निर्णय नं. ११२७९ - बहाल दिलाई घर खाली गराइपाऊँ

सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय का ।मु ।प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्की
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७९।१२।२७
मुद्दाः बहाल दिलाई घर खाली गराइपाऊँ ।
०६७-कि-०८७८
पुनरावेदक प्रतिवादी : जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं । ६ बस्ने पशुपति चैतन्य ब्रह्मचारी
विरूद्ध
प्रत्यर्थी वादी : जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं । ६ बस्ने शारदादेवी ब्राह्मणी
०६७-कि-१३७८
पुनरावेदक वादी : जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं । ७ बस्ने शारदादेवी ब्राह्मणी
विरूद्ध
प्रत्यर्थी प्रतिवादी : जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं । ७ बस्ने इन्द्रदेव झासमेत
महिलाले मन्दिरमा पूजा पाठ गर्नु हुँदैन भन्ने ठोस आधार, कारण नभएको र प्रचलित कानूनले महिला महन्त वा पुजारी हुन नसक्ने भनी रोक लगाएको अवस्थामा परिवर्तित संवैधानिक प्रावधानमा गरिएको समानता र अविभेद जस्ता मान्यता स्थापित भएको स्थितिमा महिला भएकै कारणले मन्दिरको पुजारी वा महन्तका रूपमा रही पूजापाठ चलाउन सक्ने । सन्तान वा हकदारमध्ये महन्तको योग्यता र क्षमता भएको व्यक्ति जसले मन्दिर र गुठीको परम्परा चलाउँछ, उसैलाई महन्त मान्नुपर्ने र त्यस्तो व्यक्ति महिला वा पुरूष जो पनि हुन सक्ने ।
(प्रकरण नं ।६)
गुठीमा रहेका जग्गाहरू बेचबिखन गर्न नपाइने तर भोग चलनसम्म गरी प्राप्त आयस्ताबाट भगवान् रामजीलाई गुलफूल चढाउने परम्पराअनुसार इच्छित व्यक्ति वा नियमानुसार पालो परेको व्यक्तिले गुठीमा रहेका जग्गाहरूको भोग चलनसम्म गरी वा बहालमा लगाई प्राप्त आयस्ताबाट मूलत: भगवान् रामजीमा फूल चढाउने, साधु सन्तको हेरविचार गर्ने, मन्दिर र गुठीको सम्पत्तिको मर्मत सम्भार एवम् हेरचाह गर्ने र भक्तजनहरूको सुविधाका लागि गर्नुपर्ने आवश्यक कार्यमा खर्च गर्न सक्ने ।
(प्रकरण नं ।८)
सन्ततिहरूलाई गुठियार कायम गरी सद्आचरण भएको, पूजा पाठ गर्न जानेकोलगायतका सर्त राखी सो योग्यता भएकाहरूको सूची तयार गरी निजहरूबिच सहमति भए सहमतिमा अन्यथा गोला प्रक्रिया वा सूचीमा रहेकामध्ये कानूनबमोजिमको पहिलो हकदारलाई पहिलो पालो तोकी तत्पश्चात् क्रमश: हुने गरी पालो बाँडफाँट गर्ने व्यवस्था मिलाउनुपर्ने ।
(प्रकरण नं ।१४)
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री श्यामप्रसाद खरेल र श्री प्रकाशबहादुर के ।सी । र विद्वान् अधिवक्ता श्री दिपकबहादुर के ।सी ।
वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री महादेव प्रसाद यादव, श्री हरिहर दाहाल, श्री लव कुमार मैनाली र श्री युवराज भण्डारी
गुठी संस्थानका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री ज्ञानेन्द्र पोखरेल
अवलम्बित नजिर :
ने ।का ।प । २०६४, माघ, नि ।नं । ७८८५
ने ।का ।प । २०७७, असार, नि ।नं । १०४४८
ने ।का ।प । २०५३, मङ्सिर, नि ।नं । ६२३९
ने ।का ।प । २०७२, चैत्र, नि ।नं । ९५०४
ने ।का ।प । २०६८, जेष्ठ, नि ।नं । ८५६३
ने ।का ।प । २०६७, जेष्ठ, नि ।नं । ८३१६
ने ।का ।प । २०७५, असोज, नि ।नं । १००३१
ने ।का ।प । २०७६, असार, नि ।नं । १०२२५
सम्बद्ध कानून :
नेपाल अधिराज्यको संविधान, २०४७
मुलुकी ऐन, २०२०
गुठी संस्थान ऐन, २०३३
सुरू तहमा फैसला गर्नेः
मा । जि । न्या । श्री भीम कुमार ओझा
धनुषा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
मा । का ।मु । मुख्य न्या । श्री लोकेन्द्र मल्लिक
मा । न्या । श्री फणिन्द्रदत्त शर्मा
पुनरावेदन अदालत जनकपुर
फैसला
न्या । हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतसमक्ष दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ ।
तथ्य खण्ड
मेरो पति स्व । पूर्ण चैतन्य ब्रह्मचारीको नाउँमा दर्ता रहेको जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं । ४अन्तर्गत साबिक कित्ता नम्बर ८०८, ८०९ को १-१२-० र जिरायत जग्गा १-५-० समेत गरी २-१७-० जग्गामध्ये जलेश्वर जाने पिच रोड सोपूर्व महाविर मन्दिर सो उत्तरतर्फबाट ४० हात लम्बाई २० हात चौडाइ जग्गामा खपडाको छाना भएको घर बनाई होटल सञ्चालन गर्नलाई जग्गाको प्रतिमहिना रू ।१,१००।- मलाई बहाल तिर्ने गरी मिति २०४७।०४।२० मा विपक्षी ईनर झा भन्ने इन्दर देव झाले बहालको कागज गरिदिनुभएको छ । विपक्षीले गरिदिनुभएको बहालको सक्कल कागज मसँग छ । २०५७ साल आषाढ महिनादेखि विपक्षीले बहाल रकम दिनुभएको
छैन । परम्परादेखि चलाइआएको पूजापाठ धर्म सदावर्त इत्यादिको खर्चमा अप्ठ्यारो परिरहेको भनी विपक्षीलाई पटकपटक बहाल रकम बुझाइदिन भनी ताकेता गर्दा पनि आज भोलि भन्दै आलटाल गरी आजसम्म पनि बुझाउनु भएन । यसरी बहाल रकम आवश्यकता परेको हुनाले बक्यौता रहेको बहाल रकम बुझाई जग्गा खाली गरिदिनका लागि विपक्षीलाई ३५ दिने लिखित सूचना बुझाउन जाँदा सूचना बुझ्न इन्कार गरेकोले साक्षी राखी वडा सदस्यको रोहबरमा विपक्षीले सञ्चालन गरेको होटलमा मिति २०५८।०३।२२ गतेकै दिन टाँस गरिदिएँ । उक्त सूचना टाँस गरी विपक्षीलाई सूचना दिए पनि सो म्यादभित्रसमेत विपक्षीले बहाल रकम बुझाउन आउनु भएन र जग्गा पनि खाली गर्नु भएन । फलत: बाध्य भई विपक्षीमाथि यो नालेस गर्न आएको छु । अतः विपक्षीले बहाल लिनुभएको जग्गाको २०५७ साल आषाढदेखि आज फिराद दायर भएको मितिसम्म १ वर्ष २ महिनाको प्रतिमहिना रू । १,१००।- ले हुने रू ।१५,४००।- र मुद्दा फैसला भई जग्गा खाली नगरेसम्मको बहाल तथा कोर्ट फीसमेत दिलाई भराइपाउनुको साथै उक्त जग्गासमेत खाली गराइपाउँ भन्नेसमेत बेहोराको वादी शारदादेवी ब्राह्मणीले मिति २०५८।०४।३२ मा सुरू धनुषा जिल्ला अदालतमा पेस गरेको फिराद ।
वादीले फिरादमा चर्चा गर्नुभएको जग्गाको हकवाला वादी हुनुहुन्न किनकि उक्त जग्गाहरू गुठी तैनाथी जग्गा हो । उक्त जग्गा स्व । पूर्ण चैतन्य ब्रह्मचारीको नाउँमा दर्ता थियो र निज मरेपछि निजको छोरा चेला पशुपति चैतन्य ब्रह्मचारीले चलन पुर्जी पाउनुभएकोले निजले नै सो जग्गा र सो जग्गामा भएको घरहरूको बन्दोबस्त गर्दै आउनुभएको छ । त्यस कारण वादीलाई कुनै पनि कानूनले उक्त जग्गाको बारेमा बहालमा लगाउने वा उठाउने अधिकार छैन । मेरो नाममा होटल सञ्चालन गरेको नभई पत्नी मीना कुमारी झाको नाउँमा राष्ट्रिय वाणिज्य बैंक पीडारी शाखाबाट ऋण लिई शाकाहारी होटल सञ्चालन गर्न उक्त स्थानको हकवाला पशुपति चैतन्य ब्रह्मचारीसँग बहालमा लिई होटल सञ्चालन गर्दै आउनुभएको
छ । मैले वादीलाई कुनै पनि भाडाको कागज गरिदिएको छैन तर निज वादीले घर व्यवहारको कागजमा साक्षी बसिदेउ भनी २-३ वटा कागजमा मलाई साक्षीको रूपमा बस्न भनेकोमा पशुपति चैतन्यको आमाको नाताले साक्षीसम्म बसेको जस्तो लाग्छ, तर निज वादीलाई बहालको कागज मैले गरिदिएको छैन । अदालतबाटै वादीसँग रहेको उक्त सक्कलै कागज झिकाई मलाई देखाएमा अ ।बं । ७८ नं ।बमोजिम सद्दे किर्तेमा यकिन गर्ने नै छु भन्नेसमेत बेहोराको प्रतिवादी इन्द्रदेव झाले मिति २०५८।०८।०७ मा सुरू अदालतमा पेस गरेको प्रतिउत्तर ।
वादीले प्रतिवादीबाट दाबीअनुसारको बहाल रकम पाउनुपर्ने हो र जग्गा खाली गराउन पाउनुपर्ने हो भन्नेसमेत बेहोराको वादीको साक्षी गणेश महासेठ, लक्ष्मण यादव र महेश ठाकुरले सुरू अदालतमा गरेको बकपत्र ।
साबिक कित्ता नम्बर ८०८ र ८०९ को जग्गा निजी जग्गा होइन, महावीर मन्दिरको जग्गा
हो । त्यस जग्गाको रेखदेख पशुपति चैतन्यले गर्दैछन् । उक्त जग्गाको आयस्ता र बन्दोबस्ती पशुपति चैतन्यले गर्दछन् भन्नेसमेत बेहोराको प्रतिवादीको साक्षी बलदेव दासले सुरू अदालतमा गरेको बकपत्र ।
विपक्षीले पेस गर्नुभएको मिति २०४७।०४।२० को भाडाको लिखत जालसाजी हो । निज शारदादेवी ब्रह्मणीले २, ३ वटा कागजमा साक्षीसम्म बसिदिनु पर्यो भनी म साधारण लेखपढ गर्ने व्यक्तिलाई भन्दा पशुपति चैतन्य ब्रह्मचारीको आमा शारदादेवी भएकोले साक्षीसम्म बसेको जस्तो लाग्छ, मैले जानी जानी भाडाको कागज गरिदिएको छैन । उक्त भाडाको कागजमा भएको हस्ताक्षर सही र ल्याप्चे छाप मेरै हो तर लिखत जालसाजी हो भन्नेसमेत बेहोराको प्रतिवादीका वारेस माधवप्रसाद ढुङ्गानाले सुरू अदालतमा गरेको सनाखत बयान ।
विपक्षीले हस्ताक्षर र छाप स्वीकार गरिसकेपछि बेहोरा अस्वीकार गरेको बयान झुठ्ठा हो दाबीबमोजिम बहाल दिलाई जग्गा खाली गराइपाउँ भन्नेसमेत बेहोराको वादीका वारेस देवचन्द्र लालकर्णले सुरू अदालतमा गरेको प्रतिवाद बयान ।
शारदादेवीको कुनै जग्गा नै निजको नाउँ दर्तामा नभएकोले निजसँग मेरो श्रीमान्को कुनै कागज भएको मलाई थाहा छैन पशुपति चैतन्यसँग भएको बहालसम्बन्धी सक्कली लिखत कागज लिएर आएको छैन । आदेश भएमा पेस गर्ने छु भन्नेसमेत बेहोराको अ ।बं ।१३९ नं । बमोजिम बुझिएकी मिना कुमारी झाले सुरू अदालतमा गरेको बयान ।
वादीको भनाइ झुठ्ठा हो, उक्त जग्गा शारदादेवीको होइन, म पशुपति चैतन्यको हक भोगको हो । निजले भाडा लगाएको छैन बरू उक्त जग्गा मैले जनकपुर नगरपालिका वडा नं । ७ बस्ने मीना कुमारी झालाई प्रतिमहिना रू ।१,२००।– मा भाडा लगाएको
छु । निजले सो जग्गामा होटल सञ्चालन गरी बसिआएकी छन् । वादीले सो जग्गामा अंश लिन मउपर यसै अदालतमा मुद्दा दिँदा अंश नलाग्ने ठहर भइसकेको छ । बहालसम्बन्धी कागज खोजी भएका बखत पेस गर्ने छु भन्नेसमेत बेहोराको अ ।बं । १३९ नं ।बमोजिम बुझिएका पशुपति चैतन्यले सुरू अदालतमा गरेको बयान ।
भाडामा दिने पशुपति चैतन्य ब्रह्मचारी र लिने मिना कुमारी झा भएको मिति २०४७।०४।०१, २०५१।०१।०१ र २०५७।०१।०१ को ३ वटै भाडासम्बन्धी कागजहरू अघिको मिति राखी पछि तयार गरिएको जालसाजीपूर्ण कागज हो । यसै भाडासम्बन्धी कागजमा भएका भाडामा दिने लिने साक्षी तथा लिखत साक्षीसमेत उपर २०५९।१०।२३ मा फौ ।नं । ४२९ को जालसाजी मुद्दाको विस्तृत बेहोरा उल्लेख गरेको छु भन्नेसमेत बेहोराको वादीका वारेस भुपनारायण झाले सुरू अदालतमा गरेको सनाखत बयान ।
विपक्षीले भनेबमोजिम उक्त लिखतहरू जालसाजी होइन भन्नेसमेत बेहोराको प्रतिवादीका वारेस माधवप्रसाद ढुङ्गानाको प्रतिउत्तर बयान ।
वादी पूर्ण चैतन्यले उक्त जग्गाको हकमा आफ्ना गुरुहरूले अपनाई आएको काम रामजीलाई गुलफूल चढाउने र बाँकी भएको आयस्ताबाट साधु सन्तलाई बाँडिदिने गरी भोग गर्न पाउने गरी पाएको देखिन्छ । दाबीको कि ।नं । ८०९ को जग्गासमेत नामसारी भए पनि वादीले बेचबिखन वा अन्य प्रयोजनको लागि प्रयोग गर्न नपाउने गरी १९९३ सालको उक्त बकसले प्रस्ट गरेको छ । तसर्थ, गुठीले उक्त जग्गा भाडामा लिई दाबीबमोजिम खिचोला गरेको ठहर्छ भन्नेसमेत बेहोराको जनकपुर अञ्चल अदालतबाट मिति २०४३।०३।२४ मा भएको फैसला ।
विवादित कि ।नं । ८०९ को जग्गाको आ ।व ।०३९।०४० को पोत लिँदा जग्गावालाको नाममा पूर्ण चैतन्य ब्रह्मचारीको नाम उल्लेख भएको देखिँदा गुठी संस्थानले बस व्यवस्था उपसमितिलाई भाडामा दिन सक्ने भन्न मिल्दैन । यसर्थ गुठीको जग्गा भाडामा दिई खिचोला गरेको ठहर गरेको जनकपुर अञ्चल अदालतबाट भएको फैसला सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४५।०४।३० मा भएको फैसला ।
उषादेवी ब्राह्मणी वादी र शारदादेवी ब्राह्मणीसमेत प्रतिवादी रहेको २०४७ सालको दे ।नं ।१५६७ को अंश मुद्दामा फाँटवारीमा देखाएको जग्गाहरूमध्ये सा ।कि ।नं । ८०८ र ८०९ को जग्गा राम मन्दिर जिरायत तैनाथी जग्गा भएको पाइएबाट पनि उक्त जग्गा बन्डा हुने रहेनछ भन्ने देखियो । सो जग्गाबाहेक अन्य दर्ता नभएका जग्गा सम्बन्धमा पनि दर्ता सम्बन्धमा कुनै असर नपर्ने गरी ४ भागको भाग अंश वादीले प्रतिवादीहरूबाट पाउने ठहर्छ भन्नेसमेत बेहोराको धनुषा जिल्ला अदालतबाट मिति २०५३।०२।१३ मा भएको फैसला ।
शारदादेवी ब्राह्मणी वादी र उषादेवी ब्राह्मणीसमेत प्रतिवादी रहेको २०४८ सालको दे ।नं ।२२९२ को अंश मुद्दामा फाँटवारीमा देखाएको जग्गाहरूमध्ये सा ।कि ।नं । ८०८ र ८०९ को जग्गा राम मन्दिर जिरायत तैनाथी जग्गा भएको पाइएबाट पनि उक्त जग्गा बन्डा हुने रहेनछ भन्ने देखियो । सो जग्गाबाहेक अन्य दर्ता नभएका जग्गा सम्बन्धमा पनि दर्ता सम्बन्धमा कुनै असर नपर्ने गरी ४ भागको भाग अंश वादीले पाउने ठहर्छ भन्नेसमेत बेहोराको धनुषा जिल्ला अदालतबाट मिति २०५३।०२।१३ मा भएको फैसला ।
विवादित सा ।कि ।नं । ८०८ र ८०९ को जग्गामा यी वादीका पति पूर्ण चैतन्य र गुठी संस्थानबिच जग्गा खिचोला मुद्दा चली तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालतबाट गुठीले खिचोला गरेको ठहरी फैसला भएको र सो फैसलामा उक्त जग्गा रामचन्द्रजीमा फूल चढाई बाँकी रहेको जग्गा ब्रह्मचारीलाई बक्सेको छ बेचबिखन गर्न पाइँदैन भन्ने फैसला अन्तिम भइरहेको र यिनै पुनरावेदक तथा विपक्षीसमेत बिच चलेको दे ।नं । १५४७ र २२९२ को अंश मुद्दाबाट उक्त जग्गा अबन्डाको अवस्थामा रहेकोले सो जग्गा बन्डा नहुने भई सोबाहेकका जग्गाहरू बन्डा हुने भनी उल्लेख भएकोले सो जग्गाहरू अबन्डाको अवस्थामा रहेको कुरा उक्त प्रमाण मिसिलहरूबाट देखिएको छ । यी वादी र वादीका छोरा पशुपति सगोलमै रहेको अवस्थामा चलन पुर्जी लिएको देखिँदा सबै अंशियारको हक पुग्ने देखिन्छ । मिति २०४७।०४।२० मा घर बहाल दिने सम्बन्धमा यी प्रतिवादी ईन्द्रदेव, शारदादेवीबिच कागज भएको र अबन्डा रहेको सम्पत्तिका सम्बन्धमा पछि बन्डाबाट हक प्राप्त गर्न सक्ने सम्भावना भएका जो कोहीले कागज गरेको अवस्थामा पनि सो घर जग्गाबाट आएको आयस्तासमेतमा कागज गर्ने एक व्यक्तिको मात्र हक नभई अबन्डाको सम्पत्ति हक भोग गर्न पाउने सबैले प्राप्त गर्ने हुँदा प्रतिवादी विवादित जग्गामा घर बनाई भाडामा बसेको तथ्यमा साबित भएको र सो कुरालाई वादी एवं निजका साक्षीसमेतबाट पुष्टि भएकोले मिति २०४७।४।२० को विवादित घर बहालको कागज किर्ते नभई सद्दे ठहर्छ । सो ठहर्नाले उक्त जग्गाको हक यी वादीको मात्र भएको नभई अंशबन्डा हुनभन्दा अघि सगोलमा रहेका सवैको हक भएकोले उक्त वादी दाबीको घर बहाल यी सबैले भरिपाउने र प्रतिवादीले घरजग्गा खाली गरिदिनुपर्ने ठहर्छ भन्नेसमेत बेहोराको मिति २०६१।०१।२८ मा सुरू धनुषा जिल्ला अदालतबाट भएको फैसला ।
जिल्ला अदालतले बहाल रकम मलाई दिलाउनुपर्नेमा एक अंश मात्र दिलाई सबै अंशियारले लिन पाउने गरी गरेको निर्णय सो हदसम्म बदर गरी विपक्षी इन्द्रदेवले हालसम्म पनि होटल सञ्चालन गरी बसेकाले दाबीबमोजिम बहाल रकम मैले उठाउन पाउँ भन्नेसमेत बेहोराको वादी शारदादेवी ब्राह्मणीले पुनरावेदन अदालत जनकपुरमा मिति २०६१।०६।०६ मा पेस गरेको पुनरावेदन ।
कि ।नं । ८०८ र ८०९ को जग्गा गुठी तैनाथी जग्गा भएकाले बेचबिखन गर्न नपाउने र सोको आयस्ताले साबिक सनातनदेखि सोही जग्गामा अवस्थित मनोकामना हनुमानजीको पूजाआजा, अतिथि सत्कार, साधु सन्तको सेवा र श्री रामचन्द्र भगवान्को मन्दिरमा फूल चढाउने काम भई आएको छ । सो कार्य पिता गुरुज्यूको जीवनकालमा निजले र निजपछि म पुनरावेदकले नै गरिआएको छु र उक्त जग्गा अन्य परिवारमा जान नसक्ने भई मुलुकी ऐन गुठी महलको दफा १० र ११ नं ।बमोजिम म चेलाको हैसियतले साबिकबमोजिम कार्य चलाइआएको एक्लो हकदार हुँ । विपक्षी वादीको उक्त जग्गामा कुनै पनि ऐनले हकअधिकार दिएको छैन । तसर्थ, हकै नभएको व्यक्तिको फिरादपत्रलाई आधार मानी गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्नेसमेत बेहोराको अ ।बं । १३९ नं ।बमोजिम बुझिएका पशुपति चैतन्यले पुनरावेदन अदालत जनकपुरमा मिति २०६१।०६।२८ मा पेस गरेको पुनरावेदन ।
यसमा वादी शारदादेवी ब्राह्मणी र प्रतिवादी पशुपति चैतन्य ब्रह्मचारीबाट दोहोरो पुनरावेदन परेको देखिँदा परस्पर सुनाउने र लगाउको जालसाजी मुद्दामा विपक्षी झिकाउने आदेश भएको र प्रस्तुत मुद्दासँग अन्तरप्रभावी भएकोले प्रत्यर्थी इन्द्रदेव झालाई अ ।बं । २०२ नं । तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत जनकपुरबाट मिति २०६३।०५।२८ मा भएको आदेश ।
महन्तको व्यवस्था परम्परालाई अङ्गाली विधिवत् रूपमा घोषणा नभएसम्म मुलुकी ऐन गुठीको महलको ५ नं ।बमोजिम महन्त स्व । पूर्ण चैतन्यका हकवालाले दुई दुई वर्षको पालो गरेर वादी दाबीको जग्गाको आम्दानी उठाई मन्दिरको पूजा चलाउनु नपर्ने भन्न मिल्दैन । मृतक पूर्ण चैतन्यका २ भाई छोरा र श्रीमती यी पुनरावेदक शारदादेवी भएको यी चारै जनाले उक्त जन्मको दुई दुई वर्षको पालो गरेर जग्गाको बहाल आपसमा उठाई पूजा गर्नुपर्ने भन्ने देखिन आएको समेत कारणबाट यी वादी शारदादेवीले दाबी गरेको २०५७।०३।०१ देखि २०५८।०४।३२ तकको घर भाडा प्र । इन्द्रदेवबाट भराई जग्गा खाली गराइलिन पाउनेमा सो अवधिको भाडासमेत ४ भाग लाग्ने भनी भएको धनुषा जिल्ला अदालतको मिति २०६१।०१।२८ को फैसला त्यति हदसम्म मिलेको देखिन नआएकोले सो फैसला नमिलेको हदसम्म उल्टी भई वादी दाबीबमोजिमको अवधिको जग्गाको भाडा वादीले प्रतिवादीबाट भराइलिन पाउने ठहर्छ । आफ्नो कबुलबमोजिमको भाडा नतिर्ने प्रतिवादीले पूर्ववत् रूपमा सो जग्गामा बस्न पाउने भन्न मिल्दैन । यस कारण प्रतिवादीले सो जग्गा खाली गरिदिनुपर्नेसमेत ठहर्छ । प्रतिवादी पशुपतिको पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदक वादी शारदादेवीले माथि उल्लेख भएअनुसार २०५७।०३।०१ देखि २०५८।०४।३२ सम्मको घर भाडा प्रतिवादी इन्द्रदेवबाट भराइपाउने हुँदा प्रतिमहिना रू । १,१००।- ले हुने जम्मा भाडा रू । १३,२००।- भराइपाउँ भनी दर्खास्त परे प्रतिवादी इन्द्रदेवबाट वादी शारदादेवीलाई कानूनबमोजिम भराइदिनु भनी सुरूमा लेखी पठाइदिनु भन्नेसमेत बेहोराको पुनरावेदन अदालत जनकपुरबाट मिति २०६६।०२।१८ मा भएको फैसला ।
प्रस्तुत मुद्दामा विवादित कि ।नं । ८०८ र ८०९ को जग्गा र जिरायत जग्गासमेतमा गुलफूल लगाई सोको आयस्ता रामचन्द्र श्री भगवान्मा चढाउने र बाँकी साधु सन्तमा बाँडिदिने सर्तमा उक्त जग्गा म पुनरावेदकको मूल पुरूष गुरु बाजे दुर्गा चैतन्य ब्रह्मचारीलाई गुठी संस्थानले उपलब्ध गराएको
हो । उक्त सर्त पूरा गर्ने कार्य म पशुपति चैतन्यले गरी आएको छु । उक्त जग्गा गुठी संस्थानले खिचोला गर्दा खिचोला ठहर भई मैले धनुषा जिल्ला अदालतबाट चलन पुर्जी प्राप्त गरी उक्त जग्गा बहालमा दिई र फूल गुल लगाई सोको आम्दानी गुठीमा बुझाइआएको छु । सो कुरा विपक्षी शारदादेवीले मिति २०५२।०६।०२ गते धनुषा जिल्ला अदालतमा बयान गर्दा स्वीकार गरेकी छिन् । सोहीअनुसार उक्त जग्गा २ पटक करार गरी दिई बसपार्क सञ्चालित रहेको र सोको आयस्ता म पुनरावेदकले उठाई गुठीमा बुझाएकोमा पनि विपक्षी सहमत नै छिन् । उक्त जग्गाको बन्दोबस्ती र भगवान्को पूजाआजा गर्ने कार्य म पुनरावेदकले गरी आएको कुरा स्वयं गुरु पिता स्व ।पूर्ण चैतन्य ब्रह्मचारीले दे ।ठा ।नं । ७० को निषेधाज्ञा मुद्दाको निवेदनमा लेखी दिनुभएको छ । मेरो गुरु पिता र मेरोबिचमा गुरु चेलाको नाता कायम छ भनी जिल्ला प्रशासन कार्यालयको च ।नं ।१२४७ मिति २०४७।०९।०८ को पत्र र मालपोत कार्यालय, धनुषाको र ।नं । २९४७ मिति २०३७।०९।२९ को राजीनामाले प्रमाणित छ ।
गुरु पिता पूर्ण चैतन्य ब्रह्मचारी मिति २०४६।०१।२१ मा स्वर्गीय हुनु भएको हो । बजरंग चैतन्य र गणेश चैतन्य पनि हकवाला भएको भए गुठी चलाउन पाउनुपर्दछ भनी गुरु पिता पूर्ण चैतन्य ब्रह्मचारीको स्वर्गवास भएको मितिबाट १६ वर्षभित्र नालेस गरी गुठीको ५ नं । बमोजिम हक कायम गराउन सक्नुपर्दछ । तर निजहरूले उक्त हदम्याद गुजारिसकेको र आजसम्म कहीँकतै उजुर गरेको छैन ।
दाबीको जग्गाको म पुनरावेदकले प ।सं । ६०६० मिति २०४८।०३।०९ मा चलन पुर्जी प्राप्त गरी जग्गा भोग चलन गरी आएको हो । उक्त जग्गा गुरु पिता पूर्ण चैतन्यकै जीवनकालमा मैले चलन गरी आएको कुरा गुरु पिताले नै निषेधाज्ञा मुद्दामा लेखी दिनुभएअनुसार मैले भोग गरी आएको थिएँ । उक्त जग्गाहरूको शारदादेवीले कहाँबाट चलन पाएको हो भनी लेख्न र भन्न सकेकी छैनन । अर्कोतर्फ महन्त भन्ने पद महिलाको लागि होइन । शारदादेवी महिला भएकाले ब्रह्मचारी कुटीमा महन्त हुन सक्दिनन् ।
विवादित जग्गाको मैले चलन पाएको आधारमा जग्गा बसपार्कलाई र मन्दिरलाई छुट्याई भोगी आएको जग्गामध्ये इन्द्रदेव झाले होटल चलाएको जग्गा सानो इकाइ मात्र हो । इन्द्रदेव झा होटल चलाएको तथ्यमा नै इन्कार रहेको विषय पनि सान्दर्भिक छ । अत: इन्द्रदेव झालाई बहाल दिएको जग्गाबाहेकमा निज विपक्षीले चलन गरेको प्रमाणित गर्न सकेको अवस्था छैन । यसरी मेरो गुरु पिताले नै मलाई चेला सम्बोधन गरी राखेको र जग्गा मैले बन्दोबस्ती गरी आयस्ता उठाई रामचन्द्रजी भगवान्मा फूल चढाएको भनी विपक्षीले समेत स्वीकार गरिरहेको अवस्थामा एकभन्दा बढी हकवाला रहेको भनी ४ जना हकवाला देखाई दुई दुई वर्षको पालो गर्न पाउने ठहर गरेको फैसला मुलुकी ऐन गुठीको महलको १० नं ।को, अ ।बं । १८३(क) १८४(क) नं । को विपरीत भएकोले पूर्णत: बेरितपूर्ण छ भन्नेसमेत बेहोराको पशुपति चैतन्य ब्रह्मचारीले मिति २०६७।०५।१३ मा यस अदालतमा पेस गरेको पुनरावेदन ।
मिति २००८।१२।०६ को बकसपत्रअनुसार विवादित कि ।नं । ८०८ र ८०९ को जग्गा र गुठी तैनाथी गरी जम्मा २-१७-० जग्गाहरू मेरो लोग्नेको नाममा रहेको निजी हक भोगको जग्गा रहेकोमा निज लोग्नेको जीवनकालमा उक्त जग्गाहरूमध्ये कूल देवता हनुमानजीको मन्दिरदेखि उत्तरतर्फबाट ४० हात लामो र २० हात चौडा जग्गामा होटल सञ्चालन गर्नलाई रू ।१,१००।- प्रतिमहिना तिर्ने गरी प्रतिवादी इन्द्रदेव झालाई कागज गरी बहालमा दिएको हो । लोग्ने परिवारमा बस्दै रहनुभएकोमा परिवारको जेठो सदस्यको हैसियतले लोग्नेको मृत्युपछि उक्त जग्गाहरू जहिलेसुकै रू । १० तिरी मैले नामसारी गराउन पाउने हो । साथै मालपोत कार्यालय धनुषामा अपुताली पाउनेको हैसियतले निवेदन दिँदा नामसारीमा कारबाही पनि चलाइएकोमा कारबाहीयुक्त अवस्थामा छ । उक्त जग्गाको सर्त बेचबिखन गर्न नपाउने, जग्गाको आयस्ताबाट त्यसै जग्गामा रहेको कूल देवता हनुमानजीको पूजा पाठ गर्ने, साधु अभ्यागतको सेवा सत्कार दान पुण्य गरी बाँकी रामचन्द्रजीमा गुलफूल चढाउने मात्र रहेको छ तर नामसारी दाखिल खारेज, हकभोग र रेखदेख संरक्षण गर्नबाट वा उक्त जग्गामा लगानी वा आयस्ता लिन मलाई वञ्चित गरेको अवस्था छैन ।
मेरा पति स्व ।पूर्ण चैतन्य ब्रह्मचारीको मृत्युपछि निज पतिले गरी आएको सामाजिक, घरायसी र धार्मिक कार्यहरूलगायत जग्गाको उद्देश्य र सर्तअनुसार बहालमा दिई कुल देवता हनुमान जीको पूजापाठ गर्ने, आफ्नो कुलदेवताको मन्दिरको जीर्णोद्वार एवम् समय समयमा रङरोगन गरी सौन्दर्यकरण गर्ने, दान धर्म सदावर्त साधुसन्त अभ्यागतको सेवा सत्कार गरिरहेको साथै श्री रामचन्द्रजीमा गुलफूल चढाउने कार्य मेरा माहिला छोरा चेला गणेश चैतन्य ब्रह्मचारी र कान्छो छोरा चेला वजरंग चैतन्य ब्रह्मचारीसमेतको सहयोगमा मैले गर्दै गराउँदै आएकोमा कुनै विवाद छैन । विपक्षी छोरा पशुपति कुलतमा लागी पति र मेरो उद्देश्य र धर्म कार्य छाडी अन्त गई परिवारका साथमा बसी होटल सञ्चालन गरी मलाई दुःख दिने, भाइहरूलाई दुःख दिने, पूजा पाठमा बाधा व्यवधान उत्पन्न गराएका
छन् । विपक्षी पशुपतिको उक्साहटमा परी विपक्षी इन्द्रदेवले मसित बहालको कागज गरी होटल सञ्चालन गरेको भए तापनि बहालको रकम तिर्न नपरोस् भनी आमा छोराका बिचमा घरायसी विवाद गराई सित्तैमा बसी होटल सञ्चालन गरी पैसा कमाउने भनी दूषित मनसाय लिएको छ । विपक्षी इन्द्रदेव झाले बहाल नतिर्नलाई पछिबाटै एकै मितिमा विभिन्न मितिको बहाल कागज बनाएको कुरा सो लेखत लेख्ने लिखतका साक्षीसमेतबाट पुष्टि भइरहेको अवस्था छ । विपक्षी इन्द्रदेव झाले २०४७ सालदेखि मलाई बहाल कागज बनाई बहाल कागजले पनि उक्त जग्गा मेरो हकभोग चलन रेखदेखमा रहेको स्पष्ट छ ।
विपक्षी पशुपति चैतन्यले आफ्नो बुबाको मृत्युपश्चात् जेठो छोराको हैसियतले बुबालाई दागबत्ती दिनुपर्ने प्रथम दायित्व पनि निर्वाह नगरेका कारण माहिलो छोरा चेला गणेश चैतन्य ब्रह्मचारीले हिन्दु परम्पराअनुसार काजकिरिया गरेको हो । हिन्दु रीतिरिवाजअनुसार जेठो छोराको दायित्व पूरा नगर्ने विपक्षीले चेला हुँ भन्न मिल्दैन । उक्त जग्गा सम्पत्ति हात पार्ने मनसायले जालझेल प्रपञ्च गरेका हुन् । अंश मुद्दामा आफ्नो अंश श्रीमतीको नाउँमा जाने गरी मिलापत्र गर्ने र श्रीमतीको नाउँको जग्गाहरू पनि बिक्री गरी गराई हिनामिना गरिसकेपछि मेरो लोग्नेको नाउँको जग्गा हात पार्न बक्रदृष्टि राखेको देखिन्छ । साथै विपक्षी पशुपतिले यसै मुद्दामा १३९ नं । बमोजिम बयान गर्दा म मन्दिरमा बस्छु र उक्त मन्दिर वडा नं । ४ मा छ भनेका छन् भने यसै मुद्दाको लगाउ राजकुमार अग्रवाल र ललनप्रसाद रौनियार भएको बहाल दिलाई घर जग्गा खाली गराइपाउँ भने मुद्दामा फिराद गर्दा आफ्नो वतन वडा नं । ८ मा देखाएको छ र अहिले आफ्नो वतन चाहिँ वडा नं । ६ देखाइरहेको अवस्थामा घरवासको पनि ठेगान नभएको व्यक्ति चेला हुन सक्दैन ।
अतः मैले विपक्षी इन्द्रदेव झालाई बहालमा दिएकोमा उक्त बहालको रकम मैले पाउनुपर्नेमा दुई दुई वर्षको बहाल रकम उठाइ पूजा गर्नुपर्ने भनी मिति २०६६।०२।१८ मा भएको फैसला फैसला ने ।का ।प । २०४५ अङ्क २, नि ।नं । ३३५२ तथा ने ।का ।प ।२०६२ अङ्क २ नि ।नं । ७५०३ समेत मुद्दामा प्रतिपादित सिद्धान्तविपरीत भएकोले उक्त फैसला बदर गरी वादी दाबीअनुसार बहाल रकम दिलाई जग्गा खाली गराइपाउँ भन्नेसमेत बेहोराको शारदादेवी ब्राह्मणीले मिति २०६७।१०।१० मा यस अदालतमा पेस गरेको पुनरावेदन ।
यसमा दोहोरो पुनरावेदन परेको देखिँदा अ ।बं । २०२ नं । को प्रयोजनार्थ दुवै पक्षको पुनरावेदन परस्पर सुनाई लगाउको ०६७-रि-०८१७, ०६७-रि-०८१८ को जालसाजी निवेदन साथै राखी पेस गर्नु भन्ने यस अदालतबाट मिति २०७२।०५।०७ मा भएको
आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक पशुपति चैतन्य ब्रह्मचारीको तर्फबाट उपस्थित रहनुभएका विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री श्यामप्रसाद खरेल र श्री प्रकाशबहादुर के ।सी ।का साथै विद्वान् अधिवक्ता श्री दिपकबहादुर के ।सी । ले दाबीको जग्गाको पुनरावेदकले प ।स । ६०६० मिति २०४८।०३।०९ मा चलन पुर्जी प्राप्त गरी जग्गा भोग चलन गरी आएको हो, अन्य दुई जना श्याम भन्ने वजरंग चैतन्य र गणेश चैतन्य ब्रह्मचारीले मैले पनि हक पाउनुपर्दछ भनी कतै उजुर गरेको छैन र निजहरू प्रस्तुत मुद्दाका पक्ष पनि होइनन्, उक्त जग्गाको बन्दोबस्ती र भगवान्को पूजाआजा गर्ने कार्य पशुपति चैतन्य ब्रह्मचारीले गरी आएको कुरा स्वयं गुरु पिता स्व ।पूर्ण चैतन्य ब्रह्मचारीले देवानी दायरी नम्बर ७० को निषेधाज्ञा मुद्दाको निवेदनमा लेखिदिएको अवस्था छ, स्व ।पूर्ण चैतन्य ब्रह्मचारी र पुनरावेदक पशुपति चैतन्य ब्रह्मचारी बिचमा गुरु चेलाको नाता कायम छ भनी जि ।प्र ।शा ।का ।को च ।नं । १२४७ मिति २०४७।९।८ को पत्र र मा ।पो ।का । धनुषाको र ।नं । २९४७ मिति २०३७।९।२९ को राजीनामाले प्रमाणित गरेकोले चेला पशुपति चैतन्य ब्रह्मचारी नै हुन्, कि ।नं । ८०८ र ८०९ को जग्गाहरू निज पशुपति चैतन्य ब्रह्मचारीले नै बन्दोबस्ती गरी आयस्ता उठाई रामचन्द्रजी भगवान्मा फूल चढाएको भनी विपक्षी शारदादेवी ब्राह्मणीले मिति २०५२।०६।०२ गते धनुषा जिल्ला अदालतमा बयान गर्दा स्वीकार गर्नुभएको छ र पुनरावेदकले दाबी नै नलिएको विषयमा फैसला गरेको गुठीको ५ नं । विपरीत एकभन्दा बढी हकवाला रहेको भनी चार जना हकवाला देखाई दुई दुई वर्षको पालो गरी उक्त जग्गाको भोग चलन गरी राम मन्दिरको पूजा पाठ चलाउन पाउने ठहर गरेको पुनरावेदन अदालत जनकपुरबाट मिति २०६६।०२।१८ मा भएको फैसला मुलुकी ऐन गुठीको महलको दफा १० को व्यवस्थाको प्रतिकूल भएकोले बदर गरिपाउँ भन्ने बहस गर्नुभयो ।
त्यसैगरी पुनरावेदक वादी शारदादेवी ब्राह्मणीका तर्फबाट उपस्थित हुनुभएको विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री महादेवप्रसाद यादव, श्री हरिहर दाहाल, श्री लव कुमार मैनाली र श्री युवराज भण्डारीले दुई दुई वर्षको पालो गरेर जग्गाको बहाल आपसमा उठाई पूजा गर्नुपर्ने भनी पुनरावेदन अदालत जनकपुरबाट मिति २०६६।०२।१८ मा भएको फैसला त्रुटिपूर्ण रहेको, मिति २००८।१२।०६ को बकसपत्रअनुसार कि ।नं । ८०८ र ८०९ का जग्गाहरू पूर्ण चैतन्य ब्रह्मचारीले हक भोग गरी आएकोमा निजको शेषपछिको पहिलो हकदार पुनरावेदक शारदादेवी ब्राह्मणीले भोग चलन गरी उक्त जग्गामध्ये केही जग्गा प्रतिवादी इन्द्रदेव झालाई बहालमा दिएको र सो कागज अदालतबाट सद्दे ठहरेको, स्व ।पूर्ण चैतन्य ब्रह्मचारीको मृत्युपछि घरको मुख्य व्यक्ति श्रीमतीको हैसियतले गर्नुपर्ने सबै कार्यहरू निज शारदादेवीले नै गर्दै आएको अवस्था छ र लोग्नेको कृतअनुसारको कामकाज पूजा धर्म कर्म सदावर्त गरी बाँकी रहेको श्री रामचन्द्रजीमा गुलफूल चढाउने कार्य शारदादेवी ब्रह्माणीले गरेकोले उक्त जग्गाको भोग चलन गर्न सबै अंशियारले नभई निजले मात्र पाउनुपर्ने भन्ने बहस प्रस्तुत गर्नुभयो ।
गुठी संस्थानको तर्फबाट उपस्थित रहनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री ज्ञानेन्द्र पोखरेलले उक्त जग्गाको तिरो गुठी संस्थानले लिने गरेको, प्रस्तुत गुठीका सम्बन्धमा गुठी संस्थान ऐन, २०३१ को दफा १६ र २० आकर्षित हुन्छ, कि ।नं । ८०८ र ८०९ को जग्गाहरू भगवान् रामको नाममा स्थापित राम मन्दिर गुठीको भएको हुँदा उक्त जग्गाहरूबाट प्राप्त आयस्ता पूर्णरूपमा भगवान्को सेवा वा धार्मिक कार्यको लागि नै प्रयोग गरिनुपर्दछ, ट्रुस्त अन्द बेनेफिकिअरी को सिद्धान्तबमोजिम साबिकमा जे प्रयोजनका लागि गुठी राखिएको हो सोही प्रयोजनमा प्रयोग हुनुपर्दछ, राम मन्दिरको नाममा जग्गाधनी प्रमाण पत्र बन्ने गरी त्यसको विवरणमा दुर्गा चैतन्य ब्रह्मचारीका सन्तानमध्येको पूजा पाठ गर्न इच्छित व्यक्तिले र एकभन्दा बढी व्यक्ति इच्छुक भए दुई वर्षको आलो पालो मिलाउन सकिने गरी गर्न सकिन्छ, जिल्ला प्रशासन कार्यालयको रोहबरमा जग्गालाई करार गरी आयस्तामा लगाउँदा त्यस्तो पालो परेको पुजारी जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि र गुठी संस्थानको स्थानीय प्रतिनिधिको संयुक्त सहीबाट खाता चल्ने गरी बैंक खाता स्थापना गरी सञ्चालन गर्न सकिन्छ, राम मन्दिर निजी गुठी भएकाले यसमा भएका परिवर्तनहरूको नियमित जानकारी गराउने जिम्मेवारी पालो परेको पुजारीको हुने गरी गुठी संस्थानबाट नियमित अनुगमन गर्ने गराउने व्यवस्था मिलाउन सकिने नै देखिन्छ र दुर्गा चैतन्य बह्मचार्यका सन्ततिहरूलाई गुठियार कायम गरी सद्आचरण भएको पूजा पाठ गर्न जानेकोलगायतका सर्त राखी सो योग्यता भएकाहरूको सूची तयार गरी निजहरूबिच पालो बाँडफाँट गर्ने, खर्च विवरण राख्ने, आयस्तालाई पारदर्शी गर्ने गरी सम्बन्धित गुठीले आवश्यक नियमावली बनाई कार्यान्वयन गर्न सक्ने नै देखिन्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
यसमा, मेरो पति स्व । पूर्ण चैतन्य ब्रह्मचारीको नाउँमा दर्ता रहेको जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं । ४ अन्तर्गत सा । कि ।नं । ८०८, ८०९ को १-१२-० र जिरायत जग्गा १-५-० समेत गरी २-१७-० जग्गामध्ये जलेश्वर जाने पिच रोड सो पूर्व महाविर मन्दिर सो उत्तरतर्फबाट ४० हात लम्बाइ २० हात चौडाइ जग्गामा खपडाको छाना भएको घर बनाई होटल सञ्चालन गर्नलाई जग्गाको प्रतिमहिना रू ।१,१००।– का दरले बहाल तिर्ने गरी मिति २०४७।०४।२० मा बहालको कागज गरिदिएकोमा सो जग्गाको २०५७ साल आषाढदेखि बहाल नबुझाएकोले सो मितिदेखि फिराद दायर भएको मितिसम्मको १ वर्ष २ महिनाको प्रतिमहिना रू ।१,१००।- ले हुने रू ।१५,४००।- र मुद्दा फैसला भई जग्गा खाली नगरेसम्मको बहाल तथा कोर्ट फीसमेत दिलाई भराई उक्त जग्गासमेत खाली गराइपाउँ भन्ने वादी शारदादेवी ब्राह्मणीको फिराद रहेकोमा मैले सो जग्गा बहालमा लिने सम्बन्धमा कुनै कागज नगरेकोले वादी दाबी झुठा हो भन्ने प्रतिवादी इन्द्रदेव झाको प्रतिउत्तर रहेको देखिन्छ । वादी दाबीको घर बहाल सबै अंशियारले भरिपाउने भनी धनुषा जिल्ला अदालतबाट मिति २०६१।०१।२८ मा फैसला भएकोमा सोउपर वादी शारदादेवी ब्राह्मणी र प्रतिवादी पशुपति चैतन्य ब्रह्मचारी दुवै पक्षको पुनरावेदनमा सुरू फैसलामा केही उल्टी गरी दुई दुई वर्षको पालो गरेर जग्गाको बहाल आपसमा उठाई पूजा गर्नुपर्ने ठहर गरी पुनरावेदन अदालत जनकपुरबाट मिति २०६६।०२।१८ मा फैसला भएको पाइयो । पुनरावेदन अदालतको उक्त फैसलामा समेत चित्त नबुझाई वादी शारदादेवी ब्राह्मणी र प्रतिवादी इन्द्रदेव झाससमेत दुवै पक्षको पुनरावेदन परी निर्णयार्थ यस इजलाससमक्ष पेस भएको देखियो ।
उल्लिखित तथ्यगत बेहोरा र विद्वान् कानून व्यवसायीहरूबाट प्रस्तुत बहस जिकिर सुनी दुवै पक्षका तर्फबाट परेको पुनरावेदनसहितको मिसिल एवम् कागज प्रमाणसमेत अध्ययन गरी हेर्दा, प्रस्तुत मुद्दामा मुख्य गरी देहायका विषयमा निर्णय दिनुपर्ने देखियो:-
(क) राम मन्दिरमा पूजा आजा गर्ने पुजारी स्व । पूर्ण चैतन्य ब्रह्मचारीको शेषपछिको उत्तराधिकारीको रूपमा चेला वा महन्तको जिम्मेवारी कसैलाई तोकिएको देखिन्छ कि देखिँदैन ? चेला तोकिएको भए वादी वा प्रतिवादीमध्ये कसको नाममा चलन रहेको देखिन्छ ?
(ख) राम मन्दिर गुठीमा रहेका कि ।नं । ८०८, ८०९ र जिरायत जग्गाहरू बहालमा दिनेलगायतको व्यवस्थापन गरी त्यसबाट प्राप्त आयस्ताबाट राम मन्दिरको पूजापाठ गर्ने हक र जिम्मेवारी वादी वा प्रतिवादीमध्ये कसमा रहेको
देखिन्छ ?
(ग) वादीले दाबी लिएको वादी शारदादेवी ब्राह्मणी र प्रतिवादी इन्द्रदेव झाबिच मिति २०४७।०४।२० मा भएको बहालको कागज सद्दे हो, होइन ? वादी दाबीबमोजिमको बहाल रकम प्रतिवादीबाट भराई जग्गा खाली गरिदिनुपर्ने हो, होइन ?
(घ) पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ?
२ । अब, निरूपण गरिनुपर्ने उल्लिखित प्रश्नहरूका सम्बन्धमा निर्णय दिनुअघि, प्रस्तुत मुद्दामा विवादको मूल विषयका रूपमा रहेको गुठीको नाममा रहेका जग्गा वा सम्पत्तिको हक भोग र उपयोगका सम्बन्धमा तत्काल प्रचलनमा रहेका कानूनी व्यवस्था र यस अदालतबाट गुठीका सम्बन्धमा परेका मुद्दामा भएका फैसलामा स्थापित न्यायिक सिद्धान्तसमेतको अध्ययन गरी हेर्नुपर्ने देखियो । सर्वप्रथम गुठीका सम्बन्धमा तत्काल प्रचलित संवैधानिक एवम् कानूनी व्यवस्थाको उल्लेख गर्नु वाञ्छनीय देखिन्छ ।
(क) नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १९ को उपधारा (२) मा "प्रत्येक धार्मिक सम्प्रदायलाई कानूनबमोजिम आफ्नो स्वतन्त्र अस्तित्व कायम राखी आफ्नो धार्मिक स्थल र धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्ने हक हुने छ ।" भन्ने व्यवस्था रहेको देखिन्छ । संविधानको यो व्यवस्थाले हरेक धार्मिक सम्प्रदायलाई आफ्नो धर्म परम्पराको सञ्चालन र प्रवर्द्धन गर्न गुठीको स्थापना गर्नसक्ने हक सुनिश्चित गरेको देखिन्छ । मुलुकी ऐन, २०२० गुठीको महलको ११ नं । मा "भेषधारीहरूले गुठी नराखी आफ्ना नाउँमा दरिएको वा आफ्नु हक पुग्ने जग्गाको पोत तिरो तिरी बाँकी रहेको आफूले खान पाउने आयस्ताबाट देव देवताको पूजा आजा धर्म सदावर्त इत्यादि काम चलाउने गरी राखेको वा काम चलाइआएका जग्गा ती मरिसकेपछि तिनका चेलाले लागेको पोत तिरो तिरी बाँकी रहेको आयस्ताबाट साबिकबमोजिको काम चलाई शेष बाँकी रहनेमा सो शेषसम्म खान हुन्छ । त्यस्तो जग्गा बन्धक राख्न वा हक छोडी बिक्री दान बकस इत्यादि गरी दिन लिनसमेत हुँदैन । मालपोत तिरो बाँकी राखे कानूनबमोजिम पजनी हुन्छ" भन्ने व्यवस्था रहेको देखिन्छ । यो व्यवस्थाले गुठीमा रहेका जग्गाहरूको पोत गुठियारले बुझाई त्यस्ता जग्गाबाट प्राप्त आयस्ता गुठीको सञ्चालन पूजाआजामा नै खर्चिनुपर्ने गरी कानूनी व्यवस्था भएको देखियो । मुलुकी ऐन २०२० गुठीको महलको १२ नं । मा "कुनै मठ स्थानको महन्तको पद रिक्त भएमा शिष्य उपशिष्यले सो महन्त्याई चलाउने लालमोहर भएकोमा सो मठ स्थानको काम राम्रोसँग चलाउन सक्ने नेपाली नागरिक शिष्य उपशिष्यले सो महन्त्याई पाउने छ" भन्ने व्यवस्था रहेको देखिन्छ । यो व्यवस्थाले मठको महन्त नेपाली नागरिक भई राम्रोसँग चलाउन सक्ने अर्थात् सक्षम र योग्य पनि हुनुपर्ने भन्ने देखियो । राजगुठीलाई नेपाल सरकारको अधीनबाट झिकी एक संस्थानको जिम्मा सुम्पी राजगुठीहरूलाई सुव्यवस्थित रूपले सञ्चालन गराउने उद्देश्यले गुठी संस्थान ऐन, २०३३ जारी भएको देखिन्छ । उक्त ऐनको दफा २(ग) मा "गुठी" भन्नाले कुनै मठ वा कुनै देवी-देवताको पर्व, पूजा वा जात्रा चलाउन वा कुनै धार्मिक वा परोपकारी कामको लागि कुनै मन्दिर, देवस्थल, धर्मशाला, पाटी-पौवा, इनार, पोखरी, तलाउ, धारा, पियाउ, बाटो, घाट, पुल, चौतारा, गौचरन, बाग, बगैंचा, जङ्गल, पुस्तकालय, पाठशाला, औषधालय, चिकित्सालय घर, इमारत वा संस्था बनाउने, चलाउन वा त्यस्को संरक्षण गर्न कुनै दाताले आफ्नो चल अचल सम्पत्ति वा आयस्ता आउने अरू कुनै सम्पत्ति वा रकममा आफ्नो हक छाडी राखेको गुठीसमेतलाई सम्झनुपर्छ’ भनी गुठीको परिभाषा गरेको पाइन्छ । प्रस्तुत मुद्दामा कि ।नं । ८०८ र ८०९ र जिरायतसमेतका जग्गाहरू राखी स्थापित राम मन्दिर गुठी उल्लिखित गुठीको परिभाषाभित्र पर्ने नै देखियो ।
(ख) गुठी संस्थान ऐनको दफा १९क । मा निजी गुठीको लगत शीर्षकको उपदफा (१) मा "निजी गुठीका गुठियारले गुठीको लगत तोकिएबमोजिमको ढाँचामा संस्थानमा दिनुपर्ने छ । भन्ने र उपदफा (२) मा उपदफा (१) बमोजिम लगत प्राप्त भएपछि संस्थानले व्यक्तिगत वा पारिवारिक रूपमा र सामाजिक हितको लागि राखिएका निजी गुठीको लगत तोकिएबमोजिम छुट्टाछुट्टै राख्नुपर्ने छ" भन्ने व्यवस्था रहेको देखिन्छ । ऐ । को दफा २० मा "निजी गुठीको हक दायित्व संस्थानले लिन सक्ने शीर्षकअन्तर्गत उपदफा (१) मा "कुनै निजी गुठीको दातासमेत सबै वा अधिकांश गुठियारहरूले त्यस्तो निजी गुठीको हक दायित्व संस्थानले नै बेहोर्ने गरी बन्दोबस्त र सञ्चालन संस्थानबाट नै हुन लिखित अनुरोध गरेमा संस्थानले त्यस्तो गुठीको हक दायित्व लिई बन्दोबस्त र सञ्चालन गर्न सक्ने छ" भन्ने ऐ ।को उपदफा (२) मा "व्यक्तिगत वा पारिवारिक रूपमा राखिएका निजी गुठीबाहेक सामाजिक हितको लागि राखिएका निजी गुठीका गुठियारले शिलापत्र, धर्मपत्र, दानपत्र आदिमा लेखिएबमोजिम सो गुठीको सञ्चालन नगरी गुठीको सम्पत्ति हिनामिना गरेको देखिएमा गुठियारले लिखित अनुरोध नगरे पनि संस्थानले त्यस्तो गुठीको जिम्मा लिई बन्दोबस्त सञ्चालन गर्न सक्ने छ" भन्ने, ऐ ।को उपदफा (३) मा "पशुपति अमालकोट कचहरीमा कुत बुझाउनुपर्ने वा पशुपति गुह्येश्वरीसँग सम्बन्धित सबै खालका गुठीको जग्गाको जग्गा प्रशासन गुठी संस्थानले जिम्मा लिई बन्दोबस्त र सञ्चालन गर्न सक्ने छ" भन्ने र ऐ ।को उपदफा (४) मा "उपदफा (१) वा (२) बमोजिम संस्थानले हक दायित्व लिएपछि त्यस्तो निजी गुठी राजगुठीमा परिणत भई त्यस्तो निजी गुठीको चल, अचल जायजेथा, देवमूर्तिसमेत उपर निजी गुठी वा दाता गुठियारको भइरहेको सबै अधिकार संस्थानमा सर्ने छ र त्यस्तो निजी गुठीका दाता, गुठियार, खान्गीदारको सबै हक अधिकार समाप्त हुने छ" भन्ने व्यवस्था रहेको देखिन्छ । यो व्यवस्थाले निजी गुठीको लगत गुठियारले गुठी संस्थानमा दिनुपर्ने र गुठी संस्थानले प्राप्त लगतको वर्गीकृत अभिलेख तयार गरी राख्नुपर्ने र गुठियारको अनुरोधमा वा गुठीको सम्पत्ति हिनामिना गरेको अवस्थामा निजी गुठीको हक दायित्वसमेत गुठी संस्थानले लिन सक्ने गरी कानूनी व्यवस्था भएको देखियो ।
(ग) गुठी स्थापना, सञ्चालन र व्यवस्थापनका सन्दर्भमा तत्कालीन समयमा प्रचलित कानूनी व्यवस्थाको अध्ययनपश्चात् यस अदालतबाट गुठीका सम्बन्धमा परेका मुद्दाको रोहमा स्थापित न्यायिक सिद्धान्तको संक्षिप्त चर्चा गर्नु वाञ्छनीय हुने देखिन्छ । निवेदक जनहित संरक्षण मञ्च विरूद्ध नेपाल सरकार मन्त्रिपरिषद् सचिवालयसमेत भएको उत्प्रेषण परमादेश मुद्दा मा "दाताले आफ्नो चल अचल सम्पत्ति वा आयस्ता आउने अरू कुनै सम्पत्ति वा रकममा आफ्नो निजी हक छाडी सार्वजनिक हितका लागि समर्पण गर्ने हुँदा गुठी भनेको कुनै सामाजिक वा धार्मिक कार्य निरन्तर रूपले सञ्चालन गर्न आफ्नो सम्पत्तिको हक वा स्वामित्व हस्तान्तरण पनि हो, जसले गुठी स्थापना गर्छ वा राख्दछ, उसले सँगसँगै त्यस्तो सम्पत्तिमा आफ्नो हक ववे पनि
गर्दछ । गुठीको सिर्जनासँगै व्यक्तिको हक समाप्त हुन्छ । गुठी, व्यक्तिको हक समाप्त हुने र समूह, समुदाय वा सम्प्रदायको हक सिर्जना हुने प्रक्रिया भएकाले गुठी राख्नेले आफ्नो इच्छापत्रमार्फत व्यक्त इच्छालाई नमासिने गरी जोगाई निरन्तरता (पेर्पेतुअल कोन्तीनउइती) प्रदान गर्नु राज्य वा राज्यको अङ्ग अर्थात् सरकारको अङ्गका रूपमा रहेका गुठी संस्थान जस्ता एजेन्सी वा इन्स्त्रुमेन्टअलिती ओफ थे स्तते को कानूनी कर्तव्य हुने" भनी यस अदालतको विशेष इजलासबाट सिद्धान्तसमेत प्रतिपादन भएको पाइन्छ । त्यस्तै पुनरावेदक प्रतिवादी आसामाया श्रेष्ठको मु ।स ।गर्ने सुकु श्रेष्ठको छोरा नारायण श्रेष्ठ विरूद्ध गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौंसमेत भएको मोही नामसारी मुद्दा मा "पुर्खाले निश्चित धार्मिक प्रयोजनको लागि खडा गरेको निजी गुठी पछिल्ला पुस्ताले गुठीको प्रयोजन लोप गरी तथ्य लुकाई निजी बनाउने, त्यस्ता गुठियारले धार्मिक गुठी जग्गा रैकरमा परिणत गरी बेचबिखन गरी आफूलाई व्यक्तिगत लाभ पुर्याउने जस्ता काम गर्न छुट दिन
नसकिने । एकातिर गुठी नै लोप गर्ने कार्यबाट धर्मलोप हुन जान्छ भने अर्कोतर्फ पुर्खाले नै आफ्नो हक छाडी धार्मिक वा सामाजिक कार्यको लागि समर्पण गरिसकेको जग्गा जमिन आदि पछिल्लो पुस्ताले लोभ लालचमा फसी दाबी गरी आफूखुसी गर्ने कार्यबाट गुठीको लागि आफ्नो हक छाडी जग्गा दान गर्ने पुर्खाको उद्देश्य नै समाप्त हुन जाने । गुठीको प्रयोजनार्थ राखिएको सम्पत्ति अंश, अपुताली, दानबकस आदिबाट गुठीको उद्देश्यविपरीत हुने वा अस्तित्व समाप्त हुने गरी स्वामित्व हस्तान्तरण हुने प्रकृतिको नहुने ।" भनी यस अदालतको पूर्ण इजलासबाट सिद्धान्तसमेत प्रतिपादन भएको पाइन्छ । त्यस्तै निवेदक महन्त रामचन्द्र भारती विरूद्ध संसद् सचिवालयसमेत भएको उत्प्रेषण निवेदन मा "गुठी संस्थान ऐन, २०३३ प्रारम्भ हुँदाको अवस्थामा गुठी संस्थानको हक दायित्व भई संस्थान स्वयंले बन्दोबस्त र सञ्चालन गरी आएको गुठी जग्गालाई राजगुठी र गुठीको पर्व पूजा इत्यादि दानपत्र लिखतबमोजिम काम चलाई बाँकी रहेको शेष कसर वा सलामीसम्म राजगुठीमा बुझाउनुपर्ने वा त्यस्तो गुठी चलाउनेले शेष कसर खाने गरी गुठी संस्थान ऐन, २०२१ प्रारम्भ हुनुअगावै श्री ५ को सरकारमा बुझाउनुपर्ने मालपोत वा तिरो बुझाउनुपर्ने दायित्वबाट छुट पाएको गुठीलाई छुट गुठी मानिने कानूनी प्रावधान रहेको पाइन्छ । उक्त प्रावधानबाट नेपाल अधिराज्यको विभिन्न भागमा छरिएर रहेका राजगुठीहरूलाई सुव्यवस्थितरूपले सञ्चालन गर्न नै गुठी संस्थानको स्थापनाको उद्देश्य रहेको देखिन्छ । तसर्थ राजगुठीमा परिणत भएका छुट गुठी र निजी गुठीको दानपत्र, लिखत र परम्पराबमोजिम पर्व पूजा इत्यादि नरोकिने र धर्मलोप नहुने गरी बन्दोबस्त र सञ्चालन गर्नु, गराउनुपर्ने गुठी संस्थानको कर्तव्य तोकिएको छ । निजी गुठीको हकमा दफा २० बमोजिम कुनै निजी गुठीको दातासमेत सबै वा अधिकांश गुठियारले त्यस्तो गुठीको हक दायित्व संस्थानले नै बेहोर्ने गरी संस्थानबाट बन्दोबस्त र सञ्चालन हुन लिखित अनुरोध गरेमा मात्र संस्थानले त्यस्तो निजी गुठीलाई आफ्नो हक दायित्वमा लिई बन्दोबस्त र सञ्चालन गर्न पाउँछ अन्यथा नपाउने ।" भनी यस अदालतबाट सिद्धान्तसमेत प्रतिपादन भएको पाइन्छ । पुनरावेदक प्रतिवादी तुल्सीमाया महर्जन विरूद्ध प्रत्यर्थी वादी पञ्चनारायण महर्जनसमेत भएको दर्ता बदर मुद्दा मा "संवैधानिक एवम् कानूनी व्यवस्थाका आधारमा गुठी तैनाथी जग्गा गुठी अधीनस्थ जग्गामा, गुठी अधीनस्थ जग्गा गुठी रैतान नम्बरी जग्गामा वा गुठीको घर वा जग्गा रैकरमा दर्ता गर्ने कार्य स्वभावत: गुठी स्थापनाको उद्देश्य प्रतिकूलको कार्य हो भन्ने नै देखिने । गुठी तैनाथी जग्गा गुठी अधीनस्थ जग्गामा, गुठी अधीनस्थ जग्गा गुठी रैतान नम्बरी जग्गामा वा गुठीको घर वा जग्गा रैकरमा दर्ता हुनबाट जोगाउन जुनसुकै चरणमा पनि हस्तक्षेप गर्न सक्ने संस्थानको अधिकार गुठी संस्थान ऐन, २०३३ को दफा ३९ को उपदफा (१) ले सुनिश्चित गरेको पाइने" भनी यस अदालतको पूर्ण इजलासबाट सिद्धान्तसमेत प्रतिपादन भएको पाइन्छ । पुनरावेदक वादी ज्ञानेन्द्ररत्न तुलाधर विरूद्ध प्रत्यर्थी प्रतिवादी रेसमान तुलाधरसमेत भएको धर्मलोप मुद्दा मा "गुठीका गुठियारहरूको प्रमुख उद्देश्य अघिदेखि चलिआएको पूजाआजा चलाई सामूहिक रूपले थिति बन्देजअनुसार भोग चलन गर्न पाउनेसम्म हुन्छ । गुठीको सम्पत्ति नासी, मासी वा खण्डीकरण गरी गुठीको सनातनदेखिको अस्तित्वलाई लोप गर्नु गुठीको उद्देश्य एवं मान्यताविपरीत हुने । गुठीको एउटै जग्गा एकाको नाउँमा हक कायम हुँदा गुठी कायम हुने र अर्काको नाउँमा हक कायम हुँदा गुठी नहुने भनी अर्थ गर्नसमेत मिल्दैन । अतः उक्त जग्गाको साबिकको हकको स्रोत एवं २०५४ सालमा भएको मिलापत्रसमेतबाट वादी प्रतिवादीहरू दुवै पक्षको हक कायम भएको जग्गाको साबिकको स्रोत र स्रेस्ता नै परिवर्तन हुने आधार नदेखिँदा सो जग्गा गुठी नै कायम हुने गरी जग्गाको आयस्ताबाट सनातनदेखि चलिआएको पर्व पूजालाई निरन्तरता दिनुपर्ने" भनी सिद्धान्त स्थापित भएको देखियो । निवेदक मनोजमान जोशीसमेत विरूद्ध विपक्षी वादी भूमिसुधार कार्यालय काठमाडौंसमेत भएको उत्प्रेषणसमेत निवेदन मा "गुठीबाट व्यक्तिको हक समाप्त हुने र समूह, सम्प्रदाय वा समुदायको हक सिर्जना हुने प्रक्रिया भएकाले गुठी राख्नेले आफ्नो इच्छापत्रमार्फत व्यक्त इच्छालाई नमासिने गरी जोगाई निरन्तरता (पेर्पेतुअल कोन्तीनउइती) प्रदान गर्नु राज्य वा राज्यको अङ्गका रूपमा रहेका सबै निकायहरूको कानूनी कर्तव्य हुने । । । ।जग्गाको आकार र जग्गामा घरले चर्चेका कारण बाँडफाँट गर्न नमिल्ने हुँदा कानूनबमोजिम मोहीका नाममा पूरै जग्गाको स्वामित्व कायम हुन आए पनि परम्परा, धर्म, संस्कृति, प्रचलन, मान्यता र कानूनले नै गुठी प्रथालाई मान्यता प्रदान गरी गुठी नेपालको संस्कृति, धर्मको एक अभिन्न कानूनी अङ्ग भएको र त्यसलाई कानूनले नै मान्यता प्रदान गरेको अवस्थामा गुठियार नभए पनि गुठीको पूरै जग्गाको जग्गाधनी बनेपछि त्यस्तो जग्गासँग गाँसिएको र त्यस्तो जग्गाले बोकेको (लेगकी) बाट उन्मुक्त हुन नसक्ने ।" भनी सिद्धान्त स्थापित भएको देखियो ।
(घ) यस अदालतबाट भएका अन्य निर्णयहरू जस्तै: पुनरावेदक वादी गुणराज पराजुलीको मु ।स । गर्ने गोपालप्रसाद पराजुली विरूद्ध पुनरावेदक प्रतिवादी सत्यदेवी पौडेलको मु ।स । गर्ने ऋषिराम पौडेलसमेत भएको निर्णय दर्ता स्रेस्ता बदर गरी दर्ता गरिपाउँ मुद्दा मा "सार्वजनिक प्रकृतिको गुठीजन्य सम्पत्ति हिनामिना हुनबाट बचाउन तथा नासिन र मासिन नदिन त्यसको व्यवस्थापन एवम् बन्दोबस्त कुनै व्यक्तिबाट नभई राज्यकै तर्फबाट अर्थात् राज्यको तर्फबाट गुठी जग्गा प्रशासन गर्ने निकाय गुठी संस्थानबाट मात्र हुन वाञ्छनीय हुन्छ । त्यस्तो सार्वजनिक प्रकृतिका गुठीजन्य सम्पदा तथा सम्पत्ति नासिन तथा मासिन नदिई कुनै पनि बेहोराले त्यसको स्वामित्व कुनै व्यक्तिको नाममा हस्तान्तरण हुन नदिनु गुठी संस्थान तथा मालपोत कार्यालयलगायतका सरकारी निकायको कर्तव्य भएको भन्ने कुरामा विवाद हुन नसक्ने ।" भनी व्याख्या भएको पाइन्छ । निवेदक बैकुण्ठ तिवारी भन्ने बैकुण्ठदास बैष्णव विरूद्ध गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौंसमेत भएको उत्प्रेषण मा "देशभित्र रहेका मठ मन्दिरहरू जनताका अमूल्य सम्पत्ति हुन् । पूर्वजहरूले हामीलाई यी अमूल्य निधिहरू नासोको रूपमा छाडेका हुन् र भावी पुस्तालाई हामीले सोही रूपमा हस्तान्तरण गर्ने कर्तव्य राख्दछौं । नेपालको संविधानले अङ्गीकार गरेको "अन्तरपुस्ता समन्याय" को सिद्धान्तको मान्यता पनि यही हो । कुनै धार्मिकस्थल तथा धार्मिक गुठीको सञ्चालनमा व्यक्तिगत लोभलालच वा स्वार्थको कुनै स्थान हुनु हुँदैन । चाहे गुठी संस्थान होस् वा महन्त वा जग्गा कमाउने मोही नै किन नहोस्, मठ मन्दिर वा गुठी परम्पराको विनास गर्ने हक कसैलाई
नहुने । स्वार्थवश गरिएका कुराहरूलाई छुट दिँदा हाम्रा धार्मिक र सांस्कृतिक धरोहर नासिनुका साथै सभ्यतासमेत स्खलित हुन पुग्छ । मठको महन्त वा पुजारी भनेको मठ मन्दिरको न्यासी (ट्रुस्ती) हो, त्यसबाट फाइदा लिने व्यक्ति होइन । उसले भगवान्को मन्दिरमा बसी आराधना गर्ने, मठको सम्पत्ति तथा परम्परा जोगाउने र लोक कल्याण गर्ने हो, मठको सम्पत्ति नास गर्ने होइन । मठ मन्दिरको सम्पत्ति नास गर्ने कार्यलाई अदालतले छुट दिन नसक्ने ।" भनी सिद्धान्त स्थापित भएको देखियो । त्यस्तै सरोजकुमार नायक सुडी विरूद्ध हर्षनारायण झा भन्ने सिताराम दास भएको बहाल लिई घर खाली गराई चलन मुद्दा (०७४-कि-०८९४) मा कानून र भू-स्वामित्वमा आएको परिवर्तनसँगै रकम वा जिन्सी तथा नियमित कुत बुझाई मनखप लिने प्रचलन जग्गाधनी र कमाउने व्यक्तिको हकमा समेत कानूनले मान्यता नदिएको र भूमिसम्बन्धी कानूनमा आएको परिवर्तनबाट जग्गामा मोही लाग्ने व्यवस्थासमेत समाप्त भएको परिप्रेक्ष्यमा जनकपुर जस्तो ऐतिहासिक तथा धार्मिक र सांस्कृतिक महत्त्वको ठाउँमा रहेका निजी प्रकृतिका गुठीहरूमा भेषधारी तथा गुठियारहरूले परम्परागत प्रकृतिको गुठीको सम्पत्ति मनखपमा लगाउने प्रचलनलाई उपयुक्त मान्न सकिने देखिएन । सामान्यतया निजी गुठीका जग्गा वा भवनमा भाडा लगाउनुपर्ने भए सम्पूर्ण विवरण खोली निश्चित समयलाई करारको माध्यमबाट भाडामा लगाउने र त्यस्तो कार्यलाई गुठी संस्थान ऐन, २०३३ को दफा १९क । बमोजिम गुठी संस्थानमा नियमित विवरण पेस गर्नुपर्ने देखिँदा यस सम्बन्धमा उक्त कि ।नं ।२१ को महाबीर हनुमानजीको नाममा रहेको जग्गाका गुठियार हर्षनारायण झा भन्ने सिताराम दासलाई ध्यानाकर्षण गराउने । । ।उक्त गुठी निजी प्रकृतिको भेषधारीले स्थापना गरेको गुठी देखिएको हुँदा गुठी संस्थान ऐन, २०३३ को दफा १६ बमोजिमको राजगुठीको व्यवस्था आकर्षित नहुने देखिए तापनि गुठी जनिएको उक्त जग्गा बिक्री वितरण नहुने र उद्देश्यअनुरूप सञ्चालन हुनुपर्ने दायित्व मठाधीश तथा गुठियार महन्तको देखिने भएकोले भेषधारी गुठीको भावना र धार्मिक कार्यको उद्देश्यअनुरूप यसरी प्राप्त हुने बहालबापतको रकम भगवान् महाबीर हनुमान र श्रद्धालु भक्तजनको सेवामा खर्च गर्न धार्मिक, नैतिक र कानूनीरूपले बाध्य भएको" भनी गुठीको सम्पत्तिको संरक्षण र उपयोगका सम्बन्धमा गुठी संस्थान र गुठियारलाई जिम्मेवार बनाउने गरी यस अदालतको संयुक्त इजलासबाट व्याख्या एवम् विवेचना भएकोले उक्त व्याख्या प्रस्तुत मुद्दाको निरूपणका सम्बन्धमा सान्दर्भिक हुने देखियो ।
३ । उल्लिखित न्यायिक व्याख्या एवम् सिद्धान्तको अध्ययनबाट जुनसुकै प्रकारको गुठीका नाममा रहेका सम्पत्ति व्यक्तिको नाममा कुनै प्रकारले पनि हक हस्तान्तरण हुन नसक्ने, गुठीको सम्पत्ति स्थापनाको उद्देश्यका लागि गुठीको परम्परा एवम् धर्म र संस्कृतिको जगेर्नाका लागि नै उपयोग गर्नुपर्ने साथै गुठीको नामको सम्पत्तिको संरक्षण र व्यवस्थापन गर्नु सम्बन्धित गुठीका गुठियार, गुठी संस्थानलगायत सबै सरकारी निकायको कर्तव्य हुने भन्ने सम्बन्धमा यस अदालतको निरन्तर प्रकृतिको न्यायिक नीति एवम् निर्देश भएको देखिन्छ । उल्लिखित कानूनी व्यवस्था एवम् न्यायिक नीतिसमेतको रोहमा हेरी प्रस्तुत विवादको निरूपण गर्नुपर्ने हुन आयो ।
४ । अब, राम मन्दिरमा स्व ।पूर्ण चैतन्य ब्रह्मचारीको शेषपछिको उत्तराधिकारीको रूपमा चेला वा महन्तको जिम्मेवारी कसैलाई तोकिएको वा नतोकिएको र चेला तोकिएको भए चलन कसको नाममा रहेको भन्ने पहिलो प्रश्नतर्फ हेर्दा, प्रस्तुत मुद्दामा विवादित कि ।नं । ८०८, ८०९ र जिरायत जग्गा राम मन्दिर गुठीको नाममा रही बिक्री गर्न नपाउने र अपुतालीबाट हक कायम नहुने किसिमको देखिएको छ । यिनै वादी र प्रतिवादी रहेको अंश मुद्दामा उक्त जग्गा बन्डा नलाग्ने भनी भएको फैसला अन्तिम भई बसेको देखिन्छ । गुठीमा रहेका उल्लिखित विवादित कित्ता जग्गाको स्वामित्वका सम्बन्धमा विवाद रहेको
देखिँदैन । राम मन्दिर गुठीको नाममा रहेका जग्गा बहालमा प्रतिवादीलाई दिएकोमा सम्झौताअनुसारको बहाल रकम प्रतिवादी इन्द्रदेव झाले नतिरेकोले बहाल उठाई जग्गासमेत खाली गरिपाउँ भन्ने वादी शारदादेवीको फिराद दाबी रहेको देखिन्छ । पुनरावेदक वादीले राम मन्दिर गुठीमा रहेका उल्लिखित जग्गाको भोग चलन गरी भगवान् रामजीलाई गुलफूल चढाउने महन्त स्व । पूर्ण चैतन्य ब्रह्मचारीको शेषपछिको उत्तराधिकारीको रूपमा निजको एक मात्र पत्नीका हैसियतले आफ्नो हक रहेको र सो कार्यहरू आफैँले गर्दै आएकोले चेला आफू नै रहेको भनी दाबी गरेको देखिन्छ । अ ।बं ।१३९ नं । बमोजिम बुझिएका प्रतिवादी पशुपति चैतन्य ब्रह्मचारीले भने स्व । पिता पूर्ण चैतन्य ब्रह्मचारीले नै आफूलाई गुरुमन्त्र दिएको र निषेधाज्ञा मुद्दाबाट आफूले चलनसमेत पाएकोले गुरु चेलाको सम्बन्ध रहेको र तदनुरूपको जिम्मेवारी पूरा गर्दै आएकोले आफू नै हकदार रहेको भनी प्रतिवाद गरेको पाइन्छ । मिसिल सामेल निषेधाज्ञा मुद्दाको राय किताबको प्रमाणित प्रतिलिपि हेर्दा दाबीको जग्गा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला, प्रत्यर्थीको लिखित जवाफ र अख्तियारनामाको ६३ नं । को प्रतिलिपिबाट निवेदक पूर्ण चैतन्य ब्रह्मचारीले भोग गर्न पाउने अवस्थाको रहेको भनी निषेधाज्ञाको आदेश जारी भएको देखिन्छ । जहाँसम्म मैले नै उक्त जग्गाहरूको चलन पाएकोले म नै पुजारी हो भन्ने पशुपति चैतन्यको जिकिर छ, सो सम्बन्धमा निवेदक पूर्ण चैतन्य ब्रह्मचारीको मृत्युपछि यी पुनरावेदक पशुपति चैतन्यले निषेधाज्ञा मुद्दा सकार गरेको कारणले निजको नाममा चलन दिएको र निषेधाज्ञा मुद्दाको राय किताव उतारबाट "निज पशुपति चैतन्यलाई पुजारी तोकेको नदेखिएकाले" भन्ने उल्लेख भएबाट निवेदक पूर्ण चैतन्यको शेषपछिको पुजारी पशुपति चैतन्य रहेछन् भनी मान्न मिल्ने देखिएन । त्यसैगरी राम मन्दिरका पुजारी स्व ।पूर्ण चैतन्यले आफ्नो जीवनकालमा कसैलाई पनि उत्तराधिकारी घोषणा गरेको वा चेला वा महन्त तोकेको भन्ने देखिँदैन । पूर्ण चैतन्य ब्रह्मचारीका श्रीमती शारदादेवीले मन्दिरका श्रीसम्पत्ति सबै चलाउने र निजका छोरा गणेश चैतन्यले समेत मन्दिरको रेखदेख गर्दै आएका छन् भनी वादीका साक्षी गणेश महासेठले सुरू अदालतमा गरेको बकपत्रको स ।ज । १५ मा खुलाइदिएको पाइन्छ । त्यसैगरी वादीका अर्का साक्षी महेश ठाकुरले पशुपति चैतन्य पूर्ण चैतन्यको छोरा हुन् तर चेला होइन भनी सुरू अदालतमा भएको बकपत्रको स ।ज ।२० मा उल्लेख गरिदिएको
देखिन्छ । यसबाट पूर्ण चैतन्यका श्रीमती शारदादेवी र छोरा गणेशले समेत मन्दिरको रेखदेख र पूजा आजा गरेको देखिँदा पुनरावेदक पशुपति चैतन्यले मात्रै मन्दिरको पूजा आजा गरेको र निज नै पुजारी वा चेला भएको भन्ने जिकिरलाई मनासिब मान्न मिल्ने
देखिएन ।
५ । पुनरावेदक प्रतिवादी पशुपति चैतन्य ब्रह्मचारीले अर्का पुनरावेदक वादी शारदादेवी महिला भएकाले ब्रह्मचारी कुटीमा महन्त हुन सक्दिनन् । महन्त भन्ने पद महिलाको लागि होइन भनी जिकिर लिएको पाइन्छ । यसबाट निजी गुठीमा रहने महन्त वा पुजारी महिला हुन सक्ने हो, होइन भनी हेर्नुपर्ने देखियो । महन्त शब्दको अर्थ योगी, सन्यासीका आश्रमको सर्वोच्च अधिपति, साधुसमाज वा मठको प्रमुख व्यक्ति, मठाधीश भन्ने देखिन्छ । मठ भन्नाले जोगी सन्यासी वा सन्त महन्त बस्ने ठाउँ, साधुहरूको आश्रम, देव देवीको मन्दिर, देवालय लाई
बुझ्नुपर्दछ । गुठी संस्थान ऐन, २०३३ को दफा १६ को कार्यान्वयनका लागि बनेको महन्त, पुजारीलगायतका जनशक्ति व्यवस्थापन निर्देशिका, २०७७ को दफा २ को देहाय (घ) मा देवस्थलमा नित्य, पर्व र उत्सवमा परम्परागत रूपमा पूजा गर्ने व्यक्तिलाई "पुजारी" र (च) मा मठको प्रमुखलाई महन्त भनी परिभाषित गरिएको पाइन्छ । सोही निर्देशिकाको दफा ८ मा महन्तको योग्यतामा नेपाली नागरिक, सम्बन्धित धर्म सम्प्रदायको दर्शनसम्बन्धी राम्रो ज्ञान भएको, प्रचलित कानूनबमोजिम अदालतबाट फौजदारी मुद्दामा सजाय नपाएको, मठअनुकूल धार्मिक विधि र सोसम्बन्धी ज्ञान चेलाहरूलाई दिनसक्ने क्षमता भएको, धार्मिक भावनाअनुरूपको अनुशासन तथा अभ्यासमा विश्वास भएको र असल आचरण भएको हुनुपर्ने गरी व्यवस्था गरेको पाइन्छ ।
६ । प्रस्तुत मुद्दामा विवादित कित्ता जग्गाहरूको सम्बन्धमा ब्रह्मचारी दुर्गा चैतन्यलाई प्राप्त ६३ नं । को अख्तियारी सवालमा त्यस स्थानका जिरायत १ बिगाहा १० कठ्ठा रैतीको नम्बरी खरिद गरी लिएको १ बिगाहा १२ कठ्ठा गरी ३ बिगाह २ कठ्ठा निज ब्रह्मचारीले गुलफूल लगाई आएको फलफूल श्री रामचन्द्रजीमा चढाई बाँकी बचेका साधु सन्तलाई बाँडिदिनेसमेत सो फूलबारीको तैनाथ निजै ब्रह्मचारी दुर्गा चैतन्यलाई बक्सेको छ । बेचबिखन गर्न
पाइँदैन । निज ब्रह्मचारीले छाडी अन्त गएमा सो आयस्ता तालुक गरिराख्नु भन्ने उल्लेख भएबाट यी जग्गाहरू भोग चलनसम्म गुठियारले गरी प्राप्त आयस्ताबाट रामजीलाई गुलफूल चढाई सन्त साधुलाई भोग लगाउन पाउने भन्ने देखिन्छ । राम मन्दिर गुठीको परम्परा हेर्दा उल्लिखित जग्गाहरू राम मन्दिर गुठीमा रहने र सोको भोग चलन गरी रामजीमा गुलफूल चढाउने भन्नेसम्म रहेको देखिन्छ । शारदादेवीले पति पूर्ण चैतन्यको शेषपछि छोराहरूको सहयोगमा राम मन्दिरको पूजा चलाएको भन्ने देखिन्छ । पूर्ण चैतन्य पनि ब्रह्मचारी नभई शारदादेवीसँगै गृहस्थी जीवनमै रहेर पनि पूजाआजा चलाएको भनी शारदादेवीले जिकिर गरेकोमा पशुपतिले पनि यो कुरा गलत हो भनी वस्तुनिष्ठ ढङ्गले पुष्टि गर्न नसकेको स्थितिमा राम मन्दिरको महन्त वा पुजारी कुटीमै बस्नुपर्ने भन्ने परम्परा भएको देखिँदैन । चैतन्य परिवारको नामको पछाडि ब्रह्मचारी राख्ने परम्परा मात्र हो, वास्तविक ब्रह्मचारी नै हुने होइन भनी पुनरावेदक शारदादेवीका तर्फबाट बहस गर्नुहुने विद्वान्हरूले उल्लेख गरेको पाइन्छ । यस स्थितिमा राम मन्दिर गुठीमा रहेका जग्गाहरूको भोग चलन गरी प्राप्त आयस्ताबाट रामजी भगवान्मा फूल चढाउने काम जसले गर्छ, उही पुजारीका रूपमा रहने देखिन्छ । महिलाले राम मन्दिरमा पूजा पाठ गर्नु हुँदैन भन्ने ठोस आधार, कारण पनि पुनरावेदक प्रतिवादी पशुपति चैतन्यले गुजार्न सकेको
देखिँदैन । प्रचलित कानूनले पनि महिला महन्त वा पुजारी हुन नसक्ने भनी रोक लगाएको पाइँदैन । परिवर्तित संवैधानिक प्रावधानमा गरिएको समानता र अविभेद जस्ता मान्यता स्थापित भएको स्थितिमा शारदादेवी महिला भएकै कारणले राम मन्दिरको पुजारी वा महन्तका रूपमा रही पूजापाठ चलाउन नसक्ने भन्ने देखिएन । वस्तुतः पूर्ण चैतन्यका सन्तान वा हकदारमध्ये महन्तको योग्यता र क्षमता भएको व्यक्ति जसले राम मन्दिर गुठीको परम्परा चलाउँछ, उसैलाई महन्त मान्नुपर्ने र त्यस्तो व्यक्ति महिला वा पुरूष जो पनि हुन सक्ने देखियो ।
७ । दोस्रो सवाल राम मन्दिर गुठीमा रहेका कि ।नं । ८०८, ८०९ र जिरायत जग्गाहरू बहालमा दिनेलगायतको व्यवस्थापन गरी त्यसबाट प्राप्त आयस्ताबाट राम मन्दिरको पूजापाठ गर्ने हक र जिम्मेवारी वादी वा प्रतिवादीमध्ये कसमा रहेको छ भन्ने सम्बन्धमा विचार गर्दा, माथि पहिलो प्रश्नका सन्दर्भमा राम मन्दिर गुठीको गुठियार वा महन्त तोकिएको नदेखिएको र स्व ।पूर्ण चैतन्य ब्रह्मचारीका सन्तानमध्ये जसले गुठीको सञ्चालन गर्छ उही महन्त वा चेलाका रूपमा रहने भनी विवेचना भएबमोजिम स्व ।पूर्ण चैतन्य ब्रह्मचारीको शेषपछि निजले गर्दै आएको कार्य वादी वा प्रतिवादी कसले गरेको रहेछ भनी हेर्नुपर्ने देखियो । राम मन्दिर गुठीमा रहेका कि ।नं । ८०८ र ८०९ समेतका जग्गाहरूको आ ।व ।२०४९।०५० को पोत बुझाएको रसिदमा जग्गावालाको नाम पूर्ण चैतन्य ब्रह्मचारी भनी उल्लेख भए पनि गुठीको नाममा राममन्दिर उल्लेख भएको गुठी संस्थान जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयको र ।नं । १०८२९१ मिति २०४९।०८।२५ को मालपोत असुली रसिदबाट देखिन्छ ।
८ । राम मन्दिर गुठीमा रहेका उल्लिखित जग्गाहरू भोग चलन गर्न एवम् बहालमा लगाई सोको आयस्ताबाट गुठीको सञ्चालन गर्ने कार्य हकदैया वादीलाई छैन भन्ने प्रतिवादीको जिकिरका सम्बन्धमा हेर्दा, विवादित जग्गाहरू कि ।नं ।८०८ र ८०९ का सम्बन्धमा यी पुनरावेदक वादीका पति स्व ।पूर्ण चैतन्य ब्रह्मचारी र गुठी संस्थानबिच चलेको जग्गा खिचोला मुद्दामा उक्त जग्गा गुठीले भाडामा दिई खिचोला गरेको भनी तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालतबाट फैसला भई अन्तिम भएको पाइन्छ । पूर्ण चैतन्य ब्रह्मचारीको मृत्यु भई निजका जेठा छोरा भई मु ।स ।गर्ने व्यक्ति भएका नाताले पशुपति चैतन्यले चलन पाएको देखिन्छ । त्यसैगरी यी पुनरावेदक वादी शारदादेवीले पशुपति चैतन्य विरूद्ध हालेको अंश मुद्दा र पशुपति चैतन्यको श्रीमती उषादेवी ब्राह्मणीले यी पुनरावेदक वादीका विरूद्धमा दायर गरेको अंश मुद्दामा मिति २०५३।०२।१३ मा धनुषा जिल्ला अदालतबाट तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालतबाट २०४५।०४।३० मा भएको फैसलाबमोजिम उक्त विवादित कित्ता जग्गा कि ।नं । ८०८ र ८०९ का जग्गा रामचन्द्रजीमा फूल चढाई बाँकी रहेको जग्गा ब्रह्मचारीलाई बक्सेको छ, बेचबिखन गर्न पाइँदैन भनी भएको फैसला अन्तिम भई बसेकोले उक्त जग्गाहरू बन्डा नहुने भई सोबाहेकका जग्गा मात्र बन्डा लाग्ने भनी फैसला भएको र सोउपर कसैको पनि पुनरावेदन नपरी अन्तिम भएको देखिएकाले उक्त जग्गाहरू अबन्डामा रहेको भनी अंश मुद्दाबाट ठहर भएकाले सो जग्गा भोगचलन गरी रामजीमा गुलफूल चढाउने, साधु सन्तलाई भोग लगाउने हक पूर्ण चैतन्यका सन्तति सबैको रहने देखियो । उक्त विवादित कित्ता जग्गाका सम्बन्धमा यी पुनरावेदक तथा प्रत्यर्थी कसैले पनि यो मुद्दा चल्नुअघिसम्म कहीँकतै हक कायमका लागि कारबाही चलाएको भन्ने पनि देखिएन । उक्त जग्गामा शारदादेवी र छोराहरूको समेत हक लाग्ने भनी यी पुनरावेदक वादीले २०४७ सालको दे ।नं ।१५४७ नम्बरको अंश मुद्दामा मिति २०५२।०९।०१ मा कागज गरिदिएको देखिन आयो । मिति २०४८।०३।०९ मा अर्का पुनरावेदक प्रतिवादी पशुपति चैतन्य ब्रह्मचारीले निजका बाबु पूर्ण चैतन्य ब्रह्मचारीको मृत्यु भएका कारण मु ।स । गरेको नाताले चलन पाएकै आधारमा निजले यी जग्गाको भोग चलन गर्न पाउने व्यक्ति हुन् भनी मान्न पनि मिल्ने देखिएन । यी पुनरावेदक वादी शारदादेवी र प्रतिवादी इन्द्रदेव झाबिच मिति २०४७।०४।२० मा उक्त विवादित जग्गा बहालमा लिने दिने भनी कागज भएको देखिन्छ । विवादित कित्ता जग्गा भगवान् रामजीमा फूल चढाउने प्रयोजनका लागि अबन्डामा राखिएको देखिँदा सो जग्गा बहालमा लगाउन भगवान् रामजीको पूजा पाठ गरी फूल चढाउने जिम्मवारी भएको महन्त वा पुजारीको हुने भन्ने देखियो । यी विवादित कित्ता जग्गाहरू राम मन्दिर गुठीमा रहेकाले यी जग्गाहरू बेचबिखन गर्न नपाइने तर भोग चलनसम्म गरी प्राप्त आयस्ताबाट भगवान् रामजीलाई गुलफूल चढाउने परम्परा रहेकाले स्व । पूर्ण चैतन्यका सन्ततिहरूमध्ये इच्छित व्यक्ति वा नियमानुसार पालो परेको व्यक्तिले राममन्दिर गुठीमा रहेका उल्लिखित जग्गाहरूको भोग चलनसम्म गरी एवम् बहालमा लगाई प्राप्त आयस्ताबाट मूलत: भगवान् रामजीमा फूल चढाउने, साधु सन्तको हेरविचार गर्ने, मन्दिर र गुठीको सम्पत्तिको मर्मत सम्भार एवम् हेरचाह गर्ने र भक्तजनहरूको सुविधाका लागि गर्नुपर्ने आवश्यक कार्यमा खर्च गर्न सक्ने नै देखियो ।
९ । तेस्रो प्रश्न शारदादेवी ब्राह्मणी र प्रतिवादी इन्द्रदेव झाबिच मिति २०४७।०४।२० मा भएको बहालको कागज सद्दे हो, होइन ? वादी दाबीबमोजिमको बहाल रकम प्रतिवादीबाट भराई जग्गा खाली गरिदिनुपर्ने हो, होइन भन्ने सम्बन्धमा विचार गर्दा, स्व । पूर्ण चैतन्य ब्रह्मचारीको नाउँमा दर्ता रही राम मन्दिर गुठीमा रहेको जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं । ४ अन्तर्गत सा ।कि ।नं । ८०८, ८०९ को १-१२-० र जिरायत जग्गा १-५-० समेत गरी २-१७-० जग्गामध्ये जलेश्वर जाने पिचरोड सो पूर्व महाविर मन्दिर सो उत्तरतर्फबाट ४० हात लम्बाइ २० हात चौडाइ जग्गामा खपडाको छाना भएको घर बनाई होटल सञ्चालन गर्नलाई जग्गाको प्रतिमहिना रू ।१,१००।- मलाई बहाल तिर्ने गरी मिति २०४७।०४।२० मा विपक्षीले बहालको कागज गरिदिनुभएको तर सोबमोजिम २०५७ साल आषाढदेखि बहाल रकम नबुझाउनु भएकाले बहाल दिलाई भराई जग्गासमेत खाली गरिपाउँ भन्ने मुख्य फिराद दाबी रहेकोमा आफूले बहालको कागज नै नगरेको तर अरू नै प्रयोजनका लागि भनी मलाई २३ वटा कागजमा सही गराएकोले वादीलाई कुनै रकम बुझाउनुपर्ने छैन । पशुपति चैतन्यसँग मेरो श्रीमती मिनादेवी झाले मासिक रू ।१,२००।- मा बहाल लिई होटल चलाएको भनी प्रतिवाद गरेको देखिन्छ । मुलुकी ऐन अ ।बं । १३९ नं । बमोजिम बुझिएका पशुपति चैतन्यले वादीलाई उक्त जग्गा भाडामा लगाउने हकदैया नै नरहेको र पूर्ण चैतन्यले आफूलाई चेला तोकिदिएकाले सोबमोजिम मैले भाडामा दिएको भनी बयान गरेको देखिन्छ । सुरू अदालतमा प्रतिवादी इन्द्रदेव झाले ७८ नं । बमोजिम गरेको बयानमा बहालको कागज आफूले नगरेको तर लिखतमा परेको सही आफ्नो भएको भनी लेखाएको पाइन्छ । साथै प्रतिवादीले विवादित कित्ता जग्गामा घर बनाई भाडामा बसेको कुरा स्वीकार गरी बयान गरेको पाइयो । प्रतिवादी इन्द्रदेव झाले गरेको उक्त बयानलाई दुवैतर्फका साक्षीले समर्थन गरी लेखाइदिएको
पाइन्छ । यसरी बहालको लिखत कागजमा भएको सहीछाप प्रतिवादीले आफ्नो भनी स्वीकार गरेको अवस्थामा त्यस्तो कागजलाई अन्यथा भन्न नमिल्ने भई वादी प्रतिवादीबिच भएको बहालको कागज सद्दे रहेको देखियो । यी पुनरावेदक वादी र प्रतिवादी इन्द्रदेव झाबिच भएको बहालको कागज सद्दे रहेको पुष्टि भएको अवस्थामा पुनरावेदक वादी शारदादेवीले दाबी गरेबमोजिम बहाल रकम वादी शारदादेवीले प्रतिवादी इन्द्रदेव झाबाट भराइपाउने र प्रतिवादीले बहाल नतिरेकाले प्रतिवादी इन्द्रदेव झाले उक्त जग्गा खाली गरिदिनुपर्ने देखिन्छ ।
१० । पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन भन्ने अन्तिम प्रश्नमा विचार गर्दा, महन्तको परम्परालाई अङ्गाली विधिवत् रूपमा घोषणा नभएसम्म मुलुकी ऐन गुठीको महलको ५ नम्बरबमोजिम महन्त स्व ।पूर्ण चैतन्यको हकवालाले दुई दुई वर्षको पालो गरेर वादी दाबीको जग्गाको आम्दानी उठाई मन्दिरको पूजा चलाउनुपर्ने भनी पुनरावेदन अदालत जनकपुरबाट फैसला भएको देखिन्छ । विपक्षी इन्द्रदेवलाई मैले बहालमा दिएकोले बहाल मैले पाउनुपर्नेमा दुई दुई वर्ष बहाल रकम उठाई पूजा गर्नुपर्ने भनी फैसला गरेको नमिलेको भन्ने पुनरावेदक वादीको पुनरावेदन जिकिर रहेको छ । विवादित जग्गाको चलन मैले पाएको र इन्द्रदेव झालाई बहाल दिएको जग्गा बाहेकमा निज विपक्षीले चलन गरेको प्रमाणित गर्न नसकेको अवस्थामा दाबी नै नरहेको उक्त जग्गालाई दुई दुई वर्षमा भाग गरी खान पाउने ठहर गरी भएको फैसला बेरितपूर्ण रहेको भन्ने पुनरावेदक प्रतिवादीको जिकिर रहेको पाइन्छ । यस स्थितिमा विवादित जग्गा दुई दुई वर्षको पालो गरी भोग गर्न पाउने भनी गरेको पुनरावेदन तहको फैसला कानूनसम्मत भए नभएको के रहेछ भनी तत्काल प्रचलित कानूनी व्यवस्थाको अध्ययन गरी हेर्नुपर्ने हुन आयो ।
११ । मुलुकी ऐन, २०२० गुठीको महलको ५ नं । मा "एकभन्दा बढी हकवाला भएमा ती सबैले लिखत भए लिखतबमोजिम लिखत रहेनछ भने प्रत्येकले दुई वर्षको पालो गरी गुठी चलाई खान पाउँछन् । हकवाला बाबु जिउँदै भएको अवस्थामा भने छोरा नातिले दैया गर्न पाउँदैनन् । लिखत नभएकोमा आफ्नो हक पुगेपछि सोह्र वर्षभित्र नालिस नदिए दुई वर्षको पालो पाउने कुरामा पछि नालिस लाग्न सक्तैन" भन्ने व्यवस्था रहेको देखिन्छ । उक्त कानूनी व्यवस्थाबाट एकभन्दा बढी हकवाला भएकोमा लिखत भए लिखतबमोजिम र लिखत नभएकोमा प्रत्येकले दुई वर्षको पालो गरी गुठी चलाउनुपर्ने भन्ने देखियो । प्रस्तुत मुद्दामा माथि विवेचना भएबमोजिम स्व ।पूर्णचन्द्र चैतन्य ब्रह्मचारीले आफ्नो जीवनकालमा निजको श्रीमतीलगायत छोराहरू कसैलाई पनि राम मन्दिर गुठीको आफ्नो शेषपछि महन्त वा पुजारीको रूपमा कार्य गर्ने गरी तोकेको वा त्यस प्रकारको कुनै लिखत कसैलाई गरिदिएको भन्ने मिसिलबाट
देखिँदैन । राम मन्दिरको महन्त वा पुजारी कुटीमै बस्नुपर्ने नभई गृहस्थी जीवनमै रहेर भगवान्को पूजा पाठ गर्ने र यस्तो पूजापाठ पूर्ण चैतन्यका सन्तति जसले गर्छ, उही महन्त वा पुजारीका रूपमा रहने परम्परा रहेको देखिन्छ । यस्तो पूजा पाठलगायत राम मन्दिर गुठीको परम्परा चलाउन गुठीमा रहेका उल्लिखित जग्गाहरू भोग चलनसम्म गर्न पाउने भन्ने देखिन्छ । प्रस्तुत विवाद गुठीमा रहेका जग्गा बहालमा दिई सो बहालसमेतबाट पूजा पाठ गर्दै आएकोमा बहाल दिन छोडेपछि पूजा पाठ गर्न समस्या भएको भनी मुद्दा परी सो विवाद यस अदालतसम्म प्रवेश गरेको स्थितिलाई विचार गरी गुठी र यसमा रहेका जग्गा भवनलगायतका सम्पत्तिहरूको उचित संरक्षण गरी गुठीको सम्पत्ति भोग चलन गर्ने वा बहालमा लगाई प्राप्त आयस्ताको उपयोग गुठी स्थापनाको उद्देश्यमा लगाउने गरी विवादको दीर्घकालीन समाधान खोज्नुपर्ने देखिन्छ । पुनरावेदक वादी शारदादेवीले अन्य छोराहरूको सहयोग लिएर मन्दिरका जग्गा बहालमा लगाई पूजा पाठ गराउँदै आएको जिकिर लिएको
पाइन्छ । अर्का पुनरावेदक पशुपति चैतन्यले पूर्ण चैतन्य विरूद्ध परेको मुद्दा सकार गरी मुद्दा जितेपछि चलान पुर्जी आफूले पाएकोले राम मन्दिर गुठीमा रहेका जग्गाको भोग चलन गरी बन्दोबस्ती गर्दै आएको भनी जिकिर गरेको देखिन्छ । शारदादेवीले पशुपतिसमेत विरूद्धको अंश मुद्दा २०४८ सालको दे ।नं ।२२९२ र उषादेवी ब्रह्माणीले शारदादेवी र पशुपतिसमेतका विरूद्धको अंश मुद्दा २०४७ सालको दे ।नं ।१५६७ मा धनुषा जिल्ला अदालतबाट भएको फैसला कि ।नं ।८०८ र ८०९ जग्गा राम मन्दिर जिरायत तैनाथी जग्गा भएकाले बन्डा नहुने भनी उल्लेख भएको देखिन्छ । यसबाट अबन्डामा रहेको गुठीको नामको जग्गा बहालमा लगाउनेलगायत जग्गा भोग चलन गरी प्राप्त आयस्ताबाट मन्दिरको पूजा पाठ गर्ने हक शारदादेवी ब्राह्मणीको मात्र नभई अंशबन्डा हुनुअघि सगोलमा रहेका स्व ।पूर्णचन्द्र चैतन्य ब्रह्मचारीका तीन भाइ छोराहरूको समेत हक लाग्ने देखियो । स्व ।पूर्णचन्द्र चैतन्य ब्रह्मचारीले वादी वा प्रतिवादीमध्ये कसैलाई पनि महन्त वा पुजारीको रूपमा तोकिएको देखिँदैन । यसरी विवादित कित्ता जग्गाहरू राम मन्दिर गुठीमा रहेको देखिएको, सो जग्गाहरू पूजा पाठका लागि अबन्डामा रहेको, बिक्री गर्न नमिल्ने तर महन्त वा पुजारीले बहालमा लगाई वा भोगचलनसम्म गरी प्राप्त आयस्ताबाट पूजा पाठ चलाउने परम्परा रहेको र स्व ।पूर्णचन्द्र चैतन्य ब्रह्मचारीले आफ्नो जीवनकालमा कसैलाई पनि उत्तराधिकारी तोकेको लिखत भएको नदेखिएको, स्व ।पूर्णचन्द्र चैतन्य ब्रह्मचारीको शेषपछि यी वादी र प्रतिवादीबिच उक्त जग्गा भोग चलन गर्ने, बहालमा दिई बहाल रकम उठाई पूजा पाठ गर्ने महन्त वा पुजारीको विषयमा प्रश्न उठी हकवालाहरू एकभन्दा बढी भएको र कसैलाई पनि लिखत गरी नदिएको स्थितिमा उल्लिखित गुठीको ५ नं । को व्यवस्था प्रत्येकले दुई वर्षको पालो गरी गुठी चलाई खान पाउने देखियो । यस स्थितिमा स्व ।पूर्णचन्द्र चैतन्य ब्रह्मचारीको शेषपछिका हकदार चारै जनाको हक हुने भई दुई दुई वर्षको पालो गरी गुठीको सञ्चालन र व्यवस्थापनका लागि राम मन्दिर गुठीमा रहेका उल्लिखित जग्गाहरूको भोग चलनसम्म गरी मन्दिरमा पूजापाठ गर्न पाउने देखिँदा पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला कानूनसम्मत रहेकाले अन्यथा गरिरहनुपर्ने देखिएन ।
१२ । पुनरावेदन तहको फैसला कानूनसम्मत देखिएको स्थितिमा उक्त फैसला त्रुटिपूर्ण रहेको भन्ने पुनरावेदकहरूको जिकिर पुग्न सक्ने हो, होइन भनी हेर्दा, माथि विवेचना भएअनुसार राम मन्दिर गुठीमा रहेका उल्लिखित विवादित कित्ता जग्गाहरू अंश मुद्दाको फैसलाबाट अबन्डामा रहेको, उक्त जग्गा अपुताली खान पाउने किसिमको पनि नभएको, विवादित जग्गा भोग चलन गरी भगवान् रामजीलाई फूल चढाउने हक पुनरावेदक वादी शारदादेवीका साथै पुनरावेदक प्रतिवादी पशुपतिसमेत चार जनामा रहेको देखिएको, स्व ।पूर्ण चैतन्यका सन्ततिमध्ये कसैलाई पनि निजले चेलाका रूपमा उत्तराधिकारी नतोकेकोले हकदारहरू मिली दुई दुई वर्षको पालो गरी गुठी चलाई खान पाउने देखिएको स्थितिमा मसँग बहालको कागज भएकोले मैले मात्र बहाल उठाई पूजा पाठ गर्न पाउनुपर्ने भन्ने पुनरावेदक वादी शारदादेवीको र विवादित जग्गाको मुद्दा सकार गरी आफूले चलनसमेत पाई भोग चलन गरेको साथै इन्द्रदेव झालाई भाडामा दिएको जग्गाबाहेक अरूमा वादी शारदादेवीको भोग चलनसमेत नरहेकोले उक्त जग्गाको भोगचलन गर्न र सोको बहालसमेत आफैँले पाउनुपर्ने भन्ने पुनरावेदक प्रतिवादी पशुपति चैतन्य ब्रह्मचारीको पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन ।
१३ । पुनरावेदन तहको फैसला सदर भई पुनरावेदकहरूको जिकिर पुग्न सक्ने नदेखिएको स्थितिमा अब आइन्दा राम मन्दिर गुठीको जग्गा भवन वा अन्य सम्पत्ति बहालमा लगाउने वा करार गर्ने, मन्दिर र बगैंचाको मर्मत, सम्भार गर्ने साथै गुठीको परम्पराबमोजिम भगवान् रामजीमा फूल चढाउने र बचेको आयस्ताबाट साधु सन्तलाई भोग लगाउनेलगायत श्रद्धालु भक्तजनको सेवा सुविधासमेतका कार्य स्व । पूर्ण चैतन्यका सन्तति वा हकदारले दुई दुई वर्षको पालो गरी पुजारीको व्यवस्था गर्ने भनी माथि विवेचना भएकाले निर्विवाद रूपमा पुजारी तोक्न र गुठीको सम्पत्ति गुठीकै प्रयोजनमा परिचालन गर्ने सम्बन्धमा थप निर्देशनको आवश्यकता देखियो । माथि विवेचना गरिएका कानूनी व्यवस्था र यस अदालतबाट स्थापित न्यायिक दृष्टिकोणको रोहमा हेर्दा गुठीको सम्पत्तिको उचित संरक्षण र गुठीको उद्देश्यमा परिचालन गर्न गुठियारलगायत गुठी संस्थान र यस अदालतको समेत दायित्व एवम् कर्तव्य रहनेमा थप विवेचना गरिरहनुपर्ने देखिएन । यस स्थितिमा गुठी संस्थान ऐन, २०३३ को दफा १९क । बमोजिम राम मन्दिर गुठीमा रहेका उल्लिखित जग्गालगायत अन्य सम्पत्तिको विवरण नियमित रूपमा गुठी संस्थानमा पठाई गुठीमा भएका काम कारबाही वा परिवर्तनहरूको नियमित जानकारी गराउने जिम्मेवारी पालो परेको पुजारीको हुने, साथै सोको नियमित अनुगमन गरी आवश्यक कार्य गर्ने गराउने जिम्मा गुठी संस्थानमा रहने गरी गुठीको लगत राख्नुपर्ने देखिन्छ ।
१४ । राम मन्दिर गुठीको पुजारीको पालो दुई दुई वर्षको रहने तर पहिलो पालो कसको हुने भन्ने विवाद भएमा स्व । पूर्ण चैतन्य बह्मचारीका सन्ततिहरूलाई गुठियार कायम गरी सद्आचरण भएको, पूजा पाठ गर्न जानेकोलगायतका सर्त राखी सो योग्यता भएकाहरूको सूची तयार गरी निजहरूबिच सहमति भए सहमतिमा अन्यथा गोला प्रक्रिया वा सूचीमा रहेकामध्ये कानूनबमोजिमको पहिलो हकदारलाई पहिलो पालो तोकी तत्पश्चात् क्रमश: हुने गरी पालो बाँडफाँट गर्ने व्यवस्था मिलाउनुपर्ने देखियो । अब आइन्दा राम मन्दिर गुठीका जग्गालाई करार गरी बहालमा दिँदा हकदारहरूमध्ये कसले सम्झौता गर्ने भन्ने सम्बन्धमा पालो परेको वा तोकिएको पुजारीले करार सम्झौता गर्न सक्ने व्यवस्था गर्न
सकिन्छ । यस्तो करारबाट गुठीलाई प्राप्त हुने रकमको परिचालन सम्बन्धमा पुजारी, जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि र गुठी संस्थानको स्थानीय प्रतिनिधिको संयुक्त दस्तखतबाट खाता सञ्चालन गर्ने गरी बैंक खातामार्फत पारदर्शी ढङ्गले गुठीको उद्देश्य परिपूर्तिका लागि मात्र परिचालन गर्ने, पुजारीको खर्चसमेत खुल्ने गरी खर्च विवरण राख्ने, आयस्तालाई पारदर्शी गर्ने गरी सम्बन्धित गुठीले आवश्यक नियमावली बनाउन सक्ने नै देखिन्छ ।
१५ । अत: माथि विवेचित आधार र कारणबाट स्व ।पूर्ण चैतन्य ब्रह्मचारीका तीन भाइ छोरा र श्रीमती चारै जनाले उक्त जग्गाको दुई दुई वर्षको पालो गरेर जग्गाको बहाल सम्झौतामार्फत बैंक खातामा जम्मा गरी मन्दिरको मर्मत सम्भार र बगैंचाको रेखदेख एवम् पूजा पाठलगायतमा प्रयोग गर्नुपर्ने देखिएकाले वादी शारदादेवीले दाबी गरेको २०५७।०३।०१ देखि २०५८।०४।३२ सम्मको घरभाडा प्रतिवादी इन्द्रदेव झाबाट भराई जग्गा खाली गराइलिन पाउनेमा सो अवधिको भाडासमेत चार भाग लाग्ने गरी भएको सुरू फैसला नमिलेकाले सो हदसम्म उल्टी गरी मिति २०५७।०३।०१ देखि मिति २०५८।०४।३२ सम्मको घरभाडा मासिक रू ।१,१००।- का दरले जम्मा रू ।१३,२००।- वादी शारदादेवीले प्रतिवादी इन्द्रदेवबाट भराई उक्त जग्गासमेत खाली गरिदिनुपर्ने भनी पुनरावेदन अदालत जनकपुरबाट मिति २०६६।०२।१८ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी शारदादेवी ब्राह्मणी र पुनरावेदक प्रतिवादी पशुपति चैतन्य ब्रह्मचारीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरू तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत जनकपुरबाट मिति २०६६।०२।१८ मा भएको फैसला सदर हुने ठहरी फैसला भएकाले देहायबमोजिम गर्नू ।
१ । मिति २०५७।०३।०१ देखि मिति २०५८।०४।३२ सम्मको बहाल रकम मासिक रू ।१,१००।- का दरले हुने जम्मा रकम रू ।१३,२००।- नियमानुसार वादी शारदादेवी ब्राह्मणीलाई प्रतिवादी इन्द्रदेव झाबाट भराइ दिई मन्दिरको मर्मत सम्भार एवम् बगैंचाको हेरचाहमा लगाउने व्यवस्था गरी बहालमा रहेको उक्त जग्गासमेत खाली गराइदिनु भनी सुरू धनुषा जिल्ला अदालतमा लेखी पठाउनू ।
२ । निजी गुठीका जग्गा वा भवन वा अन्य सम्पत्ति बहालमा लगाउनुपर्ने भए प्रचलित कानूनबमोजिम मात्र बहाल वा भाडामा लगाउने र बहालमा रहेका सम्पत्ति, सोबाट प्राप्त आयस्ता र उपयोगसम्बन्धीको विवरण नियमित रूपमा गुठी संस्थानमा पेस गर्ने व्यवस्था गर्न राम मन्दिर गुठीका महन्त वा पुजारीलाई ध्यानाकर्षण गराई पत्राचार गर्नू ।
३ । पूर्ण चैतन्य ब्रह्मचारीका तीन भाइ छोरा र श्रीमती चारै जनाले आपसमा सहमति गरी दुई दुई वर्षको पालो गरेर गुठीमा रहेका कि ।नं । ८०८, ८०९ को १-१२-० र जिरायत जग्गा १-५-०समेत गरी २-१७-० जग्गाको बहाल उठाई मन्दिर र बगैंचाको मर्मत, सम्भार गर्ने साथै गुठीको परम्पराबमोजिम भगवान् रामजीमा फूल चढाउने र बचेको आयस्ताबाट साधु सन्तलाई भोग लगाउनेलगायत श्रद्धालु भक्तजनको सेवा सुविधाको प्रबन्ध गर्नेलगायत गुठीको परम्परा चलाउने व्यवस्था गर्न राम मन्दिर गुठीका महन्त वा पुजारीलाई ध्यानाकर्षण गराउन र प्रस्तुत फैसलाको प्रतिलिपिसहित सो गुठीमा रहेका जग्गाको विवरण माग गर्न गुठी संस्थानलाई पत्राचार गर्नू ।
४ । स्व ।पूर्ण चैतन्य ब्रह्मचारीका सन्तानमध्येका राम मन्दिरमा पूजा पाठ गर्न इच्छुक व्यक्तिलाई हकदारको सहमति रहेमा सोही व्यक्तिलाई र एकभन्दा बढी व्यक्ति इच्छुक भए वा पालोका सम्बन्धमा विवाद भएमा गोला प्रक्रियाद्वारा वा कानूनबमोजिम पहिलो हकदारबाट सुरू गरी क्रमशः योग्यता पुगेका सबैको पालो रहने गरी महन्त वा पुजारी तोक्ने व्यवस्था गुठी संस्थानले गर्नू ।
५ । राम मन्दिर गुठीमा रहेका जग्गालाई करार गरी बहालमा लगाउँदा पालो परेको वा तोकिएको पुजारीले करार सम्झौता गर्ने तर करारबाट गुठीलाई प्राप्त हुने रकम पुजारी, जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि र गुठी संस्थानको स्थानीय प्रतिनिधिको संयुक्त दस्तखतबाट खाता सञ्चालन गर्ने गरी बैंक खातामार्फत पारदर्शी ढङ्गले गुठीको उद्देश्य परिपूर्तिका लागि मात्र परिचालन गर्ने व्यवस्था मिलाउनु भनी गुठी संस्थानमा लेखी पठाउनू ।
६ । सरोकारवालाले प्रस्तुत फैसलाको प्रतिलिपि माग गरेमा नियमानुसार दिनू ।
७ । प्रस्तुत फैसलाको विद्युतीय प्रति यस अदालतको विद्युतीय मुद्दा व्यवस्थापन प्रणालीमा प्रविष्ट गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
का ।मु ।प्र ।न्या ।हरिकृष्ण कार्की
इजलास अधिकृत : टीकाबहादुर थापा
इति संवत् २०७९ चैत्र २७ रोज २ शुभम् ।