निर्णय नं. ११२८७ - कर्तव्य ज्यान डाँका

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
फैसला मिति : २०७८।०९।१३
मुद्दा : कर्तव्य ज्यान डाँका
०७१-CR-०३८४
पुनरावेदक / वादी : रिताकुमारी चौधरीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जोगेन्द्र भगतको छोरा, सप्तरी जिल्ला, रामपुर जमुवा गा.वि.स. वडा नं. १ बस्ने कान्तिपुर एफ.एम भन्ने जगदिशप्रसाद भगतसमेत
०७६-CR-०१९२
पुनरावेदक / वादी : प्रहरी नायब निरीक्षक लेखेन्द्र बस्नेतको प्रतिवेदन तथा रिताकुमारी चौधरीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला सप्तरी, साबिक सारस्वरू गा.वि.स. वडा नं. ६ हाल बोदेबरसाइन नगरपालिका, वडा नं. १२ बस्ने मिश्रीलाल यादवको छोरा ताराकान्त यादव
सैद्धान्तिक अवधारणातर्फ दृष्टिगत गर्दा गुप्त, सूक्ष्म र समन्वयात्मक ढङ्गले गरिने कार्य आपराधिक षड्यन्त्र हुने । षड्यन्त्रमा तयारीलगायतका विभिन्न चरण रहने र षड्यन्त्रमा संलग्न पक्षको हरेक चरणमा गरिने भूमिका किटान गरिएको हुने । अर्थात् षड्यन्त्रकारीका बिचमा भूमिकाको बाँडफाँट हुन्छ जुन भूमिकालाई समन्वयात्मक ढङ्गले कार्यान्वयन
गरिने । षड्यन्त्रको अपराधमा संलग्न व्यक्तिको वारदातमा क्रियाशीलता वा सक्रियता स्पष्ट हुनुपर्ने । यसमा लक्षित अपराध घटाउन तयारी गर्ने, संलग्न व्यक्तिहरूका बिचमा भूमिका वा जिम्मेवारीको बाँडफाँट गर्ने, अपराध घटाउन हतियारलगायतका आवश्यक सामग्री जुटाउने तथा घटना घटाउन दिन किटान गर्ने जस्ता सुनियोजित एवम् योजनावद्ध तवरले कार्य गरिने । वारदात षड्यन्त्रपूर्वक घटाइएको हो भने वारदातमा संलग्न सबै व्यक्तिको सक्रिय भूमिका षड्यन्त्रमा कुनै न कुनै रूपमा दर्सिएको हुनुपर्छ तथा सोही आधारमा आरोपित गरिएको हुनुपर्ने ।
(प्रकरण नं. २)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री दशरथ पंगेनी
प्रत्यर्थी / प्रतिवादीको तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प. २०७२ अङ्क ९ नि.नं. ९४७०
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्नेः
मा. न्या. श्री मेघनाथ भट्टराई
मा. न्या. श्री दुर्गाप्रसाद ढुङ्गेल
सप्तरी जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
मा. मु. न्या. श्री बलराम विष्ट
मा. न्या. श्री महेन्द्रराज गौतम
पुनरावेदन अदालत, राजविराज
मा. मु. न्या. श्री नारायणप्रसाद श्रेष्ठ
मा. न्या. श्री शेखरचन्द्र अर्याल
उच्च अदालत जनकपुर, राजविराज इजलास
फैसला
न्या. प्रकाशमान सिंह राउत : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम दायर भई न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) समेतले यसै अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
तथ्य खण्ड
जिल्ला सप्तरी, नेगडा गा.वि.स. वडा नं. ५ स्थितमा भएको मृतक दिपु भन्ने गोविन्द चौधरीको लास उत्तानो अवस्थामा रहेको, मृतक लासको दाहिने कोखा र बायाँ स्तनको दायाँतर्फ, पेटको भाग र पछाडि ढाड पातामा प्वाल परी रगत बगिरहेको भन्नेसमेत बेहोराको मृतक गोविन्द चौधरीको घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्का ।
जिल्ला सप्तरी, रामनगर गा.वि.स. वडा नं. १ स्थितमा पर्ने सार्वजनिक डगर बाटोमा जिल्ला सप्तरी, रामपुर जमुवा गा.वि.स. वडा नं. १ बस्ने कान्तिपुर एफ.एम. भन्ने जगदिश भगतलाई शंकास्पद रूपमा फेला परी निजको शरीर तलासी गर्दा निजको साथबाट कटुवा पेस्तोल थान १, ऐ.को गोली राउन्ड ६ र सर्टगनको गोली २ समेत बरामद गरी लगेको भन्नेसमेत बेहोराको बरामदी मुचुल्का ।
मिति २०६४।३।९ गते गोविन्द चौधरीलाई अपहरण गर्ने अभियुक्तहरूको खोजतलास कार्य भइरहेकोमा जिल्ला सप्तरी, रामपुर जमुवा गा.वि.स. वडा नं.१ बस्ने कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगतलाई ऐ. रामनगर गा.वि.स. वडा नं.१ स्थितमा कटुवा पेस्तोल र गोलीसहित योङ कम्युनिष्ट लिगका कार्यकर्ताले नियन्त्रणमा लिई मसमेतको प्रहरी टोलीलाई जिम्मा बुझाएको हुँदा कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको प्रहरी नायब निरीक्षक लेखेन्द्र बस्नेतले पेस गरेको प्रतिवेदन ।
मिति २०६४।३।९ गते मेरो भाइ गोविन्द चौधरी आफ्नो सानीआमा सासूलाई आफ्नै बा.१९ च ९५८३ नं. को मोटरसाइकलमा चढाई बिसनपुर चौकबाट बनौलातर्फ जान भनी वोदेवरसाइनतर्फ गएकोमा प्रतिवादीहरू जगदिशप्रसाद भगत, क्रान्ति भन्ने दिनेश यादव, इसा मिया, विरेन्द्र यादव, शिखर भन्ने श्याम यादवसमेत ९ जना भई भाइ गोविन्द चौधरीलाई जिल्ला सप्तरी, वोदेवरसाइन गा.वि.स. वडा नं.४ स्थितबाट अपहरण गरी नेगडा गा.वि.स. तर्फ लगी सोही गा.वि.स. स्थित वडा नं. ५ मा भएको खुल्ला चौरमा पुर्याई भाइ गोविन्द चौधरीलाई क्रान्ति भन्ने दिनेश यादव र कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगतसमेतले साथमा बोकेको चाइनिज मोजर पेस्तोलबाट छातीलगायतका भागमा पाँच गोली प्रहार गरी सोही स्थानमा मारी भाग्दै गरेको अवस्थामा वारदातमा संलग्न अभियुक्तमध्ये जिल्ला सप्तरी, रामपुर जमुवा गा.वि.स. वडा नं. १ बस्ने प्रतिवादी कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगतलाई कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरेको हुँदा निज प्रतिवादी जगदिशप्रसाद भगत र घटनामा संलग्न अन्य अभियुक्तहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलबमोजिमको अपराधमा सजाय गरी मेरो भाइसँग खोसी लगेको मोबाइल, सिम, नगद र मोटरसाइकलसमेत दिलाइपाउँ भन्नेसमेत बेहोराको रिताकुमारी चौधरीको जाहेरी दरखास्त ।
मिति २०६४।३।९ को दिउँसो दिपु भन्ने गोविन्द चौधरीलाई मैले गोली हानी मारेको होइन, सो दिन म रामनगर कोदरकट्टी गाउँमा भोज खान गएको थिएँ । सोही स्थानमा मलाई पेस्तोल र गोलीसहित पक्राउ गरेको हो । मेरो साथबाट बरामद भएको कटुवा पेस्तोल थान १, ऐ.को गोली राउन्ड ६ र सर्टगनको गोली थान २ जनतान्त्रिक तराई मुक्ति मोर्चाका कार्यकर्ता क्रान्ति भन्ने दिनेश यादवले मलाई बोक्न दिएको हो भन्नेसमेत बेहोराको प्रतिवादी कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगतले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
शरीरको संवेदनशील अङ्गहरूमा गम्भीर चोट परेको (Multiple vital organ injury leading to shock) को कारण मृत्यु भएको मृतक दिपु भन्ने गोविन्द चौधरीको लास जाँच पोष्टमार्टम रिपोर्ट ।
मिति २०६४।३।९ गते दिउँसो म लहानबाट बनौलातर्फ जान लहानबाट जिल्ला सप्तरी, बिसनपुर चौकमा आई म सोही स्थानमा भएको पसलमा नास्ता खान लागेको अवस्थामा प्रतिवादीमध्येका कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगत र अरविन्द यादवले भेटी हात मिलाइसकेपछि म ज्वाइँ गोविन्द चौधरीले चलाएको मोटर साइकलको पछाडि बसी वोदेवरसाइनतर्फ लाग्यौं । सोही बाटोमा पर्ने बैरिया चौकमा निज जगदिशप्रसाद भगतले चलाएको मोटरसाइकलमा चढेका अरविन्द यादव झरी सो मोटरसाइकलमा प्रतिवादीहरू ज्याबुल मियाँ र इसा मियाँ चढी बोदेवरसाइन पुगेपछि म र ज्वाइँ गोविन्द चौधरी बसिरहेको स्थानमा जाहेरीमा उल्लिखित प्रतिवादीहरू क्रान्ति भन्ने दिनेश यादव, विरेन्द्र यादव, ताराकान्त यादव, इसा मिया, ज्याबुल मियाँ, अरविन्द यादव, अनिरूद्र सिंह यादव, शिखर भन्ने श्याम यादव र जगदिशप्रसाद भगतसमेत एक्कासि एक हुल बाँधी आई प्रतिवादी मध्येका क्रान्ति भन्ने दिनेश यादवले ज्वाइँ गोविन्द चौधरीलाई कन्चटमा पेस्तोल ताकी जगदिशप्रसाद भगतले ज्वाइँ गोविन्द चौधरीको साथमा भएको नगदसमेत लुटी लिई कुटपिट गर्दै मोटरसाइकलमा चढाई जिल्ला सप्तरी, नेगडा गा.वि.स. वडा नं. ५ स्थितमा पुर्याई गोली हानी मारेको हो भन्नेसमेत बेहोराको रूकमणी चौधरीको घटना विवरण कागज ।
मिति २०६४।३।९ को दिउँसो अन्दाजी ११:३० बजेको समयमा प्रतिवादीहरू क्रान्ति भन्ने दिनेश यादवसमेतले गोविन्द चौधरीलाई मोटरसाइकलमा चढाई नेगडा गा.वि.स. वडा नं. ५ तर्फ जाँदै गरेको देखी कहाँ लगेको हुन् भनी हेर्दै जाँदा प्रतिवादीहरूले सोही गा.वि.स. वडा नं. ५ स्थितमा रहेको चौरमा पुर्याई क्रान्ति भन्ने दिनेश यादवले दुई राउन्ड गोली हानी भाग्दै गर्दा गोविन्द चौधरी उठेकोले पुनः फर्की जगदिशप्रसाद भगतले दुई राउन्ड र क्रान्ति भन्ने दिनेश यादवले एक राउन्ड गोली हानी भाग्दै गरेको अवस्थामा प्रतिवादीहरूलाई देखेको हुँ । पछि वारदातमा संलग्न प्रतिवादीहरूको खोजतलास गर्दै जाँदा जगदिशप्रसाद भगतलाई सोही दिन कटुवा पेस्तोल र गोलीसहित फेला परेको हो भन्नेसमेत बेहोराको पाँचु चौधरीको घटना विवरण कागज ।
मिति २०६४।३।९ बिहान गोविन्द चौधरी मेरो पसलमा आई नास्ता खाई बिसनपुर चौकमा गई बसिरहेको अवस्थामा प्रतिवादी जगदिशप्रसाद भगत र अरविन्द यादवले भेटी निजहरूसँग गोविन्द चौधरीको वादविवादसमेत भएको थियो । केही समयपछि गोविन्द चौधरी आफ्नो ठुलीआमा सासूलाई लिई वोदेवरसाइनतर्फ गएकोमा निजलाई सोही स्थानमा रहेका प्रतिवादीहरू क्रान्ति भन्ने दिनेश यादव, ज्याबुल मियाँ, इसा मिया, विरेन्द्र यादव, शिखर भन्ने श्याम यादव, अरविन्द यादव, अनिरूद्र सिंह यादव र कान्तिपुर एफ.एम. भन्ने जगदिश भगतसमेतले नियन्त्रणमा लिई जिल्ला सप्तरी, गा.वि.स. नेगडा, वडा नं. ५ स्थितमा पुर्याई गोली हानी मारी भागी रहेकोमा मसमेतले प्रतिवादीहरूको खोजतलास गर्दै जाँदा कान्तिपुर एफ.एम. भन्ने जगदिश भगतलाई जिल्ला सप्तरी, रामनगर कोदरकट्टीमा कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरेको हो भन्नेसमेत बेहोराको अजयकुमार चौधरीको घटना विवरण कागज ।
मिति २०६४।३।९ मा दिउसो ज.ब.रा. इन्चार्ज दिपु भन्ने गोविन्द चौधरीलाई वोदेवरसाइन चौकबाट हतियारसहितको समूहले नियन्त्रणमा लिई नेगडा गा.वि.स. तर्फ लगेको भनी हल्ला सुनी मसमेतले गोविन्द चौधरीको खोजतलास गर्दै जाँदा नेगडा गा.वि.स. वडा नं. ५ तर्फ गोली पडकेको आवाज सुनी त्यसतर्फ जाँदा केही व्यक्तिहरू हातमा पेस्तोल लिई भाग्दै गरेको देखी ती व्यक्तिहरूलाई मसमेत भई खोजतलास गर्दै जाँदा जिल्ला सप्तरी, बिसनपुर जमुवा गा.वि.स. वडा नं. १ बस्ने कान्तिपुर एफ.एम. भन्ने जगदिश भगतलाई जिल्ला सप्तरी, रामनगर कोदरकट्टी स्थितबाट कटुवा पेस्तोल १ र ऐ. कटुवामा लोड हुने गोली ६ राउन्ड र सर्टगनको कर्टिज थान २ सहित पक्राउ गरेको हो भन्नेसमेत बेहोराको जुगल चौधरीको घटना विवरण कागज ।
मिति २०६४।३।९ अन्दाजी ११:३० बजेको समयमा जिल्ला सप्तरी, वोदेवरसाइन गा.वि.स. वडा नं. ४ स्थित गोविन्द चौधरीलाई प्रतिवादी क्रान्ति भन्ने दिनेश यादव, कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगत, इसा मिया, ज्याबुल मिया, विरेन्द्र यादव, ताराकान्त यादव, शिखर भन्ने श्याम यादव, अरविन्द यादव र अनिरूद्रप्रसाद सिंह यादवसमेतले पेस्तोल देखाई डर त्रासमा पारी नियन्त्रणमा लिई जिल्ला सप्तरी, गा.वि.स. नेगडा वडा नं. ५ स्थितमा पुर्याई गोली हानी मारेको हो भन्ने सुनेको हुँ भन्नेसमेत बेहोराको एकै मिलानको घटनास्थल वस्तुस्थिति मुचुल्का ।
मिसिल संलग्न कागज प्रमाणका आधारमा गोविन्द चौधरीलाई विपक्षीहरूले कर्तव्य गरी मारेको बेहोरा पुष्टि भएको हुँदा प्रतिवादीहरू क्रान्ति भन्ने दिनेश यादव र कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगतलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३(१) नं. को कसुरमा सोही महलको १३(१) नं.बमोजिम, ज्यान मार्न षड्यन्त्रमा सामेल भई अपहरण गरी वारदातस्थलमा लगी घेरा हाल्ने, बाटो गौडा छेक्ने भाग्न उम्कन नदिई गोविन्द चौधरीको ज्यान मार्न सहयोग पारिदिने प्रतिवादीहरू शिखर भन्ने श्याम यादव, अरविन्द यादव, विरेन्द्र यादव, ताराकान्त यादव, अनिरूद्र सिंह यादव, ज्याबुल मियाँ, इसा मियाँसमेत जना सातमध्ये ज्यान मार्न भनी वचन दिने प्रतिवादीहरू अनिरूद्र सिंह यादव र ताराकान्त यादवलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३(४) को कसुरमा सोही महलको १३(४) नं.बमोजिम र अन्य प्रतिवादीहरू शिखर भन्ने श्याम यादव, अरविन्द यादव, विरेन्द्र यादव, ज्याबुल मियाँ, इशा मियाँलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १६ र १७(२) नं. बमोजिम सजाय हुन र मृतकको नगद रू.१२,०००।- मोबाइल सेट थान २, अन्य सर सामान र मोटरसाइकलसमेत प्रतिवादीहरूले जबरजस्ती खोसी लगेको हुँदा डाँका गरेको कसुरमा प्रतिवादीहरूलाई मुलुकी ऐन, चोरीको महलको १४(४) नं.बमोजिम सजाय गरी मोबाइललगायतको अन्य दशीको हकमा पूरक अभियोग पेस गरिने हुँदा ऐ.को १० र २१ नं.बमोजिम प्रतिवादीहरूबाट रू.१२,०००।- बिगो जाहेरवालालाई दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र ।
म मिति २०६४।३।९ गते सप्तरीको कोदरकट्टी भन्ने स्थानमा थिएँ । त्यहाँ विवाहको भोज खाई बसिरहेको अवस्थामा माओवादीका केटाहरूको समूह गई मलाई गोविन्द चौधरी खोई भनी सोधी मैले मसँग भेट भएको छैन भनी भन्दा निजहरूले मलाई तत्कालै टाउको र गालामा एक एक मुड्की हिर्काए । मेरो साथमा पार्टीले दिएको पेस्तोल रहेकोमा सोसमेत खोसी उनीहरूकै मोटरसाइकलमा बसाए र प्रहरीमा बुझाए । मसमेत भई उल्लिखित मितिमा गोविन्द चौधरीलाई मारेको होइन । निजसँग मेरो ३ महिना अगाडिदेखि नै भेट भएको थिएन । को कसले, निजको हत्या गरे मलाई थाहा भएन । मैले अभियोग दाबीबमोजिमको कसुर नगरेको हुँदा दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगतले सुरू अदालतमा गरेको बयान ।
घटना भएको भनिएको दिन म घरमा नभई दिल्लीमा नै थिएँ । जाहेरीमा उल्लिखित प्रतिवादीहरू कसैसँग पनि मेरो चिनजान रहेको छैन । म घटनामा संलग्न नभएको हुँदा अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी जियाउल हक भन्ने जियाउर रहमानले सुरू अदालतमा गरेको बयान ।
प्रतिवादीउपर मौकामा परेको किटानी जाहेरी, बुझिएका तथा वस्तुस्थिति मुचुल्काका मानिसहरूको कागज प्रमाणसमेतबाट यी प्रतिवादी हाल निर्दोष रहेछन् भनी भन्ने अवस्थाको विद्यमानता नभएकोले पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल यी प्रतिवादी मुलुकी ऐन, अ.बं. ११८(२) अनुरूप पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल प्रतिवादी जगदिशप्रसाद भगतलाई पुर्पक्षका लागि थुनामा राख्न थुनुवा पुर्जी दिई स्थानीय कारागार शाखामा पठाइदिनू भन्नेसमेत बेहोराको सुरू सप्तरी जिल्ला अदालतको मिति २०६४।०४।०७ को आदेशअनुसार प्रतिवादी कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगतलाई च.नं.२ मिति २०६४।०४।०७ को पत्रबाट थुनामा राख्न पठाइएको ।
मेरो नाम मोहमद जियाउल हक हो । मेरो घर सारस्वर-६ नभई सारस्वर-४ मा हो । म वारदात भएको भनिएको मितिमा गाउँघरमा नरही दिल्लीमा छु । वारदात भएको भनिएको मितिभन्दा २०/२५ दिनअघि नै दिल्ली गई गार्मेन्ट बन्द भएकोले घर फर्की आएको हुँ । जाहेरीमा उल्लिखित कुनै प्रतिवादीहरूसँग मेरो चिनजान छैन र वारदातमा मेरो कुनै संलग्नता छैन । प्रहरीले मलाई १४/१५ महिनाअघि पनि हातहतियार मुद्दा चलाई थुनामा रहेकोमा पुनरावेदन अदालतबाट सफाइ पाई थुनाबाट छुट्नासाथ यस अदालतमा ल्याएका हुन् । मृतकलाई को कस्ले कर्तव्य गरी मारेको हो ? मलाई थाहा छैन भन्नेसमेत बेहोराको प्रतिवादी मोहमद जियाउल हक भन्ने जियाउर रहमानले सुरू सप्तरी जिल्ला अदालतमा गरेको बयान ।
जाहेरी दरखास्त तथा अभियोगपत्रमा यी प्रतिवादीको बाबुको नाम उल्लेख नभएको र अभियोगपत्रमा उल्लिखित नाम र आज प्रतिवादीको बयानमा उल्लेख गरेको नामसमेत फरक पर्न गएको यी दुवै व्यक्ति एकै हुन् भन्ने कुरा जाहेरीलगायतका मिसिल संलग्न कागजातबाट देखिन नआएको र प्रतिवादी कसुरमा इन्कार रहेको अवस्था देखिँदा तत्काल प्राप्त आधार प्रमाणबाट यी प्रतिवादी कसुरदार हुन् भन्न सकिने अवस्था नदेखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल यी प्रतिवादीलाई मुलुकी ऐन, अ.बं. ४७ नं.बमोजिम मुद्दा पुर्पक्षको निमित्त तारेखमा राख्नु भन्नेसमेत बेहोराको मिति २०६७।०६।२१ को सुरू सप्तरी जिल्ला अदालतको आदेश ।
मिति २०६४।०३।०९ मा म र जगदिशप्रसाद भगत बिहान ८:०० बजेदेखि बेलुकासम्म रामनगर कोदरकट्टी भन्ने ठाउँमा सँगै वैवाहिक कार्यक्रममा
थियौं । प्रतिवादीउपर जाहेरी दरखास्तलगायतका कागजमा लगाइएको आरोप झुट्टा हो । जगदिशप्रसाद भगतबाट बरामद भएको पेस्तोललगायतका हतियार सरकारसँग लड्न राजनीतिक कारणले बोकेको
हो । हत्या गर्ने उद्देश्यले बोकेको होइन । जगदिशप्रसाद भगत असल चालचलन भएका व्यक्ति हुन् भन्नेसमेत बेहोराको प्रतिवादी जगदिशप्रसाद भगतका साक्षी रामकुमार यादवले सुरू सप्तरी जिल्ला अदालतमा उपस्थित भई गरिदिएको बकपत्र ।
जाबुल मियाँ नाउँ गरेको व्यक्ति हाम्रो वडा नं.४ मा छ । यी प्रतिवादी जियाउर रहमान हुन् । दिल्लीमा गार्मेन्टमा काम गर्ने भएकाले म र जियाउर रहमान मिति २०६४।०३।०९ भन्दा २०/२५ दिनअघि नै दिल्ली गई दुई अढाई महिनापछि घर फर्केका हौँ । यी जियाउर रहमानको वारदातमा संलग्नता छैन । जियाउर रहमान निर्दोष छन् भनी मोहमद जियाउल हक भन्ने जियाउर रहमानका साक्षी रफिक मियाँले सुरू अदालतमा उपस्थित भई गरिदिएको बकपत्र ।
मिति २०६४।०३।०९ गते शनिबारका दिन ११:३० बजेको समयमा नेग्राबैरिया वडा नं.५ स्थित आँपको गाछी धानको खेतनजिकै पाँच गोली हानी एफ.एम. भन्ने जगदिशप्रसाद भगत, दिनेश यादव (क्रान्ति), अरविन्द यादव, इसाई मियाँ, ताराप्रसाद यादव, विरेन्द्र यादव, अनिरूद्र यादव, ज्याबुल मियाँ, इसा मियाँले गोविन्द चौधरीको हत्या गरेको हो । मैले आफ्नै आँखाले देखे कसैले भनी सुनी थाहा पाएको होइन भन्नेसमेत बेहोराको जाहेरवाली रिताकुमारी चौधरीले सुरू सप्तरी जिल्ला अदालतमा उपस्थित भई गरिदिएको बकपत्र ।
मिति २०६४।०३।०९ गतेका दिन प्रतिवादीहरू जगदिश भगत, दिनेश भन्ने क्रान्ति, अनिरूद्र यादव, ताराकान्त यादव, अरविन्द यादव, ईसा मियाँ, शिखर भन्ने श्याम यादवलगायतले अपहरण गरी जिल्ला सप्तरी, नेग्रा गा.वि.स. वडा नं.५ स्थित चौरीमा लगी गोविन्द चौधरीको हत्या गरेका हुन् । प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने हो भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने अजयकुमार चौधरीले सुरू सप्तरी जिल्ला अदालतमा उपस्थित भई गरिदिएको बकपत्र ।
जगदिश भगत, अरविन्द यादव, दिनेश यादव र अन्य नचिनेका मान्छेले गोविन्द चौधरीलाई गाडीमा लाधेर पूर्वतर्फ लगेको हो । जगदिश भगतसमेतले पक्रेर लगेकोले त्यसैले गोली हानी हत्या गरेको हुनुपर्छ । ताराकान्त र अनिरूद्रलाई चिनेँ, अरूलाई चिनिनँ भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने रूकमिणी चौधरीले सुरू सप्तरी जिल्ला अदालतमा उपस्थित भई गरिदिएको बकपत्र ।
प्रतिवादीहरू क्रान्ति भन्ने दिनेश यादव, विरेन्द्र यादव, इसा मियाँ, अनिरूद्ध सिंह यादव, ताराकान्त यादवको हकमा मुलुकी ऐन, अ.बं. १९० नं.बमोजिम मुल्तबीमा राखिदिने, प्रतिवादी श्याम यादवको मृत्यु भएको देखिँदा निजको हकमा केही गरिरहनुपरेन, प्रतिवादी जगदिशप्रसाद भगतसमेतको संलग्नतामा गोविन्द चौधरीको हत्या भएको पुष्टि भएको हुँदा निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने र प्रतिवादी मोहमद जियाउल हकको हकमा वादी दाबी पुग्न नसक्ने तथा डाँकाको अभियोगतर्फको अभियोग दाबी पुग्न सक्दैन भन्नेसमेतको सुरू सप्तरी जिल्ला अदालतको मिति २०६८।१२।१९ को फैसला ।
मेरो साक्षीको बकपत्रसमेतका मिसिल संलग्न कागज प्रमाणहरूबाट उक्त वारदातमा मेरो संलग्नता पुष्टि नभइरहेको अवस्थामा समेत कसुरदार ठहर गरी सजाय गर्ने गरेको सुरू फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी सफाइ पाउने गरी इन्साफ पाउँ भन्नेसमेतको प्रतिवादी जगदिशप्रसाद भगतको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदनपत्र ।
प्रतिवादीहरूले मृतक गोविन्द चौधरीको साथमा भएको नगद रू.१२,०००।- सिमसहितको मोबाइल सेट र मोटरसाइकल डाँका गरेको तथ्य पुष्टि भइरहेकोमा प्रतिवादी जगदिशप्रसाद भगतलाई डाँकातर्फको अभियोग दाबीमा सफाइ र मृतकलाई मार्नमा संलग्न रहेको प्रतिवादी ज्याबुल मियाँ भन्ने मोहमद जियाउल हकलाई पूर्ण सफाइ दिएको हदसम्म सुरू फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्नेसमेतको वादी नेपाल सरकारको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन पत्र ।
यसमा जाहेरवाला र अनुसन्धानका क्रममा बुझिएका व्यक्तिको कागज एवम् अदालतको बकपत्रको प्रामाणिक मूल्याङ्कन नगरी भएको सुरू फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियमानुसार ४७ बमोजिम प्रत्यर्थी झिकाई आए वा म्याद नाघेपछि पुनरावेदन सरकारी वकिल कार्यालय, राजविराजसमेतलाई पेसीको जानकारी दिई नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको पुनरावेदन अदालत राजविराजको मिति २०६९।१२।१२ को आदेश ।
प्रतिवादी जगदिश भगतलाई अभियोग दाबीबमोजिमको कसुर ठहर गरी मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं.अनुसार सर्वस्वसहित जन्मकैदको सजाय हुने र प्रतिवादी ज्याबुल मियाँ भन्ने महमद जियाउल हकलाई अभियोग दाबीबाट सफाइ हुने गरी तथा उल्लिखित प्रतिवादीहरूको हकमा डाँकातर्फको अभियोग दाबी पुग्न नसक्ने ठहर्याई सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०६८।१२।१९ मा भएको सदर हुने र पुनरावेदक प्रतिवादी जगदिश भगत र पुनरावेदक वादी नेपाल सरकार दुवैको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्नेसमेत बेहोराको मिति २०७०।०७।२८ मा पुनरावेदन अदालत राजविराजबाट भएको फैसला ।
यस अदालतको मिति २०६८।१२।१९ को फैसलाले प्रतिवादी ताराकान्त यादवको हकमा मुल्तबी रहेको प्रस्तुत मुद्दा ०६९-CR-००१३ को कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा भएको फैसलाबमोजिम मुल्तबीबाट जगाइदिएको छ । निजलाई कारागार कार्यालय, सप्तरीबाट झिकाई बयानका लागि पेस गर्नु भन्नेसमेत बेहोराको मिति २०७१।३।११ मा सुरू सप्तरी जिल्ला अदालतबाट भएको आदेश ।
माओवादी पार्टीका कार्यकर्ताले मलाई मरणासन्न हुने गरी कुटपिट गरेकाले म मिति २०६०।०५।२८ मा भारतको लौकही गई मिति २०६५।०८।१९ मा लौकहीबाट आफ्नो गाउँ आएको हो । जाहेरी बेहोरा झुट्टा हो । मृतक गोविन्द चौधरीलाई जनतान्त्रिक पार्टीले मारेको भन्ने सुनेको हुँ । लास जाँच मुचुल्का, घटनास्थल मुचुल्का तथा बरामदी मुचुल्का सम्बन्धमा मलाई केही थाहा छैन । प्रतिवादी जगदिश भगतलाई चिन्दिनँ । वारदात मिति समयमा म भारतको लौकहीमा हुँदा वारदात घटनाबारेमा थाहा छैन । म निर्दोष हुँदा अभियोग दाबीबाट सफाइ पाउनुपर्ने हो भन्नेसमेत बेहोराको प्रतिवादी ताराकान्त यादवले सुरू सप्तरी जिल्ला अदालतमा गरेको बयान ।
प्रतिवादीलाई अहिल्यै निर्दोष मान्ने अवस्था विद्यमान नदेखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल प्रतिवादी ताराकान्त यादवबाट मुलुकी ऐन, अ.बं. ११८ को देहाय ५ र १० बमोजिम रू.२५,०००।- नगदै धरौट राखे वा सो बराबरको जेथा जमानी दिए तारेखमा राख्नु भन्नेसमेत बेहोराको सुरू सप्तरी जिल्ला अदालतको मिति २०७१।०३।११ को आदेश ।
प्रतिवादी ताराकान्त यादवले जाहेरवालाको भाइ गोविन्द चौधरीलाई गोली हानी कर्तव्य गरी मारेको होइन । घटना हुँदाको मितिमा प्रतिवादी माओवादीको कारण विस्थापित भई भारतको लौकहीमा थिए । प्रतिवादी निर्दोष व्यक्ति हुन् । अभियोग दाबी झुट्टा हुँदा प्रतिवादीले सफाइ पाउनुपर्ने हो भन्नेसमेत बेहोराको प्रतिवादी ताराकान्त यादवका साक्षी दिपेसकुमार यादवले सुरू सप्तरी जिल्ला अदालतमा उपस्थित भई गरिदिएको बकपत्र ।
घटना भएको भनिएको मितिमा प्रतिवादी ताराकान्त यादव गाउँघरमा थिएनन् । माओवादीको कारणले विस्थापित भई भारतको लौकही गई बसेका थिए । निज प्रतिवादीउपरको जाहेरी एवम् अभियोग दाबी झुट्टा रहेको र प्रतिवादी निर्दोष भएकाले सफाइ पाउनुपर्ने हो भन्नेसमेत बेहोराको प्रतिवादी ताराकान्त यादवका साक्षी मुसहरू यादवले सुरू सप्तरी जिल्ला अदालतमा गरिदिएको बकपत्र ।
प्रतिवादी ताराकान्त यादवले मृतकलाई मार्न वचन दिएको देखिने कुनै पनि प्रमाण मिसिल संलग्न नभएको र आरोपित कसुरमा यी प्रतिवादीले हतियार लिएर मौजुद रहेको, विष दिएकोसमेत देखिन्न, तर प्रतिवादीलाई घेरा हाल्ने, भाग्न उम्कन नदिनेसमेतको कार्य प्रतिवादीबाट भए, गरेको देखिँदा यी प्रतिवादीउपरको मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(४) नं. को अभियोग दाबी पुग्न
सक्दैन । प्रतिवादीको कसुर मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(२) बमोजिम मृतकलाई घेरा हाल्ने र मार्न संयोग पारिदिनेसम्मको कसुरमा संलग्न भएको देखिन आउँछ । यसरी प्रतिवादीको कसुर मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(२) नं. सम्मको देखिँदा सोही नं.बमोजिम मृतकलाई घेरा हाल्ने र मार्नको निमित्त संयोग पारिदिनेसम्मको कसुरमा कसुरको मात्राका आधारमा यी प्रतिवादीलाई ४(चार वर्ष) वर्ष कैद हुन्छ । यी प्रतिवादीले मृतकको रू.१२,०००।- नगद डाँका गरेको भन्ने प्रमाण मिसिल संलग्न नदेखिँदा मुलुकी ऐन, चोरीको महलको ६ नं.को कसुरमा ऐ. १४(४) नं. को सजाय गरी ऐ.को १० र २१ नं.बमोजिम बिगो भराइपाउँ भन्ने अभियोग दाबी पुग्न सक्दैन भन्नेसमेत बेहोराको सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०७१।१२।११ मा भएको
फैसला ।
म माओवादीको अत्याचार तथा हिंसाबाट पीडित एवम् विस्थापित भई भारतको लौकहीमा बस्दै आएको बेहोरा जिल्ला प्रशासन कार्यालय, सप्तरीबाट प्राप्त पत्रबाट प्रमाणित भएको छ । त्यस अवस्थामा रूकमणी चौधरीले सुनेको भरमा दिएको जाहेरीको आधारमा अभियोग लगाई अभियोग लगाई मृतकलाई मार्न सहयोग पुर्याएको भन्ने अभियोग दाबीभन्दा बाहिर गई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(२) नं. लगाई मलाई ४ वर्ष कैद हुने गरी गरेको फैसला गलत एवम् कानूनविपरीत रहे भएको हुँदा उक्त फैसलालाई उल्टी गरी मलाई सफाइ हुने गरी इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी ताराकान्त यादवको पुनरावेदन अदालत राजविराजमा परेको
पुनरावेदनपत्र ।
विपक्षी प्रतिवादी ताराकान्त यादवको हकमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. तथा १३(४) नं. को कसुरमा ऐ. १३(४) नं. तथा चोरीको महलको ६ नं. को कसुरमा ऐ. १४(४) नं.बमोजिम सजाय हुन मागदाबी लिई अभियोगपत्र दायर भएकोमा किटानी जाहेरी बेहोरा, मौकामा कागज गर्ने तथा वस्तुस्थिति मुचुल्कामा बस्ने मानिसले लेखाइदिएको कागजबाट जाहेरी दरखास्तको बेहोरा समर्थित भई निज प्रतिवादीलाई ज्यानसम्बन्धीको महलको १७(२) नं.बमोजिम ५ वर्ष सजाय गरिनुपर्नेमा ४ वर्ष मात्र कैद हुने ठहर भई डाँका गरेतर्फको माग दाबीबाट सफाइ दिने गरी सुरू सप्तरी जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग माग दाबीबमोजिम निज प्रतिवादीलाई सजाय गरिपाउँ भन्नेसमेत बेहोराको उच्च अदालत जनकपुर, राजविराज इजलासमा परेको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।
यसमा सप्तरी जिल्ला अदालतको मिति २०७१।१२।११ को फैसलामा चित्त नबुझी वादी नेपाल सरकार तथा प्रतिवादी ताराकान्त यादवको दोहोरो पुनरावेदनपत्र परेको देखिँदा दुवैको पुनरावेदनपत्रबारे एक अर्कालाई जानकारी गराउनुको साथै सुरू जिल्ला अदालतबाट फैसला हुँदा ज्यानसम्बन्धी महलको १७(२) को कसुर ठहर गर्दै ४(चार) वर्षको मात्र सजाय गरेको देखिँदा सुरूको इन्साफ फरक पर्न सक्ने हुँदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा उच्च अदालत नियमावली, २०७३ को नियम ६४(२) बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको पुनरावेदन अदालत राजविराजको मिति २०७४।१०।१७ को आदेश ।
बुझिएका मानिस रूकमणी चौधरी र जाहेरवालाको बकपत्रसमेतबाट प्रतिवादी ताराकान्त यादव अरू किसिमको मतलबी भएको पुष्टि भएको देखिएको हुँदा प्रतिवादी ताराकान्त यादवलाई ज्यानसम्बन्धीको १७(२) नं.अनुसार चार वर्ष कैद हुने ठहराएको सुरू सप्तरी जिल्ला अदालतको मिति २०७१।१२।११ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादी ताराकान्त यादवलाई ज्यानसम्बन्धीको १७(३) नं.अनुसार निज प्रतिवादीको कसुरको मात्राको आधारमा दुई वर्ष कैद हुने र अरूमा सुरू जिल्ला अदालतको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । अभियोग दाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर र पुनरावेदक वादी नेपाल सरकारको अन्य पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको मिति २०७५।०९।२३ मा उच्च अदालत जनकपुर, राजविराज इजलासबाट भएको फैसला ।
प्रतिवादी जगदिशप्रसाद भगतलाई डाँकाको अभियोग दाबीतर्फ सफाइ दिएको र ज्याबुल मियाँ भन्ने मोहमद जियाउल हकलाई पूर्ण सफाइ दिएको हदसम्म पुनरावेदन अदालत राजविराजको फैसला त्रुटिपूर्ण
छ । प्रतिवादी जगदिशप्रसाद भगतलाई सप्तरी जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैद हुने ठहरेको फैसला पुनरावेदन अदालत राजविराजबाट सदर भएको र जाहेरी दरखास्त, घटना विवरण कागज र वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूको कागज एवम् बकपत्र बेहोराबाट गोविन्द चौधरीको हत्यामा यी प्रतिवादी ज्याबुल हक भन्ने मोहमद जियाउल हकको समेत संलग्नता पुष्टि भएको अवस्थामा अभियोग दाबीबाट सफाइ दिने गरी भएको उक्त फैसला मुलुकी ऐन, ज्यानसम्बन्धीको १७(३) नं.को व्याख्या, प्रयोग र पालनामा त्रुटि रहेको छ । पुनरावेदन अदालत राजविराजको फैसलामा प्रतिवादीको इन्कारी बयान र अन्यत्र रहेको जिकिरलाई प्रमुख आधार बनाएको छ । तर इन्कारी बयान मात्र निर्दोषिताको आधार हुन सक्दैन । अन्यत्र रहेको जिकिर पनि निश्चयात्मक र लिखित प्रमाणबाट पुष्टि भएको अवस्था छैन । त्यस्तो अवस्थामा प्रतिवादीलाई अभियोग दाबीअनुसार सजाय गर्नुपर्नेमा सफाइ दिने गरी भएको फैसला ने.का.प. २०६७, अङ्क ५ नि.नं. ८३७८ को फैसलामा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल रहेको छ । जाहेरवाली रिताकुमारी चौधरीले मृतकको साथमा रहेको मोबाइल, सिम, मोटरसाइकल र नगद रू.१२०००।- लागेकोले दिलाइपाउँ भनी जाहेरी सनाखत गरेकी छिन् । यसबाट प्रतिवादीहरूले डाँका गरेको पुष्टि भइरहेको छ । यस अवस्थामा डाँकाको दाबीतर्फ सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण छ । अतः प्रतिवादी कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगतलाई डाँकाको अभियोग दाबीबाट सफाइ र प्रतिवादी ज्याबुल मियाँ भन्ने मोहमद जियाउल हकलाई पूर्ण सफाइ दिएको हदसम्म सप्तरी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएकोले सो फैसला बदर गरी अभियोग दाबीअनुसार प्रतिवादीहरूलाई सजाय गरी प्रतिवादीहरूबाट जाहेरवालालाई बिगो दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको यस अदालतमा परेको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।
प्रतिवादीमध्येका समान स्तरका प्रतिवादी जगदिशप्रसाद भगतलाई सर्वस्वसहित जन्मकैदको फैसला भएको अवस्था हुँदा यी प्रतिवादीलाई सोही आधारमा दाबीबमोजिम सजाय हुनुपर्नेमा दाबीभन्दा अलग्गै र न्यून सजाय हुने गरी भएको फैसला त्रुटिपूर्ण रहेको छ । मिति २०६४।०३।०९ मा गोविन्द चौधरीलाई प्रतिवादीहरू जगदिशप्रसाद भगत, क्रान्ति भन्ने दिनेश यादव, इसा मियाँ, विरेन्द्र यादव, खिखर भन्ने श्याम यादव, अनिरूद्र सिंह यादव, ज्याबुल मियाँ, ताराकान्त यादव, अरविन्द यादवसमेतले रिसइवी साधन गर्ने उद्देश्यले नेगडा-५ स्थित खुलाचौरमा पुर्याई क्रान्ति भन्ने दिनेश यादव र जगदिशप्रसाद भगतले चाइनिज पेस्तोलले प्रहार गरी मारी भाग्दै गर्दा जगदिशप्रसाद भगत पक्राउ परेको जाहेरी बेहोरा शव परीक्षण प्रतिवेदनबाट पुष्टि भएको छ । रूक्मणी चौधरीले जगदिशप्रसाद भगतसमेतका प्रतिवादी भई ज्वाइँको हत्या गरेको भनी कागज गरेकी छिन् । घटना विवरण कागज गर्ने पाँचु चौधरीसमेतका र वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूको कागजबाट जाहेरी दरखास्त बेहोरा समर्थित भइरहेको छ । जाहेरवाली रिताकुमारी चौधरी र रूक्मणी चौधरीले अदालतमा गरेको बकपत्रबाट पनि ताराकान्त यादवसमेतको आदेशबाट गोविन्द चौधरीको हत्या भएको र रू.१२०००।- डाँका गरेको पुष्टि भएको अवस्थामा प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रमाणमा ग्रहण गर्नुपर्नेमा नगरी भएको अभियोग दाबीभन्दा कम सजाय गर्ने गरी फैसला भएको छ । प्रतिवादी सुरू म्याद गुजारी फरार रहेबाट पनि निज कसुरदार रहेको अनुमान गर्न सकिन्छ । निजबाट अनुसन्धान, अभियोजन र अदालतलाई सहयोग प्राप्त नभएको अवस्था छ । निजले जाहेरी बेहोरा खण्डन गर्न सकेको अवस्था छैन । साथै वारदातस्थलमा गई मार्नमा संयोग पारिदिने कार्यसमेतमा संयोग पारी दिएको र मोबाइल र नगदसमेत डाँका गरेको पुष्टि भइरहेको अवस्थामा दाबीभन्दा घटी सजाय गर्ने भएको फैसला त्रुटिपूर्ण छ । अतः निज प्रतिवादी ताराकान्त यादवलाई अभियोग दाबीभन्दा कम सजाय गरेको र डाँकाको कसुरमा सफाइ दिएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सुरू अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी ताराकान्त यादवउपर यस अदालतमा वादी नेपाल सरकारको तर्फबाट परेको पुनरावेदनपत्र ।
यस अदातलको ठहर
नियमबमोजिम साप्ताहिक तथा दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजात अध्ययन गरियो । पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री दशरथ पंगेनीले प्रतिवादी ज्याबुल मियाँ भन्ने जियाउल हकको मृतक गोविन्द चौधरीलाई मार्न षड्यन्त्र गर्ने र वारदातका क्रममा घेरा दिने, बाटो छेक्नेलगायतका कार्यमा संलग्नता देखिन्छ । सो तथ्य जाहेरवाली, घटना विवरण कागज गर्ने व्यक्तिहरू र वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूको बकपत्रसमेतबाट पुष्टि भएको छ । निजलाई अन्यत्र रहेको वा इन्कारी गरेकै भरमा सफाइ दिन मिल्दैन । निजलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ । प्रतिवादी कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगतलाई डाँकाको कसुरमा र ज्याबुल मियाँलाई अभियोग दाबीबाट सफाइ दिइएको हुँदा सो हदसम्म फैसला त्रुटिपूर्ण छ । जाहेरवाली रिताकुमारी चौधरीको जाहेरी दरखास्त र बकपत्रबाट प्रतिवादी जगदिशप्रसाद भगत र ज्याबुल मियाँसमेतले गोविन्द चौधरीबाट रू.१२०००।- समेतका धनमाल डाँका गरेको पुष्टि भएको देखिन्छ । तसर्थ, प्रतिवादी जगदिशप्रसाद भगतलाई डाँकाको कसुरमा र प्रतिवादी ज्याबुल मियाँ भन्ने जियाउल हकलाई पूर्ण सफाइ दिने गरी भएको सुरू फैसला बदर गरी प्रतिवादी जगदिशप्रसाद भगतलाई डाँकाको कसुरमा र प्रतिवादी ज्याबुल मियाँ भन्ने जियाउल हकलाई अभियोग दाबीबमोजिम सजाय गरिपाऊँ । अर्का प्रतिवादी ताराकान्त यादव सुरू म्याद गुजारी पछि हाजिर हुन आएका छन् । यी प्रतिवादी कसुर हुँदा घटनास्थलमा उपस्थित रहेको तथ्य जाहेरी र घटना विवरण कागज गर्ने रूक्मणी चौधरीको कागज बेहोरा र बकपत्रबाट पुष्टि भएको छ । घटना विवरण कागज गर्ने अजयकुमार चौधरीसमेतको कागज बेहोराबाट पनि जाहेरी बेहोरा समर्थित भएको अवस्था छ । समान अवस्थाको प्रतिवादी जगदिशप्रसाद भगतलाई सर्वस्वसहित जन्मकैद हुँदा यी प्रतिवादी ताराकान्तलाई पनि सोहीअनुरूप सजाय हुनुपर्ने हुन्छ । तर प्रतिवादीलाई सुरू अदालतले गरेभन्दा घटी सजाय गरी फैसला भएको छ र डाँकाको कसुरमा सफाइ दिने गरी भएको फैसला सदर गरिएको छ । तसर्थ, उच्च अदालत जनकपुर, राजविराज इजलासबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
यसमा प्रतिवादी कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगत र प्रतिवादी क्रान्ति भन्ने दिनेश यादवलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३(१) नं. बमोजिमको कसुरमा ऐ.१३(१) नं.बमोजिम, वचन दिने प्रतिवादी ताराकान्त यादव र अनिरूद्र यादवलाई ऐ.१ र १३(४) नं.को कसुरमा सोही १३(४) नं.बमोजिम र षड्यन्त्र गरी बाटो गौंडा छेक्न संलग्न प्रतिवादी ज्याबुल मियाँसमेतलाई ऐ.१६ र १७(२) नं. को कसुरमा सोही नम्बरबमोजिमको कसुरमा सोही नं.बमोजिम सजाय हुन एवम् डाँका गरेको रू.१२०००।- नगदसमेत प्रतिवादीहरूबाट जाहेरवाललाई भराइदिन मागदाबी लिई अभियोगपत्र दायर भएकोमा सुरू सप्तरी जिल्ला अदालतबाट उपस्थित प्रतिवादी कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगतलाई सर्वस्वसहित जन्मकैद र प्रतिवादी ज्याबुल मियाँलाई कसुरबाट सफाइ दिने र डाँकातर्फ नेपाल सरकारको दाबी नपुग्ने तथा फरार प्रतिवादीहरूको हकमा मुलुकी ऐन, अ.बं.१९० नं.बमोजिम मुल्तबीमा रहने गरी मिति २०६८।१२।१९ मा फैसला भएको देखिन्छ । सो फैसलाउपर प्रतिवादी जगदिशप्रसाद भगत र वादी नेपाल सरकारको पुनरावेदन अदालत राजविराजमा पुनरावेदन परेकोमा पुनरावेदन अदालत राजविराजले सप्तरी जिल्ला अदालतबाट भएको मिति २०६८।१२।१९ को फैसला सदर गरी पुनरावेदन अदालत राजविराजको मिति २०७०।०७।२८ मा फैसला भएको देखिन्छ । सोही क्रममा फरार प्रतिवादी ताराकान्त यादवको हकमा मुल्तबी जागी कारबाही हुँदा प्रतिवादी ताराकान्त यादवको हकमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(४) नं.को दाबी नपुग्ने र ऐ.१७(२) नं.बमोजिमको कसुर कायम भई ४(चार) वर्ष कैद हुने एवम् डाँकातर्फको कसुर नठहर्ने गरी सप्तरी जिल्ला अदालतबाट मिति २०७१।११।१२ मा फैसला भएको देखिन आउँछ । प्रतिवादी ताराकान्त यादव र वादी नेपाल सरकारको सो फैसलाउपर उच्च अदालत जनकपुर, राजविराज इजलासमा पुनरावेदन परेकोमा उच्च अदालत जनकपुर, राजविराज इजलासबाट सप्तरी जिल्ला अदालतको सो मिति २०७१।११।१२ को फैसला केही उल्टी गरी प्रतिवादी ताराकान्त यादवलाई अरू किसिमको मतलबी ठहर्याई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(३) नं.बमोजिम २(दुई) वर्ष कैद गर्ने र अरूमा सप्तरी जिल्ला अदालतको उक्त फैसला सदर गरी मिति २०७५।९।२३ मा फैसला भएको देखिन आउँछ । पुनरावेदन अदालत राजविराजबाट भएको मिति २०७०।०७।२८ र उच्च अदालत जनकपुर, राजविराज इजलासबाट भएको मिति २०७५।०९।२३ को फैसलाउपर वादी नेपाल सरकारले चित्त नबुझाई प्रतिवादी कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगतलाई डाँकाको कसुरमा सफाइ र प्रतिवादी ज्याबुल मियाँलाई पूर्ण सफाइ दिएतर्फ एवम् प्रतिवादी ताराकान्त यादवलाई अभियोग दाबीभन्दा कम सजाय गरी डाँकाको कसुरमा सफाइ दिएतर्फ यस अदालतमा पुनरावेदन परेकोमा आज इजलाससमक्ष पेस हुन आएको पाइयो ।
उल्लिखित तथ्य भएको प्रस्तुत मुद्दामा विद्वान् अधिवक्ताले गर्नुभएको बहससमेत सुनी इन्साफतर्फ विचार गर्दा, पुनरावेदन अदालत राजविराजको मिति २०७०।०७।२८ तथा उच्च अदालत जनकपुर, राजविराज इजलासको मिति २०७५।०९।२३ को फैसला मिलेको छ छैन ? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रथमतः प्रतिवादी ज्याबुल मियाँलाई गोविन्द चौधरीलाई ज्यान मार्ने षड्यन्त्रमा सामेल रहेको र बाटो गौंडा छेकेको भनी मुलुकी ऐन, ज्यानसम्बन्धीको १६ नं. तथा १७(२) नं.बमोजिम दाबी लिइएको सन्दर्भमा हेर्दा, ज्यानसम्बन्धी महलको १६नं. मा "ज्यान मार्ने वा ज्यान मार्ने कुनै कुरामा मुख्य भई षड्यन्त्र गर्ने वा त्यस्तो काम गर्न लगाउनेलाई ज्यान मरेको रहेछ भने दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद सजाय गर्नुपर्छ । ज्यान मर्न पाएको रहेनछ भने पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद गर्नुपर्छ" भन्ने उल्लेख भएको
देखिन्छ । षड्यन्त्रको सैद्धान्तिक अवधारणातर्फ दृष्टिगत गर्दा षड्यन्त्र गुप्त, सूक्ष्म र समन्वयात्मक ढङ्गले गरिने आपराधिक कार्य हो । षड्यन्त्रमा तयारीलगायतका विभिन्न चरण रहने र षड्यन्त्रमा संलग्न पक्षको हरेक चरणमा गरिने भूमिका किटान गरिएको हुन्छ । अर्थात् षड्यन्त्रकारीका बिचमा भूमिकाको बाँडफाँट हुन्छ जुन भूमिकालाई समन्वयात्मक ढङ्गले कार्यान्वयन गरिन्छ । षड्यन्त्रको अपराधमा संलग्न व्यक्तिको वारदातमा क्रियाशीलता वा सक्रियता स्पष्ट
हुनुपर्छ । यसमा लक्षित अपराध घटाउन तयारी गर्ने, संलग्न व्यक्तिहरूका बिचमा भूमिका वा जिम्मेवारीको बाँडफाँट गर्ने, अपराध घटाउन हतियारलगायतका आवश्यक सामग्री जुटाउने तथा घटना घटाउने दिन किटान गर्ने जस्ता सुनियोजित एवम् योजनावद्ध तवरले कार्य गरिन्छ । वारदात षड्यन्त्रपूर्वक घटाइएको हो भने वारदातमा संलग्न सबै व्यक्तिको सक्रिय भूमिका षड्यन्त्रमा कुनै न कुनै रूपमा दर्सिएको हुनुपर्छ तथा सोही आधारमा आरोपित गरिएको हुनुपर्छ । तर प्रस्तुत वारदातका सन्दर्भमा हेर्दा घटना घट्ने जरिया पूर्वराजनीतिक रिसइवी भए पनि गोविन्द चौधरी र प्रतिवादीहरूका बिचमा अकस्मात भएको भेटबाट घटनाक्रमको सुरूवात भएको देखिन्छ । मिति २०६४।०३।०९ गते बिहान ८:०० बजे मृतक गोविन्द चौधरी र प्रतिवादी कान्तिपुर भन्ने जगदिशप्रसाद भगतसमेतको भेट भएको भन्ने देखिएको र ती प्रतिवादीहरूले गोविन्द चौधरीलाई मोटरसाइकलमा हाली नेगडा-५ को खुल्ला चौरमा लगी दिउसो १:०० बजे हत्या गरेको भन्नेदेखिन्छ । यति छोटो अवधिमा षड्यन्त्रका तानाबाना बुनिएको र गोविन्द चौधरीको हत्या गरिएको भन्ने अवस्था छैन । साथै, यी ज्याबुल मियाँले गोविन्द चौधरीको हत्यामा निर्वाह गरेको भूमिका के हो ? स्पष्ट छैन । जाहेरीमा मोटरसाइकलको पिछा गरेको भन्ने बाहेक निजको भूमिका मिसिल संलग्न कागजातहरूमा स्पष्ट रूपले किटान गरिएको देखिँदैन । गोविन्द चौधरीलाई मोटरसाइकलको बिचमा राखी मोटरसाइकलमा हालेर घटनास्थलतर्फ लैजाने, घटनास्थलमा पेस्तोलसमेतका हतियार निकाली गोली हान्ने प्रतिवादीहरू कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगत र क्रान्ति भन्ने दिनेश यादव हुन् भन्ने बेहोरा घटना विवरण कागज गर्ने रूक्मणी चौधरी, पाँचु चौधरी र अजयकुमार चौधरीको अनुसन्धानको क्रममा भएको कागज र बकपत्र बेहोराबाट देखिन्छ । प्रतिवादी कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगत र क्रान्ति भन्ने दिनेश यादवलाई पेस्तोललगायतका हतियार दिने व्यक्ति यी प्रतिवादी ज्याबुल मियाँ हुन् भन्ने पनि देखिँदैन । प्रतिवादी कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगतले अनुसन्धानको क्रममा र अदालतसमक्ष बयान गर्दा यी प्रतिवादीको नाम पोल गरेको नदेखिनुका अतिरिक्त आफूबाट बरामद भएको हतियारसमेत क्रान्ति भन्ने दिनेश यादवले आफूलाई दिएको भनी बयान गरेको देखिन्छ । प्रतिवादी कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगत र क्रान्ति भन्ने दिनेश यादवको भूमिकाबाट निज प्रतिवादीहरू नै वारदात घटाउने मुख्य व्यक्ति हुन् भन्ने देखिन
आउँछ । यसरी वारदात परिस्थितिबाट यी प्रतिवादी ज्याबुल मियाँ मुख्य व्यक्ति नदेखिएको, वारदात घटाउनमा प्रतिवादी ज्याबुल मियाँको के कस्तो भूमिका वा क्रियाशीलता रह्यो भन्ने सम्बन्धमा अभियोग दाबी मौन रहेको, वारदात घटाउन प्रयोग भएको हतियारसमेत यी प्रतिवादीले दिएको नदेखिएको तथा गोविन्द चौधरीलाई कर्तव्य गरी मार्न प्रतिवादी ज्याबुल मियाँसमेतको संलग्नतामा पूर्वतयारी वा योजना तयार पारिएको भन्नेसमेत मिसिल संलग्न कागजातबाट खुल्न सकेको नदेखिएको अवस्थामा गोविन्द चौधरीको हत्याको मुख्य षड्यन्त्रकर्ताको रूपमा यी प्रतिवादी ज्याबुल मियाँलाई आरोपित गरी सजाय गर्न न्यायोचित हुने देखिएन ।
३. जहाँसम्म यी प्रतिवादी ज्याबुल मियाँले वारदातस्थलमा घेरा दिने, बाटो गौंडा छेक्ने र भाग्न उम्कन नदिई मार्न संयोग पारिदिने कार्य गरेको भन्नेतर्फ हेर्दा गोविन्द चौधरीलाई कञ्चटमा पेस्तोल ताकेर प्रतिवादी जगदिशप्रसाद भगत र दिनेश यादवले मोटरसाइकलको बिचमा राखेर आफूलाई अनुकूल पर्ने चौरमा लगी गोली हानेको देखिन्छ । पेस्तोल देखाई आफूले नियन्त्रण एवम् कब्जामा लिएको व्यक्तिलाई अन्य प्रतिवादीहरूले बाटो गौंडा छेक्ने वा मार्नु संयोग मिलाइदिइरहनुपर्ने अवस्था देखिँदैन । आफूले प्रत्यक्ष देखेको दाबी गर्ने पाँचु चौधरीले अनुसन्धानको क्रममा गरेको कागजमा प्रतिवादी ज्याबुल मियाँले चौरको यो यस्तो भागबाट छेकेको वा भाग्न उम्कन नदिएको भन्ने बेहोरा उल्लेख गरेको देखिन आउँदैन । साथै, मृतक गोविन्द चौधरीले भाग्न उम्कने प्रयास गरेको भन्ने पनि देखिँदैन । निज पाँचु चौधरीको कागज बेहोराबाट दिनेश यादवले गोविन्द चौधरीलाई दुई राउन्ड गोली हानेको र गोविन्द चौधरी उठ्न खोज्दा प्रतिवादी जगदिशप्रसाद भगतले फर्की आएर पुनः दुई राउन्ड र प्रतिवादी दिनेश यादवले एक राउन्ड गोली हानेको भन्ने देखिए पनि ज्याबुल मियाँको भूमिका सम्बन्धमा निज पाँचु चौधरी मौन रहेको देखिन आउँछ । प्रतिवादी ज्याबुल मियाँले अनुसन्धानको क्रममा कागज गर्ने रूकमणी चौधरी, अजयकुमार चौधरी र जुगल चौधरीको कागज बेहोराबाट समेत प्रतिवादी ज्याबुल मियाँले बाटो गौंडा छेकेको वा गोविन्द चौधरी भाग्न उम्कन खोज्दा पक्रेर गोली हान्न सहज बनाइदिएको भन्नेसमेत देखिन आउँदैन । जाहेरवाला, घटना विवरण कागज गर्ने व्यक्तिहरूको बकपत्रबाट समेत निज प्रतिवादीले बाटो गौंडा छेकी, मार्न संयोग पारिदिएको भन्ने देखिएन ।
४. प्रतिवादीको नाम अभियोगपत्रमा ज्याबुल मियाँ र ठेगाना जिल्ला सप्तरी, सारस्वर-४ उल्लेख भएकोमा प्रहरीले ज्याबुल मियाँ भनी पक्राउ गरी ल्याएको प्रतिवादीले अदालतसमक्ष बयान गर्दा आफ्नो नाम महमद जियाउल हक उल्लेख गरेको र निजले बयान गर्दा पेस गरेको निजको नेपाली नागरिकताको प्रमाणपत्रमा निजको नाम ज्याबुल मियाँ नभई जियाउर रहमान रहेको देखिन आउँछ । जिल्ला प्रहरी कार्यालय, सप्तरीले निजलाई पेस गरेको च.नं. ८१६ मिति २०६७।०६।२० को पत्रमा पनि प्रहरीले निजको नाम ज्याबुल मियाँ नै उल्लेख गरेको देखिन आउँछ र उल्लिखित च.नं. ८१६ को पत्रमा ज्याबुल मियाँ भनिए पनि निजको ठेगाना सारस्वर-६ उल्लेख गरेको
देखिन्छ । प्रतिवादी ज्याबुल मियाँको नाम र ठेगाना अन्यथा भई त्रुटि हुन गएको भए सो सच्याउन सकिने अवस्था रहँदा रहँदै पनि वादी नेपाल सरकारको तर्फबाट सच्याई पाउन निवेदन परेको देखिँदैन । साथै, प्रतिवादी ज्याबुल मियाँ नै जियाउल हक भन्ने जियाउर रहमान हुन् भनी पुष्टि हुने प्रमाणसमेत वादी नेपाल सरकारको तर्फबाट पेस हुन सकेको नदेखिनुका अतिरिक्त निज ज्याबुल मियाँ भनी अदालतमा उपस्थित गराइएका व्यक्ति नै प्रतिवादी जियाउल हक भन्ने जियाउल रहमान हुन भनी सनाखत गराउनेलगायतका प्रक्रियासमेत पूरा गरेको देखिन आएन ।
५. प्रहरीद्वारा पक्राउ गरी हाजिर गराइएका व्यक्तिले आफू ज्याबुल मियाँ नभएको र आफ्नो घर सारस्वर-६ नभई सारस्वर-४ हो र आफ्नो नाम मोहमद जियाउल हक भन्ने जियाउर रहमान हो भनी गरेको बयानको पुष्टि प्रयोजनार्थ नेपाली नागरिकताको प्रमाणपत्रसमेत पेस गरी वादी नेपाल सरकारले आफूउपर लगाएको आरोपलाई नै विवादित बनाएको अवस्थामा सुरू अदालतमा उपस्थित भई बकपत्र गर्ने वादी नेपाल सरकारका साक्षीहरू जाहेरवाली रिताकुमारी चौधरी, घटना विवरण कागज गर्ने अजयकुमार चौधरी र रूकमणी चौधरीसमेतको बकपत्रबाट पक्राउ परेका मोहमद जियाउल हक भन्ने जियाउर रहमान नै ज्याबुल मियाँ हुन् होइनन् भन्ने सम्बन्धमा बकपत्र गराई यकिन गर्नुपर्नेमा वादी नेपाल सरकारका साक्षीहरूले घटनामा ज्याबुल मियाँ रहेको उल्लेख गरे पनि प्रतिवादी बनाइएका सारस्वर- ४ का ज्याबुल मियाँ नै मोहमद जियाउल हक भन्ने जियाउर रहमान हुन् भनी बकपत्र गर्न सकेको देखिएन । प्रमाण ऐन, २०३१ को दफा २५ ले "फौजदारी मुद्दामा आफ्नो अभियुक्तको कसुर प्रमाणित गर्ने भार वादीको हुने छ" भन्ने उल्लेख भएको देखिन्छ । तर प्रस्तुत मुद्दाका सन्दर्भमा वादी नेपाल सरकार सो दायित्वबाट विमुख भएको देखिन आयो । प्रतिवादी जियाउर रहमानका साक्षी रफिक मियाँले अदालतमा उपस्थित भई बकपत्र गर्दा जाबुल मियाँ नाउँ गरेको व्यक्ति हाम्रो वडा नं. ४ मा छ । यी प्रतिवादी जियाउर रहमान हुन् । दिल्लीमा गार्मेन्टमा काम गर्ने भएकाले म र जियाउर रहमान मिति २०६४।०३।०९ भन्दा २०/२५ दिनअघि नै दिल्ली गई दुई / अढाई महिनापछि घर फर्केका हौँ । यी जियाउर रहमानको वारदातमा संलग्नता छैन । जियाउर रहमान निर्दोष छन् भनी बकपत्र गरिदिएको पाइन्छ । यसरी एकातर्फ प्रतिवादी ज्याबुल मियाँउपरको मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १६ नं. र १७(२) नं. को कसुर पुष्टि हुने अवस्थाको विद्यमानता देखिँदैन भने अर्कोतर्फ आरोपित प्रतिवादी ज्याबुल मियाँ र पक्राउ परी आएका व्यक्ति जियाउर रहमान एकै व्यक्ति हुन् वा होइनन् भन्ने सम्बन्धमा अन्यौलता रही अभियोग दाबी लिएको भन्दा पृथक् अवस्थाको सिर्जना भएको तथा जियाउर रहमान नै प्रतिवादी ज्याबुल मियाँ हुन् भनी पुष्टि हुन सकेको समेत नदेखिएबाट द्विविधाजनक र शंकास्पद अवस्था देखिन आयो । वादी नेपाल सरकारले कसुर र कसुरदार नै पुष्टि गरी यकिन गर्न सकेको नदेखिएको यस स्थितिमा प्रतिवादी भनी पक्राउ परी आएका जियाउल हक भन्ने जियाउर रहमान नै प्रतिवादी ज्याबुल मियाँ हुन् भनी शंकाकै भरमा आरोपित कसुरमा सजाय गर्न फौजदारी न्यायको सिद्धान्तविपरीत हुने देखिँदा प्रतिवादीलाई सफाइ दिने गरी सुरू सप्तरी जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने ठहर गरेको पुनरावेदन अदालत राजविराजको फैसला मनासिब नै देखियो ।
६. अर्का प्रतिवादी ताराकान्त यादवलाई ज्यानसम्बन्धीको महलको १ र १३(४) नं.बमोजिमको कसुरमा सोही १३(४) नं.बमोजिम सजाय हुन मागदाबी लिई अभियोग दायर भएकोमा मैले माओवादी पार्टीलाई समर्थन नगरेकोमा मलाई माओवादी कार्यकर्ताले मरणासन्न हुने गरी कुटपिट गरेकोले गाउँबाट विस्थापित भई भारतको लौकही भन्ने ठाउँमा गएर बसेको हुँ । म गोविन्द चौधरीलाई चिन्दिनँ । वारदात घट्दाको मिति र समयमा म भारतको लौकह भन्ने स्थानमा हुँदा मेरो वारदातमा संलग्नता छैन । म निर्दोष छु भनी प्रतिवादी ताराकान्त यादवले सुरू अदालतमा उपस्थित भई बयान गरेको देखिन्छ ।
७. अब, प्रतिवादी ताराकान्त यादवउपर गोविन्द चौधरीलाई मार्न वचन वा आदेश दिएको कसुर कायम हुन सक्ने हो होइन भन्ने सम्बन्धमा हेर्दा, जाहेरवाली रिताकुमारी चौधरीले ताराकान्त यादवसमेतले निर्देशन दिएपछि सबै प्रतिवादी एकमत भई गोविन्द चौधरीलाई नेगडा-५ स्थित चौरमा पुर्याई हत्या गरेको भनी जाहेरी दरखास्तमा उल्लेख गरेको देखिए पनि निज रिताकुमारी चौधरी घटना प्रत्यक्ष देख्ने प्रत्यक्षदर्शी होइनन् । सो बेहोरा प्रमाणका प्रत्यक्षदर्शीबाट थाहा पाए भनी जाहेरीमा लेखिएबाट प्रस्ट छ । यद्यपि, निज जाहेरवालीले अदालतमा उपस्थित भई बकपत्र गर्दा मैले आफ्नै आँखाले घटना भएको देखेको भन्ने उल्लेख गरे पनि वारदात परिस्थितिबाट नै निज जाहेरवाली रिताकुमारी चौधरी घटनास्थलमा भएको देखिँदैन । गोविन्द चौधरी घरबाट कल्याणपुर जानु छ भनी एक्लै निस्किएको बेहोरा निजले नै जाहेरी दरखास्तमा उल्लेख गरेबाट पनि निज घटनास्थलमा नरहेको प्रस्ट छ । साथै, जाहेरवाली रिता चौधरीले अदालतमा उपस्थित भई बकपत्र गर्दा ताराकान्त यादवले के कुन शब्दावली प्रयोग गरी वचन दिएका हुन् भनी जाहेरी दरखास्तको बेहोरा पुष्टि हुने गरी बकपत्र गर्न सकेको देखिन
आउँदैन । घटनामा केही समय मृतकको साथ रहेको भनिएकी घटना विवरण कागज गर्ने रूकमणी चौधरीले पनि ताराकान्त यादवसमेतको निर्देशनमा गोविन्द चौधरीको हत्या गरिएको भन्ने बेहोरा उल्लेख गरेको देखिए पनि गोविन्द चौधरीलाई दिनेश यादवको घरमा पुर्याएपछि त्यसरी निर्देशन दिएको भन्ने सो घटना विवरण कागजबाट देखिन्छ । तर निज रूकमणी चौधरीलाई गोविन्द चौधरीलाई कब्जामा लिइएको भनिएको स्थानभन्दा अगाडि गोविन्द चौधरीसँग लगिएको देखिँदैन । निजले अदालतमा गरेको बकपत्रमा गोविन्द चौधरीलाई प्रतिवादीहरूले पूर्वतर्फ लगेपछि आफू बेहोस भएको बेहोरा निजले उल्लेख गरेबाट निजलाई गोविन्द चौधरीसँग नलगिएको बेहोरा पुष्टि हुन आउँछ । प्रतिवादी दिनेश यादवको घरमा तथा घटनास्थलमा नरहेको व्यक्तिले यो यो व्यक्तिले यो यस्तो शब्दावली प्रयोग गरी मार्न निर्देशन वा वचन दियो भनी भन्न सक्ने अवस्था रहँदैन । त्यस्तै, निज रूकमणी चौधरीले अदालतमा बकपत्र गर्दा जगदिशप्रसाद भगतले लगी गोली हानी हत्या गरेको भन्ने बेहोरा स्पष्ट रूपमा उल्लेख गरे पनि ताराकान्त यादवले निर्देशन वा वचन दिएको भनी उल्लेख गर्न सकेको देखिँदैन । आफूलाई घटनाको प्रत्यक्षदर्शी बताउने पाँचु चौधरीले घटना विवरण कागज गर्दा प्रतिवादी क्रान्ति भन्ने विजय यादवले गोविन्द चौधरीलाई दुई राउन्ड गोली हानेको र गोविन्द चौधरी उठ्न खोज्दा कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगतले पुनः दुई राउन्ड र दिनेश यादवले एक राउन्ड गोली हानेको भनी उल्लेख गरे पनि ताराकान्त यादवले निर्देशन वा वचन दिएको भनी उल्लेख गरेको देखिन आउँदैन । घटना विवरण कागज गर्नेमध्येकै अजयकुमार चौधरी र जुगल चौधरीको कागज बेहोराबाट पनि कान्तिपुर भन्ने जगदिशप्रसाद भगत र क्रान्ति भन्ने दिनेश यादवले गोली हानी हत्या गरेको भन्ने देखिए पनि ताराकान्त यादवसमेतको निर्देशन वा वचनमा गोविन्द चौधरीको हत्या गरिएको भन्ने बेहोरा उल्लेख गरेको देखिँदैन । अजयकुमार चौधरीले अदालतमा उपस्थित भई बकपत्र गर्दा पनि ताराकान्त यादवसमेतको निर्देशन र वचनमा गोविन्द चौधरीको हत्या भएको भनी उल्लेख गर्न सकेको देखिन आउँदैन । यसरी ताराकान्त यादवले गोविन्द चौधरीलाई मार्न निर्देशन वा वचन दिएको देख्ने वा सुन्ने प्रत्यक्षदर्शी रहे भएको नदेखिएको अवस्थामा शंकाकै भरमा वचन वा निर्देशन दिएको भनी मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(४) नं.बमोजिमको कसुर कायम गरी प्रतिवादी ताराकान्त यादवलाई सजाय गर्न न्यायोचित हुने देखिएन ।
८. प्रतिवादी ताराकान्त चौधरीलाई सुरू सप्तरी जिल्ला अदालतले बाटो गौंडा छेकी, मार्न संयोग पारिदिने कसुरदार ठहर गरी मुलुकी ऐन, ज्यानसम्बन्धीको १७(२) नं.बमोजिमको ४(चार) वर्ष कैद गरेकोमा उच्च अदालत जनकपुर, राजविराज इजलासले केही उल्टी गरी प्रतिवादी ताराकान्त यादवलाई अरू किसिमको मतलबी कायम गरी मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(३) नं.बमोजिम २(दुई) वर्ष कैद सजाय गरेको देखिन आउँछ । मिसिल संलग्न प्रमाणहरूबाट यी प्रतिवादीले गोविन्द चौधरीलाई मार्न वचन दिने एवम् बाटो गौंडा छेकी, मार्न संयोग पारिदिने भन्ने नदेखिए पनि यी प्रतिवादीको घटनामा संलग्नता देखिएकाले अरू किसिमका मतलबीको रूपमा यी प्रतिवादी ताराकान्त यादवलाई चित्रण गर्न सकिन्छ सकिँदैन ? भनी निर्क्यौल गर्नुपर्ने देखियो ।
९. प्रतिवादी ताराकान्त यादवले सुरू अदालतमा उपस्थित भई बयान गर्दा आफूलाई माओवादीले मरणासन्न हुने गरी कुटपिट गरेकोले वारदातको मिति र समयमा गाउँबाट विस्थापित भई मिति २०६०।०५।२८ मा भारतको लौकही भन्ने स्थानमा गई मिति २०६५।०८।१९ मा आफ्नो गाउँ फर्की आएको हो भन्ने बेहोरा उल्लेख गरेको देखिए पनि सहअभियुक्त कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगतले अनुसन्धानको क्रममा गरेको बयानमा घटनापूर्व केही दिनअगाडि ताराकान्त यादवसमेतलाई कल्याणपुर गा.वि.स. स्थित किसनपुर चोकमा साँझको समयमा भेटेको थिएँ भनी उल्लेख गरेको देखिएबाट आफू मिति २०६०।०५।२८ मा भारतको लौकही भन्ने ठाउँमा गई मिति २०६५।०८।१९ मात्र गाउँ फर्की आएको भन्ने प्रतिवादी ताराकान्त यादवको जिकिर खण्डित भएको देखिन्छ । जाहेरी दरखास्त, घटना विवरण कागज र वस्तुस्थिति मुचुल्कासमेतका कागजातमा यी प्रतिवादीको भूमिका स्पष्ट हुन सकेको नदेखिए पनि उल्लिखित कागजात बेहोराबाट यी प्रतिवादी ताराकान्त यादव वारदातस्थलमा रहे भएको देखिन आउँछ । गोविन्द चौधरीसँग साथै रहेको भनिएकी रूकमणी चौधरीले गरेको घटना विवरण कागजमा वोदेवरसाइन चोकमा बसिरहेको अवस्थामा ताराकान्तसमेत विसनपुरतिरबाट आएको भन्ने बेहोरा उल्लेख गरेको देखिन्छ । निज रूकमणी चौधरीले सुरू अदालतमा उपस्थित भई बकपत्र गर्दा प्रतिवादी ताराकान्त यादवको भूमिका स्पष्ट पारेको नदेखिए पनि ताराकान्त र अनिरूद्रलाई चिनेँ भनी उल्लेख गरेको पाइन्छ । वारदात घटेको देखेको हुँ भन्ने प्रत्यक्षदर्शी भनिएका पाँचु चौधरी र अनुसन्धानको क्रममा बुझिएका घटना विवरण कागज गर्ने अजयकुमार चौधरी तथा जुगल चौधरीको कागज बेहोराबाट पनि यी प्रतिवादी ताराकान्त चौधरीको वारदातस्थलमा उपस्थिति रहेको बेहोरा पुष्टि हुन आउँछ । यी प्रतिवादी वारदातस्थलमा उपस्थित हुने तर गोविन्द चौधरीलाई मार्नमा कुनै भूमिका निर्वाह नगरे पनि गोविन्द चौधरीलाई बचाउने प्रयास गरेको वा गोली हान्ने क्रममा कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगत र क्रान्ति भन्ने दिनेश यादवलाई कुनै अवरोध गरेको भन्ने देखिन
आउँदैन । यद्यपि, यी प्रतिवादी ताराकान्त यादव घटनास्थलमा उपस्थित भई गोविन्द चौधरीको हत्या हुँदा हेरी बसेकोमा भने विवाद देखिएन । गोविन्द चौधरीको हत्या हुँदा हेरी बस्नुमा के चासो र सरोकार छ भन्नेतर्फ हेर्दा प्रतिवादी ताराकान्त यादवले सुरू अदालतमा गरेको बयानमा माओवादी पार्टीका कार्यकर्ताले सो पार्टीमा आबद्ध हुन नमान्दा मरणासन्न हुने गरी कुटपिट गरेको र आफू विस्थापित भई भारतमा जीवन बिताउनु परेको भन्ने उल्लेख गरेको र बयानको क्रममा निजले पेस गरेको जिल्ला प्रशासन कार्यालय, सप्तरीको पत्रबाट समेत प्रतिवादी ताराकान्त यादव माओवादीहरूको डर त्रासले विस्थापित भई भारतको विहार राज्यमा बसोबास गर्दै आएको भन्ने
देखिन्छ । माओवादी पार्टी र सो पार्टीका कार्यकर्ताका कारण विस्थापित हुनुपरेको कारण यी प्रतिवादीमा माओवादी पार्टी र सो पार्टीका कार्यकर्ताहरूप्रति स्वाभाविक रूपले रोष रहेको देखिन्छ । मृतक गोविन्द चौधरी नेकपा माओवादी सप्तरीका जनवर्गीय सङ्गठनको अध्यक्ष रहेकोले गोविन्द चौधरीलाई मार्ने क्रममा प्रतिवादी ताराकान्त यादवको कुनै सक्रियता नदेखिए पनि घटनास्थलमा उपस्थित हुनुपर्ने कारणमा परोक्ष रूपले सोही रोष कारक रहेको स्पष्ट हुन आउँछ । सोबाहेक प्रतिवादी ताराकान्त यादव वारदातस्थलमा उपस्थित हुने अन्य कारणहरू मिसिल संलग्न कागजातबाट देखिँदैन । यसबाट पनि प्रतिवादी ताराकान्त यादवमा गोविन्द चौधरीको हत्या होस् भन्ने चाहना छैन भनी भन्न सकिने अवस्था देखिन
आएन । मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(३) नं. मा "अरू किसिमसँग मत सल्लाहमा परेकोमा मार्ने ठाउँमा गई अरू कुरा केही नगरी हेरिरहनेलाई र लेखिएदेखि बाहेक अरू किसिमका मतलबीलाई ६ महिनादेखि तीन वर्षसम्म कैद गर्नुपर्छ" भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । यी प्रतिवादीमा घटनाप्रति केही चासो र सरोकार रहेको देखिए पनि गोविन्द चौधरीलाई मार्नमा सक्रिय भूमिका निर्वाह नगरी अन्य प्रतिवादीले गोली हान्दा हेरिरहनेसम्मको कार्य गरेबाट यी प्रतिवादी ताराकान्त यादव उल्लिखित मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(३) नं. बमोजिमको अरू किसिमको मतलबी रहे भएको पुष्टि हुन आयो । यस स्थितिमा सुरू सप्तरी जिल्ला अदालतबाट प्रतिवादी ताराकान्त यादवलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(२) नं.बमोजिमको कसुरदार ठहर गरी ४(चार) वर्ष कैद गरेको फैसला केही उल्टी गरी ज्यानसम्बन्धीको महलको १७(३) नं.बमोजिम प्रतिवादी ताराकान्त यादवलाई अन्य किसिमको मतलबी कायम गरी २(दुई) वर्ष कैद गर्ने गरी उच्च अदालत जनकपुर, राजविराज इजलासबाट भएको फैसला मनासिब नै देखियो ।
१०. उल्लिखित प्रतिवादीहरू कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगत, ज्याबुल मियाँ र ताराकान्त यादवउपर डाँकाको कसुर स्थापित हुन सक्ने हो होइन भन्ने सम्बन्धमा विचार गर्दा अभियोगपत्रमा मोटरसाइकल र दुई थान मोबाइलको हकमा पछि पूरक अभियोग पत्र पेस गर्ने भन्ने बेहोरा उल्लेख गरेको देखिए पनि पूरक अभियोगपत्र पेस हुन नआएको र रू.१२०००।- को हकसम्ममा वादी नेपाल सरकारले दाबी लिएको देखिन आयो । अनुसन्धानको क्रममा घटना विवरण कागज गर्ने व्यक्तिहरू पाँचु चौधरी, अजयकुमार चौधरी र जुगल चौधरीको कागज बेहोरामा गोविन्द चौधरीको नगद रू.१२०००।- डाँका भएको बेहोरा उल्लेख भएको देखिन
आउँदैन । जाहेरवाली रिताकुमारी चौधरीले दिएको जाहेरी दरखास्तमा मेरो भाइसँग खोसी लगेको मोबाइल सेट, सिम, मोटरसाइकल र नगदसमेत दिलाइपाउँ भनी उल्लेख गरेको देखिए पनि रू.१२०००।- नगद डाँका गरी लगेको भनी उल्लेख गर्न सकेको पाइँदैन । जाहेरवाली रिताकुमारी चौधरी, घटना विवरण कागज गर्ने रूकमणी चौधरी र अजयकुमार चौधरीले सँग अदालतमा उपस्थित भई बकपत्र गर्दा जाहेरी दरखास्त सनाखत गराउनुबाहेक अभियोजन पक्षले प्रतिवादीहरूको डाँकाको कसुर पुष्टि हुने गरी कुनै सवाल, जवाफ र जिरह गरेको देखिँदैन । वादी नेपाल सरकारतर्फका उल्लिखित साक्षीहरू डाँका सम्बन्धमा पूर्णतया मौन रहेको देखिन आउँछ । गोविन्द चौधरीको साथमा रहेको भनिएकी रूकमणी चौधरीले अनुसन्धानको क्रममा गरेको घटना विवरणमा हाल थाहा पाएअनुसार हजार हजारको नोट रू.१२०००।- र पर्समा भएको कागजसमेत लिई गएको भन्ने कथनलाई मुख्य आधार बनाएर डाँकाको कसुर उठान गरी प्रतिवादीहरूलाई आरोपित गरेको देखिन आउँछ । तर रूकमणी चौधरीले के कुन स्रोतबाट मृतक गोविन्द चौधरीको पर्समा रू.१२,०००।- रहे भएको हाल आएर थाहा पाएको हो ? सो तथ्य खुलाउन सकेको
देखिँदैन । मिसिल संलग्न अन्य प्रमाण कागजातबाट पनि मृतक गोविन्द चौधरीको साथमा रू.१२,०००।- रहे भएको बेहोरा समर्थित हुन सकेको पाइँदैन । मृतक गोविन्द चौधरीको साथमा रू.१२,०००।- रहे भएको तथ्य नै वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुन सकेको नदेखिएको स्थितिमा यी प्रतिवादीहरूले डाँकाको कसुर गरेको मान्नु केवल अनुमान र शंका मात्र हुने देखिन्छ । यसरी अनुसन्धानको क्रममा रूकमणी चौधरीले सुनेको भरमा व्यक्त गरेको कथनलाई मात्र आधार बनाई प्रतिवादीहरूलाई डाँकाको कसुरमा आरोपित गरिएको देखिँदा त्यसरी आरोपित गरिएकै भरमा प्रतिवादीहरूले डाँका गरेको भनी कसुरदार कायम गर्नु प्रमाण कानूनको सिद्धान्त बर्खिलाप हुने देखियो ।
११. अनुसन्धानको क्रममा मिति २०६४।०३।०९ मा भएको बरामदी मुचुल्कामा प्रतिवादीमध्येका कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगतको साथबाट पेस्तोल एवम् राइफल र सर्टगनको गोलीहरू बरामद हुन आएको देखिए पनि अन्य नगद धनमालहरू बरामद हुन सकेको देखिन आउँदैन । प्रहरीले मौकामा दिएको प्रतिवेदनबाट पनि उल्लिखित हतियार बरामद भएबाहेक अन्य नगदलगायतका सामग्रीहरू बरामद हुन सकेको देखिँदैन । प्रतिवादी कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगतको साथबाट उल्लिखित हतियार बरामद गर्नुबाहेक अन्य प्रतिवादीहरूको घर वा संदिग्ध स्थानहरूमा खानतलासी गर्नेतर्फ अनुसन्धान अग्रसर भएको देखिन आउँदैन । प्रतिवादी कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगतबाट हतियार मात्र बरामद भएपछि यथासमयमा अनुसन्धानको दायरालाई अन्य प्रतिवादीहरूतर्फ बिस्तार गर्नुपर्नेमा अनुसन्धान पक्षले त्यसतर्फ ध्यान पुर्याउन सकेको नदेखिएबाट डाँका भएको पुष्टि हुन सक्ने डाँका गरियो भनिएको दसीलगायतका प्रमाणहरू सङ्कलन हुन सकेको देखिन आएन । डाँकाको कसुरसँग सम्बद्ध दसी प्रमाण फेला पर्न नसकेको अवस्थामा प्रतिवादीहरूलाई आरोपित गर्नु मात्र कसुर ठहर गर्न सक्ने आधार हुन सक्दैन । यस अदालतको संयुक्त इजलासबाट ने.का.प. २०७२ अङ्क ९ नि.नं. ९४७० मा "नेपाल सरकारले प्रतिवादीहरूले यति रकम डाँका गरी लगे भनी मागदाबी गर्नु मात्र पर्याप्त हुँदैन । डकैती भएको भनिएको रकम देखिनुपर्ने पनि हुन्छ । यसरी डकैती भएको रकम नै सप्रमाण यकिन हुन नसकेको र त्यसलाई पुष्टि हुने सबुत प्रमाण वादी पक्षबाट पेस हुन सकेको देखिँदैन । ठोस सबुत प्रमाणको अभावमा प्रत्यर्थी प्रतिवादीहरूले अभियोगपत्रमा उल्लिखित रकम डाँका गरी लगेको भन्ने वादी दाबीसँग यो इजलास सहमत हुन नसक्ने" भनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ । उल्लिखित सिद्धान्तले डाँका गरेको भन्ने आरोपलाई मात्र कसुर ठहर गर्ने आधारको रूपमा ग्रहण गर्न बर्जित गरेको देखिन्छ । साथै, डकैती भएको रकमसमेत देखिनुका अतिरिक्त डकैती भएको प्रमाणबाट समेत पुष्टि हुनुपर्ने अनिवार्यतालाई प्रस्ट्याएको पाइन्छ । प्रस्तुत वारदातका सन्दर्भमा प्रतिवादीहरूले डाँका गरिएको भनिए पनि डाँकाको कसुर सम्बन्धमा अनुसन्धान केन्द्रित एवम् अग्रसर नभएको तथा डाँका गरेको भनिएको नगद रकमको अस्तित्व नै पुष्टि हुन सकेको नदेखिएको एवम् दाबी गरिएको नगद रकम बरामद हुन सकेको समेत नपाइएबाट प्रतिवादीहरू कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगत, ज्याबुल मियाँ र ताराकान्त यादवउपर आरोपित गरिएकै भरमा डाँकाको कसुर स्थापित हुन सक्ने अवस्थाको विद्यमानता देखिन आएन । यस स्थितिमा उल्लिखित प्रतिवादीहरूलाई डाँकाको कसुरमा सजाय गरिपाउँ भन्ने पुनरावेदन जिकिर एवम् विद्वान् उपन्यायाधिवक्ताको बहससँग सहमत हुन सकिएन ।
१२. प्रतिवादी कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगतलाई सुरू सप्तरी जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय भएकोमा सोही सजाय पुनरावेदन अदालत राजविराजबाट सदर भएको देखिन्छ । प्रतिवादी कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगतले पुनरावेदन अदालत राजविराजको फैसलाउपर पुनरावेदन गरेको देखिएकोमा निजले सो पुनरावेदन मिति २०७३।०४।२१ मा फिर्ता लिएबाट निजलाई लागेको सर्वस्वतर्फको सजाय हालसम्म कायम नै रहेकोले परिवर्तित कानूनी सन्दर्भमा निजलाई लागेको सर्वस्वतर्फको सजाय सम्बन्धमा बोल्नुपर्ने देखिन आयो । तत्कालीन कानून व्यवस्थाको परिप्रेक्ष्यमा प्रतिवादी कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगतलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय ठहर गरेको सुरू सप्तरी जिल्ला अदालतको फैसला पुनरावेदन अदालत राजविराजबाट सदर भई मिलेको भए तापनि मुलुकी अपराध संहिता, २०७४ को दफा ४० को उपदफा (२) बमोजिम प्रतिवादीलाई सर्वस्व हुने गरी सजाय गर्न नमिल्ने भएकाले प्रतिवादी कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगतलाई सर्वस्वको सजाय हुने देखिएन ।
१३. अतः माथि विवेचित आधार, कारण र प्रमाणहरूबाट प्रतिवादी ज्याबुल मियाँले सफाइ पाउने, प्रतिवादी ताराकान्त यादवको हकमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(४) नं.बमोजिमको अभियोग दाबी नपुग्ने र ऐ. १७(२) नं.बमोजिम ४(चार) वर्ष कैद हुने एवम् प्रतिवादीहरू कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगत, ज्याबुल मियाँ र ताराकान्त यादवले डाँकाको कसुरमा सफाइ पाउने ठहर गरी सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०६८।१२।१९ तथा मिति २०७१।१२।११ मा भएको फैसलामध्ये मिति २०६८।१२।१९ को फैसला सदर हुने तथा ताराकान्त यादवलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(२) नं.बमोजिम ४(चार) वर्ष कैद गर्ने मिति २०७१।१२।११ मा भएको सुरू सप्तरी जिल्ला अदालतको फैसला केही उल्टी गरी मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(३) नं.बमोजिम २(दुई) वर्ष कैद गर्ने ठहर गरेको पुनरावेदन अदालत राजविराज तथा उच्च अदालत जनकपुर, राजविराज इजलासबाट भएको क्रमशः मिति २०७०।०७।२८ र मिति २०७५।०९।२३ को फैसला मनासिब नै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीमध्ये कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगतले यस अदालतमा दिएको पुनरावेदन फिर्ता लिएको सन्दर्भमा निजको हकमा सर्वस्वसहित जन्मकैद बाँकी रहेको देखिए पनि मुलुकी अपराध संहिता, २०७४ को दफा ४०(२) बमोजिम निजलाई सर्वस्वतर्फको सजाय नहुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी कान्तिपुर एफ.एम. भन्ने जगदिशप्रसाद भगतलाई लागेको जन्मकैदको सजाय यथावत राखी सर्वस्वतर्फको सजायको लगत कट्टा गर्नु भनी सुरू सप्तरी जिल्ला अदालतमा लेखी पठाउनू .................................१
प्रस्तुत फैसलाको प्रतिलिपिसमेत साथै राखी महान्यायाधिवक्ताको कार्यालयलाई जानकारी दिनू...२
सरोकारवाला यो फैसलाको नक्कल माग गर्न आए नियमानुसारको दस्तुर लिई रीत पुर्याई नक्कल दिनू.३
प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गर्नुका साथै फैसलाको विद्युतीय प्रति यस अदालतको कम्प्युटर सफ्टवेयर प्रणालीमा प्रविष्ट गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू .........................................४
उक्त रायमा सहमत छु ।
न्या. बमकुमार श्रेष्ठ
इजलास अधिकृतः- किरणकुमार सिंह र कुमार खतिवडा
इति संवत् २०७८ साल पौष १३ गते रोज ३ शुभम् ।