निर्णय नं. ११२९६ - अपहरण तथा शरीर बन्धक लिई जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई
माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा
फैसला मिति : २०८०।५।१९
मुद्दाः- अपहरण तथा शरीर बन्धक लिई जबरजस्ती करणी
०७४-CR-१३१८
पुनरावेदक / प्रतिवादी : जिल्ला अर्घाखाँची साबिक ढाकाबाङ्ग गा.वि.स. वडा नं.८ हाल भूमिकास्थान नगरपालिका, वडा नं.२ घर भई हाल कारागार कार्यालय, जगन्नाथदेवल काठमाडौंमा थुनामा रहेको गोविन्दबहादुर थापाको छोरा विनोद थापासमेत
विरूद्ध
प्रत्यर्थी / वादी : जिल्ला अर्घाखाँची बस्ने अर्घाखाँची ४८(डी) (परिवर्तित नाम, थर, वतन) को जाहेरीले नेपाल सरकार
०७७-CR-०५९७
पुनरावेदक / वादी : परिवर्तित नाम अर्घाखाँची ४८(डी) को जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : गोविन्दबहादुर थापाको छोरा, अर्घाखाँची जिल्ला, साबिक ढाकाबाङ्ग गा.वि.स. वडा नं.८ (हाल ऐ. भूमिकास्थान नगरपालिका, वडा नं.२) बस्ने विनोद थापासमेत
कुनै महिलाले सामूहिक करणी गर्न सहमति दिन्छ भन्नु महिलाको अस्मिता मात्र होइन मानवीय सभ्यता, चेतना, सामाजिक शिष्टता एवं न्यायपूर्ण समाजको परिकल्पना विरूद्धको कुरा हो । यस्तो तर्क र जिकिरमा फौजदारी न्याय प्रणाली आधारित गराउन नमिल्ने । न्याय अभियुक्तले मात्र होइन पीडित र समाजले समेत पाउनुपर्ने । समय र परिस्थितिले गालेको, असंरक्षित पीडित यसको अपवादमा पर्न नहुने । झुठ्ठा र फरेवी कुराको चेपमा परी न्यायले हार्नु नहुने । अदालतले समाजमा रहेको अशिक्षा, पछौटेपन र गरिबीसमेतका तत्त्वले न्यायलाई प्रभावित पार्न सक्छ भन्ने हेक्का राखी न्याय निरूपण गर्नुपर्ने । तर्करहित र बनावटी कुरा गरी सहमति थियो भन्यो भने न्याय स्खलित हुन पुग्ने ।
(प्रकरण नं.१०)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री रेशम आचार्य
प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री चुडामणी भुषाल र श्री अर्जुन कुमार बास्कोटा
अवलम्बित नजिर :
ने.का.प.२०५७, नि.नं.६९४९
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने :
मा.न्यायाधीश श्री केशवप्रसाद बास्तोला
अर्घाखाँची जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाशीश श्री रमेश पोखरेल
माननीय न्यायाधीश श्री कृष्णलाल भट्टराई
उच्च अदालत तुलसीपुर, बुटवल इजलास
फैसला
न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०७४ को दफा ९(१) बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः-
तथ्य खण्ड
मिति २०७३।०७।२५ गते मेरो छोराको उपचार गराई बेलुका सन्धिखर्कबाट घर फर्किने क्रममा फुदवाङ्ग रिसोर्ट नजिकैको मोटरबाटोबाट पैदल हिँड्दै गएको अवस्थामा सेतो कारमा आएका चार जना मानिसहरूले मलाई जबरजस्ती कारमा राखी मेरो मोबाइलसमेत निजहरूले नै खोसी सन्धिखर्क नगरपालिका वडा नं. ६ स्थित राताटारी भन्ने स्थानको तोरीबारीमा लगी पालै पालो जबरजस्ती करणी गरी झोल औषधी जस्तो खुवाएर सोही गाडीमा सन्धिखर्क बजारको होटलमा ल्याई निजहरूमध्ये १ जना रातभरि होटलको कोठामा बसी करणी गरेको र आजै बिहान निज सुतिरहेको अवस्थामा निजको बिस्तारामा मेरो मोबाइल देखी उक्त मोबाइल लिई त्यहाँबाट भागी उजुरी गर्न आएको हुँ भन्ने परिवर्तित नाम अर्घाखाँची ४८(डि) को हुलिया जाहेरी ।
जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं.६ राताटारी स्थित जिल्ला अस्पतालको स्वामित्वमा रहेको सोही स्थानमा बस्ने लोकबहादुर नेपालीले भोगचलन गरी तोरी छरेको जमिनको पूर्व भागमा रहेको तोरीबारीमा तोरी मडारिएको, सो मडारिएको स्थानको कुनामा Climax लेखिएको बिचबाट च्यातिएको रातोमा सेतो अक्षर भएको कण्डमको खोल रहेको । उक्त स्थानमा मिति २०७३।७।२५ गते परिवर्तित नाम अर्घाखाँची ४८(डि) लाई जबरजस्ती करणी गरेको भन्ने घटनास्थल मुचुल्का ।
An abrasion-contusion with minimal bleeding measuring २ cm x १ cm present on posterior aspect of valve that extends into labia minora and posterior vaginal wall. Two contusions each measuring ०.५ cm x ०.५ cm present around clitoris भनी Opinion of the expert मा Excerpting from history and through physical examination of the examinee, there was abrasion-contusion on genital organ as mentioned above which is suggestive of recent vaginal penetration. The hymen was ruptured. There are no any signs of physical struggle, no any stain, and foreign materials in the genital. भन्ने पीडितको स्वास्थ्य एवं शारीरिक परीक्षण प्रतिवेदन ।
कार्तिक २६ गते दाजु भरतले मोबाइलबाट मलाई फोन गरी विनोद थापा, राजेश मिश्र, राज भन्ने केशरी नन्दन अग्रहरी र मसमेत भई परिवर्तित नाम अर्घाखाँची ४८(डि) लाई फुदवाङ्गबाट अगाडि नरपानीतर्फ जाने सडकदेखि नजिक तोरीबारीमा लगी जबरजस्ती करणी गरी भागेका हौं । हाम्रो चालक पुरन वि.क.समेतलाई लिई बलेवाङ्ग भन्ने स्थानमा गई निज महिलालाई भेटी कुरा मिलाउ भनी दाजु भरत भुसालले भनेपछि जाहेरवालीको मोबाइलमा सम्पर्क गरी भेट्न खोज्दा निजले आफू सन्धिखर्क आउने बताएपछि निजलाई भेटी कुरा गर्ने क्रममा प्रहरीले थाहा पाई सोधपुछसमेत गरी कागज गरेका हुन् । उक्त वारदात घटाउने चारै जना मेरा साथीहरू हुन् भन्ने दिपक भुसालको घटना विवरण कागज ।
मिति २०७३।०७।२५ गते मेरो छोराको उपचार गराई बेलुका सन्धिखर्कबाट घर फर्किने क्रममा फुदवाङ्ग रिसोर्ट नजिकैको मोटरबाटोबाट पैदल हिँड्दै गएको अवस्थामा सेतो कारमा आएका चार जना मानिसहरूले मलाई जबरजस्ती कारमा राखी मेरो मोबाइलसमेत निजहरूले नै खोसी सन्धिखर्क नगरपालिका वडा नं. ६ स्थित राताटारी भन्ने स्थानको तोरीबारीमा लगी पालैपालो जबरजस्ती करणी गरी झोल औषधी जस्तो खुवाएर सोही गाडीमा सन्धिखर्क बजारको होटलमा ल्याई निजहरूमध्ये १ जना रातभरि होटलको कोठामा बसी जबरजस्ती करणी गरेको र आजै बिहान निज सुतिरहेको अवस्थामा निजको बिस्तारामा मेरो मोबाइल सेट देखी उक्त मोबाइल लिई त्यहाँबाट भागी तत्काल हुलिया जाहेरी दिएकोमा ऐ.२७ गते मलाई मोबाइलमा फोन गरी तिमीलाई जबरजस्ती करणी गर्ने हामीहरू हौं । हामीहरू चारै जना सँगै छौं, प्रहरीमा उजुरी नगर तिमीलाई पैसा दिन्छौं, तिमीसँग समन्वय गर्न मानिस पठाएका छौं, निजसँग कुराकानी गर्नु भनी निजहरूले पठाएको व्यक्तिले फोन गरी मलाई भेट गरी सोधपुछ गर्दा निज आफूलाई करणी गर्नेमध्ये भरत भुसालको भाइ भएको र मलाई करणी गर्ने राजेश मिश्र, विनोद थापा, राज भन्ने केशरी नन्दन अग्रहरी र भरत भुसाल भएको हुँदा निजहरूलाई हदैसम्मको कारबाही गरी क्षतिपूर्तिसमेत दिलाइपाउँ भन्ने परिवर्तित नाम अर्घाखाँची ४८(डि) को किटानी जाहेरी ।
मिति २०७३।०७।२५ गते साँझ तपाइँलाई जबरजस्ती करणी गरी फरार रहेको भन्ने जबरजस्ती करणी मुद्दाको अनुसन्धानको क्रममा पक्राउमा परेका प्रतिवादीहरूलाई मुलुकी ऐन, अदालती बन्दोबस्तको १७३ नं.बमोजिम मलाई देखाइएका व्यक्तिहरूमध्ये - पहिलो लाइनको बायाँबाट दोस्रो नम्बरमा उभिएका वर्ण गहुँगोरो उचाइ अं. ५ फिट ३ इन्च, केही मोटो शरीर भएको, वर्ष अं. १८/१९ को जिल्ला अर्घाखाँची बाँगी गा.वि.स. वडा नं. ६ घर भई हाल ऐ. सन्धिखर्क नगरपालिका वार्ड नं. २ बस्ने वर्ष १८ को राजेश मिश्र, -दोस्रो लाइनको बायाँबाट चौथो नं. मा उभिएका वर्ण गहुँगोरो, उचाइ अं. ५.५", केही पातलो शरीर भएको, कानमा मुद्रा लगाएको अं. वर्ष २२/२३ को जिल्ला अर्घाखाँची साबिक सन्धिखर्क गा.वि.स. वडा नं.७ हाल सन्धिखर्क नगरपालिका वडा नं. २ बस्ने भरत भुसाल, तेस्रो लाइनको बायाँबाट पहिलो नं. मा उभिएका वर्ण गहुँगोरो, उचाइ अं. ५.५", हल्का दाह्री जुँगा आएको, मझौला शरीर भएको अं. वर्ष २२/२३ को जिल्ला कपिलवस्तु साबिक कृष्णनगर गा.वि.स. हाल कृष्णनगर नगरपालिका वार्ड नं. ४ घर भई हाल जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वार्ड नं. १ बस्ने राज भन्ने केशरी नन्दन अग्रहरी र अन्तिम लाइनको बायाँबाट दोस्रो नं. मा उभिएका वर्ण कालो, मझौला शरीर, उचाइ अं ५.४" भएको अं. वर्ष १९/२० को जिल्ला अर्घाखाँची ढाकाबाङ्ग गा.वि.स. वडा नं. ८ बस्ने विनोद थापा हुन् भनी जाहेरवालीले गरिदिएको सनाखत कागज ।
प्रतिवादी राजेश मिश्र, विनोद थापा, भरत भुसाल र राज भन्ने केशरी नन्दन अग्रहरीको स्वास्थ्य जाँच गर्दा शरीरमा कुनै किसिमको घाउ चोट, निलडाम, केही नभएको, निजहरूको लिङ्ग परीक्षणबाट Recent sexual intercourse or not cannot be determined भन्नेसमेत बेहोराको स्वास्थ्य जाँचको परीक्षण प्रतिवेदन ।
उक्त दिन बेलुका म, भरत भुसाल, राजेश मिश्र र राज भन्ने केशरी नन्दन अग्रहरी भई फुदवाङ्ग स्थित रिसोर्टमा खाजा खाई लु.१ज. २९८२ नं. को सेतो कारमा फर्की सन्धिखर्कतर्फ आउँदा सोही नजिक कच्ची सडकमा पैदल हिँडेकी जाहेरवालीलाई देखी निजसँग बोल्ने जिस्काउने उद्देश्यले कारबाट ओर्ली कहाँ जाने हो ? भनी सोध्दासमेत केही नबोलेकी र निजसँग रहेको बालक पनि अगाडि गएको देखी निजको मोबाइल नं. माग्दा नदिएपछि मैले निजको हातमा रहेको मोबाइल खोसे । निज मेरो पछिपछि आउँदै गर्दा हामी सवार रहेको उक्त कारमा तानी चढाई राताटारी स्थित तोरीबारीमा लगी निजले ओढेको पछ्यौरा मैले तोरीबारीमा ओच्छाई निजलाई सुत्न लगाई निजको माथि पहिला म चढी आफ्नो लिङ्ग योनिमा छिराई करणी गरेको हुँ । त्यसपछि पालैपालो राज भन्ने केशरी नन्दन अग्रहरी, राजेश मिश्र र भरत भुसालले निजलाई करणी गरी मन्च लाइनमा रहेको लबकुश होटलमा ल्याई कोठामा राखी रातिसमेत मैले निजलाई करणी गरेको हुँ भन्नेसमेत बेहोराको विनोद थापाको अनुसन्धानको क्रममा बयान ।
उक्त दिन बेलुका म, भरत भुसाल, विनोद थापा र राज भन्ने केशरी नन्दन अग्रहरी भई फुदवाङ्ग स्थित रिर्सोर्टमा खाजा खाई लु.१ज. २९८२ नं. को सेतो कारमा फर्की सन्धिखर्कतर्फ आउँदा सोही नजिक कच्ची सडकमा पैदल हिँडेकी जाहेरवालीलाई देखी विनोद थापाले निजसँग बोल्ने जिस्काउने उद्देश्यले कारबाट ओर्ली निजको मोबाइल नं. माग्दा नदिएको भनी निजको हातमा रहेको मोबाइल खोसी कारतर्फ आउँदा निज जाहेरवाली पछिपछि आएकीले हामी सवार रहेको उक्त कारमा तानी चढाई राताटारी स्थित तोरीबारीमा लगी निजले ओढेको पछ्यौरा विनोद थापाले तोरीबारीमा ओच्छाए, राज भन्ने केशरी नन्दन अग्रहरीले जाहेरवालीलाई समाते, भरत भुसालले निजको कपडा खोलिदिए र मैले मानिसहरूको निगरानी गरेँ । मैले विनोद थापालाई कण्डम दिएपछि पहिला विनोदले जाहेरवालीलाई करणी गरे । पालैपालो राज भन्ने केशरी नन्दन अग्रहरी, म र भरत भुसालले निजलाई करणी गरी मन्च लाइनमा रहेको लबकुश होटलमा ल्याई कोठामा राखी रातिसमेत विनोद थापा सँगै बसी निजलाई करणी गरेको हुन् भन्ने राजेश मिश्रको साबिती बयान ।
उक्त दिन बेलुका म, विनोद थापा, राजेश मिश्र र राज भन्ने केशरी नन्दन अग्रहरी भई फुदवाङ्ग स्थित रिसोर्टमा खाजा खाई लु.१ ज. २९८२ नं. को सेतो कारमा फर्की सन्धिखर्कतर्फ आउँदा रिसोर्ट नजिकको कच्ची सडकमा पैदल हिँडेकी जाहेरवालीलाई देखी विनोद थापा कारबाट ओर्ली कहाँ जाने हो ? भनी निजको हातमा रहेको मोबाइल खोसी सेतो कारतर्फ आएपछि कारभित्र रहेका साथीहरूले कारको ढोका खोली कारभित्र तानी चढाई फुदवाङ्ग बजारभन्दा अगाडि नरपानीतर्फ जाने मोटरबाटो राताटारी स्थित तोरीबारीमा लगी विनोद थापाले जाहेरवालाले ओढेको पछ्यौरो तोरीबारीमा ओच्छाई निजलाई सुत्न लगाई राज भन्ने केसरी नन्दन अग्रहरीले जाहेरवालीलाई समाए, विनोद थापाले पहिला करणी गरे, मैले निजको कपडा खोल्नेसमेतको काम गरे, राजेश मिश्रले कोही आउँछन् कि भनी हेर्न थाले । त्यसपछि पालैपालो राज भन्ने केशरी नन्दन अग्रहरी, राजेश मिश्र र मैले निजलाई करणी गरी मन्च लाइनमा रहेको लबकुश होटलमा ल्याई कोठामा राखी रातिसमेत विनोद थापा सँगै बसी करणी गरेका हुन् भन्नेसमेत बेहोराको भरत भुसालको साबिती बयान ।
उक्त दिन बेलुका म, विनोद थापा, भरत भुसाल र राजेश मिश्र भई फुदवाङ्ग स्थित रिर्सोटमा खाजा खाई लु.१ ज. २९८२ नं. को सेतो कारमा फर्की सन्धिखर्कतर्फ आउँदा रिसोर्ट नजिकको कच्ची सडकमा पैदल हिँडेकी जाहेरवालीलाई देखी विनोद थापा कारबाट ओर्ली कहाँ जाने हो ? भनी निजको हातमा रहेको मोबाइल खोसी कारतर्फ आएपछि कारभित्र रहेका राजेश मिश्रले तान्ने विनोद थापाले धकेल्ने गरी कारको पछाडिको सिटमा चढाइ राखी फुदवाङ्ग बजारभन्दा अगाडि नरपानीतर्फ जाने मोटरबाटो राताटारी स्थित तोरीबारीमा लगी विनोद थापाले निजले ओढेको पछ्यौरो तोरीबारीमा ओच्छाई निजलाई सुत्न लगाई मैले जाहेरवालीलाई समाएँ, विनोद थापाले पहिला करणी गरे, भरत भुसाल निजको कपडा खोल्नेसमेतको काम गरे, राजेश मिश्रले कोही आउँछन् कि भनी हेर्न थाले । त्यसपछि पालैपालो मैले, राजेश मिश्र र भरत भुसालले निजलाई करणी गरी मन्च लाइनमा रहेको लबकुश होटलमा ल्याई कोठामा राखी रातिसमेत विनोद थापा सँगै बसी करणी गरेका हुन् भन्नेसमेत बेहोराको राज भन्ने केसरी नन्दन अग्रहरीको साबिती बयान ।
जाहेरवाली मेरो सानीआमा हुनुहुन्छ । कार्तिक २५ गते बिहान निज जाहेरवाली, म र मेरो आमासमेत भई सन्धिखर्क बजारमा आई बेलुका ढोरपाटनको बाटो हुँदै घरतर्फ जाने क्रममा पैदलै गएका थियौं । म जाहेरवालीसँग केही पछिपछि थिएँ भने मेरो आमा र अन्य व्यक्तिहरू अलि अगाडि अगाडि थिए । यसै क्रममा फुदवाङ्ग रिसोर्टतर्फबाट सेतो कारमा आएका व्यक्तिले कार एक्कासि हामी भएको स्थानमा ल्याई रोकी कारभित्र रहेका एकजना पुरूष व्यक्ति जाहेरवालीको मोबाइल नं. माग्दा जाहेरवालीले किन चाहियो भनेपछि निज व्यक्तिले जाहेरवालीको मोबाइल खोसी लगेपश्चात् किन मेरो मोबाइल लगेको भनी पछिपछि कारतर्फ जाँदा मोबाइल लानेसमेत चार जनाले जाहेरवालीको हात खुट्टा समाती जबरजस्ती कारमा राखी सन्धिखर्कतर्फ लगेको देखी म दर्गुदै गई आमालाई सबै कुरा बताएँ, आमा त्यहाँबाट फर्की आई खोज्दा नभेटेपछि घर गयौ । अर्को दिन बिहान जाहेरवालीले आमालाई फोन गरी आफू प्रहरी कार्यालयमा रहेको र कारमा लगेका व्यक्तिहरूले राताटारी स्थित तोरीबारीमा लगी जबरजस्ती चारै जनाले करणी गरी पुनः सन्धिखर्कको होटलमा लगी करणी गरेको कुरा बताउनुभएको हुँदा उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही होस् भन्ने परिवर्तित नाम अर्घाखाँची ४८ (के) को घटना विवरण कागज ।
जाहेरवाली मेरो बहिनी हुन् । निजको नाबालक छोरा बिरामी परेको हुँदा उपचार गर्न भनी कार्तिक २५ गते घरबाट बिहान सन्धिखर्क आई बेलुका पैदलै घरतर्फ जाँदै थियौं । फुदवाङ्गमा पुग्दा ढोरपाटनको बाटो जाने सल्लाह भई मैले निजको बच्चा बोकी गएकी थिए, निज बहिनी मेरो वर्ष १० को छोराको साथमा केही पछिपछि हिँड्दै आएकी थिइन् । यस्तैमा मेरो छोरा एक्लै दौडदै आई सानीआमालाई सेतो कारमा आएका मानिसहरूले उठाई लगे भनेपछि म कता कस्ले किन लग्यो भन्दै फर्किएर आई खोज्दा फेला नपरेको र उक्त कारसमेत मैले देखिनँ, बहिनीलाई नदेखेपछि मैले आफ्नो छोरा र बहिनीको छोरासमेत लिई घरमा गएँ । भोलिपल्ट बहिनीले मलाई फोन गरी आफू प्रहरी कार्यालयमा रहेको र कारमा लगेका मानिसहरूले आफूलाई सन्धिखर्क नगरपालिका वडा नं.६ स्थित राताटारीको तोरीबारीमा लगी जबरजस्ती करणी गरी सन्धिखर्कको होटलमा लगी करणी गरेको कुरा बताएकी हुँदा उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही होस भन्नेसमेत बेहोराको अर्घाखाँची ४८ (एम) (परिवर्तित नाम) को घटना विवरण कागज ।
मैले भरत भुसालको ट्रक चलाउने काम गर्दै आएको थिएँ । कार्तिक २७ गते बिहान भरत भुसालको भाइ दिपक भुसालसँग भेट हुँदा भरत भुसालसमेत हाल पक्राउमा परेका चार जना व्यक्तिहरूले फुदवाङ्ग रिसोर्ट नजिकको बाटोमा हिँडेकी जाहेरवालीलाई जबरजस्ती प्रतिवादीहरू चढेको कारमा राखी राताटारी भन्ने स्थानको तोरीबारीमा लगी पालैपालो करणी गरी भागी लुकी बसेको भनी दाजु भरतले फोन गरी बताउनुभएको र उक्त केटीको सम्पर्क नं.समेत दिनुभएको हुँदा निजलाई भेटी कुरा मिलाउनु भन्नुभएको छ भनी बताएपछि भरत भुसाललाई सम्पर्क गर्दा जसरी हुन्छ कुरा मिलाउ भनेकाले केटीलाई सम्पर्क गर्दा बलेवाङ्ग स्थितमा भेट्न बोलाएकी हुन् । म र दिपक भुसाल ट्याक्सी लिई उक्त स्थानमा जाँदा पुन: सन्धिखर्कमा भेट्न बोलाएकी हुँदा सन्धिखर्कमा आई भेट्ने क्रममा प्रहरी कर्मचारीसमेत त्यहाँ आई दिपक भुसालसँग सोधपुछ गरी प्रतिवादीहरू लुकीछिपी बसेको स्थान पत्ता लगाई पक्राउ गरेका हुन् भन्ने पुरन वि.क.को कागज ।
कार्तिक २५ गते बेलुका करिब ९:३० बजेतिर होटल बन्द गर्ने समयमा अपरिचित २०/२२ वर्षको युवक आई एक रात बस्नको लागि कोठा चाहिएको छ । श्रीमान् श्रीमती भई बस्ने हो, कोठा छ, छैन ? कोठा भाडा कति हो भनी सोधपुछ गरेपछि मैले कोठा भएको जानकारी गराएपछि बाहिर निस्की गएको केही समयपछि एक महिलालाई साथमा लिई पुनः होटलमा आएका हुन् । होटलको कोठातर्फ जाने क्रममा दुवै जना सँगै रहेका र युवकले एक जनालाई मात्र खाना मासु र एक बोत्तल पानीसमेत कोठामा ल्याइदिन अर्डर गरेपछि मैले सोबमोजिम लगिदिएको हुँ । भोलिपल्ट २६ गते बिहान करिब पौने छ बजेतिर जाहेरवाली होटलबाट बाहिर गएको करिब आधा घण्टापछि महिलासँग राति सँगै बस्ने विनोद थापाले खाना खाए बसेको बिलअनुसारको पैसा तिरी गएका हुन् । उक्त होटलबाट बाहिरिएपछि जाहेरवाली महिलाले उजुरी गरेको भन्ने थाहा पाएको हुँ भन्ने ओमबहादुर गाहाको घटना विवरण कागज ।
कार्तिक २५ गते जाहेरवाली आफ्नो दिदीसमेतसँग सन्धिखर्कबाट पैदलै ढोरपाटनको बाटो आउने क्रममा फुदवाङ्ग रिसोर्ट नजिक आइपुग्दा सेतो कारमा आएका हाल प्रहरी हिरासतमा रहेका व्यक्तिहरूले पीडितलाई घरसम्म पुर्याइदिन्छु भनी जबरजस्ती गाडीमा बसाली लगेकामा बेलुका घरमा पुग्दा बहिनी नआएको देखी फोन गर्दा मोबाइलमा सम्पर्क नभएको र भोलिपल्ट पीडितले रूँदै आफूलाई कारमा जबरजस्ती चढाएका व्यक्तिहरूले राताटारीको तोरीबारीमा लगी पालैपालो जबरजस्ती करणी गरी पुनः डर त्रास देखाई सन्धिखर्कको होटलमा राखी रातिसमेत करणी गरेको भनी दिदीलाई बताएपछि थाहा पाएको हुँ । तसर्थ बाटोमा हिँडेकी एउटा महिलामाथि चार जनाको संख्यामा आएका मानिसहरूले जबरजस्ती गाडीमा बसाली अर्को स्थानमा लगी करणी गरेका हुँदा कानूनबमोजिम कारबाही होस् भन्ने मोहन आचार्य र जाहेरवालाको पिता तुलबहादुर सारूको एकै मिलानको घटना विवरण कागज ।
प्रतिवादीहरूले एक महिलालाई सामूहिक रूपमा अपहरण गरी शरीर बन्धक बनाई पालैपालो जबरजस्ती करणी गरी मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ नं. ले निषेधित तथा २, ३, ७, ८ र ९ नं. ले परिभाषित तवरको कसुर गरेकाले निज प्रतिवादीहरू विनोद थापा, राजेश मिश्र, भरत भुसाल र राज भन्ने केसरी नन्दन अग्रहरीलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३, ७, ८ र ९ नं.बमोजिम सजाय गरी ऐ. ऐ. महलको १२ नं.बमोजिम पीडित जाहेरवालीलाई क्षतिपूर्ति दिलाई भराइपाऊँ । साथै यिनै प्रतिवादीहरू विनोद थापा, राजेश मिश्र, भरत भुसाल र राज भन्ने केसरी नन्दन अग्रहरीले पीडित अर्घाखाँची ४८(डि) (परिवर्तित नाम) लाई जबरजस्ती करणी गर्ने उद्देश्यले अपहरण तथा शरीर बन्धक लिनुका अतिरिक्त डर, धाक, धम्की, त्राससमेत देखाई सामूहिक रूपमा पालैपालो जबरजस्ती करणी गरेको समेत कसुर पुष्टि हुन आएकोले प्रतिवादीहरूले गरेको सामूहिक जबरजस्ती करणीको कार्य मुलुकी ऐन, जबरजस्ती करणी महलको १, ३(५) र ३(क) नं.बमोजिम कसुर हुँदा निज प्रतिवादीहरूलाई मुलुकी ऐन, जबरजस्ती करणी महलको ३(५) र ३(क) नं.बमोजिमको थप सजायसमेत गरी मुलुकी ऐन, जबरजस्ती करणी महलको १० नं.बमोजिम पीडित अर्घाखाँची ४८(डि) (परिवर्तित नाम) लाई क्षतिपूर्ति दिलाई भराइपाउँ भन्ने वादी नेपाल सरकारको अभियोग दाबी ।
मिति २०७३।०७।२५ गते मलगायत प्रस्तुत मुद्दाका सहप्रतिवादी चारै जना भएर मेला हेर्न सन्धिखर्क आएका थियौं । मेला हेर्ने क्रममै सन्धिर्खकको शान्ति बगैंचानजिक प्रस्तुत मुद्दाका पीडित जाहेरवालालाई भेटियो । यसभन्दा पहिला अर्का सहप्रतिवादी राजेश मिश्रसँग उसको चिनजान रहेछ । चिनजानकै क्रममा पहिला मैले उसको मोबाइल नम्बर मागेँ, निजले थाहा छैन भनेपछि मैले मेरो मोबाइल नम्बर उसको मोबाइलमा टिपाइदिएँ । कुराकानी हुँदै गर्दा उसले तपाइँहरू अहिले फुलबारी रिसोर्ट जानुहोस्, म पछि दिदीलाई छलेर त्यहीँ आउँछु भनी हामीहरू फुलबारी रिसोर्टमा गई खाना खाइसकेपछि उसले मेरो फोनमा मिसकल गरी । त्यसपछि हामी चारै जना गाडी लिएर गएका थियौं । उक्त गाडीमा उसलाई राखेर ढोरपाटनतिर लाग्यौं । हामीहरूलाई शारीरिक सम्बन्ध गर्न देऊ । हामीहरूले एकजना बराबर १,०००।- (एक हजार रूपैयाँ) दिन्छौं भनेर भन्दा उसले हाम्रो कुरालाई स्वीकार गरी । सबैभन्दा पहिला म गएँ । त्यसपछि राजेश मिश्र गए । त्यसपछि उसलाई घरमा पुर्याउन भनी हामीहरू गयौं । अनि उसले यति राति घर कसरी जाने । म जान्न, कोठा खोज्दिनुहोस् यहीँ बस्छु भनेपछि हामीहरूले सन्धिखर्कमा रहेको लवकुश होटलमा कोठा खोजी म र ऊ सँगै एउटै कोठामा बसियो । बिहान भएपछि त्यसदिन पनि मेला भएकोले म मेला हेर्नतिर गएँ । ऊ लवकुश होटलबाट बगैंचातिर गई । त्यसैदिन मिति २०७३।०७।२६ मा मलगायत सहप्रतिवादी चारै जना मेरो लागि ट्रक किन्न भनी चन्द्रौटा गयौं । हामी चन्द्रौटा होटलमा चिया खाँदै गर्दा प्रहरीले पक्रेर जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीमा ल्यायो भन्ने प्रतिवादी विनोद थापाले अदालतमा गरेको बयान ।
मिति २०७३।०७।२५ गते फुदबाङ्ग स्थित फुलबारी रिसोर्टमा खाजा खान भनी जाँदै गर्दा सन्धिखर्क मोटरबाटोमा पुगेपछि हामीहरूले एकजना अपरिचित महिलालाई देख्यौं । त्यसपछि गाडी रोकी मसमेत सँगै आएका विनोद थापाले निज महिलालाई तपाइँ कहाँ जानुहुन्छ भनी सोधे । महिलाले म बलेबाङ्ग जाने हो भनी बताइन् । त्यसपछि निज महिलालाई हामीहरूले उक्त बाटोमै छोडेर हामी ४ जना भई फुदबाङ्ग स्थित फुलबारी रिसोर्टमा खाजा खान गयौं । निज महिलाले आफ्नो मोबाइलबाट विनोदलाई मिसकल गरेपछि हामी चारै जना साथी भई फुलबारी रिसोर्टबाट फुदबाङ्ग स्थित ढोरपाटन बाटोमा आई विनोद गाडीबाट झरे । महिला उक्त गाडीमा बसिन् । महिलाको केही अगाडिपट्टि एउटा ८/१० वर्षको बच्चा थियो । महिलालाई सोध्दा उक्त बच्चालाई आफूले चिन्दैन भनी बताई । त्यसपछि हामीहरू ढोरपाटन सडक खण्डको बलेबाङ्गतर्फ जान केही अगाडि पुग्यौं । विनोद थापाले निज महिलासँग हामीहरूले चार हजार रूपैयाँ दिन्छौं । हामीहरूलाई करणी गर्न देउ भनी भनेपछि निज महिलाले सहमति जनाइन् । अनि हामीहरूले उक्त स्थानबाट गाडी फर्काई राताटारीमा आई गाडी रोकी तोरीबारीमा गई सर्वप्रथम विनोद थापाले महिलालाई करणी गर्न भनी गए । त्यसपछि मैले एक पटक करणी गरेको हुँ । उक्त समयमा केसरी नन्दन अग्रहरी र भरत भुसाल गाडीमा नै थिए । निज दुवैजनाले उक्त महिलालाई करणी गरेका होइनन् । त्यसपछि उक्त महिला एवं हामी ४ जना भई फर्कियौं । महिलाले हामीहरूसँग धेरै रात परिसकेको हुँदा आफू घर जान नसक्ने बताएपछि सन्धिखर्क स्थित लवकुश होटलमा एउटा कोठा खोजी उक्त कोठामा विनोद थापा र निज महिला सँगै बसेका हुन् । म आफ्नो घरमा गई बसेँ । अर्को दिन म र विनोद थापा‚ भरत भुसाल र केशरी नन्दन अग्रहरी भई उक्त लु. १ ज. २९८२ नं. को ट्याक्सी लिई ट्रक किन्न भनी चन्द्रौटामा गई चिया पिउँदै गर्दा हामी ४ जनालाई प्रहरीले पक्राउ गरेका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी राजेश मिश्रले अदालतमा गरेको बयान ।
मिति २०७३।०७।२५ गते म मेरो घरबाट करिब २ बजेतिर ट्याक्सी लिई म, सहप्रतिवादी विनोद‚ राजेश र राज भई फुदबाङ्ग जान लागेका थियौं । अनि बिच बाटोमा सहप्रतिवादी विनोदले जाहेरवाला अर्घाखाँची ४८ (डि) (परिवर्तित नाम) लाई फोन गरे । उक्त दिन सन्धिखर्कमा एकादशीको मेला थियो । सोही मेला हेरेर जाहेरवाली घर फर्कंदै रहिछन् । त्यसपछि प्रतिवादी विनोदले भने मैले एउटी केटी मिलाएको छु आउँछे भनी भनेकाले हामी फुलबारी रिसोर्ट फुदबाङ्ग गई खाजा खाइयो अनि माथि मोटरबाटोमा निस्कियौं । निज जाहेरवालीले सहप्रतिवादी विनोदलाई पहिले नै फलानो ठाउँमा आएपछि मिसकल गर्छु भनेकीले निज जाहेरवालीले सहप्रतिवादी विनोदलाई मिसकल गरेकीले हामी रिसोर्टबाट बाटोमा निस्कियौं । निजलाई ट्याक्सीमा राखी जाहेरवालीको घरतर्फ निजलाई छोड्न भनी गयौं । अलिकति पर गइसकेपछि विनोदले हामीलाई करणी गर्न देऊ । हामी पैसा दिन्छौं भनेपछि निज जाहेरवालीले हुन्छ भनी भने पछि हामीले गाडी घुमाएर सन्धिखर्कदेखि करिब ३ कि.मि. पूर्वमा पर्ने राताटारी भन्ने स्थानमा गएर गाडी रोक्यौं । पहिला सहप्रतिवादी विनोद र ती जाहेरवाली भएर तोरीबारीमा गए । अनि सहप्रतिवादी राजेश पालैपालो बारीमा गएका हुन् । किन गए के गरे थाहा भएन । हामी प्रतिवादी राज र म भरत भई गाडीमै बसेका हौं । हामीहरू तोरीबारीमा गएका होइनौं । यौन सम्पर्क पनि गरेका होइनौं । त्यसपछि उनीहरू आएपछि हामी गाडीमा फुदबाङ्ग आयौं । फुदबाङ्गबाट बलेबाङ्गतर्फ गयौं । निज जाहेरवालीले घर टाढा छ डर लाग्छ भनी भनेकीले हामी छोड्न जान्छौं भन्यौ तर निज जाहेरवालीले म सन्धिखर्क गएर बस्छु, भोलि जान्छु भनी भनेकीले सन्धिखर्क आई होटलमा विनोदसँग बसेकी हुन् । विनोदले होटलमा खाएको पैसा रू. १,३००।- तिरी अर्को दिन बिहान ५००।- पनि दिएका हुन् । हामी राति नै आ-आफ्नो घरमा गएका हौं । अर्को दिन बिहान घर जान्छु भनी जाहेरवाली आफ्नो घरतर्फ लागेकी हुन् । हामी गाडी किन्न भनी चन्द्रौटामा गएको बखतमा प्रहरीले त्यहीँ पक्राउ गरेको हो भन्ने प्रतिवादी भरत भुसालले अदालतमा गरेको बयान ।
मिति २०७३।०७।२५ गते म, भरत भुसाल, राजेश मिश्र र विनोद थापा शान्ती बगैचातिर घुम्दै जाँदा गाडीबाट जाहेरवाला अर्घाखाँची ४८ (डी) (परिवर्तित नाम) लाई देखी जाने हो भनी विनोद थापाले सोध्दा जाने हो म अहिले दिदीसँग छु । एकछिनपछि आउँछु भनी निज पीडितले तपाईको मोबाइल नम्बर दिनुहोस् मैले फुदबाङ्ग पुगेपछि मिसकल गर्दछु भनी विनोद थापालाई भनेकी हुन् । हामी ४ जना फुदबाङ्गको रिसोर्टमा गई खाजा खाँदै गरेको अवस्थामा यी जाहेरवालीले मिसकल गरेपछि हामी बाटोमा आयौ । हामीले जाने हो अब भनी सोध्दा निजले जाने भनी गाडीको ढोका खोली गाडीमा बसी हामी ५ जना गाडीमा बसी बलेबाङ्गतिर अगाडि गई आज यतै बसौं, तिमीलाई पैसा दिन्छौ भनी विनोद थापाले भन्दा हुन्छ भनेकीले हामीहरूले बाटो किनारमा गाडी रोकी जाहेरवाला र विनोद थापा बाटोदेखि माथितर्फ गए । करिब ५ मिनेटपछि विनोद थापा आएपछि राजेश मिश्र गयो । अनि करिब ७/८ मिनेटपछि राजेश मिश्र र जाहेरवाला भई गाडीमा आएपछि गाडी फर्काएर फुदबाङ्गबाट पुनः ढोरपाटनको बाटोतर्फ जाहेरवालालाई छोडन भनी अगाडि गएपछि म यतिबेला घर जान्न मलाई कोठा खोजिदिनुहोस् भनी यी जाहेरवालाले भनेपछि हामीहरू फुलबारी रिसोर्टमा पुगी कोठा खाली छैन भनी भनेकाले त्यहाँबाट सन्धिखर्क टुँडिखेलमुनि रहेको होटलमा विनोद थापा र यी जाहेरवाला गएर बसेका हुन् । म‚ भरत भुसाल र राजेश मिश्र आ-आफ्नो घरतर्फ लागेका हौं । निज जाहेरवालीसँग यौन सम्पर्क राखेका विनोद थापाले रू. २,०००।- तथा राजेश मिश्रले रू.१,०००।- गरी जम्मा रू. ३,०००।- दिएका हुन् । मैले निज जाहेरवालालाई करणी गरेको होइन । म गाडी किन्न चन्द्रौटा गई बसेको अवस्थामा सोही स्थानबाट पक्राउ परेको हुँ भन्ने प्रतिवादी राज भन्ने केशरी नन्दन अग्रहरीले अदालतमा गरेको बयान ।
मिति २०७३।०७।२५ गतेका दिन म मेरो दिदीसँग सन्धिखर्क एकादशीको मेला हेर्न भनी आएका थियौं । सोही मेला हेरी फर्कने क्रममा फुलबारी रिसोर्टमाथिको मोटरबाटोमा जाँदा विनोद थापाले (हाल चिनेको) मेरो मोबाइल नम्बर माग्नुभयो । मैले मोबाइल नम्बर दिइन । अनि मेरो मोबाइल लगी आफ्नो फोनमा मेरो फोनबाट डायल गरी मेरो मोबाइल मलाई नै दिए । आउ हामीसँगै जाऔं भनी लिएर फुदबाङ्ग बजारभन्दा माथि अलि-पर लिएर गएका हुन् । बजारबाटै सहमतिले हिँडेकी हुँ । अलि-पर गएर यौन सम्पर्क गरौंला भनी गाडीमा बसेका केटाहरूले भनेका हुन् । मैले पनि हुन्छ भनेँ । गाडी रोकेर म र गाडीमा भएकोमध्ये १ जना सँगै बारीतिर गयौँ । त्यसपछि त्यहाँ गएर यौन सम्पर्क राख्यौं सहमतिले । त्यसपछि अर्को गरी गाडीमा भएका ४ (चारै) जनाले नै यौन सम्पर्क गरेका हुन् । जबरजस्ती गाडीमा घिसार्दै बन्धक बनाई जबरजस्ती करणी गरेका होइनन् । उक्त दिन राति म बजारको एक होटलमा गाडीमा आएकामध्ये विनोद थापासँग बसेकी हुँ । सो राति पनि होटलमा २ पटक यौन सम्पर्क राखेका हौं । विनोदले मेरो घरसम्म नपुर्र्याइदिएकोले मैले रिस उठेर प्रहरीमा आएर यो उजुरी दिएकी हुँ भन्नेसमेत बेहोराको जाहेरवाला अर्घाखाँची ४८ (डी) (परिवर्तित नाम) ले अदालतमा गरेको बकपत्र ।
प्रतिवादीहरू चारै जनाले जबरजस्ती करणी गरेको भन्नेबारेमा मलाई थाहा छैन । उक्त दिन राति बहिनी होटलमा बसेको कुरा सन्धिखर्क आएर थाहा पाएँ । कोसँग बसेको हो थाहा भएन । सहमतिमा करणी गरेको हो भन्ने थाहा पाएको हुँ । सहमतिअनुसारको रकम प्रतिवादीहरूले बहिनीलाई नदिएको कारण जाहेरी दिएको हुन सक्छ भन्ने घटना विवरणका मानिस अर्घाखाँची ४८ (M) (परिवर्तित नाम) ले अदालतमा गरेको बकपत्र ।
छोरी जाहेरवालीलाई जबरजस्ती करणी तथा अपहरण तथा शरीर बन्धक गरेको कुरा ४/५ दिनपछि मेरो ठुलो छोरीले फोन गरेपछि मात्र थाहा पाएको हुँ । त्यसभन्दा बढी मैले केही थाहा पाएको छैन । प्रतिवादीहरूले छोरीलाई अपहरण गरेका होइनन् । उनीहरू सहमतिमै गएका हुन् भन्ने घटना विवरण कागजका तुलबहादुर सारूले अदालतमा गरेको बकपत्र ।
प्रतिवादी राजेश मिश्रले पीडित अर्घाखाँची ४८(डी) लाई राजीखुसीले सहमतिमा करणी गरेका हुन् । जबरजस्ती होइन । उनीहरूबिच आर्थिक कुरा नमिलेपछि निज पीडित जाहेरवालीले मुद्दा दायर गरेकी हुन् । प्रतिवादीहरूले जाहेरवालीलाई अपहरण गरेका होइनन् । प्रतिवादीहरूलाई सजाय हुनुपर्ने होइन भन्ने प्रतिवादी राजेश मिश्रका साक्षी गोविन्द मिश्रले अदालतमा गरेको बकपत्र ।
प्रतिवादीहरू अपहरण गर्ने केटाहरू होइनन्, सज्जन केटाहरू हुन् । गाडीमा नै आएका थिए । महिलाले नै आफैँ बोलाएको भनेको हुँदा यो अपहरण गरी शरीर बन्धक लिई जबरस्ती करणी गरेका होइनन् । उनीहरूले अपहरण गरे जस्तो लाग्दैन र गरेका पनि होइनन् । यी सम्पूर्ण प्रतिवादीहरू निर्दोष छन् भन्ने प्रतिवादी केशरी नन्दन अग्रहरीका साक्षी ऋषव भट्टराईले अदालतमा गरेको बकपत्र ।
भरत भुसालसमेतले जाहेरवालीलाई जबरजस्ती करणी गरेका होइनन् । जबरजस्ती भएको भए त उनी चिच्याउने कराउने गर्थिन् । उनीहरूको सहमतिमै भएको हो भन्ने थाहा पाएको हुँ । तर भरतले चाहीँ होइन भन्ने थाहा पाएको हुँ । प्रतिवादी भरतलाई सजाय हुनुपर्ने होइन भन्ने प्रतिवादी भरत भुसालको साक्षी पुरन वि.क.ले गरेको बकपत्र ।
प्रतिवादीहरूले कम रकम दिएको, पीडितलाई सम्बन्धित ठाउँसम्म पुर्याउने बाचा निजहरूले पूरा नगरिदिएको कारणले जाहेरवाली आवेगमा आएर जाहेरी दिएकी हुन् । निज प्रतिवादीहरू र जाहेरवाली स्वयं होटलमा बसी सँगै खाजा खाएको, होटलमा सँगै रात बिताएका आधारमा सहमतिमा करणी भएको हो भन्ने मलाई लाग्छ भन्ने प्रतिवादी विनोद थापाका साक्षी पृथ्वी थापाले अदालतमा गरेको बकपत्र ।
जाहेरवालालाई यी प्रतिवादीहरूले अपहरण गरी शरीर बन्धक लिएको भन्ने कुरा नदेखिएकोले सोतर्फ मागदाबी पुग्न नसक्ने ठहर्छ । प्रस्तुत मुद्दामा चार जना प्रतिवादी भई पीडित जाहेरवालालाई सामूहिक रूपमा जबरजस्ती करणी गरेको कसुर अपराध निर्विवाद रूपमा पुष्टि हुन आएकोले यी प्रतिवादीहरूलाई थप सजाय हुनुपर्ने देखिन आयो । यी प्रतिवादीहरू विनोद थापा, राज भन्ने केशरी नन्दन अग्रहरी‚ राजेश मिश्र र भरत भुसालले पीडित जाहेरवालालाई सामूहिक रूपमा जबरजस्ती करणीको कसुरमा मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं. को देहाय ५ बमोजिम ६ (छ) वर्ष कैद र यी प्रतिवादीहरूले पीडित जाहेरवालालाई सामूहिक रूपमा जबरजस्ती करणी गरेको कुरा प्रमाणित हुन आएकोले सोही महलको ३क. नं. बमोजिम थप ५ (पाँच) वर्ष कैद गरी जनही ११(एघार) वर्ष कैदको सजाय हुने ठहर्छ । साथै मुलुकी ऐन, जबरजस्ती करणीको महलको १० नं. बमोजिम यी पीडित जाहेरवालालाई प्रतिवादीहरू विनोद थापा, राज भन्ने केशरी नन्दन अग्रहरी‚ राजेश मिश्र र भरत भुसालले पुर्याएको शारीरिक तथा मानसिक क्षतिको विचार गर्दा प्रतिवादीहरूबाट जनही रू. ५०,०००।- (पचास हजार रूपैयाँ) का दरले जम्मा रू २,००,०००।- (दुई लाख रूपैयाँ) पीडितले क्षतिपूर्तिबापत दिलाई भराइपाउनेसमेत ठहर्छ भन्ने सुरू अर्घाखाँची जिल्ला अदालतको मिति २०७३।११।२६ को फैसला ।
जाहेरवाला महिला २२ वर्ष उमेर पार गरेकी बच्चाकी आमा हुन् । उनकै सहमतिमा करणी लेनदेन गरेपश्चात् निज महिला र प्रतिवादीका बिचमा कुरा नमिलेपछि पीडित भनिएकी जाहेरवालीले रिसाएर आवेगमा आई प्रहरीमा उजुरी दिएकी हुन् । जाहेरवालीलाई दबाब र प्रभावमा पारी बयान फेर्न लगाइएको कुरा झुठा हो । वारदातस्थल लवकुश होटल चौबिसै घण्टा प्रहरी पहरा हुने तथा प्रहरी कार्यालय १५० मि.को दुरीमा रहेकोले जाहेरवालीले जबरजस्ती करणी विरूद्धको हार गुहार गर्न सक्ने अवस्था पनि रहेकाले पनि निजउपर जबरजस्ती करणी गर्न सक्ने अवस्था रहँदैन । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा पनि हामी प्रतिवादीहरूले पीडित भनिएकी महिलाका उपरमा जबरजस्ती करणी गरेका छैनौँ भन्ने कुरा पुष्टि भएको छ । तसर्थ अभियोग दाबीबाट हामीहरूलाई पूर्ण रूपमा सफाइ दिलाइपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादीहरू विनोद थापा, राजेश मिश्र, भरत भुसाल र राज भन्ने केशरी नन्दन अग्रहरीको संयुक्त पुनरावेदन पत्र ।
प्रतिवादीहरू विनोद थापा, राजेश मिश्र, भरत भुसाल र राज भन्ने केशरी नन्दन अग्रहरीले उक्त वारदातको दिन बेलुका लु.१ ज २९८२ .नं को सेतो कारमा फर्की सन्धिखर्कतर्फ आउँदा कच्ची सडकमा पैदल हिँडेकी जाहेरवालीलाई देखी निजसँग बोल्ने जिस्क्याउने उद्देश्यले निजको मोबाइल नं. माग्दा नदिएपछि निजको हातमा रहेको मोबाइल खोसी पीडितले प्रतिकार गर्दासमेत तानी डर त्रास देखाई मुख छोपी उक्त कार गाडीमा राखी अपहरण गरी होटलमा लगी जबरजस्ती करणी गरेको भन्ने पीडितको जाहेरीतर्फ विश्लेषण नै नगरी उक्त अपहरण तथा शरीर बन्धकको कसुर अपराधमा प्रतिवादीलाई सफाइ दिई केवल जबरजस्ती करणीतर्फ मात्र कसुर कायम गर्ने गरी गरेको सुरू अदालतको फैसला त्रुटिपूर्ण भएकाले बदर गरी प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम अपहरण तथा शरीर बन्धकतर्फसमेत सजाय गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदनपत्र ।
यसमा जाहेरवाला पीडित परिवर्तित नाम अर्घाखाँची ४८(डी) २२ वर्ष उमेरकी महिला रहेको, प्रतिवादी विनोद थापा तथा राजेश मिश्रले पीडितलाई आफूहरूले करणी नगरेको भनी अदालतसमक्ष आरोपित कसुरमा इन्कारी रही बयान गरेको साथै पीडितले अदालतसमक्ष उपस्थित भई प्रतिवादीहरूले सहमति भई करणी गरेको हो जबरजस्ती गरेको होइन भनी बकपत्र गरेको समेतका अवस्थामा प्रतिवादीहरूउपर अभियोग दाबीबमोजिम जबरजस्ती करणीको कसुर स्थापित गरी सजाय गरेको सुरू फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं. को प्रयोजनार्थ पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन पत्रको प्रतिलिपिसहित पुनरावेदनको जानकारी उच्च सरकारी वकिल कार्यालय, बुटवललाई दिई नियमानुसार पेस गर्नु भन्ने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश ।
प्रतिवादीहरू विनोद थापा, राज भन्ने केशरी नन्दन अग्रहरी‚ राजेश मिश्र र भरत भुसाललाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं को देहाय ५ बमोजिम ६ (छ) वर्ष कैद र प्रतिवादीहरूले पीडितलाई सामूहिक रूपमा जबरजस्ती करणी गरेकोमा सोही महलको ३क. नं.बमोजिम थप ५ (पाँच) वर्ष कैद गरी जनही ११(एघार) वर्ष कैदको सजाय हुने र मुलुकी ऐन, जबरजस्ती करणीको महलको १० नं.बमोजिम प्रतिवादीहरू विनोद थापा, राज भन्ने केशरी नन्दन अग्रहरी‚ राजेश मिश्र र भरत भुसालबाट पीडितले जनही रू. ५०,०००।- (पचास हजार रूपैयाँ) का दरले क्षतिपूर्ति पाउने तथा प्रतिवादीहरूले पीडित जाहेरवालाउपर अपहरण तथा शरीर बन्धकको कसुर गरेकाले प्रतिवादीहरूलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिने महलको ३‚ ७‚ ८ र ९ बमोजिम सजाय गरिपाउँ भन्ने दाबी पुग्न नसक्ने ठहर गरेको सुरू फैसला अन्यथा नदेखिएकाले कसुरबाट सफाइ पाउँ भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकिर र प्रतिवादीहरूलाई जाहेरवालाउपर अपहरण तथा शरीर बन्धकको कसुर गरेकाले अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । तसर्थ अर्घाखाँची जिल्ला अदलतबाट मिति२०७३/११/२६ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको मिति २०७४।१०।२२ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला ।
प्रथमत कसुर हुन मन्जुरी नलिई करणी गरेको कार्य स्थापित हुनुपर्दछ । प्रतिवादीहरूले अदालतसमक्षको बयानमा प्रस्टसँग सहमतिमै करणी लेनदेन भएको भन्ने खुलाएको अवस्था छ । पीडित भनिएकी व्यक्तिले नै सुरू जाहेरी एवं बयान अन्यथा प्रमाणित हुने गरी बकपत्र गरेकी छन् । पीडित भनिएकी अर्घाखाँची ४८ (डी) को जाहेरी दरखास्तको बेहोरासमेत आफैँमा विरोधाभाषपूर्ण रहेको छ, जाहेरी दरखास्तको बेहोराबमोजिम सो नियन्त्रणमा लिएको भन्ने स्थानमा निज स्वयं एकाघरकी दिदी र दिदीको छोरो एवं गाउँलेहरूसमेत रहेको भन्ने जाहेरी बेहोरा रहेको छ । पीडितका दिदीका छोरा एवं दिदीले गरेको घटना विवरण कागजमा बैनी एवं सानो आमालाई प्रतिवादीले नियन्त्रणमा लिएको तत्काल थाहा पाएकोमा विवाद छैन । त्यसरी अपरिचित व्यक्तिले नियन्त्रणमा लिएर जाँदा तत्काल हार गुहार नगरी यताउति खोज्दा नभेटी बेलुका घरमा गएको भन्ने बेहोरा नै आफैँमा अस्वाभाविक रहेको छ । पीडितलाई जबरजस्ती भएको भए तत्काल प्रतिकार गर्न सक्ने अवस्था रहँदारहँदै प्रतिकार, हारगुहार गरेको पनि देखिँदैन । प्रतिवादीले गरेको भनिएको साबिती बयानलाई मात्र मूल आधार लिई अन्य नजिर सिद्धान्त प्रमाणलाई विश्लेषण नगरी उच्च अदालत दाङ, तुलसीपुर, बुटवल इजलासको हचुवापूर्ण फैसला बदर गरिपाउँ न्याय इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको विनोद थापासमेतको पुनरावेदन पत्र ।
पीडितसँग एक्कासि बाटोमा भेटिएका ४।४ जना प्रतिवादीहरूसँग मन्जुरीसँग करणी गराउनलाई गाडीमा गएकी भनी अपहरण तथा शरीरबन्धकको कसुर नठहऱ्याउन लिइएको आधार आफैँमा खण्डित छ । नियतिबाट पीडित महिलाले कुनै परिबन्द वा प्रभावमा परी तथ्य नमिल्दो तर प्रतिवादीहरूलाई सजिलो पार्ने प्रयासमा भएको बकपत्र’ तथा सो बकपत्रमा अपहरण नभई मन्जुरीले गएको भन्ने भनाइ सत्य नभएको कुरा स्वतः स्पष्ट छ । यस्तो विरोधाभाषयुक्त बकपत्रलाई प्रमाणग्राह्य गरी निज प्रतिवादीहरूलाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको अभियोग दाबीबाट सफाइ दिइएको उच्च अदालतको फैसला खारेजभागी छ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट परेको पुनरावेदन ।
यसमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७४।१०।२२ मा भएको फैसलाउपर वादी नेपाल सरकार र प्रतिवादीहरू दुवै पक्षको पुनरावेदन परेको देखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) को प्रयोजनार्थ वादी नेपाल सरकारको पुनरावेदन प्रतिवादीहरूलाई र प्रतिवादीहरूको पुनरावेदन महान्यायाधिवक्ताको कार्यालयलाई जानकारी दिई नियमानुसार गरी पेस गर्नुहोला भन्नेसमेत बेहोराको मिति २०८०।०२।०२ गते यस अदालतको आदेश ।
ठहर खण्ड
नियमबमोजिम मुद्दा पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री रेशम आचार्यले प्रतिवादीहरूले पीडितलाई शरीर बन्धक बनाई जबरजस्ती करणी गरेको भन्ने जाहेरी, प्रतिवादीहरूको मौकाको बयान एवम् साक्षीहरूको बकपत्रसमेतबाट प्रमाणित छ, जाहेरवालालगायत वादीका साक्षीलाई होस्टाइल बनाई प्रतिवादीहरूको अनुकूलतामा बकपत्र गर्न बाध्य बनाएको परिस्थितिमा समेत प्रतिवादीहरूले सामूहिकरूपमा आफूलाई कारमा लगी करणी गरेको भन्ने उल्लेख भएको छ, यस अवस्थामा अपहरण तथा शरीर बन्धकतर्फ अभियोग दाबी पुष्टि नहुने भनी ठहर्याएको हदसम्म उच्च अदालत तुलसीपुर बुटवल इजलासको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उल्टी गरी प्रतिवादीहरूलाई पूर्णरूपमा अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
पुनरावेदक विनोद थापाका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री चुडामणी भुषाल र राज भन्ने केशरी नन्दन अग्रहरीसमेतको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री अर्जुनकुमार बास्कोटाले वारदातको दिन पीडित आफ्नो दिदी र दिदीको छोराको साथ भएकोमा विवाद छैन, आफ्नो बहिनी रातभरि घर नआएको अवस्थामा निजहरूले कहीँ उजुर नगरी बसेको भन्ने विश्वसनीय छैन, पीडितलाई जबरजस्ती करणी भएको भनिएको ठाउँभन्दा केही परको दुरीमा प्रहरी कार्यालय भएको, उक्त ठाउँ सुनसान सडक नभई गाउँलेहरू आवतजावत गर्ने ठाउँ भएको र पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा निज fully alert रहेको भन्ने देखिएको परिप्रेक्ष्यमा पीडितले हार गुहारसमेत नगरेको तथ्यबाट सहमतिमा नै करणी भएको भन्ने पुष्टि हुन्छ, हुलिया जाहेरी र किटानी जाहेरीसमेत विरोधाभासपूर्ण छ, वारदात नै नभएको अवस्थामा प्रतिवादीहरूलाई पूर्ण रूपमा सफाइ हुनुपर्ने हो अन्यथा राज भन्ने केशरी नन्दन मुख्य अभियुक्त रहेको कहीँकतै प्रमाणबाट देखिँदैन, तसर्थ निजको हकमा मतियारतर्फ मात्र सजाय हुनुपर्नेमा उच्च अदालतबाट सामूहिक रूपमा जबरजस्ती करणीतर्फ प्रतिवादीहरूलाई एकैसरहको सजाय हुने ठहर्याएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
यसमा परिवर्तित नाम अर्घाखाँची ४८(डि) को हुलिया जाहेरीबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । उक्त जाहेरीमा निजले आफूउपर भएको घटनाबारे उल्लेख गर्दै मिति २०७३।०७।२५ गते फुदवाङ्ग रिसोर्ट नजिकै पैदल हिँड्दै गएको अवस्थामा सेतो कारमा आएका चारजना मानिसहरूले आफूलाई जबरजस्ती कारमा राखी राताटारीको तोरीबारीमा लगी पालैपालो जबरजस्ती करणी गरी झोल औषधी जस्तो खुवाएर सोही गाडीमा सन्धिखर्क बजारको होटलमा ल्याई निजहरूमध्ये १ जना रातभरि होटलको कोठामा बसी करणी गरेको भन्ने आरोप लगाएको पाइन्छ । निजको जाहेरीपछि अनुसन्धानको क्रममा प्रतिवादीहरू विनोद थापा, राज भन्ने केशरी नन्दन अग्रहरी, राजेश मिश्र र भरत भुसाल पक्राउ परी अनुसन्धानबाट निजहरू दोषी देखिएको भन्दै अभियोगपत्र पेस भई सुरू अर्घाखाँची जिल्ला अदालतबाट निजहरूलाई साबिक मुलुकी ऐन जबरजस्ती करणीको महलको ३ नं. को देहाय ५ बमोजिम ६ वर्ष कैद र सामूहिक जबरजस्ती करणीतर्फ ऐ. ३क. नं. बमोजिम थप ५ (पाँच) वर्ष कैद गरी जम्मा ११ (वर्ष) कैद तथा पीडितले प्रतिवादीहरूबाट जनही रू.५०,०००/- (पचास हजार) पाउने एवम् अपहरण तथा शरीर बन्धकतर्फ अभियोग दाबी नपुग्ने ठहर्याई फैसला भएको र सोही फैसला उच्च अदालत तुलसीपुर बुटवल इजलासले समेत सदर भएको देखिन्छ । उक्त फैसला चित्त नबुझाई वादी नेपाल सरकार तथा प्रतिवादीहरूको यस अदालतमा दोहोरो पुनरावेदन परेको परी प्रस्तुत मुद्दा यस इजलाससमक्ष पेस हुन आएको छ ।
मिसिल संलग्न पुनरावेदनहरू हेर्दा अपहरण तथा शरीर बन्धकको कसुरतर्फ दाबी नपुग्ने ठहराएकोमा वादी नेपाल सरकारको र पीडित महिलासँग करणीको निम्ति लेनदेन भई निजको सहमतिमा नै करणी लिने दिने भएकोसमेत हुँदा सामूहिक जबरजस्ती करणीतर्फ सजाय गरेको सुरू र उच्च अदालत तुलसीपुर बुटवल इजलासको फैसला सो हदसम्म उल्टी हुनुपर्छ भन्ने प्रतिवादीहरूको संयुक्त पुनरावेदन जिकिर रहेको देखिन्छ ।
उपर्युक्तबमोजिमको तथ्य, दुवैतर्फको पुनरावेदन जिकिर र विद्वान् कानून व्यवसायीहरू तथा विद्वान् उपन्यायाधिवक्ताले गर्नुभएको बहससमेत सुनी निर्णयतर्फ विचार गर्दा निम्न प्रश्नहरूको निरूपण गर्नुपर्ने देखिन आयोः
क. वादीको अभियोग दाबीबमोजिम प्रतिवादीहरूले अपहरण तथा शरीर बन्धकको कसुर गरेका हुन् वा होइनन् ?
ख. प्रतिवादीहरूले पीडितलाई सामूहिकरूपमा जबरजस्ती करणी गरेका हुन् वा होइनन् ?
ग. उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट भएको फैसला मिलेको छ वा छैन ? पुनरावेदक वादी एवम् प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ?
२. सर्वप्रथम वादीको अभियोग दाबीबमोजिम प्रतिवादीहरूले अपहरण तथा शरीर बन्धकको कसुर गरेका हुन् वा होइनन् ? भन्ने प्रश्न सम्बन्धमा विचार गर्दा सन्धिखर्कबाट घर फर्कने क्रममा हिँड्दै गरेकी पीडित (जाहेरवाला) लाई प्रतिवादीहरूले गाडीमा राखी रातटारीको तोरीबारीमा र पछि लवकुश होटलमा समेत जबरजस्ती करणी गरेको भन्ने हुलिया जाहेरी छ । तोरी बारीमा सामूहिक रूपमा करणी गरेपछि जाहेरवाला र प्रतिवादीमध्ये विनोद थापा मात्र लवकुश होटलमा रातभरि सँगै बसी भोलिपल्ट जाहेरवाला उठी गएको देखिई कसैले उद्धार गरेको भन्ने देखिँदैन । न त अन्य प्रतिवादीहरू होटेलमा गएको वा यी पीडितलाई लगातार नियन्त्रणमा लिएको भन्ने नै देखिन्छ । पीडितको जाहेरी एवम् अनुसन्धानको क्रममा कागज गरिदिने व्यक्तिहरूले समेत प्रतिवादीहरूले पीडितलाई सामूहिकरूपमा जबरजस्ती करणी गरेको भन्ने लेखाए तापनि अपहरण तथा शरीर बन्धकको घटना घटेको हो भनी खुलाएको अवस्था पनि देखिन आउँदैन । यसरी मिसिल संलग्न कागज प्रमाणबाट कसैले पीडितलाई बन्धक बनाएको र पछि निजको उद्धार भएको भन्ने नदेखिई जबरजस्ती करणीको कसुर गरिएको भन्नेसम्म देखिन्छ । अर्थात् मुलुकी ऐन अपहरण तथा शरीर बन्धकको महलसमेत आकर्षित गरी नेपाल सरकारले प्रतिवादीहरू विरूद्ध अभियोग दायर गरेको देखिए तापनि सोतर्फ अनुसन्धान भई तथ्यहरूमार्फत अभियोग स्थापित गराउन सकेको देखिँदैन । यस अवस्थामा प्रतिवादीहरूले जाहेरवालालाई अपहरण तथा शरीर बन्धकको कसुर गरेको भन्ने देखिन आएन । तसर्थ, सोतर्फको नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन ।
३. अब, प्रतिवादीहरूले पीडितलाई सामूहिकरूपमा जबरजस्ती करणी गरेका हुन् वा होइनन्? भन्ने दोस्रो प्रश्न सम्बन्धमा विचार गर्दा माथि उल्लेख गरेअनुसार प्रस्तुत मुद्दाको अनुसन्धान हुलिया जाहेरीबाट सुरू भएको देखिन्छ भने चारै जना प्रतिवादीहरू पक्राउ परेपछि निजहरूको सनाखत भएको र तत्पश्चात् पुनः मिति २०७३/७/२९ मा अर्घाखाँची ४ (डि) ले सामूहिक जबरजस्ती करणीको विषयमा जाहेरी दिएको देखिन्छ । घटनाबारे विस्तृत रूपमा प्रकाश पार्दै सो जाहेरीमा "मिति २०७३।०७।२५ मा मेरो छोराको उपचार गराई बेलुका सन्धिखर्कबाट घर फर्किने क्रममा पैदल हिँड्दै गरेको अवस्थामा सेतो कारमा आएका चार जना मानिसहरूले मलाई जबरजस्ती कारमा राखी मेरो मोबाइल खोसी राताटारी भन्ने स्थानको तोरीबारीमा लगी पालैपालो जबरजस्ती करणी गरी झोल औषधी जस्तो खुवाएर सोही गाडीमा सन्धिखर्क बजारको होटलमा ल्याई निजहरूमध्ये १ जनाले रातभरि होटलको कोठामा जबरजस्ती करणी गरेको र भोलिपल्ट बिहान निज सुतिरहेको अवस्थामा बिस्तारामा मेरो मोबाइल सेट देखी उक्त मोबाइल लिई त्यहाँबाट भागी तत्काल हुलिया जाहेरी दिएको हुँ । ऐ.२७ गते निजहरूले मलाई मोबाइलमा फोन गरी प्रहरीमा उजुरी नगर तिमीलाई पैसा दिन्छौं, समन्वय गर्न मानिस पठाएका छौं भनी भनेको र निजहरूले पठाएको व्यक्तिले फोन गरी मलाई भेट गरी सोधपुछ गर्दा निज भरत भुसालको भाइ भएको र मलाई करणी गर्ने राजेश मिश्र, विनोद थापा, राज भन्ने केशरी नन्दन अग्रहरी र भरत भुसाल भएको हुँदा निजहरूलाई हदैसम्मको कारबाही गरी क्षतिपूर्तिसमेत दिलाइपाउँ" भन्ने उल्लेख भएको देखिन्छ । प्रतिवादीहरूले अनुसन्धानमा गरेको बयान हेर्दा चारै जनाले तोरीबारीमा पालैपालो करणी गरेकोमा साबित रहेको देखिन्छ भने अदालतमा बयान गर्दा विनोद थापा र राजेश मिश्र करणी गरेकोमा साबित रही अन्य दुई जना भरत भुसाल र केशरी नन्दन अग्रहरीले करणी गरेको इन्कारी बयान दिए तापनि वारदात स्थलमा उपस्थित रहेकोमा साबित देखिन्छ । तर यी प्रतिवादीहरूले यस अदालतमा संयुक्तरूपमा पुनरावेदन गर्दा प्रकरण नं.३ ग. को पहिलो हरफमा "हामी पुनरावेदक प्रतिवादीहरूले करणी लिने दिने गरेको विषयलाई स्वीकार गरेका छौं" भन्ने जिकिर लिएका छन् । यसबाट यी चारैजना प्रतिवादीहरूले पीडितलाई करणी गरेका रहेनछन् भन्न मिल्ने देखिएन ।
४. अब प्रस्तुत मुद्दामा पीडितले जाहेरी र बकपत्रमा उल्लेख गरेको कुरा एकआपसमा बाझिएको अवस्था हुँदा प्रस्तुत विषयलाई कसरी हेर्ने भन्ने मूल प्रश्न उत्पन्न भएको देखिन्छ । सो सन्दर्भमा अदालतमा बकपत्र गर्दा निज पीडितले मिति २०७३।०७।२५ गतेका दिन म मेरो दिदीसँग सन्धिखर्क एकादशीको मेला हेर्न भनी आएका थियौं । सोही मेला हेरी फर्कने क्रममा फुलबारी रिसोर्ट माथिको मोटरबाटोमा जाँदा विनोद थापाले (हाल चिनेको) मेरो मोबाइल नम्बर माग्नुभयो । मैले मोबाइल नम्बर दिइनँ । अनि मेरो मोबाइल लगी आफ्नो फोनमा मेरो फोनबाट डायल गरी मेरो मोबाइल मलाई नै दिए । आउ हामीसँगै जाऔं भनी लिएर फुदबाङ्ग बजारभन्दा माथि अलि-पर लिएर गएका हुन् । बजारबाटै सहमतिले हिँडेकी हुँ । अलि-पर गएर यौन सम्पर्क गरौला भनी गाडीमा बसेका केटाहरूले भनेका हुन् । मैले पनि हुन्छ भनेँ । गाडी रोकेर म र गाडीमा भएकोमध्ये १ जना सँगै बारीतिर गयौं । त्यसपछि त्यहाँ गएर सहमतिले यौन सम्पर्क राख्यौं । त्यसपछि अर्को गरी गाडीमा भएका ४ (चारै) जनाले नै यौन सम्पर्क गरेका हुन् । जबरजस्ती गाडीमा घसार्दै बन्धक बनाई जबरजस्ती करणी गरेका होइनन् । उक्त दिन राति म बजारको एक होटलमा गाडीमा आएकामध्ये विनोद थापासँग बसेकी हुँ । सो राति पनि होटलमा २ पटक यौन सम्पर्क राखेका हौं । विनोदले मेरो घरसम्म नपुर्याइदिएकोले मैले रिस उठेर प्रहरीमा आएर यो उजुरी दिएकी हुँ भन्नेसमेत बेहोराको जाहेरवाला (परिवर्तित नाम) अर्घाखाँची ४८ (डी) ले अदालतमा मिति २०७३।०९।२१ मा बकपत्र गरेको पाइन्छ ।
५. तर सो वारदातपश्चात् पीडित जाहेरवालाको मिति २०७३/७/२६ मा स्वास्थ्य परीक्षण भएको र सो परीक्षण प्रतिवेदनमा there was a abrasion contusion with bleeding on posterior aspect of vulva that extend into labia minora and posterior vaginal wall, recent vaginal penetration भनी उल्लेख भएको देखिन्छ । पीडितसँग वारदातको समयमा सँगै रहेको व्यक्तिहरू अर्घाखाँची ४८ (के), अर्घाखाँची ४८ (एम),समेतले प्रतिवादीहरूले पालैपालो पीडितलाई निजको इच्छाबिना जबरजस्ती करणी गरेको हो भनी मौकामा कागज गरेको देखिन्छ । यी व्यक्तिहरूमध्ये अर्घाखाँची ४८(के) १० वर्षीय बालक पीडतका दिदीका छोरा हुन् र वारदातको दिन र समयमा पीडित सँगै रहेका छन् । यिनले, "कार्तिक २५ गते बिहान निज जाहेरवाली, म र मेरो आमासमेत भई सन्धिखर्क बजारमा आई बेलुका ढोरपाटनको बाटो हुँदै घरतर्फ जाने क्रममा पैदलै गएका थियौं । म जाहेरवालीसँग केही पछिपछि थिएँ भने मेरो आमा र अन्य व्यक्तिहरू अलि अगाडिअगाडि थिए । यसै क्रममा फुदवाङ्ग रिसोर्टतर्फबाट सेतो कारमा आएका व्यक्तिले कार एक्कासि हामी भएको स्थानमा ल्याई रोकी कारभित्र रहेका एकजना पुरूष व्यक्तिले जाहेरवालीको मोबाइल नं. माग्दा जाहेरवालीले किन चाहियो भनेपछि निज व्यक्तिले जाहेरवालीको मोबाइल खोसी लगेपश्चात् किन मेरो मोबाइल लगेको भनी पछिपछि कारतर्फ जाँदा मोबाइल लानेसमेत चार जनाले जाहेरवालीको हात खुट्टा समाती जबरजस्ती कारमा राखी सन्धिखर्कतर्फ लगेको देखी म दगुर्दै गई आमालाई सबै कुरा बताएँ । आमा त्यहाँबाट फर्की आई खोज्दा नभेटेपछि घर गयौं" भनी घटना विवरण कागजमा लेखाएको देखिन्छ । सोही विवरणसँग मिल्दो कागज पीडितकी दिदी अर्घाखाँची (यम) को पनि छ । अनुसन्धानमा यी व्यक्तिहरूको मात्र कागज भएको छैन पीडितलाई सम्झाउन मनाउन गएका भनिएका भरत भुसालको भाइ दिपक भुसाल र अर्का पुरन वि.क. को पनि कागज छ । यिनै व्यक्तिहरू पक्राउ परेपछि यी प्रतिवादीहरूको नाम खुल्न आई निजहरू पक्राउ परेको अवस्थासमेत छ ।
६. यसरी जाहेरवाला पीडितको अनुसन्धानमा भएको कागज एवम् बकपत्र एकआपसमा विरोधाभासपूर्ण भएको अवस्थामा न्याय निरूपणका निम्ति सूक्ष्म तवरबाट प्रमाणको सत्य तथ्य परीक्षण गर्नु आवश्यक देखियो । वारदातको दिन सन्धिखर्कमा एकादशी मेला लागेको र सो मेलासमेत हेरी यी पीडित, निजकी दिदी र दिदीको छोरासमेत साँझको बेला घर फर्कने क्रममा रहेको, बाटोमा हिँड्दै गर्दा जाहेरवालाको दिदी अर्घाखाँची (एम) र बिरामी छोरा केही अघि हिँड्दै गरेको तथा जाहेरवालाको दिदीको छोरा अर्घाखाँची ४८ (के) निज जाहेरवालाको केही पछि हिँडिरहेको अवस्था देखिन्छ । वारदात कारमा आएका अल्लारे उमेरका प्रतिवादीहरूले घटाएका छन् । सो गर्ने क्रममा सेतो कारमा आएका प्रतिवादीहरूले पीडितको मोबाइल खोसेपछि किन मोबाइल खोसेको भनी पछिपछि कारतर्फ दौडी जाँदा पीडितलाई कारमा रहेका चारै जना व्यक्तिले जबरजस्ती कारमा चढाई लगेको भनी पीडितको हुलिया एवम् किटानी जाहेरीमा उल्लेख भएको छ । सोही कुरा समर्थन हुने गरी घटनाका प्रत्यक्षदर्शी अर्घाखाँची ४८(के) ले समेत घटना विवरण कागज गरेको देखिन्छ । कोही कसैले आफ्नो मोबाइल खोसेपछि मोबाइल लिन जाहेरवालाले निजहरूलाई पछ्याउनु स्वाभाविक हुन्छ । घटनास्थलको अवस्था हेर्दा जाहेरवाला निरिह र असुरक्षित रहेको देखिन्छ भने प्रतिवादीहरू कार चढ्न सक्षम र स्रोत साधन सम्पन्न व्यक्ति देखिन्छ । पीडितका साथमा भएको वर्ष १० को (नाबालक दिदीको छोरा) ले पीडितलाई कारमा उठाई लगेको प्रत्यक्ष देखेको र दगुर्दै गई निजको आमा (जाहेरवालाको दिदी) लाई बताएको र निजहरू फर्किएर आई पीडित अर्घाखाँची ४८ (डि) लाई खोज्दा फेला नपरेको भन्ने अर्घाखाँची ४८(के) र अर्घाखाँची ४८(एम) ले गरेको घटना विवरण कागजमा उल्लेख भएको देखिन्छ । यसरी बहिनीलाई नदेखेपछि जाहेरवालाको दिदीको साथमा जाहेरवाला र आफ्नोसमेत गरी दुई नाबालक छोरा रहेको र साँझ परिसकेको अवस्थामा निजहरू घर जानु स्वाभाविक नै देखिन्छ । भोलिपल्ट बहिनी सम्पर्कमा आएपश्चात् तत् समयमा नै जाहेरी परेको अवस्था यहाँ छ ।
७. उपर्युक्त सन्दर्भमा पीडितको बकपत्रलाई विश्लेषण गरी हेर्दा पनि प्रतिवादीहरू र पीडित एकै गाउँ ठाउँका पूर्वपरिचित व्यक्तिहरू हुन् भन्ने देखिँदैन । बकपत्रमै पनि पीडितले प्रतिवादीहरूलाई हाल चिनेको भनेकी छन् र मोबाइल खोसी निजको मोबाइलबाट आफ्नो मोबाइलमा फोन गरेको भनेकी छन् । माथि उल्लिखित पीडितको स्वास्थ्य जाँचको विवरण हेर्दा घटना गम्भीर रहेछ भन्ने देखिन्छ । छोराको औषधोपचार गरी एकादशीको मेलासमेत हेरेर घर जान फर्केकी महिलालाई फन्दामा पारी रातको समयमा प्रतिवादीहरूले ब्वाँसोले जस्तो झम्टिएको पाइन्छ । मिसिल संलग्न CDR बाट वारदातपश्चात् प्रतिवादी विनोद थापाले प्रयोग गरिरहेको मोबाइल नं. ९८२२८८४२३० बाट पीडितको मोबाइल नं. ९८१६४६४११७ मा पटकपटक गरी उन्नाइसचोटि फोन सम्पर्क भएको देखिन्छ । प्रतिवादीहरूमध्ये भरत भुसालको भाइ दिपक भुसाल र निजकै ट्रक चलाउने व्यक्ति पुरन बि.क. को कागज हेर्दा वारदातपछि यी प्रतिवादीहरू चन्द्रौटामा लुकी बसेको र पीडितको सम्पर्क नं.समेत दिई निजलाई भेटी कुरा मिलाउनु भनेबाट आफूहरूले जाहेरवालालाई सम्पर्क गरी सन्धिखर्कमा भेट्ने क्रममा प्रहरीले समातेको भनी उल्लेख गरी मौकामा कागज गरेको देखिन्छ । यिनै व्यक्तिहरू पक्राउ परेपछि प्रतिवादीहरूको हुलिया खुलेको र दोस्रो जाहेरीमा नाम उल्लेख भई प्रतिवादीहरूको सनाखतसमेत भएको पाइन्छ । यसो हुन स्वाभाविक छ किनकि वारदातको प्रकृतिले त्यही कुरा बताउँछ । पीडित र प्रतिवादीहरूबिच पूर्वचिनजानसमेत नभएको अवस्थामा वारदातपश्चात् प्रतिवादीमध्ये विनोद थापाले पीडितलाई पटकपटक फोन सम्पर्क गर्नु तथा दिपक भुसाल र पुरन वि.क.ले प्रतिवादीहरूले जाहेरवालासँग कुरा मिलाउनु भनी पठाएको भनी मौकामा कागज गरेको अवस्थामा वारदातलाई ढाकछोप गर्नका निम्ति जाहेरवालालाई दबाब एवम् प्रभावमा पार्न वारदातपश्चात्समेत सम्पर्क गरेको भन्ने देखिन्छ । यसरी परिस्थिति र समयले गालेको असंरक्षित पीडितलाई प्रतिवादीहरूले आर्थिक लोभ र अन्य प्रभावमा पार्न खोजेको स्पष्ट देखिन्छ ।
८. लामो समयसम्म जबरजस्ती करणीलाई फौजदारी कसुरको रूपमा हेरिएकोमा पछिल्लो समयमा आएर यसलाई मानव अधिकारको दृष्टिकोणबाट पनि हेर्न थालिएको छ । वस्तुतः जबरजस्ती करणी महिलाको अस्मिता, अखण्डता र यौनजन्य स्वायत्तताउपरको आक्रमण हो भन्ने गरिन्छ । यो आक्रमणले पीडितको शरीरिक तथा मानसिक स्वास्थ्य, व्यक्तिगत सुरक्षा, स्वतन्त्रता र समानताको अधिकारमा असर गर्छ । यस्तो प्रकृतिको वारदातले पीडितको व्यक्तित्वलाई नै क्षीण बनाउँछ । कुनै पनि व्यक्तिलाई समाजमा स्वतन्त्रतापूर्वक सम्मानित र जीवन जिउने अधिकार हुन्छ । सामूहिकरूपमा जबरजस्ती करणीको नारकीय कुकृत्यले व्यक्तिको त्यस्तो अधिकारलाई विभत्सरूपमा सखाप पारिदिने र मानव भएर समाजमा मर्यादित ढङ्गले जिउने अधिकारमाथि समेत गम्भीर आघात पुर्याउँदछ । साथै यसले मानवीय संवेदनालाई समेत धुमिल बनाई स्वच्छ एवम् शान्तिपूर्ण समाजमा बस्न पाउने मानव अधिकारलाई समेत नष्ट गरिदिन्छ । भनिन्छ हत्यामा पीडित एकपटक मर्छ तर जबरजस्ती करणीमा पीडित पटकपटक मर्छ । यस्ता घटनाले हामी सभ्य र मर्यादित समाजमा बाँचिरहेका छौं भन्ने सामाजिक चेतमा नै प्रहार गर्छ र समस्त समाजलाई असुरक्षित बनाउँछ । महिलाहरूउपर गरिने यौनजन्य हिंसा केवल महिला मात्रको मुद्दा होइन; यो त समस्त समाजको प्रतिष्ठा र आधारभूत मानव अधिकारको मुद्दा हो । त्यसैले महिलाउपर हुने सामूहिक जबरजस्ती करणी जस्ता गम्भीर प्रकृतिका यौनजन्य हिंसाका कसुरहरूबाट पीडितको रक्षा गर्नु र अभियुक्तलाई कानूनबमोजिम उपयुक्त सजाय दिलाउनु राज्यको दायित्व बन्दछ । यो कुरालाई पनि अदालतले बिर्सन मिल्दैन । हाम्रो सर्वोच्च अदालतले मधुकर राजभण्डारी विरूद्ध श्री ५ को सरकार भएको मुद्दामा (ने.का.प २०५७ नि.नं. ६९४९) मुद्दामा "यस्तो प्रकृतिको अपराधमा पीडितको कलिलो उमेर र निजउपर भएको शारीरिक एवं मानसिक बलात्कार, आपराधीको पाशविक मनोवृत्ति र बर्बरतापूर्ण शारीरिक एवं मानसिक आक्रमणले पीडित महिलाले सहनुपर्ने जीवनभरिको मनोवैज्ञानिक चोट र कुन्ठा एवं पीडित परिवारले बेहोर्नुपर्ने समाजिक बदनामीसम्बन्धी तथ्यगत कुराहरू महत्त्वपूर्ण देखिन आउँछ भन्ने दृष्टिकोण व्यक्त गरेको कुरा पनि स्मरणीय देखिन्छ । जबरजस्ती करणीलाई मानव अधिकारको दृष्टिबाट हेर्दा जस्तो प्रकृतिको अपराधले पीडितलाई शारीरिक रूपमा मात्र असर पार्ने नभई निज र निजको परिवारको सामाजिक प्रतिष्ठामा समेत गम्भीर आघात पार्ने गर्छ भनी व्याख्या गरेको कुरासमेत यहाँ स्मरणीय छ ।
९. प्रस्तुत मुद्दामा विचार गर्नुपर्ने अर्को पक्ष पनि छ । चारै जना प्रतिवादीहरू पक्राउ परेपछि तत्काल लगातार सुनुवाइ हुन सक्नेमा सो नगरी पीडितलगायतका व्यक्तिलाई समय र परिस्थितिको घेराउमा पारी प्रभावित पार्न खोजेको भन्ने मिसिल सामेल कागज प्रमाणबाट देखिन्छ । यहाँ प्रतिवादीहरू सवल तथा पीडित दुर्वल र निरिह छन् भन्ने स्पष्टरूपमा देखिएको छ । यो कुरातर्फ जिल्ला न्यायाधीशले दृष्टि पुर्याएको देखिँदैन । स्वच्छ सुनुवाइ अभियुक्तले मात्र पाउनुपर्ने होइन, पीडितले पनि पाउनुपर्छ । स्वच्छ सुनुवाइभित्र शीघ्र सुनुवाइ पनि पर्छ । साक्षी संरक्षणको प्रभावकारी व्यवस्था नभएको हाम्रो जस्तो मुलुकमा प्रतिवादी चुक्ता भइसकेको स्थितिमा पीडितलाई तत्कालै झिकाई बकपत्र गराउनुपर्नेमा सुरू अदालतबाट सो गरिएको पाइएन । समयको अन्तरालले पीडितलाई गाल्ने, थकाउने, प्रभाव लोभ लालचमा पार्न सक्ने कुरासमेतलाई प्रभावकारी न्याय सुनिश्चित गर्नुपर्ने दायित्व भएको अदालतले बिर्सन मिल्दैन । प्रस्तुत मुद्दाको परिस्थितिलाई समग्रतामा हेर्दा यहाँ प्रतिवादीहरूले पीडितलाई प्रभावित पार्न खोजेको छर्लङ्ग देखिन्छ । यस्तो स्थितिमा समयको अन्तरालसँगै सिर्जित परिस्थितिको कारण पीडित र परिवारको सही आवाज र निर्णयलाई समेत तोडमोड गरिएको पाइँदा केवल पीडितले दिएको बकपत्रले प्रतिवादीहरूको निर्दोषिता स्थापित गर्ने देखिँदैन । यसो गरिनु न्यायको विरूद्ध हुने देखिन्छ ।
१०. प्रस्तुत मुद्दामा जुन सामूहिकरूपमा करणीको वारदात भएको छ त्यसलाई सहमतिमा गरिएको करणी भनिनु मानवीय संवेदनासमेत प्रतिकूल हुने देखिन्छ । यथार्थमा एउटा महिलाले सामूहिक करणी गर्न सहमति दिन्छ भन्नु महिलाको अस्मिता मात्र होइन मानवीय सभ्यता, चेतना, सामाजिक शिष्टता एवं न्यायपूर्ण समाजको परिकल्पना विरूद्धको कुरा हो । यस्तो तर्क र जिकिरमा फौजदारी न्याय प्रणाली आधारित गराउन मिल्दैन । न्याय सबैले पाउनुपर्छ, अभियुक्त मात्र होइन पीडित र समाजले समेत पाउनुपर्छ । समय र परिस्थितिले गालेको, असंरक्षित पीडित यसको अपवादमा पर्नु हुँदैन । झुठ्ठा र फरेवी कुराको चेपमा परी न्यायले हार्नु हुँदैन । अदालतले समाजमा रहेको अशिक्षा, पछौटेपन र गरिबीसमेतका तत्त्वले न्यायलाई प्रभावित पार्न सक्छ भन्ने हेक्का राखी न्याय निरूपण गर्नुपर्दछ । तर्करहित र बनावटी कुरा गरी सहमति थियो भन्यो भने न्याय स्खलित हुन पुग्छ । यी कुराहरूको परिप्रेक्ष्यमा समेत हेर्दा प्रस्तुत मुद्दामा पीडितको सहमतिबिना नै पटकपटक सामूहिक रूपमा करणी गरिएको पाइएको हुँदा प्रस्तुत वारदातलाई सामूहिक जबरजस्ती करणीको वारदातको रूपमा हेरिनु नै न्यायपूर्ण हुने देखिन्छ ।
११. अब, उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट भएको फैसला मिलेको छ वा छैन ? पुनरावेदक वादी एवम् प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन? भन्ने तेस्रो प्रश्नतर्फ हेर्दा हुलिया एवम् किटानी जाहेरी, संकित व्यक्तिहरूको अनुसन्धानको बयान, मौकामा गरेको घटना विवरण कागज, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन एवम् अन्य परिस्थितिजन्य प्रमाणसमेतका आधारमा यी प्रतिवादीहरू निर्दोष रहेछन् भन्न सकिने स्थिति नदेखिँदा निजहरूलाई मुलुकी ऐन जबरजस्ती करणीको महलको ३ नं. को देहाय ५ र ३क.बमोजिम जनही ११ वर्ष कैद र रू .५०,०००/- का दरले क्षतिपूर्ति भराउने ठहर्याएको सुरू अर्घाखाँची जिल्ला अदालतको इन्साफ सदर गरेको उच्च अदालत तुलसीपुर बुटवल इजलासको फैसलालाई अन्यथा गरिरहनु परेन । उच्च अदालत तुलसीपुर बुटवल इजलासबाट मिति २०७४/१०/२२ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक नेपाल सरकार एवम् प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गर्नू ।
उक्त रायमा सहमत छु ।
न्या.डा.मनोजकुमार शर्मा
इजलास अधिकृत: सदिक्षा राउत
इति संवत् २०८० साल भाद्र १९ गते रोज ३ शुभम् ।