गर्न बाँकी सम्पत्ति आमाको एकलौटी हुने उल्लेख भएको कारण बन्डापत्र गरिएपछिको सम्पत्तिमा वादीहरूले दाबी गर्न पाउने अवस्था छैन । टिकामायाले अंशमा पाएको मुलुकी ऐन, स्त्री अंशधनको २ नं.ले आफूखुस गर्न पाउने सम्पत्ति हेरचाह र पालन पोषण गर्ने छोराहरूलाई शेषपछिको बकसपत्र गरिदिएको हुँदा बदर हुने होइन । पुनरावेदन अदालत पाटनको फैसला सदर गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
यसमा हामी वादी प्रतिवादीहरूका बिच २०५४ सालमा बन्डापत्र हुँदा आमा टिकामायाका नाउँमा राखेको सबै अंशियारहरूले बराबरी बाँडी खाने हामी वादीको समेत हक लाग्ने पैतृक सम्पत्ति प्रतिवादीहरू श्रीभक्त श्रेष्ठ र राजेन्द्रभक्त श्रेष्ठले एकलौटी खाने नियतले र.नं.८८३० मिति २०६२।०९।०७ बाट आमा टिकामायालाई शेषपछिको बकसपत्र गर्न लगाएकोले सो दूषित शेषपछिको बकसपत्र लिखत ४ भागको २ भाग बदर गरिपाउँ भन्ने वादी दाबी रहेको देखिन्छ । जिल्ला काठमाडौं, साँखु साल्पा गा.वि.स. वडा नं.१(ख) कि.नं.२६९ को १-६-१-० र ऐ.साँखु सुन्टोल गा.वि.स. वडा नं.८(क) कि.नं.४० को क्षेत्रफल १-११-२-० समेतका आफ्नो अंशभागमा परेको वादीहरूको हक नपुग्ने जग्गा तथा बन्डापत्रअनुसार आफूखुस गर्न पाउने जग्गा आमाले हामीलाई शेषपछिको बकसपत्र गरिदिएकोले वादी दाबी पुग्ने होइन भन्नेसमेत बेहोराको प्रतिउत्तर जिकिर रहेकोमा मुलुकी ऐन, स्त्री अंशधनको महलको २ नं. (२०६३।०७।१७ को संशोधनपूर्वको व्यवस्था) बमोजिम अचलको आधाभन्दा बढीमा वादीहरूको मन्जुरी लिनुपर्नेमा वादीहरूको मन्जुरी नलिएको कारण मिति २०६२।०९।०७ को शेषपछिको बकसपत्र लिखतमा उल्लिखित अचलको आधाको ४ खण्डको २ खण्ड वादीहरूको हकसम्म बदर हुने ठहर गरी सुरू काठमाडौं जिल्ला अदालतबाट फैसला भएको पाइन्छ । सो सुरू फैसलाउपर प्रतिवादीहरूको पुनरावेदन परेकोमा मुलुकी ऐन, स्त्री अंशधनको महलको २ नं.मा भएको उल्लिखित कानूनी व्यवस्था नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१) र १७ समेतको विपरीत रहेकोले अमान्य र बदर घोषित हुने गरी सर्वोच्च अदालतबाट मिति २०६२।०८।३० मा फैसला भएकोले वादीहरूको मन्जुरी लिनुपर्ने नदेखिई टिकामायाले आफूखुस गर्न पाउने सम्पत्ति देखिँदा काठमाडौं जिल्ला अदालतबाट भएको फैसला केही उल्टी गरी वादी दाबी पुग्न नसक्ने ठहर्याई पुनरावेदन अदालत पाटनबाट फैसला भएकोमा सो फैसलाउपर वादीहरूले चित्त नबुझाई यस अदालतमा पुनरावेदन गरेकोमा प्रत्यर्थीसमेत झिकाउने आदेश भएपश्चात् निर्णयार्थ आज इजलाससमक्ष पेस हुन आएको देखियो ।
पुनरावेदनपत्रमा लिइएका जिकिरहरू, विद्वान् वरिष्ठ अधिवक्ता तथा विद्वान् अधिवक्ताहरूबाट प्रस्तुत हुन आएका बहस बुँदाहरू र मिसिल संलग्न प्रमाण कागजातहरू अध्ययन गरी इन्साफतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा मुख्यतः निम्न विषयमा निर्णय दिनुपर्ने देखियो ।
(क) शेषपछिको बकसपत्रको आधारमा प्रतिवादीहरूले आफ्नो नाउँमा दा.खा. दर्ता गराएको जग्गाहरू वादीहरूको समेत हक पुग्ने पैतृक सम्पत्ति हो वा वादी प्रतिवादीकी आमा टिकामाया श्रेष्ठले कसैको मन्जुरी लिनु नपर्ने आफूखुस गर्न पाउने सम्पत्ति हो ?
(ख) वादी दाबीबमोजिम मिति २०६२।०९।०७ को शेषपछिको बकसपत्र लिखत बदर हुने हो होइन ? बकसपत्र लिखत बदर हुने हो भने के कति सम्पत्तिको हदसम्म बदर हुने हो ?
(ग) पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ वा छैन ?
२. निर्णयतर्फ विचार गर्दा, पहिलो प्रश्न निरूपण गर्नुअघि प्रस्तुत मुद्दाको तथ्यका सम्बन्धमा केही स्पष्ट हुन आवश्यक देखिन्छ । र.नं. २२८१ मिति २०५४।०७।२१ को बन्डापत्र लिखत खडा गरी यी वादी प्रतिवादीहरू र वादी प्रतिवादीहरूका आमा टिकामाया श्रेष्ठका बिचमा सहमतिमा आ-आफ्नो भाग छुट्ट्याई अंशबन्डा भएको देखिन्छ । सो बन्डापत्रअनुसार जिल्ला काठमाडौं, साँखु साल्खा गा.वि.स. वडा नं.१(ख) कि.नं.२६९ को १-६-१-० र जिल्ला काठमाडौं, साँखु सुन्टोल गा.वि.स. वडा नं. ८(क) कि.नं.४० को १-११-२-० दुई कित्ता जग्गा टिकामाया श्रेष्ठको भागमा परेको देखिन आउँछ । तत्पश्चात् मेरो नाममा रहेको श्रीसम्पत्ति अष्टलोहसमेत काज किरिया, पिण्ड तर्पण गरी बाँकी रहेको सम्पत्ति बाँडिखानु भन्ने बेहोरा पारी टिकामाया श्रेष्ठले प्रतिवादीहरू श्रीभक्त श्रेष्ठ र राजेन्द्रभक्त श्रेष्ठलाई र.नं. ८८३० मिति २०६२।०९।०७ मा शेषपछिको बकसपत्रको लिखत पारित गरिदिएको देखिन्छ । आमा टिकामाया श्रेष्ठको मिति २०६६।०६।१६ मा मृत्यु भएपश्चात् प्रतिवादीहरू श्रीभक्त श्रेष्ठ र राजेन्द्रभक्त श्रेष्ठले शेषपछिको बकसपत्र लिखतअनुसार आमा टिकामाया श्रेष्ठका नामको जिल्ला काठमाडौं, साँखु साल्खा गा.वि.स. वडा नं.१(ख) कि.नं.२६९ को १-६-१-० र जिल्ला काठमाडौं, सुन्टोल गा.वि.स. वडा नं.१ख कि.नं.४४ को ०-४-२-०, ऐ. कि.नं.८० को ०-३-१-० र ऐ.कि.नं.४६ को ०-२-०-० जग्गा आफ्नो नाममा दा.खा. गरिदिन भनी मालपोत कार्यालय चाबहिल, काठमाडौंमा निवेदन गरेबमोजिम सो कार्यालयको मिति २०६७।०३।०९ को निर्णयअनुसार उक्त ४ कित्ता जग्गा प्रतिवादीहरू श्रीभक्त श्रेष्ठ र राजेन्द्रभक्त श्रेष्ठका नाउँमा दा.खा. दर्ता भएको देखियो ।
३. अब, पहिलो प्रश्नतर्फ विचार गर्दा, जिल्ला काठमाडौं, सुन्टोल गा.वि.स. वडा नं.१ख कि.नं.४४ को ०-४-२-०, ऐ. कि.नं.८० को ०-३-१-० र ऐ.कि.नं.४६ को ०-२-०-० जग्गाहरू र.नं. २२८१ मिति २०५४।०७।२१ को बन्डापत्रमा उल्लेख भएको देखिँदैन । टिकामाया श्रेष्ठ र वादी प्रतिवादीहरूका बिचमा बन्डापत्र भइसकेपश्चात् वादी प्रतिवादीहरूका काका ठुलोबुबाहरूबाट दर्ता फारीलगायतका बेहोराबाट प्राप्त हुन आई टिकामाया श्रेष्ठका नाउँमा दर्ता कायम रहेको देखिन आएबाट उल्लिखित जग्गाहरू प्राप्तिको स्रोत नै पैतृक रहे भएको तथ्य स्थापित हुन
आउँछ । ती जग्गाहरू आमा टिकामाया श्रेष्ठको नाउँमा पैतृक स्रोतबाट प्राप्त हुन आएकोमा वादी प्रतिवादीहरूका बिचमा विवाद रहेको अवस्थासमेत देखिएन ।
४. बन्डापत्रमा "बाँकी घर जग्गाको हकमा दर्ता हुन बाँकी दर्ता गर्न निवेदन गरी आएको । जग्गा आमालाई एकलौटी गरिदिने" भन्ने शब्दावली रहेको देखिए पनि वादीहरूले सो दर्ता हुन आउने सम्पत्तिमा दाबी गर्न नपाउने, वादीहरूको हक नलाग्ने वा टिकामाया श्रेष्ठले आफूखुस गर्न पाउने भन्ने बेहोरा बन्डापत्रमा उल्लेख भएको देखिन आएन । बन्डापत्रमा वादीहरूको हक समाप्त भएको स्पष्ट रूपमा उल्लेख नभएको अवस्थामा टिकामाया श्रेष्ठको नाउँमा एकलौटी दर्ता भएकै आधारमा पैतृक स्रोतबाट प्राप्त त्यस्तो जग्गाहरूमा टिकामाया श्रेष्ठले आफूखुस गर्न पाउने सम्पत्ति हो वा उक्त जग्गाहरूबाट वादीहरूको हक समाप्त भएको अर्थ गर्नु अंशसम्बन्धी अवधारणाको प्रतिकूल हुने देखिन्छ । पैतृक सम्पत्तिको हकमा बन्डापत्रमा नै स्पष्ट रूपमा यो यति सम्पत्ति कुनै अंशियारको मात्र हक लाग्ने वा यो यस्तो सम्पत्ति यो अंशियारले खाने भन्ने स्पष्ट रूपले उल्लेख भए बाहेक बन्डापत्र मौन रहेको अवस्थामा कुनै सम्पत्ति यो यस्तो अंशियारको एकलौटी हुने एवम् अन्य अंशियारको हक नलाग्ने वा सो सम्पत्तिबाट कुनै अंशियारको हक समाप्त भएको अर्थ गर्नु न्यायोचित्त
हुँदैन । उल्लिखित बन्डापत्रमा अब उप्रान्त वादीहरूले कुनै सम्पत्तिमा दाबी गर्न नपाउने वा कुनै सम्पत्ति अबन्डा स्वरूपमा नरहने भन्ने बेहोरा स्पष्ट रूपमा उल्लेख भएकोसमेत देखिँदैन । प्रस्तुत मुद्दामा कि.नं. ४४, ८० र ४६ को जग्गा बन्डापत्र भइसकेपश्चात् पैतृक स्रोतबाट प्राप्त भएको सम्पत्ति हुँदा टिकामाया श्रेष्ठको नाउँमा दर्ता हुन आए पनि स्वाभाविक रूपमा अंशियारहरूको बिचमा हक लाग्ने अबन्डा स्वरूपमा रहेको पैतृक सम्पत्ति रहे भएको देखिन आउँछ । बन्डापत्रमा उल्लेख भएको एकलौटी भन्ने शब्दावलीबाहेक उक्त तीन कित्ता जग्गा टिकामाया श्रेष्ठले निजी तवरले आर्जन गरेको वा निजको निजी हुने गरी प्राप्त भएको आधारसमेत प्रतिवादीहरूले उल्लेख गर्न सकेको अवस्था देखिन आउँदैन । बन्डापत्र भएपश्चात् उल्लिखित तीन कित्ता जग्गा टिकामाया श्रेष्ठका नाउँमा एकलौटी दर्ता हुन आएको देखिए पनि सो जग्गाहरूमा अन्य अंशियारको हक नलाग्ने वा टिकामाया श्रेष्ठले मात्र आफूखुस गर्न पाउने बेहोरा उल्लेख भएको देखिएन । यसरी बन्डापत्र भएपछि आमा टिकामायाको नाउँमा एकलौटी दर्ता हुन आए पनि सो जग्गाहरूमा वादीहरूको हक समाप्त भएको घोषणा बन्डापत्रले गरेको नदेखिएको अवस्थामा बन्डापत्र भएपश्चात् प्राप्त कि.नं.४४, ८० र ४६ को जग्गा कुनै प्रकारले हक छाड्दा वा कसैलाई कुनै बेहोराले हक हस्तान्तरण गर्दा वादीहरूको मन्जुरी लिनु नपर्ने तथा टिकामाया श्रेष्ठले एकलौटी आफूखुस गर्न पाउने सम्पत्ति रहे भएको भनी व्याख्या गर्दा वादीहरू पैतृक सम्पत्ति प्राप्त गर्नबाट वञ्चित हुने भई वादीहरूको नैसर्गिक हकमा नै प्रतिकूल असर पर्ने अवस्था सिर्जित हुने देखिँदा वादीहरूको हक लाग्ने होइन भनी अर्थ गर्नु न्यायोचित हुने देखिएन ।
५. पुनरावेदन अदालत पाटनको मिति २०७१।०७।१३ को फैसलामा मुलुकी ऐन, स्त्री अंशधनको महलको २ नं. मा रहेको कानूनी प्रावधान नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१) र १७ समेतको विपरीत रहेकोले सर्वोच्च अदालतबाट मिति २०६२।०८।३० मा भएको फैसलाले अमान्य र बदर घोषित गरिदिएकाले सर्वोच्च अदालतबाट सो फैसला भएपश्चात् टिकामाया श्रेष्ठले शेषपछिको बकसपत्र गरिदिएको हुँदा मुलुकी ऐन, स्त्री अंशधनको महलको २ नं.बमोजिम टिकामाया श्रेष्ठले आफ्नो अंश भागको सम्पूर्ण चल अचल सम्पत्ति आफूखुस गर्न पाउने देखिन आएको भन्ने निर्णयाधार ग्रहण गरी सुरू काठमाडौं जिल्ला अदालतले स्त्री अंशधनको महलमा रहेको साबिक कानूनी व्यवस्थाबमोजिम गरेको फैसला केही उल्टी हुने एवम् वादी दाबी नपुग्ने ठहर गरी पुनरावेदन अदालत पाटनबाट फैसला भएको
देखिन्छ । सर्वोच्च अदालतको फैसलाअनुसार मुलुकी ऐन, स्त्री अंशधनको महलको २ नं. मा आएको परिवर्तनको सापेक्षतामा पुनरावेदन अदालत पाटनको फैसला मिलेको जस्तो देखिए पनि टिकामाया श्रेष्ठको अंश भागको आफूखुस गर्न पाउने सम्पत्ति भन्ने निर्णयाधार ग्रहण गरी सुरू फैसला उल्टी एवम् वादी दाबी नपुग्ने ठहर गर्दा र.नं. २२८१ मिति २०५४।०७।२१ को बन्डापत्रको यथेष्ट विवेचना, विश्लेषण एवम् मूल्याङ्कन अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ । वादीहरूको दाबीअनुसार आमा टिकामाया श्रेष्ठले गरिदिएको र.नं.८८३० मिति २०६२।०९।०७ को शेषपछिको बकसपत्र लिखत उल्लिखित मिति २०५४।०७।२१ को बन्डापत्र प्रतिकूल रहेकोले आफ्नो हकजति बदर हुनुपर्छ भन्ने छ भने प्रतिवादीहरूको जिकिरअनुसार सो शेषपछिको बकसपत्र लिखत बन्डापत्र सुसङ्गत रहेकोले बदर हुनुपर्ने होइन भन्ने छ । यसरी वादी र प्रतिवादीहरूको दाबी र जिकिर दृष्टिगत गर्दा विवादको प्रादुर्भाव नै बन्डापत्रबाट भएको देखिन्छ । यस दृष्टिले समेत बन्डापत्रको विवेचना एवम् मूल्याङ्कन अपरिहार्य देखिन आउँछ । यद्यपि, पुनरावेदन अदालत पाटनको फैसलामा बन्डापत्रको चर्चा भएको देखिएन । बन्डापत्रबाट के कस्तो सम्पत्तिहरू टिकामाया श्रेष्ठले प्राप्त गरेको हो ? के कति सम्पत्ति बन्डापत्रको र के कति सम्पत्ति बन्डापत्र बाहिरका हुन् ? बन्डापत्रमा उल्लेख नभएका बन्डापत्र भएपश्चात् टिकामाया श्रेष्ठका नाउँमा पैतृक स्रोतबाटै प्राप्त भई टिकामायाको नाममा दर्ता भएको जग्गाहरू के कसरी टिकामाया श्रेष्ठको आफूखुसी गर्न सक्ने सम्पत्ति हुने हो ? स्वभावतः नैसर्गिक हक रहने पैतृक स्रोतबाट प्राप्त उल्लिखित जग्गाहरूमा के कति कारणले वादीहरूको हक नपुग्ने हो ? भन्ने प्रश्नहरूको विवेचना गरी ती प्रश्नको निरूपण गरेर मात्र टिकामाया श्रेष्ठको आफूखुस गर्न पाउने सम्पत्ति हो होइन ? भनी निर्क्यौल गर्नुपर्नेमा पुनरावेदन अदालत पाटनबाट भएको फैसलामा मिति २०५४।०७।२१ को बन्डापत्रतर्फ दृष्टि पुर्याउने वा सो बन्डापत्रको विवेचना, विश्लेषण एवम् मूल्याङ्कन गर्ने कार्य भएको देखिन नआई त्यस विषयहरूतर्फ मौन रहेको देखियो । यस स्थितिमा पैतृक स्रोतबाट नै प्राप्त भई टिकामाया श्रेष्ठको नाउँमा दर्तासम्म भएको बन्डापत्रभन्दा बाहिरसमेतका समग्र जग्गाहरूलाई निजले आफूखुस गर्न पाउने सम्पत्तिको रूपमा परिभाषित गरी पुनरावेदन अदालत पाटनबाट ग्रहण गरिएको निर्णयाधारसँग सहमत हुन सकिएन ।
६. दोस्रो प्रश्न अर्थात् वादी दाबीबमोजिम मिति २०६२।०९।०७ को शेषपछिको बकसपत्र लिखत बदर हुने हो होइन ? बकसपत्र लिखत बदर हुने हो भने के कति सम्पत्तिको हदसम्म बदर हुने हो ? भन्ने प्रश्नका सम्बन्धमा विचार गर्दा, जिल्ला काठमाडौं, साँखु साल्खा गा.वि.स. वडा नं.१(ख) कि.नं.२६९ को १-६-१-० र जिल्ला काठमाडौं साँखु सुन्टोल गा.वि.स. वडा नं.८(क) कि.नं.४० को १-११-२-० जग्गाहरू र.नं. २२८१ मिति २०५४।०७।२१ को बन्डापत्र लिखतबाट वादी प्रतिवादीहरूकी आमा टिकामाया श्रेष्ठको अंश भागमा परेको देखिन आए पनि शेषपछिको बकसपत्रबमोजिम भनी प्रतिवादीहरूले बन्डापत्रमा उल्लेख भएको उक्त दुई कित्तामध्ये कि.नं.२६९ र बन्डापत्र बाहिरका कि.नं.४४, ८० र ४६ जग्गासमेत आफ्नो नाउँमा दा.खा.दर्ता गराएकोमा प्रारम्भमा वादीहरूले उल्लिखित सम्पूर्ण कित्ता जग्गामा दाबी गरेको देखिन्छ । यद्यपि, यस अदालतमा पुनरावेदन गर्दा आमा टिकामाया श्रेष्ठले बन्डापत्रमा पाएबाहेकका जग्गा शेषपछिको बकसपत्र गरिदिन नमिल्ने भनी बन्डापत्रबाट आमा टिकामाया श्रेष्ठले अंशमा पाएको जग्गामा परोक्ष रूपमा वादी दाबी परित्याग गरेको देखिन आयो । यसरी वादीले दाबी परित्याग गरेको र बन्डापत्रबाट प्राप्त भई मुलुकी ऐन, स्त्री अंशधनको महलको २ नं.बमोजिम अंशमा प्राप्त भई टिकामाया श्रेष्ठले आफूखुसी गर्न पाउने देखिएको उल्लिखित जग्गामध्ये कि.नं.२६९ को १-६-१-० जग्गा प्रतिवादीहरू श्रीभक्त श्रेष्ठ र राजेन्द्र श्रेष्ठले र.नं.८८३० मिति २०६२।०९।०७ को शेषपछिको बकसपत्र लिखतअनुसार आफ्नो नाउँमा दा.खा.दर्ता गराएको देखिएकोले सो कि.नं.२६९ को हकमा विचार गरिरहनु परेन ।
७. र.नं.८८३० मिति २०६२।०९।०७ को शेषपछिको बकसपत्रको लिखतमा "बाँकी रहेको सम्पत्ति तिमी दुई छोराहरूले बाँडी खानु" भनी प्रतिवादीहरूलाई टिकामाया श्रेष्ठले शेषपछिको बकसपत्र गरिदिएको देखिए पनि सो शेषपछिको बकसपत्र लिखतमा जग्गाहरू उल्लेख गरेको देखिन
आउँदैन । मिति २०५४।०७।२१ को बन्डापत्र र बकसपत्रमा उल्लेख नभएको अवस्थामा वादी प्रतिवादीहरूको आमा टिकामाया श्रेष्ठले आफ्नो हक पुग्ने कि.नं.२६९ को आफूखुस गर्न पाउने जग्गाबाहेक अन्य जग्गाहरू शेषपछिको बकसपत्र गरिदिएको मान्न मिल्ने देखिएन । जिल्ला काठमाडौं, सुन्टोल गा.वि.स. वडा नं.१ख कि.नं.४४ को ०-४-२-०, ऐ. कि.नं.८० को ०-३-१-० र ऐ.कि.नं.४६ को ०-२-०-० जग्गाहरू मिति २०५४।०७।२१ को बन्डापत्रमा परेको जग्गा नभई बन्डापत्र भइसकेपश्चात् वादी प्रतिवादीहरूका काका ठुलोबुबा नाताका व्यक्तिहरूबाट अर्थात् पैतृक स्रोतबाट प्राप्त भएको सम्पत्ति हुँदा टिकामाया श्रेष्ठको नाउँमा दर्ता हुन आए पनि स्वाभाविक रूपमा अंशियारहरूको बिचमा हक लाग्ने अबन्डा स्वरूपमा रहेको पैतृक सम्पत्ति देखिन आउँछ । बन्डापत्रमा आमा टिकामाया श्रेष्ठको नाममा एकलौटी दर्ता हुने भनिए पनि चार जना छोरामध्ये आमाले कुनै एक छोरा वा छोराहरूलाई मात्र बकसपत्रलगायतका कुनै तवरले हक छाडिदिन सक्ने भन्ने बेहोरा उल्लेख भएको
देखिँदैन । त्यसरी बन्डापत्र भएपछि आमा टिकामाया श्रेष्ठको नाउँमा दर्ता हुन आउने सम्पत्तिसमेत आफूखुस गर्न पाउने सम्पत्ति भई कुनै एक छोरा वा छोराहरूलाई मात्र बकसपत्रलगायतको बेहोराबाट हक हस्तान्तरण गर्न सक्ने भन्ने बेहोरा उल्लेख नभएको अवस्थामा कि.नं.४४, ८० र ४६ को पछि दर्ता हुन आएको जग्गासमेत टिकामाया श्रेष्ठको आफूखुस गर्न सक्ने सम्पत्ति भनी अर्थ गर्न कानूनतः मिल्ने
देखिएन । मुलुकी ऐन, दान बकसको महलको १ नं. मा "आफ्नो हक पुग्ने सम्पत्ति दान वा बकस गरिदिन हुन्छ । सोबमोजिम दान र बकस गरिदिँदा हकवालालाई बकस भनी र अरूलाई दान वा बकस जुन बेहोराले दिए पनि हुन्छ । आफ्नो खुस गर्न पाउनेबाहेक अरूमा अंशियार र हक पुग्नेहरूको मन्जुरीको लिखत नलिई वा साक्षी नराखी दान बकस गरिदिन हुँदैन" भन्ने व्यवस्था रहेको देखिन्छ । उल्लिखित कानूनी व्यवस्थाको दृष्टिले वादी प्रतिवादीहरूकी आमा टिकामाया श्रेष्ठले छोराहरू प्रतिवादी श्रीभक्त श्रेष्ठ र राजेन्द्रभक्त श्रेष्ठलाई शेषपछिको बकसपत्र गरिदिँदा पैतृक स्रोतबाट प्राप्त कि.नं.४४, ८० र ४६ को जग्गाको हकमा समान हक निहित रहेका वादीहरू लक्ष्मीभक्त श्रेष्ठ र धर्मभक्त श्रेष्ठको मन्जुरी लिनुपर्ने अनिवार्यता रहने देखिए पनि र.नं.८८३० मिति २०६२।०९।०७ को शेषपछिको बकसपत्रको लिखत हेर्दा वादीहरूको मन्जुरी लिएको देखिन आएन । यसरी वादीहरूको मन्जुरी नलिई निजहरूको हकसमेत रहेको पैतृक सम्पत्तिका रूपमा रहेको कि.नं. कि.नं.४४, ८० र ४६ को जग्गा सो र.नं.८८३० मिति २०६२।०९।०७ को शेषपछिको बकसपत्रको लिखतको आधारमा प्रतिवादीहरूले आफ्नो नाउँमा दर्ता गरेको देखिएकोमा वादीहरूको हकसम्म बदर गर्नुपर्नेमा सो र.नं. ८८३० मिति २०६२।९।७ को शेषपछिको बकसपत्र लिखत ४ खण्डको २ खण्ड बदर गर्ने गरी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला केही उल्टी गर्ने एवम् वादी दाबी नपुग्ने ठहर गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको देखिएन ।
८. वादी प्रतिवादीहरूकी आमा टिकामाया श्रेष्ठ वादी प्रतिवादीबाट सोही मिति २०५४।०७।२१ को बन्डापत्रबाट नै वादी प्रतिवादीहरूसँग छुट्टिई भिन्न भएको देखिन्छ । टिकामाया श्रेष्ठ मानो जोडेर वा अंश मिसाएर बकसपत्र पाउने प्रतिवादीहरूसँग बसेकोसमेत देखिँदैन । शेषपछिको बकसपत्र लिखतमा समेत छुट्टाछुट्टै बसी आएको भन्ने बेहोरा उल्लेख भएबाट पनि सो बेहोरा पुष्टि हुन्छ । यस अवस्थामा आमा टिकामायाको हकमा सबै छोराहरूको स्थिति समान देखिन आउँछ । समान अवस्थाका छोराहरूमध्ये उल्लिखित मिति २०५४।०७।२१ बन्डापत्रबाट टिकामाया श्रेष्ठको नाउँमा दर्ता हुन आएको कि.नं.२६९ को १-६-१-० को जग्गा प्रतिवादीहरूलाई शेषपछिको बकसपत्र दिएको र प्रतिवादीहरूले आफ्नो नाउँमा दा.खा. दर्ता गराएको परिप्रेक्ष्यमा उक्त जग्गा आमा टिकामाया श्रेष्ठको आफूखुस गर्न पाउने सम्पत्ति दिएको मान्न मिल्ने भए पनि सोबाहेकका पैतृक स्रोतबाट आमा टिकामाया श्रेष्ठको नाउँमा दर्ता हुन गएको कि.नं.४४, ८० र ४६ को जग्गामा वादीहरूको समेत बराबर भाग लाग्ने अबन्डा स्वरूपमा रहेको सम्पत्ति हुँदा ४ भागको २ भाग वादीहरूको हकसम्म र.नं.८८३० मिति २०६२।०९।०७ को शेषपछिको बकसपत्रको लिखत बदर गरिदिँदा न्यायको मकसदसमेत अन्यथा हुन जाने देखिएन ।
९. अतः माथि गरिएको विवेचना एवम् विश्लेषणसमेतका आधारमा जिल्ला काठमाडौं, सुन्टोल गा.वि.स. वडा नं.१ख कि.नं.४४ को ०-४-२-०, ऐ. कि.नं.८० को ०-३-१-० र ऐ.कि.नं.४६ को ०-२-०-० जग्गाहरू मिति २०५४।०७।२१ को बन्डापत्रमा परेको जग्गा नभई बन्डापत्र भइसकेपश्चात् पैतृक स्रोतबाट प्राप्त भई वादी प्रतिवादीहरू आमा टिकामाया श्रेष्ठका नाउँमा दर्ता हुन आएको जग्गाहरू भई वादीहरूको समेत बराबर हक लाग्ने एवम् कुनै तरहले हक छाड्दा वा हक हस्तान्तरण गर्दा वादीहरूको मन्जुरी लिनुपर्ने अबन्डा स्वरूपमा रहेको जग्गा देखिएकोमा मिति २०५४।०७।२१ को बन्डापत्रको यथोचित विवेचना एवम् विश्लेषण नगरी उक्त जग्गा मुलुकी ऐन, स्त्री अंशधनको महलको २ नं.ले टिकामाया श्रेष्ठले आफूखुसी गर्न पाउने सम्पत्ति भन्ने निर्णयाधार ग्रहण गरी र.नं. ८८३० मिति २०६२।९।७ को शेषपछिको बकसपत्र लिखत ४ खण्डको २ खण्ड बदर गरी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला केही उल्टी हुने एवम् वादी दाबी नपुग्ने ठहर गरी पुनरावेदन अदालत पाटनबाट मिति २०७१।०७।१३ मा भएको फैसला मिलेको नदेखिँदा उल्टी हुने
ठहर्छ । सो ठहरेकाले उक्त कि.नं.४४, ८० र ४६ को जग्गामध्ये आधा अर्थात् ४ भागको २ भाग जग्गाको हदसम्म र.नं.८८३० मिति २०६२।०९।०७ को शेषपछिको बकसपत्र लिखत बदर भई बदर भएजति जग्गा वादीहरूका नाउँमा दर्ता कायमसमेत हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम जिल्ला काठमाडौं, सुन्टोल गा.वि.स. वडा नं.१ख कि.नं.४४ को ०-४-२-०, ऐ. कि.नं.८० को ०-३-१-० र ऐ.कि.नं.४६ को ०-२-०-० जग्गाहरूमध्ये आधा अर्थात् ४ भागको दुई भाग जग्गाको हदसम्म र.नं.८८३० मिति २०६२।०९।०७ शेषपछिको बकसपत्र लिखत बदर भई वादीहरूका नाउँमा दर्ता कायमसमेत हुने ठहरेकाले वादीहरूको उल्लिखित जग्गा हाम्रो नाउँमा दा.खा.दर्ता गरिपाउँ भनी कानूनको म्यादभित्र दर्खास्त दिए कानूनबमोजिम नरम गरम छुट्ट्याउने प्रक्रियासमेत पूरा गरी वादीहरूको नाउँमा दा.खा.दर्ता गरी दिन सम्बन्धित मालपोत कार्यालय नाउँमा पुर्जी गरिदिनु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लेखी पठाइदिनू ....................१
वादीले फिराद दायर गर्दा राखेको कोर्ट फी रू.१००।- प्रतिवादीहरूबाट भरी पाउने हुँदा प्रतिवादीहरूबाट दिलाई भराइ पाउँ भनी प्रतिवादीहरूको यसै सरहदको जेथा देखाई कानूनका म्यादभित्र दर्खास्त दिए आवश्यक प्रक्रिया पूरा गरी सो कोर्ट फी वादीहरूलाई प्रतिवादीहरूबाट दिलाई भराइदिनू ......................२
सरोकारवालाले फैसलाको प्रतिलिपि पाउँ भनी रीतपूर्वकको निवेदनसाथ माग गरेमा नियमबमोजिम प्रतिलिपि उपलब्ध गराइदिनू ..............................३
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गर्नुका साथै फैसलाको विद्युतीय प्रति अपलोड गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू ............................४
उक्त रायमा सहमत छु ।
न्या. हरिप्रसाद फुयाल
इजलास अधिकृतः किरणकुमार सिंह
इति संवत् २०७९ साल श्रावण २४ गते रोज ३ शुभम् ।