शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११२७६ - लिखत बदर दर्ता बदर दर्ता कायम

भाग: ६६ साल: २०८१ महिना: श्रावण अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुष्मालता माथेमा

माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ

फैसला मिति : २०७९।१२।१४

०६९-कि-०८४९

 

मुद्दा:- लिखत बदर दर्ता बदर दर्ता कायम

 

पुनरावेदक  वादी : जिल्ला सप्तरी, गा ।वि ।स । वभनगामाकटी वडा नं । ४ बस्ने नन्दलाल यादवसमेत

विरूद्ध

प्रत्यर्थी  प्रतिवादी : जिल्ला सप्तरी, गा ।वि ।स । वभनगामाकटी वडा नं । ४ बस्ने साधु यादवकी पत्नी हर्जावती देवी यादवसमेत

 

अंश मुद्दाबाट अन्य अंशियारको समेत बन्डा लाग्ने ठहरी फैसला भइसकेको अवस्थामा अंश मुद्दा नै नपरेको वा अंश मुद्दाबाट अन्य अंशियारहरूलाई बन्डा गर्नुपर्ने ठहर नभएको आफ्नो निजी हकको सम्पत्ति जस्तो गरी स्वामित्व हस्तान्तरण हुने गरी लिखत पारित गर्न सक्ने अवस्था नरहने । आफ्नो पूर्ण हक नै नभएको व्यक्तिले गरिदिएको लिखत स्वतः दूषित हुने भई त्यस्तो लिखतको अस्तित्व नै शून्य र प्रभावहीन हुने । यस्ता लिखतलाई हदम्याद नाघेको भनी मान्यता दिन 

नमिल्ने ।

(प्रकरण नं । ३)

 

पुनरावेदक  वादीका तर्फबाट : विद्वान् श्री दिपनारायण साह र विद्वान् वैतनिक कानून व्यवसायी श्री अमिता गौतम

प्रत्यर्थी  प्रतिवादीका तर्फबाट :

अवलम्बित नजिर :

ने ।का ।प । २०६०, नि ।नं । ७१६६, पृष्ठ ५८

सम्बद्ध कानून :

    

सुरू तहमा फैसला गर्ने 

मा । जि । न्या । श्री नागेन्द्रलाल कर्ण

सप्तरी जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने:-

मा । न्या । श्री बलराम विष्ट

मा । न्या । श्री टेकराज नेपाल

पुनरावेदन अदालत राजविराज

 

फैसला

न्या । सुष्मालता माथेमा : पुनरावेदन अदालत राजविराजको मिति २०६८८२७ को फैसलाउपर तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादीको तर्फबाट यस अदालतमा पुनरावेदन दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-

तथ्य खण्ड

मूल पुर्खा स्व । वौकाई यादवका २ छोरामा जेठा रतिलाल, कान्छा साधु यादव हुन् । स्व । रतिलालका २ छोरामा जेठो म वादी नन्दलाल, कान्छा स्व । दुखी यादव हुन् । दुखीको पत्नी म वादी फुलो देवी हुँ । स्व । साधुकी पत्नी हर्जावती हाम्री काकी नाताकी मानिस हुन् । म फुलोदेवीलाई हर्जावतीले दुःख दिएकोले नन्दलाल, साधु र हर्जावतीसमेत उपर यसै अदालतमा सा ।दे ।नं । २०३२ को अंश मुद्दा दिई मिति २०५४।९।२८ मा फैसला भएको थियो । फुलोदेवीको अंश भाग छुट्टिए पनि म वादीमध्ये नन्दलालको अंश छुट्याई नदिएकोले साधु र हर्जावतीसमेत उपर मैले सा ।दे ।नं ।१८८४ को अंश दर्ता मुद्दा दिई कारबाही भइरहेको छ । अंश मुद्दाको फैसला एवं १८८४ को अंश दर्ता मुद्दाको अंशको तायदाती फाँटवारीमा उल्लेख भइरहेको अंश भाग लाग्ने पैतृक सम्पत्ति साधु यादव नाम दर्ताको जिल्ला सप्तरी, वभनगामाकट्टी गा ।वि ।स । वडा नं । ४(क) कि ।नं । २७८ को ज । वि । ०-३-३, ऐ ।कि ।नं । ३०४ को ०-०-१७, ऐ । कि ।नं ।३८१ को ०-५-९, ऐ । वडा नं । ४ख । कि ।नं । ६५ को ०-०-३, ऐ । वडा नं । ४क । कि ।नं । ८०० को ०-०-१८१२ जग्गा निजले आफ्नी श्रीमती हर्जावती देवीलाई मिति २०४७।९।२५ र ।नं । २४१९ बाट राजीनामा पारित गरिदिएको, सो जग्गाबाट हाम्रो हक मेट्न निज हर्जावतीले पुनः सो जग्गा निजका भाइ भागवत यादवलाई कि ।नं । ३०४ को ०-०-१७, ऐ । कि ।नं । ३८० को ०-१-९ जग्गा र ।नं । ७७९६ मिति २०५७।१।२६ मा राजीनामा पारित गरिदिएका 

रहेछन् । विपक्षी भागवत यादवले कि ।नं । ३०५ को ०-१-४, कि ।नं । ३८० को ०-१-९, कि ।नं । ३०४ को ०-०-१७, कि ।नं । ८०० को । ०-०-१८१२ जग्गा विपक्षी संजिव कुमार यादवलाई मिति २०५७।८।११ मा राजीनामा पारित गरिदिएको र साधु यादवले कि ।नं । ४०५ को ०-६-१५ मध्ये कित्ताकाट गरी कायमी कि ।नं । ७९९ को ०-५-१६१२ जग्गा विपक्षी लालकुमारी देवीलाई मिति २०४७।३।२४ मा पारित गरिदिएको तथा बाँकी रहेको कि ।नं । ८०० को जग्गासमेत आफ्नो श्रीमतीलाई पारित गर्दै आएको रहेछ । त्यसै गरी विपक्षी हर्जावतीले निज नाउँ दर्ताको महादेवा २ग । कि ।नं । १६४ को ०-६-६ मध्ये ०-२-१० जग्गा मिति २०५३।३।७ मा निर्मला देवीलाई र सोही जग्गामध्ये ०-२-० जग्गा बच्चालाल यादवलाई, सोही मितिमा सोही जग्गामध्ये बाँकी रहेको ०-१-१६ जग्गा लालवती खत्वेलाई पारित गरिदिएको कुरा हल्ला सुनी मिति २०६०।६।४ मा नक्कल सारी जानकारी पाएकोले हाम्रो अंश हक मेट्ने गरी हाम्रो मन्जुरीबेगर नै राजीनामा एवं बकसपत्र पारित गरी लिनु दिनु गरेका हुँदा माथि उल्लिखित जग्गामध्ये पश्चिमतर्फबाट आधा जग्गाको लिखत र दर्ता बदर गरी हाम्रा नाममा दर्ता कायमसमेत गरिपाउँ भन्नेसमेत बेहोराको फिराद पत्र ।

मैले मिति २०४७।३।२४ मा नै खरिद गरी लिएको जग्गा हो । सोभन्दा पछि तायदातीमा उल्लेख हुन्छ भने सो कुराको जानकारी मलाई हुने होइन । जग्गा खरिद गरेको १५ वर्षपछि आएर प्रस्तुत फिराद लाग्ने नहुँदा प्रस्तुत फिराद खारेज गरिपाउँ भन्नेसमेत बेहोराको लालकुमारी देवीको प्रतिउत्तर पत्र ।

मैले खरिद गरेको जग्गा सुरूमा साधु यादव, त्यसपछि हर्जावती हुँदै भागवत यादवबाट मात्र मेरो नाममा आएको हो । लेनदेन व्यवहारको १० नं । को हदम्याद गुजारी प्रस्तुत मुद्दा दायर भएकोले यसबाट वादीलाई कानूनले सहयोग गर्न नसक्ने हुँदा फिराद दाबी खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रंजिव कुमार यादवको प्रतिउत्तर पत्र ।

म तथा मेरा लोग्नेले घर व्यवहार चलाउनको लागि केही जग्गाहरू मात्र बिक्री गरेको हुँदा लिखत दर्ता बदर हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी हर्जावती देवीको प्रतिउत्तर पत्र ।

हामीले १५ वर्षअघि खरिद गरी लिएको जग्गा हाल दूषित मनसायले प्रस्तुत लिखत दर्ता बदरको फिराद दायर गरेकोले वादी दाबी खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी बच्चालाल खत्वे, निर्मलादेवी, लालवती खत्वेको प्रतिउत्तर पत्र । 

धेरै समय व्यतीत भएपछि एउटै नालिसबाट विभिन्न व्यक्तिमाथि प्रस्तुत फिराद हदम्याद नघाई दायर गरिएको हुँदा फिराद दाबी खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी भागवत यादवको प्रतिउत्तर पत्र ।

प्रस्तुत मुद्दाकी प्रतिवादी वादी भई चलेको सा ।दे ।नं । २०७३ को अंश दर्ता मुद्दा र वादी नन्दलाल भई चलेको सा ।दे ।नं । १८८४ को अंश दर्ता मुद्दामा यी वादी प्रतिवादीले अंश पाउने ठहरी आजै यसै इजलासबाट फैसला भइसकेको हुँदा प्रस्तुत मुद्दामा वादीले अंश पाउने ठहरेको जग्गा नै राजीनामा बेहोराबाट हक हस्तान्तरण भई गएको लगाउ एवं प्रमाणका मिसिलहरूबाट देखिँदा वादी दाबीबमोजिम लिखत र दर्ता बदर गरी आधी भाग वादीहरूको नाममा दा ।खा । दर्तासमेत गरिदिने ठहर्छ भन्नेसमेत बेहोराको सप्तरी जिल्ला अदालतको मिति २०६६।२।१९ को फैसला ।

भागवत यादवले रंजिवकुमार यादवलाई मिति २०५७।८।११ मा राजीनामा पारित गरिदिएको लिखतको हकमा पनि हर्जावतीले भागवत यादवलाई गरिदिएको लिखत दर्ता बदर ठहर्‍याउन मिल्दैन भन्ने कुरा हदम्यादविहीन छ । साधु यादवले लालकुमारीलाई मिति २०४७।३।२४ मा कि ।नं । ४०५ को ०-६-५ मध्ये ०-५-१६१२ जग्गा राजीनामा गरिदिएको यो जग्गा अंश मुद्दाको विषय नै होइन । अंश मुद्दा पर्नुभन्दा धेरै अघि नै जग्गा बिक्री भइसकेको हुँदा अंश मुद्दाको फैसलामा यो जग्गा समावेश नै छैन । यस्तो जग्गाको हकमा लेनदेन व्यवहारको १० नं । एवं किर्ते कागजको १८ नं ।बमोजिम क्रमशः १ वर्ष र २ वर्षभित्रमा उसै बखत नालेस नआएको तथ्यलाई अंश मुद्दाको फैसलासँग गाँसी यो मुद्दामा लिखत दर्ता बदर हुने गरी र जालसाज मुद्दामा जालसाजी ठहर्‍याएको फैसला गलत र त्रुटिपूर्ण छ । तसर्थ सुरू सप्तरी जिल्ला अदालतबाट भएको मिति २०६६।२।१९ को फैसला कानूनी त्रुटिपूर्ण भएकाले बदर उल्टी गरी हक इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको राम अवतार यादव र हर्जावती देवी यादवले पुनरावेदन अदालत राजविराजमा पेस गरेको पुनरावेदन पत्र ।

विपक्षीहरूबिच २०५९ सालको सा । दे ।नं । १८८४ को अंश मुद्दामा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम भएकोले मैले खरिद गरेको जग्गा सगोलमा नै भएको अवस्थामा मिति २०४७।३।२४ मा नै खरिद गरेकोले घर व्यवहार चलाउनको लागि घरको मुख्य व्यक्तिले चलमा सबै अचलमा आधी जग्गासम्म बिक्री गर्न सक्ने अंशबन्डाको १९(१) को कानूनी व्यवस्थातर्फ ध्यान नै नदिई भएको फैसला कानूनविपरीत रहेको छ । अतः बुझ्नुपर्ने प्रमाणहरू बुझी मैले खरिद गरेको जग्गामा लिखत दर्ता बदर हुने गरी मिति २०६६।२।१९ मा भएको फैसला बदर उल्टी गरी मेरो प्रतिउत्तर जिकिरबमोजिम हक इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको लालकुमारी यादवले पुनरावेदन अदालत राजविराजमा पेस गरेको पुनरावेदन पत्र । 

यसमा अंश मुद्दा दायर हुनुभन्दा अगाडि नै जग्गा बिक्री भएको अवस्थामा हदम्याद सम्बन्धमा विवेचना नै नगरी भएको सुरूको फैसला फरक पर्न सक्ने हुँदा अ ।बं ।२०२ र पुनरावेदन अदालत नियमावलीको नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत राजविराजको मिति २०६७५९ को आदेश ।

वादी प्रतिवादीबिच अंशबन्डा नहुँदैका अवस्थामा दाबीका कित्ता जग्गाहरू पटक-पटक खरिद बिक्री पास पारित गरेको देखियो । मुलुकी ऐन, लेनदेन व्यवहारको १० नं । लाई हेर्दा अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडिदिँदा ऐनले आफूखुसी गर्न पाउने अरूको मन्जुरी लिन नपर्नेमा बाहेक अरूमा एकाघरसँगका अंशियार सबै साक्षी बसेको वा निजहरूको मन्जुरीको लिखत गरिदिएको भए मात्र पक्का ठहर्छ । साक्षीहरू पनि नबसेको मन्जुरीको लिखत पनि नभए मन्जुर नहुनेले रजिस्ट्रेसन भएको मितिले एक वर्षसम्ममा थाहा पाएको पैंतिस दिनभित्र उजुर गर्‍यो, निजको मन्जुरी ठहरिएन भने निजको हकजति सो सम्पत्ति निजलाई फिर्ता गराइदिनुपर्छ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । प्रस्तुत मुद्दामा वादी दाबीका लिखत पटकपटक विभिन्न मितिमा पास पारित भएको एकातर्फ देखिन्छ भने अर्कोतर्फ साधु यादवले आफ्नो श्रीमती हर्जादेवीलाई बकस दिएका बखत अर्थात् मिति २०४७।९।२५ को लिखतउपर यी वादी कानूनका म्यादभित्र आउन नसकी मिति २०५९।७।६ मा मात्र फिराद लिई आएको पाइँदा वादी दाबीबमोजिम लिखत बदर दर्ता, बदर हुन सक्ने देखिएन । तसर्थ, दाबी पुग्न नसक्ने ठहर्‍याउनुपर्नेमा दाबी पुग्न सक्ने ठहर्‍याएको सुरू सप्तरी जिल्ला अदालतको मिति २०६६।२।१९ को फैसला उल्टी हुने ठहर्छ भन्ने  पुनरावेदन अदालत राजविराजबाट मिति २०६८।८।२७ मा भएको 

फैसला ।

पुनरावेदन अदालत राजविराजले पहिला जालसाजको मुद्दा हेरी फैसला गर्नुपर्नेमा लिखत दर्ता बदरतर्फ लेनदेन व्यवहारको १० नं ।अनुसार गरेको फैसला त्रुटिपूर्ण छ । लिखत बदरतर्फको दाबी र जालसाज मुद्दाको तहगत लिखत बदर दर्ता बदर आएको हो । जालसाज मुद्दा किर्ते कागजको महलको १८ नं । को म्यादभित्र भएकाले जालसाज ठहर गरी लिखत बदर गर्नुपर्ने हुन्छ । विपक्षी हर्जावती देवी हाम्रा अंशी हुन र निजसमेतबाट सा ।दे ।नं ।२०३२ र १८८४ समेतका मुद्दाहरूमा दाबीका जग्गाहरूको तायदाती फाँटवारी पेस गर्दै आएको र उक्त जग्गाबाट समेत अंश पाउने ठहरी भएको फैसला अन्तिम भई बसेको अवस्था छ । हाम्रोसमेत अंश हक लाग्ने उक्त जग्गाहरू यी विपक्षी हर्जावतीले हामीलाई थाहा जानकारी नै नदिई मुद्दा चल्दाकै अवस्थामा गुपचुपै अर्कालाई हक हस्तान्तरण गर्दै गइरहेको गाउँघरमा सुनी मालपोत कार्यालय सप्तरीबाट राजीनामाहरूको नक्कल लिई किर्ते कागज महलको १८ नं । को म्यादभित्र जालसाज मुद्दा र अ ।बं । ७२ नं ।बमोजिम छुट्टै देवानीतर्फको लिखत दर्ता बदर मुद्दा दायर गरेका हौँ । जालसाज गरेको स्पष्ट देखिएको अवस्थामा दाबीको जग्गा अंशियारहरूबिच अंश लाग्ने जग्गा हो होइन भन्ने नहेरी पुनरावेदन अदालतबाट भएको फैसला त्रुटिपूर्ण छ । मुद्दा चल्दैको अवस्थामा वा सोभन्दा पहिले साधु यादवले आफ्नै पत्नी हर्जावतीलाई बकस गरिदिएको जग्गा बकस गरिदिएकै आधारमा निज हर्जावतीको एकलौटी हुने होइन । यसबाट जिल्ला अदालतबाट लिखत बदर भएको सम्बन्धमा पुनरावेदन नगरी बस्नेको हकमा समेत विचार नगरी लिखत बदर र जालसाज मुद्दा दायर भएको अवस्थामा पहिला जालसाज मुद्दाको फैसला गरी लिखत बदर मुद्दामा फैसला गर्नपर्नेमा हद म्यादका आधारमा सुरू फैसला उल्टी गरी पुनरावेदन अदालत राजविराजबाट भएको फैसला त्रुटिपूर्ण रहेकोले सो फैसला उल्टी गरी सुरू अदालतको फैसलाबमोजिम गरिपाउँ भन्ने मिति २०६९१११५ को पुनरावेदन पत्र । 

यसमा फुलोदेवी यादवले यी पुनरावेदक नन्दलाल, साधु यादव र हर्जावतीसमेत उपर दिएको संवत् २०४७ को दे ।नं । २०३२ को अंश मुद्दामा मिति २०५४।९।२८ को सुरू सप्तरी जिल्ला अदालतको फैसलाउपर प्रतिवादीमध्येको साधु यादव र हर्जावतीको पुनरावेदन परी पुनरावेदन अदालत राजविराजबाट मिति २०५७।३।२८ मा फैसला भएको देखियो । उक्त अंश मुद्दामा विवादित सम्पत्तिहरू तायदातीमा चढेका छन् भन्ने पुनरावेदकको भनाइ छ । उक्त अंश मुद्दामा हर्जावती प्रतिवदी रही वादी फुलोदेवीले २ खण्डको १ खण्डबाट २ खण्ड गरी अंश पाउने ठहरे पनि फैसला कार्यान्वयनको चरणमा यी नन्दलालको समेत अंश छुट्टिन सक्ने अवस्था छँदै छ । वादीले अंश पाउने सम्पत्ति उक्त अंश मुद्दाको पक्ष हर्जावतीका नाउँमा रहेको विवादित सम्पत्ति २०५७।२।२६ मा हर्जावतीले भागवत यादवलाई लिखत पारित गरी हक हस्तान्तरण गरेको कार्य दूषित देखिन आयो । यस्तो दूषित कार्य बदर गर्न जहिले पनि फिराद लाग्न सक्ने हुँदा वादी दाबी पुग्ने ठहर्‍याएको सुरू फैसला हद म्यादको आधारमा उल्टी हुने ठहराएको पुनरावेदन अदालत राजविराजको मिति २०६८।८।२७ को फैसला (ने ।का ।प । २०६६, अङ्क ८, नि ।नं । ८२०१) समेतको विपरीत भई फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ ।बं ।२०२ नं । एवं सर्वोच्च अदालत नियमावली, नियम ६७(१) बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नू । साथै वादी फुलोदेवी यादव प्रतिवादी साधु यादवसमेत भएको २०४७ को दे ।नं ।२०३२ को अंश मुद्दा सप्तरी जिल्ला अदालतबाट मिति २०५४।९।२८ मा फैसला भएको मुद्दाको मिसिल प्रमाणको लागि सम्बन्धित अदालतबाट झिकाउनु र पुनरावेदकले कानून व्यवसायी नराखेकोले निजका हकमा वैतनिक अधिवक्ता खटाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतबाट मिति २०७५।३।२० मा भएको आदेश ।

प्रस्तुत मुद्दामा फुलोदेवी वादी भई दिएको सा ।दे ।नं । २०३२ को अंशदर्ता मुद्दाबाट फुलोदेवी मिति २०४७।१०।२३ लाई चुल्हो मानो छुट्टिएको मिति कायम गरी भिन्न भएको भन्ने अदालतले ठहर गरी नन्दलाल यादव र हर्जावतीलाई सगोलमा कायम गरिएको छ । वादी नन्दलाल यादव प्रतिवादी हर्जावती देवी यादवसमेत भएको २०५९ सालको सा ।दे ।नं । १८८४ को अंश दर्ता मुद्दामा नन्दलाल यादव र हर्जावती देवी यादवसमेत फिराद परेको अघिल्लो मितिलाई चुल्हो मानो छुट्टिएको मिति कायम गरेको छ । उक्त अंशदर्ता मुद्दाको फैसलाबाट यी नन्दलाल यादवको अंश छुट्टिन सक्ने कुनै अवस्था नै नहुँदा हामीलाई झिकाउने गरी भएको आदेश मिलेको 

छैन । कि ।नं । २७८, ३०४, ३८१, ६५, ८००समेतका जग्गाहरू मिति २०४७।९।२५ मै पारित हालैदेखिको बकसपत्रबाट हर्जावती देवी यादवले बकस पाएको भन्ने कुरा वादी फुलोदेवी र नन्दलाल यादवसमेत दुवै जनालाई उसैबखत जानकारी रहेको हुँदा उसैबखत मुद्दा गर्नुपर्ने कारण उत्पन्न भएको मान्नुपर्ने हुन्छ । मुद्दा नगरी चुप बसी हदम्याद गुजारी लामो समयको अन्तरालपछि मिति २०६०।६।४ मा नक्कल लिई थाहा पाएको भनी झुठा कुरा उल्लेख गरी हदम्यादविहीन कुरामा हदम्यादको सिर्जना हुन सक्दैन । कानूनमा निश्चित भएको हदम्यादलाई व्यक्तिको सुविधालाई हेरेर खुम्च्याउन र विस्तार गर्न नसकिने भएकाले पुनरावेदन अदालतबाट भएको फैसला कानूनसङ्गत नै रहेको 

छ । हामीलाई झिकाउने गरी भएको आदेशमा उल्लिखित ने ।का ।प । २०६६ अङ्क ८ नि ।नं ८२०१ मा प्रतिपादित नजिर प्रस्तुत मुद्दामा आकर्षित हुने होइन । लाग्नै नसक्ने उक्त नजिरको आधारमा हामीलाई झिकाइएको आदेश मिलेको छैन । सुरूको फैसला उल्टी गरी पुनरावेदन अदालत राजविराजबाट भएको फैसला सदर कायम राखी इन्साफ गरिपाउँ भन्ने प्रत्यर्थीहरूको लिखित प्रतिवाद ।

यसमा प्रस्तुत मुद्दाको समग्र विषयवस्तुतर्फ दृष्टिगत गर्दा यो विवादको समाधान मेलमिलाप प्रक्रियाबाट हुनु उपयुक्त देखिएको र मुद्दाका दुवै पक्ष तथा निजका कानून व्यवसायीहरूले समेत मेलमिलाप प्रक्रियाबाट समाधान गर्न प्रयास गर्ने भनी इजलाससमक्ष अनुरोध गर्नु भएको हुँदा मेलमिलापका लागि एक महिनाको समय तोकी मेलमिलाप प्रक्रियामा पठाई मेलमिलाप भएमा मिलापत्रको निम्ति र सो हुन नसके नियमानुसार पेस गर्नु भन्ने मिति २०७६।१०।८ को आदेश ।

यसमा वादी नन्दलाल यादव प्रतिवादी हर्जावती देवी यादवसमेत भएको मिति २०५९।७।५ मा दायर भएको सा ।दे ।नं ।१८८४ को मुद्दामा सप्तरी जिल्ला अदालतबाट मिति २०६६।२।१९ मा तथा पुनरावेदन अदालत राजविराजबाट मिति २०६८।८।२७ मा भएको फैसलासहितको सक्कल मिसिल झिकाई लगाउको ०६९-क्र्-०६७४ को जालसाज मुद्दासमेत साथै राखी पेस गर्नु भन्ने मिति २०७७।१२।३० को आदेश ।

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक  वादी फुलोदेवी यादवको तर्फबाट उपस्थित विद्वान् श्री दिपनारायण साह र पुनरावेदक  वादी नन्दलाल यादवको तर्फबाट विद्वान् वैतनिक कानून व्यवसायी श्री अमिता गौतमले प्रतिवादीले वादीहरूको समेत अंश हक लाग्ने विभिन्न कित्ता जग्गाहरू अंश हक मेट्ने उद्देश्यले लिखत गरिदिएकाले उक्त लिखतलाई जालसाज ठहर गरी सोहीबमोजिम लिखत बदर दर्ता बदरसमेत हुने गरी सुरू सप्तरी जिल्ला अदालतबाट भएको फैसला उल्टी हुने ठहर्‍याई पुनरावेदन अदालत राजविराजले गरेको फैसला त्रुटिपूर्ण भएकाले सो फैसला बदर गरी वादी दाबीबमोजिम गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।

यसमा, हामी वादीहरूको समेत अंश हक लाग्ने साधु यादव नाम दर्ताको कि ।नं । २७८, कि ।नं । ३०४, कि ।नं । ३८१,  कि ।नं । ६५, कि ।नं । ८०० समेतका जग्गा साधु यादव एवम् निजको पत्नी हर्जावती देवीले हाम्रो मन्जुरीबेगर तह-तह हक हस्तान्तरण गरी हाम्रोसमेत अंश हक लाग्ने जग्गा हाम्रो बिना मन्जुरी बिक्री हक हस्तान्तरण गरेको हुँदा उल्लिखित जग्गामध्ये पश्चिमतर्फबाट आधा जग्गाको लिखत र दर्ता बदर गरी हाम्रा नाममा दर्ता कायमसमेत गरिपाउँ भन्ने वादीको मुख्य फिराद दाबी रहेछ । दाबीका जग्गाहरू २०४७।३।२४ मा नै खरिद गरी लिएको हो । जग्गा खरिद गरेको १५ वर्षपछि आएर गरेको फिराद हदम्यादविहीन हुँदा खारेज गरिपाउँ भन्ने बेहोराको अन्य प्रतिवादीहरूको र म तथा लोग्ने साधु यादवले घर व्यवहार चलाउनको लागि केही जग्गाहरू बिक्री गरेको हुँदा लिखत बदर हुने होइन भन्ने हर्जावती देवी यादवको प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा सुरू अदालतबाट वादीले अंश पाउने ठहरेको जग्गा राजीनामा बेहोराबाट हक हस्तान्तरण भई गएको देखिँदा वादी दाबीबमोजिम लिखत र दर्ता बदर गरी आधी भाग वादीहरूको नाममा दा ।खा । दर्तासमेत गरिदिने ठहरी सप्तरी जिल्ला अदालतबाट मिति २०६६।२।१९ मा भएको फैसलाउपर प्रतिवादीहरूको पुनरावेदन परी पुनरावेदन अदालत राजविराजबाट सुरू अदालतको फैसला उल्टी भई मिति २०४७।९।२५ को लिखतउपर कानूनका म्यादभित्र फिराद गर्न नसकेको भन्ने आधारमा वादी दाबीबमोजिम लिखत बदर दर्ता, बदर हुन नसक्ने ठहर्‍याई मिति २०६८।८।२७ मा भएको फैसलाउपर वादीहरूको यस अदालतमा पुनरावेदन परी पेस हुन आएको देखियो । 

उपर्युक्तानुसारको तथ्य भएको प्रस्तुत मुद्दाको मिसिल तथा लगाउको रूपमा रहेका मिसिलसमेत अध्ययन गरी पुनरावेदक वादीका तर्फबाट प्रस्तुत भएको बहस सुनी पुनरावेदन अदालत राजविराजको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।

२ । निर्णयतर्फ विचार गर्दा, वादी प्रतिवादीहरूको पुस्तावारीमा स्व ।रतिलाल र स्व ।साधु यादव दाजुभाइ नाताका भई रतिलालका २ छोरामा जेठा वादी नन्दलाल तथा कान्छा स्व ।दुखी यादव रहेका, दुखी यादवको पत्नी वादी फुलोदेेवी यादव र स्व ।साधु यादवकी पत्नी हर्जावती भई प्रतिवादी हर्जावती देवी वादीको काकी नाताकी अंशियार रहेकोमा विवाद देखिएन । फुलोदेवीले नन्दलाल, साधु र हर्जावतीउपर दायर गरेको ०४७ सालको सा ।दे ।नं । २०३२ को अंश मुद्दामा वादी प्रतिवादी अंशियार कायम भई ३ भागको १ भाग अंश फुलोदेवीले पाउने ठहरी सप्तरी जिल्ला अदालतबाट मिति २०५४।९।२८ मा फैसला भएकोमा सो फैसला पुनरावेदन अदालत राजविराजबाट समेत मिति २०५७३२८ मा सदर फैसला भई अन्तिम भई बसेको देखियो । त्यसै गरी सो फैसलाबमोजिम मेरो अंश भाग छुट्याई नदिएकोले भनी नन्दलाल यादवले साधु र हर्जावती देवीउपर ०५९ सालको सा ।दे ।नं । १८८४ को अंश दर्ता मुद्दा दायर भएकोमा अंश मुद्दा तथा अंश दर्ता मुद्दामा तायदाती फाँटवारीमा पेस भएका पैतृक सम्पत्तिको रूपमा रहेका साधु यादव नाम दर्ताको जिल्ला सप्तरी, बभनगामाकट्टी गा ।वि ।स । वडा नं । ४क । कि ।नं । ४०५ को ०-६-१५ जग्गामध्ये कित्ताकाट गरी कायमी कि ।नं । ७९९ को ०-५-१६१२ लालकुमारी देवीलाई मिति २०४७।३।२४ मा पारित गरिदिई बाँकी कि ।नं । ८०० को ०-०-१८१२, कि ।नं । २७८ को ज ।वि । ०-३-३,  ऐ । कि ।नं । ३०४ को ०-०-१७, ऐ । कि ।नं । ३८१ को ०-५-९, ऐ । वडा नं । ४ख । कि ।नं । ६५ को ०-०-३ जग्गा निजले आफ्नो पत्नी हर्जावती देवीलाई मिति २०४७।९।२५, र ।नं । २४१९ बाट पारित गरिदिएको, निज हर्जावतीले पुनः निजका भाइ भागवत यादवलाई उल्लिखित जग्गामध्ये कि ।नं । ३०४ को ०-०-१७,  कि ।नं । ८०० को ०-०-१८१२  र कि ।नं । ३८० को ०-१-९ जग्गासमेत र ।नं । ७७९६बाट मिति २०५७।१।२६ मा राजीनामा पारित गरिदिएको तथा निज भागवत यादवले कि ।नं । ३०५ को ०-१-४,  कि ।नं । ३८० को ०-१-९, कि ।नं । ३०४ को ०-०-१७, कि ।नं । ८०० को जग्गा रंजीव कुमार यादवलाई मिति २०५७।८।११ मा राजीनामा पारित गरिदिएका मिसिल संलग्न राजीनामाका प्रतिलिपिहरूलगायतका कागजबाट देखिन्छ । 

३ । प्रमाण स्वरूप पेस भएको उक्त २०४७ सालको सा ।दे ।नं । २०३२ को अंश मुद्दामा विवादित जग्गामध्ये कि ।नं ४०५ को ०-६-५ को जग्गा कित्ताकाट भई कायम भएको कि ।नं । ७९९ को जग्गाबाहेक विवादका अन्य कि ।नं । २७८, ३०४, ३८१, ६५, ८०० र कि ।नं । १६४ का जग्गा हर्जावती देवीको नामबाट तायदाती फाँटवारीमा देखाई बन्डा लाग्ने गरी फैसलाको तपसिल खण्डमा उल्लेख भएको 

देखिन्छ । विवादका उक्त कित्ता जग्गासमेतबाट वादीले अंश पाउने ठहरी भएको फैसला पुनरावेदन अदालतबाट सदर भई उक्त फैसला अन्तिम भई बसेको देखियो । यसरी सुरू अदालतबाट अंश मुद्दामा देखाइएका जग्गा सबै अंशियारका बिचमा बन्डा लाग्ने ठहरी फैसला भई उक्त मुद्दा पुनरावेदन अदालतमा विचाराधीन रहेको अवस्थामा अन्य अंशियारहरूको समेत अंश हक लाग्ने प्रत्यर्थी हर्जावतीका नाममा रहेका जग्गा मिति २०५७।१।२६ मा र ।नं । ७७९६ बाट निज हर्जावतीले भागवत यादवलाई दिएकोमा उक्त जग्गाहरू तह-तह हक हस्तान्तरण गरेको र निज हर्जावतीले महादेवा गा ।वि ।स । वडा नं । २(ग) कि ।नं । १६४ को ०-६-६ जग्गा कित्ताकाट गरी मिति २०५३३७ मा निर्मला देवी, बच्चालाल खत्वे र लालवती खत्वेलाई राजीनामा लिखत पारित गरिदिएको देखिन्छ । वादी प्रतिवादीहरूबिचमा अंश मुद्दा चली अंश मुद्दामा बन्डा लाग्ने सगोलको सम्पत्ति भनी तायदाती फाँटवारी पेस गरी बन्डा लाग्ने ठहरी फैसला भएपश्चात् अन्य अंशियारको मन्जुरी तथा सहमतिबिना राजीनामाबाट हक हस्तान्तरण गरेको देखिँदा त्यस्तो लिखतलाई दूषित मान्नुपर्ने हुन्छ । वादीको फिराद हदम्याद नाघी परेको भनी जिकिर लिए पनि त्यस्तो दूषित कार्य बदर गर्न जहिलेसुकै फिराद लाग्न सक्ने नै हुन्छ । दूषित दर्ता बदर गराउन हदम्याद बाधक नहुने (ने ।का ।प । २०६०, नि ।नं । ७१६६, पृष्ठ ५८ ईश्वरी भोमी वि । गणेशलाल खड्गी भएको दर्ता बदर मुद्दा) हामीले अवलम्वन गरेको न्यायिक प्रक्रियाको मान्य सिद्धान्त पनि हो । अंश मुद्दाबाट अन्य अंशियारको समेत बन्डा लाग्ने ठहरी फैसला भइसकेको अवस्थामा अंश मुद्दा नै नपरेको वा अंश मुद्दाबाट अन्य अंशियारहरूलाई बन्डा गर्नुपर्ने ठहर नभएको आफ्नो निजी हकको सम्पत्ति जस्तो गरी स्वामित्व हस्तान्तरण हुने गरी लिखत पारित गर्न सक्ने अवस्था रहँदैन । आफ्नो पूर्ण हक नै नभएको व्यक्तिले गरिदिएको लिखत स्वतः दूषित हुने भई त्यस्तो लिखतको अस्तित्व नै शून्य र प्रभावहीन हुन्छ । यस्ता लिखतलाई हदम्याद नाघेको भनी मान्यता दिन मिल्ने अवस्थासमेत रहँदैन । 

४ । सुरू अदालतको फैसलाबमोजिम विवादित जग्गाहरूमा वादीहरूसमेतको अंश हक लाग्ने देखिएको र अन्य अंशियारहरूको मन्जुरीबेगर अंश मुद्दा पुनरावेदन तहमा चल्दाचल्दैको अवस्थामा बिक्री हक हस्तान्तरण गरेको कार्यले वैधता प्राप्त गर्न सक्ने देखिएन । दूषित तवरबाट भएको हक हस्तान्तरणको कार्यलाई वादीले जहिलेसुकै नालेस उजुर गरी आफ्नो हकसम्म बदर गराउन सक्ने नै देखियो । यसबाट अंश मुद्दाबाट वादीहरूले समेत अंश पाउने ठहरी फैसला भइसकेको अवस्थामा फैसलामा उल्लेख भएका जग्गा हक हस्तान्तरण गरेको देखिँदा वादी दाबीबमोजिम लिखत दर्ता बदर हुने देखिएकोमा वादीको फिराद हदम्यादविहीन रहेको भन्ने आधारमा वादी दाबी पुग्न नसक्ने ठहरी पुनरावेदन अदालत राजविराजबाट भएको फैसला सो हदसम्म मिलेको देखिन आएन ।

५ । साथै साधु यादवले लालकुमारी यादवलाई मिति २०४७।०३।२४ मा लिखत पारित गरिदिएको वादी दाबीको कि ।नं । ४०५ को ०-६-५ मध्ये कित्ताकाट गरी कायम कि ।नं । ७९९ को ०-५-१६१२ जग्गाको हकमा हेर्दा उक्त जग्गा सा ।दे ।नं । २०३२ को अंश मुद्दा मिति २०४७१०२४ मा दर्ता भएकोमा सोभन्दा अगाडि नै कित्ताकाट गरी हस्तान्तरण गरिदिएको र सोबाट बाँकी रहेको कि ।नं । ८०० को जग्गा तायदाती फाँटवारीमा देखाएको पाइन्छ । सो मुद्दाकी वादी फुलोदेवीले उक्त कि ।नं । ७९९ को जग्गाबाट अंश पाउने ठहरेको समेत देखिँदैन । सो अंश मुद्दा दायर हुनुभन्दा अगावै निज साधु यादवले हक हस्तान्तरण गरेको र उक्त अंश मुद्दामा तायदाती फाँटवारी पेस गर्दासमेत कुनै कानूनी उपचारतर्फ लागेको नदेखिँदा सो जग्गाको हकमा वादी दाबी पुग्न सक्ने देखिएन । त्यसै गरी प्रतिवादी भागवत यादवले रंजिव कुमार यादवलाई र ।नं । २९४७ मिति २०५७८११ मा गरिदिएको राजीनामाको लिखतमा उल्लेख भएको कि ।नं । ३०५ उक्त अंश मुद्दामा तायदातीमा र फैसलामा उल्लेख भएको नदेखिएको र हर्जावतीले भागवत यादवलाई गरिदिएको लिखतमा समेत सो कित्ता जग्गा उल्लेख भएको नदेखिँदा भागवत यादवले रंजिव कुमार यादवलाई गरिदिएको लिखतको हकमा सो कित्ता जग्गाको हकमा वादी दाबी पुग्न सक्ने देखिएन । 

६ । अतः उल्लिखित तथ्य, आधार कारण एवम् प्रमाणबाट साधु यादवले आफ्नो पत्नी हर्जावती देवीलाई कि ।नं । २७८, ३०४, ३८१, ६५ र ८०० का जग्गाहरू बकस गरिदिएकोमा एकाघरको अंशियारलाई दिएको देखिँदा उक्त जग्गामा वादीहरूको हक कायमै रहेको मान्नुपर्ने देखियो । वादी प्रतिवादीहरूबिचमा अंश मुद्दा दायर भई सुरू अदालतबाट बन्डा लाग्ने ठहरी फैसला भई मुद्दा पुनरावेदन अदालतमा विचाराधीन रहेको अवस्थामा वादीहरूको समेत हक लाग्ने वादी दाबीका अन्य लिखतका हकमा वादी दाबीबमोजिम पुनरावेदकवादीहरूको हकसम्म आधा भाग बदर गरी दर्तासमेत बदर भई वादीहरूको नाममा दर्तासमेत हुने ठहर गरी फैसला गर्नुपर्नेमा फिराद हदम्याद नाघी परेको भन्ने आधारमा वादी दाबी पुग्न नसक्ने गरी पुनरावेदन अदालत राजविराजबाट मिति २०६८।८।२७ मा भएको फैसला केही उल्टी भई साधु यादवले कि ।नं । ४०५ बाट कित्ताकाट गरी कायम कि ।नं । ७९९ को जग्गा लालकुमारी यादवलाई दिएको जग्गाबाहेक हर्जावती यादवले आफ्ना नाममा रहेका उल्लिखित कि ।नं । ३०४, ३८० र ८०० का जग्गाहरू भागवत यादवलाई दिएको र ।नं । ७७९६ मिति २०५७१२६ को राजीनामाको लिखत, भागवत यादवले रंजिव कुमार यादवलाई र ।नं । २९४७ मिति २०५७८११ बाट दिएको लिखतमा उल्लेख भएको कि ।नं । ३०५ बाहेकका अन्य कित्ता जग्गाका हकमा र हर्जावतीले आफ्नो नामको कि ।नं । १६४ को जग्गा कित्ताकाट गरी मिति २०५३३७ मा अलग अलग राजीनामाको लिखतबाट निर्मलादेवी, बच्चालाल खत्वे र लालवती खत्वेलाई दिएका लिखत र सोको आधारमा भएको दर्तासमेत पुनरावेदकवादीहरूको हकसम्म आधा भाग बदर भई वादीहरूको नाममा दर्ता कायम हुने ठहर्छ । अन्य प्रतिवादीहरूका नाउँमा तह-तह हक हस्तान्तरण भएको हकमा मूल लिखत नै बदर हुने ठहरी फैसला भएको अवस्थामा अन्य लिखतको कुनै कानूनी हैसियत नरहने भएकाले सो सम्बन्धमा सोहीअनुसार सो लिखत पनि बदर हुन्छ । अरू तपसिलबमोजिम 

गर्नू । 

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत राजविराजबाट मिति २०६८।८।२७ मा भएको फैसला केही उल्टी भई हर्जावती यादवले भागवत यादवलाई र ।नं । ७७९६ मिति २०५७१२६ को लिखतबाट हक हस्तान्तरण गरेका वादी दाबीका कि ।नं । ३०४, ३८०, र ८०० का जग्गाहरू, भागवत यादवले रंजिव कुमार यादवलाई र ।नं । २९४७ मिति २०५७८११ मा हक हस्तान्तरण गरेको लिखतका कि ।नं । ३०५ बाहेकका अन्य जग्गाहरू र हर्जावतीले मिति २०५३३७ मा आफ्नो नाममा रहेको कि ।नं । १६४ को जग्गा कित्ताकाट गरी निर्मला देवी, बच्चालाल र लालवती खत्वेलाई हक हस्तान्तरण गरेका कित्ता जग्गाहरू पुनरावेदक  वादीहरूको हकसम्म आधा भाग लिखत र सो आधारमा भएका दर्तासमेत बदर भई वादीहरूको नाममा दर्ता कायम हुने ठहरी फैसला भएकाले उक्त लिखतका उल्लिखित कि ।नं । का जग्गाहरूको २ भागको १ भाग लिखत तथा दर्तासमेत बदर गरी वादीहरूका नाममा दर्ता कायम गरिदिनु भनी सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाउनु भनी फैसलाको प्रतिलिपिसहित सुरू सप्तरी जिल्ला अदालत तहसिल शाखामा लेखी पठाउनू ।

माथि ठहर खण्डमा वादी दाबीबमोजिम प्रतिवादी हर्जावतीले भागवत यादवलाई गरिदिएको लिखत, भागवत यादवले रंजिव कुमार यादवलाई गरिदिएको लिखतको कि ।नं । ३०५ बाहेकका अन्य जग्गा र हर्जावतीले निर्मला देवी, बच्चालाल र लालवती खत्वेलाई गरिदिएको लिखत बदर हुने ठहरी फैसला भएकाले वादीले फिराद दायर गर्दा सुरू अदालतमा राखेको कोर्ट फी (अदालती शुल्क) रू । ३०० र यस अदालतमा पुनरावेदन गर्दा राखेको रू । ४५।– समेत जम्मा रू । ३४५।– प्रतिवादीहरूबाट भराइपाउँ भनी प्रतिवादीहरूको यसै सरहदको जेथा देखाई ऐनका म्यादभित्र दरखास्त दिए कुनै दस्तुर नलिई प्रतिवादीहरूबाट वादीलाई भराइदिनु भनी सुरू सप्तरी जिल्ला अदालत तहसिल शाखामा लेखी पठाउनू ।

सरोकारवालाले प्रस्तुत फैसलाको नक्कल माग गरेमा नियमानुसार गरी नक्कल दिनू ।

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको प्रति यस अदालतको विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।  

न्या । तिलप्रसाद श्रेष्ठ

 

इजलास अधिकृत : शोभा पाठक  दुर्गा प्रसाद खनाल

इति संवत् २०७९ साल चैत १४ गते रोज ३ शुभम् । 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु