निर्णय नं. ११२८० - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय का.मु. प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्की
माननीय न्यायाधीश श्री नहकुल सुवेदी
फैसला मिति : २०८०।०१।१०
मुद्दाः कर्तव्य ज्यान
०७६-CR-०६२५
पुनरावेदक / वादी : सर्लाही जिल्ला, चन्द्रनगर गा.वि.स. वडा नं.६ बस्ने शिवप्रसाद श्रेष्ठको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : सर्लाही जिल्ला, ब्रह्मपुरी गा.वि.स. वडा नं.४ बस्ने राम आशिष गुप्ताको छोरा कौटिल्य शर्मा भन्ने संजयकुमार गुप्ता
०७७-RC-००३५
वादी : सर्लाही जिल्ला, चन्द्रनगर गा.वि.स. वडा नं.६ बस्ने शिवप्रसाद श्रेष्ठको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रतिवादी : सर्लाही जिल्ला, ब्रह्मपुरी गा.वि.स. वडा नं.३ बस्ने राजकुमार गुप्ता
वस्तुनिष्ठ आधार प्रमाण पेस गर्न नसकेको अवस्थामा केवल आरोपित कसुरबाट उन्मुक्ति पाउने उद्देश्यले गरेको इन्कारी बयान पुष्टि हुन आफैँ त्यस्तो इन्कारी बयानले प्रमाणको स्थान ग्रहण गर्न
नसक्ने । इन्कारी बयान प्रमाण ग्राह्य हुन कुनै आधारभूत, तथ्यपरक एवं निश्चयात्मक प्रमाणबाट समर्थित भएको हुनुपर्ने ।
प्रतिवादीहरू मौकाको बयानमा आरोपित कसुरमा साबित रहेका र अदालतसमक्ष भएको बयानमा इन्कारी रहेको अवस्थामा अदालतले प्रतिवादीले अदालतबाहेक अन्यत्र व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा ९(२)(क) बमोजिम सचेत अवस्थामा स्वेच्छाले व्यक्त गरेको हो वा होइन भनी अदालतले हेर्नुका साथै मिसिल संलग्न अन्य स्वतन्त्र प्रमाणले मौकाको साबिती वा अदालतको इन्कारी कुन बयानलाई समर्थित गर्छ भन्ने तथ्यलाई समेत विचार गर्नुपर्ने । प्रतिवादीहरूको भनाइ वा कथन झुठ्ठा पनि हुन सक्छ तर दशी प्रमाण एवं वारदातबाट देखिएको वस्तुस्थिति यथार्थपरक हुने ।
(प्रकरण नं. ४)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कमला काफ्ले
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन,२०३१
मुलुकी अपराध संहिता, २०७४
सुरू तहमा फैसला गर्नेः
मा. जि. न्या. श्री मुरारीबाबु श्रेष्ठ
सर्लाही जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
मा. न्या. श्री विनोद मोहन आचार्य
मा. न्या. श्री राजेश्वर तिवारी
उच्च अदालत जनकपुर
फैसला
न्या. नहकुल सुवेदी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
तथ्य खण्ड
जिल्ला सर्लाही, ब्रह्मपुरी गा.वि.स वडा.नं.३ स्थित सडकमा इन्द्रकुमार श्रेष्ठको लास रहेको, सो लासको छेउमा ९ एम.एम. को गोलीको खोका थान १, बुलेट थान १ रहेको, मृतकको बायाँ गालामा गोली लागी सानो प्वाल भएको देखिएको, बायाँ हातको नाडीमा गोली वारपार भई अगाडि हथ्केलामा सानो प्वाल रही नाडीमा २/२ इन्चमा घाउ रहेको, बायाँपट्टि पिठ्युँमा गोली लागेको घाउ रहेको भन्नेसमेत बेहोराको घटनास्थल तथा लासजाँच प्रकृति मुचुल्का ।
मेरो दाजु इन्द्रकुमार श्रेष्ठ जिल्ला सर्लाही, बबरगन्ज गा.वि.स.को सचिव भई कामकाज गर्दै आउनुभएको थियो । मिति २०६७।३।२ गतेका दिन कार्यालयको कामकाजले मलंगवा आई काम सकी घरतर्फ फर्किरहेको अवस्थामा साँझ अं.६:३० बजेको समयमा जिल्ला सर्लाही, ब्रह्मपुरी गा.वि.स. वडा नं. ३ स्थित चौरीमा पुग्दा जनतान्त्रिक भूमिगत समूहका विक्रम यादवसमेत मिली मेरो दाजुलाई गोली प्रहार गरी मारिदिएकोले हाल लास सद्गत गर्नको लागि मेरो जिम्मा पाऊँ । विस्तृत बेहोराको जाहेरी पछि दिने छु भन्नेसमेत बेहोराको शिवप्रसाद श्रेष्ठको निवेदन ।
इन्द्रकुमार श्रेष्ठको पिठ्युँ, बायाँ हातको नाडी र बायाँ गालासमेतमा गोली लागी मृत्यु भएको हो भन्नेसमेत बेहोराको शव परीक्षण प्रतिवेदन ।
मिति २०६७।३।२ गते अं.६:३० बजेको समयमा मेरो बुबा इन्द्रकुमार श्रेष्ठ कार्यालयको काम सकी घरतर्फ गइरहेको अवस्थामा जिल्ला सर्लाही, ब्रह्मपुरी गा.वि.स. वडा नं. ३ स्थित चौरीमा अज्ञात समूहले गोली प्रहार गरी मारेको हुँदा निजहरूलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको विजया श्रेष्ठ जाहेरी दरखास्त ।
परीक्षणको लागि प्राप्त भएको खोका ९ एम.एम. क्यालिवर पेस्तोलबाट फायर भएको खोका हो भन्नेसमेत बेहोराको परीक्षण प्रतिवेदन ।
मिति २०६७।३।२ गते अं.१८:३० बजेको समयमा इन्द्रकुमार श्रेष्ठ मलंगवाबाट आफ्नो घरतर्फ गइरहेको अवस्थामा जिल्ला सर्लाही, ब्रह्मपुरी गा.वि.स. वडा नं.३ स्थित चौरीमा पुग्दा निर्दलिया भन्ने निरन्जन कुमार चौधरी, राजकुमार गुप्ता, सुरेन्द्र मुखिया विन, राम केवल भन्ने रामएकवाल धामी, रामचन्द्र राय, सुरेन्द्र यादवसमेत मिली निज इन्द्रकुमार श्रेष्ठलाई प्रहार गरी मारेको हो भन्नेसमेत बेहोराको प्रहरीको प्रतिवेदन ।
इन्द्रकुमार श्रेष्ठ जिल्ला सर्लाही गा.वि.स बबरगन्जको गा.वि.स. सचिव भएकोमा मेरो पार्टीको केन्द्रीय अध्यक्ष कौटिल्य शर्मा भन्ने संजयप्रसाद गुप्तासमेतले पटकपटक फोन गरी पार्टीलाई सहयोग गर्नको लागि रू.५,००,०००।- चन्दा मागेकोमा निज इन्द्रकुमार श्रेष्ठले सो रकम दिन इन्कार गरेपछि निजलाई गोली प्रहार गरी मारिदिने भनी म तथा संजय प्रसाद गुप्तासमेत भई योजना बनाई सोही योजनाअनुसार मिति २०६७।३।२ गते अं. १८:०० बजेको समयमा निज इन्द्रकुमार श्रेष्ठ साइकल चलाई जिल्ला विकास समितिको कार्यालय, सर्लाही मलंगवाबाट आफ्नो घरतर्फ गइरहेको अवस्थामा जिल्ला सर्लाही ब्रह्मपुरी गा.वि.स वडा.नं.३ स्थित चौरीमा पुग्दा म तथा निरदलिया भन्ने निरन्जनकुमार चौधरी, चन्द्र राय, राम केवल भन्ने राम एकवाल धामी, सुरेन्द्र मुखिया विन, सुरेन्द्र यादव, शिवा भन्ने गुडु मोरियासमेत भई इन्द्रकुमार श्रेष्ठलाई घेराउ गरी मैले यही हो सचिव हामीलाई चन्दा नदिने यसलाई गोली प्रहार गरी ज्यान मारिदेउ भनी वचन आदेश दिँदा सूर्या भन्ने लालबाबु यादव, सागर भन्ने गुलाम सरवर, विशाल भन्ने नागेन्द्र यादवसमेतले आआफ्नो साथमा बोकेको पेस्तोलबाट पालैपालो गरी इन्द्रकुमार श्रेष्ठलाई ताकी छाती, बायाँ नाडीसमेतमा गोली प्रहार गरी मारेको हो । मलाई थाहा भएअनुसार रामचन्द्र राय, राम केवल भन्ने राम एकवाल धामी, सुरेन्द्र मुखिया विनसमेतको प्रहरीसँगको दोहोरो भिडन्तमा परी मृत्यु भइसकेको छ । राम किशोर साहको प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मसमेत भएको हातहतियार खरखजाना मुद्दामा पुर्पक्षको लागि थुनामा रहेको छु भन्नेसमेत बेहोराको प्रतिवादी राजकुमार गुप्ताले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६७।३।२ गते मृतक इन्द्रकुमार श्रेष्ठ साइकल चढी घरतर्फ गइरहेको समयमा म, राजकुमार गुप्ता, सुरेन्द्र यादव, लालबाबु यादवसमेत मिली मृतकलाई घेराउ गरी गोली प्रहार गरी मारेको हो । राजकुमार गुप्ता र संजय प्रसाद गुप्तासमेत भई भारतको सितामढीमा निजहरूको आफ्नै डेरा कोठामा बसी मृतकलाई मार्ने योजना बनाएको हो । सोही योजनाअनुसार इन्द्रकुमार श्रेष्ठलाई गोली प्रहार गरी मारेको हो । म, राजकुमार गुप्ता, रामचन्द्र राय, राम एकवाल धामी, सुरेन्द्र मुखिया विन, सुरेन्द्र यादव, शिवा भन्ने शिवा भन्ने गुडु मोरियासमेत भई मृतकलाई घेराउ गरी भाग्न उम्कन नदिई राजकुमार गुप्ताले चिनाई मारिदेउ भनी वचन आदेश दिँदा लालबाबु यादव, सागर भन्ने गुलाम सरवर, ज्ञानेश्वर राय यादवसमेतले आआफ्नो साथमा रहेको पेस्तोलबाट पालैपालो गरी मृतकलाई ताकी गोली प्रहार गरी मारेको हो । हाल म हातहतियार खरखजाना मुद्दामा पुर्पक्षको लागि थुनामा रहेको छु भन्नेसमेत बेहोराको प्रतिवादी निरदलिया भन्ने निरन्जनकुमार चौधरीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६७।३।२ गते मृतक इन्द्रकुमार श्रेष्ठ साइकल चढी घरतर्फ गइरहेको समयमा मलगायत मेरो साथीहरू राजकुमार गुप्ता, निरञ्जनकुमार चौधरी, रामचन्द्र राय, राम केवल भन्ने राम एकवाल धामी, सुरेन्द्र मुखिया विन, सुरेन्द्र यादव, लालबाबु यादव, सागर भन्ने गुलाम सरवर, गुडु मोरियासमेत मिली मृतकलाई घेराउ गरी भाग्न उम्कन नदिई गोली प्रहार गरी मारेको हो । मृतक इन्द्रकुमार श्रेष्ठलाई गोली प्रहार गरी हत्या गर्ने भनी संजय प्रसाद गुप्ताले योजना बनाएको, निजकै योजना तथा निर्देशनअनुसार मसमेत भई मृतकलाई गोली प्रहार गरी मारेको हो । राजकुमार गुप्ताले मृतकलाई चिनाई गोली प्रहार गरी मारिदेउ भनी वचन आदेश दिँदा म, लालबाबु यादव, गुलाम सरवरले आआफ्नो साथमा बोकेको पेस्तोलबाट पालैपालो गरी मृतकलाई गोली प्रहार गरी मारेको हो भन्नेसमेत बेहोराको प्रतिवादी विशाल, नागेन्द्र, विक्रम उपनामले चिनिने ज्ञानेश्वर राय यादवले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
सुरेन्द्र तिवारीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मसमेत भएको कर्तव्य ज्यान मुद्दामा कपिलवस्तु जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि थुनामा राखिएकोमा हाल अड्डास़ार भई कारागार कार्यालय, पर्सामा थुनामा रहेको छु । मिति २०६७।३।२ गते मृतक इन्द्रकुमार श्रेष्ठ साइकल चढी घरतर्फ गइरहेको समयमा मलगायत ज्ञानेश्वर राय यादव, निरञ्जन चौधरी, राजकुमार गुप्ता, रामचन्द्र राय, राम एकवाल धामी, सुरेन्द्र मुखिया विन, सुरेन्द्र यादव, लालबाबु यादव, गुलाम सरवर, संजय प्रसाद गुप्तासमेत मिली मृतकलाई घेराउ गरी भाग्न उम्कनसमेत नदिई गोली प्रहार गरी मारेको हो । संजय प्रसादको योजना तथा निर्देशनअनुसार मसमेत भई मृतकलाई गोली प्रहार गरी मारेको हो । मृतकलाई गोली प्रहार गरी मार्दाको अवस्थामा घटनास्थलमा म, ज्ञानेश्वर राय यादव, राजकुमार गुप्ता, निरञ्जन चौधरी, लालबाबु यादव, गुलाम सरवर, रामचन्द्र रायसमेत थियौं । ज्ञानेश्वर राय, राजकुमार गुप्ता, रामचन्द्र राय, राम एकवाल धामी, सुरेन्द्र मुखिया विन, सुरेन्द्र यादवसमेत भई मृतकलाई घेराउ गरी भाग्न उम्कन नदिई राजकुमार गुप्ताले मृतकलाई चिनाई गोली प्रहार गरी मारिदेउ भनी वचन दिँदा म, ज्ञानेश्वर राय, लालबाबु यादव, गुलाम सरवरले आआफ्नो साथमा बोकेको पेस्तोलबाट पालैपालो गरी मृतकलाई गोली प्रहार गरी मारेको हो भन्नेसमेत बेहोराको प्रतिवादी गुडु शिवा भन्ने श्रवणकुमार मोरियाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
प्रतिवादी संजयप्रसाद गुप्ताले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा मृतक इन्द्रकुमार श्रेष्ठलाई मारेको सम्बन्धमा सोधिएको प्रश्नको जवाफ बताउन नमानी बयानमा सहीछापसमेत नगरेको ।
मिति २०६७।३।२ गते अं. १८:३० बजेको समयमा म आफ्नो खेततर्फ आउने क्रममा जिल्ला सर्लाही, ब्रह्मपुरी गा.वि.स. वडा नं.३ स्थित सडकमा आइपुग्दा गोली फायर भएको आवाज सुनी मसमेत भई सोतर्फ जाँदा मैले चिनेका राजकुमार गुप्ता, निरन्जनकुमार चौधरी, सूर्या भन्ने लालबाबु यादव, सुरेन्द्र यादव, रामचन्द्र राय, सुरेन्द्र मुखिया विन, राम एकवाल धामी र पक्राउ परेका प्रतिवादी ज्ञानेश्वर राय यादव, गुडु शिवा भन्ने श्रवणकुमार मोरियासमेत हात हातमा बन्दुकसमेत बोकी जनतान्त्रिक पार्टी जिन्दावादको नारा लगाउँदै भाग्दै गरेको हो । उल्लिखित घटनास्थलमा इन्द्रकुमार श्रेष्ठलाई गोली लागी मृतक अवस्थामा देखेको हो । इन्द्रकुमार श्रेष्ठ सर्लाही जिल्लाको बबरगन्ज गा.वि.स को सचिव पदमा कार्यरत थिए । उल्लिखित व्यक्तिहरू तराईका प्रगत समूहको व्यक्तिहरू भएकोमा निज सचिव इन्द्रकुमार श्रेष्ठले पटक पटक चन्दा माग्दै आएको र निजले चन्दा दिन नमानेको कारण कौटिल्य शर्मा भन्ने संजयप्रसाद गुप्तासमेत भई मार्ने योजना बनाई सोही योजनाअनुसार मिति २०६७।३।२ गते अं. १८:३० बजेको समयमा निज इन्द्रकुमार श्रेष्ठ आफ्नो काम सकी मलंगवाबाट घरतर्फ गइरहेको अवस्थामा राजकुमार गुप्ता, निरन्जन कुमार चौधरी, राम एकवाल धामी, रामचन्द्र राय, सुरेन्द्र यादव, सूर्या भन्ने लालबाबु यादव, सुरेन्द्र मुखिया विन, ज्ञानेश्वर यादव, गुडु शिवा भन्ने श्रवण कुमार मोरियासमेत मिली गोली प्रहार गरी मारेको
हो । निज प्रतिवादीहरूमध्ये राम एकवाल धामी, रामचन्द्र राय सुरेन्द्र मुखिया विनसमेतको प्रहरीसँगको दोहोरो भिडन्तमा परी मृत्यु भइसकेको हो भन्नेसमेत बेहोराको घटना विवरण कागज ।
प्रतिवादीहरू निरन्जनकुमार चौधरी, राजकुमार गुप्ता, रामचन्द्र राय यादव, राम एकवाल धामी, सुरेन्द्र यादव, लालबाबु यादव, गुलाम सरवर, ज्ञानेश्वर राय यादव, श्रवणकुमार मोरिया, संजय गुप्तासमेतको कर्तव्यबाट मृतक इन्द्रकुमार श्रेष्ठको मृत्यु हुन गएको प्रमाणित भएको हुँदा प्रतिवादीहरूमध्ये मृतक इन्द्रकुमार श्रेष्ठलाई गोली प्रहार गर्ने लालबाबु यादव, श्रवण कुमार मोरिया र ज्ञानेश्वर राय यादवलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(१) नं. अनुसार कसुर अपराधमा ऐ. महलको १३(१) नं.अनुसार सजाय हुन र प्रतिवादीहरू राजकुमार गुप्ता, निरन्जन चौधरी, संजयकुमार गुप्ता र सुरेन्द्र यादवसमेतले मृतक इन्द्रकुमार श्रेष्ठको ज्यान मार्ने योजना बनाएको, वचन दिएको र ज्यान मार्नलाई घेरा हाली सहयोग पारिदिएको पुष्टि भएको हुँदा निज प्रतिवादीहरूलाई ऐ. महलको १ नं. र १३(४) नं.को कसुर अपराधमा ऐ. महलको १३(४) नं. सजाय हुन मागदाबी लिई दायर भएको अभियोगपत्र ।
मिति २०६७।३।२ को दिन रात म आफ्नै घरमा थिएँ । मउपरको अभियोग दाबी झुठो हो । अभियोग दाबीअनुसार मैले कुनै कसुर अपराध नगरेको हुँदा मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी ज्ञानेश्वर रायले सुरू अदालतमा गरेको
बयान ।
प्रतिवादी ज्ञानेश्वर राय यादवलाई पुर्पक्षको लागि अ.बं.११८(२) बमोजिम थुनामा राखी कारबाही गर्न थुनुवा पुर्जी दिई कारागार कार्यालय, सर्लाहीमा पठाइदिनु भन्ने सुरू अदालतबाट मिति २०६७।१२।२१ मा भएको आदेश ।
घटना भएको अर्थात् मिति २०६७।३।२ गतेका दिन मेरो स्वास्थ्य अस्वस्थ भएकोले उपचारको लागि भारतको रिगा भन्ने ठाउमा थिएँ । मृतक इन्द्रकुमार श्रेष्ठसँग चन्दा माग्ने, नदिए मारिदिने भनी मैले योजना नबनाएको र मार्न सल्लाह दिएको पनि छैन । इन्द्रकुमार श्रेष्ठको हत्याको विषयमा मलाई केही थाहा छैन । कागज गर्ने व्यक्तिहरू मेरो विरोधी पार्टीका व्यक्तिहरू हुन् । मलाई राजनीतिबाट च्युत गर्न, मेरो चरित्र हत्या गरी फसाउन षड्यन्त्र गरी गुट मिलाई प्रहरीसमेतबाट मलाई फसाउन झुठो लाञ्छना लगाएका मात्र हुन् । मैले कुनै पनि गैरकानूनी काम गरेको छैन । म निर्दोष छु, झुठा अभियोगबाट छुटकारा गरी न्याय पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी कौटिल्य भन्ने संजयकुमार गुप्ताले सुरू अदालतमा गरेको बयान ।
प्रतिवादी संजयकुमार गुप्तालाई पुर्पक्षको लागि अ.बं. ११८ को देहाय २ को अवस्था विद्यमान भएको नदेखिएकोले पछि ठहरेबमोजिम हुने गरी पुर्पक्षको लागि रू.१,००,०००।– नगद धरौट वा सो बराबरको जेथा जमानत लिई तारिखमा राख्नू । सो दिन नसके थुनुवा पुर्जी दिई कारागार कार्यालय, सर्लाहीमा पठाइदिनु भन्ने सुरू अदालतबाट मिति २०६८।६।६ मा भएको आदेश ।
२०६६ साल चैत्रदेखि म भारतको सितामढीमा बस्ने गरेको हुँदा २०६७।३।२ को दिन म सितामढीमा नै थिएँ । मैले हातहतियार बोकी हिँडेको पनि होइन । इन्द्रकुमारलाई कर्तव्य गरी मारेको पनि होइन । मउपर झुठा अभियोग लगाई मुद्दा दायर भएको हो । मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी राजकुमार गुप्ताले सुरू अदालतमा गरेको बयान ।
मिति २०६७।३।२ को दिन म राजविराजमा छु । मैले सचिव इन्द्रकुमार श्रेष्ठलाई कर्तव्य गरी मारेको होइन । निजलाई मार्नुपर्ने कारण नै छैन । अन्य प्रतिवादीहरूलाई चिन्दिनँ । को कसले मारे मलाई थाहा छैन मलाई कुटपिट गरी प्रहरीले जबरजस्ती सहीछाप गराएका हुन् । मउपरको बयान पोल उजुरी सबै झुठ्ठा हो भन्नेसमेत बेहोराको प्रतिवादी निरदलिया भन्ने निरञ्जनकुमार चौधरीले सुरू अदालतमा गरेको
बयान ।
प्रतिवादी निरदलिया भन्ने निरञ्जनकुमार चौधरी र राजकुमार गुप्ताको हकमा पुर्पक्षको प्रयोजनको निमित्त अ.बं.११८ नं. को देहाय २ को अवस्था विद्यमान भएको देखिँदा पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी निज प्रतिवादीहरूलाई अ.बं. १२१ नं.बमोजिम थुनुवा पुर्जी दिई अ.बं. ११८ नं. को देहाय २ बमोजिम पुर्पक्षको निमित्त थुनामा राख्न जिल्ला कारागार कार्यालय, सर्लाहीमा लेखी पठाउनु भन्ने सुरू अदालतबाट मिति २०६९।५।५ मा भएको आदेश ।
मउपरको जाहेरी झठ्ठा हो । वारदात भएको भनिएको समयमा म कपिलवस्तु जिल्लामा थिएँ । मैले मृतकलाई चिन्दिनँ । मैले कर्तव्य गरी मारे मराएको होइन । को कसले मारे मलाई थाहा छैन । अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागजमा भएको सहीछाप मेरो हो । मलाई वीरगन्ज कारागारमा थुनी एक जना प्रहरी बारम्बार गई तयार गरेको कागजमा सही गर् आज छुट्छस् भनी मबाट सहीछाप गराएका हुन् । मउपरको अभियोग दाबी झुठा हो भन्नेसमेत बेहोराको प्रतिवादी गुडु शिवा भन्ने श्रवणकुमार मोरियाले सुरू अदालतमा गरेको बयान ।
प्रतिवादी गुडु शिवा भन्ने श्रवणकुमार मोरियाको विरूद्धमा पुर्पक्षको प्रयोजनको निमित्त अ.बं. ११८ को देहाय (२) को अवस्था विद्यमान भएको देखिँदा पछि ठहरेबमोजिम हुने गरी थुनुवा पुर्जी दिई हाल निज प्रतिवादी अन्य मुद्दाबाट कारागार कार्यालय, भीमफेदी, मकवानपुरमा थुनामा रहेको देखिँदा सोही कारागारमा थुनामा राख्न पठाइदिनु भन्ने सुरू अदालतको मिति २०७०।१।१३ गतेको आदेश ।
यो अभियोग झुठा हो उक्त दिन राजकुमार गुप्ता भारतको सितामढीमा थियो । निज भूमिगत पार्टीमा रहेको भनी फसाएका हुन् । निजले यस अभियोगबाट सफाइ पाउनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादी राजकुमार गुप्ताको साक्षी शिवशंकर प्रसाद गुप्ताले सुरू अदालतमा गरेको बकपत्र ।
वारदात भएको भनेको दिन मेरो घरमा पूजा थियो, त्यसबेला ज्ञानेश्वर मेरो घरमा मसँगै दिनको ९:०० देखि राति ११:०० बजेसम्म भोज भात खाएर आफ्नो घर गएको हो । फसाउने उद्देश्यले झुठो आरोप लगाएका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी ज्ञानेश्वर राय यादवको साक्षी राम एकवाल रायले सुरू अदालतमा गरेको बकपत्र ।
प्रहरीले फसाउने नियत राखी बयान गराई सहीछाप गराएको हो । मैले यो कुरा गाउँघरमा सुनेको आधारमा भनेको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी निरदलिया भन्ने निरन्जनकुमार चौधरीको साक्षी गौरी नारायण चौधरीले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी संजयकुमार गुप्ताले सुरू अदालतबाट तोकी पाएको मिति २०६८।१०।१५ को तारिख गुजारी बसेको ।
फरार रहेका प्रतिवादीहरू सूर्या भन्ने लालबाबु यादव र सुरेन्द्र यादवको हकमा अ.बं. १९० नं.बमोजिम मुलतबीमा राखिदिने ठहर्छ । प्रतिवादी कौटिल्य शर्मा भन्ने संजयकुमार गुप्ताले अभियोग दाबीबमोजिमको कसुर गरेको भन्ने प्रमाणित नभएकोले निज प्रतिवादी संजयकुमार गुप्ताले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । प्रतिवादीहरू राजकुमार गुप्ता, निरदलिया भन्ने निरन्जनकुमार चौधरी, ज्ञानेश्वर राय यादव र गुडु शिवा भन्ने श्रवणकुमार मोरियाले अभियोग दाबीबमोजिम कसुर गरेको भन्ने प्रमाणित भएकोले प्रतिवादी राजकुमार गुप्ता र निरदलिया भन्ने निरन्जनकुमार चौधरीलाई ज्यानसम्बन्धीको १३(४) नं. बमोजिम जन्मकैद र प्रतिवादी ज्ञानेश्वर राय यादव र गुडु शिवा भन्ने श्रवणकुमार चौधरीलाई ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ भन्नेसमेत बेहोराको सुरू सर्लाही जिल्ला अदालतको मिति २०७१।५।१६ को फैसला ।
आपराधिक समूहका व्यक्तिले आपराधिक समूहका नेता वा संयोजकको योजना र निर्देशन मुताबिक मात्र कार्य गर्ने भएकाले प्रत्यर्थी प्रतिवादी संजयकुमार गुप्ता संयुक्त तराई जनतान्त्रिक मुक्ति मोर्चाको केन्द्रीय अध्यक्षसमेत रहेका र निजकै योजना, निर्देशन र निजले हातहतियार उपलब्ध गराइदिएका कारण मृतक इन्द्रकुमार श्रेष्ठलाई गोली हानी कर्तव्य गरी मारे मराएको स्पष्ट देखिएको अवस्था मिसिलबाट पुष्टि भइरहेकोतर्फ विवेचना नगरी सफाइ दिने गरी भएको हदसम्मको फैसला त्रुटिपूर्ण रहेकोले फैसला बदर गरी प्रत्यर्थी प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।
प्रतिवादी राजकुमार गुप्ता र निर्दलिया भन्ने निरञ्जन कुमार चौधरीलाई ज्यानसम्बन्धीको १३(४) नं.बमोजिम जन्मकैद र प्रतिवादी ज्ञानेश्वर राय यादव, गुड्डु शिवा भन्ने श्रवणकुमार मुडियालाई ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याएको सुरू जिल्ला अदालतको फैसलाउपर निजहरूको पुनरावेदन नपरी साधकको रोहमा दर्ता भएको ।
मिसिल संलग्न सम्पूर्ण कागजातहरूको समुचित मूल्याङ्कन र व्याख्यासमेत नगरी सुरू सर्लाही जिल्ला अदालतबाट मिति २०७१।५।१६ मा भएको फैसला विचारणीय भई इन्साफ फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं. तथा उच्च अदालत नियमावली, २०७३ को नियम ६४ बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि भुक्तान भएपछि नियमानुसार पेस गर्नु भन्ने उच्च अदालत जनकपुरको मिति २०७५।२।२ को आदेश ।
सुरू सर्लाही जिल्ला अदालतबाट मिति २०७१/५/१६ मा भएको फैसला मिलेको देखिँदा सदर हुने र पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । साथै प्रतिवादीमध्येका ज्ञानेश्वर राय यादव र गुड्डु शिवा भन्ने श्रवणकुमार मेरियाका हकमा सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहरी मिति २०७१/५/१४ मा सुरू सर्लाही जिल्ला अदालतबाट भएको फैसला साधकको रोहबाट हेर्दा मनासिब देखिँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको १८६ नं.बमोजिम सदर हुने ठहर्छ । प्रस्तुत मुद्दामा सुरू फैसलाउपरमा यी प्रतिवादीद्वयको पुनरावेदन परेको नदेखिँदा अ.बं.१८६ नं.बमोजिम साधक सदरको लागि सम्मानित सर्वोच्च अदालतमा लेखी पठाइदिने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत जनकपुरबाट मिति २०७५।१०।२३ मा भएको फैसला ।
प्रतिवादीले आरोपित कसुरमा इन्कार रही बयान गरे तापनि कसुर ठहर भई सजाय ठहर भएको प्रतिवादी राजकुमार गुप्ताले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा बरामद गोली र पेस्तोल प्रतिवादी संजयकुमार गुप्ताले दिएको भनी स.ज. १६ मा स्पष्ट किटान गरी लेखाएका छन् भने अर्का प्रतिवादी श्रवणकुमार मोरिया, ज्ञानेश्वर राय यादव र निरन्जन कुमार चौधरीले अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा समेत इन्द्रकुमार श्रेष्ठसँग रू.५ लाख चन्दा मागेकोमा सो रकम दिन इन्कार गरेकोले निज इन्द्रकुमार श्रेष्ठलाई गोली हानी हत्या गर्ने भनी प्रतिवादी संजयकुमार गुप्ताले योजना बनाएको र कौटिल्य शर्मा भन्ने संजयप्रसाद गुप्ताकै योजना र निर्देशनअनुसार इन्द्रकुमार श्रेष्ठलाई गोली प्रहार गरी मारेको हो भनी पोल गरी प्रायः एकै मिलानको बेहोरा लेखाइदिएका छन् । प्रतिवादी ज्ञानेश्वर राय यादवले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मृतक गा.वि.स. सचिवसँग प्रतिवादी कौटिल्य शर्मा भन्ने संजयकुमार गुप्ताले पटक पटक पाँच लाख चन्दा मागेकोमा सो रकम मृतक सचिवले दिन इन्कार गरेको र सो रकम नदिएकै कारण निजको हत्या गर्ने योजना बनाई निज कौटिल्य भन्ने संजयकुमार गुप्ताको निर्देशन र प्रत्यक्ष संलग्नतामा वारदात भएको पुष्टि हुन्छ ।
प्रतिवादी कौटिल्य भन्ने संजयकुमार गुप्ताले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा निजलाई अपराधसँग सम्बन्धित प्रश्नहरू सोध्दा केही बताउन नमानेको र अदालतमा इन्कारी बयान गरेको सो इन्कारी अन्य प्रमाणबाट पुष्टि नभएको, निजले मृतकलाई मार्नको लागि वचन दिएको भन्ने मिसिल संलग्न अन्य सबुद प्रमाणहरूबाट पुष्टि भइरहेको
छ । मौकामा कागज गर्ने तपेश्वर गिरी, राम किसुन राय, कपिलेश्वर रायसमेतले उक्त कर्तव्यको वारदातमा प्रतिवादी संजयकुमार गुप्ताको संलग्नता रहेको पुष्टि हुने गरी कागज गरिदिएका छन् ।
सम्मानित सर्वोच्च अदालतबाट सहअभियुक्तको पोललाई प्रमाणको रूपमा लिन मिल्ने नमिल्ने सम्बन्धमा प्रमाण ऐन, २०३१ को दफा ३८ को साक्षी हुन सक्ने व्यक्तिमा मतियारलगायत जुनसुकै व्यक्ति साक्षी हुन सक्ने भनी उल्लेख गरिएको हुँदा सहअभियुक्तको पोललाई प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने देखिने (ने.का.प. २०७२, नि.नं. ९३५२) प्रतिपादित सिद्धान्तविपरीत भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला सो हदसम्म बदरभागी छ । अतः माथि उल्लिखित आधार कारण र प्रमाणहरूबाट यी प्रतिवादीलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला सो हदसम्म बदर गरी यी प्रतिवादीलाई समेत अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।
प्रतिवादीमध्येका ज्ञानेश्वर राय यादव र गुड्डु शिवा भन्ने श्रवणकुमार मेरियाका हकमा सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहरी भएको फैसला साधकको रोहमा दर्ता भएको ।
ठहर खण्ड
नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न प्रमाण कागजातसमेत अध्ययन गरी हेरियो । पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री कमला काफ्लेले अनुसन्धानमा बयान गर्दा कसुरमा साबित रही बयान गरेका अभियुक्तले प्रतिवादी कौटिल्य भन्ने सञ्जयकुमार गुप्ताको निर्देशनमा रही गोली हानेको भनी पोल गरेकोमा सहअभियुक्तको पोललाई प्रमाणमा लिइएको छैन । प्रतिवादी संजयकुमार गुप्ता संयुक्त तराई जनतान्त्रिक मुक्ति मोर्चाको केन्द्रीय अध्यक्षसमेत रहेका र निजकै योजना, निर्देशन र निजले हातहतियार उपलब्ध गराइदिएका कारण मृतक इन्द्रकुमार श्रेष्ठलाई गोली हानी कर्तव्य गरी मारे मराएको मिसिलबाट पुष्टि भइरहेको छ । यसरी वारदातमा प्रतिवादीहरूको प्रत्यक्ष संलग्नता रहेको पुष्टि भएको अवस्थामा समेत मुख्य अभियुक्त यी प्रतिवादी कौटिल्य भन्ने सञ्जयकुमार गुप्तालाई सफाइ दिएको हदसम्म उच्च अदालत जनकपुरको फैसला उल्टी गरी नेपाल सरकारको पुनरावेदन जिकिर एवम् अभियोग दाबीबमोजिम गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
यसमा, प्रतिवादीहरू निरन्जनकुमार चौधरी, राजकुमार गुप्ता, रामचन्द्र राय यादव, राम एकवाल धामी, सुरेन्द्र यादव, लालबाबु यादव, गुलाम सरवर, ज्ञानेश्वर राय यादव, श्रवणकुमार मोरिया, संजय गुप्तासमेतको कर्तव्यबाट मृतक इन्द्रकुमार श्रेष्ठको मृत्यु हुन गएको प्रमाणित भएको हुँदा प्रतिवादीहरूमध्ये मृतक इन्द्रकुमार श्रेष्ठलाई गोली प्रहार गर्ने लालबाबु यादव, श्रवण कुमार मोरिया र ज्ञानेश्वर राय यादवलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १३(१) नं. अनुसार कसुर अपराधमा ऐ. महलको १३(१) नं.अनुसार सजाय हुन र प्रतिवादीहरू राजकुमार गुप्ता, निरन्जन चौधरी, संजयकुमार गुप्ता र सुरेन्द्र यादवसमेतले मृतक इन्द्रकुमार श्रेष्ठको ज्यान मार्ने योजना बनाएको, वचन दिएको र ज्यान मार्नलाई घेरा हाली सहयोग पारिदिएको पुष्टि भएको हुँदा निज प्रतिवादीहरूलाई ऐ. महलको १ नं. र १३(४) नं. को कसुर अपराधमा ऐ. महलको १३(४) नं.बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग मागदाबी रहेको देखिन्छ । प्रस्तुत मुद्दामा फरार रहेका प्रतिवादीहरू सूर्या भन्ने लालबाबु यादव र सुरेन्द्र यादवको हकमा मुलुकी ऐन, अदालती बन्दोबस्तको अ.बं. १९० नं.बमोजिम मुलतबीमा राखिदिने र प्रतिवादी कौटिल्य शर्मा भन्ने संजयकुमार गुप्ताले अभियोग दाबीबमोजिमको कसुर गरेको भन्ने प्रमाणित नभएकोले निज प्रतिवादी संजयकुमार गुप्ताले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । प्रतिवादीहरू राजकुमार गुप्ता, निरदलिया भन्ने निरन्जनकुमार चौधरी, ज्ञानेश्वर राय यादव र गुडु शिवा भन्ने श्रवणकुमार मोरियाले अभियोग दाबीबमोजिम कसुर गरेको भन्ने प्रमाणित भएकोले प्रतिवादी राजकुमार गुप्ता र निरदलिया भन्ने निरन्जनकुमार चौधरीलाई ज्यानसम्बन्धीको १३(४) नं.बमोजिम जन्मकैद र प्रतिवादी ज्ञानेश्वर राय यादव र गुडु शिवा भन्ने श्रवणकुमार चौधरीलाई ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याई भएको सुरू सर्लाही जिल्ला अदालतको मिति २०७१।५।१६ को फैसलाउपर चित्त नबुझाई वादी नेपाल सरकारले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेको र उच्च अदालत जनकपुरबाट समेत सुरू सर्लाही जिल्ला अदालतको फैसला सदर हुने ठहर भएकोले सफाइ पाएका प्रतिवादी कौटिल्य भन्ने सन्जयकुमार गुप्ताको हकमा वादी नेपाल सरकारले यस अदालतमा पुनरावेदन परेको पाइयो । जन्मकैदको सजाय ठहर भएका अन्य प्रतिवादीहरू राजकुमार गुप्ता, निरदलिया भन्ने निरन्जनकुमार चौधरी, ज्ञानेश्वर राय यादव र गुडु शिवा भन्ने श्रवणकुमार मोरियाका हकमा प्रतिवादीहरूको तर्फबाट पुनरावेदन नपरेकोले साधकको रोहमा पेस भई आएको देखियो ।
उपर्युक्तानुसारको तथ्य, पुनरावेदन जिकिर तथा विद्वान् उपन्यायाधिवक्ताको बहस बुँदालाई मध्यनजर गरी मिसिल संलग्न कागज प्रमाणको अध्ययन गरी हेर्दा उच्च अदालत जनकपुरबाट भएको फैसला मिलेको छ वा छैन ? पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्छ पुग्दैन ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. अब, निर्णयतर्फ विचार गर्दा, मिति २०६७।३।२ गते अं.६:३० बजेको समयमा मेरो बुबा इन्द्रकुमार श्रेष्ठ कार्यालयको काम सकी घरतर्फ गइरहेको अवस्थामा जिल्ला सर्लाही, ब्रह्मपुरी गा.वि.स. वडा नं.३ स्थित चौरीमा अज्ञात समूहले गोली प्रहार गरी मारेको हुँदा निजहरूलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने विजया श्रेष्ठको जाहेरी दरखास्त र मिति २०६७।३।२ गते अं.१८:३० बजेको समयमा इन्द्रकुमार श्रेष्ठ मलंगवाबाट आफ्नो घरतर्फ गइरहेको अवस्थामा जिल्ला सर्लाही, ब्रह्मपुरी गा.वि.स. वडा नं.३ स्थित चौरीमा पुग्दा निर्दलिया भन्ने निरन्जनकुमार चौधरी, राजकुमार गुप्ता, सुरेन्द्र मुखिया विन, राम केवल भन्ने रामएकवाल धामी, रामचन्द्र राय, सुरेन्द्र यादवसमेत मिली निज इन्द्रकुमार श्रेष्ठलाई प्रहार गरी मारेको हो भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदनबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । मृतकको बायाँ हातको नाडीमा गोली लागेको, बायाँ गालामा गोली लागी आलो रगत निस्केको सानो प्वाल भएको देखिएको, अनुहारमाथि रगतको छिटा लागेको देखिएको, लासको छेउमा ९ एम.एम. को गोलीको खोका थान १, बुलेट थान १ फेला परेको, मृतकको बायाँपट्टि पिठ्यूँमा गोली लागेको आलो रगत निस्केको सानो प्वाल देखिएको भन्ने घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्का रहेको देखिन्छ । इन्द्रकुमार श्रेष्ठको cause of death मा Died from Neuro & Hypovolemic shocks उल्लेख भएको शव परीक्षण प्रतिवेदनबाट देखिएकोले इन्द्रकुमार श्रेष्ठको मृत्यु कर्तव्यबाट भएको भन्ने तथ्यमा विवाद रहेन ।
३. अब, को कसको के कस्तो कर्तव्यबाट इन्द्रकुमार श्रेष्ठको मृत्यु भएको रहेछ भन्ने सम्बन्धमा हेर्दा मौकामा पक्राउ परेका सबै प्रतिवादीहरूले अदालतमा बयान गर्दा आफूहरूले कसुर गरेकोमा इन्कार रहेको देखिए तापनि मौकामा अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा मिति २०६७।३।२ गते मृतक इन्द्रकुमार श्रेष्ठ साइकल चढी घरतर्फ गइरहेको समयमा सञ्जय गुप्ताको योजना तथा निर्देशनअनुसार आफूसमेत भई मृतकलाई गोली प्रहार गरी मारेको हो । आफूहरू गुडु शिवा भन्ने श्रवणकुमार मोरिया, ज्ञानेश्वर राय, राजकुमार गुप्ता, निरञ्जनकुमार चौधरी, लालबाबु यादव, रामचन्द्र राय, राम एकवाल धामी, सुरेन्द्र मुखिया विन, सुरेन्द्र यादवसमेत भई मृतकलाई घेराउ गरी भाग्न उम्कन नदिई राजकुमार गुप्ताले मृतकलाई चिनाई गोली प्रहार गरी मारिदेउ भनी वचन दिँदा गुडु शिवा भन्ने श्रवणकुमार मोरिया, ज्ञानेश्वर राय यादव, लालबाबु यादव, गुलाम सरवरले आआफ्नो साथमा बोकेको पेस्तोलबाट पालै पालो गरी मृतकलाई गोली प्रहार गरी मारेको हो भनी घटनाको सविस्तार विवरण खुलाएको देखिन्छ । मृतक इन्द्रकुमार श्रेष्ठको पिठ्युँ, बायाँ हातको नाडी र बायाँ गालालगायत शरीरका विभिन्न भागमा गोली लागेको भन्ने घटनास्थल मुचुल्का र निज इन्द्रकुमारको मृत्यु गोली लागी भएको हो भन्नेसमेत बेहोराको शव परीक्षण प्रतिवेदनबाट प्रतिवादीहरूको मौकाको बयान समर्थित भइरहेको देखिन्छ । घटनास्थलबाट मृतकलाई लागेको ९ एम.एम. को गोलीको खोका थान १ र बुलेट थान १ समेत बरामद भएको भन्ने घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्का रहेको पाइयो । रामचन्द्र राय, राम एकवाल धामी, सुरेन्द्र मुखिया विन, सुरेन्द्र यादवसमेतको प्रहरीसँगको दोहोरो भिडन्तमा परी मृत्यु भएको भनी प्रतिवादी राजकुमार गुप्ताले अनुसन्धानमा गरेको बयानमा खुलाइदिएको देखिएबाट उक्त वारदातमा उल्लिखित व्यक्तिहरूलगायत यी प्रतिवादीहरूको संलग्नता पुष्टि हुन आउँछ ।
४. प्रतिवादीहरू राजकुमार गुप्ता, निरदलिया भन्ने निरन्जनकुमार चौधरी, ज्ञानेश्वर राय यादव र गुडु शिवा भन्ने श्रवणकुमार मोरियाले अदालतमा बयान गर्दा आफूहरूले कसुर गरेकोमा इन्कार रहेको भए तापनि अनुसन्धानमा भएको आफ्नो साबितीलाई अन्यथा पुष्टि गर्न सकेको पाइएन । वस्तुनिष्ठ आधार प्रमाण पेस हुन नसकेको, केवल आरोपित कसुरबाट उन्मुक्ति पाउने उद्देश्यले गरेको इन्कारी बयान पुष्टि हुन आफैँ त्यस्तो इन्कारी बयानले प्रमाणको स्थान ग्रहण गर्न सक्दैन । इन्कारी बयान प्रमाण ग्राह्य हुन कुनै आधारभूत, तथ्यपरक एवं निश्चयात्मक प्रमाणबाट समर्थित भएको हुनुपर्छ । प्रतिवादीहरू मौकाको बयानमा आरोपित कसुरमा साबित रहेका र अदालतसमक्ष भएको बयानमा इन्कारी रहेको अवस्थामा अदालतले प्रतिवादीले अदालत बाहेक अन्यत्र व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा ९(२)(क) बमोजिम सचेत अवस्थामा स्वेच्छाले व्यक्त गरेको हो वा होइन भनी हेर्नुका साथै मिसिल संलग्न अन्य स्वतन्त्र प्रमाणले मौकाको साबिती वा अदालतको इन्कारी कुन बयानलाई समर्थित गर्छ भन्ने तथ्यलाई समेत विचार गर्नुपर्ने हुन्छ । प्रतिवादीहरूको भनाइ वा कथन झुठ्ठा पनि हुन सक्छ तर दशी प्रमाण एवं वारदातबाट देखिएको वस्तुस्थिति यथार्थपरक हुन्छ । प्रस्तुत मुद्दाको वारदात परिस्थिति हेर्दा यी प्रतिवादीहरूले इन्द्रकुमार श्रेष्ठलाई गोली प्रहार गरी हत्या गरेको कुरा अनुसन्धानको बयानमा खुलाएको, सबै प्रतिवादीहरूको मौकाको बयानमा उल्लिखित घटनाक्रममा सङ्गति र एकरूपता देखिएको, वारदातस्थलबाट गोली तथा गोलीको खोका भेटिएको एवम् पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण गोली लागी भएको भन्ने उल्लेख भएको देखिइरहेको अवस्थामा केवल प्रतिवादीहरू अदालतमा इन्कारी रहेकै आधारमा प्रतिवादीहरूको आरोपित कसुरबाट सफाइ पाउने अवस्था
देखिएन । प्रतिवादी कौटिल्य भन्ने सञ्जय गुप्ताबाहेकका अन्य प्रतिवादीहरू राजकुमार गुप्ता, निरदलिया भन्ने निरन्जनकुमार चौधरी, ज्ञानेश्वर राय यादव र गुडु शिवा भन्ने श्रवणकुमार मोरियासमेतको आरोपित कसुरमा संलग्नता पुष्टि हुन आयो ।
५. प्रतिवादी कौटिल्य भन्ने सञ्जयकुमार गुप्तालाई सफाइ दिएको हदसम्म उच्च अदालत जनकपुरको फैसला उल्टी गरी निजलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ हेर्दा, प्रतिवादी कौटिल्य भन्ने सञ्जयकुमार गुप्ता मौकामा बयान गर्दा कुनै सवालको उत्तर नदिई चुप लागी बसेको देखिन्छ भने अदालतमा कसुरमा इन्कार रही बयान गरेको पाइन्छ । अन्य सहअभियुक्तहरूले मौकामा बयान गर्दा प्रतिवादी कौटिल्य भन्ने सञ्जयकुमार गुप्ताको योजनाबमोजिम हत्या गरेको भनी निजउपर पोल गरेको भए तापनि अदालतमा बयान गर्दा आफूसमेत कसुरमा इन्कार रही बयान गरेको देखिन्छ । मौकाको बयानमा अन्य प्रतिवादीहरूले निजलाई पोलेको भए तापनि निज प्रतिवादी कौटिल्य भन्ने सञ्जय गुप्ता वारदातस्थलमा उपस्थित भई गोली प्रहार गरेको, छेकबार गरेको वा वचन दिएकोलगायतका कुनै कार्य गरेको भनी लेखाउन सकेको देखिँदैन । हाम्रो फौजदारी न्याय प्रणालीले प्रतिवादीउपरको कसुर प्रमाणित गर्ने भार वादीमा राखेको र प्रतिवादीलाई चुप लागेर बस्न पाउने अधिकारको प्रत्याभूति गरेको सन्दर्भमा मौकामा चुप चागेर बसेको तथ्यलाई निजका विरूद्ध आरोपित कसुर स्थापित हुने प्रमाणका रूपमा लिन मिलेन । निज प्रतिवादी संजयकुमार गुप्ता संयुक्त तराई जनतान्त्रिक मुक्ति मोर्चाको केन्द्रीय अध्यक्षसमेत रहेकै कारण निजको योजना, निर्देशन र निजले हातहतियार उपलब्ध गराइदिएका कारण अन्य प्रतिवादीहरूले मृतक इन्द्रकुमार श्रेष्ठलाई गोली हानी कर्तव्य गरी मारे मराएको भन्ने पुनरावेदन जिकिर भए तापनि मिसिलबाट उक्त वारदात घटाउनका लागि योजना गराएको, निर्देशन दिएको वा षड्यन्त्र गरेको भन्ने तथ्य पुष्टि हुने स्वतन्त्र र वस्तुनिष्ठ प्रमाण देखिएन । यस स्थितिमा केवल प्रतिवादी सञ्जय गुप्ता प्रतिवादीहरू सङ्गठित भएको समूहको अध्यक्ष भएकै कारण निजको निर्देशनमा गोली प्रहार भएको भनी निष्कर्षमा पुग्नु उचित देखिएन । प्रमाण ऐन,२०३१ को दफा २५ मा "फौजदारी मुद्दामा आफ्नो अभियुक्तको कसुर प्रमाणित गर्ने भार वादीको हुने छ" भन्ने व्यवस्था रहेको सन्दर्भमा प्रस्तुत मुद्दामा वादीले प्रतिवादी सञ्जयकुमार गुप्ताउपरको कसुर शंकारहित तवरबाट पुष्टि गर्न सकेको देखिएन ।
६. अब, कसुरदार ठहर भएका प्रतिवादीहरूलाई भएको सजाय मिले नमिलेको के रहेछ भन्ने सम्बन्धमा हेर्दा प्रतिवादीहरू गुडु शिवा भन्ने श्रवणकुमार मोरिया र विक्रम उपनामले चिनिने ज्ञानेश्वर राय यादवसमेतका हकमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. को सजायको मागदाबी रहेको र निजहरूलाई सोहीबमोजिम जन्मकैदको सजाय भई साधकको रोहमा पेस भएको देखिन्छ । यस सम्बन्धमा भएको कानूनी व्यवस्था हेर्दा, मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. मा "धार भएको वा नभएको जोखमी हतियार गैह्रले हानी, रोपी, घोची ज्यान मारेमा जतिजना भई हतियार छाडेको छ उतिजना ज्यानमारा ठहर्छन् । सर्वस्वसहित जन्मकैद गर्नुपर्छ" भन्ने व्यवस्था रहेको देखियो । प्रस्तुत वारदातमा यी प्रतिवादीहरूले जोखमी हतियार बन्दुकको गोली प्रहार गरी हत्या गरेको पुष्टि भएको हुँदा उक्त कानूनी व्यवस्थाअनुसार सर्वस्वसहित जन्मकैदको सजाय हुने भए तापनि हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा ४०(२) ले सर्वस्वसहित जन्म कैदको सजाय नहुने हुँदा प्रतिवादीहरू ज्ञानेश्वर राय यादव र गुडु शिवा भन्ने श्रवणकुमार मोरियालाई सर्वस्वतर्फको सजाय नभई जन्मकैदको सजाय हुने देखियो ।
७. प्रतिवादी राजकुमार गुप्ता र निरदलिया भन्ने निरन्जनकुमार चौधरीसमेतका व्यक्ति वारदातस्थलमा उपस्थित भई साइकलमा आउँदै गरेका इन्द्रकुमार श्रेष्ठलाई घेरा हाली भाग्न उम्कन नदिई प्रतिवादी राजकुमार गुप्ताले चिनाइदिएका र निरन्जनकुमार चौधरीले गोली हान्न आदेश दिई सबै प्रतिवादीहरूले आफूसँग भएको पेस्तोलले पालैपालो गोली प्रहार गरेको देखिएकोमा अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(४) नं. बमोजिम जन्मकैदको सजाय ठहर गरेको उच्च अदालत जनकपुरको फैसला मनासिब देखिँदा अन्यथा गर्नुपर्ने देखिएन ।
८. तसर्थ, प्रतिवादी कौटिल्य शर्मा भन्ने संजयकुमार गुप्ताले अभियोग दाबीबाट सफाइ पाउने र प्रतिवादी राजकुमार गुप्ता र निरदलिया भन्ने निरन्जनकुमार चौधरीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(४) नं.बमोजिम जन्मकैद र प्रतिवादी ज्ञानेश्वर राय यादव र गुडु शिवा भन्ने श्रवणकुमार चौधरीलाई ऐ. ज्यानसम्बन्धीको महलको १३(१) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याई भएको सुरू सर्लाही जिल्ला अदालतको मिति २०७१।५।१६ को फैसला सदर गरी मुलुकी अपराध संहिता, २०७४ को दफा ४०(२) बमोजिम जन्मकैदको सजाय ठहर गरेको उच्च अदालत, जनकपुरबाट मिति २०७५।१०।२३ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । फैसलाको प्रतिलिपिसहित फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालय र प्रतिवादीहरूसमेतलाई दिई दायरीको लगत कट्टा गरी फैसलाको विद्युतीय प्रति अपलोड गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
का.मु.प्र.न्या.हरिकृष्ण कार्की
इजलास अधिकृत : राजकुमार दाहाल
इति संवत् २०८० वैशाख १० गते रोज १ शुभम् ।