शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११२९८ - जबरजस्ती करणी

भाग: ६६ साल: २०८१ महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत

माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान

फैसला मिति : २०७९।०४।२९

 

मुद्दा : जबरजस्ती करणी

 

०७४-CR-१३०४

पुनरावेदक / प्रतिवादी : राधेश्याम चमारको छोरा जिल्ला बर्दिया, मैनापोखर गा.वि.स. वडा नं. ७ घर भई हाल कारागार कार्यालय, बर्दिया थुनामा रहेको कृष्ण चमार

विरूद्ध

प्रत्यर्थी / वादी : परिवर्तन नाम सङ्केत नं. ६६ मैनापोखरको जाहेरीले नेपाल सरकार

 

०७४-CR-०१५६

पुनरावेदक / वादी : परिवर्तित नाम सङ्केत नं.६६ मैनापोखर (ग) को जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला बर्दिया, मैनापोखर गा.वि.स. वडा नं. ७ बस्ने कृष्ण चमार

 

पीडितको शारीरिक परीक्षण गर्ने चिकित्सकले परीक्षण प्रतिवेदनमा उल्लिखित बेहोरा अन्यथा हुने गरी अदालतको बकपत्रमा व्यक्त गरेको, निजको भनाइको आधारमा प्रतिवेदन तयार भएको र अदालतमा बकपत्र हुँदाको समयको अन्तराललाई सापेक्षतामा हेर्दा विश्वास गर्नु उचित नहुने । 

समयको अन्तरालमा व्यक्तिको भनाइमा सामान्य फरक देखिनु अस्वाभाविक नहुने । मुख्यतः मिसिल संलग्न सङ्कलित प्रत्यक्ष वा वस्तुगत प्रमाण कसुर पुष्टि गर्ने आधार बन्ने । तथ्यगत प्रमाणबाट वारदात पुष्टि भएको अवस्थामा व्यक्तिको भनाइलाई अकाट्य प्रमाणको रूपमा ग्रहण गर्नु स्वाभाविक नहुने ।

(प्रकरण नं. ४)

 

प्रतिवादीका तर्फबाट :

वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सन्तोषराज कटुवाल

अवलम्बित नजिर :

ने.का.प.२०६७, अङ्क ९, नि.नं. ८४६६

ने.का.प. २०६३, अङ्क ४, नि.नं. ७६८२

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने :

मा. न्या. श्री लोकजङ्ग शाह

बर्दिया जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने :

मा. न्या. श्री शेषराज सिवाकोटी

मा. न्या. श्री रमेशप्रसाद राजभण्डारी

उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास

 

फैसला

न्या. टंकबहादुर मोक्तान : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई वादी नेपाल सरकार र प्रतिवादी कृष्ण चमारसमेतको पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः

तथ्य खण्ड

मिति २०७१।१०।१३ गते दिनको १६:०० बजेको समयमा म निवेदकको घरमा कोही नभएको अवस्थामा जिल्ला बर्दिया, मैनापोखर गा.वि.स. वडा नं. ७ बस्ने राधेश्याम चमारको छोरा कृष्ण चमार मेरो घरमा आई जबरजस्ती करणी गर्ने मनसाय बनाई वर्ष ४ की नाबालिका छोरीको कपडा खोलिरहेको अवस्थामा मेरी छोरी रोइकराइ चिच्याउँदा मेरी श्रीमतीले थाहा पाई घरमा आउँदा निज तत्काल भागी दौडी गएको र छोरीको कपडामा फोहर लागेको हुँदा कानूनबमोजिम गरिपाउँ भन्ने सङ्केत नं.६६ परिवर्तित नाम मैनापोखर “ग” ले इलाका प्रहरी कार्यालय मैनापोखरी बर्दियामा दिएको निवेदन ।

मिति २०७१।१०।१३ गते साँझ १६:०० बजेको समयमा सङ्केत नं.६६ परिवर्तित नाम मैनापोखर “ख” लाई निजकै घरको मूल ढोकाको नजिकै पछाडिपट्टिको पालीको अँध्यारो उत्तरतर्फको कुनामा जिल्ला बर्दिया मैनापोखर गा.वि.स. वडा नं.७ बस्ने वर्ष १७ को कृष्ण चमारले जबरजस्ती करणी गर्न खोजेको भनी देखाइएको घटनास्थल मुचुल्का ।

सङ्केत नं. ६६ मैनापोखर “ग”को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला बर्दिया, मैनापोखर गा.वि.स. वडा नं. ७ बस्ने वर्ष १७ को कृष्ण चमार भएको जबरजस्ती करणी मुद्दामा उल्लिखित प्रतिवादी कृष्ण चमारलाई पक्राउ गर्न भनी यस कार्यालयको मौखिक आदेशानुसार मेरो कमान्डमा खटी गएको गस्ती टोलीले फेला पारी पक्राउ गरी दाखिला गरेको छु, कानूनबमोजिम होस् भन्ने प्रहरी प्रतिवेदन ।

मिति २०७१।१०।१३ गते दिउँसो १६:०० बजेको समयमा हामीहरू आफ्नो काम विशेषले बाहिर गई नाबालक छोरा छोरीहरूलाई बुबा र माइलो भाइ बसेको घरमा हेरविचार गरिदिनु भनी राखी गएकोमा जिल्ला बर्दिया, मैनापोखर गा.वि.स. वडा नं. ७ बस्ने वर्ष १७ को कृष्ण चमारले लिन गई आफूले चलाएको साइकलमा राखी बसाली ल्याई दुईवटा छोरा छोरी बाटैमा छोडी पीडित छोरी मैनापोखर “ख” लाई एक्लै मेरो घरमा ल्याई घरको पालीमा लगी कपडा खोली जबरजस्ती करणी गर्न लाग्दा मेरी छोरी रुँदा कराउँदा मेरी श्रीमतीले कराएको थाहा पाई छोरी भएकी ठाउँमा आउँदा निज कृष्ण चमार पेन्ट घुँडासम्म खोलिएको अवस्थामा रहेको र छोरीको तल्लो शरीरमा भएको कपडा अर्ध खोलिएको फोहर लागेको देखी निजलाई समात्न खोज्दा भागी उम्की गएको हुँदा कानूनबमोजिम गरिपाउँ भन्ने जाहेरी दरखास्त ।

वारदात मितिको दिनमा म आफ्नो घरमा नै थिएँ । जाहेरवाला र मेरो घर नजिकै पर्दछ । निजहरू आफ्नो काम विशेषले बाहिर जान्थे र उक्त दिन पनि गएको थाहा पाई म आफ्नो घरबाट साइकल चलाई लिई गई मैनापोखर “ख” भएको ठाउँमा पुगी बोलाई जाउँ भनी निजका भाइ बहिनीमध्ये सानी बहिनीलाई काँधमुनि पीडितलाई बिचमा र भाइलाई पछाडि साइकलमा राखी चलाई ल्याई भाइ बहिनीलाई बाटोमा आउनु भनी छोडी पीडितलाई सँगै साइकलमा ल्याई निजको घरमा आई निजको घरमा अरू कोही थिएनन् । निजसँग खेल्दै बसेँ र मैले मेरो साथमा भएको एक रूपैयाँ डलर देखाएँ, उनले मागेपछि जाउँ भनी घरको पालीको बाख्रा बाँध्ने अँध्यारो कुनामा उक्त डलर दिई आफ्नो कपडा खोली नाङ्गो भएँ । त्यसपछि पीडितको पनि कपडा खोली भुइँमा सुताई मेरो उत्तेजित लिङ्ग निजको योनिबाहिर चार पाँच पटक रगड्दै थिएँ । सोही समयमा नजिकै मेरो भाइ बोलेको आवाज सुनी थाहा हुन्छ भनी मेरो लिङ्गबाट निस्केको चिल्लो शुक्रकीट पदार्थ बाहिरै फाली गएको हो, कहाँ खस्यो मलाई थाहा भएन भन्ने प्रतिवादी कृष्ण चमारको बयान कागज ।

उल्लिखित वारदात मिति र समयमा म आफ्नो घरमा नै थिएँ । जाहेरवालाको र मेरो घर अलि टाढा पर्ने भएको हुँदा वारदात भए गरेको मलाई केही थाहा भएन । साँझ खाना खाई आफ्नै घरमा नै बसेँ । बिहान उठी चिया खाई काम विशेषले बाहिर बाटोमा जाँदा जाहेरवालासँग भेट भई घटनाको सम्बन्धमा सुनाएपश्चात् सबै कुरा थाहा पाएको हुँ । निजले पटकपटक पनि गल्ती गरेको थाहा थियो । हाल आएर पनि नाबालिकामाथि जबरजस्ती करणी गर्न खोजेको भन्ने सुनी मसहित सहभागी भई जाहेरी दरखास्त दिनसमेत आएको हुँ । कानूनबमोजिम कारबाही हुनुपर्छ भन्ने सोमराज रेग्मीको घटना विवरण कागज ।

उल्लिखित वारदात मिति र समयमा बुबा आमा खाना खाई आफ्नो काम विशेषले बाहिर गएका र हामीहरू तीनै जना भाइबहिनीलाई अङ्कलको घरमा राखी जानुभएको थियो र साँझको समयमा हामीहरू भएको ठाउँमा कृष्ण चमार साइकल चलाई आई तिमीहरूलाई लिन आएको हुँ भनी बोलाई बहिनीलाई काँधमुनि, मलाई बिचमा, भाइलाई पछाडि साइकलमा राखी चलाई ल्याई बिच बाटोमा पुग्दा साइकल रोकी भाइबहिनीलाई उतारी पैदल आउ भनी मलाई एक्लै घरमा ल्याई कसैले थाहा नपाउने अँध्यारो पालीको कुनामा लगी आफ्नो शरीरको कपडा खोली नाङ्गो भई मेरो कपडा खोल्न लाग्दा किन खोल्नु भएको अङ्कल भनी सोध्दा काम छ नबोल भनी आफ्नो साथमा भएको एक रूपैयाँ डलर दिई मेरो कपडा खोली पल्टाई सुताई आफ्नो उत्तेजित लिङ्ग मेरो योनिमा घुसार्दै थियो । म रून कराउन लाग्दा तिम्रो लुलुमा दुध हालिदिन्छु भनी घोच्न लाग्दा मेरो शरीर च्यापिएर रून कराउन थालेपछि म रोएको आवाज सुनी मेरी आमाले के भयो भनी बोलाएको सुनी निजले मेरो शरीरमा फोहर चिज फाली भागी गएको हो । पछि आमा बुबा घरमा आउँदा भएको सत्य साँचो बेहोरा भनेकी हुँ भन्ने पीडित मैनापोखर “ख” को घटना विवरण कागज ।

उल्लिखित वारदात मिति र समयमा म आफ्नै घरमा नै थिएँ । सो दिन मलाई कसैले केही भनेन र मिति २०७१।१०।१४ गते बिहान ८:०० बजेको समयमा खाना बनाउने क्रममा मेरी गाउँकी साथी बिन्दु हमाल मेरो घरमा आई हिजो दिउँसो कल्लु चमार भन्ने कृष्ण चमारले निज पीडित बालिका परिवर्तित नाम मैनापोखर “ख” लाई जबरजस्ती गर्न खोजेको रहेछ भन्ने कुरा सुनी थाहा पाएकी हुँ । पीडित र पीडकलाई मैले राम्रोसँग चिने जानेकोले के कसो भएको रहेछ भनी जाहेरवाला सङ्केत नं.६६ परिवर्तित नाम मैनापोखर “ग” को घरमा आई घटनाको बारेमा सोधपुछ गर्दा निज नाबालिकाले आफूलाई कल्लु भन्ने कृष्ण चमारले तिम्रो आमाले बोलाउनु भएको छ भनी साइकलमा राखी घरमा ल्याई कोही नभएको मौका छोपी एक रूपैयाँ डलर चकलेट खानको लागि दियो र मेरो सुरूवाल र अन्डरपेन्टी खोलेर निज कृष्ण रैदास (चमार) ले आफ्नो पाइन्टको चेन खोली आफ्नो उत्तेजित लिङ्ग मेरो योनिमा घुसाउन खोज्यो, त्यसैबेला दुई तीन पटक घुसाउन प्रयास गर्दा मलाई धेरै दुखेको र म कराएँ, चिच्याएँ, मेरो आवाज सुनेपछि आमा घरमा आउनुभयो र आमालाई देखेर निज कल्लु भन्ने कृष्ण चमार भागी दौडी गयो । म रोइरहेकी थिएँ । मेरो कपडामा धुलोमाटो फोहर लागेको थियो भनी निज पीडित नाबालिकाले भनेपछि घटनाको यथार्थ विवरण सुनी थाहा पाएकी हुँ । निज प्रतिवादीको बानी बेहोरा पहिलेदेखि नै राम्रो थिएन । यसरी उमेर पुगेको केटाले यस्ती नाबालिकालाई फकाइ फुलाइ जबरजस्ती करणी गर्न खोजेकोले निजलाई हदैसम्म मुलुकी ऐन, जबरजस्ती करणीको महलबमोजिम कारबाही हुनुपर्दछ भन्ने शान्ति क्षेत्रीको घटना विवरण कागज ।

उल्लिखित वारदात मिति र समयमा म आफ्नै घरमा थिएँ । सो दिन मलाई कसैले केही भनेन र मिति २०७१।१०।१४ गते बिहान ९ बजेको समयमा मेरी गाउँकी साथी शान्ती क्षेत्रीले फोन गरेर हिजो दिउँसो कल्लु चमार भन्ने कृष्ण चमारले निज पीडित बालिका परिवर्तित नाम मैनापोखर “ख” लाई जबरजस्ती गर्न खोजेको रहेछ भन्ने कुरा थाहा पाएपछि एउटै गाउँका भएकोले खुल्दुली लागेर आफैँ पीडितको घरमा जाँदा गाउँका छरछिमेकीहरू हल्ला-खल्ला गरिरहेका रहेछन् । नजिकै पुगेर पीडित बालिकालाई सोध्दा निज कल्लु भन्ने कृष्ण चमारले तिम्रो आमाले बोलाउनु भएको छ भनी साइकलमा चढाई घरमा ल्याउँदा घरमा आमा बुबा कोही नभएको अवस्थामा मलाई मेरै घरको पछाडि पाली कोठामा लगी फकाइ फुलाइ मिठाई खानु भनी एक रूपैयाँ डलर दिएर मेरो सुरूवाल र अन्डरपेन्टी खोली आफ्नो पाइन्टको चेन खोली उत्तेजित लिङ्ग मेरो योनिमा घुसाउन खोज्यो । दुई तीन पटक रगड्दा मलाई दुख्यो र म रोएँ, चिच्चाएँ र कराएँ । मेरो आवाज सुनेर खेतमा काम गर्न जानुभएको आमाले सुनी थाहा पाएपछि के भयो भनी घरमा आउँदा मलाई पल्टाएकै अवस्थामा छोडी कल्लु भन्ने कृष्ण चमार भागी दौडी गएको हो भनेर निज पीडित नाबालिकाले भनेको सुनी थाहा पाएकी हुँ । निज कृष्ण चमार पहिलादेखि नै गाउँघरमा रहँदा बस्दा फटाहा आवारा केटा हो । यसरी नाबालिकामाथि जबरजस्ती करणी गर्न खोज्नेलाई कडाभन्दा कडा कारबाही हुनुपर्दछ भन्ने रेणुका पुरीले गरेको घटना विवरण कागज ।

उल्लिखित वारदात मिति र समयमा म आफ्नै घरमा भए पनि वारदात भए गरेको थाहा पाइनँ । भोलिपल्ट छिमेकी शान्ति क्षेत्रीले कृष्ण चमारले परिवर्तित नाम मैनापोखर “ख” लाई जबरजस्ती करणी गर्‍यो भन्ने कुरा सुनेपश्चात् हामी दुवैजना पीडितको घरमा जाँदा पीडितकी आमा मैनापोखर “क” ले म खेतमा गएको मौका पारी कृष्ण चमारले मेरी नाबालिका छोरीलाई लिन गई ल्याई, मेरै घरको पालीको कुनामा लगी फकाइ फुलाइ मिठाई खानु भनी एक रूपैयाँको डलर दिई भुइँमा नाबालिकालाई पल्टाई सुरूवाल र अन्डर पेन्टी खोली आफ्नो पाइन्टको चेन खोली आफ्नो उत्तेजित लिङ्ग योनिमा घुसाउनको लागि दुई तीन पटक तल माथि गराई रगडेपछि छोरीलाई साह्रै पीडा भई कराउन चिच्याउन थालिछे । त्यही आवाज सुनेर म घरमा के भएछ भनेर सोची आउँदा मेरी छोरीको कपडामा धुलो माटो लागेको थियो । शरीरको तल्लो भागमा कपडा सुरूवाल अन्डरपेन्टी कम्मरदेखि तल घुँडामा छरिएको थियो । म आउनासाथ कल्लु भन्ने कृष्ण चमार मलाई देखी भागी दौडी गयो भनी निज नाबालिकाको आमाको मुखबाट भनेको सुनी थाहा पाएकी हुँ । निजलाई कडाभन्दा कडा कारबाही हुनुपर्दछ भन्ने भगवती लम्सालले गरेको घटना विवरण कागज ।

पीडितको शारीरिक परीक्षण गर्दा Hymen च्यातिएको र Internal wall of vagina च्यातिएको र vagina मा discharge, कुनै पनि foreign materials र stain नपाइएको, कुनै पनि injuries दाग शरीरमा नभएको, कुनै पनि टोकेको दाग नभएको भन्ने स्वास्थ्य परीक्षण रिपोर्ट ।

वारदात मिति र समयमा म आफ्नो घरको बाटोमुनि खेतमा नै थिएँ । बिहान खाना खाई हामीहरू काम विशेषले बाहिर गई नाबालक छोरा छोरीहरूलाई हेरविचार गरिदिनु भनी ससुरा र माइला देवर बस्ने घरमा राखी गई आफ्नो काम सकी घरमा आई गाई भैँसीलाई घाँसपात हाली नजिकै खेतबारीमा जान्छु भनी हिँड्दा प्रतिवादी कृष्ण चमारसँग भेट हुँदा निजले नानीबाबुहरू कहाँ गए दिनभरि खोजेँ, कतै भेटिन भनी सोधेपछि मैले गाउँघरतिर खेल्न गएका होलान् भनी केही नबोली आफ्नो कामतिर गएँ । निज कहाँ गए थाहा भएन । केही समयपछि बाटोमा साइकल चलाई मेरी सानी छोरीलाई काँधमुनि, मैनापोखर “ख” लाई बिचमा र छोरालाई पछाडि राखी ल्याउँदै  थिए । ठीकै छ ल्याएर आउँदैछन् भनी त्यति ख्याल गरिनँ । एकैछिनपछि पीडित छोरी मैनापोखर “ख” रोए कराएकी देखी के भयो भनी जाँदा घरको पालीको कुनामा बाख्रा बाँध्ने ठाउँमा तल्लो शरीरको कपडा अर्ध खोलिएको योनिको वरिपरि फोहर चिजवस्तु लागेको अवस्थामा देखी उठाई हेर्दा योनि सुन्निन लागेको रातो रातो थियो । छोरीलाई सोधपुछ गर्दा कृष्ण चमारले साइकल लिई गई घरमा आमा बुबा छैनन् लिन आएको भनी बोलाई ल्याई भाइ बहिनीलाई बाटैमा छोडी मलाई एक्लै घरमा ल्याई पालीमा जाम भनी लगी एक रूपैयाँ डलर दिई आफ्नो कपडा खोली नाङ्गो भई मेरो कपडा पनि अर्धखोली आफ्नो लुलु मेरो लुलुमा हाल्दै थियो अनि म रोएँ, शरीर दुख्यो । उसले दुध फालेर गयो भनी छोरीले भनेपछि सबै कुरा थाहा पाएकी हुँ । निजउपर कडाभन्दा कडा कारबाही हुनुपर्दछ भन्ने मैनापोखर “क” ले गरेको घटना विवरण कागज ।

वारदात भए गरेको मलाई थाहा भएन । मिति २०७१।१०।१४ गते बिहान खाना खाई आफ्नो काम विशेषले भारत मिईपुरूवा गई दिनभर उतै कामकाज गरी साँझ घरमा आउँदा जाहेरवालाको घर मेरो घरदेखि टाढा भए पनि एक अर्कामा देख्न सकिने भएको हुँदा निजको घरमा केही मानिसहरू भेलाजम्मा भएको देखी के कसो भएको रहेछ भनी तत्काल आफ्नो घरबाट जाहेरवालाको घरमा जाँदा प्रहरी प्रशासनलगायत गाउँघरका मानिसहरू भेला जम्मा थिए । जाहेरवाला घरमा थिएनन् । सोधपुछ गर्दा मैनापोखर “ख” लाई उपचारको लागि गएका र प्रतिवादी कृष्ण चमारले हामीहरू घरमा नभएको अवस्थामा बालबच्चा भएको ठाउँमा गई ल्याई हाम्रै घरको पालीको कुनामा लगी जबरजस्ती करणी गर्न लाग्दा पीडित रोइकराइ चिच्याउँदा निज तत्काल भागी गएको भन्ने पीडितकी आमा मैनापोखर “क” ले भनेको कुरा सुनी थाहा पाएको हुँ । निजउपर कडाभन्दा कडा कारबाही हुनुपर्छ भन्ने रामदुलारे रैदासले गरेको घटना विवरण कागज ।

अनुसन्धानको क्रममा सङ्कलित सबुद प्रमाण, जाहेरी दरखास्त, पीडितको कागज, बुझिएका व्यक्तिहरूको कागज बेहोरा, प्रतिवादीको बयान, घटनास्थल प्रकृति मुचुल्का, पीडितको स्वास्थ्य परीक्षण रिपोर्टसमेतका आधार प्रमाणबाट कल्लु भन्ने कृष्ण चमारले पीडित वर्ष ५ की मैनापोखर “ख” लाई निजको घरमा कोही नभएको मौका छोपी निजलाई चक्लेट खान भनी १ रूपैयाँ डलर देखाइ फकाइ फुलाइ निजकै घरको पालीमा अँध्यारो स्थानमा लगी जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादी कृष्ण चमारको उक्त कार्य मुलुकी ऐन, जबरजस्ती करणी महलको १ र ३(१) नं. बमोजिमको कसुर अपराधमा सोही ऐनको जबरजस्ती करणी महलको ३(१) नं.बमोजिम सजाय हुन र पीडित बालिका मैनापोखर "ख" लाई सोही महलको १० नं. बमोजिम प्रतिवादीबाट मनासिब क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको अभियोग माग दाबी ।

मिति २०७१।१०।१३ गतेका दिन म जाहेरवालाको घरमा गएको थिएँ । जाहेरवाला पीडित तथा पीडितको आमासमेत घरमै थिए । मैले पीडितलाई सानो बच्चा भएकाले काखमा राखी खेलाउँदै थिएँ । मैले निज नाबालिकालाई जबरजस्ती करणी गरेको होइन । मेरो बुबा र पीडितको बुबाबिच झै-झगडा भएको कारण मलाई फसाउन झुट्टा जाहेरी दिएका हुन् । मैले अभियोग दाबीबमोजिमको कसुर गरेको छैन, सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी कृष्ण चमारले सुरू अदालतमा गरेको बयान ।

यसमा प्रतिवादीउपर किटानी जाहेरी परी निज अनुसन्धान अधिकारीसमक्ष आरोपित कसुरमा साबित रहेको, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट Hymen च्यातिएको र Internal wall of vagina च्यातिएको र vagina मा discharge भएको भनी लेखी आएकोसमेतका तत्काल प्राप्त प्रमाणको आधारमा पछि ठहरेबमोजिम हुने गरी प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्ने गरी मिति २०७१।११।१० मा भएको आदेश ।

उक्त वारदातको मिति र समयमा मेरी श्रीमती उपचारको लागि मैनापोखर गएको र म ठेलामा सब्जी राखी व्यापारको लागि मैनापोखर बजार गएको अवस्थामा घरमा कोही नभएको मौका छोपी भाइको घरमा रहेका मेरो पीडित छोरीलगायत तीनै जनालाई साइकलमा राखी ल्याई २ जना बच्चालाई आफ्नो घरमा छाडी पीडितलाई मात्र मेरो घरमा ल्याई १ रूपैयाँको सिक्का दिई घरपछाडि बाख्रा बाँध्ने ठाउँमा लगी जबरजस्ती करणी गरेको भन्ने कुरा श्रीमती र पीडित छोरीले भनेपछि थाहा पाई जाहेरी दिएको हुँ भन्नेसमेत बेहोराको जाहेरवाला सङ्केत नं. ६६ मैनापोखर (ग) ले सुरू अदालतसमक्ष गरेको बकपत्र ।

मिति २०७१।१०।१५ गते प्रतिवादी कृष्ण चमारले मलाई १ रूपैयाँको डलर दिई ललाइ फकाइ गरी बाख्रा बाँध्ने ठाउँमा लिई गई आफ्नो लुलु मेरो लुलुमा खेलाएका थिए भन्नेसमेत बेहोराको पीडित सङ्केत नं.६६ मैनापोखर (ख) ले सुरू अदालतमा गरेको बकपत्र ।

निज पीडितको स्वास्थ्य परीक्षण मैले गरेको हुँ । उक्त परीक्षण गर्दा पीडितको शरीरमा कुनै दाग, घाउ, खत केही नभएको, योनिको साइडमा रातो भएको, योनिमा डिस्चार्ज भएको, लिविया मेजोरा र लिविया माइनोरा एपोज (टाढा) रहेको पाइएको थियो । सोहीअनुसार मैले पीडितको स्वास्थ्य परीक्षण गरी प्रतिवेदन दिएको हुँ । मैले प्रतिवादी कृष्ण चमारको पनि स्वास्थ्य परीक्षण गरेको थिएँ । निजको स्वास्थ्य परीक्षण गर्दा पनि कुनै जबरजस्ती करणीको लक्षण देखिएको थिएन भन्नेसमेत बेहोराको पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक डा. कौशल अलीले सुरू अदालतमा गरेको बकपत्र ।

इलाका प्रहरी कार्यालय मैनापोखरी, बर्दियाले मिति २०७१।११।०१ मा स्वाब परीक्षण गरी पठाइदिनु भनी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालालाई लेखी पठाएकोमा मिति २०७२।०५।३१ मा भई आएको परीक्षण रिपोर्टमा semen could not be confirmed on exhibit no.1 (vaginal swab), semen could not be detected on exhibit no.2 (पेन्टी), Human semen was detected on exhibit no.3 (control), Blood group of exhibit no.3 could not be detected  भनी उल्लेख भएको ।

प्रतिवादी कृष्ण चमारले अभियोग दाबीबमोजिमको कसुर गरेको हुँदा निजलाई मुलुकी ऐन, जबरजस्ती करणीको ३(१) नं.बमोजिम १०(दश) वर्ष कैद हुन्छ । साथै ऐ. महलको १० नं.बमोजिम पीडित नाबालिकालाई क्षतिपूर्तिबापत प्रतिवादीबाट रू.५०,०००।– (पचास हजार) भराइदिने ठहर्छ भन्ने बेहोराको सुरू बर्दिया जिल्ला अदालतको मिति २०७२।११।१० को फैसला ।

जाहेरवालाले जबरजस्ती करणी उद्योग भनी जाहेरी दिएकोमा सुरू अदालतबाट फैसला गर्दा जबरजस्ती करणी ठहर्‍याई सुरू जिल्ला अदालतबाट फैसला गरिएको छ । म प्रतिवादी कृष्ण चमारले पीडितलाई दिएको भनिएको १ रूपैयाँ डलर बरामद हुन सकेको छैन भने जाहेरीमा उल्लिखित घटनास्थलको स्थान नै घटनास्थल मुचुल्कामा भएको पाइँदैन । घटना विवरण कागजमा उल्लेख बेहोरामा एकरूपता भएको पाइँदैन भने मेरो अनुसन्धान अधिकारीसमक्ष भएको बयानको कथित साबितीलाई मात्र आधार मानी जबरजस्ती करणी भएको भनी सुरूबाट फैसला भएको र म पुनरावेदकले सुरू अदालतसमक्ष बयान गर्दा अपराध गरेको कुरा स्वीकार गरेको छैन, कुनै तथ्यसम्म स्वीकार गरेको छु । तथ्य स्वीकार गर्नु र अपराध स्वीकार गर्नु अलग अवस्था हो । मेरो स्वास्थ्य परीक्षण प्रतिवेदनमा कुनै चिह्न फेला नपरेको र मेरो स्वास्थ्य परीक्षण गर्ने चिकित्सकले अदालतसमक्ष बकपत्र गर्दा जबरजस्ती करणीको कुनै लक्षण देखिएको थिएन भनी किटानी बकपत्र गरिदिएको पाइन्छ । पीडितको स्वास्थ्य परीक्षण गर्दा शरीरमा कुनै दाग, घाउ, खत नभएको र स्वास्थ्य परीक्षणमा उल्लेख भएको लक्षण जबरजस्ती करणीबाहेक इन्फेक्सन भई चिलाएमा, कन्याएमा पनि हुन सक्छ भनी चिकित्सकको बकपत्र भएको पाइन्छ भने घटनाको सम्बन्धमा जाहेरवाला, पीडित र प्रतिवादीको कथनमा एकरूपता नभई कथन नै फरक रहेको अवस्थामा सोतर्फ ध्यान नदिई जबरजस्ती करणी भएको भनी बर्दिया जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी कृष्ण चमारको पुनरावेदन ।

सुरू बर्दिया जिल्ला अदालतको मिति २०७२।११।१० को फैसला प्रमाण मूल्याङ्कनको रोहमा विचारणीय भई फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा उच्च अदालत नियमावली, २०७३ को नियम ११२ बमोजिम प्रत्यर्थी वादी नेपाल सरकार झिकाई उपस्थित हुन आए वा सोको अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु भन्ने उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको मिति २०७३।०९।०३ को आदेश ।

प्रस्तुत वारदातको स्वरूप र प्रकृति दृष्टिगत गर्दा जबरजस्ती करणीको उद्योगसम्म देखिँदा जबरजस्ती करणीको महलको ३(१) नं.बमोजिम १०(दश) वर्ष कैद ठहर गरेको सुरू बर्दिया जिल्ला अदालतको मिति २०७२।११।१० को फैसला मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादी कृष्ण चमारलाई जबरजस्ती करणीको महलको ५ नं.बमोजिम ५(पाँच) वर्ष कैद सजाय हुने ठहर्छ भन्नेसमेत बेहोराको मिति २०७३।११।०८ मा उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट भएको फैसला ।

प्रस्तुत मुद्दाको जाहेरी र पीडितले गरेको घटना विवरण कागजमा उल्लेख भएको एक रूपैयाँको डलर म पुनरावेदक कृष्ण चमारले दिएको भनिएको तर उक्त एक रूपैयाँको डलर अभियोजन पक्षले बरामद भई अभियोगसाथ पेस हुन सकेको छैन र सो सिक्का तत्कालै बरामद हुन नसक्नुको कारण कहीँ खुलेको छैन । घटनास्थल मुचुल्कामा घरको पालीमा घटना भएको भन्ने मिति २०७२।१०।१४ गते भएको घटनास्थल मुचुल्कामा उल्लेख छैन । त्यस्तै प्रतिवादीले पीडितको शरीरमा दुध फालेको र पीडितको आमाले धोएको भनी घटना विवरण कागजमा उल्लेख भएबाट उक्त बेहोरामा समेत एकरूपता रहेको छैन । यस्तै पीडितको आमाले शुक्रकीट धोएको भनी उल्लेख गरेको अवस्थामा Swab के कसरी परीक्षणको लागि पठाइएको छ । अभियोग पत्रमा समेत उल्लेख नभएकोमा पनि Exhibit No.३ मा Human Semen देखिएको भनी फैसलामा उल्लेख छ । Exhibit No.३ मा म पुनरावेदक कृष्ण चमारको शुक्रकीट लिएको र सो शुक्रकीट देखिएकोलाई अन्यथा भन्न मिल्ने अवस्था होइन । पीडित र जाहेरवालाको कागज बेहोरामा एकरूपता छैन । पीडितले शरीर च्यापिएर दुख्यो, रून कराउन थालेँ भन्ने छ, योनिको बाहिर उत्तेजित लिङ्ग ४/५ पटक रगड्दै थिएँ, सोही समयमा नजिकै मेरो भाइ बोलेको आवाज सुनी लिङ्गबाट निस्केको चिल्लो बाहिर फालिदिएँ, कहाँ खस्यो, के भयो मलाई थाहा भएन, भन्ने छ । पीडित रूने जस्तो गरेकी थिइन् भनी उल्लेख मात्र गरेबाट पीडितको र पीडितको आमा र जाहेरवालाको बेहोरामा समेत एकरूपता नभएको र घटनास्थल मुचुल्कामा उल्लेख नभएको बेहोराभन्दा फरक गरी मुद्दाको उठान भएको अवस्था देखिँदा देखिँदै अन्तरवस्तुमा नपुगी वास्तविक तथ्यतर्फ ध्यानै नदिई जबरजस्ती करणी उद्योग ठहर गरी भएको श्री उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको फैसला प्रत्यक्ष त्रुटिपूर्ण छ ।

त्यस्तै, म पुनरावेदकलाई पक्राउ गरी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य परीक्षण प्रतिवेदनमा कुनै चिह्न फेला परेको अवस्था छैन भनी उल्लेख भएको छ । साथै डा.कौशल अलीले अदालतमा आई बकपत्र गर्दासमेत स.ज.७ मा कृष्ण चमारको स्वास्थ्य परीक्षण गर्दा जबरजस्ती करणीको कुनै लक्षण देखिएको थिएन भन्ने किटानी बकपत्र छ भने पीडितको स्वास्थ्य परीक्षण गर्दा शरीरमा कुनै दाग घाउ खत नभएको र स्वास्थ्य परीक्षण कागजमा उल्लेख भएको लक्षण जबरजस्ती करणीबाहेक इन्फेक्सन भई चिलाएमा कन्याएमा समेत हुन सक्छ, शारीरिक अवस्था ठिक थियो, हाइमन इन्ट्याक नहुनु जबरजस्ती करणीबाहेक अन्य कुनै पनि कारणबाट पनि हाइमनमा चोट पुग्न सक्ने भनी उल्लेख गरेबाट जबरजस्ती करणी भएको भनी बकपत्र गरेको अवस्था छ । साथै पीडितको बाबुले दिएको तत्कालको निवेदन, तत्पश्चात् दिएको जाहेरी घटनास्थल मुचुल्का साथै नाबालक भनिएको पीडितको कथनसमेतमा एकरूपता नभएको र घटनाको तथ्यबाट समेत जबरजस्ती करणी उद्योग र करणीको घटना तथ्यबाट पुष्टि नभएको अवस्थामा पनि उद्योग ठहर गरी भएको फैसला प्रत्यक्ष त्रुटिपूर्ण  हुँदा उक्त फैसला उल्टी बदर गरी झुठो अभियोग दाबीबाट फुर्सद दिलाइपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी कृष्ण चमारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन ।

प्रस्तुत मुद्दामा पीडित सङ्केत नं.६६ मैनापोखर "ख" लाई प्रतिवादीले कपडा खोलेर जबरजस्ती करणी गर्न लाग्दा रोइ कराएकीले हेर्न जाँदा कृष्ण चमारको पाइन्ट खुल्ला रहेको र शरीरमा फोहोर देखेर वर्ष ४ छोरीलाई जबरजस्ती करणी गरेको भनी दिएको किटानी जाहेरी दरखास्तलाई समर्थन गर्ने गरी प्रतिवादीले आफ्नो र पीडितको कपडा खोली निजको उत्तेजित लिङ्ग योनि बाहिर रगड्दै शुक्रकीट बाहिर नै फ्याँकेर गएको भन्ने कृष्ण चमारको मौकाको बयान छ भने रू.१ को सिक्का दिई कपडा खोलेर पल्टाई सुताएर निजको उत्तेजित लिङ्ग योनिमा प्रवेश गराउँदै गर्दा रून कराउन थालेपछि आमाले बोलाएको सुनेर शरीरमा फोहोर चिज फ्याँकेर निज कृष्ण चमार भागेर गएको भन्ने पीडितको कागजको बेहोरासमेतबाट प्रतिवादीले जबरजस्ती करणी गरेको प्रस्ट भइरहेको अवस्थामा उद्योगतर्फ ठहर्‍याई भएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ९, १० र ५४ को व्याख्यामा गम्भीर त्रुटि हुँदा उक्त फैसला बदरभागी छ ।

प्रतिवादी कृष्ण चमारले पीडितलाई काखमा राखी खेलाएको मात्र हो, प्रहरीले कुटपिट गरी बयान गराएको हो भनी अदालतसमक्ष इन्कारी बयान गरे तापनि जाहेरवालाले अदालतमा बकपत्र गर्दा प्रतिवादीले बलात्कार गरेकोले पीडितको कन्याजाली च्यातिएको हो भनी बकपत्र गरेकी र योनिमा लिङ्ग छुवाए पनि करणी हुने, योनिमा लिङ्ग केही मात्र प्रवेश गराए पनि करणी गरेको मानिने जबरजस्ती करणीको महलको १ नं. को स्पष्टीकरणमा स्पष्ट खुलाएको अवस्थामा उद्योगसम्मको कसुर ठहर्‍याई भएको फैसला त्रुटिपूर्ण छ । पीडितको स्वास्थ्य परीक्षण हुँदा Hymen intact नरहेको, योनिको साइडमा रातो भएको, योनिमा Discharge भएको सेतो देखिएको, Labia majora, labia minora टाढा रहेको भन्ने Report र Human semen was detected one exhibit no.3 भन्ने केन्द्रीय विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनबाट समेत देखिएको हुँदा परीक्षण गर्ने चिकित्सकले अदालतमा बकपत्र गर्दा कहिलेकाहीँ इन्फेक्सन भई चिलाए, कन्याएमा वा चलाएमा पनि Hymen मा चोट पुग्न सक्ने भन्ने लेखाए तापनि मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को व्यवस्था पीडितको कागज र बकपत्र र प्रतिवादीको अनुसन्धानको बयान अन्यथा पुष्टिसमेत नभएकोमा प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको तथ्य पुष्टि हुँदाहुँदै उद्योगसम्मको कसुर ठहर्‍याई भएको फैसला त्रुटिपूर्ण छ । पीडित र प्रतिवादीको भनाइबमोजिम प्रतिवादीले पीडितको योनिमा लिङ्ग पुर्‍याई योनिभित्र लिङ्ग पसाउन खोजेको कार्यले आपराधिक कार्य पुष्टि हुन्छ । यसरी उल्लिखित आधार, प्रमाणसमेतको आधारबाट प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्नेमा उद्योगसम्मको कसुर ठहर गरी कम सजाय हुने गरी भएको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको उक्त फैसला कानून एवं प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल हुँदा बदर गरी प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन ।

यसमा पीडितको परीक्षण प्रतिवेदन र विशेषज्ञको रूपमा चिकित्सकले गरेको बकपत्रको बेहोरासँग फैसला मेल नखाएको अवस्था हुँदा उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको मिति २०७३।११।०८ को फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं.बमोजिम प्रत्यर्थी प्रतिवादीलाई जानकारी दिई नियमानुसार गरी पेस गर्नु भन्नेसमेत बेहोराको मिति २०७४।११।०६ मा यस अदालतबाट भएको आदेश ।

यस अदालतको ठहर

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित महान्यायाधिवक्ताको कार्यालयका विद्वान् उपन्यायाधिवक्ता श्री सन्तोषराज कटुवालको प्रतिवादीउपर किटानी जाहेरी परेको र प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको भनी मौकामा साबित भई बयान गरेको, निजको मौकाको बयान, पीडितको मौकाको भनाइ एवं अदालतको बकपत्र, पीडितको शारीरिक परीक्षण रिपोर्टसमेतबाट समर्थित भई जबरजस्ती करणीको अपराध स्थापित भएको अवस्थामा उद्योगतर्फ मात्र ठहर गरी उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट भएको फैसला मिलेको नदेखिँदा बदर गरी प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्दछ भनी गर्नुभएको बहस सुनियो ।

उल्लिखित तथ्य एवं पुनरावेदन जिकिर र बहसको सन्दर्भमा उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको फैसला मिलेको छ, छैन ? र प्रतिवादी कृष्ण चमार र वादी नेपाल सरकारको प्रस्तुत पुनरावेदन जिकिर पुग्ने नपुग्ने के रहेछ ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, मिति २०७१।१०।१३ गते कृष्ण चमारले पीडित छोरी मैनापोखर "ख" लाई एक्लै मेरो घरमा ल्याई घरको पालीमा लगी कपडा खोली जबरजस्ती करणी गर्न लाग्दा मेरो छोरी रूँदा कराउँदा मेरी श्रीमतीले थाहा पाई निजलाई समात्न खोज्दा भागी उम्की गएको हुँदा कानूनबमोजिम गरिपाउँ भनी जाहेरी परेको र प्रतिवादी कृष्ण चमारले नाबालिकालाई जबरजस्ती करणी गरेको र निज प्रतिवादीको उक्त कार्य मुलुकी ऐन, जबरजस्ती करणी महलको १ र ३(१) नं.बमोजिमको कसुर अपराध रहेकोले सोही ऐनको जबरजस्ती करणी महलको ३(१) नं.बमोजिम सजाय हुन र पीडित बालिका मैनापोखर "ख" लाई सोही महलको १० नं.बमोजिम प्रतिवादीबाट मनासिब क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भनी सुरू बर्दिया जिल्ला अदालतमा अभियोग दर्ता भएको प्रस्तुत मुद्दामा प्रतिवादी कृष्ण चमारले अभियोग दाबीबमोजिमको कसुर गरेको हुँदा निजलाई मुलुकी ऐन, जबरजस्ती करणीको ३(१) नं.बमोजिम १०(दश) वर्ष कैद हुन्छ । साथै ऐ.महलको १० नं.बमोजिम पीडित नाबालिकालाई क्षतिपूर्तिबापत प्रतिवादीबाट रू.५०,०००।– (पचास हजार) भराइदिने ठहर्‍याई सुरू बर्दिया जिल्ला अदालतबाट भएको फैसलाउपर प्रतिवादी कृष्ण चमारको पुनरावेदन परी उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले प्रतिवादीले जबरजस्ती करणीको उद्योगसम्म गरेको ठहर्‍याई निजलाई जबरजस्ती करणीको महलको ५ नं.बमोजिम ५(पाँच) वर्ष कैद सजाय हुने ठहर गरेकोमा वादी नेपाल सरकार र प्रतिवादी कृष्ण चमारले उक्त फैसलामा चित्त नबुझाई यस अदालतमा प्रस्तुत मुद्दाको छुट्टाछुट्टै पुनरावेदन परी यस अदालतबाट विपक्षी झिकाउने आदेश भई निर्णयार्थ आज पेस हुन आएको देखियो ।

३. अब, वादी नेपाल सरकार र प्रतिवादी दुवै पक्षको पुनरावेदन जिकिरतर्फ हेर्दा पुनरावेदक प्रतिवादीले अदालतमा बयान गर्दा आरोपित कसुरमा इन्कार रही बयान गरे तापनि मौकामा अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा पीडितको घरको पालीको बाख्रा बाँध्ने अँध्यारो कुनामा पीडितलाई लगी एक रूपैयाँको डलर दिई आफ्नो कपडा खोली नाङ्गो भएँ, त्यसपछि पीडितको पनि कपडा खोली भुइँमा सुताई मेरो उत्तेजित लिङ्ग निजको योनिबाहिर चार पाँच पटक रगड्दै थिएँ । सोही समयमा नजिकै मेरो भाइ बोलेको आवाज सुनी थाहा हुन्छ भनी मेरो लिङ्गबाट निस्केको चिल्लो पदार्थ शुक्रकीट पदार्थ बाहिरै फाली गएको हो भनी आरोपित कसुरमा साबित भई बयान गरेको देखिन्छ भने Hymen च्यातिएको र Internal wall of vagina च्यातिएको र vagina मा discharge भएको भन्ने पीडितको शारीरिक परीक्षण प्रतिवेदन एवं कृष्ण चमारले मलाई एक्लै घरमा ल्याई कसैले थाहा नपाउने अँध्यारो पालीको कुनामा लगी एक रूपैयाँ डलर दिई मेरो कपडा खोली पल्टाई सुताई आफ्नो उत्तेजित लिङ्ग मेरो योनिमा घुसार्दा मेरो शरीर च्यापिएर रूनकराउन थालेपछि म रोएको आवाज सुनी मेरी आमाले के भयो भनी बोलाएको सुनी निजले मेरो शरीरमा फोहर चिज फाली भागी गएको हो भन्ने पीडितको मौकाको कागज र अदालतको बकपत्र एवं पीडितकी आमाको कागज र अदालतको बकपत्रसमेतबाट प्रतिवादीको मौकाको बयान समर्थित हुन आएको छ । पीडित रोइकराई गरेको सुनी वारदातस्थलमा पुगेकी पीडितकी आमाको मौकाको कागज बेहोरा एवं अदालतमा भएको बकपत्र भनाइबाट निज (पीडितकी आमा) वारदात स्थलमा पुग्दा प्रतिवादी वारदातस्थलबाट भागेको भन्ने देखिन्छ र प्रतिवादीले मौकाको बयानमा पीडित रोएको सुनी निजकी आमा आउन लागेकोले भागेको हुँ भनी वारदात स्थलबाट भागेको भन्ने स्वीकार गरेको देखिन्छ भने अदालतसमक्षको बयानमा निजले जाहेरवाला पीडित तथा पीडितको आमासमेत घरमै थिए, मैले पीडितलाई सानो बच्चा भएकाले काखमा राखी खेलाउँदै थिएँ, पीडित नाबालिकालाई जबरजस्ती करणी गरेको होइन भनी बताए पनि निजको सो भनाइ निजले तथ्यतः पुष्टि गरेको देखिँदैन । एकातिर भने माथि उल्लेख भएबमोजिम निज प्रतिवादीको मौकाको साबिती बयान, पीडितको शारीरिक परीक्षण प्रतिवेदन, पीडितको मौकाको कागज, अदालतको बकपत्र, पीडितकी आमाको मौकाको कागज एवं अदालतको बकपत्र भनाइसमेतबाट समर्थित भएको र वारदातको प्रकृतिबाट पीडित र निजकी आमाको भनाइ नै विश्वसनीय मान्नुपर्ने भएकोसमेत हुँदा प्रतिवादीको बयान, भनाइ कसुरबाट बच्ने कुचेष्टा मात्र रहेको स्पष्ट हुन्छ ।

४. जहाँसम्म पीडितको शारीरिक परीक्षण गर्ने चिकित्सक डा.कौशल अलीले अदालतमा बकपत्र गर्दा कहिलेकाहीँ इन्फेक्सन भई चिलाए, कन्याएमा वा चलाएमा पनि Hymen मा चोट पुग्न सक्ने भनी भनेकोबाट वारदात पुष्टि भएको छैन भन्ने प्रतिवादीको पुनरावेदन जिकिर रहेकोमा निज चिकित्सकले मौकामा पीडितको शारीरिक परीक्षण गर्दा पीडितको योनिको साइडमा रातो भएको, योनिमा डिस्चार्ज भएको, लिविया मेजोरा र लिविया माइनोरा एपोज (टाढा) रहेको पाइएको थियो भन्ने बेहोरा उल्लेख गरेको शारीरिक परीक्षण प्रतिवेदनबाट देखिन्छ र अदालतको निजको बकपत्रमा मौकामा त्यस्तो बेहोरा लेख्नुपर्ने कारण उल्लेख गरेको देखिँदैन र निज चिकित्सकले अदालतमा गरेको बकपत्रमै पीडितको योनिमा डिस्चार्ज भएको, पीडितको योनिको लिविया मेजोरा र लिविया माइनोरा एपोज (टाढा) भएको भनी पीडितको योनिमा चोट भएको उल्लेख गरेका छन् र त्यस्तो चोट मुख्यत: जबरजस्ती करणीबाट हुने हुन्छ भनी बकी लेखाएको देखिन्छ । ४ वर्षको नाबालिकाको योनिमा अघिबाट त्यस्तो सङ्क्रमण भएको भए निजले आफ्नी आमालाई अवश्य भनेको हुनुपर्ने र नाबालिका छोरीको यौनाङ्गमा अघिदेखि कुनै प्रकारको रोग रहे भए नाबालिका छोरीको हेरविचार गर्ने आमालाई छोरीको त्यस्तो अवस्था थाहा नहुने अवस्था हुँदैन । उसमा पनि प्रतिवादीले फोहोर वस्तु झारेको भनी पीडितले भनेकी छन् भने प्रतिवादीले मौकाको बयानमा पीडितको योनिमा रगड्दा वीर्य स्खलन भएको बेहोरा लेखाएका छन् र पीडितको शारीरिक परीक्षण प्रतिवेदनमा वीर्य स्खलन (semen discharged) भन्ने उल्लेख भएको देखिएको र माथि उल्लेख भएअनुसार पीडितकी आमाले प्रतिवादीलाई वारदात स्थलमा देखेको र भागेको भन्ने देखिएको छ । यस स्थितिमा आफूले मौकामा पीडितको शारीरिक परीक्षण गर्ने निज चिकित्सकले परीक्षण प्रतिवेदनमा उल्लिखित बेहोरा अन्यथा हुने गरी अदालतको बकपत्रमा व्यक्त गरेको निजको भनाइलाई प्रतिवेदन तयार भएको र अदालतमा बकपत्र हुँदाको समयको अन्तरालको सापेक्षतामा हेर्दा विश्वास गर्नु उचित हुने देखिँदैन । यसबाट पीडितको शारीरिक परीक्षण गर्ने चिकित्सकको मौखिक भनाइ प्रतिवादीले कसुरबाट सफाइ पाउने आधार बन्न सक्ने देखिएन । जहाँसम्म वादी पक्षका साक्षी पीडित, पीडितकी आमा र जाहेरवालाको मौकाको कागज बेहोरा र अदालतको बकपत्र भनाइमा एकरूपता नरहेको भन्ने प्रतिवादीको पुनरावेदन जिकिर रहेकोमा समयको अन्तरालमा व्यक्ति (साक्षी) को भनाइमा सामान्य फरक देखिनु अस्वाभाविक हुँदैन । मुख्यतः मिसिल संलग्न सङ्कलित प्रत्यक्ष वा वस्तुगत प्रमाण कसुर पुष्टि गर्ने आधार बन्दछ । जो माथि विवेचना भइसकेको छ । तथ्यगत प्रमाणबाट वारदात पुष्टि भएको अवस्थामा व्यक्तिको भनाइलाई अकाट्य प्रमाणको रूपमा ग्रहण गर्नु स्वाभाविक हुँदैन ।

५. माथि उल्लेख भएअनुसार पीडितको मौकाको कागज, निजको अदालतको बकपत्र, पीडितको शारीरिक परीक्षण प्रतिवेदनसमेतका प्रमाणहरूले अभियोग दाबी पुष्टि भएको छ । तत्काल प्रचलित साबिक मुलुकी ऐनको संशोधित जबरजस्ती करणीको १ नं. मा “कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्छ” भन्ने कानूनी व्यवस्था रहेको र ऐ.को देहाय (ग) मा “योनिमा लिङ्ग केही मात्र प्रवेश भएको रहेछ भने पनि यस नम्बरको प्रयोजनको लागि करणी गरेको मानिने छ” भन्ने व्यवस्था रहेको देखिन्छ । यसबाट माथि उल्लिखित पीडितको शारीरिक परीक्षणबाट देखिएको यौनाङ्गको अवस्थाले जबरजस्ती करणीको वारदात स्थापित भएको देखिन्छ ।

६. यस सम्बन्धमा यस अदालतबाट “एउटी सात वर्षीया नाबालिकासँगको घृणित आपराधिक कार्यको सन्दर्भमा अरू कार्यहरू गरिसकेको अवस्थामा पीडितको योनिमा पीडकको लिङ्ग प्रवेश आंशिक वा पूर्ण जे जस्तो अवस्थाको भए पनि जबरजस्ती करणीको कसुर प्रमाणित हुन त्यति नै पर्याप्त हुन्छ । उद्योग भनेको जबरजस्ती करणीको प्रयास गर्नुसम्म हो । जबरजस्ती करणी गर्ने कामको प्रारम्भ गरिसकेपछि उद्योगको अवस्था रहँदैन । त्यो काम जुन चरणसम्म गरेको भए पनि कामको उद्योग नभई कामै गरेको ठहरिने (ने.का.प.२०६७, अङ्क ९, नि.नं. ८४६६)” भन्नेसमेत सिद्धान्त प्रतिपादन हुनुका साथै “मुलुकी ऐन, जबरजस्ती करणीको १ नं.अनुसार जबरजस्ती करणीको वारदात कायम हुनका लागि योनिभित्र लिङ्ग पूर्ण प्रवेश गरेको हुनुपर्ने वा योनिभित्रै वीर्य स्खलन भएको हुनुपर्ने वा पीडितको योनिको कन्याजाली च्यातिएको हुनुपर्ने भन्ने कुरा उल्लेख नभएको अवस्थामा लिङ्ग र योनिबिच सामान्य घर्षण पर्याप्त देखिने (ने.का.प. २०६३, अङ्क ४, नि.नं. ७६८२)” भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ ।

७. अतः मिसिल संलग्न पीडितको मौकाको कागज, निजको शारीरिक परीक्षण प्रतिवेदन, निजकी आमाको मौकाको कागज, निजको अदालतको बकपत्र, जाहेरवाला (पीडितको पिता) को जाहेरी दरखास्त, अदालतमा भएको निजको बकपत्र, मौकामा बुझिएका घटना विवरणका व्यक्तिहरूको कागज, अदालतमा भएको बकपत्र, प्रतिवादीको अनुसन्धान अधिकृतसमक्षको साबिती बयानलगायतका सम्बद्ध प्रमाणहरूसमेतबाट यी पुनरावेदक प्रतिवादीले पीडित मैनापोखर “ख” लाई जबरजस्ती करणी गरेको पुष्टि हुन आएको देखिँदा प्रतिवादी कृष्ण चमारले मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र ३(१) नं. को कसुर अपराध गरेको देखिन आएकोले निजलाई साबिक मुलुकी ऐन, जबरजस्ती करणीको ३(१) नं.बमोजिम १०(दश) वर्ष कैद सजाय हुने ठहर्‍याई ऐ.ऐनको १० नं.बमोजिम पीडितलाई प्रतिवादीबाट क्षतिपूर्तिसमेत भराइदिने ठहर्‍याएको सुरू बर्दिया जिल्ला अदालतको फैसला केही उल्टी हुने गरी जबरजस्ती करणीको उद्योगमा सजाय गर्ने गरेको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको मिति २०७३।११।०८ को फैसला मिलेको नदेखिँदा उल्टी भई सुरू बर्दिया जिल्ला अदालतको मिति २०७२।११।१० को फैसला सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी कृष्ण चमारलाई तत्काल प्रचलित मुलुकी ऐन, जबरजस्ती करणी महलको ३(१) नं. को कसुरमा ऐ.नं.बमोजिम १० वर्ष कैद सजाय हुने ठहर्‍याएको सुरू जिल्ला अदालतको फैसला केही उल्टी गरी जबरजस्ती करणीको उद्योगसम्म गरेको ठहर्‍याई प्रतिवादीलाई ५(पाँच) वर्ष कैद गर्ने गरेको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको फैसला उल्टी भई सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहरेकोले देहायबमोजिम गर्नू :-

१. सुरू बर्दिया जिल्ला अदालतको तपसिल खण्डको १ नं. मा उल्लेख भएबमोजिम प्रतिवादी कृष्ण चमारलाई कैद वर्ष १०(दश) को लगत कसी असुलउपर गर्नु भनी कारागार कार्यालय बर्दियालाई लेखी पठाउनु भनी सुरू बर्दिया जिल्ला अदालतलाई लेखी पठाउनू ।

२. ऐनको म्यादभित्र क्षतिपूर्ति भराइपाउँ भनी पीडितको दरखास्त पर्न आए सुरू बर्दिया जिल्ला अदालतको तपसिल खण्डको २ नं. मा उल्लेख भएबमोजिमको जग्गाबाट कानूनको प्रक्रिया पूरा गरी ठहरेको क्षतिपूर्ति रू.५०,०००।– (पचास हजार रूपैयाँ) पीडितलाई भराइदिनु भनी सुरू बर्दिया जिल्ला अदालतमा लेखी पठाउनू ।

३. फैसलाको प्रतिलिपिसहितको जानकारी महान्यायाधिवक्ताको कार्यालय र कैदमा रहेका प्रतिवादीलाई दिनू ।

४. सरोकारवालाले फैसलाको प्रतिलिपि माग गरे नियमानुसार दिनू ।

५. प्रस्तुत पुनरावेदनको लगत कट्टा गर्नू ।

६. प्रस्तुत फैसलाको प्रति विद्युतीय प्रणालीमा अपलोड गर्नू ।

७. मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.प्रकाशमान सिंह राउत

 

इजलास अधिकृतः सुभद्रा जि.सी.

इति संवत् २०७९ साल श्रावण २९ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु